`

लयमा फर्किदै सर्वोच्च, आजदेखि सबैखाले रिट दर्ता र सुनुवाइ

काठमाडौं । सर्वोच्च अदालतले आज (मंगलबार) देखि सबैखाले रिट दर्ता तथा सुनुवाइ गर्ने भएको छ । जेनजी आन्दोलनका क्रममा आक्रमणको निशानामा परेको सर्वोच्च विस्तारै लयमा फर्किन थालेको हो । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा आगजनी भएपछि सर्वोच्चको सेवा अवरुद्ध भएको थियो ।

आन्दोलनका क्रममा आगजनी, ढुङ्गामुढा, तोडफोड र लुटपाट समेतका घटनाबाट ठूलो क्षति भएपछि स्थगित रहेका सेवाहरू आजबाट आंशिक रूपमा सुचारु गर्न लागिएको प्रवक्ता अर्जुनप्रसाद कोइरालाले जानकारी दिए । असोज २६ गते बसेको सर्वोच्च अदालतको पूर्ण बैठकले सर्वोच्च अदालतमा दर्ता हुने रिट निवेदन, मुलुकी देवानी कार्यविधि संहिता, २०७४ को दफा १५७ तथा मुलुकी फौजदारी कार्यविधिसंहिता, २०७४ को दफा ७३, १३७ र १५५ का निवेदनहरू दर्ता गरी सुनुवाइ गर्ने निर्णय गरेको थियो ।

यसअघि बन्दी प्रत्यक्षीकरणका निवेदन तथा अत्यावश्यक निवेदन मात्र दर्ता र सुनुवाइ हुँदै आएका थिए । सर्वोच्चको पुरानो भवन गत भदौ २४ गते भएको आगजनीमा पूर्णरूपमा ध्वस्त भएर बस्न नसक्ने भएपछि एनेक्स भवनमा अस्थायी संरचना तयार पारिएको छ । पाँच तल्लाको उक्त भवनको दोस्रो तल्लामा प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको कार्यकक्ष, मुख्य रजिस्ट्रार विमल पौडेलको कार्यकक्ष र दुई छुट्टा–छुट्टै कोठामा इजलास तयार पारिएको छ । त्यसैगरी, सोही भवनको चौथो तल्लामा अन्य न्यायाधीशहरू, रजिस्ट्रारहरू बस्ने व्यवस्था मिलाइएको छ ।

 

इजरायल सरकारले नै विपिनको शव नेपाल पठाइ दिने, अस्पतालमा ‘डिएनए’ परीक्षण हुँदै

काठमाडौं । हमासको अपहरणपछि मारिएका नेपाली युवा विपिन जोशीको शव अन्तर्राष्ट्रिय रेडक्रस सोसाइटी (आईसीआरसी) ले इजरायली सेनालाई जिम्मा लगाएको छ । उनको शव सैनिक अस्पतालमा राखिएको छ । त्यहाँ डिएनए परीक्षण रिपोर्ट लगायतका प्रक्रिया पूरा गरेपछि मात्र शव नेपाल पठाउने प्रक्रिया सुरु हुने इजरायलस्थित नेपाली दूतावासले जनाएको छ ।

राजदूत धनप्रसाद पण्डितले हमासले विपिन जोशीको भनेर बुझाएको शव डिएनए परीक्षण गरेपछि मात्र पुष्टि हुने बताए । रिपोर्ट आउन करिब ४ घण्टा लाग्ने भनिएको छ । त्यसपछि मात्रै नेपाल पठाउने प्रक्रिया सुरु हुने उनले जानकारी दिएका छन् । इजरायल सरकारले नै कफिनमा बन्द गरेर शव नेपाल पठाइदिने छ । त्यसका लागि अझै केही दिन लाग्ने अनुमान गरिएको उनले बताएका छन् ।

अध्ययनको सिलसिलामा इजरायल पुगेका कञ्चनपुरका विपिन जोशी गत अक्टुबर ७ मा हमासले किबुत्ज क्षेत्रमा गरेको आक्रमणको क्रममा बन्धक बनाइएका थिए । सो आक्रमणको क्रममा १० जना नेपाली विद्यार्थीहरु मारिएका थिए भने हमास लडाकुहरुले विपिनलाई आफूसँगै लिएर गएका थिए । त्यसपछि उनको अवस्था अज्ञात थियो । इजरायल र हमासबीच युद्धविराम भएपछि मंगलबार बिहान मात्रै इजरायली सेनाका अधिकारीले विपिनको मृत्यु भएको पुष्टि भएको औपचारिक जानकारी दिएका थिए । बन्दीहरु मुक्त गर्ने क्रममा हमासले विपिनको शव मंगलबार हस्तान्तरण गरेको हो ।

बालेनलाई हर्कको कटाक्ष : ‘किसानझैं फोहोर’ लेख्नुभन्दा हर्क साम्पाङझैं फोहोर लेख्नु नि !

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले ‘किसानझैं फोहोर’ लेखेकोमा काठमाडौं महानगरपालिकाका मेयर बालेन साहको आलोचना गरेका छन् । माटोलाई फोहर ठान्नेविरुद्ध माटोको टीका लगाएर देश बचाउन आफू आएको उनले बताएका छन्। ‘किसानझैं फोहोर लेख्नुभन्दा बरू हर्क साम्पाङझैं फोहोर लेख्नु नि !’ राईले सामाजिक सञ्जालमा लेखेका छन्, ‘माटोलाई फोहोर ठान्नेहरूविरुद्ध हामी आएका छौँ माटोको टीका लगाएर देश बचाउन !’

मधेश प्रदेशका मुख्यमन्त्री सिंहले आज विश्वासको मत लिंदै

जनकपुरधमम । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले आज (मंगलबार) विश्वासको मत लिँदैछन् । आज दिउँसो १ बजे बस्ने प्रदेश सभा बैठकमा मधेशका मुख्यमन्त्री सिंहले विश्वासको मत लिन लागेका हुन् ।

गत शुक्रबार मुख्यमन्त्री सिंहले मधेश प्रदेश सभालाई एक पत्र लेख्दै विश्वासको मत लिनका लागि वातावरण मिलाइ दिन पत्र पठाएका थिए । सोही अनुसार आज असोज २८ गते प्रदेश सभा बैठक बोलाइएको मधेश प्रदेश सभाका सचिव वासुप्रसाद कोइरालाले जानकारी दिए ।

गत भर्दा २३ र २४ गतेको जेनजी आन्दोलन चर्किएको समयमा सिंहले मुख्यमन्त्री पदबाट राजीनामा घोषणा गरेका थिए । तर अन्तरिम सरकार गठनपछि उनले एकाएक कुरा फेरेका थिए । उनले त्यस दिन विषम परिस्थितिमा कसैको जनधनको क्षति नहोस् भनेर फेसबुकमा राजीनामा लेखेको बताउँदै आएका छन् ।

बोली फेरेपछि आफ्नै दल जनमतले गत ३१ भदौमा मधेश प्रदेश सभामा सभामुखलाई सम्बोधन गरेर मुख्यमन्त्री तथा मन्त्रीसहित सरकारबाट समर्थन फिर्ता लिएको पत्र बुझाएको थियो । सो मितिबाट ३० दिनभित्र मधेशका मुख्यमन्त्री सिंहले विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था आइलागेको हो ।

पूर्व सभामुख महरामाथि आज थुनछेक बहस

काठमाडौं । काठमाडौँ जिल्ला अदालतमा आज (मंगलबार) पूर्व सभामुख कृष्णबहादुर महरामाथि थुनछेक बहस हुँदैछ । बहसपछि अदालतले उनलाई धरौटीमा रिहा गर्ने वा थुनामा राख्ने निर्णय गर्नेछ ।

सुन तस्करी प्रकरणमा संलग्न रहेको आरोपमा महरालाई सीआईबीले आइतबार पक्राउ गरेको हो । जिल्ला सरकारी वकिलको कार्यालयले असोज २७ गते उनीविरुद्ध आठ करोड ५५ लाख रूपैयाँ बिगो र तीन वर्षभन्दा बढी कैद सजाय मागदाबीसहित मुद्दा दर्ता गरेको छ । महरामाथि विद्युतीय चुरोट ‘भेप’ मा लुकाएर ल्याइएको सुन विमानस्थल भन्सारबाट छुटाउन दबाब दिएको आरोप छ ।

यो प्रकरणमा उनका छोरा राहुल महरासहित अन्य व्यक्तिहरू पनि अभियोगित छन् । भेपमा तस्करीको सुन भएको सूचना पाएपछि विमानस्थलका कर्मचारीले सुटुक्क साटे । भेप साटिएको शंका लागेपछि २६ वैशाख २०८० मा भन्सारले सीआईबीलाई पत्राचार गर्दै अनुसन्धान गर्न भनेको थियो ।

२ महिनासम्म लगाएर अनुसन्धान गरेको सीआईबीले ९ किलो सुन तस्करी भएको निष्कर्ष निकाल्दै भन्सारकै नासु रेवन्त खड्कासहित ६ जनाविरुद्ध मुद्दा दायर गरेको थियो । पूरक अभियोजनमा चिनियाँ मूलका बेल्जियमका नागरिक दावा छिरिङ, उनका गाडी चालक लोकेन्द्र पौडेल, कृष्ण बहादुर महराका छोरा राहुल र नीमा गुरुङलाई मतियार बनाएर मुद्दा दायर गरिएको थियो । पूर्व सभामुख महरा संलग्न रहेको भनिएको उक्त सुन तस्करीको फाइलमा अनुसन्धान अघि बढाउँदै उनीसँग केही दिन अघि बयान लिइएको थियो ।

इजरायली पूर्व राजदूत गोदारले फोटो शेयर गर्दै लेखे-विपिन देशको उज्यालो भविष्य थिए

काठमाडौं । नेपालका लागि इजरायलका पूर्व राजदूत हानान गोदारले हमासको आक्रमणमा मारिएका नेपाली युवा विपिन जोशीप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । सामाजिक सञ्जालमार्फत गोदारले विपिनलाई ‘ऊर्जावान र क्षमतावान युवा’ भन्दै सधैं सम्झिरहने बताएका छन् ।

गोदारले ‘लर्न एण्ड अर्न’ कार्यक्रममा सहभागी भएर इजरायल जानुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विपिनलाई बिदाइ गर्दाको तस्वीर शेयर गर्दै लेखेका छन्, ‘दुई वर्षको आशा आज अन्त्य भयो ।’

पूर्व राजदूत गोदारका अनुसार विपिन एक होनहार विद्यार्थी थिए जसले आफ्नो परिवार, समुदाय र देशका लागि केही उल्लेखनीय काम गर्ने सपना देखेका थिए । उनले थप लेखेका छन्, ‘उनी शान्तिको प्रतीक थिए । सधैं सम्झिरहनेछु ।’

यसअघि हमासको इजरायलस्थित किवुत्ज क्षेत्रमा भएको आक्रमणमा १० नेपाली विद्यार्थी मारिएका थिए भने विपिन जोशी वेपत्ता भएका थिए । हालै हमासले एक शव इजरायललाई हस्तान्तरण गरेको र त्यसैलाई विपिनको हुनसक्ने अनुमान गरिएको छ । डिएनए परीक्षणपछि मात्रै शव पुष्टि भई परिवारलाई हस्तान्तरण गरिने नेपाली राजदूतावास, इजरायलले जानकारी दिएको छ ।

जेनजी आन्दोलनपछि पहिलोपल्ट सार्वजनिक हुँदै देउवा

काठमाडौं । जेनजी युवाको प्रदर्शनका क्रममा आक्रमण हुँदा घाइते नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज (मंगलबार) ३४ दिनपछि सार्वजनिक हुँदैछन् । उनी आज केन्द्रीय कार्यसमितिको बैठकमा सहभागी हुने भएका हुन् ।

कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्दैछ । बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र सातै प्रदेश कार्यसमितिका सभापतिहरुलाई पनि बोलाइएको छ ।

जेनजी युवा आन्दोलनको क्रममा बुढानीलकण्ठस्थित निवासमा देउवा दम्पत्तिमाथि आक्रमण हुनुका साथै घरमा आगजनी भएको थियो । लामो समय अस्पतालमा उपचार गराएर आफन्तको निवासमा बस्दै आएका देउवा आज पहिलो पटक बैठकमा सार्वजनिक हुन लागेको देउवा निकट नेताहरुले जनाएका छन् ।

केन्द्रीय कार्यसमिति बैठकअघि आज ११ बजे कार्यसम्पादन समितिको बैठक पनि बस्ने छ । केन्द्रीय कार्यसमितिमा पेश गर्ने साझा एजेण्डा तय गर्न कार्यसम्पादन समितिको बैठक बस्न लागेको हो । मंसिर भित्र १५ औं महाधिवेशन गर्ने कार्यतालिका ल्याउनुपर्ने महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको अडानमा संस्थापन पक्ष सहमत हुन नसकेकाले साझा एजेण्डा तय हुन सकेको छैन ।

कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै
जेनजी आन्दोलनपछिको राजनीतिक परिस्थिति र कांग्रेसको आगामी रणनीति लगायतका विषयमा छलफल गर्न नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै छ । आजको बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र सातै प्रदेश कार्यसमितिका सभापतिहरुलाई बोलाइएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

केन्द्रीय कार्यसमिति बैठक अघि ११ बजे कार्यसम्पादन समितिको बैठक बस्ने छ । केन्द्रीय कार्यसमितिमा पेश गर्ने साझा एजेण्डा तय गर्न कार्यसम्पादन समितिको बैठक बस्न लागेको हो । मंसिर भित्र १५ औं महाधिवेशन गर्ने कार्यतालिका ल्याउनुपर्ने महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको अडानमा संस्थापन पक्ष सहमत हुन नसकेकाले साझा एजेण्डा तय हुन सकेको छैन ।

नेपालले कतारलाई दियो १४८ रनको लक्ष्य

काठमाडौँ । नेपालले कतारलाई जितको लागि १४८ रनको लक्ष्य दिएको छ । ओमनमा जारी आईसीसी टी–२० विश्वकप एसिया–इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्स चरणमा आज नेपालले आफ्नो दोस्रो खेल कतारसँग खेलेको हो ।जसअन्तर्गत नेपालले कतारलाई १४८ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

टस जितेर कतारले बलिङ रोजेपछि ब्याटिङमा उत्रिएको नेपालले २० ओभरको खेल सकिँदा ९ विकेट गुमाएर १४७ रन बनायो ।

नेपालका लागि कप्तान रोहित पौडेलले अर्धशतक इनिङ खेले । रोहितले ४१ बलमा ५८ रन बनाए ।

दीपेन्द्रसिंह ऐरी २६, कुशल भुर्तेल ६, आसिफ शेख ११, कुशल मल्ल ८, आदिल आलम २, सन्दीप जोरा १, सोमपाल कामी १४ र गुल्सन झा १६ मा आउट भए । नन्दन यादव १ रनमा अविजित रहे ।

बलिङमा कतारका डेनियल आर्चर मारिया लुइस र मिर्जा मोहम्मद बेगले समान ३\३ विकेट लिए ।

कतारविरुद्ध कप्तान रोहित पौडेलको अर्धशतक

काठमाडौं । टी–२० विश्वकप छनोट  सुपर सिक्समा कतारविरुद्ध नेपालका कप्तान रोहित पौडेलले अर्धशतक प्रहार गरेका छन् ।  उनले ३५ बलमा नै अर्धशतक पूरा गरेका हुन् ।

आईसीसी टी–२० विश्वकप एसिया–इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्स चरणमा आज नेपालले आफ्नो दोस्रो खेल कतारसँग खेलिरहेको छ। टस जितेर कतारले बलिङ रोजेपछि ब्याटिङमा उत्रिएको नेपालले १४ ओभरको खेल सकिँदा तीन विकेट गुमाएर १०५ रन बनाएको छ ।

दक्षिणी गाजा प्रस्थान गर्‍यो मृतकको शव लिन रेडक्रसको टोली

काठमाडौं । हमासको अपहरणमा परेर मारिएकाहरूको शव लिन अन्तर्राष्ट्रिय रेडक्रस सोसाइटीको टोली गाजातर्फ गएको छ  । हमासले ४ जनाको शव आजै इजरायललाई बुझाउनको बताएको छ ।

४ जनाको शव लिन रेडक्रसको टोली दक्षिणी गाजातर्फ प्रस्थान गरेको इजरायली सेनालाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

सोमबार हमासले शव फिर्ता गर्ने ४ जना मृतकहरूको सूचीमा नेपालका विपिन जोशीको पनि नाम छ ।

हमासले विपिनको मृत्यु पुष्टि गरेकाले दक्षिणी गाजाबाट आजै रेडक्रसले इजरायल ल्याउने मृतकका शवहरूमध्ये उनको पनि हुनसक्ने अनुमान छ । तर, इजरायली सेनाले भने शव प्राप्त नभइसक्दासम्म मृतकबारे अड्कलबाजी नगर्न आग्रह गरेको छ  ।

इजरायली सेना र त्यहाँको गुप्तचर संस्था शिन बेट (शीन बेटले) ले संयुक्त विज्ञप्ति जारी गर्दै रेडक्रस प्रतिनिधि दक्षिणी गाजातर्फ प्रस्थान गरेको पुष्टि गरेका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘रेड क्रसका प्रतिनिधि दक्षिण गाजातर्फ जाँदै छन्, जहाँ हमासले मृतकका शवहरू राखिएका कफिनहरू हस्तान्तरण गर्नेछ ।’

हमासले पुष्टि गर्‍यो विपिन जोशीको मृत्यु, शव इजरायललाई बुझाउँदै

काठमाडौँ । हमासले नेपालका विपिन जोशीको मृत्‍यु भएको पुष्टि गरेको छ । जोशीसहित चारजना बन्धकहरूको शव आजै इजरायललाई बुझाउने भएको हो । हमासको सैन्य शाखाले अहिले चार जना बन्धकहरूको नाम सार्वजनिक गरेको बीबीसीले उल्लेख गरेको छ ।

बीबीसीका अनुसार हमासले इ इलौज,योस्सी शराबी,विपिन जोशी, डानियल पेरेत्सको शव बुझाउन लागेको हो । इजरायली सेनाका अनुसार, हमासद्वारा फिर्ता गरिँदै गरेका बन्धकहरूको शव संकलन गर्न रेड क्रस गाजातर्फ जाँदैछ।

आईडीएफ र इजरायली गुप्तचर संस्था शिन बेटले जारी गरेको संयुक्त वक्तव्यमा रेडक्रस गाजाको दक्षिणी क्षेत्रमा रहेको भेटघाट स्थलतर्फ जाँदैछ । यहाँ अपहरणमा परेका मृतक बन्धकहरूका केही शवहरू राखिएका कफिनहरू रेडक्रसलाई हस्तान्तरण गरिनेछ।

हमासले आजै जिवित २० जनाहरुलाई मुक्त गरेको थियो । मृत्यु भएका सबै बन्धकहरूको अवशेष २८ जना सम्मको हुनसक्ने भनिएको छ ।

हमासले पछिल्लोपल्ट सन् ७ अक्टोबर २०२३ मा किबुज क्षेत्रमा आक्रमण गरेको थियो ।उक्त आक्रमण सुरु गरेको दोस्रो दिन (७ अक्टोबर)भएको आक्रमणमा अध्ययनका लागि गएका १६ जना नेपाली विद्यार्थी पनि परेका थिए ।

इजरायल सरकारको ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत गएका उनीहरू सबै गाजा क्षेत्र नजिकै पर्ने दक्षिणी इजरायलको किबुज अलुमिम भन्ने स्थानमा बस्दै आएका थिए ।

आक्रमणको एक दिनपछि इजरायलस्थित नेपाली दूतावासले आक्रमणमा परी १० जना नेपाली विद्यार्थीको मृत्यु भएको पुष्टि गरेको थियो । मारिएका नेपालीसँगै रहेका नेपाली विद्यार्थी विपिन जोशीलाई हमासले बन्धक बनाएर लगेको थियो ।

हमासले बन्धक बनाएको एक महिनापछि (सन् २०२३ नोभेम्बर १७)विपिन गाजा क्षेत्रको अल शिफा अस्पतालमा देखिएका थिए । ३३ सेकेन्ड लामो उक्त भिडियोमा अन्तिमपल्ट देखिएका विपिन आज सोमबार जीवित नरहेको जानकारी इजरायली अधिकारीहरूले दिएका थिए।

 

 

पेस्तोलसहित देखिएका तेन्जिङलाई म्याद थपियो (तस्बिरहरू)

काठमाडौं। टिओबीको टिसर्ट लगाएर पेस्तोल बोकेका तेन्जिङ दावालाई जिल्ला अदालत काठमाडौंबाट थप अनुसन्धानको लागि  म्याद थप गरेको छ ।  टिबेटियन ओरिजिनल ब्लड (तिब्बती मूलको रगत) लेखिएको ज्याकेट ज्याकेट लगाएर जेन-जी आन्दोलनमा उत्रिएका उनलाई आइतबार पक्राउ परिएको थियो ।

तिब्बती शरणार्थीले नेपालमा चीन विरोधी फ्री तिब्बत गतिविधि चर्काउन खोजेको शंकाबीच पेस्तोलसहित देखिएका उनलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको हो।

टीओबीको टिसर्ट लगाउने तेन्जेनको घरबाट बरामद पेस्तोल ‘नक्कली’

काठमाडौँ । जेनजी प्रदर्शनका क्रममा फ्रि–तिब्बत समर्थक समूह ‘टीओबी’ को टिसर्ट लगाएर पेस्तोल बोकेका युवकको घरबाट बरामद पेस्तोल नक्कली भएको खुलेको छ । बौद्धस्थित तेन्जिङ दावाको घरबाट बरामद पेस्तोल नक्कली भएको खुलेको काठमाडौँका एसएसपी रमेश थापाले बताए ।

उनलाई प्रहरीले अभद्र व्यवहार सम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको छ । तेन्जिङको ज्याकेटमा लेखिएको टीओबीको अर्थ ‘तिब्बतीयन ओरिजनल ब्लड’ रहेको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् । बिजुली बजार पुलमा अर्का एक जना युवकले दिएको पेस्तोल तेन्जिङले कम्मरमा भिरेर बाइक चलाउँदै हिँडेको भिडियो सामाजिक सञ्जालमा देखिन्छ । भिडियोबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । २३ र २४ भदौमा भएको जेन–जी आन्दोलनमा घुसपैठ भएको र टीओबी लेखिएको ज्याकेट लगाएका व्यक्ति पेस्तोल बोकेर पुगेको भन्दै सामाजिक सञ्जालमा भाइरल भएको थियो ।

यसबारे अनुसन्धान गरिरहेको प्रहरीले भने कम्मरको पछाडि पट्टीको भागमा पेस्तोल बोकेका व्यक्तिको भिडियो करिब एक वर्ष पूरानो रहेको बताएको छ । पेस्तोल बोक्ने काठमाडौं ३० वर्षीय तेन्जेन दावामाथि अनुसन्धान गर्ने क्रममा उक्त कुरा खुलेको एक अनुसन्धान अधिकृतले बताए । ‘भाइरल भिडियो जेनजी आन्दोलनको नभएको पुष्टि भयो । उनले भिडियो खिचेको मिति र टिकटकमा पोस्ट भएको मिति दाँज्दा भिडियो पूरानो रहेको पाइयो,’ जिल्ला प्रहरी परिसर काठमाडौंका एक अनुसन्धान अधिकारीले भने ।

 

कांग्रेस महाधिवेशन माग गर्दै ध्यानाकर्षण पत्र

काठमाडौं । नेपाली कांग्रेसका युवा नेताहरूले पार्टीको १५ औँ महाधिवेशन मिति मंसिर मसान्तभित्र गर्न दबाब दिंदै ध्यानाकर्षण पत्र बुझाएका छन् । केन्द्रीय समिति बैठक बस्ने अघिल्लो दिन केन्द्रीय कार्यालयमा पुगेर मंसिरभित्र नियमित महाधिवेशन गर्ने कार्यातालिका ल्याउन भन्दै ध्यानाकर्षण पत्र बुझाएका हुन् । पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेललाई बुझाएको ध्यानाकर्षण पत्र महाधिवेशन सुनिश्चित गर्न नसके कार्यसमिति विघटन गर्न माग गरेका छन् ।

ध्यानार्षणपत्रमा भनिएको छ, ‘१५ औँ महाधिवेशनको सुनिश्चितताका लागि स्पष्ट समय तालिकासहित मंसिर मसान्तभित्र कार्य योजना ल्याउन आग्रह गर्दछौँ । अन्यथा, यो वा त्यो बहानामा महाधिवेशन गर्न असक्षम मौजुदा कार्यसमिति भङ्गको जोडदार माग गर्दछौँ ।’ १५ औँ महाधिवेशनका सम्बन्धमा विधिवत् र नियमित महाधिवेशन मात्र नेपाली कांग्रेसको सबै तह ९वडादेखि केन्द्रसम्म० युवा पुस्ताको सम्मानजनक सहभागिताको माध्यम भएको उल्लेख छ । पार्टीको पुनर्गठन, पुस्तान्तरण र रूपान्तरणको प्रक्रियालाई वैधानिकरुपमा अघि बढाउन सक्ने एक मात्र विकल्प भनेको विधिवत् नियमित महाधिवेशन मात्रै भएकाले मिति तोक्न माग गरेका छन् ।

उनीहरूले निर्वाचन, संसद् पुनस्थापनालगायतको विषयमा पनि पार्टीको स्पष्ट धारणा तय गर्न माग गरेका छन् । कांग्रेस नेता रञ्जित कर्ण, नेविसंघ पूर्वमहामन्त्री दीपक भट्टराई र सरोज थापालगायत नेताहरूले शुक्रवार नयाँ बानेश्वरमा बसेको छलफलको निष्कर्षसहित आज केन्द्रीय कार्यालयमार्फत सभापतिको ध्यानाकर्षण गराएका हुन् ।

पत्रमा भनिएको छ, ‘जेनजी विद्रोहको कारण देखाई जननिर्वाचित सरकारलाई विस्थापित गर्ने अराजनीतिक कार्य र प्रतिनिधिसभा विघटन गर्ने असंवैधानिक कदमको कारण उत्पन्न राजनीतिक अस्थिरता र संवैधानिक शून्यतालाई चिर्दै वर्तमान संकटपूर्ण राजनीतिको वैधानिक निकास दिन नेपाली कांग्रेसले संसद्को सबैभन्दा ठुलो दल तथा संविधान र लोकतन्त्रको पहरेदार पार्टीको हैसियत कायम गरी संसद्वादी राजनीतिक दल, राजनीतिक संस्थाहरू, नागरिक समाजसँग संवाद र सहकार्यमा व्यवहारिक र वैधानिक राजनीतिक पहलकदमीको नेतृत्व गर्न नेपाली कांग्रेस केन्द्रीय समितिलाई हार्दिक आग्रह गर्दछौ ।’

मधेश प्रदेशकी शिक्षामन्त्री शर्माले दिइन् राजीनामा

जनकपुरधाम । मधेश प्रदेश सरकारको शिक्षा तथा संस्कृतिमन्त्री रानी शर्मा तिवारीले राजीनामा दिएकी छन् । मुख्यमन्त्री सतिशकुमार सिंहलाई पत्र लेख्दै शर्माले आज (सोमबार) पदबाट राजीनामा दिएकी हुन् । उनी लोसपाबाट मन्त्री बनेकी हुन् । मुख्यमन्त्री सिंहले मधेश प्रदेश सभाबाट विश्वासको मत लिने पूर्व सन्ध्यामा मन्त्री शर्माले राजीनामा घोषणा गरेकी हुन् । यसअघि मुख्यमन्त्री सिंहकै दलले आफ्ना मन्त्रीसहित समर्थन फिर्ता लिइसकेको छ ।

यस्तै, सत्तागठबन्धनमा रहेका कांग्रेस र एमालेले समेत यसअघि नै समर्थन फिर्ता लिइसकेका छन् । जेन–जीको आन्दोलन चर्किंदै जाँदा २४ भदौमा सिंहले सामाजिक सञ्जालमार्फत राजीनामाको घोषणा गरेका थिए । तर, पछि उनले राजीनामा नदिने बताएका थिए । त्यसयता उनलाई स–सम्मान पद त्याग गर्न उनको आफ्नै दलले पनि पटकपटक आग्रह गरेको थियो । तर, उनले अस्वीकार गर्दै सदनबाट विश्वासको मत लिन लागेका हुन् । अहिलेसम्मको स्थितिमा उनलाई लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को समर्थन मात्र कायम छ ।

पूर्व सभामुख महराविरुद्ध मुद्दा दर्ता, साढे आठ करोड बिगो दावी

काठमाडौं । विद्युतीय चुरोट (भेप) मार्फत सुन तस्करीको आरोपमा पक्राउ परेका पूर्व सभामुख कृष्णबहादुर महराविरुद्ध जिल्ला अदालत काठमाडौँमा मुद्दा दर्ता भएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनलाई आइतबार पक्राउ गरेको थियो । अनुसन्धानका लागि म्याद थप नगरी जिल्ला सरकारी वकिलको कार्यालयले जिल्ला अदालत काठमाडौैँमा मुद्दा दर्ता गरेको हो ।

महराविरुद्ध भन्सार छली र संगठित अपराधको कसुरमा मुद्दा दर्ता गरेको हो । जिल्ला सरकारी वकिलको कार्यालयका प्रमुख रामहरि काफ्ले महराविरुद्ध मुद्दा दर्ता भएको जानकारी दिए । उनीविरुद्ध ८ करोड ५५ लाख २८ हजार ३७४ रूपैयाँ बिगो र ३ वर्षभन्दा बढी अवधि कैद सजाय माग दाबी गरिएको छ । उनीविरुद्ध मंगलबारदेखि थुनछेक बहस हुनेछ । बहसपछि धरौटीमा रिहा गर्ने कि थुनामा राख्ने भन्ने आदेश हुनेछ ।

उनी यही विषयमा २०८० चैत ५ गते पनि पक्राउ परेका थिए । यसअघि पनि पक्राउ गरेकाले महराविरुद्धको अनुसन्धानका लागि धेरै समय नलाग्ने भन्दै मुद्दा दर्ता भएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि यही विषयमा केही दिनअघि बयान लिएको थियो । ०७९ पुस १० गते फ्लाई दुबईको जहाजमार्फत नेपाल आएका चिनियाँ नागरिक लि हानसोङले २ वटा सुटकेसभित्र ७३ बट्टामा रहेको ७३० वटा विद्युतीय चुरोट (भेप) मा लुकाएर अवैध रूपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपालमा सुन भित्र्याएको प्रकरणमा महरा जोडिएका छन् ।

भेपमा राखेर ९ किलो सुन तस्करी गरेको अभियोगमा नेता महराका छोरा राहुल महरा पहिले नै पक्राउ परेका थिए । भेपको ९ किलो सुन तस्करीमा संलग्न चिनियाँ नागरिकसँग सम्पर्क देखिएको र उक्त सुन विमानस्थल भन्सार कार्यालयबाट छुटाउन कर्मचारीलाई टेलिफोन गरेको अनुसन्धानबाट देखिएको छ । चिनियाँ तस्करसँग महरा र उनका छोरा राहुलको समेत संलग्नता देखिएको भए पनि प्रहरी र सरकारी वकिलले पहिलो चरणमा उनीहरूलाई प्रतिवादी नबनाई मुद्दा दर्ता गरेका थिए ।

 

जिल्ला अदालत काठमाडौँमा कृष्ण महरा (तस्बिरहरू)

काठमाडौं ।  नेकपा माओवादीका नेता तथा पूर्वसभामुख कृष्णबहादुर महरालाई जिल्ला अदालत काठमाडौँमा उपस्थित गराइएको छ। उनीविरुद्ध विद्युतीय चुरोट (भेप)मार्फत सुन तस्करी गरेको आरोपमा आज मुद्दा दर्ता भएको छ।  उनलाई प्रहरीले माइक्रो बसमा राखेर अदालत पुर्‍याएको हो।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले उनलाई आइतबार पक्राउ गरेको थियो। अनुसन्धानका लागि म्याद थप नगरी जिल्ला सरकारी वकिलको कार्यालयले जिल्ला अदालत काठमाडौँमा मुद्दा दर्ता गरेको हो।

मेची राजमार्गको विकल्पमा जोगमाई खोलामा ‘डाइभर्सन’

फिक्कल (इलाम) । मेची राजमार्गअन्तर्गत इलाम नगरपालिका–९ स्थित इलाम–राजदुवाली सडक खण्ड अवरुद्ध भएपछि विकल्पका रुपमा तिल्केनी–सिमलगोमा यातायात सञ्चालनको तयारी थालिएको छ । सडकअन्तर्गत जोगमाई खोलामा ‘डाइभर्सन’मार्फत यातायात सञ्चालनको तयारी थालिएको प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले बताइन् ।
जोगमाई खोलामा आइतबारदेखि नै सडक डिभिजन इलाममार्फत धमाधन डाइभर्सन निर्माण भइरहेको प्रजिअ नेपालले जानकारी दिइन् । माइजोगमाई गाउँपालिका–४ नामसालिङ र इलाम नगरपालिका–१० गोदक जोड्ने जोगमाई खोलामा १० वटा ह्युम पाइपमार्फत डाइभर्सन निर्माण भइरहेको छ । डाइभर्सन र पहुँच मार्ग निर्माण आज साँझसम्ममा सम्पन्न गर्ने योजना रहेको सडक डिभिजन कार्यालय इलामका डिभिजन प्रमुख पवन भट्टराईले बताए ।
यही असोज १८ गतेको भारी वर्षापछिको बाढीले यहाँ गत असारमा निर्माण गरिएको बेलिब्रिज बगाएपछि यो सडकमा यातायात अवरुद्ध छ । यस सडकखण्डले इलाम सदरमुकामको तिल्केनीदेखि मेची राजमार्गको गोदक जोड्छ । यहाँबाट आजैदेखि साना सवारी सञ्चालन गर्ने तयारी भइरहेको प्रजिअ नेपालले बताइन् । तत्कालका लागि आइतबार तिल्केनी–बज्रदेवी–नामसालिङ–नयाँबजार–फिक्कलको रुटमा साना सवारी सञ्चालनमा ल्याइएको थियो।
पहिरोका कारण अवरुद्ध मेची राजमार्गअन्तर्गत इलाम नगरपालिका–९ स्थित इलाम–राजदुवाली सडक खण्ड अवरुद्ध भएपछि विगत १० दिनदेखि झापा, इलाम, पाँचथर र ताप्लेजुङका यात्रु तथा सवारी आवागमनमा समस्या देखिएको छ । ‘तिल्केनी–सिमलगोलाई सडकअन्तर्गत जोगमाई खोलामा सडक डिभिजनमार्फत ह्युमपाइप राखेर डाइभर्सन निर्माण आइतबारदेखि नै सुरु गरिएको छ, आजदेखि नै यो सडकमा साना सवारी सञ्चालन गर्ने प्रयासमा छौँ’, सडक डिभिजन कार्यालय इलामका डिभिजन प्रमुख भट्टराईले भने ।
ठूला तथा मालवाहक सवारीका लागि भने हालसम्म उपयुक्त वैकल्पिक मार्ग पहिचान गर्न नसकिएको नेपालको भनाइ छ । तीव्र मोड र साँघुरोपनाका कारण ठूला सवारीका लागि कठिनाइ हुने अवस्था रहेको उनले बताइन् । रामकुमार लिम्बू ÷ रासस

दुर्गा प्रसाईंले भने- सिंहदरबार जलाए, अब देश टुक्राउँदैछन्

काठमाडौँ । राष्ट्र,राष्ट्रियता, धर्म, सांस्कृतिक, नागरिक बचाउ महाअभियान नेपालका केन्द्रीय संयोजक दुर्गा प्रसाईं आज तामाझामसहित त्रिभुवन विमानस्थलमा उत्रिएका प्रसाईंले देश टुक्रिन लागेको बताए छन् ।

विमानस्थलमा समसामयिक राजनीतिक विषयमा  पत्रकारहरुसँग कुराकानी गर्दै प्रसाईँले नेत्ररोग विशेषज्ञ सन्दुक रुइतसहितमाथि गम्भीर आरोप लगाए । उनले देश टुक्रिन लागेको भन्दै जेन-जीका नाममा अराजकता मच्चाइएको बताए ।

मधेशमा डा. सीके राउत र सुदूरपश्चिममा अर्को समूहले देश टुक्राउने बल गरिरहेको बताए । उनले जेन-जीका नाममा देश टुक्राउनेहरूले सिंहदरबारदेखि कयौँ स्थानमा आगो लगाएको बताए ।

नेताको घरमा आगो लगाउनु एक ठाउँमा भए पनि सरकारी संरचना जलाउनु आपराधिक कार्य भएको बताए । उनले कयौँ नेपाली सञ्चारमाध्यमको नाम लिँदै सिंहदरबार जलाएपछि अब देश टुक्राउने अभियान थालिएको बताए ।

साथै उनका अनुसार डा. गोविन्द केसीलाई अनशनमा राख्न थालिएदेखि शिक्षा र स्वास्थ्य ध्वस्त पारिएको उनको आरोप छ ।

 

दुर्गा प्रसाईको दाबी : यो सरकार पनि धेरै टिक्दैन, चुनाव गराउन सक्दैन

काठमाडौं । गत भदौ २३–२४ गतेको आन्दोलनको ‘स्टेक होल्डर’ को रूपमा सेनासँग वार्ता गरेका दुर्गा प्रसाईंले वर्तमान सरकार धेरै नटिक्ने दाबी गरेका छन् । यो सरकारले चुनाव गराउन नसक्ने उनले बताएका छन् । आज (सोमबार) त्रिभुवन विमानस्थल बाहिर पत्रकारहरूसँग कुरा गर्दै प्रसाईंले आगामी फागुन २१ गते कुनै हालतमा चुनाव हुन नसक्ने दाबी गरे । पश्चिमा शक्तिको डिजाइनमा बनेको सरकारले चुनाव गराउन नसक्ने उनको आरोप थियो ।

‘त्यो बेला जेनजीको हालिमुहाली थियो, सबै थाहा पाएको थिइनँ । अरु रक्तपात हुन्छ भनेपछि सेनासँग वार्ता गरेको हुँ’, प्रसाईंले भने, ‘तर, यो सरकार टिक्दै टिक्दैन, सरकारमा सत्यता छैन ।’ प्रसाईंले अब नयाँ चरणको आन्दोलन घोषणा गर्ने पनि बताएका छन् । ‘अबको लडाइँ पश्चिमा शक्ति र मेरो शक्तिबीच हुनेछ । गर्धन जाओस्, हिन्दु राष्ट्र कायम गराएर छाड्छु । आजै पशुपतिमा पूजा गरेर केही नयाँ घोषणा गर्दैछु’, उनले भने ।

पत्रकारको प्रश्नमा उनले पशुपतिनाथबाट एउटा महत्त्वपूर्ण घोषणा गर्न लागेको जानकारी दिए । ‘आज एउटा घोषणा गर्दैछौं,’ उनले भने, ‘सडकको सरकार घोषणा हुँदैछ । विस्तृत जानकारीका लागि पशुपतिमा आउनुहोस् ।’ यति भन्दै उनी पशुपतिनाथ मन्दिरतर्फ लागेका थिए।
उनले हिन्दु राष्ट्र स्थापनाका लागि जस्तोसुकै मूल्य चुकाउन तयार रहेको र सडकको सरकार घोषणा गर्ने बताए । प्रसाईंले वर्तमान संविधानप्रति असन्तुष्टि जनाउँदै पूर्वराजा ज्ञानेन्द्र शाह निवास पुग्ने दिन आउने दाबी गरेका छन् । राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक दुर्गा प्रसाईले वर्तमान सरकार कुनै पनि हालतमा नटिक्ने दाबी गरे ।

‘यो देशमा हिन्दु राष्ट्र, गर्दन जाओस्, कायम गराएर छाड्छु,’ प्रसाईले भने । उनले आफू प्रधानमन्त्री भएको भए २४ घण्टाभित्र ४०० जना भ्रष्टाचारीलाई कारबाही गरिसक्ने भन्दै कडा अभिव्यक्ति दिए । ‘राजा भनेको सबैलाई जोडेर राख्ने हो,’ उनले भने, ‘धर्म भनेको देशको संविधान जस्तै हो । हामीलाई यस्तो संविधान चाहिँदैन ।’ उनले वर्तमान संविधानले देशलाई केही नदिएको आरोप लगाउँदै अब नागरिकहरू पूर्वराजा ज्ञानेन्द्र शाह निवास निर्मल निवास पुग्ने दिन आउँदै गरेको दाबी गरे ।

 

माओवादीको ४० जिल्लामा जेनजी संगठन, यस्ता छन् पाँच एजेण्डा र कार्यदिशा

काठमाडौं । नेकपा माओवादी केन्द्रभित्र जेनरेशन जेड (जेनजी) नेताहरूले पार्टीभित्र गहिरिंदै गएको व्यक्तिवादी प्रवृत्तिको विरोध गर्दै ‘जेन जेड रेड टास्क फोर्स’ गठन गरेका छन् । यो टास्क फोर्सको नेतृत्व अखिल (क्रान्तिकारी) की केन्द्रीय सदस्य स्मृति तिमल्सिना (निमल्सिना) ले गरिरहेकी छन् । टास्क फोर्स गठनसँगै उनीहरूले पाँच प्रमुख एजेण्डा अघि सारेका छन्–पार्टी सुदृढीकरणदेखि जनताको आवाज सुन्ने, नेतृत्वमा परिवर्तनको खाका कोर्ने, र कम्युनिस्ट एकताको दीर्घकालीन योजना तयार गर्नेसम्म ।

विरोधको ‘रेड मोडल’ : व्यक्तिवादविरुद्धको आन्दोलन
तिमल्सिनाले पार्टीभित्र चाकरी संस्कार र व्यक्तिवाद हाबी भएको गुनासो गर्दै भनिन्, ‘बरु पार्टी सकियोस्, तर पद छोड्न कोही तयार छैनन् । २० वर्ष नेतृत्व गरे पनि अन्त्यमा कांग्रेस–एमाले जस्तै हुने स्थिति आएको छ ।’ उनका अनुसार, नेताहरूको आलोचना गर्न समेत डर लाग्ने वातावरण बनेपछि रेड टास्क फोर्सको खाका तयार गरिएको हो।

४० जिल्लामा संरचना तयार, बाँकीमा तीव्र अभियान
हालसम्म ४० जिल्लामा टास्क फोर्सको संयोजक तोकिएको छ भने बाँकी जिल्लामा संरचना विस्तार तीव्र रूपमा भइरहेको छ । अभियानको मूल उद्देश्य भने जनस्तरमा पार्टीको पुनर्संरचना र नेतृत्वको वैचारिक पुनर्समीक्षा हो ।

पाँच बुँदे कार्यदिशा : ‘रेड टास्क’ को घोषणा
स्मृति तिमल्सिनाले टास्क फोर्सले प्रारम्भिक रूपमा पाँच वटा मुख्य काम गर्ने जानकारी दिएकी छन् ।
माओवादीले १७ हजार मारेको भन्ने ‘गलत भाष्य’ चिर्ने
यो कामका लागि आइटी सेल निर्माण गरिनेछ, जसले डिजिटल माध्यमबाट जनतालाई वास्तविकता बुझाउनेछ ।
गाउँ–गाउँमा ‘रेड टास्क पोस्ट’ बनाइने
जनताको आवाज सुन्ने केन्द्रको रूपमा टास्क पोस्ट सञ्चालन गरिनेछ ।
पार्टीको पुनः संरचना र सुधार
नेतृत्वको आलोचना गर्न सक्ने वातावरण बनाउँदै, संगठनलाई फेरि नव निर्माण गर्ने ।
फागुन २१ वा त्यसपछिको निर्वाचनमा बहुमतको रणनीति
शक्तिशाली संगठन विस्तारमार्फत निर्वाचन जित्ने तयारी ।
चिनियाँ मोडलअनुसार एकीकृत कम्युनिष्ट पार्टीको लक्ष्य
देशमा एक मात्रै बलियो कम्युनिष्ट पार्टी बनाउने दीर्घकालीन योजना ।

‘प्रचण्डको विकल्प अहिलेलाई छैन’
यद्यपि नेताविरुद्ध तीव्र आलोचना गर्दै आएको रेड टास्क फोर्सले पुनः एक कार्यकाल प्रचण्डलाई अध्यक्ष रहने समर्थन गर्ने निर्णय लिएको छ । तिमल्सिनाले भनिन्, ‘सुरुमा सुदन किराती वा सरल सहयात्री जस्ता नेताहरूको चर्चा थियो । तर, ९५ प्रतिशत कार्यकर्ताले प्रचण्डकै माग गरे ।’ उनका अनुसार, विशेष गरी गाउँ–गाउँमा अझै पनि प्रचण्डप्रति भावनात्मक आस्था कायम छ र तिनै कार्यकर्ताको चाहनालाई सम्मान गर्दै आफूहरूले एक कार्यकालको समर्थन गर्ने निर्णय लिएको जानकारी दिएकी छन् ।

पूर्व लडाकु र पीडित परिवारलाई पुनः समेट्ने योजना
पार्टीबाट बाहिरिएका पूर्व लडाकु, जनमुक्ति सेनाका सदस्य तथा शहीद परिवारहरूलाई पुनः पार्टीमा समेट्ने अभियान पनि रेड टास्क फोर्सको अर्को कार्यदिशा हुने बताइएको छ । संगठनमा वैचारिक र संगठनात्मक समेटावादलाई पुनस्र्थापना गर्ने प्रयास गरिनेछ ।

 

 

तिहारका लागि पाला बनाउन व्यस्त भक्तपुर तालाक्वका स्थानीय

काठमाडौँ । दशैं सकिसए सँगै नेपालीहरुको दोश्रो ठुलो चाड तिहार लागि सकेको छ । तिहार लागेसँगै यतिबेला भक्तपुर तालाक्वका स्थानीयहरू माटोका पाला बनाउन व्यस्त देखिन्छ ।

अन्य दिनको तुलनामा तिहारको समयमा माटोको दियो, पालको माग धेरै हुनेहुँदा उनीहरू व्यस्त देखिएका हुन ।

दीपावलीका लागि तिहारमा हरेक घर घरमा दियो बालिने हुँदा पनि माटोको पाला माग अन्य समयमा भन्दा तिहारमा बढी हुने स्थानीय विनोदकुमार प्रजापतिले जानकारी दिए । बजारमा हिजो आज विभिन्न इलेक्ट्रनिक बत्तीहरूको बिक्री वितरण बढदै गएपनि माटोको पालाको माग पनि उस्तै रहेको उनले जानकारी दिए ।

काठमाडौं, ललितपुर लगायत विभिन्न स्थानबाट तिहारमा पालाको माग हुने र सोही अनुसार पाला बनाउने गरेको उनको भनाइ छ । होलसेल मूल्य प्रतिगोटा दुई रुपैयाँ, साढे दुई रुपैयाँ र गुणस्तर अनुसार पालाको मूल्य फरक फरक हुने गरेको उनले जानकारी दिए ।

 

कांग्रेसमा विशेष महाधिवेशनको दबाब ‘बेजोड’ : ५१ प्रतिशतको हस्ताक्षरसहित प्रस्ताव तयार

काठमाडौं । नेपाली कांग्रेसभित्र नेतृत्व र नीतिगत परिवर्तनको मागसहित विशेष महाधिवेशनको माग तीव्र बनेको छ । पार्टीको ५१ प्रतिशत बढी महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षरसहित विशेष महाधिवेशन माग गर्दै प्रस्ताव तयार पारिएको छ । प्रस्ताव ढिलोमा भोलि बिहान पार्टी नेतृत्व समक्ष बुझाउने तयारी छ ।

महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माको सक्रियतामा देशभरबाट महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षर संकलन गरिएको हो । नेपाली कांग्रेसको विधानअनुसार ४० प्रतिशत प्रतिनिधिले हस्ताक्षरसहित कारण खुलाएर माग गरेमा तीन महिनाभित्र सभापतिले विशेष महाधिवेशन बोलाउनु पर्छ । पार्टीको केन्द्रीय कार्यसमिति बैठक सोमबार दिउँसो १ बजे बस्दैछ । सो बैठकअघि हस्ताक्षर बुझाउने तयारी भएको नेताहरूले बताएका छन् । विशेष महाधिवेशन माग गर्दै प्रतिनिधिहरूले तयार पारेको प्रस्ताव ‘कभर लेटर’ सहित बुझाइनेछ ।

संस्थापन पक्षको दबाब, मात्र ६ जना पछि हटे
सभापति शेरबहादुर देउवा नेतृत्वको संस्थापन पक्षले हस्ताक्षर फिर्ता गराउन दबाब दिँदै आएको भए पनि हालसम्म जम्मा ६ जनाले मात्रै हस्ताक्षर फिर्ता लिएका छन् । कैलालीका ४ जना, डडेल्धुरा र जाजरकोटका गरी ६ जनाले मात्र हस्ताक्षर फिर्ता लिएको स्रोतले जनाएको छ ।
कैलालीका यज्ञबहादुर महरा, ईश्वरी रावल, विदेशनी चौधरी र रमेश ताम्राकारले असोज २६ गते संयुक्त विज्ञप्ति जारी गर्दै आफूलाई झुक्याएर हस्ताक्षर गराइएको भन्दै फिर्ता लिएको घोषणा गरेका थिए । तर, नेताहरूका अनुसार विशेष महाधिवेशनका लागि हस्ताक्षर संकलन गर्दा स्पष्टरूपमा जानकारी दिइएको थियो ।

मंसिरमा महाधिवेशन गर्ने कि वैशाखमा ?
महामन्त्रीद्वय थापा र शर्मा तथा नेता शेखर कोइराला मंसिरभित्रै नियमित महाधिवेशनको पक्षमा छन् । उनीहरूका अनुसार २०७८ साल मंसिरमा भएको १४औं महाधिवेशनपछि चार वर्षे कार्यकाल यसै मंसिरमा सकिँदैछ । तर, सभापति देउवा पक्ष मंसिरमा महाधिवेशन सम्भव नरहेको भन्दै वैशाखपछि मात्रै गर्नुपर्ने अडानमा छ । नेताहरूले देउवा पक्षले समयमै महाधिवेशन नगर्न खोजेपछि बाध्य भएर विशेष महाधिवेशन मागिएको बताएका छन् । उनीहरूको भनाइमा यो माग विधिसम्मत छ र पार्टीलाई अझ लोकतान्त्रिक बनाउने कदम हो ।

सभापति देउवाको भूमिकामाथि प्रश्न

भदौ २४ गते बूढानीलकण्ठ निवासमा भएको जेनजी आन्दोलनको क्रममा भएको प्रदर्शनपछि सभापति देउवा अझै सार्वजनिक रूपमा देखिएका छैनन्। उनी कार्यसम्पादन समिति तथा पदाधिकारी बैठकमा अनुपस्थित रहँदै आएका छन् । तर, सोमबारको केन्द्रीय समिति बैठकमा भने उनको उपस्थिति अपेक्षित गरिएको छ ।

पार्टीभित्र जेनजी पुस्ताको सक्रिय आन्दोलनले नेतृत्व फेरबदल र नीतिगत सुधारको माग बलियो बनाउँदै लगेको छ । विशेष महाधिवेशनको माग पनि सोही निरन्तरताको परिणामका रूपमा आएको विश्लेषण गरिन्छ । कांग्रेसभित्र नेतृत्व र समयमै महाधिवेशन नगर्ने अडानविरुद्ध आन्तरिक असन्तोष उच्च बिन्दुमा पुगेको छ । ५१ प्रतिशत बढी प्रतिनिधिको समर्थनसहित विशेष महाधिवेशनको माग विधिसम्मत रूपमा अगाडि बढाइएको छ । अब नेतृत्वले यो मागलाई कसरी सम्बोधन गर्छ भन्ने कुराले पार्टीको आगामी राजनीतिक दिशा निर्धारण गर्नेछ ।

 

कोरियाका राजदूतसँगै उर्जादेखि रेलमार्ग निर्माणका विषयमा मन्त्री घिसिङको छलफल

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात एवम् शहरी विकासमन्त्री कुलमान घिसिङसँग नेपालका लागि कोरियाका राजदूत पार्क ताइयोङले शिष्टाचार भेट गरेका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा आज भएको भेटमा राजदूत पार्कले मन्त्री घिसिङलाई कोरियाका तर्फबाट बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।

सो अवसरमा मन्त्री घिसिङले नेपाल र कोरियाबीच आर्थिक सहायतामा लामो समयदेखि सहकार्य हुँदै आएको उल्लेख गर्दै ऊर्जा सन्तुलन र विद्युत् निर्यातका लागि ठूला जलाशयुक्त जलविद्युत् आवश्यक रहेकाले ५०० मेगावाटभन्दा ठूला त्यस्ता आयोजनामा सहयोग गर्नु आग्रह गरे । उनले दुई देशको सरकारी तहबाट साझेदारीमा या कोरियन निजी कम्पनीको लगानी र कोरियामा सफल रहेका एवं नेपालमा प्रचुर सम्भावना रहेका हरित हाइड्रोजनको उत्पादनलाई नमूना परियोजनाका रूपमा विकास गरी यसबाट मलखाद उत्पादन र सार्वजनिक यातायात सञ्चालनका लागि आवश्यक सहयोग गर्न आग्रह गरे ।

रोजगार अनुमति प्रणालीअन्तर्गत कोरिया जाने नेपाली श्रमिकको कोटा बढाउन एवं कोरिया जानुपूर्व सीप विकास तालिम र फर्किएपछि त्यहाँ हासिल सीपलाई स्वदेशमा प्रयोग गरी उद्यमशीलतामार्फत रोजगारी सिर्जनाका लागि सहयोग गर्न मन्त्री घिसिङले आग्रह गरे । उनले अरुण नदी करिडोर र पूर्व–पश्चिम प्रसारण लाइनलाई जोड्ने इनरुवा–अनारमनी ४०० केभी प्रसारण लाइनमा कोरियन आयात–निर्यात (एक्जिम) बैङ्कमार्फत प्राप्त हुने सहायतालाई चाँडो टुङ्ग्याउन, रेलमार्ग निर्माण, सञ्चालन र मर्मतको क्षमता विस्तारलयागतमा आवश्यक सहयोग गर्न आग्रह गर्ने ।

भेटमा कोरियन सरकारी कम्पनीको मुख्य लगानीमा रसुवामा निर्माणाधीन २१६ मेगावाटको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको प्रगतिका विषयमा राजदूत पार्कले मन्त्री घिसिङलाई जानकारी गराएका थिए । आयोजनाको निर्माण प्रगति झण्डै ७० प्रतिशत रहेको र आगामी डिसेम्बरमा मुख्य सुरुङ छिचोल्ने (ब्रेक थ्रु) तयारी भइरहेकाले उक्त समारोहमा सहभागिता जनाइदिन र हालसम्म आयोजना अगाडि बढाउन सरकार र नेपाल विद्युत् प्राधिकरणका तर्फबाट गरिएको सहयोगका लागि धन्यवाद दिएका थिए ।

कोरियाले नेपालको ऊर्जा क्षेत्रको विकासमा उल्लेख्य सहयोग गरिरहेको कोरियाली कम्पनीलाई आकर्षित गर्न निजी क्षेत्रका ऊर्जा उत्पादकहरूसँगको सहकार्यमा नेपालमा सेमिनार गर्न लागिएको जानकारी गराउनाका साथै राजदूत पार्कले प्रसारण लाइन निर्माणमा सहायता उपलब्ध गराउन अर्थ मन्त्रालयसँग छलफल भइरहेको उल्लेख गरे ।
रासस

बालेन र सुदनलाई ‘छाड्न नहुने’ नेविसंघको ठहर

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघका अध्यक्ष दुजाङ शेर्पाले काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र हामी नेपालका संयोजक सुदन गुरुङमाथि छानबिन हुनुपर्ने बताएका छन् । जेनजी आन्दोलन र पछिल्लो परिस्थितिबारे धारणा सार्वजनिक गर्न नेविसंघले आयोजना गरेको पत्रकार सम्मेलनमा शेर्पाले सिंहदरबार जलाउनु पर्छ भन्ने बालेनलाई छानबिनको दायरामा ल्याउनुपर्ने बताए ।

उनले भने, ‘सिंहदरवार जलाउनु पर्छ भन्ने मान्छेले आन्दोलनको आह्वान गरेको छ । ती व्यक्तिलाई आज हामीले छानबिनको दायरामा ल्याउने कि नल्याउने ? सुदन गुरुङले पनि खुलमखुला राष्ट्रपति र प्रधानमन्त्रीलाई चुनौती दिइरहेका छन् । अब पनि यो अराजकतालाई प्रहरी प्रशासनले कन्ट्रोल गर्दैन भने त्यसको जिम्मा नेविसंघले लिन्छ ।’

उनले भदौ २३ गतेको आन्दोलनमा अराजकता मच्याउने र विद्यार्थीमाथि गोली ठोक्न आदेश दिनेहरूलाई कारबाही गर्न माग पनि गरेका थिए । त्यस्तै, उनले २०४६ साल पछाडि सार्वजनिक पदमा बसेको मान्छेको सम्पत्ति छानबिन हुनुपर्ने प्रस्ताव पनि ल्याए । पार्टीभित्र पनि वडादेखि केन्द्रसम्मका सबै नेताहरूको सम्पत्ति सार्वजनिक गर्नुपर्ने उनको माग छ । उनले घटनाको निष्पक्ष छानबिन गर्नको लागि तत्कालीन प्रधानमन्त्री ओली र गृहमन्त्री रमेश लेखकमाथि पनि छानबिन हुनुपर्ने बताए ।

 

 

काठमाडौंमा पुनः मेलम्चीको पानी वितरण

काठमाडौं । वर्षातका कारण बन्द रहेको मेलम्चीको खानेपानी काठमाडौँ ल्याइएको छ । वर्षायाममा मेलम्ची नदीमा आउने बाढी र पहिरोका कारण खानेपानी आयोजनामा क्षति पुग्ने भन्दै गत वर्षको असार १० गते बन्द गरिएको पानी मर्मतपश्चात काठमाडौँ ल्याइएको हो ।वर्षातले क्षति गरेको कही ठाउँमा मर्मतपश्चात अहिले पानी सङ्कलन तथा प्रशोधन केन्द्र सुन्दरीजलमा दैनिक १७ करोड लिटरभन्दा बढी पानी आइरहेकोे मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक जगरनाथ दासले जानकारी दिए ।

उनले भने, ‘वर्षातले क्षति गरेको ठाउँमा मर्मत गरी र पानीको बहाब कम भएसँगै अहिले हामीले मेलम्चीको पानी काठमाडौँ ल्याउन सफल भएका छौँ । सुन्दरीजलमा दैनिक १७ करोड लिटरभन्दा बढी पानी आइरहेको छ ।’ काठमाडौँ उपत्यकामा दैनिक ४३ करोड लिटर पानीको माग रहेको छ । मेलम्ची खानेपानी बन्द गरिएको बेला विभिन्न स्रोतबाट दैनिक १३ देखि १४ करोड लिटर पानी मात्रै उपत्यकामा आपूर्ति हुने गरेको थियो ।

दैनिक १७ करोड लिटरभन्दा बढी मेलम्चीको खानेपानी सुन्दरीजलमा पुगेसँगै काठमाडौँ उपत्यकामा उक्त पानी वितरण गर्न सुरु गरिएको काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) का कार्यकारी निर्देशक अशोककुमार पौडेलले बताए । उनले भने, ‘मेलम्चीबाट दैनिक १७ करोड लिटरभन्दा बढी पानी आइपुगेसँगै हामीले पानी वितरण प्रक्रिया सुरु गरेका छौँ । विगतमा ६ दिनमा एक दिन मात्रै धारामा आउने पानी आजबाट अब तीन-तीन दिनको फरकमा प्रत्येक घरका धारामा पानी आउँछ ।’

विसं २०७८ असार १ गते मेलम्ची खोलामा आएको बाढीपहिरोले आयोजनाको हेडवक्र्स पूर्णरूपले क्षतिग्रस्त भएपछि त्यसयता हिउँदमा मात्र मेलम्चीको पानी उपत्यकामा वितरण हुँदै आएको छ । बाढीका कारण मेलम्चीको मुहान बन्द गरिएपछि रिबर्मा खोलाबाट दैनिक रुपमा छ देखि सात करोड लिटर पानी स्थान्तरण गरेर काठमाडौँमा वितरण भइरहेको कार्यकारी निर्देशक दासले बताए । उनका अनुसार विसं २०७८ चैत १५ गते पूर्ण क्षमताअनुसार दैनिक १७ करोड लिटर काठमाडौँ उपत्यकामा पानी वितरण थालिएको हो । सोही वर्षको असार र साउनमा मेलम्ची तथा इन्द्रावतीमा आएको भीषण बाढीले आयोजनामा ठूलो क्षति पुर्‍याएपछि काठमाडौँमा हालसम्म बाह्रैमहिना पानी ल्याउन सकिएको छैन ।

 

 

नेपाल सुन्दर छ, विपदको जोखिम पनि उच्च छ : गृहमन्त्री अर्याल

ललितपुर । गृहमन्त्री ओमप्रकाश अर्यालले समुदायको अग्रसरता विना विपद् न्यूनीकरण सम्भव नहुने भएकाले सबैको समन्वय, सहकार्य र सहभागिता आवश्यक पर्ने बताएका छन् । विपद् जोखिम न्यूनीकरणका लागि अन्तर्राष्ट्रिय दिवस २०२५ का अवसरमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) खुमलटारमा आयोजना गरेको विपद् जोखिम न्यूनीकरणसम्बन्धी चौथो राष्ट्रिय सम्मेलनमा उहाँले सरकार सबैको समन्वय, सहकार्य र सहभागितामा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका कार्य सम्पादन गर्नुपर्नेमा जोड दिए ।
गृहमन्त्री अर्यालले भने, ‘नेपाल विपद् संवेदनशील क्षेत्रमा रहेको छ, भौगोलिक रूपमा सुन्दरका साथै त्यतिकै विपद्को उच्च जोखिममा पनि छ, हालै भएको विपद्का कारण नेपालले ठूलो क्षति व्यहोर्नुपरेको छ, यसका कारण विकासको गति समेत अवरुद्ध हुँदै आएको तथ्य हामीसामु छ, विगतका ठूला भूकम्प र बाढी पहिरोले हामीलाई विपद् जोखिम न्यूनीकरणका लागि व्यवस्थाको महत्त्वको आवश्यकता महसुस गराउँदै आएको छ, सरकारले विपद् जोखिम न्यूनीकरणलाई उच्च प्राथमिकतामा राख्दै आएको छ ।’
गृहमन्त्री अर्यालले विपद्लाई प्रकृतिमा मात्रै नभई सामाजिक, संरचनात्मक एवं नीतिगत कमजोरीसँग पनि तुलना गर्नुपर्ने बताए । उनले केन्द्रदेखि स्थानीय तहसम्म विपद् व्यवस्थापनका लागि थुप्रै संयन्त्र क्रियाशील छन् ती सबै निकाय जिम्मेवार हुनुपर्ने बताए । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी निर्देशक दिनेश भट्टले विपद् व्यवस्थापनका क्षेत्रमा सरकारले गर्ने कामलाई प्रभावकारी र विश्वसनीय आवश्यक रहेको बताए । उनले पछिल्लो समय प्राकृतिक विपद् बढ्दै गएकाले त्यसलाई रोक्नका लागि विकास निर्माणका कार्यलाई विपद् व्यवस्थापनका अवधारणालाई ध्यान दिएर अगाडि बढाउनु पर्नेमा जोड दिए ।
नेपालका लागि अस्ट्रेलियाका राजदूत लिन जोनटनले विपद्सम्बन्धी पूर्वसूचना, समुदायमा आधारित समाधानका लागि असल अभ्यासको आदानप्रदान, लैङ्गिकमैत्री समाधानका लागि यो सम्मेलन प्रभावकारी हुने विश्वास व्यक्त गरे । इसिमोडका महानिर्देशक डाक्टर पेमा ग्माम्त्सोले यस सम्मेलन विपद् जोखिम व्यवस्थापनका सन्दर्भमा महत्वपूर्ण प्रविधिको उपयोगका लागि चेताना अभिवृद्धि, स्रोतको व्यवस्थापनका साथै परिचालनका विषयमा जानकारी र विपद् पूर्वतयारीका बारेमा अर्थपूर्ण सन्देश प्रवाह गर्नुपर्ने बताए ।
रोशनकुमारी श्रेष्ठले विपद् जोखिम न्यूनीकरणसम्बन्धी चौथो राष्ट्रिय सम्मेलनले मानवीय, भौतिक र आर्थिक क्षति न्यूनीकरणका लागि विपद् जोखिमको आंकलन र जोखिम न्यूनीकरणमा ज्ञान, सीप र दक्षता अभिवृद्धिमा सहयोग पुर्‍याउने विश्वास व्यक्त गरिन् । सम्मेलनले नीतिनिर्माता, अभ्यासकर्ता, विकास साझेदार, शिक्षाविद्, नागरिक समाज, निजी क्षेत्रका प्रतिनिधिहरू र सामुदायिक नेताहरूका लागि अनुभवहरू साझा गर्न, नवीन अभ्यासहरू र नेपाल  बाहिरका विपद् जोखिम व्यवस्थापनबाट सिकेका पाठहरू साझा गर्न नेपालको प्रमुख प्लेटफर्मका रूपमा काम गर्ने जानकारी गराइएको छ । आजदेखि सुरु भएको सम्मेलन भोलिसम्म चल्नेछ ।

पुराना दल चुनाव बहिष्कारतिर लागे परिस्थिति भयावह हुनसक्छ : राजेन्द्र महतो

काठमाडौं । राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोले संसद विघटनप्रतिको आपत्ति वा संसद् पुनस्र्थापनाको मुद्दातिर पुराना दल लागेमा स्वयं दलका लागि प्रत्युत्पादक हुने बताएका छन् । जारी केन्द्रीय समिति बैठकमा पेस गरेको प्रतिवेदनमा जेनजी विद्रोहपछि मतदाता मनोविज्ञान, नागरिक भावना र समाजको शक्ति संरचनामा व्यापक परिवर्तन आइसकेको उल्लेख छ ।

प्रतिवेदनमा भनिएको छ, ‘राजनीतिक पूर्वाग्रहका कारण कदाचित् पुराना दलहरूले नयाँ निर्वाचनमा भाग लिएनन् वा अवरोध उत्पन्न गरे झन् परिस्थिति भयावह हुनसक्छ त्यसैले पनि अब प्रक्रिया रोकिनु हुँदैन । बरु यस मौकामा पुराना दलहरूले आजसम्मका गल्तीका लागि गम्भीर आत्मसमीक्षा र श्वेतपत्र जारी गरी नागरिकसँग माफी माग्नु पर्दछ र निर्वाचनमा भाग नलिने भुल गर्नु हुँदैन ।’

उनले सरकारलाई फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन गर्ने प्रस्ट म्यान्डेट तोकिएको उल्लेख गरेका छन् । प्रस्तावमा भनिएको छ, ‘प्रधानमन्त्री सुशीला कार्कीको नियुक्ति पत्रमै ‘निर्वाचन सम्पन्न गर्ने गरी’ भनेर सरकारको प्राथमिकता किटान गरिएको छ । राजनीतिक दललगायत सरोकारवाला सबै पक्षसँग समन्वय गर्दै चुनावको वातावरण बनाउनु यो सरकारको पहिलो कार्यभार हुनुपर्ने हो ।’

सरकार गठन भएको एक महिना पुग्न लाग्दा राजनीतिक पार्टीहरूसँग समन्वयको आवश्यकता महसुस नगरेकी प्रम कार्की ताजा जनादेश प्राप्त पूर्णकालीन आरामदायी सरकारझै नियमित प्रशासनिक काममै व्यस्त देखिएको उल्लेख छ । प्रतिवेदनमा भनिएको छ, ‘यसअघिका सरकारहरूले जस्तै नियुक्ति र सरुवा, बढुवालाई प्राथमिकता बनाएको देखिँदैछ । यस परिस्थितिमा सरकारलाई हामीले स्मरण गराउनु पर्दछ कि यो सरकार क्रान्तिको बलमा, विगतका सरकारले मात्र होइन कि सम्पूर्ण राज्यले गरेका गल्ती सच्याउने दिशा तय गर्न, परिवर्तनको निम्ति निर्माण भएको अन्तरिम सरकार हो ।’

 

विपिनका दाइ किशोर भन्छन्–हमासले छाड्ने अझै बाँकी छन्, भाइ आउँछ भन्ने आशा छ

कञ्चनपुर । इजरायल र हमासबीच युद्धविरामपछि आजदेखि बन्दीहरु रिहाइ गर्ने काम सुरु भइरहेको छ । तर रिहाइ हुने बन्दीमा कञ्चनपुरका विपिन जोशीको नाम भने छैन । रिहाइ हुने बन्दीमा विपिनको नाम समावेश नभए पनि उनको परिवार भने आशावादी रहेको छ ।

‘आज छुट्ने नामावलीमा नाम छैन भनेर हामीलाई जानकारी आएको छ तर अन्तिम अवस्थासम्म पनि हामी भने पूर्ण आशावादी छौं,’ विपिनका दाइ किशोर जोशीले भने, ‘आज २० जना रिहाइ भइरहेका छन्, सबै रिहाइ हुन बाँकी छ, त्यति निराश भइहाल्नु पर्ने ठाउँ छैन ।’

हमासले बन्धकहरु छोड्न अझै पनि बाँकी रहेकाले अहिले नै आश मार्न नसकिने दाजु किशोर बताउँछन् । ‘युद्धविराम क्रममा आज बन्धकहरु रिहा भइरहेका छन् । बिहान इजरायलसँग पनि कुरा भयो हमासले आधिकारिक रुपमा छोड्नेमा अझै मान्छेहरु बाँकी छन्,’ दाजु किशोरले कञ्चनपुरस्थित निवासमा भने, ‘त्यसैले हामीलाई अझै आशा बाँकी छ । भाइ आउँछ भन्ने आशा छ । निराश हुनुपर्ने ठाउँ छैन ।’

उनका अनुसार सोमबार बिहान इजरायलको युद्धबन्दी सम्बन्धी मामिला हेर्ने एक कर्मचारीले उनलाई फोन सम्पर्क गरेका थिए । उनले नै रिहाइ हुने बन्दीमा विपिनको नाम समावेश नभएको जानकारी दिएका थिए । ‘सामाजिक सञ्जाल र विभिन्न सञ्चारमाध्यममा विपिन जीवित नरहेको खबर आइरहेको छ, यसले हामीलाई पीडा दिइरहेको छ,’ उनले भने, ‘मलाई पूर्ण विश्वास भाइ ठीक छ ।’

दुई वर्षअघि अर्न एन्ड लर्न कार्यक्रम अन्तर्गत सुदूरपश्चिम विश्वविद्यालयको कृषि संकायमा अध्ययनरत विपिन इजरायल पुगेका थिए । हमास समूहको आक्रमणमा पनि १० जना विद्यार्थीको मृत्यु भएको थियो भने विपिनसहित २५१ जना अपहरणमा परेका थिए । हमासले बन्धक बनाएकामध्ये विपिन छुट्न बाँकी ४८ मध्ये विपिन एक्ला विदेशी नागरिक हुन् । विपिनको रिहाइका लागि पहल गर्न आमा पद्मा र बहिनी पुष्पा हाल अमेरिकामा छन् । यसअघि उनीहरु साउन अन्तिम साता इजरायल समेत गएका थिए ।

नेविसंघले खोज्यो ४० प्रतिशत युवाको हिस्सा : चुनावअघि कांग्रेसको नियमित महाधिवेशन हुनुपर्छ

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघले फागुन २१ गते हुने प्रतिनिधि सभा चुनावअघि नै पार्टीको नियमित महाधिवेशन हुनुपर्ने बताएको छ । २०७८ मंसिरमा १४ औं महाधिवेशन गरेको कांग्रेसले नियमित महाधिवेशन गरे मंसिरभित्रै गर्नुपर्छ । असोज २५ मा बसेको नेविसंघ केन्द्रीय समितिको बैठकले फागुन २१ को चुनावअघि नै पार्टीको नियमित महाधिवेशन गर्नुपर्ने निर्णय गरेको हो ।

‘वर्तमान सरकारले २०८२ फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन घोषणा गरेको छ, यस सन्दर्भमा पार्टीभित्र जारी रूपान्तरणको आन्तरिक बहसलाई संघले सकारात्मक लिएको छ, तसर्थ निर्वाचनलाई दृष्टिगत गर्दै पार्टीले निर्वाचन अगावै नियमित महाधिवेशन सम्पन्न गरी निर्वाचनमा भाग लिनु उपयुक्त हुने विषय मातृ पार्टीलाई गम्भीरतापूर्वक ध्यानाकर्षण गराउने निर्णय गरियो,’ अध्यक्ष दुजाङ शेर्पाले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ । उनले जेनजीले उठाएको मागलाई अब संस्थागत रूपमा उठाउने पनि बताएका छन् । राजनीतिक दलहरूको पुनर्संरचना गरी पार्टी, संसददेखि स्थानीय तहसम्म ४० प्रतिशत युवा सुनिश्चित हुनुपर्ने माग अघि सारेको छ ।

नेविसंघले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहमाथि आवश्यक छानबिन गरी कारबाहीको माग गरेको छ । जेनजी पुस्ताको आन्दोलन घुसपैठ गर्ने, विभिन्न माध्यमबाट हिंसा भड्काउने गरी मेयर शाहलगायतले टिप्पणी गरेकोले छानबिन आवश्यक परेको नेविसंघको भनाइ छ । जेनजी आन्दोलनपछिको परिस्थितिबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष दुजाङ शेर्पाले पार्टी सभापति देउवा र पत्नी आरजु राणामाथि सुनियोजित रूपमा हमला गरेको भन्दै कारबाहीको माग गरेका छन् ।

हेर्नुस् विज्ञप्ती

दलहरु बिना निर्वाचन सफल हुँदैन : उपेन्द्र यादव

मोरङ । जनता समाजवादी पार्टी, नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले अन्तरिम सरकारले आगामी फागुन २१ गते हुने संसदीय निर्वाचनलाई सफल बनाउन सुरक्षाको वातावरण बनाउनु पर्ने बताएका छन् । पार्टीको कोशी प्रदेश समितिको आजदेखि यहाँ सुरु भएको दुई दिने एकताको प्रथम अधिवेशनको उद्घाटन गर्दै अध्यक्ष यादवले दलहरुको सहभागिता बिना निर्वाचन सफल हुन नसक्ने भएकाले सरकारले अविलम्ब दलहरुसँग बैठक एवं वार्ता गर्नुपर्ने बताए ।

अध्यक्ष यादवले संविधानको पुनःलेखन गरी शासकीय स्वरुपमा संशोधन गरी जनताबाट प्रत्यक्ष निर्वाचित राष्ट्रपति भएमा मात्र मुलुकमा राजनीतिक स्थायित्व एवं विकास सम्भव हुने धारणा राखे । उनले विगतको दुई तिहाइ सरकारको कुशासनका कारण मुलुक गरिबीतर्फ गएकाले जेन–जीको आन्दोलनले सरकार दुई दिनमा ढलेको स्मरण गराए ।

पार्टीका सहअध्यक्ष रकम चेम्जोङले जेन–जीको आन्दोलनले भ्रष्टाचारलाई किनारा लगाएको चर्चा गर्दै आन्दोलनको उपलब्धिलाई संस्थागत गर्न जनता समक्ष जानुपर्ने बताए । पार्टीका प्रदेश अध्यक्ष दीपक याक्ख्याको सभापतित्वमा भएको उक्त कार्यक्रममा पूर्वमन्त्री जयराज यादव, पार्टीका सचिवद्वय लाक्पा शर्मा र राजकुमार राई, नेता अर्जुन थापा, सञ्जय सिंहलगायतले जेनजी आन्दोलन भ्रष्टाचारविरुद्ध एवं जनताको हकअधिकार स्थापित गर्न भएको विचार राखे । एकताको अधिवेशनमा प्रदेशका १४ जिल्ला समितिका पदाधिकारी एवं विभिन्न जनवर्गीय सङ्गठनका प्रतिनिधिको सहभागिता रहेको छ ।

जडीबुटीमा टिपरको ठक्करबाट युवकको मृत्यु

काठमाडौं । काठमाडौँको जडीबुटीमा टिपरको ठक्करबाट एक युवकको मृत्यु भएको छ । काठमाडौं महानगरपालिका–३२ जडीबुटीस्थित सडकमा गए राति कोटेश्वरबाट जडीबुटीतर्फ जाँदै गरेको बाप्र ०१–००४ क ५३६२ नम्बरको टिपरको ठक्करबाट पैदलयात्री सिन्धुलीको गोलन्जोर गाउँपालिका–५ घर भएका ३७ वर्षीय दिनेश थापाको मृत्यु भएको हो ।

टिपरको ठक्करबाट गम्भीर घाइते भएका थापाको उपचारका क्रममा राष्ट्रिय ट्रमा सेन्टरमा आज बिहान मृत्यु भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए । दुर्घटनामा संलग्न टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको र अनुसन्धान गरिरहेको प्रवक्ता सुवेदीले बताए ।

इजरायल पुगे ट्रम्प

काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प इजरायल अवतरण गरेका छन् । सोमबार हमासले इजरायली बन्धक रिहा गर्न थालेको र गाजामा युद्धविराम सम्झौता भएको केही दिनपछि उनी त्यहाँ पुगेका हुन् । बेन–गुरियन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणअघि एयर फोर्स वनले तेल अभिभको होस्टेज स्क्वायरमाथि उडान ग¥यो, जहाँ दशौं हजार मानिस भेला थिए ।

यो पहिलो साता बन्धक गाजाबाट इजरायल फर्किएपछि र इजरायलीहरूलाई समर्थनको सन्देश दिन गरिएको थियो । ट्रम्पलाई स्वागत गर्न इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र राष्ट्रपति हर्जोग टार्माकमा उपस्थित थिए । ट्रम्पका ज्वाइँ जारेड कुशनर, छोरी इभान्का र अमेरिकी मध्य पूर्व राजदूत स्टिभ विटकफ पनि उपस्थित भए ।

ट्रम्पले सोमबार इजरायलको संसदलाई सम्बोधन गर्नेछन्। इजरायलका राष्ट्रपति इसहाक हर्जोगका अनुसार यस वर्षको अन्त्यमा उनलाई इजरायलको सर्वोच्च नागरिक सम्मान प्रदान गरिनेछ । ‘युद्ध समाप्त भएको छ,’ ट्रम्पले आइतबार वाशिंगटनबाट इजरायल उडान गर्दा एयर फोर्स वनमा पत्रकारहरूलाई भनेका थिए । उनी त्यसपछि ट्रम्प इजिप्ट जानेछन्, जहाँ इजिप्टका राष्ट्रपति अब्देल फताह अल–सिसीसँग शर्म अल–शेखमा गाजा शान्ति शिखर सम्मेलनको अध्यक्षता गर्नेछन् ।

 

राष्ट्रियसभामा ‘जेनजी’ को प्रतिनिधित्व गराउने विषयमा प्रधानमन्त्रीको चासो

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रियसभामा ‘जेनजी’ को प्रतिनिधित्व गराउने विषयमा चासो राखेकी छन् । आइतबार (असोज २६) उनले राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालसँगको भेटमा यस्तो जिज्ञासा राखेकी हुन् । प्रधानमन्त्री कार्कीसँग राष्ट्रियसभामा जेनजीका विषयमा पनि छलफल भएको अध्यक्ष दाहालले बताएका छन् । राष्ट्रियसभामा आउँदो फागुन २१ गतेदेखि १८ सदस्यको पदावधि सकिँदै छ । रिक्त पदमा निर्वाचन गराउने विषयमा उनले प्रधानमन्त्री कार्कीसँग परामर्श गरेका थिए ।

त्यस सन्दर्भमा जल्दोबल्दो शक्तिका रूपमा उदाएको जेनजीलाई पनि समावेश गर्ने विषयमा प्रधानमन्त्रीले चासो राखेकी थिइन् । अध्यक्ष दाहालले राष्ट्रियसभा सदस्यको चुनाव आउँदो माघ ११ गते गर्ने निर्वाचन आयोगको कार्यतालिकामा प्रधानमन्त्री कार्की सहमत रहेको पनि बताए । राष्ट्रिय सभामा आगामी फागुन २१ गतेबाट १८ जना सदस्यको पदावधि सकिँदैछ । रिक्त पदमा निर्वाचन गराउने विषयमा अध्यक्ष दाहालले प्रधानमन्त्री कार्कीसँग परामर्श गरेका हुन् । त्यसक्रममा कार्कीले जेनजीको प्रतिनिधित्वको विषयमा चासो राखेको अध्यक्ष दाहालले बताए ।

‘छलफलमा जल्दोबल्दो शक्तिको रूपमा उदाएको जेनजीलाई पनि राष्ट्रियसभामा समावेश गर्ने विषयमा प्रधानमन्त्रीले चासो राख्नुभयो,’ अध्यक्ष दाहालले भने, ‘राष्ट्रिय सभाको निर्वाचन आगामी माघ ११ गते गर्ने निर्वाचन आयोगको कार्यतालिकामा प्रधानमन्त्री कार्की सहमत देखिनु भएको छ ।’

‘फागुन २० गते राष्ट्रिय सभाका १८ सदस्यको पदावधि सकिन्छ । त्यसको लागि निर्वाचन गर्ने विषयमा छलफल भयो । दुई दिन अगाडि मैले निर्वाचन आयुक्तसँग पनि यस विषयमा छलफल गरेको थिएँ,’ दाहालले भने, ‘निर्वाचन आयोगले माघ ११ गते निर्वाचन गर्ने भनेर डिसिजन गरिसकेको छ । उनीहरुले आफ्नो कार्यतालिकामा राष्ट्रिय सभाको निर्वाचनलाई पनि राखिसकेका छन् ।’

अब सरकारसँग समन्वय गरेर अघि बढ्ने विषयमा प्रधानमन्त्री कार्कीसँग छलफल भएको उनले बताए । ‘उहाँसँग जेनजीको प्रतिनिधित्व गर्ने सन्दर्भमा पनि कुरा भयो,’ दाहालले भने, ‘जेनजीको पनि जल्दोबल्दो कुरा छ । अब भोट हाल्ने स्थानीय तहका प्रमुख र उपप्रमुख अनि प्रदेश सभाका माननीयहरूले हाे। राजनीतिक सहमति गर्न सकियो भने हुन्छ भन्नेसम्मको सुझाव मैले दिएको छु । त्यसका लागि सरकारले राजनीतिक सहमती गर्नुप¥यो दलहरुसँग। किनभने भोटर नै चेन्ज गर्न त सकिँदैन ।’ प्रधानमन्त्री कार्की राष्ट्रिय सभालाई छठपछि सञ्चालन गर्ने विषयमा सकारात्मक रहेको उनले बताए ।

‘सिंहदरबारस्थित संसद सचिवालयको कृषि समितिको हललाई राष्ट्रिय सभाको बैठक कक्ष बनाउन सकिने प्रस्ताव मैले राखेको छु,’ उनले भने, ‘त्यो तयारी अघि बढाउने विषयमा पनि मुख्य सचिवलाई प्रधानमन्त्रीले निर्देशन दिनु भएको छ ।’ राष्ट्रिय सभालाई कसरी सञ्चालन कसरी गर्ने भन्ने विषयमा पनि प्रधानमन्त्रीसँग छलफल भएको दाहालले बताए ।

‘राष्ट्रिय सभा एउटा वैधानिक संस्था, जसले ऐन, कानून लगायतका अरु विषय अथवा जनताको सवाल बोल्ने गर्छ । यो सभालाई व्यवस्थित गरेर लैजानुपर्छ भन्नेमा उहाँ (प्रधानमन्त्री) हुनुहुन्छ,’ दाहालले भने । उनले सरकारले चाह्यो भने राष्ट्रिय सभाले संवैधानिक प्रक्रियाभित्र रहेर गर्ने सहयोग गर्न आफूहरू तयार रहेको बताए । ‘सरकारले चाह्यो भने कुनै पनि प्रकारको कानूनी प्रक्रिया, संवैधानिक ढंगले अघि बढ्ने कुरा, संविधानको दायराभित्र रहेर गर्ने कुरामा हामी तयार छौँ,’ उनले भने । अध्यक्ष दाहालले प्रधानमन्त्री कार्कीसमक्ष सभाका उपाध्यक्ष विमला घिमिरेलाई निवासको उचित व्यवस्था गरिदिन पनि आग्रह गरेको बताए । जेनजी आन्दोलनको क्रममा उपाध्यक्ष घिमिरेको सरकारी निवास पनि आगजनी भएको थियो ।

वर्षातका कारण बन्द रहेको मेलम्चीको पानी काठमाडौं ल्याइयो

काठमाडौं। वर्षातका कारण बन्द रहेको मेलम्चीको खानेपानी काठमाडौँ ल्याइएको छ । वर्षायाममा मेलम्ची नदीमा आउने बाढी र पहिरोका कारण खानेपानी आयोजनामा क्षति पुग्ने भन्दै गत वर्षको असार १० गते बन्द गरिएको पानी मर्मतपश्चात काठमाडौँ ल्याइएको हो ।

वर्षातले क्षति गरेको कही ठाउँमा मर्मतपश्चात अहिले पानी संकलन तथा प्रशोधन केन्द्र सुन्दरीजलमा दैनिक १७ करोड लिटरभन्दा बढी पानी आइरहेको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक जगरनाथ दासले जानकारी दिए।

उनले भने, ‘वर्षातले क्षति गरेको ठाउँमा मर्मत गरी र पानीको बहाव कम भएसँगै अहिले हामीले मेलम्चीको पानी काठमाडौँ ल्याउन सफल भएका छौँ । सुन्दरीजलमा दैनिक १७ करोड लिटरभन्दा बढी पानी आइरहेको छ ।’

काठमाडौँ उपत्यकामा दैनिक ४३ करोड लिटर पानीको माग रहेको छ । मेलम्ची खानेपानी बन्द गरिएको बेला विभिन्न स्रोतबाट दैनिक १३ देखि १४ करोड लिटर पानी मात्रै उपत्यकामा आपूर्ति हुने गरेको थियो ।

दैनिक १७ करोड लिटरभन्दा बढी मेलम्चीको खानेपानी सुन्दरीजलमा पुगेसँगै काठमाडौँ उपत्यकामा उक्त पानी वितरण गर्न सुरु गरिएको काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) का कार्यकारी निर्देशक अशोककुमार पौडेलले बताए।

उनले भने, ‘मेलम्चीबाट दैनिक १७ करोड लिटरभन्दा बढी पानी आइपुगेसँगै हामीले पानी वितरण प्रक्रिया सुरु गरेका छौँ । विगतमा ६ दिनमा एक दिन मात्रै धारामा आउने पानी आजबाट अब तीन-तीन दिनको फरकमा प्रत्येक घरका धारामा पानी आउँछ ।’

विसं २०७८ असार १ गते मेलम्ची खोलामा आएको बाढीपहिरोले आयोजनाको हेडवक्र्स पूर्णरूपले क्षतिग्रस्त भएपछि त्यसयता हिउँदमा मात्र मेलम्चीको पानी उपत्यकामा वितरण हुँदै आएको छ ।

बाढीका कारण मेलम्चीको मुहान बन्द गरिएपछि रिबर्मा खोलाबाट दैनिक रुपमा छ देखि सात करोड लिटर पानी स्थानान्तरण गरेर काठमाडौँमा वितरण भइरहेको कार्यकारी निर्देशक दासले बताए।

उनका अनुसार विसं २०७८ चैत १५ गते पूर्ण क्षमताअनुसार दैनिक १७ करोड लिटर काठमाडौँ उपत्यकामा पानी वितरण थालिएको हो ।

सोही वर्षको असार र साउनमा मेलम्ची तथा इन्द्रावतीमा आएको भीषण बाढीले आयोजनामा ठूलो क्षति पुर्‍याएपछि काठमाडौँमा हालसम्म बाह्रैमहिना पानी ल्याउन सकिएको छैन ।

विपिनका आफन्त भन्छन्–हामी अझै आशामा छौं

महेन्द्रनगर । विगत दुई वर्षदेखि हमास समूहको नियन्त्रणमा रहेका कञ्चनपुरको भीमदत्त नगरपालिका–३ का विद्यार्थी विपिन जोशीको अवस्थाका विषयमा विपिनका परिवारजन र इजरायलस्थित नेपाली दूतावाससँग ‘भिडियो कन्फरेन्स’ भएको छ । उक्त भिडियो कन्फरेन्समा जोडिएका विपिनका परिवारका सदस्य किशोर जोशीले आज नियन्त्रण मुक्त हुन लागेका २० जना बन्धकमा विपिनको नाम नरहेको इजरायली सरकारका तर्फबाट इजरायली डिफेन्स फोर्स (आइडिएफ) ले जानकारी गराएको बताए ।

‘आज छुट्ने लिष्टमा विपिनको नाम छैन फेरि पनि हामी निरन्तर अपडेट गर्छौँ भनेर इसरायलबाट भनिएको छ’, जोशीले भने, ‘अहिले छुट्नेमा विपिनको नाम नरहे पनि हामी उहाँ छुट्नेमा पूर्ण आशावादी छौँ, अहिले नै उहाँ छैनन् भन्न मिल्दैन ।’ जोशीका अनुसार इजरायली प्रतिनिधि, संयुक्त राज्य अमेरिकाबाट विपिनका आमा र बहिनी, इजरायलस्थित नेपाली राजदूत र आफूसहितको भिडियो कन्फरेन्स आज बिहान भएको बताए ।

विपिनको नाम जीवित बन्दको सूचीमा नरहेको समाचारहरू प्रकाशित भइरहेका बेला विपिनको परिवारजनले भने अर्को चरणमा छुट्नेमा आशा रहेको जनाएको छ । दुई वर्षको अवधिमा भएका युद्धविराम र बन्दी साटासाट क्रममा हमासले २०० भन्दा बढी बन्धक यसअघि नै छाडेको थियो । विपिनको सकुशल रिहाइका लागि उहाँको परिवार र नेपाल सरकार लामो समयदेखि प्रयासरत छन् । विपिनका आमा र बहिनी उहाँको खोजी कार्यमा पहलकदमी गरिदिन गुहार माग्न अमेरिका पुगेका छन् भने बुवा महानन्द जोशी महेन्द्रनगरमा छोरा विपिनको व्यग्र प्रतीक्षामा छन् ।

अनलाइनबाटै जलेका कागजात पुनः प्राप्त गर्न सकिने

काठमाडौं । गत भदौ २३ र २४ गते ‘जेनजी’ युवाहरुको आन्दोलनका क्रममा ट्राफिक प्रहरी कार्यालयमा जलेका सवारीसाधनका कागजातको पुनः प्राप्तिका लागि निवेदन दिन सेवाग्राहीले प्रहरी कार्यालय धाउनु नपर्ने भएको छ । जलेका कागजातको पुनः प्राप्तिका लागि अनलाइन प्रणालीमार्फत सेवा लिन सकिने जनाइएको छ । आगजनीका कारण ट्राफिक कार्यालयमा रहेका सवारीसाधनका कागजात, सवारीचालक अनुमतिपत्र, दर्ता किताब, जरिवाना विवरणलगायतका महत्वपूर्ण सरकारी कागजात जलेर नष्ट भएका थिए ।

काठमाडौँ उपत्यका ट्राफिक कार्यालयको वेबसाइटमा ‘कागजात हराएमा’ मा क्लिक गरी फारम भर्न सकिने उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए । निवेदन सबमिट भएपछि आवेदन नम्बर आउँछ । पछि चेक एप्लिकेसनमा उक्त नम्बर राख्दा क्यूआर कोडसहितको सिफारिस पत्र सेवाग्राहीले प्राप्त गर्छन् ।

उनले भने, ‘क्युआर कोडको सिफारिस पत्रसहित सम्बन्धित यातायात कार्यालयमा सेवाग्राहीले जानुपर्ने हुन्छ । यसबाट सेवाग्राहीको समयको बचत हुनुको साथै ट्राफिक प्रहरी कार्यालयमा कामको चाप कम हुन जान्छ ।’ साथै कुनै व्यक्तिको कागजात जलेको छ र ट्राफिक प्रहरीले पहिले नै काटेको २४ घण्टे पुर्जी वा सिफारिस पत्रका आधारमा हाललाई सवारीसाधन सञ्चालन गर्न सकिने प्रवक्ता सुवेदीले बताए । उनले भने, ‘सवारीचालक अनुमतिपत्र नभए पनि, यदि ट्राफिक प्रहरीले पहिले काटेको २४ घण्टे पुर्जी वा कुनै प्रमाण रहेको छ भने सोहीलाई आधार मानेर सवारी चलाउन दिइनेछ ।’

अन्तरिम सरकार कम्पास हराएको जहाज जस्तो : विष्णु रिजाल

काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिजालले अन्तरिम सरकार कम्पास हराएको जहाज जस्तो दिशाहीन देखिएको टिप्पणी गरेका छन् । ‘संविधानमा व्यवस्था नभए पनि चुनाव गराउने एक मात्र कार्यादेशसहित एक महिनाअघि बनेको अन्तरिम सरकार यसबिचमा कम्पास हराएको जहाज जस्तो दिशाहीन देखिएको छ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘न राजनीतिक दलहरूसँग संवाद न शान्ति–सुव्यवस्थाको प्रत्याभूतिले सरकार केका लागि र किन बनाइएको रहेछ भन्ने थप रहस्य सिर्जना गरेको छ ।’

राजनीतिक दलका नेताहरूलाई आतङ्कित बनाउने, भागेका अपराधीलाई निर्बाध उन्मुक्ति दिने, प्रहरीका लुटिएका ९ सय हतियारको खोजी नगर्ने भन्दै उनले सरकारको आलोचना गरेका छन् । ‘सरकारी संरचना जलाउने अपराधीहरूलाई छुट दिने, नियुक्ति–सरुवा–बढुवा, विदेश भ्रमण आदिमा रमाउने जस्ता कामले नागरिकमा थप आशंका र अन्योल मात्र बढाएको छ,’ उनले लेखेका छन्, ‘राजनीतिक अपरिपक्वताबाट ग्रस्त पूर्वाग्रही सरकारले चुनाव गराउन सक्दैन भन्ने सन्देश दिएको छ ।’

काठमाडौं गौरीघाटमा महिलाको हत्या

काठमाडौं । काठमाडौं गौरीघाटमा एक महिलाको हत्या भएको छ । आइतबार दिउँसो काठमाडौं महानगरपालिका–७ गौरीघाट मिलनचोक बस्ने ४० वर्षीया बिमला तामाङको शव फेला परेको हो । संखुवासभा खाँदबारी नगरपालिका–६ का ३५ वर्षीय छिरिङ भन्ने तेन्जिङ शेर्पा उनका श्रीमान हुन् ।

आइतबार बिमला कोठामा मृत फेला परेकी थिइन् । मृत फेला परेको खबरपछि प्रहरी वृत्त गौशालाबाट प्रहरीको टोली खटिएको थियो । प्रहरीले तेन्जिङलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ । प्रारम्भिक अनुसन्धानबाट उनीहरू दुई जनाबीच विवाद भएको खुलेको छ । त्यसक्रममा झगडा हुँदा तेन्जिङले बिमलामाथि कुटपिट र ढुंगा समेत प्रहार गरेको थियो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

हमासले छाड्यो सात बन्धक, विपिनको स्थिति अज्ञात

काठमाडौं । प्यालेस्टिनी समूह हमासले बन्धकहरु रिहा गर्न थालेको छ । हमासले आफ्नो नियन्त्रणमा रहेका २० जीवित बन्धकमध्ये पहिलो चरणमा सात बन्धकलाई अन्तर्राष्ट्रिय रेडक्रस समक्ष हस्तान्तरण गरेको इजरायली अधिकारीलाई उद्धृत गर्दै सीएनएनले जनाएको छ । उनीहरुलाई हमास लडाकुहरुले उत्तरी गाजाबाट रिहा गरेका हुन्।

यससँगै बन्धकको रिहाइका लागि तेल अभिभको होस्टेज स्क्वायरमा पर्खिरहेका हजारौं नागरिकले खुशीयाली मनाउन थालेका छन् । अन्तर्राष्ट्रिय रेडक्रसले हमास र इजरायलबीचको सहमतिअनुसार बन्धकहरुलाई विभिन्न चरणमा रिहाइ गरिने जनाएको छ । दुई वर्षभन्दा लामो संघर्षपछि हुने यो रिहाइलाई शान्ति र आशाको संकेतका रूपमा हेरिएको छ ।

इजरायली अधिकारीका अनुसार बन्धकहरूलाई तीन चरणमा रिहा गरिनेछ । यीमध्ये धेरैजसो बन्धकहरू इजरायली नागरिक हुन्, तर केही विदेशी नागरिक पनि छन् । हमासले बन्धक बनाएका नेपाली विद्यार्थी विपिन जोशी रिहा हुने सूचीमा छैनन् । सीएनएन लगायत अन्तर्राष्ट्रिय संचार संस्थाले प्रकाशित गरेका समाचारमा विपिनसहित दुई जनाको अवस्था अज्ञात रहेको उल्लेख गरेका छन् । इजरायलस्थित नेपाली अधिकारीहरूले पनि विपिन जोशीको अवस्थाबारे अझै अनिश्चितता रहेको जनाएका छन् ।

यसबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आजै इजरायल पुग्दैछन् । उनले बन्धकका परिवारसँग भेट गर्ने, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूसँग छलफल गर्ने र त्यसपछि गाजा संकटका विषयमा इजिप्टमा हुने अन्तर्राष्ट्रिय शिखर सम्मेलनमा सहभागी हुने कार्यक्रम छ । हमासद्वारा बन्धकहरूको रिहाइ शान्ति प्रक्रियाको निर्णायक कदमको रूपमा हेरिएको छ । तर विपिन जोशीसहितका अन्य बेपत्ता व्यक्तिहरूको अवस्था अझै अनिश्चित रहँदा, परिवार र आफन्तहरू अझै पनि प्रतीक्षामा छन् ।
यी मान्यताहरू कायम राख्ने र संकटको समयमा मानवीय कार्यलाई समर्थन गर्ने भन्ने थिम छ । गत साल एआईको थियो ।’ आफूले भेलामा जलवायु परिवर्तनको मुद्दा पनि उठाउने उनको भनाइ छ ।