`

राष्ट्रिय सभा अध्यक्ष दाहाल स्विट्जरल्याण्ड जाने

काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल स्विट्जरल्याण्डको जेनेभा जाने भएका छन् । अन्तर व्यवस्थापिका मञ्चको १५१ औं भेलामा भाग लिन अध्यक्ष दाहाल असोज ३१ गते जेनेभा जाने भएका हुन् । उनले यसै प्रयोजनका लागि आइतबार अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीसँग भेटेका थिए । उनले आफ्नो प्रधानमन्त्रीसँगको भेट नियमित जस्तै रहेको र तीन पटक भेटिसकेको जानकारी दिए । भेटमा संघीय संसदको नेतृत्व गर्दै आफू जेनेभा जान लागेको र त्यसबारे प्रधानमन्त्रीलाई जानकारी गराएको उनको भनाइ छ ।

उनले भने, ‘यो नियमित जस्तै पनि हाे। मैले दुई–तीन पटक भेटिसकेको छु । १७ तारिखको (असोज ३१ गते) म जेनेभा जाँदैछु । अन्तर व्यवस्थापिका मञ्चको १५१ औं भेला छ । त्यो भेलामा संघीय संसदको तर्फबाट म सहभागी हुन जाँदैछु । त्यसको बारेमा रिपोर्टिङ गर्नु थियो । जानकारी दिनु थियो । त्यसका मूल विषयहरू यसरी सोचेका छु भनेर मौखिक रूपमा विषयवस्तु जानकारी गराएको छु । मानवीय मान्यताहरू कायम राख्ने र संकटको समयमा मानवीय कार्यलाई समर्थन गर्ने भन्ने थिम छ । गत साल एआईको थियो ।’ आफूले भेलामा जलवायु परिवर्तनको मुद्दा पनि उठाउने उनको भनाइ छ ।

बाढीको पानीमा डुबेर तीन बालिकाको मृत्यु, चार जनाको उद्धार

रौतहट । रौतहटको गौर नगरपालिकामा बाढीको पानीमा डुबेर तीन बालिकाको मृत्यु भएको छ । गौर–१ मा रहेको सीमा क्षेत्र नजिक बाढीको पानीमा डुबेर राजदेवी नगरपालिका–८ कि १३ वर्षीया आस्था कुमारी बैठा, १५ वर्षीया रागनी यादव र मौसमी बैठाको मृत्यु भएको हो।
सात जनाको समूहमा गौरतर्फ घाँस लिन आउँदै गर्दा उनीहरु बाढीको पानीमा डुबेको बताइएको छ । डुबेकामध्ये चार जनाको स्थानीयले उद्धार गरेका थिए । मृत्यु भएका तीन जनाको शव नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले खोजी गरी निकालेको छ ।

इजरायली अधिकारीहरुले भने–विपिन जोशी जीवित छैनन्

काठमाडौं । इजराइली डिफेन्स फोर्स (आइडिएफ) ले नेपालका विपिन जोशी जीवित नरहेको औपचारिक घोषणा गरेको छ । केहीबेर अघि विपिनको परिवार तथा इजरायलस्थित नेपाली दूतावाससँग भिडियो क्न्फरेन्स गरेर इजरायली सरकारले यो जानकारी दिएको इजराइलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितले जनाएका छन् ।

‘आइडिएफले हामी र विपिनको परिवारसँग भिडिओ कुराकानी गरेर ‘हि इज् नो मोर’ भन्ने जानकारी दियो,’ राजदूत धनप्रसाद पण्डितले सुनाए, ‘परिवारकै सामु आइडिएफले यो जानकारी दिएको छ ।’ राजदूत पण्डितका अनुसार इजरायली डिफेन्स फोर्सका अधिकारीहरुले हमासले जीवित बन्धकहरुलाई केहीबेरमा छोड्ने जानकारी दिएका छन् । मृतकमध्ये केहीको शव भेटिएको छैन ।

भिडिओ कुराकानीमा विपिनकी आमा पद्मा र बहिनी पुष्पा अमेरिकाबाट जोडिएका थिए । परिवारका सदस्य किशोर जोशी, राजदूत पण्डित र इजराइली डिफेन्स फोर्सका अधिकारी उक्त भिडिओ कुराकानीमा सहभागी थिए । परराष्ट्र मन्त्रालयले भने इजरायलको आइडिएफले पनि आंकलन मात्र गरेको हुन सक्ने बताएको छ ।

‘आइडिएफको पनि आंकलन मात्र हो । अझै यो मान्छे, त्यो मान्छे भन्ने अवस्था छैन, विगतमा आइडिएफले भनेका मानिसहरुबारे पनि फरक विवरण आएको थियो’, परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले भने, ‘अन्तिम घडीसम्म हामी उहाँ सकुशल रिहा हुनुहुन्छ भन्नेमा उत्साही र आशावादी छौं ।’ हमास समूहले उनलाई किबुज आलुमिमबाट २०८० असोज २३ मा अपहरण गरेको थियो । उनी सोही वर्ष मंसिरसम्म जीवित रहेको भिडयो सार्वजनिक भएको थियो ।

भदौ २४ को घटना : आकस्मिक दङ्गा कि पूर्व नियोजित विद्रोह ?

काठमाडौं । भदौ २४ मा नेपालभरि भएका आगजनीका घटनाहरू आकस्मिक प्रतिक्रिया नभई एक गम्भीर रूपमा समन्वित र पूर्व नियोजित अभियान भएको न्यूयोर्क टाइम्सको हालै प्रकाशित अनुसन्धानले प्रमाण प्रस्तुत गरेको छ । देशको प्रशासनिक केन्द्रमा गरिएको यस हमलाले संसद भवन, सर्वोच्च अदालत, सिंहदरबार लगायत सयौं सरकारी र निजी संरचनाहरू ध्वस्त बनायो ।

न्यूयोर्क टाइम्सको अनुसन्धान अनुसार, भ्रष्टाचार विरोधी प्रदर्शनको क्रममा भदौ २३ मा सुरक्षाकर्मीको गोलीबाट १९ प्रदर्शनकारी मारिएपछि देशभरि फैलिएको हिंसामा योजनाबद्ध तरिकाले आगजनी गरिएका थिए । अनुसन्धानमा संलग्न विशेषज्ञहरू भन्छन–यस्तोस्तरको समन्वय बिना केही घण्टाभित्रै यति ठूलो क्षेत्रफलमा आगजनीको आगो फैलिन असम्भव छ ।

अग्नि विशेषज्ञहरूले घटनास्थलको जाँच, तस्वीर–भिडियो विश्लेषण र प्रत्यक्षदर्शीका आधारमा निष्कर्ष निकालेका छन् कि आगो फैलाउने क्रममा विशेष प्रज्वलनशील रसायनहरूको प्रयोग भएको हुनसक्छ । यस्ता पदार्थहरू सहजै उपलब्ध नहुने र प्रयोग गर्न पूर्व ज्ञान आवश्यक हुने उनीहरूको भनाइ छ ।

त्यस दिन काठमाडौंमा संसद् भवन, सर्वोच्च अदालत र सिंहदरबार क्रमशः १ः४५ देखि ३ः३० भित्रै जलेर खरानी भए । प्रत्यक्षदर्शीहरूले खुला झ्याल र ग्यास क्यानिस्टर प्रयोगको संकेत दिएका छन् । केही युवा आगजनीकर्ताहरूले पेट्रोल बम बाँडिएको र सिफ्टमा काम गरिएको स्वीकार गरेका छन् । घटनासँग सम्बन्धित सूचीहरू अनलाइनमा एक रातअगावै देखिन थालेका थिए । आश्चर्यजनक रूपमा, सुरक्षाकर्मीहरू खासै प्रतिकार नगरी भीडलाई अघि बढ्न दिएको प्रमाण भेटिएको छ । नेपाली सेनालाई हस्तक्षेप नगर्न निर्देशन दिइएको आशंका व्यक्त गरिएको छ । सेनाले तटस्थ भूमिका खेलेको बेला सयौं प्रहरी चौकी पनि आगोको चपेटामा परेका छन् ।

नेपालको विधि विज्ञान प्रयोगशालाले घटनाको वैज्ञानिक विश्लेषण प्रारम्भसम्म नगरेको पुष्टि भएको छ । प्रयोगशालाका प्रमुखका अनुसार, घटनास्थलबाट अहिलेसम्म कुनै नमूना प्राप्त भएको छैन, जसले अनुसन्धानको प्रगति अझै अन्योलमा पारेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामासँग सकिएको त्यो दिनले सरकारको संरचना मात्र होइन, राज्यप्रति जनताको विश्वास पनि संकटमा पारेको छ । यद्यपि, कुनै समूहले यो आगजनीको जिम्मेवारी लिएको छैन । अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीले अनुसन्धान आयोग गठन गरेकी छिन्, तर न्यायिक प्रक्रियामा ढिलाइ हुने परम्परा हेर्दा सत्यतथ्य पत्ता लाग्न धेरै वर्ष लाग्न सक्ने देखिन्छ । नेपालको राजनीतिक इतिहासमा आगजनी कुनै नौलो घटना होइन । तर यस पटकको विनाशको परिमाण, तयारी र त्यसको कार्यान्वयन शैलीले यो प्रकरणलाई इतिहासमै सबैभन्दा भयावह बनाएको छ ।

 

आविष्कार केन्द्रका लागि आफैँले बजेट छुट्याउनु अनैतिक हुन्छ: शिक्षामन्त्री पुन

काठमाडौँ ।  शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले राष्ट्रिय आविष्कार केन्द्रद्वारा सञ्चालित वीरगन्ज कृषि औजार कारखानाका लागि बजेट आवश्यक रहेको बताएका छन्।

पुनले आफूले स्थापना गरेको राष्ट्रिय आविष्कार केन्द्रद्वारा सञ्चालित वीरगन्ज कृषि औजार कारखानामा बनेको धान काट्ने मेसिनलाई पुरानो हाते ट्रयाक्टरमा जोडेर धान काटिरहेको भिडिओ सामाजिक सञ्जालमा राख्दै सरकारसँग बजेटको माग राखेका हुन्।

आफू मन्त्री बने पनि आविष्कार केन्द्रले त्यो कारखाना सञ्चालन गरिरहेको जानकारी दिँदै उनले त्यसको आर्थिक स्रोत भनेको आफ्नो आत्मकथा किताब बेचेको पैसा र दातारूको दान मात्र भएको बताएका छन्।

पहिलेका सरकारहरूले कारखानालाई बेवास्ता गरेको गुनासो गर्दै पुनले अहिले आफू मन्त्री भएकाले त्यसका लागि आफैँले बजेट छुट्याउँदा अनैतिक हुने दुखेसो समेत पोखेका छन्।

उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘म मन्त्री भए पनि राष्ट्रिय आविष्कार केन्द्रले वीरगन्ज कृषि औजार कारखाना चलाइरहेकै छ। आर्थिक स्रोत भनेको मेरो आत्मकथाको किताब बेचेको पैसा र दाताहरूले दान गरेको पैसा हो’, ‘मन्त्री भएर कारखानाको लागि म आफैँले बजेट छुट्याउनु अनैतिक काम हुन्छ। पहिलेको सरकारहरूले छुट्याएको भए हुन्थ्यो तर छुट्‌याएनन्। भविष्यका सरकारले पैसा छुट्‌याए पनि हुन्छ।’

उनका अनुसार वीरगन्ज कृषि औजार कारखानामा बनेको धान काट्ने मेसिनको परीक्षण भइरहेको छ र अब परीक्षण सफल भएपछि उत्पादन सुरु हुने अपेक्षा गरेका छन् ।

 

 

हमासद्वारा रिहा गर्ने बन्धकहरूको सूची सार्वजनिक, छैन विपिन जोशीको नाम

काठमाडौं । हमासले आज (सोमबार) रिहा गर्न लागेका २० बन्धकहरुको नाम सार्वजनिक गरेको छ । प्यालेस्टिनी समाचार संस्था ‘शेहाब’ का अनुसार, हमासले रिहा गर्न लागिएको २० जना बन्धकहरूको सूचीमा नेपालमा विपिन जोशीको नाम छैन ।
बीबीसीका अनुसार सर्वजनिक गरिएका सूचीमा रहेका नाम यस प्रकार छन् :

बार कुपरस्टाइन, एव्यातार डेविड, योसेफ–चाइम ओहाना, सेगेव काल्फनअविनातान ओर एल्काना बोहबोट , म्याक्सिम हेरकिन, निमरोड कोहेन, माटान झाङाउकर, डेभिड कुनीओ, एइतान होर्न, माटान एन्ग्रेस्ट, एइतान मोर, गाली बर्मन, जिभ बर्मन, ओम्री मिरान, अलोन ओहेल, गाइ गिल्बोआ–डलाल, रोम ब्रास्लाब्स्की एरिएल कोनियो ।

कसरी हुन्छ बन्दी आदान–प्रदान हुन्छ ?
इजरायल–हमास युद्धविराम सम्झौताको एक भागको रूपमा कुल ४८ जना बन्धकहरूलाई आजबाट रिहा गरिने अपेक्षा गरिएको छ । ७ अक्टोबर २०२३ मा पक्राउ परेकाहरूमध्ये २० जनालाई जीवित, २५ जना मृत र अन्य दुई जनाको अवस्था अझै अज्ञात रहेको सीएनएनले रिपोर्ट गरेको छ ।

गाजामा बन्धक रहेकामध्ये अधिकांश इजरायली नागरिकहरू छन् । चार विदेशी नागरिकमध्ये दुई थाइल्याण्डका, एक तान्जानियाका र एक नेपालका विपिन जोशी हुन् । जोशीको अवस्था अज्ञात रहेको सीएनएनको समाचारमा उल्लेख छ । इजरायली सरकारले उनको लागि गम्भीर चिन्ता व्यक्त गरेको समाचारमा उल्लेख छ ।

जीवित रहेको विश्वास गरिएका बाँकी सबै बन्धकहरू पुरुष हुन् । मृतक बन्धकहरूमध्ये एक, इनबार हेमन, महिला हुन् । हमास र अन्य लडाकू समूहहरूले अक्टोबर ७, २०२३ को आतंकवादी हमलाको क्रममा इजरायलबाट २५१ जनालाई अपहरण गरेका थिए ।

इजरायली सरकारले आज बन्धकहरूको रिहाइ कसरी हुने अपेक्षा गरिएको छ भन्ने योजना बनाएको समाचारमा उल्लेख छ । यो बन्धक र कैदीहरूको लागि पहिलो आदानप्रदान होइन । अघिल्ला आदानप्रदानहरूमा, हमासले अपहरण गरिएका व्यक्तिहरूलाई हस्तान्तरण गर्नुअघि समारोहहरू आयोजना गर्ने गरिएको थियो ।

इजरायलको प्रधानमन्त्री कार्यालयका प्रवक्ता शोश बेद्रोसियनका अनुसार तर यस पटक, हमासको प्रचार प्रदर्शन गरिने छैन र प्यालेस्टिनी लडाकू समूहद्वारा कुनै बिरामी प्रदर्शन गरिने छैन । यसको सट्टा, गाजामा राखिएका २० जीवित बन्धकहरूलाई रेडक्रसमा रिहा गरिनेछ र ६ देखि ८ सवारी साधनहरूमा ढुवानी गरिनेछ । इजरायली सरकारका अनुसार, तीन फरक अस्पतालमा उपचारको लागि पठाउनुअघि बन्धकहरूलाई तिनीहरूका परिवारहरूसँग पुनर्मिलन गरिनेछ ।

 

बर्दियाका किसानलाई धान भित्र्याउने चटारो (तस्बिरहरू)

बर्दिया। अन्नको भण्डार भनेर चिनिएको बर्दिया जिल्लाको राजापुर नगरपालिकामा यतिबेला धान काट्न किसानलाई भ्याइनभ्याई भएको छ । पानी पर्न छाडेपछि किसान धान काट्न व्यस्त छन् । बर्दियाको कुल खेतियोग्य ७५ हजार हेक्टर जमिनमध्ये ५० हजार १ सय हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको छ ।

लुम्बिनी प्रदेशमा उत्पादन हुने धानमध्ये २० प्रतिशत योगदान बर्दियाको हुने गरेको छ । राजापुर नगरपालिकालाई सरकारले धान सुपरजोन घोषणा गरेको छ ।

विगतका वर्षहरूमा धान खेतीमा मात्र निर्भर हुने गरेका बर्दियाका कृषक पछिल्लो समय भने उखु, मकै जस्ता बालीमा आकर्षित हुन थालेका छन् ।

     

 

जेनजीका नाममा लिइयो भोटेकोशीको १९ करोड बराबरको शेयर, के छ सम्झौतामा ?

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाको एक समूहले जेनजीका नाममा ४५ मेगावाटको भोटेकोशी जलविद्युत आयोजनाको १० प्रतिशत शेयर लिएको छ । उनीहरूलाई प्रतिशेयर १०० रूपैयाँ अंकित मूल्यमा १९ करोड रूपैयाँ बराबरको १० प्रतिशत शेयर दिने सम्झौता भएको आयोजनाका प्रमुख कार्यकारी अधिकृत (सिइओ) विक्रम स्थापितले जनाएका छन् ।

जेनजी आन्दोलनपछि भोटेकोशी गाउँपालिकाको एक स्थानीय समूहले जेन–जी ग्रुपका नाममा १० प्रतिशत निःशुल्क शेयर मागेर भदौ २५ गतेदेखि आयोजना सञ्चालन गर्न दिएको थिएन । आयोजना लामो समयदेखि बन्द हुँदा मर्का परेका कारण त्यहाँका स्थानीयलाई दिने सम्झौता भएको ६ प्रतिशत शेयरमा ४ प्रतिशत थप गरी १० प्रतिशत शेयर स्थानीय जेनजी समूहलाई दिने सम्झौता गरिएको सिइओ स्थापितले बताए ।

‘यो आयोजना स्थापना हुँदा स्थानीयलाई शेयर दिनुपर्ने प्रावधान थिएन । २०७१ सालमा स्थानीयले आन्दोलन गरेर शेयर मागेपछि ६ प्रतिशत शेयर दिने सम्झौता भएको थियो । तर स्थानीयले कम्पनी स्थापना नगरेकाले आयोजनाले शेयर दिएको थिएन । त्यो ६ प्रतिशत शेयरमा ४ प्रतिशत थपेर अहिलेको जेन–जी पब्लिक इन्भेष्टमेन्ट पब्लिक लिमिटेडलाई दिएका हौं,’ उनले सुनाए । स्थापितका अनुसार यो सेयरका लागि जेनजी कम्पनीले बैंकबाट ऋण लिनेछ । यसरी लिने ऋणको जमानीको व्यवस्था भने आयोजनाले गर्ने सहमति भएको हो । शेयर पाउने पक्का भएपछि उक्त समूहले आयोजना सञ्चालन गर्न दिएको छ ।

यसअघि स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले जलविद्युत आयोजनामा सुरक्षाको खतरा बढेको भन्दै गृहमन्त्री र ऊर्जामन्त्री गुहारेको थियो । दुवै मन्त्रीलाई पत्र लेख्दै इप्पान अध्यक्ष गणेश कार्कीले पछिल्लो समय निर्माण सम्पन्न, निर्माणाधीन र निर्माणमा जान लागेका आयोजनाहरूमा सरकारको नीति र कानुनविपरीत १० प्रतिशत निःशुल्क शेयर माग्ने तथा ती आयोजनामा अवरोध गर्ने कार्य बढेकाले सरकारसँग सुरक्षा माग गरेका थिए ।
हेर्नुस् सझौता

प्रचण्डको सचिवालयले दियो पूर्व एआइजी देवेन्द्र सुवेदीविरुद्ध जाहेरी

काठमाडौं । नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सचिवालयले नेपाल प्रहरीका पूर्व एइआइजी देवेन्द्र सुवेदीविरुद्ध साइबर अपराधमा उजुरी दिएको छ । सुवेदीले प्रचण्डको निवासबाट जेनजी आन्दोलनको दुई दिनअघि दुई करोड रुपैयाँ ट्रकमा निकालिएको दाबी गरेका थिए । प्रचण्डको सचिवालयका संयोजक गोविन्द आचार्यको तर्फबाट चरित्रहत्या र भ्रम फैलाइएको भन्दै साइबर ब्युरोमा बुझाइएको हो ।

जाहेरी आइतबार नै बुझाइएको आचार्यले जानकारी दिए । यसअघि सचिवालयले वक्तव्य जारी गर्दै सुवेदीलाई २ करोडको प्रमाण पेश गर्न चुनौती दिएको थियो । उजुरीमा डिजिटल माध्यममार्फत गरिएका यस्ता गलत प्रचारप्रसार साइबर कानुन विपरीत भएकाले त्यसबारे आवश्यक अनुसन्धान गरी कानुनी कारबाहीको माग गरिएको छ।

सुन तस्करी प्रकरणमा पूर्व उपराष्ट्रपति पुनमाथि पनि अनुसन्धान थालियो

काठमाडौं । विद्युतीय चुरोट (भेप) मा सुन लुकाएर तस्करी प्रकरणमा पूर्व उपराष्ट्रपति तथा माओवादी केन्द्रका उपाध्यक्ष नन्दबहादुर पुन (पासाङ) र उनका छोराहरूविरुद्ध पनि प्रहरीले अनुसन्धान थालेको छ ।

यही प्रकरणमा पूर्व सभामुख समेत रहेका माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई प्रहरीले हिजो (आइतबार) पक्राउ गरेको छ । उनीमाथि चिनियाँ संगठित गिरोहसँग मिलेर सुन तस्करी गरेको आरोपमा अनुसन्धान भइरहेको छ । सुन तस्करी प्रकरणमा रोल्पाको राङ्सी घर भएका पूर्व उपराष्ट्रपति पुन पनि विवादमा मुछिएकाले उनीमाथि पनि अनुसन्धान अघि बढाइएको नेपाल प्रहरीका एक उच्च अधिकारीले जनाए।

दुई वर्षअघि उनका जेठा छोरा जितेन्द्रले शक्तिको दुरुपयोग गरी हुम्लाबासी भएको कागजात बनाई सीमा वारपार गर्ने परिचयपत्र गृह मन्त्रालयबाट बनाएका थिए । त्यसपछि हुम्ला र चीनको सीमा क्षेत्र ताक्लाकोट पुगेर चिनियाँ टोलीसँग ‘तमसुक गरेर चार किलो सुन बुझेको’ समाचार सार्वजनिक भएको थियो । सुनको भुक्तानीबाफतको सावाँ–ब्याजको रकम चिनियाँ पक्षलाई नदिएपछि यो प्रकरण बाहिरिएको थियो ।
पूर्व उपराष्ट्रपति पुनका कान्छा छोरा दीपेश पुन पनि सुन तस्करी प्रकरण, सहकारी ठगी र भुटानी शरणार्थी प्रकरण लगायतमा मुछिएपछि फरार रहेको प्रहरी अधिकृतहरु बताउँछन् ।

२०७९ सालमा भेपमा लुकाएर ल्याइएको करिब ९ किलो सुन र २०८० सालमा हङकङबाट ब्रेक सुमा लुकाएर ल्याइएको ६१ किलो सुन तस्करी प्रकरणमा दिपेश मुछिएका छन् । सहकारी ठगी प्रकरणमा पक्राउ समेत परेका दिपेश हाजिरी जमानीमा छुटेका थिए । हाल उनी भारतमा रहेको सूचना रहेको प्रहरी अधिकारीहरु बताउँछन् ।

यस्तै तत्कालीन उपराष्ट्रपति पुनको सचिवालयमा ‘वैदेशिक मामिला विज्ञ’ पदको नियुक्ति लिएका जीवनकुमार गुरुङ समेत सुन तस्करी प्रकरणमा २०८० साल फागुनमा पक्राउ परेर धरौटीमा रिहा भएका थिए ।

यसैगरी पुनको आफन्त अमला रोका समेत सुन तस्करी प्रकरणमा जोडिएकी थिइन् । ठमेलको ‘होटल भियना’समेत सञ्चालन गरेकी रोका गत असारमा दुई लाख धरौटीमा रिहा भएकी थिइन् ।

गाजामा बन्दी रिहाइमा भाग लिन ट्रम्प इजरायल प्रस्थान, छुट्लान् विपिन ?

काठमाडौं । हमासले बन्धक बनाएका बन्दीहरुलाई मुक्त गराउने विशेष समारोहमा सहभागी हुन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प इजरायल प्रस्थान गर्दैछन् । गाजाबाट बन्धकहरूलाई मुक्त गर्न हालै भएको युद्धविराम सम्झौता औपचारिक रुपमा कार्यान्वयन गराउने समारोहमा सहभागी हुन उनी इजरायल जान लागेका हुन् ।

गाजामा हमासले नियन्त्रणमा लिएर राखेका सबै बन्धकहरूलाई मुक्त गर्ने अन्तिम समयसीमा स्थानीय समय अनुसार सोमबार दिउँसो १२ बजे तोकिएको छ । इजरायल र हमासबीचको युद्ध सन् २०२३ अक्टोबर ७ मा हमास–नेतृत्वको इजरायलका दक्षिणी भागमा भएको आक्रमणपछि सुरु भएको थियो ।

विपिनको अवस्था अझै अज्ञात

त्यस आक्रमणमा १० नेपालीसहित करिब १,२०० मानिस मारिएका थिए । कञ्चनपुरका विपिन जोशीसहित २५१ जना बन्धक बनाइएका थिए । विपिनको अवस्था अझै थाहा हुन नसकेको इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितले जनाएका छन् ।

त्यसपछि इजरायलले युद्ध घोषणा गर्दै सैन्य कारबाही तीव्र पारेको थियो । इजरायलको आक्रमणको कारण गाजामा ६७ हजार भन्दा बढी प्यालेस्टिनी मारिएका छन्, जसमा १८ हजार भन्दा बढी बालबालिका रहेको हमास–नियन्त्रित स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

ट्रम्पको मध्यस्थतामा गत शुक्रबार बिहानदेखि युद्धविराम लागू भएको थियो । यो २० बुँदे शान्ति योजनाको पहिलो चरण अन्तर्गत हमासले बन्धक बनाएका बन्दीहरुलाई रिहाइ गरिने छ । बाँकी कामहरु अरु वार्तामार्फत् तय गर्ने अधिकारीहरुले बताएका छन् ।

पहिलो चरणमा इजरायलका करिब २० जना बन्धकहरू जीवित रहेको विश्वास गरिएको छ, भने हमासले २८ जना मृतक बन्धकहरूको शव पनि फिर्ता गर्ने तयारी गरेको बताइएको छ ।

सम्झौताअनुसार, इजरायलले करिब २५० जना प्यालेस्टिनी कैदी र गाजाका १,७०० बन्दीलाई मुक्त गर्नेछ । इजरायली सरकारका प्रवक्ताले हमासबाट मुक्त भएका जीवित बन्धकहरू इजरायली भूभागमा पुगेपछि मात्र कैदीहरूलाई मुक्त गरिने बताएका छन् । साथै उनले गाजामा सहायता सामग्रीको परिमाण पनि बढाइने बताएका छन् ।

 

फेमे खोलामा ‘डाइभर्सन’ निर्माण हुँदै

पाँचथर । पाँचथरको फिदिम–फालोट सडकअन्तर्गत फेमे खोलामा अस्थायी डाइभर्सनमार्फत यातायात सुचारु गर्न लागिएको छ । यहाँ पूर्वाधार विकास कार्यालय पाँचथरले धमाधम डाइभर्सन निर्माणको काम गरिरहेको छ ।
गत असोज १८ गते आएको बाढीले डाइभर्सन बगाएपछि यहाँ सडक अवरुद्ध छ । फिदिम नगरपालिका–१ र ११ को सीमामा पर्ने फेमे खोलामा २० वटा ह्युम पाइपमार्फत डाइभर्सन निर्माण भइरहेको हो । डाइभर्सन र पहुँच मार्ग निर्माणको काम सोमबारसम्ममा सम्पन्न गर्ने योजना रहेको पूर्वाधार विकास कार्यालय पाँचथरका इञ्जिनीयर मुकेश शाहले जानकारी दिए ।
यस सडकले फिदिम नगरपालिका १० देखि १३ नम्बर वडा तथा फालेलुङ गाउँपालिका–३ देखि ८ लाई सदरमुकामसम्म जोड्छ । फेमे खोलामा सडक अवरुद्ध भएपछि खोलाको वारिपारी रहेका सवारीसाधनले यात्रुलाई गन्तब्यसम्म पुर्‍याउँदै आएका छन् ।
 यात्रुले करिब १५ मिनेट पैदलयात्रा गरेर खोला पार गर्दै आएका छन् । गत बिहीबारदेखि डाइभर्सन र पहुँच मार्ग निर्माणको काम भइरहेको छ । गत वर्षको असोज १२ गते आएको बाढीले यहाँ रहेको सडक पुल बगाएको थियो । सडक पुल बगेपछि यहाँ अस्थायी डाइभर्सनबाट यातायात सञ्चालन हुँदै आएकोमा गत जेठमा स्थायी डाइभर्सन निर्माण गरिएको थियो ।
उक्त स्थायी डाइभर्सन असोज १८ गतेको बाढीले बगाएको हो । यहाँ बेलिब्रिज जडानको प्रक्रिया अघि बढे पनि बजेट अभावका कारण काम हुन सकेको छैन । बाढीले डाइभर्सन बगाएपछि यात्रुहरु आवतजावत गर्नका लागि नेपाली सेनाको फिदिमस्थित वीरदल गणले फड्के निर्माण गरेको छ । तर सामग्री ढुवानी तथा स्थानीय उत्पादनको निकासी, बिरामी तथा असक्तलाई खोला पार गराउन समस्या पर्ने गरेको फिदिम–११ का लोकबहादुर बुढाथोकीको भनाइ छ ।

मनमोहन ट्रान्सप्लान्ट सेन्टरले माग्यो १५ स्टाफ नर्स (सूचनासहित)

काठमाडौं । महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले अस्थायी दरबन्दीमा नियुक्त गर्नेगरी १५ जना स्टाफ नर्स मागेको छ ।

त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान अन्तर्गतको ट्रान्सप्लान्ट सेन्टरले आज सूचना जारी गर्दै आन्तरिक स्रोतबाट तलब भत्ता दिनेगरि करार सेवामा स्टाफ नर्स माग गरेको हो ।

योग्यता पुगेका इच्छुक नेपाली नागरिकले आजदेखि आगामी कात्तिक १० गतेसम्म निवेदन दिन सक्ने छन् । १८ वर्ष पूरा भई ४० वर्ष ननाघेका उम्मेदवारले दरखास्त दिन सक्ने सूचनामा उल्लेख छ ।

हेर्नुस् सूचना

जेनजी आन्दोलनमा भएको राजनीतिक दल र व्यक्तिगत सम्पत्ति क्षतिको विवरण माग

काठमाडौं । भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगले आन्दोलनका क्रममा राजनीतिक,संघसंस्था र व्यक्तिगत सम्पत्तिमा भएको क्षतिको विवरण पठाउन आग्रह गरेको छ ।

आइतबार विज्ञप्ति प्रकाशित गरी आयोगले ‘सो सन्दर्भमा उक्त प्रदर्शनका क्रममा काठमाडौं लगायत मुलुकका विभिन्न भागमा राजनीतिक दल, संघसंस्था र व्यक्तिगत सम्पत्तिमा भएको क्षतिको यथार्थ विवरण तपसिल बमोजिमको ढाँचामा आयोगको इमेल ठेगाना मा पठाउनहुन साथै घटनालाई पुष्ट्याई गर्ने प्रमाणहरु जस्तै श्रव्यदृश्य, फोटो र कागजातहरु भए सो समेत यस आयोगमा उपलब्ध गराउन हुन’ अनुरोध गरेको छ।

आयोगले विज्ञप्ति जारी गर्दै सो क्षतिको विवरणको ढाँचा समेत पठाएको छ । त्यसमा घटना पुष्टि गर्ने प्रमाणहरु भए ती फोटो,भिडिओ र कागजात समेत उपलब्ध गराउन आयोगले भनेको छ ।

तीनकुनेलाई ‘जेन-जी चोक’ घोषणा गर्न माग गर्दै प्रदर्शन गर्ने तीनजना पक्राउ

काठमाडौं । काठमाडौंको तीनकुनेलाई जेनजी चोक घोषणा गर्नुपर्ने मागसहित प्रदर्शनमा उत्रिएका तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा अरिश तिवारी, सुनील सिंहलगायत छन् ।

स्थानीय प्रशासनको अनुमतिबिना सडकमा उत्रिएको जेन-जी २.० (सबै पुस्ताको प्रतिनिधि) अभियानले तीनकुनेलाई जेन-जी चोक घोषणासहित प्रदर्शन गरेपछि प्रहरीले बल प्रयोग गरेको हो ।

प्रहरीले त्यसक्रममा तीनकुनेबाट तीनजनालाई पक्राउ गरेर लगेको छ ।

 

नेपालले युएईलाई दियो १४१ रनको लक्ष्य

काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीले आईसीसी टी–२० विश्वकप एसिया र इस्ट एसिया प्यासिफिक छनोटअन्तर्गत यूएईलाई १४१ रनको चुनौती दिएको छ ।

ओपनर आसिफ शेखले टी–२० आई नवौँ अर्धशतक प्रहार गरेको खेलमा अरुले प्रभावशाली प्रदर्शन गर्न नस्कदा नेपालले १४० रनको सामान्य स्कोर बनाएको हो । टस जितेर पहिला ब्याटिङ थालेको सामान्य स्कोर बनाउने क्रममा ६ विकेट गुमायो ।

नेपालका लागि ओपनर आसिफ शेखले सर्वाधिक ५१ रन बनाए । ४७ बलमा ४ चौका र एक छक्का प्रहार गरे।

कुशल भुर्तेल २८, कप्तान रोहित पौडेल २०, कुशल मल्ल १०, दीपेन्द्रसिंह ऐरी १ र गुल्सन झा १४ रन बनाएर आउट भए । सन्दीप जोरा ४ र सोमपाल कामी ६ रनमा अविजित रहे ।

बलिङमा युएईका जुनैद सिद्दिकी, मोहम्मद रोहिद, जहिद अली, हर्षित कौशिक, हैदर अली र ध्रुव पराशरले एकएक विकेट लिए ।

सुशीला कार्कीलाई दलाई लामाको समर्थन सामान्य विषय होइन : चित्रबहादुर केसी

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रधानमन्त्री सुशीला कार्कीलाई दलाई लामाको समर्थन सामान्य विषय नभएको टिप्पणी गरेका छन् । भरतपुरमा पार्टी निकट अखिल नेपाल जनजाति सम्मेलनको पाँचौँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष केसीले देशमा साम्राज्यवादी शक्तिको हस्तक्षेप भएको भन्दै साम्राज्यवादी हस्तक्षेप सफल भए नेपाल प्यालेस्टाइन वा युक्रेन बन्न सक्ने चेतावनी दिए ।

‘यदि नेपाली जनता बेलैमा सचेत भएनन् भने देश प्यालेस्टाइन वा युक्रेन बन्न सक्दछ’ उनले भने, ‘सुशीला कार्की सरकारलाई दलाई लामाको बधाई सामान्य कुरा होइन ।’ अध्यक्ष केसीले जेनजीको आन्दोलनमा साम्राज्यवादीको घुसपैठ भएका कारणले अहिले देश खरानीको डल्लो बनेको बताएका छन् ।

‘राजनीतिक पार्टीको आन्दोलनले अहिलेसम्म सिंहदरबार जलाएन, संसद् भवन जलाएन, सर्वोच्च अदालत जलाएन’ उनले भने, ‘अहिले जसरी देशलाई खरानी बनाइयो, त्यसमा अमेरिकी साम्राज्यवादको, भारतीय साम्राज्यवादको र तिनका जासुसी संस्थाको भूमिका छ ।’ अहिले जेनजी आन्दोलनको नाममा एनजीओ पृष्ठभूमि भएकाहरू मन्त्रिमण्डलमा सामेल भएको उनको भनाई छ ।

जनताले नै गलत शक्तिलाई चुनावमा जिताएका कारण देशले अहिलेको दुर्दशा भोग्नुपरेको केसीले बताएका छन् । ‘राजनीतिक दलहरू चुनावमा बोरामा पैसा बोकेर जान्छन् । त्यो पैसा भ्रष्ट, ठेकेदार, तष्करबाट उठाइएको हुन्छ’ उनले भने, ‘सही राजनीतिक दल चिन्ने सवालमा हामी जनता पनि सच्चिनु पर्दछ । जनताले गलत शक्तिलाई चुनावमा जिताएकै कारण देशले यो दुर्दशा भोग्नुपरेको हो ।’ अध्यक्ष केसीले सत्ता सञ्चालन गरिरहेका ठूला राजनीतिक दलको भ्रष्ट चरित्रकै कारणले देश उभो लाग्न नसकेको बताए । दलहरूले चुनावलाई समेत भ्रष्ट बनाएको भन्दै चिन्ता व्यक्त गरे । केसीले आफ्नो पार्टीको नीति सही भएकाले आफ्ना जनप्रतिनिधिले भ्रष्टाचार नगरेको दाबी पनि गरे ।

पूर्व सभामुख कृष्णबहादुर महरा पक्राउ

काठमाडौं । पूर्व सभामुख कृष्णबहादुर महरा पक्राउ परेका छन् । भेपमार्फत् सुन तस्करी अनुसन्धानका लागि महरालाई आज सीआइवीको टोलीले प्रहरीले पक्राउ गरेको हो । १० पुस २०७९ मा फ्लाई दुबईको फ्लाइटनम्बर एफजेट०५८७ नम्बरबाट काठमाडौं आएका चिनियाँ राहदानी बाहक लि हानसोङले २ वटा सुटकेश ल्याएका थिए ।

सुटकेशभित्र ७३ वटा बट्टामा रहेका ७३० थान भेप ल्याएका थिए । उक्त भेपमा भने सुन लुकाएर ल्याइएको थियो । ८ करोड ५५ लाख २८ हजार ३७४ रुपैयाँ बराबरको सुन ल्याइएको थियो । उक्त सुन भन्सारका नासु रेवनत खड्का समेतको मिलेमतोमा बेचिएको अनुसन्धानले खुलाएको थियो ।

उक्त सुन छुटाउन भन्दै महराले भन्सारमा दबाब दिएको आरोप लागेको थियो । यो प्रकरणका उनका छोरा राहलु महरा यसअघि पक्राउ परेर कारागार समेत चलान भएका थिए । महरा संलग्न रहेको उक्त सुन तस्करीको फाइलमा अनुसन्धान अघि बढाउँदै उनीसँग केही दिन अघि बयान लिइएको थियो ।

त्रिभुवन विमानस्थलबाट भेपमार्फत सुन भित्र्याउन संलग्न चिनियाँ नागरिक लुई होनसोङ र दाओनिज वाङसँग उपाध्यक्ष महरा र उनका छोरा राहुलको निरन्तर संवाद भएको कल रेकर्डले देखाएको थियो । यसअघि नै अनुसन्धानको दायरामा तानिएका पूर्व सभामुख महराविरुद्ध सत्ता र शक्तिको आडमा अनुसन्धान फाइल रोकिएको थियो ।

 

हाम्रो ‘म्याण्डेड’ चुनाव गराउने हो, फागुन २१ गते निर्वाचन हुन्छ : मन्त्री खरेल

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले प्राप्त जिम्मेवारीअनुसार आगामी फागुन २१ गते निर्वाचन गराउने प्रतिबद्धतासहित सरकार अघि बढेको बताएका छन् । नेपाल पत्रकार महासंघले आज आयोजना गरेको स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै सञ्चारमन्त्री खरेलले फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन गराउने ‘म्याण्डेट’ रहेकाले सोहीअनुसार निर्वाचन गराउनेतर्फ सरकार केन्द्रित भएको स्पष्ट गरे ।

सरकारको प्रमुख प्राथमिकता भनेको तोकिएको मितिमा व्यापक जनसहभागितासहित स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण ढङ्गबाट निर्वाचन गराउने हो भन्दै उनले निर्वाचन प्रक्रियामा सहभागी हुन सम्पूर्ण राजनीतिक पार्टीलगायत सम्बद्धपक्षसँग अनुरोध गरे । यसैगरी, मन्त्री खरेलले फागुन २१ गते निर्वाचन गराउने सन्दर्भमा निर्वाचन आयोगले ‘क्यालेण्डर’ नै तयार गरिसकेको अवस्थामा आवश्यक वातावरण तयारीका लागि नेपाल पत्रकार महासंघका तर्फबाट सहयोग प्राप्त हुने विश्वास व्यक्त गरे ।

उनले फरक प्रसङ्ग उल्लेख गर्दै सुरक्षाकर्मीलाई राज्यले परिचालन गर्ने भएकाले एकाध घटना घट्दैमा सुरक्षाकर्मीको मनोबल नगिर्ने जिकिर गरे । ‘सुरक्षाकर्मीलाई राज्यले परिचालन गर्छ, एकाध घटनाले उहाँहरुको मनोबल गिर्दैन र हामीले गिर्ने वातावरण पनि सिर्जना गर्नु हुँदैन’, उनले भने । नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्माले फागुन २१ गतेको निर्वाचनका लागि पत्रकार महासंघले आवश्यक सहयोगसहित सकारात्मक भूमिका निर्वाह गर्ने विश्वास दिलाइन् । उनले भनिन्, ‘पत्रकार महासंघ सरकारसँग सहकार्य गरेर काम गर्न इच्छुक छ । निर्वाचन गराउनमा पत्रकारले गर्नुपर्ने सहयोग र भूमिका सकारात्मक हुने विश्वास दिलाउन चाहन्छु ।’

 

 

‘टीओबी’ सदस्य पेस्तोलसहित जेनजी आन्दोलनमा पुगेका हुन् ? प्रहरीले थाल्यो खोजी

काठमाडौं । जेनजी आन्दोलनका क्रममा टिओबी (तिब्बतीयन ओरिजनल ब्लड) लेखेको टिसर्ट लगाएका युवकले पेस्तोल बोकेको तस्बिर अहिले सामाजिक सञ्जालहरुमा छ्यापछ्याप्ती भएको छ । तस्वीरमा देखिएका युवकको प्रहरीले खोजी थालेको छ । केही दिनदेखि टीओबी लेखिएको टिसर्ट लगाएका शंकास्पद व्यक्तिहरू जेनजी आन्दोलनमा घुसपैठ गरेको विषय सामाजिक सञ्जालमा व्यापक भइरहेको थियो ।

यस्ता व्यक्तिहरुले भिडलाई उक्साउन खोजेको देखिने थुप्रै फोटो र भिडिओहरू सार्वजनिक भएका छन् । त्यसमध्ये एक युवकले पेस्तोल नै बोकेको फोटो आएपछि प्रहरी समेत गम्भीर बनेको छ । उक्त फोटो र यससँग सम्वन्धित फुटेजहरु संकलन गरिएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी पवन भट्टराईले जनाएका छन् । ती व्यक्तिको पहिचान गर्ने काम भइरहेको र छिट्टै पक्राउ गरिने उनको भनाइ छ ।

‘उक्त तस्वीरमा देखिए जस्तै ती व्यक्तिले साँच्चै पेस्तोल बोकेका हुन्÷होइनन् यकिन भएको छैन । तस्वीरको आधिकारिकता अहिलेसम्म पुष्टि भएको छैन । यद्यपी यसबारे अनुसन्धान अघि बढाइएको एक प्रहरी अधिकारीले बताएका छन् । तस्वीरमा देखिएको स्थान बिजुलीबजार पुल हुन सक्ने अनुमान गरिएको छ । टीओबी लेखेको टिसर्ट लगाएका युवकले आफ्नो पाइन्टको पछाडि भागमा पेस्तोल घुसारिरहेको र अर्का युवकले नियालिरहेको देखिन्छ । यो तस्वीर सक्कली भएको आँकलन प्रहरीको रहेको छ ।

तस्बिरमा हेर्नूहोस्, असन-इन्द्रचोकमा तिहार बजारको चहलपहल

काठमाडौँ । तिहार आउन एक हप्ता अगाडि नै काठमाडौंको असन र इन्द्रचोक क्षेत्रमा तिहार बजार सुरु भएको छ।

बजारमा अहिले दियो, माला, फूल, लखेटी बत्ती, रङ्गीबिरङ्गी सामग्रीदेखि लिएर मिठाई र पूजा सामग्रीसम्मको चहलपहल देख्न सकिन्छ।

तस्बिरहरु:- 

टस जितेर युएइविरुद्ध पहिला ब्याटिङ गर्दै नेपाल

काठमाडौं । नेपालले आईसीसी विश्व टी–२० क्वालिफायरअन्तर्गत सुपर सिक्सको पहिलो खेलमा यूएईविरुद्ध टस जितेर ब्याटिङ रोजेको छ । युएईविरुद्ध नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् । नेपालले यसअघिकै टोलीलाई यूएईविरुद्ध निरन्तरता दिएको छ ।

यसमा आसिफ शेख, दीपेन्द्र सिंह ऐरी, गुल्सन झा, कुशल भुर्तेल, कुशल मल्ल, ललित राजवंशी, नन्दन यादव, रोहितकुमार पौडेल, सन्दीप लामिछाने, सोमपाल कामी र सन्दीप जोरा समावेश छन् । ओमानको अल अमरात क्रिकेट ग्राउन्ड ओमान क्रिकेट (मिनिस्ट्री टर्फ १) मा खेल हुन लागेको हो ।

बिपी राजमार्ग : ‘ट्रयाक’ खुलाएसँगै मर्मत थालियो

काभ्रेपलाञ्चोक । गत साताको बाढीले क्षतिग्रस्त बिपी राजमार्गको विभिन्न खण्डमा अस्थायी ‘ट्रयाक’ खोलेर सवारी सञ्चालन गरेसँगै थप मर्मत गर्न थालिएको छ । बाढीले एक साता अवरुद्ध गराएको उक्त राजमार्ग औपचारिक रुपमा शनिबार बिहानदेखि खुलाइएको थियो ।
बाढीले क्षतिग्रस्त भएका स्थानमा ‘डाइभर्सन बनाएर सञ्चालनमा ल्याइए पनि साँघुरो तथा अप्ठ्यारो सडकमा मर्मत गरिरहेको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ । हालको मर्मत कार्यले तिहारमा राजमार्गमा यात्रा सहज हुने कार्यालय प्रमुख सिनियर डिभिजनल इञ्जिनियर सुमन योगेशले बताए । उनका अनुसार तीन वटा मेसिनले मर्मत गरिरहेको छ भने अन्य ‘स्टेशन’मा मेसिनलाई ‘स्ट्याण्डबाई’ राखिएको छ । कार्यालय पाँच दिन लगातार बाढीले कटान गरेको तथा बगर बनेको सडक बनाउन खटेको थियो ।
राजमर्गाको क्षतिग्रस्त १९ स्थानमा ‘डाइभर्सन’ बनाएर अवरुद्ध राजमार्ग शनिबारदेखि खुलाइएको हो । शनिबारदेखि सवारीसाधन सञ्चालनमा ल्याउने गरी रातको समयमा करिब दुई दर्जन मेसिनद्वारा कामलाई निरन्तरता दिइएपछि राजमार्ग पूर्ण रुपमा खुलाउन सम्भव भएको कार्यालयले जनाएको छ । शुक्रबार साँझसम्ममा राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–६ स्थित चौकीडाँडादेखि रोशी गाउँपालिकाको माम्तीसम्म ‘ट्र्याक’ खोली सकेर परीक्षण गरिएको थियो ।
योगेशले राजमार्गको चौकीडाँडा, कटुन्जे–घुमाउने, चारसयबेँसी, गिम्दीबेँसी, नार्के, चिउरीबास, बोक्सीकुना, कालढुङ्गा, डालाबेंसी तथा पिप्लेको चार स्थानलगायत माम्तीको दुई स्थानमा डाइभर्सन निर्माण सम्पन्न गरी पूर्ण रुपमा यातायात सञ्चालन गरिएको बताए । राजमार्गको काभ्रेपलाञ्चोकको सडकखण्डमा खोला फर्काएर ‘डाइभर्सन’ निर्माण भएको हो । कार्यालयले उक्त क्षेत्रमा सवारी साधन चलाउँदा चालक तथा यात्रुलाई विशेष सावधानी अपनाउनसमेत अपिल गरिरहेको छ ।
कार्यालयले उक्त राजमार्गको काभ्रेपलाञ्चोक खण्डमा १६ र सिन्धुली खण्डमा तीन स्थानमा डाइभर्सन निर्माण सम्पन्न गरी शुक्रबार अपराह्नमा ट्रयाक खुलाएको थियो । रोशी खोलाको बाढीले रोशी क्षेत्रमा करिब चार किलोमिटर सडक कटान गरेको थियो । सोही क्षेत्रमा गत साल असोजको बाढीपहिरोले सडक क्षतिग्रस्त बनाएपछि डाइभर्सन बनाएर अस्थायी रुपमा सडक सञ्चालन हुँदै आएको थियो । पूर्वी नेपाल जोड्ने छोटो दूरीका रुपमा रहेको उक्त राजमार्गबाट दैनिक हजारौँ यातायातका साधन आवतजावत हुने गर्छन् । कार्यालयले क्षतिग्रस्त राजमार्ग स्थायी निर्माणका लागि चार खण्डमा ठेक्काको प्रक्रियामा अघि बढाइरहेको थियो ।

मुलुक अझै पनि ठूलो ‘शून्यता’ मा जान सक्ने जोखिम छ : सञ्चारमन्त्री खरेल

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मुलुक ठूलो शून्यतामा जाने सक्ने जोखिम कायमै रहेको बताएका छन् । मुलुकलाई ट्रयाक भन्दा बाहिर जान नदिन सबै गम्भीर हुनुपर्ने उनले बताएका छन् । आइतबार काठमाडौंको सञ्चारग्रामस्थित नेपाल पत्रकार महासंघको कार्यालय पुगेका मन्त्री खरेलले मुलुकलाई भ्याकुममा जान नदिन निर्वाचन सुनिश्चत गर्ने काममा सरकार लागेको बताए ।

दलहरुसँगको संवादहीनता अन्त्य भएकाले अब २१ फागुनमा तोकिएको निर्वाचन सुनिश्चित बनेको उनको भनाइ छ । सिंगै मुलुक निर्वाचनमा होमिएको भन्दै उनले निर्वाचनलाई निष्पक्ष र भयरहित बनाइने बताए । दुई दिने जेन–जी आन्दोलनपछि गठित अन्तरिम सरकारका मन्त्री खरेलले जेनजी आन्दोलनका क्रममा भएका घटनाको अनुसन्धान गरेर दोषीलाई कारबाही गर्ने विषयमा द्विविधा नराख्न पनि आग्रह गरे । जेनजी आन्दोलनमा भएको घुसपैठ र त्यसक्रममा भएको तोडफोड तथा आगजनीमा दोषी देखिएकालाई कारबाही गर्न सरकार प्रतिवद्ध रहेको उनको भनाइ छ ।

मन्त्री खरेलले वर्तमान सरकारको ६ महिनाको अवधिमा जनतालाई अनुभूत हुने गरी सुशासन कायम गर्ने र भ्रष्टाचार नियन्त्रणको सुरुवाती पहल हुने जिकिर गरे । उनले अनलाइन सञ्चार माध्यम सूचना विभागबाट दर्ता तथा नवीकरणको काम सम्भवतः तिहार अघि नै सुरु हुने जानकारी दिए । मन्त्री खरेलले पत्रकारहरुलाई सामाजिक सुरक्षाको दायरामा ल्याउन पनि मन्त्रालयले आवश्यक गृहकार्य गरिरहेको बताए ।

मुटु र दाँतको दुस्मन चिनी

काठमाडौं । चिनी खान जति गुलियो छ, उति नै स्वास्थ्यका लागि पनि हानिकारक छ । चिनी हाम्रो भान्छादेखि पूजाआजामा पनि प्रयोग हुने गर्दछ । भनिन्छ, चिनी धेरै खायो भने तीतो हुन्छ । स्वादमा मात्र होइन, यसले हाम्रो स्वास्थ्यमा पार्ने असरका दृष्टिले पनि उपयुक्त छैन । चिनीको प्रयोग धेरै वर्षअघिदेखि हुँदै आएको छ ।

करिब २५सय वर्षअघि उखुबाट चिनी बनाउने प्रक्रिया भारतमा सुरु भयो र विस्तारै चीन, पश्चिम अफ्रिका, ब्राजिल हुँदै विश्वभर फैलियो । प्रारम्भमा चिनी उत्पादन गर्नु खर्चिलो हुने भएकाले धेरै महँगो पथ्र्यो र धनी मानिसहरूले मात्र चिनी प्रयोग गर्न सक्थे । राजा–महाराजालाई अन्य सुन र चाँदीका गहनाजस्तै गरेर चिनीलाई उपहारस्वरुप दिइने चलन थियो । जब संसारका विभिन्न ठाउँमा चिनीको उत्पादन हुन थाल्यो, तब आम मानिसले पनि यसको प्रयोग गर्न थाले ।

सन् १८८५ बाट चिनीको प्रयोग कोकाकोलामार्फत सुरु भयो । त्योबेला कोकलाई ‘ब्रेन टनिक’ अर्थात् मस्तिष्क तीक्ष्ण पार्ने वस्तु भनेर गलत प्रचार गरिएको थियो । चिनी बनाउने कम्पनीले मानव शरीरमा चाहिने ऊर्जा ग्लुकोजले दिन्छ र चिनी खाएपछि शरीरमा ग्लुकोज पुग्छ । शरीरमा स्फूर्ति आउँछ । अर्थात् जति खायो उति राम्रो भनेर प्रचारप्रसार गरे । तर जिब्रोको स्वादका लागि सेवन गरेको चिनी हानिकारक छ, यसले क्षणिक उत्तेजना दिए पनि दीर्घकालीन रुपमा भने मानव स्वास्थ्यमा असर पुर्‍याउँछ ।

सन् १९२८ मा ‘चिनी स्वस्थकर’ भनेर विज्ञापन नै सुरु भयो । गर्मीको समय सर्बतमा जाडोमा पेयपदार्थमा चिनी हालेर खाँदा रोग–प्रतिरोधात्मक शक्ति बढ्छ भनेर भ्रामक प्रचार गरियो । यस्तो विज्ञापनबाट प्रेरित भएर अमेरिकामा चिनीको प्रयोग बढ्न थाल्यो । विस्तारै त्यहाँ मोटोपन पनि बढ्न थाल्यो । चिनी कम्पनीहरुले अनुसन्धानकर्ता र स्वास्थ्यकर्मीलाई पैसाले गोजी भरिदिई ‘चिनी स्वस्थकर छ’ भनेर अनुसन्धानको निचोड निकाल्न लगाए र धेरै प्रचारप्रसार गरे । तर जनस्वास्थ्य विज्ञहरुले चिनीको खराबीको बारेमा बोल्न थाले । जब २०औं शताब्दीमा अमेरिकामा मधुमेह, फ्याटी लिभर, कब्जियत, अल्सर, ग्यास्ट्राइटिस र मोटोपन बढ्न थाल्यो र अस्पतालमा अनेक समस्या लिएर मानिसहरु आउन थाले, तब मात्र जनस्वास्थ्य विज्ञले भनेको कुुरामा विश्व समुदायले विश्वास गर्न थाले ।

चिनीले मानिसको मोटोपन बढाउने, मधुमेह गराउने र मुटुरोग लाग्ने भएकाले यसको प्रयोग कम गर्न विश्व स्वास्थ्य सङ्गठनले बोल्न आवश्यक छ’ भनेर केही जनस्वास्थ्य विज्ञहरूले सन् २००२ मा सुझाव दिएका थिए । त्यसपछि सो सङ्गठनले ‘हामीले खानाबाट प्रत्येक दिन प्राप्त गर्नेे क्यालोरी (शक्ति) मध्ये १० प्रतिशतभन्दा बढी चिनीबाट लिनु हुँदैन’ भन्यो । अर्थात् हामीले लिने शक्तिको स्रोतमध्ये चिनी १० प्रतिशतभन्दा कम नै हुनुपर्छ र ९० प्रतिशत अन्य खानाको स्रोतबाट प्राप्त गर्नुपर्छ ।

यो कुरा प्रकाशमा आएपछि विशेष गरी अमेरिकाका चिनी उत्पादन गर्ने ठूला कम्पनीहरूले ‘विश्व स्वास्थ्य सङ्गठनले जनतामा भ्रम फैलायो’ भनेर आक्रोश पोखे । उनीहरूले विश्व स्वास्थ्य सङ्गठनलाई दिने सहयोग कटौती गर्ने निर्णय पनि गरे । साथै ती कम्पनीले अमेरिकाको सिनेटमा प्रभाव पारेर ‘चिनीले खराबी गर्ने कुरा प्रचार गरेमा विश्व स्वास्थ्य सङ्गठनलाई अमेरिकाबाट दिँदै आएको आर्थिक सहयोग रोकिदिने धम्की पनि दिन लगाए । चिनी उत्पादक कम्पनीहरूले भनेका थिए, ‘हामीले खानाबाट प्राप्त गर्ने दैनिक क्यालोरीमध्ये २५ प्रतिशतसम्म चिनीबाट प्राप्त गर्दा पनि हुन्छ ।’ तर जनस्वास्थ्य विज्ञहरूले यो कुरालाई अस्वीकार गरे र धेरै चिनीको उपभोगबाट जनस्वास्थ्यमा हुने हानिका बारेमा आम जनतालाई निरन्तर जागरूक गर्न प्रयत्न गरे ।

चिनीले मानिसको स्वास्थ्यमा कसरी खराबी गर्छ भन्ने विषयमा सन् १९७२ मा नै डा जोन युड्किनले ‘विषालु सेतो चिनी’ नामक अनुसन्धानात्मक पुस्तक प्रकाशित गरेका थिए । तर उनको यो अनुसन्धान र अनुभवलाई अमेरिकाका चिनी र चिनीजन्य गुलियो पदार्थ उत्पादन गर्ने कम्पनीले हावामा उडाउने कार्य गरेका थिए । साथै अपवाह फैलाउने कार्य हो भनेर विरोध पनि जनाएका थिए । तर हाम्रो भान्सामा दिनहुँ प्रयोग हुने यस्तो सेतो चिनी एक प्रकारकोे मन्द विष नै हो ।

कतिपय मानिसहरु ‘सेतो चिनी’ राम्रो होइन तर ‘खैरो चिनी’ चाहिँ स्वस्थकर हो भन्ने ठान्दछन् । वास्तवमा यो कुरा बिल्कुलै सही होइन । प्रारम्भमा चिनीका बारेमा लेख्ने अनुसन्धानकर्ताले मुसामा चिनीको विभिन्न तरिकाले प्रयोग गरेर अध्ययन गरेका थिए । सो शोध अध्ययनअनुसार चिनी प्रयोग गरिएका मुसाहरुमा मुटुरोग, बिर्सने रोग र बाथको रोग बढेको पाइयो । चिनीले मानिसमा पनि विभिन्न किसिमका रोग उत्पन्न गर्ने कुरा अनुभव र अनुसन्धानले सिद्ध गरिसकेको छ ।

परम्परागत भोजनशैलीमा परिवर्तन भएकाले चिनीको उपभोग धेरै भएको पाइन्छ । हामी बिहान उठेदेखि बेलुकासम्म अनेक तरिकाले चिनी उपभोग गर्छौं । उदाहरणको लागि चिया, दूध, केक, कुल्फी, विस्कुट, पाउरोटी आदिमा चिनी प्रशस्त प्रयोग भएको पाइछ । चाडबाड र देवीदेवताका प्रसादको रुपमा त झन् चिनीको मात्रा धेरै प्रयोग हुन्छ । केटाकेटीको बिहान र दिउँसोको खाजामा पनि धेरै चिनीको प्रयोग हुने भएकाले नेपाली केटाकेटीमा दाँतसम्बन्धी समस्या उच्च छ । उच्च रक्तचाप, मोटोपन, मधुमेहजस्ता समस्याहरुको एउटा प्रमुख कारकको रुपमा चिनी रहेको प्रमाणित भएको धेरै भइसकेको छ तर पनि हामी यसतर्फ त्यति सचेत भइरहेका छैनौँ ।

विश्व स्वास्थ्य सङ्गठनले सन् २०१४ मा ‘वयष्कलाई दैनिक पाँच चम्चाभन्दा बढी र बालबालिकालाई तीन चम्चाभन्दा बढी चिनी खान नदिनु भने पनि अहिले हाम्रो भोजनमा त्योभन्दा निकै बढी मात्रामा चिनी प्रयोग भएको पाइन्छ । सस, बिस्कुट, चाउचाउ आदि गुलियो जस्तो नलाग्ने खानामा पनि चिनी मिसाइएको हुन्छ ।

त्यस्तै गरी बट्टाबन्द र प्याकेटबन्द गरेको मासु, सुप, स्वस्थकर नास्ता भनिएका बट्टाका बजारे भोजन (जस्तो– मुसेली, कर्नफ्लोर) मा पनि चिनी मिसिएको हुन्छ । तर प्रायः यो कुरा हामी वास्ता नै गर्दैनौँ, चिनी भएको थाहा नै नपाई हामी त्यसको उपभोग गरिरहेका हुन्छौँ । त्यसैगरी, हर्लिक्स, बोर्नभिटा, भिभा आदि पेयपदार्थ, लस्सी, कोक, फन्टा, पेप्सी, डिउ, मेरिन्डा, पु्रmटी, एपी, सर्बत, लस्सी आदि चिसा पेय पदार्थहरुमा अधिक मात्रामा चिनी मिश्रण हुन्छ ।

चिनी भएको वस्तु खाएपछि यसले दाँतको इनामेल गालेर दाँतमा प्वाल पार्छ । बच्चाको आहारा जस्तो–बोतलबन्द दूध तथा पेय पदार्थहरुमा मिसाइएको गुलियो पदार्थले उनीहरुको कलिलो दाँतमा गम्भीर असर गरेको हुन्छ । तर बच्चाका अभिभावक यस्ता खानामा भएको चिनीले बच्चालाई नोक्सानी गर्छ भन्ने बारेमा अनभिज्ञ छन् । नेपालको सन्दर्भमा कुरा गर्दा मिठाईहरु, गुँदपाक, पुष्टकारी, केक, आइसक्रिम, सेल, मालपुवा आदिमा पनि ठूलो मात्रामा चिनी मिसाइएको हुन्छ र त्यसलाई हामीले अन्धाधुन्ध रुपमा प्रयोग गरिरहेका छौँ ।

एक लिटर हलुका पेयमा औसत १४ चम्चा चिनी राखिएको हुन्छ । यसबारेमा हामीले कहिल्यै विचार गरेका हुँदैनौँ । तर खाँदा त्यति गुलियो नलागे पनि यसमा भएको अत्यधिक चिनीले हाम्रो स्वास्थमा प्रतिकूल असर पारिरहेको हुन्छ । अङ्ग्रेजीमा सुगर भनिने चिनीका माल्टोज, फुल्टोज, ल्याक्टोज आदि अनेक रुपाकारहरु छन् । कतिपय फलफूलको बट्टामा ‘सुगर फ्रि’ भनेर लेखिएको हुन्छ । तर माल्टोज, फुल्टोज, सुक्रोज आदि स्वरुपमा चिनी रहेको हुन्छ र हामी नजानेर यसको उपभोग गरिरहेका हुन्छौँ ।

मकैबाट पनि चिनी बनाइन्छ । विशेषगरी चकलेट, कुकिज बिस्कुट बनाउँदा यसको प्रयोग गरिन्छ । यस्तो प्रकारको गुलियो पदार्थ र पेयले कोलेस्टेरोल (खराब बोसो) को मात्रा बढाउँछ । खराब बोसो बढेपछि यो मुटुका धमनीका भित्ताहरुमा लेउजस्तै टाँसिन पुग्दछ । यसकारण धमनीहरु साँघुुरिने वा कडा हुने जटिलता उत्पन्न हुन थाल्छ । यसो हुने बित्तिकै मुटुका मांसपेशीहरुमा धमनीबाट रगत, अक्सिजन र पोषक तत्व आवश्यकमात्रामा पुग्न सक्दैन । अनि मुटुका मांसपेशीहरु मर्दछन् र हृदयाघात निम्तिन्छ ।

त्यसैगरी शरीरलाई आवश्यक नपरेको चिनी चिल्लो पदार्थ या बोसोमा परिणत हुन्छ । यसैकारण मुटु तथा रक्तनलीमा अवरोध पुग्छ । वरिष्ठ मुटुरोग विशेषज्ञ डा अवनिभुषण उपाध्यायका अनुसार गुलियो ज्यादै खाँदा डायविटिजको जोखिम बढ्छ । चिनी, सख्खर हालेका वस्तुबाहेक सुगर फ्रि कोक, जुस, मह आदि जुनसुकै रुपमा खाए पनि चिनी चिनी (सुगर वा गुलियो वस्तु) नै हो । जसरी खाँदा पनि यदि चिनीको मात्रा बढी छ भने त्यसले असर गर्छ । ‘सुगर फ्री’ भनिएको वस्तु वास्तवमा ‘सुगर फ्री’ हुँदैन । स्याक्रिन हालिएको चिया या अन्य पेयपदार्थ स्वास्थ्यका लागि झनै भयानक हुन्छन् । यसले मुटुलाई बिगार्छ ।
डा– अरुणा उप्रेती–लेखक जनस्वास्थ्य तथा पोषणविद् हुन् ।

 

वायु सेवा निगमको ‘बेथिति’ छानबिनको माग गर्दै जेनजीको पाँच बुँदे ज्ञापनपत्र

काठमाडौं । नेपाल वायु सेवा निगम (नेवानि) मा भएको बेथितिविरुद्ध जेनजी टिमले नेपाल नागरिक उड्डयन प्राधिकरणदेखि अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्मलाई पाँच बुँदे ज्ञापनपत्र बुझाएको छ । अर्जुन शाही, मिराज ढुंगानालगायतको जेनजी टोलीले नेपाल नागरिक उड्डयन प्राधिकरण प्रदिप अधिकारी प्रदिप अधिकारी, नेपाल वायुसेवा निगम युवराज अधिकारी, महान्यायाधिवक्ता, महालेखा परीक्षक, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त तथा नेपाल सरकारका सम्बन्धित निकायहरूमा नेवानीमा भएको बेथिति अन्त्य गर्न माग गर्दै ज्ञापनपत्र बुझाएका हुन् ।

जेनजी टोलीले नेवानिको भ्रष्टाचार तथा घोटलाहरुको छानबिन गरी पारदर्शी र जनहितमुखी सेवा प्रवाहको लागि आवश्यक कदम चाल्न माग गरेका छन् । उनीहरुले वाइडवडी र लाउडा एयर घोटालासहित सवै भ्रष्टाचार प्रकरणहरूको स्वतन्त्र छानविन आयोग गठन गरी ३० दिनभित्र प्रतिवेदन सार्वजनिक गर्नुपर्ने, २०४७ सालपछि नियुक्त सबै कर्मचारी र पदाधिकारीहरूको सम्पत्ति विवरण २१ दिनभित्र सार्वजनिक गरिनुपर्ने माग गरेका छन् ।

एनएसीका सबै निर्णयहरूमा जनताको पहुँच हुने पारदर्शी प्रणाली लागू गरिनु पर्ने, दुर्गम क्षेत्रका जनताका लागि सस्तो र सहज हवाई पहुँच सुनिश्चित गरिनुपर्ने र माथिका सुधार र कानुनी प्रस्तावहरु तत्काल कार्यान्वयन हुनु पर्ने नभए सबैले स्वेछिक राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने माग गरेका छन् ।

टीओबीको स्पष्टीकरण : हामी नेपाली नै हौं, आगजनीमा संलग्न छैनौं

काठमाडौं । आफूलाई विदेशी समूह भन्दै जेनजी आन्दोलनका क्रममा भएका तोडफोड र आगजनीमा संलग्न रहेको आरोप लागेपछि टीओबी अर्थात् ‘द ओरिजिनल ब्रदर्स’ ले खण्डन गरेको छ । समूहका सल्लाहकार हाकिम गुरुङ उर्फ सुरेन्द्र गुरुङले आज (आइतबार) फेसबुकमा ‘टीओबी बाइकर्स ग्रुपको स्पष्टीकरण र अपिल’ जारी गरेका हुन् । उनले आफूहरू कुनै विदेशी नभई नेपालकै विविध जाति, समुदाय र पृष्ठभूमिका युवा सदस्यको समावेशी समूह भएको दाबी गरेका छन् ।

जसको उद्देश्य देशप्रति माया देखाउने, भ्रष्टाचार र अन्य अनियमितताविरुद्ध सचेतना जगाउने तथा शान्तिपूर्ण र कानुनी सीमाभित्र रहेर जनआवाज उठाउने भएको उनले उल्लेख गरेका छन् । यसै क्रममा गत भदौ २३ गते भएको जेनजीको शान्तिपूर्ण आन्दोलनमा सहभागी भएको तर भोलिपल्ट २४ गतेको तोडफोड र आगजनीमा आफ्नो समूह संलग्न नरहेको दाबी गुरुङले गरेका छन् ।

‘भाद्र २३ मा भएको आन्दोलनमा हामी शान्तिपूर्ण रूपमा सहभागी थियौं । भाद्र २४ मा आगलागी र तोडफोड भएको भन्ने समाचार फैलिएको छ । यसबारे हामी स्पष्ट पार्न चाहन्छौँ–उक्त घटनास्थलमा हाम्रा कुनै पनि सदस्यहरू उपस्थित थिएनन् र हाम्रो समूहले सो किसिमको हिंसात्मक वा गैरकानुनी गतिविधिमा संलग्न भएको छैन । हाम्रो समूहमा एउटा साथी छन्, जसको पूर्वज तिब्बती हुन् र जो आफ्नो संस्कृतिलाई गर्वका साथ प्रस्तुत गर्नु हुन्छ । उनलाई जातीय वृत्तान्त वा भेदभावको आधारमा लक्षित गरिनु निन्दनीय छ ।’

स्पष्टीकरणमा भनिएको छ, ‘उनी पनि पूर्ण नेपाली नागरिक हुन् र उनी वा हाम्रा अरू साथीहरूले देशको हानि गर्ने कुनै काम गरेको छैन । हाम्रो समूहमा धेरै जेनजी उमेरका युवा छन्, जो परिवर्तन, पारदर्शिता र जिम्मेवारीको पक्षमा आवाज उठाउँछन् । ती युवाहरूलाई अपमान र घरेलु राजनीतिक रंगहरूमा फसाएर मेटाउन खोज्नु गलत हो । हामी उहाँहरूको आवाजको सम्मान गर्दछौँ र तिनले उठाएका वैध चिन्ताहरूलाई ध्यानपूर्वक सुन्नु सबैको कर्तव्य हो ।’

उनले लेखेका छन्, ‘हामी सबै सञ्चारमाध्यम र सर्वसाधारणसँग विनम्र अनुरोध गर्दछौं कि समाचार वा सामाजिक सञ्जालमा कुनै पनि आरोप ओहोरदोहोर गर्नुअघि तथ्यको पुष्टि गरियोस् र प्रमाण प्रस्तुत गरियोस् । सत्य उजागर गर्न हामी कसैसँग पनि खुला संवाद र सहकार्य गर्न तयार छौं । महत्वपूर्ण सूचना : यदि कसैसँग तानाशाही, तोडफोड वा आगजनी गर्ने हाम्रो समूह वा हाम्रा सदस्यहरूमाथि ठोस प्रमाण (प्रमाणिक भिडिओ, तस्बिर, कागजात वा कानुनी दाबी) छ भने हामी ती प्रमाणको सामना गर्न र आवश्यक परे कानुनअनुसार सजाय भोग्न पूर्ण रूपमा तयार छौं । सत्यसिद्ध भएपछि कानुनले जे माग्छ, हाम्रा लागि स्वीकार्य हुनेछ । तर अनावश्यक आरोप, असत्य प्रचार र जातीयद्वेषजन्य टिप्पणीबाट हामी आफ्नो सुरक्षा र बौद्धिक सम्मानको लागि कानुनी तथा सामाजिक उपायहरू लिन बाध्य हुनेछौं । हामी फेरि दोहोर्‍याएर भन्छौं–टीओबी समूह शान्तिपूर्ण, जिम्मेवार र समावेशी छ । हाम्रो लक्ष्य मात्र देशको भलो, पारदर्शिता र समाजिक न्याय हो । कृपया अफवाह नफैलाउनु होला र तथ्यमा आधारित जानकारी लिनुहोस् ।’ र्‍यापर तथा कलाकार गुरुङ हाकिम इन्टरटेनमेन्ट नामक म्युजिक कम्पनीका सञ्चालक पनि हुन् । यसैबीच ‘हामी नेपाल’ का संयोजक सुदन गुरुङले भने उक्त समूहलाई आफूले आन्दोलनमा नबोलाएको बताएका छन् ।

 

 

 

जेनजी आन्दोलनको आगामी मोड : एकता कि अन्योलतर्फ ?

काठमाडौं । भदौ २३ र २४ गते नेपालका सडकमा उत्रिएको ‘जेनरेशन जस्टिस (जेनजी)’ आन्दोलनले तत्कालीन ओली सरकारलाई ३६ घण्टामै घुँडा टेकाउन बाध्य पारेर विश्वमै दुर्लभ राजनीतिक घटनाको उदाहरण बन्यो । तर एक महिनापछि, यही ऐतिहासिक आन्दोलन आज आफ्नै छायाँमा अल्मलिएको देखिन्छ—आरोप, गुटबन्दी, परिचालन र रहस्यका कुहिरोभित्र हराइरहेको छ ।

कहाँबाट सुरु भयो ? कहाँ पुग्यो ?
सामाजिक सञ्जालमाथिको प्रतिबन्ध, भ्रष्टाचारविरुद्धको आक्रोश र सरकारको अकर्मण्यताविरुद्ध आवाज बनेर उठेको जेनजी आन्दोलनले पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार अपदस्त गरायो । आन्दोलनको दबाबमा बनेको पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार पनि आज प्रश्नहरूको घेरामा छ । दावी गरिएको थियो, ‘यो जनताको आवाज हो’, तर आज त्यही जनताले प्रश्न गरिरहेका छन्, ‘यी नेताहरू को हुन् ? प्रतिनिधि कसरी बने ? र के साँच्चै यिनले हाम्रो चाहना बुझे ?’

‘असली’ र ‘नक्कली’ जेनजी : आन्दोलनभित्रको आन्दोलन
आजको वास्तविकता के हो भने, जेनजी नाममा विभिन्न गुटहरू देखा परेका छन् ।
–सुदन गुरुङ
–मीराज ढुंगाना
–प्रवेश दाहाल
यी पात्रहरू कहिले प्रधानमन्त्रीसँग त कहिले राष्ट्रपतिसँग वार्तामा छन् । तर उनीहरूको ‘अधिकार’ प्रति प्रश्न उठिरहेको छ, ‘यी असली प्रतिनिधि हुन् कि स्वघोषित अगुवा ?’ त्यहींबेला, आफैंलाई ‘असली जेनजी’ बताउने अन्य समूहहरू राष्ट्रपतिको निवासअगाडि नाराबाजी गरिरहेका छन् ।

सडकको आगोभित्र ‘टीओबी’ को सन्दिग्ध छायाँ
पत्रकार दिवाकर शाहले आफ्नो च्यानल ‘एचटीपी खबर’ मार्फत ल्याएको रिपोर्टले आन्दोलनमा देखिएको अर्को रहस्य उजागर गर्‍यो–२३-२४ गतेको आन्दोलनमा हिंसा र आगजनी गर्नेहरू टीओबी (TOB) लेखिएको कालो टिसर्टमा थिए र उनीहरू सम्भावित बाह्यबाट परिचालित समूह हुन सक्ने शंका उनले सार्वजनिक गरे ।

यसलाई नेकपा एमाले निकट नेता समिक बडालले समर्थन गर्दै जेनजीका चर्चित पात्र सुदन गुरुङको टीओबीसँग सम्बन्ध रहेको दाबी गरेका छन् । बडालले फेसबुकमार्फत लेखे, ‘तपाईंको हातको ट्याटु र पत्रकार दिवाकर शाहले सार्वजनिक गरेको लोगोले त्यो बोलीको असलियत प्रष्ट देखाएको छ… भ्रम सिर्जना गरेर युवाको भावनामाथि खेलवाँड नगर्नुहोस् ।’

टीओबी टिसर्टबारे सुदन गुरुङको प्रश्न : त्यो भिडिओमा म कहाँ छु ?
सरकारसँगका वार्तामा जेनजीका तर्फबाट सक्रिय ‘हामी नेपाल’ संस्थाका संयोजक सुदन गुरुङले आफ्नो समूहलाई विदेशी शक्ति र ‘फ्रि तिब्बत’ आन्दोलनसँग जोडेर बदनाम गर्न खोजिएको भन्दै यस्तो भ्रममा नपर्न आग्रह गरेका छन् । हालैको जेनजी आन्दोलनका क्रममा केही युवाले लगाएको कालो टिसर्टमा ‘टीओबी’ (TOB) लेखिएको तस्बिर-भिडिओ सामाजिक सञ्जालमा भाइरल गराइएको छ । टीओबीको पूर्ण रूप द ओरिजिनिल ब्रदर्स (The Original Brothers) हो । यो बाइकर्स ग्रुप हो । उनीहरूले विभिन्न स्थानमा दान तथा सामाजिक काम गर्ने गरेका छन् । सुरुमा उनीहरूको नाम ‘टिबेटियन ओरिजिनल ब्लड’ थियो ।

त्यो ‘टीओबी’ समूहमा आफू र आफ्नो संस्थालाई जोडेर समाजमा भ्रम फैलाउन खोजिएको भन्दै गुरुङले भिडिओ सन्देश जारी गरी स्पष्टीकरण दिएका छन् । ‘अब चाहिँ अत्ति नै भयो । यो खुट्टा तान्ने प्रवृत्ति हाम्रो नेपाली समाजबाट कहिले हट्ने भएन । अहिले फेरि नयाँ ट्रेन्ड आएको छ । साइबर सेनाको टीओबीसँग हामीलाई बदनाम गर्न । ..फेरि मान्छेहरूले पत्याइरहेका छन् । ए यस्तो रे, उस्तो रे । हामी कतिसँग लड्ने ? नेतासँग लड्ने कि भ्रष्टाचारविरुद्ध लड्ने कि ? यो यो फेक न्युजविरुद्ध लड्ने कि ? हाम्रो टिम मिलाउन लड्ने कि ? कति कुरामा चाहिँ हामी लड्नु पर्ने ?

उनले भनेका छन्, ‘मलाई देखाउनु पर्‍यो कि त्यो भिडिओमा मचाहिँ कहाँ छु ? मैले बोलाएको हो भने त्यो प्रुफ कहाँ छ ?..त्यो भिडिओमा त देखिँदैन त ? अनि यसलाई हामीले बोलाएको भनेर साइबर सेनाको नयाँ स्टाइल ! हामी फेरि पत्याइ दिने ! हामी पढे लेखेका छैनौं ? सत्य र असत्य, झुट हामी पहिचान गर्न सक्दैनौं ? यसो बुझ्न सकिन्छ नि हैन ? यसमा त यो मान्छे छैन, किन यिनीहरूले यस्तो गरेको होला ? भनेर बुझ्न त सक्छौं नि, हामी त पढे लेखेका मान्छे छौं।’

एनजीओ नियन्त्रित सरकार ? उठेका छन् गम्भीर प्रश्न
जेनजीको आन्दोलनबाट बनेको अन्तरिम सरकारप्रति पनि टिप्पणी र आलोचना सुरु भएको छ । ‘हामी नेपाल’ नामक संस्थाबाट सक्रिय सुदन गुरुङमाथि तिब्बतीयन फण्डमार्फत् परिचालित भएको आरोप समेत लागिरहेको छ । यिनै कारण अहिले सर्वसाधारणदेखि विश्लेषकहरूसम्म ‘सरकार कहीं एनजीओको इशारामा त चलिरहेको छैन ?’ भन्ने प्रश्न गरिरहेका छन् ।

७४ जनाको बलिदानीको मूल्य : आन्दोलनको उद्देश्य बिर्सिने खतरा ?
जेनजी आन्दोलनले ७४ जना युवाको ज्यान लियो । उनीहरूको बलिदानीले सरकार परिवर्तन गर्‍यो, तर आज पीडित परिवार न्याय खोज्दैछन्—माग सुनिएको छैन । यो आन्दोलनले भ्रष्टाचार, दमन र सञ्जाल नियन्त्रणविरुद्ध आवाज उठाएको थियो, तर अहिले शक्ति र पहिचानको लडाइँमा लिप्त भएको देखिँदैछ । नेताहरू एक आपसमा ‘तँ नक्कली, म असली’ भन्न थालेका छन् ।

विश्वमै प्रशंसित आन्दोलन, तर भित्रैदेखि भाँचिएको संरचना
जेनजी आन्दोलनले विश्वभर चर्चा बटुल्यो । तर अहिले नेपालमै यसको नैतिक अधिकार, नेतृत्वको पारदर्शिता र उद्देश्यकै बारेमा गम्भीर विवाद छ । ‘यो आन्दोलनले देशलाई उज्यालो देखायो कि अँध्यारोमा धकेल्यो ?’, यो प्रश्न अहिले हरेक नेपालीको मनमा उठिरहेको छ ।

जेनजीको भविष्य कुन मोडमा छ ?
एक यथार्थ के हो—जनताको भावना, आक्रोश र बलिदानी साँचो हो । तर नेतृत्व अस्पष्ट हुँदा, उद्देश्य कमजोर हुँदा, र गुटबन्दी हावी हुँदा त्यो आन्दोलन संघर्ष होइन, षड्यन्त्रमा बदलिन सक्छ ।
अब पनि समय छ —
–नेतृत्व पारदर्शी बनोस् ।
–पीडितलाई न्याय मिलोस् ।
– ‘जेनजी’ नाममा शक्ति प्रदर्शन होइन, सुधार होस् ।
नत्र, इतिहासले लेख्नेछ–नेपालमा एउटा युगान्तकारी आन्दोलन भयो… तर त्यो आन्दोलन आफैले आफैलाई हरायो ।

 

क्यालेन्डरमा नभई मैदानमा फुटबल चाहियो भन्दै एन्फा मुख्यालयमा धर्ना

काठमाडौं । नेपालको फुटबल खेललाई चलायमान बनाउन माग गर्दै नेपाली फुटबल समर्थकहरुले अखिल नेपाल फुटबल संघ (एन्फा) को एन्फा कम्प्लेक्स सातदोबाटोमा प्रदर्शन गरेका छन् । लामो समयदेखि ए डिभिजन लिग आयोजना गर्न नसकेको र एन्फालाई पारदर्शी ढंगले अघि बढाउन नसकेको भन्दै उनीहरुले आइतबार प्रदर्शन गरेका हुन् । प्रदर्शनमा सहभागीहरुले विश्वकप ४ वर्षमा आउँछ, ए डिभिजन कहिले आउँछ ?, फुटबल क्यालेण्डरमा होइन, मैदानमा चाहियो, घरेलु लिग चलाउ, फुटबल बचाउँ लगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

एन्फाले प्रभावकारी काम गर्न नसकेकाले नेपाली फुटबल चलायमान हुन नसकेकाले झकझकाउन प्रदर्शन गरिएको फुटबल समर्थक अनुप मल्लले बताए । फिफा र नेपाल सरकारबाट प्राप्त हुने बजेट समेत पारदर्शी ढंगले सार्वजनिक गर्नुपर्ने उनको भनाइ छ ।

ए डिभिजन लिग आयोजना गर्न नसकेको ८५४ दिन हुँदा पनि एन्फा गम्भीर नभएको उनीहरुको आरोप छ । यसैबीच एन्फा र ए डिभिजन फुटबल क्लबबीच आइतबार हुने भनिएको बैठक समेत स्थगित भएको छ । आवश्यक तयारी नपुगेको भन्दै बैठक स्थगीत गरिएको एन्फाले जनाएको छ ।

‘फेक न्युज’ र सञ्चारमाध्यमका सामाजिक सञ्जाल अनुगमन गर्न सञ्चारमन्त्रीको आग्रह

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अधिकार सम्पन्न र स्वायत्त निकायका रुपमा आम जनतालाई अनुभूति दिलाउने गरी काम गर्न प्रेस काउन्सिल नेपालका पदाधिकारीलाई सुझाव दिएका छन् । प्रेस काउन्सिल नेपालद्वारा आज मन्त्री खरेलको सम्मानमा आयोजित स्वागत कार्यक्रममा उनले आमनिर्वाचन आउँदै गरेको तथा राजनीतिक दलका गतिविधि बढिरहेका बेला काउन्सिललाई परिणाममुखी काम गर्न आग्रह गरे ।

उनले नागरिकस्तरबाट सञ्चालन भएका व्यक्तिगत सामाजिक सञ्जाल राज्यका निकायले अनुगमन र नियमन गरी कारबाहीको दायरामा ल्याउने विषयमा काउन्सिल गम्भीर बन्नुपर्ने बताए । मन्त्री खरेलले मुलुकमा दर्ता भई प्रेस काउन्सिलमा सूचीकृत हुने सञ्चार माध्यमको जिम्मा राज्यले लिनुपर्ने आवश्यकता औंल्याए । प्रेस काउन्सिल आम सञ्चार माध्यमको न्यायालय हो भन्ने मान्यता स्थापित हुनुपर्नेमा मन्त्री खरेलले जोड दिए । उनले भने, ‘पछिल्लो समय विज्ञान र प्रविधिको विकाससँगै कानुनलाई परिवर्तित अवस्था अनुरुप अघि बढाउन नसक्दा अनेक चुनौती खडा भएको छ । सामाजिक सञ्जालमा जे–जस्ता मिथ्या, गलत, घृणाजन्य सूचनामार्फत एक अर्कालाई गाली–गलौज, बादप्रतिवाद र आक्रमण गर्ने कार्यले सम्पूर्ण राज्यको समयन्त्र चिन्तित हुनुपर्ने अवस्था छ ।’

मन्त्री खरेलले नेपालमा दर्ता भएका सामाजिक सञ्जालको नियमन गर्ने सन्दर्भमा सचेतनामूलक सन्देश दिने सामग्री प्रसारण गर्न काउन्सिललाई सुझाव दिए । उनले काउन्सिललाई कस्तो खाले जनशक्ति र उपकरण आवश्यक परेको छ र कसरी काम गर्दा सामाजिक सञ्जाललाई नियमन गर्न सहज हुन्छ त्यसको यकिन गरी तत्काल कार्यदल बनाएर काम गर्न पनि सुझाव दिए ।

मुलुक आम निर्वाचनको तयारी गरिरहेको अवस्थामा आचारसंहिताको कार्यान्वयनका लागि प्रभावकारी अनुगमन गर्नुपर्नेमा जोड दिँदै मन्त्री खरेलले भने, ‘प्रेस काउन्सिल स्वायत्त निकाय हो, यसलाई मन्त्रालयले हस्तक्षेप गर्दैन । नीतिगत निर्णय र सहयोग गर्न मन्त्रालय तत्पर छ।’ मन्त्री खरेलले भने, ‘के भयो भने यो विकृति र विसंगतिलाई अनुगमन, नियमन र कानूनको दायरमा ल्याउन सक्छौं ? यसबारे काउन्सिलले भनोस् । अहिले २० हजार वटा सोसल मिडियाका प्लेटफर्महरु सञ्चारमाध्यमार्फत सन्चालित छन् । अधिकांश आउट अफ ट्रयाक गएका हुन् कि भन्ने पनि देखिन्छ । सामाजिक सञ्जालमा हेर्‍यो भने हुँदै नभएका एआइ जेनेरेटेड कन्टेटहरुले मान्छेलाई भ्रमित बनाइरहेको छ । गलत नहोस् भन्नका लागि हामी अनुगमन, नियमन र कारवाहीको दायरमा ल्याउन गम्भीर बन्नु पर्छ ।’

उनले आम जनता, सरकार र सबै सरोकारबाला निकायको अपेक्षाअनुरुप काउन्सिलले सक्रिय र स्वतन्त्ररुपले काम गरिरहेको छ भन्ने सन्देश प्रवाह गर्न सक्नुपर्ने धारणा राखे । त्यस अवसरमा मन्त्रालयका सचिव राधिका अर्यालले काउन्सिललाई आवश्यक पर्ने सबै खाले सहयोग उपलब्ध हुने विश्वास दिलाइन् । काउन्सिलका सदस्य एवम् कार्यक्रमका अध्यक्षता गरेका सदस्य बालकृष्ण अधिकारीले काउन्सिलमा प्राविधिक आवश्यक जनशक्ति र बजेटको अभावकाबीच कार्यसम्पादन गर्दै आएको बताए । यसअघि काउन्सिलका मुख्य प्रशासकिय अधिकृत झबिन्द्र भुषालले काउन्सिको समग्र वस्तुस्थिति र कामकारबाहीकाबारे जानकारी गराएका थिए ।

हमासले गाजामा किन गर्‍यो ठूलो संख्यामा लडाकु परिचालन ?

काठमाडौं । इजरायलको सेनाले खाली गरेको गाजाका क्षेत्रहरूमा हमासले ठूलो संख्यामा आफ्नो सुरक्षा बलका सदस्यलाई परिचालन गरेको छ । ती क्षेत्रमा आफ्नो पकड जमाउन हमासले सात हजारको संख्यामा आफ्ना सदस्य तैनाथ गरेको बीबीसीको खबरमा उल्लेख छ ।
प्यालेस्टिनी समूहले पनि पाँच जना नयाँ गभर्नर नियुक्त गरेका छन् । ती सबै सैन्य पृष्ठभूमिका छन् ।

फोन र म्यासेजमार्फत् परिचालनको आदेश दिइएको खबरमा उल्लेख छ । हमासका सशस्त्र इकाईहरू विभिन्न जिल्लाभर परिचालन गरिएका छन् । यस्तै हमासले पाँच नयाँ गभर्नरहरू पनि नियुक्त गरेको छ । जसमध्ये केहीले पहिले हमासको सशस्त्र शाखामा ब्रिगेडहरूको नेतृत्व गरेका थिए ।

रिपोर्टका अनुसार, हमासले फोन कल र टेक्स्ट सन्देशहरू मार्फत् यो आदेश जारी गरेको थियो । सन्देशमा भनिएको छ,’ कि यसको लक्ष्य गाजालाई अपराधी र इजरायलका सहयोगीहरूबाट मुक्त गर्नु हो ।’ लडाकुहरूलाई २४ घण्टा भित्र रिपोर्ट गर्न भनिएको थियो ।
गाजाबाट प्राप्त रिपोर्टहरूका अनुसार, हमासका सशस्त्र एकाइहरू पहिले नै धेरै क्षेत्रहरूमा तैनाथ भइसकेका छन् ।

केहीले सामान्य पोशाकमा र अरूले गाजा प्रहरीको नीलो पोशाक लगाएका छन् । दुघमाश जनजातिका बन्दुकधारीहरूले हमासको विशेष टोलीका दुई सदस्यलाई गोली हानी हत्या गरेपछि गाजा शहरको साब्रा क्षेत्रमा तनाव तीव्र गतिमा बढेको थियो । उनीहरूको शव सडकमा छाडिएको थियो ।

जसले गर्दा आक्रोश फैलियो र हमासबाट ठूलो बदलाको डर बढेको बताइएको छ । त्यसपछि हमासका सदस्यहरूले एउटा ठूलो क्षेत्रलाई घेरे जहाँ मेसिन गन र विस्फोटक पदार्थले सशस्त्र लगभग ३०० कुख्यात बन्दुकधारीहरू लुकेको भनिएको थियो । यसैबीच, इजिप्टको राष्ट्रपति कार्यालयले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र अन्य २० नेताहरू सोमबार इजिप्टमा गाजा युद्धमा हुने शिखर सम्मेलनमा भेट्ने बताएको छ ।

‘भारत जाने तयारीमा थिए केशर, नफर्कने गरी अस्ताए’

कैलाली । कैलालीको घोडाघोडी–८ की अस्मिता थापाको अनुहार पीडाले थिचिएको छ । घर वरिपरी सन्नाटा छाएको छ । हाँसो गुञ्जिने आँगनमा अहिले रुवाबासी चलेको छ । शुक्रबार राति अस्मिताका श्रीमान् २८ वर्षीय केशर बुढाको घाँटी काटेर हत्या भएपछि उनलाई खपिनसक्नु भएको हो ।

भारतमा मजदुरी गरी परिवार पाल्दै आएका बुढा आज भारतको गुजरात जाने तयारीमा थिए । शुक्रबार श्रीमतीसँग मिलेर आवश्यक सामग्री जुटाउने काम सकिएको थियो । ‘भोलि जान्छु, जुत्ता, लुगासहित आवश्यक सामग्रीको व्यवस्था गरौँ भनेर भन्नुभयो’, रुँदै केशरकी श्रीमतीले भनिन्, ‘आज आफै कहिल्यै नफर्कने गरी हामीलाई छोडेर जानुभयो ।’

शुक्रबार साँझ केशर रिचार्जकार्ड किनेर आउँछु भन्दै घरबाट निस्किएको बताउँदै अस्मिताले राति अबेरसम्म पनि केशर नफर्केपछि चिन्ता बढेको उल्लेख गरिन् । ‘केशर अबेर रातिसम्म पनि घर नआउँदा तनाब भए पनि फर्किनु हुन्छ भन्ने आशा थियो । समय घर्किँदै जाँदा केशर आएनन्, तर केशर जस्तै देखिने एक युवकको घाँटी रेटिएको अवस्थामा शव फेला परेको छ, भन्दै प्रहरी घरमा पुगे’, उनले भनिन् ।

हत्या गरिएको शव केशरको नहोस् भनेर मनमा प्रार्थना गर्दै घटनास्थल पुगेको भन्दै अस्मिताले काटिएको शरीर केशरकै रहेको पुष्टि भएको बताइन् । ‘शव नजिक पुग्दा मेरो सारा संसार थामिएझैँ भयो । रिचार्जकार्ड किनेर फर्किहाल्छु भन्ने केशर अब कहिले नफर्कने गरी अस्ताइसकेका थिए । केशरले घर चलाउन भारतमा श्रम गर्ने गर्थे । तीन सन्तानको भविष्य उनको हातमा थियो’, उनले भनिन् ।

के थियो घटना ?
‘गए राति ११ बजेतिर केशरको हत्या गरी टाउको प्लास्टिकको झोलामा बोकेर १८ वर्षीय बलबहादुर विक र १९ वर्षीया गङ्गा बुढा क्षेत्री घोडाघोडी नगरपालिका–६ स्थित प्रतिखेतमा हिँडिरहेका थिए । अस्थायी प्रहरी पोस्टमा ड्युटीमा खटिएका कर्मचारीले उनीहरूलाई देखेर सोधपुछ गरेपछि बलबहादुर र गङ्गाले हत्या गरी टाउको बोकेर ल्याएको बताएका थिए । त्यसपछि इलाका प्रहरी कार्यालय सुखडमा खबर गरियो । खबर पाएलगत्तै इलाका प्रहरी कार्यालय सुखडबाट मेरो नेतृत्वमा प्रहरीको टोली घटनास्थल पुगेको हो’, प्रमुख प्रहरी नायब उपरीक्षक रमेशदत्त अवस्थीले भने ।

‘राति ११ बजेतिर खबर आयो ‘एक जनालाई मारियो’ भनेर । त्यसपछि हामी घटनास्थल पुग्यौँ’, उनले भने । अवस्थीका अनुसार टाउको एकातिर र शरीर एकातिर भएको अवस्थामा शव फेला परेकाले कसको हत्या भएको हो भन्ने थाहा पाउन सुरुमा समस्या भएको थियो । खोजी गर्दै जाँदा हत्या भएका व्यक्तिको मोबाइल फुटेको अवस्थामा फेला परेको जनाउँदै उनले भने, ‘फोन गर्दै जाँदा माइजू नाता पर्ने फेला पर्नुभयो ।’

प्रहरी नायब उपरीक्षक अवस्थीले माइजू नाता पर्ने घटनास्थल पुगेपछि केशरको घरमा प्रहरी पुगेको जानकारी दिए । उनका अनुसार बिहान ३ बजेतिर मात्रै केशर बुढाको हत्या भएको हो भन्ने कुरा पत्ता लागेको थियो । घटनाको कारण सामान्य विवाद रहेको अवस्थीले बताए । ‘हत्या गरिएका केशर र हत्या गर्नेहरूबीच चिनजान नै रहेनछ । रक्सी खाने क्रममा होटेलमा उनीहरूको भेट भएको थियो । सोधपुछका क्रममा विवाद हुँदा केशरले गालीगलौँच गरेपछि हत्या गरेको बलबहादुर र गङ्गाले बताएका छन्’, उनले भने । अहिले पोस्टमार्टमका लागि शव टिकापुर पठाउने तयारी भइरहेको उनले जानकारी दिए ।

यो घटनाले जरही गाउँमा त्रास फैलिएको छ । स्थानीयको भनाइ अनुसार घरमा छोराछोरीलाई छाडेर यो गाउँका अधिकांश युवा रोजगारीका लागि भारत गएका छन् । अभिभावकविहीन अवस्थामा रहेका किशोरकिशोरीलाई सम्झाउने, बुझाउने कोही नहुँदा यस्ता घटनाको जोखिम हुने गरेको स्थानीय बताउँछन् ।

होटेल सञ्चालक रत्न सिजालीले भने, ‘दुई वर्ष अघि यो ठाउँमा बसाइँसराइ गरेर आएको हुँ, अहिले किन आए भन्ने भएको छ । यो मात्रै होइन यहाँ अन्य घटना पनि भइरहन्छन् । हिजो घटना भएका युवा पनि मेरै होटलमा आएर रक्सी खाएका थिए । नदिँदा भने तोडफोड गर्देलान् भन्ने डर लाग्छ, दिँदा यस्ता घटना हुन्छन् ।’ रासस

मन्त्री घिसिङद्वारा झापाका बाढी प्रभावित क्षेत्रको अवलोकन

झापा । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री भौतिक पूर्वाधार तथा यातायात एवं सहरी विकासमन्त्री कुलमान घिसिङले झापाका बाढी प्रभावित क्षेत्रको बिहान अवलोकन गरेका छन् । उनले कनकाई नदी र विरिङ नदीले क्षति पुर्‍याएको अर्जुनधारा नगरपालिका र झापा गाउँपालिकाका पुल तथा बस्तीको आज अवलोकन गरेका हुन् ।

बाढीपहिरो प्रभावित क्षेत्र इलामका विभिन्न स्थानको अवलोकन गरेर फर्कने क्रममा मन्त्री घिसिङले अर्जुनधारा नगरपालिकाको बुट्टाबारीबाट सालबारी हुँदै चियापानीबाट कालिस्थान जोड्ने सडक र मङ्गलमडी मार्गको स्थलगत अवलोकन गरेका छन् । मन्त्री घिसिङले झापा गाउँपालिकास्थित हुलाकी सडकखण्डअन्तर्गतको कनकाईमाई खोलामा बन्दै गरेको पुल र वर्षाका कारण दबिएको सानोमाईको पुल र आसपासका क्षेत्रको अवलोकन गरेको झापाका सहायक प्रमुख जिल्ला अधिकारी तेजप्रकाश प्रसाइँले जानकारी दिए । सोही क्रममा उनले झापा गाउँपालिका–२ का बाढी प्रभावित बासिन्दासँग संक्षिप्त अन्तरक्रिया गरेका थिए ।

बालेन र सुदनविरुद्ध प्रहरीमा नेविसंघको जाहेरी

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघले काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) र ‘हामी नेपाल’ का संयोजक सुदन गुरुङविरुद्ध प्रहरी समक्ष जाहेरी दिएको छ । भदौ २३ र २४ भएको जेनजीको आन्दोलनमा घुसपैठ गराएर विद्यार्थीहरूलाई विद्यालय पोसाकमै आन्दोलनमा आउन उक्साएको, राष्ट्रिय सम्पदा ध्वस्त बनाएको, सरकारी तथा निजी सम्पत्ति लुटपाट गराएको आरोप लगाउँदै शाह र गुरुङविरुद्ध नेविसंघले जिल्ला प्रहरी परिसर ललितपुर र काठमाडौँ किटानी जाहेरी दिएको हो ।

नेविसंघ केन्द्रीय सदस्यहरू मनीषजंग थापा, अशोकसिंह विष्ट, विजय शाहले जाहेरी दिएका हुन् । २४ घण्टाभित्र जाहेरी दर्ता गरेर पक्राउ गर्न उनीहरूले माग गरेका छन् । प्रहरीले जाहेरीबारे अध्ययन गरेर कानुनी प्रक्रियाअघि बढाउने जनाएको नेविसंघले जनाएको छ । यसअघि नेकपा एमाले निकट भ्रातृ संगठन अखिलले पनि उनीहरूविरुद्ध जाहेरी दिएको थियो ।

विपिनको अवस्था अझै अज्ञात, बन्धक रिहाइ गर्न हमासले माग्यो थप समय

काठमाडौं । इजरायलस्थित प्रधानमन्त्री कार्यालयका अधिकारीहरुले नेपालका विपिन जोशीको अवस्था अझै अज्ञात रहेको बताएका छन् । यो जानकारी इजरायली प्रधानमन्त्री कार्यालयका अधिकारीले इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितलाई दिएका हुन् ।राजदूत पण्डितले भने, ‘विपिनको अवस्था अझै अज्ञात छ र उनको अवस्था कस्तो छ भन्ने थाहा हुन सकेको छैन ।’

मिडियाहरुमा विपिनबारे विभिन्न समाचार आइरहेकाले आफूले प्रधानमन्त्री कार्यालयमा बुझेको र त्यहाँका अधिकारीहरुले विपिनको अवस्था अझै थाहा हुन नसकेको बताएको पण्डितले जानकारी दिएका छन् । उनले भने, ‘विपिनबारे केही नयाँ जानकारी आए सबैभन्दा पहिले तपाईंलाई खबर गर्छौं भनेर इजरायलका प्रधानमन्त्री कार्यालयका अधिकृतहरुले भनेका छन् ।’ उनले आधिकारिक निकायबाट पुष्टि नभई समाचार नलेख्न र पीडित परिवारको भावनामा चोट नपु¥याउन अनुरोध समेत गरेका छन् ।

यसैबीच हमासले बन्धकहरू रिहाइका लागि थप समय मागेको छ । इजरायल र हमासबीच भएको सम्झौताअनुसार स्थानीय समय शुक्रबार दिउँसोदेखि गाजामा युद्धविराम लागु भएको छ भने त्यसको ७२ घण्टाभित्र हमासले सबै ४८ बन्धक रिहा गर्नुपर्नेछ ।
स्थानीय समयअनुसार युद्धविराम लागु भएको ७२ घण्टा भनेको सोमबार स्थानीय समय दिउँसो १२ बजे (नेपाली समय दिउँसो २ः४५ ) सम्म जीवित र मृत सबै ४८ बन्धक रिहा गरिसक्नु पर्ने हुन्छ । तर यस अवधिमा सबै बन्धक हस्तान्तरण गर्न नसकिने भन्दै हमासले थप समय मागेको हो ।

 

प्रधानमन्त्री कार्की र राष्ट्रिय सभाध्यक्ष दाहाल भेट्दै

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालले आज (आइतबार) प्रधानमन्त्री सुशीला कार्कीसँग भेटवार्ता गर्ने भएका छन् । अध्यक्ष दाहाल प्रधानमन्त्री कार्कीलाई भेट्न प्रधानमन्त्रीकै कार्यालय, सिंहदरबार जाने संघीय संसद् सचिवालय स्रोतले जनाएको छ ।

अध्यक्ष दाहालले स्विट्जरल्यान्डको जेनेभामा हुने अन्तर व्यवस्थापिका संघ (आईपीयू) को असोज ३१ गते (अक्टोबर १७ तारिख) को कार्यक्रममा सहभागी हुन चाहेका छन् । त्यसअघि उनले प्रधानमन्त्री कार्कीसँग भेटवार्ता गर्न लागेका हुन् । सरकारले मुलुकमा संकट परेका बेला मितव्ययिता कायम गर्ने भन्दै कम महत्वका विदेश भ्रमण स्वीकृत नगर्ने भनेको छ ।

 

 

सचिवालय बैठकमा भाग लिन गुण्डु पुगे एमाले नेताहरु (तस्बिरहरु)

काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठकमा सहभागी हुन एमाले नेताहरु गुण्डु पुगेका छन् । शनिबार बस्ने भनिएको बैठक एमाले अध्यक्ष केपी शर्मा ओलीको स्वस्थ्य अवस्थामा समस्या आएको कारण स्थगित भएको थियो ।

      

राष्ट्रपति पौडेल अस्पतालबाट डिस्चार्ज

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल अस्पतालबाट डिस्चार्ज भएका छन् । शनिबार अचानक स्वास्थ्यमा समस्या आएपछि उनलाई मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको थियो । राष्ट्रपति निवास शीतल निवासमा जेन जी प्रतिनिधिहरूसँग वार्ता गर्ने तय भएको थियो । तर स्वास्थ्यका कारण सो वार्ता सोमबारका लागि सारिएको छ । राष्ट्रपतिसँग वार्तामा बस्न नपाएको भन्दै शनिवार जेनजीका प्रतिनिधिले शीतल निवास अगाडि नाराबाजी समेत गरेका थिए ।

आदिवासी जेनजी कलेक्टिभको चेतावनी : टासीमाथिको दुर्व्यवहार स्वीकार्य छैन

काठमाडौं । आदिवासी जेनजी कलेक्टिभले हुम्लाकी जलवायु अभियन्ता टासी ल्हान्जोममाथि सामाजिक सञ्जालमा भ्रामक र आपत्तिजनक आरोप लगाई दुर्व्यवहार गरिएकोमा गम्भीर निन्दा गरेको छ । कलेक्टिभले २५ वर्षीया ल्हान्जोममाथि लगाइएका ‘नेपाली जस्तो नदेखिने’, ‘नेपाली नबोल्ने’ र ‘विदेशी शक्तिबाट परिचालित’ जस्ता निराधार आरोपहरूको सशक्त खण्डन गरेको छ ।

हालै सामाजिक सञ्जालमा फैलिएका यी आरोपहरूमा टासीलाई मन्त्री बनाउँदा राष्ट्रिय अखण्डतामाथि खतरा हुने जस्ता भ्रामक कुराहरू उल्लेख गरिएका छन् । कलेक्टिभले जारी गरेको विज्ञप्तिमा शताब्दीयौंदेखि आदिवासी समुदायलाई भाषा, संस्कृति र शारीरिक बनावटका आधारमा राज्यबाट बहिष्करण गरिएकोमा दुःख व्यक्त गरेको छ । संविधानले समानता र समावेशीकरणको ग्यारेन्टी गरे पनि व्यवहारमा भने विभेद कायमै रहेको कुरामा जोड दिइएको छ । विशेषगरी आदिवासी महिला र नागरिकहरूलाई अदृश्य बनाइएको र उनीहरूमाथि दोहोरो–तेहोरो अन्याय थोपरिएको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ, ‘आदिवासी महिला र नागरिकहरूलाई सम्पूर्ण अधिकारसम्पन्न नागरिकको मान्यता दिनुपर्छ । यस्ता अधिकारका कानुनी क्षेत्रमा सीमित होइन व्यवहारिक र आदिवासीहरूका प्रत्यक्ष जीवनमा न्याय र जवाफदेही कार्यान्वयन सुनिश्चित गरिनुपर्छ । कुनै पनि आधारमा आदिवासी समुदाय र आदिवासी महिलाहरूमाथि गरिने-हुने विभेद र अन्याय दण्डित हुनुपर्छ ।’

कलेक्टिभले नेपाल सरकारसँग प्रमाणित नागरिकता प्रमाणपत्र र हस्ताक्षरकर्ताहरू रहेको कागजात पेश गर्दै टासी ल्हान्जोम पूर्ण नेपाली नागरिक भएको स्पष्ट पारेको छ । विज्ञप्तिमा आदिवासी जेन–जी कलेक्टिभ र जेन–जी मुभमेन्ट एलायन्सका प्रतिनिधिहरूले हस्ताक्षर गरेका छन् । उनीहरूले संविधानमा आधारित समावेशी लोकतन्त्र र न्याय, आत्मनिर्णयको अधिकार, सामुदायिक एवं सामूहिक स्वायत्त पहिचानसहितका मौलिक हकको सम्मानका लागि जोडदार माग राखेका छन् ।

हेर्नुस् विज्ञप्ती

 

फुटबलको अव्यवस्था विरुद्ध प्रदर्शन (तस्बिरहरु)

काठमाडौँ ।  नेपाली फुटबलमा विगत केही वर्षयता देखिएको अव्यवस्था, लिग स्थगन, आर्थिक अपारदर्शिता र नेतृत्वको गैरजवाफदेहिता विरुद्ध आज फुटबलका स्वतन्त्र समर्थकहरूले एन्फा गेट अगाडि शान्तिपूर्ण धर्ना कार्यक्रम गरेका छन्।

धर्नामा सहभागीहरूले “Football Calendarमा होइन, Ground मा चाहियो, विश्वकप त ४ वर्षमा आउँछ ‘A’ Division कहिले आउँछ” जस्ता प्लेकार्डसहित प्रदर्शन गरेका थिए।