`

लगातार उच्च मूल्यको रेकर्ड बनाएको सुनको भाउमा गिरावट

काठमाडौं । लगातार पाँच दिन उच्च मूल्यको रकर्ड बनाएको सुनको मूल्यमा आज (शुक्रबार) भने सामान्य गिरावट भएको छ । बिहीबारको तुलनामा एक तोला सुन रु चार हजार २०० ले सस्तो भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार रु दुई लाख ३९ हजार २०० मा कारोबार भएको एक तोला सुनको मोल आज रु रु चार हजार २०० ले घटेर रु दुई लाख ३५ हजार कायम भएको छ ।

चाँदीको मूल्य भने बढेको छ । बिहीबार एक तोला चाँदी रु तीन हजार २५ मा खरिद बिक्री भएकामा आज त्यति नै परिमाणको चाँदी रु तीन हजार ८५ मा क्रयविक्रय भइरहेको महासंघले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन तीन हजार ५८ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

एमाले फेरि धुलो टक्टकाएर उठ्छ : विष्णु रिजाल

काठमाडौं । नेकपा (एमाले) का नेता विष्णु रिजालले एमाले फेरि उठ्ने बताएका छन् । आफ्ना कमी कमजोरी स्वंयले नै सच्याउने भन्दै धुलो टक्टकाएर एमाले फेरि उठ्ने बताएका हुन् । ‘हाम्रा कमी–कमजोरी हामीले नै सच्याउने हो,’ सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘धूलो टक्टकाएर नेकपा (एमाले) फेरि उठ्छ । हामी फेरि उठ्छौं ।’

देशभर सदभाव यात्रा गर्दै रास्वपा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले देशभर सद्भाव यात्रा गर्ने तयारी गरेको छ । तिहार लगत्तै हिमाल, पहाड र तराईमा तीन चरणमा सद्भाव यात्रामा निस्कने गरी कार्यक्रम तय गर्दैछ । आज बस्ने सचिवालय बैठकमा यो विषयमा थप छलफल हुने रास्वपाका प्रवक्ता मनिष झाले जानकारी दिएका छन् । पार्टी केन्द्रीय कार्यालय, वनस्थलीमा बिहान ११ बजे सचिवालय बैठक बस्दैछ । बैठकबाट तीन चरणमा सद्भाव यात्रा गर्ने गरी मिति तय गरिनेछ ।

प्रवक्ता झाका अनुसार समाजमा अहिले द्धन्द्ध छ । राज्य र समाजलाई जोड्नुपर्ने छ । मानिसहरूलाई एकअर्कोप्रति विश्वास आर्जन हुने वातावरण बनाउनु छ र एक अर्कोप्रति सद्भाव कायम गर्ने अवस्था सिर्जना गर्नुछ । प्रवक्त झा भन्छन्, ‘हामीले गर्न लागेको सद्भाव यात्राको उदेश्य भनेको मानिसहरूबीच एक अर्कोबीच सद्भाव नखलबिलयोस् भनेर हो ।’ आन्दोलनका क्रममा छिमेकीकै घर जोगाउन नलाग्ने जस्तो अवस्था देखा परेको, एउटा पार्टीले अर्को पार्टीको भवन जलाउँदा हेरेर बस्ने अवस्था रहेको भन्दै रास्वपाले मानिसहरूबीच एक अर्कोप्रति रहेको रिस कम सद्भाव यात्रा गर्न लागेको जनाएको छ ।

समाज र राज्य दुवैलाई सन्तुलनमा लैजान खोजिएको हो । झाका अनुसार सद्भाव यात्राका क्रममा रास्वपाका नेता-कार्यकर्ताहरू समाजमा जान्छन्, मान्छेहरूसँग भेट्छन्, चिया चौतारीमा पुग्छन्, क्लवमा पुग्छन् र के कसो छ भनेर कुराकान गर्छन् । जेनजीले उठाएका विषय सदनमा आफूहरूले उठाएको तर, संख्याको कारणले धेरै गर्न नसकेको पनि भनिने उनले जानकारी दिए ।

धादिङमा बस र टिपर ठोक्किँदा ११ जना घाइते

काठमाडौं । धादिङमा बस र टिपर ठोक्किँदा ११ जना घाइते भएका छन् । पृथ्वी लोकमार्ग अन्तर्गत गल्छी गाउँपालिका–७ भल्टारमा दुर्घटना भएको हो । बिहानि करिब ९ बजेको समयमा नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको लुप्र ०१–००१ख०७६६ नम्बरको बस र विपरीत दिशाबाट आइरहेको ना८ख २५९१ नम्बरको टिपर ठक्कर खाएका हुन् ।

दुर्घटनामा बसमा सवार ११ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता डीएसपी प्रकाश दाहालले जानकारी दिएका छन् । डीएसपी दाहालका अनुसार घाइतेहरुको उद्धार गरी नजिकैको स्मारिका फार्मेसी अस्पतालमा उपचारका लागि पु¥याइएको छ । उनीहरु मध्यमदेखि सामान्य घाइते छन् । सख्त घाइते कोही नभएको डीएसपी दाहालले बताए । दुर्घटनामा परेको बसको अगाडिको भागमा क्षति भएको छ । बस र टिपर दुवैलाई हटाएर सडक सञ्चालन गरिएको डीएसपी दाहालले बताए । घटनाको थप अनुसन्धान भइरहेको उनको भनाइ छ ।

 

कवाडखाना जस्तो देखियो जलेको संसद भवन (तस्वीरहरु)

काठमाडौं । भदौ २४ गते भएको ‘जेन जी आन्दोलनका क्रममा सिंहदरबारभित्र र काठमाडौँका विभिन्न स्थानमा आगजनी गरिएका सवारीसाधनहरू अहिले नयाँबानेश्वरस्थित आगलागी भएको संसद भवन वीरेन्द्र सम्मेलन केन्द्रको परिसरमा थुपारिएका छन् । आन्दोलनका क्रममा भवनमा आगलागी हुँदा त्यहाँ रहेका भौतिक संरचना पूर्ण रूपमा जलेर नष्ट भएका छन् । अहिले भवन प्रयोगयोग्य नरहेको बताइन्छ ।
तस्वीर : नेपाल फोटो लाइब्रेरी

अझै ६ सडक पूर्ण रुपमा बन्द (सूचीसहित)

काठमाडौं । अझै देशका विभिन्न स्थानका ६ वटा सडक पूर्ण रुपमा बन्द छन् । आज (शुक्रबार) विहानसम्मको जानकारी अनुसार ६ वटा सडक बन्द रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार कोशी राजमार्ग अन्तर्गत संखुवासभाको भोटखोला गाउँपालिका–४ बरुणखोला सडक र मकालु गाउँपालिका–३ एकुवाको सडक पूर्णरुपमा बन्द भएको छ ।

मेची राजमार्गअन्तर्गत इलामको इलाम नगरपालिका–९ राजदुवालीलगायतका स्थानहरुमा पनि सडक पूर्णरुपमा बन्द छन् । तमोर करिडोरअन्तर्गत पाँचथरको पाँचथर तुम्वेवा गाउँपालिका–२ नावाखोला सडक पनि बन्द छ । यता बागमती प्रदेशमा पनि दुई वटा सडकहरू पूर्ण रुपमा बन्द भएका छन् ।

पासाङ ल्हामु सडकखण्डअन्तर्गत रसुवाको गोसाइकुण्ड गाउँपालिका–२ मा तीन स्थानमा सडक बन्छ छ । बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–११को माम्तिखोला, डालाबेसी, बल्ढुंगा, बाँझोखेतलगायतका ठाउँमा सडक पूर्णरुपमा बन्द छ । यी ठाउँमा पहिरोका कारण सडक अवरुद्ध भएको हो । खुलाउने काम जारी छ ।
हेर्नुस् कुन–कुन सडक छन् बन्द ?

हमासले जीवित २० बन्धकलाई रिहा गर्दै, सूचीमा छैन विपिनको नाम

काठमाडौं । इजरायलले गाजामा युद्धविराम र बन्धक रिहाइसम्बन्धी अमेरिकी योजनालाई अनुमोदन गरेको छ । प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको कार्यालयले विज्ञप्ति जारी गर्दै यसको पुष्टि गरेको हो ।

प्रधानमन्त्री नेतन्याहूले यसलाई एक ऐतिहासिक विकासको संज्ञा दिँदै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पप्रति आभार व्यक्त गरेका छन् । यसैबीच, राष्ट्रपति ट्रम्पले इजरायली बन्धकहरू सोमबार वा मंगलबारसम्ममा रिहा हुनसक्ने बताएका छन् । यो सम्झौताको पहिलो चरणमा इजिप्टमा इजरायल र हमासबीच सहमति भएको थियो ।

युद्धविराम र बन्धक रिहाइका अतिरिक्त, सम्झौताको पहिलो चरणमा इजरायलले सयौँ प्यालेस्टाइनी कैदीहरूलाई रिहा गर्ने बताइएको छ । हमासले जीवित रहेका विश्वास गरिएका सबै २० बन्धकहरूलाई रिहा गर्नुपर्नेछ । त्यसपछि, मृत्यु भइसकेका २८ बन्धकहरूको शव फिर्ता गरिनेछ । यद्यपि, यसमा कति समय लाग्न सक्छ भन्ने स्पष्ट छैन । नेपालका विपिन जोशी र एक अर्का व्यक्तिको अवस्था भने अज्ञात रहेको छ ।

जीवित रहेका बन्धकहरूमा २१ वर्षीय मतन अंग्रेस्त,२७ वर्षीय जिव बरम्यान, २७ वर्षीय गाली बरम्यान, ३४ वर्षीय एलकाना बोहबोट, २१ वर्षीय रोम ब्राजलव्स्की,२० वर्षीय निमरोड कोहेन,२७ वर्षीय गुए गिल्बोओ दलाल, ३६ वर्षीय माक्सिम हरकिन, ३८ वर्षीय एइटन हर्न, २७ वर्षीय सेगेव कालफोन, २३ वर्षीय बार कुपरस्टेन, ४७ वर्षीय ओमरी मिरन, २४ वर्षीय एइटन अब्राहम मोर, २४ वर्षीय योसेफ चेम ओहाना, २३ वर्षीय एलन ओहेल, ३१ वर्षीय एभिनाटन ओर र २५ वर्षीय माटन जंगुकर छन् ।

उनीहरू कुन देशका नागरिक हुन् भन्ने चाहिँ सिएनएनले खुलाएको छैन । बाँकी रहेका २८ बन्धकमध्ये नेपालका विपिन जोशी र २० वर्षीय तामिर निम्रोडीको स्थिति अज्ञात रहेको भनेर सिएनएनले लेखेको छ । इजरायली मन्त्रिपरिषद्ले औपचारिक रूपमा सम्झौतालाई अनुमोदन गरेपछि युद्धविराम लागु हुने अपेक्षा गरिएको छ ।

इजरायली सेना गाजा पट्टीको करिब ५३ प्रतिशत भूभाग आफ्नो नियन्त्रणमा रहने गरी एक निश्चित रेखामा फिर्ता हुनेछ । गत हप्ता ह्वाइट हाउसले वितरण गरेको नक्साअनुसार, यो इजरायली सेना फिर्ता हुने तीन चरणमध्ये पहिलो हो । इजराइलका लागि नेपालका राजदूत प्रा. डा. धनप्रसाद पण्डितले विपिनबारे अहिलेसम्म कुनै जानकारी नआएको जनाएका छन् ।

मुलुकमा थप मुठभेड हुन नदिन पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईका चार बुँदे सुझाव

काठमाडौं । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले जेनजी आन्दोलनको गम्भीर आत्मसमीक्षा गर्दै मुलुकमा थप मुठभेड हुन नदिन आह्वान गरेका छन् । त्यसका निम्ति उनले चार बुँदामा सुझाव पनि दिएका छन् ।

डा. भट्टराईले सामाजिक सञ्जालमार्फत भनेका छन्, ऐतिहासिक जेनजी विद्रोहको महिना दिन पूरा हुँदा सबैले गम्भीर आत्मसमीक्षा गर्दै थप मुठभेड र विग्रह हैन, अग्रगामी रूपान्तरण सहितको दिगो शान्ति र समृद्धिको मार्ग प्रशस्त गरौं ।
हेर्नुस् भट्टराईका सुझावहरु

–जेन–जी विद्रोह पुराना दल र नेतृत्व, मुख्यतः गत दश बर्षमा पालैपालो सरकारको नेतृत्व गर्ने तीन दलका तीन टाउका, –को चरम सत्तालिप्सा,कुशासन र भ्रष्टाचारले युवाहरू र आम जनतामा ल्याएको आक्रोशको परिणाम हो भन्ने तथ्यलाई आत्मसात गरौं ।

– देशभित्र आम जनतामा असन्तुष्टी छाउँदा, राज्यका सबै अंगहरूको दलीयकरण र क्षयीकरण हुँदा, अकस्मात् जनविद्रोह बिष्फोटित हुँदा कति भयावह स्थिति उत्पन्न हुँदो रहेछ र संवेदनशील भूराजनीति क्रियाशील हुँदो रहेछ भन्ने दरोसंग बुझौं ।

– लोकतन्त्रमा राजनीतिक दलहरू नै राज्यका प्रमुख खम्बा र सुशासन तथा समृद्धिका वाहक हुनाले पुराना दलहरूको रूपान्तरण सहित पुस्तान्तरण र नयाँ तथा वैकल्पिक शक्तिहरूको बृहद ध्रुवीकरण÷मोर्चावन्दीमार्फत देशलाई पुनर्निर्माण र नवनिर्माणको द्रुतमार्गमा डोर्‍याऊँ ।

–तत्काल विद्रोहका नायक जेन–जी युवाहरूका जायज मागहरू (आन्दोलनमाथि हिंस्रक दमन गर्नेहरू र ठूला भ्रष्टाचारीहरूमाथि तुरून्त कार्वाही, जेन–जी युवाहरू उम्मेदवार बन्न पाउने गरी न्यूनतम उमेरको हद २५ बर्षबाट २१ बर्ष कायम, विदेशबाट मतदानको व्यवस्था आदि ) पूरा गरेर तोकिएको मितिमै स्वतन्त्र र निष्पक्ष निर्वाचन सम्पन्न गरौं ।

स्मरण रहोस्, जसले अझै हठ गरेर देशलाई थप द्वन्द्वको दिशामा धकेल्ने धृष्टता गर्छ र देशको स्वाधीनता र संघीय लोकतान्त्रिक गणतन्तन्त्रलाई नै धरापमा पार्ने कुकृत्य गर्छ उसलाई नेपाली इतिहासले कहिल्यै क्षमा गर्ने छैन ।

 

एक खेल अगावै सुपर सिक्स पुगेका नेपाल र जापान भिड्दै

काठमाडौं । आईसीसी टी–२० विश्वकप एसिया तथा इष्ट–एशिया प्यासिफिक छनोट प्रतियोगिताको समूह चरणको अन्तिम खेलमा आज नेपाल र जापान भिड्दै छन् । एक खेल अगाडि नै दुवै देश ‘सुपर सिक्स’ मा प्रवेश गरिसकेकाले यो खेलले समूह विजेता र उप–विजेताको टुंगो लाग्नेछ।

बिहीबार भएको समूह ‘बी’को खेलमा जापानले कुवेतलाई पराजित गरेपछि दुवै टोलीले सुपर सिक्समा स्थान सुरक्षित गरेका हुन् ।
नेपालसँग पहिले नै हार भोगिसकेको कुवेत जापानसँग पराजित भएसँगै समूह चरणबाट बाहिरिएको हो । समूह चरणको अन्तिम खेलको विजेताले ‘सुपर सिक्स’ मा अतिरिक्त अंक लिएर जानेछ । त्यसैले दुवै देशमाथि आजको खेल जित्नै पर्ने दबाब छ ।

पहिलो खेलमा ५८ रनको शानदार जित निकालेको नेपाल उच्च मनोबलका साथ मैदानमा हुनेछ । यस्तै विश्वकप छनोटका तीन खेल आजै हुँदैछ। आइसीसी पुरुष टी–२० विश्वकप छनोटमा आज तीन खेल हुँदैछन् । आज पहिलो खेलमा बिहान पौने १२ बजे मलेसिया र संयुक्त अरब इमिरेट्स, दोस्रो खेलमा दिउँसो ४ः१५ बजे नेपाल र जापान तथा तेस्रो खेलमा राति ८ः४५ बजे ओमान र पपुवा न्यूगिनी खेल्ने छन् ।

रातभरको प्रयासपछि राहत : आजदेखि खुल्दै बीपी राजमार्ग

काठमाडौं । लगातारको झरी र भेलबाढीले बन्द रहेको बीपी राजमार्ग आज (शुक्रबार) दिउँसो ४ बजेसम्म सञ्चालनमा आउने भएको छ ।सडक विभागको तर्फबाट रातभर डोजर चलाएर डाइभर्सन पुनर्निर्माण गरेपछि राजमार्ग सञ्चालनमा ल्याउने तयारी अन्तिम चरणमा पुगेको हो ।

गत असोज १७ र १८ गतेको अविरल वर्षासँगै रोशी खोलामा आएको बाढीले राजमार्गको ५.३ किलोमिटरमध्ये ३.४ किलोमिटर डाइभर्सन बगाएको थियो । सडक डिभिजन भक्तपुरका साइट इन्जिनियर दुर्गा प्रसादले भने, ‘हिजो रातभर नसुती काम गर्‍यौ । माथिल्लो माम्तीमा ४०–५० टिपर माटो भरिसकेपछि त्यो पूर्ण हुँदैछ । तल्लो माम्तीमा खोला डाइभर्सनको काम भइरहेकाले आज दिउँसोसम्ममा राजमार्ग सञ्चालनमा ल्याउनेछौं ।’

भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले बिहीबार स्थलगत अवलोकन गरी काम छिटो गर्न निर्देशन दिएका थिए । त्यसयता काममा तीव्रता आएको इन्जिनियर दुर्गाले जनाए । पछिल्लो समय बिपी राजमार्ग अवरुद्ध भएपछि सवारीसाधनहरू वैकल्पिक मार्गमार्फत् रामेछापको मन्थली, दोलखाको चरिकोट हुँदै खाडीचौरबाट अरनिको राजमार्ग प्रयोग गरी काठमाडौं आउजाउ गरिरहेका छन् । तर ती सडकहरू साँघुरा र कतिपय स्थानमा एकतर्फी हुँदा यात्रुहरू सास्तीमा परेका छन् ।

गत वर्ष पनि यस्तै बाढीले राजमार्गको करिब २४ किलोमिटर भाग क्षतिग्रस्त बनाएपछि हिउँदमा अस्थायी डाइभर्सनमार्फत सञ्चालनमा ल्याइएको थियो । यसपालि मनसुन सुरु हुनु अगावै सुधार गरिए पनि असोजको वर्षाले फेरि क्षति पुर्‍याएको हो । बीपी राजमार्ग विसं २०७२ मा जापान सरकारको २६ अर्ब जापानी येन र नेपाल सरकारको १.१ अर्ब लागतमा निर्माण गरिएको हो । निर्माण कार्य आर्थिक वर्ष २०५३/५४ मा सुरु भई २०७२ असार १८ गते सम्पन्न भएको थियो ।

सडक नखुल्दा जलजला पुग्न पाएनन् पर्यटक

बागलुङ । अघिल्लो वर्ष दसैंमै आन्तरिक तथा बाह्य पर्यटक जलजला पुगेका थिए । यस वर्ष लामो वर्षा र सडक नखुल्दा अहिलेसम्म पर्यटक ढोरपाटन उपत्यका र बुकीपाटनबाटै फर्किने गरेका छन् । नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटनमा पर्ने जलजला बागलुङ र म्याग्दी जिल्ला दुवैतिरबाट जोडिएको छ । नजिकैबाट यहाँका दर्जनौं हिमशृङ्खला र सूर्योदयको अवलोकन गर्न सकिने हुँदा पर्यटकको आकर्षण बढ्दो छ ।

पाँच वर्ष अगाडिसम्म जलजला ओझेलमै थियो । तर पछिल्लो समय तीव्र रूपमा प्रचारप्रसार हुँदा हिउँद याममा पर्यटक यहाँ आउने गरेका छन्। ढोरपाटन उपत्यकादेखि करिब २२ किलोमिटर पश्चिममा पर्ने जलजलामा अघिल्लो वर्षमात्र सडक पुगेको छ । ढोरपाटन र म्याग्दीको धवलागिरि गाउँपालिकाबाट तल्लो जलजला सडक सञ्जालले जोडिएको हो । सडक जोडिए पनि बर्खाको समयमा सवारी नचल्दा पर्यटकले सास्ती खेप्नु परेको छ ।

ढोरपाटन उपत्यकाबाट घनाजङ्गल र ठूला जङ्घार पार गर्नुपर्ने हुँदा यस वर्ष दसैँमा पर्यटक जलजला पुग्न सकेनन् । जलजला पुग्नका लागि तीन स्थानमा गाठेसाँघु तर्नुपर्ने हुन्छ । तर यस वर्ष वर्षाका कारण अहिलेसम्म साँघु नहालिएको ढोरपाटन उपत्यका होटल व्यवसायी संघका अध्यक्ष जीवन पुनले बताए । दुई वर्षयता जलजला जाने पर्यटकको संख्या बढ्दै गएको भन्दै यस वर्ष मौसमका कारण पर्यटक पुग्न नसकेको उनले सुनाए ।

ढोरपाटन–जलजला सडकको गुरुघाटमा एउटा र दुईवटा गुर्जाघाट काठको साँघु हाल्नुपर्ने उहाँको भनाइ छ । गत वर्ष हालेको साँघु बर्खामा खोलाले बगाइदिएको भन्दै अब केही दिनमा सडक सफाइ गर्ने र साँघु हाल्ने अध्यक्ष पुनले बताए । म्याग्दीको धवलागिरि गाउँपालिकाले मरेनी सडक सफाइ गरे पर्यटक सहज रूपमा जलजला आउने उनी बताउँछन् । अहिले दैनिक एक सय पर्यटक ढोरपाटनमा आउने गरेका र ढोरपाटन आएका पर्यटक जलजला जान नपाउँदा गुनासो गर्ने गरेको उनको भनाइ छ ।

‘अघिल्लो वर्षदेखि जलजला जाने पर्यटकको भीड बढ्न थालेको छ, पहिले जलजला क्षेत्र सुनसान थियो, गोठाला मात्र पुग्थे, यो ठाउँ वास्तवमै सुन्दर छ, प्रचारप्रसारले गर्दा अहिले पर्यटकको आगमन बढेको हो’, अध्यक्ष पुनले भने, ‘यस वर्ष लामो वर्षा भयो, ठाउँठाउँमा बाटो बिग्रिएकाले साँघु हाल्नुपर्ने छ, अब केही दिनमै त्यो काम गर्छौँ, तिहारसम्म पर्यटक पुग्ने छन् ।’

समुद्री सतहबाट तीन हजार ४०० मिटर उचाइमा रहेको जलजलाबाट धवलागिरि, माछापुच्छ्रे, अन्नपूर्ण, मानापाथी, पुथा, चुरेन, गुर्जा, निलगिरिलगायत दुई दर्जन बढी हिमाल एकैठाउँ उभिएर नजिकै देख्न सकिने हुँदा पर्यटकको आकर्षण बढ्दो छ । तुलसीपुर दाङबाट घुम्न आएका रावल रोकायाले सडक नखुल्दा जलजला जान नपाएको गुनासो पोखे । सामाजिक सञ्जालमा जलजलाबाट देखिने हिमशृङ्खलाले आफूलाई मोहित बनाएको भन्दै प्रत्यक्ष घुम्न आएको सुनाए ।

उनले भने, ‘ढोरपाटन उपत्यकाबाट मोटरसाइकलमै जान सकिन्छ भन्ने सुनेको थिएँ, तर अहिलेसम्म सडक व्यवस्थित भइसकेको रहेनछ, ठाउँठाउँमा पहिरो र खोलाका कारण यात्रा गर्न सकिँदैन भन्ने सुनियो, त्यहीँ भएर यसपालि जलजला पुग्ने इच्छा पूरा हुन सकेन, हुन त यो साल धेरै वर्षा भयो त्यही भएर पनि होला ।’ रोकायाले १२ जनाको सूमहमा घुम्न आएको सुनाए । जलजला जान नपाए पनि बुकीपाटन गएर फर्किएको उनको भनाइ छ । यतिबेला जलजला पुग्नेगरी ढोरपाटन आएकाहरू उपत्यकाबाटै फर्किने गरेका छन् । रासस

रास्वपाले तत्काल कसैसँग सहकार्य गर्दैन : प्रवक्ता झा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले तत्काल कसैसँग सहकार्यका लागि छलफल अघि नबढाएको स्पष्ट पारेको छ । रास्वपा प्रवक्ता मनिष झाले युवाहरुलाई पार्टीमा भित्र्याउने, अवसर दिने र नयाँलाई स्वागत गर्ने कुरा पार्टीको नीति नै भए पनि कुनै पार्टी वा समूहसँगै सहकार्यबारे कुनै छलफलहरु पार्टी तहबाट नभएको स्पष्ट पारेका छन् ।

रास्वपाले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको ‘समर्थन’ मा पार्टीलाई अगाडि बढाउने योजना बनाइरहेको समाचारहरु बाहिर आइरहेका बेला पार्टी प्रवक्ता झाले यसमा कुनै सत्यता नभएको बताएका हुन् । पार्टीका शुभेच्छुकहरुले कुनै पार्टी वा समूहसँग मिलेर गए हुने भन्ने गरी गरिएका बाहिरका छलफलहरु पार्टीको आधिकारिक विचार नहुने प्रवक्ता झाले बताएका छन् ।

पछिल्लो समय रास्वपाको कार्यकारी नेतृत्वमा कुलमान घिसिङलाई राखेर अघि बढ्ने तयारी भइरहेको चर्चा बाहिरिएपछि प्रवक्ता झाले यस्तो स्पष्ट पारेका हुन् । रास्वपा सभापति रवि लामिछानेको ठाउँमा सर्वमान्य व्यक्ति राखि नेतृत्व परिवर्तन गरे आफ्नो समर्थन रहने काठमाडौं महानगर प्रमुख बालेन्द्र शाह (बालेन) को सहमति रहेको चर्चा बजारमा सुनिएन आएको छ । यसै हल्लालाई खण्डन गर्दै प्रवक्ता झाले पार्टीमा यस विषयमा कुनै जानकारी र छलफल नभएको स्पष्ट पारेका छन् । तर, रास्वपाले युवाहरुको विचार र प्रतिनिधित्वलाई जहिल्यै स्वागत गर्ने प्रवक्ता झाले बताएका छन् ।

चार डीआईजी एआईजीमा बढुवा

काठमाडौं । नेपाल प्रहरीका चार प्रहरी नायव महानिरीक्षक (डीआईजी) अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा भएका छन् । आज (बिहीबार) बसेको मन्त्रीपरिषद् बैठकले रिक्त चार एआईजीमा बढुवाको निर्णय गरेको हो । असोज १२ गते बसेको बढुवा समितिको बैठकले नाम सिफारिस गरेको थियो ।

प्रशासन विभागका डीआईजी सुशिल सिंह राठौर, मधेस प्रदेशका प्रहरी प्रमुख उमाप्रसाद चतुरवेदी, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत हिमालय कुमार श्रेष्ठ र सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डम्बरबहादुर विक एआईजीमा बढुवा भएका हुन् । उनीहरु चारै जना डीआईजीको बरियतामा अगाडि थिए ।

बढुवा समितिले बरियता अनुसार नै बढुवा गर्न सिफारिस गरेको थियो । बढुवा भएका चारै जना एआईजीहरु २०५३ सालमा राष्ट्रिय अनुसन्धान विभागमा भर्ना भएर पछि प्रहरीमा आएका थिए । यही टोलीका सिद्धिविक्रम शाह यसअघि नै एआईजी भइसकेका छन् । अब उनीहरुलाई कार्य विभाग, अपराध अनुसन्धान विभाग, प्रशासन विभाग र प्रदेश समन्वय विभागको जिम्मेवारी पाउने छन् । एआईजीका दरबन्दी भएका यी विभागहरु खाली छन् ।

 

यस्ता छन् मन्त्रिपरिषदका निर्णयहरु

काठमाडौं । सरकारले भूमि समस्या समाधान आयोग र सबै जिल्ला समिति खारेज गर्ने निर्णय गरेको छ । सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले भूमि समस्या समाधान आयोग गठन आदेश २०८१ बमोजिम गठन भएको आयोग र सवै जिल्ला समितिहरु खारेज गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता जगदीश खरेलले जानकारी दिए ।

बैठकले अध्यागमन र भिजिट भिसाको सन्दर्भमा देखिएका समस्या समाधान गर्न गठित छानबिन समितिको प्रतिवेदन कार्यान्वयनका लागि गृहमन्त्रालयमा पठाउने निर्णय गरेको छ भने इलाम जिल्लालाई तीन महिनाका लागि विपद् संकटग्रस्त जिल्ला घोषणा गर्ने निर्णय गरेको प्रवक्ता खरेलले जानकारी दिए ।

बैठकले डीआईजीहरु सुशीलसिंह राठौर, उमाप्रसाद चतुर्वेदी, हिमालय कुमार श्रेष्ठ र डम्बर बहादुर विकलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको छ । त्यसैगरी त्रिविको जग्गा तथा अचल सम्पत्ति खोजबिन समितिको प्रतिवेदन कार्यान्वयनका लागि शिक्षा मन्त्रालयमा पठाउने निर्णय बैठकले गरेको छ ।

नागरिक उड्ययन क्षेत्रको सुधारका लागि गठित उच्चस्तरीय अध्ययन एवं सुझाव समितिले पेश गरेको प्रतिवेदन २०८२ कार्यान्वयनका लागि पर्यटन मन्त्रालयमा पठाउने निर्णय पनि भएको छ । त्यस्तै नेपाल विद्युत प्राधिकरणको जलविद्युत आयोजना निर्माणका लागि स्रोत व्यवस्थापन गर्न २० अर्ब रूपैया बराबरको ऊर्जा फण्ड चरणबद्ध रुपमा निष्कासन गर्न स्वीकृति प्रदान गरेको छ ।

इलाम विपद संकटग्रस्त जिल्ला घोषित

काठमाडौं । सरकारले इलाम जिल्लालाई तीन महिनाका लागि विपद् संकटग्रस्त जिल्ला घोषणा गर्ने निर्णय गरेको छ । सिंहदरबारमा आज (बिहीबार) बसेको मन्त्रिपरिषद् बैठकले इलामले विपद् संकटग्रस्त जिल्ला घोषणा गर्ने गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता जगदिश खरेलले जानकारी दिए । गत असोज १८ र १८ गतेको बाढी पहिरोबाट इलाममा सबैभन्दा बढी मानवीय क्षति भएको थियो । बाढीपहिरोमा परि मात्रै ३९ जनाको मृत्यु भएको थियो । बाढी–पहिरोबाट मानवीय साथै ठूलो भौतिक क्षति समेत भएको थियो ।

जेन–जी शहीद परिवारका तर्फबाट मन्त्रीका लागि तीन जना सिफारिस

काठमाडौं । जेन–जी शहीद परिवारले सरकार समक्ष तीन मन्त्रालयको माग गरेका छन् । आज (बिहीबार) राजधानीको संवाद डबलीमा शहीद परिवार संघर्ष समितिले पत्रकार सम्मेलन आयोजना गरी शहीदको रगतबाट बनेको सरकारले आफूहरूलाई नै बेवास्ता गरेकाले खबरदारीका लागि भए पनि आफूहरूको उपस्थिति क्याविनेटमा जरुरी भएको बताएका छन् ।

शहीद श्रीयाम चौलागाईका बुबा गणेश चौलागाईले प्रधानमन्त्री सुशीला कार्कीदेखि विभिन्न जेन–जी समूह कसैले पनि आफूहरुलाई वास्ता नगरेकोप्रति आक्रोश व्यक्त गरेका छन् । चौलागाईले विभिन्न मन्त्रालयहरूमा पटक–पटक ज्ञापनपत्र बुझाउँदा पनि सरकारबाट माग सम्बोधन नहुँदा आफूहरू पीडित र सहिद परिवारले गहिरो पीडा भोग्नुपरेको गुनासो गरेका हुन् ।

शहीद परिवार कमल सुवेदीले पटक–पटक शहीद परिवारलाई वर्तमान सरकारले पहिलो प्राथमिकतामा राख्नु पर्नेमा प्रधानमन्त्री तथा मन्त्रीहरुले भेट समेत नदिएको भन्दै आक्रोष पोखे । सुवेदीले आफ्ना परिवारका सदस्यहरुको रगतबाट बनेको सरकार र जेन–जीहरूले सहानुभूति समेत नदिएको गुनासो गर्दै भने, ‘हामीले हाम्रा परिवारका सदस्य गुमाएका छौं, त्यसैमा टेकेर वर्तमान सरकार बनेको छ, जेन–जीहरु विभिन्न समूह बनाउँदै हिँड्छन्, उहाँहरू आ–आफ्नै स्वार्थमा लिप्त हुनुहुन्छ ।’

जेन–जी शहीद परिवार संघर्ष समितिले सरकार समक्ष श्रम तथा रोजगार मन्त्रालयको लागि शहीद विजय चौधरीको दाजु दीपक चौधरी, खानेपानी मन्त्रालयमा शहीद इस्वत अधिकारीको आफन्त भोजविक्रम थापा र युवा तथा खेलकुद मन्त्रालयको लागि शहीद योगेन्द्र न्यौपानेको मामा कमल सुवेदीको नाम सिफारिस गरेको छ । समितिले सो माग ७ दिनभित्र सरकारले सम्बोधन नगरे सशक्त आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् ।

मेयर हर्क साम्पाङले मागे मन्त्री कुलमान र महावीरको राजीनामा

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुन र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङको राजीनामा माग गरेका छन् । बिहीबार आफ्नो आधिकारिक सामाजिक सञ्जाल मार्फत मेयर साम्पाङले पुन र घिसिङलाई पदबाट राजीनामा दिएर ‘बदनामी’ बाट बच्न सुझाव दिएका हुन् ।

उनले लेखेका छन्, ‘तत्काल राजीनामा दिएर बदमानीदेखि बचून् महावीर र कुलमान !’ यसपछि, साम्पाङले काठमाडौंमा पक्राउ परेका अभियन्ता डा. निकोलस भुसालको तत्काल रिहाइको माग गर्दै वर्तमान सरकारको वैधतामाथि प्रश्न उठाएका छन् । उनले सरकारलाई विदेशी दलाल र वैधताविहीनको संज्ञा दिएका थिए ।

अस्पतालको बेडबाट जेनजी घाइतेहरुको चेतावनी : हामी फेरि सडकमा निस्कन्छौं

काठमाडौं । आज असोज २३ गते ठीक एक महिना भयो, जब ‘जेन–जी आन्दोलन’ का नारा सडकमा गुञ्जिए र गोलीहरूको आवाजले देश थरथर काँप्यो । अघिल्लो महिनाको २३ भदौ, संसद् भवन अगाडिको सडक भिड र हल्लामय थियो । रगत, नाराहरू, अनि सपना-सबै त्यहीँ बगेका थिए । ती दिनका साक्षी बनेका केही युवाहरू अझै पनि अस्पतालमा छन् । आन्दोलन त रोकिएको छ, तर उनीहरूको जीवन अझै अस्थिर छ । त्यो दिनहरूको पीडा अहिले चाडपर्वको बेला पनि राष्ट्रिय ट्रमा सेन्टरको वार्डभित्र जिवन्त छ ।

‘२० हजारको सहयोगले पीडा मेटिँदैन’
आन्दोलनको पहिलो दिन सम्झिँदा २१ वर्षीय सुरेश पोखरेल अझै अवाक् हुन्छन् । ‘हामी संसद् भवन छिर्ने योजना बनाउँदै थियौं,’ उनी सम्झन्छन्, ‘अचानक गोली लाग्यो, अनि के भयो केही थाहा नै भएन, आँखा खोल्दा म अस्पतालमा थिएँ ।’ उनको तिघ्रामा गोली लागेको छ । पाँच पटक शल्यक्रिया भयो । बोल्न, हिँड्न, सास फेर्न सबै कुरा फेरि सिक्नु परेको छ । ‘दशैंमा सबैले रमाइलो गरे, म त बेडमै बसिरहेँ, नरमाइलो लाग्यो । आमा–बुबा रोइरहनु भयो,’ उनी भन्छन्, ‘२० हजारको सहयोग पाएँ, तर त्यो त लाज छोप्न दिइएको पैसा जस्तो लाग्यो ।’

सुरेशले भने, ‘हामी माग लिएर सडकमा निस्केका हौं, अपराधी होइनौं । सरकार आएर फोटो खिच्छ, तर घाउमा मलम लगाउँदैन । परिवर्तन त कहाँ भयो र ? एक प्रतिशत पनि छैन ।’ तर उनको स्वरमा आक्रोश मात्र छैन, योजना पनि छ । ‘निको भएपछि सबै घाइतेहरू भेला भएर फेरि निस्कने तयारीमा छौं’, उनी भन्छन्, ‘यसपालि हामी चुप लागेर बस्दैनौं ।’

‘दुबै खुट्टा नचले पनि हृदय अझै लडिरहेको छ’
२५ वर्षीय राकेशकुमार महतो आन्दोलनको पहिलो दिनमा गोली लागेर ढलेका थिए । गोली मेरुदण्डमा लागेको असरले दुबै खुट्टा चल्न छोडे । ‘डाक्टरले भनेका छन्, ‘अब उठेर हिँड्न सक्दैनौ,’ उनी भन्छन्, ‘तर मेरो मन अझै सडकमा छ ।’  यसपालीको दशैं उनीका लागि पीडाको पर्व बन्यो । ‘ममी मेरो अवस्था देखेर बिरामी हुनुभयो, दुईचोटि बेहोस हुनुभयो’, राकेश भन्छन्, ‘मलाई ज्यान गयो भने पनि मतलब थिएन, देश बदलियोस् भन्ने थियो । तर जुन सपना देख्यौं, त्यो त धुम्मिएको छ । परिवर्तन होइन, पुरानै चाल चल्दैछन् ।’ उनी दृढ बन्छन्, ‘पुनः आन्दोलन भयो भने म फेरि सडकमा उत्रन्छु । फेरि गोली खानु पर्‍यो भने पनि देशका लागि तयार छु ।’

‘हामीले डर हटायौं, तर घाउ बाँकी छ’
२५ वर्षीय मदन कार्की मिनभवन अगाडि आन्दोलनमा थिए । गोली उनको छाती र पाखुरामा लाग्यो । अहिले पनि पट्टि बाँधिएको छ, तर उनले हिम्मत हारेका छैनन् । दशैं उनका लागि खल्लो रह्यो । ‘घरमा टीका लगाउन पनि पाइएन, दुःख त धेरै भयो,’ उनी भन्छन्, ‘तर कम्तीमा हामीले यो देशमा युवा बोल्न सक्छन् भन्ने डर हटाएका छौं ।’ उनको दृष्टिमा आन्दोलनले जनतालाई आफ्नो शक्ति बुझाएको छ । ‘अब नेपालीहरू बुझ्न थालेका छन्, देशको हकका लागि बोल्नुपर्छ,’ उनी भन्छन् ।

‘हात गुम्यो, तर आत्मा अझै बलियो छ’
२९ वर्षीय सञ्जीव सापकोटा झापामा आन्दोलनको दोस्रो दिन सिलिन्डर विष्फोट हुँदा उनको दाहिने हात काट्नुपर्‍यो । उनले अस्पतालमा मुस्कान बाँड्दै समय बिताउँछन् । ‘अहिले पनि फोनबाट काम गर्छु, अरू बिरामीसँग कुरा गर्छु’, उनी भन्छन्, ‘जीवन गाह्रो छ, तर सोच सकारात्मक राख्नु पर्छ ।’

सञ्जीवको शब्दहरूमा निराशा होइन, सन्देश छ—‘शरीर अपांग भयो भनेर केही बिग्रेको छैन । मान्छे आफ्नो सोचले अमर हुन्छ । हक–हितका लागि लड्नु पर्छ । म अर्को पटक आन्दोलनमा आउन सक्छु, मैले हार मानेको छैन ।’ उनी पनि वर्तमान सरकारप्रति कटाक्ष गर्न छुटाउँदैनन्, ‘देशमा परिवर्तन भएको जस्तो देखिए पनि ‘बाघको छालामा स्यालको रजाइ’ जस्तै छ । तर म मान्दिनँ कि हाम्रो बलिदान व्यर्थ भयो ।’ साँचो परिवर्तन तब हुनेछ, जब घाइतेका चिच्याहट सुन्न सक्ने सरकार बन्छ ।’ राष्ट्रिय ट्रमा सेन्टरका अनुसार ‘जेन–जी आन्दोलन’ का क्रममा घाइते भएका १९२ जनामध्ये हाल १८१ जना डिस्चार्ज भइसकेका छन् । बाँकी ११ जना अझै पनि अस्पतालमै उपचाररत छन् । तीमध्ये कतिपयको अवस्था सुधारोन्मुख छ, तर धेरैका शरीरभित्रका घाउ र मनभित्रका डर अझै बाँकी छन् ।

पीडा, प्रतिज्ञा र उत्तरदायित्वको माग
एक महिना बित्दा राजनीतिक हल्ला र सार्वजनिक बहस जति भए पनि, ट्रमा सेन्टरका ती बेडहरुमा बसिरहेकाहरूको यथार्थ अपरिवर्तित छ । उनीहरुको शारीरिक घाउले समय माग्छ तर उनीहरुको आवाजले तत्काल जवाफ र ठोस कदमको माग गर्छ । यी जवानहरुको कथाले स्पष्ट गर्छ, बलिदान केवल एउटा नारा होइन, त्यो राज्य र समाजका लागि प्रत्यक्ष जिम्मेवारी हो । अब चाहिएको छ—वचन मात्र होइन, व्यवहार । र त्यो व्यवहार नदेखिए, ती आवाजहरु फेरि सडकमा सुनिने छन् ।
शब्द र तस्वीर : ममुन केसी /नेपाल फोटो लाइब्रेरी

 

कहिलेसम्ममा खुल्लान् वीपी राजमार्गसहित अवरुद्ध सडक ?

काठमाडौं । दशैंको बेला तीन दिनसम्म परेको भारी वर्षा कारण विभिन्न मुख्य राजमार्गहरू अवरूद्ध भए । विपी राजमार्ग अन्तर्गत रोशी खोलामा आएको बाढीले चौकीडाडा–नेपालथोक सडक खण्ड बगाएर पुरानै हालतमा सडक फर्किएको छ । हालसम्म उक्त सडक खण्ड पूर्ण रूपमा बन्द छ । गत वर्ष असोज १० देखि १३ गतेसम्म आएको भीषण वर्षाका कारण रोशी खोलामा आएको भेलबाढीले उक्त राजमार्गको करिब १३ किलोमिटर सडक कटान गरेको थियो ।

नेपाल प्रहरी प्रधान कार्यालयका अनुसार यही असोज १८ र १९ र २० गतेसम्म परेको वर्षा कारण मात्रै मध्य पहाडी लोकमार्ग र पाँचथर तमोर करिडोर पूर्ण रूपमा हालसम्म अवरूद्ध छ । असोज २१ गते रूकुम (पूर्वी भाग) भुमे गाउँपालिका–४ काँडाबगरस्थित मध्यपहाडी लोकमार्गमा सडकमाथिबाट ढुङ्गा, लेदोसहितको पहिरो झरी पूर्ण रूपमा अवरोध छ ।

यस्तै असोज १८ गते पाँचथर तुम्वेवा गाउँपालिका–२ नावाखोलास्थित तमोर करिडोर सडक खण्डमा पहिरो झरी पूर्ण रूपमा बाटो अवरोध छ । जसकारण दशैँ मनाउन गाउँ गएका यात्रुहरू काठमाडौं आउन पाएका छैनन् भने काठमाडौंबाट गाउँ जाने यात्रूहरू सहज रूपमा जान पाएका छैनन् । विपीराजमार्ग अवरूद्ध हुँदा सोलुखुम्बु, ओखलढुङ्गा, उदयपुर, भोजपुरलगायत पूर्वी पहाडी जिल्लाका मानिसहरू काठमाडौं आउन वैकल्पिक बाटोको रूपमा विपी राजमार्गको खुर्कोट हुँदै रामेछापको मन्थली, तामाकोशी, दोलखाको चरिकोट, अरनिको राजमार्गको खडीचौरबाट काठमाडौं आवतजावत गरेका छन् । तर, १२÷१३ घण्टासम्म यात्रा गर्नुपर्दा यात्रूहरूलाई सकस परेको छ । दुई पांग्रे सवारी साधन भने नेपालथोक काभ्रे तेमाल हुँदै भकुण्डेबेसी आवतजावत गर्ने गरेका छन् । तर,बाटो जीर्ण बन्दा उनीहरूलाई विभिन्न समस्या भोग्न बाध्य छन् ।

भोलिसम्ममा वीपी राजमार्ग खुल्ने
सडक डिभिजन, भक्तपुरले भोलि (शुक्रबार) सम्ममा ट्रयाक खोलेर बीपी राजमार्ग सञ्चालन ल्याउने जनाएको छ । सडक डिभिजन, भक्तपुरका डिभिजन प्रमुख सुमन योगेशले भोलिसम्ममा ट्रयाक खोल्नेगरि काम भइरहेको जानकारी दिए । उनले भने, ‘वीपी राजमार्गको डाइभर्सन बनाउने काम धमाधम भइरहेको छ, भोलिसम्ममा सडक ट्रयाक खोलेर सञ्चालनमा आउँछ ।’

आज बिहानै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशव शर्मा, सडक विभागका महानिर्देशक विजय जैसीसहित सडक अनुगनमा गएका मन्त्री कुलमान घिसिङले बाढी पहिरोले क्षति चौकीडाँडालगायतका क्षेत्रको अनुगमन गरेका छन् । मन्त्री घिसिङले संघीय राजधानी काठमाडौंसँग बागमती, मधेश र कोशी प्रदेशका जिल्लाहरूलाई जोड्ने लाइफ लाइन सडकलाई जतिसक्दो छिटो सञ्चालनमा ल्याउने गरी काम गर्न सडक विभाग र निर्माण व्यवसायीलाई आग्रह गरेका छन् ।

कहिले खुल्लान् अन्य राजमार्ग ?
सडक विभागका सहायक प्रवक्ता शुभाञ्जन दाहालले बाढीपहिरो कारण अवरूद्ध भएका सडक खुलाउने काम भइरहेको बताए । उनका अनुसार भोलिसम्ममा तमोर करिडोर सञ्चालनमा आउने छ । ‘जहाँ पहिरो झरी सडक अवरूद्ध भएको छ,त्यहाँ खुलाउन टोली खटिएको छ, भोलिसम्ममा सञ्चालनमा आउँछ,’ उनले भने ।

भुमे गाउँपालिका वडा–४ का वडाअध्यक्ष श्यामप्रसाद बुढाले अझै पूर्ण रूपमा मध्यपहाडी लोकमार्ग सञ्चालनमा आउन नसकेको जानकारी दिए । उनका अनुसार मध्यपहाडी लोकमार्ग अन्तर्गत काँडाबगरमा माथिबाट ढुङ्गा, लेदोसहितको पहिरो झर्ने क्रम जारी छ । जसकारण पूर्ण रूपमा सडक खुलाउन सकिएको छैन । ‘हिजोसम्म भारी वर्षा पर्‍यो, तैपनि पालिकाले सडक खुलाउने काम गरिरहेको छ, सडक सफा गरेर सञ्चालन गर्छौ, फेरि पहिरो झरिहाल्छ, त्यही भएर समस्या परेको छ,’उनले भने ।

 

कांग्रेस बैठकमा गगन थापाको प्रस्ताव : नियमित महाधिवेशन गरौं

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नियमित महाधिवेशनको प्रस्ताव गरेका छन् । आज (बिहीबार) पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको पदाधिकारी बैठकमा महामन्त्री थापाले नियमित महाधिवेशनको प्रस्ताव गरेका हुन् । जेनजी आन्दोलनपछि महामन्त्रीद्वय थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनमा जानुपर्ने बताउँदै आएका थिए । तर, आजको बैठकमा भने महामन्त्री थापाले मंसिरमै नियमित महाधिवेशन गर्नेगरी अघि बढ्ने प्रस्ताव गरेका हुन् ।

बैठकबाट निस्कने क्रममा डा. शशांक कोइरालाले महामन्त्रीले राखेको प्रस्तावबारे जानकारी गराएका हुन् । आजै आफ्नो निवासमा केही नेताहरूसँग कुरा गर्दै नेता कृष्ण सिटौलाले महामन्त्रीद्वयको हस्ताक्षर अभियानले पार्टी फुट्न सक्ने बताएका थिए । महामन्त्री थापा र अर्का महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनका लागि भन्दै हस्ताक्षर संकलन पनि गरिरहेका छन् । नियमित समयमा हुने हो भने कांग्रेस महाधिवेशन आगामी मंसिरमा हुनुपर्छ ।

‘प्रचण्ड युग’ अन्त्य नभएसम्म देशमा शान्ति, विकास र एकता हुँदैन : मुकुल ढकाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्व महामन्त्री डा. मुकुल ढकालले ‘प्रचण्ड युग’ अन्त्य नभएसम्म यो देशमा शान्ति, विकास र एकता नहुने टिप्पणी गरेका छन् । सामाजिक सञ्जालमा लेख्दै उनले प्रचण्ड युग भनेको विनाश, हिंसा, अधर्म र विखण्डित राष्ट्रियताको प्रतिक हो भन्दै यो अन्त्य नभएसम्म राष्ट्रिय संकट समाधान नहुने बताएका हुन् ।

यो युग अन्त्य हुना साथै शान्ति र विकाससँगै साँस्कृतिक जागरण हुने र नेपाली माटोमा आधारित नयाँ युगको सुरुवात हुने दावी गरेका छन् । पछिल्लो समयमा ढकालबाहेक अरु धेरै बुद्धिजीवीले पनि अहिलेको राजनीतिक संकटको कारण माओवादी जनयुद्ध, त्यही पृष्टभूमिमा गरिएको १२ बुँदे दिल्ली सम्झौता र २०६२–६३ पछि विकसित राजनीतिक घटनाक्रम हो भन्दै यसलाई करेक्सन गर्नुपर्ने बताउन थालेका छन् ।

जेनजी आन्दोलनको एक महिना : प्रहरीका आठ सय बढी हतियार अझै बेपत्ता

काठमाडौं । भ्रष्टाचारविरुद्ध भदौ २३ र २४ गते सुरु भएको जेनजी आन्दोलनले मुलुकको राजनीतिक अवस्था नै फेरिदियो । ७३ जनाको ज्यान जाने गरी भएको हिंसात्मक आन्दोलनपछि केपी शर्मा ओली नेतृत्वको सरकार ढल्यो, संसद् विघटन भयो र गैरराजनीतिक व्यक्तिहरूले नेतृत्व सम्हाले ।

तर, आन्दोलनको एक महिना बितिसक्दा पनि त्यसले निम्त्याएको सुरक्षात्मक संकटको अवस्था अझै सुध्रिएको छैन । देशभरका प्रहरी इकाइबाट आन्दोलनकारीहरूले लुटेका करिब ११ सय हतियारमध्ये हालसम्म मात्र तीन सयभन्दा बढी फिर्ता भएका छन् । प्रहरीका अनुसार ८ सय बढी हतियार अझै बेपत्ता छन् ।

लुटिएका हतियार, जलाइएका भवनहरू
आन्दोलनको क्रममा आन्दोलनकारीहरूले प्रहरी कार्यालयहरूमा आगजनी गर्दै हतियार, बर्दी र अन्य सरकारी सामग्री लुटेका थिए । धेरैजसो घटना भिडियो र तस्वीरमा स्पष्ट रूपमा देखिएका छन् । सिंहदरबारदेखि लिएर स्थानीय प्रहरी चौकीसम्म जलेर खरानी भए ।
ती घटनामा तीन जना प्रहरीको ज्यान गएको थियो भने कयौं घाइते भए । केहीले त आत्मसमर्पण गरेर ज्यान जोगाउनु परेको थियो । अहिले पनि धेरै सुरक्षाकर्मीहरू हतियारविहीन अवस्थामा ड्युटीमा खटिन विवश छन् ।

राजनीतिक निर्देशनले अनुसन्धान रोकिएको प्रहरीको गुनासो
प्रहरीले फोटो, भिडियो र प्रत्यक्षदर्शीको आधारमा दोषी पहिचान गरी कारबाहीको तयारी गरे पनि गृहमन्त्री ओमप्रकाश अर्यालको निर्देशनले प्रक्रिया रोकिएको छ । गृह मन्त्रालयले सुशीला कार्की नेतृत्वको सरकारको आदेशअनुसार आन्दोलनकारीप्रति कडा कदम चाल्न रोक लगाएको छ । ‘आन्दोलनकारीहरूले प्रहरीलाई कुटेर मार्ने, खोलामा हाल्ने, सरकारी संरचना ध्वस्त पार्ने कार्यमा संलग्न भएको देखिए पनि तिनलाई कारबाही नगर्न भनिएको छ’, एक प्रहरी अधिकृतको भनाइ उद्धृत गर्दै स्रोतले जनाएको छ ।

प्रहरी निरीह, सेवा खण्डहरबाट
आन्दोलनका क्रममा ध्वस्त भएका प्रहरी भवनहरूबाट नै अस्थायी रूपमा सेवा प्रवाह भइरहेको छ । आगजनी र तोडफोडका कारण भवनहरू प्रयोगविहीन छन् । यता सुरक्षा चुनौती बढिरहँदा प्रहरी हतियार बिनै गस्तीमा जान बाध्य छन् । प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी विनोद घिमिरेका अनुसार लुटिएका हतियार फिर्ता ल्याउने काम तीव्र रूपमा भइरहेको छ । सेनाले केही हतियार बरामद गरिसकेको छ भने प्रहरीले पनि केही पुनः प्राप्त गरेको छ । तर अझै ठूलो संख्या हराइरहेको उनले बताए ।

संवेदनशील सुरक्षा अवस्था र संस्थागत असर
प्रहरी संस्थामाथिको आघात मात्र नभई, राज्यको समग्र सुरक्षा संयन्त्रमै जेनजी आन्दोलनले गम्भीर असर पारेको छ । राजनीतिक नेतृत्वको स्पष्ट निर्देशन अभाव, दोषीलाई कारबाही नगर्ने नीति, र हतियार नियन्त्रणको असफलताले भावी सुरक्षा चुनौती बढाउने देखिन्छ ।
राजनीतिक विश्लेषकहरू यो अवस्थालाई गम्भीर रूपमा लिँदै आएका छन् । ‘यदि राज्यले यस्ता घटनामा संयम देखाउने नाममा कानूनी प्रक्रिया रोक्छ भने, त्यो अन्यायप्रतिको प्रोत्साहन र सुरक्षातन्त्रको विघटन हो’, एक विश्लेषकले बताए ।

 

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी

काठमाडौं । सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बसिरहेको छ । बैठकमा मन्त्रालयगत एजेण्डासहित, हालैको विपद्बाट क्षति पुगेका संरचनाको पुनर्निर्माण, बाढी–पहिरो प्रभावितको राहत, पुनःस्थापनाबारे निर्णय हुने बताइएको छ । बैठक बस्नुअघि गृहमन्त्री ओमप्रकाश अर्यालले विभिन्न सुरक्षा निकायका प्रमुखसँग छलफल गरेका थिए । बैठकका एजेण्डाबारे औपचारिक रुपमा भने जानकारी गराइएको छैन ।

मधेशमा मुख्यमन्त्री कायम हुँदाहुँदै नयाँ सरकारको लागि दाबी पेश

जनकपुरधाम । मधेश प्रदेशमा सत्ताका लागि दलहरूले संवैधानिक प्रक्रियालाई बेवास्ता गर्दै सरकार गठनको अनौपचारिक दौड सुरु गरेका छन् । अझै मुख्यमन्त्री सतिशकुमार सिंह पदमा कायमै रहेका बेला तीन दल–नेपाली कांग्रेस, नेकपा एमाले र जनमत पार्टी–ले संयुक्त रूपमा नयाँ सरकारको दाबी पेस गरेका छन् । तर, यो दाबी संविधान र संसदीय अभ्यास दुवै दृष्टिले अस्वाभाविक देखिएको छ । संविधानको धारा १६८ (२) अनुसार प्रदेश प्रमुखले सरकार गठनको आह्वान गरेपछि मात्र सरकार गठनको प्रक्रिया अगाडि बढ्न सक्छ । तर अहिले त्यस्तो कुनै आह्वान नभएको स्पष्ट छ ।

त्रुटिपूर्ण पत्र, तथ्य विपरीत दाबी
दलहरूले ५८ जना सांसदको हस्ताक्षरसहित दाबीपत्र बुझाउँदा त्यसमा लोसपाको ८ सांसद पनि गणना गरिएको पाइयो, जबकि लोसपाले समर्थन नदिएको स्पष्ट गरिसकेको छ । पत्रमा तीन दलको नाम भए पनि चार दलको समर्थन उल्लेख गरिएको थियो । प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी बाहिर रहेका बेला पत्र बुझाएका निमित्त सचिव शत्रुधन यादवले पत्रमा व्यापक त्रुटि रहेको पुष्टि गरे । दबाबका बीच दलहरूले पछि अर्को पत्र सच्याएर पुनः पेस गरे ।

राजीनामा नदिए पनि समर्थन फिर्ता, सत्ता समीकरण झन जटिल
जनमत पार्टीले मुख्यमन्त्री सिंहले सामाजिक सञ्जालमार्फत राजीनामा घोषणा गरे पनि पछि त्यसलाई अस्वीकार गरेपछि समर्थन फिर्ता लिएको थियो । एमाले र कांग्रेसले पनि क्रमशः समर्थन फिर्ता गरेपछि सरकार अल्पमतमा परेको हो । तर, संविधान अनुसार समर्थन फिर्तापछि ३० दिनको समय सीमाभित्र विश्वासको मत लिन पाउने व्यवस्थालाई बेवास्ता गर्दै दलहरूले अघि बढ्नु अनैतिक र असंवैधानिक भएको विश्लेषकहरूको टिप्पणी छ ।

राजनीतिक विश्लेषक भन्छन्–संघीयतामाथि प्रहार
राजनीतिक विश्लेषक डा. भोगेन्द्र झाका अनुसार प्रदेश प्रमुखको आह्वान नहुँदै दाबी पेश गर्नु संसद् र संविधानप्रति उपेक्षा मात्र नभई संघीयता नै कमजोर पार्ने प्रयास हो । ‘संघीयता मजाक बनाइएको छ । यस्तो गैरसंवैधानिक हतारोले मधेश जस्तो संघीयताको प्रतीक प्रदेशमा अन्योल र असन्तोष थपेको छ’, उनले भने ।

संख्यात्मक समीकरण
मधेश प्रदेशसभामा कुल १०७ सदस्य छन् । एमालेसँग २५, कांग्रेससँग २२, जनमतसँग १३ सांसद छन् । यी तीन दलको जम्मा संख्या ६० पुग्छ, जुन सरकार गठनको लागि आवश्यक ५४ को बहुमतभन्दा बढी हो । तर, प्रक्रिया पालना नगरी गरिएको पहलले सत्ताको हतारो देखाउँछ ।

गृहमन्त्रीसँग पाँच देशका राजदूतको भेटवार्ता

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालसँग विभिन्न पाँच देशका राजदूतहरूले भेट गरेका छन् । बिहीबार मन्त्रालयमा युरोपियन युनियन, फ्रान्स, जर्मनी, फिनल्यान्ड र स्वीट्जरल्यान्डका राजदूतहरूले गृहमन्त्री अर्यालसँग शिष्टाचार भेटवार्ता गरेका हुन् । सिंहदरबारस्थित गृह मन्त्रालयमा भएको भेटमा नेपालको हित र समृद्धिबारे छलफल भएको बताइएको छ ।

नेपालको पछिल्लो अवस्था, समसामयिक विषय र नेपाललाई गर्ने सहयोगका बारेमा छलफल भएको बताइएको छ । यसअघि बुधबार प्रधानमन्त्री सुशीला कार्कीले विभिन्न मुलुकमा रहेका नेपाली राजदूत र नियोय प्रमुखहरूसँग छलफल गरेकी थिइन् ।

 

तीन वटै सुरक्षा निकायहरूसँग गृहमन्त्रीको दुई घण्टा छलफल, के भयो कुराकानी ?

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले सुरक्षा निकायका प्रमुखहरुसँग छलफल गरेका छन् । बिहीबार सिंहदरबारस्थित मन्त्रालयमा तीन वटै सुरक्षा निकायहरुसँग छलफल गरेका हुन् । छलफलमा नेपाल प्रहरीका प्रमुख प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङ, सशस्त्र प्रहरी बल, नेपालका प्रमुख राजु अर्याल र नेपाली सेनाका प्रतिनिधिहरुसँग छलफल गरेका हुन् ।

पछिल्लो राजनीतिक घटनाक्रम, विपद् व्यवस्थापनबारे गृहमन्त्री अर्यालले जानकारी लिएका छन् । छलफल मुख्यगरी आज माइतीघर–नयाँ बानेश्वर क्षेत्रमा हुने भनिएको प्रर्दशनमा केन्द्रीत रहेको मन्त्रालय स्रोतले जानकारी दिएको छ । आज हुने भनिएको प्रर्दशन, त्यसको सुरक्षा चुनौती, केही नेताहरूले दिएको अभिव्यक्ति, देशभर जाहेरी दिने भनि सुरु भएको अभियान र त्यसको सुरक्षा चुनौती लगायत विषयमा छलफल भएको स्रोतले सुनायो ।

मन्त्रालयमा करिब २ घण्टासम्म सुरक्षा निकायका प्रमखु तथा प्रतिनिधिहरूसँग गृहमन्त्री अर्यालले ब्रिफ्रिङ लिएका थिए । सो क्रममा उनीहरूले बढ्दो सुरक्षा चुनौतीबारे जानकारी गराएका थिए । चाडवाड सकिएपछि हुनसक्ने सुरक्षा चुनौती, जेन–जी र अन्य समूहले गर्नसक्ने प्रदर्शन र उत्पन्न हुनसक्ने परिस्थितिबारेमा पनि छलफल भएको सहभागी एक सुरक्षा प्रमुखले बताए ।

जेन–जी समूहले तत्कालीन प्रधामन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखकविरुद्ध प्रहरीमा जाहेरी दिएको थियो । त्यसपछि एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले पनि काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र जेन–जी अगुवा सुदन गुरुङविरुद्ध प्रहरीमा जाहेरी दिएको थियो । जेन–जीको जाहेरी उच्चस्तरीय जाँचबुझ आयोगमा प्रहरीलै पठाएको छ भने बालेन र सुदनविरुद्धको जाहेरी पनि आयोगमा प्रहरीले पठाउने तयारी गरेको छ ।

एक पक्षले अर्को पक्षविरुद्ध जाहेरी दिनेदेखि माइतीमा टाँगिएका ब्यानर हटाएर अर्को ब्यानर राख्ने प्रयास भएपछि सुरक्षा चुनौती बढेको थियो । यो काउन्टर जाहेरी र त्यसले बढाउन सक्ने सुरक्षा चुनौतीको विषयमा पनि छलफल भएको स्रोतले बताएको छ । अर्कोतर्फ नेताहरूले सार्वजनिक रुपमा दिएको अभिव्यक्तिले पनि सुरक्षामा चुनौती थपिन सक्ने बताइएको छ । त्यसपछि माइतीघर बानेश्वर क्षेत्रमा अहिले उच्च सुरक्षा सतर्कता अपनाइएको छ ।

‘फलानो नेताको अभिव्यक्ति भनेर भन्दा पनि नेताहरूले पछिल्लो समय सार्वजनिक रुपमा बोलेका कुराहरूले पनि सुरक्षा चुनौती बढाउन सक्नेबारे कुराकानी भयो,’ सुरक्षा स्रोतले भन्यो । समसामयिक राजनीति र चुनावी सुरक्षाका बारेमा पनि छलफल भएको गृह स्रोतले बतायो। छठपछि दुर्गा प्रसाईं समूहले गर्ने भनिएको आन्दोलनदेखि विपद्, उद्धारको बारेमा पनि छलफल भएको बताइएको छ ।

जलेकै कार्यालयमा खड्काको अध्यक्षतामा कांग्रेस पदाधिकारी बैठक (तस्वीरहरु)

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालयमा जारी छ । वैठक जेनजी विद्रोहका क्रममा जलेर खण्डहर बनेको केन्द्रीय कार्यालय, सानेपामै बसेको हो । सभापति शेरबहादुर देउवा अनुपस्थित रहँदा बैठकको अध्यक्षता उपसभापति पूर्णबहादुर खड्काले गरेका छन् ।

बैठकमा पछिल्ला राजनीतिक घटनाक्रम, आसन्न केन्द्रीय समिति बैठकका तयारी र संगठन सुदृढीकरणका विषयमा छलफल भइरहेको बताइएको छ । नेताहरूका अनुसार सभापति देउवा आगामी २६ असोजदेखि सुरु हुने केन्द्रीय समिति बैठकमा मात्र सहभागी हुने तयारीमा छन् । गत भदौ २३ र २४ गते भएको जेनजी पुस्ताको आन्दोलन पछि कांग्रेस सत्ताबाट बाहिरिएको थियो ।

आन्दोलनका क्रममा प्रदर्शनकारीहरूले २४ भदौमा बूढानीलकण्ठस्थित देउवा निवासमा आक्रमण गरी आगजनी गरेका थिए । त्यस घटनापछि देउवा करीब एक महिना यता सार्वजनिक रूपमा देखिएका छैनन् । हाल उनी काठमाडौँमा घर भाडामा लिएर बस्दै आएका छन् र आफू निकट पदाधिकारीहरूसँग प्रत्यक्ष भेटघाट तथा अन्य नेताहरूसँग फोनमार्फत सम्पर्क राख्ने गरेका छन् । यसबीच, कांग्रेसभित्र संस्थापनइतर समूहले विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर अभियान सञ्चालन गरिरहेको छ ।
हेर्नुस् तस्वीरहरु

ओलीको घोषणा : फागुन २१ पर्खदैनौं, संसद विघटनको विपक्षमा उभिन्छौं

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटनलाई असंवैधानिक, अलोकतान्त्रिक र देशविरुद्धको कदम ठहर गर्दै संसद् पुनस्र्थापनाको पक्षमा तत्काल संघर्ष सुरु गर्ने संकेत दिएका छन् । भक्तपुरको गुण्डुमा आयोजित पार्टी कार्यक्रमलाई सम्बोधन गर्दै उनले फागुन २१ को चुनावको पर्खाइमा नबस्ने स्पष्ट गरे । ‘फागुन २१ पर्खनु पर्ने केही छैन’, उनले भने, ‘संसद् विघटन गलत छ, असंवैधानिक छ, त्यसको प्रतिकार अब ढिलो गर्नु हुँदैन ।’

ओलीले संसद् पुनस्र्थापनाको मागमा जनआन्दोलन सुरु हुने विश्वास व्यक्त गरे । ‘जनता आँधीबेहरी बनेर आन्दोलनमा उत्रने छन्’, उनले भने । उनले दाबी गरे कि विघटन गर्नुको मुख्य कारण संविधान अनुसार समाधान खोज्न नचाहने प्रवृत्ति हो । ‘सबै पक्ष संसद कायम राखेर समाधान खोज्नेमा सहमत थिए, तर त्यहाँबाट विमुख भएर असंवैधानिक बाटो लिइयो’, ओलीले भने । पूर्व प्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री बन्ने अडानमा रहेको भन्दै त्यो बहानामा संसद् विघटन गरिएको उनको आरोप छ ।

‘कार्की आयोग एमालेलाई मञ्जुर छैन, स्वीकार्य छैन’
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले गौरीबहादुर कार्कीको नेतृत्वमा बनेको जेनजी विद्रोहसम्बन्धी छानबिन आयोगलाई पूर्ण अस्वीकार गरेका छन् । उनको भनाइमा, आयोग गठनको उद्देश्य निष्पक्ष छानबिन होइन, राजनीतिक प्रतिशोधका लागि आधार बनाउने मात्र हो । ‘पहिल्यैदेखि ‘केपी ओलीलाई समात्नु पर्छ’ भन्ने मान्छेले छानबिन गर्छ भने निष्पक्षताको के ग्यारेन्टी ?’ उनले प्रश्न गरे ।

ओलीले यस्तो आयोगलाई एमालेले नमान्ने स्पष्ट घोषणा गरे । ‘यस्तो नाटक नेकपा एमालेलाई मञ्जुर छैन, स्वीकार्य छैन’, उनले जोड दिए । कार्कीले सामाजिक सञ्जालमा गरेको अभिव्यक्तिलाई लिएर एमालेले पहिले नै आपत्ति जनाउँदै आएको थियो । ओलीको ताजा अभिव्यक्तिले आयोगको विश्वसनीयतामाथि प्रश्न उठाएको छ ।

 

षड्यन्त्रविरुद्ध सडकमा उत्रिन तयार रहनू : भानुभक्त ढकाल

काठमाडौं । नेकपा एमालेका नेता भानुभक्त ढकालले पछिल्लो समय भएको षड्यन्त्रको प्रतिवाद गर्नको लागि पार्टीपंक्तिलाई आह्वान गरेका छन् । भक्तपुरमा आज (बिहीबार) आयोजित कार्यक्रममा बोल्दै व्यवस्था र राष्ट्रियतामाथि भइरहेको षड्यन्त्रप्रति जनतालाई सचेत गराउन अब ढिला गर्न नहुने बताए ।

उनले भने, ‘नेपालको राष्ट्रिय राजनीतिमा भएको कुप्रति जनतालाई सचेत गराउँदै हामीले खबरदारी गर्न अब विलम्ब गर्नु हुँदैन । षड्यन्त्र जारी रह्यो भने त्यसका निम्ति प्रतिवाद गर्नको निम्ति एमालेसँग आबद्ध जनवर्गीय संगठन, जनप्रतिनिधि र पार्टीका लाखौँ सदस्य पनि सडकमा उत्रिन तयार हुनुपर्छ ।’ उनले जेनजी आन्दोलनको लागि आगजनी र तोडफोडमा संलग्नहरूलाई छानबिन गरेर कारबाही गर्न माग गरेका छन् । प्रधानमन्त्रीबाट केपी ओलीले राजीनामा दिएपछि पनि तोडफोड र आगजनी भएको भन्दै केपी ओलीविरुद्ध भ्रम फैलाइएको जिकिर गरे ।

‘एमालेलाई एकता चाहिएको छ, पुनर्गठनको बहस असान्दर्भिक’
एमालेका स्थायी कमिटी सदस्य एवं जनसंगठन समन्वयका प्रमुख भानुभक्त ढकालले पार्टीलाई चौतर्फी आक्रमण भइरहेका बेला पार्टीभित्र पुनर्गठनको बहस उठाउनु असान्दर्भिक भएको बताएका छन् । ढकालले एमालेमा नेतृत्वको गठन र पुनर्गठन भइरहने भएकोले यसको पनि उचित फोरमबाट निर्क्याैल हुने जिकिर गरे ।

‘एमालेमा नेतृत्वको गठन र पुनर्गठन स्वाभाविक हो । यो हुन्छ नै तर अहिले बैरीले आक्रमण गरेका बेला एकता चाहिन्छ । यस्तो विषय पार्टीको महाधिवेशन वा केन्द्रीय कमिटीले किनारा लगाउन सक्छ । तर, अहिले पार्टीभित्र एकताको खाँचो छ’, ढकालले भने । पार्टी पुनर्गठनका नाममा अनेक प्रकारका प्रचारबाजी गर्नु उपयुक्त नभएको उनको भनाइ थियो । भदौ २०–२२ को दोस्रो विधान महाधिवेशनले तय गरेको बाटोमा जेन–जी आन्दोलनले उठाएका सही एजेण्डालाई पार्टीले समेट्ने ढकालले बताए ।

सुशीला कार्कीसँग डराएर भाग्दिनँ, गृहमन्त्री बाबु पनि धेरै नउत्ताउलिनू : ओली

काठमाडौं । नेकपा एमाले अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पासपोर्ट रोकेको, उपत्यका छोड्न रोक लगाएको विषयमा आपत्ति जनाउँदै आफू प्रधानमन्त्री सुशीला कार्कीसँग डराएर नभाग्ने चेतावनी दिएका छन् । उनले आफूलाई पक्राउ गर्ने लगायतका विषय उठाएर गृहमन्त्री ओमप्रकाश अर्याललाई धेरै नउत्ताउलिन चेतावनी दिए । उनले देश चलाउने ठट्टा नभएकाले ख्याल गर्न उल्लेख गरे । उनले भक्तपुरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दैन सडकमा तमासा गरिरहेको टिप्पणी गरे ।

‘पासपोर्ट रोक्का रे । डाँडो काट्न नहुने रे । सुशीला कार्कीको डरले केपी ओली भाग्छ ?,’ उनले भने, ‘हुन त म अहिलेका गृहमन्त्रीलाई चिन्दिनँ । तर म गृहमन्त्री बाबुलाई धेरै नउत्तालिन र नचम्किन सुझाव दिन चाहन्छु । राजनीति चलाउने, देश चलाउने ख्याल ठट्टा होइन ।’

उनले आफू देशको स्वाभिमानका लागि बलिदान दिन तयार रहेकाले एमालेलाई नजिस्क्याउन चेतावनी दिए । ‘हामी जेल नेल भोगेर आएका हौं । हाम्रा लागि यो नयाँ कुरा होइन,’ उनले भने, ‘देशको स्वाभिमानका लागि बलिदान दिन तयार छौं हामीलाई जिस्काइरनु पर्दैन । हामीले जनताको शासन भनेर ल्याएका हौ । लडेका हौं ।’

ओलीले अहिलेको सरकार बलमिच्याइँले बनेको टिप्पणी गरेका छन् । भक्तपुरमा आयोजित कार्यक्रममा उनले सुशीला कार्की नेतृत्वको सरकार संविधान अनुसार नबनेको दाबी गरे । उनले भने, ‘अहिलेका प्रधानमन्त्रीले प्रधानमन्त्री बन्नका लागि शर्त राख्नु भयो–संसद् विघटन भए मात्रै बन्छु, नत्र देशमा जेन–जीले आगो बाल्छन् । लोकतन्त्रको जग भत्काउने शर्तमा प्रधानमन्त्री हुनुभयो ।’ संविधानभन्दा बाहिर गएर प्रधानमन्त्री बन्नको लागि कार्की २३ र २४ गते जेन–जी बनेर सडकमा उत्रिएको ओलीले टिप्पणी गरे । राष्ट्रपतिले फागुन २१ चुनाव गर्न भनेर तोकिदिएको बताए ।

‘संसद पुनर्स्थापनाको विकल्प छैन, कांग्रेस पनि यही बाटोमा उभिन्छ’
एमालेका अध्यक्ष केपी ओलीले देशलाई सही बाटोमा ल्याउन असंवैधानिक ढङ्गले विघटन गरिएको संसद् पुनर्स्थापनाको माग लिएर अघि बढ्नुको विकल्प नभएको बताएका छन् । भक्तपुरमा आयोजित कार्यक्रममा बोल्दै तत्काल संसद् विघटन फिर्ता गर्ने माग लिएर अघि बढ्ने बताए । उनले भने, ‘मलाई विश्वास छ, कांग्रेसले पनि यही बाटोमा आफूलाई उभ्याउनेछ । अरू पार्टीहरू पनि यही बाटोमा अघि बढ्छन् । देशलाई लोकतान्त्रिक बाटोमा फर्काउन अरू बाटो छैन ।’ उनले असंवैधानिक बाटोलाई समर्थन गरेर अघि बढे देश र संविधान अफ्ठेरोमा पर्ने बताए ।

राजन भट्टराईको खबरदारी : मुलुक अफगानिस्तानको बाटोमा जान सक्छ

काठमाडौं । नेकपा एमालेका स्थायी कमिटी सदस्य राजन भट्टराईले मुलुकलाई अफगानिस्तानको बाटोमा लैजाने प्रयास भइरहेको बताएका छन् । भक्तपुरको गुन्डुमा आज (बिहीबार) आयोजित कार्यक्रममा उनले २३ भदौको घटना कास्टिङ मात्रै भएको बताए । मुलुकलाई जोगाउन एमाले एकताबद्ध हुनुपर्ने उनले बताए ।

यदि पार्टीभित्र एकताबद्ध नहुने हो भने मुलुक अफगानिस्तानको बाटोमा जाने भट्टराईले बताए । ‘यो मुलुक अफगानिस्तानको बाटोमा जानेछ, सुडान र युक्रेन बन्न सक्छ,’, उनले भने । भट्टराईले पार्टी नेतृत्वविरुद्ध विपक्षीले निकालेको निष्कर्षलाई प्रश्रय दिने काम गर्न नहुने पनि बताए ।

अहिलेको सरकार बलमिच्याइँले बनेको हो, संवैधानिक छैन : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले देशको परिस्थिति असाधारण र असामान्य रहेको दाबी गरेका छन् । आज (बिहीबार) भक्तपुर जिल्ला कमिटीले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले अहिलेको सरकार संविधानअनुसार नभई बलमिच्याइँले बनेको बताए ।

‘अहिले देशको परिस्थिति असाधारण र असामान्य रहेको छ, किनभने अहिले देशमा सरकार छ, अहिलेको सरकार संविधानअनुसार बनेको छैन । बलमिच्याइँले बनेको सरकार छ । उनले थपे, ‘अहिलेका प्रधानमन्त्रीले प्रधानमन्त्री बन्नका लागि शर्त राख्नु भयो । तुरुन्तै संसद् भंग गर्ने सिफारिस गर्छु । त्यो सिफारिस लागु गर्नुपर्छ र संसद भंग गर्ने हो भने प्रधानमन्त्री हुन्छ । नत्र जेन्जीले देशमा आगो बाल्छ ।’ उनले थपे, ‘संसद भंग गर्ने पूर्व शर्त राखेर सर्वोच्च, सार्वभौम सत्ता जनताको सर्वोच्च संस्था संसद र लोकतन्त्रको जग भत्काउने शर्तमा सुशीला कार्की प्रधानमन्त्री बन्नुभयो ।’

ओलीले भने, ‘कार्कीलाई राम्ररी थाहा छ । नेपालको संविधानको व्याख्या गरेर आएको मान्छे हो । के–के व्याख्या गर्नुभयो त्यो छोडौं तर नेपालको संविधानले स्पष्ट रुपमा भन्छ । प्रधानन्यायाधीश भइसकेको व्यक्ति कुनै पनि सरकारी लाभका पदमा बस्न सक्दैन । प्रधानमन्त्री मन्त्रीको कुरा छौडौं । तर उहाँ सुरिनु भयो । त्यो सुरिन २३ र २४ गते जेनजी भनेर सडकमा उत्रनु भयो । उहाँ के कामका लागि उत्रनु भयो ? चुनाव गराउन भन्ने त राष्ट्रपतिले तोकिदिएको म्याण्डेट हो । उहाँहरुको होइन ।’ उनले प्रधानमन्त्री हुनकै लागि कार्की २४ गते दिउँसो नै सडकमा उत्रिएको बताए ।

 

सरकार ज्ञानेन्द्र शाहको जस्तो चुनाव गराउन खोज्दैछ, मान्यता पाउँदैन : शंकर पोखरेल

काठमाडौं । नेकपा एमाले महासचिव शंकर पोखरेलले सरकारले राजनीतिक दलहरुलाई साइड लगाएर असोज १८ पछि तत्कालीन राजा ज्ञानेन्द्र शाहले गरेको जस्तै चुनाव गर्न खोजेको आरोप लगाएका छन् । ‘जबरजस्ती गरिने चुनाव असोज १८ पछि पूर्व राजाले गरेको नाटक जस्तै हुन्छ’ उनले भक्तपुरमा आज (बिहीबार) आयोजित एमालेको कार्यक्रममा उनले भने,’ जबसम्म राजनीतिक वातावरण बन्दैन तबसम्म चुनाव भयो भयो त्यसले मान्यता पाउँदैन ।’

उनले चुनावका लागि सबैभन्दा पहिलो जिम्मेवारी शान्ति सुरक्षाको वातवरण बनाउनु पर्ने बताएका छन् । ‘प्रहरीले शान्ति सुरक्षाको सम्पूर्ण जिम्मा नलिँदासम्म चुनाव हुन सक्दैन’ उनले भने,’ चुनावका लागि सुरक्षा निकायको मनोबल उठाउनु पर्छ अनि दलहरु दलहरुको विश्वास जित्नुपर्छ ।’ उनले भूमिगत गिरोहलाई ल्याउन राजनीतिक दललाई साइड लगाएर ज्ञानेन्द्र शाहको जस्तो चुनाव गराउन खोज्दैछ । ‘यो सरकार चुनाव गराउन चाहन्छ भन्ने भ्रम मात्र हो’ उनले भने ।

‘केपी ओलीले नै बानेश्वरमा गएर हतियार चलाएको जस्तो कुप्रचार गरियो’
नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमालेलाई जनताको मनबाट कसैले हटाउन नसक्ने दाबी गरेका छन् । उनले षड्यन्त्रकारीहरूको षड्यन्त्रले सरकारबाट बाहिरिन परे पनि जनताको हृदयबाट कसैले हटाउन नसक्ने जिकिर गरे । उनले भने, ‘सरकारबाट हामी हट्नु पर्‍यो, तर हामीले गरेको कामको कारणले जनताको मन मस्तिष्कबाट हामी हट्न सक्दैनौं । हामी सत्य कुरा लिएर फेरि जनतामा जानेछौं । जनताको बीचमा गएर हामी राष्ट्रका बीचमा भएका षड्यन्त्रको जानकारी गराउनेछौँ ।’
उनले जनताको बीचमा गएर संविधानवादको युगतर्फ देशलाई फर्काउने बताए । उनले २३ गतेको घटनामा पार्टी अध्यक्ष केपी ओलीले नै बानेश्वरमा गएर हतियार चलाएको जस्तो कुप्रचार गरिरहेको टिप्पणी गरेका छन् ।

 

बाहिरबाट सरकार बनेको छ, चुनाव हुनेमा विश्वस्त हुन सकेका छैनौं : कृष्ण सिटौला

काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्ण सिटौलाले निर्धारित मितिमा चुनाव हुनेमा आफूहरू विश्वस्त हुन नसकेको बताएका छन् । जेन–जी आन्दोलनपछि केपी शर्मा ओलीले सत्ता छोडेर भाग्नुपरेको थियो । त्यसपछि आगामी फागुन २१ गते प्रतिनिधि सभाको चुनाव गर्ने म्यान्डेट लिएर सुशीला कार्की प्रधानमन्त्री बनेकी छन् । सरकारले चुनावको लागि स्रोत साधन जुटाएको बताइरहेको छ । निर्वाचन आयोगले चुनावी कार्यतालिका सार्वजनिक गरिसकेको छ ।

तर, बिहीबार निवासमा पुगेका कांग्रेस उपसभापति पूर्णबहादुर खड्कासहित ९ जना केन्द्रीय सदस्यसँगको छलफलमा कांग्रेस नेता सिटौलाले चुनाव हुने भरपर्दाे आधार नै नबनेको बताएका हुन् । ‘निर्वाचन हुन्छ हुँदैन निश्चित छैन । संसद् विघटन छ । बाहिरबाट सरकार बनेको छ । सुरक्षाको केही ग्यारेन्टी छैन,’ सिटौलाले भने, ‘अहिले पनि कहिँ आगलागी भयो, तोडफोड भयो भने प्रहरी आउँछ कि आउँदैन कुनै संकेत देखाएको छैन । सुरक्षा निकायले सुरक्षा दिन्छ भन्ने जनता विश्वस्त छैनन् ।’

‘महामन्त्रीद्वयको हस्ताक्षर अभियानले पार्टीलाई विभाजनसम्म पुर्‍याउन सक्छ’
नेपाली कांग्रेसका नेता कृष्ण सिटौलाले महामन्त्रीद्यवको हस्ताक्षर अभियानले पार्टीलाई विभाजनसम्म पुर्‍याउन सक्ने चेतावनी दिएका छन् । बिहीबार उपसभापति पूर्णबहादुर खड्कासहितको भेटघाटमा पूर्वमहामन्त्री सिटौलाले भने, ‘महामन्त्रीद्वयको यो हस्ताक्षर अभियानले पार्टीलाई फुट्ने स्थितिसम्म पुर्‍याइ दिन सक्छ ।’

सिटौलाले जेन–जी आन्दोलनका क्रममा पार्टी कार्यालयमा आगो लागेको स्मरण गर्दै हस्ताक्षर अभियानले पार्टी र संगठनमा पनि आगो सल्कने बताए । संगठनमा आगो लगाउने काममा सक्रिय नबन्न सबैमा उनको अपिल थियो । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले अभियानमा सहभागी हुन बारम्बार फोन गरेको जानकारी गराउँदै सिटौलाले हस्ताक्षर गर्ने र नगर्नेबीचमा समूह विभाजन हुने उल्लेख गरे । यसले आगामी निर्वाचनमा पनि धक्का लाग्नसक्ने संकेत गर्दै राष्ट्रिय सभा सदस्य समेत रहेका सिटौलाले एकजुट भएर निर्वाचनमा जाँदा अन्तर्घात हुने गरेको प्रसङ्ग उठाए ।

हस्ताक्षर अभियानले निर्वाचनमा पनि पार्टीभित्र दुई स्पष्ट धार देखिने उनको दाबी थियो । महामन्त्रीद्वय थापा र शर्माले कांग्रेसमा नेतृत्व हस्तान्तरणको विषयलाई लिएर विशेष महाधिवेशन बोलाउन मागसहित देशव्पापी हस्ताक्षार अभियान चलाइरहेका छन् । ५० प्रतिशत बढी कार्यकर्ताले हस्ताक्षर गरेको उनीहरूको दाबी छ ।

जेनजी हाम्रो परिचय होइन, पश्चिमाले थोपरिदिएको हो : शंकर पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले जेनजी नेपाली समाजको परिचय नभएको बताएका छन् । आज (बिहीबार) भक्तपुरमा आयोजित एमालेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले पश्चिमाले थोपरिदिएको परिचय भएको जिकिर गरे । ‘जेनजी हाम्रो परिचय होइन, पश्चिमाले हामीलाई थोपरिदिएको परिचय हो भन्ने बुझ्नु पर्दछ,’ पोखरेलले भने, ‘हाम्रो परम्परा, हाम्रो संस्कृति, हाम्रो समाजलाई खलबल्याएर कसरी विभाजित गर्न खोजिदै छ भन्ने कुरा पुस्ता विभाजन गर्ने पश्चिमा रणनीतिले पनि बुझाइरहेको छ ।’

समाज चलाउन सबै पुस्ताको संयोजन आवश्यक रहेको भन्दै पूर्वीय दर्शनले पनि त्यही भन्ने उनले उल्लेख गरे । ‘समाज चलाउने भनेको कुनै एउटा पुस्ताको लहडको विषय होइन, समाज चलाउने भनेको अनेक पुस्ताबीचको संयोजन हो,’ पोखरेलले भने, ‘हाम्रो पूर्वीय दर्शनले कुनै पनि समाजलाई सुव्यवस्थित गराउने हो भने चार पुस्ताको संयोजन आवश्यक हुन्छ भन्छ ।’

पोखरेलले भने, ‘२३ गतेको आन्दोलन एउटा सामाजिक सञ्जाल खुला गर्नुपर्ने र दोस्रो माग भ्रष्टाचार अन्त्य हुनुपर्ने । हाम्रो पुस्ता साइबर र सोसल मिडियामा उनीहरुको लगाब छ । तर सरकारले सामाजिक सञ्जाल बन्द गरेको थिएन । सोसल मिडिया दूरुपयोग भइरहेकाले उनीहरुलाई नेपालमा दर्ता गर्न खोजेको थियो । तर भ्रम सिर्जना गरेर युवालाई उत्तेजित बनाइयो । त्यो आन्दोलनमा पनि ३४ प्रतिशत फेक एकाउन्ट बनाएर आन्दोलनलाई उत्तेजक बनाउन भूमिका खेलेको अन्तर्राष्ट्रिय रिपोर्ट आइरहेको छ ।’

पोखरेलले नेपाल प्रहरी भीड व्यवस्थापनमा सक्षम रहे पनि २३ गते प्रहरी अधिकारी नै कसरी त्यस्तो हुन पुग्यो चकित बनेको र त्यो अवस्था सिर्जना भएको देखिएको उनले बताए । पोखरेलले १० वर्ष माओवादी आन्दोलनमा नभएको क्षति एक दिनमा भएको दाबी गरे । उनले अपराधीलाई दण्डित गर्न एमाले तयार रहेको छ ।

 

पूर्व उपकुलपति डा. संगीता भण्डारीविरुद्ध १२ करोडको भ्रष्टाचार मुद्दा

काठमाडौं । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकी पूर्व उपकुलपति डा. संगीता भण्डारीविरुद्ध १२ करोडको भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध १२ करोड रुपैयाँ भ्रष्टाचार गरेको अभियोगसहित विशेष अदालतमा मुद्दा दायर गरेको हो । उनले एमआरआई मेशिन खरिदमा घोटाला गरेको अख्तियारको अनुसन्धानले देखाएको छ ।

यस प्रकरणमा भण्डारीसहित १३ जना प्रतिवादी छन् । भण्डारी पूर्वमन्त्री शरतसिंह भण्डारीकी बहिनी पनि हुन् । उनी हाल बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्राध्यापन गर्छिन् ।
बुधबार अख्तियारले पोखराको लिचीबारी घोटाला प्रकरणमा केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारका दुई मन्त्रीहरूविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

 

महेश बस्नेतको चेतावनी : केपी ओलीलाई छोए देशभर आगो बल्ने छ

काठमाडौं । नेकपा (एमाले) का पोलिटब्युरो सदस्य महेश बस्नेतले अध्यक्ष केपी शर्मा ओलीलाई छोएमा देशभर आगो बल्ने चेतावनी दिएका छन् । आज (बिहीबार) भक्तपुरको गुण्डुमा आयोजित कार्यक्रममा बस्नेतले ओलीलाई छोए देशभर आगो बल्ने चेतावनी दिएका हुन् ।

‘केपी ओली पञ्चायतसँग र राजासँग लडेको आएको हो । अहिलेका नौटंकीले च्यालेन्ज गरेका छन्,’ बस्नेतले भने, ‘मैले हिजो पनि भनेको थिएँ, केपी ओलीलाई छोए देशभर आगो बल्ने छ ।’ एमाले अध्यक्ष एवं तत्कालीन प्रधानमन्त्री ओली, गृहमन्त्री रमेश लेखक र आफूलाई पक्राउ गर्न सरकारले योजना बनाएको भन्दै बस्नेतले एमालेसँग नजिस्किन चेतावनी दिए ।

बस्नेतले असोज २५ गते काठमाडौंमा युवा संघले प्रदर्शन गरेर एमालेको शक्ति देखाउने बताए । अहिलेको सरकारले भ्रष्टाचारीलाई कारबाही गर्ने भए कुलमान घिसिङबाट छानबिन शुरू गर्न उनले चुनौती दिए । ‘नेपालको नम्बर वान भ्रष्टाचारी कुलमानबाट छानबिन गर्नुस्, हामी छानबिनको दायरामा आउन तयार छौं,’ बस्नेतले भने । उनले पञ्चायत र राजतन्त्रविरुद्ध लडेका एमालेहरू छाती फर्काएर नहिँड्ने उल्लेख गरे । ‘तिमीहरुको एक–एक हिसाब हुन्छ’ उनले भने । अपराधीलाई कारबाही गर्न उनले गृहमन्त्रीको ध्यानकर्षण गराए ।

उनले अब एमालेले डिजीटल जेनरेसन फोर्स बनाएर देशव्यापी रुपमा उजुरी दिने त्यसको आधारमा कारबाही गर्न अनुरोध गरे । उनले भ्रष्टाचारको छानबिन गर्ने भए वर्तमान मन्त्रीहरू रामेश्वर खनाल र कुलमान घिसिङबाट सुरु गर्ने आग्रह गरेका छन् । उनले जेनजी आन्दोलनका क्रममा घरजलेका अध्यक्ष केपी शर्मा ओलीलाई गुण्डुवासीले जग्गा उपलब्ध गराउने जानकारी दिए । ‘तपाईं आउनुहोस् हामी स्थायी बसोबासका लागि जग्गा उपलब्ध गराउँछौं ।’

माइतीघरबाट १० बढी प्रदर्शनकारी पक्राउ {तस्वीरहरु}

काठमाडौं । माइतीघर मण्डलामा प्रदर्शन गर्न पुगेका १० भन्दा बढीलाई प्रहरीले पक्राउ गरेको छ । जेनजी आन्दोलनमा धोका भएको भन्दै प्रदर्शन गर्न पुगेका डा. निकोलस भुसाल, एसपी साहसहितलाई प्रहरीले बिहीबार पक्राउ गरेको हो । माइतीघर–बानेश्वर क्षेत्रमा बिहानैदेखि बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले कसैलाई पनि प्रदर्शनका लागि अनुमति नदिएको अवस्थामा उनीहरु प्रदर्शन गर्न भन्दै माइतीघर पुगेपछि पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले बताए । जेन–जीका विभिन्न समूहहरुले माइतीघरमा प्रदर्शन गर्ने भन्दै पुगेका थिए । अहिले प्रहरीले माइतीघर नयाँ बानेश्वर क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारेको छ । बाक्लो मात्रामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन भएका छन् ।
तस्वीरहरु : नेपाल फोटो लाइब्रेरी

दोलखामा पहिरोका कारण अलपत्र चार विदेशी पर्यटकको उद्धार

दोलखा । दोलाखाको बिगु गाउँपालिका–१ को लप्ची गुम्बाबाट फर्कने क्रममा फसेका चार जना विदेशी पर्यटकको आज उद्धार गरिएको छ । ध्यान तथा भ्रमणमा गएका रुसका दुई र स्वीजरल्याण्डका दुई जना पर्यटकको उद्धार गरिएको हो । चार जना पर्यटक असोज २१ गते लप्ची गुम्बाबाट काठमाडौ फर्कने क्रममा दोलखाको लामाबगरको लप्ची सडकको कच्ची बाटोमा सुख्खा पहिरो गई अलपत्र परेका हुन् । आज बिहान सुरक्षाकर्मीको संयुक्त टोलीले उद्धार गरी काठमाडौतर्फ पठाएको सशस्त्र प्रहरीका सह–प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए।

गाजाबाट प्रियजन फर्कने आशामा तेल अभिवमा खुशी र आँशुसहित बन्दीहरूका परिवार

काठमाडाैं । करिब २४ महिनादेखि इजरायलले अनिश्चितता, पीडा र निराशाको गहिरो अन्धकार सहनु परेको थियो । तर, बिहीबार बिहान मध्य तेल अभिवको ‘होस्टेज स्क्वायर’ नामक स्थलमा खुशी, आँशु र राहतको मिश्रणसहित आशाको विस्फोट भयो । समाचार सार्वजनिक हुने बित्तिकै भिडमा खुशीको चिच्याहट मच्चियो । श्याम्पेनका बोतलहरू खोलेर सेलिब्रेसन गरियो, मिठाइ बाँडियो, अनि हाँसो र आलिङ्गनसहित आँशु बगाए– गाजामा बन्दी बनाइएका इजरायली नागरिकहरूको रिहाइ नजिकिएको खबरले स्क्वायरलाई हर्ष र भावनाले भरिदियो।

बन्दीहरू मुक्त गराउने अभियानको प्रमुख अनुहार मानिएकी इना जाङ्गाउकरले आफ्नो बन्धक छोराको नाम उच्चारण गर्दै उत्साहित स्वरमा चिच्याइन्, ‘मतन घर आउँदैछ !’ हात आकाशतिर उठाउँदै उनी ‘धन्यवाद !’ भन्दै भावनामा डुबिन्, जबकि वरिपरि समर्थकहरूको भिड, बन्धकका परिवारहरू र पहिले मुक्त भएका पूर्वबन्दीहरूले चोक भरिदिएका थिए । पत्रकारहरूलाई उनले भनिन्, ‘म मेरो छोरा मतनको गन्ध लिन चाहन्छु । मेरो एउटा मात्र सपना छ, उसलाई आफ्नै ओछ्यानमा सुतिरहेको देख्ने ।’

७ अक्टोबर २०२३ मा हमासको इजरायलमाथिको आक्रमणपछि जब उनीहरूको प्रियजनहरू अपहरणमा परे, त्यतिबेलादेखि यी परिवारहरू निरन्तर संघर्षमा छन् । उनीहरूले विश्व नेताहरूसँग भेटघाट गरेका छन्, इजरायली राजनीतिज्ञहरूसँग वादविवाद गरेका छन्, अनि आफ्नो परिवारका सदस्यहरूलाई दुःस्वप्नजस्तो अवस्थाबाट मुक्त गराउने प्रतिज्ञा कहिल्यै त्यागेका छैनन् ।

तर, बिहीबार– त्यो संघर्षको दिशानिर्देशक क्षण बन्यो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र हमासबीच बाँकी रहेका बन्धकहरूको रिहाइका लागि सम्झौता भएको घोषणा गर्नासाथ स्क्वायरमा उत्साह र आशाको लहर फैलियो । इजरायली तथ्याङ्कअनुसार, सुरुमा अपहरणमा परेका २५० जनामध्ये हाल गाजामा रहेका २० जना जीवित छन् र २८ जनाको मृत्यु भइसकेको छ ।

७ अक्टोबरको भयावह बिहानदेखि बन्धक परिवारहरूले प्रत्येक दिन, घण्टा र सेकेन्ड गन्दै बिताएका थिए । स्क्वायरमा राखिएको ‘काउन्टडाउन’ घडीले ती पीडाका क्षणहरू गन्दै आएको थियो । तर, आज ती सेकेन्डहरू अब स्वतन्त्रताको नजिक धकेलिँदै थिए, समयले बन्धकहरूको घरफिर्तीको आहट सुनाइरहेको थियो । रेबेका बोबोटले इन्स्टाग्राममा लेखिन्, ‘दुई वर्षदेखि म आफ्ना प्रियजनको जीवनका लागि लड्दै आएकी छु । यो त्यो क्षण हो– जब एउटा सानो केटाले आफ्ना बुबालाई अँगालोमा बेर्छ, जब मेरो परिवार फेरि जीवित हुन्छ ।’ उनका पति एल्काना ७ अक्टोबरमा बन्धक बनाइएका थिए ।

उत्सवको केन्द्रविन्दु राष्ट्रपति ट्रम्प नै बनेका थिए । धेरै इजरायली र बन्धक परिवारहरूले प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई सम्झौतामा सहमत गराउन ट्रम्पको दबाब र मध्यस्थतालाई श्रेय दिए । स्क्वायरमा केही व्यक्तिहरू ट्रम्पको पोशाकमा सजिएका थिए, अमेरिकी झण्डा फहराइरहेका थिए, अनि भिडले ‘धन्यवाद, ट्रम्प !’ भन्दै नारा लगाउँदै उनलाई नोबेल शान्ति पुरस्कारको योग्य ठहर गरे ।

तर, सबैभन्दा गहिरो कुरा– ७ अक्टोबर २०२३ पछि इजरायलमा फैलिएको उदासी र पीडाको वातावरणलाई पहिलोपटक आशाले प्रतिस्थापन गरेको देखियो । होस्टेज स्क्वायरमा लामो समयपछि जीवन र मुस्कान फर्किएको थियो । त्यो दिनको अन्धकार अझै स्मृतिमा बाँकी भए पनि आजको रातमा इजरायलीहरूका आँखामा उज्यालो देखिन्थ्यो । युद्धको प्रारम्भमा मुक्त भएका पूर्व बन्धक ओमर वेन्कर्टले सम्झौताको समाचार सुनेपछि भावनात्मक स्वरमा भने, ‘मलाई टाउकोदेखि खुट्टासम्म चिसो महसुस भइरहेको छ । म कल्पना पनि गर्न सक्दिनँ, हामी एक राष्ट्रका रूपमा कति गहिरो खुसी महसुस गर्न सक्षम हुनेछौँ ।’