`

प्रचण्ड सचिवालयले भन्यो–‘दुई ट्रक पैसाको हल्ला’ निराधार, भ्रामक र नियोजित चरित्र हत्या

काठमाडौं । जेन–जी आन्दोलन सुरु हुनुअघि ‘दुई ट्रकमा दुई करोड रकम’ निकालेर अन्यत्र लगिएको भन्दै गरिएको प्रचारको नेकपा माओवादी केन्द्रको महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सचिवालयले खण्डन गरेको छ । सचिवालयले प्रचण्डको सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई घरेलु कामदार बनाइएको भन्ने प्रचारमा पनि सत्यता नभएको दावी गरेको छ ।

‘हामी सम्बन्धित सञ्चारमाध्यमहरूलाई संयोजक प्रचण्डको निवासबाट जेन–जी आन्दोलनपूर्व दुई ट्रकमा दुई करोड रुपैयाँ लगिएको, सुरक्षाकर्मीलाई घरेलु कामदार बनाइएको भन्ने जस्ता निराधार आरोप तथा गंगा दाहालको घरमा आठ जना सुरक्षाकर्मी खटाइएको दाबीको सत्यता प्रमाणित गर्न चुनौती दिन्छौं,’ प्रचण्डका स्वकीय सचिव गोविन्द आचार्यले जारी गरेको प्रेस नोटमा भनिएको छ ।

जेन–जीले गरेको प्रदर्शनको दोस्रो दिन २४ भदौमा प्रचण्ड र उनका छोरीहरू (रेणु दाहाल र गंगा दाहाल) को घरमा आगजनी भएको थियो । आन्दोलनपछि नेपाल प्रहरीका पूर्व एआईजी देवेन्द्र सुवेदीले एक युट्युब च्यानलसँगको कुराकानीमा प्रचण्डको निवासबाट दुई वटा ट्रकमा लोड गरेर दुई ट्रक रकम अन्यत्र लगिएको दाबी गरेका छन् ।

त्यसको अनुसन्धान गर्न र कानुनी कारबाही गर्न पनि प्रचण्डको सचिवालयले अनुरोध गरेको छ । ‘डिजिटल माध्यममार्फत् गरिएका यस्ता गलत प्रचारप्रसार साइबर कानुनविपरीत भएकाले त्यसबारे आवश्यक अनुसन्धान र कानुनी कारबाहीका लागि सम्बन्धित निकायहरूमा अनुरोध गर्दछौं,’ आचार्यले भनेका छन् । यसबीच सरकारले पूर्व प्रधानमन्त्रीहरू केपी शर्मा ओली र प्रचण्डको सुरक्षामा खटिएका सुरक्षाकर्मीको संख्या कटौति समेत गरेको छ । सुरक्षा कार्यविधिमा उल्लेख मापदण्ड उल्लंघन गर्दै भीआईपीहरूले सुरक्षाकर्मी प्रयोग गरेकाले तिनलाई फिर्ता बोलाइएको सरकारको भनाइ छ ।

 

 

राप्रपा महामन्त्री धवल शम्शेरले बोलाए असन्तुष्ट पक्षको भेला

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री धवल शम्शेर राणाले आफू निकट केन्द्रीय सदस्यहरूको भेला बोलाएका छन् । आज दिउँसो १ बजे आन्तरिक भेला हुने महामन्त्री राणा निकट एक नेताले जानकारी दिएका छन् । काठमाडौंमा रहेका केन्द्रीय सदस्यहरूलाई भेलामा बोलाइएको हो ।

काठमाडौंको सुकेधारास्थित एक पार्टी प्यालेसमा भेला हुनेछ । महामन्त्री राणाले गत माघको केन्द्रीय समिति बैठकमै फरक राजनीतिक विचार समेत राखेका थिए । त्यसयता अध्यक्ष राजेन्द्र लिङ्देन र महामन्त्री राणाबीच सम्बन्ध सुमधुर छैन । पछिल्लो समय अध्यक्ष लिङ्देनले संस्थापनइतर नेताहरूमाथि कारबाही गरेपछि महामन्त्री राणा लगायतले विज्ञप्ति जारी गर्दै विरोध गर्दै आएका छन् । साथै अध्यक्ष लिङ्देनले लामो समयदेखि केन्द्रीय समिति बैठक बोलाएका छैनन्। महामन्त्री राणाले केन्द्रीय समिति बैठक माग गर्दै आएका छन् । साथै नियमित महाधिवेशन माग पनि भइरहेको छ ।

अध्यक्ष लिङ्देनले केन्द्रीय कार्यसमिति बैठक नराखेको र नियमित महाधिवेशन गर्न मिति तोक्ने काम नगरेको भन्दै महामन्त्री राणाले आन्तरिक भेला बोलाएका हुन् । राप्रपाले २०७८ मंसिरमा महाधिवेशन गरेको थियो। विधानअनुसार चार वर्षमा नियमित महाधिवेशन हुनुपर्छ ।
महामन्त्री राणाले आजको भेलामा नियमित महाधिवेशन गर्न दबाब दिन नेताहरूलाई आग्रह गर्ने तयारी गरेका छन्। यदि नियमित महाधिवेशनको मिति तय नगरिए विशेष महाधिवेशन माग गर्नुपर्ने पक्षमा राप्रपाका संस्थापनइतर समूह छ । अध्यक्ष राजेन्द्र लिङ्देन पक्ष भने मंसिरमै नियमित महाधिवेशन गर्ने पक्षमा छैन । विगतमा जस्तै एक वर्ष कार्यकाल थप गर्ने तयारीमा संस्थापन पक्ष छ ।

 

 

विवेकशील साझाको आह्वान : वैकल्पिक राजनीतिक शक्ति र जेनजीबीच एकता गरौं

काठमाडौं । विवेकशील साझा पार्टीले वैकल्पिक राजनीतिक शक्ति र जेनजी पुस्ताबीच एकता गर्न आह्वान गरेको छ । आज एक वक्तव्य जारी गर्दै पार्टीका प्रवक्ता आशुतोष प्रधानले जेनजीसहित वैकल्पिक राजनीतिक शक्ति र परिवर्तनकारी शक्ति, अभियान, समूह र अभियन्ताहरूको वृहत एकताका लागि आह्वान गरेका हुन् ।

उनले समृद्ध नेपालका निम्ति वैकल्पिक राजनीतिक शक्ति, नयाँ दल, जेनजी आन्दोलनका अभियन्ता एवं समूह तथा सार्वजनिक परिचय बनाएका व्यक्तिहरूसँग सहकार्य, ध्रुवीकरण, कार्यगत एकता र बृहत्तर एकीकरण गर्न सबै ढोकाहरू खुला गरेको जनाएका छन् ।
नेपालको वैकल्पिक राजनीतिको अग्रणी दल विवेकशील साझा पार्टीले गत भाद्रमा भएको जेनजी विद्रोहलाई ऐक्यबद्धता गर्दै जेनजी युवा पुस्ताको सहादतको जगमा वनेको नागरिक सरकारलाई स्वागत गर्दै सहयोग गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरिसकेको वक्तव्यमा उल्लेख छ ।
हेर्नुस् प्रेस विज्ञप्तिः
वैकल्पिक राजनीतिक शक्तिदेखि जेनजी पुस्तासम्मको बृहत्तर एकताका लागि विवेकशील साझा पार्टीको खुला आह्वान :

नेपालको वैकल्पिक राजनीतिको अग्रणी दल विवेकशील साझा पार्टीले गत भाद्रमा भएको जेनजी विद्रोहलाई ऐक्यवद्धता गर्दै जेनजी युवा पुस्ताको सहादतको जगमा वनेको नागरिक सरकारलाई स्वागत गर्दै सहयोग गरेर अघि बढ्ने प्रतिवद्धता ब्यक्त गरिसकेको छ । भ्रष्टाचार विरुद्ध सशक्त अभियान,सुसंस्कृत राजनीतिको निरन्तर अभ्यास र हरेक क्षेत्रमा युवाहरुको प्रभावकारी प्रतिनिधित्वलाई आत्मसात्÷अभ्यास गर्दै नेपालमा वैकल्पिक राजनीतिको जग खनेर राजनीतिको भाष्यनै परिवर्तन गर्न सफल विवेकशील साझा पार्टीले अहिलेको विषम राजनीतिक परिस्थितवाट मुलुकलाई निकास दिन वैकल्पिक राजनीतिक शक्ति,जेनजी पुस्ता र परिवर्तनकारी सबै शक्ति, अभियान, समूह र अभियन्ताहरुको बृहत्तर एकता-मोर्चाबन्दीलाई विशेष जोडका साथ अघि बढाउन सार्वजनिक प्रतिवद्धता ब्यक्त गर्दछ ।

जेनजी पुस्ता विद्रोह र सहादतको जगमा हुन लागिरहेको आम निर्वाचनलाई दृष्टिगत गर्दै विवेकशील साझा पार्टीले भ्रष्टाचार र कुशासन विरुद्ध समतामूलक संबृद्ध नेपाल निर्माणका लागि वैकल्पिक राजनीतिक शक्ति, नयाँ दल, जेनजी आन्दोलनका अभियन्ता एवं समुह तथा सार्वजनिक परिचय वनाएका व्यक्तिहरुसँग सहकार्य,ध्रुविकरण,कार्यगत एकता र बृहत्तर एकीकरण सम्मका लागि सबै ढोकाहरु खुला गरेर, सबै प्रकारका खुला छलफल,बहस र बृहत्तर नयाँ शक्ति निर्माण गरेर अघि बढ्न सरोकारवाला सम्पूर्णमा सार्वजनिक आह्वान गर्दछ ।

विवेकशील साझा पार्टीले आफ्नो एक दशक भन्दा बढीको राजनीतिक लिगेसी,सुसंस्कृत राजनीतिक पुँजी, नयाँ राजनीतिक संस्कार फैलाउन गरेको सत्प्रयासहरुलाई नेपाली जनता र नेपाल राष्ट्रको बृहत् हितलाई केन्द्रमा राखेर वैचारिक प्रष्टता र मूल्यमान्यताको जगमा दलिय पदसोपानलाई समतल वनाउन,पार्टीको नाम,चुनाव चिन्ह समेत परिवर्तन गर्दै पार्टी पुनर्गठन गरेर अघि बढ्न खुला रहेको आब्हान गर्दछ ।

अन्त्यमा,
‘जेन जी’ पुस्ताका नवयुवाहरुको स्वःस्फूर्त शान्तिपूर्ण आन्दोलनमा केपी शर्मा ओली नेतृत्वको सरकारले अत्यन्त क्रुर एवं निर्शम्स दमन एवं नरसंहारमा सहादत सम्पूर्ण होनहार नेपाली सपूतहरुप्रति पुनः हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै घाइते, अंगभंग भएका योद्धाहरुप्रती सम्मानसहित शिघ्र स्वास्थ्यलाभको कामना गर्दै राष्ट्रिय निर्वाचनमा होमिने प्रण गर्दछ ।
आशुतोष प्रधान
प्रवक्ता
नेपालको जय होस

 

गाउँमै बसेर होमस्टे सञ्चालन गरिरहेका २४ वर्षीय नवीन

काठमाडौँ । २०७२ सालको भूकम्पपछि बनेका एकनासको घरहरू, बादल लुकामारी गरिरहने गोरखा जिल्ला अजिरकोट गाउँपालिकाको नम्की गाउँ आजभन्दा लगभग ८ वर्ष अगाडी नै होमस्टे सञ्चालन गर्न सुरु गरिएको थियो ।

गाउँको १० घरमा पाहुना राख्ने गरी सञ्चालन गरिएको सो होमस्टेहरुमा तराईको गर्मी छल्न चितवन र त्यस्तै गरी गोरखाको तल्लो भेग, तनहुँ, धादिङ लगायत विभिन्न क्षेत्रमा आन्तरिक पर्यटक आउने गर्दछन् ।

गोरखा जिल्ला सदरमुकामबाट लगभग ६० किलोमीटर दुरीमा रहेको नम्की गाउँका होमस्टेमा शुक्रबार र शनिबार पाहुनाहरुको राम्रै उपस्थिति हुने गरेको छ । राम्रो सडक सञ्जालले जोडिएका कारण पनि सो क्षेत्रमा पर्यटकहरुको आगमन दिनप्रतिदिन बढदै गएको छ । यही कुरालाई ध्यान दिँदै काठमाडौंमा स्नातक अध्ययन गर्दै गरेका २४ वर्षीय नवीन तामाङले गाउँमा आमाबाबाले सञ्चालन गर्दै आएका होमस्टेलाई अझ व्यवस्थित रुपमा संचालन गर्ने उद्देश्यले गाउँ फर्कने निर्णय स्वरूपमा नम्की होमस्टे सञ्चालन गरेका छन् ।

भूकम्पपछि लोप हुँदै गएको परम्परागत ढुङ्गाले छाएको घर निर्माण गरी सञ्चालन गरिएको सो होमस्टेले नबिनलाई गाउँ मात्र फर्काएन विदेशीने उनको विचारलाई समेत जितेको छ । “स्नातक अध्ययन पछि विदेशी जाने विचार थियो अब गाउँमै राम्रो भए पछि विदेशी नजाने विचार गरे” उनले सुनाए ।

गाउँमा उत्पादन गरिएको विभिन्न तरकारी, लोकल कुखुरा, पाहुनाहरुको माग अनुसारको नाइट क्याम्प र होमस्टेमा तातो पानी र चिसो पानीको व्यवस्थाले गर्दा सो क्षेत्रमा घुम्न आउनेहरुले सो होमस्टे रोज्ने गरेका छन् ।

होमस्टे सञ्चालन गरेको ६ महिनामै राम्रो आम्दानी दिन थालेपछि गाउँ मै बसेर व्यवसायलाई अझ विस्तार गर्ने उनको लक्ष्य रहेको छ ।

जेनजी प्रदर्शनका क्रममा लुटिएका ३०३ राइफल झापामा भेटिए

झापा । झापाको दमक नगरपालिका–५ धनेश्वर मन्दिरको पूर्वपट्टि गेट नजिक बेवारिसे अवस्थामा ३०३ राइफल फेला परेको छ । स्थानीयवासीले आज बिहान बन्दुक फेलापरेको जानकारी इलाका प्रहरी कार्यालय दमकमा गराएपछि प्रहरी निरीक्षक नवीन राईको कमाण्डमा खटिएको टोली घटनास्थल पुगेको थियो ।

प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार फेलापरेको सो हतियार गत भदौ २४ गते जेनजी प्रदर्शनका क्रममा कार्यालयबाट लुटिएको ३०३ राइफल म्यागजिनसहित भएको पुष्टि भएको छ । उक्त हतियार आवश्यक कानुनी प्रक्रिया पूरा गरी इलाका प्रहरी कार्यालय दमकमा राखिएको उनले बताए ।

 

रविन्द्र मिश्रको प्रश्न : मेरो दृष्टि दोषी हो कि, देशलाई दशा लागेको हो ?

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले मुलुकको पछिल्लो राजनीतिक अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत देशको नेतृत्व, संकट व्यवस्थापन र राष्ट्रिय एकताको अभावप्रति प्रश्न उठाउँदै, ‘मेरो दृष्टि दोषी हो कि, देशलाई दशा लागेको हो ?’ भन्ने भावनात्मक तथा आत्मावलोकनात्मक प्रश्न गरेका छन् । ‘मैले छुट्याउन सकेको छैन–मेरो दृष्टि दोषी हो कि, देशलाई दशा लागेको हो’, भनी मिश्रले लेखेका छन् ।

राष्ट्रपतिको भूमिकामाथि प्रश्न
हालैको राष्ट्रिय संकटको प्रसङ्ग उल्लेख गर्दै मिश्रले आपतकालीन परिस्थितिमा राष्ट्रपतिको भूमिकालाई कठोर रुपमा आलोचना गरेका छन् । ‘राष्ट्रिय संकट आइपर्दा राष्ट्रपतिलाई राष्ट्रिय टेलिभिजनमा आएर सम्वोधन गर्ने नैतिक साहस भएन । उनलाई सेनाले लुकाउनु पर्‍यो’, भनी मिश्रले उल्लेख गरेका छन् । यसबाट उनले संकटको बेला नेतृत्वदायी भूमिकाको अभाव, पारदर्शिताको कमी र जनतासँगको प्रत्यक्ष संवाद नहुनुमा गम्भीर आपत्ति जनाएका छन् ।

भूराजनीतिक चिन्ता र चेतावनी
नेपालको आन्तरिक अस्थिरता मात्र होइन, भूराजनीतिक संवेदनशीलता पनि मुलुकका लागि खतरा बन्न सक्ने मिश्रको भनाइ छ । उनले भनेका छन्, ‘भदौ २३ र २४ गतेको भन्दा पनि ठूलो संकट भविष्यमा फेरि आउँदैन भनेर सोच्नु चरम अपरिपक्वता हुनेछ ।’ यसले नेपालमा पुनः ठूला संकटहरूको संभावना रहँदै आएको र त्यसको पूर्वतयारीको खाँचोलाई संकेत गर्छ ।

‘नवीन समझदारी’ मा जोड
मिश्रले ‘नवीन समझदारी’ को बाटोमा जानुपर्ने सुझाव पुनः दोहोर्‍याएका छन् । यस अवधारणाले पार्टीगत संकीर्णता, वैचारिक कट्टरता र अहंकारलाई छाडेर साझा राष्ट्रिय उद्देश्यमा आधारित सहकार्यको खाँचोलाई औंल्याउँछ । ‘अझै पनि हामी नवीन समझदारीको बाटोमा किन जान सक्दैनौं ? यति बिघ्न अहं र वैचारिक दासता पनि नहोस्, जसले देशलाई नै भड्खालोतिर धकेलोस्’, मिश्रले चेतावनी दिएका छन् ।

सर्वदलीय सहकार्य र क्षमाशीलताको आह्वान
उनले मुलुकलाई संकटबाट बचाउन सबै राजनीतिक शक्तिहरूबीच क्षमा, समन्वय र सहकार्य आवश्यक रहेको बताएका छन् । ‘देशको हितलाई केन्द्रमा राखि सबैले सबैलाई क्षमा गर्दै सबै शक्ति मिलेर जाँदा कसको के बिग्रिन्छ ?’ भन्दै उनले पुराना कटुताहरूलाई बिर्सेर अगाडि बढ्नु पर्नेमा जोड दिएका छन् ।

जेनजी आन्दोलनमा प्रहरीको बन्दुक लुटेर भागेका आदित्य ब्राउन सुगरसहित पक्राउ

मोरङ । जेनजी आन्दोलनका क्रममा प्रहरीको हतियार लुटेर फरार एक युवक खैरो हिरोइनसहित झापामा पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापा दमक–३ का १८ वर्षीया आदित्य लिम्बु रहेका छन् । लिम्बुले भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय दमकबाट प्रहरीको हतियार खोसी भिडियो बनाएका थिए । उनले प्रहरीको हतियार बोकेर फोटो खिचेको फोटो भाइरल बनेको थियो ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक राजन लिम्बुले आदित्यलाई खैरो हिरोइनसहित पक्राउ गरेको जानकारी दिए । उनले आदित्यसहित आठ जनाको गिरोह लागुऔषध खैरो हिरोइन (ब्राउन सुगर) सहित झापाबाट पक्राउ परेको जानकारी दिए ।
शनिवार साँझ ५ बजे दमक नगरपालिका–३ वेलडाँगीस्थित भुटानी शरणार्थी शिविर सेक्टर ए ३ हट नम्बर ३५३ मा लागुऔषध बिक्री वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको टोलीले छापा हानेर उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

घरको कोठा तलासी गर्दा चस्माको खोलभित्र लुकाई छिपाइ राखिएको अवस्थामा लागुऔषध खैरो हिरोइन फेला परेको प्रहरीले जनाएको छ । डिजिटल तराजुमा नापजाँच गर्दा उक्त पदार्थको तौल ७ ग्राम ८ सय मिलिग्राम रहेको पाइएको हो ।आदित्य सहित पक्राउ पर्नेमा मोरङ मिक्लाजुङ–८ का निश्चल पोर्तेल रहेका छन् । उनी गत भदौ २४ गते उर्लाबारी प्रहरी हिरासतबाट भागी फरार रहेका व्यक्ति भएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका अन्य व्यक्तिहरूमा साजन थापा (२७), दिपेश तामाङ (३२), सनम राई (३२), पविन विश्वकर्मा (१९), सुचन दर्जी (२५) र विजय माझी (२५) छन् । प्रहरीले बरामद लागुऔषध र पक्राउ परेकालाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय दमकमा राखेर कारबाही अघि बढाइएको जनाएको छ ।

माओवादीसँग एकताको विपक्षमा उभिए झलनाथ, पार्टी भड्खालोमा पर्ने चेतावनी (वक्तव्य)

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनाल नेकपा माओवादी केन्द्रसँगको पार्टी एकताको विपक्षमा उभिएका छन् । समाजवादी र माओवादीबीच एकताको गृहकार्य भइरहेका खनालले कसैसँग पनि पार्टी एकीकरण गर्न नहुने बताएका हुन् ।

पत्नीको उपचारको सिलसिलामा भारतको नयाँदिल्लीमा रहेका खनालले पार्टीको सचिवालय बैठकमा पठाएको लिखित धारणामा लेखिएको छ, ‘कमरेडहरू यतिबेला हाम्रो पार्टीको निम्ति कसैसँग पनि पार्टी एकीकरण गर्ने मौसम होइन र छैन । हामी कोही पनि गलत बाटो हिँड्दै भड्खालोमा पर्ने र अरुलाई पार्ने दिशामा नलागौं ।’

उनले सबैभन्दा पहिले नेकपा एमालेबाट अलग भएर एकीकृत समाजवादी पार्टी गठन गर्नुको कारणबारे निर्मम समीक्षा गर्नुपर्नेमा जोड दिएका छन् । खनालले भनेका छन्, ‘सबभन्दा पहिले हाम्रो ४ वर्षे विद्रोहको यात्राको निर्मम समीक्षा गरौं । ठिक बेठिक के ग¥यौं, दूध र पानी छुट्याऔँ । हामीले नवौं राष्ट्रिय महाअधिवेशनदेखि नै उठाएको युवा आवाज र कार्यविधिको कुरालाई ध्यान दिऔं ।’ खनालले आफ्नो पार्टी अध्यक्ष माधवकुमार नेपालसहित वामपन्थी दलहरु दक्षिणपन्थीको बाटोमा लागेको आरोप पनि लगाएका छन् । त्यसैले उनले प्रत्येक पार्टीमा पुनर्गठन र रुपान्तरण अनिवार्य भएको उल्लेख गरेका छन् ।

‘वामपन्थी दलले नै आम जनता र राष्ट्रलाई सही मार्ग देखाउनुपर्ने हो । तर दक्षिणपन्थीहरूका पछि लागेर हाम्रो पार्टीको नेतृत्वसहित अन्य वामपन्थी नेतृत्वहरू समेतले मुलुकको चौतर्फी सामाजिक–आर्थिक रूपान्तरण र राष्ट्रियतालाई सुदृढ गर्ने कार्यभारलाई छोडेर यथास्थितिवादको मार्गमा हिँडेपछि र विदेशीहरुसँग अपमानपूर्ण सन्धी र सझौता गर्न थालेपछि मुलुक भयावह संकटमा जानु र विदेशीहरूको क्रिडास्थल बन्नु अनुवार्य नै थियो । अहिले त्यही नै भइरहेको छ,’ खनालले भनेका छन् । उनको जोड छ, ‘अब देश, जनता र वामपन्थी आन्दोलनलाई नयाँ धरातलबाट उठाउन प्रत्येक पार्टीमा पुनर्गठन र रूपान्तरण अनिवार्य छ ।’

 

जेनजीलाई गुटबन्दी नगर्न मन्त्री पुनको आग्रह, सुनाए रणबहादुर शाहकालीन इतिहास

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले जेनजीसहित राष्ट्रलाई माया गर्ने सम्पूर्ण नेपालीलाई खुट्टा तानातान र गुटबन्दी नगर्न आग्रह गरेका छन् ।

रणबहादुर शाहपालादेखिका इतिहास सुनाउँदै मन्त्री पुनले एकआपसमा झगडा गर्दा देशलाई फाइदा होइन, नोक्सान मात्रै हुने कुरामा सचेत गराएका छन् ।

‘राष्ट्रिय हितको लागि गुटबन्दी र खुट्टा तानातान गरेर फाइदा होइन नि, झनै धेरै नोक्सान हुन्छ’, मन्त्री पुनले आइतबार बिहान सामाजिक सञ्जालमा लेखेका छन्, ‘त्यसैले अहिलेको परिप्रेक्ष्यमा देश विकास र सार्वभौमसत्ताको रक्षाको लागि गुटबन्दी नगरौँ भन्ने मेरो अनुरोध जेनजीसहित सम्पूर्ण राष्ट्रलाई माया गर्ने नेपालीहरूलाई अनुरोध छ । गुटबन्दी र खुट्टा तानातान गर्‍याे भने कसलाई फाइदा हुने रहेछ भन्ने कुरा तलको इतिहासको पानाबाट पनि सिकौं ।’

१) नाबालक राजा रणबहादुर शाहको प्रतिनिधि कसले गर्ने भनेर सुरु भएको गुटबन्दी र खुट्टा तानातान गीर्वाण युद्धविक्रम र राजेन्द्रविक्रम शाहको पालासम्म आइपुग्दा चरम विन्दुमा पुगिसकेको थियो । त्यसैको परिणामस्वरूप नेपाली जनताले १०४ वर्षसम्म निरकुंश राणातन्त्र बेहोर्नुपर्‍यो ।

२) राणातन्त्र सुरु भएपछि प्रधानमन्त्री वीरशमशेरकै पालादेखि गुटबन्दी सुरु भयो । उनीहरूले राणा खलकलाई नै क वर्ग, ख वर्ग, ग वर्गमा वर्गीकरण गरेर गुटबन्दी सुरु गरे र एउटा गुटले अर्को गुटको खुट्टा तानातान गरे । त्यसरी उनीहरू कमजोर भएर २००७ सालमा जनक्रान्तिद्वारा हटाइए ।

३) २००७ सालमा प्रजातन्त्रको घोषणा भए पनि २०१५ सालसम्म संसदीय चुनाव हुन सकेन । त्यसको खास कारण त्यतिबेला जन्मेका र जन्मँदै गरेका राजनैतिक दलहरूको बीचमा खुट्टा तानातान भयो । फलस्वरूप राजा महेन्द्रले चुनाव नगराउन आलटाल गर्ने आधार पाए । अनि धेरै नै ढिलो भए पनि २०१५ सालमा आम चुनाव गरेर गठन भएको बहुमतको सरकारलाई विघटन गरेर पञ्चायती व्यवस्था ल्याउने अवसर पाए । त्यो अवसरको सिर्जना त्यति बेलाको राजतैनिक समूहबीचको गुटबन्दी र खुट्टा तानातानको प्रवृत्तिले सिर्जना गरेको थियो ।

४) २०१७ सालदेखि २०४६ सालसम्मको इतिहास हेर्ने हो भने पञ्चायती शासनभित्र राजनैतिक दलहरू नभए पनि विभिन्न गुटहरू थिए । सूर्यबहादुर थापा गुट, लोकेन्द्रबहादुर चन्द गुट, मरिचमान सिंह गुट जस्ता धेरै गुटहरू थिए र आपसमा खुट्टा तानातान गर्थे । अनि राज खलकभित्र पनि भूमिगत गिरोह भनेर चिनिने गुटहरू थिए र राजा वीरेन्द्रको कदमलाई असफल पार्ने चालबाजी खेल्थे । त्यही कारणले गर्दा पञ्चायती व्यवस्था कमजोर भयो र २०४६ सालको आन्दोलनमा ढल्यो ।

५) २०४६ सालदेखि २०८२ सालको अचानक विष्फोटन भएको जेनजी आन्दोलन सुरु भएको दिनसम्मको इतिहास निष्पक्ष भएर विश्लेषण गरौं र गर्नुहोस् । लोकतन्त्र आएपछि जेनजी आन्दोलन सुरु हुँदासम्म राजनैतिक पार्टीहरूबीच चरम आन्तरिक गुटबन्दी र खुट्टा तानातान भएको कुरा सबैलाई थाहा छ । त्यसैको परिणामस्वरूप जेनजीहरू र आम जनताहरू मिलेर विष्फोटनस्वरूप आन्दोलन गरेको हो । आन्दोलन जेनजीहरूले सुरुवात गरेको भए पनि आम जनताले सहयोग गरेका छन् । किनभने जनता चरम भ्रष्टाचार र राजनैतिक गुटबन्दीले गर्दा देश बर्बाद भएको देख्न नसकेर चरम आक्रोशित भएका थिए ।

६) यो माथिको इतिहास हेरेर जेन–जीहरुले पाठ सिक्न अनुरोध छ । तपाईंहरू भनेको एउटा निश्चित उमेरको युवाहरूको समूह हो । तपाईंहरूको राजनीतिक संगठन छैन । तपाईंहरूले देशमा सुशासन ल्याउन चाहनु हुन्छ र भ्रष्टाचार निर्मूल पार्न चाहनु हुन्छ । अनि तपाईंहरूले नेपाललाई एउटा समृद्ध देश बनाउने सपना देख्नु भएको छ । यो सपना पूरा गर्नका लागि तपाईंहरूमा एकताको अत्यन्तै खाँचो देखेको छु । किनभने तपाईंहरूबीचमा पनि गुटबन्दी र खुट्टा तानातान गर्ने प्रवृत्ति हावी हुँदैछ । मातृभूमिको अस्तित्वका लागि म विनम्र अनुरोध गर्दछु कि नेपालमा गुटबन्दी र खुट्टा तानातानको इतिहास नदोहोर्‍याउनु होस् ।

व्यापारिक केन्द्र बन्यो अपिको मकरीगाड

दार्चुला । सडक यातायातको सहज पहुँचसँगै अपिहिमाल गाउँपालिका–५ स्थित मकरीगाड अहिले व्यापारिक केन्द्र बनेको छ । करिब २० वर्षअघि सामान्य होटल–पसलसम्म सीमित मकरीगाड अहिले दर्जनौँ पसल, होटल र गोदामसहितको आधुनिक बजार बनेको छ ।
विसं २०७६ मा मकरीगाड जलविद्युत् आयोजना सुरु भएपछि सडक विस्तारले यहाँको आर्थिक रुपान्तरणलाई गति दिएको छ ।
विसं २०६० देखि मकरीगाडमा व्यापार गर्दै आएका धनसिंह लोथ्याल सडक पुगेपछि अहिले मकरीगाडमा बजार व्यवसाय बढेको बताउँछन् । ‘यो क्षेत्रमा २२ वर्षदेखि होटल व्यवसाय गर्दै आएको छु, पहिले खाना खाने र बास बस्नेमात्रै व्यापार थियो’, लोथ्याल भन्छन्, ‘तर अहिले सबै किसिमको व्यापार मकरीगाडमा भइरहेको छ, बिहानदेखि साँझसम्म चहलपहल बढेको छ ।’  सडक पुगेपछि जिप र मालबाहक ट्रक दैनिक रूपमा मकरीगाडसम्म पुग्न थालेका छन् । पहिला मार्मा गाउँपालिकाको लटिनाथ–सेलविसा हुँदै हुने व्यापार अहिले मकरिगाडमा केन्द्रित भएको छ । लोथ्यालका अनुसार पारिबगरदेखि मकरीगाड सडक खण्डमा खुलेका अधिकांश होटल पसल बन्द भएका छन् ।
अपिहिमालका वडा नं १ देखि ५ सम्मका स्थानीयका लागि मकरीगाड अहिले मुख्य बजार केन्द्र बनेको छ । पहिले लटिनाथबाट पिठ्युँमा सामान बोकेर आउनुपर्ने बाध्यता हटेको छ । पहिले मार्माको सेलविसासम्म मात्रै सडक थियो । स्थानीय लटिनाथबाट पिठ्युँमा समान बोकेर आउँथे । सडक पुगेपछि सामान सबै यहीँ सहज पाउन थालेको लोथ्याल बताउँछन् । उनका अनुसार यहाँ व्यापारिक चाप बढेको छ । धनगढीबाट रात्रिकालीन आउने यात्रु जिपमार्फत बिहानै मकरीगाड पुग्छन् । अहिले विटुले–पारिबगर–मकरीगाड सडकखण्डमध्ये मार्माको पारिबगरसम्म सडक ग्राभेल गरिएको छ । पारिबगर क्षेत्रसम्म बस सेवा सञ्चालनमा छ । पारिबगरदेखि मकरीगाडसम्म सडक कच्ची भए पनि सामान बोकेका ट्रक मकरीगाडसम्म नियमित सञ्चालन हुने गरेका छन् ।
मकरीगाडभन्दा माथि सडक नहुँदा पनि अहिले यस क्षेत्रमा व्यापार व्यवसाय बढेको मकरीगाडमा व्यापार व्यवसाय गर्दै आएका विसनसिंह धामी बताउँछन् । अहिले यो क्षेत्र सबै प्रकारको व्यापारका लागि केन्द्रबिन्दु बनेको छ । स्थानीयले आफ्नो उत्पादन मकरीगाडसम्म बिक्री गर्न ल्याउँछन् । खण्डेश्वरी घुसाबाट स्थानीयले हरियो साँग, दूध दही मकरीकगाड बजारमा व्यापार गर्ने अवस्था बनेको छ । तराई क्षेत्रबाट खाद्यान्न लत्ताकपडा सहजै यहाँ पुग्ने गरेको छ । यहाँका होटल तथा पसल राम्रो चलेका छन् ।
‘विद्युत् नबनेको भए सायदै अहिले नै सडक पुग्थ्यो’, धामीले भने, ‘यो सडक कालोपत्र भयो भने अझै यहाँको व्यापार राम्रो हुन्थ्यो ।’ अहिलेकोभन्दा सस्तो मूल्यमा सामान मकरीगाडमा उपलब्ध हुनेछ । खाद्यान्न उत्पादन न्यून हुने अपिहिमालका चार वडाका लागि अहिले तराईबाट सहजै खाद्यान्न मकरीगाड पुग्ने गरेको छ । विकास निर्माणमा चाहिने छड, सिमेन्टदेखि दैनिक उपभोग्य सामानको सहज उपलब्धता मकरीगाडमा पुगेको व्यापारी धनसिंह जागरी बताउँछन् । अहिलेको अवस्थामा अझै सडक स्तरोन्नतिको खाँचो छ ।
व्यापारी जागरीका अनुसार खाद्यान्न, लत्ताकपडा, सिमेन्ट, छडलगायत दैनिक उपभोग्य सामग्री मकरीगाडमै सहज उपलब्ध छन् । सडक स्तरोन्नति र भाडादर समायोजनको आवश्यकता अझै रहेको उनले बताए । तराईबाट आउने ट्रकहरूले अहिले अपिहिमालमा उत्पादित राज्मा, भटमास, आलु, कोदो, स्याउ र जडीबुटी धनगढीसम्म लैजान थालेका छन् । यसरी पहाड र तराईबीच दोहोरो व्यापार सहज बनेको छ ।
तराईबाट समान लिएर आउने ट्रकले सिजनमा पहाडको उत्पादन तराई पु¥याउन थालेका छन् । अपिहिमालमा उत्पादन हुने राज्मा, भटमास, कोदो, आलु, स्याउ र जडीबुटी तराई पठाउन सहज भएको जागरीले बताए । पहाडको आलु, दाल, स्याउ धनगढीसम्म पुग्न थालेको छ। यो क्षेत्रमा सडकका कारण दोहोरो व्यापार सहज बनेको छ । सडक माथि उक्लिँदै गर्दा व्यापार पनि माथि सर्ने गर्छ । पहिले लटिनाथ सेलविसा व्यापारिक केन्द्र चहलपहल हुन्थ्यो । अहिले मकरीगाड बनेको छ । मकरीगाडबाट झण्डै एक दशमलव पाँच किलोमिटर सडक माथि उक्लिएको छ । अपिहिमालको केन्द्रसम्म सडक पुग्यो भने व्यापार फेरि माथि सर्नेछ । –नरेन्द्रसिंह कार्की

टी–२० विश्वकप छनोटमा आज चीर प्रतिद्वन्द्वी यूएईसँग भिड्दै नेपाल

काठमाडौं । आईसीसी टी–२० विश्वकप एसिया इस्ट प्यासिफिक छनोटअन्तर्गत सुपर सिक्सको पहिलो खेलमा आज (आइतबार) नेपाल चीर प्रतिद्वन्द्वी यूएई भिड्दै छ ।

ओमानको अल एमिरेट क्रिकेट मैदानमा हुने खेल नेपाली समयअनुसार दिउँसो सवा ४ बजे सुरु हुनेछ । सुपर सिक्सको शीर्ष ३ मा रहने टोलीले अर्को वर्ष हुने विश्वकपमा स्थान बनाउने भएकाले आजको खेल नेपाल र यूएई दुवैका लागि निकै महत्वपूर्ण छ ।

नेपाल आजको खेलमा यूएईलाई हराउँदै विश्वकप खेल्ने सम्भावना थप बलियो बनाउने योजनामा छ । सुपर सिक्समा नेपाल र यूएईसहित ओमानसँग समान २ अंक छ । सुपर सिक्सको अंक तालिकामा नेपाल नेट रनरेटमा अघि छ ।

एशोसियट क्रिकेटमा नेपाल र यूएईबीचको खेल एल क्लासिको नामले परिचित छ । नेपाल समूह बीको विजेताका रूपमा सुपर सिक्समा पुगेको हो । यूएई समूह एको विजेताका रूपमा सुपर सिक्स खेल्न लागेको हो ।

समूह चरणका नेपालले पहिलो खेलमा कुवेतलाई ५८ रनले तथा जापानलाई ५ विकेटले हराएको थियो । सुपर सिक्समा नेपालले यूएईसहित, ओमान, कतार र सामोयासँग खेल्ने छ । जापानलाई समूह चरणमै हराएकाले नेपाल सुपर सिक्समा जापानसँग खेल्ने छैन ।

बेलायतमा नेपाली सेनाले जित्यो स्वर्ण पदक

लन्डन । संयुक्त अधिराज्यको वेल्स राज्यमा आयोजित क्याम्ब्रियन पट्रोल एक्सरसाइज (गस्ती अभ्यास) मा नेपाली सेनाले स्वर्ण पदक जितेको छ। ३ देखि १२ अक्टोबर २०२५ सम्म भएको उक्त अभ्यासमा नेपाली सेनाको टोलीले उच्च अंक प्राप्त गरी स्वर्ण पदक जितेको हो ।

सो अभ्यासमा कुल ११७ टिम (३३ देशबाट ३५ अन्तर्राष्ट्रिय टिम समेत) सहभागी थिए । नेपाली सेनाका मेजर कसम श्रेष्ठ र क्याप्टेन वीरेन्द्र मलासीको नेतृत्वमा १० जनाको नेपाली टिम अभ्यासमा सहभागी थियो । लन्डनस्थित नेपाली दूतावासका सैनिक सहचारी सहायक रथी अनुप शाहका अनुसार नेपाली सेनाले क्याम्ब्रियन पट्रोल एक्सरसाइजमा बर्सेनि उत्कृष्ट प्रदर्शन गर्दै आएको छ ।

गत वर्ष पनि क्याम्ब्रियन गस्ती अभ्यासमा नेपाली सेनाले स्वर्ण पदक प्राप्त गरेको थियो । उक्त अभ्यासमा कुल १२१ टिममध्ये ३६ देशका ३८ अन्तर्राष्ट्रिय टोली सहभागी थिए । यसअघि सन् २०१७ र २०१९ मा पनि नेपाली सेनाले स्वर्ण पदक जितेको थियो । सन् १९६० बाट वार्षिक रूपमा सञ्चालन हुँदै आएको अन्तर्राष्ट्रियस्तरको यस प्रतियोगितामा नेपाली सेनाले सन् २०१४ देखि भाग लिँदै आएको छ। बेलायती सेनाका अनुसार, यो अभ्यास कठिन हुने गरी डिजाइन गरिएको छ ।

१० दिनसम्म ८ चरणमा विभाजित उक्त अभ्यासमा ४८ घण्टाभित्र हतियार तथा करिब ७० पौण्ड (३२ केजी तौल) बराबरको उपकरण एवं बन्दोबस्ती सामग्रीसहित ६० किलोमिटर दूरी पार गर्नुपर्ने छ । अभ्यासमा सहभागी टोलीको लडाइ तयारी, खबर संकलन, घाइते–बिरामीको व्यवस्थापन लगायतका दक्षताहरूको परीक्षण गरिन्छ । मानसिक र शारीरिक चुनौती सामना गर्नुपर्ने यो अभ्यास कठोर मानिन्छ ।

पुराना दलहरुलाई मिराजको आग्रह : चुनावमा भाग लिनुस्, जनताले छाने तपाईंहरू नै आउने हो

काठमाडौं । जेनजी आन्दोलनका प्रतिनिधिहरुले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा भाग लिन राजनीतिक दललगायत सबै तह र तप्कालाई आह्वान गरेका छन् ।

राष्ट्रपति भवन शितलनिवासमा प्रधानमन्त्री सुशीला कार्की र मन्त्रिपरिषद्का सदस्यहरुसँग छलफलपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनीहरुले निर्वाचनमा सबै दललाई भाग लिन आग्रह गरेका हुन् । संसदीय अभ्यासमा रहेका पूराना दलहरु निर्वाचनमा भाग नलिए चुनाव नहुने अवस्था हुने भएकाले पनि घोषित निर्वाचनलाई सदुपयोग गर्नुपर्छ भन्ने आफूहरुको मान्यता रहेको बताए ।

जेनजी आन्दोलनका प्रतिनिधि मिराज ढुङ्गानाले निर्वाचन लोकतान्त्रिक प्रक्रिया भएकाले निर्वाचनमार्फत जनप्रतिनिधिको चयन हुने हुँदा स्वच्छ, स्वतन्त्र र निष्पक्ष निर्वाचन होस् भन्ने आफूहरुको चाहना रहेको बताए ।

‘निर्वाचनमा सबै दलहरु आइदिनुहोस्, यो लोकतान्त्रिक प्रक्रिया हो, कसैले रोक्न सक्दैन, सबैले भाग लिन पाउनु हुन्छ, अधिकार छ, जनताले छाने भने जो तपाईं नै निर्वाचित हुनुहोला, निर्वाचनमार्फत नयाँ शक्ति पनि उदाउन सक्छ, निष्पक्ष प्रतिष्पर्धा हुन्छ सबै जना आउनुहोस्, उनले भने । ढुङ्गानाले वर्तमान मन्त्रिपरिषदमा सडक आन्दोलनलाई उचाइमा पुर्‍याउन योगदान दिनेलाई समावेश गर्नुपर्छ भन्ने आफूहरुको स्पष्ट धारणा रहेको बताएका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलको आह्वानमा शुक्रबार अघिल्लो संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरु र सरकारबीच आगामी निर्वाचनका बारेमा छलफल भएको थियो । उक्त छलफलमा राजनीतिक दलका तर्फबाट चुनावका लागि शान्ति सुरक्षालगायत उपयुक्त वातावरण हुनुपर्ने धारणा व्यक्त भएको थियो भने सरकारकातर्फबाट राजनीतिक दलहरुलाई चुनावमा भाग लिन आग्रह गरिएको थियो ।

चुनाव नै निकास हो, विद्रोह विकल्प होइन : जेनजी नेपाल

काठमाडौं । ‘जेनजी नेपाल’ नामले परिचित युवाहरुको समूहले विद्रोहको लहरलाई चुनावी प्रक्रियाबाटै संस्थागत गर्नुपर्ने बताएको छ । समूहकी प्रतिनिधि रक्षा बमले शीतल निवासमा आयोजित छलफलपछि राजनीतिक दलहरुलाई निर्वाचनमा सहभागी हुन खुला अपिल गरेकी छन् । उनले भनिन्, ‘हाम्रो विद्रोहले दलहरुलाई नकारेको होइन, तर अविश्वासले झस्काएको हो । समाधान भनेको आवेग होइन, चुनाव हो ।’

निर्वाचनलाई परिवर्तनको मूल मञ्च मान्दै अपिल
‘अब आवश्यक कुरा विद्रोहको आवेग होइन, न त विद्रोहलाई गिज्याउने शैली हो’ भन्दै उनले राजनीतिक दलहरूमाथि गम्भीर प्रश्न उठाइन्, ‘या त जनताको विश्वास पुनःआर्जन गर्ने साहस देखाउनुहोस् वा इतिहासको परित्यक्त पानामा हराउन तयार रहनुहोस् ।’ उनको भनाइमा नेपाल अहिले नयाँ युगको प्रवेशद्वारमा उभिएको छ । राजनीतिक नेतृत्वको ढिलो निर्णय वा निष्क्रियता सिंगो पुस्ताको ऊर्जा र आकांक्षामा धक्का पुग्ने उनले चेतावनी दिइन् ।

जेनजी र दलहरूको सहमतिको संकेत ?
यो समूहमा प्रदीप ज्ञवाली, युजनराज भण्डारी, मनिष खनाल जस्ता ती अभियन्ताहरू छन्, जसले भदौ २३ को पहिलो दिन आन्दोलन आह्वान गरेका थिए । शीतल निवासमा शनिबारको छलफलमा सहभागी यी अभियन्ताहरुले देशको राजनीतिक समाधान पुनः चुनावी प्रक्रियाबाट खोजिनु पर्नेमा जोड दिएका छन् । ‘पाखा पल्टिने होइन, मार्ग तय गर्ने समय आएको छ’, रक्षा बमको भनाइ थियो ।

‘निर्वाचन राष्ट्रको साझा राजनीतिक जिम्मेवारी’
अपिलमा भनिएको छ, ‘परिवर्तनको म्यान्डेट जनताको हातमा सुम्पिने यो घडीमा सम्पूर्ण राजनीतिक शक्ति, नागरिक समाज, जेन–जी साथीहरू, युवा पुस्ता र सम्पूर्ण नेपाली नागरिक निर्वाचनमा लाग्न आवश्यक छ ।’

महानायक राजेश हमाल:  युग देखि युगसम्म’ पुस्तक सार्वजनिक


काठमाडौं । नेपाली चलचित्रका महानायक राजेश हमालको जीवन, सिनेमाजगत र समाजमा उनको योगदानलाई समेटिएको पुस्तक ‘महानायक राजेश हमाल स् युगदेखि युगसम्म’ आज सार्वजनिक गरिएको छ। यो पुस्तक लेखक यज्ञवससँगको संवादमा आधारित रहेको छ।

नेपाल प्रज्ञा प्रतिष्ठान भवनमा आयोजित लोकार्पण कार्यक्रममा स्वयं महानायक राजेश हमाल, लेखक यज्ञवस, चर्चित लेखक बुद्धिसागर र साहित्यकार मधु भट्टराईले संयुक्त रूपमा पुस्तक सार्वजनिक गरे। ‘युगदेखि युगसम्म’ मा राजेश हमालको पर्दा देखि पाना सम्मको लामो यात्रा, उनले चलचित्र क्षेत्रमा बिताएको समय, संघर्ष, सफलताका कथाहरू र व्यक्तिगत जीवनका सम्झनाहरू समेटिएका छन्। पुस्तकले हमालको जीवनका स्मृति र संस्कारहरूलाई समेत आत्मीय ढङ्गले प्रस्तुत गरेको छ।

कार्यक्रममा उपस्थित चलचित्रप्रेमी र पाठकहरूको उत्साह उल्लेखनीय थियो। भक्तपुरबाट आएका रविन्द्र बस्नेत भन्छन्,
“सुरुका २५ जनाले मात्र हस्ताक्षरसहितको पुस्तक निःशुल्क पाउने अवसर पाइयो। म बिहानै पुस्तक लिन आएको थिएँ, र अन्त्यमा भाग्यमानी भएर पाउन सफल भएँ। लामो समयदेखि चलचित्र क्षेत्रमा देखिँदै आएको चमकमाथि उहाँको वास्तविक जीवन र उहाँ वरिपरिको संसार बुझ्न अब हामी अझ नजिकबाट जान पाउनेछौं। म सबैलाई यो पुस्तक पढ्न अनुरोध गर्छु।”

त्यसैगरी, पुस्तकका उत्साही पाठक बुद्धि ब्लोन तामाङ भन्छन्,
“राजेश हमालले पहिले नै फेसबुकमा यस पुस्तकको बारेमा लेख्नुभएको थियो। मलाई त्यतिबेलै पढ्ने हतार भयो। हामीले पर्दामा हेर्दा उहाँको जीवन रमाइलो र ग्लामरस देखिन्छ, तर यस पुस्तकमार्फत उहाँको संघर्ष, मिहिनेत र आत्मबलको कथा बुझ्न सकिन्छ। म बिहानै पुगेको थिएँ र २५ जनामध्ये दोस्रो नम्बरमा पुस्तक पाउँदा निकै खुशी छु।”पुस्तकमा हमालको चलचित्रिक योगदान मात्र नभई उनको विचार, समाजप्रतिको दृष्टिकोण र नेपाली सिनेमा विकासमा दिएको भूमिका पनि समेटिएको छ।

‘महानायक राजेश हमाल स् युगदेखि युगसम्म’ सिनेमा प्रेमी, साहित्यप्रेमी र हमालका प्रशंसकहरूका लागि पढ्नैपर्ने कृति बनेको उपस्थित सबैले बताएका थिए।

 

देउवालाई शशांकको सुझाव : तत्काल कार्यवाहक सभापति तोक्नुस्

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले केन्द्रीय कार्य समिति तत्काल विघटन गर्न पार्टी सभापति शेरबहादुर देउवालाई सुझाव दिएका छन् ।

आज (शनिबार) पार्टी मुख्यालय सानेपामा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले सभापति देउवालाई कार्यवाहक सभापतिको जिम्मेवारी तोक्न पनि सुझाव दिएको जानकारी दिएका हुन् ।

‘विशेष महाधिवेशन होइन कि नियमित महाधिवेशन गर्नु पर्छ,’ कोइरालाले भने, ‘मैले शेरबहादुरजीलाई भने–यो मेरो व्यक्तिगत विचार हो । मैले उहाँलाई के भने भने तपाईं (कार्यसमिति) विघटन गर्नुस् । एक जनालाई कार्यवाहक सभापति दिनुस् । उनले गठन गर्दछन् । उनले मिति तय गर्दछन् । मलाई लाग्दछ– मंसिरसम्ममा मिति तय होला भन्ने मेरो भावना हो ।’

कस्तो छ राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था ?

काठमाडौं । जेनजी युवासँग वार्ताको तयारी चलिरहेका बेला अचानक स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना भएका राष्ट्रपति रामचन्द्र पौडेलको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचार चलिरहेको छ ।

उनको स्वास्थ्य परीक्षण भइरहेको र स्वास्थ्य अवस्था सामान्य रहेको सेन्टरका कार्यकारी निर्देशक प्रा. डा. रत्न मणि गजुरेलले जानकारी दिएका छन् । ‘सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेल ज्यूको स्वास्थ्यमा समस्या आएपछि यस सेन्टरमा उपचारार्थ भर्ना हुनु भएको छ,’ सेन्टरले विज्ञप्ति जारी गरेर भनेको छ, ‘हाल सम्माननीय ज्यूको स्वास्थ्य परीक्षण भइरहेको र उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी गराउँदछौं ।’

स्वास्थ्यमा समस्या आएपछि राष्ट्रपति पौडेल र जेनजी प्रतिनिधिबीच आज (शनिबार) शितल निवासमा हुन लागेको छलफल रोकिएको थियो । उक्त छलफल सोमबारका लागि सारिएको छ । छलफलका लागि जेनजीका २० प्रतिनिधिलाई शीतलनिवास प्रवेश दिइएको थियो । प्रवेश नपाएका जेनजीहरुले शीतल निवास अगाडि नाराबाजी समेत गरेका थिए ।

प्रधानमन्त्रीले भनिन्–सरकार एनजीओको होइन, जेनजीको वास्तविक लिडर मलाई पनि थाहा छैन

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनका वास्तविक नेतृत्वबारे खुलेर प्रश्न उठाउँदै, ‘को हो त लिडर ? मलाई पनि थाहा छैन’, भनेर आफ्नो अन्योल सार्वजनिक रुपमा व्यक्त गरेकी छन् ।

शनिबार शीतलनिवासमा जेनजीका विभिन्न समूहका प्रतिनिधिहरूसँग प्रधानमन्त्री र मन्त्रीहरूको अनौपचारिक भेटमा उक्त कुरा खोलेकी हुन् । वार्ताको मूल केन्द्रबिन्दु जेनजी आन्दोलनपछिको सरकारको वैधता, नेतृत्व संरचना, र विशेष गरी आन्दोलनको ‘हाईज्याक’ भएको भन्ने आरोप रहे पनि प्रधानमन्त्रीले केही विषयहरूमा प्रतिवाद गरिन् भने केहीमा आफूलाई पनि अन्योल रहेको स्वीकारिन् ।

‘सरकार एनजीओको होइन, म आफैं चलाइरहेकी छु’
छलफलमा सहभागी एक प्रतिनिधिका अनुसार, जेनजी समूहले प्रधानमन्त्रीलाई प्रश्न गरे, ‘के यो सरकार विदेशी एनजीओहरूले चलाएको हो ?’ जवाफमा प्रधानमन्त्री कार्कीले स्पष्टसँग भनिन्, ‘होइन, यो सरकार मैले नेतृत्व गरेको हो, कुनै एनजीओले होइन । तपाईंहरू ढुक्क हुनुहोस् ।’ प्रधानमन्त्रीले आफ्नो सरकार आन्दोलनकै जगमा बनेको, जनभावनाको कदर गर्ने र समयमै निर्वाचन गराउने पक्षमा रहेको बताउँदै सहयोगका लागि आह्वान गरिन् ।

प्रमुख दलहरू ‘चुनाव’ मा अनिश्चयमा, राष्ट्रपति अनुपस्थित
भेटवार्ता राष्ट्रपतिसँग तय भए पनि रामचन्द्र पौडेल अस्वस्थ भई अस्पताल भर्ना भएपछि छलफल प्रधानमन्त्री र मन्त्रीहरूले नै नेतृत्व गरेका थिए। प्रधानमन्त्रीले लोकतान्त्रिक अभ्यासमा सबै पक्षले भाग लिनुपर्ने आवश्यकता औंल्याउँदै कांग्रेस र एमालेलाई पनि निर्वाचनमा सहभागी हुन आग्रह गरिन् । तर ती दलहरूले अन्तिम निर्णय पार्टीको बैठकपछि मात्रै लिने बताएका छन् । स्रोतका अनुसार, दुवै दलले आगामी चुनाव तोकिएको मितिमा हुनेमा नै आशंका व्यक्त गरेका छन् ।

जेनजी आन्दोलनभित्र ‘वास्तविक नेतृत्व’ को खोजी
छलफलमा उठेको अर्को प्रमुख विषय थियो—जेनजी आन्दोलनको आधिकारिक प्रतिनिधित्व कसले गर्छ ? विभिन्न समूह, उपसमूह र नेतृत्वदावीबीच देखिएको भ्रमतर्फ इशारा गर्दै प्रधानमन्त्रीले भनिन्, ‘जेनजी आन्दोलनको वास्तविक लिडर को हो भन्ने मलाई पनि थाहा छैन । म पनि खोजी गरिरहेको छु ।’ प्रधानमन्त्रीको यस्तो अभिव्यक्तिले आन्दोलनको नेतृत्व स्पष्ट नभएको र सरकार आफैं पनि यस विषयमा स्पष्ट दिशानिर्देश बिना रहेको सन्देश दिएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाको फरक अभिव्यक्ति
वार्तामा सहभागी राष्ट्रिय स्वतन्त्र पार्टीले निर्वाचनलाई हरहालतमा सफल बनाउनुपर्ने र त्यसका लागि परराष्ट्रमा रहेका नेपालीको सहभागिता सुनिश्चित गर्नुपर्नेमा जोड दिएको थियो ।

पार्टीका सहमहामन्त्री विपिन कार्कीले मुख्यधारका दलहरूले जेनजी आन्दोलनप्रति अझ गहिरो समझ आवश्यक रहेको बताएका छन् । उता राप्रपाका ज्ञानेन्द्र शाहीले संघीयता खारेज र राजसंस्थाको पुनस्र्थापनासहितको ८ बुँदे प्रस्ताव पेश गरेका थिए ।

छलफल खुल्यो, तर अन्योल अझ बाँकी
शनिबारको छलफलले सत्ता र आन्दोलनबीच संवादको ढोका खोल्ने प्रयास गरे पनि नेतृत्वको अस्पष्टता, दलहरूको अनिश्चय र राष्ट्रपति अनुपस्थितिका कारण ठोस निर्णयमा पुग्न सकेन । प्रधानमन्त्री कार्कीको अभिव्यक्तिले सरकारभित्र पनि आन्दोलनप्रति अझै स्पष्ट रणनीति र समन्वयको खाँचो देखिएको छ ।

जेनजी अलाइन्सको प्रश्न : गोली खानेलाई निषेध, विदेशी एजेण्टसँग वार्ता ?

काठमाडौं । नयाँ वा पुराना कुनै पनि राजनीतिक दलमा आबद्ध नभएर राजसंस्था देशको हितमा रहेको विश्वास राखेर भदौ २३ मा आन्दोलन आह्वान गरेका वास्तविक जेनजी अभियानलाई बेवास्ता गरिएको भन्दै एक राष्ट्रियवादी समूहले सरकार, राष्ट्रपति र सञ्चारमाध्यमलाई कठोर चेतावनी जारी गरेको छ ।

जेन जेड अलाइन्स फर मोनार्कीका प्रवक्ता सनातन रिजालले शनिबार जारी गरेको सार्वजनिक अपिलमा आन्दोलन ‘हाईज्याक’ गर्ने र आन्दोलनको मर्म विकृत गर्ने विदेशी वा डमी पात्रहरूलाई महत्व नदिन आग्रह गरिएको छ । अपिलमा भनिएको छ कि वास्तविक आन्दोलनकर्ता– देशभक्त राष्ट्रवादी किशोर–किशोरी र युवाहरूलाई निषेध गर्ने रवैया जारी राखिए राष्ट्रमा फेरि ठूलो विद्रोहको अवस्था सिर्जना हुन सक्ने चेतावनी दिइएको छ ।

यस्ता छन् अपिलका मुख्य दावी र आक्षेपहरू :
राष्ट्रपति, प्रधानमन्त्री, सञ्चारमाध्यम र विचार निर्माताहरूले नक्कली जेनजी, विदेशी एजेन्ट तथा दलका भातृ संगठनका उम्मेदवारहरुलाई आन्दोलनको प्रतिनिधि बनाएर वास्तविक आन्दोलनकर्तालाई निषेध गरेको आरोप लगाइएको छ ।

यदि सरकार र मिडियाले गोली खाने र आन्दोलनमा जानेलाई निषेध गर्दै बाह्य तथा स्थापित शक्तिका प्रतिनिधिहरूसँग मात्र वार्ता गरे भने परिस्थिति बिग्रने खतरा औंल्याइएको छ । अपिलकर्ताहरुले सञ्चारमाध्यमलाई पनि नक्कली जेनजीलाई ठाउँ नदिन र सरकार तथा राष्ट्रपतिलाई वास्तविक आन्दोलनकर्तासँग संवाद गर्न आग्रह गरेका छन् ।

सञ्चार माध्यम र शासकीय निकायहरूमाथि त्यस्तो ‘छानबिन विनाको सत्ता–वार्ता’ गर्नु अस्वीकार्य भएको उनीहरूको भनाइ छ । अपिलमा भनिएको छ, ‘हामी साँच्चीकै विद्रोहमा जान बाध्य पारिँदैछौं; हाम्रो आवाजलाई बेवास्ता गरिए विद्रोहको अर्को चरण अनिवार्य हुनेछ ।’

समूहले सरकारी तह र मिडियालाई भरोसा गर्नु भन्दा पहिले आन्दोलनका वास्तविक प्रतिनिधिहरूको पहिचान, तिनीहरूको माग र नेतृत्व स्पष्ट गर्ने पारदर्शी प्रक्रिया अपनाउन दबाव दिएका छन् । उनीहरूले भनेका छन्, सही प्रतिनिधित्व कायम नगरी गरिने छलफल र सम्झौता अस्थायी समाधान मात्र हुनेछ र त्यसले दीर्घकालीन अस्थिरता निम्त्याउन सक्छ ।

साढे चार लाख घुससहित प्रधानाध्यापक र बिचौलिया पक्राउ

रौतहट । शिक्षक नियुक्तिका लागि सेवाग्राहीसँग चार लाख ५० हजार घुस लिएको आरोपमा रौतहटको जय किसान माध्यमिक विद्यालयका प्रधानाध्यापक संजय प्रसाद र बिचौलिया अरविन्द प्रकाश साह कानु पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुस लिएको सूचनाको आधारमा बिचौलिया साहकानुले सेवाग्राहीबाट मागिएको रकम बुझिसकेको अवस्थामा रंगेहात पक्राउ गरिएको आयोगले जनाएको छ ।

प्रधानाध्यापक संजय प्रसादले विद्यालयमा शिक्षक आवश्यकता सम्बन्धी खुलाइएको विज्ञापनको आधारमा सेवाग्राहीबाट विधिपूर्वक दिइएको दरखास्तको प्रक्रियालाई अगाडि बढाउने बहानामा घुस मागेको उजुरीका आधारमा आयोगको टोली खटिएको थियो । उनले विचौलियामार्फत ४ लाख ५० हजार घुसबापत मागेका थिए । सेवाग्राहीले उक्त रकम बिचौलिया साहुकानुलाई बुझाएका थिए ।

उनीहरूलाई पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका–१३, अदालत रोडस्थित एक होटलबाट शुक्रबार नियन्त्रणमा लिइएको हो । अहिले दुबैजनामाथि थप अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए ।

 

जेनजीसँग वार्ता गर्दागर्दै बिरामी परेपछि राष्ट्रपति पौडेल अस्पताल भर्ना

काठमाडौं । जेनजी प्रतिनिधिहरूसँग शीतल निवासमा वार्ता गर्दागर्दै अस्वस्थ भएपछि राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना भएका छन् ।आज बिहान प्रधानमन्त्री सुशीला कार्कीसहित जेनजीका प्रतिनिधिसँग छलफल गर्दागर्दै राष्ट्रपति बिरामी परेका हुन् ।

त्यसपछि उनलाई महाराजगञ्जस्थित मनमोहन कार्डियोथरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको छ । अस्पताल स्रोतका अनुसार उनी अस्पताल आइपुगेको करिब दुई घण्टा भएको छ । अहिले प्रारम्भिक परीक्षण भइरहेको छ ।

अब जेनजीका प्रतिनिधिसँग आगामी सोमबार दिउँसो ३ बजे छलफल गरिने राष्ट्रपतिको सचिवालयले जनाएको छ । आज वार्ताका लागि सुदन गुरुङको टोली शीतल निवास छिरेपछि बाहिर असन्तुष्ट जेनजी युवाले नाराबाजी गरेका कारण पनि छलफल अघि बढ्न सकेन ।

सहकारी ठगीमा थुनामा रहेका ढोरपाटनका मेयर नेपालीलाई सम्पति शुद्धीकरणको पनि मुद्दा

काठमाडौं । बागलुङको ढोरपाटन नगरपालिकाका मेयर तथा इमेज बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष देवकुमार नेपालीविरुद्ध एक अर्ब ५८ करोड ९४ लाख बढी रकमको सम्पत्ति शुद्धीकरण अभियोगमा पनि मुद्दा दायर गरिएको छ ।

सहकारी ठगी र शुद्धीकरण प्रकरणमा नेपालीसहित १५ जना प्रतिवादी बनाइएका छन् । जिल्ला सरकारी वकिल कार्यालय, बागलुङले बिहीबार जिल्ला अदालतमा सहकारीको रकम अपचलन गरी गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको आरोपमा यो मुद्दा दायर गरेको हो ।

झुटो ब्याजको प्रलोभन, नक्कली ऋणी र चलखेलको जालो
देवकुमार नेपालीले अध्यक्ष रहेको इमेज सहकारीले एक हजार ५४३ जना बचतकर्ताको करोडौं रुपैयाँ संकलन गरी, कृत्रिम खाता खोलेर, नक्कली ऋणी खडा गरेर, नक्कली कागजमार्फत ऋण प्रवाह देखाएर आफ्नै श्रीमती र आफन्तको नाममा सम्पत्ति खरिद गरेको अनुसन्धानबाट खुलेको छ ।

रकम अपचलनका लागि उनीहरूले बढी ब्याज दिने झुटो आश्वासन दिएर सर्वसाधारणलाई लोभ्याएका थिए । वास्तविक आवश्यकता नभएका ऋणहरू बनाइए, जमानत विनै ऋण वितरण गरियो र अन्ततः सहकारीको नीति, सिद्धान्त र कानुनको पूर्ण उल्लंघन गर्दै रकम हिनामिना गरिएको हो ।

शुद्धीकरणमार्फत सम्पत्ति आर्जन : घर–जग्गा, नगद र शेयर
अभियोगपत्र अनुसार, देवकुमार नेपालीले शुद्धीकरणमार्फत कमाएको रकम :
एक करोड ५८ लाख ९४ हजार ५५ हजार ३९१ (बिगो)
श्रीमती छेलाको नाममा मात्र ६ करोड ९८ लाख बढी
सहकारीको ४० लाखको शेयर, १ लाख २० हजार नगद र विभिन्न स्थानका जग्गा जफतको माग

मतियारहरूको मिलेमतो : कर्मचारीदेखि समितिसम्म सबै संलग्न
जिल्ला सरकारी वकिलको कार्यालयले उक्त घटनामा १५ जना अन्यलाई ‘मतियार’ का रूपमा प्रतिवादी बनाएको छ।
त्यसमध्ये प्रमुख नामहरूः
डोरबहादुर परियार (उपाध्यक्ष)
सुनील नेपाली (सचिव)
लक्ष्मी सेन सुनार (कोषाध्यक्ष)
चित्रबहादुर भण्डारी, रूपा विक, झगबहादुर शाही (सदस्य)

शक्ति किसान (शाखा प्रबन्धक), लालमति रोका (लेखा प्रमुख)
अनिता बुढामगर, सुरेन्द्र बोहरा, सञ्जिता थापा, पुष्पा पाठक खत्री, दीपक पौडेल, सन्तोष नेपाली

उनीहरूमाथि सहकारीको रकम :
कृत्रिम हिसाब देखाएर अन्य खातामा रकमान्तर गर्ने, बचतकर्ताको नाममा पैसा निकालेर व्यक्तिगत रूपमा खर्च गर्ने, राजस्व छलेर राज्यलाई पनि आर्थिक नोक्सानी पुर्‍याएको आरोप छ ।

दावी : दोब्बर जरिवाना, २–१५ वर्षसम्म कैद सजाय
आरोपपत्र अनुसार, देवकुमार नेपालीले गरेका गैरकानुनी कार्यबाट प्राप्त सम्पत्तिको रकम बराबर दोब्बर जरिवाना, साथै २ देखि १५ वर्षसम्मको कैद सजाय माग गरिएको छ ।

भूमि आयोग खारेज मौलिक हक खारेज गरे सरह : शंकर पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले भूमि आयोग खारेज गरेर सरकारले गल्ती गरेको बताएका छन् । आज सामाजिक सञ्जालमा लेख्दै पोखरेलले सुशीला कार्की नेतृत्वको सरकारले आयोग खारेज गरेर लाखौं भूमिहीनको जग्गा पाउने मौलिक हकलाई खारेज गरेको दाबी गरेका हुन् ।

अघिल्लो सरकारको नीति, कार्यक्रम, बजेट स्वीकार्य हुने तर त्यसै अन्तर्गत बनेको भूमि आयोग किन अस्वीकार्य भनेर प्रश्न गर्नु भएको छ । पोखरेलले आयोग खारेज गरेर भूमिहीन, सुकुम्बासी, अव्यवस्थित बसोबासी र भूमिहिन दलित समुदायलाई संविधानले दिएको मौलिक हक खारेजी गर्नु सरहको भएको टिप्पणी गरे ।

‘भूमि आयोग खारेज गर्नु भनेको लाखौं भूमिहीन सुकुम्वासी, अव्यवस्थित वसोवासी र भूमिहीन दलित समुदायलाई संविधानले दिएको जमिन प्राप्त गर्ने मौलिक हकको खारेजी गर्नु सरह हो ।’ उनले प्रश्न गरे, ‘पुरानै सरकारको नीति, कार्यक्रम र बजेट चाँहि स्वीकार्य हुने, त्यसै नीतिअन्तर्गत गठन गरिएको भूमि आयोग कसरी बेठिक हुन सक्छ ?’

सरकारले बिहीबारको मन्त्रिपरिषद् बैठकबाट भूमि आयोग र सम्पूर्ण जिल्ला समितिहरू पनि खारेज गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषदको बैठकबाट भूमि आयोग खारेज गरेपछि लालपुर्जा पाउने तयारीमा रहेका हजारौं सुकुमबासीहरू निराश बनेका छन् । अघिल्लो सरकारले गतवर्ष कात्तिक १३ गते हरिप्रसाद रिजालको अध्यक्षतामा भूमि समस्या समाधान आयोग गठन गरेको थियो ।

विपद संकटग्रस्त घोषित इलामको स्थलगत अवलोनलमा मन्त्री घिसिङ

इलाम । भौतिक योजना तथा पुनर्निर्माण मन्त्री कुलमान घिसिङ शनिबार बाढी–पहिरो प्रभावित इलामको अवलोकनमा पुगेका छन् । हालैको भीषण वर्षापछि इलामका विभिन्न स्थानमा व्यापक जनधनको क्षति भएपछि सरकारले तीन महिनाका लागि संकटग्रस्त क्षेत्र घोषणा गरेको छ ।

मन्त्री घिसिङ प्रभावित क्षेत्रको अवस्थाबारे स्थलगत निरीक्षणमा बिहान झापा हुँदै इलामतिर प्रस्थान गरेको झापाका प्रमुख जिल्ला अधिकारी गोपाल अधिकारीले जनाए । मन्त्री घिसिङले इलाम १० राजदुवालीका बाढी पीडितलाई भेट्ने र राहत वितरण गर्ने कार्यक्रम छ ।

त्यस्तै राजदुवाली सडक, मिल घुम्ति लगायत क्षेत्रको सडक अवलोकन गर्ने कार्यक्रम छ । मन्त्री घिसिङले इलाम नगरपालिका–१० राजदुवाली, सन्दकपुर, माईजोगमाई लगायतका प्रभावित बस्तीहरूमा पुगेर स्थानीयवासीसँग क्षतिग्रस्त संरचना, सडक, पुल–पुलेसा र राहत व्यवस्थाको स्थिति बुझ्ने बताइएको छ ।

उनले प्रभावित नागरिकलाई राहत, पुनर्वास र पुनर्निर्माणमा सरकारले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । ‘सरकार प्रभावित नागरिकसँगै छ । तत्कालीन राहत र दीर्घकालीन पुनर्निर्माणका काम अघि बढाइनेछ’, मन्त्री घिसिङले बताएका छन् । स्थानीय जनप्रतिनिधि, प्रशासनिक अधिकारी र सुरक्षाकर्मीहरू पनि मन्त्रीको टोलीसँगै रहेका थिए । बाढी र पहिरोका कारण इलाममा ३९ जनाको मृत्यु भएको छ । दर्जनौं सडक भासिएका छन् । दर्जनौं बस्ती जोखिममा परेका छन् भने सयौं परिवार विस्थापित भएका छन् ।

प्रशासनको आदेश अवज्ञा गर्दै काठमाडौंमा राजावादीको जुलुस

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंको आदेशलाई अवज्ञा गर्दै काठमाडौंको सामाखुशीमा राजावादीहरूले जुलुस निकालेका छन् । सन्तोष राजावादीको नेतृत्वमा राजा चाहियो भन्दै नाराबाजी गरेका हुन् ।

अहिले प्रदर्शनकारीलाई प्रहरीले घेरा हालेर राखेको छ । अहिलेसम्म कसैलाई पक्राउ गरेको छैन । काठमाडौं प्रशासनले हिजो स्थिति सामान्य नभएसम्म कसैलाई र्‍याली, भेला, जुलुस गर्न नदिने निर्णय गरेको थियो । उनीहरूले राजा आऊ देश बचाऊ , हत्यारा सरकार मुर्दावाद, गणतन्त्र मुर्दावाद, हाम्रो राजा, हाम्रो देश प्राणभन्दा प्यारो छ, नारा लगाएका थिए ।

सम्भावित चार मन्त्रीको नामप्रति मिराज ढुङ्गानाको आपत्ति : कुन जेनजीले सिफारिस गर्‍यो ?

काठमाडौं । जेनजी आन्दोलनको प्रतिनिधित्व भन्दै सरकारद्वारा प्रस्तावित मन्त्रीहरुको सूचीप्रति जेनजी अभियन्ता मिराज ढुङ्गानाले कडा आपत्ति जनाएका छन् । उनले सरकारले मनोनीत गर्न लागेको चार मन्त्रीमध्ये कसैले पनि आन्दोलनको आधिकारिक प्रतिनिधित्व नगरेको दाबी गर्दै प्रश्न उठाएका छन्– ‘को जेनजी ? कुन जेनजीले सिफारिस गर्‍यो ?’

सरकारले हालै चार जना नयाँ अनुहारलाई मन्त्री बनाउने तयारी गरिरहेको छ । जेनजी आन्दोलनको नाममा अगाडि सारिएका यी नामहरूमाथि आन्दोलनभित्रैबाट आलोचना सुरु भएको छ ।
चार मन्त्रीको नाम, चार फरक पृष्ठभूमि–तर ‘संलग्नता कहाँ ?’
सरकारले मन्त्री बनाउने तयारी गरेका नामहरू यस्ता छन् :-
डा. रामजी राम – चमार समुदायबाट पहिलो डाक्टर, रौतहटका, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका लागि प्रस्तावित । उनी केही समयअघि कलेज शुल्क विवादका कारण चर्चामा आएका थिए ।

गणपतिलाल श्रेष्ठ–सांस्कृतिक सम्पदा संरक्षणमा सक्रिय अभियन्ता । रानीपोखरी, पशुपति क्षेत्र जस्ता स्थानहरूमा भइसकेका ‘व्यापारीकरणविरुद्ध’ निरन्तर आवाज उठाउँदै आएका श्रेष्ठलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा लैजाने तयारी छ ।

बब्लु गुप्ता– कोभिड–१९ महामारीका बेला निःशुल्क खाना अभियान चलाएका समाजसेवी । अहिले ‘हन्ड्रेड ग्रुप’ मार्फत विद्यार्थी शिक्षादेखि रगत आपूर्तिसम्मका अभियानमा सक्रिय । उनलाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिन लागिएको हो ।

टासी ल्हाजोम–हुम्लाको लिमि भ्यालीकी जलवायु न्यायमा सक्रिय युवती । दिल्ली विश्वविद्यालयकी स्नातक, हिमाली आवाजलाई अन्तर्राष्ट्रिय मञ्चमा पु¥याउँदै आएकी । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका लागि प्रस्तावित ।

जेनजी नेताहरूको प्रश्न : प्रतिनिधित्व कि प्रतीकात्मकता ?
मिराज ढुङ्गानाले खुला रूपमा सरकारको यो कदमप्रति असन्तुष्टि जनाउँदै सामाजिक सञ्जालमार्फत लेखेका छन्, ‘यीमध्ये को जेनजी आन्दोलनको अगुवा थिए ? कसले सिफारिस गर्‍यो ? हामीलाई नबोलाई हाम्रो नाममा निर्णय किन ?’

उनको आपत्तिमा आन्दोलनका अरू अभियन्ताहरूको समर्थन पनि देखिएको छ । उनीहरूले प्रतिनिधित्वको नाममा गरिएको ‘प्रतीकात्मक नियुक्ति’ लाई आन्दोलनको मर्मको विपरीत भनेका छन् ।

सरकारको रणनीति : मन्त्रीहरू, सचिवालय सदस्यहरू र सन्तुलनको खेल ?
प्रधानमन्त्री सुशीला कार्कीले भने मन्त्रीपरिषदमा चार जनालाई मात्रै होइन, आन्दोलनमा सक्रिय अन्य युवाहरूलाई पनि प्रधानमन्त्री सचिवालयमा समेट्ने तयारी गरिरहेको बताइएको छ । सत्ता समीकरण, सामाजिक सन्तुलन, क्षेत्रीय प्रतिनिधित्व र आन्दोलनको दबाबबीच प्रधानमन्त्री कार्यालयले ’सन्तुलनको नीति’ अपनाएको देखिन्छ । तर आन्दोलनकारीहरूको भनाइ छ– संवाद विना गरिएको निर्णयले सन्तुलन होइन, अविश्वास बढाउँछ ।

काठमाडौं सामकोशी चोकमा राजावादीहरूको प्रदर्शन

काठमाडौँ । काठमाडौं सामकोशी चोकमा राजावादीहरूले प्रदर्शन गरेका छन् ।

उनीहरू यस अघि सामकोशी चोक मा जम्मा भएर नारायणहिटी जाने कार्यक्रम तय भएको थियो ।

तर हिजो काठमाडौं जिल्ला ले कुनै पनि आन्दोलनका कार्यक्रम गर्न नदिने सूचना निकाले पछि उनीहरू अहिले सामकोशी चोक मै आन्दोलन गरिरहेका छ्न ।

नेपालञ्जका होटलमा अनैतिक गतिविधि, प्रहरीले पक्रियो ४५ जना पक्राउ

नेपालगञ्ज । नेपालगञ्जका चार होटल तथा रेष्टुरेन्टमा प्रहरीले छापा हानेर ४५ जनालाई नियन्त्रणमा लिएको छ । ती होटल तथा रेष्टुरेन्टमा अनैतिक गतिविधि तथा कार्य भएको गुनासो आएपछि छुट्टाछुट्टै टोली बनाएर होटल तथा रेष्टुरेन्टमा छापा हानिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक दीपक पातलीले जानकारी दिए ।

उनले होटेल तथा रेष्टुरेन्ट सञ्चालकलाई नियन्त्रणमा लिइएको उल्लेख गर्दै अनुसन्धान जारी रहेको बताए । प्रहरीले नेपालगञ्जको मिलन कटेज, भेरी कर्णाली होटल, रिभरसाइड र दङ्गाली होटलमा छापा मार्दा ३१ महिला र १४ पुरुष नियन्त्रणमा लिइएको जनाएको छ । पक्राउ पर्नेमा आठ जना भारतीय युवक समेत रहेका छन् ।

जेनजीको विरोधपछि शीतल निवास परिसरको सुरक्षा व्यवस्था कडा (तस्बिरहरु)

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग छलफल गर्ने प्रतिनिधिबारे विवाद भएपछि शीतलनिवास बाहिर जेनजी प्रतिनिधिहरूले नाराबाजी गरेका छन् ।

विवाद बढेपछि राष्ट्रपतिले आज गर्ने भनिएको छलफल स्थगित भएको छ । अब सोमबार दिउसो ३ बजे राष्ट्रपति र जेनजी प्रतिनिधिबिच छलफल हुने राष्ट्रपतिको सचिवालयले जानकारी दिएको छ ।

शीतलनिबास परिसरमा जेनजीहरु नाराबाजीमा उत्रिएपछि सुरक्षा व्यवस्था कडा पारिएको छ ।

राष्ट्रपतिले सुदनसहित यी २० जेनजी प्रतिनिधिलाई बोलाए छलफलमा, छुटेकाले गरे नाराबाजी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग छलफलका लागि सरकारले जेनजीका २० प्रतिनिधि छानेको छ । राष्ट्रपतिसँग छलफलका लागि सरकारले छानेको सूचीमा छुटेकाहरूले शीतलनिवास बाहिर प्रदर्शन गरेका छन् । जेनजीका प्रतिनिधिबीच सहभागिताका लागि विवाद भएपछि राष्ट्रपति रामचन्द्र पौडेलले आज आह्वान गरेको बैठक स्थगन गरिएको छ ।

प्रधानमन्त्री सुशीला कार्कीसहित शीतल निवासमा आयोजित छलफलमा को–को सहभागी हुने भन्ने विषयमा जेनजी युवाबीच मतभेद भएपछि राष्ट्रपतिले बैठक स्थगन गरेका हुन् । त्यसपछि छलफल सोमबारका लागि सारिएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।

अब सोमबार दिउँसो ३ बजे छलफल हुनेछ । भदौ २३ र २४ गतेको भएको जेनजी आन्दोलनको खास नेतृत्वकर्ता नहुँदा नेतृत्व दाबीका लागि युवाहरूबीच विवाद छ । ककसलाई जेनजीका प्रतिनिधि मान्ने भन्ने अन्योल हुँदा सरकार पनि अप्ठेरोमा परेको छ । यद्यपि आन्दोलनयताका हरेक वार्तामा सुदन गुरुङ अगाडि सरिरहेका छन् ।

राष्ट्रपति पौडेल अहिले प्रधानमन्त्री सुशीला कार्कीसहित मन्त्रीहरूसँग छलफलमा छन् । स्वास्थ्यमा समस्या आएको भन्दै राष्ट्रपतिले जेनजीसँग आज बस्ने भनिएको वार्ता सोमबारलाई सारेका छन् । वार्ता बस्नुअघिसम्म यो सूचीमा थपघट हुन सक्ने जनाइएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले छलफलका लागि बोलाएका जेनजी प्रतिनिधि
१) सुदन गुरुङ
२) ओजस्वीराज थापा
३) निकुञ्ज भण्डारी
४) मिराज ढुङ्गाना
५) प्रवेश दाहाल
६) जितेन्द्र शाह
७) पुरुषोत्तम यादव
८) प्रशान्त पौडेल
९) अंकित अधिकारी
१०) अभिषेक श्रेष्ठ
११) जुनल गदाल
१२) अर्जुन शाही
१३) रक्षा बम
१४) प्रदीप ज्ञवाली
१५) युजनराज भण्डारी
१६) आदित्य कर्ण
१७) आकृति घिमिरे
१८) मोनिका निरौला
१९) ओजस्वी भट्टराई
२० सिजन रानामगर

 

जेनजी युवाबीच विवादपछि राष्ट्रपतिसँगको छलफल स्थगन

काठमाडौँ । जेनजीका प्रतिनिधिबीच सहभागिताका लागि विवाद भएपछि राष्ट्रपति रामचन्द्र पौडेलले आह्वान गरेको बैठक स्थगन गरिएको छ।

प्रधानमन्त्री सुशीला कार्कीसहित शीतल निवासमा आयोजित छलफलमा को को सहभागी हुने भन्ने विषयमा जेनजी युवाबीच मतभेद भएपछि राष्ट्रपतिले बैठक स्थगन गराएका हुन्।

वार्ताका लागि सुदन गुरुङको टोली शीतल निवास छिरेपछि बाहिर रहेका जेनजी युवाहरूले नाराबाजी गरेका थिए।

त्यसपछि छलफल सोमबारका लागि सारिएको राष्ट्रपतिको सचिवालयले जनाएको छ।

आज गर्ने भनिएको छलफलमा सहभागी हुने प्रतिनिधिबारे विवाद भएपछि सोमबार दिउसो ३ बजे छलफल गर्ने तय भएको हो । आफ्नो सहभागिता नभएको भन्दै केही समूहहरूले आपत्ति जनाएका थिए ।

यसअघि राष्ट्रपतिको आह्वानमा शुक्रबार शीतल निवासमा सर्वदलीय बैठक बसेको थियो । सो बैठकमा निर्वाचनको तयारी र पछिल्ला घटनाक्रमबारे छलफल भएको थियो ।

नेपाल विश्वभरका पर्यटकहरूको आकर्षक गन्तव्य (तस्बिरहरू)

काठमाडौँ । नेपाल प्राकृतिक सम्पदा तथा जैविक विविधताले विश्वभर परिचित छ । यहाँ पाइने वन्यजन्तु, वनस्पति र जैविक विविधता तथा तिनको समग्र पारिस्थितिकीय प्रणालीले विश्वभरका पर्यटकहरू आकर्षित गर्ने गरेको छ ।

हाम्रो देश भौगोलिक हिसाबले जती सानो छ, प्राकृतिक हिसाबले उति नै ठूला र सुन्दर छ । हिमनदी, अग्ला हिमाल, पहाड तथा ठुल्ठुला नदीहरुले विभाजित तराई क्षेत्र वन्यजन्तु संरक्षणमा संसारलाई उछिनेको छ ।

९०० भन्दा बढी प्रजातिका चरा, २०० भन्दा बढी जनावर, उति नै धेरै माछा र ५० भन्दा बढी सरीसृप सँगसँगै अनगिन्ती किराफट्याङ्ग्रा र वनस्पती नेपालमा पाइन्छ । देश को कुल भूभागको २३.३९५ जमिनलाई संरक्षित क्षेत्र घोषणा गरेको छ ।

हामी कहाँ संसारमै लोपोन्मुख प्रजातीका पाटे बाघ, एक सिंङ्गे गैंडा, जङगली हाती जस्ता जनावर सजिलै देख्न सकिन्छ । यसैगरी बर्षेनी लाखौंको सङ्ख्यामा बिभिन्न प्रजातीका चराहरु अन्य मूलुकहरुबाट नेपाल बसाईँ सरेर आउने गर्छन् ।

त्यस बहेक पनि संसारमा कतै नपाईने चरा काँडे भ्याकुर हाम्रो देशको पहाडी भूभागमा सजिलै पाईन्छ । यसकै आधारमा पनि बर्तमान समयमा बैज्ञानिक खोज अनुसन्धानमा बिस्तारै अघी सरेको हाम्रो देशले निकट भविष्यमा निकै ठुलो फड्को मार्न सक्ने संभावनाहरु प्रशस्त देखिन्छ ।

 

यस्तो छ त्रिवि क्रिकेट रंगशालाको ताजा अवस्था (तस्बिरहरु)

काठमाडौँ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट ग्राउण्डको काम अहिले धमाधम भइरहेको छ । हाल दुईवटा फ्लडलाइट पोल जडान भइसकेका छन् भने बाँकी पोलहरूको जडान कार्य जारी छ।

आयोजना प्रमुखका अनुसार तिहारअघि सम्पूर्ण काम सम्पन्न गरी नेपाल प्रिमियर लिग  (NPL)  दोस्रो संस्करणका लागि रंगशाला तयार पार्ने लक्ष्यसहित निर्माण कार्य तीव्र गतिमा भइरहेको छ।

सहरी विकास मन्त्री कुलमान घिसिङले बिहीबार निर्माणाधीन क्रिकेट रंगशालाको अनुगमन गरी समयमा काम सक्न निर्देशन दिएका थिए ।

 

एमाले सचिवालय बैठक अचानक स्थगित, गुण्डु जाँदै गरेकाहरु बाटैबाट फर्किए

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक अचानक स्थगित भएको छ । अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या देखिएपछि आजको बैठक स्थगित भएको उपमहासचिव विष्णु रिमालले नेपाल जानकारी दिएका छन् ।

अचानक अध्यक्ष ओली अस्वस्थ भएको खबर आएपछि बैठकमा सहभागी हुन भक्तपुरको गुण्डु जाँदै गरेका नेताहरू बाटैबाट फर्किएका छन् ।शुक्रबारको बैठकमा रातिसम्म ८ घण्टाभन्दा बढी बसेकाले थकित भएकाले आज आराम गरेर भोलि बैठक निरन्तर रहने रिमालले बताए । भोलि ११ बजेदेखि बस्ने गरी खबर आएको एक सचिवले जानकारी दिए ।

शीतलनिवास अगाडि जेनजी युवाको नाराबाजी, राष्ट्रपतिसँगको वार्तामा प्रवेश नपाएको गुनासो

काठमाडौं । राष्ट्रपति कार्यालय शीतल निवास अगाडि जेनजी युवाहरुले नाराबाजी गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले जेनजी युवाहरुसँग आज आयोजना गरेको छलफलमा सहभागी हुन नपाएको भन्दै उनीहरुले विरोध जनाएका हुन् ।

जेनजी युवाहरुको वार्ता टोलीलाई सहभागी नगराएर सुदन गुरुङको टोली मात्र शितल निवासभित्र प्रवेश गरेपछि बाहिरै रहेकाहरुले विरोधमा नाराबाजी गरेका हुन् । अहिले ठूलो संख्यामा युवाहरु शीतल निवास अगाडि जम्मा भएर आफूहरुलाई पनि भित्र जान दिनुपर्ने माग गरिरहेका छन् ।

प्रहरी उनीहरुलाई सम्झाउने प्रयासमा छ । मन्त्रीपरिषद विस्तार र सरकार सञ्चालनका विषयमा राष्ट्रपति, प्रधानमन्त्री र जेनजी अगूवाहरूबीच अहिले बैठक बस्न लागेको हो । शीतल निवासमा बैठकका लागि बोलाइएको जेनजी अगूवा मिराज ढुंगानाले बताए ।

प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रीपरिषदलाई पूर्णता दिने प्रयासका क्रममा जेनजीसँग छलफल गर्न लागेकी हुन् । बैठकमा जेनजीबाट ढुंगानाको समूह, सुधन गुरूङको समूह लगायत सहभागी हुने छन् । जेनजीबाट चारजना मन्त्री बनाउन लागिएको भन्दे हिजो अचानक नाम सार्वजनिक भएपछि ढुंगाना समूह आक्रोशित छ ।

माटोको ढिस्कोमा पुरिएर बारामा दुई जनाकाे मृत्यु, चार जना गम्भीर (अपडेट)

बारा । बाराको सिम्रौनगढ नगरपालिकाको नयाँ भवनको दक्षिणतर्फ तिहारको तयारीको लागि माटो खन्ने क्रममा ढिस्कोमा पुरिएर दुई जनाको मृत्यु भएको छ ।

ढिस्कोमा पुरिएर अन्य चार जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । घाइतेहरूको उपचार प्रादेशिक अस्पताल, कलैयामा भइरहेको छ। मृतक र घाइतेहरूको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता विजयराज पण्डितका अनुसार मृत्यु हुनेमा एक जना सिम्रौनगढ नगरपालिका–५ निवासी ६५ वर्षीया शारदा देवी रहेकी छन् ।

गम्भीर घाइतेहरूको नाम खुल्न सकेको छैन । उनका अनुसार घटनामा परी अन्य १० जना सामान्य घाइते भएका छन् । घटनापछि तत्काल सशस्त्र प्रहरी र जनपथ प्रहरीले घाइतेहरूको उद्धार गरेका थिए ।

टासीको मन्त्री बन्ने सम्भावना विवादमा

काठमाडौं । मन्त्री बन्ने चर्चा चलिरहेका बेला टासी ल्हाजोम विवादमा तानिएकी छन् । मन्त्रिपरिषद् विस्तारको तयारी चलिरहँदा उनको नाम महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका लागि अगाडि सारिएको थियो । तर नाम सार्वजनिक हुना साथ उनी चौतर्फी विवादमा मुछिएकी हुन् ।

जेन–जी आन्दोलनको अस्वीकार
जेन–जी आन्दोलनका तर्फबाट कर्णाली संयोजक सुप्रिया शाहीले सोमबार एक विज्ञप्ति जारी गर्दै टासीको नाममा गम्भीर आपत्ति जनाएकी छिन्। शाहीका अनुसार टासी न त आन्दोलनमा सक्रिय थिइन्, न त आन्दोलनको कुनै तहमा उनको संलग्नता देखिएको छ । ‘उहाँको नागरिकतासम्बन्धी विषय स्पष्ट छैन, साथै फ्री तिब्बत अभियन्ता भएको आशंका पनि उब्जिएको छ’, शाहीले बताएकी छिन् ।

कर्णाली प्रतिनिधित्वमा छलफलबिना निर्णयको आपत्ति
शाहीको भनाइ अनुसार कर्णाली प्रदेशको तर्फबाट प्रतिनिधित्व गर्ने मन्त्री चयनका लागि पटक–पटक छलफल भएको थियो । ‘उहाँको नाम त छलफलमा समेत आएको थिएन’, विज्ञप्तिमा भनिएको छ, ‘संवादविना प्रतिनिधित्व थोपर्न खोज्नु आन्दोलन र सहमतिको अपमान हो ।’
जेन–जीहरूले प्रधानमन्त्रीलाई टासीको नाममा पुनः विचार गर्न, प्रदेश प्रतिनिधित्वको विषयमा कर्णालीका युवाहरूसँग औपचारिक परामर्श गर्न र कुनै विवादास्पद नाम अगाडि नबढाउन आग्रह गरेका छन् ।

पूर्व सांसद शाहीको आरोप : नेपाली नभएकी टासीलाई अमेरिकी दूतावासले अघि सारेको हो
पूर्व सांसद ज्ञानेन्द्र शाहीले भने टासी नेपाली नागरिक नै नभएको जिकिर गर्दै थप गम्भीर आरोप लगाएका छन् । ‘उनी नेपाली होइनन् । अमेरिकी दूतावासले उनलाई जबर्जस्ती मन्त्री बनाउने दवाब दिइरहेको छ’, शाहीले भनेका छन् । उनको आरोप अनुसार विदेशी शक्ति र प्रभावशाली गुटहरूले आन्दोलनको मर्म विपरीत काम गरिरहेका छन् । यसले सरकारले बनाउने निर्णयको वैधतामाथि नै प्रश्न उठाएको शाहीको तर्क छ ।

प्रधानमन्त्रीको जवाफ : थप छलफल हुन्छ
प्रधानमन्त्री सुशीला कार्की निकट स्रोतका अनुसार प्रधानमन्त्रीले यो विषयमा गम्भीर चासो लिएको बताइएको छ । ‘उहाँले टासीको विषयमा थप छलफल गरी निर्णय लिने बताउनु भएको छ’, स्रोतले जानकारी दिएको छ ।

चुनौतीपूर्ण बन्ने सम्भावित मन्त्री चयन
मन्त्री बन्ने दौडमा नाम आएको केही घण्टामै यस्तो स्तरको विवाद उत्पन्न हुनुले आन्दोलनको मर्म र अन्तरिम सरकारको वैधता दुवैप्रति संवेदनशील प्रश्न उठाएको छ । यदि आन्दोलनको समर्थन बिना मन्त्री चयन गरिने हो भने यसले पुनः आन्तरिक असन्तोष सिर्जना गर्ने चिन्ता आन्दोलनकारीहरूमा छ ।

चार जेनजी मन्त्री थपिँदै, सोमबारसम्म शपथको तयारी
प्रधानमन्त्री सुशीला कार्कीले जेनजी प्रतिनिधिहरूलाई समेटेर मन्त्रिपरिषद् विस्तार गर्ने तयारी अघि बढाएकी छिन् । प्रधानमन्त्री कार्यालय निकट स्रोतका अनुसार, आगामी सोमबारसम्म शपथ गर्ने गरी चार जना नयाँ मन्त्री नियुक्त हुन लागेका हुन् ।

शुक्रबार साँझ मन्त्रीहरूको नाम टुंगो लागिसकेको स्रोतले जनाएको छ । जेनजीहरूको प्रतिनिधित्व गरेर नयाँ मन्त्री हुनेहरूमा गणपतिलाल श्रेष्ठ, बब्लु गुप्ता, रामजी राम र टासी ल्हाजोम रहेका छन् । श्रेष्ठलाई संस्कृति, पर्यटन तथा नागरिक उड्ययन, गुप्ता युवा तथा खेलकुद मन्त्रालय, रामलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र टासीलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी दिने तयारी गरिएको हो।

माटोको ढिस्कोले पुर्दा बारामा एक महिलाको मृत्यु, दुई जना गम्भीर

बारा । छठ पर्वका लागि घर लिप्ने माटो खन्ने क्रममा ढिस्कोले पुर्दा एक जना महिलाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् ।बाराको सिम्रौनगढ नगरपालिकाको नयाँ भवनको दक्षिणतर्फ रहेको ढिस्कोमा उनीहरू आज बिहान माटो खन्न गएका थिए ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता विजयराज पण्डितका अनुसार मृत्यु हुनेमा सिम्रौनगढ नगरपालिका–५ निवासी ६५ वर्षीया शरदा देवी रहेकी छन् भने गम्भीर घाइतेहरूको नाम खुल्न सकेको छैन ।

उनका अनुसार घटनामा परी अन्य १० जना सामान्य घाइते भएका छन् । घाइतेहरूलाई उपचारका लागि प्रदेशिक अस्पताल कलैयाका ल्याइएको छ । घटनापछि तत्काल सशस्त्र प्रहरी र जनपथ प्रहरीले घाइतेहरूको उद्धार गरेका थिए ।

राष्ट्रपतिसँगको छलफलमा २० बढी जेनजी प्रतिनिधि सहभागी हुँदै

काठमाडौं । हिजो (शुक्रबार) सर्वदलीय बैठक गरेका राष्ट्रपति रामचन्द्र पौडेलले आज (शनिबार) सरकार र जेनजी प्रतिनिधिसँग छलफल गर्दैछन् ।

प्रधानमन्त्री कार्यालयका एक अधिकारीले दिएको जानकारीअनुसार अहिले बिहान १० बजे शीतल निवासमा राष्ट्रपति पौडेलले प्रधानमन्त्री कार्की र जेनजीका प्रतिनिधिसँग छलफल गर्ने भएका हुन् ।

‘आज राष्ट्रपति ज्यूले सरकार र जेनजीका प्रतिनिधिसँग छलफल गर्दै हुनुहुन्छ’, ती अधिकारीले भने । छलफलमा सुदन गुरुङलगायत जेनजीका विभिन्न समूहका प्रतिनिधि सहभागी हुनेछन् । छलफल तय हुँदा जेनजीको तर्फबाट १७ जना सहभागी हुने बताइएको थियो । तर, बैठक सुरु हुनुभन्दा अगाडि यो संख्या बढेको जनाइएको छ ।

एक जेनजी अगुवाका अुनसार हालसम्म बैठकमा सहभागी हुनेको संख्या २२ पुगेको छ । आजको बैठकमा जेनजीका मागका सम्बन्धमा छलफल हुनेछ । प्रधानमन्त्री सुशीला कार्कीले जेनजीकै प्रतिनिधित्व गराएर मन्त्रिपरिषद् विस्तार गर्ने तयार भइरहेका बेला बैठक बस्न लागेको हो ।

डोटीमा गाडी दुर्घटना : एक युवतीको मृत्यु, ६ बालबालिकासहित २१ जना घाइते

डोटी । डोटीमा गाडी दुर्घटना हुँदा एक युवतीको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन् । अछामबाट धनगढी आइरहेको सुपप्र ०१००१ ख ३९५६ नम्बरको गाडी भीमदत्त राजमार्ग अन्तर्गत जोरायल गाउँपालिका–२ मा आज बिहान दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा अछामको मंगलसेन नगरपालिका घर भएकी २२ वर्षीया हरिया परियारको घटनास्थलमै मृत्यु भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) टेकबहादुर जोराले जानकारी दिए ।

उनकाअनुसार दुर्घटनामा परेर ६ बालबालिकासहित अन्य २१ जना घाइते भएका छन् । उनीहरूमध्ये एक जनाको अवस्था गम्भीर छ । सबैलाई उपचारका लागि धनगढी ल्याइएको छ ।