देउवा पक्षमा सभापतिका आकांक्षी बढ्दै
निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले शशाङ्क कोइरालालाई महाधिवेशन तयारी समितिको संयोजक बनाएको छ। उनकै नेतृत्वमा अहिले महाधिवेशनका तयारीसम्बन्धी काम अघि बढिरहेका छन्। यही कारण कोइरालाले सभापति पदमा आफ्नो दाबी स्वाभाविक रहेको बताउँदै आएका छन्।
अर्कोतिर, कांग्रेस नेता विमलेन्द्र निधिले पनि सभापति बन्ने आकांक्षा राख्दै कोइरालासँग सहमति खोजेको बताइन्छ। देउवा पक्षको केन्द्रीय सम्पर्क कार्यालय चुनदेवीमा भएको भेटका क्रममा निधिले १४औँ महाधिवेशनको प्रसंग निकाल्दै शशाङ्कको समर्थन खोजेका थिए।
त्यसबेला आफूले देउवासँग सभापति पदमा प्रतिस्पर्धा गरे पनि अन्ततः देउवालाई सभापति बनाउन आफूहरूकै सहयोग रहेको निधिको भनाइ थियो।
तर, निधिको प्रस्तावमा कोइरालाले कुनै प्रतिक्रिया दिएनन्। निधिनिकट एक नेताका अनुसार कोइरालाले उनको कुरा सुने पनि समर्थन गर्ने वा नगर्नेबारे स्पष्ट धारणा राखेनन्।
निधिले आफू पार्टीको उपसभापति भइसकेको र १४औँ महाधिवेशनमै सभापति पदमा प्रतिस्पर्धा गरिसकेको भन्दै यसपटक पनि आफ्नो दाबी स्वाभाविक रहेको धारणा राखेका थिए। उनले आफूनिकट नेताहरूलाई समेत उम्मेदवारीको तयारीमा लाग्न निर्देशन दिइसकेको बताइएको छ।
निधि र कोइरालासँगै प्रकाशशरण महत र एनपी साउदको नाम पनि सभापतिका सम्भावित उम्मेदवारका रूपमा चर्चामा छ। १३औँ महाधिवेशनदेखि नै निधि, शशाङ्क कोइराला र प्रकाशमान सिंहबीच एकजुट भएर सभापतिको साझा उम्मेदवार तय गर्ने विषयमा छलफल हुँदै आएको थियो।
तर, १४औँ महाधिवेशनमा त्यो सहकार्य टिक्न सकेन। २०७८ मंसिर २४ देखि २८ गतेसम्म भएको महाधिवेशनमा निधि र प्रकाशमान सिंह दुवैले सभापति पदमा उम्मेदवारी दिएका थिए।
अहिले पनि नेतृत्वको आकांक्षाले पुराना सहकार्य र नयाँ समीकरणलाई चर्चामा ल्याएको छ। प्रकाशमान सिंहले भने यसपटक सभापति पदमा उम्मेदवारी दिने वा नदिनेबारे आफ्नो धारणा सार्वजनिक गरिसकेका छैनन्।
