`

राष्ट्रपति निर्वाचनमा पूर्व सहमतिअनुसार नै अघि बढ्छौ : राजेन्द्र लिङदेन

काठमाडौँ – उपप्रधानमन्त्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले राष्ट्रपति निर्वाचनमा पूर्व सहमतिअनुसार नै अघि बढ्ने बताउनुभएको छ ।

सत्ता गठबन्धन दलहरुको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक पछि पत्रकारहरुलाई प्रतिकृया दिनुहुँदै उपप्रधानमन्त्रीसमेत रहनुभएका लिङ्देनले राष्ट्रपतिको विषयमा गठबन्धन दलहरूबीच कुनै पनि असमझदारी नभएको बताउनुभयो । उहाँले यसअघि बाहिर आएको कुरा भ्रमपूर्ण रहेको प्रष्ट्याउनुभयो । 

बैठकमा सरकारका कामकारवाहीको समीक्षा र गठबन्धनको सहकार्यलाई निरन्तरता दिने समझदारी भएको उहाँले बताउनुभयो । उहाँले रास्वपालाई पनि चाडैँ नै सरकारमा सहभागिता गराउन कसरत गरिरहेको बताउनुभयो । ‘चाँडै रास्वपका सरकारमा आउन पनि सक्छ । केही प्राविधिक विषयहरू मिलाउनुपर्नेछ,’ उहाँले भन्नुभयो।
 

क्रसरको मनोमानी बिरुद्ध रौतहटमा झडप, चार घाईते

रौतहट – रौतहटको बृन्दावन नगरपालिकास्थित वागमती नदीको रमौली र बिश्रामपुर खोलाबाट निकालिने गिटी, बालुवा करको विषयलाई लिएर दुई पक्षबीच झडप भएको छ । 


सो झडपमा परी दुबै पक्षका चार जना घाइते भएका छन् । स्थिति नियन्त्रणमा लिन ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

नगर प्रमुख विनोद पटेलले क्रसरको नाममा मनपरी गरेको भन्दै स्थानीयवासीले कर उठाउन बनाइएको झुपडी घरसमेत भत्काई आगजनी गरि दिएका छन् ।

जिल्ला प्रहरी प्रमुख वीरबहादुर बुढामगरका अनुसार बृन्दावनस्थित बाग्मती खोलावाट निकासी हुने वस्तुको कर उठाउने विषयमा शनिबार अपराह्न दुबै पक्षबीच झडप भएको हो । सो झडपमा केही घाइते भएको खबर प्राप्त भएसँगै त्यसतर्फ सुरक्षाकर्मी परिचालन भइसकेको उनले जानकारी दिए । जसकाकारण अहिले अवस्था सामान्य हुदैँ गएको छ ।

घटनापछि नगरप्रमुख पटेलका समर्थकहरु गौर–चन्द्रनिगाहपुर खण्डमा जम्मा भएका छन् ।

जुन जगमा प्रचण्ड प्रधानमन्त्री हुनुभयो, त्यही जगमा एमालेबाट प्रस्तावित व्यक्ति राष्ट्रपति हुन्छ : योगेश भट्टराई

काठमाडौं – नेकपा एमालेका सचिव तथा सांसद योगेश भट्टराईले जुन जगमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री हुनुभयो, त्यही जगमा एमालेबाट प्रस्तावित व्यक्ति पनि राष्ट्रपति हुने बताउनुभएको छ ।

शनिबार एमाले निकट ताप्लेजुङ–काठमाडौं सम्पर्क मञ्चले प्रतिनिधि सभामा निर्वाचित सांसदलाई बधाई तथा शुभकामनाका लागि आयोजना गरेको कार्यक्रममा बोल्दै भट्टराईले पुस १० कै सहमतिको जगमा प्रदेशमा मुख्यमन्त्रीहरु बनेको बताउनुभयो।

‘अन्यत्र सबैतिर पुस १० गतेकै सहमति अनुसार हुने तर राष्ट्रपति हुन नहुने किन ? उहाँको प्रश्न थियो  । उहाँले भन्नुभयो ‘कि त मुलुकमा अर्को राजनीतिक समीकरण निर्माण हुनुपर्‍यो। यदि यो राजनीतिक समीकरण आजको आवश्यकता हो र यो कायम छ भने राष्ट्रपति पदमा मात्रै त्यो खण्डित हुनुपर्ने औचित्य छैन।’

भट्टराईले फागुन २५ गते एमालेबाट प्रस्तावित व्यक्ति राष्ट्रपति निर्वाचित हुने र चैत २ गते सत्ता गठबन्धनकै व्यक्ति उपराष्ट्रपति निर्वाचित हुने बताउनुभयो ।

बाग्मती प्रदेशका पूर्वमुख्यमन्त्री पाण्डेले सरकारी गाडी फिर्ता गरेनन्

हेटौंडा- संघीय सासंद बाग्मती प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले प्रदेश सरकारले उपलब्ध गराएको सवारीसाधन अझै फिर्ता गरेका छैनन् ।

नेकपा एकीकृत समाजवादीका उपाध्यक्षसमेत रहेका पूर्वमुख्यमन्त्री पाण्डे मंसिर ४ गतेको निर्वाचनमा धादिङ जिल्ला निर्वाचन क्षेत्र नम्बर–१ बाट प्रतिनिधिसभामा निर्वाचित हुनुभएको थियो । 

प्रतिनिधिसभामा शपथ लिएपछि उहाँले वाग्मती प्रदेशको मुख्यमन्त्रीबाट राजीनामा दिनुभएको थियो ।  मुख्यमन्त्रीबाट राजीनामा दिएको ७ दिनभित्र सवारीसाधन फिर्ता गर्नुपर्ने भएपनि पूर्वमुख्यमन्त्री पाण्डेले अझै सवारी फिर्ता गर्नुभएको छैन । उहाँले प्रयोग गर्दै आएको वाग्मती प्रदेश ०३–००१–०११३ नम्बरको सवारी फिर्ता गर्न अझै अटेरी गर्दै आइरहनुभएको छ । 

‘अर्को निर्वाचनसम्म जाँदा माओवादी शक्तिशाली भएर आउँछ’  : प्रधानमन्त्री दाहाल

काठमाडौँ । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी क्रमशः एकता र रूपान्तरणको प्रक्रियामा गएको बताउनुभएको छ । उहाँले माओवादीको भविष्य उज्ज्वल भएको उल्लेख गर्नुभयो ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज नेपाल दलित मुक्ति मोर्चाको केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले भन्नुभयो, “निर्वाचनपछि हामीले सरकारको नेतृत्व गर्ने अवसर पाएका छौँ । यो हाम्रा लागि चुनौतीपूर्ण छ । यसको भरपुर सदुपयोग गरेर देश र जनताका निम्ति राम्रो परिणाम दिनैपर्दछ । एक्लो प्रधानमन्त्रीले मात्रै गरेर सबै चीज हुँदैन, केन्द्र, प्रदेश र स्थानीय तहका सरकार सबैले राम्रो गर्दा देशमा राम्रो परिणाम आउँछ । पार्टीका पनि सबै नेता–कार्यकर्ताले जनताको हितअनुसार काम गरेर देशलाई परिणाम दिनैपर्छ ।”

सामाजिक न्याय, सुशासन र समृद्धि सरकारको प्राथमिकता भएको उल्लेख गर्दै उहाँले उक्त लक्ष्य हासिल गर्न सिङ्गो देशलाई एकताबद्ध बनाएर लैजानुपर्नेमा जोड दिनुभयो । प्रधानमन्त्री दाहालले भन्नुभयो, “स्थायी समिति बैठकले सरकारलाई प्रभावकारी बनाउन पार्टीका तर्फबाट भूमिका खेल्ने निर्णय गरेको छ । पार्टीको दुईमहिने सङ्गठनात्मक अभियान चलाउँदैछौँ ।”  

पार्टी एकता र समाजवादी मोर्चाको तयारी गरिरहेको उल्लेख गर्दै उहाँले सम्भव हुने पार्टीसँग तत्काल एकता गर्ने तथा तत्काल एकता सम्भव नहुने पार्टीसँग समाजवादी मोर्चा बनाएर एकताको आधार तयार पार्ने बताउनुभयो । प्रधानमन्त्री दाहालले भन्नुभयोे, “अहिले पनि अप्ठ्यारा छन्, चुनौती छन् । ती सबैलाई हामी छिचोल्छौँ र अगाडि बढ्छौँ । अर्को निर्वाचनसम्म जाँदा हाम्रो पार्टी फेरि शक्तिशाली भएर आउँछ । देशको वैकल्पिक शक्ति हामी नै हौँ भन्ने तथ्य परिणामबाट  स्थापित हुन्छ । त्यसरी हेर्दा मैले माओवादी पार्टीको भविष्य उज्ज्वल नै देखिरहेको छु, हामी फेरि उचाइका साथ अघि बढ्छौँ ।”

माओवादी नेतृत्व नै सर्वमान्य 

प्रधानमन्त्री दाहालले गत पुस २६ गते प्रतिनिधिसभाबाट प्राप्त मतले माओवादी आन्दोलनलाई न्याय भएको बताउनुभयो । उहाँले भन्नुभयो, “प्रतिनिधिसभामा जुन विश्वासको मत प्राप्त भयो । त्यो इतिहासकै अभूतपूर्व रह्यो । त्यसले माओवादी आन्दोलनप्रति न्याय भएको छ, यसको नेतृत्वप्रति न्याय भएको छ । त्यो मत प्रधानमन्त्रीलाई प्राप्त मत मात्र होइन, परिवर्तनको नीति र नेतृत्वलाई प्राप्त मत हो । यसले उत्पीडित वर्ग, जाति, क्षेत्र र लिङ्गप्रति पनि न्याय भएको मैले महसुस गरेको छु ।”

संसद्मा झन्डै शत्प्रतिशत मत प्राप्त गर्नु सामान्य कुरा नभएको उल्लेख गर्दै उहाँले त्यसको ऐतिहासिक महत्व भएको बताउनुभयो । “माओवादी नेतृत्वले मात्र देशलाई एकताबद्ध गर्नसक्छ, सबै दललाई मिलाएर लैजान सक्छ । माओवादी नेतृत्वले मात्र राष्ट्रिय सहमति कायम गर्न सक्छ । त्यसैले हाम्रो आन्दोलन र नेतृत्व देशको सर्वमान्य भएको छ”, प्रधानमन्त्री दाहालले भन्नुभयो । 

उत्पीडित नजागी कसैले दयाले अधिकार दिँदैन

बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले आफ्नो अधिकार प्राप्तिका लागि उत्पीडित नै अग्रसर हुनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “हिजो ठूलो आन्दोलन र बलिदानी ग¥यौँ । त्यसको बलमा धेरै अधिकार प्राप्त भएका छन् । त्यो पर्याप्त छैन, तर ती केही पनि होइनन् भन्ने होइन । अहिले फेरि परिवर्तन विरोधी शक्ति जनताका अधिकार कुण्ठित गर्न लागिरहेका छन् । उत्पीडित आफैँ नजागी र आफैँ अग्रसर नभइकन दयाले कसैले अधिकार दिँदैन ।”

दलित समुदायको सङ्घर्ष र भूमिकाबिना राजनीतिक परिवर्तन सम्भव नभएको उल्लेख गर्दै उहाँले नेपालको क्रान्तिकारी आन्दोलनमा दलितको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “शान्ति प्रक्रियामा आएपछि हाम्रो विचार र संस्कृतिमा स्खलन, हिजोका क्रान्तिकारी निर्णय र संस्कारबाट हामी पछाडि फर्केजस्तो अनुभूति हुन्छ । प्रगतिशील संस्कार मिचिएका छन् । सामन्ती पितृसत्तात्मक सोच ब्युँतिन खोज्दैछन्, पुरानो वर्ग र सत्ता फेरि हाबी हुन कोसिस गरिरहेको छ । यसलाई रोक्न उत्पीडित जागरुक हुनैपर्छ । आफ्नो अधिकार प्राप्तिका लागि योगदान गर्ने पार्टी, नीति र नेतृत्वको पक्षमा उभिनुपर्छ ।”

 बैठकमा प्रधानमन्त्री दाहालले सरकारको नीति, कार्यक्रम तथा बजेटमा दलितका माग र मुद्दा सम्बोधन गर्न सरकारले उच्च प्राथमिकता दिने बताउनभयो ।
 

स्वतन्त्र ब्यक्तिले राष्ट्रपतिकाे गरिमा थाम्न सक्दैन, राजनीतिक ब्यक्तित्व नै चाहिन्छः झलनाथ खनाल

विराटनगर – पुर्व प्रधानमन्त्री पूर्वप्रधानमन्त्री झलनाथ खनालले स्वतन्त्र ब्यक्तिले राष्ट्रपतिको गरिमा थाम्न नसक्ने बताएका छन् ।


विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै नेकपा एकीकृतका सम्मानित नेता खनालले स्वतन्त्र व्यक्तिले राष्ट्रपतिको गरिमा थाम्न नसक्ने टिप्पणी गरेका हुन्। 


‘स्वतन्त्र व्यक्तिले राष्ट्रपतिको गरिमालाई थाम्न सक्दैनन्,’ खनालले सञ्चारकर्मीसँग भने, ‘राष्ट्रपतिमा राजनीतिक ब्यक्तित्व नै चाहिन्छ ।’

संविधानले परिकल्पना गरेको मापदण्डमा आधारित भएर राम्रो राजनीतिक व्यक्तिलाई राष्ट्रपतिको उम्मेदवार बनाएमा मात्र सहमति कायम हुनसक्ने उनको भनाई छ ।

काँग्रेसलाई भोट दिने माओवादी मन्त्रीको राजनीनामा

दाङ – नेकपा माओवादीका तर्फबाट लुम्बिनी प्रदेशको मन्त्री बन्नुभएकी कृष्णा केसीलाई अन्तरघातको बात लागेपछि पदबाट राजीनामा दिनुभएको छ ।

केसीले मुख्यमन्त्री लीला गिरीलाई भेटेर आज राजिनामा बुझाउनुभएकाे हाे ।माओवादीको प्रदेश कमिटीले उहाँलाई राजीनामा दिन लगाएको हो । यही माघ २५ भएको राष्ट्रिय सभा निर्वाचनमा एमालेका उम्मेदवार कुमार दसौदीलाई मतदान नगरी कांग्रेसलाई सघाएको उजुरी परेपछि केसीमाथि पार्टीले छानबिन गरेको थियो ।

प्रदेश कमिटीको छानविनमा केसीलाई काँग्रेसलाई भोट हालेको पुष्टी भएपछि पदबाट राजिनामा दिन निर्देशन दिइएको हो । राजिनमा नआएको भए पार्टीको आग्रह्ममा मुख्यमन्त्री गीरीले मन्त्री केसीलाई बर्खास्त गर्ने तयारी गर्नुभएको थियो ।

माओवादीको केन्द्रीय कमिटी सदस्य समेत रहनुभएकी केसीले राजीनामा बुझाएसँगै सम्पर्क बाहिर हुनुहुन्छ । केसी बाँके १ को प्रदेश सभा क्षेत्र नम्बर १ बाट निर्वाचित हुनुभएकाे हाे । 

अर्घाखाँचीमा ट्याक्टर दुर्घटना, एककाे मृत्यु दुईजना घाईते

अर्घाखाँची  – अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिकामा भएको ट्याक्टर दुर्घटनामा  एक जनाको ज्यान गएको छ भने दुईजना घाइते भएका छन् ।

पाणिनि गाउँपालिका वडा नं ८ पालीमा आज बिहान लु २ त ९२७१ नम्बरको ट्याक्टर दुर्घटना हुँदा स्थानीय १८ वर्षिय हुमबहादुर कुमालको ज्यान गएको प्रहरी नायव उपरीक्षक मुकुन्द रिजालले जानकारी दिए । 

दुर्घटनामा २२ वर्षका चालक चामबहादुर कुमाल र  ३९ वर्षका शंकरबहादुर कुमाल घाइते भएका छन् । प्रहरीका अनुसार घाइतेलाइ उपचारको लागि पाल्पा पठाइएको छ ।

प्रहरीका अनुसार टयाक्टरको ब्रेक फेल भइ बाटोबाट अन्दाजी एक सय ५० मिटर तल प्रहरीले जनाएकाे छ ।

राष्ट्रपतिको सवारीको क्रममा चिकित्सक हातपात गर्ने प्रहरी निलम्बन

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारी सवारी भएका बेला सडक खाली गर्ने क्रममा ट्रमा सेन्टरका चिकित्सकलाई कुटपिट गर्ने प्रहरी अधिकारी निलम्बनमा परेका छन । 

सो घटनामा संलग्न भनिएका महानगरीय प्रहरी वृत्त जनसेवाका वरिष्ठ प्रहरी हवल्दार शम्भूजंग गुरुङलाई जिल्ला प्रहरी परिसर काठमाडौँले निलम्बन गरेको हो। 

राष्ट्रपति निर्वाचन पछि सत्ता समिकरण फेरिन्छ : नेता सिंह

दाङ – नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले राष्ट्रपति निर्वाचन पछि सत्ता समिकरण फेरिने बताएका छन् ।

आज प्रेस युनियन दाङले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले राष्ट्रपति निर्वाचन पछि यही सरकार कायमै रहनेमा आशङ्का व्यक्त गरेका हुन् ।

पुरानो गठबन्धन ब्युतिने नबुतिने यकिन भन्न नसकिए पनि यही समीकरण कायम नरहने सङ्केत देखिएको उनले बताए । प्रतिपक्षमा नरहने भए प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई कांग्रेसले किन विश्वासको मत दिएको भन्ने पत्रकारको प्रश्नमा नेता सिंहले यो प्रश्नको जवाफ राष्ट्रपतिको निर्वाचन पछि मात्र दिन सकिने बताए ।

राष्ट्रपतिको निर्वाचनमा माओवादी केन्द्रको साथ पाउने आशाले प्रचण्डलाई विश्वासको मत दिइएको उनको आशय थियो ।

खोटाङका बरुण घले थाइल्याण्डमा म्याक्स मुआथाई फाइटमा भिड्दै

काठमाडौँ – थाइल्याण्डका मुआथाई फाइटरलाई हराउँदै नेपालकै पहिलो खेलाडीको इतिहार रचेका बरुण घले गुरुङ थाइल्याण्डमा आइतबार हुने म्याक्स मुआथाई फाइटमा भिड्दैछन् । नेपालबाट थाईल्याण्ड पुगेर व्यवसायीक रुपमा मुआथाई खेल्न सुरु गरेका बरुणले म्याक्स मुआथाई स्टेडियममा म्याक्स मुआथाई फाइटमा भिड्न लागेका हुन् । 

मुआथाईमा संघर्ष गर्नेक्रममा नेपालबाट थाइल्याण्ड पुगेका बरुणले ५५ केजी तौल समुहमा थाइल्याण्डकै फाइटरसँग प्रोफेसनल मनी फाइटमा प्रतिष्पर्धा गर्ने तयारी गरेका छन् । इरावान मुआथाई फाइट टिमबाट प्रतिष्पर्धामा प्रतिष्पर्धा गर्न लागेको बरुणले बताए । प्रतियोगीता म्याक्स मुआथाई स्टेडियमबाट लाइभ हेर्न सकिने छ । गत माघ ६ गते थाइल्याण्डको राजादम्नर्न स्टेडियममा भएको प्रतियोगीतामा बरुणले ५७ केजी तौल समुहमा मुआथाई प्रतियोगीतामा विजयी हुने पहिलो नेपाली फाइटरको इतिहास बनाएका थिए । 

खोटाङको केपिलासगढी गाउँपालिका–४ बाक्सिलाका गुरुङले मुआथाईका विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाइसकेका छन् । गुरुङले नेपालका विभिन्न प्रतियोगीतामा आफ्ना प्रतिष्पर्धीलाई छोटो समयमा नकआउट गरेको इतिहास बनाइसकेका छन् । 

थाइल्याण्डको युद्धमा थाइ आर्मीबाट सुरु भएको र प्रयोग गरिएको मुआथाई थाइल्याण्डको राष्ट्रिय खेल हो । हात खुट्टा भाँचिने र अनुहार बिग्रिने भएकाले यस खेललाई जोखिमपूर्ण मानिन्छ । 

माइतीघरमा प्रदर्शनकारी भन्दा प्रहरी धेरै (फोटो फिचर)

काठमाडौं – राष्ट्रपति बिद्यादेवी भण्डारीको सवारीको क्रममा ट्रमा सेन्टरका चिकित्सक माथी भएको हातपातको बिरोधमा माइतीघर काठमाडौंमा बिरोध प्रदर्शन भएको छ । 


११ः३० मा बिरोध प्रदर्शन हुने भनिए पनि झन्डै १ बजे भएको सो प्रदर्शनमा प्रदर्शनकारी भन्दा प्रहरी धेरै जम्मा भएका थिए । 

भ्रष्टाचारले मुलुकको समृद्धि र दिगो विकासको लक्ष्य हासिल गर्न बाधा पुर्‍याउँछ : राष्ट्रपति भण्डारी

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले भ्रष्टाचार राज्यबिरुद्धको अपराध भएको बाउनु भएको छ ।


शनिबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३२ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले भ्रष्टाचार राज्यबिरुद्धको अपराध भएको उल्लेख गर्दै भ्रष्टाचारले मुलुकको समृद्धि र दिगो विकासको लक्ष्य हासिल गर्न बाधा पु¥याउने बतउनु भएको हो ।


उहाँले मुलुक र संविधानप्रतिको अविचल निष्ठा एवं जनताप्रतिको समर्पणबाट मात्र हरेक व्यक्तिमा लैङ्गिकता, इमान्दारी र सदाचारको भावना विकास हुने भन्दै मुलुकको उच्चतम हीत र कल्याणका लागि आफ्नो कर्तव्यलाई अवसरको रुपमा लिइ कार्य सम्पादन गरेको खण्डमा भ्रष्टाचार न्युनिकरण हुँदै जाने दाबी गर्नु भयो ।

उहाँले भन्नुभयो, ‘मुलुकमा उपलब्ध साधन, श्रोतको अधिकतम प्रयोग गरी आर्थिक एवं भौतिक विकास क्षेत्रमा लक्षित नतिजा हासिल गर्न भ्रष्टाचार नियन्त्रण हुन अपरिहार्य छ । मुलुक र संविधानप्रतिको अविचल निष्ठा एवं जनताप्रतिको समर्पणबाट मात्र हरेक व्यक्तिमा लैङ्गिकता, इमान्दारी र सदाचारको भावना विकास हुन्छ । त्यसैले मुलुकको उच्चतम हीत र कल्याणका लागि आफ्नो कर्तव्यलाई अवसरको रुपमा लिइ कार्य सम्पादन गरेको खण्डमा भ्रष्टाचार न्युनिकरण हुँदै जान्छ ।’

राष्ट्रपति भण्डारीले नवनिर्वाचित सांसदहरूको सम्मानमा आज चियापान

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले आज नवनिर्वाचित सांसदहरूको सम्मानमा राष्ट्रपति कार्यालय शीतलनिवासमा चियापानको आयोजना गर्नुभएकाे छ । 

दिउँसो ३ बजे चियापान कार्यक्रम आयोजना हुने राष्ट्रपति कार्यालयले जनाएको छ । कार्यक्रममा राष्ट्रपति भण्डारीले सांसदहरुलाई बधाई तथा शुभकामना दिनुहुनेछ ।  उहाँले हिजो संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्दै सरकारको ध्यान विकास, समृद्धि र नागरिकलाई सुखी बनाउनतर्फ केन्द्रित हुनुपर्ने बताउनुभएकाे थियाे । 

उहाँले प्रतिनिधिसभा र राष्ट्रियसभाका सबै सदस्यहरुलाई जलपानमा सहभागीताका लागि निमन्त्रणा गर्नुुभएको छ ।
राष्ट्रपति भण्डारीले आज धन्यवाद ज्ञापन स्वरुप जलपानको आयोजना गर्नलाग्नुभएकाे हाे । 

प्रदेशको सरकार परिवर्तन भएर गठबन्धनमा पहिरो जाँदैन: योगेश भट्टराई

काठमाडौं – नेकपा एमालेका सचिव योगेश भट्टराईले सुदूरपश्चिमको सरकार फेरिनु कुनै अनौठो नभएको बताउनुभएको छ ।

संघीय संसदमा राष्ट्रपतिको सम्बोधनपछि बोल्दै उहाँले संविधान अनुसार नै प्रदेश सरकार परिवर्तन भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘प्रदेशको सरकार परिवर्तन हुँदैमा केन्द्रको गठबन्धनमा कुनै असर गर्दैन।’

सचिव भट्टराईले भन्नुभयो, ‘प्रदेशको सरकार परिवर्तन भएर केन्द्रको गठबन्धनमा पहिरो जाँदैन । केन्द्रको सत्ता समीकरण जोगिन्छ ।’

नेता भट्टराईले विश्वासको मत लिने क्रममा सुदूरपश्चिम प्रदेश सभाका सभामुखले मत विभाजनमार्फत निर्णय गर्नुपर्ने भए पनि ध्वनी मतका आधारमा निर्णय गरेकाले त्यो विषय सोचनीय भएको बताउनुभयो ।

साफ महिला यु–२० को नेपाली टोली स्वदेश फर्कियो

काठमाडौं – दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला यु–२० च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपविजेता नेपाली टोली स्वदेश फर्किएको छ ।

पाली टोली २३ खेलाडीसहित ३० सदस्यीय नेपाली टोली बिमान बंगलादेशको फ्लाइटमार्फत शुक्रबार दिउँसो स्वदेश फर्किएको हो । 

नेपाली टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का पदाधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए । प्रतियोगितामा सहभागी हुन नेपाली टोली १८ माघमा बंगलादेश प्रस्थान गरेको थियो ।

नेपाल ढाकास्थित वीर श्रेष्ठ सहिद सिपाही मुस्तफा कमल स्टेडियममा बिहिबार सम्पन्न फाइनल खेलमा घरेलु टोली बंगलादेशसँग ३–० ले पराजित हुँदै उपविजेतामा सिमित भएको थियो ।

ओलीले भने, ‘हामीले भनेकै राष्ट्रपति हुन्छ’

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफुहरुले भनेकै ब्यक्ति राष्ट्रपति निर्वाचित हुने बताएका छन् ।


संघीय संसदको दुवै सदनलाई सम्बोधन पछि राष्ट्रपतिले बिद्यादेवी भण्डारीले सम्वोधन गरे पछि निस्कने क्रममा सञ्चारकर्मीसँग छोटो प्रतिक्रिया दिदै एमाले अध्यक्ष ओलीले भने । उनले सञ्चारकर्मीको प्रश्नमा भने,‘हामीले भनेकै ब्यक्ति (राष्ट्रपति) हुन्छ । ’ 

राष्ट्रपतिको उम्मेदवार सत्ता गठबन्धनबाटै हुन्छः जनार्दन शर्मा

काठमाडौं – नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा संगठन विभाग प्रमुख जनार्दन शर्माले सत्ता गठबन्धनबाटै राष्ट्रपतिको उम्मेदवार बन्ने दाबी गर्नुभएको छ ।

संसद भवनमा पत्रकारहरूसँग कुरा गर्दै पूर्वअर्थमन्त्री शर्माले यस्तो बताउनु भएको हो। उहाँले भन्नुभयो, ‘राजनीतिक व्यक्तिबाटै राष्ट्रपति निर्वाचित हुन्छ। गैरराजनीतिक व्यक्ति राष्ट्रपति बनाउनु हुँदैन।’

उपमहासचिव शर्माले भन्नुभयो, ‘हाम्रो बैठकमा राजनीतिक व्यक्तिभन्दा बाहिरबाट राष्ट्रपति बनाउने भन्ने कुनै छलफल भएको छैन । राजनीतिक व्यक्ति नै राष्ट्रपति बन्छन् र गठबन्धनबाटै सहमति खोजिन्छ।’

शर्माले अहिले गठबन्धनमा खटपट भएको कुरा बाहिरी हल्लामात्र भन्दै त्यस्तो केही नभएको दाबीसमेत गर्नुभयो।

राष्ट्रपति भण्डारीको सम्बोधनको पूर्णपाठ

काठमाडौं, २७ माघ । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार संघीय संसदका दुवै सदन प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकलाई सम्बोधन गरेकी छन् । सोही सम्बोधनको पूर्णपाठ 


प्रतिनिधि सभाका सम्माननीय सभामुख,
राष्‍ट्रिय सभाका सम्माननीय अध्यक्ष,
माननीय सदस्यहरू।
१.    भरखरै सम्पन्‍न प्रतिनिधि सभाको निर्वाचनपछिको सङ्‍घीय संसदको संयुक्त सदनको पहिलो बैठकमा सम्बोधन गर्न पाएकोमा गौरवान्वित छु। सर्वप्रथम प्रतिनिधि सभार प्रदेश सभामा विजयी हुनुहुने सम्पूर्ण माननीय सदस्यहरूलाई हार्दिक बधाई दिँदै नेपाली र नेपालीको विकासका लागि यहाँहरूको कार्यकाल सफल होस् भन्‍ने शुभकामना व्यक्त गर्दछु। सङ्‍घ तथा प्रदेश सरकारहरूले आफ्‍नो समग्र ध्यान नेपाल र नेपालीको हितका लागि केन्द्रित गरी जनतका आशा र भरोसालाई किञ्‍चित पनि कुण्ठित हुन नदिने गरी कार्यसम्पादन गर्नेछन् भन्‍ने विश्‍वास गर्दछु। 

२.    प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन शान्तिपूर्ण र निष्पक्ष रूपमा सम्पन्‍न गर्न आ-आफ्‍नो तर्फबाट भूमिका खेल्ने तत्कालीन सरकार, निर्वाचन आयोग, राष्‍ट्रसेवक कर्मचारी, सुरक्षाकर्मी, राजनीतिक दल तथा सम्पूर्ण मतदाताहरूलाई हार्दिक धन्यवाद दिन्छु।

३.    नेपालको संविधान कार्यान्वयनको सात वर्षको अभ्यास र अनुभव हाम्रा लागि महत्त्वपूर्ण छन्। संविधानअनुसार तीनै तहमा दोस्रो कार्यकालको निर्वाचन सम्पन्‍न भएको छ। सङ्‍घीय लोकतान्‍त्रिक गणतन्त्रका आधारस्तम्भहरू संस्थागत भएका छन्। संविधान कार्यान्वयन, सङ्‍घीय शासनव्यवस्था सञ्‍चालन र लोकतन्‍त्रको व्यावहरिक सुदृढीकरणका लागि हामीले अवलम्बन गरेका नीति, निर्माण गरिएका कानुन र प्रक्रियागत सुधारका कारण राजनीतिक स्थायित्व कायम भएको छ।
प्रतिनिधि सभाका सम्माननीय सभामुख,
राष्‍ट्रिय सभाका सम्माननीय अध्यक्ष,

४.    सङ्‍घीय संसदको दुवै सदनको यो संयुक्त बैठकमा नेपालको राष्‍ट्रपतिको हैसियतले मेरो यो सम्बोधन सम्भवत: अन्तिम हुनेछ। अघिल्लो संसददेखि यो संसदसम्म राष्‍ट्रपतिको रूपमा कार्यसम्पादन गर्न मलाई सहयोग पुर्‍याउनुभएकोमा म तत् तत् समयका सरकार तथा संसदका माननीय सदस्यहरूप्रति हार्दिक आभार प्रकट गर्दछु। 

५.    करिब सात वर्ष लामो मेरो कार्यकालमा मैले हासिल गरेको अनुभवसमेतका आधारमा देश र जनताका लागि सङ्‍घीय संसद र सरकारले गर्नुपर्ने केही विषयहरू राख्‍न चाहन्छु।देशको राजनीतिले एउटा लय र गति समातिसकेकोले अब हाम्रो ध्यान विकास, समृद्धि र नागरिकलाई सुखी बनाउनेतर्फ केन्द्रित हुनुपर्दछ भन्‍ने मैले ठानेको छु। निश्‍चय पनि यसबीचमा देशको आर्थिक-सामाजिक क्षेत्रमा धेरै नै प्रगति भएका छन्। विकास निर्माणले गति लिएको छ। तर यो गति पर्याप्‍त छ त? हामीले हरेक नागरिकको विकास र समृद्धिको आकाङ्‍क्षा पूरा गर्न गरेको प्रयासले सार्थकता पाएको छ त? यी प्रश्‍नहरूको जवाफलाई केन्द्रमा राखेर अबका हाम्रा कामकारबाही अगाडि बढ्नुपर्दछ। 

६.    देशको आर्थिक अवस्था जटिल मोडमा रहेको विषयप्रति सबै जानकार र चिन्तित छौं। अर्थतन्‍त्रमा देखिएका तत्कालीन, अल्पकालीन र दीर्घकालीन समस्याको समाधान नखोजी गरिने कुनै पनि क्रियाकलाप सफल हुँदैनन्। अर्थतन्‍त्रका सूचकहरूमा पछिल्लो समय केही सकारात्मक सङ्‍केत देखापरेको भए तापनि यसको दिगोपनामा आश्‍वस्त भइहाल्ने अवस्था देखिएको छैन। केही समयदेखि बजारमा देखिएको मौद्रिक तरलताको समस्या, लगानीका लागि यथेष्‍ट स्रोत उपलब्ध हुन नसकेको र बाह्‌य कारणसमेतले गर्दा उत्पादन क्षेत्र कमजोर बन्दै गइरहेको छ। कमजोर आर्थिक वृद्धिदर, बढ्दो दरको मुद्रास्फीति र विकराल बन्दै गएको अन्‍तर्राष्‍ट्रिय व्यापार घाटाको स्थितिलाई सम्बोधन गर्ने प्रमुख पक्ष उत्पादन क्षेत्र यसरी कमजोर भएकोप्रति हामी सबै गम्भीर बन्‍नुपर्दछ।  

७.    वैश्‍वीकरणको यो युगमा आर्थिक विकासका लागि हाम्रो आफ्‍नै मात्र प्रयास पर्याप्‍त हुँदैन, न त अर्थतन्‍त्रको समस्या मुलुकभित्रको कारणले मात्र देखापर्दछ। दुई वर्षभन्दा लामो समयदेखिको कोभिड-१९ महामारी र एक वर्षदेखिको रुस-युक्रेन युद्धका कारण विश्‍व अर्थतन्‍त्रमा पारेको प्रभावबाट स्वाभाविक रूपमा नेपाल मात्र अछुतो रहेको छैन। हाम्रो अर्थतन्‍त्रको कतिपय समस्या यी कारणबाट पनि सिर्जित भएका हुन्। तथापि यसैलाई मात्र कारण देखाएर अकर्मण्य बन्‍ने सुविधा हामीलाई छैन।
अर्थतन्‍त्र सुधार

८.    यस सम्मानित सदनमा म अर्थतन्‍त्रका सबै तथ्‍याङ्‍क प्रस्तुत गर्न गइरहेको छैन। तथ्याङ्‍कमा प्रस्तुत गरिने आर्थिक वृद्धि आमनागरिकको आर्थिक-सामाजिक जीवनमा कसरी प्रतिविम्बित भएको छ, नहेरी गरिने विश्‍लेषण एकाङ्‍गी हुन्छ। सरकारले निश्‍चय पनि यी तथ्याङ्‍कको गहन विश्‍लेषण गरेर आफ्‍नो नीति तथा कार्यक्रम तयार गर्नेछ भन्‍ने मेरो विश्‍वास छ। अर्थतन्‍त्रमा प्रभाव पार्ने आन्तरिक र बाह्‍य प्रभावको समग्र अध्ययन गरेर सरकारको वित्त नीतिमा संरचनागत परिमार्जन गर्नुपर्ने आवश्यकता देखिएको छ। औपचारिक अर्थतन्‍त्रलाई बढावा दिन र संस्थागत गर्नेतर्फ वित्त नीति निर्देशित हुनुपर्ने जरूरी देखिएको छ। सरकारले आगामी दिनमा राजस्वको क्षेत्र र दायरा विस्तार गरी सबै प्रकारका आर्थिक क्रियाकलापलाई औपचारिक माध्यममा आबद्ध गर्न प्रोत्साहित गर्नेछ भन्‍ने मैले अपेक्षा गरेकी छु।

९.    वित्त नीति र मौद्रिक नीतिबीचको सामञ्‍जस्यता मात्र होइन, यी दुईले एक अर्काको परिपूरकको रूपमा काम गर्नुपर्ने हुन्छ। दुवै नीतिको कार्यान्वयनबाट आर्थिक क्रियाकलाप चलायमान बन्‍ने हो, यसमा उपयुक्त सामञ्‍जस्यता खोज्नुपर्दछ। विगत केही समयदेखि बजारमा देखिएको मौद्रिक तरलता सङ्‍कुचनका कारण बैङ्‍क तथा वित्तीय संस्थाको ब्याजदर बढेको छ, जुनसङ्‍कट हल गर्न तत्काल कदम चालिहाल्नु आवश्यक देखिएको छ। तरलता अभावको स्थितिमा ब्याजदर बढ्न गई उत्पादन लागत बढ्नु स्वाभाविक हो। यसबाट उद्योगी व्यापारी मात्र होइन आम उपभोक्ता समेत मारमा पर्दछन्। पछिल्ला दिनमा निजी क्षेत्रमा देखिएको निराशा यसैको उपज हो। यस समस्याको समाधानका लागि तत्काल गहन अध्ययन गरी निकास निकाल्नुपर्दछ।

१०.    कोभिड-१९ र रुस-युक्रेन युद्ध समेतका कारण विश्‍वभर नै खर्च र स्रोत व्यवस्थापनमा चाप परेको छ। हामीकहाँ विगत केही वर्षदेखि विनियोजित बजेट पूर्ण रूपमा खर्च भइरहेको छैन। त्यसमा पनि पूँजीगत खर्च विनियोजनको तुलनामा ८० प्रतिशत वा सोभन्दा कम मात्र भएको छ। गत आर्थिक वर्षमा त पूँजीगत खर्च ६० प्रतिशत पनि नाघ्न सकेन। एकातिर पूँजी निर्माणका लागि बजेट नै कम विनियोजन हुने र अर्कातिर भएको पूँजीगत बजेट पनि कम मात्र खर्च हुँदा पूँजी निर्माण कमजोर हुने मात्र नभई यसबाट विस्तार हुने अन्य आर्थिक क्रियाकलापमा सुस्तपना आई सरकारी राजस्व समेत घटिरहेको अवस्था छ। अघिल्लो वर्षभन्दा पछिल्लो वर्ष कम राजस्व सङ्‍कलन हुनु निश्‍चय नै सुखद् सङ्‍केत होइन। राजस्वले लक्ष्य नभेट्नु र वैदेशिक सहायताको परिचालन पनि न्यून हुनुले खर्च धान्‍न स्वाभाविक रूपमा आन्तरिक ऋणमा चाप पर्दछ, तर बजारमा मौद्रिक तरलता सङ्‍कुचन भएका कारण सरकारले लिने आन्तरिक ऋणको लागत बढ्न गई आगामी दिनमा यसैका लागि थप बजेट विनियोजन गर्नुपर्ने अवस्था पनि आउनसक्‍नेतर्फ सचेत भई सरकारले उपयुक्त कदम चाल्‍नेछ भन्‍नेमा म विश्‍वस्त छु।

११.    अर्थतन्‍त्रमा बाह्‍य क्षेत्रको चाप अझै पनि प्रष्‍ट देख्‍न सकिन्छ। केही सूचकहरू सकारात्मक हुँदै गएता पनि ढुक्‍क भइहाल्ने स्थिति छैन। विशेषगरी बढ्दो व्यापार घाटा कम गर्न निजी क्षेत्रसँग समेत सहकार्य गरी निर्यात वृद्धिका उपाय खोज्नुपर्ने देख्दछु।हाम्रो अर्थतन्‍त्रको संरचना नै आयातमुखी भएकाले यसमा परिवर्तन नगरी व्यापार घाटा तत्कालै घटाउन कठिन हुन्छ। तसर्थ निर्यात प्रवर्द्धनका लागि हालसम्म भएका गरिएका कार्यहरूबाट प्राप्‍त उपलब्धिको गम्भीर समीक्षा गरी उत्पादन परिमाण र लागत, लगानी, उपभोग र गुणस्तरलाई एकीकृत रूपमा समेट्ने गरी व्यापार सन्तुलन कायम गर्नेतर्फ सरकारका नीति तथा कार्यक्रम परिलक्षित हुनुपर्नेछ।
उत्पादन वृद्धि

१२.    अर्थतन्त्र सुधार्न आन्तरिक उत्पादनको क्षेत्र सबल बन्‍नुपर्दछ भन्‍ने मेरो मान्यता हो। त्यसैले सरकारले छिटोभन्दा छिटो उत्पादन वृद्धिका लागि समन्वयात्मक कार्यक्रम कार्यान्वयन गर्नेछ भन्‍ने मेरो अपेक्षा छ।उत्पादन क्षेत्रलाई सबल बनाउनका लागि मलाई लागेका केही कुरा राख्‍न चाहन्छु। कृषि अझै पनि हाम्रो तुलनात्मक र प्रतिस्पर्धी लाभको क्षेत्र हो।कृषि क्षेत्रको कार्यक्रमलाई पुन:संरचना गर्नुपर्ने आवश्यकता रहेको छ। हाल विभिन्‍न शीर्षकमा दिइने अनुदानलाई एकत्रित गरी उत्पादनको परिमाणका आधारमा उपलब्ध गराउँदा उत्पादन वृद्धिका लागि उत्प्रेरणा मिल्दछ। 

१३.    रासायनिक मलको नियमित आपूर्तिका लागि मल उत्पादक राष्‍ट्रसँग सोझै वार्ता गरी कम्तीमा ३ देखि ५ वर्षसम्म एकमुष्‍ट सम्झौता गर्न सकिएमा आपूर्ति दिगो हुने अवस्था रहन्छ।यसका साथै मूल्य र गुणस्तरलाई नियमनको दायरामा ल्याई मल आपूर्तिमा निजी क्षेत्रलाई सहभागी गराउने विकल्प पनि प्रयोगमा ल्याउनुपर्दछ। नेपालमै आगामी ५ वर्षभित्र गुणस्तरीय रासायनिक मल उत्पादन गर्ने कारखाना सञ्‍चालन गर्ने गरी समयबद्ध शुरुवात गर्नुपर्ने देख्दछु। मल कारखाना स्थापना गर्ने कार्यक्रम सधैं बनाइरहने तर यसले सार्थकता भने कहिल्यै नपाउने स्थितिको तत्काल अन्त्य गर्नुपर्दछ। कृषि कार्यमा प्रयोग हुने रासायनिक मल तथा विषादीले कृषियोग्य माटोमा अम्लीयपना वृद्धि गरी उत्पादकत्व कम हुँदै गएको तथ्यलाई मनन गरी माटोको स्वास्थ्य सुदृढ गर्न प्राङ्‍गारिक र गैर प्राङ्‍गारिक मलको उचित सम्मिश्रण कायम गर्न प्रोत्साहित गर्नुपर्नेछ। 

१४.    कृषि उत्पादनका साधनको व्यवस्थापन गर्न धेरै निकाय संलग्‍न हुने हुँदा उत्पादनलाई केन्द्रमा राखेर मल, बीऊ, कृषि प्रसार सेवा, सिँचाई, पूँजी, भूमिको समन्वयात्मक कार्यक्रम सञ्‍चालन गर्न अब पनि ढिलो गर्नुहुँदैन। हाम्रो ध्यान बालीको प्रकृतिका आधारमा उत्पादनको क्षेत्र तोकी परिमाण वृद्धि गर्नेतर्फ केन्द्रित हुनुपर्दछ। “एक गाउँ, एक उत्पादन” वा “एक पालिका, एक उत्पादन” जस्ता कार्यक्रमहरूलाई पुन:संरचना वा पुन:परिभाषित गरी उस्तै वस्तु उत्पादन हुने १० पालिकामा एकै किसिमको उत्पादन गर्न सकिएमा उत्पादन वृद्धि मात्र होइन, साधनको सहज आपूर्ति र उत्पादनको बजारीकरण समेत सहज हुन जान्छ। यसबाट आन्तरिक वितरण प्रणालीलाई सुदृढ गरी मूल्य शृङ्‍खला कायम गर्न र किसानलाई आफ्‍नो उत्पादनको उचित मूल्य समयमै प्राप्‍त गर्न सहयोग पुग्ने मेरो धारणा छ।

१५.    अबको २ वर्ष वा ५ वर्षमा निश्‍चित खाद्यवस्तुमा आत्मनिर्भर भई बचत हुन जाने उत्पादन निर्यात समेत गर्न सक्षम हुने गरी कृषिका कार्यक्रम कार्यान्वयन गर्नु आवश्यक देखिएको छ। यसका साथै स्वदेशी उत्पादनको प्रयोग गर्न, कच्चा खाद्यवस्तुमा मूल्य अभिवृद्धि गर्ने खाद्य प्रशोधन उद्योग स्थापना गर्न र कृषिवस्तुको भण्डारण क्षमता बढाउन प्रोत्साहित गर्ने कार्यक्रम अविलम्ब सञ्‍चालन गर्नुपर्ने देखिएको छ। सार्वजनिक गोदाम र शीत भण्डारको निर्माण र सञ्‍चालनमा निजी क्षेत्रको सहभागिता बढाउनुका साथै ठूलो मात्रामा खाद्यान्‍न खपत गर्ने सुरक्षा निकायहरू, विद्यालय तथा अस्पतालहरूलाई समेत खाद्यान्‍न भण्डारणका लागि उपयोग गर्न सकिने सम्भावनाको खोजी गर्नु उपयुक्त हुने देख्दछु। 

१६.    नेपालको धैरै स्थानमा हाल पनि निर्वाहमुखी कृषिकै प्रधानता रहेको र कृषिमा काम गर्ने उमेर समुहका नागरिक रोजगारीका लागि विदेशिने गरेकाले कृषियोग्य भूमि बाँझै रहने समस्या पनि देखिएको छ। यसलाई निराकरण गर्न सामुहिक खेती वा करार खेतीको अवधारणा व्यवहारमा लागु गर्न धेरै ढिलो भइसक्‍यो भन्‍ने मेरो बुझाइ हो। यसबाट एकातिर कृषि जमीनको सही उपयोग हुने र अर्कातिर कृषि श्रमिकको आपूर्ति समेत सहज हुनजान्छ। 

१७.    कृषि उत्पादनमा प्रविधिको उपयोग र सोअनुरूपको सीप विकास नगरिकन हामी निर्वाहमुखी कृषिबाट माथि उठ्न सक्दैनौं। वैदेशिक रोजगारीमा गएका नेपालीहरूले प्राप्‍त गरेको ज्ञान, सीप र अनुभवलाई प्रोत्साहन, उत्पादनका साधन र लगानीको स्रोतमा पहुँच वृद्धि र प्रविधिमा सरकारले सहयोग गरी कृषिमा पूर्णकालीन रोजगारी सिर्जना गर्न तत्कालै कार्यक्रम सञ्‍चालन गर्नुपर्दछ, अन्यथा जनशक्तिको अभावमा केही वर्षपछि हाम्रो कृषियोग्य भूमि बाँझै रहने अवस्था आउनसक्‍नेतर्फ हामी सबै सचेत हुनुपर्दछ।

१८.    उद्योग क्षेत्रको विकासका लागि हामीले प्रयास गर्दै आएता पनि यसमा अपेक्षित सुधार भएको छैन। उद्योग क्षेत्रको विकासका लागि आवश्यक आधारभूत पूर्वाधारको व्यवस्था सरकारले नै गर्नुपर्दछ। सरकारले नै आफैं उद्योगधन्दा सञ्‍चालन गरी उत्पादन गर्ने विधि हालको परिस्थितिमा सम्भव हुँदैन। त्यसैले लगानीको वातावरण तयार गरी लगानी सुरक्षा गरिदिने र उत्पादनस्थलसम्म आवश्यक पूर्वाधार निर्माण गर्ने कार्यमा सरकारले ध्यान दिने नै छ। कम्पनी दर्ता र बन्द गर्ने प्रक्रियामा सहजीकरण, अन्तर निकाय समन्वयको भरपर्दो व्यवस्था, लगानी स्वीकृति र लगानी फिर्ताको सहजता एवम् औद्योगिक कच्चापदार्थको आयात वा उपलब्धतालाई विशेष रूपले सम्बोधन गर्नुपर्दछ। पूँजीको उपलब्धता, राजस्वको पुन:संरचना, सार्वजनिक संस्थानको व्यवस्थापन विधिमा परिवर्तन, स्वदेशी उत्पादनको उपभोग वृद्धि र निजी क्षेत्रमैत्री नीति तथा कार्यक्रम कार्यान्वयन औद्योगिक उत्पादन वृद्धि गर्ने माध्यम हुनसक्दछन्।

१९.    आम गरिबी न्यून गर्न उद्योग क्षेत्रको रोजगारीले सबैभन्दा बढी भूमिका निर्वाह गर्दछ। लुप्‍त बेरोजगारी समेतका कारणले कृषि क्षेत्रको रोजगारी सीमित हुने र सेवा क्षेत्रको रोजगारीमा गैर गरिबी क्षेत्रको हिस्सा बढी हुने भएकाले उद्योग क्षेत्रको रोजगारीलाई प्राथमिकतामा राख्‍नुपर्दछ। उद्योगको विकास भएपछि त्यसले सिर्जना गर्ने रोजगारी, अग्र र पृष्‍ठसम्बन्ध भएका क्षेत्रको विकास र सोबाट पर्ने सकारात्मक प्रभावलाई आँकलन गरी वृहत्तर सोचका साथ अघि बढ्नु उपयुक्त हुन्छ भन्‍ने मलाई लाग्दछ। स्वदेशी वस्तुको उत्पादन र उपभोग बढाउन निजी क्षेत्रबाट अघि सारिएका “मेक इन नेपाल” र मेड इन नेपाल” जस्ता कार्यक्रमहरूलाई सरकारले पनि अपनत्व प्रदान गरी सहकार्य गर्नु आवश्यक छ। औद्योगिक क्षेत्रका लागि सबैभन्दा ठूलो स्वदेशी कच्चापदार्थको रूपमा रहेको विद्युतको सुलभ उपलब्धता सुनिश्‍चित गर्न सकेमा मात्र पनि औद्योगिक उत्पादनको लागतमा कमी आई हाम्रो उत्पादन प्रतिस्पर्धी बन्‍न सक्‍नेछ भन्‍ने मेरो धारणा छ।

२०.    औद्योगिक उत्पादनमा नयाँ क्षेत्रको खोजी गर्नुपर्ने आवश्यकता मैले देखेको छु। हाम्रो औद्योगिक वस्तु अझै पनि परम्परागत नै छ। विशेषत: सूचना प्रविधिको क्षेत्रमा भएको विकासलाई ध्यान दिई अन्य क्षेत्रका उद्योगको सम्भावना खोजी गरिहाल्नुपर्दछ। अन्य मुलुकमा विस्थापित हुने उद्योगहरूलाई आकर्षित गर्न गुणस्तर र मूल्य प्रतिस्पर्धी वातावरण सिर्जना, लगानी सहजीकरण, लगानी फिर्ताको सुनिश्‍चितता र लगानी सुरक्षाको प्रत्याभूति दिन सकिएमा त्यस्ता उद्योगहरू आकर्षित हुन सक्दछन्। औद्योगिक उत्पादनसँग अन्तरसम्बन्धित नीतिहरूको सामञ्‍जस्यपूर्ण कार्यान्वयन गर्नु आवश्यक हुन्छ। औद्योगिक नीतिले राखेका सोचलाई कार्यरूपमा बदल्न वित्त नीति, मौद्रिक नीति तथा विदेशि लगानीसम्बन्धी नीतिको समन्वयात्मक उपयोग गर्नुपपर्दछ। विदेशी लगानी आकर्षित गर्न निश्‍चित रकमसम्मको लगानीका लागि उद्योग, वाणिज्य र कम्पनी प्रशासनमा स्वचालित रुट प्रणालीको शुरुवात गरिहाल्नुपर्दछ। 

२१.    विगत केही वर्षदेखि नेपालको कुल गार्हस्थ्य उत्पादनमा सेवा क्षेत्रको योगदान सबैभन्दा बढी रहेकाले यो क्षेत्रको विकासमा थप जोड दिनुपर्दछ। सेवा क्षेत्रको सबैभन्दा महत्त्वपूर्ण र भरपर्दो क्षेत्र भएकाले पर्यटन क्षेत्रमा विशेष ध्यान दिनुपर्दछ।सम्पूर्ण नेपाल नै आकर्षक पर्यटकीय गन्तव्य भनेर हामीले दावी गरिरहँदा किन अन्तर्राष्‍ट्रिय पर्यटकको सङ्‍ख्या र बसाइ अवधिमा वृद्धि हुन सकेन, सोको गहन विश्‍लेषण गर्नु आवश्यक देख्दछु। अन्य मुलुकभन्दा नेपाल किन आकर्षक छ, सेवाको शैली र गुणस्तर कसरी भिन्‍न छ, हाम्रा पर्यटकीय वस्तुमा के विशिष्‍टता छ जुन अन्य मुलुकका पर्यटकीय वस्तुको तुलनामा आकर्षक छ भन्‍ने कुराको समीक्षा गरेर पर्यटन क्षेत्रका कार्यक्रम कार्यान्वयन गर्नु उपयुक्त देख्दछु।

२२.    पर्यटन क्षेत्रमा सरकारले गर्ने भनेको तीन कुरा हुन्छन् – (१) पर्यटकीय वस्तुको विकास, पर्यटनस्थलको पूर्वाधार निर्माण, सेवाको उपलब्धताका लागि सहजीकरण, सेवा र पूर्वाधारको गुणस्तर र नियमन, (२) राष्‍ट्रिय र अन्‍तर्राष्‍ट्रियस्तरमा बजारीकरण, र (३) सहज पहुँचको व्यवस्था। यीबाहेकका कामहरू निजी क्षेत्रलाई नै छाडिदिनुपर्दछ। नेपालको प्राकृतिक र साँस्कृतिक सम्पदाको व्यापक प्रचारप्रसार गरी त्यहाँसम्मको पहुँच सुदृढ गर्दै साहसिक पर्यटनको विकास गर्न निजी क्षेत्रलाई प्रोत्साहन र सहकार्य गर्नुपर्दछ।

२३.    पर्यटन क्षेत्रको महत्त्वपूर्ण पक्ष हवाई यातायात हो। भैरहवा र पोखरामा क्षेत्रीयस्तरको अन्तर्राष्‍ट्रिय विमानस्थल सञ्‍चालनमा आउनु पर्यटकीय क्षेत्रका लागि महत्त्वपूर्ण सन्देश हो। यी विमानस्थलको दिगो सञ्‍चालनका लागि वैकल्पिक हवाई रुटको उपलब्धताका सम्बन्धमा तत्कालै पहल गर्नुपर्दछ। आन्तरिक र अन्तर्राष्‍ट्रिय हवाई यातायातमा अन्तर्राष्‍ट्रिय नागरिक उड्‍डयन संगठनको मापदण्डअनुरूप हवाई सुरक्षा सुनिश्‍चित गर्दै सबै स्थानबाट विमानस्थलसम्म यातायात पूर्वाधार निर्माणमा ध्यान दिनुपर्नेछ।
रोजगारी

२४.    प्रत्येक वर्ष श्रम बजारमा प्रवेश गर्ने जनशक्तिलाई देशभित्रै रोजगारीको व्यवस्था मिलाउन सार्वजनिक र निजी क्षेत्रले सहकार्य गर्नु आवश्यक छ। दक्ष जनशक्ति उत्पादन गर्न लगानी हामीले व्यहोर्नुपर्ने र सोको लाभ अन्य मुलुकले प्राप्‍त गर्ने स्थितिको अन्त्य गर्न आर्थिक, सामाजिक र पूर्वाधारका क्षेत्रमा लगानी बढाउनुपर्ने आवश्यकता एकातिर छ भने दक्ष जनशक्ति उत्पादनकै लागि पनि लगानी बढाउनुपर्दछ।

२५.    आजका युवा नयाँ कुरा गर्न चाहन्छन्, नयाँ कुरा सिक्‍न चाहन्छन्। परम्परागत श्रमका क्षेत्रले मात्र श्रमबजारमा आउने जनशक्तिको अपेक्षा पूरा गर्न सक्दैन। तसर्थ रोजगारीका नयाँ अवसरको खोजी गर्ने र बजारको मागअनुरूपको जनशक्ति उत्पादन गर्न सक्षम हुने गरी शैक्षिक प्रणालीमा सुधार गर्ने तथा सीप परीक्षण कार्यलाई एकीकृत ढङ्‍गबाट अघि बढाउनुपर्दछ। रोजगारीका लागि भिन्‍न भिन्‍न स्वरूप र विधिमा भिन्‍न सरकारी निकायबाट सञ्‍चालित कार्यक्रमहरूलाई एकत्रित गरिहाल्नुपर्ने देख्दछु। यसैगरी श्रमको सम्मान गर्ने संस्कृतिको विकास गर्न र श्रमको उचित प्रतिफल उपलब्ध गराउन सरोकारवाला निकायहरूबीच समन्वय र सहकार्य हुनुपर्दछ। देशमा काम गरेर केही हुँदैन भन्‍ने धारणामा पूर्ण परिवर्तन ल्याउन ढिला गर्नुहुँदैन, निराश जनशक्तिबाट कुनै पनि मुलुक उँभो लागेको उदाहरण भेटिदैंन।हाल युवा तथा शिक्षित बेरोजगारहरूमा देखिएको चरम निराशाको अवस्थालाई तोड्न सरकारले ध्यान केन्द्रित गर्नुपर्दछ।
सार्वजनिक सेवा प्रवाह

२६.    सुशासनको प्रत्याभूत गर्न र आम नागरिकमा राज्यको अनुभूति दिलाउन सार्वजनिक सेवा प्रवाह चुस्त दुरुस्त हुनुपर्दछ। सरकारी संयन्‍त्रको सेवाप्रवाहमा हुने ढिलासुस्ती र अनियमितता हटाउन नसकिएमा हामीले मुलुकमा सुशासन छ भनेर दावी गर्नु निरर्थक हुन्छ। त्यसैले नागरिकले घरदैलोमै सरकार छ भन्‍ने अनुभूत गर्नसक्‍ने गरी सेवाप्रवाहको व्यवस्था मिलाउनुपर्दछ।सूचना प्रविधिको आजको युगमा नागरिकले घरैमा वा नजिकको वडा कार्यालयबाट सेवा लिनसक्‍ने गरी प्रणालीहरूबीच अन्तर-आबद्धता कायम गर्नु आवश्यक छ। धेरै सरकारी सेवा सूचना प्रविधिको माध्यमबाट उपलब्ध गराउने भनिएता पनि कतिपय सेवाका लागि झन् लामो लाइन बस्नुपर्ने बाध्यता देखिएको छ। यो स्थिति तत्कालै अन्त्य हुनुपर्दछ। एकै प्रकारको कागजात भिन्‍न भिन्‍न सरकारी निकायमा प्रस्तुत गर्नुपर्ने बाध्यतालाई तत्काल हटाउन हाल सञ्‍चालनमा रहेका प्रणालीहरूले एक अर्कासँग सजिलै सञ्‍चार गर्नसक्‍ने व्यवस्था मिलाउनेतर्फ सरकारले यथोचित ध्यान दिने नै छ। नागरिक एपजस्ता प्रणालीहरूको उच्‍चतम प्रयोग गरी यसलाई भुक्तानी प्रणालीसँग आबद्ध गर्ने व्यवस्था मिलाउन सकिएमा धेरै प्रकारका सेवाहरूको सहज उपलब्धता हुन सक्दछ। 

२७.    सरकारी निकायमा भएका प्रणालीमा सरोकारवालाको सहज पहुँच सुनिश्‍चित गर्ने र प्रणालीको सुरक्षित प्रयोग गर्ने व्यवस्था तत्कालै मिलाउनु आवश्यक छ।यसका साथै सूचना प्रविधिमा आधारित प्रणाली निर्माण र सञ्‍चालनका लागि सोहीअनुरूपको पूर्वाधार र जनशक्तिको व्यवस्थामा यथोचित ध्यान दिनुपर्दछ। विदेशीले आएर हाम्रो प्रणाली बनाइदिने र त्यसको सञ्‍चालन र समस्या समाधानमा हामीसँग जनशक्ति नहुने अवस्थाको अन्त्य गर्नुपर्दछ। तीनै तहका सरकारहरूले यसमा सामञ्‍जस्यपूर्वक काम गर्नेछन् भन्‍ने मेरो विश्‍वास छ।

२८.    सूचना प्रविधिबाट उपलब्ध नहुने वा नागरिकले सोअनुसार सेवा प्राप्‍त गर्न सक्षम नहुने सेवाहरूका लागि सेवाप्रदायक संस्थाहरूले न्यूनतम समय तोकी तोकिएकै समयमा सेवा दिने पद्धतिको विकास गर्नुपर्दछ। सङ्‍घीय सरकारको अगुवाइमा प्रदेश र स्थानीय तहले यस्ता सेवाको सहज पहुँच सुनिश्‍चित गर्ने व्यवस्था मिलाउनेछन्। नेपालको संविधानको भावनाअनुरूप बढीभन्दा बढी सेवा स्थानीय तहबाट उपलब्ध गराउने र प्रदेश तथा सङ्‍घीय सरकार विकास निर्माण र नीति निर्माणमा लाग्‍नु श्रेयष्‍कर हुन्छ। सरकारले बजेट विनियोजन समेत सोही अनुसार गर्ने गराउने नै छ।

२९.    प्रत्येक नागरिकले भयरहित वातावारणमा आफ्‍ना दैनिक क्रियाकलाप सञ्‍चालन गर्नसक्‍ने गरी शान्ति सुव्यवस्थाको प्रबन्ध मिलाउनु सरकारको प्रमुख कर्तव्य भएकोप्रति सरकार सचेत छ। घटना घटिसकेपछि क्रियाशील हुनुभन्दा घटना घट्नै नदिने व्यवस्था गरी नागरिकलाई आश्‍वस्त तुल्याउनु आवश्यक छ। सूचना प्रविधिको पहुँचमा विस्तार भएसँगै यसको दुरुपयोग गरी विभिन्‍न खालका अपराधका घटना घट्नसक्‍नेतर्फ सचेत रही आमनागरिकमा सोअनुसारको सचेतना जगाउन सरकारले ध्यान दिने नै छ। 
शिक्षा र स्वास्थ्य

३०.    सूचना प्रविधिको अधिकतम प्रयोग गरी शिक्षा र स्वास्थ्यको गुणस्तर सुधार र पहुँच वृद्धिमा ध्यान दिन सकिएमा पनि एकातिर सेवा क्षेत्रको विकासमा सहयोग पुग्दछ भने अर्कातिर यसै प्रयोजनका लागि वर्षेनी बाहिरिने विदेशी मुद्राको परिमाणमा समेत कमी आउँदछ। विश्‍वमा द्रुतगतिमा विकास भइरहेको सूचना प्रविधिको सुलभ र सहज पहुँच, सुरक्षित प्रयोग र गुणस्तर सुधार गरी कृषि, उद्योग र सेवाका अन्य क्षेत्रमा व्यापक परिवर्तन ल्याउन सकिने विषयमा हामी चनाखो भई तत्काल त्यसतर्फ कदम चाल्नुपर्ने देख्दछु।

३१.    शिक्षा सबै क्षेत्रको सशक्तीकरणको पहिलो आधारस्तम्भ हो। देशको मुहार फेर्न शिक्षित र स्वस्थ जनशक्ति चाहिन्छ। तसर्थ हाम्रो प्राथमिकतामा मानव विकासको लगानी पर्नुपर्दछ। एक्‍काइसौं शताब्दीको करिब एक चौथाइ समाप्‍त भइसक्दा पनि देशका कतिपय स्थानीय तहको साक्षरता दर ५० प्रतिशत नपुग्‍नु निश्‍चय नै सोचनीय विषय हो। साक्षरता प्रवर्द्धनका लागि स्थानीय तहलाई आवश्यक स्रोत र साधन उपलब्ध गराउने र औपचारिक शिक्षाको गुणस्तर बढाउन सरकार लागिपर्नेछ।

३२.    हाम्रो शिक्षा प्रणालीमा गुणस्तर सुधार र जीवनोपयोगी पठनपाठनको विकास गरिहाल्नुपर्ने देखिएको छ। शिक्षा क्षेत्रको काम गर्ने सोच, शैली र कार्यरत जनशक्तिको दक्षता तथा क्षमतामा व्यापक सुधार गर्नुपर्दछ। शिक्षा क्षेत्रलाई राजनीतिमुक्त नबनाई यसमा आशातीत सफलता हासिल गर्न सकिदैँन। शिक्षकले अध्यापन नगरी राजनीति गर्ने, विद्यार्थीले राजनीतिक दलको भातृ संगठनको रूपमा काम गर्ने अनि शिक्षण संस्थाका पदाधिकारीले राजनीतिक आग्रह पूर्वाग्रहमा शैक्षिक कार्यक्रम चलाउने स्थितिको अन्त्य गर्नुअपरिहार्य देखिएको छ। शिक्षक र पदाधिकारीलाई कामप्रतिको जिम्मेवारी महसूस गराई शैक्षिक स्तरप्रति जवाफदेही बनाउनु आवश्यक छ। 

३३.    विद्यालय शिक्षामा बृहत् सुधार गर्दै विश्‍वविद्यालयहरूलाई एक्सलेन्स सेन्टरको रूपमा विकास गर्दै लैजानुपर्दछ। सार्वजनिक र निजी क्षेत्रको सहकार्यमा विश्‍वविद्यालयका उत्पादनलाई रोजगारीसँग जोड्ने गरी शिक्षा प्रणालीमा सुधार गर्नु आवश्यक देखिएको छ। शिक्षण प्रतिष्‍ठानहरूलाई पठनपाठनका साथै अनुसन्धानमा प्रेरित गर्नुपर्दछ। सरकारी तवरबाट हुने अध्ययन अनुसन्धानमा नेपालकै विश्‍वविद्यालय तथा उत्कृष्‍ट शैक्षिक प्रतिष्‍ठानहरूलाई सहभागी गराउने पद्धतिको थालनी गर्नुपर्दछ।

३४.    सामान्य औषधि र न्यूनतम उपचारको अभावमा अकालमा ज्यान जाने अवस्थाआउन दिनुहुँदैन। हरेक नागरिकले देशभित्रै विशिष्‍ट स्वास्थ्य सेवा प्राप्‍त गर्ने गरी स्वास्थ्य क्षेत्रका कार्यक्रम कार्यान्वयन गर्न सरकारको ध्यान अवश्य जानेछ। स्तरीय स्वास्थ्यकर्मीको उत्पादन र सही परिचालन, अस्पताल र स्वास्थ्य केन्द्रको स्तरोन्‍नति एवं औषधिलगायतका स्वास्थ्य सामग्रीको समयबद्ध उपलब्धताबाट मात्र स्वास्थ्य सेवाको गुणस्तर वृद्धि हुन सक्दछ भन्‍नेमा सरकार दृढ छ। सामुदायिक र सरकारी अस्पतालको सेवाको गुणस्तर वृद्धि गर्दै निजी अस्पतालबाट प्रदान गरिने सेवाको नियमनलाई दह्रो बनाउनुपर्नेछ। हरेक नागरिकले सरल, सुलभ र सहज स्वास्थ्य सेवा प्राप्‍त गर्न स्वास्थ्य बिमालाई प्रभावकारी बनाउनुपर्दछ।

३५.    परम्परागत रूपमा शय्याका आधारमा स्वास्थ्य संस्थाको स्तर निर्धारण गर्ने पद्धतिमा परिवर्तन गरी तिनले प्रदान गर्ने सेवालाई आधार बनाउनु उपयुक्त हुन्छ भन्‍ने मेरो बुझाइ हो। स्वास्थ्य सेवाको गुणस्तर र सेवाशुल्कका साथै स्वास्थ्य संस्थाको पूर्वाधारको न्यूनतम मापदण्ड तोकी नियमनमा कडाइ गर्नुपर्दछ। स्वास्थ्य सेवाप्राप्‍तिको प्रत्याभूतिलाई सामाजिक संरक्षणको अङ्‍गको रूपमा हेर्न सकेमा मात्र नागरिकप्रतिको राज्यको दायित्व पूरा भएको मान्‍न सकिन्छ। आवश्यक पूर्वाधार निर्माण, जनशक्तिको क्षमता विकास र स्वास्थ्य सामग्री निरन्तर उपलब्ध हुने सुनिश्‍चित गरी महामारी, विपद् र अन्य त्यस्तै असामान्य परिस्थितिमा स्वस्फूर्त ढङ्‍गले स्वचालित रूपमा स्वास्थ्य क्षेत्र चलायमान हुने प्रणाली विकास गर्न अब ढिलो गर्नुहुँदैन। स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाको सुरक्षाको यथोचित प्रबन्ध गर्नुपर्ने देखिएको छ। हालका दिनहरूमा बढ्दै गएको नसर्ने रोगको रोकथामका लागि प्रतिरोधात्मक कार्यक्रम लागु गरिहाल्नुपर्दछ। नागरिक स्वास्थ्यको सोझो सम्बन्ध नागरिकले उपभोग गर्ने खाद्यवस्तु र तिनबाट प्राप्‍त हुने पोषणतत्वसँग हुन्छ। तसर्थ पोषणयुक्त खाद्यवस्तु र औषधीमूलोको मापदण्डको नियमित अनुगमन  र नियमन गर्ने प्रणालीको विकास गर्न सरकारले ध्यान पुर्‍याउनेछ भन्‍ने मेरो अपेक्षा छ।
महिला, बालबालिका, युवा, ज्येष्‍ठ नागरिक

३६.    महिला अधिकार र विकासमा नेपालले गरेका प्रयास र हासिल गरेका उपलब्धि कम छैनन्। लैङ्‍गिक बजेट प्रणाली अवलम्बन, समष्‍टिगत् आर्थिक संरचनाको लैङ्‍गिकीकरण, लैङ्‍गिक हिंसाको न्यूनीकरण, राज्यका हरेक क्षेत्रमा महिला प्रतिनिधित्वको सुनिश्‍चितता एवं महिला शिक्षा तथा स्वास्थ्यमा भएको विकास सन्तोषजनक नै छन्। तथापि यसबाट परेको वास्तविक प्रभाव भने मूल्याङ्‍कन गरिनुपर्दछ। संविधान र कानुनले प्रत्याभूत गरेका विषयहरू पनि हामीले पूर्ण रूपमा अवलम्बन गर्न सकेका छैनौं। हामीले जुन सोचका साथ लैङ्‍गिक विकासको अवधारणा अघि सारेका थियौं, त्यो परिणाम प्राप्‍त भएको छ छैन, सोको यथार्थ समीक्षा गरी अघि बढ्नुपर्दछ भन्‍ने मलाई लाग्दछ।कानुनको रीत पुर्‍याउन मात्र गराइने प्रतिनिधित्वले संविधानको मर्म आत्मसात् गरेको मान्‍न सकिदैंन। यसप्रति सरकार र अन्य सरोकारवालाहरू सचेत रहनुपर्दछ।   

३७.    विद्यालयमा छात्राको उपस्थिति बढेको छ, तर तिनले विद्यालय शिक्षा पूरा गरेका छन् छैनन्? महिला स्वास्थ्यमा प्रशस्त लगानी गरिएको छ, तर रोग प्रतिरोधात्मक क्षमता विकास गर्न हाम्रा प्रयास पर्याप्‍त छन्? किन अहिले पनि दुर्गम क्षेत्रमा सुत्केरी हुन नसकेर वा सुत्केरी भएपछिको सामान्य उपचारको अभावमा अकालमा ज्यान गुमाउनुपर्ने अवस्था रहेको छ? किन अहिले पनि महिलाहरूको कुरीतिको शिकार भइरहेका छन्? घरायसी हिंसा, यौन हिंसा र अन्य प्रकारका हिंसाबाट महिलाहरू अझै किन सुरक्षित महसूस गर्न सकिरहेका छैनन्? यी प्रश्‍नहरूको उत्तर खोजिनु जरूरी छ। हाम्रा नीति तथा कार्यक्रम राम्रा हुँदाहुँदै पनि यिनको प्रभावकारी कार्यान्वयन र सोको प्रभावका बारेमा राम्रैसँग सोच्नुपर्दछ भन्‍ने मलाई लाग्दछ।

३८.    बालबालिका भविष्यका कर्णधार, आशा, भरोसाका केन्द्र हुन्। यिनको लालनपालन, शिक्षा, स्वास्थ्यमा प्रशस्त ध्यान दिनुपर्दछ। अभिभावकहरूको जीवनशैलीमा आएको परिवर्तन तथा सूचना प्रविधिको सहज उपलब्धताले बाल मनोविज्ञानमा परेको असर समेतको विश्‍लेषण गरी बालबालिकाका लागि कार्यक्रम तयार गर्नुपर्दछ। बाल श्रमिक र सडक बालबालिकाको सङ्‍ख्या शून्यमा पुर्‍याउने लक्ष्यका साथ अघि बढ्न अब ढिलो गर्नुहुँदैन।

३९.    देश विकासमा युवाशक्ति महत्त्वपूर्ण सारथी हो। समाज र देशप्रति संवेदनशील र जिम्मेवार युवाको पहल र प्रयासबाट मात्र विकास प्रक्रिया टुङ्‍गोमा पुग्नसक्छ। देश र जनताप्रति समर्पित, भविष्यप्रति आशावादी लगनशील युवा तयार गर्न सरकारले लगानी गर्नुपर्दछ भन्‍ने मलाई लाग्दछ। युवाको ऊर्जालाई देशभित्र उपयोग गर्ने पर्याप्‍त अवसर तयार गर्न सरकार र निजी क्षेत्रको सहकार्य जरूरी हुन्छ। युवा शिक्षाका साथै स्वरोजगार र रोजगार तालिम विस्तार गरी तालिमप्राप्‍त युवालाई रोजगारी र उद्यम विकासका लागि वित्तीय पहुँचको सुनिश्‍चित गर्ने वातावरण तयार गर्नुपर्दछ।

४०.    ज्येष्‍ठ नागरिकको सुरक्षा, सामाजिक मान्यता र पारिवारिक सौहार्द्रता कायम गरी ज्येष्‍ठ नागरिकको अनुभव र सीपको सदुपयोग गर्नुपर्दछ। सन्तानले भौतिक सुखसुविधाका लागि आफूलाई जन्म दिने बाबुआमाप्रति पूरा गर्ने दायित्वलाई राज्यबाट प्रदान गरिने सेवासुविधासँग आबद्ध गर्न सकिएमा एकातिर ज्येष्‍ठ नागरिकले ढल्दो उमेरमा आफूलाई असहाय महसूस गर्नुपर्दैन भने अर्कातिर सन्तानमा कर्तव्य र जिम्मेवारीबोध समेत बढ्न जान्छ।
पूर्वाधार

४१.    हामी सबैले भोगेकै कुरा हो– हाम्रा विकास आयोजना कार्यान्वयनको गति अत्यन्त सुस्त छ। विकास आयोजनासँग सम्बद्ध बहु सरोकारवालाको संलग्‍नता, दबाब र हस्तक्षेप एकातिर छ भने अर्कातिर विभिन्‍न कानुनी व्यवस्थाहरूले यसमा ढिलाइ भइरहेको छ। यो समस्या निराकरणका लागि तत्कालै एक हस्तक्षेपकारी कानुन निर्माण गरी कार्यान्वयनमा सहजीकरण गर्नुपर्दछ, जुन कानुनले खरिद प्रक्रिया, वन क्षेत्र र सार्वजनिक जग्गाको उपयोग, विनियोजन, जनशक्ति व्यवस्थापन, ठेक्‍का व्यवस्थापन, कार्यसम्पादन स्तरसँग कर्मचारीको मूल्याङ्‍कनको आबद्धता, अन्तर निकाय समन्वय र आयोजना प्रमुखको जिम्मेवारी, अधिकार र प्रोत्साहनका बारेमा सहजीकरण गर्न सकोस्। यसमा तत्कालै उचित कदम चाल्‍न म सम्बद्ध सबैलाई आग्रह गर्दछु।

४२.    पूर्वाधार निर्माणको गुणस्तरमा व्यापक सुधार गर्न सम्बद्ध सबै पक्षको ध्यान जानुपर्दछ। गुणस्तरीय पूर्वाधारको अभावमा अन्य क्रियाकलाप समेत सहज हुन सक्दैनन्। निर्माण भएको छोटो अवधिमै जीर्ण हुने गरी पूर्वाधार विकास हुनु स्रोतको दुरुपयोग मात्र हो भन्‍ने मेरो बुझाइ छ। निर्माणमा मात्र होइन निर्माण सम्पन्‍न भएका पूर्वाधारको कार्यतालिका बनाएर स्रोतको व्यवस्था गरी नियमित मर्मतसम्भार गर्न पनि सरकारको ध्यान जाने नै छ। पूर्वाधार निर्माणमा देखिएको समन्वयको कमीलाई तत्कालै हल गरिहाल्नुपर्ने देखिएको छ। एकै स्थलमा निर्माण हुने विभिन्‍न प्रकारका पूर्वाधारको एकीकृत विकास गर्नुपर्दछ। यसका लागि आयोजनाको शुरुवातमै आपसी समन्वयको उपयुक्त संयन्‍त्र निर्माण गरी सरकारले सोको नीतिगत व्यवस्था गर्नेछ।

४३.    पूर्वाधार आयोजनाको छनौट र निर्माणमा कनिका छराइको प्रवृत्ति छिट्‍टै बन्द हुनुपर्दछ। प्रतिफल नदिने र आवश्यक अध्ययन विश्‍लेषण बिना राजनीतिक-प्रशासनिक दबाब र प्रभावमा कार्यान्वयन गरिने स-साना आयोजनाले एकातिर स्रोतको दुरुपयोगलाई बढावा दिन्छ भने अर्कातिर सोबाट प्रतिफल पनि प्राप्‍त हुँदैन। फलत: अनावश्यक ठाउँमा राज्यको स्रोत खर्च हुने र आवश्यक एवं उच्‍च प्रतिफलयुक्त आयोजनामा लगानी गर्न पर्याप्‍त स्रोतको व्यवस्था गर्न कठिन हुन्छ। यसरी प्रतिफलबिनाका स-साना आयोजनामा बजेट छर्नुभन्दा शुरु गरिएका आयोजनालाई निर्दिष्‍ट समयभित्रै सम्पन्‍न गर्ने गरी स्रोत व्यवस्थापन गर्नु श्रेयष्‍कर हुन्छ। मलाई विश्‍वास छ – सरकारले आगामी दिनमा यसअनुसार नै आफ्ना नीति तथा कार्यक्रम तय गर्नेछ। 

४४.    राष्‍ट्रिय सुरक्षालाई केन्द्रमा राखी रणनीतिक पूर्वाधारका आयोजना छनौट र निर्माण गर्नुपर्दछ। सडकलाई सामान्य पूर्वाधारको रूपमा मात्र नलिई देशभरका नागरिकलाई भावनात्मक रूपमा जोड्ने कडीका रूपमा लिई निर्माण गर्नुपर्दछ।सबै स्थानीय तहका वडा वडासम्म सडक सञ्‍जाल पुर्‍याउने, सडक निर्माणसँगै राज्यबाट प्रदान गरिने अन्य सेवालाई जोड्‍ने, उत्पादनका साधन उत्पादनस्थलसम्म पुर्‍याउन र उत्पादित सामग्री बजारसम्म पुर्‍याउन सहज हुने गरी यातायात विकास गर्ने, आम नागरिकलाई सहज र सुलभ ढङ्‍गले यातायात सुविधा पुर्‍याउने, निर्माणाधीन सडक पूर्वाधार निर्धारित समयभित्रै सम्पन्‍न गर्ने र सडक यातायातलाई भरपर्दो एवं सुरक्षित बनाउने कार्य हाम्रो प्राथमिकतामा पर्नुपर्दछ भन्‍ने मलाई लाग्दछ। आवश्यकता, औचित्य र दिगो सञ्‍चालनको सुनिश्‍चित गरेर मात्र पूर्वाधार निर्माणको खाका तयार गर्दा उपयुक्त हुन्छ। 

४५.    देशमा दिनदिनैजसो हुने सडक दुर्घटनाका कारण नागरिकले अकालमै मृत्यवरण गर्नुपरिरहेको मात्र होइन, नेपालको यातायात सेवा सुरक्षित छैन भन्‍ने सन्देश संसारभर गएको छ। सडक दुर्घटना न्यून गर्न सरकारले तत्काल कदम चाल्नुपर्दछ। मापदण्डअनुरूप सडकको गुणस्तर कायम गर्ने, लेन नक्शाङ्‍कन नियमित गर्ने, सडक किनारमा छेकबारको व्यवस्था गर्ने, निश्‍चित दूरी र आवश्यक स्थानमा सडक सुरक्षाका सङ्‍केतको व्यवस्थापन गर्नेजस्ता सडक सुरक्षाका सहायक संरचनाहरू निर्माणमा तत्कालै ध्यान दिनुपर्दछ। यसका साथै राजमार्गहरूको निश्‍चित दूरीमा आराम केन्द्र निर्माण गर्ने, लामो दूरीका सार्वजनिक यातायातमा अनिवार्य रूपमा अतिरिक्त चालकको व्यवस्था गर्ने, सवारी साधनको गतिको नियमन गर्ने, सञ्‍चालनका लागि उपयुक्त भए नभएको सम्बन्धमा सवारी साधनको नियमित परीक्षण गर्ने व्यवस्था गर्ने, चालकको मानसिक र शारीरिक स्वास्थ्य अवस्थाको नियमित जाँच गर्नेजस्ता उपाय अपनाई दुर्घटना कम गराउन सकिन्छ भन्‍ने मेरो बुझाइ छ। आगामी नीति तथा कार्यक्रम तय गर्दा सरकारले यसमा ध्यान दिने नै छ भन्‍ने मैले अपेक्षा गरेको छु। 

४६.    देश क्रमश: विद्युतमा आत्मनिर्भर हुँदै जानु खुशीको कुरा हो। आफ्नै स्रोतबाट ऊर्जा आपूर्ति नियमित हुनसक्‍नु निश्‍चय पनि गौरवको विषय हो। विद्युत उत्पादन, प्रसारण र वितरणको यथोचित समन्वयबाट विद्युतशक्तिको खपत वृद्धि गर्ने प्रभावकारी योजना तत्कालै कार्यान्वयनमा ल्याउनुपर्दछ। आयातीत पेट्रोलियम पदार्थ र वनस्रोतमाथिको निर्भरता न्यून गर्दै घरायसी उपभोग, कृषि, उद्योग र सेवा उत्पादन क्षेत्रको आवश्यकता, यातायात तथा अन्य प्रयोजनसमेतका लागि विद्युतको मागको यथार्थ विश्‍लेषणका आधारमा उत्पादन र खपत वृद्धि तथा वचत हुने विद्युत निर्यातको कार्ययोजना बनाई अघि बढ्नुपर्दछ।

४७.    नेपालको जलविद्युत उत्पादन नदीप्रवाहमा आधारित भएकाले वर्षायाममा बचत हुने तर सुक्खायाममा अपुग हुने अवस्था छ। यसलाई समाधान गर्न ठूला जलाशययुक्त जलविद्युत आयोजना निर्माण गर्ने र अन्य स्रोतबाट उत्पादित विद्युतशक्ति समेत मिलाई ऊर्जा मिश्रणको अवधारणा लागु गर्नुपर्दछ। नदीप्रवाहमा आधारित जलविद्युत आयोजना निर्माणमा निजी क्षेत्रलाई सहभागी गराई जलाशययुक्त आयोजनामा सरकारी लगानी बढाउनु उपयुक्त हुन्छ। 

४८.    नेपालको विद्युत व्यापार हाल नेपाल विद्युत प्राधिकरणले मात्र गर्दै आएको छ। एउटै संस्थाले उत्पादन, प्रसारण, वितरण र व्यापार समेत गर्दा कार्यबोझ बढ्न गई कार्य विशिष्‍टीकरणमा समस्या हुने अवस्था आउँदछ। त्यसैले नियमनको उपयुक्त व्यवस्था गरी सरकारी तवरबाट प्रसारण लाइन निर्माण गर्ने र वितरण तथा व्यापारमा निजी क्षेत्रलाई सहभागी गराउने सम्बन्धमा गहन अध्ययन गरी एउटा निष्कर्षमा पुग्नु उपयुक्त हुने देख्दछु। यसका साथै निजी क्षेत्रलाई दिइएको विद्युत आयोजनाको अनुमतिपत्रको म्याद समाप्‍त भएपछि कानुनत: नेपाल सरकारलाई प्राप्‍त हुने आयोजनाको व्यवस्थापनका सम्बन्धमा तत्कालै कार्ययोजना बनाइहाल्नुपर्दछ। केही आयोजनाको यस्तो म्याद समाप्‍त हुने अवधि नजिकिदैं गरेकोमा सन्दर्भमा यो विषयलाई प्राथमिकतामा राख्‍नुपर्दछ जस्तो मलाई लाग्दछ।

वातावरण र जलवायु परिवर्तन

४९.    भौतिक पूर्वाधार निर्माण र विकास गर्दा त्यसबाट वातावरण र जैविक विविधतामा पर्ने प्रभावको गम्भीर अध्ययन गरी विकास र वातावरणबीच सन्तुलन कायम गर्नु आवश्यक छ। जलवायु परिवर्तनका असरहरू हामीले देखिरहेका छौं। यसै वर्षको माघको मध्यसम्म पनि हिमालहरू सेता हुन नसक्‍नुले भोलिका दिनमा विश्‍व तापमानलाई सन्तुलनमा राख्‍न र जलस्रोतको आवश्यकता पूर्ति गर्न कठिन हुँदै जाने प्रष्‍ट देखाएको छ।

५०.    नेपालका हिमशृङ्‍खला, पारिस्थितिक प्रणाली र वनजङ्‍गलले जलवायु अनुकूलन र वातावरणीय सन्तुलनमा विशिष्‍ट योगदान पुर्‍याएका छन्। नेपालका हिमालहरूले पृथ्वीको तापमानलाई सन्तुलनमा राख्‍न, समुद्र स्वच्छ राख्‍न, हिमाल र समुद्रबीच जलस्रोतको अन्तरनिर्भरता कायम गर्न र विश्‍व जनसङ्‍ख्याको ठूलो हिस्सालाई खानेपानीको नियमित स्रोत उपलब्ध गराउन महत्त्वपूर्ण भूमिका खेलेका छन्। यस तथ्यलाई जलवायु अनुकूलन र असर न्यूनीकरणका लागि स्थापित अन्‍तर्राष्‍ट्रिय वित्तीय तथा प्राविधिक संयन्‍त्रबाट अधिकतम स्रोत र सहयोग परिचालन गर्न विश्‍वसामु दरिलो रूपमा प्रस्तुत गर्नुपर्दछ।

५१.    जलवायु परिवर्तनका दृष्‍टिले नेपाल उच्च जोखिममा रहेको छ। कार्बन उत्सर्जन र जलवायु परिवर्तनमा नगण्य भूमिका हुँदा पनि नेपालले असन्तुलित रूपमा यसका प्रतिकूल असरहरू व्यहोर्नु परिरहेको छ। नेपालका हिमालहरू तीब्र गतिमा पग्लिने क्रम बढेको छ। यसबाट हिमतालहरू आकस्मिक विष्फोट हुन गई तल्लो तटीय क्षेत्रमा ठूलो क्षति हुने जोखिम रहेकाले वातावरणीय सन्तुलन कायम राख्‍न क्षेत्रीय र विश्‍वव्यापी सहकार्यका लागि तत्काल कदम चालिहाल्नुपर्दछ। साथै नेपालको कार्बन प्रशोचन क्षमता अभिवृद्धि गरी कार्बन व्यापारबाट थप लाभ प्राप्‍त गर्न अधिकतम प्रयास गर्नुपर्दछ।

५२.    नेपालको जल आपूर्तिको प्रमुख स्रोतको रूपमा रहेको जलाधार संरक्षणमा विशेष ध्यान दिनुपर्ने आवश्यकता छ। नदीहरूले स्वाभाविक मार्ग गुमाएको र जलप्रवाह अवरुद्ध भएका कारण विपद्का घटनामा वृद्धि भइरहेको छ। यसप्रति हामी सबै सचेत हुनुपर्दछ। विपद्का अधिकांश घटना वातावरणसँग सम्बन्धित भएकाले वातावरण संरक्षण हाम्रो प्राथमिकतामा रहनुपर्दछ। एकातिर विपद् कम गर्न हाम्रो प्रयास हुनुपर्दछ भने अर्कातिर विपद् व्यवस्थापनको क्षमता वृद्धि गरी विपद्का कारण हुने क्षतिलाई शून्य वा न्यून गर्नु आवश्यक छ। विपद्को समयमा सबै संयन्‍त्र समन्वयात्मक र स्वचालित रूपमा सक्रिय हुने व्यवस्था मिलाई विपद् व्यवस्थापनसँग सम्बन्धित सामग्रीको पर्याप्‍त व्यवस्था, जनशक्ति र विपद् उद्धार केन्द्रको क्षमता विकासमा पर्याप्‍त ध्यान दिनुपर्ने देखिएको छ।
परराष्‍ट्र सम्बन्ध

५३.    नेपालले सदैव असंलग्‍न परराष्‍ट्र नीति अँगाल्दै आएको छ। हामीलाई कसैसँग अनावश्यक नजिक र कसैसँग टाढा हुनु जरूरी छैन। नेपालको सार्वभौमिकता, भौगोलिक अखण्‍डता, राष्‍ट्रिय स्वाभिमान र सुरक्षामा किञ्‍चित पनि सम्झौता नहुने गरी कुनै पनि मुलुकसँग हामीले मित्रता कायम गर्नुपर्दछ र एकअर्काको हितमा सहकार्य गर्नुपर्दछ। हाम्रो परराष्‍ट्र नीतिको मूल मर्म यत्ति नै हो भन्‍ने मेरो बुझाइ छ।  
प्रतिनिधि सभाका सम्माननीय सभामुख,
राष्‍ट्रिय सभाका सम्माननीय अध्यक्ष,

५४.    मैले आफ्‍नो सात वर्षको अनुभवमा देखेका केही मूल विषयहरू मात्र यहाँ राखेको छु। यीबाहेकका थुप्रै काम गर्नुपर्नेछ। वर्तमान सरकार गठन भएपछि सरकारले नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रम अघि सारको छ। ती विषयहरूलाई सरकारले समयबद्ध कार्ययोजना बनाएर नतिजाप्राप्‍त हुने गरी तत्कालै कार्यान्वयनमा लैजाने नै छ भन्‍ने मेरो विश्‍वास छ। नेपाल सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम तयार गर्दा यी सबैलाई समेट्दै सोका आधारमा बजेटमा आवश्यक स्रोत व्यवस्थापन गर्ने नै छ।

५५.    सरकारको नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रम, सरकारले अघि सार्ने नीति तथा कार्यक्रम, बजेट एवं नागरिकको समृद्धि र विकासप्रतिको आकाङ्‍क्षा पूरा गर्न तीनै तहका सरकारका सबै संयन्‍त्र प्रतिबद्ध भएर लाग्नेछन्। सरकारका कामकारबाहीमा सबै नागरिकबाट सकारात्मक सहयोग प्राप्‍त हुने अपेक्षा गर्दछु। नेपाल र नेपालीप्रतिको सद्‍भाव कायम राख्दै सरकारलाई मित्रराष्‍ट्र तथा अन्तर्राष्‍ट्रिय संघसंस्थाहरूबाट पूर्ववत् सहयोग मिल्ने विश्‍वास गर्दछु।   

५६.    अन्त्यमा, पुन: एकपटक मेरो कार्यकालमा सहयोग गर्ने सबै सरकारका साथै सम्पूर्णमा हार्दिक कृतज्ञता ज्ञापन गर्दछु।
धन्यवाद !

मन्त्रीलाई बुझाउनुपर्ने भन्दै विदेशी वायुसेवा कम्पनीसँग घुस मागेपछि ठाकुरलाई निलम्बन गरेको हो : मन्त्री किराती

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले मन्त्रीलाई बुझाउनुपर्ने भन्दै विदेशी वायुसेवा कम्पनीसँग घुस मागेपछि त्रिभुवन विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरलाई कारवाही गरेको बताएका छन्।

शुक्रबार काठमाडौंमा नेपाल पर्यटन बोर्डले आयोजना गरेको स्वागत कार्यक्रममा मन्त्री किरातीले थाई स्माइल एयरलाइन्ससँग मन्त्रीलाई बुझाउनुपर्ने भन्दै करोडौं घुस मागेपछि ठाकुरलाई कारवाही गरेको बताएका हुन्।

उनले आफूले कसैको पनि एकपैसा नखाने, अब यस्ता अन्य घुस प्रकरणहरू खुल्दै जाने र कारवाही गर्ने चेतावनी दिए।

घुस मागेको अडियो प्राप्त भएपछि घटनाको जाँचबुझका लागि मन्त्रिस्तरीय निर्णयबाट ठाकुरलाई निलम्बन गरिएको हो।

मन्त्री किरातीले मन्त्रीले कहिले पैसा माग्यो भन्ने खुल्न पर्ने र पैसा मागेको पाइए मन्त्रीलाई पनि कारवाही हुनुपर्ने जिकिर गर्नुभयो।

उनले २० लाख पर्यटक ल्याउने कार्ययोजना ल्याउन पर्यटन बोर्डलाई निर्देशन दिए। पर्यटन प्रवर्द्धनका लागि चलाइएको अभियानअन्तर्गत कति पर्यटक भित्रियो भन्ने यकिन तथ्यांक बोर्डले दिनुपर्ने उनको भनाइ छ।

उनले कर्मचारीलाई हेरफेर गरेर आतंकित नमच्चाउने तर कर्मचारहरुको साथ र काम चाहिने स्पष्ट पारे।

मन्त्री किरातीले पर्यटन क्षेत्रको समस्यालाई सम्बोधन गर्नका लागि मन्त्रालयले एकीकृत कार्ययोजना बनाएको बताए।

भारतीय विदेश सचिव विनयमोहन क्वात्रा नेपाल भ्रमणमा आउने

काठमाडौं । भारतीय विदेश सचिव विनयमोहन क्वात्रा नेपाल भ्रमणमा आउने भएका छन् । नेपाली समकक्षी भरतराज पौडेलको निमन्त्रणामा उनी दुई दिने नेपाल भ्रमणमा सोमबार काठमाडौं आउन लागेका हुन् ।

मन्त्रालयले जारी गरेको विज्ञप्तिमा सचिव पौडेल र क्वात्राबीच कनेक्टीभिटी, विद्युत व्यापार, कृषि तथा स्वास्थ्यसहितका विषयमा कुराकानी हुने उल्लेख छ । उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, परराष्ट्रमन्त्री विमला राई पौड्याललगायत राजनीति दलका नेताहरुसँग पनि भेट्ने कार्यक्रम छ ।

प्रचण्ड नेतृत्वको सरकार गठन भएसँगै अमेरिका, भारतलगायतका देशको उच्च अधिकारीको नेपाल भ्रमण बाक्लिएको छ ।

सुदुरपश्चिमका मुख्यमन्त्री शाहद्धारा मन्त्री परिषद विस्तार,  देउवा भौतिक पूर्वाधार र शाही आर्थिक मामिलामन्त्रीमा नियुक्त

काठमाडौं । सुदुरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री कमल शाहले दुई सदस्सीय मन्त्री परिषद गठन गरेका छन ।  प्रदेश प्रमुख देवराज घिमिरेवाट पद तथा गोपनियताको सपथ लिएसँगै मुख्यमन्त्री शाहीले मन्त्रिपरिषद विस्तार गरेका हुन् ।

 जसअनुसार नेपाली कांग्रेसबाट भौतिक पुर्वाधार विकास मन्त्रीमा प्रकाश देउवा र नेकपा एकीकृत समाजवादीका नरेश शाहीलाई आन्तरिक मामिला तथा कानून मन्त्रीमा नियुक्त गरेका हुन् । नवनियुक्त दुवै मन्त्रीले पद तथा गोपनियताको सपथ लिएका छन् ।

सुदुरपश्चिमका मुख्यमन्त्री शाहले लिए पद तथा गोपनीयताको शपथ

धनगढी । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुखको कार्यालयमा आयोजना गरिएको विशेष समारोहकाबीच शाहले प्रदेश प्रमुख देवराज जोशीबाट पद तथा गोपनियताको शपथ लिएका हुन् ।

संविधानको धारा १६८ को उपधारा ३ अनुसार ठूलो दलको हैसियतमा हिजो मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

गत २७ पुसमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी र नागरिक उन्मुक्ति पार्टी र राप्रपाको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका राजेन्द्रसिंह रावल हिजो पदमुक्त भएका थिए ।

उन्मुक्ति पार्टीले विश्वासको मत नदिए पछि प्रदेश सभालाई सम्वोधन गर्दै राजिनामा मुख्यमन्त्री रावलले राजिनामा दिए पछि कांग्रेस संसदीय दलका नेता घिमिरेले शाहलाई मुख्यमन्त्रीमा नियुक्त गरेका थिए । मुख्यमन्त्री शाहले चाँडै मन्त्रिपरिषद विस्तार गर्ने जनाएका छन् ।

संसदमा राष्ट्रपति भण्डारीले सम्बोधन गर्दै भनिन्न् -‘अर्थतन्त्र सुधारमा सरकारले गम्भीर पाइला चाल्नुपर्छ’

काठमाडौं ।  राष्ट्रपति विद्यादेवी भण्डारीले देशको अर्थतन्त्र सुधारका लागि सरकारले उत्पादन वृद्धिको क्षेत्रमा काम गर्ने विश्वास लिएकी छन् ।  संघीय संसदको दुवै सदनलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् ।

प्रतिनिधिसभा र राष्ट्रिय सभा बैठकलाई सम्बोधन गरेकी उनले रासायनिक मलको सहज र माटोको अम्लियपना कम गरेर उत्पादन वृद्धिमा काम गर्नुपर्ने बताइन् । 

उत्पादनसँगै बजार व्यवस्थापन, लागत मूल्य किसानले पाउनुपर्ने उनको भनाइ छ । युवालाई देशभित्र कृषि क्षेत्रमा काम गर्न सक्ने वातावरण बनाउनुपर्ने भन्दै उनले प्रविधिमा आधारित कृषि क्षेत्रको विकासमा जोड दिइन् ।  मौद्रिक तरलताको समस्या, लगानीका लागि यथेस्ट स्रोतको अभाव र बाह्य कारणले समेत गर्दा उत्पादन क्षेत्र मजबुत हुन नसकेको उनले बताइन् ।
 

राष्ट्रपति विद्यादेवी भण्डारीद्धारा संघीय सदनको संयुक्त बैठक संबोधन

काठमाडौं । संघीय संसदलाई राष्ट्रपति विद्यादेवी भण्डारीले संबोधन गरिरहेकी छिन् । संसद भवन नयाँ बानेश्वरमा उपस्थित भएर उनले प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकलाई संबोधन गरेकी हुन् ।

संविधानको धारा ९५ मा राष्ट्रपतिले सङ्घीय संसद्को कुनै सदनको बैठक वा दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न र त्यसका लागि सदस्यको उपस्थिति आह्वान गर्न सक्नेछ भन्ने व्यवस्था छ ।

यस्तै सोही धाराको उपधारा २ मा ‘राष्ट्रपतिले प्रतिनिधिसभाको निर्वाचनपछिको पहिलो अधिवेशन र प्रत्येक वर्षको पहिलो अधिवेशन प्रारम्भ भएपछि संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्नेछ’ भन्ने प्रावधान छ ।

गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको निर्वाचनपछि गठन भएको प्रतिनिधिसभाको पहिलो अधिवेशन हाल जारी छ । पहिलो अधिवेशन भएकाले राष्ट्रपतिले सम्बोधन गर्न लागेकी हुन् ।

साना कम्युनिष्ट पार्टीहरुबिच एकीकरणको प्रयास

काठमाडौं । पार्टी एकीकरणका लागि साना चार कम्युनिष्ट राजनीतिक दलहरुबिच एकता गर्ने विषयमा छलफल सुरु गरेका छन् । नेक्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, विश्वभक्त दुलालने तृत्वका वैज्ञानिक समाजवादी पार्टी, ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र कर्णजित बुढाथोकी नेतृत्वको नेकपा माओवादी समाजवादी बिच पार्टी एकीकरणका लागि छलफल गरेका हुन । 

उनीहरुले शुक्रबार संयुक्त विज्ञप्ति जारी गरेर पार्टी एकताका लागि छलफल आरम्भ गरेको जानकारी दिएका हुन् ।

पार्टी एकताका लागि छलफल गर्ने र संयुक्त मोर्चालाई थप व्यवस्थित गर्ने भन्दै उनीहरुले पार्टी एकता, संयुक्त मोर्चा र कार्यगत एकताको ठोस कार्यक्रम विकास गरी सार्वजनिक गर्न आगामी १५ फागुनमा बैठक बस्ने निर्णय गरेको जारी विज्ञप्तिमा उल्लेख छ ।

विवेकशील साझाको प्रथम महाधिवेसन सुरू, नयाँ नेतृत्वका लागि तिन जनाको आकांक्षा

काठमाडौं । विवेकशील साझा पार्टीको प्रथम महाधिवेसन  काठमाडौंमा सुरू भएको छ । लामो समयदेखि छिन्न भिन्न अवस्थामा रहेको पार्टीको प्रथम महाधिवेसन आजबाट सुरू भएको हो ।

काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा शुक्रबारबाट सुरू भएको महाधिवेसनको नयाँ नेतृत्वका लागि पार्टीका केन्द्रीय नेताहरु समीक्षा बाँस्कोटा, प्रकाशचन्द परियार र मिलन पाण्डेले आकांक्षा व्यक्त गरेका हुन् । तीनै जनालाई भावी अध्यक्षका लागि महाधिवेशन प्रतिनिधिसँग मत माग्ने कार्य सुरु भएको छ ।

 पार्टी केन्द्रिय नेता केशव दाहालको नेतृत्वमा पाँच सदस्यीय निर्वाचन समिति गठन गरेको विवेकशीलले महाधिवेसनमा दाहालले राजनीतिक दस्तावेज पेस गर्नेछन भने प्रस्तावित विधान भने रमेश पौडेल पेस गर्ने मिलन पाण्डेले जानकारी दिए । महाधिवेशनमा देशभरबाट करिब एक हजार जना महाधिवेशन प्रतिनिधि सहभागी छन् । शनिबारसम्म चल्ने महाधिवेशनले नयाँ नेतृत्वसमेत चयन गर्नेछ । महाधिवेशनले अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्षलगायत बहुपदीय संरचना निर्माण गरिने भएको छ ।

उपभोक्ता अधिकार मञ्चले दियो शिवम् सिमेन्टविरुद्ध उजुरी, यस्तो छ कारण !

काठमाडौं । उपभोक्ता अधिकार मञ्चले शिवम् सिमेन्टविरुद्ध उजुरी दिएको छ । भ्रामक विज्ञापन गरेको भन्दै उपभोक्ता अधिकार मञ्चले शिवम् सिमेन्टविरुद्ध उजुरी दिएको हो ।

शिवम् सिमेन्टले उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ७ को १ छ विरुद्ध हुनेगरी ‘एकमात्र ओ।पी।सी सिमेन्ट उत्पादन गर्ने’ भनि भ्रामक विज्ञापन गरेको भन्दै मञ्चले वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा उजुरी दिएको हो । मञ्चका अनुसार शिवम् सिमेन्टले भ्रामक विज्ञापन गरेर उपभोक्तालाई गुमराहमा राख्न खोजेको छ ।

उपभोक्ता संरक्षण ऐनमा कुनै पनि वस्तु वा सेवाको विज्ञापन गर्दा गलत वा भ्रामक प्रचार प्रसार गर्न नपाइने भए पनि शिवम् सिमेन्टले त्यसको उल्लंघन गरेको मञ्चका अध्यक्ष माधव तिमल्सिनाले बताएका छन् ।

प्रधामनमन्त्री प्रचण्ड र बंगलादेशका राजदूतबीच भेटवार्ता, हाइड्रोपावर र व्यापारबारे छलफल

काठमाडौं । प्रधामनमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपालका लागि बंगलादेशका राजदूत सल्लाहुद्दीन नोमन चौधरीबिच भेटवार्ता भएको छ । शुक्रबार सिंहदवारस्थित प्रधानमन्त्री कार्यालयमा पुगेर राजदूत चौधरीले प्रधानमन्त्री प्रचण्डलाई भेट गरेका हुन् ।

भेटमा नेपाल र बंगलादेशबीच हाइड्रोपावर, व्यापार तथा कनेक्टिभिटीबारेमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

१५ सय मेगावाटसम्म पिपिए गर्ने प्राधिकरणको निर्णय

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले नदी प्रवाही जलविद्युत् आयोजनाहरुको १५ सय मेगावाटसम्मको विद्युत खरिद गर्ने भएको छ । उपप्रधानमन्त्री एवम् ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री राजेन्द्रप्रसाद लिङ्देनको अध्यक्षतामा बिहीबार बसेको प्राधिकरण सञ्चालक समितिको ९३० औं बैठकले ग्रिड आबद्ध सम्झौता मितिको रोलक्रमका आधारमा आरओआर आयोजनाहरुको १५ सय मेगावाटसम्मको पिपिए गर्ने निर्णय गरेको छ ।

उक्त आयोजनाहरुको विद्युत् ‘लेऊ या तिर’ सिद्धान्तकाआधारमा खरिद गरिने छ । आयोजनाहरुको विद्युत् सुक्खायाम ९१६ मंसिर–१५ जेठ० र वर्षायाम ९१६ जेठ–१५ मंसिरका लागि हाल कायम रहेको दर क्रमश ८.४० र ४.८० प्रति युनिटमा खरिद हुनेछ ।

प्राधिकरणको यही माघ १८ गतेसम्मको विवरणअनुसार, १३६ आयोजनाहरुसँग ३ हजार १ सय ९२ मेगावाटको कनेक्सन सम्झौता गरिएको छ । कनेक्सन सम्झौता गरिएको मितिको रोलक्रमका आधारमा विद्युत खरिद बिक्री दरलगायतका सम्पूर्ण प्रावधान यथावत रहने गरी आरओआर आयोजनाहरुसँग थप १५ सय मेगावाटको पिपिए गरिनेछ ।

ऊर्जा मन्त्रालयले २०७५ को वैशाखमा ऊर्जा, जलस्रोत तथा सिंचाइ क्षेत्रको वर्तमान अवस्था र भावी मार्गचित्र ९श्वेतपत्र० दीर्घकालिन रुपमा आन्तरिक उत्पादनबाटै विद्युतमा आत्मनिर्भर हुने उद्धेश्यले आगामी दश वर्षमा उत्पादन गरिने १५ हजार मेगावाटको लक्ष्यलाई आधार मानी विद्युत आयोजनाहरुको उत्पादन सम्मिश्रण तय गरेको थियो ।

१५ हजार मेगावाटमा जलाशययुक्त तथा पम्प स्टोरेज ३०–३५ प्रतिशत, पिकिङ आरओआर२५–३० प्रतिशत, आरओआर ३०–३५ प्रतिशत र अन्य वैकल्पिक स्रोत ५–१० प्रतिशत बमोजिमको अनुपात कायम गरी टेक अर पे सिद्धान्तको आधारमा विद्युत खरिद सम्झौता गर्ने व्यवस्था मिलाइने उल्लेख थियो ।

मन्त्रिपरिषद्को २०७९ असार २४ गतेको बैठकले उत्पादन सम्मिश्रणको अनुपातलाई पुनरावलोकन गरी जलाशययुक्तको १० प्रतिशतले घटाएर आरओआरका लागि १० प्रतिशतले बढाएको थियो । जसमा जलाशययुक्त २०–२५प्रतिशत , पिकिङ आरओआर २५–३० प्रतिशत, आरओआर ४०–४५ प्रतिशत र अन्य वैकल्पिक स्रोत ५–१० प्रतिशत अनुपात कायम गरिएको थियो ।

आरओआर आयोजनाहरुको लागि तय गरिएको साबिक ३५ प्रतिशत ९५२५० मेगावाट०कोसीमा अनुपातमा बृद्धि गरिएको १० प्रतिशत थप गर्दा ४५ प्रतिशत अर्थात ६७५० मेगावाट पुगेको थियो । यसबाट आरओआर आयोजनका लागि १५ सय मेगावाटको पिपिए गर्न बाटो खुलेको हो ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले मन्त्रिपरिषद्को निर्णय बमोजिम तय भएको उत्पादन सम्मिश्रणबमोजिम कनेक्सन सम्झौताकोरोलक्रमका आधारमा आरओआर आयोजनाका लागि तोकिएको ६७५० मेगावाटको सीमा नपुग्दासम्म पिपिए गर्ने निर्णय गरिएको बताए ।

‘वर्षायामको विद्युत बिक्रीका लागि बजार सुनिश्चित नहुँदा प्राधिकरणलाई ठूलो वित्तीय जोखिम हुने सम्भावना रहेकोले करिब तीन वर्षअघिदेखि आरओआर जलविद्युत आयोजनाहरुको पिपिए रोकिएको थियो, अहिले पिपिए गरिएका आयोजनाहरु निर्माण सम्पन्न हुन ५-७ वर्ष लाग्छ, त्यतिवेलासम्ममा देशभित्रै पनि विद्युतको खपत बढ्ने छ, भारत र बंगलादेशसम्म विद्युत् बिक्रीका लागि बजार खुल्ने अवस्था देखिएकोले पिपिए गर्ने निर्णय लिइएको हो’, कार्यकारी निर्देशक घिसिङले भने, ‘पिपिए नभएका कारण जलविद्युत आयोजनाहरु निर्माणमा जान नसकी आगामी ५-७ वर्षमा नयाँ आयोजनाहरुबाट विद्युत उत्पादन ठप्प हुने अवस्था रोकिएको छ । लगानीकर्ताहरुबाट आयोजनामा गरिएको लगानी नडुब्ने परिस्थिति बनेको छ ।’

प्राधिकरणले हालसम्म ६ हजार ३ सय ६६ मेगावाटको पिपिए गरेको छ । त्यसमध्ये १ हजार ५ सय ३१ मेगावाटका आयोजनाहरु निर्माण सम्पन्न भई सञ्चालनमा छन् । ३ हजार २ सय ८१ मेगावाटका आयोजनाहरु वित्तीय व्यवस्थापन गरी निर्माणाधीन छन् ।

सांग्रिला डेभलपमेन्ट बैंकको ८.९८३ प्रतिशत लाभांश घोषणा

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले लाभांश वितरण गर्ने घोषणा गरेको छ । बैकले लगानीकर्ताहरुको लागी ८।९८३ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ ।

बैंकको शुक्रबार बसेको सञ्चालक समितिको बैंठकले ८.५३४ प्रतिशत अर्थात २५ करोड ६९ लाख २२ हजार ४१ रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने र कर तिर्न ०.४४९ प्रतिशतले हुनआउने रकम १ करोड ३५ लाख २२ हजार २१३ रुपैयाँ नगद दिने निर्णय गरेको हो ।

प्रस्ताव गरिएको लाभांशलाई राष्ट्र बैंकले स्विकृती दिएपछि उक्तसांग्रिला डेभलपमेन्ट बैंकको आगामी साधारण सभाबाट पारित भएपछि मात्र लगानीकर्तालाई वितरण गर्ने प्रक्रिया अघि बढ्नेछ ।

लागुपदार्थ दुर्व्यसनविरुद्ध सचेतना जगाउँदै लमजुङ प्रहरी

लमजुङ – जिल्ला प्रहरी कार्यालय लमजुङले लागु पदार्थ दुर्व्यसन विरुद्ध सचेतना मूलक कार्यक्रम गरेको छ । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत लमजुङ प्रहरीले जिल्लाका विभिन्न विद्यालयमा सचेतनामूलक कार्यक्रम गरेको हो । 

नेपालमा घट्ने बिबिध प्रकारका अपराधहरु मध्ये प्रमुख अपराध तथा सामाजिक दुर्व्यसनको रुपमा रहेको लागु औषधलाई प्रहरी एक्लैको प्रयास तथा कानुनी कारवहीले मात्र नियन्त्रण गर्न असम्भव भएकाले विद्यार्थी लक्षित कार्यक्रमको आयोजना गरिएको लमजुङका प्रहरी प्रमुख, प्रहरी नायव उपरिक्षक प्रकाश श्रीमलले बताए ।

कार्यालयले समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत विगतका वर्षहरु देखिनै समुदाय स्तरमा विविध सचेतना मूलक कार्यक्रम गर्दै आएको र आगामी दिनमा पनि निरन्तरता दिँदै जाने उनको भनाइ छ । 

कार्यक्रममा विद्याथीहरूलार्ई लागु औषध भनेको के हो ? व्यक्ति,समाज, राष्ट्र तथा परिवारमा यसले के कस्तो प्रभाव पार्दछ ? लागु औषध मानिसहरुले के कारणले गर्दा सेवन गर्न बाध्य हुन्छ ? सेवनकर्ताहरुमा लागु औषधको सेवन पश्चात के कस्ता लक्षणहरु देखा पर्दछन ? यसको कुलतमा फसेकाहरुलाई कसरी सुधार गर्र्न सकिन्छ भन्ने वारेमा जानकारी गराइएको थियो । 

प्रहरीले लागु औषध नियन्त्रण तथा न्यूनीकरण गर्ने कार्यमा विद्यार्थी, शिक्षक, अभिभावक, बिद्यालय र अन्य सरोकारवाला निकायहरुले खेल्नु पर्ने भूमिका लगायतका बिषयहरुमा केन्द्रित् रहि विद्यालयहरुमा सचेतना मूलक कार्यक्रम गर्दै आएको छ । 

यही हुन् राष्ट्र बैंकले एकीकृत निर्देशन २०७८ मा संशोधन गरेका मुख्य व्यवस्थाहरु

काठमाडौं – नेपाल राष्ट्र बैंकले ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाका लागि जारी गरेको नयाँ एकीकृत निर्देशन २०७८ मा केही संशोधन, परिमार्जन र व्यवस्था थप गरेको छ ।

राष्ट्र बैंकले दिएको जानकारीअनुसार संशोधन, परिमार्जन र थप गरिएका व्यवस्था  

– कर्जा असुलीको लागि सार्वजनिक सूचना प्रकाशित गर्दा प्राकृतिक व्यक्तिको तस्विर प्रकाशन गर्न नपाइने व्यवस्था गरिएको ।

– ब्याज पुँजीकरणसम्बन्धी व्यवस्थामा परिमार्जन गरि आवश्यकता एवं औचित्यका आधारमा बैंक तथा वित्तीय संस्थाले ब्याज पुँजीकरण गर्न सक्ने व्यवस्था गरिएको ।

– वैदेशिक रोजगारीमा जाने नेपालीको विप्रेषण (रेमिट्यान्स) बचत खातामा बैंक तथा वित्तीय संस्थाका तर्फबाट जम्मा गरिएको प्रतिखाता रु.१०० (अक्षरेपी एक सय मात्र) सम्मको खर्च रकमलाई संस्थागत सामाजिक उत्तरदायित्व कोषमा जम्मा भएको रकमबाट खर्च व्यहोर्न सकिने व्वस्था गरिएको ।

– रु.३ लाख सम्मको क्रेडिट कार्ड कर्जा र संक्षिप्त प्रक्रिया पूरा गरी विद्युतीय माध्यमबाट स्वीकृत हुने रु पाँच लाखसम्मको कर्जामा कर्जा सूचना लिनु अनिवार्य हुने छैन ।

– इजाजतपत्रप्राप्त संस्थाले कुनै पनि खाता खोल्नुपूर्व कर्जा सूचना केन्द्रको विवरणअनुसार निक्षेपकर्ता कालोसूचीमा नरहेको यकिन गरेर मात्र खाता खोल्नुपर्नेछ ।

– पीईभीसीमार्फत लगानी गरेको साना तथा मझौला उद्योग कालोसूचीमा परेका कारणले मात्र एभ्ख्ऋ सञ्चालनगर्ने संस्थालाई कालोसूचीमा समावेश गरिने छैन ।

– शाखा कार्यालय खोल्नेसम्बन्धी व्यवस्थाबाट निष्क्रिय कर्जा अनुपातसम्बन्धी सर्त हटाइएको ।

– ब्याजदर प्रकाशन गर्दा ग्राहकमा कुनै किसिमको भ्रम सिर्जना नहुने गरी अनिवार्य रुपमा वार्षिक व्याजदर प्रतिशत प्रकाशित गर्नुपर्ने व्यवस्था गरिएको ।

– छ महिनाभन्दा कम समयावधिको संस्थागत मुद्दती निक्षेप स्वीकार गर्न पाइने छैन । साथै, यस्तो मुद्दती निक्षेप छ महिना व्यतित हुनुअगावै कुनै पनि रकम भुक्तानी ÷ फिर्ता (एचभ mबतगचभ) गर्न पाइने छैन ।

– कृषि तथा उर्जा ऋणपत्रबाट संकलित रकम ऋणपत्र जारी भएको मितिले तीन वर्षभित्र सम्बन्धित क्षेत्रमा कर्जा प्रवाह गरिसक्नुपर्नेछ ।

– पुनर्संरचना र / वा पुनरतालिकीकरणसम्बन्धी व्यवस्थामा परिमार्जन गरी थप व्यवस्थित बनाइएको ।

– पुनसंरचना र / वा पुनरतालिकीकरण गर्ने समयमा सक्रिय वर्गमा वर्गीकरण भइरहेका कर्जालाई देहायबमोजिमका सबै अवस्थाको पालना गरी पुनरसंरचना र ÷ वा पुनरतालिकीकरण गरिएमा न्यूनतम १२.५ प्रतिशत कर्जा नोक्सानी व्यवस्था गर्नुपर्नेछः

अ. पहिलो पटक पुनरसंरचना र / वा पुनरतालिकीकरण गरिएमा ।

आ. समान किस्तामा भुक्तानी हुनेगरी पुनसंरचना र / वा पुनरतालिकीकरण गरिएमा ।

इ. बढीमा एक वर्षसम्म ग्रेस अवधि राखी कर्जा पुनरसंरचना र/ वा पुनरतालिकीकरण गरिएमा ।

अन्य अवस्थामा पुनर्संरचना र / वा पुनरतालिकीकरण गरिएमा न्यूनतम २५ प्रतिशत कर्जा नोक्सानी व्यवस्था गर्नुपर्नेछ ।
 

कमिसन मागेपछि बिमान्स्थलका महाप्रबन्धक ठाकुर निलम्बित

काठमाडौं – सरकारले नेपाल नागरिक उडडयन प्राधिकरणका, त्रिभुवन बिमानस्तलका महाप्रबन्धक प्रेमनाथ ठाकुरलाई निलम्बन गरेको छ । 


थाई स्माइल एअरलाइन्सलाई प्रतिनिधिसँग गैरकानुनी लाभ लिने उदेश्यले गरेको कुराकानीको श्रब्य सामाग्री प्राप्त भएको हुदाँ सो बिषयमा जाँचबुझ गर्ने सिलसिलामा निजलाई पदवाट निलम्बन गर्ने माननीय मन्त्रीस्तरीय निर्णयानुसार नेपाल नागरिक  उडडयन प्राधिकरणका महानिर्देशकलाई लेखी पठाईएको छ’ मन्त्रालयका सहसचिव एवम प्रवक्ता राजेन्द्रबहादुर केसीले जारी गरेको बिज्ञप्तिमा उल्लेख छ । 


उनका अनुसार उक्त बिषमा थप अनुसन्धान गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई अनुरोध गरी पठाइएको पनि संस्कृति, पर्यटन तथा नागरिक उडडयन मन्त्रालयले जानकारी दिएको छ ।

उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक : रास्वपालाई सरकारमा सहभागी हुन आग्रह

काठमाडौँ । उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीलाई सरकारमा सहभागी हुन आग्रह गरेको छ । 

बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा आज बसेको सत्तारुढ दलको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा रास्वपालाई सरकारमा सहभागी हुन आग्रह गरिएको हो ।

जनमत र नागरिक उन्मुक्ति पार्टीका नेता अनुपस्थित  रहेको सो बैठकमा संयन्त्र संयोजकसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादीका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन सहभागी हुनुहुन्थ्यो ।

उक्त बैठकमा रास्वपालाई सरकारमा सहभागी हुन आग्रह गरिएको हो । केही दिनअघि सरकारबाट बाहिरिएको रास्वपाले सरकारलाई गरेको समर्थन भने कायम राखेको छ । 

रास्वपा सरकारबाट बाहिरिनु र गठबन्धन घटक नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिँदा बिहीबार एमाले नेतृत्वको सुदूरपश्चिम सरकार ढलेको छ । यही बेला आज बसेको संयन्त्रको बैठकमा गठबन्धन दलबीचको आपसी शङ्का र विवाद समाधानका विषयमा पनि छलफल भएको छ । 

सरकारको कामको समीक्षा समेत गरिएको बैठकमा राष्ट्रपति निर्वाचनसहित समसामयिक राजनीतिका विषयमा छलफल भएको छ । बैठकबाट बाहिरिने क्रममा राप्रपा अध्यक्ष लिङ्देनले अहिलेसम्म सरकारले गरेका कामको समीक्षा गरिएको जानकारी दिनुभयो । 

मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा : विदेशी सञ्चिति रकम लक्ष्यभन्दा बढी

काठमाडौ – नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाअनुसार लक्ष्यभन्दा बढी विदेशी विनिमय सञ्चिचि रकम रहेको जनाएको छ । 

कम्तिमा सात महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुनेगरी विदेशी विनिमय सञ्चिति कायम गर्ने लक्ष्यमा रहेकामा गत पुस समान्तसम्ममा ९.१ महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्ने विदेशी मुद्रा सञ्चिति रहेको समीक्षापत्रमा उल्लेख छ । 

२०८० जेठ मसान्तसम्मको लागि ऋणीले भुक्तानी गर्नुपर्ने कर्जाको साँवा र ब्याज दायित्वको भाखा नाघेको एक महिनाभित्र भुक्तानी गरेमा पेनाल ब्याज लिन नपाउने व्यवस्था गरिएको छ । 

राष्ट्र बैंकले पुस मसान्तसम्म सक्रिय कर्जामा रहेको २ करोडसम्मको कर्जालाई उद्योग–व्यवसायको नगद प्रवाह तथा आम्दानी विश्लेषण गरी आगामी असार मसान्त भित्र पुनर्संरचना तथा पुनर्तालिकीकरण गर्न पाउने व्यवस्था गरेको हो ।

संयन्त्र बैठक : रास्वपालाई सरकारमा सहभागी हुन आग्रह

काठमाडौं – रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीलाई सरकारमा सहभागी हुन आग्रह गरिएको छ । बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा शुक्रबार बसेको सत्तारुढ दलको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा रास्वपालाई सरकारमा सहभागी हुन आग्रह गरिएको हो ।

जनमत र नागरिक उन्मुक्ति पार्टीका नेता अनुपस्थित  रहेको सो बैठकमा संयन्त्र संयोजकसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादीका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन सहभागी थिए ।

उक्त बैठकमा रास्वपालाई सरकारमा सहभागी हुन आग्रह गरिएको हो । केही दिनअघि सरकारबाट बाहिरिएको रास्वपाले सरकारलाई गरेको समर्थन भने कायम राखेको छ । 

रास्वपा सरकारबाट बाहिरिनु र गठबन्धन घटक नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिँदा बिहीबार एमाले नेतृत्वको सुदूरपश्चिम सरकार ढलेको छ । यही बेला शुक्रबार बसेको संयन्त्रको बैठकमा गठबन्धन दलबीचको आपसी शंका र विवाद समाधानका विषयमा पनि छलफल  भएको छ । 

सरकारको कामको समीक्षासमेत गरिएको बैठकमा राष्ट्रपति निर्वाचनसहित समसामयिक राजनीतिका विषयमा छलफल भएको छ । 
बैठकबाट बाहिरिने क्रममा राप्रपा अध्यक्ष लिङ्देनले अहिलेसम्म सरकारले गरेका कामको समीक्षा गरिएको जानकारी दिए । 
 

अब बैंक तथा वित्तीय संस्थाले कर्जा असुली सूचना निकाल्दा ऋणीको फोटो राख्न नपाउने

काठमाडौँ – बैंक तथा वित्तीय संस्थाले आफ्ना ऋणीबाट कर्जा असुलीका लागि सूचना जारी गर्दा उनीहरुको तस्बिर सार्वजनिक गर्न नपाउने भएका छन् । ‘नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन, २०७८’ मा संशोधन गर्दै राष्ट्र बैंकले यस्तो व्यवस्था कार्यान्वयनमा ल्याएको हो ।

“कर्जा असुलीका लागि सार्वजनिक सूचना प्रकाशित गर्दा सार्वजनिक व्यक्तिको तस्विर प्रकाशन गर्न पाइने छैन ।” राष्ट्र बैंकले बिहीबार संशोधन गरेको एकीकृत निर्देशनमा भनिएको छ । बैंक तथा वित्तीय संस्थाले भाखा नाघेको ऋण असुलीका लागि ऋणीको तीनपुस्ते विवरणसहित सार्वजनिक सूचना जारी गर्ने गरेका छन् ।

एक वर्षभन्दा बढी अवधिका लागि प्रवाह भएको कर्जा असुलीका लागि सार्वजनिक सूचना तथा धितो लिलामीको कारबाही सुरु गर्नुअघि कर्जाले भाखा नाघेको कम्तीमा छ महिना व्यतीत भई शङ्कास्पद वर्गमा वर्गीकरण गर्नुपर्ने व्यवस्था छ । राष्ट्र बैंकले एकीकृत निर्देशनमा परिमार्जन गर्दै रु १५ लाखसम्मको व्यक्तिगत कर्जामा सम मासिक किस्ताको समयावधि दुई वर्ष बढाएको छ । सममासिक किस्तामा कर्जा भुक्तानी हुने गरी भुक्तानी तालिका तय हुनुपर्ने र यस्तो कर्जाको अधिकतम समायावधि पाँच वर्षसम्म मात्र हुने व्यवस्था रहेकोमा त्यसलाई बढाएर सात वर्ष बनाइएको हो ।

त्यस्तै, अर्थतन्त्रमा पछिल्लो समय देखिएको अवस्थालाई हेरेर बैंक तथा वित्तीय संस्थाले कर्जाको वर्गीकरण गर्दा तल्लो वर्गीकरणसमेत गर्न पाउने भएका छन् । “इजाजतप्राप्त संस्थाले अर्थतन्त्रमा देखिने असहज अवस्था वा अन्य कुनै कारणले ऋणीको कर्जा तिर्ने क्षमतामा ह्रास आउने विश्लेषण गरेमा कर्जा सापटलाई तल्लो वर्गमा वर्गीकरण गर्न सक्नेछन् । उदाहरणका लागि कमसल कर्जालाई शङ्कास्पद वा खराब कर्जामा र शङ्कास्पदलाई खराब कर्जामा वर्गीकरण गर्न सकिनेछ ।” राष्ट्र बैंकको निर्देशनमा भनिएको छ ।

गैरबैंकिङ सम्पत्तिको मूल्याङ्कन गर्दा बैंक तथा वित्तीय संस्थाले एउटै मूल्याङ्कनकर्ताबाट लगातार एकपटक भन्दा बढी सोही सम्पत्तिको मूल्याङ्कन गर्न नपाउने व्यवस्था पनि राष्ट्र बैंकले ल्याएको छ । रासस

ओढारमा ५ नाल भरुवा बन्दुक फेला

सुर्खेत – लेकबेशी नगरपालिका ५ स्थित राष्ट्रिय चौफारी डाँडा जंगलमा ढुङ्गाको ओढारमा पाँच नाल भरुवा बन्दुक बरामत भएको प्रहरीले जनाएको छ ।

प्रहरीको नियमित गस्ती गर्ने क्रम्मा माथिल्लो खल्टाकुरा  राष्ट्रिय चौफारी डाँडा ज‌ंगलमा ढुङ्गाको ओढारमा लुकाई छिपाई राखेको अवस्थामा फेला परेको हो । सबै बन्दुकहरु प्रहरीले नियन्त्रणमा लिएको बताएको छ । 

शुभम् पावरको आईपीओ बाँडफाँट

काठमाडौं – शुभम् पावर लिमिटेडको आईपीओ शुक्रबार बाँडफाँट भएको  छ । यसमा ४८ हजार १८८ जना सर्वसाधारण आवेदकले गोलाप्रथामार्फत सेयर हात पारेका छन् । जसमध्ये ४८ हजार १८६ जनाले १० कित्ता र २ जनाले ११ कित्ताका दरले सेयर पाएका छन् ।

कम्पनीको बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलका अनुसार आइपीओका लागि कुल १२ लाख ७५ हजार ४२१ जना आवेदकले आवेदन दिएकामा ३ हजार ५८७ जनाको आवेदन रद्द भएको छ । 

कम्पनीले माघ १८ गतेदेखि २२ गतेसम्म सर्वसाधारणका लागि ४ लाख ८१ हजार ८ सय ८२ कित्ता आइपीओ बिक्री खुला गरेको थियो ।

शुभम् पावर लिमिटेडमा कुल ५ लाख ८० हजार ५८० कित्ता सेयरमध्ये १० प्रतिशत अर्थात् ५८ हजार ५८ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरिसकेको छ ।

यस्तै, ५ प्रतिशत अर्थात् २९ हजार ३० कित्ता सामुहिक लगानी कोष र २ प्रतिशत अर्थात् ११ हाजर ६१० कित्ता कर्मचारीहरुलाई छुट्याएर बाँकी रहेको ४ लाख ८१ हजार ८ सय ८२ कित्ता सेयर सर्वसाधारणका लागि खुला गरेको हो ।