`

विवेकशील साझाकाे प्रथम महाधिवेसन सुरू

काठमाडाैं – विवेकशील साझा पार्टीकाे प्रथम महाधिवेसन  काठमाडाैंमा सुरू भएकाे छ। लामाे समयदेखि छिन्न भिन्न अवस्थामा रहेकाे साे पार्टीकाे प्रथम महाधिवेसन आजबाट सुरू भएकाे हाे।

काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा शुक्रबारबाट सुरू भएकाे साे महाधिवेसनकाे नयाँ नेतृत्वका लागि सो पार्टीका केन्द्रीय नेताहरु समीक्षा बाँस्कोटा, प्रकाशचन्द परियार र मिलन पाण्डेले आकांक्षा व्यक्त गरेका हुन् । तीनै जनालाई भावी अध्यक्षका लागि महाधिवेशन प्रतिनिधिसँग मत माग्ने कार्य सुरु समेत गरिसकेका छन् ।

 
पार्टी केन्द्रिय नेता केशव दाहालको नेतृत्वमा पाँच सदस्यीय निर्वाचन समिति गठन गरेकाे विवेकशीलले महाधिवेसनमा दाहालले राजनीतिक दस्तावेज पेस गर्नेछन भने प्रस्तावित विधान भने रमेश पौडेल पेस गर्ने मिलन पाण्डेले जानकारी दिए ।

 उनका अनुसार महाधिवेशनपछि विवेकशील बहुपदीय प्रणालीमा जानेछ  । 

महाधिवेशनमा देशभरबाट करिब एक हजार जना महाधिवेशन प्रतिनिधि सहभागी छन्।
 
शनिबारसम्म चल्ने महाधिवेशनले नयाँ नेतृत्वसमेत चयन गर्नेछ । महाधिवेशनले अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव, काेषाध्यक्षलगायत बहुपदीय संरचना निर्माण गरनेछ ।

१ हजार ३ सय रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौँ – नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ। 

सुनको मूल्य आज प्रतितोला १ हजार ३ सय रुपैयाँ घटेको हो। अघिल्लो कारोबार दिन बिहीबार सुन प्रतितोला एक सय रुपैयाँ बढेको थियो 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ३ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि बिहीबार छापावाल सुन प्रतितोला १ लाख ४ हजार ९ सय रुपैयाँमा खरिद बिक्री भएको थियो । 

आज तेजाबी सुन प्रतितोला १ लाख ३ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन तेजाबी सुन प्रतितोला १ लाख ४ हजार ४सय रुपैयाँमा कारोबार भएको थियो।  

त्यसैगरी, आज चाँदीको मूल्य पनि घटेको छ।   

अघिल्लो दिनको तुलनामा चाँदी प्रतितोला ३० रुपैयाँ घटेको हो । आज चाँदी प्रतितोला १ हजार २ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ भने बिहीबार चाँदी प्रतितोला १३ सय २० रुपैयाँमा कारोबार भएको थियो। 

उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बालुवाटारमा जारी

काठमाडौं – नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली नेतृत्वको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ ।  शुक्रवार बिहान ९:३० बजेबाट बैठक सुरु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

बैठकमा नागरिक उन्मुक्ति पार्टी बाहेक संयन्त्रका अन्य दलहरूको सहभागिता रहेकाे प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्यकिरण शर्माले जानकारी दिनुभयो । नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले भने बैठकबारे आफूलाई जानकारी नभएको बताउनुभयो । 

सत्तारुढ गठबन्धनको एक घटक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारबाट बाहिरिइसकेको छ । यद्यपि सो दलले सरकारलाई समर्थन कायमै राखेको छ । सरकारबाट बाहिरिनुअघि राष्ट्रिय स्वतन्त्र पार्टीले संयन्त्रको बैठक राख्न माग गरे पनि बैठक बस्न सकेको थिएन । रास्वपा सरकारबाट बाहिरिएपछि पहिलोपल्ट संयन्त्रको बैठक बसेको छ यसलाई सबैले चासोपूर्वक हेरेका छन् । 

राजनीतिक संयन्त्रको बैठक शुक्रबार बिहान

काठमाडौं  – सत्तारुढ उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक शुक्रबार बिहान बस्ने भएको छ । 

बिहीबार अपरान्हका लागि बोलाइएको संयन्त्रको बैठक शुक्रबार बिहान बस्ने गरी स्थगित गरिएको हो ।

संयन्त्रको बैठक शुक्रबार बिहान ९ बजे बस्ने संयन्त्रका संयोजक तथा एमाले अध्यक्ष केपी शर्मा ओलीका स्वकीय सचिव राजेश बज्राचार्यले जानकारी दिए । 

बिहीबार संयन्त्रको बैठक बस्ने समयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच छलफल छ । 

सुदूरपश्चिम प्रदेश सभा बैठकमा नागरिक उन्मुक्ति अनुपस्थित

काठमाडौं – मुख्यमन्त्री राजेन्द्र सिंह रावलले विश्वासको मत लिने प्रयोजनका लागि आह्वान गरिएको सुदूरपश्चिम प्रदेश सभाको बैठक सुरु भएको छ ।

बैठकमा नागरिक उन्मुक्ति पार्टीका सांसद उपस्थित छैनन् । उन्मुक्तिले मुख्यमन्त्री रावललाई विश्वासको मत नदिने निर्णय गरेको छ ।

नागरिक उन्मुक्ति पार्टीले साथ नदिँदा मुख्यमन्त्री रावलले विश्वासको मत पाउन कठिन छ । प्रदेश सभामा एमाले १०, माओवादी केन्द्र (सभामुख बाहेक) १० र राप्रपा १ गरी  केवल २१ मत छ। जुन आवश्यक मत २७ भन्दा ६ मतले कम हो । ७ मत रहेको नागरिक उन्मुक्ति पार्टी निर्णायक देखिन्छ ।

पुस २७ गते मुख्यमन्त्री नियुक्त भएका रावलले माओवादी केन्द्र (११), एमाले (१०), नागरिक उन्मुक्ति पार्टी (७) र राप्रपा (१) को समर्थनसहित मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए । दाबी पेश गर्दा उनलाई २९ सांसदको समर्थन थियो ।

राष्ट्रपति भण्डारीले शुक्रबार सङ्घीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार सङ्घीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्नुहुने भएको छ । राष्ट्रपतिको सम्बोधनका लागि सङ्घीय संसद् सचिवालयले आवश्यक तयारी गरिसकेको छ ।

शुक्रबार अपराह्न ३ बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा राष्ट्रपतिले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । राष्ट्रपतिले गर्नुभएको सम्बोधनप्रति प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभा र राष्ट्रियसभामा छुट्टाछुट्टै टेबल गर्नुहुनेछ ।

त्यसपछि दुवै सदनले धन्यवादको प्रस्ताव पारित गर्ने सङ्घीय संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले जानकारी दिनुभयो । नेपालको संविधानको धारा ९५ बमोजिम यही माघ २७ गते तीन बजे सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्नुहुनेछ ।

संविधानको धारा ९५ मा राष्ट्रपतिले सङ्घीय संसद्को कुनै सदनको बैठक वा दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न र त्यसका लागि सदस्यको उपस्थिति आह्वान गर्न सक्नेछ भन्ने व्यवस्था छ । यस्तै सोही धाराको उपधारा २ मा ‘राष्ट्रपतिले प्रतिनिधिसभाको निर्वाचनपछिको पहिलो अधिवेशन र प्रत्येक वर्षको पहिलो अधिवेशन प्रारम्भ भएपछि सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्नेछ’ भन्ने प्रावधान छ ।

गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको निर्वाचनपछि गठन भएको प्रतिनिधिसभाको पहिलो अधिवेशन हाल जारी छ । पहिलो अधिवेशन भएकाले राष्ट्रपतिले सम्बोधन गर्न लाग्नुभएको हो । यस्तै राष्ट्रपति भण्डारीले शनिबार अपराह्न ३ बजे नवनिर्वाचित सांसदहरूको सम्मानमा राष्ट्रपति कार्यालय शीतलनिवासमा चियापानको आयोजना गर्नुभएको छ ।

उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक स्थगित

काठमाडौं – आज बस्ने भनिएको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक स्थगित भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने भनिएको राजनीतिक संयन्त्रको बैठक स्थगित भएको हो । सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा भने पुष्पकमल दाहाल र नेकपा एमाले अध्यक्ष केपी ओलीबीच छलफल भने जारी छ ।

सरकारलाई सघाउन भन्दै एमाले अध्यक्ष ओलीको संयोजकत्वमा उच्चस्तरीय राजनीतिक संयन्त्र बनाइएको थियो । प्रधानमन्त्री दाहाल र एमालेका अध्यक्ष ओलीबीच राष्ट्रपतिको निर्वाचन र उम्मेदवार चयन प्रक्रियामा अविश्वास बढ्दै जाँदा आज संयन्त्रको बैठक बोलाइएको थियो ।

बैठकमा फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचन र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकार छाडेपछि रिक्त मन्त्रालयबारे छलफल हुने तय थियो ।

दाहाल-ओलीबीच बुधबार भएको छलफलमा आज (बिहीबार) संयन्त्रको बैठक बस्ने सहमति भए पनि अन्तिम समयमा आएर स्थगित गरिएको हो ।

यसअघि गठबन्धन सम्बद्ध अन्य दलले संयन्त्रको बैठक राख्न आग्रह गरे पनि प्रधानमन्त्री दाहालले इच्छा देखाएका थिएनन् ।

संविधानमा भएको व्यवस्था लागू नगरी संविधानलाई दोष दिनु हुँदैन : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधानमा भएको व्यवस्था लागू नगरी संविधानलाई दोष दिन नहुने बताउनुभएको छ ।

बिहीबार सिंहदरबारमा निर्वाचन प्रणाली र प्रक्रिया सुधारबारे निर्वाचन आयोग र नीति अध्ययन प्रतिष्ठानबाट आयोजित अध्ययनको प्रारम्भिक निष्कर्ष प्रस्तुतीकरण कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले संविधानले भनेको कुरा पहिला लागू गर्दै त्यसको नतिजाका बारेमा समीक्षा गर्नुपर्ने बताउनुभएको हो । संविधान कार्यान्वयनका लागि अपरिहार्य ऐनहरू बनाउन जरुरी रहेकाले संविधानको पूर्ण कार्यान्वयनपछि मात्रै संविधानमा भएका त्रुटिहरूका विषयमा निष्कर्षमा पुग्न सकिने उहाँले बताउनुभयो ।

बैठकमा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरूले मुलुकको शासकीय स्वरूप, निर्वाचन प्रणालीका विषयमा धारणा राखेको लोसपाका नेता केशव झाले जानकारी दिनुभयो । उहाँले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखका विषयमा माओवादी, एमाले र काँग्रेसको फरक मत आएको जानकारी दिनुभयो । विदेशमा रहेका नेपालीहरूको मताधिकार, राइट टु रिजेक्ट, राइट टु रिकल लगायतका विषयमा पनि छलफल भएको उहाँले बताउनुभयो ।

एक जना व्यक्तिलाई दुई पटक भन्दा बढी सांसद, मन्त्री बन्न नदिने लगायतका विषयमा पनि दलहरूले आ–आफ्नै बिचार राखेको झाले बताउनुभयो । प्रधानमन्त्री लगायत सबै दलहरूले राखेका सुझावहरूलाई निर्वाचन आयोगले संविधानमा नै भएको प्रावधान अनुसार समेट्न सकिने जवाफ दिएको लोसपा नेता झाले जानकारी दिनुभयो ।

धोविखोलामा लुटपाटको उद्देश्यले पुरुषको हत्या, एक युवक पक्राउ

काठमाडौँ – काठमाडौँको धोविखोला करिडोर अन्तर्गत रुद्रनगर शान्तिमार्गमा एक व्यक्तिलाई लुटपाट गरी हत्या गर्ने एक जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँले बिहीबार पत्रकार सम्मेलन गर्दै माघ २४ गते बिहान रुद्रनगर शान्तिमार्गमा एक व्यक्तिको शव फेला परेको सूचना प्राप्त भएको र अनुसन्धान गर्ने क्रममा मोरङ सुन्दरहरैचा घर भएका राम बहादुर थापाले एक दिन अगाडी लुटपाट गरी पर्सा घर भई टोखा बस्ने ध्रुव बहादुर खड्काको हत्या गरेको खुलेको जनाएको हो ।

पक्राउ परेका राम बहादुर थापाले बतिसपुतलीबाट ट्याक्सीमा राखी एकान्त स्थानमा लगी लुटपाट गर्दै कुटपिट गरी हत्या गरेको खुल्न आएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी दान बहादुर कार्कीले जानकारी दिनुभयो ।

प्रहरीले अनुसन्धान गर्दा पक्राउ परेका थापाले खड्कालाई कुटपिट गरी सामान लिएर सख्त घाइते बनाएका थिए, सोही राती १० बजे पुन थापा साईकल चढी उक्त स्थानमा पुगी दुवै खुट्टाले छातीमा हानेर खड्काको हत्या गरेको सिसि क्यामेरा फुटेजबाट देखिएको कार्कीले बताउनुभयो ।

पक्राउ परेका थापालाई काठमाडौँ जिल्ला अदालतबाट ५ दिनको म्यान लिएर ज्यान सम्बन्धी मुद्धामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । त्यस्तै जिल्ला प्रहरी परिसर काठमाडौँले नक्कली कागजात बनाई किर्ते गरेको आरोपमा तेह्रथुम म्याङलुङ १ घर भई काठमाडौँको माछापोखरी बस्ने सोनाम नेपाललाई पक्राउ गरेको छ । काठमाडौँको बसन्तनगरमा सञ्चालन भएको युनाइटेड इन्टरप्राइजेज एण्ड ट्रेनिङ सेन्टरमा छापा मार्दा विभिन्न सङ्घ संस्थाहरूका लेटरप्याड र छापहरू फेला पारिएको र नेपाललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

एमालेको केन्द्रीय सचिवालय बैठक पार्टी कार्यालयमा सुरु

काठमाडौँ – नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक सुरु भएको छ।


बिहिबार पार्टी कार्यालय च्यासलमा बैठक सुरु भएको एमालेका एक नेताले जानकारी दिए ।


उनका अनुसार आज बसेको बैठकमा राष्ट्रपति निर्वाचन, गठबन्धनमा पछिल्लो समय आएका खटपट, सुदूरपश्चिम प्रदेश सरकार, रिक्त रहेको ५ मन्त्रालयलगायतको विषयमा छलफल हुने छ।

त्यस्तै सुदूरपश्चिम सरकार र उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकका विषयमा केन्द्रित छ।

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक पनि आजै बस्दैछ। दिउँसो ३ बजे बस्ने यो बैठकको एजेन्डाबारे पनि एमाले बैठकमा छलफल हुँदैछ।

सुदूरपश्चिम प्रदेशसभाको बैठक ५ बजेसम्मका लागि सर्‍यो, भोट हाल्नु पर्ने नाउपाका सात सांसद काठमाडौंमै

काठमाडौँ – सुदूरपश्चिम प्रदेश सभाको बैठक दिउँसो ५ बजेसम्मका लागि सरेको छ। मुख्यमन्त्रीले विश्वासको मत लिनका लागि बिहीबार १ बजेका लागि बैठक बोलाइएको थियो । तर नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत दिने निश्चय अझै नगरेकाले बैठकको समय सारिएको हो ।

मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मत लिने अन्तिम दिन आजसम्म नाउपाले मत दिने वा नदिने निर्णय गर्न सकेको छैन ।
मुख्यमन्त्री रावलले विश्वासको मत लिन नसकेमा उनी पदमुक्त हुनेछन् । तर विश्वासको मत दिने नाउपाका ७ सांसद नै केन्द्रीय राजधानी काठमाडौंमा छन् ।

डिल्लीबजार कारागारमा उनीहरूसहित अध्यक्ष रञ्जिता श्रेष्ठ र पार्टीका सरंक्षक रेशम चौधरीबीच छलफल भएपनि निर्णय गर्न सकेका छैनन् । उनीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग बैठक बसेपछि मात्रै निर्णय गर्ने बताएका छन् ।

पार्टीका संघीय सांसद लालवीर चौधरीले दुई नेतासँगको बैठकपछि मात्रै विश्वासको मत दिने/नदिने निर्णय हुने बताए । उनले प्रदेशका सातै जना सांसद काठमाडौंमा रहेको पनि जानकारी दिए ।

मुख्यमन्त्री रावलले विश्वासको मत नपाए प्रदेश सभाको ठूलो दल कांग्रेसले सरकार बनाउने बाटो खुल्ने छ । कांग्रेसका १९ सांसद छन् । यस्तै माओवादीका ११, एमालेका १०, नागरिक उन्मुक्तिका ७, एकीकृत समाजवादीका ५ र राप्रपाका १ सांसद छन् ।

उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकको समय तोकियो

काठमाडौं / सत्तारुढ दलहरुको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकको समय तोकिएको छ । बिहीबारका लागि बैठक बोलाइए पनि समय नतोकिँदा अन्योल भइरहेको थियो ।

तर, बिहीबार अपरान्ह ३ बजे संयन्त्रको बैठक बस्नेगरी समय तोकिएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचचण्डका सञ्चारविज्ञ मनहरि तिमिल्सिनाले जानकारी दिए  ।

बुधबार प्रधानमन्त्री प्रचण्ड र प्रमुख सत्तासाझेदार दल एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भएको भेटमा बिहीबार उच्चस्तरीय संयन्त्रको बैठक बस्ने तय भएको थियो । 

संयन्त्रको बैठकमा राष्ट्रपतिको पद उम्मेदवारलगायतका राजनीतिक तथा समसामयिक विषयमा छलफल हुनेछ । 
 

त्रिशुली जलविद्युत्‌को जीर्णोद्धार तथा आधुनिकीकरण गरिँदै

काठमाडौं – नेपाल विद्युत प्राधिकरणले नुवाकोटको बिदुर नगरपालिका–९ त्रिशूली बजारस्थित २४ मेगावाटको त्रिशूली जलविद्युत् केन्द्रकोजीर्णोद्धार तथा आधुनिकीकरण सुरु गरेको छ ।

२०२३ सालबाट सञ्चालनमा रहेको विद्युत्गृहका उपकरणहरु पुरानो तथा जीर्ण बनेका र माटो, बालुवा भरिएर जलाशय चउरमा परिणत भएपछि त्यसको जीर्णोद्धार तथा आधुनिकीकरण सुरु गरिएको छ । 

करिब ७५ करोड रुपैयाँ अनुमानित लागत रहेको जीर्णोद्धार तथा आधुनिकीकरण परियोजनामार्फत, विद्युत्गृहको नियन्त्रण कक्षमा रहेका इलेक्ट्रोमेकानिकल उपकरणहरुलाई आधुनिक तथा स्वचालित बनाइने छ ।करिब चार सय रोपनी जग्गामा फैलिएको जलाशयमा थुप्रिएको माटो, बालुवालाई हटाएर त्यसको पुनस्र्थापनाको काम सुरु गरिएको छ । 

साथै, जलाशयको दायाँकिनारतर्फबाट ५० क्युमेक पानी बहाव क्षमताको एक हजार दुई सय मिटर लम्बाइ भएको नयाँ बाइपास नहर निर्माण गरिएको छ । अहिले यही बाइपास नहरमार्फत विद्युत् उत्पादन भइरहेको छ । नहर सञ्चालनमा रहेकोले विद्युत् उत्पादन बन्द नगरी जलाशयमा भरिहेको माटो, बालुवा निकाल्ने काम जारी छ । 

गत वैशाखबाट सुरु भएको जलाशयको पुनस्र्थापना यही फागुनभित्रमा सक्ने लक्ष्यका साथ काम भइरहेको छ । विद्युत्गृहलाई स्वचालित बनाउने काम भने एक वर्षभित्रमा सम्पन्न हुने छ । यसका लागि ठेक्का सम्झौता भई केही उपकरणहरु उत्पादनको क्रममा रहेका छन् भने पावर ट्रान्सफर्मरलगायतका उपकरणहरु केन्द्रस्थलमा आपूर्ति भइसकेको छ । 

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, उपकार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठ सम्मिलित उच्चस्तरीय टोलीले पुनस्र्थापना कार्यको अनुगमन भ्रमण गरी तोकिएको समयमा सम्पूर्ण काम सक्न निर्देशन दिएको छ । 

जलाशयको पुनस्र्थापना भएपछि विद्युत्गृहलाई विद्युत्को माग बढी हुने समय (पिक)मा दैनिक रुपमा चार घण्टा पूर्ण क्षमतामा चलाउन सकिने छ । हिउँदमा पिकिङको लागि पाइपास नहरबाट र जलाशयमा सञ्चित गरिएको पानी प्रयोग गरी विद्युत् उत्पादन गर्न सकिनेछ । 

वर्षायाममा जलाशयलाई प्रयोगमा नल्याइने, खहरे खोलाहरुबाट आउने लेदोलगायतलाई रोक्न संरचना निर्माण गरिएको हुँदा विगतमा जस्तो बालुवा,माटो भरिन नपाउने उल्लेख गर्दै केन्द्र प्रमुख बाबुराजा महर्जनले यसले गर्दा जलाशयको सञ्चित क्षमता गुम्न नपाउने बताए । 

बिदुर नगरपालिकाले जलाशय वरिपरि पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न गुरुयोजना तयार गरेको छ ।जलाशयमा डुंगा चलाउने, खाली जग्गामा पैदलमार्ग तथा बँगैचा निर्माण गर्नेलगायतका योजना नगरपालिकाको छ । 

भारतीय अनुदानमा त्रिशूली जलविद्युत् आयोजनाको निर्माण गरिएको हो । अर्धजलाशययुक्त त्रिशूली जलविद्युत् केन्द्रबाट वार्षिक रुपमा १६ करोड ३० लाख युनिट विद्युत् उत्पादन हुने गरी डिजाइन गरिएको छ । गत आर्थिक वर्ष (आव) २०७८/७९मा विद्युत्गृहबाट १३ करोड ७१ लाख युनिट विद्युत् उत्पादन भएको थियो । गत आवसम्ममा केन्द्रबाट ५ अर्ब ६९ करोड ३९ लाख युनिट विद्युत् उत्पादन भएको छ । 

भारतीय रुपैयाँ १४ करोड सहयोगमा निर्माण भएको केन्द्रको सुरुको क्षमता २१ मेगावाट थियो । पछि यसको पुनस्र्थापनामार्फत क्षमता विस्तार गरी २४ मेगावाट पुर्याइएको हो । त्रिशूली जलविद्युत् केन्द्रको  क्यास्केडको रुपमा १५ मेगावाटको देवीघाट जलविद्युत् केन्द्र पनि सञ्चालित छ ।  
 

विमानस्थलको सेवा क्रमिकरूपमा सुधारले म आंशिक सन्तुष्ट छु : पर्यटनमन्त्री

काठमाडौँ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सेवा क्रमिकरूपमा सुधार भएको बताएका छन् ।

बिहिबार बिहान अन्तर्राष्ट्रिय विमानस्थलको तेस्रोपटक अनुगमन गर्दै यस्तो बताएका हुन् । उनले विमानस्थलको तुलनात्मक सुधारले आफूलाई थोरै भए पनि खुसी मिलेको बताए ।
उनले भने, “यो नै पूर्ण सुधार होइन । तर क्रमिकरुपमा सुधार भइरहेको छ । यसबाट म आंशिक सन्तुष्ट छु । २४सै घण्टा खटेर विमानस्थललाई सुन्दर बनाउने ब्यूटीसियनलाई विशेष धन्यवाद छ ।”

आज बिहानै विमानस्थल पुगेका मन्त्री किराँतीले विमानस्थलको सबै सेवाको सुधारबारे स्थलगत अनुगमन गरे । विमानस्थलको शौचालयमा म्युजिक जडान गरिनु, गुनासोका लागि क्यूआर कोड सञ्चालनमा ल्याइनुले सेवाग्राहीलाई थोरबहुत सहज बनाउने अपेक्षा उनको छ । हरेक ३० मिनेटमा शौचालय अनुगमनको व्यवस्थासमेत गरिएको छ । सेवाग्राहीको सहजता नै आफ्नो पहिलो प्राथमिकता रहेको उल्लेख गर्दै मन्त्री किराँतीले यो सुधारले आफूलाई नभएर सेवाग्राहीलाई सन्तुष्ट बनाउने विश्वास व्यक्त गरे।

“तपाईहरूको मेहनत र परिश्रमले सेवाग्राहीलाई सहज वातावरण बनाउनेदेखि हाम्रो विमानस्थलप्रति उहाँहरूलाई अपनत्व पनि महसुस गराउनेछ”, उनले भने ।

विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार मन्त्री किराँतीले पाँच सय ट्रलीको मूल्यङ्कन गरी आर्थिक प्रस्तावनासमेत तयार गर्न निर्देशन दिएका छन् । सरसफाइका साथै स्तरीय यात्रुसेवा सुविधा दिन विमानस्थलका पदाधिकारीलाई उनले आग्रह गरे । मन्त्री किराँतीले तुलनात्मकरूपमा सुधार भएकामा विमानस्थलको टोलीलाई धन्यवाद दिदैँ बाँकी काम चाँडो टुङ्ग्याउन आग्रह गरेको प्रवक्ता सिटौलाले जानकारी दिए।

सर्वोच्चद्वारा कांग्रेसलाई प्रतिपक्षी दलको मान्यता दिनुको कारण माग

काठमाडौं – सर्वोच्च अदालतले नेपाली कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवालाई प्रमुख प्रतिपक्षी दलको मान्यता दिनुको कारण संघीय संसद सचिवालयसँग माग गरेको छ ।

देउवालाई विपक्षी दलको मान्यता दिने संघीय संसद सचिवालयको निर्णयविरुद्ध अधिवक्ता विमल पोखरेलले सर्वोच्च अदालतमा रिट दायर गर्नुभएकाे थियाे । 

सो रिटमा बुधबार न्यायाधीश सुष्मालता माथेमाको इजलासले रिट निवेदनमा विपक्षी बनाइएका सभामुख देवराज घिमिरे, संघीय संसद सचिवालय, नेपाली कांग्रेसको संसदीय दल, नेता शेरबहादुर देउवा र संवैधानिक परिषदलाई लिखित जवाफ पेश गर्न आदेश दिएको हो ।

अधिवक्ता पोखरेलले प्रधानमन्त्रीलाई विश्वासको मत दिएको दल प्रमुख प्रतिपक्षी हुन नसक्ने दावी गर्नुभएकाे थियेा । 

माओवादी केन्द्रसहित कम्युनिष्टमा वैचारिक संकट : नारायणकाजी श्रेष्ठ

महोत्तरी – भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले आफलू मन्त्री बनेदेखी नै सम्बन्धित् क्षेत्रमा सुशासन स्थापित गर्न लागिपरेको बताएका छन्  ।

महोत्तरीस्थित बर्दिबासमा आयोजित एक कार्यक्रममा मन्त्री श्रेष्ठले विकासको मुख्य मेरूदण्डको रुपमा रहेको सुशासन स्थापित गर्न आफू लागिपरेको बताएका हुन् । 

यातायात र भौतिक पूर्वाधारको क्षेत्रमा चरम बेथिति रहेको स्वीकार्दै उनले सुशासन स्थापनासँगै यसको सावधान हुनेमा विश्वास व्यक्त गरे । नेपालमा वैचारिक र सांस्कृतिक अवस्था स्खलित भएको हुनाले कम्युनिष्टहरू उपभोक्तावादको शिकार भएको उनले बताए । 

माओवादी केन्द्रमासमेत वैैचारिक संकट रहेको स्वीकार गर्दै माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्षसमेत रहेका श्रेष्ठले भने, ‘ कम्युनिष्ट आन्दोलनलाइ जीवन्त बनाइराख्न रुपान्तरण गर्दै पुनःगठनको प्रक्रियामा लैजानुपर्छ ।’ 

वैचारिक र सांस्कृतिक अवस्थालाई मध्यनजर गर्दै मन्त्री श्रेष्ठले कम्युनिष्टहरूमा एकताको आवश्यकता औँल्याए ।

हिन्दु धर्म मास्न योजनाबद्ध काम भए,जनसंघर्ष गरौं: कमल थापा

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले सनातन धर्म संस्कृतीलाई योजनाबद्ध रुपमा कमजोर बनाउन र मास्न खोजिएकोले अब सबै जागेर  परम्परा र पहिचानको संरक्षणको निमित्त जनसंघर्ष गर्नुपर्नेमा जोड दिनुभएकाे छ ।  

आज पार्टीको भक्तपुर जिल्ला समितीद्वारा आयोजित कार्यक्रममा बोल्दै  थापाले योजनाबद्ध र संगठित रुपमा लोभलालच, भ्रम र डर त्रास देखाएर धर्म परिबर्तन गरिएकोमा तिब्र आक्रोशसमेत पोख्नुभएकाे छ । 

‘किराँत धर्म अल्पमतमा परेको छ, अब बिस्तारै बुद्ध धर्म मान्नेहरु अल्पमतमा पर्ने छन् ,यो सामान्य बिषय होइन,’ अध्यक्ष थापाले भन्नुभयाे । यहि रफ्तारमा धर्म परिबर्तनको डढेलो बढ्दै गएमा हाम्रो गौरबशाली संस्कृति र पहिचान नष्ट हुने तर्फ चिन्ता ब्यक्त गर्दै थापाले चुप लागेर बसेमा हामी दिन प्रतिदिन कमजोर हुने भएकोले नयाँ पुस्ताले प्रतिबाद गर्नुपर्ने आबश्यकतामा जोड दिनुभयाे ।

‘हाम्रो कुनै धर्म प्रती बैमनश्यता ,घृणा र अनास्था छैन, सबै धर्मलाई समान मान्यता र अधिकार हुनुपर्छ तर संगठित र योजनाबद्ध रुपमा भैरहेको धर्म परिबर्तन प्रती हाम्रो आपत्ती छ,’ थापाले भन्नुभयाे । 

अहिले कमजोर रुपमा  ओझेलमा परेको जस्तो देखिए पनि राप्रपा नेपाललाई आगामी दिनमा बलियो पार्टी बनाएरै छाड्ने थापाको दृढता थियो । 

कार्यक्रममा राप्रपा नेपालका महामन्त्रीद्वय सुशील श्रेष्ठ ,राजाराम बर्तौला बागमती प्रदेश अध्यक्ष माधब खत्री ,भक्तपुर जिल्ला अध्यक्ष श्याम प्रसाद नेपाल लगायतले राप्रपा नेपाललाई उठाउने र अघि बढाउने प्रतिबद्धता ब्यक्त गर्नुभएकाे थियाे ।  

पार्टीको उपत्यका केन्द्रित संगठन सुदृढीकरण अभियान अन्तरगत भक्तपुरको ३८ वडामा फागुन महिना भित्र पार्टीका वडा कमिटी गठन पुनर्गठन गरिने राप्रपा नेपाल भक्तपुरले जनाएको छ ।

टर्कीमा अत्यावश्यक सामग्री पठाउने सरकारको तयारी

काठमाडौँ – टर्कीमा गएको विनासकारी भूकम्पबाट प्रभावितको उद्धार, राहत र पुनस्र्थापनाका लागि नेपाल सरकारले ‘मेडिकल टीम’ र अत्यावश्यक सामग्री पठाउने भएको छ । बुधबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को दशौं बैठकले उक्त निर्णय गरेको हो ।

    बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले टर्की नेपालको असल मित्रराष्ट्र भएकाले नेपालका तर्फबाट सम्भव सहयोग गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “नेपाल हाम्रो असल मित्रराष्ट्र हो । हिजो हामीलाई अप्ठ्यारो पर्दा टर्की सरकारले सहयोग गरेको हो । टर्की सरकारको दुःखमा हामीले पनि सहयोग गर्नुपर्छ । त्यसैले छिटोभन्दा छिटो टोली र प्राविधिक सामान पठाएर सहयोग गरौँ ।”

    बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, मुख्यसचिव शङ्करदास बैरागी, प्रधानसेनापति प्रभुराम शर्मालगायत समितिका पदाधिकारी र सदस्यहरू उपस्थित हुनुहुन्थ्यो । बैठकले आवश्यक तयारी गरेर छिटोभन्दा छिटो मेडिकल टोली, मेडिकल सामग्री, लजिष्टिक सामग्री र टर्कीको वातावरणसँग मिल्ने खाद्य सामग्री पठाउने निर्णय गरेको छ ।

नेपालीलाई ‘बिदेशी’ भन्ने भारतीय अदालतको निर्णय बिरुद्ध सिक्किममा हडताल

काठमाडौं – भारतको सर्वोच्च अदालतले त्यहाँ बस्ने नेपालीभाषीलाई विदशी भने पछि उत्तरपूर्वी भारतको सिक्किम राज्य आज पूर्ण रुपमा बन्द भएको छ। 

जोईन्ट एक्सन काउन्सिल (संयुक्त कारबाही समिति)ले बन्दको  आह्वान गरेपछि सिक्किम पूर्ण रुपले बन्द भएको हो ।

सिक्किमको राजधानी गान्तोकसहित नाम्ची, ग्याल्सिङ, पाक्योङ र सोरेङ जिल्लाका पसल तथा बजार, यातायात, विद्यालय, कलकारखाना, बैंक तथा वित्तीय संस्था बन्द रहेका पत्रकार नितेषराज प्रधानले जानकारी दिएका छन् ।

हालै भारतको सर्वोच्च अदालतले सुनाएको एउटा फैसलामा सिक्किममा बसोबास गर्ने नेपालीभाषीलाई ‘विदेशी’ भनिएको थियो । सो फैसलामा सुनाइएको विरोध गर्दै सिक्कम बन्द आह्वान भएको हो। 
काउन्सिलको गरेको आजको बन्द आह्वानलाई स्थानीयले पनि पुर्ण समर्थन गरेका छन्। 

यस अघि सत्ता विपक्षी दल एसडीएफ पार्टीका अध्यक्ष र पूर्व मुख्यमन्त्री पवनकुमार चामिलङले फ्रेबुअरी ४ र ५ आह्वान गरेको बन्दको प्रभाव भने आंशिक मात्रै परेको थियो। 

तर आज भने सिक्किम पुरै ठप्पको अवस्थामा छ । सिक्किममा भईरहेको आन्दोलनलाई दार्जिलिङका नेपाली भाषीले पनि समर्थन गरेका छन । 

लुम्बिनी प्रदेश राष्ट्रियसभा उपनिर्वाचन एकजना अनुपस्थित, ३०४ मत खस्यो

दाङ – रूपन्देहीको मर्चवार गाउँपालिकाकी उपप्रमुख आशा सिंह स्वास्थ्य उपचार गर्न भारत गएकाले लुम्बिनी प्रदेशमा भएको राष्ट्रियसभा उपनिर्वाचनमा ३०४ मत मात्रै खसेको छ । 


भर्खरै सम्पन्न उपनिर्वाचनमा ३ सय ४ मत खसेको प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कुँवरले जानकारी दिए । उनका अनुसार उपनिर्वाचनको मतदान प्रक्रिया सम्पन्न भएको र अब मतगणना कार्य सुरु हुनेछ । 

घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा बुधबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदानको समय तोकिएको थियो। जसअनुसार ३०४ मत खसेको हो । 

उपनिर्वाचनमा सत्ता गठबन्धनबाट नेकपा एमालेका कुमार दसौदी, नेपाली कांग्रेसका माधवप्रसाद आचार्य र नागरिक उन्मुक्ति पार्टीका राजेन्द्रवीर राय प्रतिस्पर्धामा छन्। 

गत असोज २३ गते नेकपा एमालेबाट राष्ट्रियसभा सदस्यखिमलाल भट्टराईले राजीनामा दिएपछि रिक्त रहेको स्थानमा बुधबार उपनिर्वाचन गराइएको हो। 

देशमा आतंक फैलाउने शत्तिलाई युवा संघले साइजमा राखेर काम गरेकाे छ : महेश बस्नेत

धनुषा – नेकपा एमालेका पोलिटब्युरो सदस्य  महेश बस्नेतले देशमा आतङ्क फैलाउने शक्तिलाई राष्ट्रिय युवा स‌घ नेपालले साइजमा राखेर काम गरेकाे बताउनुभएकाे छ ।  राष्ट्रिय युवा सङ्घ नेपाल धनुषा कमिटीको शपथग्रहण कार्यक्रमलाई आज सम्बोधन गर्दै उहाँले यस्तो बताउनु हो ।

उहाँले समाजमा देखिएका विकृति, विसङ्गतिलाई निस्तेज पारी समतामूलक समाज निर्माणमा युवाहरू अग्रसर हुनुपर्ने बताउनुभयाे । 

नेपालमा भएका हरेक किसिमका परिवर्तनमा युवाहरूको महत्त्वपूर्ण भूमिका छ । त्यसैले आगामी दिनमा समतामूलक समाज निर्माणमा युवाहरूले अग्रसरता लिनुपर्छ’,उहाँले भन्नुभयो । 

मधेशमा हिजो एमालेलाई विरोध गर्नेहरू अहिले एमालेको झण्डामुनि आएको उहाँले चर्चा गर्नुभयो । राष्ट्रिय युवा सङ्घ नेपालका इन्चार्ज समेत रहनुभएका नेता बस्नेतले एमाले जात, धर्मको राजनीति नगरेर वर्गीय राजनीतिको पक्षमा रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘अहिले पनि केही शक्तिहरू सामाजिक सञ्जालमा एमाले विरोधी गतिविधिमा लागेको छ । त्यसकारण त्यस्ता गतिविधि रोक्न युवा सङ्घ नेपालका नेता-कार्यकर्ता सचेत र जागरुक हुनुपर्छ।’

राष्ट्रिय युवा सङ्घ नेपाल धनुषा जिल्ला आयोजक कमिटीका अध्यक्ष रोशन यादवको अध्यक्षतामा भएको कार्यक्रममा एमालेका केन्द्रीय सदस्य एवम् सङ्घ नेपालका सहइन्चार्ज सञ्जीव झा, एमाले मधेश प्रदेश कमिटी सदस्य एवम् युवा नेता लक्ष्मीनारायण यादव, युवा नेता लवकुमार यादवसहितको उपस्थिति थियो ।

नयाँ भनिएका दलहरुमा पनि सत्ता स्वार्थ देखियो : प्रदीप पौडेल

काठमाडौं – नेपाली कांग्रेसका नेता एवम् प्रतिनिधि सभा सदस्य प्रदीप पौडेलले  नयाँ भनिएका राजनीतिक दलहरुमा पनि सत्ता स्वार्थ देखिएकाे बताउनुभएकाे छ ।

काठमाडाैँकाे प्रज्ञा प्रतिष्ठानमा लोकतन्त्र संवाद केन्द्रले आयोजना गरेकाे विचार गाेष्ठीमा बाेल्नुहँदै पाैडेलले नयाँ भनिएका दलका नेताहरुले संयमता गुमाएको बताउनुभएकाे हाे । 

उहाँले नयाँ भनिएका दलका नेताले संयमता गुमाउँदा त्यसले समर्थकमाझ निराशा छाएको बताउनुभयाे । 

‘वैकल्पिक शक्तिको पैरवी गर्ने साथीहरूले संयमता गुमाए,’ उहाँले भन्नुभयाे, ‘त्यसले समर्थकमाझ निराशा उत्पन्न भयो।’ 

विप्लव पार्टीले फागुन ५ र १५ गते देशव्यापी विरोध प्रदर्शन गर्ने

काठमाडौं – नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले फागुन ५ र १५ गते देशव्यापी विरोध प्रदर्शन गर्ने भएको छ ।

बुधबार काठमाडौंमा केन्द्रीय समिति बैठकका निर्णय सार्वजनिक गर्दै पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्माले महंगी र चर्को व्याजदरविरुद्ध देशव्यापी विरोध प्रदर्शन गर्न लागेको बताए । उनका अनुसार बैठकले जन आधारित पार्टी र जन आधारित नेता कार्यकर्ता भन्ने नीति पारित गरेको छ ।

जनताको सुख दुःखमा पार्टी पुग्ने भन्दै उनले भने, ‘मिटरब्याज, बैंक तथा लघुवित्तको चर्को ब्याजदरविरुद्ध ५ गते र चर्को महंगीविरुद्ध १५ गते देशव्यापी विरोध प्रदर्शन गर्नेछौं ।’

नेपालमै बसेर केही गर्छु भन्ने व्यवसायीहरू टाट पल्टिन थालिसके : नेत्रविक्रम चन्द

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले नेपालमै बसेर केही गर्छु भन्ने व्यवसायीहरू टाट पल्टिन थालिसकेको बताएका छन् । काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा चन्दले वित्तिय संस्थाहरूले प्रवाह गरेको ऋणका कारण व्यवसायीहरू संकटमा पर्दै गएको बताएका हुन् ।

नेकपाका महासचिव चन्दले वित्तिय संस्थाबाट लिएको ऋणका कारण किसानहरू उठिबास लाग्ने अवस्था आएको दावी गरे । चन्दले भने,‘सरकारको गलत नीतिका कारण मध्यम वर्गीय व्यवसायीहरू जल्न बाध्य भएका छन् ।’

राष्ट्रिय उद्योगीहरू समेत आर्थिक भारका कारण आन्दोलन गर्न बाध्य भएका छन् । तराईमा मिटर ब्याजी र पहाडमा लघुवित्तको आतंकबाट सर्वसाधारण जनताहरू आतंकित भएको उनको भनाइ छ ।

राज्यसमेत वित्तिय संस्थाहरूको आतंक रोक्न उदासिन भएको उनको आरोप छ।

मुद्दा मिल्नेसँग संयुक्त मोर्चा र कार्यगत एकता गर्ने विप्लवको निर्णय

काठमाडौँ – नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले मुद्दा मिल्नेसँग संयुक्त मोर्चा र कार्यगत एकता गर्ने निर्णय गरेको छ।

बुधबार काठमाडौँमा पार्टीको केन्द्रीय कार्यालय कपिलवस्तुमा बसेको नवौं केन्द्रीय कमिटी बैठकका निर्णय सार्वजनिक गर्दै क्रान्तिकारी कम्युनिष्ट आन्दोलन, वैज्ञानिक समाजवादी सत्ताका लागि विचार मिल्नेसँग एकता गर्ने, मुद्दा मिल्नेसँग संयुक्त मोर्चा र कार्यगत एकता गर्ने नीतिलाई कार्यान्वयन गर्ने निर्णय गरेको हो ।

बैठकले विश्वका मालेमावादी पार्टीहरुसँग भाइचारा सम्बन्ध कायम राख्दै कम्युनिष्ट पार्टीहरुसँग सहकार्य गर्ने निर्णय गरेको छ।

यस्तो छ विप्लवको निर्णयहरु :-

सभामुख घिमिरे र चिनियाँ राजदूतबीच भेटवार्ता, चीनतर्फका ६ वटै नाका खोल्ने प्रतिबद्धता

काठमाडौं / सभामुख देवराज घिमिरेसँग नेपालका लागि चीनका राजदूत छेन् सोङले शिष्टाचार भेट गरेका छन् । सिंहदरवारस्थित सभामुखको कार्यालयमा बुधबार भएको भेटमा दुईपक्षीय मैत्रीपूर्ण सम्बन्ध,  संसदीय आदान प्रदान लगायतका विषयमा छलफल भएको छ ।

भेटमा चिनियाँ राजदूतले चीनको राष्ट्रिय जनकांग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्शुले सभामुख घिमिरेलाई पठाएको शुभकामना सन्देश हस्तान्तरण गरेका छन् ।  यही माघ ५ गते घिमिरे प्रतिनिधिसभाको सभामुख निर्वाचित भएका थिए । चिनियाँ राजदूत सोङले सभामुख घिमिरे वरिष्ठ राजनीतिक रहेको स्मरण गर्दै नेपालको कम्युनिष्ट आन्दोलन र लोकतान्त्रिक आन्दोलनमा अथक भूमिका निर्वाह गरेको भन्दै सफल कार्यकालको शुभकामना दिए । 

सभामुख घिमिरेले नेपालको राष्ट्रियता, सार्वभौमसत्ता र अखण्डतामा चीनले इतिहासदेखि नै देखाउँदै आएको नीतिको सराहना गर्दै ‘एक चीन नीति’प्रति नेपाल दृढ रहेको, नेपाली भूमि चीनविरुद्ध प्रयोग हुन नदिने र चीनको सार्वभौमसत्ता र राष्ट्रिय अखण्डतालाई उच्च महत्व दिने उल्लेख गरे । 

उनले कोभिड महामारीमा चीनले स्वास्थ्य सामग्री र खोपका लागि पु¥याएको सहयोगको प्रशंसा गरे । भूकम्पपछिको पुनर्निर्माणमा चीनबाट भएको सहयोग स्मरणीय रहेको बताउँदै सभामुख घिमिरेले दुई देशका नाकाहरु क्रमशः खुलाउन सहयोग हुने विश्वास व्यक्त गरे । 

भेटमा सभामुख घिमिरेले चीनको राष्ट्रिय जनकांग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्शुले गत भदौमा गरेको नेपाल भ्रमणमा भएको अन्तरसंसदीय सहकार्य सम्बन्धी समझदारी कार्यान्वयन गर्न संघीय संसद सचिवालयले कार्यआरम्भ गरेको जानकारी दिए । राजदूत सोङले चिनियाँ राष्ट्रपतिको तीन वर्षअघि भएको भ्रमणपछि नेपालमा पूर्वाधार लगायतका क्षेत्रमा चीनले ठूलो लगानी गरेको बताउँदै आगामी दिनमा पनि निरन्तरता दिने बताए । 

उनले नेपालको समृद्धिको चाहनालाई चीनले उच्च प्राथमिकतामा राखेको समेत जानकारी दिए । राजदूत सोङले चिनियाँ नाकाहरुबाट हुने ढुवानी क्षमतामा सुधार भएको जनाउँदै आगामी दिनमा चीनतर्फका ६ वटै नाका क्रमशः खुलाउँदै जाने प्रतिबद्धता जनाए । 
 

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

काठमाडौं / काठमाडौं र सर्लाहीमा भएका दुई छुट्टाछुट्टै मोटरसाइकल दुर्घटनामा दुईजनाको मृत्यु भएको छ । काठमाडौंको तिनकुने मुनिभैरवमा बुधबार बिहान मोटरसाइकल र कुखुरा बोक्ने जिप आपसमा ठोक्किँदा मोटरसाइकल चालक भक्तपुरको सुर्यविनायक नगरपालिकाका–२३ वर्षीय नोजन राईको मृत्यु भएको हो । 

दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको क्रममा राष्ट्रिय ट्रमा सेन्टरमा मृत्यु भएको हो । मोटरसाइकलमा पछाडी सवार सुर्यविनायक नगरपालिका २ बालकोटका २३ वर्षकै चन्द्र सिलवालको सोही अस्पतालमा उपचार भइरहेको छ । बा ४९ प ५७७५ नम्बरको मोटरसाइकल र प्रदेश २–०३–००१ च ३९९८ नम्बरको जिपआपसमा ठोक्किएका थिए । दुवै सवारी साधन र जिप चालकलाई प्रहरी वृत्त बानेश्वरले नियन्त्रणमा लिएको ।

उता सर्लाहीको कविलासी नगरपालिका ७ मा मोटरसाइकल पल्टिँदा चालकको घटनास्थलमै मृत्यु भएको छ । नवलपुर–मलंगवा सडकखण्डमा प्रदेश २–०३–००९ प ९१५ नम्बरको मोटरसाइकल सोमबार मध्यराति १२ बजे अनियन्त्रित भई सडक किनारमा रहेको पिलरमा ठोक्किएको थियो ।

दुर्घटनामा कविनासी नगरपालिका ९ सलेमपुरका २७ वर्षीय डिकेश रायको घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय हरिपुरले जनाएको छ ।
 

प्रहरी सेवा लिन शुल्क तिर्नुपर्दैन : डिआइजी टेकप्रसाद राई

भैरहवा /  लुम्बिनी प्रदेश प्रहरी प्रमुख टेक प्रसाद राईले प्रहरी सेवा लिनका लागि कुनै पनि शुल्क तिर्न नपर्ने बताएका छन् । 

हालै मात्रै सरुवा भएर प्रदेशका विभिन्न जिल्ला निरिक्षणमा निस्केका प्रहरी नायव महानिरीक्षक (डीआईजी)  राईले प्रहरीमा निवेदनका लागि पीडित पक्षले शुल्क तिरेर मात्रै प्रहरी इकाईहरुमा निवेदन दर्ता गर्ने पाइएकोले जो कोही पनि प्रहरीको सेवा लिन असमर्थ रहेको भन्दै प्रदेशका प्रत्येक जिल्ला प्रहरी कार्यालयमा निःशुल्क निवेदनको लागि व्यवस्थापन गरिने बताए । 

‘प्रहरी २४ घण्टै सेवामा हुन्छ, निःशुल्क एवं नागरिक मैत्री प्रहरी सेवा प्रवाह हुने,’ उनले भने । समयमै प्राप्त हुने सुचना र जानकारीले अपराध नियन्त्रणमा ठूलो भूमिका खेल्ने हुदा कुनै पनि आवरणमा अपराधीलाई उन्मुक्ति दिन नहुने बताउदै डिआइजी राईले अपराधीलाई संरक्षण नगरी प्रहरीलाई सूचना दिएर सकारात्मक भूमिका खेल्नु पर्ने बताए ।

लुम्बिनी प्रदेश र भारतसँग करिब ३८५ किलोमिटर खुला सीमा भएकोले सिमाना सुरक्षाका लागि ठूलो चुनौती रहे पनि भएको जनशक्ति र स्रोत साधनका बाबजुद तस्करी र अपराध नियन्त्रण प्राथमिकतामा  रहेको बताए । 

राष्ट्र बैंकले ९ वाणिज्य बैंकका सञ्चालक तथा सीईओलाई गर्‍यो कारबाही

काठमाडौं / नेपालको केन्द्रिय बैंक नेपाल राष्ट्र बैंकले ९ वाणिज्य बैंकका अध्यक्ष, सञ्चालक तथा सीईओलाई कारबाही गरेको छ ।जसमध्ये मध्ये ४ वटा बैंकलाई भने ५०–५० लाख नगद जरिवानासमेत गराएको छ ।

राष्ट्र बैंकका अनुसार बैंकहरुले सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐन र निर्देशनको उल्लंघन गरेको, उत्पादनशिल क्षेत्रका कर्जा नदिएको, विपन्न वर्ग क्षेत्र कर्जा नदिएको, ब्याजदर अन्तर र कर्जा श्रोत परिचलन अनुपात कायम नगरेको लगायतको बिषयमा नगदसहित कारबाही गरिएको हो ।

जसअनुसार राष्ट्र बैंकले प्रभु बैंकलाई सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐन र निर्देशनको उंल्लघन गरेको भन्दै ५० लाख जरिवाना गरेको छ । यस्तै प्रभु बैंकले कर्जा सूचना तथा कालोसूची सम्बन्धी व्यवस्था पालना नगरेको भन्दै सचेतसमेत गराएको छ । उता, कुमारी बैंकले पनि सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐन र निर्देशनको उंल्लघन गरेको भन्दै केन्द्रीय बैंकले ५० लाख जरिवाना गरेको छ । 

सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐन र निर्देशनको उंल्लघन गरेको भन्दै राष्ट्र बैंकले तत्कालीन बैंक अफ काठमाण्डू (हालको ग्लोबल आइएमई बैंक) र प्राइम बैंकलाई पनि ५० लाख जरिवाना गराएको छ ।

केन्द्रीय बैंकले माछापुच्छ्रे बैंकलाई जोखिम भारित सम्पत्ति गणना नगरेका कारण पुँजीकोष पर्याप्तताको यथार्थ विवरण पेश नगरेको भन्दै राष्ट्र बैंक ऐनको दफा १०० को उपदफा २ (क) अुनसार बैकको सीईओलाई सचेत गराएको छ ।

वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा २९ को उपदफा ९७० को उलंघन हुनेगरी तत्कालिन सीईओलाई थप सुविधा दिएको देखिएकाले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ९९ को उपदफा १ ९क० अनुसार बैंकलाई सचेत गराएको छ ।

नेपाल राष्ट्र बैंक इ.प्रा. निर्देशन नं १९/७८ सम्पत्ति शुद्धीकरण तथा आतंकवादी कार्यमा वित्तीय लगानी निवारण सम्बन्धी व्यवस्था, बुँदा नं. २० कारवाही तथा सजाय सम्बन्धी व्यवस्थाको उपबुँदा नं. २, क्र. सं. २ मा रहेको ग्राहक पहिचान सम्बन्धी व्यवस्था कार्यान्वयन नभएकोले बैंकलाई सम्पत्ति शुद्धिकरण निवारण ऐन, २०६४ (संशोधन सहित) को दफा ७ ( फ) उपदफा १ (क) बमोजिम यस्तै नबिल बैंकलाई सचेत गराइएको राष्ट्र बैंकले जनाएको छ ।

भिडियो कन्फ्रेसन माध्यम जुमले कटौती गर्‍यो १ हजार बढी कर्मचारी

न्युयोर्क / कोरोना महामारीमा सर्वाधिक प्रयोगमा आएको भिडियो कन्फ्रेन्सिङ माध्यम जुमले १ हजार ३ सय कढी कर्मचारी कटौती गरेको छ ।

कोरोना महामारीको स्थीति नियन्त्रणसँगै जुमको प्रयोग सुस्ताएको र सम्भावित आर्थिक मन्दीलाई मध्यनजर गर्दै कर्मचारी कटौती गरेको अन्तर्राष्ट्रिय समाचारहरुले जनाएका छन् ।

समाचार अनुसार कोरोना महामारी घट्दै गएसँगै भिडियो कन्फ्रेन्सिङ माध्यम जुमको प्रयोगमा निकै कमी आएको छ । सन् २०२२ मा कम्पनीको नाफा करिब ३८ प्रतिशतले घटेको छ । 

जुमका कार्यकारी अधिकृत एरिक युआनले आगामी आर्थिक वर्षको लागि ९८ प्रतिशतको आफ्नो तलब कटौती गर्ने र आफ्नो बोनस त्याग गर्ने घोषणा गरेका छन् ।

यसैगरी, कार्यकारी नेतृत्व टोलीको तलवमा समेत २० प्रतिशतले कटौती गरिएको छ । यद्यपी कर्मचारहरुको १६ महिनाको तलवसहित स्वास्थ्य सुविधा र वार्षिक बोनस प्राप्त गर्ने भने सक्नेछन् ।

बुधबार नेप्से परिसूचकमा ४.२७ अंकले वृद्धि

काठमाडौं / प्रिओपन सेसनमा नेप्से सूचक ४.२७ अंकले वृद्धि भएकोछ । यससँगै सूचक २११८.६१ विन्दुमा अडिएको छ ।

३२ कम्पनीको भाउ बढेको छ भने ७ वटाको मूल्य घटेको छ । ३६ लाख ३१ हजार रुपैयाँको सेयर कारोबार भएको छ । ३९ कम्पनीको १० हजार ६४१ कित्ता सेयर खरिदबिक्री भएको छ ।

यता १३ उपसूचकहरु मध्ये २ कम्पनीमा ओरालो लागेको छ । कुल ७ कम्पनीमा उकालो लागेको र बाँकी ३ कम्पनीमा कुनैपनि परिवर्तन आएको छैन ।

सुदूरपश्चिममा प्रदेशसभा बैठक स्थगित,मुख्यमन्त्रीको विश्वासको मतबारे अन्योल

धनगढी । सुदूरपश्चिम प्रदेशसभाको बैठक स्थगित भएको छ । मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मत लिने गरी दिउँसो १ बजेका लागि बोलाइएको बैठक स्थगित भएको हो ।

प्रदेश सभाका सूचना अधिकारी युवराज जैशीले बिहीबार दिउँसो १ बजे बस्नेगरी आजको बैठक स्थगित गरिएको जानकारी दिए ।

२७ पुसमा मुख्यमन्त्री नियुक्त भएका रावलले आज विश्वासको मत लिने कार्यसूची तय भएको थियो तर सत्तारूढ गठबन्धनको निर्णायक शक्ति नागरिक उन्मुक्ति पार्टीले आफ्ना माग मुद्दालाई लिएर विश्वासको मतबारे अझै निर्णय गरेको छैन । उन्मुक्तिका सात जना प्रदेश सभा सदस्यहरू पार्टीका संस्थापक रेशम चौधरीसँग छलफल गर्न मंगलबार काठमाडौं गएका थिए तर उनीहरू अहिलेसम्म धनगढी फर्किएका छैनन् ।

पेट्रोलियम पदार्थ अन्वेषण : दैलेखको भैरवीमा ४५ रोपनी जग्गा अधिग्रहण गरिने

सुर्खेत / सरकारले पेट्रोलियम पदार्थ अन्वेषणका लागि दैलेखको भैरवी गाउँपालिका–१ जलजलेमा ४५ रोपनी जग्गा अधिग्रहण गर्ने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले जग्गा प्राप्तिका लागि स्वीकृति दिने निर्णय गरेको हो । 

पेट्रोलियम पदार्थ अन्वेषणका लागि दैलेखको भैरवी गाउँपालिका–१ जलजलेमा ४५ रोपनी जग्गा अधिग्रहण गर्ने निर्णय भएको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताइन् । 

दैलेखमा २०७६ असोजदेखि सुरु गरिएको पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खनन अन्तर्गतको पहिलो चरणको काम चिनिया प्राविधिक टोलीले यस अघि नै सम्पन्न गरिसकेको छ । 

सरकारले जग्गा अधिग्रहण जस्तै, सडकको स्तरउन्नति लगायत नेपाल सरकारबाट गरिने सम्पूर्ण प्रक्रिया पुरा गरेपछि चीन सरकारको अन्वेषणात्मक टोली दैलेख आएर दोस्रो चरणमा गरीने अन्वेषणात्क ड्रिलिङको काम सुरु गर्ने खानी तथा भूगर्भ विभागका भूगर्भविद् डा. गणेशनाथ त्रिपाठीले बताए । 

यसअघि नेपाल सरकारसँगको सम्झौता अनुसार चिन सरकारको प्राविधिक टोटिले पहिलो चरण अन्तर्गतको साइस्मिक सर्भे, जियोलोजिकल सर्भे, म्याग्नेटो टेल्युरिक सर्भे र जिओ केमिकल स्याम्पलिङ सर्भे गरी चारवटा सर्भेका काम तोकिएकै समयमा सम्पन्न गरेको थियो । 

नेपालको संविधान २०७२ जारी भएपछि मधेसवादी दलहरूको समर्थनमा भारतले नेपालमा नाकाबन्दी लगाउँदा तत्कालीन प्रधानमन्त्री रहेका केपी शर्मा ओली चीन भ्रमणमा गएको बेला दैलेखमा रहेको पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खनन गर्ने चिन सरकारसँग सहमति भएको थियो । 

उक्त सहमति अनुसार नेपाल सरकार खानी तथा भू-गर्भ विभागका महानिर्देशक सोमनाथ सापकोटा र चीन सरकारको जिओलोजिकल सर्वे कम्पनीबीच २ अर्ब ४० करोड आर्थिक तथा प्राविधिक सहयोगमा दैलेखमा पेट्रोलियम खानी अन्वेषण उत्खनन गर्ने सम्झौता भएको थियो । 

दैलेखमा सधिऔँदेखि ज्वाला बल्दै आएका श्रीस्थान, नाबिस्थान, पादुका, तल्लो डुंगेश्वर, लगायतका क्षेत्रहरूलाई आधार मानी चीनको पेट्रोलियम पदार्थ तथा अन्वेषण लोटिले पहिलो चरणको काम गरेको थियो ।

राष्ट्रिय सभा सदस्य उपनिर्वाचनमा मतदान सुरु

दाङ – राष्ट्रिय सभा उपनिर्वाचनमा मतदान सुरु भएको छ। लुम्बिनी प्रदेशका विनाविभागीय मन्त्री चेतनारायण आचार्यले पहिलो मतदान गरेका हुन्। कर्मचारी मिलन केन्द्र घोराहीमा बिहान १० बजे सुरु भएको मतदान दिउँसो ३ बजेसम्म चल्नेछ।

सत्तारूढ दल नेकपा एमाले, नागरिक उन्मुक्ति पार्टी र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसबाट गरी तीन उम्मेदवार प्रतिस्पर्धामा उत्रिएका छन्। एमालेबाट उम्मेदवार बनेको रोल्पाका कुमार दसौदी र कांग्रेसबाट पनि रोल्पाका माधवप्रसाद आचार्य उम्मेदवार बनेका छन्।

यस्तै नागरिक उन्मुक्ति पार्टीबाट राजेन्द्रवीर राय पनि उम्मेदवार बनेका छन्। उपचिर्वाचनमा प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख तथा उपप्रमुखले मतदान गर्ने छन् । प्रदेशसभा सदस्य १ जनाको मतभार ४८ र स्थानीय तहका प्रमुख उपप्रमुखको १८ हुन्छ।

प्रदेशमा कुल मतदाता संख्या ३०५ जना छन्, जसमध्ये प्रदेश सांसदको संख्या ८७ र स्थानीय तहका प्रमुख तथा उपप्रमुख गरी २१८ जना रहेको प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ।

प्रदेशमा १०९ स्थानीय तह छन्। तीमध्ये कांग्रेसले ४८ स्थानीय तहमा जितेको छ। एमालेले २७, माओवादी केन्द्रले २५, जसपाले ३, जनमोर्चा र लोसपाले २/२ तथा राप्रपा र जनता प्रगतिशीलले १/१ स्थानमा जितेका छन्।

८७ सदस्यीय प्रदेशसभामा एमालेले २९, कांग्रेसले २७, माओवादीले १०, राप्रपा र नागरिक उन्मुक्तिले ४/४, जसपा, लोसपा र जनमतले ३/३ जनमोर्चा र नेकपा एकीकृत समाजवादीले १/१ सिट जितेका छन्। त्यस्तै स्वतन्त्रबाट २ जनाले जितेका छन्।

नेकपा एमालेबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित रूपन्देहीका खिमलाल भट्टराईले राजीनामा दिएपछि रिक्त रहेको स्थानमा उपनिर्वाचन भएको हो।

असमझदारी हटाउन प्रधानमन्त्री प्रचण्ड वालकोटस्थित ओली निवासमा

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सत्ता साझेदार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको वालकोटस्थित निवासमा पुगेका छन ।

सत्ता साझेदार राष्ट्रिय स्वतन्त्र पार्टीले प्रचण्ड नेतृत्वको सरकारवाट बाहिरिएको तथा आसन्न राष्ट्रपति निर्वाचनका बिषयमा शंका तथा आशंका बढदै गएको बेला प्रधानमन्त्री प्रचण्ड वालकोट पुगेका हुन । रास्वपालाई गृह मन्त्रालय दिनु पर्ने ओलीको सुझावलाई प्रधानमन्त्री प्रचण्डले अस्विकार गरे पछि दुवै नेता बिचमा पनि समझदारीमा समस्या आउन देखा परेकोको अवस्थामा दुवै नेता बिच भेटघाट वाक्लिन थालेको हो ।

सत्तारुढ दल भित्र दुई महिना नपुग्दै देखा परेको किचलो हल गर्नका लागि प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओली बिच दिनहुँ भेटघाट हुने क्रम बढेको छ । तर, निष्कर्ष भने निष्कन सकेको छैन । 
 

पूर्वसांसद कर्मा घलेको निधन

काठमाडौं – पूर्वसांसद एवं कांग्रेस मनाङका महासमिति सदस्य कर्मा घलेको निधन भएको छ ।

महाराजगन्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा क्यान्सरको उपचार गरिरहेका घलेको मंगलबार उपचारको क्रममा निधन भएको हो ।

५९ वर्षीय घले २०७४ मा समानुपातिक सांसद थिए । कांग्रेसले शोक विज्ञप्तिमार्फत घलेको निधनले नेपाली कांग्रेस एवं सामाजिक क्षेत्रलाई अपुरणीय क्षति भएको जनाएको छ ।

सरकारले पेट्रोलियम पदार्थ अन्वेषणका लागि ४५ रोपनी जग्गा अधिग्रहण गर्ने

काठमाडौँ – सरकारले पेट्रोलियम अन्वेषणका लागि दैलेखको जलजलेमा रहेको ४५ रोपनी जग्गा अधिग्रहण गर्ने भएको छ ।

मन्त्रिपरिषद् बैठकका बारेमा जानकारी गराउन मंगलबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता रेखा शर्माले पेट्रोलियम अन्वेषणका लागि दैलेखको भैरवी गाँउपालीका १ जलजलेमा रहेको ४५ रोपनी जग्गा प्राप्त गर्न स्वीकृति दिने निर्णय भएको जानकारी दिनुभयो । मन्त्रिपरिषद्ले रक्षा मन्त्री हरि प्रसाद उप्रेतीको फाल्गुन १ देखि ५ गते सम्म हुने भारत भ्रमण स्वीकृत गर्ने निर्णय गरेको छ भने बागमती बाँध आयोजनाको कार्यान्वयन अघि बढाउन काठमाडौँको गोकर्णेश्वर १ मा रहेको करिब १४ रोपनी जग्गा प्राप्ति गर्न स्वीकृति दिने निर्णय गरेको छ ।

त्यस्तै बैठकले सफा हिमाल अभियान २०२३ मा खटिने नेपाली सेनाका सदस्यहरू हिमाल आरोहण गर्दा लाग्ने सलामी दस्तुर छुट दिने निर्णय गरेको छ । सम्पत्ति सुद्धिकरण निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्न वनेको विधेयकलाई संसदमा पेश गर्न स्वीकृति दिने , मन्त्रीपरिषद् कार्यालयका सचिव धनराज ज्ञवालीलाई कानुन मन्त्रालय र कानुन मन्त्रालयका सचिव उदयराज सापकोटालाई मन्त्रिपरिषद्को कार्यालय सचिव पदमा सरुवा गर्ने मन्त्रिपरिषद्को निर्णय रहेको प्रवक्ता शर्माले बताउनुभयो ।

प्रवक्ता शर्माले सबै मन्त्रालयको योजनाहरू प्रधानमन्त्री कार्यालयको एकीकृत कार्ययोजनाको बैठकमा पेश भएको जानकारी दिनुभयो । मन्त्रालयगत कार्यक्रमहरूलाई गम्भीरताका साथ अघि बढाएर कार्ययोजनाका साथ पुरा गर्न प्रधानमन्त्रीले निर्देशन दिनुभएको उहाँले बताउनुभयो । प्रधानमन्त्री प्रचण्डले राजनीतिक नेतृत्व र प्रशासनिक संयन्त्रबिचको समन्वयनमार्फत मुलुकलाई अघि बढाउने योजनालाई अघि बढाउन निर्देशन दिनुभएको प्रवक्ता शर्माले बताउनुभयो ।

पत्रकार सम्मेलनमा प्रवक्ता शर्माले रास्वपाले सरकार छाडे पनि समर्थन नछाडेकाले सरकार सङ्कटमा रहेको भन्न नमिल्ने बताउनुभयो । रास्वपाका विषयमा गठबन्धन र सरकार सञ्चालन संयन्त्र छलफल हुने उहाँको भनाइ छ ।

उचित मूल्य नपाएको भन्दै झापाका किसानले गरे कुखुरासहित सडकमा प्रदर्शन

काठमाडौँ – झापाका किसानले उचित मूल्य नपाएको भन्दै आज कुखुरासहित सडकमा प्रदर्शन गरेका छन् ।


मंगलबार झापाको बिर्तामोडमा किसानहरुले उचित मूल्य नपाएको भन्दै सडकमा अण्डा फालेरसमेत विरोध जनाएका छन् । किसानले उत्पादन गरेको कुखुरा र अण्डा बिचौलियाका कारण बिक्री नभएको उनीहरुको आरोप छ । मूल्य र बजार नपाएको भन्दै मंगलबार झापाको बिर्तामोडस्थित विरोध जनाउँदै किसान ।


जिल्लाभरका अण्डा उत्पादक, कुखुरा पालक, बाख्रा पालकसहितका किसान आन्दोलित भएका हुन् । उनीहरूले आज दिउँसो बिर्तामोडको मुक्तिचोकमा नाराबाजी गर्दै विरोध जनाएका हुन् । उनीहरू करिब ४ सय कुखुरा र २० कार्टुन अण्डासहित प्रर्दशनमा उत्रिएका थिए ।

चुणामणि शर्माविरुद्ध ११ अर्ब हिनामिनाको मुद्दामा साक्षी झिकाउन आदेश

काठमाडौं – विशेष अदालतले आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक चुडामणि शर्माविरूद्ध मुद्दामा साक्षी झिकाउन आदेश दिएको छ। 

मुद्दाका प्रक्रिया सुरु भएको करिब ५ वर्षपछि न्यायाधीशत्रय श्रीकान्त पौडेल, यमुना भट्टराई र शालिग्राम कोइरालाको संयुक्त इजलासले यस्तो आदेश दिएको हो।

सो आदेशसँगै अब म्यादपत्र गएपछि साक्षीहरु विशेष दालतमा हाजिर हुनेछन् र  अदालतले उनीहरूको बकपत्र लिनेछ। बकपत्र लिएपछि पुन: पेसी तोकिनेछ।

कर फर्छ्यौट आयोगका पदाधिकारी शर्मासहित अध्यक्ष लुम्बध्व महत र सदस्य उमेशप्रसाद ढकालविरूद्ध करिब ११ अर्ब भ्रष्टाचारको आरोपसहित २०७४ साल साउन १ गते विशेष अदालतमा मुद्दा दायर भएको थियो।

सरकारी विदाहरू धेरै भए, जनताका काम गर्ने समय कम भयाे : प्रधानमन्त्री ‘प्रचण्ड

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारी विदा धेरै भएकाले सेवा प्रवाह प्रभावित भएको र त्यसमा पुनर्विचार आवश्यक भएको बताएका छन्।

मंगलबार बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा प्रजातन्त्र दिवस मूल समारोह समितिको बैठकमा बोल्दै प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले भने , “हाम्रा सरकारी विदाहरू धेरै भए। यसले जनताका काम गर्ने समय कम भएको छ, सेवा प्रवाहमा समस्या देखिएको छ। यसबारे पुनर्विचार आवश्यक छ भनेर हामीले मन्त्रिपरिषदमा पनि छलफल गरेका छौँ। गृहकार्य गरेर यसमा पुनर्विचार गर्नुपर्छ।”

प्रधानमन्त्रीले प्रजातन्त्र दिवस, लोकतन्त्र दिवस, गणतन्त्र दिवसमा एकै प्रकृतिका कार्यक्रम गरिँदै आएकाले त्यसबारे समेत थप छलफल आवश्यक भएको बताए। उनले भने, “हामीले गणतन्त्र दिवस मनाउँछौँ, प्रजातन्त्र दिवस मनाउँछौँ, लोकतन्त्र दिवस मनाउँछौँ। तर, ती सबै कार्यक्रमको चरित्र एउटै छ। त्यसलाई कसरी एकीकृत गर्ने, राष्ट्रिय दिवसमा जनताको सहभागिता कसरी गर्ने भन्नेबारे पनि छलफल आवश्यक छ।”

बैठकले आगामी फागुन ७ गते विविध कार्यक्रमका साथ प्रजातन्त्र दिवस मनाउने निर्णय गरेको छ। त्यसका लागि प्रधानमन्त्रीको संयोजकत्वमा मूल समारोह आयोजक समितिसमेत गठन गरिएको छ।