भारतको पुनामा करेन्ट लागेर एक नेपालीको मृत्यु

NepalOne १२ साउन २०८१ १६:०७
प्रवास

विष्णुप्रसद गौतम, महाराष्ट्र, भारत । भारतको मुम्बई नजिक पुना सहरमा करेन्ट लागेर एक नेपालीको घट्नास्थलमै मृत्यु भएको छ । करेन्ट लागेर नवलपरासीको पहाडी गाउँ, कुलिटार भार्सिपुर गाउँपालिकाका १८ वर्षका सुरतबहादुर दमाईको मृत्यु भएको हो ।

उनी भारतको पुना डेक्कन पुलमुनि एकवर्षदेखि चाइनिज फास्टफुडमा काम गर्दै आएका थिए । केही दिनको अबिरल भारी वर्षाका कारण पुना जलमग्न भएको थियो । स्थानीय प्रशासनले सबैलाई जरुरी काम बाहेक घरबाट बाहिर ननिस्कन सूचना जारी गरेको थियो । जसका कारण चाइनिज फास्टफुड बन्द गरिएको थियो । तर फास्टफुड पानीले डुब्न लागेपछि केही पर सार्न उनी सँगै अरु दुईजना गएका थिए ।

त्यसक्रममा विद्युत सर्ट भएर उनीसँगै गएका दुईजना र उनको घटनास्थलमै मृत्यु भएको छ । पुनामा बस्ने सुरतका आफन्त काका भिनाजु लगायत आसपासका केही नेपालीहरुको सहयोगमा उनको दाहसंस्कार गरिएको थियो ।

क्षतिपूर्तिबापत सुरतको परिवारलाई होटल संचालकले ८० हजार र स्थानीय सरकारले ६ लाख रुपैयाँ दिने बताइएको छ । सुरतको घरमा ६ दिदीबहिनी, एक भाइ र बुवा आमा छन् ।


प्रतिक्रिया