`

चार सुझावसहित बाबुराम भन्छन्–जेनजी आन्दोलनको परिणाम के हुन्छ, अझै प्रष्ट छैन

काठमाडौं । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले जेन–जी आन्दोलनको ऐतिहासिक मर्मलाई विकृत गर्न खोज्ने ‘घुसपैठिया’ र ‘गोहीको आँशु झार्ने साखुल्ले’ नेतृत्वबाट सतर्क रहन चेतावनी दिएका छन् । उनले हालको अन्तरिम सरकारको मूल वैधता जेन–जी विद्रोहबाट आएको भन्दै त्यसको निष्ठा र जिम्मेवारी आन्दोलनप्रति हुनुपर्नेमा जोड दिएका छन् ।

‘जेन–जीको प्रतिनिधित्वमा अन्योल विडम्बना’
डा. भट्टराईले आन्दोलनको प्रष्ट प्रतिनिधित्वमा देखिएको अन्योलप्रति चिन्ता व्यक्त गर्दै आन्दोलनको औपचारिक शुरुवातमा अगुवाइ गर्नेहरूलाई नै ‘मुख्य प्रतिनिधि’ मान्नु पर्ने तर्क गरेका छन् । ‘जसले भदौ २३ मा औपचारिक रुपमा आन्दोलनको नेतृत्व गरे, तिनीहरू नै मूल धार हुन् । त्यसपछि सहयोग गर्नेहरू सहायक हुन् । तर आन्दोलनभित्र छिरेर प्रतिगामी नारा दिने र तोडफोड गर्नेहरूलाई यथोचित व्यवहार गर्नु जरुरी छ’, उनले भने ।

‘गोहीको आँशु झार्दै अघि बढ्नेहरूबाट सावधान’
सामाजिक सञ्जाल ट्वीटर (एक्स) मा धारणा राख्दै उनले चेतावनी दिएका छन् कि विगतमा बारम्बार सत्तामा रही जनविरोधी काम गरेका र अहिलेको विद्रोहकै कारण जन्मिएको सरकारलाई पनि भित्रैदेखि कमजोर बनाउने प्रयासमा लाग्नेहरू अहिले साखुल्लेका रूपमा अगाडि नआउन् । ‘अझ खतरनाक त के भने, तीमध्ये कतिपय अहिले गोहीको आँशु झार्दै नेतृत्वमा देखिन थालेका छन्’, उनले भनेका छन् ।

‘सरकारले जनतासँग निष्ठा राख्नु पर्छ, डरत्रास होइन’
भट्टराईका अनुसार अन्तरिम सरकार कुनै शक्तिको कृपाबाट नभई आन्दोलनको बलमा बनेको भएकाले यसले आन्तरिक वा बाह्य शक्तिको डरत्रास बिना काम गर्नुपर्ने बताएका छन् । ‘सत्कर्मको जस इतिहासले अवश्य दिन्छ’, भन्दै उनले सरकारलाई आन्दोलनको मर्म अनुरूप कार्यादेश पूरा गर्न आग्रह गरेका छन् ।

‘संवैधानिक निकायदेखि प्रशासनसम्म सबैले बद्लिएको सन्देश आत्मसात गर्नुपर्छ’
उनले राज्यका अन्य अंगहरू—न्यायपालिका, कर्मचारीतन्त्र, सुरक्षा निकाय, आयोग, प्रदेश र स्थानीय सरकारहरूलाई पनि परिवर्तित सन्देशको गहिरो आत्मसात गर्दै सहयोग गर्न आह्वान गरेका छन् । ‘यदि चित्त नबुझे, इमानदारीपूर्वक पदत्याग गरेर बाटो खुला गर्नु उचित हुन्छ’, उनको सुझाव छ ।

‘गैरराज्य क्षेत्रको भूमिकामा पनि स्पष्टता आवश्यक’
भट्टराईले गैरराज्य क्षेत्रका उद्यमी, व्यवसायी, सार्वजनिक बौद्धिक तथा आम नागरिकलाई पनि यस संक्रमणकालीन समयमा जिम्मेवार भूमिका निर्वाह गर्न आग्रह गरेका छन् । लोकतन्त्रको बलियो आधार त्यही हो भन्ने उनको विश्वास छ ।

‘आन्दोलनलाई मार्गभ्रष्ट बनाउने चाल र ‘राजनीतिक अवसरवाद’ को खतरा’
उनका अनुसार अहिले आन्दोलनको वास्तविक मर्मलाई ओझेल पार्ने प्रयासहरू तीव्र छन् । ‘सफलताको सय बुवा हुन्छन्, असफलता टुहुरो हुन्छ’ भन्ने भनाइ उद्धृत गर्दै उनले राजनीतिक अवसरवाद र नेतृत्व कब्जाको सम्भावित खतरा औंल्याए ।

डा. भट्टराईको सन्देशले अहिलेको अन्तरिम सरकार, राज्यका निकायहरू र आन्दोलनको नेतृत्व गरिरहेका युवाहरुलाई स्पष्ट रूपले मार्गनिर्देशन दिएको छ । जेन–जी विद्रोहलाई ‘ऐतिहासिक परिवर्तनकारी ध्येय’ मा पुर्‍याउन उनले राजनीतिक इमानदारी, जनउत्तरदायित्व र दूरदृष्टिको आग्रह गरेका छन् ।

युवकको वीभत्स हत्या गरी टाउको लिएर प्रहरी कार्यालयमा

कैलाली । कैलालीमा एक युवकको घाँटी रेटेर बीभत्स हत्या गरिएको छ । जिल्लाको घोडाघोडी नगरपालिका–८ मा शुक्रबार राति सुर्खेतको चौकुने गाउँपालिका–३ का २८ वर्षीय केशरसिंह बुढाको घाँटी रेटेर हत्या गरिएको हो ।

हत्यामा संलग्न दुई युवकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, कैलालीका डीएसपी राजकुमार सिंहले जानकारी दिएका छन् । पक्राउ पर्नेमा घोडाघोडी गाउँपालिका–८ का १८ वर्षीय बलबहादुर विक र १९ वर्षीय गंगा बुढा क्षेत्री छन् ।

प्रहरीका अनुसार खाजा पसलमा रक्सी खाने बेला विवाद हुँदा उनीहरूले धारिलो हतियार प्रयोग गरी केशरको टाउको छिनालेका हुन् । हतियार र छिनालेको टाउको बोकेर उनीहरु राति घोडाघोडी नगरपालिका–३ स्थित अस्थायी प्रहरी पोस्ट प्रतिखेत नजिक पुगेका थिए ।
प्रहरीले राति कता हिँडेको भनेर सोधेपछि उनीहरूले मान्छे मारेको र टाउको बोकेर आएको भनेका थिए । हत्यामा संलग्न ती युवकलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

रमेश लेखकलाई रवीन्द्र मिश्रको आग्रह : एकपल्ट मेरो आँखामा आँखा जुधाएर हेर्नोस् त !

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले निवर्तमान गृहमन्त्री रमेश लेखकलाई एक पटक आफ्नो आँखामा आँखा जुधाएर हेर्न आग्रह गरेका छन् ।

गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका विषयमा आफूप्रति पूर्वाग्रह नराख्न र प्रतिशोध नसाँध्न कांग्रेस नेता समेत रहेका तत्कालीन गृहमन्त्री लेखकले शुक्रबार गरेको आग्रहका सन्दर्भमा मिश्रले आफ्नो पुरानो घटना सम्झेका हुन् ।

‘रमेशजी, मेरो आँखामा हेर्नोस् त ! भदौ २३ र २४ गतेलाई लिएर यो प्रतिशोध लिने समय होइन भन्नु भएछ । एकदम राम्रो’, मिश्रले सामाजिक सञ्जालमा लेखका छन्, ‘मेरो पनि तपाईप्रति कुनै प्रतिशोधको भाव छैन । तर कुनै सार्वजनिक कार्यक्रममा भेट्दा रमेशजी, एक पटक मेरो आँखामा आँखा जुधाएर हेर्नोस् त भन्ने उत्कट इच्छाचाहिँ छ । आशा छ–हाम्रो छिटै कहीँ न कहीँ भेट हुनेछ ।’

मिश्रले अगाडि लेखेका छन्, ‘चैत्र १५ गतेको घटनालाई लिएर तपाईले मलाई कुनै कसुर बिना ५० दिन थुन्नु भयो । सकेदेखि बाँकी जीवन पूरै जेल हाल्ने र मेरो भएको सम्पत्ति सबै जफत गर्ने मागसहित ४ वटा गम्भिर मुद्दा लगाउनु भयो । अरू धेरैलाई त्यसै गर्नु भयो । कर्तव्य निर्वाह गर्दा विवेक गुमाउनु भयो । दुःख लागेको छ ।’ गत चैत १५ गते राजावादीले काठमाडौँको तीनकुनेमा गरेको प्रदर्शन हिंसात्मक हुँदा मिश्र पनि पक्राउ परेका थिए ।

जेनजी आन्दोलन मुलुकको यथार्थको ऐना, अब संवादको विकल्प छैन : खुश्बु ओली

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) केन्द्रीय सदस्य खुश्बु ओलीले देश हाल अत्यन्त संवेदनशील मोडमा पुगेको भन्दै सबै राजनीतिक पक्ष र राज्य संयन्त्रलाई जिम्मेवार बन्न आह्वान गरेकी छन् ।

उनले अहिलेको परिस्थितिमा भावनात्मक प्रतिक्रिया होइन, गहिरो राजनीतिक समझदारी, साझा समाधान र जिम्मेवार नेतृत्व मात्र स्थायित्वको आधार बन्न सक्ने बताएकी छन् ।

ओलीले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको धारणा अनुसार, अहिले सडकमा देखिएको जनआक्रोश आकस्मिक नभई दशकौंदेखि थिचिएको असन्तुष्टि, संस्थागत कमजोरी र राजनीतिक असफलताको परिणाम हो । ‘जेनजी पुस्ताले उठाएको आवाज कुनै क्षणिक उन्माद होइन, यो गहिरो पीडा र निराशाको आवाज हो’, उनले भनेकी छन् ।

उनको भनाइमा, अहिले संविधान संशोधन, पुनर्लेखन वा अन्तरिम व्यवस्थासम्बन्धी बहसहरू तीव्र छन् । यी धारहरूलाई अस्वीकार नगरी, एउटै संवाद प्रक्रियामा ल्याएर साझा राष्ट्रिय सहमति निर्माण गर्नु आजको अपरिहार्यता भएको उनको जोड छ ।

ओलीको सन्देश : दोषारोपण होइन, समाधान खोजौं
‘समय दोषारोपणमा होइन, समाधानमा केन्द्रित हुनुपर्ने हो’, ओलीले स्पष्ट पारिन् । उनले जनआन्दोलनको नाममा हिंसा र अराजकता फैलाउनेहरूलाई कानुनी दायरामा ल्याउनुपर्ने आवश्यकता औंल्याउँदै, यो राष्ट्रिय सहमति दोषीलाई क्षमा गर्नु होइन, तर राष्ट्रलाई स्थायित्व र मार्गदर्शन दिनको लागि अपरिहार्य कदम भएको बताइन् ।

उनले २०६२/६३ को राजनीतिक इतिहास सम्झाउँदै भनेकी छन्, ‘त्यतिबेला सहमति नगरी एक धार थोपर्दा मुलुक फेरि अस्थिर भयो, अहिले त्यो गल्ती दोहोरिनु हुँदैन ।’

राजनीतिक नेतृत्वलाई चतुरताको आग्रह
ओलीले राजनीतिक नेतृत्वले स्थिति थप जटिल बनाउने उत्तेजक भाषाभन्दा समाधानमुखी सोच अपनाउनु पर्नेमा जोड दिइन् । गणतन्त्रको अभ्यासमा देखिएको कमजोरीलाई अस्वीकार नगरी सुधारतर्फ अघि बढ्नुपर्ने सन्देश उनले दिइन् ।

जेनजी आन्दोलन  मुलुकको यथार्थको ऐना
उनका अनुसार जेनजी आन्दोलनले मुलुकको यथार्थको भित्री तह उजागर गरिदिएको छ । ‘यो आन्दोलनले देखाएको मर्म बुझेर अब नागरिक समाज, राजनीतिक दल, सुरक्ष निकाय, राज्यका अंग र आन्दोलनकारी आवाज एउटै संवादको टेबलमा आउन जरुरी छ’, ओलीले भनिन् ।

ओलीको चेतावनी : संवाद बाहेक विकल्प छैन
ओलीले देशसँग अहिले ‘संवेदनशीलता, संवाद र सहमति’ मा आधारित समाधान बाहेक अर्को बाटो नरहेको चेतावनी दिइन् । अन्यथा असन्तुष्टि र अस्थिरताको अर्को चक्र अपरिहार्य हुने स्पष्ट संकेत गरेकी छन् ।

उनको यो धारणा अहिले देशभर फैलिएको असन्तुष्टिपूर्ण वातावरण, जेनजी आन्दोलन र आम नागरिकको आक्रोशबीच आएको हो । यस्तो समयमा राजनीतिक नेतृत्व, नागरिक समाज र राज्य संयन्त्र सबैले जिम्मेवार भएर साझा राष्ट्रिय सहमति र संवादलाई प्राथमिकता दिनुपर्ने माग व्यापक रूपमा उठिरहेको छ ।

सेनाले भन्यो–शान्ति सुरक्षा कायम गर्न आवश्यक पहल लिएका हौं

काठमाडौं । नेपाली सेनाले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि आन्तरिक सुरक्षामा पर्न सक्ने असरलाई मूल्यांकन गरी आवश्यक पहल लिएको स्पष्ट पारेको छ । आफूबारे विभिन्न टिका टिप्पणी भएपछि सेनाले शुक्रबार विज्ञप्ति निकाल्दै विभिन्न रायसुझाव तथा समालोचनात्मक अभिव्यक्तिप्रति आभार व्यक्त समेत गरेको छ ।

‘गत भाद्र २३ र २४ गतेको विषम परिस्थितिलाई सामान्यीकरण गर्ने सम्बन्धमा नेपाली सेनाले वहन गरेको भूमिका प्रति विद्वतवर्ग, समाजसेवी, सञ्चारकर्मी तथा आम नागरिकहरूबाट प्राप्त भएका विभिन्न रायसुझाव तथा समालोचनात्मक अभिव्यक्ति प्रति हार्दिक आभार व्यक्त गर्दछौं,’ सेनाले विज्ञप्तिमा भनेको छ, ‘आन्तरिक सुरक्षामा पर्न सक्ने असरलाई वस्तुपरक ढंगले मूल्याङ्कन गरी छिटो भन्दा छिटो शान्ति सुरक्षा कायम गर्ने उद्देश्यका साथ नेपाली सेनाले आवश्यकता अनुसार पहलता लिएको अवगत गराउन चाहन्छौं ।’

सेनाले सञ्चारमाध्यममा भइरहेका टिका टिप्पणीप्रति ध्यानाकर्षण भएको समेत उल्लेख गरेको छ । ‘हालको संवेदनशील अवस्थामा विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत संस्था र नेतृत्वलाई जोडेर विभिन्न प्रकारका टिका टिप्पणी र धारणाहरू सम्प्रेषण भएकोमा नेपाली सेनाको ध्यानाकर्षण भएको छ,’ सेनाले भनेको छ ।
हेर्नुस् विज्ञप्ती

रास्वपाको उम्मेदवार छनोट तयारी सुरु, सुझाव संकलन गर्न कार्यदल गठन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आउँदो फागुन २१ का लागि घोषणा गरिएको प्रतिनिधि सभा चुनावमा भाग लिन प्रक्रिया अघि बढाएको छ । रास्वपाको शुक्रबार सम्पन्न पार्टी सचिवालयको बैठकले त्यसका लागि उम्मेदवार छनोट विधिबारे सुझाव संकलन गर्न कार्यदल समेत गठन गरेको छ । प्रवक्ता मनीष झाका अनुसार सहमहामन्त्री विपिनकुमार आचार्यको संयोजकत्वमा सातै प्रदेशका सभापति तथा केन्द्रीय निर्वाचन आयोगका प्रतिनिधि सम्मिलित सुझाव संकलन कार्यदल गठन गर्ने निर्णय भएको हो ।

‘मिति २०८२ फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि प्रस्तावित एकीकृत निर्वाचन खाका अन्तर्गतको उम्मेदवार छनोट विधिमा प्रदेश मार्फत् जिल्ला, निर्वाचन क्षेत्र, पालिका तहसम्मको सुझाव संकलन गरी मस्यौदा तयार गर्न सहमहामन्त्री विपिनकुमार आचार्यको संयोजकत्वमा सातै प्रदेशका सभापति तथा केन्द्रीय निर्वाचन आयोगका प्रतिनिधि सम्मिलित सुझाव संकलन कार्यदल गठन गर्ने,’ रास्वपाको निर्णयमा भनिएको छ । रास्वपाले सुझाव संकलनको लागि ७ दिनको समयावधि तोकेको छ भने कात्तिक १५ भित्र उम्मेदवारी आह्वानको तयारी गर्ने निर्णय समेत गरेको छ ।

केन्द्रीय सल्लाहकार परिषद् गठन
रास्वपाले केन्द्रीय सल्लाहकार परिषद् गठन गरेको छ । पाँच सदस्यीय परिषदमा विज्ञ, लब्ध प्रतिष्ठित मनोनित गरिएको रास्वपाले जनाएको छ । परिषदमा मनोनित हुनेहरुमा चितवनका जगन्नाथ पौडेल, तनहुँका नमस्तेलाई भूमि, ललितपुरकी शोभा जोशी विजुक्छे, सप्तरीका बुद्धीलाल विश्वकर्मा र महोत्तरीका जयकिशोर लाल छन् ।

वरिष्ठ अधिवक्ता समेत रहेका पौडेल नेपाली कांग्रेस परित्याग गरेका चितवनका नेता हुन् । परिषद्का अर्का सदस्य नमस्तेलाल सर्वाङ्गीण विकास एवं सरसफाई विज्ञ हुन् । विजुक्छे समाजसेवी, उद्यमी हुन् । विश्वकर्मा पेशाले इन्जिनियर हुन् भने जलस्रोत एवं सिंचाइ विज्ञ समेत हुन् । जयकिशोर लाल जनकपुर नर्सिङ क्याम्पस पूर्व प्रमुख हुन् । रास्वपाले विस्तारित बैठक चितवनमा गर्ने निर्णय गरेको छ । कात्तिक १४ र १५ गते चितवनमा हुने विस्तारित बैठकको व्यवस्थापनको संयोजकमा केन्द्रीय सदस्य हरि ढकाल तोकिएका छन् ।

कांग्रेस वैठक : निर्वाचन र संसद पुनः स्थापनालाई सँगसँगै लैजानु पर्ने बहस

काठमाडौं । नेपाली कांग्रेसका नेताहरूले पार्टीको आगामी रणनीति र महाधिवेशनको विषयमा छलफल गरेका छन् । पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले अहिलेको जटिल राजनीतिक अवस्थामा पार्टीभित्र एकता कायम राख्दै नियमित महाधिवेशनतर्फ अघि बढ्नु पर्ने बताएका छन् । उनले विशेष महाधिवेशनले पार्टीमा ध्रुवीकरण र विभाजनको खतरा बढाउने भन्दै मंसिरमा तय भएको नियमित महाधिवेशनलाई नै प्राथमिकता दिनुपर्ने धारणा राखेका छन् ।

‘पार्टीमा सबै मिलेर जाँदा मात्रै चुनौती सामना गर्न सकिन्छ । विशेष महाधिवेशनले ध्रुवीकरण बढाउँछ, त्यसैले नियमित महाधिवेशनमा केन्द्रित हुनुपर्छ,’ उनले भने । उनले युवाहरूको सहभागिता सुनिश्चित गर्दै विधि र प्रक्रियालाई ध्यानमा राखेर चाँडोभन्दा चाँडो महाधिवेशन गर्नुपर्नेमा जोड दिए । महतले वर्तमान सरकारले निर्वाचन गराउने सुनिश्चितता नभएको अवस्थामा संसद् पुनःस्थापनाको विकल्पलाई पनि खुला राख्नुपर्ने बताए । ‘निर्वाचन भएन भने अन्योलपूर्ण अवस्था सिर्जना हुन्छ । त्यस्तो अवस्थामा संसद् पुनःस्थापनाको ढोका बन्द गर्नु हुँदैन,’ उनले भने ।

नेता कृष्णप्रसाद सिटौलाले पनि संसद् पुनःस्थापनाको मागलाई बन्द गर्न नहुने र निर्वाचनको सुनिश्चितता नभएको अवस्थामा दुवै विकल्पलाई सँगसँगै लैजानुपर्ने धारणा राखे । ‘यो सरकारले चुनाव गराउँछ भन्ने सुनिश्चित छैन । यस्तोमा संसद् पुनःस्थापनालाई पनि विकल्पको रूपमा राख्नु पर्छ,’ उनले भने ।

यस्तै नेताहरू प्रकाशमान सिंह, शशांक कोइराला, सुजाता कोइराला र आनन्दप्रसाद ढुंगानाले पनि विशेष महाधिवेशनको सट्टा नियमित महाधिवेशनतर्फ तयारी अघि बढाउनुपर्नेमा जोड दिए । उनीहरूले निर्वाचन र संसद् पुनःस्थापनालाई सँगसँगै अगाडि बढाउनुपर्ने धारणा व्यक्त गरे । कांग्रेस नेताहरूले भदौ २३ र २४ गतेका घटनालाई फरक–फरक रूपमा हेर्नुपर्ने बताएका छन् । भदौ २३ गतेको जेन–जी आन्दोलनको घटनालाई सरकारद्वारा गठित आयोगले निष्पक्ष छानबिन गर्नुपर्ने माग उनीहरूले राखेका छन् । भदौ २४ गतेको आगजनी र लुटपाटमा संलग्नहरूमाथि सरकारले कडा कारबाही गर्नुपर्ने उनीहरूको माग छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले बोलाएको सर्वदलीय बैठकमा पनि यी दुई घटनालाई एकै रूपमा नलिन र भदौ २० गतेको विद्रोहमाथि राज्यले अनुसन्धान गरी कारबाही गर्नुपर्नेमा कांग्रेसले जोड दिएको छ । राष्ट्रपति पौडेलसँगको आजको बैठकमा पनि कांग्रेसले यो विषयलाई जोडदार रूपमा उठाएको थियो । राष्ट्रपतिले आजै सर्वदलीय बैठक बोलाएकाले कांग्रेसको पदाधिकारी तथा पूर्व पदाधिकारीहरूको बैठक भोलिसम्मका लागि सारिएको छ । छलफल नसकिएकाले बैठकलाई निरन्तरता दिने निर्णय भएको नेताहरूले बताए । कांग्रेसले अहिलेको राजनीतिक अन्योल र चुनौतीलाई सम्बोधन गर्न पार्टीभित्र एकता र युवा सहभागितालाई प्राथमिकता दिँदै नियमित महाधिवेशनमार्फत नेतृत्व चयन र रणनीति तय गर्नुपर्नेमा जोड दिएको छ ।

बढुवा भएका चार एआइजीको पदस्थापन

काठमाडौं । नेपाल प्रहरीका चार एआइजीको बढुवासँगै पदस्थापन भएको छ । एआइजी सुशीलसिंह राठौरलाई अपराध अनुसन्धान विभाग, उमाप्रसाद चतुर्वेदीलाई कार्य विभाग, हिमालयकुमार श्रेष्ठलाई प्रशासन विभाग र डम्बरबहादुर विकलाई प्रदेश समन्वय विभागमा पदस्थापन गरिएको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले उनीहरूको पदस्थापन गरेको हो । प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा उनीहरूलाई दर्ज्यानी चिह्न लगाइएको छ ।

खुल्यो बीपी राजमार्गमा अस्थायी ट्रयाक {तस्वीरहरू}

काठमाडौं । संघीय राजधानी काठमाडौंलाई बाग्मती, मधेश र कोशी प्रदेशका जिल्लाहरुलाई जोड्ने वीपी राजमार्ग शुक्रबार दिउँसोबाट सञ्चालनमा आएको छ । असोज १७, १८ र १९ गतेको अविरल वर्षासँगैको बाढी पहिरोबाट राजमार्गको काभे्र र सिन्धुलीको विभिन्न १३ ठाउँमा क्षति पुगेको करिब ४ किलोमिटर सडकलाई अस्थायी रुपमा मर्मत गरी एकतर्फी रुपमा सञ्चालन गरिएको छ ।

सडक दुईतर्फी रुपमा भने आइतबारबाट सञ्चालनमा आउने संघीय सडक सुपरीपेक्षण तथा अनुगमन कार्यालय काठमाडौंका प्रमुख शुभराज न्यौपानेले जानकारी दिए । अवरुद्ध भएको सडक खुलाउन रोशीखोलमा डाइसर्भन निर्माण, बगरलाई मिलाउने र खाल्डा पुरिएको छ । क्षति पुगेको सडक सोमबारबाट मर्मत सुरु गरिएको थियो ।

बाढीपहिरोले काभ्रेको चौकीडाँडामा सडकलाई सबैभन्दा बढी क्षति पुर्याएको थियो । काभ्रेको कटुञ्जे, चारसयबेंसी, चिउरीबास, मङ्गलटार (बोक्सीकुना), कालढुङ्गा, पिप्ले (माथिल्लो), पिप्ले (तल्लो), मान्ती (माथिल्लो) र मान्ती (तल्लो)मा सडक क्षति पुगेको थियो । यसैगरी, सिन्धुलीको बालुवा, आँपघारी र नेपालथोक (झोलुङ्गे पुल)मा सडक क्षति पुगेको थियो ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले बिहीबार बिहान चौकीडाँडा क्षेत्रको अनुगमन गरी सडक मर्मतको जानकारी लिए । उनले उपकरण तथा जनशक्ति थप गर्न र बत्तिको व्यवस्था गरी राति पनि काम गर्न निर्देशन दिएका थिए । गत असोजमा बगेर बनाईएको डाइभर्सन यो पटक सबै बगाएको थियो ।

१५ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)

काठमाडौं । सरकारले १५ जना सहसचिवको सरुवा गरेको छ । मन्त्रिपरिषद्को बिहीबारको बैठकले यो निर्णय गरेको हो । कालीप्रसाद पराजुली संघीय मामिलाबाट गृहमा पुगेका छन् भने बाबुराम गौतमलाई गृहबाट बाग्मती प्रदेशको मुख्यमन्त्री कार्यालय पठाइएको छ ।

पर्यटन विभागका महानिर्देशक डा. नारायणप्रसाद रेग्मी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरुवा भएका छन् । जयनारायण आचार्य गृहबाट पर्यटनमा पुगेका छन् । अणप्रसाद न्यौपाने चिकित्सा शिक्षा आयोगबाट शिक्षा मन्त्रालय र वसन्तप्रसाद कोइराला लुम्बिनीको मुख्यमन्त्री कार्यालयबाट चिकित्सा शिक्षा आयोगमा सरूवा भएका छन् ।

हेर्नुस् सरुवा सूची

 

राष्ट्रपतिले बोलाएको सर्वदलीय छलफलमा को–को नेता भए सहभागी ?

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले बोलाएको सर्वदलीय छलफलमा प्रमुख राजनीतिक दलका दोस्रो तहका नेताहरू सहभागी भएका छन् । छलफलमा आउँदो फागुन २१ मा घोषणा भएको निर्वाचन र आगामी राजनीतिक परिदृश्यबारे छलफल भइरहेको छ । बैठकमा अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीसहित सबै मन्त्री सहभागी छन् ।

त्यसैगरी नेपाली कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगन थापा, नेकपा (एमाले) बाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र महासचिव शंकर पोखरेल, नेकपा (माओवादी केन्द्र) बाट वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र सचिव वर्षमान पुन सहभागी छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीबाट कार्यवाहक सभापति डीपी अर्याल र सहमहामन्त्री विपिनकुमार आचार्य, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रवक्ता ज्ञानेन्द्र शाही र मिना लामा, नेकपा (एकीकृत समाजवादी) बाट उपाध्यक्ष राजेन्द्र पाण्डे र महासचिव धनश्याम भुसाल सहभागी छन् ।

त्यस्तै जनता समाजवादी पार्टीबाट रेनु यादव, जनमत पार्टीबाट चन्द्रकान्त राउत र डा. जयकुमार राउत, लोकतान्त्रिक समाजवादी पार्टीबाट ज्ञानेन्द्र झा र सर्वेन्द्रनाथ शुक्ला, नागरिक उन्मुक्ति पार्टीबाट रेशम चौधरी र नेपाल मजदुर किसान पार्टीबाट सुनिल प्रजापति सहभागी छन् । बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ भने सभागी छैनन् । राष्ट्रपति पौडेलले प्रमुख दलहरूबीचको समसामयिक राजनीतिक परामर्शका लागि आज साँझ शीतलनिवासमा सर्वदलीय छलफल बोलाएका हुन् ।

रविन्द्र मिश्रको चेतावनी : दुःखद मध्यान्तरपछि फेरि यथास्थिति दोहोरिन्छ, गहिराइमा पसौं

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले हालको अस्थिर राजनीतिक परिदृश्यप्रति गहिरो चिन्ता व्यक्त गर्दै सचेत र सजग हुन चेतावनी दिएका छन् । आज (शुक्रबार) सामाजिक सञ्जालमा लेख्दै उनले भनेका छन्, ‘यदि अहिलेको संकटलाई सतही रूपमा मात्र सम्बोधन गरियो भने, यो ‘दुःखद मध्यान्तरपछि फेरि यथास्थितिको निरन्तरता’ बन्ने छ ।’ मिश्रले पाँच महिनामा चुनाव गर्ने र त्यसैअन्तर्गत केही अनुहार फेरिएको संसदलाई पुनः सत्ता सुम्पिने योजनाले मुल समस्याहरूलाई छुनै नसक्ने दाबी गरेका छन् ।

यस्ता छन् मिश्रले उठाएका प्रश्न :
–नेताहरूको पक्राउ तथा सम्पत्ति छानबिन कसरी टुङ्ग्याइन्छ ?
–जेनजी आन्दोलन छानबिन आयोगको प्रतिवेदन कसरी कार्यान्वयन हुन्छ ?
–भ्रष्टाचार नियन्त्रण कसरी सम्भव हुन्छ ?
–मुलुकको दीर्घकालीन स्थिरता र सामाजिक सौहार्दता कसरी सुनिश्चित हुन्छ ?
मिश्रका अनुसार यी प्रश्नहरूको गहिरो उत्तर नखोजी गरिने जुनसुकै चुनाव, नेतृत्व परिवर्तन वा नारा सबै ‘प्राविधिक निरन्तरता’ मात्र हुनेछ— मुल चरित्र बदलिंदैन ।

‘सपना साकार पार्न संरचनागत पुनरावलोकन आवश्यक’
जेनजी आन्दोलनको भावनाप्रति सहानुभूति जनाउँदै मिश्रले भनेका छन्, ‘यदि जेनजीको सपना साकार पार्ने हो भने, देशलाई शान्तिपूर्ण संक्रमणमार्फत नवीन समझदारी तर्फ उन्मुख गराउनु पर्छ ।’ उनले संविधानको संरचनागत पुनरावलोकनको खाँचो औंल्याउँदै गहिरो राजनीतिक संवादको माग समेत गरेका छन् ।

उनको बुझाइमा अहिले धेरैले अल्पकालीन र सतही समस्याको सम्बोधनमा चित्त बुझाइरहेका छन् । तर, त्यस्तो सोचले दीर्घकालीन समाधान सम्भव छैन । ‘कति सतहमा बहने ?’ भन्दै मिश्रले गहिराइमा पस्न आग्रह गरेका छन् ।

‘नेताहरूलाई खेद्न खोज्दा लोकतन्त्र नै संकटमा पर्ला’
राजनीतिक नेताहरूलाई खेद्दै हिंड्ने मानसिकता गलत दिशातर्फ जाने खतरा रहेको मिश्रको धारणा छ । ‘नेताहरूलाई बढी खेद्न खोज्दा लोकतन्त्र नै संकटमा पर्ला’, उनले भनेका छन्, ‘गल्ती नेताहरूले मात्र होइन, हामी सबैले गरेका छौं । अब मिलेर जाने समय हो, बदला लिने होइन ।’

चुनावको अर्थ के ?
चुनावप्रति मिश्रको समर्थन स्पष्ट छ—तर शर्तसहित । ‘ठिक छ, चुनाव ५ महिनामै गरौ’ं, उनी भन्छन्, ‘तर यो चुनाव दुःखद घटनाको निरन्तरता होइन, नेपालको भविष्य सुखद बनाउने मोका बनोस् ।’ उनका अनुसार, चुनाव आफैंमा समाधान होइन—यदि गहिरो संरचनागत समस्या ज्यूँका त्यूँ रहे, तिनै पुराना अनुहार फर्केर आउने छन् र मुलुक फेरि सोही चक्रमा फस्नेछ । मिश्रले सतही समाधानको मोह त्यागेर गहिरो, दूरदर्शी र संरचनागत परिवर्तनतर्फ उन्मुख हुन सबै राजनीतिक शक्तिहरूलाई आग्रह गरेका छन् ।

 

यस्ता छन् मन्त्रिपरिषद वैठकका २० निर्णयहरु (सूचीसहित)

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेका छन् । बिहीबारको मन्त्रिपरिषद् बैठकका निर्णयहरू मन्त्री खरेलले शुक्रबार सार्वजनिक गरेका हुन् । सरकारले भिजिट भिसासम्बन्धी छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको छ ।

असोज २३ गते बसेको मन्त्रिपरिषद बैठकले ‘अध्यागमन र भिजिट भिसाको सम्बन्धमा विगतदेखि देखिएका समस्या समाधान गर्न गठित उच्चस्तरीय अध्ययन एवम् छानबिन (२०८२) ले नेपाल सरकार समक्ष पेस गरेको प्रतिवेदन कार्यान्वयनका लागि गृह मन्त्रालयमा पठाउने’ निर्णय गरेको हो । बैठकले वैकल्पिक विकास वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकका संघीय संसद्समक्ष पेश गर्न स्वीकृति दिने निर्णय गरेको छ ।

यस्तै, नेपाली महावाणिज्यदूतावास, कोलकाताको स्वामित्वमा रहेको ४०९.५३ बर्गमीटर जग्गा साँध जोडिएको भारतीय रेल विकास निगम लिमिटेडको स्वामित्वमा रहेको ५२६.३४ बर्गमीटर जग्गासँग सट्टापट्टा गर्न स्वीकृति दिने निर्णय समेत गरिएको छ । जेनजी आन्दोलनको क्रममा भएको सार्वजनिक संरचनाको क्षतिको पुनर्निर्माण र मर्मत सम्भार, क्षतिबाट प्रभावितको लागि राहत तथा आर्थिक पुनरुत्थान र सार्वजनिक सेवा सुचारु गर्न, प्रतिनिधि सभाको निर्वाचन गर्न तथा यस आर्थिक वर्षमा भएका विपद्बाट उत्पन्न विशेष परिस्थितिको लागि आवश्यक पर्ने रकम व्यवस्थापन गर्न चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रम भित्रको आयोजनाको लागि रकमान्तर गरी बजेट थप गर्नुपर्ने भएमा त्यस्तो आयोजनामा रकमान्तरको सीमा कायम नहुने गरी रकमान्तर गर्नेसम्बन्धी आदेश जारी गर्ने बैठकको निर्णय छ ।

एसियाली विकास बैंकबाट १०० मिलियन अमेरिकी डलर बजेटरी सहायताका रूपमा सहुलियतपूर्ण ऋण सहायता प्राप्त गर्ने सम्बन्धमा वार्ता गर्न अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गर्ने मन्त्रिपरिषद् बैठकको निर्णय छ । त्यस्तै, बैठकले नेपाल न्याय सेवा, न्याय समूह, राजपत्राङ्कित प्रथम श्रेणीका आठ जना अधिकृतहरूको सरुवा गर्ने, २०८२ असोज १९ र २० गते गृह मन्त्रालयले दिएको सार्वजनिक बिदा समर्थन गर्ने र तीन महिना अवधिको लागि इलाम जिल्लालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने लगायतका निर्णय गरेको छ ।

हेर्नुस् मन्त्रिपरिषदका निर्णयहरु

जेनजी आन्दोलनमा गोली हान्ने आदेश थिएन, उत्तेजना र प्रतिशोध भन्दा माथि उठौं : रमेश लेखक

काठमाडौं । जेनजी आन्दोलनका क्रममा भएको दमनप्रति सार्वजनिक आक्रोश बढिरहेका बेला तत्कालीन गृहमन्त्री रमेश लेखक पहिलो पटक सफाइसहित मिडियामा प्रस्तुत भएका छन् । उनले स्पष्ट पारे, ‘गोली चलाउन न प्रधानमन्त्रीले आदेश दिए, न मैले ।’ आज (शुक्रबार) सानेपास्थित नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै लेखकले जेनजी आन्दोलनमा हिंसा भएको घटनालाई दुःखद भन्दै त्यसको जिम्मेवारी कसै एक पक्षमा थोपर्नु गलत हुने जिकिर गरे ।

‘प्रधानमन्त्रीजीले वा गृहमन्त्रीले आदेश दिएको भनेर चर्चाहरू उठेका छन्’, लेखकले भने, ‘तर यस्ता कुनै आदेश दिइएको थिएन । यो प्रक्रिया गृहमन्त्री वा प्रधानमन्त्रीको निर्देशनबाट सञ्चालन हुने खालको थिएन ।’

‘घुसपैठको आरोप पुष्टि भयो’
लेखकले आन्दोलनमा हिंसा र तोडफोड भड्काउने कार्यमा घुसपैठ भएको दाबी पनि दोहो¥याए । ‘मैले मात्रै हैन, आयोजकहरूले नै त्यो बेला घुसपैठको विषय उठाएका थिए । पछि त्यो कुरा यथार्थमा पुष्टि पनि भयो’, उनले भने । उनका अनुसार, यही घुसपैठकै कारण आन्दोलनले अपेक्षित बाटो गुमाएको र हिंसात्मक मोड लिएको हो ।

‘उत्तेजनाभन्दा माथि उठौं’
आन्दोलनको पहिलो दिन नै गृहमन्त्रीबाट राजीनामा दिएका लेखकले अहिलेको समय प्रतिक्रियावादी शैलीले होइन, संयम र विवेकले काम लिनुपर्ने समय भएको बताए । ‘अहिले देशलाई आग्रह–पूर्वाग्रह र प्रतिशोधको राजनीति चाहिएको छैन’, लेखकले भने, ‘जेनजी पुस्ताले उठाएका मागलाई लोकतान्त्रिक मूल्य र मान्यताको आधारमा बुझेर सम्बोधन गर्नु जरुरी छ ।’ उनले सबै राजनीतिक दलहरूलाई विधिको शासन र जिम्मेवार राजनैतिक व्यवहारप्रति प्रतिबद्ध हुन पनि आग्रह गरे ।

नेतृत्वको लचकता या छवी जोगाउने प्रयास ?
राजीनामा दिएका लेखकको पछिल्लो अभिव्यक्तिलाई कतिपयले आत्मसमीक्षा र संयमको सन्देशका रूपमा हेरेका छन् भने केहीले यसलाई ‘आफ्नो छवि जोगाउने प्रयास’ को रूपमा व्याख्या गरिरहेका छन् । विश्लेषकहरू भन्छन्, ‘लेखकले जुन बेला पद छोडे, त्यो समयमा नै सत्य कुरा खुलेको भए परिस्थिति फरक हुन सक्थ्यो । अहिले आएर दिने स्पष्टीकरणले आलोचना त कम गर्न सक्छ, तर जवाफदेहिताको गारो भने उस्तै रहन्छ ।’

जेनजीको मागप्रति समर्थन तर सावधानीपूर्वक
लेखकले जेनजी आन्दोलनको मागप्रति पूर्ण अस्वीकार नगरे पनि, सावधानीपूर्वक समर्थन व्यक्त गरे । ‘ती मागहरू लोकतान्त्रिक दायराभित्र रहेर सम्बोधन गर्नुपर्छ’, उनको भनाइ थियो । उनले सो आन्दोलनको भावनालाई बुझ्न र त्यसलाई मार्गदर्शन गर्न राजनीतिक नेतृत्व तयार हुनुपर्नेमा जोड दिए ।

प्रचण्डको प्रश्न : नेताहरुलाई बचाउने सेनाले सिंहदरबार किन जोगाएन ?

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली सेनाले सिंहदरबार जल्नबाट किन जोगाएन भनी प्रश्न गरेका छन् । आज (शुक्रबार) सम्पादकहरुसँगको संवादमा उनले नेताहरूलाई जोगाउने सेनाले सिंहदरबार लगायत राज्यका महत्वपूर्ण निकाय किन नजोगाएको भन्दै प्रश्न गरेका हुन् ।

‘सेनाले हामीलाई त जोगायो । त्यसका लागि नेपाली सेनालाई धन्यवाद छ’ उनले भने, ‘तर हामीलाई जोगाउने सेनाले सिंहदरबार, सर्वोच्च अदालत, संसद भवन, शीतल निवास जस्ता राज्यका महत्वपूर्ण निकाय किन जोगाएन भन्ने हामीलाई लागेकै छ ।’ उनले अहिलेको अवस्था आउनुमा भू–राजनीतिक कारण रहेको दाबी समेत गरेका छन् । ‘यो अवस्था आउनु भू–राजनीतिक कारण हो । हामी भू–राजनीतिक अवस्थाकै कारण फस्यौँ’ उनले भने । चुनावपछि पनि सबैको सहमतिमा जेनजीको माग सम्बोधन गर्ने गरी संविधान संशोधन गर्नुपर्ने बताए ।
‘सक्कली जेनजीसँग सहकार्य गरेर नक्कलीलाई एक्सपोज गरौं’
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सक्कली जेनजीसँग सहकार्य गरेर नक्कली जेनजीहरू सार्वजनिक (एक्सपोज) गर्नुपर्ने बताएका छन् । उनले जेनजी आन्दोलन अन्तर्राष्ट्रिय विषय नै भएको र नेपालको आन्दोलनमा पनि देशी–विदेशी शक्तिहरू सक्रिय भएको अनुभव आफूले गरेको बताए ।

‘जेनजी आन्दोलन अन्तर्राष्ट्रिय विषय भयो । विभिन्न देशमा चल्दै छ,’ उनले भने, ‘एक भारतीय बौद्धिकले जेनजी आन्दोलन चटपटे हो भने । राजावादीदेखि देशी–विदेशी समेत छन् । मलाई पनि त्यस्तै लाग्यो ।’ उनले २३ गतेको प्रदर्शनमा आन्तरिक र २४ गतेको प्रदर्शनमा बाह्य पक्षको मुख्य भूमिका रहेको पनि बताएका छन् ।

 

फिलिपिन्समा ७.६ म्याग्निच्युडको भूकम्प : उद्धार र राहत कार्य तीव्र 

मनिला ।  दक्षिणी फिलिपिन्समा शुक्रबार बिहान आएको ७.६ म्याग्निच्युडको शक्तिशाली भूकम्पपछि उत्पन्न सुनामीको खतरा अब समाप्त भएको प्रशान्त सुनामी चेतावनी केन्द्रले जनाएको छ । प्रारम्भिक रूपमा इन्डोनेसिया र फिलिपिन्सका केही तटीय क्षेत्रमा साना छालहरू देखिएका थिए, जसमा इन्डोनेसियाको उत्तरी सुलावेसी प्रान्तमा ज्वारको स्तर करिब १७ सेन्टिमिटर (६.७ इन्च) माथि पुगेको बताइएको छ । होनोलुलुस्थित केन्द्रका अनुसार भूकम्पपछिका करिब दुई घण्टासम्म समुद्रमा हल्का उतारचढाव भइरहने सम्भावना भने कायम छ ।
भूकम्पबाट भएको क्षतिको विस्तृत मूल्याङ्कन जारी छ । राष्ट्रपति फर्डिनान्ड मार्कोस जुनियरले प्रभावित क्षेत्रमा उद्धार र राहत टोलीको तयारी भइरहेको र अवस्था सुरक्षित भएपछि ती टोलीहरू तैनाथ गरिने जानकारी दिए । फिलिपिन्स इन्स्टिच्युट अफ भोल्कानोलोजी एन्ड सिस्मोलोजीका अनुसार भूकम्प दाभाओ ओरिएन्टल प्रान्तको माने सहरबाट करिब ६२ किलोमिटर दक्षिणपूर्वमा समुद्रभित्र १० किलोमिटरको गहिराइमा आएको थियो ।
दाभाओ ओरिएन्टलका सरकारी विपद् न्यूनीकरण अधिकारी जुन सावेद्राले एसोसिएटेड प्रेससँग कुरा गर्दै भने, ‘म कार चलाउँदै थिएँ, अचानक जमिन हल्लियो र पावरलाइनहरू अनियन्त्रित रूपमा हल्लिँदै गरेको देखेँ । बिजुली बन्द भएपछि मानिसहरू घर र भवनबाट बाहिर भागे ।’ उनका अनुसार यस पटकको भूकम्प विगतका भन्दा धेरै शक्तिशाली थियो, जसले विद्यालयसहित धेरै भवनमा चिरा पारेको छ ।
सावेद्राका अनुसार भूकम्पका कारण चक्कर र बेहोस भएका कम्तीमा ५० विद्यार्थीलाई एम्बुलेन्समार्फत अस्पताल पठाइएको छ । मानेबाट करिब एक सय किलोमिटर दक्षिणमा रहेको जेनेरोसो सहरमा समेत सबै तहका कक्षा स्थगित गरिएका छन् । डाभाओ सहर (जनसंख्या करिब ५४ लाख) मा समेत विद्यालयहरू खाली गरिएका थिए । यो सहर भूकम्पको केन्द्र नजिकको सबैभन्दा ठूलो नगरी हो, जुन दाभाओ ओरिएन्टल प्रान्तको पश्चिमतर्फ करिब दुई सय ५० किलोमिटर दूरीमा पर्छ ।
होनोलुलुको प्यासिफिक सुनामी वार्निङ सेन्टरले भूकम्पको केन्द्रबाट तीन सय किलोमिटर वरिपरिका तटीय क्षेत्रमा खतरनाक छाल आउन सक्ने चेतावनी दिएको थियो । फिलिपिन्सका केही तटमा सामान्य ज्वारभन्दा तीन मिटर (१० फिट) उचाइसम्म छाल आउन सक्ने र इन्डोनेसिया तथा पलाउमा पनि साना तर उल्लेखनीय छालहरू देखिन सक्ने जनाइएको थियो ।
नागरिक रक्षा उपप्रशासक बर्नार्डो राफेलिटो अलेजान्ड्रो चतुर्थका अनुसार बिहान ९ः४३ बजे भूकम्प आएपछि डाभाओ ओरिएन्टलबाट नजिकका छ वटा तटीय प्रान्तमा सुनामीको खतरा रहेको भन्दै तत्काल उच्च भूभागतर्फ सर्न र सतर्क रहन आग्रह गरिएको थियो । उनले भिडियो सन्देशमार्फत भने, ‘हामी यी तटीय समुदायहरूलाई अर्को सूचना नआएसम्म उच्च मैदानमा रहन अनुरोध गर्दछौँ ।’ साथै, उनले बन्दरगाह तथा तटीय क्षेत्रमा रहेका डुङ्गा मालिकहरूलाई आफ्ना डुङ्गा सुरक्षित राख्न र समुद्रकिनाराबाट टाढा रहन आग्रह गरे ।
इन्डोनेसियाको मौसम विज्ञान, जलवायु विज्ञान र भूभौतिकी एजेन्सीले उत्तरी सुलावेसी प्रान्तमा ३.५ देखि १७ सेन्टिमिटर (१.३ देखि ६.७ इन्च) उचाइका साना सुनामी छालहरू देखिएको पुष्टि गरेको छ र स्थानीय बासिन्दालाई समुद्र तथा नदी किनाराबाट टाढा रहन चेतावनी दिएको छ ।
यसअघि सेप्टेम्बर ३० मा फिलिपिन्समा ६.९ म्याग्निच्युडको अर्को शक्तिशाली भूकम्प गएको थियो, जसमा ७४ जनाको मृत्यु भएको र मध्य प्रान्त सेबु, विशेषगरी बोगो सहर र वरपरका क्षेत्रमा हजारौं मानिस विस्थापित भएका थिए । प्रशान्त महासागरको ‘रिङ अफ फायर’ अर्थात् भूकम्पीय र ज्वालामुखी चापमा अवस्थित फिलिपिन्स विश्वका सबैभन्दा विपद्–संवेदनशील देशमध्ये एक हो । यहाँ प्रत्येक वर्ष करिब २० वटा आँधीबेहरी र प्राकृतिक प्रकोपहरू आउने हुँदा सरकार र स्वयंसेवी समूहहरू निरन्तर उद्धार तथा राहत कार्यमा तत्पर रहन्छन् । –रासस /एपी

भारतले काबुल मिसनलाई पूर्ण दूतावासमा उन्नत गर्दै, तालिबानसँगको सम्बन्ध अझ गहिरिने संकेत

भारत । भारतले अफगानिस्तानमा आफ्नो प्राविधिक मिसनलाई पूर्ण दूतावासमा स्तरोन्नति गर्ने निर्णय गरेको छ । यो निर्णयले तालिबानसँगको सम्बन्धमा नयाँ अध्याय खोल्ने संकेत गरेको छ ।  भारतीय विदेशमन्त्री सुब्रह्मण्यम जयशङ्करले शुक्रबार नयाँदिल्लीमा अफगानिस्तानका विदेशमन्त्री अमिर खान मुत्ताकीसँगको भेटपछि यो घोषणा गरेका हुन् । सन् २०२१ मा अमेरिकाको दुई दशक लामो सैन्य उपस्थितिपछि तालिबानले सत्ता कब्जा गरेयता भारत र अफगानिस्तानबीचको यो पहिलो उच्चस्तरीय कूटनीतिक संवाद हो ।
विदेशमन्त्री जयशङ्करले अफगानिस्तानको विकासका लागि भारतको निरन्तर प्रतिबद्धता दोहो¥याउँदै व्यापार, स्वास्थ्य र शिक्षा जस्ता क्षेत्रमा सहयोग विस्तार गर्ने आश्वासन दिए । उनले भने, ‘हामीबीचको घनिष्ठ सहकार्यले तपाईंको राष्ट्रिय विकास मात्र होइन, सम्पूर्ण क्षेत्रको स्थिरता र सहनशीलतालाई पनि बल पुर्‍याउनेछ ।’
संयुक्त राष्ट्रसंघको प्रतिबन्ध सूचीमा रहेका अफगान तालिबान नेतामध्ये एक मुत्ताकी संयुक्त राष्ट्र सुरक्षा परिषद्को समितिबाट अस्थायी यात्रा अनुमति पाएपछि बिहीबार नयाँदिल्ली आइपुगेका थिए । यो भ्रमण रुसमा आयोजित अफगानिस्तानसम्बन्धी अन्तर्राष्ट्रिय बैठकमा सहभागी भएपछि भएको हो । उक्त बैठकमा चीन, भारत, पाकिस्तान, इरान, कजाकिस्तान, किर्गिस्तान, ताजिकिस्तान र उज्बेकिस्तानका प्रतिनिधिहरू उपस्थित थिए ।
भारत र तालिबानबीचको यो कूटनीतिक नजिकिँदो सम्बन्ध विगतको वैरभावलाई पछाडि पार्दै आएको हो । तालिबान अन्तर्राष्ट्रिय मान्यता खोज्दै गर्दा भारतले अफगानिस्तानमा चीन र पाकिस्तानको प्रभाव सन्तुलन गर्ने रणनीतिक अवसर देखेको छ । विदेश सचिव विक्रम मिस्रीले यसअघि जनवरीमा दुबईमा मुत्ताकीसँग भेट गर्नुभएको थियो । त्यसपछि मुत्ताकी र जयशङ्करबीच टेलिफोन वार्ता भएको थियो । साथै, भारतका अफगानिस्तानसम्बन्धी विशेष दूतले अप्रिलमा काबुल पुगेर राजनीतिक तथा व्यापारिक सहकार्यबारे छलफल गरेका थिए ।
विश्लेषकहरूका अनुसार तालिबानसँग उच्चस्तरीय सम्पर्क राख्ने भारतको निर्णय यसको कूटनीतिक पुनर्मूल्याङ्कन हो, जसले चीन र पाकिस्तानसँगको क्षेत्रीय प्रतिस्पर्धामा भारतलाई पछाडि पर्न नदिने लक्ष्य लिएको छ । अन्तर्राष्ट्रिय क्राइसिस ग्रुपका वरिष्ठ विश्लेषक प्रवीण डोन्टीका अनुसार भारतले विश्वलाई चीन र पाकिस्तानसँगको प्रतिस्पर्धाको दृष्टिकोणबाट हेर्छ । प्रतिस्पर्धी राष्ट्रहसँग पनि सम्बन्ध कायम राख्ने प्रयासमा रहेको तालिबानले अपनाएको सन्तुलित विदेश नीति भारतको आफ्नै रणनीतिक सोचसँग मिल्दोजुल्दो छ ।
हाल अफगानिस्तान र पाकिस्तानबीचको सम्बन्ध सीमा विवाद र शरणार्थी समस्या जस्ता कारणले तनावपूर्ण बनेको छ । यस्तो अवस्थामा भारतको बढ्दो संलग्नतालाई पाकिस्तानको प्रभावविरुद्धको ‘रणनीतिक सन्तुलन’ का रूपमा हेरिएको छ । साथै, भारतले पूर्वाधार विकास र कूटनीतिक उपस्थिति विस्तार गरेर अफगानिस्तानमा चीनको प्रभुत्व घटाउने प्रयास गरिरहेको छ । डोन्टीले भने, ‘बेइजिङले तालिबानसँग घनिष्ठ सम्बन्ध बढाइरहेको बेला नयाँदिल्लीले काबुलमा आफ्नो रणनीतिक प्रभाव सुदृढ पार्ने अवसर देखेको छ । इस्लामाबादसँगको बिग्रँदो सम्बन्धका कारण भारतले काबुलमा सामान्य प्रभाव स्थापना गरेर क्षेत्रीय शक्तिका रूपमा आफ्नो स्थिति मजबुत बनाउन खोजेको हो ।’
सन् २०२१ मा तालिबानले सत्ता सम्हालेपछि भारतमा यसले पाकिस्तानलाई फाइदा पुर्‍याउनेछ र काश्मीरमा जारी विद्रोहलाई थप बल दिनेछ भन्ने चिन्ता थियो । तर नयाँदिल्लीले यी आशङ्काबीच पनि तालिबानसँग स्थिर सम्पर्क कायम राख्यो । सन् २०२२ मा भारतले मानवीय सहायता र विकास सहयोगमा केन्द्रित हुँदै काबुलमा प्राविधिक मिसन स्थापना गरेको थियो । त्यसयता, क्षेत्रीय फोरम र ब्याक–च्यानल कूटनीतिबाट संवादलाई निरन्तरता दिँदै आएको छ । भारतले अफगान विद्यार्थी र व्यापारीसहित दशौँ हजार अफगान नागरिकलाई आश्रय दिएको छ, जसमध्ये धेरैज ना तालिबान शासनपछि देश छोडेका थिए । नयाँदिल्लीमा रहेको अफगान दूतावास सन् २०२३ नोभेम्बरमा स्थायी रूपमा बन्द भएको थियो, तर मुम्बई र हैदराबादका वाणिज्य दूतावासहरू सीमित सेवा प्रदान गर्दै सञ्चालनमा छन् ।
तालिबानले पछिल्ला महिनाहरूमा अन्तर्राष्ट्रिय संवाद विस्तार गरेको छ र चीन तथा संयुक्त अरब इमिरेट्स जस्ता केही देशसँग कूटनीतिक सम्बन्ध स्थापित गर्न सफल भएको छ । यसैबीच जुलाईमा रुस तालिबानलाई प्रतिबन्धित सङ्गठनको सूचीबाट हटाउँदै आधिकारिक मान्यता दिने पहिलो देश बनेको थियो । यद्यपि, मुख्यतया महिलामाथि लगाइएका कठोर प्रतिबन्ध र मानवअधिकार उल्लङ्घनका कारण तालिबान शासन अझै पनि अन्तर्राष्ट्रिय रूपमा अलग रहँदै आएको छ । भारतको यो कदमले काबुलसँगको सम्बन्धमा नयाँ अध्याय आरम्भ गरेको छ, जसले क्षेत्रीय शक्ति सन्तुलनमा उल्लेखनीय प्रभाव पार्ने विश्लेषकहरूको मूल्याङ्कन छ । रासस /एपी

भेनेजुएलाकी विपक्षी नेत्री मारिया कोरिना मचाडोलाई नोबेल शान्ति पुरस्कार

ओस्लो । भेनेजुएलाकी विपक्षी कार्यकर्ता मारिया कोरिना मचाडोले शुक्रबार प्रतिष्ठित नोबेल शान्ति पुरस्कार जितेकी छन् । नर्वेजियन नोबेल समितिका अध्यक्ष जोर्गन वाटने फ्राइड्नेसले मचाडोलाई ‘गहिरो रूपमा विभाजित राजनीतिक विपक्षमा साझा आधार फेला पार्ने एकीकृत र साहसी नेतृत्वको प्रतीक’ भएको भन्दै सम्मानित गरे ।

उनले भने, ‘गत वर्ष मिस मचाडोलाई लुकेर बस्न बाध्य पारियो । उहाँको जीवन विरुद्ध गम्भीर खतराहरूका बावजुद, उहाँले देशमा रही लाखौँलाई प्रेरित गर्नुभएको छ । अधिनायकवादीहरूले सत्ता कब्जा गर्दा उठ्ने र प्रतिरोध गर्ने स्वतन्त्रताका साहसी रक्षकहरूलाई चिन्न महत्वपूर्ण हुन्छ ।’

भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोको सरकारले गत वर्षको राष्ट्रपति चुनाव अघि मचाडोलाई अयोग्य ठहर गर्दै उनको चुनावी उम्मेदवारीलाई रोकेको थियो । उनलाई विस्थापित गरी एडमुन्डो गोन्जालेजलाई उम्मेदवार बनाइएको थियो । यसअघिका निर्वाचनमा व्यापक दमन, मानव अधिकार उल्लङ्घन र गिरफ्तारी जस्ता चुनौतीहरू देखिएका थिए ।

निर्वाचन परिषद्ले गोन्जालेजलाई विजेता घोषणा गरेपछि देशभर विरोध प्रदर्शन भड्कियो । प्रदर्शनमा २० जनाभन्दा बढीको मृत्यु भएको थियो । यी विरोधहरूले भेनेजुएला र अन्य विदेशी राष्ट्रहरूबीच कूटनीतिक सम्बन्धमा तनाव सिर्जना गर्‍यो । मचाडो यस अवधिमा लुकेका थिए र जनवरीदेखि सार्वजनिक रूपमा देखा परेका छैनन् ।

नोबेल समितिले प्रायः शान्तिको स्थायित्व, अन्तर्राष्ट्रिय भ्रातृत्व प्रवर्द्धन र सम्बन्धित संस्थाहरूको शान्त कार्यलाई सम्मान गर्दै पुरस्कार प्रदान गर्दछ । गत वर्षको पुरस्कार जापानी आणविक विस्फोटबाट बचेका निहोन हिडान्क्योलाई दिइएको थियो । उक्त संस्थाले आणविक हतियारको प्रयोगको वरिपरि रोक कायम राख्न दशकौँसम्म काम गरेको छ ।

शान्ति पुरस्कार नर्वेको ओस्लोमा वार्षिक रूपमा प्रदान गरिन्छ । यसैबीच, स्विडेनको स्टकहोममा यस हप्ता चिकित्साशास्त्र, भौतिकशास्त्र, रसायनशास्त्र र साहित्यका पुरस्कारहरू वितरण भइसकेका छन् भने अर्थशास्त्रको पुरस्कार विजेताको घोषणा सोमबार हुने अपेक्षा गरिएको छ । रासस / एपी

प्रहरी महानिरीक्षक खापुङको प्रष्टीकरण : राजीनामा दिन्छु भनेको छैन

काठमाडौं । प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न दबाब दिए राजीनामा दिन्छु भनि आएका समाचारको खण्डन गरेका छन् । प्रहरी महानिरीक्षकको सचिवालयले शुक्रबार विज्ञप्तिमार्फत खण्डन गर्दै प्रहरी महानिरीक्षक खापुङले कहिँ कतै त्यस्तो आशय झल्कने अभिव्यक्ति नदिएको दाबी गरेको छ ।

प्रधानमन्त्री शुशीला कार्की र गृहमन्त्री ओमप्रकाश अर्यालसँग भएका सुरक्षा बैठक र प्रतिवेदनहरूमा समसामयिक घटनाक्रमहरू र त्यसबाट सृजित सुरक्षा चुनौतीहरूको बारेमा छलफल भएको सचिवालयले उल्लेख गरेको छ । बैठकमा शान्ति सु–व्यवस्था कायम गर्ने विषयमा मात्र केन्द्रित भई सौहार्दपूर्ण छलफल भएको प्रहरी प्रवक्ता विनोद घिमिरेले जारी गरेको विज्ञप्तिमा जानकारी गराइएको छ ।

हेर्नुस् प्रेस विज्ञप्ती

मलाई आफ्नै भाषण सुनें भने ज्योतिषी जस्तो लाग्छ : प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूलाई कहिलेकाहीँ ज्योतिषी जस्तो लाग्ने बताएका छन् । प्रेस सेन्टरले आज (शुक्रबार) आयोजना गरेको सम्पादकसँगको छलफलमा अध्यक्ष प्रचण्डले आफूले जे भन्दै आएको हो त्यही पुगेकाले ज्योतिषी जस्तो लाग्ने बताएका हुन् ।

‘तीन पार्टीका तीन नेता उस्तै हुन् भन्ने न्यारेटिभमा हाम्रो चित्त दुखेको छ । मलाई आफ्नै पुरानो भाषण सुनेँ भने ज्योतिषीले बोले जस्तो लाग्छ, जे भन्यो त्यही भएको छ,’ उनले भने । अध्यक्ष प्रचण्डले बेलाबेला ठूलो विद्रोह हुने बताउँदै आएका थिए । जनताको असन्तुष्टि चुलिएकाले जनताले नागरिकले सिंहदरबार, बालुवाटार घेर्ने बताउने गरेका थिए । प्रचण्डको यही भनाइ टिपेर केही दिनअघि ओलीले पनि टिप्पणी गरेका थिए ।

अध्यक्ष ओलीले बिहीबार मात्रै जेनजी अघि सारेर माओवादी केन्द्र, रास्वपा, राप्रपा लगायत दल आन्दोलनको पछाडि बसेको समेत आरोप लगाएका थिए । अध्यक्ष प्रचण्डले जेनजीको मागमा आफूहरूको समर्थन रहेको पनि बताए । जेन–जी विद्रोहलाई सम्मान नगर्ने हो भने मुलुक पछाडि पर्ने उनको भनाइ थियो । ‘नैतिक र राजनीतिक दृष्टिले हामी त्यसको सम्मान गर्छौं । यसलाई सम्बोधन गर्न सकिएन भने हामी पछाडि पर्छौं,’ उनले भने । उनले अहिलेको आवश्यकता फागुन २१ गते तोकिएको निर्वाचन सफल गराउनु नै रहेको उनको भनाइ थियो।‘जेनजीले मागकै कारण नेतृत्व छोडेर महाधिवेशनमा जान लागेको हुँ । म निवृत्त जीवन बिताउन्न । तर म पार्टी प्रमुख भइरहनु पर्छ भन्ने छैन । पुरानो नेतृत्वले अब बिना भूमिकामा काम गर्नेछ,’ उनले भने ।

नेपालका ६ महिला खेलाडीले मलेसियामा टी–२० च्याम्पियनसिप खेल्ने

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका ६ जना महिला खेलाडीले मलेसियाको क्वालालम्पुरमा हुने एमसीए वुमेन इन्टरस्टेट टी–२० च्याम्पियनसिप खेल्ने भएका छन् । नेपाल क्रिकेट संघ क्यानले दिएको जानकारी अनसार अक्टोवर १८ देखि २८ सम्म प्रतियोगिता आयोजना हुनेछ ।

नेपालका ६ जना राष्ट्रिय महिला क्रिकेट खेलाडीहरुले सेलङ्गर क्रिकेट एशोसिएसन र सर्वाक क्रिकेट एसोसिएसन सँग आवद्ध भएर प्रतियोगिता खेल्ने छन् । सहभागी हुने नेपाली खेलाडीमा सीता राना मगर, कविता जोशी र राजमती ऐरीले सेलङ्गर क्रिकेट एशोसिएसनसँग आवद्ध भएर प्रतिस्पर्धा गर्दा रुविना क्षेत्री, पूजा महतो र कविता कुवँरले सारावाक क्रिकेट एशोसिएसनसँग आवद्ध भएर प्रतिस्पर्धा गर्नेछन् ।

हुम्लामा जीप दुर्घटना, बाबु–छोरीसहित तीन जनाको मृत्यु

हुम्ला । हुम्लाको चंखेलीमा जीप दुर्घटना हुँदा बाबु–छोरीसहित तीन जनाको मृत्यु भएको छ । ६ यात्रु घाइते भएका छन् । चंखेली गाउँपालिका–४ स्थित देशीखोलामा भएको उक्त दुर्घटनामा चंखेली गाउँपालिका–६ की वसन्ती बुढा, उनकी छोरी र अर्का यात्रु मानवीर बुढा छन् ।

जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी प्रमुख शंकर पोखरेलका अनुसार बिहान ११ बजे पिप्लाङ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ च १०९१ नम्बरको डबल क्याप जीप सडकबाट ३ सय मिटर तल खसेको थियो । नजिकैको स्वास्थ्य चौकीमा उपचार गराइरहेकामध्ये गम्भीर घाइतेलाई हेलिकप्टरमार्फत प्रदेश अस्पताल सुर्खेत ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

प्रचण्डको प्रस्ताव : यो संविधानले अहिलेकै रुपमा काम गर्दैन, परिमार्जन गरौं

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संविधान संशोधनको आवश्यकता औंल्याउँदै नयाँ राष्ट्रिय सहमतिको प्रस्ताव गरेका छन् । राजधानीमा आयोजित सम्पादकहरूसँगको छलफलमा उनले वर्तमान संविधानले अबको परिस्थितिमा काम नगर्ने दाबी गर्दै परिमार्जन आवश्यक रहेको बताएका छन् ।

‘यो संविधानले अहिलेकै रूपमा काम गर्दैन,’ प्रचण्डले भने, ‘संशोधन-परिमार्जन गरौं । त्यसका लागि राष्ट्रिय सहमति चाहिन्छ ।’ उनको प्रस्तावमा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको व्यवस्था, संविधानको समग्र पुनरावलोकन र वर्तमान राजनीतिक संरचनामाथिको बहस समेटिएको छ ।

स्वाधीनता र सार्वभौमसत्तामाथि संकट
प्रचण्डले देश गम्भीर राजनीतिक संकटमा रहेको उल्लेख गर्दै राष्ट्रिय स्वाधीनता र स्वतन्त्रतामाथि यति ठूलो हस्तक्षेप पहिले कहिल्यै नभएको बताए । ‘राष्ट्रिय स्वाधीनतामा यति ठूलो चुनौती पहिले कमै थियो,’ उनले भने ।

जेनजी आन्दोलनप्रति समर्थन

प्रचण्डले हालैको जेनजी आन्दोलनले संविधान र राजनीतिक संरचनालाई नयाँ कोणबाट हेर्न प्रेरित गरेको उल्लेख गर्दै त्यसप्रति समर्थन जनाए । ‘नैतिक र राजनीतिक दृष्टिले हामी त्यसको सम्मान गर्छौं,’ उनले भने, ‘यसलाई सम्बोधन गर्न सकिएन भने हामी पछाडि पर्छौं ।’

‘रिटायर्ड लाइफ बिताउँदिन, तर पार्टी प्रमुख हुन जरुरी छैन’
राजनीतिक जीवनबारे कुरा गर्दै प्रचण्डले आफू सक्रिय राजनीतिमा रहने तर सधैं पार्टीको शीर्ष नेतृत्वमा बसिरहनुपर्ने पक्षमा नरहेको स्पष्ट पारे । ‘रिटायर्ड लाइफ त बिताउन्न, तर म पार्टी प्रमुख भइरहनु पर्छ भन्ने छैन,’ उनले भने, ‘पुरानो नेतृत्वले अब बिना भूमिकामा काम गर्नेछ।’ उनले तीन नेता र तीन दल एउटै हुन् भन्ने आलोचनालाई अस्वीकार गरेका छन् । ‘म लिडरसिप छोड्न तयार भएको र ज्यान जाला छोड्दिन भन्ने पनि उस्तै हो र ?’ भन्दै उनले सत्ता मोहप्रति कटाक्ष गरे ।

निर्वाचन नै अहिलेको प्राथमिकता

प्रचण्डले आगामी फागुन २१ गते तोकिएको आम निर्वाचनलाई सफल बनाउनु नै हालको पहिलो आवश्यकता भएको बताए । ‘निर्वाचन सफल पार्नु अहिलेको पहिलो काम हो,’ उनले भने, ‘त्यसपछि नै संवैधानिक पुनरावलोकन, राजनीतिक सुधार र राष्ट्रिय सहमतिको प्रक्रिया अघि बढ्न सक्छ ।’ ‘अहिलेको परिस्थितिमा केही संविधान टेक आउट त भएको छ । त्यसमा हाम्रो असहमति पनि छ,’ प्रचण्डले भने, ‘तर ६ महिनापछि निर्वाचन गर्ने घोषणा भइसकेको स्थितिमा अब हामी निर्वाचनतिरै लाग्नुपर्ने हुन्छ ।’

घोषित मितिमा स्वच्छ, निष्पक्ष र धाँधलीरहीत निर्वाचन होस् भनेर माओवादी केन्द्रले निर्वाचनमै जाने निर्णय गरेको उनले दाबी गरे । ‘हाम्रा केही रिजर्भेसन छन्, तर अहिलेको अवस्थामा निर्वाचन वातावरण बनाउने नै हो,’ प्रचण्डले भने । निर्वाचन हुनै सकेन भने अर्को कुरा सोच्न सकिनेतर्फ पनि उनले इंगित गरे । उनले भने, ‘निर्वाचन हुनै सकेन भने हामी सबै लाग्दा पनि भने त्यो विकल्पको कुरा होला । तर अहिले निर्वाचन सफल पार्ने र प्रतिनिधिसभा ल्याउनेतिर जोड गर्‍यौं ।’

‘मलाई आफ्नै भाषण सुन्दा ज्योतिषी जस्तो लाग्छ’
ठट्यौली शैलीमा प्रचण्डले विगतका आफ्नै भाषणहरू सुन्दा भविष्यवाणी मिले जस्तै लाग्ने बताएका छन् । ‘मलाई आफ्नै पुरानो भाषण सुनेँ भने, ज्योतिषीले बोले जस्तो लाग्छ, जे भन्यो त्यही भएको छ,’ उनले भने ।

युवा संघलाई मोटरसाइकल र्‍याली र सभा गर्न सरकारले अनुमति नदिने

काठमाडौं । सरकारले नेकपा एमाले निकट युवा संघलाई मोटरसाइकल र्‍याली र सभा गर्न अनुमति नदिने भएको छ । काठमाडौँ जिल्ला प्रशासनले शुक्रबार सूचना जारी गरेर शनिबार काठमाडौँ जिल्लाका विभिन्न स्थानमा मोटरसाइकल र्‍याली र सभा गर्न खोजेको भए पनि शान्ति सुरक्षाको स्थिति बनाइराख्नका लागि अनुमति नदिएको उल्लेख गरेको छ ।

‘गत भाद्र २३ गतेको जेनजी आन्दोलन पछिका दिनमा भएको तोडफोड, आगजनी तथा सार्वजनिक र निजी सम्पत्तिहरुमा भएको क्षति समेतका घटनाहरु हुन पुगेको यहाँहरु सबैलाई विदितै छ,’ सूचनामा भनिएको छ, ‘शान्ति सुरक्षाको स्थिति बनाई राख्न, सार्वजनिक सम्पत्तिको संरक्षण गर्दै सेवा प्रवाह सूचारु गर्ने कार्यहरु शुरु भएका छन् । यसै सिलसिलामा विभिन्न समूहहरुबाट हुने भनिएका र्‍याली, जुलुश, धर्ना, सभा र प्रदर्शन जस्ता गतिविधिहरुले सुरक्षा चुनौति बढाउन सक्ने र आम नागरिकलाई सुरक्षाको प्रत्याभूति गराउने कार्यमा थप जटिलताको अवस्था हुन जाने भएको हुँदा यस कार्यालयबाट त्यस प्रकारका कुनै पनि र्‍याली, प्रदर्शन जस्ता कार्यक्रम गर्न कोही कसैलाई पनि स्वीकृति प्रदान नगर्ने भनी निर्णय भएको छ ।’

पूर्व स्वीकृति विना कुनै पनि प्रकारका कार्यक्रमहरु नगर्न समेत जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ । सूचनामा थप लेखिएको छ, ‘यस कार्यालयबाट त्यस प्रकारका कुनै पनि र्‍याली, प्रदर्शन जस्ता कार्यक्रम गर्न कोही कसैलाई पनि स्वीकृति प्रदान नगर्ने भनी निर्णय भएको छ ।’

हेर्नुस् जिल्ला प्रशासन कार्यालयको सूचना

 

तिहारमा महानगरभित्र विदेशी फूल प्रतिबन्धित, स्वदेशीलाई तोकियो विक्री स्थान

काठमाडौं । काठमाडौँ महानगरपालिकाले तिहारमा विदेशबाट आयात गरिएको फूलमाला बिक्री वितरणमा रोक लगाएको छ । महानगर प्रहरी बलले आज यहाँ पत्रकार सम्मेलन गरी नेपाली किसानलाई प्रोत्साहन गर्नका लागि विदेशबाट आयात गरिएका फूलमाला प्रतिबन्ध गराउने निर्णय गरेको जानकारी दिएको हो ।

पत्रकार सम्मेलनमा महानगर प्रहरी बलका प्रमुख, नगर प्रहरी वरिष्ठ उपरीक्षक राजुनाथ पाण्डेले स्वदेशमा उत्पादित फूलको प्रयोगलाई बढाउनका लागि महानगरले आगामी कात्तिक १ देखि ६ गतेसम्म ३२ स्थानमा फूल बिक्री केन्द्र स्थापना गरेको जानकारी दिए । ‘अवैध रुपमा विदेशबाट आयात गरिएका फूल बिक्रीमा प्रतिबन्ध लगाउनु र स्वदेशमा उत्पादित फूलको प्रयोगलाई बढाउनु नै हाम्रो उद्देश्य हो, अवैध रुपमा विदेशबाट आएका फूललाई महानगरपालिकाले जफत गर्नेछ’, उनले भने ।

महानगरपालिकाले काठमाडौँको नयाँबानेश्वरस्थित एनवी सेन्टर, शङ्खमुलको बिगमार्ट, नयाँ बानेश्वरको आइप्लेक्स मल, मध्यबानेश्वरको सेल्सबेरी, बत्तिसपुतलीको फोनेक्स टावर, तीनकुनेचौर, सिफल चौर, चाबहिलको एसी कम्लेक्स, चाबहिल गणेशस्थान, केएल टावर, चाबहिल सेन्टर अगाडि, स्वयम्भुको धर्मचक्र पार्क, कालिमाटी ब्याङ्वेट, कालिमाटी धौखेलबाट बिक्रीवितरण गरिनेछ ।

यस्तै, कलङ्कीको भाटभटेनी, नयाँबजारको भ्याली कोल्डस्टोर्स, माछापोखरीको बुद्धमल, नयाँबसपार्क पुल, हाँडीगाउँको गणेशमन्दिर, सामाखुशीको कोइरालामार्ट, महाराजगञ्जको सेल्सबेरी, गोङ्गबुको बिगमार्ट, बालुवाटारको बिगमार्ट, पुतलीसडकको स्टार मल, अनामनगरको भाटभटेनी, सुन्धाराको काठमाडौँ मल, पुरानो बसपार्क, पुतलीसडकको न्यूप्लाजालगायतका स्थानबाट बिक्रीवितरण हुने महानगर प्रहरी प्रमुख पाण्डेले बताए ।

त्यस अवसरमा नेपाल चेम्बर अफ कमर्शका कृषि, वन तथा जडीबुटी समितिका सभापति कृष्णमान श्रेष्ठले स्वदेशी फूल स्वदेशमा प्रयोग गर्ने मुख्य उद्देश्यका साथ विगत तीन वर्षदेखि काठमाडौँ महानगरपालिकाको समन्वयमा नेपाली फूललाई प्रोत्साहन गरिँदै आएको बताए ।
नेपाल फ्लोलिकल्चर एशोसिएसनका अध्यक्ष राजेशभक्त श्रेष्ठले कृषक र राज्यलाई समृद्ध बनाउनका लागि महानगरले लिएको नीतिलाई कार्यान्वयनका लागि एशोसिएसनले सहयोग गर्ने बताए ।

एशोसिएसनले नेपाली फूललाई प्रोत्साहन गर्नका लागि आगामी असोज २९ देखि कात्तिक २ गतेसम्म १८औँ गोदावरी फूल प्रतियोगिताको आयोजना गर्न लागेको जानकारी दिए । एशोसिएसनले हाल काठमाडौँ उपत्यकामा तिहारका लागि ४० लाख माला खपत हुने अनुमान गरेको छ । नेपालमा उत्पादित फूलले नेपालको बजार धान्नसक्ने एशोसिएसनले जनाएको छ ।

सरकारले सुरक्षाकर्मी घटाएपछि प्रचण्डलाई पूर्व लडाकुको सुरक्षा

काठमाडौँ । सरकारले पूर्व प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डको सुरक्षार्थ खटाइएका सुरक्षाकर्मी कटौती गरेपछि पूर्व लडाकुले सुरक्षा दिन थालेका छन् । वाईसीएलका अध्यक्ष पुष्प ओलीका अनुसार माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको सुरक्षामा पूर्व लडाकु ब्याकग्राउण्डका वाईसीएलको टोली खटिएका हुन् ।

उनले भने, ‘पछिल्लो परिस्थितिमा उहाँलाई सुरक्षा थ्रेट हुनसक्ने भएकाले हामीले आवश्यकता अनुसारको संख्यामा वाईसीएल टोली खटाएका छौँ ।’ स्रोतका अनुसार प्रचण्डको सुरक्षामा पूर्व लडाकु समेत छन् । उनीहरूलाई तीन तहको सुरक्षा घेरामा परिचालन गरिएको छ । सबैभन्दा भित्री घेरामा विशेष तालिमप्राप्त पूर्व लडाकुहरू छन् ।

बाहिरी घेरामा वाईसीएलको फिल्डमा खटिने गरेको टोली छ । अर्को टोली गोप्य सूचना संकलनको उद्देश्यसहित परिचालन गरिएको छ । यो टोलीले ‘इन्टेलिजेन्स’ को जस्तो भूमिका निर्वाह गर्नेछ । प्रचण्डको यात्रामा स्कर्टिङ गर्नुपरेमा पनि केन्द्र र सम्बन्धित जिल्लाको वाईसीएलको विशेष टिम खटिने गरी व्यवस्था मिलाइएको छ । १० वर्षसम्म सरकारविरुद्ध सशस्त्र संघर्ष गरेको माओवादी शान्ति प्रक्रियामा आएपछि सशस्त्र लडाइँ लडेकाहरूलाई समेत समेटेर योङ कम्युनिस्ट लिग (वाईसीएल) को रूपमा युवा संगठन बनाएको थियो ।

राष्ट्रिय स्वाधिनतामा यति ठूलो संकट पहिले थिएन : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देश ठूलो राजनीतिक संकटमा परेको बताएका छन् । स्वाधीनता र स्वतान्त्रतामाथि यस्तो दबाब कुनै पिँढीले नभोगेको उनको भनाइ छ । काठमाडौंंमा सम्पादकहरूसँगको अन्तक्रियामा उनले भने, ‘स्वाधीनता र लोकतन्त्रका लागि ऐतिहासिक एकता अनिवार्य भएको छ ।’ उनले आफू प्रधानमन्त्री हुँदा विचौलियाहरूको बिगबिगी देखेको उनले बताए । तर, आफू नझुकेको प्रचण्डको दाबी छ । उनले एमाले अध्यक्ष केपी ओलीमा अझै अहंकार नगएको टिप्पणी पनि गरेका छन् ।

 

करारका शिक्षक कटौती नहुने (हेर्नुस् सूचना)

काठमाडौं । अनुत्पादक खर्च कटौती र मितव्ययिता कायम गर्ने सरकारले अस्थायी तथा करारमा कर्मचारी नराख्ने निर्णय गरेपनि करार शिक्षकको हकमा भने लागू नहुने भएको छ । अर्थ मन्त्रालयको गत असोज ७ को अनुत्पादक खर्च कटौती र मितव्ययिता कायम गर्ने सम्बन्धमा भएको विज्ञप्तिको बुँदा नम्बर (५) को संगठन संरचना सुधार अन्तर्गतको बुँदा (ज) मा नेपाल सरकार, प्रदेश तथा स्थानीय तहमा स्वीकृत दरबन्दी बाहेकमा अस्थायी तथा करारमा कर्मचारी राख्न नपाउने उल्लेख थियो ।

यसमा स्थानीय तह र विद्यालयले करार शिक्षकको सन्दर्भमा के हुने भनेर प्रश्न गरेपछि शिक्षा मन्त्रालयले उक्त बुँदा शिक्षकको हकमा आकर्षित नहुने जनाएको हो । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले ७७ वटै शिक्षा विकास तथा समन्वय इकाइलाई परिपत्र गरी उक्त बुँदा शिक्षकको हकमा आकर्षित नहुने जनाएको हो ।

हेर्नुस् सूचना

समाजलाई द्वन्द्वतिर लैजान उक्साउनु ‘प्रतिक्रान्ति’ को तयारी गर्नु मात्रै हो : सुमना श्रेष्ठ

काठमाडौं । युवा नेतृ तथा पूर्वमन्त्री सुमना श्रेष्ठले सरकारले र केही परम्परागत राजनीतिक नेतृत्वले संसद पुनर्स्थापनाको बहस उब्जाउन खोज्नु भाद्र २३ को युवा क्रान्तिको मर्म र वर्तमान जनआन्दोलनको ताजा जनादेशविरुद्ध हुने बताएकी छन् । उनले ती प्रयासलाई ‘प्रतिक्रान्ति’ को तयारी भन्दा कम नभएको टिप्पणी गरेकी छन् ।

सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै नेतृ श्रेष्ठले भनेकी छन्, ‘ताजा जनादेशको लागि ठूला राजनीतिक दलहरुका एक खेमासहित सम्पूर्ण नेपाली समाज तयार भईसकेको अवस्थामा स्वार्थी र सत्तालिप्सामा डुबेका नेताहरुले संसद पुनर्स्थापनाको बहस चलाउनु भाद्र २३ को युवा क्रान्तिको मर्म विपरित छ ।’ उनले चुनाव प्रणाली र नागरिक सरकारप्रति शंका राख्नु ‘जनता समक्ष जान नसक्ने हत्यारा, भ्रष्टाचारी, कायर अपराधिक तत्वहरुको निकृष्ट बहाना’ मात्रै रहेको र ती बहानाले लोकतन्त्रलाई कमजोर बनाउने दाबी गरेकी छन् ।

शान्तिपूर्ण निकासतर्फ अगाडि बढिरहेको समाजलाई विभाजन र द्वन्दतिर डोर्‍याउने गतिविधिलाई ‘प्रतिक्रान्ति’ को संकेत भनेर श्रेष्ठले कडा रुपमा निन्दा गरेकी छन् । उनले भनेकी छन्, ‘समाजलाई द्वन्दतिर लैजान आफ्नो भ्रातृ संगठनहरुलाई उक्साउनु ‘प्रतिक्रान्ति’ को तयारी गर्नु मात्रै हो ।’

अहिलेको संवेदनशील अवस्थामा एमाले र कांग्रेसभित्र रहेका ईमानदार तथा देशप्रेमी युवा कार्यकर्ताहरुलाई उनले नेतृत्वविरुद्ध विद्रोह र प्रतिवाद गर्न अपील गरिन् । श्रेष्ठले लेखकी छन्, ‘नेपाल र विश्वको इतिहास साक्षी छ । ‘प्रतिक्रान्ति’ को नेतृत्व गर्ने तत्वहरु विरुद्ध सामान्य जनताहरु विभाजन रेखाहरु भन्दा माथि उठेर गोलबद्ध हुन्छन् ।’

उनले चेतावनी दिइन् कि कुनै पनि षडयन्त्र विरुद्ध लड्न जनताहरु सचेत, सजग, तयार छन् र त्यसले मुलुकमा थप अस्थिरता र मानवीय क्षति निम्त्याउन सक्ने सम्भावना भएको उल्लेख गरिन् । श्रेष्ठको यो अभिव्यक्ति भदौ २३–२४ को युवा आन्दोलन र त्यसपछि राष्ट्रपति समक्ष पेश गरिएको आठ बुँदे मागको पृष्ठभूमिमा आएको हो । जसमा आन्दोलनकारीहरुलाई अभियोजन नलगाउने र सुरक्षा सुनिश्चित गरिनुपर्ने माग समेत समावेश छ । राजनीतिक परिवेशमा ती माग र श्रेष्ठले व्यक्त गरेको चेतावनीले अब आगामी दिनमा राजनीतिक दलहरुबीच तीव्र बहस र दबाबको अवस्था सिर्जना गर्ने अनुमान गर्न सकिन्छ ।

विश्लेषकहरुका अनुसार यस्तो भाषणले आन्तरिक दलीय विभाजनलाई प्रोत्साहित गर्ने नेताहरुभित्रको टिकाव र युवा तहमा बन्दै गएको सक्रियतालाई ध्यानमा राख्न आवश्यक छ । यदि राजनीतिक दलहरुले जनभावनालाई नअल्झ्याउने र शान्तिपूर्ण संवादमार्ग खुला राख्ने होइन भने सामाजिकस्तरमा संकट गहिरिन सक्ने संकेत श्रेष्ठले दिएका छन् । श्रेष्ठले सबै राजनीतिक दलहरुलाई कुनै पनि प्रवृत्ति र षडयन्त्रलाई देश र जनताको हितभन्दा माथि नउठाउन आग्राह गर्दै, लोकतान्त्रिक अभ्यास र जनताको निर्णायक आवाजलाई नै सर्वोच्च मान्न आग्रह गरेकी छन् ।

दैनिक सुन आयात कोटा अब २५ किलो, रेमिट्यान्स सीमा कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले सुनको दैनिक आयात कोटा बढाएर २५ किलो पुर्‍याएको छ । सुन आयात गर्न अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाहरूलाई शुक्रबार एक परिपत्र जारी गर्दै नेपाल राष्ट्र बैंकले यस्तो व्यवस्था गरेको हो । राष्ट्र बैंकले आयात गर्न सकिने सुनको दैनिक परिमाण हाललाई २५ किलोग्राम कायम गरिएको छ ।

यसअघि आयात गर्न सकिने सुनको दैनिक परिमाण २० किलोग्राम थियो । ‘आयात गर्न सकिने सुनको दैनिक परिमाण हाललाई २५ (पचीस) किलोग्राम कायम गरिएको छ’, संशोधित व्यवस्थामा उल्लेख छ । बैंकहरूले आयात गरेको सुन व्यवसायीहरूले खरिद गरेर सर्वसाधारणमा गहनाको रुपमा बिक्री वितरण गर्छन् । बजारमा सुनको माग बढेसँगै केन्द्रीय बैंकले आयात परिमाण बढाएको हो । सुनको मूल्यमा आएको निरन्तर वृद्धिले लगानीकर्ता सुन तर्फ आकर्षित भएसँगै सुनको माग बढेको छ । साथै विश्व राजनीतिक परिवेशले सुन लागत नै बढेको हुँदा पनि मूल्य निरन्तर उकालो लागेको हो ।

दिपावली नजिकिएसँगै सुनको माग झनै बढ्ने भएपछि केन्द्रीय बैंकले आयात कोटा बढाएको हो । पछिल्लो समयमा वाणिज्य बैंकहरुले पनि सुन आयात नगरेको अवस्था छ । असोज २० गतेसम्ममा बैंकहरुसँग ३२ किला मात्रै सुन बक्यौता रहेको बैंकहरू बताउँछन् । नेपाल बैंकर्स संघका अनुसार बुधबार मात्रै सानिमा बैंकले ५० किलो सुन आयात गरिसकेको छ । त्यसैगरी लक्ष्मी सनराइज बैंकले शुक्रबार सोही परिमाणमा सुन आयात गर्ने संघले जनाएको छ । लगानीकर्ताका लागि तुलनात्मक रुपमा सुनको लगानी सुरक्षित हुने भएकाले पनि माग बढेको सुन चाँदी व्यवसायीहरू बताउने गरेका छन् । शुक्रबार मात्रै प्रतितोला सुनको मूल्य २ लाख ३५ हजार कायम भएको छ ।

त्यसैगरी केन्द्रीय बैंकले विदेशबाट नेपाल भित्र्याउन पाउने रेमिट्यान्सको सीमा पनि बढाएको छ । केन्द्रीय बैंकले फिर्ता नगर्ने गरी आउने २० लाख रेमिट्यान्सको सीमा २५ लाख रुपैयाँ पुर्‍याएको हो । केन्द्रीय बैंकका अनुसार नेपाली÷विदेशी नागरिक वा नेपालमा दर्ता भएका फर्म-कम्पनीले सम्पत्ति बिक्री, कमिसन, शुल्क, पारिश्रमिक लगायत विभिन्न प्रयोजनका लागि फिर्ता नहुने गरी विदेशबाट पठाएको रकम विप्रेषण कम्पनीमार्फत खातामा जम्मा गर्ने गरी दैनिक २५ लाखसम्म ल्याउन सकिन्छ । यसरी विप्रेषण कम्पनीहरूले रकम संकलन र भुक्तानी गर्दा प्रचलित व्यवस्थाबमोजिम ग्राहक पहिचानका कागजात लिएको हुनु पर्ने केन्द्रीय बैंकले जनाएको छ ।

 

बिपी राजमार्गमा धमाधम डाइभर्सनको काम, कहिलेबाट गुड्लान् गाडी ?

काभ्रेपलाञ्चोक । गत साताको बाढीले क्षतिग्रस्त बिपी राजमार्गको विभिन्न खण्डमा अस्थायी सडक बनाइ शनिबार बिहानदेखि सवारी सञ्चालनको तयारी गरिएको छ । हाल राजमार्गको काभ्रेपलाञ्चोकको सडक खण्डमा खोला फर्काएर ‘डाइभर्सन’ निर्माण भइरहेको छ । आज बिहानसम्मा राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–६ स्थित चौकीडाँडादेखि रोशी गाउँपालिकाको चिउरीबाससम्म ‘ट्रयाक’ खोली सकिएको डिभिजन सडक कार्यालय भक्तपुरका प्रमुख सिनियर डिभिजनल इान्जिनियर सुमान योगेशले बताए ।

उनका अनुसार आज दिउँसोसम्म क्षतिग्रस्त राजमार्गको सम्पूर्ण खण्डमा ट्याक खोल्ने योजना छ । यही असोज १८ र १९ गतेको अविरल वर्षाका कारण रोशी खोलाको बाढीले क्षतिग्रस्त बीपी राजमार्गका १९ स्थानमध्ये १७ स्थानमा डाइभर्सन बनेको छ । अब २ स्थानमा मात्र डाइभर्सन बनाउन बाँकी छ । बीपी राजमार्गको काभ्रे खण्डमा १४ र सिन्धुली खण्डमा ३ स्थानमा डाइभर्सन निर्माण सम्पन्न भएको सडक डिभिजन भक्तपुरका प्रमुख इञ्जिनियर सुमन योगेशले जानकारी दिए ।

उनका अनुसार रोशी खोलाले बीपी राजमार्गको चौकीडाँडा, कटुन्जेको घुमाउने, चारसयबेसी, गिम्दीबेसी, नार्के, चिउरीबास, बोक्सीकुना, कालढुंगा, डालाबेसी र पिप्लेका चार स्थानमा डाइभर्सन बनिसकेको छ । अब माम्तीका दुई स्थानमा डाइभर्सन बनाउने काम भइरहेको छ। ‘ट्याक खोलिसकेपछि पुनः एक पटक सडकको अवस्था हेरेर केही गाडीद्वारा परीक्षण गर्नेछौँ, शनिबार बिहानदेखि पूर्णरुपमा राजमार्ग सञ्चालनमा ल्याइनेछ’, उनले भने । रोशी खोलाको बाढीले रोशी क्षेत्रमा करिब चार किलोमिटर सडक कटान गरेको थियो । मङ्गलबारदेखि औपचारिक रुपमा डाइभर्सन निर्माण थालिएको हो । योगेशले बिहीबार दिउँसोदेखि रातको समयमा करिब दुई दर्जन मेसिनद्वारा अस्थायी सडक निर्माण गरिरहेको बताए ।

उनले भने, ‘सबै ट्रयाक खोलिसकेपछि बनेको सडकका घुम्ती र साँघुरा स्थानमा थप मर्मत गर्नुपर्ने देखिन्छ, आज साँझसम्ममा सडक खोल्ने काम पूरा भइसक्छ ।’ उनका अनुसार अहिले रोशी गाउँपालिकाको माम्ती क्षेत्रमा डाइभर्सन निर्माण भइरहेको छ । बाढी–पहिरोले राजमार्गको १७ स्थानमा क्षति पुर्‍याएको थियो । सोही क्षेत्रमा गत वर्षको बाढीपहिरोले सडक क्षतिग्रस्त बनाएपछि डाइभर्सन बनाएर अस्थायी रुपमा सडक सञ्चालन हुँदै आएको थियो ।

बिहीबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले क्षतिग्रस्त उक्त राजमार्गको विभिन्न खण्डको अवलोकन गरी छिटोभन्दा छिटो राजमार्ग सञ्चालन गर्नेगरी बनाइरहेको ‘डाइभर्सन’ निर्माण कार्यलाई तीव्र बनाउन सडक विभागका अधिकारीलाई निर्देशन दिएका थिए । घिसिङले रातको समयमा काम गरेर भए पनि आज बेलुकासम्ममा यातायात सञ्चालन हुनेगरी कामलाई तीव्रता दिन भनेका थिए । कार्यालयले क्षतिग्रस्त राजमार्ग स्थायी निर्माणका लागि चार खण्डमा ठेक्काको प्रक्रियामा अघि बढाइरहेको थियो । पूर्वी नेपाल जोड्ने छोटो दूरीका रुपमा रहेको उक्त राजमार्गबाट दैनिक हजारौँ यातायातका साधन आवतजावत हुने गर्छन् ।

टिकटक भिडियो बनाउन खोलामा हामफाल्दा मृत्यु

बारा । लगातार परेको अविरल वर्षाका कारण दुधौरा खोलाको पुलबाट यही असोज १९ गते हाम फालेको टिकटक भिडियो बनाउने क्रममा बेपत्ता भएका बाराको प्रसौनी गाउँपालिका–२ निवासी २१ वर्षीय विकी गोसाइँको शव फेला परेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

उनको छ दिनपछि गण्डक जाने बङ्गरी पुल नजिक शव फेला परेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता विजयराज पण्डितले जानकारी दिए । गोसाइँ असोज १९ गते आइतबार बिहान ८ः३० बजे दुधौरा खोलाको पुलबाट हाम फालेका थिए । उनको सशस्त्र प्रहरी र नेपाली सेनाको गाताखोरले खोजतलास गरेको थियो । गोसाइँका साथमा हामफालेका २० वर्षीय अनुराग केशरवानी पौडेर नदी किनारमा आएका थिए ।

इलाका प्रहरी कार्यालय प्रसौनीका प्रमुख प्रहरी निरीक्षक टुपेन्द्र श्रेष्ठका अनुसार, नेपाली सेनाका लप्टन नीरज राईको कमान्डमा २३ जना, सशस्त्र प्रहरी निरीक्षक इन्द्रजङ्ग थापाको नेतृत्वमा १० जना र प्रहरी सहायक निरीक्षक राजनारायण महतोको कमान्डमा १० जना गरी ४३ जनाको टोली मोटरबोट र गोताखोरको सहयोगमा खोजीमा खटिएको छ ।

सशस्त्र प्रहरी विपद् व्यवस्थापन गण निजगढका प्रहरी नायब उपरीक्षक सन्दीप अर्यालको नेतृत्वमा खोलाको एक किलोमिटर क्षेत्रमा तीव्र खोजबिन भइरहेको छ । खोजी दुधौरा खोलाको पुलदेखि फेटा गाउँपालिका–१ त्रिवेणीको झुलेङ्गे पुल, त्रिवेणीको नहर पुल, विश्रामपुर गाउँपालिका–५ नकटुवा हुँदै फेटा गाउँपालिका–२ चिलझपटीसम्म सञ्चालन गरिएको छ ।

‘वास’ क्षेत्रको दिगो सुधार र समावेशी विकासका लागि समझदारी

काठमाडौं । खानेपानी, सरसफाइ तथा स्वच्छता (वास) क्षेत्रको दिगो सुधार र समावेशी विकासका लागि दुई प्रमुख संस्थाबीच आपसी सहकार्यको औपचारिक थालनी सुरु भएको छ । राष्ट्रिय खानेपानी तथा सरसफाइ अनुसन्धान, नवप्रवर्तन तथा क्षमता विकास केन्द्र तथा वातावरण र जनस्वास्थ्य संस्थाबीच द्विपक्षीय समझदारीपत्रमा हस्ताक्षर भएको हो । सम्झौतामा केन्द्रका प्रमुख एवं इञ्जिनियर रामकुमार श्रेष्ठ र एन्फोका कार्यकारी निर्देशक भावना शर्माले हस्ताक्षर गरेकी छन् ।
सम्झौताअनुसार दुवै संस्था खानेपानी, सरसफाइ तथा स्वच्छता क्षेत्रमा सुरक्षित रूपमा व्यवस्थापित सेवा प्रणालीको प्रवद्र्धन गर्न संयुक्त रुपमा काम गर्ने र यसअन्तर्गत मानव मलमूत्र व्यवस्थापन, फोहर पानी व्यवस्थापन, ठोस फोहर व्यवस्थापन र नगरव्यापी समावेशी सरसफाइसम्बन्धी कार्यक्रममा साझा पहल गरिने उल्लेख गरिएको केन्द्रका प्रमुख एवं इञ्जिनियर श्रेष्ठले बताए ।
उनले भने, ‘यो समझदारीले दुवै पक्षबीचको सहकार्यलाई औपचारिकता दिनेमात्र होइन, नेपालमा सुरक्षित रूपमा व्यवस्थापित खानेपानी तथा सरसफाइ प्रणाली सुदृढ गर्न ज्ञान व्यवस्थापन, क्षमता विकास र प्राविधिक सहकार्यको दिगो ढाँचा निर्माण गर्न टेवा पु¥याउनेछ ।’
केन्द्रले वास क्षेत्रमा संलग्न सरोकारवालाको सीप तथा दक्षता अभिवृद्धि गरी दक्ष जनशक्ति उत्पादन गर्ने दीर्घकालीन लक्ष्य राखेको केन्द्रले जनाएको छ । यसै सन्दर्भमा एन्फोसँगको सहकार्यद्वारा तालिम सामग्रीको विकास, भर्चुअल तालिम सुविधा विस्तार तथा अनलाइन लर्निङ म्यानेजमेन्ट सिस्टमका माध्यमबाट ज्ञान आदानप्रदानको कार्य अघि बढाइने जनाइएको छ ।
एन्फोले वास क्षेत्रमा प्रयोग हुने तालिम सामग्री तथा अन्य ज्ञान उत्पादन विकास गरी समीक्षाका लागि केन्द्रसँग साझेदारी गर्ने तथा सामग्रीको परीक्षण तथा परिमार्जनपछि ती अन्ततः केन्द्रको संस्थागत सम्पत्तिका रूपमा हस्तान्तरण गरिने भएका छन् । साथै एन्फोले राष्ट्रियस्तरको वास रिपोजिटरी निर्माण गर्ने र सोमार्फत देशभरका सरोकारवालाका लागि वाससम्बन्धी स्रोत तथा जानकारी सार्वजनिक रूपमा उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ । ती सामग्री केन्द्रको आधिकारिक डोमेनमार्फत प्रवाह गरिनेछ ।
केन्द्रले आफ्नै परिसरमा भर्चुअल तालिम सञ्चालनका लागि पूर्वाधार तयार गर्ने र आवश्यक प्राविधिक सहयोग प्रदान गर्ने तथा यसअन्तर्गत एन्फोले विकास गरेका तालिम सामग्री तथा अन्य ज्ञान उत्पादनलाई अनुमोदन गरी वार्षिक तालिम कार्यक्रममा समावेश गरिने केन्द्र प्रमुख तथा इञ्जिनियर श्रेष्ठले बताए । उनले भने, ‘यो पहलले दूरदराजका क्षेत्रमा रहेका वास क्षेत्रका पेशेवर तथा सेवाप्रदायकलाई तालिम तथा क्षमता विकासको अवसर पुर्‍याउने अपेक्षा गरिएको छ ।’
सम्झौताअनुसार दुवै संस्थाले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा क्षमता विकास कार्यक्रम, अनुसन्धान र सिकाइ–साझेदारी गतिविधि संयुक्त रुपमा आयोजना गर्ने भएका छन् । यस्तो सहकार्यबाट वास क्षेत्रमा नवप्रवर्तन र ज्ञान प्रवाहलाई थप सशक्त बनाइने विश्वास गरिएको छ । यो सम्झौता २०८२ असोज २३ गतेदेखि लागू भई २०८४ असोज २२ गते (९ अक्टोबर २०२५ देखि ९ अक्टोबर २०२७) सम्म मान्य हुने जनाइएको छ । आपसी सहमतिमा सम्झौताको अवधि थप गर्न सकिने प्रावधान समेत रहेको छ । सम्झौताअन्तर्गत दुवै संस्थाले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा क्षमता विकास कार्यक्रम, अनुसन्धान तथा सिकाइ–साझेदारी गतिविधि संयुक्त रूपमा आयोजना गर्ने सहमति जनाइएको छ । सम्झौताले नेपालमा दिगो, समावेशी र वातावरणमैत्री खानेपानी तथा सरसफाइ प्रणाली सुदृढ गर्न योगदान पुर्‍याउने दुवै संस्थाको विश्वास रहेको छ ।

स्टार्टअप वर्ल्डकपका लागि नेपाली टोली अमेरिका प्रस्थान

काठमाडौँ । स्टार्टअप वर्ल्डकप, २०२५ को विश्व प्रतिस्पर्धाका लागि नेपाल च्याम्पियन स्टार्टअप टोली संयुक्त राज्य अमेरिकाको सिलिकन भ्याली प्रस्थान गरेको छ । ‘स्टार्टअप हब नेपाल’ र ‘वल्र्ड ट्रेड ग्रुप’ ले नेपालमा आयोजना गरेको नेपालको सबैभन्दा प्रतिष्ठित अन्तरराष्ट्रिय स्टार्टअप प्रतिस्पर्धाको नेपाल विजेता डिएल सर्फका तर्फबाट संस्थापक अर्जुन घिमिरे बिहीबार अमेरिका प्रस्थान गरेका हुन् ।

१४ करोड ४० लाख बराबरको पुरस्कार रहेको प्रतिस्पर्धामा नेपालले विजेता बन्ने सपना देखेको स्टार्टअप हब नेपालका अध्यक्ष तथा साउथ एसिया प्रमुख डा. शम्भु पोखरेलले बताए । यो प्रतियोगिताले नेपाली स्टार्टअपलाई विश्वव्यापी सोच राख्न प्रेरित गर्ने उनको भनाइ छ ।
यही अक्टोबर १७ देखि २२ सम्म अमेरिकामा हुने ग्लोबल फिनालेमा नेपालको प्रतिनिधित्व गर्दै डिएल सर्फले विश्वका सय देशका च्याम्पियन स्टार्टअपसँगग प्रतिस्पर्धा गर्नेछन् ।

स्टार्टअप वर्ल्डकपको स्थापना विश्वकै धनी व्यक्ति एलन मस्कको स्पेस एक्सको कम्पनी पिगासस टक भेञ्चरले सुरु गरेको हो । यो विश्वकै सबैभन्दा ठूलो स्टार्टअप प्रतियोगिता मानिन्छ, जसले उद्यमीलाई ग्लोबल एक्सपोजर, लगानी र विश्वस्तरमा आफ्नो सञ्जाल विस्तार गर्ने अवसर दिने गरेको छ ।

गुण्डुमा एमाले सचिवालय बैठक सुरु (तस्वीरहरू)

काठमाडौं । नेकपा (एमाले) को सचिवालयको बैठक सुरु भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा बैठक सुरु भएको हो । बैठकले आगामी असोज २७ देखि २९ गतेसम्म बस्ने तय भएको केन्द्रीय समिति बैठकको एजेण्डाको तयारीबारे छलफल हुने बताइएको छ ।

जेनजी आन्दोलनपछि एमालेमा पार्टी पुनर्गठनको आवाज उठिरहेका बेला त्यसबारे कसरी अगाडि बढ्ने भन्नेमा आजको बैठकमा छलफल हुनेछ । सचिवालयका बहुमत सदस्य पार्टी पुनर्गठनको पक्षमा छन् ।

टोखामा पाँचथरका युवकको हत्या

काठमाडौं । टोखा नगरपालिका–२ चण्डेश्वरीमा एक युवकको हत्या भएको छ । चण्डेश्वरी बस्ने पाँचथर घर भएका ४० वर्षीय राम लिम्बुको बिहीबार राति हत्या भएको हो । हत्या आरोपमा प्रहरीले उदयपुर घर भएका २७ वर्षीय गणेश लामा र सिन्धुली घर भएका ४० वर्षीय खुप बहादुर तामाङलाई राति नै पक्राउ गरेको छ ।

उनीहरूले बादविवादको क्रममा फलामको रड प्रहार गर्दा लिम्बु गम्भीर घाइते भएका थिए । उपचारका लागि ट्रमा सेन्टर पठाइएको उनको मृत्यु भएको थियो । पक्राउ परेकाहरुमाथि प्रहरी हत्या आरोपमा अनुसन्धान अघि बढाएको छ ।

अपराध नियन्त्रण गर्न नसक्दा पेरुमा राष्ट्रपति पदमुक्त

काठमाडौं । दक्षिण अमेरिकी राष्ट्र पेरुमा अपराधको लहर फैलिँदै जाँदा त्यहाँको संसद्ले राष्ट्रपति दिना बोलुआर्टेलाई पदबाट हटाउन मतदान गरेको छ । बोलुआर्टेको सरकार अपराध रोक्न असफल रहेको आरोप छ । सांसदहरूले बोलुआर्टेलाई बिहीबार मध्यरातअघि आफ्नो बचाउका लागि उपस्थित हुन अनुरोध गरेका थिए । तर उनी उपस्थित नहुँदा तुरुन्तै उनलाई हटाउन मतदान गरियो । छोटो समयमा १२४ सांसदहरूले बोलुआर्टेलाई महाभियोग लगाउन मध्यरात नबित्दै मतदान गरे ।

बोलुआर्टेले डिसेम्बर २०२२ मा पदभार ग्रहण गरेकी थिइन् । उनको सरकारले अपराध, विशेष गरी हत्या र जबरजस्ती चन्दा असुलीमा भएको वृद्धिलाई रोक्न सङ्घर्ष गरिरहेको छ । बुधबार उनले आंशिक रूपमा देशमा अवैध रूपमा बसोबास गर्ने आप्रवासीहरूलाई परिस्थितिको दोष दिइन् ।

‘यो अपराध दशकौंदेखि मौलाउँदै आएको छ र अवैध आप्रवासनले यसलाई बलियो बनाएको छ, जसलाई विगतका प्रशासनहरूले पराजित गर्न सकेका छैनन्,’ उनले एक सैन्य समारोहमा भनिन्, ‘बरु, उनीहरूले हाम्रो सीमानाको ढोका खोलेका छन् र अपराधीहरूलाई जताततै प्रवेश गर्न दिएका छन्… कुनै पनि प्रतिबन्ध बिना ।’

आधिकारिक तथ्याङ्कले जनवरीदेखि मध्य अगस्तसम्म ६ हजार ४१ जनाको मृत्यु भएको देखाएको छ, जुन २०१७ पछिको सोही अवधिमा सबैभन्दा बढी संख्या हो । यसैबिच जनवरीदेखि जुलाईसम्म १५ हजार ९८९ जना जबरजस्ती चन्दा असुलीको उजुरी परेको छ, जुन २०२४ को सोही अवधिको तुलनामा २८ प्रतिशतले वृद्धि हो ।

पेरुको सबैभन्दा लोकप्रिय कम्बिया समूह, अगुआ मारिनाको कन्सर्टको क्रममा बुधबार एक व्यक्तिले गोली चलाएर पाँच जनालाई घाइते बनाएपछि देशको पछिल्लो राष्ट्रपति सङ्कट सुरु भएको हो । प्रधानमन्त्री एडुआर्डो अरानाले बिहीबार संसदमा अपराध–केन्द्रित सुनुवाइको क्रममा बोलुआर्टेको बचाउ गरे। तर राष्ट्रपतिलाई पदबाट हटाउने प्रस्तावहरू अघि बढाउनबाट सांसदहरूलाई रोक्न सकेनन् ।

‘महाभियोगको अनुरोधलाई सम्बोधन गरेर संसद्को चिन्ता समाधान हुँदैन, यसलाई अनुमोदन गरेर त झनै टाढाको कुरा हो,’ अरनाले सांसदहरूलाई भने, ‘हामी हाम्रो अडानमा अडिग छैनौँ । हामी यहाँ छौँ, र हामीलाई सुरुदेखि नै थाहा थियो कि यहाँ हाम्रो पहिलो दिन हाम्रो कार्यालयमा अन्तिम दिन पनि हुन सक्छ ।’ एपी

प्रवेश दाहालसहितको जेनजी वार्ता टोलीले राष्ट्रपतिलाई बुझायो आठ बुँदे माग

काठमाडौं । भोलिको नेतृत्वका आकांक्षी ‘जेनजी’ युवाहरुले देशको वर्तमान राजनीतिक संरचना र संस्कारमाथि सिधा चुनौती दिने आठ बुँदे मागसहित राष्ट्रपति रामचन्द्र पौडेलको ढोका ढकढक्याएका छन् । भदौ २३–२४ को आन्दोलनपछि राष्ट्रपति निवास शीतल निवास पुगेका वार्ता टोलीका सदस्यहरुले २२ असोजमा राष्ट्रपतिलाई बुझाएको प्रस्तावमा आन्दोलनकारीमाथि कुनै पनि प्रकारको अभियोजन नगर्न चेतावनी दिँदै उनीहरुको सुरक्षाको ग्यारेन्टी माग गरेका छन् ।

प्रवेश दाहाल नेतृत्वको टोलीले बुझाएको आठ बुँदे प्रस्तावमा उल्लेख गरिएको दोस्रो बुँदा विशेष चर्चामा छ—जहाँ आन्दोलनमा सहभागी युवाहरुको सुरक्षासहित भविष्यमा हुनसक्ने आक्रमणबाट जोगाउने राज्यको जिम्मेवारी मागिएको छ । तर माग यत्ति मात्र होइन— देशभर सत्तामा पुगेका नेताहरुको सम्पत्ति खोतल्ने, अनियमित ढंगले आर्जित सम्पत्ति राष्ट्रियकरण गर्ने, निजामती प्रशासनलाई जनउत्तरदायी बनाउने र संवैधानिक आयोगलाई राजनीतिक घुसपैठबाट जोगाउनेजस्ता प्रहार पनि समेटिएको छ ।

‘कार्यकारी प्रमुख’ प्रत्यक्ष निर्वाचित हुनुपर्ने, दुई कार्यकालभन्दा बढी टिक्न नपाउने व्यवस्था लागू गर्नुपर्ने जस्ता संरचनात्मक पुनर्लेखनको मागसहित जेनजीको दस्तावेजले अबको राजनीतिक बहसलाई भिन्न मोडतर्फ डोर्‍याउन सक्ने सम्भावना देखिएको छ । संविधानको संरचना, राजनीतिमा जवाफदेहिता र जनसहभागिता बढाउने ‘अवाज’ भन्दै प्रस्तुत भएको जेनजी टोलीले अब ठूला राजनीतिक दलहरुलाई समेत दबाबमा ल्याउन सक्छ ।

गुल्मीको तम्घास‐सिमीचौर‐राङ्बास‐खज्र्याङ सडक एक महिना बन्द

गुल्मी । गुल्मीको तम्घास‐सिमीचौर‐राङ्बास‐खर्ज्याङ सडक एक महिनाका लागि बन्द हुने भएको छ । उक्त सडकखण्डअन्तर्गत सडक स्तरोन्नतिको काम भइरहेकाले एक महिना बन्द हुने भएको हो । यहाँ रेसुङ्गा नगरपालिका‐१० को मैदानदेखि वडा नं ११ को जन प्राविसम्मको सडकमा आजदेखि सडक स्तरोन्नति सुरु गरिएको छ । सडक पूर्वाधार विकास कार्यालयले सार्वजनिक सूचना प्रकाशित गरी यही असोज २४ गतेदेखि कात्तिक २३ गतेसम्मका एक महिना सडक पूर्ण रूपमा बन्द हुने जनाएको होे ।

कार्यालयले उक्त समयसम्म वैकल्पिक सडकका रूपमा राङबास–फेदीसम्मका सवारीसाधनका लागि–मैदान–हर्राबोट–सपौदी हुँदै राङबास फेदी सडक र रिडी‐पाल्पा एवं अर्घाखाँचीतर्फ सञ्चालन हुने सवारीसाधनका लागि घुम्ती–चारपाला–खज्र्याङ तथा तम्घास–बलेटक्सार–रिडीको वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरेको छ । कार्यालयका प्रमुख दीपक खड्काका अनुसार निर्माणका क्रममा यात्रु र चालकको सुरक्षालाई ध्यानमा राख्दै सडक अस्थायी रूपमा बन्द गरिएको बताए । उनले निर्धारित समयावधिभित्र काम सम्पन्न गरी सडक शीघ्र सञ्चालनमा ल्याइने बताए ।

पाँच करोडको चिस्यान गृह नौं वर्षसम्म अलपत्र

पर्वत । पर्वतको मोदी गाउँपालिका–२ देउपुरमा निर्माणाधीन चिस्यान गृह (कोल्ड स्टोर) विगत नौ वर्षदेखि अधुरो छ । आर्थिक वर्ष ०७३/७४ मा रु पाँच करोडको लागतमा निर्माण सुरु भएको चिस्यान गृहले पूर्णताः पाउन नसकेको हो । बेमौसमी फलफूल र सागसब्जी ताजा राख्न चिस्यानगृह निर्माण थालिएको थियो । सरकारबाट पर्याप्त बजेट निकासा नहुँदा अलपत्र बनेको हो ।

स्थानीय खेमबहादुर हमाल र बुद्धिकुमारी हमालको जग्गामा निर्माण थालिएको चिस्यान गृह एक तला बनेपछि अलपत्र अधुरो छ । हमाल दम्पतीका नाममा रहेको जग्गा रकम निकासा आएपछि भुक्तानी गर्ने सहमतिमा चिस्यानगृह निर्माण गर्ने सम्झौता भएर एकतल्ला निर्माण गरिए पनि अहिले अपूर्ण संरचना जीर्ण छ ।

आफ्नै घर आँगनमा चिस्यानकेन्द्र बनेका देख्दा उत्साहित किसान त्यसले पूर्णता नपाउँदा खिन्न छन् । स्थानीय प्रेमबहादुर हमाल, मानबहादुर पौडेल र मनोजकुमार शर्माको रोहवरमा हमाल दम्पतीको सात आना एक दाम जग्गा रु १३ लाख ५० हजार मा खरिद गर्ने गरी तमसुक गरिएको थियो ।

चिस्यानगृह निर्माण समितिका अध्यक्ष गङ्गा तिमिल्सिनाका अनुसार सुरुको वर्ष रु ५० लाख विनियोजन गर्ने सम्झौता भएको थियो, तर रु २४ लाखभन्दा आएन । ‘क्रमिक रूपमा बजेट आउँछ भन्ने थियो । रु २४ लाख विनियोजन भएपछि काम सरु गरिहाल्यौँ’, उनले भने, ‘इस्टिमेटअनुसार बजेट नआएपछि काम अघि बढ्न नसकेको हो ।’

योजनाअनुसार ५० टन क्षमताको दुई तले चिस्यान केन्द्र निर्माणको काम एक वर्षमा सक्ने लक्ष्य रहेको थियो । मोदी गाउँपालिका–२ देउपुरका तत्कालीन वडाध्यक्ष विकास तिमिल्सिनाले चिस्यान केन्द्र निर्माणका लागि गाउँपालिका, प्रदेश र केन्द्रसम्म अनुरोध गरेको भए पनि सुनुवाइ नभएको बताए । जग्गा व्यवस्थापनको लागि वडाबाट रु १५ लाख विनियोजन पनि गरेको भए पनि जग्गा खरिदमा सहमति हुन नसक्दा काम अगाडि बढ्न नसकेको उनले बताए । मोदीको देउपुर सुन्तलाको पकेट क्षेत्र हो । यहाँ बर्सेनि रु चार करोडभन्दा बढीको सुन्तला उत्पादन हुन्छ । क्याङ र लेस्पार आलु उत्पादनको लागि उर्बर भूमि हो । यहाँको आलु र सागसब्जीको बीउ स्थानीय बजारलगायत सदरमुकाम कुस्मा र पोखरासम्म बिक्री हुने गरेको छ । –रासस