`

आयल निगमका पूर्व कार्यकारी निर्देशक विरुद्ध पक्राउ पुर्जी जारी

Nepal One HD ५ वैशाख २०८० ८:११
प्रमुख खबर

काठमाडौं – नेपाल आयल निगम लिमिटेडका पूर्व कार्यकारी निर्देशक गोपालबहादुर खड्काविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। विशेष अदालतका न्यायाधिशहरु यमुना भट्टराई, बलभद्र बास्तोला र खुसीप्रसाद थारुको संयुक्त इजालसले आज खड्काविरुद्ध पक्राउ पुर्जी जारी गर्न आदेश दिएको हो।

खड्काविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २३ पुस २०७५ मा १८ करोड रुपैयाँ बढी अकुत सम्पत्ति आर्जन गरेको भन्दै विशेष अदालतमा मुद्दा दायर गरेको थियो । सो मुद्दा सुनुवाईका लागि खड्कालाई पटक-पटक ताकेता गर्दा पनि उपस्थित नभएपछि पक्राउ गरी इजलासमा हाजिर गराउन आदेश भएको हो।

अख्तियारले शुरुमा खड्काविरुद्ध पेट्रोलियम पदार्थ भण्डारण गृह निर्माणका लागि चार स्थान (झापा, सर्लाही, चितवन र रुपन्देही)मा जग्गा खरिद गर्दा ठूलो रकम भ्रष्टाचार गरेको आरोपमा छानबिन गरेको थियो । खड्काको नेतृत्वमा निगमले चार स्थानमा ७६ बिघा १४ कठ्ठा जग्गा कूल दुई अर्ब ३३ करोड ४० लाख रुपैयाँमा खरिद गर्ने निर्णय गरेको थियो ।

चलनचल्ती भन्दा तीन गुणा महँगोमा जग्गा खरिदको बिल बनाई धमाधम भुक्तानी गर्न थालेपछि अनियमितता बाहिरिएको थियो। त्यसपछि संसदीय छानबिन समितिले अनुसन्धान गरेपछि भ्रष्टाचार प्रमाणित भएको थियो । सो जग्गा खरिदमा १ अर्ब ६ करोड रुपैयाँ घोटाला भएको संसद्को तत्कालीन उद्योग बाणिज्य तथा श्रमसम्बन्धी उपसमितिले ठहर गरेको थियो ।

जग्गा खरिदमा घोटाला पुष्टि भएपछि खड्कालाई सरकारले बर्खास्त गरेको थियो । तर उहाँले सर्वोच्च अदालत गएर पद थमौती लिनु भएको थियो । त्यसपछि सरकारले खड्कालाई जिम्मेवारीविहीन बनाएपछि उहाँले २५ जेठ ०७५ मा पत्रकार सम्मेलन गरेर राजीनामा दिनु भएको थियो ।

खरिद प्रकृया विवादित बनेपछि निगमले दुई अर्ब ५ करोड ६६ लाख रुपैयाँ भुक्तानी गरी ६८ बिघा जग्गाको मात्रै स्वामित्व लिएको छ । अख्तियारले जग्गा खरिदमा भ्रष्टाचार र अकुत सम्पत्ति आर्जनमा खड्काविरुद्ध मुद्दा दायर गरेपनि विशेषले जग्गा खरिदमा ‘क्लिन चिट’ दिएर अकुत सम्पत्ति आर्जनको मुद्दालाई मात्रै अगाडि बढाएको छ ।


प्रतिक्रिया