`

रिजाल धारा खानेपानी मुहान संरक्षणले नागरिकलाई सहज

भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिका-३ मा रिजाल धारा मुहान संरक्षण तथा खानेपानी ट्याङ्की निर्माण आयोजना सम्पन्न भएको छ । स्थानीयलाई सहज रूपमा स्वच्छ खानेपानी उपलब्ध गराउने उद्देश्यले आयोजना निर्माण गरिएको हो ।

उक्त आयोजना सम्पन्न भएसँगै यहाँका ५० परिवार प्रत्यक्ष रूपमा लाभान्वित हुनुका साथै च्याङ्ग्रे बजारवासीलाई राहत पुगेको निर्माण उपभोक्ता समितिका अध्यक्ष भूपध्वज कोइरालाले बताए । यहाँका स्थानीयसँगै गाउँपालिकाको केन्द्र च्याङ्ग्रे बजारका नागरिकले विकल्पका रूपमा पानी उपयोग गर्ने उनको भनाइ छ ।

“यसअघि आयोजना सञ्चालन नहुँदा यहाँ पानीको समस्या थियो”, उनले भने, “निर्माण सम्पन्न भएसँगै ५० परिवारलाई सहजता भएको छ । च्याङ्ग्रे बजारमा खानेपानी अभाव भएमा एक मात्र विकल्पका रूपमा यो आयोजनाको पानी उपभोग गर्न सकिन्छ ।”

घरघरमा धारा वितरण नभए पनि मुहानको संरक्षणसँगै २० घनमिटरको ट्याङ्की निर्माण गरेर मुहानमा तीन वटा धारा जडान गरिएको अध्यक्ष कोइरालाले जानकारी दिए ।

चालु आर्थिक वर्षमा आयोजना सम्पन्न भएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय भोजपुरका प्रमुख आशुतोष ठाकुरले बताए । करिब १८ लाखमा आयोजना सम्पन्न भएको जनाउँदै उनले सानो आयोजना भए पनि यसले नागरिकलाई प्रत्यक्ष लाभ पुर्याउने विश्वास व्यक्त गरे ।

रिजाल धारा खानेपानी आयोजना सञ्चालनले स्थानीयलाई सहजता भएको पौवादुङमा–३ का वडाध्यक्ष तीर्थबहादुर कार्कीले बताए । विगतमा कुवाबाट पानी खानुपर्ने अवस्थामा अहिले मुहान संरक्षणसँगै ट्याङ्की निर्माणमार्फ धारा जडान भएपछि सहज भएको उनको भनाइ छ ।

शिकारीबास खोलाको कटान रोक्न तटबन्ध निर्माण गरिँदै

वीरगञ्ज । पर्साको विकट गाउँका रूपमा रहेको ठोरी गाउँपालिका-३ शिकारीबास खोलाको कटान रोक्नका लागि तटबन्ध निर्माण अघि बढाइने भएको छ। खोलाको बहाव बढेर पुरानो शिकारीबास बस्ती कटान गर्न थालेपछि खोलामा तारजाली र बोरासहित तटबन्ध निर्माण गरेर कटान रोक्न लागिएको हो।

जलस्रोत तथा सिँचाइ विकास डिभिजन पर्साका योजना प्रमुख एवं इञ्जिनियर राकेश साहले ठोरीको शिकारीबासमा डुवान र कटानको जोखिम बढेकाले कटान क्षेत्रमा तटबन्धसहित झालीको व्यवस्था गर्न लागिएको जानकारी दिए।

‘शिकारी खोलाको कटानले बस्तीमा असर पार्न थालेकाले तटबन्ध गर्न लागेका हौं’, उनले भने, ‘करिब १० लाख खर्र्चेर बस्ती जोगाउन यो पहल थालेका हौं।’

उनका अनुसार यहाँ ७० परिवार बसोबास गर्दछन्। यो बस्ती ठोरीको हुलाकीसडकबाट करिब छ किलोमिटर भित्री भागमा पर्दछ।

गाजामा इन्धन आपूर्ति दोस्रो दिन पनि अपर्याप्त

संयुक्त राष्ट्रसंघ । इजरायलका अधिकारीहरूद्वारा लगातार दोस्रो दिन गाजामा ७५ हजार लिटर इन्धन प्रवेश गर्न दिइए पनि त्यो आपूर्ति अत्यन्तै न्यून भएको र गम्भीर मानवीय संकट समाधान गर्न अपर्याप्त रहेको संयुक्त राष्ट्रसंघले जनाएको छ।

संयुक्त राष्ट्रसंघको मानवीय मामिला समन्वय कार्यालय (ओसीएचए) का अनुसार, गाजामा दैनिकरूपमा लाखौं लिटर इन्धन आवश्यक पर्दछ, जसको प्रयोग स्वास्थ्य सेवा, खानेपानी आपूर्ति, सरसफाइ तथा आपतकालीन सेवाहरूको सञ्चालनका लागि अत्यावश्यक हुन्छ। चार महिनाभन्दा लामो समयदेखि जारी इन्धन प्रतिबन्धका कारण सेवा प्रवाहमा गम्भीर असर परेको ओसीएचएले जनाएको छ।

‘स्पष्ट रूपमा भन्नुपर्दा, गाजामा इन्धनको अभाव अत्यन्त चिन्ताजनक अवस्थामा पुगेको छ,’ ओसीएचएद्वारा जारी विज्ञप्तिमा भनिएको छ। ‘यदि अहिले कायम रहेका सीमितताहरू तुरुन्तै हटाइएनन् र नियमित रूपमा पर्याप्त मात्रामा इन्धन आपूर्ति हुन सकेन भने, धेरै जीवनरक्षक सेवाहरू पूर्णरूपमा बन्द हुने खतरा छ।’

ओसीएचएले गाजाभित्र समयमै पहुँच सुनिश्चित गर्न आग्रह गर्दै आएको छ। इन्धन वितरण प्रयास दक्षिण गाजासम्म सीमित रहेका छन्, किनभने उत्तर गाजातर्फ पुर्याउने अनुमति इजरायलले प्रदान नगरेको ओसीएचएले जनाएको छ।

‘उत्तर गाजामा रहेका अस्पतालहरू बन्द हुने स्थितिमा छन्। एम्बुलेन्स सेवा, खानेपानी प्रशोधन केन्द्र र अन्य अत्यावश्यक सेवाहरूमा पनि इन्धनको अत्यधिक अभाव छ,’ कार्यालयले जनाएको छ।

इन्धन अभाव मात्र होइन, गाजामा हाल विभिन्न खाले मानवीय चुनौतीहरू थप जटिल बन्दै गएका छन्। युद्धविरामको अभावमा दैनिकजसो निवारण गर्न सकिने मृत्युहरू भइरहेका छन्। भोक, प्यास र उपचारको खोजीमा रहेका सर्वसाधारण सहायता लिन जाँदा पनि ज्यानको जोखिममा परिरहेका छन्।

बिहीबार इजरायलसँग समन्वय गरेर गरिएको १५ सहायता प्रयासमध्ये केवल ६ प्रयासहरू सफल भएका थिए। यसले घाइतेको उद्धार, जोखिमयुक्त क्षेत्रबाट सर्वसाधारणको स्थानान्तरण र स्वास्थ्य उपकरणको मूल्याङ्कनजस्ता महत्वपूर्ण कामहरू प्रभावित पारेको ओसीएचएले जनाएको छ।

बुधबार गाजा सहरको एक क्षेत्रमा १८ जना घाइते व्यक्ति भग्नावशेषमा फसेको सूचना पाएर उद्धार टोली पठाउने अनुमति मागिएको थियो। तर अनुमति ढिला भइ बिहीबारमात्र प्राप्त भयो र त्यो समयसम्म कोही पनि जीवित भेटिएनन्।

ओसीएचएले हाल आश्रयका लागि आवश्यक सामग्रीको भण्डारण पूर्ण रूपमा सकिएको र विगत १३० दिनभन्दा बढी समयदेखि इजरायलले नयाँ पाल तथा आश्रय सामग्री प्रवेश गर्न नदिएको जानकारी दिएको छ।

साथै, द्वन्द्व र असुरक्षाका कारण गाजाभित्र कार्यरत सहायता कर्मचारीहरूको सुरक्षामा समेत गम्भीर चुनौती देखिएको छ। बुधबार र बिहीबारका दिन, सहायता टोली रहेका स्थानहरू नजिकै भएका हवाई आक्रमणहरूबाट ठूलो जोखिम उत्पन्न भएको थियो।

भाग्यवश, कुनै पनि सहयोगकर्मी घाइते भएका छैनन्। तर, यस्ता घटनाले मानवीय काममा संलग्न सबैको सुरक्षालाई गम्भीर रूपमा असर पुर्याउने चेतावनी संयुक्त राष्ट्रसंघले दिएको छ।

संयुक्त राष्ट्रसंघका महासचिवका प्रवक्ता स्तेफान दुजारिकले मानव अधिकार कार्यालयबाट प्राप्त पछिल्लो विवरण सार्वजनिक गर्दै भने, ‘गाजा क्षेत्रमा राहत सामग्री लिन खोज्दा ज्यान गुमाएका ८१९ जना फिलिस्तीनीको तथ्यांक हामीसँग छ। यसमध्ये अधिकांश व्यक्ति सहायता वितरण केन्द्रहरू र राहत सवारीसाधन नजिक मारिएका थिए।’

उनले निष्पक्ष र स्वतन्त्र छानबिन आवश्यक रहेको जोड दिँदै भने, ‘जहाँ नागरिकहरू दैनिक रूपमा केवल खाना लिन जाँदा मारिन्छन्, त्यो प्रणालीलाई मानवीय भनेर स्वीकार गर्न सकिन्न ।’

सिमलताल घटनाको एक वर्ष : अझै पत्तो छैन ३९ यात्रुको अवस्था

चितवन । एक वर्ष पुग्दा पनि सिमलतालबाट त्रिशूलीमा खसेका बसका ३९ जना यात्रु अझै भेटिएका छैनन्। गत वर्षको असार २८ गते राति दुई वटा बस एकै ठाउँबाट पहिरोसँगै त्रिशूलीमा खसेका बसका यात्रुमध्ये ३९ जना अझै बेपत्ता भएका छन्।

नारायणगढ–मुग्लिन सडकखण्डको सिमलतालमा दुई बसमा ६२ जना यात्रु थिए । तीमध्ये तीन जना जीवित, २० जनाको शव भेटिएको थियो भने बाँकी अझै बेपत्ता छन्।

दुवै बस अहिलेसम्म भेटिएको छैन। जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक गोविन्द पुरीका अनुसार बा प्र ०३–००६ ख १५१६ नम्बरको एञ्जल्स डिलक्स बसमा २६ जना यात्रु थिए। तीमध्ये १० जना मृत फेला परेको र अन्य १६ जना अझै बेपत्ता रहेका छन्।सो बसमा सात जना भारतीय यात्रु सवार रहेका थिए।

तीमध्ये दुई जना मृत फेला परेका थिए भने बाँकी ५ जना भारतीय नागरिक अझै बेपत्ता छन्। त्यस्तै बा प्र ०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्समा ३६ जना यात्रु रहेका थिए।

तीमध्ये तीन जना जीवित, १० जनाको शव फेला परेको र २३ जना अझै बेपत्ता रहेको उनले जानकारी दिए। तीमध्ये भारतीय चार जना थिए । तीन जना मृत फेला परेका थिए भने एक जना बेपत्ता छन्।

वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको एञ्जल डिलक्स र काठमाडौँबाट रौतहटको गौरका लागि छुटेको बागमती गणपति डिलक्स बस पहिरोसहित त्रिशूलीमा खसालेको थियो। उक्त समयमा नेपाली गोताखोरले मात्र नसकेपछि विदेशबाट समेत गोताखोर मगाइएको थियो । तर गोताखोरले पनि बेपत्ता यात्रु र बस फेला पार्न सकेका थिएनन्।

त्रिशूलीमा बाढी आएपछि लामो समय खोजी कार्य गरिएको भए पनि बेपत्ता यात्रु र बस अझै फेला पार्न सकिएको छैन।

त्यतिबेला फेला परेका मृतक २० जनामध्ये कतिपय शव त्रिशूली र कतिपयको शव नारायणी नदी किनारका विभिन्न क्षेत्रबाट फेला पारिएको थियो भने दुई वटा शव भारतमा फेला परेको थियो।

घटनाको विस्तृत अध्ययनका लागि गृह मन्त्रालयले तत्काल सहसचिव छवि रिजालको संयोजकत्वमा कार्यदल गठन गरेको थियो।

गृहमन्त्री रमेश लेखकले आफ्नो पहिलो निर्णय कार्यदल गठनमा हस्ताक्षर गरेका थिए। सो कार्यदलले प्रतिवेदन पेश गर्दै विपद् व्यवस्थापनलगायत सवारी दुर्घटना न्यूनीकरणको प्रभावकारी व्यवस्थापनका लागि सरोकारवाल निकाय जिम्मेवारीका साथ पहल गर्नुपर्नेमा राय समेत दिएको थियो।

कार्यदलको प्रतिवेदन बुझ्दै गृहमन्त्री लेखकले सडक दुर्घटनाका कारण लामो समयदेखि जनधनको क्षति भइरहेका प्रति चिन्ता व्यक्त गरेका थिए। गृहमन्त्री लेखकले प्रतिवेदन अक्षरशः कार्यान्वयन गर्ने प्रतिवद्धता व्यक्त गर्दै कार्यदलले दिएको सुझाव मन्त्रालयले पनि कार्यान्वयन गर्नुका साथै अरु निकायलाई पनि कार्यान्वयन गर्न लगाउने बताएका थिए।

सिमलताल दुर्घटनाको मुख्य कारण भेलबाढीकै कारण दुई वटा बस बगाएको आशय सहितको निष्कर्ष कार्यदल निकालेको थियो।

प्रतिवेदनमा दुर्घटनास्थलमा स्थानीय पालिकाले सडक निर्माण गर्दा भिरालो र पहाडी क्षेत्रमा उचित इन्जिनियरिङ्ग–डिजाइन बिना नै ग्रामीण सडक खनिएको उल्लेख छ। प्रतिवेदनमा दुर्घटना स्थलमा कमजोर भूगोल तथा अत्याधिक क्रस स्लोप भएको देखिएको जनाइएको थियो।

सडकमा कुनै टेवा पर्खाल निर्माण नगर्दा वर्षातको समयमा पहिरो गइ सडकमा क्रस गर्दै गएका दुईवटा बसलाई पहिरोले धकेलेर त्रिशूली नदीमा खसालेको देखिएको प्रतिवेदनमा उल्लेख छ।

अध्ययनका क्रममा दुर्घटनामा बाच्न सफल भएका व्यक्ति, प्रत्यक्षदर्शी, सडक विभाग, चितवन प्रशासन कार्यालयलगायतसँग छलफल गरिएको थियो। सडक दुर्घटनामा ज्यान गएकाको परिवारलाई उचित क्षतिपूर्ति र बिमा वापतको रकम दिन ढिलाई नगर्न प्रतिवेदनले सुझाव दिएको छ। वेपत्ता भएका ३९ जनाको खोजी यथासक्य गर्न भनिएको थियो।

विवेकभन्दा आवेग हाबी हुँदा संसदमा अवरोध र बहिष्कार प्रवृत्ति बढेका हुन्ः महामन्त्री शर्मा(अन्तरवार्ता)

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा झापा जिल्ला निर्वाचन क्षेत्र नम्बर १ बाट पहिलोपटक प्रतिनिधिसभामा निर्वाचित सांसद हुन् ।

संसदमा अहिलेको भूमिकालाई सिकाइ र अनुभवका रूपमा लिएका सांसद शर्मा राष्ट्रिय एजेण्डा उठाउन, लोकतान्त्रिक सुसंस्कृतिको अभ्यास गर्न र जनतालाई दिइएका वाचा पूरा गर्न क्रियाशील छन् ।

तार्किक बहस र भद्र प्रस्तुतिको बेग्लै परिचय बनाएका महामन्त्री शर्मा जलवायु न्यायका वकालतकर्ता समेत हुन् । सांसद शर्माले राजनीतिलाई नैतिक र पारदर्शी बनाउन कानुन कडा बनाउनुपर्ने र त्यसको कार्यान्वयनमा इमानदारी जरुरी भएको धारणा राख्छन् ।

झापाको मेचीनगर–५ स्थायी बसोबास रहेका शर्माले विस २०४१ मा नेपाल विद्यार्थी सङ्घको विद्यालय अध्यक्ष भई प्रजातान्त्रिक विचारधारालाई आत्मसात् गरेका उनी सोही सङ्घको क्याम्पस अध्यक्ष, केन्द्रीय सदस्य, महामन्त्री, उपाध्यक्ष हुँदै अध्यक्ष भए । त्यसपछि शर्मा नेपाली कांग्रेसको केन्द्रीय सदस्य, प्रवक्ता हुँदै विसं २०७८ देखि महामन्त्रीको जिम्मेवारीमा छन् ।

यसै सन्दर्भमा प्रतिनिधिसभा सदस्य शर्मासँग संसदीय अभ्यास, संसदमा देखिने गरेका अवरोध, राजनीतिक सुधार, नयाँ नेतृत्वको तयारीलगायतका विषयमा राससका संमाचारदाता प्रगति ढकालले गरेको कुराकानीको सम्पादित अंशः

यहाँको संसदीय अभ्यासको अनुभव बताइदिनुहोस् न ?

प्रतिनिधिसभा सदस्यका रूपमा निर्वाचित भएर आएको पहिलो पटक हो । पहिलो पटकमा सामान्यतया सिक्ने कुरा नै पहिलो अवसरको रूपमा प्रयोग गर्नुपर्छ भन्ने लाग्छ । कतिपय नसिक्नुपर्ने पाठहरू पनि पढिरहेको छु । राम्रा काम पनि संसद्बाट भएका छन् । संसद्बाट राम्रा सन्देश नगएका पनि उदाहरण छन् । कुन कुरालाई जीवनमा आत्मसात् गर्ने, कुन कुराबाट प्रभावित हुने र के कुरालाई अनुसरण गर्ने भन्ने महत्वपूर्ण हुन्छ । अहिले म सिक्ने चरणमा नै छु । संसद्मार्फत राष्ट्रिय राजनीतिका कतिपय महत्वपूर्ण विषयहरूमा आफ्नो स्पष्ट दृष्टिकोण राख्ने प्रयास गरिरहेको छु । आफ्नो निर्वाचन क्षेत्रको विकास र समग्र मुलुकको विकासमा पनि उचित ठानिएका विषयलाई आफ्ना प्रस्तुतिमा समेट्ने प्रयास गरिरहेको छु ।

संसद्मा यहाँले कस्ता एजेन्डा प्राथमिकताका साथ उठाउँदै आउनुभएको छ र ती एजेन्डा सम्बोधन भएका छन् ?

संसद्मा उठाइएका विषयवस्तु सम्बोधन नहुँदासम्म निरन्तर प्रयास गरिरहनुपर्छ । मैले निर्वाचनको समयमा नै सोचेका मुख्य दुई–तीन विषय थिए । बाटो बन्नु र बिजुली बल्नु मात्र विकास होइन, समग्र मानव विकास नै विकास हो । तर राजनीतिक प्रणालीलाई सुसंस्कृत बनाउँदै जानुपर्छ । यो कर्तव्य राजनीतिक दलहरूको हो । राजनीतिक दलको आलोचना त हुन्छ, तर ती आलोचनालाई कति विनम्र बनाएर लैजाने भन्ने हुन्छ । शब्दमा विनम्रता र भावमा क्रान्तिकारी भाव राख्दा पनि आफ्नो कुरा खरो रूपमा राख्न सकिन्छ । ठूलो स्वरमा र कडा शब्द मात्रै राखेर अगाडि बढ्ने कुरा संसदीय संस्कृति होइन । त्यसमा विपक्षीको आलोचना, सरकारको आलोचना, आफ्नै आलोचना लोकतन्त्रमा स्वभाविक हो । अब राजनीतिमा परिवर्तन जरुरी छ । अर्को कुरा, मुलुकको विकासमा हामी कहाँ चुक्यौँ ? यसको व्याख्या पनि आउनुपर्छ । नबन्नुपर्ने संरचनाहरू बनेका छन्, घाटा बेहोर्नुपरेको छ । बन्नैपर्ने संरचना बनाउन कतिपय स्थानमा ध्यान पुगेन । लहडमा हुने कुरालाई रोक्नुपर्छ । उत्पादनशील क्षेत्रमा राज्यको लगानी हुनुपर्छ ।

कामको गति बढाउने सन्दर्भमा संसद्मा मैले निरन्तर बोलिरहेको छु । तर संसद्मा मात्र बोलेर हुँदैन भनेर मैले ‘ऐना’ कार्यक्रममार्फत पनि विषय उठान गरिरहेको छु । धनी मुलुकचाहिँ राति पनि बाटो बनाउँछ । गरिब राष्ट्र नेपालचाहिँ ‘सूर्य अस्त, नेपाल मस्त’ किन हुन्छ ? नेपालले तीन सिफ्टमा काम गर्नुपर्छ । तीन सिफ्टमा तीन समूह श्रमिकले कार्य गर्न सम्भव पनि छ । तसर्र्थ राजनीतिक परिवर्तनदेखि, गरेका गल्तीहरूमा सुधार गरेर अगाडि बढ्ने कुरा, काम गर्ने शैलीमा रूपान्तरण गर्ने कुरा निर्वाचनको समयदेखि संसद्मा राख्दै आएको छु ।

यहाँले प्रतिनिधित्व गर्ने क्षेत्रका समस्याहरूलाई सम्बोधन गर्न पहल कस्तो छ त ?

सामान्यतया एउटा सांसदले आफ्ना निर्वाचन क्षेत्रहरूमा दुई–तीन वटा काम गर्नुपर्छ । त्यो क्षेत्रसँग सम्बन्धित मुद्दाहरू संसद्मा प्रस्तुत गर्नुपर्छ । जस्तै, डुबान, नदी तटबन्धका कुराहरू मैले उठाउँदै आएको छु । कतिपय व्यक्तिले धनीपुर्जा नपाएको अवस्था छ, अव्यवस्थित बसोबास, सुकुम्बासीका समस्या छन् । यी समस्या सम्बोधन गरियोस् भनेर कुरा उठाउँदै आएको छु । भारतबाट ठूलो सङ्ख्यामा झापामा हात्ती प्रवेश गरेर मानिसको ज्यान लिएको छ, यस्ता समस्याहरू पनि उठाएँ । यही असार ३० गते सबै राजनीतिक दल एकै ठाउँमा उभिएर करिब दुई सयजना नागरिकलाई जग्गाधनी पुर्जा वितरण गरी वर्षौंदेखिको समस्यालाई हल गर्दैछौँ ।

हात्तीको समस्या समाधान गर्न गएको तीन महिनामा मात्रै  साढे चार करोड थप निकासा गराएर हात्ती नियन्त्रणको काम भइरहेको छ ।  अढाइ करोड मूल्य बराबरको वन मन्त्रालयमार्फत १८ किलोमिटर लामो सोलार फेन्सिङ बनाउने क्रममा जाँदैछौँ । ती क्षेत्रमा यी मुद्दाहरू ज्वलन्त थिए । त्यसबाहेक पर्यटनको सन्दर्भमा पनि कामहरू भएका छन् । चन्द्रागढ भन्ने ठाउँमा सिमसार छ, त्यसलाई बजेट राखेर पर्यटकीय विकासका कामहरू गर्दैछौं । काँकडभित्तामा खेल मैदान निर्माणका लागि पहल भएको छ । बुद्धशान्ति गाउँपालिकाको वडा नं ६ र ७ वारि र पारिमा जोड्ने रु पाँच करोड ९८ लाखको लागतमा नेपालको तेस्रो लामो झोलुङ्गे पुल बनायौँ । खानेपानीका परियोजना लगेका छौँ । झापामा सामुदायिक इञ्जिनियरिङ क्याम्पस खुलेको छ । त्यो सबैको प्रयास थियो, तर म जनप्रतिनिधि भएकाले मेरो पहल अलिक बढी भयो ।

बजेट बनाउने बेलामा, कुनै पनि दलले आफ्नो गल्तीबाट प्रभावित भएर प्रस्तुति गर्न हुन्न । झापा क्षेत्र नं १ को सन्दर्भमा, सङ्घीय सांसद कांग्रेसको, प्रदेश सांसद राष्ट्रिय प्रजातन्त्र पार्टीको, अर्को प्रदेश सांसद कांग्रेसको, नगरप्रमुख एमालेको, अन्य स्थानीय तहका प्रमुख पनि विभिन्न दलका छन् तर हामी सबै एकै ठाउँमा बसेर सल्लाह गर्छौं, काठमाडौँ आएर प्रधानमन्त्री तथा सम्बन्धित मन्त्रीलाई भेट्छौँ । हामी राजनीतिलाई आफ्नो ठाउँमा राखेर, विकासको सन्दर्भमा एकै ठाउँमा उभिन्छौँ । विकासका प्राथमिकता प्रस्तुत गरेर बजेट माग गर्छौं । विकास र समृद्धि सहकार्यमा हुनुपर्छ । प्राथमिकता स्पष्ट हुनुपर्छ र सबैले अपनत्व बोध गर्नुपर्छ ।

उसो भए यहाँले निर्वाचनको समयमा जनतासमक्ष राखेका प्रतिबद्धता सबै पूरा हुनेतर्फ अगाडि बढेका छन् ?

निर्वाचनअघि मैले ठोस रूपमा ‘यो बाटो, यो पुल म बनाउँछु’ भन्ने किसिमको प्रतिबद्धता गरेको थिइनँ । चुनावमा जाँदा म अनावश्यक कुरा गर्दिन । मैले भनेको थिएँ – म विपक्षीलाई गाली गर्दिन । गाली गरेर चुनाव जितिन्छ भन्ने सोच्ने हो भने माफ गर्नुहोला, म तेस्रो पटक हार्न तयार छु भनेको थिएँ । अनि अर्को कुरा, खोला देख्नासाथ पुल बनाउँछु भन्ने शैली गलत छ । सांसदले के भन्नुपर्छ भने – म आफ्नो योग्यता र क्षमताले भ्याएसम्म इमान्दारीपूर्वक लाग्नेछु । ‘यो गर्छु त्यो गर्छु, भन्दा म जे सक्छु त्यो गर्छु’, भनेर बोलेको थिएँ ।

पछिल्लो समय संसद्मा देखिने गरेका अवरोध र बहिष्कारका प्रवृत्तिलाई तपाईँ कसरी हेर्नुहुन्छ ?

विषयवस्तुलाई हेरेर विवेकसङ्गत रूपमा कुरा गर्दा सजिलो हुन्छ । आवेगलाई हावी बनाउँदा यस्ता जटिलता आउने गर्छन् । अहिलेको समस्याको हल गर्नकै लागि छानबिन समिति बनाइएको छ । भिजिट भिसा प्रकरण वर्षौंदेखि चल्दै आएको रहेछ । यसबीचमा छ जना गृहमन्त्री बन्नुभयो । अख्तियारजस्तो संवेदनशील संस्थाले अनुसन्धान सुरू गरिसकेपछि त्यो अनुसन्धानलाई सबैले सघाएर जानुपर्छ । जो–जो दोषी देखिन्छन्, उनीहरूलाई कारबाही गर्नुपर्छ । संवैधानिक अङ्गले अनुसन्धान गरेको कुरामा भरोसा गर्नुपर्छ ।

अर्को, विपक्षी दलबाट गृहमन्त्रीमाथि छानबिन अहिले किन नगर्ने भन्ने कुरा आएको छ । प्रष्टै छ, गृहमन्त्रीविरुद्ध कुनै अदालतमा उजुरी परेको अवस्था छैन । अहिलेको भिजिट भिसा प्रकरणमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेको छ । आवेगमा आएर ‘छोड’ भन्नु वा ‘नछोड्दासम्म विरोध’ गर्नु राजनीतिक फण्डा मात्रै हो । ठगिएका मानिस सबै पार्टीका हुन्, उनीहरूले न्याय पाउनुपर्छ । अनुसन्धान राम्रोसँग हुनुपर्छ र त्यो अनुसन्धानलाई सबै दलले सघाउनुपर्छ । कानुन सक्रिय हुँदा राजनीति मौन बस्नुपर्छ । प्रतिपक्षीले प्रश्न उठाउँदा त्यसलाई सकारात्मक रूपमा लिएर अगाडि बढ्नुपर्छ । प्रश्न र गुनासो मात्रै नभई अहिले देखिएको भिजिट भिसा प्रकरणजस्तो विषय छानबिनबाट टुङ्गिनुपर्छ ।

संसद्मा प्रस्तुत हुने विधेयकमा गहिरो छलफल हुनुको सट्टा हतारमा पारित हुन्छ भन्ने आलोचना छ, तपाईँको धारणा के छ ?

निजामती विधेयकको ‘कुलिङ पिरियड’ सन्दर्भमा भएको शब्द फेरबदल गम्भीर त्रुटी हो । हामी सबै त्यसका अंशियार छौँ – मात्रात्मक रूपमा कमबेसी होला । यसमा सर्वदलीय छानबिन समिति पनि बनेको छ । तर विधेयकको सन्दर्भमा कम छलफल हुन्छ भन्ने होइन । राज्य व्यवस्था समितिमा निजामती विधेयक पनि लामो समय छलफल भएको थियो । भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न २०७६ सालमा आएको विधेयक पनि सोही समितिले लामो छलफलपछि संसद्मा पठाएको हो ।

कहिलेकाहीँ हतारिएर विधेयक पारित गराउने प्रयास हुन्छ्, त्यस्तो रोक्न हामी लागेका छौँ । केही दिनअघि संसदमा प्रस्तुत गर्ने तयारीसहित कार्यसूचीमा राखिएको भूमिसम्बन्धी केही नेपाल ऐन संशोधन विधेयकमा सहमति जुटाएर मात्र अगाडि बढाउनुपर्ने भन्दै कार्यसूचीबाट हटाउन मैले नै पहल गरेको थिएँ ।

सांसदको रूपमा तपाईँले देख्नुभएको विधेयक निर्माण प्रक्रियामा सबैभन्दा ठूलो कमजोरी के हो ? सुधारका लागि तपाईँका दृष्टिकोणहरू के छन् ?

अध्यादेशमार्फत पनि विधेयक आउँछ । संसद्ले स्वीकृत गरेपछि प्रतिस्थापन विधेयकको रूपमा आउँछ । अध्यादेश मार्फत् विधेयक ल्याएको कुरामा प्रश्न उठ्छ । आरोप पनि आउँछ – नेपाली कांग्रेसले विपक्षमा हुँदा अध्यादेशको विरोध ग¥यो, सरकारमा हुँदा समर्थन ग¥यो । तर यो बिर्सनुभएन कि – २०८१ साल वैशाखमा हामी विपक्षमा हुँदा लगानी सहजीकरणसम्बन्धी विधेयकलाई समर्थन गरेका थियौँ । विषयवस्तु हेरेर समर्थन–विरोध गर्नुपर्छ । विषयलाई राम्रोसँग अध्ययन गरेर आवेगविहीन सोचको विकास गर्नुपर्छ ।

राजनीतिमा देखिएको नैतिकताको गिरावट र भ्रष्टाचारबारे तपाईँको दृष्टिकोण के छ ? यसमा कांग्रेसको भूमिका कस्तो हुनुपर्छ ?

कुनै पनि देशमा बलियो कानुन भएमा भ्रष्टाचार नियन्त्रण गर्न सकिन्छ । भ्रष्टाचारका मुद्दामा सबै दलका नेताहरू परेका छन् । कानुन निर्माण गरेर भ्रष्टाचार नियन्त्रण गर्नुपर्छ भन्नेमा सबैभन्दा अग्रसर नेपाली कांग्रेस देखिएको छ ।

अख्तियार दुरूपयोग अनुसन्धान ऐन, २०४८ कांग्रेस नेतृत्वको सरकारले ल्याएको हो । भ्रष्टाचार निवारण ऐन, २०५९ पनि कांग्रेस नेतृत्वकै सरकारले ल्याएको हो । कानुन पढेर संसद्मा प्रस्तुत गर्ने कांग्रेसकै मन्त्री जेल जानुभयो । मुलुकी अपराध संहिता, २०७४ पनि कांग्रेस नेतृत्वकै सरकारबाट आएको हो । कांग्रेसले बनाएको कानुनले कांग्रेसकै नेता जेल गएका छन् नि ।

भोलि मैले गल्ती गरे म पनि जेल जान्छु । तर कानुन कार्यान्वयन इमान्दारपूर्वक हुनुपर्छ । आफ्नो दललाई कारबाही गर्दा ‘गलत’ र प्रतिस्पर्धी दललाई कारबाही गर्दा ‘ठीक’ भन्ने प्रवृत्ति गलत हो । कानुन कार्यान्वयन गर्ने निकायले पारदर्शी रूपमा काम गर्नुपर्छ । ती निकायहरूलाई राजनीतिमुक्त गराउनुपर्छ । नेपाललाई पूर्ण रूपमा भ्रष्टाचारमुक्त बनाउन समय लाग्ला, तर त्यस दिशामा प्रयास भइरहेका छन् ।

आफ्नो पार्टीभित्रको आन्तरिक लोकतन्त्र, नव–नेतृत्व उत्पादन र प्रशिक्षणको अभ्यासबारे तपाईंको मूल्याङ्कन के छ ?

अन्य दलको तुलनामा नेपाली कांग्रेसभित्र अलि व्यवस्थित अभ्यास छ । जति लोकप्रिय भए पनि दुई पटकभन्दा बढी जिल्ला वा केन्द्रीय सभापति बन्न पाइँदैन ।
महाधिवेशन आउनुअघि नै अहिले पाँच जना सभापतिका आकाङ्क्षी देखिनुभएको छ । को बन्छ थाहा छैन, तर अरू दलमा चाहिँ को अध्यक्ष हुन्छ पहिल्यै थाहा हुन्छ । कांग्रेसमा हरेक ४–५ वर्षमा महाधिवेशन हुने, प्रतिस्पर्धाको आधारमा नेतृत्व चयन हुने परिपाटी छ । प्रश्न उठाउँदैमा पार्टीबाट निष्कासन हुँदैन । मैले सभापति शेरबहादुर देउवालाई ‘तपाईं अब छैटौँ पटक प्रधानमन्त्री बन्नुहुन्न’ भनेको थिएँ, भोलिपल्ट उहाँसँगै बसेर चिया पियौँ । मेरो हातमा स्पष्टीकरणको पत्र परेन नि त ।

अबको महाधिवेशनमा नेपाली कांग्रेस नेतृत्व चयनको प्रक्रियामा प्रवेश गर्दैछ । तपाईं स्वयं लामो समयदेखि पार्टीको विचार, सिद्धान्त र संगठनमा सक्रिय हुनुहुन्छ । सभापतिको जिम्मेवारीमा उम्मेदवारी दिने चाहना वा तयारी तपाईंको छ कि छैन ?

पार्टीको महामन्त्री भइसकेको मान्छे सभापति बन्नुपर्छ भन्ने आकाङ्क्षा हुनु अनौठो कुरा होइन । आकाङ्क्षा पुरा गर्नुपर्छ, तर अहिले गर्नुपर्छ भन्ने छैन । म पक्कै जित्छु, तर अहिले होइन । अहिले जसको हातमा जे जिम्मेवारी छ, उसले त्यो जिम्मेवारी इमान्दारितापूर्वक पूरा गर्नुपर्छ । सिधै भन्नुपर्दा, १५औँ महाधिवेशनमा नै सभापति बन्ने मेरो आकाङ्क्षा छैन । अरू साथीहरूलाई शुभेच्छा र शुभकामना छ ।

जलवायु परिवर्तनका विषयमा तपाईंको चासो झनै बढेको देखिन्छ । जलवायुजन्य सङ्कटको प्रभाव न्यूनीकरण तथा व्यवस्थापनमा तपाईंको भूमिका कस्तो रहनेछ ?

धेरै कुरामा रूपान्तरण जरुरी छ । जलवायु परिवर्तनको असरका कारण हिमालको हिउँ पग्लिएर कालापत्थरमा परिणत भएका छन् । यसको असर विश्वव्यापी रूपमा परेको छ । नेपालले बेमौसमी बाढीका घटना बेहोर्नुपरेको छ । इसिमोड र युएनडिपीका अध्ययनले नेपाल, भारत र चीनमा अवस्थित ४७ वटा हिमताल फुट्न सक्ने देखाएको छ । तीमध्ये २५ चीनमा, २१ नेपालमा र १ भारतमा पर्छ । यी हिमताल जुनसुकै बेला पनि फुट्न सक्छन् । तिनको सतह घटाएपछि मात्रै क्षति न्यूनीकरण गर्न सकिन्छ । असार २४ गते सुप्राग्लेसियर ताल फुट्दा रसुवामा बाढी आयो ।

नेपालले नगरेको गल्तीको सजाय भोगिरहेको छ । त्यसर्थ, जलवायु न्यायका लागि हामीले अन्तर्राष्ट्रिय समुदायमा वकालत बढाउनुपर्छ । जलवायु अनुकूलन, पूर्वसूचना प्रणाली विकास, विपद् व्यवस्थापन र प्रतिकार्य योजनाको प्रभावकारी कार्यान्वयन गर्नुपर्छ । जनचेतना बढाउनुपर्छ । हिमाल हाम्रो सम्पत्ति हो — जलवायु सङ्कटबाट हिमाल जोगाउन पैरवी बढाउनुपर्छ ।

बैतडीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, ६ घाइते

दरशथचन्द । बैतडीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । धनगढीबाट दार्चुलाको गन्नातर्फ गइरहेको सुपप्र ०४ ००१ज १३७२ नम्बरको जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो ।

डिलासैनी गाउँपालिका–१ का चालकसमेत रहेका २४ वर्षीय सन्तोषबहादुर राना र सोही ठाउँका ३२ वर्षीय किरण बोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए ।

जिपमा सवार अन्य छ जना घाइते भएका छन् । डिलासैनी–१ का ४५ वर्षीय रामकुमार राना, २१ वर्षीया भागरती खत्री, उनकी दुई वर्षकी छोरी एलिसा, २१ वर्षका हेमन्तप्रसाद भट्ट, २७ वर्षीय राजेन्द्रबहादुर खत्री र ५१ वर्षीया कमला धामी घाइते भएका प्रहरी निरीक्षक पाण्डेयले बताए । राजेन्द्र र कलमालाई थप उपचारका लागि धनगढी पठाएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

शनिबार बिहान ५ः३० बजे बैतडीको पाटन–६ स्थित खिपालीमा जिप दुर्घटना भएको हो । दुर्घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय पाटनको टोली र स्थानीय उद्धारमा खटिएका थिए । जिप सडकबाट करिब १०० मिटर तल भिरमा थामिएको छ । दुर्घटनाको कारण खुल्न सकेको छैन ।

इन्जिनका इन्धन स्विच ‘कट–अफ’ हुँदा इयर इन्डियाको विमान दुर्घटना

बीबीसी, हिन्दी । गत महिना भएको एयर इन्डियाको विमान दुर्घटनाको प्रारम्भिक अनुसन्धान प्रतिवेदन सार्वजनिक भएको छ । भारतको विमान दुर्घटना अनुसन्धान ब्यूरोले इन्धन आपूर्तिसँग सम्बन्धित गम्भीर त्रुटिले दुर्घटना निम्त्याएको प्रतिवेदन सार्वजनिक गरेको हो ।

प्रतिवेदन अनुसार, विमानले ‘टेक अफ’ गरेलगत्तै दुबै इन्जिनका इन्धन स्विचहरू ‘कट–अफ’ स्थितिमा गएका थिए । ककपिट भ्वाइस रेकर्डिङमा एक पाइलटले अर्का पाइलटसँग सोधेको सुनिन्छ, ‘तिमीले कट–अफ किन गर्यौ ?’, जवाफमा दोस्रो पाइलटले भने, ‘मैले गरेकै हैन ।’ आवाज कसको हो भन्ने भने प्रतिवेदनमा स्पष्ट छैन ।

उडानको क्रममा विमान को–पाइलटले उडाइरहेका थिए भने कप्तानले निगरानी गरिरहेका थिए । टेक अफको केही सेकेन्डपछि विमानले अधिकतम १८० नट्सको गति हासिल गरेको थियो । तर त्यसको तुरुन्तैपछि इन्जिन १ र २ दुबैका फ्युल स्विच क्रमशः रनबाट कट–अफमा सरेका थिए ।

दुर्घटनामा विमानभित्र र भुइँमा रहेका गरी २६० जनाको मृत्यु भएको थियो । दुर्घटनमा एक यात्रु बेलायती नागरिक विश्वास कुमार रमेश भने बच्न सफल भएका थिए ।

प्रारम्भिक प्रतिवेदनले देखाउँछ कि टेक अफको केही सेकेन्डमै विमानले उचाइ गुमाउन थालेको थियो । सिसिटिभी फुटेज अनुसार, रनवेको बाउन्ड्री पार गर्नुअघि नै विमान तल झर्न थालेको देखिएको थियो । आपतकालीन अवस्थामा प्रयोग हुने ‘र्याम एयर टर्बाइन’ स्वचालित रूपमा सक्रिय भएको पुष्टि गरिएको छ।

दुर्घटनापछि पाइलटहरूले इन्जिन पुनः सक्रिय गर्ने प्रयास गरेका थिए । झण्डै ९ सेकेन्डपछि एक पाइलटले ‘मे डे, मे डे, मे डे’ भन्दै एयर ट्राफिक कन्ट्रोललाई सन्देश पठाए पनि जवाफ प्राप्त नभएको उल्लेख छ ।

दुवै पाइलट र फ्लाइट क्रूको ब्रीथ एनालाइजर परीक्षण गरिएको थियो र सबै ‘उडानको लागि योग्य’ पाइएका थिए । इन्धनको नमुना परीक्षण ‘सन्तोषजनक’ रहेको प्रतिवेदनले जनाएको छ । यद्यपि, केही नमूनाहरु अत्यन्त कम परिमाणमा भएकाले विशेष प्रयोगशालामा पठाइएको बताइएको छ ।

विज्ञप्तिमा ‘श्री ५’ नलेख्ने प्रतिबद्धता जनाएपछि पाठक रिहा

काठमाडौं । प्रहरीले पूर्वराजा ज्ञानेन्द्र शाहका संवाद सचिव डा. फणिराज पाठकलाई आगामी दिनमा ‘श्री ५ महाराजाधिराज’ भन्दै विज्ञप्ति ननिकाल्ने शर्तमा रिहा गरेको छ ।

‘श्री ५ महाराजाधिराज’ भन्दै विज्ञप्ति निकाल्ने गरेको भन्दै शुक्रबार जिल्ला प्रहरी परिसर काठमाडौंमा पाठकलाई बोलाइएको थियो । दिनभरको सोधपुछपछि साँझ अब आइन्दा ‘श्री ५ महाराजाधिराज’ भन्दै विज्ञप्ति ननिकाल्ने शर्तमा पाठकलाई रिहा गरिएको परिसरका प्रवक्ता एसपी अपीलराज बोहराले जानकारी दिए ।

पाठकले पूर्वराजा शाहलाई नेपालको संविधानले नचिनेको ‘श्री ५ महाराजधिराज’ भनि सम्बोधन गर्दै विज्ञप्ति निकाल्दै आएका थिए ।

कम्पनी रजिस्ट्रारको कार्यालयलाई प्रत्यक्ष निगरानी गर्न मन्त्रालयलाई मन्त्री भण्डारीको निर्देशन

काठमाडौँ । कम्पनी रजिस्ट्रारको कार्यालयमाथि अनियमितताका प्रश्न उठेसँगै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी कडा एक्सनमा उत्रिएका छन् । उनले कम्पनी रजिस्ट्रारको कार्यालयलाई प्रत्यक्ष निगरानीमा राख्न, त्यहाँ सञ्चालित अनलाइन प्रणाली र सिसिटिभीको प्रत्यक्ष अनुगमन गर्न सम्बन्धित महाशाखालाई निर्देशन दिएका हुन् ।

कर्मचारीहरूले सेवाग्राहीबाट आर्थिक लाभका आधारमा काम गरिरहेको र सफ्टवेयर डाउन सम्मको क्रियाकलाप भएको विषय सञ्चार माध्यममा आएको थियो । उक्त विषयमा विभिन्न संयन्त्रमार्फत अनुसन्धान भइरहेको र प्रमाण पाउनासाथ सम्बन्धित कर्मचारीलाई कारबाही गर्ने मन्त्री भण्डारीको सचिवालयले जनाएको छ ।

कम्पनी दर्ता, नवीकरण लगायतको कामका लागि केही समयदेखि थन्किएका पेण्डिङ फाइलहरू असार मसान्तसम्म दिन–रात सेवा दिएर भए पनि टुङ्ग्याउन मन्त्री भण्डारीले निर्देशन दिएका छन् ।

उनको निर्देशनमा शुक्रबार औद्योगिक तथा लगानी प्रवद्र्धन महाशाखा प्रमुख जितेन्द्र बस्नेत नेतृत्वको टोली कम्पनी रजिस्टारको कार्यालय पुगेको थियो ।

टोलीसँग कर्मचारीहरूले काम गर्ने क्रममा केही कानुनी र प्राविधिक समस्या रहेका कारण काममा ढिलाइ भइरहेको गुनासो गरेका छन् । उनीहरूले हाल सञ्चालनमा रहेका २ वटा अनलाइन प्रणालीका कारण केही समस्याहरू आइरहेको बताएका छन् । पूर्ण अनलाइन प्रणालीमा गइसकेको कम्पनी रजिस्ट्रारको कार्यालयमा अझै लाई नबस्नुपर्ने बाध्यता रहेको सेवाग्राहीको गुनासो छ ।

मन्त्रालयका महाशाखा प्रमुख बस्नेतले समस्या समाधानका लागि आवश्यक समन्वय गर्ने भन्दै असार मसान्त भित्र दिन–रात खटेर हालसम्मका पेण्डिङ फाइलहरूको काम सम्पन्न गर्नुपर्ने बताए ।

बस्नेतले कार्यालयका जोकोही कर्मचारीबाट पनि आर्थिक अनियमितता भएको भए कारबाही गर्ने बताउँदै आर्थिक अनियमिततामा विषयमा शून्य सहनशीलता अपनाउन निर्देशन दिए ।

यसअघि मन्त्रालयले बिहानै कम्पनी रजिस्टारको कार्यालयलाई निर्देशनात्मक पत्र पठाएको छ । उक्त पत्रमा लेखिएको छ ‘कम्पनी रजिस्ट्रार कार्यालयले सञ्चालनमा ल्याएको CAMIS प्रणालीमा लामो समय देखीका निवेदनहरू पेण्डिङ रहेको र अनलाइन प्रणाली अवलम्बन गर्दा पनि कार्यालय परिसरमा सेवाग्राहीहरू उपस्थित नभई काम नहुने र कार्यालयमा असम्बन्धित मान्छेहरूको समेत चहलपहल भई भिडभाडको अवस्था रहेको जनगुनासो आएको सन्दर्भमा मन्त्रालयबाट सेवा प्रवाहलाई प्रभावकारी बनाउन सहयोग पुर्याउने उद्देश्यले मन्त्रालयका सहसचिवको नेतृत्वमा अनुगमन÷निरीक्षण समिति गठन गरी खटाइएको छ ।’

पत्रमा कम्पनीहरूको अद्यावधिक विवरण छुट, सहुलियतका लागि निवेदन र अन्य प्रकारका कम्पनी सम्बन्धी सेवा लिन ठूलो सङ्ख्यामा आर्थिक वर्षको अन्त्यतिर अनलाइन प्रणालीमा आवेदन प्राप्त भएको र सो कार्य तत्काल सम्पन्न गरी छिटो, छरितो सेवा उपलब्ध गराउन कार्यालयले नियमित कार्यालय समय बाहेक बिहान÷बेलुका र बिदाको दिन समेत निर्बाध रूपमा कार्यालय सञ्चालन गर्ने सम्बोधन गर्दै अगामी दिनमा गुनासो रहित सेवा व्यवस्था मिलाई सेवा प्रवाह समयमै गरी जनगुनासा समाधान गर्न निर्देशन दिएको छ ।

एनपिएल प्रतियोगिता अझै व्यवस्थित ढङ्गबाट आयोजना हुन्छः खेलकुदमन्त्री चौधरी

काठमाडौँ । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले नेपाल क्रिकेट सङ्घ (क्यान)ले आयोजना गर्ने नेपाल प्रिमियर लिग (एनपिएल) प्रतियोगिता अझै व्यवस्थित ढङ्गबाट आयोजना हुने बताएका छन्।

खेलकुद मन्त्रालयद्वारा शुक्रबार आयोजित ‘युवा पत्रकारिता पुरस्कार’ वितरण समारोहमा मन्त्री चौधरीले विभिन्न विवादका बाबजुद पनि एनपिएल अयोजना हुने बताए।

पहिलो संस्करण सम्पन्न भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा एनपिएलबारे उजुरी परेको थियो। त्यसपछि अख्तियारले आवश्यक कारबाहीका लागि खेलकुद मन्त्रालयलाई पत्र पठाएको थियो। मन्त्रालयले पनि त्यसको प्रतिउत्तर अख्तियारमा पठाइसकेको उनले बताए छ।

मन्त्री चौधरीले भने, “हामीसँग खरिद आदेश ऐन र नियमावली छ, खेलकुद विकास ऐन, २०७५ छ, खरिद आदेश मान्ने कि नमान्ने ?  त्यसकारण एनपिएल हुन्छ, तर व्यवस्थित तरिकाबाट हुन्छ।” उनले ऐन/कानुन र नियमावलीको परिधिभित्र रहेरै एनपिएल हुने बताए।

मन्त्री चौधरीले सिङ्गो पत्रकारिता क्षेत्रले आवाजविहीनको आवाज उठाउनुपर्नेमा जोड दिँदै पत्रकारले सत्यतथ्यमा आधारित निश्पक्ष र विश्वसनीय समाचार दिनुपर्ने बताए।

उनले भने, “युवाका क्षेत्रमा क्रियाशील भई युवाको गतिविधि गर्ने, युवा जागरण, सामाजिक विकृति र विसङ्गतिको अन्त्य गर्दै सामाजिक सद्भाव, युवा उद्यमशीलता, विकास र रोजगारीको क्षेत्रलगायत समग्र युवाका क्षेत्रमा योगदान पुर्‍याएबापत यो मन्त्रालयले युवा पत्रकारिता पुरस्कार प्रदान गर्दै आएको छ, मलाई आशा छ पुरस्कृत युवा पत्रकारले युवाका क्षेत्रमा अझ सशक्त रुपमा काम गर्नु हुनेछ।”

भ्रष्टाचारलाई अन्त्य गर्न र सुशासन कायम गर्नेगरी आफ्नो भूमिका निर्वाह गर्न मन्त्री चौधरीले पत्रकारहरुलाई आग्रह गरे।

सुरक्षा चेतावनी आएको इरानकी नोबेल पुरस्कार विजेता मोहम्मदीको दाबी

तेहरान । सन् २०२३ को नोबेल शान्ति पुरस्कार जितेकी इरानी अधिकारकर्मी नर्गेस मोहम्मदीलाई तेहरानले ज्यान मार्ने धम्की दिएको नोबेल समितिले शुक्रबार जनाएको छ ।

बितेको एक दशकको अधिकांश समय जेलमा बिताएकी मोहम्मदीलाई गत डिसेम्बरमा तेहरानको इभिन जेलबाट मेडिकल बिदामा सीमित समयका लागि रिहा गरिएको थियो।

नर्वेको नोबेल कमिटीका अध्यक्ष जोर्गेन वाट्ने फ्राइडनेसले एक विज्ञप्ति जारी गर्दै ५३ वर्षीया मोहम्मदीको ‘जरूरी फोन’ आएको बताएका छन् ।

उनले भने, “मोहम्मदीको आफ्नै शब्दमा भन्ने स्पष्ट सन्देश के हो भने मलाई प्रशासनका एजेन्टहरूले प्रत्यक्ष र अप्रत्यक्ष रूपमा ‘ज्यान लिर्ने’ धम्की दिएका छन् ।

विज्ञप्तिमा भनिएको छ, “मोहम्मदीलाई दिइएको धम्कीले स्पष्ट पार्छ कि जबसम्म उहाँले इरानभित्र सबै सार्वजनिक संलग्नता र लोकतन्त्र, मानव अधिकार र अभिव्यक्ति स्वतन्त्रताको समर्थनमा कुनै पनि अन्तर्राष्ट्रिय वकालत वा मिडिया उपस्थितिलाई अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुहुन्न उहाँको सुरक्षा खतरामा छ ।”

समितिले मोहम्मदी र ‘आलोचनात्मक आवाजसहित सबै इरानी नागरिकमाथिको खतराप्रति गहिरो चिन्ता व्यक्त गरेको छ र अधिकारीहरूलाई उनीहरूको जीवनमात्र होइन, उनीहरूको अभिव्यक्ति स्वतन्त्रताको पनि रक्षा गर्न आह्वान गरेको छ।

इरानमा मृत्युदण्डको व्यापक प्रयोग गरिएको र महिलाका लागि देशको अनिवार्य ड्रेस कोडविरुद्ध मुखर अभियान चलाएको भन्दै मोहम्मदीमाथि पटक–पटक मुद्दा चलाइएको छ ।

उनलाई मुख्यतया इरानमा महिला उत्पीडनविरुद्धको सङ्घर्षमा महत्वपूर्ण योगदानका लागि दुई बर्ष पहिले नोबेल पुरस्कारबाट सम्मानित गरिएको थियो । त्यतिबेला उनी जेलमा रहेकाले उनका छोराछोरीले उनको तर्फबाट पुरस्कार बुझेका थिए ।

ब्याजदर घटाउन हतार नगर्ने इसीबीको भनाई

जर्मनी । युरोपेली केन्द्रीय बैङ्क (इसीबी) ले तत्काल फेरि ब्याजदर कटौती गर्न हतार गर्नु नहुने बताएको छ । इसीबीका कार्यकारी बोर्ड सदस्य इसाबेल स्केनाबेलले शुक्रबार प्रकाशित एक अन्तर्वार्तामा तत्काल फेरि ब्याजदर कटौती गर्न हतार गर्नु नहुने बताएका हुन् ।

“हामी राम्रो अवस्थामा छौँं,” युरो क्षेत्रमा उत्पादन र वृद्धिको मजबुत आँकडालाई इङ्गित गर्दै स्केनाबेलले वित्तीय समाचार सेवा इकोनोस्ट्रिम मिडियासँग भने ।

उनका अनुसार इसिबी अन्तर्गतका बैङ्कहरूको हालको दरहरूले ऋणीहरूलाई रोकिरहेका छैनन् । स्केनाबेलले भने, “विनिर्माण क्षेत्रमा सुधार जारी छ, सबै अग्रगामी सूचकहरूले आश्चर्यजनक रूपमा उनीहरूको वृद्धिको प्रवृत्तिलाई जारी राखेका छन् । यसको अर्थ अर्को दर कटौतीका लागि सम्भावना धेरै उच्च छ ।”

डलरको तुलनामा युरोको पछिल्लो मजबुतीले मुद्रास्फीतिलाई इसीबीको दुई प्रतिशतको लक्ष्यभन्दा तल धकेल्न सक्छ कि भनेर सोधिएको प्रश्नमा स्केनाबेलले आफू सशङ्कित रहेको बताए ।

“विनिमय दरको मूल्यवृद्धिले अन्तर्निहित मुद्रास्फीतिमा तलको दबाब दिने डर अतिरञ्जित छ,“ स्केनाबेलले भने ।

उनले तर्क गरे, “धेरै युरोपेली आयातकर्ताहरूले सम्भवतः उपभोक्ताहरूलाई बचत हस्तान्तरण नगरेर आफ्नो लागि कम आयात लागत सुरक्षित राख्नेछन् ।” उनले युरोको पछिल्लो शक्तिले नै युरोजोनमा नयाँ आर्थिक शक्ति प्रतिबिम्बित गरेको बताए ।

“मैले नयाँ आर्थिक बर्षको पहिलो छ महिनामा मुद्रास्फीतिको निरन्तर न्यूनिकरणको कुनै जोखिम देख्दिनँ,“ स्केनाबेलले भने ।

हालै पोर्चुगलमा आयोजित एक इसीबी कार्यक्रममा अमेरिकी फेडरल रिजर्भका अध्यक्ष जेरोम पावेलसँग भेटेकी स्केनाबेलले राष्ट्रपति डोनाल्ड ट्रम्पले ब्याजदर छिटो घटाउन माग गरिरहेको अवस्थामा फेडले आफ्नो स्वतन्त्रता कायम राख्न सक्नेमा आफू आशावादी रहेको बताएका थिए ।

दक्षिण कोरिया, अमेरिका र जापानका शीर्ष सैन्य प्रमुखहरूबीच सियोलमा भेट

सियोल ।  दक्षिण कोरिया, संयुक्त राज्य अमेरिका र जापानका शीर्ष सैन्य प्रमुखहरूबीच शुक्रबार सियोलमा भेट भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वासिङ्टन सहयोगीहरूलाई रक्षा खर्च र व्यापारमा दबाब दिएका छन् ।

शीर्ष अमेरिकी सैन्य अधिकारी जनरल डान केनले क्षेत्रीय सुरक्षा सम्बन्धी वार्षिक बैठकको एक हिस्साका रूपमा दक्षिण कोरियाली समकक्षी किम म्युङ–सु र जापानका जनरल योशिहिदे योसिदासँग वार्ता गरेका थिए ।

उनीहरूले मस्को र प्योङयाङबीच बढ्दो सैन्य सम्बन्धबारे छलफल गरे । उत्तर कोरियाले युक्रेनमा रुसको युद्धका लागि हतियार र हजारौँ सेना पठाएको छ ।

वार्तामा रूसबाट उत्तर कोरियामा सैन्य प्रविधिको सम्भावित हस्तान्तरणको बारेमा छलफल गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ । उनीहरूले आणविक–सशस्त्र उत्तर कोरियालाई त्यस्ता सबै गैरकानूनी गतिविधिहरू ‘तुरुन्तै बन्द’ गर्न आह्वानगरे ।

त्रिपक्षीय वार्तामा केनले उत्तर कोरिया र चीन दुवै ‘आफ्नै एजेन्डाका साथ अगाडि बढ्ने स्पष्ट र स्पष्ट अभिप्रायका साथ अभूतपूर्व सैन्य निर्माणबाट गुज्रिरहेको’ बताए ।

‘हामीले त्यसप्रति सचेत रहन आवश्यक छ, हामी हाम्रो साझेदारीमा उद्यमशीलता र सक्रिय हुन सङ्कल्प प्रदर्शन गर्न सक्षम हुन आवश्यक छ,’ उनले भने ।

छुट्टै, तीन देशले शुक्रबार दक्षिण कोरियाको दक्षिणी टापु जेजुमा संयुक्त हवाई अभ्यास गरेका छन् । अभ्यासमा अमेरिकी बी–५२ एच रणनीतिक बमवर्षक समावेश रहेको रक्षा मन्त्रालयले जनाएको छ ।

सियोलको लामो समयदेखिको सुरक्षा सहयोगी वासिङ्टनले दक्षिणमा करिब २८ हजार पाँच सय सैनिक राखेको छ ।

दुई देशले सन् २०२४ मा ती सेनाको लागत बाँड्न नयाँ पाँच वर्षे सम्झौतामा हस्ताक्षर गरेका थिए, तर यस हप्ता ट्रम्पले दक्षिण कोरियाले ‘सेनाका लागि धेरै थोरै तिर्दैछ’ भने ।

सियोललाई २५ प्रतिशत कर लगाउने धम्की दिनुभएका ट्रम्पले दक्षिण कोरियाले ‘आफ्नो सेनाको मूल्य चुकाउनु पर्ने’ बताए ।

दक्षिण कोरियाको विदेश मन्त्रालयले यस हप्ता रक्षा लागत सम्झौता ‘विश्वासपूर्वक कार्यान्वयन गर्न प्रतिबद्ध रहेको’ र यो ‘वैध रूपमा निष्कर्षमा पुगेको र लागू भएको’ बताएको छ ।

नागरिकता विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभाबाट स्वीकृत

काठमाडौं। ‘प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव राष्ट्रियसभाबाट सर्वसम्मतिले स्वीकृत भएको छ ।

सभाको शुक्रबारको बैठकमा गृहमन्त्री रमेश लेखकले उक्त प्रस्ताव प्रस्तुत गरेका थिए । बैठकमा सो प्रस्तावमाथिको छलफलमा सभाका सदस्यहरूले विधेयकको सैद्धान्तिक पक्षमा आ–आफ्नो धारणा राखेका थिए ।

सांसदहरुले उठाएका विषयमा गृहमन्त्री लेखकले जवाफ दिँदै आमाको नामबाट नागरिकता दिने व्यवस्थासहित उक्त विधेयक आएको जनाकारी दिए ।

‘नागरिकता प्राप्त गर्ने वा राज्यले प्रदान गर्ने विषय सरल होस्, जटिलता नहोस् भनेर यी व्यवस्थासहित विधेयक प्रस्तुत भएको छ’, गृहमन्त्री लेखकले भने, ‘अझै केही कुरा थपेर परिमार्जन गर्नुपर्ने छ भने यसमा सरकार खुला छ । यो विधेयकलाई अन्तिम रूप दिने अधिकार यस सभालाई छ । छिटो पारित भए धेरै नागरिकलाई नागरिकता प्राप्त गर्न सहज हुन्छ ।’

अन्तरराष्ट्रिय चलचित्र महोत्सवमा जमेका चलचित्र घरेलु बजारमा कमजोर !

काठमाडौं । पछिल्लो समय नेपाली चलचित्रले अन्तरराष्ट्रिय चलचित्र महोत्सवमा आफ्नो उपस्थिति बलियो बनाएका छन् । गत वर्ष सन् २०२४ मा बर्लिन चलचित्र महोत्सवको अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा छनोट भएपछि नेपाली चलचित्र ‘शाम्बाला’ को राम्रै चर्चा भयो । यद्यपि गएको वर्ष विसं २०८१ को नेपालमा प्रदर्शन भएका चलचित्रको ‘बक्सअफिस’ तथ्याङ्क हेर्ने भो व्यापार राम्रो गर्न सकेको छैन ।

यही असार १६ मा चलचित्र विकास बोर्डले पछिल्लो २५ वर्षमा सर्वाधिक कमाई गर्ने २५ चलचित्रको नामावली सार्वजनिक गर्‍यो । जहाँ कलात्मक रुपमा निर्माण गरिएका र अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा नेपाललाई प्रतिनिधित्व गर्ने कुनै चलचित्र परेनन् । अर्थात् घरेलु बजारमा चलचित्र महोत्सवमा पुग्ने चलचित्र सफल हुनसकेका छैनन् ।

नेपाली दर्शकले घरेलु बजारमा ती चलचित्रलाई किन साथ दिइरहेका छैनन् भन्ने जिज्ञासामा चलचित्र निर्देशक सुवर्ण थापाले दर्शकमा स्थापित भएको भाष्य कारक मानेका छन् । ‘अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा पुग्ने चलचित्र बुझ्न कठिन हुन्छ, यो हाम्रो लागिभन्दा पनि विदेशीका लागि बनाइएको हो भन्ने भाष्य दर्शकमा स्थापित हुनु गलत हो । चलचित्र सबैका लागि निर्माण गर्छौं, विदेशी चलचित्र बुझ्ने दर्शकले स्वदेशी चलचित्र नबुझ्ने त हुँदैन होला । हाम्रो निर्माण शैली नियमितभन्दा फरक हुनसक्छ तर हामीले सबै दर्शकका लागि बनाएका हुन्छौ’, निर्देशक थापाले भने ।

उनले चलचित्र विकास बोर्डले घरेलु बजारमा व्यापार गर्ने चलचित्रसँगै अन्तर्राष्ट्रिय महोत्सवमा नेपाललाई प्रतिनिधित्व गर्ने, नेपाली परिवेशलाई प्रस्तुत गर्ने र नेपाली कला, संस्कृतिको प्रवद्र्धन गरिरहेका कलात्मक चलचित्रलाई पनि प्रोत्साहन गर्नुपर्ने विचार राखे ।

निर्देशक थापाले भने, ‘घरेलु बजारमा व्यापार गरेका कुनै चलचित्रले अन्तरराष्ट्रिय महोत्सवमा पुगेर नेपाललाई प्रतिनिधित्व गरेनन्। हामीले देशको परिवेश र संस्कृतिलाई लिएर विदेशी चलचित्रकर्मीसम्म पुर्‍याएका छौँ । अहिले कलात्मक रुपमा अन्य धेरै देशका भन्दा नेपाली चलचित्र अब्बल बन्ने गरेका छन् । यसलाई राज्य र घरेलु दर्शकबाट प्रोत्साहन चाहिएको छ ।’ उनले निर्देशन गरेको ‘सुनगाभा’, ‘राधा’ अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा पुगेका थिए ।

निर्देशक तथा समीक्षक दीपेन्द्र लामाले चलचित्रको व्यापार र कलात्मक पक्ष भिन्न रहेको बताए । चलचित्रको समीक्षा र व्यापारलाई तुलना गर्न नहुने उनको धारणा छ ।

उनले भने, ‘नेपालमा मात्र नभई छिमेकी मुलक भारत र हलिउडकै कलात्मक वा महोत्सवमा अब्बल साबित भएका चलचित्रहरू बक्सअफिसमा कमजोर देखिएका छन् । हाम्रोभन्दा बजार ठूला भएकाले उनीहरुको व्यापार बढी भए जस्तो लागेको हो तर सर्वाधिक कमाउने चलचित्रको सूचीमा ती चलचित्र हुँदैनन् ।यस्तै, राम्रा चलचित्रको सूचीमा बक्सअफिसमा सफल चलचित्र पर्दैनन् । तर, ती कलात्मक वा महोत्सव केन्द्रित देखिएका चलचित्रलाई राज्यले प्रोत्साहन गर्नुपर्छ र बिस्तारै ती घरेलु बजारमा पनि अब्बल साबित हुन्छन् ।’

उनले घरेलु बजारमा महोत्सवमा अब्बल भनिएका चलचित्रको व्यापार कमजोर हुनुलाई दर्शकको स्वाद मेल नखाएको बताएका छन् । आफै चलचित्र समीक्षक हुँदा कलात्मक चलचित्रको प्रवद्र्धनमा जुटेका लामाले चलचित्र निर्देशक भएपछि त्यस्ता कलात्मक चलचित्र निर्देशन गर्नसकेका छैनन् ।

‘महोत्सवमा पुगेका चलचित्र र नेपाली दर्शकको स्वाद एकापसमा नमिलेको हुनसक्छ । यो स्वाभाविक पनि हो, किनकि हामीले विश्व चलचित्रसँग प्रतिस्पर्धा गर्ने काम गरिरहँदा त्यो सबैका लागि उपयुक्त नहुन पनि सक्छ । तर, त्यस्ता चलचित्रको निर्माण निरन्तर हुनुपर्छ अनि मात्र हामीले घरेलु दर्शकको संख्या बढाउन सक्छौँ’, निर्देशक लामाले भने ।

अभिनेत्री केकी अधिकारीले नेपाली चलचित्रले अन्तर्राष्ट्रिय महोत्सवमा पुग्दा आफूलाई खुसी लाग्ने बताइन् । ‘म ती चलचित्रको दर्शक हुँ, म कुर्ने गर्छु । तर, म जस्ता दर्शक कम भएका हुन् कि जस्तो लाग्छ । कहिलेकाहीँ ती चलचित्रको चर्चा हुँदा ती चलचित्र भवनमा हुँदैनन् । यस्ता विभिन्न तथ्यले गर्दा महोत्सवमा अब्बल भनिएका चलचित्र घरेलु बजारमा कमजोर भएका छन्’, उनले भनिन् ।

अभिनेत्री अधिकारीले भनिन्, ‘म चलचित्रमा निर्मात्रासँगै अभिनेत्री पनि थिएँ । हामीले उठान गरेका विषय अन्तर्राष्ट्रिय महोत्सवमा पुग्नुपर्छ भन्ने लागेको थियो । तर, निर्माताका रुपमा मैले चलचित्र प्रदर्शन हुनु नै सफलता हो भन्ने ठाउँमा पुगे, संघर्ष धेरै भए । हामीले चाहेका चलचित्र महोत्सवमा पठाउन नमिल्ने रहेछ, अन्यमा पठाउन मसहित चलचित्र निर्माण समूहको निर्णय भएन ।’

उनको चलचित्र अन्तर्राष्ट्रिय चलचित्र महोत्सव नपुगेता पनि घरेलु बजारमा राम्रो व्यापार गर्न सफल भयो । उक्त चलचित्रले रु १० करोड व्यापार गरेको तथ्याङ्क चलचित्र विकास बोर्डमा छ । घरेलु बजारमा सर्वाधिक कमाई गर्ने चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ का निर्माता विनोद पौडेलले घरेलु बजार र अन्तर्राष्ट्रिय महोत्सवमा पुग्ने दुवै किसिमका चलचित्र चाहिने बताए । ‘हामीले कलात्मक भन्ने ‘आर्टहाउस फिल्म’ र व्यासायिक भन्ने दुवै किसिमका चलचित्र बनाउनु पर्छ । किनकि घरेलु बजारसँगै अन्तर्राष्ट्रिय उपस्थिति महत्वपूर्ण छ । अहिले राज्यको प्रोत्साहन दुवैलाई चाहिएको छ’, निर्माता पौडेलले भने ।

आफ्नो पहिलो चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ प्रदर्शनका क्रममा गर्नुपरेको संघर्षलाई स्मरण गर्दै उनले चलचित्र भवन सञ्चालकले नेपाली चलचित्रलाई दायित्वका रुपमा पनि बुझ्नुपर्ने बताए ।

‘म अस्ट्रेलियामा चलचित्र वितरण गर्थे । त्यहाँ एक हप्ताको ‘शो’ निकालिएपछि घटाइने वा हटाइने हुँदैन, यसले स्थिर बनाउनाका साथै दर्शकले आफ्नो समयअनुसार चलचित्र हेर्ने सोच बनाउँछन् । तर, यहाँ ‘शो’ कतिबेला हट्छ भन्ने थाहै हुँदैन, त्यसैले यसमा स्थिरता भएमा घरेलु बजारमा हामीले चर्चा गरिरहेको दुवै चलचित्रलाई लाभ हुन्छ भन्ने मलाई लाग्छ’, निर्माता पौडेलले भने ।

चलचित्र महोत्सवलाई लक्षित गर्दै निर्माण गरिएका चलचित्रमा ‘गाउँ आएको बाटो’ ले घरेलु बजारमा रु चार करोडको व्यापार गरेको थियो । ‘आर्टहाउस फिल्म’ भनिएको ती चलचित्रको सूचीमा ‘गाउँ आएको बाटो’ नै अहिलेसम्म सर्वाधिक कमाउने चलचित्र बनेको छ ।

बाढीले २६० मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीबाट विच्छेद

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दिपक खड्काले रसुवामा हालै आएको बाढीका कारण करिब २६० मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीबाट विच्छेद भएको बताएका छन् ।

राष्ट्रियसभाको शुक्रबारको बैठकमा मन्त्री खड्काले  ‘प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त जलस्रोत विधेयक, २०८१ माथि विचार गरियोस्’, भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । सभाले उक्त प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ ।

उक्त प्रस्ताव प्रस्तुत गर्नुअघि मन्त्री खड्काले मङ्गलबार रसुवामा आएको बाढीले त्रिशूली नदी करिडोरमा सञ्चालनमा रहेका महत्वपूर्ण जलविद्युत् आयोजना तथा प्रसारण संरचनामा क्षति पुग्दा करिब २६० मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीबाट विच्छेद भएको जानकारी दिए ।

उनका अनुसार १११ मेगावाट क्षमता रहेको रसुवागढी जलविद्युत् आयोजना, २२ मेगावाट क्षमताको चिलिमे जलविद्युत् आयोजना, २१ मेगावाट क्षमताको त्रिशूली जलविद्युत् आयोजना र १४ मेगावाट क्षमताको देवीघाट आयोजना बाढीका कारण अवरुद्ध रहेका छन ।

बाढीको मूल कारण वर्षा नभईकन माथिल्लो जलाधार क्षेत्रमा अवस्थित हिमताल विस्फोटबाट बहाव भएको प्रारम्भिक अनुमान गरिएको मन्त्री खड्काले बताए ।

‘सेन्टिनल एसिया प्लेटमार्फत यो पुष्टि भएको छ कि रसुवा–तिब्बत क्षेत्रभित्रको लेन्दे खोलामा रहेको एक सुपर ग्लेसियर हिमालयको क्षेत्रमा घटना हुनुअघि शून्य दशमलव ७५ वर्ग किलोमिटरबाट घटेर शून्य दशमलव ६० वर्ग किलोमिटरमा सीमित भएको छ’, मन्त्री खड्काले भने ।

काठमाडौं महानगरले आइतबार २५ अर्बको बजेट ल्याउने

काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आइतबार बजेट ल्याउने भएको छ । शुक्रबार बसेको महानगरको कार्यपालिका बैठकले आइतबार दिउँसो २ बजेका लागि नगरसभा बैठक बोलाउने निर्णय गरेको हो । त्यसअघि बिहान ९ बजे कार्यपालिकाको बैठक बस्नेछ ।

शुक्रबार दिउँसो बैठक सुरु भएलगत्तै महानगरका मेयर बालेन साहले आज २४ वटा एजेन्डा रहे पनि एउटामात्र प्रस्ताव राख्ने बताएका थिए । मेयर साहले असार २९ गते दिउँसो २ बजे नगरसभा बैठक बोलाउने प्रस्ताव राखे । उपस्थित कार्यपालिका सदस्यहरूले समर्थन जनाएपछि प्रस्ताव पारित भएको थियो । लगत्तै मेयर बालेनले बैठक सकिएको घोषणा गरेका थिए ।

त्यसअघि बसेको स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समिति र राजश्व परामर्श समितिको बैठकले आगामी आर्थिक वर्षका लागि करिब २५ अर्ब ११ करोडको बजेट ल्याउने निर्णय गरेको थियो ।

बैठकमा मेयर साले जनचाहना अनुरूप विकासका कार्य गर्ने गरी पूर्वाधार विकासमा बजेट थप गर्न निर्देशन दिएका थिए । चालु आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्षमा पूर्वाधार विकासमा बजेट थप गर्ने राजश्व परामर्श समितिले निर्णय समेत गरेको छ ।

आगामी आर्थिक वर्षको बजेटमा आर्थिक विकास क्षेत्रतर्फ ३ प्रतिशत, कार्यालय सञ्चालन तथा प्रशासनिक १४ प्रतिशत, पूर्वाधार विकासतर्फ ५१ प्रतिशत, सामाजिक विकासतर्फ २० प्रतिशत र सुशासन तथा अन्तर सम्बन्धित क्षेत्रतर्फ १२ प्रतिशत बजेटको सीमा तोकिएको छ।

ठमेलमा ‘पर्यटन सूचना केन्द्र’ स्थापना

 

काठमाडौँ । काठमाडौंको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा ‘पर्यटन सूचना केन्द्र’ स्थापना गरिएको छ । बागमती प्रदेशको संस्कृति तथा पर्यटन मन्त्रालयले काठमाडौँ महानगरपालिका–२६ को सहयोग र ठमेल पर्यटन विकास परिषद्को सहकार्यमा ‘पर्यटन सूचना केन्द्र’ स्थापना गरेको हो ।

केन्द्रको शुक्रबार बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री बिमल ठकुरीले शुभारम्भ गरे । कार्यक्रममा मन्त्री ठकुरीले सूचना केन्द्रले ठमेल मात्र नभई नेपालकै पर्यटन विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

उनले बागमती प्रदेशले चितवनपछि ठमेलमा पर्यटन सूचना केन्द्र स्थापना गरेको जानकारी दिँदै उक्त केन्द्रबाट पर्यटकले नेपालको पर्यटकीय गतिविधिका बारेमा थाहा पाउने बताए । ठमेलमा सार्वजनिक शौचालय समेत निर्माण गरिने उनले बताए ।

काठमाडौँ महानगरपालिका–२६ का वडाअध्यक्ष ख्यामराज तिवारीले नेपाल भ्रमणमा आउने विदेशी पर्यटकमध्ये ८० प्रतिशत पर्यटक ठमेल घुम्न आउने भएकाले उनीहरुलाई सूचना केन्द्रबाट सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

बागमती प्रदेश संस्कृति तथा पर्यटन मन्त्रालयका सचिव दीपेन्द्र सुवेदीले प्रदेश सरकारले प्रदेशभित्रका सबै जिल्लाको पर्यटकीय गन्तव्यलाई समेटेर ‘ट्राभल बुक’ प्रकाशन गर्न लागेको  जानकारी दिए । उनले पर्यटन सूचना केन्द्रलाई प्रविधिसँग जोडेर अगाडि बढ्न प्रदेश सरकार लागिरहेको उल्लेख गरे ।

पर्यटन कार्यालय काठमाडौँका प्रमुख भक्तबहादुर भण्डारी, ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष धुव्र अधिकारी, पूर्वअध्यक्ष डा रामशरण थपलिया, ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) का अध्यक्ष सागर पाण्डेलगायतले पर्यटन सूचना केन्द्र स्थापना भएसँगै पर्यटकलाई  सहज हुने तथा पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने बताए ।

आजदेखि सुरु भएको उक्त सूचना केन्द्रबाट पर्यटकलाई नेपालको पदमार्ग, यातायात, होटल, स्थानीय कला संस्कृतिलगायतका बारेमा जानकारी प्रदान गरिने बागमती प्रदेश पर्यटन मन्त्रालयका पर्यटन महाशाखा प्रमुख पवनकुमार पोखरेलले जानकारी दिए ।

ठमेल पर्यटन विकास परिषद्का उपाध्यक्ष सहदेव (बिमल) धमलाले अन्तरराष्ट्रियस्तरमा नेपालको पहिचान चिनाउने ठमेललाई व्यवस्थित गर्न परिषद्ले काम गरिरहेको बताए । ठमेल क्षेत्रलाई चलायमान बनाउन आगामी दिनमा प्रदेश सरकारको साथ र सहयोग रहिरहने उनले विश्वास व्यक्त गरे ।

विदेश जानेले तीन हजार डलरसम्म साट्न पाउने, बङ्गलादेश र श्रीलङ्काका मुद्रा पनि साट्ने व्यवस्था मिलाइने

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिमार्फत विदेशी विनिमय व्यवस्थापनसम्बन्धी केही व्यवस्थामा परिमार्जन र नयाँ व्यवस्था गरेको छ ।

मौद्रिक नीतिमा भारतबाहेक अन्य मुलुकहरूको भ्रमणमा जाने नेपाली नागरिकहरूलाई हाल प्रतिपटक अमेरिकी डलर दुई हजार ५०० सम्म सटही सुविधा उपलब्ध गराउने व्यवस्था रहेकामा यस्तो सटही सुविधा वृद्धि गरी अमेरिकी डलर तीन हजार कायम गरिने उल्लेख छ ।

यसैगरी, बङ्गलादेश र श्रीलङ्कालगायत विदेशी मद्राको कारोबार बढ्दै गएका मुलुकहरूका मुद्रालाई परिवत्र्य विदेशी मुद्राको सूचीमा थप गर्दै लगिने पनि राष्ट्र बैङ्कले जनाएको छ ।

विप्रेषण कारोबारमा प्रयोग हुने विनिमय दर (फेडान रेट) लाई आवश्यकतानुसार पुनरावलोकन गरिने र परिवत्र्य विदेशी मुद्रामा हुने अन्तरबैङ्क कारोबार सम्बन्धमा नीतिगत व्यवस्था गर्ने मौद्रिक नीतिमा उल्लेख छ ।

विदेशी लगानी आकर्षण गर्न वाणिज्य बैङ्कमार्फत विदेशी विनिमय जोखिम व्यवस्थापन गर्ने व्यवस्था मिलाइने पनि राष्ट्र बैङ्कले जनाएको छ ।

आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिमा सहजीकरण हुनेगरी ‘नेपाल राष्ट्र बैङ्क विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली, २०७८’ लाई संशोधन गर्ने नीति अवलम्बन गरिएको छ ।

भन्सार स्वःघोषणा गर्नुपर्ने नगद विदेशी मुद्राको सीमामा पुनरावलोकन गर्ने र नेपाली नागरिक वा संस्थाका नाममा विदेशमा रहेको विदेशी विनिमयको विवरण पेस गर्नुपर्ने व्यवस्थामा सहजीकरण गरिने व्यवस्था पनि मौद्रिक नीतिमा राखिएको छ ।

सुन आयात तथा बिक्री वितरणसम्बन्धी विद्यमान व्यवस्था पुनरावलोकन गरिने पनि मौद्रिक नीतिमा उल्लेख छ । यस्तै, विप्रेषण कम्पनीहरूको अर्थतन्त्रमा योगदान बढ्दै गएको सन्दर्भमा त्यस्ता कम्पनीहरूलाई पुँजी तथा कारोबारका आधारमा वर्गीकरण गर्ने व्यवस्था मिलाइने जनाइएको छ ।

भोजपुरको दिङ्लामा नगर अस्पताल सञ्चालन

भोजपुर । भोजपुरको उत्तर क्षेत्रमा रहेको षडानन्द नगरपालिकाको केन्द्र दिङ्लामा नगर अस्पताल सञ्चालनमा आएको छ । ‘स्वास्थ्य नागरिक, जिम्मेवार पालिका’ भन्ने नारालाई आत्मसात् गर्दै शुक्रबार एक कार्यक्रमका बीच अस्पतालको औपचारिक शुभारम्भ गरिएको हो ।

त्यस अवसरमा नगरप्रमुख सुरेन्द्रकुमार उदासले अस्पताल सञ्चालनले स्थानीय नागरिकले घरछेउमै स्वास्थ्य सेवा प्राप्त गर्ने बताए । उनले भने, “पालिकावासीसहित छिमेकी पालिकाका नागरिकको स्वास्थ्य सेवालाई पनि प्रभावकारी बनाउन नगर अस्पताल सञ्चालनमा ल्याएका हौँ । अब अस्पताललाई व्यवस्थित र दिगो रूपमा सञ्चालन हुने वातावरणका बनाउन सबै लाग्न आवश्यक छ ।”

भारतीय राजदूतावासको सहयोगमा निर्माण गरिएको महात्मा गान्धी अस्पताल भवनबाट नगर अस्पताल सञ्चालनमा आएको हो । नगरपालिकाको वडा नं ७ मा स्थापना भएको अस्पतालले स–साना स्वास्थ्य सेवा लिन अन्यत्र जानुपर्ने बाध्यताको अन्त्य भएको छ । यसअघि सानासाना स्वास्थ्य समस्याका लागि पनि यहाँ नागरिकले छिमेकी जिल्ला सङ्खुवासभा, धरान, विराटनगरजस्ता सहरमा जानुपर्ने बाध्यता रहेको थियो ।

नगर उपप्रमुख प्रमिला राईले आँखा उपचार सेवा सञ्चालन हुँदै आएकामा अब छिट्टै दन्त उपचार सेवा विस्तार गरिने बताइन् । स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिँदै नगरपालिकाले आवश्यक जनशक्ति र उपकरण थप गर्दै लाने योजना बनाएको पनि उनले बताए ।

स्थानीयवासी भने सञ्चालित अस्पतालले नगरमै गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नेमा आशावादी देखिएका छन् । अस्पतालको बिहीबार मात्र नगर प्रमुख सुरेन्द्रकुमार उदासले औपचारिक कार्यक्रमसहित उद्घाटन गरेका थिए ।

लघुवित्तको लाभांशसम्बन्धी व्यवस्थामा पुनरावलोकन गरिने

काठमाडौं ।  आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिमार्फत नेपाल राष्ट्र बैंकले लघुवित्त कम्पनीहरूको लाभांशसम्बन्धी व्यवस्थामा पुनरावलोक गर्ने भएको छ । गभर्नर डा. विश्वनाथ पौडेलले आज प्रस्तुत गरेकाे मौद्रिक नीतिमा लघुवित्त कम्पनीको विद्यमान लाभांशसम्बन्धी व्यवस्था संशोधन गरिने उल्लेख छ ।

‘लघुवित्त वित्तीय संस्थाले हालको व्यवस्थाअनुसार वार्षिक १५ प्रतिशतभन्दा बढी लाभांश (नगद वा बोनस) वितरण गर्नेसम्बन्धी विद्यमान व्यवस्थामा पुनरावलोकन गरिनेछ’, नीतिमा भनिएको छ।

यस्तै, लघुवित्त कम्पनीहरूबाट वैदेशिक रोजगारीमा जाने युवालाई धितो लिई वा नलिई प्रवाह भएको रु तीन लाखसम्मको कर्जालाई विपन्न वर्गको कर्जामा गणना गर्न सकिने व्यवस्था मिलाइने जनाइएको छ । महिलाको हकमा यस्तो कर्जा बढीमा रु पाँच लाख गरिनेछ।

लघुवित्त वित्तीय संस्थाको कर्जा लक्षित वर्गसम्म पुग्ने सुनिश्चित गरी कर्जा सदुपयोग अभिवृद्धि गर्न लघुवित्तका लागि लक्षित वर्ग, ऋण प्राप्त गर्ने मापदण्ड र ऋणीको योग्यतासम्बन्धी व्यवस्थामा पुनरावलोकन गरिने पनि मौद्रिक नीतिमा उल्लेख छ। यस्तै, बैंक तथा वित्तीय संस्थाहरूबाट प्रवाह हुने विपन्न वर्ग र अन्य निर्देशित कर्जाहरूको सीमा व्यवस्थाको अध्ययन गरी पुनरावलोकन गरिने राष्ट्र बैंकले जनाएको छ ।

पाकिस्तानमा टिकटक चलाएको भन्दै बाबुले गरे छोरीको हत्या

रावलपिन्डी । लोकप्रिय भिडियो साझेदारी एप टिकटकमा आफ्नो खाता मेटाउन अस्वीकार गरेपछि एक बुबाले आफ्नी छोरीलाई गोली हानेर हत्या गरेको पाकिस्तान प्रहरीले शुक्रबार जनाएको छ ।

मुस्लिम बहुलता भएको देशमा सार्वजनिक रूपमा व्यवहार गर्ने कडा नियमहरू पालना नगरेमा महिलाहरू परिवारका सदस्यहरूबाट हिंसाको शिकार हुन सक्छन् । यसमा अनलाइन स्पेसहरू पनि समावेश छन् ।

‘केटीका बुबाले उनलाई आफ्नो टिकटक खाता मेटाउन आग्रह गरेका थिए । अस्वीकार गरेपछि उनले आफ्नी छोरीको हत्या गरे’, एक प्रहरी प्रवक्ताले एएफपीलाई भने ।

एएफपीसँग साझा गरिएको प्रहरी रिपोर्ट अनुसार अनुसन्धानकर्ताहरूले बुबाले आफ्नी १६ वर्षीया छोरीलाई मङ्गलबार ‘सम्मानका लागि’ हत्या गरेको बताएका छन् । त्यसपछि उनलाई पक्राउ गरियो ।

राजधानी इस्लामाबादको छेउमा रहेको रावलपिन्डी सहरको प्रहरीका अनुसार पीडितको परिवारले सुरुमा ‘हत्यालाई आत्महत्याका रूपमा चित्रण गर्ने’ प्रयास गरेको थियो ।

गत महिना, लाखौँ अनलाइन अनुयायीहरू भएको टिकटक इन्फ्लुएन्सर १७ वर्षीया किशोरीलाई उनको घरमा एक व्यक्तिले हत्या गरेको थियो । उक्त व्यक्तिको प्रस्तावलाई ती किशोरीले अस्वीकार गरेकी थिइन् ।

सना युसुफले टिकटक लगायत सामाजिक सञ्जालका खाताहरूमा १० लाखभन्दा बढी फलोअर्स बनाएकी थिइन् । त्यहाँ उनले आफ्नो मनपर्ने क्याफे, स्किनकेयर उत्पादनहरू र परम्परागत पोशाकहरूको भिडियो साझा गरेकी थिइन् ।

आंशिक रूपमा कम साक्षरता स्तर भएको जनसङ्ख्यामा आफ्नो पहुँचका कारण टिकटक पाकिस्तानमा निकै लोकप्रिय छ ।

महिलाहरूले एपमा दर्शक र आम्दानी दुवै पाएका छन् । यो औपचारिक अर्थव्यवस्थामा एक चौथाइभन्दा कम महिलाले भाग लिने देशमा दुर्लभ छ ।

यद्यपि, पाकिस्तानमा केवल ३० प्रतिशत महिलासँग स्मार्टफोन छ जुन पुरुषहरूको तुलनामा दोब्बर (५८ प्रतिशत) भन्दा कम छ । सन् २०२५ को मोबाइल जेन्डर ग्याप रिपोर्ट अनुसार यो संसारमा सबैभन्दा ठूलो अन्तर हो ।

पाकिस्तानी दूरसञ्चार अधिकारीहरूले एलजिबिटिक्यु र यौन सामग्रीको विरोधका बीच ‘अनैतिक व्यवहार’ भन्ने कुरामा टिकटक एपलाई बारम्बार प्रतिबन्धित गरेका छन् वा प्रतिबन्धित गर्ने धम्की दिएका छन् ।

आदिवासी कानूनले धेरै ग्रामीण क्षेत्र नियन्त्रण गर्ने दक्षिणपश्चिमी बलुचिस्तानमा एक व्यक्तिले यस वर्षको सुरुमा टिकटोक भिडियोहरूमा आफ्नो ‘सम्मान’ सँग सम्झौता गरेको भन्दै आफ्नी १४ वर्षीया छोरीको हत्याको योजना बनाएको कुरा स्वीकार गरेका थिए ।

भियतनाममा ४ करोड ५० लाख डलर भ्रष्टाचारमा ३० जनालाई जेल सजाय

हनोई । भियतनामको एक अदालतले शुक्रबार राज्यलाई चार करोड ५० लाख डलरको क्षति पुर्‍याउने भ्रष्टाचारमा संलग्न धेरै पूर्व वरिष्ठ अधिकारीसहित ३० जनालाई जेल सजाय सुनाएको छ । यसमा एक पूर्व अधिकारीलाई नगद घुसले भरिएका सुटकेसहरू लिएको अपराधमा दोषी ठहर गरिएको छ ।

हालैका वर्षहरूमा भ्रष्टाचार विरुद्धको कम्युनिस्ट राष्ट्रको दमनले दुई राष्ट्रपति र तीन उपप्रधानमन्त्रीलाई पदबाट हटाएको र शीर्ष व्यापारिक नेताहरूलाई कारबाही गरेको छ ।

शुक्रबार, राज्य मिडियाले हनोई अदालतले ३० जना पूर्व अधिकारी र ११ जना व्यापारीलाई घुसखोरी, शक्तिको दुरुपयोग र बिडिङ तथा ठेक्का कानूनको उल्लङ्घन गरेको अभियोगमा फैसला सुनाएको बताएको छ ।

४१ मध्ये ३० जनालाई भ्रष्टाचारको दोषी ठहर गरिएको थियो । अभियोजकहरूका अनुसार उनीहरूले राज्यलाई ११ खर्ब ६० अर्ब डोङ (चार करोड ४६ लाख डलर) भन्दा बढी क्षति पुर्‍याएको पब्लिक सिक्योरिटी न्यूजले बताएको छ । घुसको रकम त्यसभन्दा धेरै कम थियो ।

सन् २०१० र सन् २०२४ को बीचमा फुक सन समूहका अध्यक्ष गुयेन भ्यान हाउले तीन प्रान्तमा एक दर्जनभन्दा बढी अर्बौं डलरको पूर्वाधार परियोजनाहरूमा सम्झौता जित्न अधिकारीहरूलाई घुस दिन ५० लाख डलरभन्दा बढी खर्च गरेको अभियोजनकर्ताहरूले बताएका छन् ।

अभियोजकहरूका अनुसार हाउले घुसका लागि अन्य प्रतिवादीहरूको कार्यालय वा निजी निवासमा नगदले भरिएका सुटकेसहरू लगेका थिए । त्यो र अन्य उल्लङ्घनका लागि उनलाई ३० वर्षको जेल सजाय सुनाइएको थियो ।

भिन्ह फुक प्रान्तका पूर्व पार्टी प्रमुख होङ थी थु लानलाई सबैभन्दा ठूलो घुस ६० किलोग्राम तौलका सुटकेसमा लगभग २० लाख डलर लिएको आरोपमा १४ वर्षको जेल सजाय दिइएको थियो ।

‘म मेरा गल्तीहरू र मेरो अपराधलाई स्वीकार गर्दछु र अभियोगलाई पूर्ण रूपमा स्वीकार गर्दछु’, लानले अदालतमा भने, ‘म अदालतलाई मेरा कमरेडहरूको सजाय मानवीय रूपमा कम गर्न आग्रह गर्न चाहन्छु ।’

वकिलहरूका अनुसार हाउ र उनको समूहले मुद्दामा भएको क्षतिको क्षतिपूर्तिका लागि चार करोड ५० लाख डलर तिरेको थियो ।

अप्रिलमा, भियतनामले पूर्व उद्योग तथा व्यापार उपमन्त्री होआङ क्वोक वुओङलाई सौर्य ऊर्जा विकास योजनामा ‘बिजुलीको दुरुपयोग’ गरेको आरोपमा छ वर्षको जेल सजाय सुनाएको थियो ।

६२ वर्षीय वुओङले दक्षिणी निन्ह थुआन प्रान्तमा सौर्य ऊर्जा संयन्त्रको पक्षमा ५७ हजार छ सय डलर घुस लिएको स्वीकार गरेका थिए तर उनको परिवारले सजाय सुनाउनुअघि रकम फिर्ता गरेको थियो ।

राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक पौडेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालिन कार्यकारी निर्देशक सुनिल पौडेलसहित ६ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आयोगले केन्द्रमा अर्बौंको हाई कम्प्युट इन्फ्रास्ट्रक्चर खरिदमा अनियमितता भएको भन्दै शुक्रबार तत्कालीन कार्यकारी निर्देशक पौडेल, तत्कालीन निर्देशक सफल श्रेष्ठसहित ६ जना र एक कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

आयोगले पौडेल र श्रेष्ठसहित सहायक निर्देशक रमेश पोख्रेल, कम्प्युटर इन्जिनियर रामशरण गायक, लेखा अधिकृत निमबहादुर वली, वल्र्ड डिस्ट्रीव्युसन नेपाल प्रालिका अध्यक्ष तथा प्रवन्ध निर्देशक अरुण श्रेष्ठ वल्र्ड डिस्ट्रीव्युसन नेपाल प्रालिलाई समेत प्रतिवादी बनाएको छ ।

स्पेसिफिकेसन तोक्दा मिलेमतो गरिएको र तोकिएको मापदण्ड विपरीत गुणस्तरहीन सामग्री आपूर्ति गरी १५ करोड ८८ लाख ५० हजार बराबरको भ्रष्टाचार गरिएको आयोगको दाबी छ ।

काठमाडौँ महानगरपालिकाले २५ अर्बको बजेट ल्याउने

काठमाडौं । काठमाडौं महानगरपालिकाको राजश्व परामर्श समितिको बैठकले बजेटको सीमा निर्धारण गरेको छ । शुक्रबार काठमाडौं महागनरपालिकाका मेयर बालेन साहको अध्यक्षमा बसेको बैठकले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि बजेट सीमा निर्धारण गरेको हो ।

बैठकले आगामी आर्थिक वर्षका लागि करिव २५ अर्बको  बजेटको सीमा निर्धारण गर्दै बजेट सार्वजनिकका लागि तयारी गरेको छ । बैकमा मेयर साहले जनचाहना अनुरुप विकासका कार्य गर्ने गरी पूर्वाधार विकासमा बजेट थप गर्न निर्देशन दिए ।

चालु आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्षमा पूर्वाधार विकासमा बजेट थप गर्ने राजश्व परामर्श समितिले निर्णय समेत गरेको छ ।

आज बस्ने ४० औं नगरकार्यपालिका बैठकले नगरसभाको मिति तय गरी नगरसभामार्फत बजेट सार्वजनिक गर्ने छ । नगरसभा बैठकमा मेयर साहले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् भने उपमेयर सुनिता डंगोलले बजेट पेस गर्नेछिन् । बैठकमा राजश्व परामर्श समितका संयोजक, सदस्य, सदस्य सचिव तथा विभागिय प्रमुखहरुको उपस्थिति रहेको थियो ।

महिला नेतृत्व र उद्यमशीलताले राष्ट्र समृद्ध बनाउँछ : मन्त्री भण्डारी

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले महिला नेतृत्व र उद्यमशीलता समृद्ध राष्ट्र निर्माणको आधार रहेको बताएका छन् ।

अन्तर्राष्ट्रिय महिला नेतृत्व सम्मेलनको उद्घाटन समारोहमा उनले महिला उद्यमी बन्नु एउटा व्यवसाय सञ्चालन गर्नु मात्रै नभई एउटा परिवारलाई आर्थिक रूपमा सक्षम बनाउनु भएको बताए । “महिला उद्यमशीलताले एउटा समुदायमा रोजगारी सिर्जना गर्नु हो, र अन्ततः राष्ट्रको स्वाभिमान र आत्मनिर्भरता मजबुत बनाउनु हो ।” उनले भने, “हामी महिला नेतृत्व र उद्यमशीलताको कुरा गर्दा केवल लैङ्गिक समानता मात्र होइन, राष्ट्र निर्माणको मुख्य संवाहकको रूपमा कुरा गरिरहेका हुन्छौँ ।”

मन्त्री भण्डारीले समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षालाई साकार पार्न महिला उद्यमशीलताको विकास अपरिहार्य रहेको स्पष्ट पारे । उनले सरकारले हाल सञ्चालनमा ल्याएका विभिन्न कार्यक्रमहरू—महिला उद्यमशीलता विकास कार्यक्रम, प्रविधि हस्तान्तरण, व्यवसाय सम्बद्ध सेवा, स्टार्टअप कार्यक्रम, शिल्पी समुदायको प्रवद्र्धन लगायतका पहलहरू उल्लेख गरे ।

उनले भने, “नेपालमा लघु, घरेलु तथा साना उद्योगको बाहुल्यता छ, र त्यसमध्ये अधिकांशमा महिलाहरूको नेतृत्व र संलग्नता रहेको छ। खाद्य प्रशोधन, जडीबुटी, चिया, कफी, हस्तकला, पर्यटनजस्ता क्षेत्रमा नेपाली महिलाको सीपले अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्ने हैसियत बनाएको छ।”

मन्त्री भण्डारीले निर्यातमुखी उत्पादन रणनीति, तथा जलवायु परिवर्तन जस्ता विषयहरू उद्यमशीलता क्षेत्रका लागि अत्यन्तै सान्दर्भिक रहेको उल्लेख गरे ।

“एआई अब भविष्यको प्रविधि होइन, यो वर्तमानको यथार्थ हो,” मन्त्री भण्डारीले भने, “महिला उद्यमीहरूले यसको प्रयोगबाट उत्पादन प्रक्रियामा सुधार, ग्राहक व्यवहारको विश्लेषण र व्यावसायिक दक्षता वृद्धि गर्न सक्नेछन् । ” उनले भने ।

त्यस्तै, उनले “हरित उद्यम ( न्चभभल भ्लतचभउचभलभगचकजष्उ )” को अवधारणा अगाडि बढाउन पनि जोड दिए । जलवायु परिवर्तनको असर नेपालजस्ता हिमाली राष्ट्रमा बढी पर्ने भएकाले यसको समाधानलाई अवसरमा रूपान्तरण गर्नु आवश्यक रहेको मन्त्री भण्डारीको धारणा थियो ।

यस्तो छ मौद्रिक नीति(पूर्णपाठ)

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि मौद्रिक नीति सार्वजनिक गरेको छ । मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकका गभर्नर डा विश्वनाथ पौडेलले सजगतापूर्वक लचिलो नीति अवलम्बन गरिएको बताए । दोस्रो वित्तीय क्षेत्र रणनीतिक स्वीकृत गरी कार्यान्वयनमा ल्याउने मौद्रिक नीतिमा उल्लेख छ ।

ब्याजदर करिडोरको माथिल्लो सीमाका रुपमा रहेको बैंकदरलाई ६ प्रतिशत र नीतिगत दरलाई साढे चार प्रतिशत कायम गरिएको छ । यसअघि बैंकदर साढे छ प्रतिशत र नीतिगत दर पाँच प्रतिशत थियो ।

मौद्रिक नीतिमार्फत निजी आवासीय घर निर्माण तथा खरिद गर्नका लागि प्रवाह गरिने कर्जाको सीमा दुई करोडबाट बढाएर तीन करोड कायम गरिएको छ । पहिलो घर निर्माण वा खरिद गर्दा कर्जा–मूल्य अनुपात ८० प्रतिशतसम्म र अन्यको हकमा बढीमा ७० प्रतिशतसम्म कायम गर्न सकिने व्यवस्था गरिएको छ ।

व्यक्तिगततर्फको शेयर धितो कर्जाको सीमा १५ करोडबाट बढाएर २५ करोड पुर्याइएको छ । विदेश भ्रमणमा जाने नेपालीले बोक्न पाउने रकमको सीमा दुई हजार पाँच सय अमेरिकी डलरबाट बढाएर तीन हजार अमेरिकी डलर बनाइएको छ ।
आगामी आर्थिक वर्षमा निजी क्षेत्रतर्फ प्रवाहित कर्जा १२ प्रतिशतले वृद्धि हुने लक्ष्य मौद्रिक नीतिले तय गरेको छ ।

क्यानले इस्ट जोन कप विजेता टोलीका खेलाडीलाई जनही ५० हजारसहित सम्मान गर्ने

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले एसिसी पुरुष यु–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगिताको उपाधि विजेता नेपाली टोलीका खेलाडी र अफिसियललाई जनही ५० हजारसहित सम्मान गर्ने भएको छ ।

यही असार २१ गते मलेसियमा सम्पन्न प्रतियोगिताको फाइनल खेलमा नेपालले सिङ्गापुरलाई २ विकेटले पराजित गर्दै उपाधि जितेको थियो । जसमा सहभागी टोलीलाई क्यानले जनही ५० हजार प्रदान गर्ने क्यानद्वारा जारी विज्ञप्तिमा जनाएको छ ।

नेपालले त्यसअघि समूह चरणको खेलेको सबै खेल जितेको थियो । नेपालले सिङ्गापुर, जापान, इन्डोनेसिया र भुटानलाई पराजित गरेको थियो ।

घरजग्गा कर्जा र सेयर कर्जामा राष्ट्र बैंक लचक

काठमाडौं । नेपाल राष्ट्र बैंकले सेयर धितोमा एक व्यक्ति वा कम्पनीलाई २५ करोड रुपैयाँसम्म कर्जा दिने घोषणा गरेको छ । शुक्रबार आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले सेयर बजारप्रति उदार देखिएका हुन् । यसअघि १५ करोड रहेको सेयर धितो कर्जाको सीमा १० करोडले बढाएर २५ करोड रुपैयाँ पुर्याइएको हो ।

त्यस्तै निजी आवसीय घर निर्माण वा खरिद गर्न बैंकबाट ३ करोड रुपैयाँसम्म कर्जा पाइने भएको छ । यस्तो कर्जाको सीमा २ करोडबाट बढाएर ३ करोड बनाउने गभर्नर पौडेलले घोषणा गरे ।

यसैगरी पहिलो घर निर्माण वा खरिद गर्दा कर्जा मूल्य अनुपात ८० प्रतिशत बनाइने र अन्यको हकमा बढीमा ७० प्रतिशतसम्म बनाउने घोषणा गभर्नर पौडेलले गरे ।

पुन:निर्माणपछि धरहराबाट करिब पाँच करोड राजस्व सङ्कलन

काठमाडौँ। विसं २०७२ को भूकम्पले पूर्णरूपमा क्षतिपश्चात् पुनः निर्माण भएर सञ्चालनमा ल्याइएको ऐतहासिक धरहराबाट  चार करोड ८३ लाखभन्दा बढी राजस्व सङ्कलन गरिएको छ ।

गत मङ्सिर ९ गतेदेखि शुल्कसहित सञ्चालनमा आएको धरहराबाट यही असार २४ गतेसम्ममा चार करोड ८३ लाख ६५ हजार ५०० राजस्व सङ्कलन भएको अन्तरिम धरहरा सञ्चालन तथा व्यवस्थापन एकाइ सुन्धाराका प्रमुख महेश राईले जानकारी दिए ।

उनका अनुसार यस अवधिमा दुई लाख ६२ हजार ५५५ जनाले धरहराको अवलोकन गरेका छन् । जसमा एक हजार ५४९ जना विदेशी अवलोकनकर्ता रहेका छन् । हप्ताको एक दिन बुधबार बन्द हुनेबाहेक अन्य दिन दैनिक करिब एक हजार २०० ले धरहरा चढ्ने गरेका छन् ।

“बिहान १०ः३० बजेदेखि साँझ ५ बजेसम्म धरहरा चढ्ने व्यवस्था गरिएको छ । छोटो समयमा नागरिकको उल्लेख्य उपस्थिति देखियो । समय अभावका कारण यहाँ आएका सबैलाई टिकटको व्यवस्था गरी धरहरा अवलोकनको व्यवस्था गर्न सकिएको छैन”, व्यवस्थापन एकाइ प्रमुख राईले भने,“बिहानदेखि साँझसम्म धरहरा चढ्ने व्यवस्था गर्नसक्ने हो भने दैनिक एक हजार ५०० बढीले धरहरा चढ्ने अनुमान छ ।”

धरहरा चढ्न प्रतिव्यक्ति रु २०० शुल्क तोकिएको छ । विद्यार्थी, ज्येष्ठ नागरिक, बालबालिका अपाङ्गता भएका व्यक्तिहरूले ५० प्रतिशत छुटमा धरहरा चढ्न पाउने व्यवस्था छ । सार्क राष्ट्रबाट आउने पर्यटकलाई प्रतिव्यक्ति रु ५०० र सार्कबाहेक राष्ट्रबाट आउने पर्यटकका लागि प्रतिव्यक्ति रु १००० शुल्क तोकिएको छ ।

विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समिति (गठन) आदेश, २०८१ बमोजिम शुल्क लिई गत मङ्सिर ९ देखि धरहरा सञ्चालनमा आएको हो । त्यसअघि मङ्सिर ६ गते बसेको मन्त्रिपरिषद् बैठकले धरहरा चढ्ने शुल्क स्वीकृत गरेको थियो ।

यहाँ पार्किङ गर्दा चार पाङ्ग्रेका लागि प्रतिघण्टा रु २० र दुई पाङ्ग्रेलाई रु १० तोकिएको छ । धरहरा परिसरमा प्रवेशका लागि रु ५० निर्धारण गरिएको बताइएको छ । धरहरा स्तम्भमा राष्ट्रिय महत्वका विज्ञापन गर्न प्रतिघण्टा रु पाँच हजार तोकिएको छ । यस्तै, व्यावसायिक भिडियो छायाङ्कनका लागि प्रतिघण्टा रु पाँच हजार र फोटोग्राफीका लागि प्रतिघण्टा रु एक हजार तोकिएको छ ।

जनसङ्ख्या वृद्धिदर घट्नु मानव अस्तित्वमाथि कै खतरा हो, २० वर्षमै विवाह गर्नुः प्रधानमन्त्री

 

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विकास र समृद्धिसँगसँगै जनसङ्ख्याको समान विकास नभए मानव अस्तित्व खतरामा पर्ने बताएका छन् ।

विश्व जनसङ्ख्या दिवसका अवसरमा शुक्रबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आयोजित राष्ट्रिय जनसङ्ख्या नीति, २०८२ सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री ओलीले विकास र जनसङ्ख्याको गतिसँगै हुनुपर्नेमा जोड दिँदै हरेकले आफ्नो सन्तानवृत्तिलाई धर्तीका लागि उत्तरदायित्वका रुपमा लिनुपर्ने बताए ।

‘मानिस भएकाले हरेक देशको अर्थ छ, धर्तीको अर्थ छ । जनसङ्ख्या हुँदैनथ्यो भने देश हुँदैन । हामीले मानव जातिको सुखपूर्ण अस्तित्व रक्षाका लागि उपयुक्त नीति र कदमहरु चाल्नुपर्छ’, प्रधानमन्त्री ओलीले भने, ‘सृष्टिको सृजनाका लागि मानव जाति जति मूल्यवान् अर्काे छैन । आफ्नो स्वार्थका लागि मान्छे मार्ने कामधन्धा छोड्न सम्बद्ध सबैसँग अनुरोध गर्दछु । जनसङ्ख्याका बारेमा गोष्ठी र सेमिनार पनि गर्ने अनि आम विनाशका हतियार बनाएर मान्छे पनि मारिरहने क्रमले मानव संसारको अस्तित्व बच्दैन ।’

प्रधानमन्त्री ओलीले २० वर्षपछि मात्र विवाह गर्न पाउने कानुनी व्यवस्था भएबमोजिम समयमै विवाह गरी ३० वर्षभित्र तीन सन्तान पाइसक्न र ४० कटेपछि रमाउला भन्ने गीतमा नअल्मन आग्रह गरे ।

उनले सन्तानले डाँडाकाँडा ढाकून् नभन भनेर जनचेतना फैलाउँदा उल्टो असर परी सन्तान नै नजन्माउने परिस्थिति सिर्जना भएकातर्फ चिन्ता व्यक्त गरे । उनले  विकसित देशहरूमा समेत जनसङ्ख्याको वृद्धिदर ऋणात्मक हुँदा यसले समग्र विश्व प्रभावित भइ मानव अस्तित्वमाथि नै सङ्कट आउनसक्ने बताए  ।

वामदेवले एकीकृत समाजवादीसँग पार्टी एकता गर्ने

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) र नेकपा एकता राष्ट्रिय अभियानकाबीचमा पार्टी एकता गर्ने सहमति भएको छ ।

आगामी साउन २ गते राष्ट्रिय सभागृहमा एक समारोहका बीच पार्टी एकताको घोषणा गर्ने शुक्रबार सहमति भएको दुई नेताद्वारा हस्ताक्षरित सहमति पत्रमा उल्लेख छ ।

सहमति पत्रमा भनिएको छ, ‘नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष क. माधव कुमार नेपाल र नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष क. वामदेव गौतम सहितका नेताहरु विच छलफल हुदाँ राजनीतिक दर्शन, सिद्धान्त, कार्यक्रम, रणनीती र कार्यदिशामा एकरुपता रहेको र नेपालको कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध गर्नु पर्ने आजको ऐतिहासिक आवश्यकतालाई ध्यानमा राख्दै नेकपा एकता राष्ट्रिय अभियान नेकपा (एकीकृत समाजवादी) मा एकतावद्ध हुने सहमति गरियो । साथै २०८२ साउन २ गते राष्ट्रिय सभा गृहमा भव्य समारोहको आयोजना गरी एकताको घोषणा गर्ने सहमति भयो ।’

परराष्ट्रमन्त्री राणा इटली र जर्मनीको भ्रमण सकेर स्वदेश फिर्ता

काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवा इटालीको रोममा आयोजित खाद्य तथा कृषि सङ्गठन (एफएओ) को ४४औँ अधिवेशन एवं सोही क्रममा आयोजित उच्चस्तरीय मन्त्रिस्तरीय ‘कन्फ्रेन्स’मा सहभागी भई शुक्रबार स्वदेश फर्किएकी छन् ।

जुन २८ देखि जुलाई ४ सम्म आयोजित एफएओ कन्फ्रेन्सको प्रमुख सत्रका साथै त्यसै क्रममा आयोजित अन्य उच्चस्तरीय बैठक तथा कार्यक्रमहरूलाई पनि मन्त्री डा राणाले सम्बोधन गरेकी थिइन् ।

सम्बोधनमा उनले नेपालले खाद्य अधिकारलाई नागरिकको मौलिक अधिकारका रूपमा व्यवस्था गरेको र यसको कार्यान्वयन एवं प्राप्तिका लागि आवश्यक अन्य कानुनहरूले आधार प्रदान गरेको जानकारी दिएकी थिइन् ।

खाद्य सुरक्षा तथा गुणस्तर नियन्त्रण नीतिमार्फत नियामक मापदण्ड, प्रयोगशाला निगरानी र उपभोक्ता संरक्षणका माध्यमबाट नेपालले सुरक्षित र गुणस्तरीय खाद्य सुनिश्चित गर्दै आएको पनि मन्त्री डा राणाले बताएकी थिइन् ।

अतिकम विकसित, साना टापु राष्ट्रहरू तथा भूपरिवेष्टित राष्ट्रहरूमा खाद्य अधिकार तथा पोषण सम्बन्धमा धारणा राख्दै मन्त्री डा राणाले नेपाललगायत देशहरूले जलवायु परिवर्तनको क्षति व्यहोरिरहेकातर्फ विश्व समुदायको ध्यानाकर्षण गराएकी थिइन् ।

नेपाल र नेपाल जस्ता भूबनोट रहेका देशका लागि दिगो कृषि प्रणाली र हिमाली क्षेत्रका लागि जलवायु वित्तमा अनुदान दिइनुपर्ने माग पनि उनले राखेकी थिइन् ।

राणाले जलवायु परिवर्तनको मार खेपिरहेका नेपाल र यहाँका विशेषगरी हिमाली क्षेत्रका लागि अनुदानमा आधारित अन्तर्राष्ट्रिय जलवायु वित्त सुनिश्चित गर्न आग्रह गरिन् ।

त्यसपश्चात जर्मनीको भ्रमणका क्रममा मन्त्री राणाले त्यहाँका विदेशमन्त्री डा जोहान डेविड वेडफुलसँग द्विपक्षीय भेटवार्ता गरिन् ।

गत मङ्गलबार बर्लिनमा भएको भेटवार्तामा नेपाल र जर्मनीबीचको द्विपक्षीय व्यापार थप प्रवद्र्धनका लागि दुवै देशका निजी क्षेत्रबीचको सञ्जाललाई प्रोत्साहन र प्रवद्र्धन गर्नुपर्नेमा जोड दिँदै उनले नेपालमा रासायनिक मल उत्पादन कारखानालगायतका क्षेत्रमा जर्मनीको लगानीका लागि आग्रह गरेकी थिइन् ।

मन्त्री डा राणाले नेपाल र जर्मनीबीच सिधा हवाई उडानका लागि प्रस्ताव गर्नाका साथै नेपाल सन् २०२६ मा अतिकम विकसित मुलुकबाट स्तरोन्नति भएपछि जर्मनी, युरोपियन युनियन एवं अन्य साझेदारहरूबाट स्रोत, प्रविधि र आर्थिक सहयोगको अपेक्षा रहेको पनि बताएकी थिइन् ।

उनले इयू र अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) को मापदण्डबमोजिम नै नेपालले कानुन निर्माण सुरु गरिसकेकाले नेपाली एयरलाइन्समाथिको प्रतिबन्ध हटाउने भूमिकाका लागि जर्मनीसँग अनुरोध गरेकी थिइन् ।

यसैगरी, मन्त्री डा राणाले नेपालले राष्ट्रसङ्घको मानवअधिकार परिषद्को सदस्य, आर्थिक तथा सामाजिक परिषद् सदस्य तथा सुरक्षा परिषद्को अस्थायी सदस्यमा उम्मेदवारी दिएकाले त्यसमा सहयोगका लागि जर्मनी सरकारसँग आग्रह गरिन्।

उनी इटाली र जर्मनीमा लगानी बोर्ड नेपालद्वारा नेपालमा लगानी प्रवद्र्धनका लागि आयोजित कार्यक्रममा पनि सहभागी भएकी थिइन् । मन्त्री डा राणालाई आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव अमृतबहादुर राईसहित उच्च अधिकारीहरूले स्वागत गरेका थिए ।

सीता दाहालको दोस्रो स्मृति दिवसमा प्रचण्डले गराए मानवसेवा आश्रम रानीवनका आश्रितलाई भोजन

काठमाडौं । सीता दाहालको दोस्रो स्मृति दिवसको अवसरमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड मानवसेवा आश्रम रानीवन पुगेका छन् ।

शुक्रबार बिहान अध्यक्ष प्रचण्ड आश्रम पुगेर उनले आश्रममा आश्रितहरूसँग आत्मीय भेटघाट गर्नुका साथै भोजन गराएका छन् । साथै प्रचण्डले पनि पनि उनीहरूसँगै बसेर खाना खाएका छन् ।

उनले आफू प्रधानमन्त्री भएको बेला हेटौंडामा मानव सेवा आश्रमको केन्द्रीय भवन उद्घाटन गरेको स्मरण गर्दै, मानव उद्धारका लागि आवश्यक सवारीसाधनको व्यवस्थापनमा सहजीकरण गर्ने प्रतिबद्धता जनाएका छन् ।

साथै, मानव सेवा आश्रमले सकारात्मक उद्देश्यले देशभर सञ्चालन गरेका काममा साथ र सहयोग पुर्याउने बताए । मानवीय सेवामा आधारित यस्ता कार्यहरूले सामाजिक मूल्य र आदर्शको सन्देश दिन्छन् भन्ने धारणा उनले व्यक्त गरे ।

सबै मिलेर उद्यमशीलताबाट समृद्धि हासिल गर्नुपर्छः प्रधानमन्त्री ओली

ललितपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकको समृद्धिका लागि केही गर्नुपर्ने बताएका छन् ।

महिला उद्यमी महासङ्घले शुक्रबार आयोजना गरेको अन्तर्राष्ट्रिय महिला नेतृत्व सम्मेलन, २०८२ को उद्घाटन गर्दै प्रधानमन्त्रीले समृद्धिका लागि सँगै काम गरेर सफलता हासिल गर्नुपर्नेमा जोड दिएका हुन् ।

प्रधानमन्त्री ओलीले भने,’हामीले उद्यमशीलताको विकासबाट समृद्धि हासिल गर्नुपर्नेछ । सरकारले युवा र महिला उद्यमशीलतालाई उच्च महत्व दिएको छ । यस सम्मेलनबाट आउने निष्कर्षले सरकारको प्राथमिकता पूरा गर्न सघाउने विश्वास लिएको छु ।’

उनले महिलाको सशक्तिकरणका लागि संविधानमा भएको व्यवस्था व्यवहारमा अवलम्बन गर्दै आइएको उल्लेख गरे । ‘तीनै तहमा कम्तीमा ३३ प्रतिशत जनप्रतिनिधि सुनिश्चित गरेका छौँ । विद्यालयमा छात्राहरूको सङ्ख्या छात्रहरूको भन्दा बढी छ । नतिजामा पनि छात्राहरूको उपस्थिति राम्रो हुँदै गएको छ । हामीले अझै प्रगति हासिल गर्दै जानुपर्नेछ’, प्रधानमन्त्री ओलीको भनाइ थियो ।

घरघरमा स्वास्थ्य कार्यक्रमबाट पोखराका ११ हजारभन्दा बढी लाभान्वित

गण्डकी । पोखरा महानगरपालिकाले ‘घरघरमा स्वास्थ्य कार्यक्रम’अन्तर्गत ११ हजार ८६२ जनालाई नसर्ने रोगको निःशुल्क परीक्षण तथा परामर्श सेवा प्रवाह गरेको छ ।

यही असार १ गतेदेखि बिहीबारसम्म महानगरका १० वटा वडामा सञ्चालित उक्त कार्यक्रमबाट ज्येष्ठ, अशक्त र असहाय नागरिक लाभान्वित भएका हुन् ।

कार्यक्रमका सहजकर्ता हरिलाल आचार्यका अनुसार वडा नं. १, ८, १०, १३, १४, १७, १८, १९, २० र २५ का टोलबस्तीमै पुगेर स्वास्थ्य सेवा प्रदान गरिएको हो ।

महानगरले आगामी आवमा पनि उक्त कार्यक्रमका लागि बजेट विनियोजन गरेको उनले जानकारी दिए । स्वास्थ्य महाशाखाको आयोजना र सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रको समन्वयमा पोखरा–८ सिमलचौरबाट सुरु गरी अन्य वडा तथा टोलमा कार्यक्रम सञ्चालन गरिएको थियो ।

सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रका प्रमुख कुश्मराज सुवेदीले ज्येष्ठ तथा अशक्त नागरिकलाई घरदैलोमा पुगेर स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले घुम्ती अभियान सञ्चालन गरिएको बताए । नसर्ने रोगको परीक्षणसँगै महिलालाई प्रजनन स्वास्थ्य, मनोरोग, सरुवा रोग तथा अन्य दीर्घरोगसम्बन्धी जानकारी दिइएको थियो ।

‘परीक्षण गरिएकामध्ये ६० प्रतिशतमा उच्च रक्तचापको समस्या देखिएको छ, मधुमेह, स्वासप्रस्वास, स्तन र पाठेघरको समस्या भएका बिरामी पनि पहिचान गरिएको छ’, उनले भने । वडा नं ८ का १७ वटा टोलमा घुम्ती शिविर सञ्चालन गरिएको थियो । उक्त वडाका एक हजार २०० जनाले सेवा पाएका थिए ।

आन्तरिक रोजगारी प्रवर्द्धन गर्न नयाँ संरचना बनाएर काम गरिरहेका छौँः मन्त्री भण्डारी(अन्तरवार्ता)

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नेता शरतसिंह भण्डारी अहिले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री छन् । विसं २०३८ देखि संसदीय राजनीतिमा सक्रिय उनी पछिल्लोपटक विसं २०७९ को आम निर्वाचनमा महोत्तरी निर्वाचन नं २ बाट प्रतिनिधिसभामा निर्वाचित भए ।

विसं २०४३ मा प्रधानमन्त्री मरिचमान सिंह नेतृत्वको मन्त्रिपरिषदमा पहिलोपटक वाणिज्य राज्यमन्त्री भएका उनी पञ्चायतदेखि हालसम्म धेरै पटक मन्त्री बने । त्यसक्रममा उनले  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, रक्षा, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी सम्हालीसकेका छन् ।

लामो समयदेखि राजनीतिमा क्रियाशील मन्त्री भण्डारीसँग राससका समाचारदाता सुशील दर्नालले श्रम, रोजगार, सामाजिक सुरक्षा, युवा पलायन, श्रमिकको सुरक्षा, संविधान संशोधनलगायत समसामयिक विषयमा लिएको अन्तर्वार्ताको सम्पादित अंशः

मन्त्रीज्यू, आजभोलि केमा व्यस्त हुनुहुन्छ ?

धेरैजसो मन्त्रालयका कामहरुमै व्यस्त छु । यो मन्त्रालयप्रति जनताले धेरै आशा गरेका छन् । विशेषगरी मन्त्रालयले श्रमसँग जोडिएका विषयलाई व्यवस्थित रुपमा अगाडि बढाउन खोजिरहेको छ । अहिले युवा पलायन भए भनी एउटा जबर्जस्त भाष्य पनि निर्माण गरिएको छ । त्यसको असर मुलुकलाई परिरहेको छ । मेरो ध्यान कसरी युवा पुस्तालाई देशमै राख्न सकिन्छ, उनीहरुका लागि रोजगारी कसरी सिर्जना गर्न सकिन्छ भन्नेमै केन्द्रित छ । विदेश गएका श्रमिकले सिकेका ज्ञान र सीपलाई देशभित्र कसरी प्रयोग र उपयोग गर्न सकिन्छ भन्ने विषयमा पनि मेरो ध्यान गएको छ ।

आन्तरिक रोजगारी सिर्जना गर्ने विषयमा मन्त्रालयले कसरी काम गरिरहेको छ ?

मेरो मन्त्रालयमा सबैभन्दा बढी वैदेशिक रोजगारीसम्बन्धी मात्रै काम छन् । मन्त्रालयअन्तर्गत वैदेशिक रोजगार महाशाखा, वैदेशिक रोजगार विभाग र वैदेशिक रोजगार बोर्ड छ । मन्त्रालयका आन्तरिक संरचना परिवर्तन गरी आन्तरिक रोजगार महाशाखा स्थापना गरेका छौँ । त्यो महाशाखा स्थापनासँगै रोजगार मेला र सम्मेलन आयोजना गरियो । त्यो सम्मेलनमा प्रधानमन्त्रीले आगामी दशक आन्तरिक रोजगार प्रवर्द्धनको दशक भनेर घोषणा गर्नुभएको छ । त्यो घोषणालाई कार्यान्वयन गर्ने काम आन्तरिक रोजगार महाशाखाले गर्नेछ ।

आन्तरिक रोजगार प्रवर्द्धन दशक सफल बनाउने योजनाबारे केही जानकारी दिनुहुन्छ कि?

आन्तरिक रोजगार प्रवर्द्धन दशक सफल बनाउन श्रम मन्त्रालयले विभिन्न तरिकाले काम थालेको छ । त्यसअन्तर्गत वैदेशिक रोजगारीबाट स्वदेश फर्किएका मानिसलाई फकाएर उनीहरुले सिकेका सीप र ज्ञानलाई देशभित्रको उद्यमशीलतासँग जोड्ने काम गर्नेछ । राष्ट्रिय तालिम व्यावसायिक प्रतिष्ठानले त्यसको लागि आवश्यक तालिमको व्यवस्था गरिरहेको छ । प्रतिष्ठानले मुलुकभित्र रोजगारीको सम्भावना हेरेर रोजगारदाता र सीपयुक्त जनशक्तिलाई जोड्नेछ । त्यसक्रममा प्रतिष्ठानले करिब १३ वटा संस्थासँग सम्झौता गरिसकेको छ । नेपालमा अहिले बेरोजगारी दर बढिरहेको छ । श्रम बजारमा हरेक वर्ष पाँच लाख मान्छे आउँछन् । तर सोचेजति दक्ष मानिस आएका छैनन् । उनीहरुलाई दक्ष बनाउन प्रतिष्ठानसँग रोजगारदातालाई जोड्ने काम भएको छ । श्रमसँग सम्बन्धित कामलाई एकद्वार प्रणालीमार्फत अगाडि बढाउन मन्त्रालयले श्रम संसार भन्ने नेशनल डिजिटल पोर्टल बनाएको छ । आन्तरिक रोजगारीलाई प्रवर्द्धन गर्न मन्त्रालयले सम्पूर्ण संरचना नै नयाँ बनाएर काम गरिरहेको छ ।

सामाजिक सुरक्षा योजनालाई कसरी अझ व्यवस्थित गर्दै हुनुहुन्छ ?

वैदेशिक रोजागरीमा जाने श्रमिक सामाजिक सुरक्षामा अनिवार्य आबद्ध भएर मात्रै जाने व्यवस्था मिलाइएको छ । तर, वैदेशिक रोजगारीमा जानेहरुले सामाजिक सुरक्षालाई निरन्तरता नदिएको भन्ने कुरा आइरहेको छ । निरन्तरताका लागि प्रविधिको प्रयोग अपनाउन खोजिरहेका छौँ । हालै भएको इरान र इजरायलबीचको द्वन्द्वमा श्रम संसारको ‘पोर्टलमा जिरो लोकेसन’ भन्ने एप्स राखेका थियौँ । त्यसबाट नेपाली कहाँ छन् भन्ने पत्ता लगाउन सजिलो भयो । अब विदेशी कामदारको सामाजिक सुरक्षालाई निरन्तरताको लागि मोबाइल ‘नोटिफिकेसन’को पनि व्यवस्था गर्दैछौँ ।

वैदेशिक रोजगारीमा जानेलाई बिना धितो ऋण प्रवाह गर्ने योजना कहिले कार्यान्वयन हुन्छ ?

यसको कार्यविधिमा काम गरिरहेका छौँ । राष्ट्र बैंकसँग मिलेर काम गर्दैछौँ । अब चाँडै नै कार्यविधि आउँछ । यसको मुख्य उद्देश्य भनेको वैदेशिक रोजगारीमा जाने श्रमिकले बिना धितो ऋण दिने हो । त्यसमा पनि रोजगारदाताले तिर्नुपर्ने पैसा रोजगारदाताले तिर्ने, श्रमिकले तिर्नुपर्ने श्रमिकले तिर्ने व्यवस्था हुन्छ । ऋण फिर्ता गर्ने क्रममा सामाजिक सुरक्षालगायतका सबै दायित्व अनलाइनबाटै गर्न सक्ने गरी कार्यविधि ल्याएका छौँ । नेपालको सन्दर्भमा सरकारले स्थायी, करार र अस्थायी कर्मचारीलाई पनि सामाजिक सुरक्षामा आबद्ध गर्न आह्वान गरेको छ ।

वैदेशिक रोजगारीमा जानुपूर्व हुने स्वास्थ्य परीक्षणमा आफूहरु ठगिएको श्रमिकको गुनासोलाई कसरी लिनुभएको छ ?

विगत १६ वर्षको अवधिमा वैदेशिक रोजगारीमा गएका १४ हजारभन्दा बढी नेपालीको ज्यान गएको छ । यो सङ्ख्याले उनीहरुको स्वास्थ्यमा केही न केही समस्या थियो भन्ने बुझिन्छ । एक अध्ययनले यसमा वैदेशिक रोजगारीमा जाने क्रममा अधिकांशतः स्वास्थ्य परीक्षणमा नै अनियमितता भएको अवस्था देखियो । वैदेशिक रोजगारीबाट फर्किएका धेरैमा मिर्गाैलाको समस्या देखिएको छ । यसको बारेमा विज्ञसँग व्यापक छलफल गरियो । यसको कारण जनचेतनाको कमी र जीवनशैली हो भन्ने छ । यसमा केही मापदण्ड बनाइ निरन्तर अनुगमन गर्ने काम भएको छ । अहिले स्वास्थ्य परीक्षण सम्पूर्ण प्रक्रियालाई डिजिटल गरिएको छ । नेपालबाट विदेश गएर नफर्किएसम्म श्रमिकका सबै प्रमाणलाई डिजिटल प्रविधिमा प्रविष्ट गर्ने र अनुगमन गर्ने व्यवस्था मिलाइएको छ ।

गैरकानुनी ढङ्गले विदेश गएका महिला र त्यहाँ अलपत्र परेका नेपालीका समस्या कसरी सम्बोधन गर्नुभएको छ ?

पहिलो कुरा, महिलालाई कतिपय देशमा वैदेशिक रोजगारीमा जान रोक लगाइएको छ । तर, नेपालको संविधानले रोकेको छैन । संविधानले रोजगारीको हक हुनेछ भनेको छ । लैङ्गिक समानताको पनि कुरा गरेको छ । तर, विभिन्न देश हुँदै श्रमका लागि नेपाली महिला विदेश गएको देखिन्छ । यस्तो अवस्थामा श्रम र परराष्ट्र मन्त्रालय मिलेर गत सेप्टेम्बर २०२४ भन्दा पहिला विभिन्न बाटो हुँदै विदेश गएका र त्यहाँ काम गरिरहेका छन् भने त्यहीँको नियोगबाट श्रम स्वीकृति दिएर श्रम प्रणालीसँग जोड्न खोजिएको छ । त्यसले नेपाली महिला विदेशमा अलपत्र पर्ने अवस्था अन्त्य गर्ने विश्वास गरिएको छ ।

संयुक्त अरब इमिरेट्समा वैधानिक रूपमा महिला कामदार पठाउने ‘पाइलट प्रजेक्ट’ कहिले कार्यान्वयन हुन्छ ?

वैधानिक रुपमा महिला कामदार जान पाउनुपर्छ भन्ने कुरा सबैतिरबाट उठेको थियो । कामका लागि विदेश जान पाउनु महिलाको अधिकारको विषय हो भनी महिला अधिकारकर्मीले कुरा उठाउनुभएको छ । महिलाको अधिकार खोसियो, किन जान नपाउने भन्ने प्रश्न उठ्यो । त्यो भएपछि संसदीय श्रम समितिका सदस्यहरुले दुबई र ओमानको स्थलगत अध्ययन भ्रमण गर्नुभयो । त्यसपछि श्रम मन्त्रालयलाई छबुँदे निर्देशन दिनुभएको छ । सोही निर्देशनको आधारमा मन्त्रालयले एउटा कार्यविधि बनाएको छ । कार्यविधिमा कुनै एउटा पाइलट प्रोजेक्ट बनाएर नमूनाको रुपमा पठाउने भनिएको हो । त्यो सफल भएमा बल्ल अरु अगाडि बढाउने भनिएको हो । अहिले पाइलट प्रोजेक्टको कार्यविधिलाई सहमतिका लागि परराष्ट्र मन्त्रालयमा पठाइएको छ । परराष्ट्र मन्त्रालयको राय आएपछि सम्बन्धित मुलुकसँग छलफल हुनेछ । यसमा कानुन मन्त्रालयको पनि राय आएपछि यो पारदर्शी ढङ्गबाट अगाडि बढ्छ । दुई देशबीचमा सम्झौता भइसकेको छ । सम्झौताको आधारमा महिलालाई त्यस देशमा पठाउने काम हुन्छ ।

प्रसङ्ग बदलौँ । संविधान संशोधनका सम्बन्धमा तपाईँको अवधारण के छ ?

सरकारले अघि सारेको संविधान संशोधनको विषयलाई मैले सकारात्मक रुपमा लिएको छु । किनभने म जुन पार्टीबाट मन्त्री भएको छु, मेरो पार्टी लोकतान्त्रिक समाजवादी पार्टीले बारम्बार संविधान संशोधनको विषय उठाइरहेको छ । हामीले यो संविधानले पूर्णता प्राप्त गरेको छैन भनिरहेका छौँ । संविधान जारी गर्नेक्रममै पनि पार्टीको असहमति थियो । हामीले संविधान मान्दैनौँ भनेका छैनौँ । संविधान मानेर नै हामी सरकारमा छौँ । तर, संविधान संशोधन गर्नुपर्ने छ । संविधानले राजनीतिक रुपमा पूर्णता पाएपछि मात्रै मुलुक आर्थिक विकासको गतिमा अगाडि बढ्छ भन्ने लाग्छ । संविधानमा केही विभेदकारी कुरा छन् । जसले मधेसी, आदिवासी, जनजाति र पछाडि परेको समुदायले समानताको आधारमा समान हकअधिकार पाउनुपर्छ भनेका छन् । त्यो विषय संविधानको सिद्धान्तमा छ अभ्यासमा छैन । त्यसका लागि संविधान संशोधन गर्नुपर्छ भनिएको हो ।

वर्तमान सरकार गठन हुनुअघ संविधान संशोधन गर्ने भनियो तर यो विषय गौण छ । तपाईँ के भन्नुहुन्छ?

संविधान संशोधन गर्ने विषय कुनै एउटा पार्टीको मुद्दा होइन । सबै पार्टीका आ–आफ्नै आँकडा छन् । संविधान संशोधनको विधि भनेको संसदीय विधि हो । संसदीय विधिमा सङ्ख्या चाहिन्छ । त्यो सङ्ख्या भनेको दुई तिहाइ हो । अहिले दुई ठूला पार्टी मिलेर सरकार बनेको छ । त्यसैले संविधान संशोधन हुने सम्भावना देखिएको छ । सरकार गठनकै क्रममा संविधान संशोधन गर्ने भन्नु पनि सकारात्मक पक्ष हो । सरकारको जग बनेकै संविधान संशोधन हो । संविधान संशोधनको विषयलाई अगाडि बढाउँछ भन्नेमा सरकारप्रति विश्वास छ । सबैभन्दा ठूलो पार्टी नेपाली कांग्रेसले संविधान संशोधनबारे आफ्नो पार्टीमा छलफल सुरु गरेको छ । संविधान संशोधन भएसँगै राजनीतिक मुद्दा समाप्त हुन्छ । त्यसपछि देश आर्थिक विकासको बाटोमा अगाडि बढ्न सक्छ ।

संविधान सबैले उत्कृष्ट छ भनिरहेका छन्, तर तपाईँ कसरी अपूर्ण भन्नु हुन्छ ?

जनसङ्ख्याको आधारमा राज्यका सबै संरचनामा सहभागिताको सवाल संविधानमै उल्लेख गरिनुपर्छ भन्ने हाम्रो भनाइ हो । पचास हजार र पाँच लाख जनसङ्ख्या भएको जिल्ला वा निर्वाचन क्षेत्रबाट संसद्मा समान प्रतिनिधित्व हुनुहुँदैन । त्यो न्यायोचित छैन । अर्को, भौगोलिक संरचनाको आधारमा मधेसीलाई दुई वटा प्रदेशमा विभाजन गर्नुपर्ने कुरा पनि छ । मधेस प्रदेशको सिमानाको बारेमा हाम्रो अहिले पनि फरक मत छ । समानुपातिक समावेशी संविधानमा लेखिए पनि त्यसका लागि आधार तय गरिएको छैन । उदाहरणका लागि कोट सिलाउन सैद्धान्तिक सहमति भयो, तर कपडा काट्ने क्रममा भोटोको काटियो । अब कसरी कोट बन्छ?

क्यानाडेली सामानमा ३५ प्रतिशत आयात शुल्क लागु हुने ट्रम्पको घोषणा

बीबीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी अगस्ट १ देखि क्यानाडाबाट आयात हुने सामानमा ३५ प्रतिशत शुल्क लगाउने घोषणा गरेका छन् । दुई देशबीच नयाँ व्यापार सम्झौताका लागि निर्धारण गरिएको म्याद सकिन केही दिन मात्र बाँकी रहेका बेला ट्रम्पले यस्तो कदम चाल्ने चेतावनी दिएका हुन् ।

यो घोषणा ट्रम्पको सामाजिक सञ्जाल ट्रुथ सोसियलमा प्रकाशित एक पत्रमार्फत सार्वजनिक गरिएको हो । पत्रमा अधिकांश व्यापार साझेदारहरूमाथि समेत १५ देखि २० प्रतिशतसम्मको आयात शुल्क लगाउने धम्की दिइएको छ ।

क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीले सामाजिक सञ्जाल एक्समा प्रतिक्रिया दिँदै क्यानाडाली श्रमिक र उद्योगको रक्षा गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । साथै उनले अमेरिकासँगको नयाँ सम्झौता तय गर्न अगस्टसम्म प्रयास जारी रहने स्पष्ट पारे ।

यसअघि नै क्यानाडाका केही वस्तुहरूमा २५ प्रतिशत आयात शुल्क लागू भइसकेको छ । साथसाथै ट्रम्प प्रशासनले इस्पात, एल्युमिनियम र गाडीमा लगाएको विश्वव्यापी शुल्कले क्यानाडा गम्भीर प्रभावित भएको छ ।

ट्रम्पले यो हप्ता मात्र जापान, दक्षिण कोरिया, श्रीलंका लगायतका २० भन्दा बढी देशका व्यापार साझेदारलाई यस्तै किसिमका पत्रहरू पठाएका छन् । उनले ती सबैमाथि पनि अगस्ट १ देखि शुल्क लागू गरिने चेतावनी दिएका छन्।

मौसमी सागसब्जी बेचेर मासिक दुई लाख आर्जन

टीकापुर । कैलालीको जानकी गाउँपालिका–५ पहाडीपुरका नारायण जोशीको परिवारको मुख्य आम्दानीको स्रोत सागसब्जी खेती हो । २२ वर्षअघि उनका पिताले थालेको सागसब्जी खेतीलाई नारायणले व्यावसायिक रूपमा अघि बढाएका छन् ।

रानीजमरा कुलरिया सिँचाइ आयोजना कृषि कार्यक्रम कार्यान्वयन एकाइले किसानलाई खेतीमा हौसला मात्र होइन व्यावसायिक बन्न सघाएको छ । आयोजनाको सहयोग पाएका किसान खेतीमा प्रविधि र नयाँ सीप सिकेर व्यावसायिक बनेका छन् ।

सागसब्जी खेतीमा भविष्य र कमाइ देखेर व्यावसायिक खेती गरिरहेका खप्तड पशुपन्छी तथा कृषि फार्मका सञ्चालक नारायणलाई सिँचाइ आयोजनाको सहयोगले पेसामा टिकिरहन सहज बनाइदिएको छ । उनले तीन बिघामा गोलभेँडा, आलु र लहरे सागसब्जी लगाएका छन् ।

‘तीस लाख लगानी गरेको हुँ, वार्षिक एक हजार क्विन्टल उत्पादन हुने गरेको छ । सबै खर्च कटाएर मासिक एक लाख पचास हजारदेखि दुई लाखसम्म बचत हुन्छ,’ किसान जोशीले भने । उनको पाँच जनाको परिवार सागसब्जी खेतीमा रमाएको छ । जग्गाको खोजीमा रहेका नारायण आयोजनाले सहयोग गरिरहेकाले आफू थप दश बिघामा सागसब्जीखेती गर्ने योजनामा रहेको  बताए । उनले जैविक मलमात्र प्रयोग गरेर खेती गर्दै आएका छन् ।

रानी जमरा कुलरिया सिँचाइ आयोजनाको कृषि कार्यक्रम कार्यान्वयन एकाइले किसानलाई बीउबिजन, नयाँ प्रविधिमा अनुदान सहयोग गर्न थालेपछि किसान व्यावसायिक खेतीतर्फ आकर्षित भएका हुन् ।

सिँचाइ आयोजनाका कृषि अधिकृत आकृति ठाकुर बाली संरक्षणका लागि खेती गर्नुपूर्व माटोदेखि नै सचेत हुनुपर्नेमा जोड दिन्छन् । ‘खेती गर्दा माटोको संरक्षणबाटै शुरू गरेमा नारायणजस्तै राम्रो आम्दानी लिन सकिन्छ,’ उनी भन्छिन्, ‘किसानले माटो, वातावरण संरक्षणबाटै खेती थाल्नुपर्छ । यसरी ध्यान दिने किसानलाई हामीले बाली संरक्षणमा पनि सघाइरहेका छौँ ।’

सिँचाइ आयोजनाका प्रमुख भरत कँडेल आयोजनाको युवा किसानलाई कृषिमा प्रेरित गर्ने नीति भएको बताउँछन् । ‘यसरी प्रेरणादायी रुपमा काम गर्ने किसानलाई टेको लगाउने काम आयोजनाले गरिरहेको छ,’ उनी भन्छन्, ‘कृषिमा जोशी परिवारको सफलता देख्दा खुसी लागेका छ ।’

आयोजनाको कमाण्ड क्षेत्रका किसान व्यावसायिक बन्न किसानको आवश्यकताका आधारमा आयोजनाले बीउबिजनमा ५० प्रतिशत अनुदान, नयाँ प्रविधिमा ७० देखि ८० प्रतिशत अनुदान उपलब्ध गराएको छ ।

सागसब्जीखेतीलाई पेशा बनाएर युवा पुस्तालाई पनि त्यसमा नै रमाउन अभिप्रेरित गरेका किसान नारायणका बुबा प्रेमप्रसाद जोशीलाई दुई साताअघि राष्ट्रपति रामचन्द्र पौडेलले पुरस्कृत गरेका थिए । राष्ट्रपतिले नगद दुई लाखसहित उनलाई कृषिका माध्यमबाट मुलुकको आर्थिक समृद्धिमा योगदान दिएको भन्दै पुरस्कृत गरिएको हो ।

आपसमा भनाभन बन्द गरौं, विमर्श गरौं : सचिव भट्टराई

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले च्यासललाई ललकार्ने र च्यासलबाट ललकार्ने काम बन्द गर्न आग्रह गरेका छन् ।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सक्रिय राजनीतिमा आउने घोषणा गरेसँगै नेताहरुले पक्ष विपक्षमा सार्वजनिक रुपमा बहस गर्न थालेपछि सचिव भट्टराईले बसेर आपसमा विमर्श गर्न आग्रह गरेका हुन् ।

उनले भनेका छन्, ‘च्यासललाई ललकार्ने, च्यासलबाट ललकार्ने, कृपया यो तरिका बन्द गरौं, बसौं, आपसमा विमर्श गरौ, सहकार्य मार्फÞत समाधान खोजौं, जबजको मर्म पनि यही हो, राष्ट्र, जनता र एमाले, हामी सबै एक ठाँउ उभिने आधार !’

खासगरी पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षीय नेताहरुले अहिले नै नेतृत्वको बारेमा बहस गर्न नेता कार्यकर्तालाई निर्देशन दिँदै आएका छन् । महासचिव शंकर पोखरेलले कुबेलामा नेतृत्वकाबारेमा बहस नगर्न चेतावनी दिँदै आएका छन् ।

त्यस्तै एमालेका अर्का नेता भानुभक्त ढकालले पार्टी निर्णयविरुद्ध जान खोज्नेहरूलाई ‘नोटिसमा राखिने’ चेतावनीसमेत दिँदै आएका छन् ।