`

निजामती सेवा विधेयक सार्वजनिक नगरे सिंहदरबार प्रवेश नगर्ने कर्मचारी ट्रेड युनियनको चेतावनी

Nepal One HD ६ वैशाख २०८० १९:१७
समाचार

काठमाडौं, ६ वैशाख – निजामती कर्मचारीको ट्रेड युनियनहरूले आफूले उठाएको माग समेटेर संघीय निजामती सेवा विधेयकको सार्वजनिक गर्न सरकारलाई अल्टिमेटम दिएका छन् ।

निजामती कर्मचारीका विभिन्न ५ वटा ट्रेड युनियनले बुधबार संयुक्त विज्ञप्ति जारी गरी १८ वैशाखभित्र ट्रेड युनियनले साझा मागको रूपमा उठाएको विषय समेटेर संघीय निजामती सेवा ऐनको मस्यौदा सार्वजनिक गर्न र आफूहरूसँग वार्ता गर्न माग गरेका छन् ।

सरकारले माग पूरा नगरे आन्दोलन गर्ने भन्दै १९ वैशाखदेखिको विरोधका कार्यक्रम सार्वजनिक गरेका छन् । उनीहरूले मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार नै प्रवेश बहिस्कार गर्ने आन्दोलनको कार्यक्रम घोषणा गरेका छन् ।

बुधबार पत्रकार सम्मेलन आयोजना गरी नेपाल निजामती कर्मचारी संगठन, नेपाल निजामती कर्मचारी युनियन केन्द्रीय कार्यसमिति, नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामती), एकीकृत सरकारी कर्मचारी संगठन र नेपाल मधेशी निजामती कर्मचारी मञ्चले १९, २० र २१ वैशाखमा गर्ने विरोधका कार्यक्रम सार्वजनिक गरेका छन् ।

१९ वैशाखमा मुख्य सचिव, संघीय मामिला तथा सामान्य प्रशासन, कानुन र अर्थ मन्त्रालयका सचिवलाई आफूहरुको माग समेटेर संघीय निजामती सेवा ऐन जारी गर्न देशभरका कर्मचारीबाट एसएमएसमार्फत ध्यानाकर्षण गराउने उनीहरूका आन्दोलन कार्यक्रम रहेका छन्

त्यस्तै २० वैशाखमा प्रधानमन्त्री, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री, कानुनमन्त्री र अर्थमन्त्रीलाई एसएमएस गर्ने र २१ वैशाखमा सिंहदरबार प्रवेश नगर्न आह्वान गर्ने ट्रेड युनियनहरुको घोषणा छ ।



प्रतिक्रिया