`

झाँक्री र श्रेष्ठबारे ओली : कुर्सी होइन, गन्तव्यका लागि फर्किनु भएको हो

Nepal One HD २४ कार्तिक २०८२ १८:१२
नेकपा एमाले

काठमाडौं । निवर्तमान प्रधानमन्त्री समेत रहेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले रामकुमारी झाँकी, किसान श्रेष्ठलगायत नेताहरू पार्टीमा फर्किए पनि उनीहरूले कुनै पद वा सुविधा नचाहेको स्पष्ट पारेका छन् । राष्ट्रिय सभा गृहमा सोमबार आयोजित ‘एमालेको घर फर्क राष्ट्रिय अभियान घोषणा सभा’ लाई सम्बोधन गर्दै ओलीले आफूले पनि उनीहरूलाई कुनै आश्वासन नदिएको र उनीहरू स्वेच्छाले, आफ्नो अनुभवका आधारमा फर्किएको बताएका हुन्।

‘हामीले आह्वान गरेका हौँ, तर फकाएर ल्याएका होइनौँ,’ ओलीले भने, ‘हामीले केही दिन्छु भनेका छैनौँ, उहाँहरूले पनि केही माग्नु भएको छैन । उहाँहरूले भनेका छन्–कुर्सी नभए चकटीमा बसौँला, चकटी नभए भुँइमै बसौँला । गन्तव्य ठूलो छ, त्यसकै लागि आएका हौं।’ ओलीले पार्टीलाई ‘राष्ट्रिय शक्ति’ बनाउने अभियानमा फर्किएका नेताहरूको योगदान महत्वपूर्ण हुने विश्वास व्यक्त गरे । उनका अनुसार रामकुमारी, किसान र अन्य नेता पदका लागि होइन, विचार र राष्ट्रिय गन्तव्यका लागि फर्किएका हुन् ।

त्यसै अवसरमा ओलीले पार्टी सानो चित्त भएको भन्ने आलोचनालाई पनि अस्वीकार गरे । उनले भने, ‘नेकपा एमाले सानो चित्त र सानो दिल भएको हल्ला चलाइन्छ । तर यो देशकै सबैभन्दा ठूलो जनमत पाएको, सबैभन्दा धेरै कार्यकर्ता भएको पार्टी हो । यहाँ कोही पनि खाँदाखाँद गरेर बस्नुपर्ने छैन, फराकिलो ठाउँ छ, सबैले मज्जाले काम गर्न सक्छन् ।’

प्रचण्ड र माधव नेपाललाई लक्षित गर्दै ओलीले व्यङ्ग्यात्मक ढङ्गले भने, ‘अब त उहाँहरूले ज्येष्ठ नागरिक आश्रम नै बनाइसक्नु भयो । बागलुङ–प्युठानतिरका केही बाँकी छन्, ती पनि समेट्नु भयो भने कोष पूरा हुन्छ ।’ भीम रावलतर्फ संकेत गर्दै उनले थपे, ‘छैटौँ वरीयता पाएपछि कुद्न थालेको देखियो ।’ ओलीले अन्त्यमा भने, ‘एमालेमा फर्किनेहरूका लागि कुर्सी होइन, देश र विचारको माया प्रमुख कारण हो । यही भावना पार्टीले कदर गर्छ ।’

‘जेनजी आन्दोलन कुनै क्रान्ति होइन, उपद्रव हो’
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलन कुनै क्रान्ति नभएको भन्दै उपद्रवको संज्ञा दिएका छन् । ‘जेनजी आन्दोलनमा जसरी आगो लगाइयो, यो राजनीति होइन । यो समाज परिवर्तनका लागिको आन्दोलन होइन,’ ओलीले भने, ‘यो कसैले सिकाएर गरिएको एकदमै योजनाबद्ध, गुगल माप हेरिकन, खल्ती खल्तीमा म्याप बोकेर, हात हातमा हतियार र विस्फोटक चिज बोकेर हिँडेका मान्छेको योजनाबद्ध क्रियाकलाप हो । यो कुनै क्रान्ति होइन । विश्वमा यस्तो क्रान्ति कहीँ हुँदैन । यो उपद्रव हो ।’ उनले क्रान्ति भन्ने कुरा सकारात्मक नतिजा दिनेगरी हुनुपर्ने बताउँदै २३ र २४ गते के प्रगति भयो ? भन्दै प्रश्न गरे । ‘क्रान्ति भनेको त गरिराख्नु पर्छ । क्रान्ति भनेको राम्रो कुरा हो । सकारात्मक नतिजा दिन्छ समाजलाई । २३ र २४ गते हामीले त्यो प्रगति पायौं ?,’ उनले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *