`

बक्यौता उठाउन खोज्दा हटाइयो, निर्णायक तहमा पुगेर उठाएर देखाएँ : कुलमान

Nepal One HD २७ कार्तिक २०८२ ८:४३
अर्थ समाचार

काठमाडौँ । ऊर्जामन्त्री कुलमान घिसिङले लामो समयदेखि अल्झिएको विद्युत् महसुल (बक्यौता) असुलीलाई ठोस रूपमा अगाडि बढाएको भन्दै सबैलाई धन्यवाद दिएका छन् । उनले विगतमा यही काम गर्न खोज्दा आफूलाई हटाइएको स्मरण गर्दै अहिले निर्णायक तहमा रहेर बक्यौता उठाउन सफल भएको बताएका छन् ।

घिसिङले बिहीबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत लेखेका छन्, ‘डेडिकेटेड तथा ट्रङ्क लाइन संरचनामार्फत विद्युत उपभोग गर्ने उद्योगहरूलाई तोकिएको प्रिमियम महसुलको बक्यौता रकममध्ये पहिलो किस्ता अधिकांश उद्योगहरूबाट भुक्तानी भएको छ ।

यससँगै राजनीतिक नेतृत्वदेखि आम सर्वसाधारणसम्मलाई तरङ्गित बनाएको बक्यौता असुलीको प्रक्रिया अब नयाँ चरणमा प्रवेश गरेको छ ।’ उनका अनुसार, विद्युत् प्राधिकरणले कानुनी रूपमा असुलीको प्रक्रिया अघि बढाउँदा विगतमा राजनीतिक हस्तक्षेपले रोकावट ल्याएको थियो। ‘राज्यले उठाउनु पर्ने महसुललाई निस्तेज पार्ने केही जिम्मेवार पदधारीहरूले योजनाबद्ध रूपमा अवरोध गरे’, उनले सांकेतिकरुपमा भनेका छन्, ‘तर अब सबैको निरन्तर चासो र खबरदारीका कारण बक्यौता असुली ठोस परिणामतर्फ अघि बढेको छ ।’

कुलमानले बक्यौता तिर्ने उद्योगीहरूलाई धन्यवाद दिंदै आगामी दिनमा सबै नागरिकले कर र महसुल तिरेर जिम्मेवार बन्नुपर्नेमा जोड दिएका छन् । उनले प्रधानमन्त्री, अर्थमन्त्री, उद्योगमन्त्री र नेपाल उद्योग वाणिज्य महासंघप्रति पनि सहकार्यका लागि आभार व्यक्त गरेका छन्।

उनले भनेका छन्, ‘विगतमा आम सर्वसाधारण लोडसेडिङको अँध्यारोमा थिए, त्यही बेला डेडिकेटेड लाइन प्रयोग गर्ने उद्योगहरूले बक्यौता तिरेका थिएनन् । आज ती उद्योगहरूले आफ्नो जिम्मेवारी बुझ्दै किस्ता तिरेका छन्–यो नयाँ संस्कृतिको सुरुवात हो ।’ राजनीतिक हस्तक्षेप र प्रशासनिक चुनौतीबीच पनि महसुल उठाएर देखाएका कुलमानको यो कदमले पुनः ऊर्जाक्षेत्रमा कडाइ र जवाफदेहिताको सन्देश दिएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *