सुदूरपश्चिमलाई लगानीको आकर्षक गन्तव्य बनाउनुपर्छः मन्त्री भण्डारी


धनगढी । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले सुदूरपश्चिमलाई लगानीको आकर्षक गन्तव्य बनाउन सबैको साझा प्रयास आवश्यक रहेको बताएका छन् ।
बुधबार धनगढीमा आयोजित प्रदेश लगानी तथा विकास सम्मेलन पूर्वतयारी बैठकको सम्बोधन गर्दै मन्त्री भण्डारी तीनै तहका सरकार र निजीक्षेत्रको साझा प्रयासमा सुदूरपश्चिमलाई लगानीको आकर्षक गन्तव्य बनाउनुपर्नेमा जोड दिए ।
उनले भने, ‘नेपालले सन् २०३० सम्ममा न्यून आय भएको मुलुकबाट मध्यम आय भएको देशको स्तरमा पुग्ने एक महत्वपूर्ण लक्ष्य लिएको छ । यो लक्ष्य प्राप्तिका लागि आर्थिक, सामाजिक, रोजगारी र नागरिक जीवनस्तरका क्षेत्रमा आमूल सुधार गर्न आवश्यक छ । यसै सिलसिलामा हालसम्म न्यून आय भएको देश भएकाले विश्व समुदायबाट प्राप्त सुविधाहरूमा मध्यम आय भएको देशको स्तरमा स्तरोन्नती हुँदा कटौती हुन सक्ने भएकाले अब प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउने र आर्थिक विकास र वृद्धिलाई टेवा दिने उपायहरू खोज्नु हाम्रो प्राथमिकता हुनुपर्छ ।’
मन्त्री भण्डारीले सुदूरपश्चिम प्रदेश सम्भावनाको खानी भएको बताए । ‘प्राकृतिक स्रोतसाधन, जैविक विविधता, पर्यटन सम्भावना, कृषि, ऊर्जा र पूर्वाधार विकासमा अपार सम्भावना बोकेको प्रदेश हो । यहाँको कुल घरेलु उत्पादनमा कृषि क्षेत्रले ३३ प्रतिशत योगदान पुर्याएको छ । स्रोत साधनको उपयोग र जनसांख्यिक लाभांशका हिसाबले सुदूरपश्चिम प्रदेश अत्यन्त सम्भावनापूर्ण क्षेत्र हो । यस प्रदेशमा प्राकृतिक स्रोत र मानव स्रोतसँग सम्बन्धित विविध र आकर्षक लगानीका अवसरहरू विद्यमान छन् । यहाँ प्रशस्त वनस्रोत, वन उत्पादन, जडीबुटी तथा औषधीजन्य वनस्पति, खानी, जलस्रोत, कृषि क्षेत्रका लागि खेतीयोग्य जमिन र पशुपालनका सम्भावना छन् ।’
उनले भने, ‘प्रदेश सरकारले लगानीयोग्य ५६ वटा परियोजना पहिचान गरिसकेको छ, जसमा रिसोर्ट, वाटर पार्क, र्याफ्टिङ, पाँच तारे होटल, हेलिकप्टर सफारी, कृषि औजार उत्पादन, भेडा च्याङ्ग्रा फार्मिङ, फलफूल उद्योग, यातायात सेवा, केवलकार जस्ता विविध क्षेत्र समेटिएका छन् । यी परियोजनाहरूले सुदूरपश्चिम प्रदेशको आर्थिक विकासलाई थप गति दिने र यहाँको स्रोतसाधनलाई प्रभावकारी रूपमा उपयोग गर्दै समृद्धि ल्याउने अपेक्षा गरिएको छ ।’