भारतले दुई हजार दरका नोटमाथि रोक लगाउँदा त्यसको प्रभाव नेपाललाई कसरी पर्ला ?
भारतको रिजर्भ ब्याङ्कले गत साता भारतीय रुपैयाँ दुई हजार दरका नोट चलनचल्तीबाट हटाउने घोषणा गरेसँगै खुला सीमा रहेको नेपालमा त्यसको सम्भावित प्रभाव पर्ने चर्चा परिचर्चा भइरहेको छ।
शुक्रवार जारी गरिएको विज्ञप्तिमा आरबीआईले दुई हजारका नोटहरू वैध रहने र ३० सेप्टेम्बर २०२३ सम्म ब्याङ्कहरूमा जम्मा गर्न सकिने जनाएको छ।
यसअघि सन् २०१६को नोभेम्बर महिनामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारले अचानक भारतीय रुपैयाँ पाँच सय र एक हजारको नोट चलनचल्तीबाट हटाउने निर्णय गरेको थियो।
उक्त कदम चालिएको ६ वर्ष भइसकेको छ तर नेपालमा रहेका प्रतिबन्धित नोटहरू फिर्ता लिने विषयबारे दुई देश टुङ्गोमा पुग्न सेकका छैनन्।यस्तो अवस्थामा भारतको पछिल्लो कदमले नेपाललाई के फरक पार्छ भन्ने कुरा चासोको विषय बनेको छ।
पछिल्लो प्रतिबन्धले कस्तो प्रभाव पर्छ?
सन् २०१६मा भारतले भारु पाँच सय र एक हजारको नोट चलनचल्तीबाट हटाउने निर्णय अचानक गर्दा नेपालका ब्याङ्कहरूमा ८ करोड १० लाख बराबरका त्यस्ता नोट थिए।राष्ट्र ब्याङ्कका अनुसार देशका विभिन्न ब्याङ्कहरूमा पाँच सय दरका ६८,१४७ थान नोट र एक हजार दरका १६,५५२ थान नोट अहिले पनि यथावत् छन्।
त्यसको अतिरिक्त सर्वसाधारणहरूसँग पनि चलनचल्तीबाट हटाइएको भारु भएको बताइने गरे पनि परिमाण भने यकिन हुन सकेको छैन।सन् २०१६को नोटबन्दीपछि नेपालले भारु एक सय भन्दा बढीको नोट चलनचल्तीमा ल्याएको छैन। केन्द्रीय ब्याङ्कले यस विषयमा सार्वजनिक सूचना जारी गरेको थियो।
‘‘एक सय भन्दा माथिका दरका नोटहरू गैर कानुनी मानिने भनेर सार्वजनिक सूचना जारी गरिएको थियो,’’ नेपाल राष्ट्र ब्याङ्कका सहायक प्रवक्ता नारायणप्रसाद पोखरेलले भने।त्यसको अर्थ हाल नेपालको ब्याङ्कीङ प्रणालीमा भारु एक सयभन्दा बढी दरका नोटहरू छैनन्।
आम सर्वसाधारणले एक सय भारुभन्दा बढीको नोट कारोबार गर्नु वा साथमा राख्नुलाई समेत केन्द्रीय ब्याङ्कले गैर कानुनीको संज्ञा दिएको छ।‘‘त्यसकारण यसको असर जिरो (कुनै असर पर्दैन) नै पर्ला भन्नु पर्यो, देखिने रूपमा,’’ पोखरेलले भने।
‘‘तर नदेखिँदो रूपमा त पक्कै पनि भारतीय सीमा क्षेत्रका मानिसहरूले ठूलो दरको नोट सहजताका कारण बोक्ने भएको हुनाले उनीहरूलाई चाहिँ अप्ठ्यारो पर्छ।’’
नोट राखेका नेपालीको हकमा अब के हुन्छ?
नेपाल र भारतबीच लामो खुला सीमा छ। जस कारण दुवै देशका सर्वसाधारण सहजै एक देशबाट अर्कोमा पुग्न र त्यहाँका बजारमा किनमेल गर्न सक्छन्।सीमावर्ती जिल्लाहरूमा भारतमा नेपाली रुपैयाँ र नेपालमा भारतीय रुपैयाँमै कारोबार समेत हुने गरेका छन्।
आधिकारिक रूपमा नेपालका वित्तीय संस्थाहरूसँग भारु दुई हजारको नोट नभए पनि सर्वसाधारणहरूसँग उक्त दरको रकम रहेको सहजै अनुमान गर्न सकिने अवस्था छ।
आरबीआईले मे २३, २०२३ देखि नोटहरू सर्वसाधारणको ब्याङ्क खाता वा कुनै पनि ब्याङ्कबाट साट्न सकिने जनाएको छ।पोखरेल पनि भारु दुई हजार दरका नोट भएका व्यक्तिहरूले आफै ती नोट साट्न पहल लिनुपर्ने बताउँछन्।
‘‘उहाँहरू के कुरामा सुसूचित हुनुपर्यो भने त्यो इन्डिभिजुअल इफोर्टबाटै (व्यक्तिगत पहल) सटही गर्नुपर्दो रैछ, ब्याङ्किङ च्यानलबाट सटही हुन नसक्दो रहेछ। त्यसको कारण यो (दुई हजारको नोट) गैरकानुनी भनिएको रहेछ। त्यसले गर्दा यो प्रहरी प्रशासनले भेट्नुभन्दा अगाडि वहाँहरूले व्यक्तिगत तवरबाट साट्न सक्नु पर्यो, समय सीमाभित्र। सक्नुभएन भने त्यो कागजको खोस्टो बराबर हुन्छ,’’ पोखरेलले भने।
अधिकारीहरूका अनुसार विगतमा नेपालले ठूला दरका भारतीय नोट चलाउने गरेको थिएन। सन् २०१६को नोटबन्दी अघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा दुई देशका सरकारबीच भएको समझदारीमा आधारित रहेर भारु पाँच सय र एक हजारका नोट चलाउन थालिएको थियो।यो समाचार बीबीसी नेपालीबाट साभार गरिएको हो ।
