`

स्टार म्युजिक भिडियो अवार्डको दोस्रो संस्करण क्यानडामा हुने

काठमाडौँ / यति बेला नेपालमा अवार्डको मौषम जोडतोडले सुरु भएको छ । फिल्म अवार्डदेखि भिडियो अवार्डसम्म अहिले धमाधम आयोजना भइरहेका छन् । नेपालसँगै विदेशी भूमिमा अवार्ड हुने क्रम पनि ह्वात्तै बढेको छ ।

यसैबिच, ग्रेट नटराज फिल्मस् प्रा.ली. र ह्यापी पाठक इन्टरटेनमेन्ट प्रा.ली. को संयुक्त को आयोजनामा स्टार म्युजिक भिडियो अवार्ड को दोस्रो संस्करण यहि मे महिनामा क्यानडामा हुने भएको छ ।

अवार्डमा नेपालबाट ५० जना बढी कलाकार, प्राविधिक, पत्रकारको टोलीको सहभागिता रहने ग्रेट नटराज फिल्मस् प्रा.लिका प्रबन्ध निर्देशक अशोक बि.क.ले जानकारी दिनुभएको छ । विभिन्न विधाका अग्रज र अनुज श्रष्टालाई अवार्ड र सम्मान प्रदान गरिने उक्त अवार्डको प्रथम संस्करण गत जेठमा राजधानीमा भव्यताका साथ सम्पन्न भएको थियो जसमा १५० बढी म्युजिक भिडियोसँग सम्बन्धित कलाकर्मीलाई अवार्ड प्रदान गरिएको थियो ।

मदन गजमेर संयोजक ,प्रशान्त कुमार आग्री व्यवस्थापक रहेको अवार्ड आयोजक समितिमा केशव कार्की, रमेश थापा, गोपाल थापा र दिपासा बि.सी. सदस्य रहेका छन् ।

क्यानडामा हुने स्टार म्युजिक भिडियो अवार्ड २०२३ को रु १००० दर्ता शुल्क सहित आवेदन खुल्ला गरी सकिएको छ ।

कर्णालीमा हिमपात (फोटो फिचर)

सुर्खेत / कर्णालीका हिमाली तथा पहाडी जिल्लामा भारी हिमपात भएको छ ।

हुम्ला, डोेल्पा, जुम्ला, मुगु र माथिल्लो जाजरकोटमा हिमपात भएको छ । त्यहाँको जनजीवन समेत प्रभावित भएको छ । हिमपातसँगै दैनिक गतिविधिसमेत प्रभावित भएको छ । विद्यालयसमेत बन्द हुनपुगेका छन् ।

नेपाल टी–२० लिगमा भएको स्पट फिक्सिङमा १० जनाको संलग्नता

काठमाडौँ / नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले हालै नेपालमा सम्पन्न नेपाल टी–२० लिगमा भएको स्पट फिक्सिङमा १० जनाको संलग्नता रहेको जनाएको छ ।

मंगलबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै सीआईबीले लिगमा भएको अनियमितता र फिक्सिङमा एक खेलाडी सहित ४ जना नेपाली र ६ जना विदेशी व्यक्ति संलग्न रहेको जनाएको हो जसमध्ये ४ जनाले बिचौलियाको काम गर्ने खुलेको सीआईबीले जनाएको छ । स्पट फिक्सिङको अनुसन्धानका लागि क्रिकेटर मोहम्मद आदिल आलम र पूर्व क्रिकेटर महबुब आलमलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको सीआईबीका एसपी सञ्जयसिंह थापाले जानकारी दिनुभयो ।

उहाँका अनुसार महबुब आलमले कम्तीमा दुई नेपाली खेलाडीहरूलाई आर्थिक प्रलोभन देखाई फिक्सिङ गर्ने प्रयास गरेका थिए भने मोहम्मद आदिल आलम फिक्सरको प्रलोभनमा परी एक वाइड र एक नो बल / बल फालेको देखिएको एसपी थापाले जानकारी दिनुभयो । विभिन्न व्यवस्थापकको भूमिकामा रहेका केही व्यक्ति, खेलाडीसँग सम्पर्कमा भएका व्यक्ति र खेलमा सहभागी खेलाडीहरूसमेत स्पट फिक्सिङमा संलग्न भएको तथ्य र आधार फेला परेको उहाँले बताउनुभयो ।

पत्रकार सम्मेलनमा सीआईबीका एसएसपी दिनेश आचार्यले फिक्सिङ प्रकरणको अनुसन्धानका लागि जिम्मेवारी पाएपछि अनुसन्धान गर्दा फिक्सिङको पुष्टि भएको बताउनुभयो । उहाँले अहिले पक्राउ परेका दुई खेलाडी बाहेक अन्यको बारेमा थप अनुसन्धान भइरहेकाले पछि जानकारी गराउने बताउनुभयो । स्पट फिक्सिङको प्रमाण सङ्कलन गरेको गरिएको क्यान र सेभेन थ्री लगायत सबै अनुसन्धानको दायरामा आउने उहाँले बताउनुभयो ।

राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा ३१ मा खेलमा मिलोमतो तथा अनियमितता गर्न नहुने उल्लेख छ भने दफा दफा ३३ सजायमा तीन वर्ष कैद र ५० हजार जरिवाना गरी सो कसुर गर्दा कुनै रकम लेनदेन गरेको भए सो रकम समेत जफत हुने उल्लेख रहेको सीआईबीले जनाएको छ ।

सांसदका छोराछोरीलाई सरकारी विद्यालयमा पढाउने नीति लागू गरौं : ज्ञानेन्द्र शाही

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले सांसदहरुका छोराछोरीलाई सरकारी विद्यालयमा मात्र पढाउने नीति लागू गर्नुपर्ने बताउनुभएको छ ।

प्रतिनिधिसभाको आज बसेको बैठकमा उहाँले सांसदहरुका छोराछोरीलाई सरकारी विद्यालयमा पढाउने नीति लागू गरेमात्रै सरकारी विद्यालयमा सुधार हुने बताउनुभयो । उहाँले भन्नुभयो, ‘सम्माननीय, माननीयज्यूको छोराछोरीलाई नेपालको सरकारी स्कुलमा पढाऔं । आजदेखि नीति लागू गरौं तब मात्र नेपालको सरकारी विद्यालय सुध्रिन्छन्।’

शाहीले समावेशी र समानताको कुरा गर्नेले विकासलाई पनि समानता साथ अगाडि बढाउने हिम्मत राख्न सक्नुपर्ने पनि बताउनु भयो । उहाँले भन्नुभयो, ‘समावेशी र समानताको कुरा गर्नेले विकासलाई पनि समानका साथ अगाडि बढाउन हिम्मत राख्न सक्नुपर्छ ।’

बानेश्वरमा प्रधानमन्त्रीकै अघि पेट्रोल खन्याएरआत्मदाहको प्रयास

काठमाडौं – संघीय संसद भवनअगाडि मंगलबार दिउँसो एक व्यक्तिले  आत्महत्याको प्रयास गरेका छन् ।

बानेश्वरबाट तीनकुने मार्गमा मुख्य सडककै बीचमा इलाम पञ्चकन्याका प्रेमप्रसाद आचार्यले आफैंलाई  पेट्रोल खन्याएर आगो लगाएका हुन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड संसद भवनबाट बाहिर निस्के लगत्तै उनले आत्मदाह गरेका हुन् ।

उनलाई प्रहरीले उद्धार गरेर बर्न अस्पताल कीर्तपुर अस्पताल लगेका थिए ।उनले किन आत्मदाहाको प्रयास गरे खुल्न सकेको छैन ।

नेकपा एमालेको सबै जनसङ्गठनको सम्मेलन गर्न मिति तय

काठमाडौँ / नेकपा (एमाले)को सबै जनवर्गीय सङ्गठनका राष्ट्रिय अविधेशन-सम्मेलन मिति तय गरिएको छ ।

नौवटा जनवर्गीय सङ्गठनको महाविधेशन-सम्मेलन मिति घोषणा गरिएको एमाले जनसङ्गठन समन्वय संयन्त्रका सहसंयोजक तथा केन्द्रीय सदस्य रचना खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार सबै जनसङ्गठनले चैत मसान्तभित्र अधिवेशन-सम्मेलनका लागि मिति घोषणा गरेका हुन् ।

गत पुस २४ र २५ गते काभ्रेको धुलिखेलमा सम्पन्न जनसङ्गठनको भेलाले आगामी चैत मसान्तभित्र राष्ट्रिय अधिवेशन- सम्मेलन गर्ने निर्णय गरेका थिए ।
सदस्य खड्काले सबै जनसङ्गठनका पदाधिकारी र सचिवालय बैठकले अधिवेशन-सम्मेलनको मिति तोकेको जानकारी दिनुभयो । उहाँका अनुसार अनेरास्ववियुको आगामी फागुन २ देखि ४ गतेसम्म काठमाडौँमा, नेपाल खेलकुद महासङ्घको फागुन ७ देखि ९ गतेसम्म विराटनगरमा, रिटर्नी फेडरेसन नेपालको चैत ११ र १२ गते काठमाडौँमा सम्मेलन हुने भएको छ ।

यस्तै लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घ नेपालको चैत १८ र १९ गते काठमाडौँ, नेपाल पिछडा वर्ग महासङ्घको चैत २२ र २३ गते वीरगञ्जमा, पेसागत महासङ्घ नेपालको चैत २४ र २५ गते काठमाडौँमा, अखिल नेपाल महिला सङ्घको चैत २५ देखि २६ गते काठमाडौँमा, अखिल नेपाल किसान महासङ्घको चैत २६ देखि २८ गते नवलपुरमा र राष्ट्रिय युवा सङ्घको चैत २७ देखि २९ गतेसम्म बाँकेमा सम्मेलन हुने जनाइएको छ। एमाले र तत्कालीन नेकपा (माओवादी केन्द्र) सँगको पार्टी एकताबाट नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बनेपछि जनवर्गीय सङ्गठनका अधिवेशन नियमित हुन सकेका थिएनन् । एमालेका २३ जनवर्गीय सङ्गठन छन् ।

गृहमन्त्री लामिछानेसँग अमेरिकी राजदूत डिन आर थम्पसनको भेट

काठमाडौँ – उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेसँग नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनले शिष्टाचार भेटवार्ता गरेका छन् ।

गृहमन्त्रालयमा आज भएको भेटवार्तामा नेपाल र अमेरिकाबीचको सहकार्य र आपसी हित अभिवृद्धिलगायतका विषयमा कुराकानी भएको गृहमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

भेटवार्तामा नेपालको पूर्वाधार विकास, शैक्षिक तथा स्वास्थ्य क्षेत्रमा पहुँच अभवृद्धि, जलवायु परिवर्तनको असरबाट पर्ने प्रभाव न्यूनीकरण, ऊर्जाको विकास, प्रविधि हस्तानतरणलगायतका विषयमा अमेरिकी सरकारबाट हुँदै आएको सहयोगलाई निरन्तरता दिँदै अघि बढ्ने विषयमा छलफल भएको थियो ।

भेटवार्तामा राजदूत थम्पसनसँगै नियोग उपप्रमुख लगायतका प्रतिनिधि, परराष्ट्र मन्त्रालय र गृहमन्त्रालयका अधिकारीहरुको पनि सहभागिता थियो ।

नेपालकाे आकाशमा शीतयुद्ध मडारिएको छ : रामचन्द्र पौडेल

काठमाडौं / नेपाली कांग्रेस नेता रामचन्द्र पौडेलले नेपालको आकाशमा शीतयुद्ध मडारिएको बताएका छन् ।

प्रतिनिधिसभाको मंगलबारको बैठकलाई सम्बोधन गर्दै उनले नेपाली आकाशमा शीतयुद्ध मडारिएको बताएका हुन् ।

भूराजनीतिक दबाबसहित नेपाली आकाशमा शीतयुद्ध मडारिएको भन्दै उनले यसको सामना गर्न सर्वदलीय सहमतिअनुसार अघि बढ्नुपर्ने बताए ।

प्राधिकरणले दियो ३ जना पाइलटलाई निलम्बन गर्न निर्देशन

काठमाडौं / नेपाल नागरिक उड्डयन प्राधिकरणले तीनजना पाइलटलाई कारबाही गर्न निर्देशन दिएको छ ।

प्राधिकरणले नेपाल वायुसेवा निगमका पाइलटहरु उद्धव घिमिरे, राजेश कुशवाह र नरबहादुर विश्वकर्मालाई कारबाहीको निर्देशन दिएको हो ।

हङकङ विमानस्थलमा नेपाल एयरलाइन्सको जहाज अवतरण गर्नेक्रममा हङकङको एटीसीको इन्स्ट्रक्सन नमानेको आरोपमा उनीहरुलाई निलम्बन गर्न निर्देशन दिएको हो ।

संस्कृति, पर्यटन मन्त्रालयमा राखिएको सहयोग पेटिकामा ६ दिनमा रु तीन लाख जम्मा

काठमाडौँ / संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा राखिएको सहयोग पेटिकामा करिब रु तीन लाख जम्मा भएको छ ।

मन्त्री सुदन किरातीले मन्त्रीको पदभार ग्रहण गरेकै दिनदेखि खादा, माला र बुकेको प्रयोग नगर्ने घोषणा गर्दै त्यसको सट्टा सहयोग रकम सङ्कलन गरी दुर्गम क्षेत्रको शिक्षालाई सहयोग गर्ने घोषणासहित उक्त सहयोग पेटिका राख्नुभएको थियो ।

मन्त्रालयमा राखिएको उक्त सहयोग पेटिकामा ६ दिनमा अनुमानित रु तीन लाख जम्मा भइसकेको मन्त्री किरातीका प्रेस संयोजक राजन राईले जानकारी दिनुभयो । उक्त रकम दुर्गम क्षेत्रको शिक्षा क्षेत्रमा सहयोग गरिने मन्त्री किरातीले बताउनुभयो ।

यसै गरी सुझाव र जनगुनासो सङ्कलनका लागि ‘ई–हुलाक सेवा’ नामक फेसबुक पेज सञ्चालनमा ल्याइएको समेत मन्त्री किरातीले जानकारी दिनुभयो । देशको सापेक्षताअनुसार मन्त्रालयलाई सञ्चालन गर्न उहाँले सुझावसमेत माग गर्नुभएको छ ।

राष्ट्रपतिको निर्वाचनबारे प्रधानमन्त्री दाहाल र प्रमुख आयुक्त थपलियाबीच भेटवार्ता

काठमाडौँ । राष्ट्रपतिको निर्वाचनबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाबीच भेटवार्ता भएको छ । सोमबार दिउँसो सिंहदरबारमा उहाँहरुबीच भेटवार्ता भएको हो ।

अहिले उहाँहरुबीच भेटवार्ता जारी छ ।

आज मात्रै नेपाली कांग्रेसले माघ २८ सम्म राष्ट्रपतिको निर्वाचन गराउनुपर्ने भन्दै सरकार र आयोगको ध्यानाकर्षण गर्ने निर्णय गरेको थियाे ।

भुपेन्द्र राई प्रदेश १ मा कांग्रेसका प्रमुख सचतेक नियुक्त

बिराटनगर / नेपाली कांग्रेस प्रदेश १ संसदीय दलको प्रमुख सचेतकमा भुपेन्द्र राई नियुक्त भएका छन ।

नेपाली कांग्रेस प्रदेश १ का संसदीय दलका नेता उद्धव थापाले प्रमुख सचेतकमा राईलाई  नियुक्त गरेका हुन ।

नेपाली कांग्रेस प्रदेश सभा संसदीय दलको बिद्यान २०७४ को दफा ११ (१) मा व्यवस्था भए अनुसार तपाईलाई प्रदेश नम्बर १ को संसदीय दलको प्रमुख सचेतकमा नियुक्त गरेको छ’,  दलका नेता थापाले काटेको पत्रमा उल्लेख छ ।

जहाज समयमा उडाउनुहोस्,एक सेकेन्डको पनि महत्व हुन्छ : सुदन किराती

काठमाडौँ / संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले नेपाल वायुसेवा निगमका अध्यक्ष युवराज अधिकारीलाई जहाज समयमै उडाउन निर्देशन दिनुभएको छ ।

आज वायुसेवा निगमको कार्यालय निरिक्षण गर्दै मन्त्री किरातीले निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई एक सेकेन्डको पनि महत्व हुने भन्दै समयमै जहाज उडाउन र नेपाली समयको बदनाम नगर्न निर्देशन दिनुभएको हो । उहाँले निगमका जहाजहरुको दैनिक रिपोर्ट पनि पेस गर्न निर्देशन दिनुभयो । “कुन जहाज कतिबेला उडे ? कहाँ रोकिए ? के कारणले रोकिए भन्ने विषयमा विषयमा दैनिक रिपोर्ट चाहियो, म रिपोर्ट नहेरी घर जान्न”, उहाँले भन्नुभयो ।

“विश्वमा युद्ध लड्दा एक सेकेन्डको पनि ठूलो महत्व हुन्छ, तोकिएको समयमै जहाज उडाउनुहोस्, नेपाली समयलाई बदनाम नगराउनुहोस्”,उहाँले भन्नुभयो ।

मन्त्री किरातीले निगम सुधारका लागि छिट्टै आर्थिक योजना पेस गर्न र एक महिनाभित्र अनलाइनमार्फत् टिकट काट्ने व्यवस्था गर्न पनि अध्यक्ष अधिकारीलाई निर्देशन दिनुभयो ।

“जहाज अब उप्रान्त समयमै उड्नु पर्छ, हिजो के भयो त्यो म हेर्दिन, जहाज स्टार्ट भइसक्यो अब रोकिनु हुँदैन”, उहाँले भन्नुभयो, “नकारात्मक काम गर्दिन, सकारात्मक काममा सधै साथ दिन्छु ।”

 अब गण्डकी प्रदेश सरकारमा ७ वटा मात्रै मन्त्रालय

पोखरा / गण्डकी प्रदेश सरकारले ७ वटा मन्त्रालय टुङ्ग्याएको छ ।

आइतबार मुख्यमन्त्री खगराज अधिकारीले सत्तारुढ दलका नेताहरुसँग गरेको छलफलले मन्त्रालय घटानउने सहमति गरेको हो । छलफले १२ वटा मन्त्रालयबाट ७ वटा मन्त्रालयमा झार्ने सहमति गरेको छ ।

अब मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, आर्थिक मामिला, अन्तरिक मामिला तथाकानुन, भौतिक पूर्वाधार निकास,सामाजिक विकास तथा स्वास्थ्य,उद्योग,पर्यटन, वन तथा वावरण र कृषि तथा जलस्रोत मन्त्रालय रहनेछ ।

यसअघिको सरकारमा १२ मन्त्रालय थिए । संविधानले प्रदेश सभाको संख्याका २० प्रतिशत संख्यामा मन्त्री बनाउन सकिने व्यवस्था गरेको छ । त्यस अनुसार ६० सदस्यीय प्रदेश सभा रहेको गण्डकीमा १२ मन्त्रालय बनाउन सकिन्छ । तर, नवगठित सरकारले खर्च कटौती गर्दै जनतामा सकारात्मक सन्देश दिने गरी ७ मन्त्रालयमात्रै बनाउने योजना बनाएको थियो ।

पुस २५ गते एमाले संसदीय दलका नेता खगराज अधिकारी मुख्यमन्त्री नियुक्त हुनुभएकाे थियाे । सोही दिन माओवादीका हरिबहादुर चुमान,एमालेकी सीता सुन्दास र राप्रपाका पञ्चराम गुरुङ विना विभागीय मन्त्री नियुक्त हुनुभएकाे थियाे । मन्त्रालय संख्या टुंगो लागेको हुँदा मुख्यमन्त्री अधिकारीले अब मन्त्रिपरिषदलाई पूर्णता दिने स्रोतले जनाएको छ ।

काँग्रेसले राष्ट्रपतिमा उम्मेदवारी दिने

काठमाडौँ / नेपाली काँग्रेसले राष्ट्रपतिमा उम्मेदवारी दिने निर्णय गरेको छ।

सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा आज बसेको पार्टीको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले राष्ट्रपतिमा उम्मेदवारी दिने निर्णय गरेको हो।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएको नेपाली काँग्रेसले यसअघि, सभामुख र उपसभामुखमा पनि उम्मेदवार बनाएको थियो।

राष्ट्रपतिमा कसलाई उठाउने भन्ने टुङ्गो नलगाएको काँग्रेसले उम्मेदवारी दिनु पूर्व अन्य पार्टीसँग पनि छलफल गर्ने जनाएको छ ।

सरकारसँग कांग्रेसको माग : राष्ट्रपतिको निर्वाचन समयमै गरौँ

काठमाडौं / नेपाली कांग्रेसले राष्ट्रपतिको निर्वाचन समयमै गर्न माग गरेको छ ।

पदाधिकारी र पूर्व पदाधिकारीहरुको बैठकले कुनै कानुनी अड्चन छ भने त्यसलाई हटाएर समयमै निर्वाचन गर्न सरकार र निर्वाचन आयोगको ध्यानाकषर्ण गराएको हो ।

काँग्रेसका प्रवक्ता प्रशकाशरण महतले भन्नुभयो, ‘निर्वाचनका लागि संसदमा रहेका अन्य दलहरूसँग छलफल गरेर अघि बढ्ने छौँ । माघ २९ गतेभित्रै राष्ट्रपतिको चुनाव गर्नुपर्ने पर्छ । माघ २९ गतेभन्दा पनि उता लान खोजेको चर्चा सुनेका छौं । त्यसलाई हामी कुनै हालमा पनि स्वीकार्दैनौं ।’

 

सरकार जोगाउने र ढाल्ने ध्यानले स्वस्थ समाज निर्माण गर्न सकिँदैन : अध्यक्ष ओली

काठमाडौँ / नेकपा एमालेका अध्यक्ष केपी ओलीले सरकार जोगाउने र ढाल्ने ध्यानले स्वस्थ समाज निर्माण गर्न नसकिने बताउनुभएको छ ।
आइतबार काठमाडौँमा नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाजको पाँचौँ राष्ट्रिय अधिवेशन उद्घाटन गर्दै अध्यक्ष ओलीले सरकारमा हुनेको ध्यान टिक्नेमा र सरकारमा नहुनेको ध्यान सरकार ढाल्नेमा हुने गरेकाले देशतिर ध्यान जान नसकेको बताउनुभएको हो । उहाँले यस्तो अवस्थाबाट माथि उठ्न नसकेसम्म स्वस्थ समाज निर्माण गर्न नसकिने बताउनुभयो ।
साँच्चिकै लोकतान्त्रिक अभ्यास गर्ने र स्वस्थ तवरले चल्ने हो भने समाजलाई मद्दत पुराउन सकिने भन्दै ओलीले पद्धतिलाई ठिक बाटोमा लैजाने जिम्मेवारी आफूहरूको भएको धारणा राख्नुभयो । त्यस्तै ओलीले ४८ सालको चुनावी घोषणापत्र लेख्दा नै आफूले आयुर्वेद स्वास्थ्यलाई प्राथमिकता दिइएको र आगामी दिनमा पनि यस क्षेत्रको सुधारका लागि सरकारसँग आवश्यक छलफल गर्ने प्रतिबद्धता जनाउनुभयो ।
उहाँले आयुर्वेद भनेको उपचार मात्रै नभई जीवनपद्धति पनि भएकाले यसलाई सबैले अवलम्बन गर्नुपर्ने जिकिर गर्नुभयो ।

तस्बिरमा टुँडिखेलको सोनाम ल्होसारको उत्सव

काठमाडौं / तामाङ समुदायले आइतबार सोनाम ल्होसार पर्व मनाइरहेका छन् । सोही क्रममा टुँडिखेलमा विशेष समारोह आयोजना गरिएको छ ।

तामाङ समुदायको कला संस्कृति झल्कने भेषभूषामा सजिएर कार्यक्रममा सहभागी भएका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सभ्यता र संस्कृतिमा नेपाल विश्वमै वैभवशाली रहेको बताए ।

बालबालिकादेखि वृद्धवृद्धासमेत कार्यक्रममा सहभागी भएका थिए । तामाङसहित अन्य समुदाय व्यक्तिहरुले पनि तामाङको पोशाक लगाएर कार्यक्रममा सहभागी भएका देखिन्थे ।

अपहरणपछि जनकपुरधामका २ युवाको हत्या

जनकपुरधाम / जनकपुरधामका दुई युवाको भारतमा अपहरणपछि हत्या भएको छ । १३ दिनदेखि सम्पर्कविहीन भएका जनकपुरधाम उपमहानगरपालिका–८ का २१ वर्षका रोहित साह र वडा नं. १३ निवासी वर्ष २२ को विष्णु साहको हत्या भएको हो ।

मृतक दुवैजना एकै परिवारका हुन् । रोहित विष्णुलाई लिएर भारतको सीतामढी जिल्लाको बेला परिहार बस्ने आफ्नो नातेदारको घर गएका थिए । गत सोमबारसम्म विष्णुका परिवारलाई फिरौतीको मागसहित भारतीय नम्बरबाट फोन आइरहेको र सुरुमा २० लाख मागेको अपहरणकारी विष्णुसँग कुरा नगराए पनि उनको आवाज रेकर्ड गरेर उनका आफन्तलाई सुनाउने गरेका आफन्तहरुले बताएका छन् ।

विष्णुको परिवारले अपहरणकारीलाई २० लाख दिन राजी भएपछि अपहरणकारीले ५० लाखको माग गरेको विष्णुका हजुरबुबा रामकिशोर साहले बताउनुभयो । अपहरणकारीले २० लाखसहित सर्लाहीको मलङ्गवा नाकामा बोलाएका र विष्णुका परिवारले प्रहरीलाई जानकारी गराएपछि मङ्गलवारदेखि अपहरणकारीको मोबाइलमा सम्पर्क हुन छोडेको जानकारी उहाँले दिनुभयो ।

भारतीय प्रहरीले भारतको सोही क्षेत्रमा दुई शव भेटेपछि आइतबार बिहान मृतक युवाका आफन्तलाई खबर गरिएपछि परिवार शोकमा डुबेको छ । विष्णु र रोहित परिवारको एक्लो छोरा थिए । क्याम्पस पढ्दै गरेका विष्णुका श्रीमती र एक छोरी छन् । मृतक दुवै जनाको परिवार यसअघि वडा नं. १३ मै एकैठाँउ बस्दै आएको भए पनि अंशबण्डापछि अलगअलग भएका थिए ।

शव अहिले भारतको बेला परिहार पर्सास्थित प्रहरी चौकीमा राखिएको र नेपाल प्रहरीलाई बुझाउने तयारी भइरहेको छ । मृतकका परिवारसँगै शव पहिचानका लागि घटनास्थलमा पुगेका मृतकका छिमेकीहरुले मृतकका परिवारजनले शव चिनेको र नेपाल ल्याउने तयारी भइरहेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले पनि भारतमा भेटिएको शव सोही दुई युवाहरुको रहेको बताउनुभएको छ ।

 अवस्थामा फेला परेको शवलाई परिवारका सदस्यले पहिचान गरेसँगै मृतक नेपाली रहेका र एकै परिवारका रहेका खुलेको हो । दुई साता अघिदेखि सम्पर्कविहीन भएका उनीहरुको शव आइतबार बिहान फेला परेको प्रहरीले जनाएको छ ।

दुई साताअघि नै सीतामडीस्थित आफन्तको घरमा जाँदा सम्पर्कविहीन भएका उनीहरु अपहरणमा परेको भन्दै आफन्तले प्रहरीलाई खबर गरिए पनि उद्धार हुन सकेन ।

नेपाली कला र संस्कृति कहिल्यै मर्ने छैन : अध्यक्ष ओली

काठमाडौं / नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कला र संस्कृति अमर रहने बताउनुभएको छ । भक्तपुरमा आयोजित चौथो एपीक नेपाल म्युजिक अवार्ड प्रदान गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।

नेपाली कला र संस्कृतिको संरक्षणमा हरेक नेपालीहरू लागेकाले कला र संस्कृति नमर्ने उहाँले बताउनुभयो । उहाँले नेपाली संस्कार र संस्कृतिहरू कलाको माध्यमबाट पनि अहिलेसम्म जीवित रहेको भन्दै खुसी व्यक्त गर्नुभयो । नेपाली कला र संस्कृतिलाई मन पराउने नेपाली धेरै रहेकाले अहिले पनि नेपाली कला र संस्कृतिको महत्त्व अपार रहेको बताउनुभयो ।

अध्यक्ष ओलीले कला, संस्कृतिलाई जीवन्त ढङ्गले जनतासँग, जनताको मनसँग जोडेर संरक्षण, संवर्धन र प्रवर्धन गर्ने काममा कलाकारहरू लागेको भन्दै उहाँले खुसी व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘पिर गर्नु पर्दैन, कला संस्कृति मर्दैन । किनभने नेपाली जनता छन्, आफ्नो कला संस्कृतिलाई मन पराउने, संरक्षण, सुरक्षा गर्ने नेपाली जनता छन् ।’ हामीले नेपाली संस्कृतिलाई विभिन्न ढङ्गले संरक्षण गर्दै जानुपर्ने उहाँको भनाइ छ । नेपाली जनजीवनका बोली कलामा उतार्ने, ‘खाँदिन कुवाको पानी’ मामुलीजस्तो सुनिन्छ तर हाम्रो संस्कृति भनेको अहिले भर्खर मात्रै धारा आए पनि पहिला त कुवाको पानी हो अध्यक्ष ओलीले भन्नुभयो ।

‘गीतले हाम्रो कला, संस्कृतिलाई अमर राखेको छ । कला, संस्कृतिलाई जीवन्त ढङ्गले जनतासँग, जनताको मनसँग जोडेर संरक्षण, संवर्द्धन र प्रवर्धन गर्ने कार्यमा कलाकारहरू लाग्नुभएको छ’ उहाँले भन्नुभयो ।

अध्यक्ष ओलीले कलाकारलाई सम्मान तथा पुरस्कार वितरण कार्यक्रममा धिमे बजाउनुभएको थियो । उहाँले आफूले माटोका भाँडा बनाएर प्रजापति र धिमे बजाएर धिमेखलवालाको अनुभव बटुलेको पनि बताउनुभयो ।

बजेटरी सहायता बढाउन विश्व बैंकलाई अर्थमन्त्री पौडेलको आग्रह

काठमाडौं / उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेटरी सहायता वृद्धि गर्न विश्व बैंकलाई आग्रह गरेका छन्। विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद जर्भोससहितको प्रतिनिधि मण्डलसँगको भेटमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेलले बजेटरी सहायताको दायरा बढाउन आग्रह गरेका हुन् ।

उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेलले चालु आर्थिक वर्षमा विश्व बैंकबाट बजेटरी सहायता प्राप्त हुने गरी विनियोजन भई प्राप्तिका लागि आवश्यक पूर्व कार्यहरु  पूरा गर्न अर्थमन्त्रालयले प्रभावकारी भूमिका निर्वाह गर्ने बताए ।

विश्व बैंकको सहायतामा सञ्चालित आयोजनाहरुमा देखिएका समस्याहरुको कारण पहिचान गरी समाधान गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै उनले कमजोरी र गुनासा नआओस् भन्नेतर्फ आफूले ध्यान दिएको बताए ।

विभिन्न क्षेत्रमा विश्व बैंकले गरेको सहयोगको प्रशंसा गर्दै उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेलले माथिल्लो अरुण, ग्रामीण सडक लगायतका आयोजना नेपालको प्राथमिकतामा रहेको जानकारी  गराए ।

उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेलले विश्व बैंकसँगको सम्बन्ध अझ घनिष्ठ हुने र सहयोगले थप उचाइ लिने विश्वास व्यक्त गर्दै आयोजनाहरु सफल बनाउन राजनीतिक नेतृत्वको सहयोग हुने बताए ।

विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद जर्भोसले उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेलको कार्यशैलीप्रति आफू जानकार र प्रभावित रहेको उल्लेख गर्दै विश्व बैंकको सहायतामा सञ्चालित आयोजनाहरु प्राथमिकतामा पर्ने विश्वास व्यक्त गरे । उनले विश्व बैंकको सहायतामा सञ्चलित आयोजनाहरुमा देखा परेका समस्याहरु समाधानका लागि सहजीकरण गर्न उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेललाई आग्रह गरे ।

काँग्रेसले संसदमा प्रमुख प्रतिपक्षी दलको भूमिका माग गर्दै संसद सचिवालयलाई लेख्यो पत्र

काठमाडौँ – नेपाली काँग्रेसले संसदमा प्रमुख प्रतिपक्षी दलको भूमिका माग गर्दै संसद सचिवालयलाई पत्र पठाएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड ‘लाई विश्वासको मत दिएपछि काँग्रेस प्रतिपक्षी हो वा होइन भन्ने विवाद भइरहेकाबेलामा काँग्रेस प्रमुख प्रतिपक्षी दलको सेवा सुविधा माग गर्दै पत्र लेखेको हो ।

पत्रमा प्रमुख प्रतिपक्षी दलको नेता शेरबहादुर देउवा भएकाले विपक्षी दल र दलको नेताले पाउने सेवा सुविधा उपलब्ध गराइदिन माग गरिएको छ । काँग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत दिएपछि प्रमुख प्रतिपक्षी दलका लागि नेपाल मजदुर किसान पार्टीले यसअघि नै पत्र पठाइसेको छ ।

सरकार रेमिट्यान्समा नीतिगत सुधार गर्न तयार छ : अर्थमन्त्री पौडेल

काठमाडौँ / उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले रेमिट्यान्सलाई व्यवस्थित गर्न नीतिगत तथा कानुनी सुधारका लागि सरकार तयार रहेको बताउनुभएको छ । 

प्रवासी नेपाली मञ्च अमेरिकाले शनिबार राती आयोजना गरेको रेमिट्यान्स एण्ड इन्भेष्टमेन्ट इन नेपाल विषयक कार्यक्रमलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्नुहुँदै अर्थमन्त्री पौडेलले रेमिट्यान्सलाई वैधानिक च्यानलबाट भित्राउन र उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने अनुकूल वातावरण तयार पार्न आवश्यक सहयोगका लागि सरकार तत्पर रहेको बताउनुभयो । 

अर्थमन्त्री पौडेले भन्नभयो “रेमिट्यान्स जति जेनरेट हुने गरेको छ, त्यसको ठूलो हिस्सा लिगल च्यानलबाट भित्राउन सकेका छैनौँ । लिगल च्यानलबाट देशभित्र भित्राउनका लागि लिनुपर्ने नीति, गर्नु पर्ने निर्णय वा दिनुपर्ने प्रोत्साहनका कार्यक्रमहरू अघि सार्न  सरकार तयार छ ।”

रेमिट्यान्सलाई उत्पादनको क्षेत्रमा, निर्माणको क्षेत्रमा र रोजगारीका नयाँ नयाँ अवसर सिर्जना गर्ने क्षेत्रमा लगानी गर्न सक्छौँ भन्नुहुँदै उहाँले त्यसका लागि नीतिगत र कानुनी क्षेत्रमा देखिएका समस्याहरूलाई परिमार्जन र सुधार गर्दै जाने बताउनुभयो । 

गैरआवासीय नेपालीले उठाएको नागरिकता सम्बन्धी चासोप्रति सरकारको ध्यानाकर्षण भएको बताउँदै उहाँले भन्नुभयो, “गैरआवासीय नेपालीहरूको आर्थिक तथा सामाजिक अधिकार सहितको नागरिकता प्राप्त गर्ने संविधानमा हामीले जुन प्रबन्ध गरेका छौँ । त्यो छिट्टै पूरा गर्ने गरी हामी अघि बढेका छौँ । त्यसबाट सहज ढंगले नागरिकता प्राप्त गर्न सक्ने र नेपालमा लगानी गर्न थप अनुकूल परिस्थिति सिर्जना हुनेछ ।”

वैदेशिक लगानी तथा प्रविधि सम्बन्धी ऐनले गैरआवासीय नेपालीहरूलाई विदेशी नागरिक सरह लिएको विषयप्रति गैरआवासीय नेपालीहरूले ध्यानाकर्षण गराएको जानकारी दिँदै उहाँले त्यस विषयलाई सम्बोधन गर्ने  प्रतिबद्धता व्यक्त गर्नुभयो । 

गैरआवासीय नेपालीहरूले नेपालमा आउँदा भिसा लिनुपर्ने विषयमा पनि ध्यान गएको भन्दै उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेलले गैरआवासीय नेपालीहरूको नागरिकता सम्बन्धी विषय समाधान गरेसँगै यो समस्या पनि समाधान हुने विश्वास व्यक्त गर्नुभयो । 

“नेपालको आर्थिक विकासमा प्रवासमा रहनु भएका प्रवासी नेपाली गैरआवासीय नेपाली अत्यन्तै ठूलो योगदान छ । आउने दिनमा अझ प्रभावशाली हुँदैछ भन्ने अपेक्षा गर्न चाहन्छु”, उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेलले आग्रह गर्दै भन्नुभयो(“रेमिट्यान्सका कोणबाट मात्र होइन, वैदेशिक लगानीका निम्ति पनि नेपालको सद्भावना दूतका रुपमा प्रत्येक प्रवासी र गैरआवासीय नेपालीले भूमिका खेलिदिनुस् भन्ने अपेक्षा गर्न चाहन्छु । नेपाल लगानीका निम्ति सुरक्षित स्थान हो । प्रतिफल दिने स्थान हो । त्यो सन्देश संसारभरका लगानीकर्ताका बीचमा पुर्‍याइदिनुहोस् भन्ने आग्रह छ ।”

नेपालमा राजनीतिक स्थायित्वका बारेमा गैरआवासीय नेपालीले चिन्ता गर्ने गरेको सन्दर्भमा स्पष्ट पार्दै उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेलले भन्नुभयो , “कुनै पार्टीको बहुमत भएन भने सहकर्मीहरू खोजेर राजनीतिक स्थायित्व गर्नु पर्ने र त्यसलाई अगाडि बढाउनु पर्ने विशिष्ट अभिभारा नेपाली राजनीतिज्ञहरू र पार्टीहरूका सामुमा छ किनभने स्थायित्व विकास, समृद्धि र समाजवादको पूर्व शर्त बनेको छ ।”

कार्यक्रमका सहभागीहरूले रेमिट्यान्सले नेपालको अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्‍याएको भन्दै नेपालको अर्थतन्त्रलाई मजबुत पार्न कृषि, पर्यटन, ऊर्जा, पूर्वाधार, मानवीय संसाधन, औद्योगीकरण, सेवा क्षेत्र, सामाजिक सुरक्षा लगायतमा जोड दिनु पर्ने सुझाव दिनुभएको थियो ।

सुदूरपश्चिम प्रदेश सरकार : माग पूरा नभए विश्वासको मत नदिने उन्मुक्तिको अडान

धनगढी / सुदूरपशिचम प्रदेशमा मुख्यमन्त्री, सभामुख र उपसभामुख चयन गर्न समर्थन गरेको नागरिक उन्मुक्ति पार्टीले सरकारलाई विश्वासको मत नदिने आफ्नो अडान यथावत राखेको छ ।

टीकापुर घटनामा संलग्न रहेको आरोपमा जेलमा रहेका सो पार्टीका संरक्षक रेशम चौधरीसहित नेता कार्यकर्ता रिहाई गर्न सरकारले पटक–पटक आश्वासन दिए पनि माग पूरा नगरेको भन्दै नागरिक उन्मुक्ति पार्टीले प्रदेश सरकारलाई विश्वासको मत नदिने घोषणा गरेको हो ।

‘सत्तामा रहेका ठूला दलहरूले हामी माथि पटक–पटक जालझेल गरेको छ,’ नागरिक उन्मुक्ति पार्टीका संघीय संसद तथा प्रमुख सचेत गंगाराम चौधरीले भने, ‘अब हामी उधारो सहमतिमा विश्वास गर्न सक्दैनौं, हाम्रा माग पूरा भए मात्रै सुदूरपश्चिममा मुख्यमन्त्री बनेका राजेन्द्र रावललाई विश्वासको मत दिन सकिन्छ ।’

उनले विश्वासको मत पाउनका लागि लाल आयोगको प्रतिवेद सार्वजनिक हुनुपर्ने, टीकापुर घटनामा संलग्न रहेको भन्दै जेल चलान गरिएका लक्ष्मण चौधरीसहितका नेता कार्यकर्ताको रिहाई गरिनुपर्ने लगायत माग आफ्नो पार्टीले अघि सारेको बताए ।

‘हामीले सरकारसामु धेरै र गर्न नसकिने माग पनि राखेका छैनौं,’ उनले भने, ‘न त कुनै पद मागेका छौं, जायज र सरल माग मात्रै राखेका छौं, सजिला माग पूरा गर्न पनि अहिलेको सरकारले आनाकानी गरेपछि हामीले किन सरकारलाई सहयोग गरिरहने ?’

नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिने संकेत गरेपछि सत्तारुढ दल भने पुनः नागरिक उन्मुक्ति पार्टीलाई फकाउन लागेको छ । सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्र रावल सहतिको टोली नागरिक उन्मुक्ति पार्टीलाई सहमतिमा ल्याउन काठमाडाैँ गएका छन् । काठमाडाैँमा उनीहरूले नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीसँग प्रत्यक्ष कुरासमेत गरेको नागरिक उन्मुक्ति पार्टीले जनाएको छ ।

‘पहिलो भेटमा रेशम चौधरीले माग पूरा गर्ने वातावरण बनाउन मुख्यमन्त्री रावलसहितको टोलीलाई आग्रह गर्नु भएको छ,’  नागरिक उन्मुक्ति पार्टीका एक सांसदले भने, ‘त्यसपछि खासै कुरा भएको छैन, सायद उहाँहरु आन्तरिक सल्लाह गर्दै हुनुहुन्छ होला ।’

मुख्यमन्त्री रावलले रेशमसमक्ष मागेको मन्त्रालय दिन सकिने जनाए पनि रेशमले आफ्नो पार्टीले मन्त्रालय नलिने स्पष्ट पारेका छन् । ‘हामीले संघ प्रदेशमा कुनै मन्त्री मागेका छैनौं,’ रेशमको भनाई उद्धृत गर्दै नागरिक उन्मुक्तिका संघीय सांसदले भने, ‘हाम्रा माग पूरा गरे पुग्छ, माग पूरा हुनेवित्तिकै  विनासर्त प्रदेशमा विश्वासको मत दिन सकिन्छ ।’

पहिलो चरणमा मुख्यमन्त्री चयन र सभामुख तथा उपसभामुख चयनमा सहयोग गरेपछि नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई छुटाउने सहमति भए पनि केन्द्र सरकारले सो सहमति कार्यान्वयन नगरेको भन्दै नागरिक उन्मुक्ति पार्टीले विश्वासको मतका बारेमा पनि सोच्नुपर्ने अवस्था आएको जनाएको छ ।

प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुस मसान्त वा माघको दुई/तीन गतेसम्म रेशमलाई रिहाई गर्न आवश्यक प्रक्रियाअघि बढाउने आश्वासन दिएका भए पनि सो सहमति कार्यान्वयन गर्न नसकेको नागरिक उन्मुक्ति पार्टीको आरोप छ । पहिला संघदेखि प्रदेशमा बन्ने सरकारलाई समर्थन गरौं अनि टीकापुर घटनाको आरोपमा जेलमा रहेका रेशम चौधरी लगायत नेता कार्यकर्ता छुटाउन पहल गर्नेछौं भन्ने आश्रवासन  प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीले दिएको प्रमुख सचेतक चौधरीले बताए ।

सोहीअनुसार नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री, सभामुख र उपसभामुख चयन गर्न समर्थन गरेको उनले बताए । ‘माघ २ गतेसम्म रेशम चौधरीसहित जेलमा रहेका नेता कार्यकर्तालाई छुटाउनले आश्वासन प्रधानमन्त्रीले दिएका थिए,’संसदीय दलका प्रमुख गंगाराम चौधरीले भने, ‘तर अहिले प्रधानमन्त्रीले त्यसबारेमा कुनै चासो देखाउनु भएको छैन, हाम्रो माग पूरा नभए प्रदेशमा मुख्यमन्त्री बनेका राजेन्द्र रावललाई विश्वासको मत दिन सकिँदैन ।’

सभामुख निर्वाचनमै दुई पटक मत नहालेको उन्मुक्तिले फेरि रेशम चौधरी लगायत टीकापुर घटनाका राजबन्दी रिहाइको माग अघिसारेपछि रावललाई विश्वासको मत लिन चुनौती देखिएको हो ।
नागरिक उन्मुक्ती पार्टी सुदूरपश्चिम प्रदेशसभा संसदीय दलका नेता रामेश्वर चोधरीले प्रधानमन्त्रीले नै थारूहरूको महान पर्व माघीको अवसरमा उपहार दिनेगरी रेशमसहित राजबन्दी रिहाइको प्रक्रिया थाल्ने बताए पनि त्यो माग पुरा नभएकै कारण सभामुखलाई मतदान नगरेको बताए ।

‘पहिलो दिन हाम्रो केही प्रदेशसभा सदस्यहरूले मत हाल्नुभयो र पुगेन,’ उनले भने ‘दोश्रो पटक हामी तटस्थ बसेका थियौँ, त्यसपछि केन्द्रीय तहमा नेताहरुबीच सहमति भएपछि हामीले सभामुख र उपसभामुखमा सत्ता गठबन्धनलाई सघाएका हौँ ।’

सत्तारुढ दलहरु पनि नागरिक उन्मुक्ति पार्टीले अघि सारेका माग सम्बोधन गराउने तर्फ केन्द्रित भएका छन् । पार्टीका शीर्ष नेताहरूसँग छलफल गर्दै संघ सरकारमार्फत् माघ चाँडो सम्बोधन गराउने तर्फ प्रदेशका नेताहरु पनि केन्द्रित छन् । मुख्यमन्त्रीले विश्वासको मत लिनुअघि नै मुद्दा सम्बोधनको प्रक्रियामा लैजानुपर्नेमा उनीहरूको जोड छ ।

सुदूरपशिचम प्रदेशमा नागरिक उन्मुक्तिको साथ पाएको अवस्थामा मात्रै मुख्यमन्त्रीले विश्वासको मत पाउने अवस्था छ । प्रदेशमा नेपाली कांग्रेस र नेकपा एकिकृत समाजबादी पार्टीले मुख्यमन्त्रीलाई समर्थन गरेका छैनन् ।जसकारण नागरिक उन्मुक्तिकाे समर्थनविना मुख्यमन्त्रीले विश्वासकाे मत पाउन गाह्राे छ ।

चौथो एपिक म्युजिक अवार्डमा महानायक राजेश हमाल रु एक लाख नगद सहित सम्मानित

भक्तपुर / शनिबार साँझ मध्यपुर थिमि नगपालिकाको वडा नं.४ स्थित निगुपुख (दुई पोखरी)मा चौथो एपिक म्युजिक अवार्ड २०७९ सम्पन्न भएको छ ।

समारोहमा नेपाली चलचित्रका महानायक राजेश हमाललाई रु एक लाख नगद सहित सम्मान गरिएको छ । नेकपा एमालेका अध्यक्ष तथा पुर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अभिनेता राजेश हमाललाई नगद १ लाख १११ रुपैयाँसहित महानायकको सम्मान प्रदान गर्नुभयो ।
सो अवसरमा गायिका तीर्थकुमारी थापा र गायक रत्न बेहोसी लगायत लाई पनि सम्मान गरिएको थियो ।May be an image of 8 people and people standing

कार्यक्रममा लोकप्रिय गायक दिपक बज्राचार्यले एउटै तालमा सय भन्दा बढी धिमेको संयोजनमा बेजोड प्रतुति प्रस्तुत गर्नुभयो ।
समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले बिश्वमा सभ्यता,कला ,साहित्य र संस्कृतिको सुरुवात नेपालबाटै भएको बताउनुभयो ।उहाँले बिश्वको पुरानो रचना वेद र बिभिन्न ग्रन्थ नेपालकै हो भन्नुभयो ।

मन पराउने जनता भएकाले नेपाली कला,संस्कृति कहिल्यै नमर्ने र मर्ने पीर गर्नु नपर्ने बताउनुभयो । उहाँले सरकारले देशको मौलिक कला,संस्कृतिको संरक्षण,संबद्र्धन र प्रचारप्रसारमा बिषेश ध्यान दिनुपर्ने र दिने बताउनुभयो ।अध्यक्ष ओलीले अभिनेता हमालको प्रशंसा गर्नुभयो ।May be an image of 7 people and people standing

सम्मान कार्यक्रममा नेकपा एमालेका नेता तथा सांसद कृष्णगोपाल श्रेष्ठ, अध्यक्ष ओलीका धर्मपत्नी राधीका शाक्य, सूर्यविनायक नगरपालिकाका मेयर बासुदेव थापा, मध्यपुर थिमी नगरपालिकाका पूर्व मेयर मदनसुन्दर श्रेष्ठ, सूर्यविनायक नगरपालिकाको उपमेयर सरिता भट्टराई,चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्का, अभिनेत्रीहरु बसुन्धरा भुषाल र गौरी मल्ल, हमाल पत्नी मधु भट्टराई लगायत सहभागि हुनुहुन्थ्यो ।
कार्यक्रममा देशका ख्याती प्राप्त कलाकारहरुको बिशेष प्रस्तुति रहेको थियो ।May be an image of 16 people and people standing

जीबित सम्पदा र कला संस्कृतिलाई जोड्न पोखरी परिसरमा कार्यक्रम आयोजना गरिएको आयोजकको भनाई छ ।
समारोहको आयोजना सुर्यबिनायक नगरपालिका र मथिनपा वडा नं.४ ले गरेका हुन् ।

प्रधनमन्त्री प्रचण्डसँग स्वीजरल्याण्डकी राजदुत कापेलरको शिष्टाचार भेटवार्ता

काठमाडौँ / प्रधनमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग स्वीजरल्याण्डकी राजदुत एलिसाबेथ भोन कापेलरले शिष्टाचार भेटवार्ता गरेकी छन् ।

बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा दुई पक्षीय हित र सम्बन्ध विस्तारका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

नेपाली कांग्रेसले आज पत्रकार सम्मेलन गर्दै

काठमाडौं / नेपाली कांग्रेसले आज पत्रकार सम्मेलन गर्दैछ ।

बुधबार दिउँसो ३ बजे केन्द्रीय कार्यालय, सानेपामा पत्रकार सम्मेलन गर्न लगेको हो । पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले कांग्रेसले पछिल्लो समयमा भएका राजनीतिक घटनाक्रमबारे जानकारी लागेको कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए ।

मुख्य सचिव पौडेलका अनुसार प्रवक्ता महतले गत मंसिर ४ को निर्वाचन र अहिलेको समसामयिक विषयमा धारणा सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गरेको हो। मुख्य सचिव पौडेलले भने, ‘चुनावको बेला पार्टीको प्रचार समितिका सदस्यहरुले आ–आफ्नो क्षेत्रबाट भूमिका निर्वाह गर्नुभयो, नेपाली कांग्रेसलाई पहिलो पार्टी बनाउन सहयोग गर्नुभयो भनेर धन्यवाद दिने कार्यक्रम पनि छ ।’

निर्वाचनमा नेपाली कांग्रेस, माओवादी केन्द्रलगायतका दलहरु गठबन्धन गरेर चुनाव लडेका थिए । चुनावको परिणामपछि माओवादी केन्द्रले गठबन्धन तोडेर नेकपा एमालेको समर्थनमा सरकारको नेतृत्व गरेको छ । कांग्रेस नेतृत्वमाथि गठबन्धन जोगाउन नसकेको आरोप लाग्दै आएको छ ।