`

अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल

काठमाडौँ – सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अनुपम प्रकृति र ऐतिहासिक संस्कृतिक सम्पदाको संरक्षण र प्रवद्र्धन गरिनुपर्नेमा जोड दिनुभएको छ ।ऐतिहासिक एवं पुरातात्विक महत्वको सम्पदास्थल पाटन दरबार क्षेत्रको आज अवलोकन गर्नुहुँदै मन्त्री खरेलले परम्परागत सम्पदा, कला र संस्कृतिको धरोहर ललितपुरको सांस्कृतिक सम्पदाको संरक्षण र पर्यटन प्रवद्र्धनलाई प्राथमिकता दिइने विश्वास व्यक्त गर्नुभयो ।

सञ्चारमन्त्री खरेलले भन्नुभयो, “नेपालको ऐतिहास, परम्परागत कला र संस्कृतिको जगेर्ना गर्दै यसैको माध्यमबाट विश्वसामु नेपाल प्रवद्र्धन गरिनुपर्छ । ललितपुरको सांस्कृतिक सम्पदा र खाना संस्कृतिलाई अन्तरराष्ट्रियकरण गरिनुपर्छ ।”

सञ्चारमन्त्री खरेलले विभिन्न जातजाति, भाषा, संस्कृति र सम्पदा हाम्रो मौलिक पहिचान होभन्दै सम्पदा शहरको नाममा देश विदेशमा प्रख्यात ललितपुरको सांस्कृतिक सम्पदाको संरक्षण र प्रवद्र्धनमा सबै जुट्नुपर्ने खाँचो औंल्याउनुभयो । ललिपतुरका मुर्त र अमूर्त सम्पदा संरक्षणमा धार्मिक, संस्कृतिक, ऐतिहासिक कलानगरीको रुपमा परिचित ललितपरको समग्र विकासका लागि सङ्घ, प्रदेश र स्थानीय सरकारबीच बलियो समझदारी र सहकार्य जरुरी भएको उल्लेख गर्नुभयो ।

सञ्चारमन्त्री खरेलले विश्व सम्पदाको सूचीमा सूचीकृत ललितपुरको पाटन दरबार क्षेत्रको अवलोकन गर्नुभएको हो । साथै ऐतिहासिक कृष्णमन्दिर, पाटन दरबार सङ्ग्रहालमा पनि पुग्नुभयो ।

सञ्चारमन्त्री खरेलले सङ्ग्रहालयमा जारी ‘क्राफ्ट एन्ड कल्चरल फेस्टिभलको समेत अवलोकन गर्नुभयो । प्रदर्शनीका संयोजक आनन्दवीर बज्राचार्यका अनुसार पाँच दिने प्रदर्शनीमा परम्परागत कला संस्कृति झल्कने सामग्रीहरु प्रदर्शित गरिएको छ ।

मन्त्री खरेलले पाटन दरबार क्षेत्रको ऐतिहासिक एवम् पुरातात्विक महत्वका समपदाबारे जानकारी लिनुभएको थियो । सञ्चारमन्त्री खरेललाई पाटन दरबार संग्रहालयका कार्यकारी निर्देशक रमेशराज पौडेलले जानकारी गराउनुभएको थियो ।

मन्त्री खरेरले संग्रहालयपरिसरको सुन्दरी चोक, मूल चोक, केशवनारायण चोक, भण्डारखाल परिसरलगायतको अवलोकन गर्नुभयो । काठमाडौँ उपत्यकाका प्रसिद्ध तीन शहरहरुमध्ये पाटन सबैभन्दा पुरानो शहर मानिन्छ । प्राचीनकालमा यसलाई युगग्राम, यल, मिनङ्ल, ललितपतन, ललितापुरी आदि नामले पुकारिन्थ्यो । पाटन शहर बरदेवलेल स्थापना गराएका हुन् । प्राचीन पाटनको बीचमा रहेको पाटन दरबार क्षेत्र एक प्राचीन स्मारकको धरोहरका रुपमा रहेको छ ।

विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन

ललितपुर – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले नेपालले दिगो आर्थिक समृद्धि हासिल गर्न विज्ञान तथा वैज्ञानिक अनुसन्धानलाई प्रत्यक्ष रूपमा अर्थतन्त्रसँग जोड्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट) द्वारा आज यहाँ आयोजित ४३औँ वार्षिकोत्सव विशेष पुरस्कार वितरण समारोहमा उहाँले विज्ञान र प्रविधिका क्षेत्रमा पर्याप्त लगानी नहुनु, अर्थतन्त्रबाट अलग हुनुलगायत कारणले यो क्षेत्र कमजोरी बनेको बताउनुभयो । विज्ञान र प्रविधि पछाडि परेसँगै अर्थतन्त्र कमजोर बन्दा नेपाली समाज पिछडिएको उहाँले धारणा राख्नुभयो ।

मन्त्री पुनका अनुसार वैज्ञानिक सोच र प्रविधि विकासको गति सुस्त हुनुको कारण विगतदेखि वर्तमानसम्मका संरचनागत समस्याको परिणाम हो । उहाँले भन्नुभयो, “आर्थिक अभावका कारण नेपालीले दुःख भोगिरहेका छन् । पहिलोदेखि तेस्रो औद्योगिक क्रान्तिसम्म हामी पछि पर्नुको कारण विज्ञान र प्रविधिप्रति बेवास्ता हो ।” उहाँले विज्ञान तथा प्रविधिसँग सम्बन्धित शैक्षिक तथा अनुसन्धानमूलक काम गर्ने संस्थालाई राजनीतिक प्रभावबाट मुक्त राख्नुपर्नेमा जोड दिनुभयो ।

मन्त्री पुनले सीमित स्रोतसाधनमा पनि नास्टले प्रभावकारी नतिजा दिनसक्ने विश्वास व्यक्त गर्नुभयो । “विज्ञानको प्रभावकारी प्रयोग गर्दै अनुसन्धानलाई व्यावहारिक रूपान्तरण गर्नुपर्छ”,उहाँले भन्नुभयो, “अनुसन्धान र आविष्कारका क्षेत्रमा कञ्जुस्याइँ नगरी सरकारले योजनाबद्ध विकासमा जोड दिनुपर्छ ।”

आफूलाई जिम्मेवारी आएमा कम्तीमा रु तीन अर्ब बजेट अनुसन्धान तथा नवप्रवर्तन क्षेत्रमा विनियोजन गर्ने योजना मन्त्री पुनले सार्वजनिक गर्नुभयो । नेपालमा व्यक्तिगतस्तरमा नवप्रवर्तन केन्द्र सञ्चालन गर्ने परम्परा न्यून रहेकामा चिन्ता व्यक्त गर्दै नास्टले गरिरहेको प्रयास प्रशंसनीय रहेको उहाँले बताउनुभयो ।

कार्यक्रममा नास्टले विभिन्न अनुसन्धानमूलक क्षेत्रमा उल्लेखनीय योगदान पु¥याएका १३ जना वैज्ञानिकलाई पुरस्कार तथा सम्मान प्रदान गरेको छ । साथै नास्टले आजीवन विज्ञान तथा प्रविधि अनुसन्धानमा समर्पित पाँच जना वरिष्ठ वैज्ञानिकलाई कदरपत्रसमेत हस्तान्तरण गरेको छ ।

नेपालले आँखा उपचारमा गुणस्तरीय सेवा दिँदै आएको छः पूर्वराष्ट्रपति यादव

वीरगञ्ज (पर्सा) – पूर्वराष्ट्रपति डा रामवरण यादवले नेपालले आँखा उपचारमा गुणस्तरीय सेवा दिँदै आएको बताउनुभएको छ । वीरगञ्ज दृष्टि आँखा, नाक, कान र घाँटी अस्पतालको नवनिर्मित भवनको आज यहाँ उद्घाटन गर्दै उहाँले भारतको उत्तरीराज्यभन्दा नेपालको आँखा उपचार विशिष्टकृत र अब्बल रहेको बताउनुभयो ।

“पञ्चायतकालपछि नेपालले आँखा उपचारमा गुणस्तरीर र प्रभावकारी सेवा दिँदै आएरहेको छ”, प्रथम राष्ट्रपति यादवले भन्नुभयो, “भारतको विहार, उत्तरप्रदेश, बङ्गाललगायत राज्यका बिरामी पनि गुणस्तरीय आँखाको उपचार गर्नका लागि यहाँ आउने उदाहरणले पनि यहाँको सेवा विकासबारे प्रस्टाउँछ । यी हाम्रा लागि सकारात्मक उपलब्धि हुन् ।”

उहाँले चिकित्सक, नर्स र स्वास्थ्यकर्मीले बिरामीलाई गुणस्तरीय सेवा प्रवाह गरिरहेकाले यसलाई थप सुधार गर्दै लैजानुपर्ने आवश्यकता औँल्याउनुभयो । “चिकित्सक र स्वास्थ्यकर्मीसँग ठूलो अपेक्षा राखेर बिरामी उपचार गर्न आएका हुन्छन् । त्यसैले पनि यो पेसामा संलग्न हुनेले स्तरीय सेवा दिन पछि हट्नुहुँदैन ।”

प्रथम राष्ट्रपति यादवले चिकित्सक पेसा पैसा कमाउनेभन्दा पनि मानवीय सेवाबाट प्रभावित हुनुपर्ने धारणा व्यक्त गर्नुभयो । “चिकित्सा पवित्र पेसा हो, यसमा मानिसले पूर्ण विश्वास गरेका हुन्छन्”, उहाँले भन्नुभयो, “पैसा कमाउने अन्य पेसा पनि भएकाले यसलाई बद्नाम नगरी मानव र समाज सेवामा केन्द्रित हुनुपर्छ ।”

अस्पतालका कार्यकारी निर्देशक भाइराजा श्रेष्ठले अस्पतालले नवनिर्मित अत्याधुनिक भवनबाट आँखा, नाक, कान, घाँटीलगायत उपचार सेवा दिँदै आएको जानकारी दिनुभयो । “विगत एक दशकमा यहाँबाट १३ लाखभन्दा बढी बिरामीको उपचार भइसकेको छ । जसमा आँखाको मात्रै शैल्याक्रिया एक लाखभन्दा बढी बिरामीको गरेका छौँ”, उहाँले भन्नुभयो । आगामी दिनमा सेवा विस्तारसँगै थप गुणस्तरीय सेवा प्रवाहमा जोड दिने उहाँको योजना छ ।

अस्पतालका मेडिकल निर्देशक हरि शर्माले पैसाको अभावमा कोही पनि बिरामी दृष्टिविहीन हुन नपरोस् भन्ने भावनाले उपचार गराउँदै आइरहेको बताउनुभयो । आँखासम्बन्धी विशेषज्ञ चिकित्सक राधाकृष्ण कोइराला र वीरसिंह थापालाई सोही अवसरमा सम्मानित गरिएको थियो । अस्पतालका अध्यक्ष विश्वराज गौतमले अस्पतालले आगामी दिनमा बिरामीका लागि अत्याधुनिक सेवा प्रवाह गर्दै जाने प्रतिबद्धता जनाउनुभयो ।

कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु

सिरहा – १४ वर्षदेखि अधुरो निर्माणाधीन हुलाकी सडकअन्तर्गत सिरहा र धनुषालाई जोड्ने कमला पुल निर्माणका लागि स्थानीयले चन्दा उठाउने अभियान सुरु गरेका छन् ।

आज कमला पुलमा उपस्थित भई अभियानका अगुवाहरूले अभियान औपचारिक रूपमा सुरुआत गरेका सामाजिक अभियन्ता तथा पत्रकार रामरिझन यादवले जानकारी दिनुभयो । “यहाँ १४ वर्षअघि काम सुरु भए पनि पटकपटक म्याद थपिँदै आएको छ । विसं २०७८ असार १७ मा बाढीले पुलका दुई पिलर भासिएपछि थप समस्या भएको छ । पुल नबन्दा मधेशका लाखौँ नागरिकको यात्रा, स्वास्थ्य सेवा, शिक्षा र आर्थिक गतिविधिमा गम्भीर असर पारेको छ”, उहाँले भन्नुभयो ।

अभियन्ता यादवले सरकारले १४ वर्षमा पनि पुल बनाउन नसकेपछि अब जनता आफैँले पुल बनाउनुपर्ने अवस्था आएको भन्दै प्रतिकात्मक आन्दोलन सुरु गरिएको बताउनुभयो । पटक–पटक सरकारको ढोका ढक्ढकाउँदा पनि काम नभएपछि केही दिनअघि पुल निरीक्षणका लागि आएका भौतिक पूर्वाधारमन्त्री कुलमान घिसिङलाई जानकारी गराएरै अभियान सुरु गरिएको उहाँको भनाइ छ ।

मन्त्री घिसिङले प्राथमिकतामा राखेर जसरी पनि पुल बनाइने प्रतिबद्धता व्यक्त गरे पनि ढुक्क हुने अवस्था नरहेको अभियन्ताहरूको भनाइ छ । त्यसैले कमला पुल निर्माणमा करिब रु दुई अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएकाले धनुषा, सिरहा र सप्तरीका बासिन्दाबाट चन्दा सङ्कलन गरेर सरकारलाई सहयोग गर्ने योजना रहेको बताइएको छ ।

यस अभियानका लागि प्रतिपरिवार रु १० हजारका दरले चन्दा सङ्कलन, विष्णु महायज्ञ र अभियानलाई प्रशासनमा दर्ता गराएर आउने अनुदान रकम सरकारकै कोषमा जम्मा गर्न लगाउने बताइएको छ ।

महिला भलिबलः एपिएफ फाइनलमा प्रवेश

झापा – यहाँ जारी राष्ट्रियस्तरकको महिला भलिबल प्रतियोगितामा सशस्त्र प्रहरीको एपिएफ क्लब विजयी भएसँगै फाइनलमा प्रवेश गरेको छ ।

अर्जुनधारामा जारी प्रतियोगिताको अन्तिम सेमिफाइनल खेलमा आज न्यु डायमन्ड क्लबलाई ३–१ को सेटमा पराजित गर्दै एपिएफ फाइनल पुगेको हो । प्रतिस्पर्धात्मक खेलमा एपिएफले पहिलो, दोस्रो र चौथो सेटमा न्यू डायमन्डलाई पराजित गरेको हो ।

एपिएफले २५–२२, २५–१६ र २५–१२ को सेटमा न्यू डायमन्डलाई स्तब्ध पारेको थियो । न्यू डायमन्डले तेस्रो सेटमा एपिएफलाई २५–२२ ले हराएको थियो । खेलको ‘प्लेयर अफ द म्याच’ एपिएफकी जमुना सेन्च्युरी भइन् । उनलाई रू नगद पाँच हजार र ट्रफी प्रदान गरिएको छ ।

आजको जितसँगै एपिएफले आइतबार हुने फाइनल खेलमा नेपाल पुलिस क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।

प्रतियोगिता विजेताले रु दुई लाख, दोस्रोले रु एक लाख र तेस्रो हुनेले समान रु ३० हजार पुरस्कार पाउने आयोजक नगर खेलकुद विकास समितिका अध्यक्ष सुरेन्द्र धिमालले बताउनुभयो ।

मध्य म्यानमारमा भएको हवाई आक्रमणमा १८ जनाको मृत्यु

मध्य म्यानमारको एक सहरमा शनिबार भएको हवाई आक्रमणमा कम्तीमा अठार जनाको मृत्यु भएको एएफपीसँग कुरा गर्दै स्थानीय सरकारी अधिकारी र उद्धारकर्ताले बताएका छन्। घटनाको स्थानीय बासिन्दाले पनि पुष्टि गरेका छन् ।

सन् २०२१ मा सेनाले सैन्य ‘कु’ मार्फत् सत्ता कब्जा गरेदेखि म्यानमार गृहयुद्धले थिलथिलो भएको छ र यसको अनेकौँ ‘कु’ विरोधी लडाकुहरूसँगको लडाँइका क्रममा बारम्बार हवाई हमला भइरहेका छन् । सरकारी सेनाले गरेका यस्ता आक्रमणमा प्रायः सर्वसाधारणको मृत्यु हुने गरेको छ ।

एक स्थानीय प्रशासनिक अधिकारीका अनुसार शुक्रबार साँझ सागाइङ क्षेत्रको तबाइन नगरमा दुईवटा बम खसालिएका थियो, जसमध्ये एउटा भीडभाड भएको चिया पसलमा लागेको थियो ।

उहाँले एएफपीसँग भन्नुभयो, “आक्रमणमा १८ जनाको मृत्यु भएको र २० जना घाइते भएका छन् ।”

“चिया पसलमा भीडभाड भएको समयमा आक्रमण भएकाले त्यहाँ धेरैको मृत्यु भयो,” उहाँले भन्नुभयो । एएफपीसँग सूचनाका लागि बोलेका सबै स्रोतहरूले आफ्नो सुरक्षाका लागि नाम नखुलाउन अनुरोध गरेका छन् ।

आक्रमण भएको १५ मिनेटपछि घटनास्थलमा पुगेका एक उद्धारकर्ताले भने, “आक्रमणका कारण सात जनाको घटनास्थलमै र अन्य ११ जनाको पछि अस्पतालमा मृत्यु भएको थियो ।”

उनले भने, “म्यानमारमा चिया पसललाई एक परम्परागत सामाजिक केन्द्रका रूपमा भेला हुने थलो र चिया पिउने स्थानका रूपमा लिइन्छ । आक्रमणबाट चिया पसल र नजिकैका करिब एक दर्जन घरहरूमा क्षति पुगेको छ।”

हवाई आक्रमण समय घटनास्थलमा नै रहेका तर बाँच्न सफल एक व्यक्तिले बम विस्फोट हुँदा उनी चिया पसलमा टेलिभिजनमा बक्सिङ खेल हेरिरहेका थिए।

“मैले हवाईजहाज माथिबाट उडेको सुनेँको लगत्तै म भुइँमा लडेँ,” उनले भने । “विस्फोटको आवाज कान नै बहिरो पार्ने खालको निकै चर्को थियो,तर मलाई थाहा छैन म कसरी बाँच्न सफल भएँ,” उनले भने ।

उनले भने, “मैले मेरो टाउकोमाथि ठूलो आगोको लप्को देखेँ । तुरून्तै ठूलो आवाजसहित विस्फोट भयो । म होसमा आउँदा वरपर धेरै रगत देखिन्थ्यो । मैले धेरै मानिसहरूको मृत्यु भएको जानकारी पाएँ । म भने भाग्यमानी थिएँ, म त्यसपछि घर फर्किएँ।”

म्यान्मामा सेनाप्रति बफादार जुन्टा सरकारका एक प्रवक्तासँग यस बिषयमा कुरा गर्ने एएफपीको प्रयास सफल हुन नसकेको एएफपीका संवाददाताले जानकारी दिएका छन् ।

स्थानीय एक बासिन्दाले भने, “विनाशकारी भूकम्प गएपछि घोषणा गरिएको कथित युद्धविरामका बाबजुद मे महिनामा सागाइङमा भएको जुन्टाको हवाई हमलामा मारिएकाहरूको शनिबार अन्त्येष्टि गरिएको छ। यसमा केही पीडितहरूको अनुहार छेदविच्छेद् अवस्थामा देखिन्थ्यो ।

“मलाई धेरै दुःख लागेको छ किनभने म तिनीहरूमध्ये केहीलाई राम्ररी चिन्थें,” उनले भने ।

म्यानमारमा विनाशकारी भूकम्प गएपछि कथित युद्धविरामको घोषणा गरिएपनि मे महिनामा सागाइङमा भएको सैन्य शासकको हवाई हमलामा २० बालबालिकासहित २२ जनाको मृत्यु भएको थियो ।

शान्ति पुरस्कार विजेता भेनेजुएलाकी विपक्षी नेतृ माचाडो सम्मानका लागि ओस्लोमा नै उपलब्ध हुने

आफ्नै देशमा लुकेर बसेको बताउँदै आउनुभएकी भेनेजुएलाकी विपक्षी नेतृ मारिया कोरिना माचाडोले आफ्नो नोबेल शान्ति पुरस्कार ग्रहण गर्न ओस्लो यात्रा गर्ने पुष्टि गर्नुभएको नोबेल इन्स्टिच्युटका प्रमुखले शनिबार एएफपीसँग बताउनुभएको छ ।

“मैले शुक्रबार (हिजो राति) नोबेल शान्ति पुरस्कार विजेता माचाडोसँग सम्पर्क गरेको थिएँ र उहाँले समारोहका लागि ओस्लोमा उपलब्ध हुने बताउनुभएको छ,” नोबेल इन्स्टिच्युटका प्रमुख क्रिस्टियन बर्ग हार्पविकेनले भन्नुभयो ।

“सुरक्षा अवस्थालाई ध्यानमा राख्दै, हामी उहाँ आउने मिति र अवस्था बारेमा थप केही भन्न सक्दैनौँ,” उहाँले थप्नुभयो ।

भेनेजुएलाका महान्यायाधिवक्ता तारेक विलियम साबले गत महिना एएफपीलाई बताएअनुसार, म्याचडोले अक्टोबर १० मा प्रदान गरिएको शान्ति पुरस्कार स्वीकार गर्न नर्वेको यात्रा गरेमा उहाँलाई ‘फरार अभियुक्त’ का रूपमा हेरिनेछ ।नोबेल शान्ति पुरस्कार प्रदान गर्ने औपचारिक समारोह बुधबार ओस्लोमा हुनेछ ।

सन् २०२४ जुलाईमा राष्ट्रपति निकोलस मादुरोको हालैको पुनः निर्वाचनपछि भएको विरोध प्रदर्शनका क्रममा करिब दुई हजार ४०० जना पक्राउ परेसँगै भेनेजुएलामा विपक्षी गतिविधि मौन बनेको छ ।

मादुरोले चुनावी अभिमत चोरी गरेको आरोप माचाडोले लगाउनुभएको छ । यो दाबीलाई अन्तर्राष्ट्रिय समुदायको ठूलो हिस्साले समर्थन गरेको छ ।

सन् २०२४ अगस्टदेखि लुकेर बसेकी माचाडो भेनेजुएलामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी समर्थक मानिनुहुन्छ भने उहाँ मादुरोले लागूऔषध कारोबारी समूह (ड्रग कार्टेल) को नेतृत्व गरेको वाशिङ्टनको मूल्याङ्कनसँग सहमत हुनुहुन्छ ।

नोबेल शान्ति पुरस्कार विजेता माचाडोले यस क्षेत्रमा बढाइएको अमेरिकी सैन्य उपस्थितिलाई ‘लागूऔषध बोकेका डुङ्गा’मा हस्तक्षेपका लागि आवश्यक रहेको भन्दै स्वागत गर्नुभएको छ ।

चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते

मलेखु (धादिङ) – पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुनिबेँसी नगरपालिका–६ चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते भएका छन् ।

सात वटा सवारीसाधन आपसमा ठोक्किँएर भएको दुर्घटनामा चार वटा सवारीसाधनका ३५ जना घाइते भएका हुन् । दुर्घटनामा परेका सबैको स्थानीय अस्पताल र काठमाडौँका विभिन्न अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले जानकारी दिनुभयो ।

काठमाडौँबाट गजुरी जाँदै गरेको बा प्र००१ क ००११ नम्बरको स्कुल बस, एनएल ०१ बिए ४६५४ नम्बरको गाडी (डिब्बा), ना ४ ख ७१५ नम्बरको ट्रक, लु ९५ प ३०७ नम्बरको मोटरसाइकल, जिजे ०३ ए के ३२३१ नम्बरको बस र काठमाडौँ जाँदै गरेको ग १ ख ८५५१ नम्बरको बस, बा १ प ९१७ नम्बरको पर्यटक बस दूर्घटनामा परेको थिए ।

घाइते हुनेमा अधिकांश स्कुल बसमा सवार विद्यार्थी रहेका छन् । चितवनको स्कुल बसमा सवार २५ जना, गोरखाबाट काठमाडौँतर्फ जाँदै गरेको बसमा सवार आठ जना, मोटरसाइकलमा सवार एक जना र डिब्बा गाडीमा सवार एक जना घाइते भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ

काठमाडौँ – सरकारले काठमाडौँ उपत्यकाभित्र रहेका नदी सफा गर्न आवश्यक काम गरिरहेको बताउनुभएको छ । त्यस क्रममा बागमती, विष्णुमती, धोबीखोला, टुकुचा र गुह्येश्वरीलगायत काठमाडौँ उपत्यकाका नदीहरुलाई सफा गर्न फोहर पानी प्रशोधन प्लान्ट बनाउने काम भइरहेको उहाँले जानकारी दिनुभयो ।

आज थापाथलिस्थित बागमती करिडोरमा निर्माणाधीन फोहर पानी प्रशोधन ‘प्लान्ट’को निरीक्षण गर्दै मन्त्री घिसिङले एसियाली विकास बैंक (एडिबी) को सहयोगमा काम सुरु भए पनि नदी वरिपरिका रुख कटानी र त्यस क्षेत्रको ठाउँ तयार गर्न समय लागेको बताउनुभयो । उहाँले बागमती नदी सफा गर्न गुह्येश्वरीमा ‘प्लान्ट’ बनेको र अन्य केही ठाउँमा पनि बन्ने क्रममा रहेको उल्लेख गर्नुभयो ।

काठमाडौँ उपत्यकाभित्रका केही नदी ललितपुर महानगरपालिकाभित्र भएको र त्यस ठाउँमा ‘प्लान्ट’ बनाउने क्रममा स्थानीयको विरोधका कारण पनि ढिलाइ भएको मन्त्री घिसिङको भनाइ थियो । उहाँका अनुसार ‘वाटर ट्रिटमेण्ट प्लान्ट’ले टुकुचाको सम्पूर्ण ढल प्रक्रियालाई सफा गर्दै पानीलाई बागमती नदीमा पु¥याउने योजना सुनाउनुभयो ।

मन्त्री घिसिङले भन्नुभयो, “यता काठमाडौँपट्टि बनिरहेको संरचना अब छिट्टै सम्पन्न हुने देखिन्छ, तर उता ललितपुरतिरको भागमा काम रोकिँदा समग्र परियोजनामा केही ढिलाइ हुने भएको छ । यसलाई जसरी पनि व्यवस्थापन गर्ने विषयमा छलफल भइरहेको छ ।”

काठमाडौँ उपत्यकाका सबै नदी सफा गर्नका लागि प्रतिदिन छ सय ‘एमएलडीको प्लान्ट’ आवश्यक पर्ने भए पनि हाल उपत्यकामा निर्माणधीन ‘प्लान्ट’ त्यसको २० प्रतिशत मात्रै भएको उहाँले उल्लेख गर्नुभयो । हाल एडिबीको रु तीन अर्ब १८ करोड लगानीमा ‘प्लान्ट’ निर्माणको काम भइरहेको पनि मन्त्री घिसिङले जानकारी दिनुभयो ।

प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन

काठमाडौँ – प्रधानमन्त्री सुशीला कार्कीले बर्दियामा नागरिकता नपाउँदा एक युवतीले ज्यान गुमाएको घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन दिनुभएको छ ।

प्रधानमन्त्री कार्कीले आज सामाजिक सञ्जाल (फेसबुक)मार्फत उहाँले घटनाको वास्तविकता छानबिन गर्न गृहमन्त्रीलाई निर्देशन दिएका जानकारी गराउनुभएको हो ।
प्रधानमन्त्री कार्कीले बर्दियाको बढैयाताल–४, दक्षिण भकारी गाउँकी एक युवतीले नागरिकताका लागि सङ्घर्ष गर्दागर्दै मृत्युको बाटो रोजेको र त्यसको एक महिनामै उहाँका ६१ वर्षीय बाबुले समेत ज्यान गुमाएको घटनाले मर्माहित बनाएको जनाउनुभएको छ ।

उहाँले भन्नुभएको छ, “उहाँहरूको यो निर्णय हाम्रो समाज र राज्यका लागि ग्लानिको विषय हो, न्यायिक–प्रशासनिक झमेलाका कारण यो अवस्था निम्तिएको हो भने देशको प्रधानमन्त्रीका रूपमा म माफी चाहन्छु । यस घटनाको गहिराइमा पुगेर अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन दिएकी छु ।”

नागरिकतालगायत लैङ्गिक आधारमा हुने कुनै पनि प्रकारको विभेद् र हिंसा सह्य नहुने उल्लेख गर्दै प्रधानमन्त्री कार्कीले न्यायको मार्गमा सबै पक्षले सहजीकरण गर्न अपिलसमेत गर्नुभएको छ ।

कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह

घोडाघोडी (कैलाली) – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले मुक्तकमलरीसम्बन्धी कार्यविधिमा छुटेका विषय संशोधन गरेर समेटिने बताउनुभएको छ ।

जिल्लाको घोडाघोडी नगरपालिका–२, साँडेपानीमा आज मुक्त कमलरी विकास मञ्च कैलालीको १५औँ साधारणसभा तथा छैटौँ अधिवेशनमा उहाँले बृहत् छलफलपछि मुक्तकमैया, हलिया तथा कमलरी पुनःस्थापना कार्यविधि–२०८० जारी गरिए पनि छुटेका विषयलाई सम्बोधन गरिने बताउनुभएको हो ।

मुख्यमन्त्री शाहले सरोकार भएका पक्षका सुझाव समेटेर तुरुन्तै कार्यविधिमा आवश्यक संशोधन प्रक्रिया अघि बढाइने प्रतिबद्धता व्यक्त गर्नुभयो । वास्तविक मुक्तकमलरीले अनिवार्य रूपमा परिचयपत्र प्राप्त गर्नुपर्नेमा पनि उहाँले जोड दिनुभयो ।

“अझै धेरै मुक्तकमलरीले परिचयपत्र नपाएको, सरकारी तालिम तथा अवसरबाट वञ्चित रहेको गुनासो आइरहेका छन् । मुक्तकमलरीको सहज जीवनयापनका लागि प्रदेश सरकारले नीति नियममा सुधारलगायत आफ्नोतर्फबाट काम गरिरहेको छ”, मुख्यमन्त्री शाहले भन्नुभयो, “सीपमूलक कार्यक्रमका लागि बजेट छुट्याएको छ, लक्षित समूहको आवश्यकताअनुसारका कार्यक्रम अगाडि बढाउन हामी तयार छौँ । छलफल गरेर काम गरौँ ।”

कार्यक्रममा विभिन्न मागसहित मुख्यमन्त्री कमलबहादुर शाहलाई ज्ञापनपत्र बुझाइएको थियो । ज्ञापनपत्र बुझाउदै मञ्चका अध्यक्ष विन्द्रा चौधरीले मुक्तकमलरीको समस्या समाधानमा प्रदेश सरकार गम्भीर हुनुपर्ने बताउनुभयो । उहाँले मुक्तकमलरीलाई निःशुल्क गुणस्तरीय शिक्षा, स्वास्थ्य, रोजगारी, सुरक्षित आवासलगायतको माग गरिएको बताउनुभयो ।

मञ्चका केन्द्रीय अध्यक्ष हिरामती चौधरीले देशभर १२ हजार ८६९ जना मुक्तकमलरी रहेकामा सात हजार ५०० ले मात्र परिचयपत्र पाएको जानकारी गराउनुभयो । मुक्त घोषणा गरिए पनि समस्या समाधानमा सरकार उदासिन देखिएको भन्दै उहाँले मुक्तकमलरीको गास, बास, रोजगारी, पहिचानलगायत समस्या समाधानका लागि आग्रह गर्नुभयो ।

कार्यक्रममा भजनी नगरपालिका नगर केवल चौधरी, घोडाघोडी नगरपालिका प्रमुख खडकबहादुर रावत, मुक्तकमलरी विकास मञ्च, बर्दियाका विष्णु चौधरी, प्राकृतिक स्रोत व्यवस्थापन सञ्जालका बल्लु चौधरीलगायतले मन्तव्य राख्नुभएको थियो ।

पोखरालाई गुल्जार बनाउने ‘पोखरा सडक महोत्सव’

पोखरा – तीन दशकअघि मङ्सिर-पुस महिनामा पोखराको लेकसाइड सुनसान हुन्थ्यो । नेपाल घुम्न आएका विदेशी पर्यटक क्रिसमस मनाउन स्वदेश फर्कने तयारीमा हुन्थे भने नेपालीमा खासै घुम्ने बानीको विकास भइसकेको थिएन ।

जाडोको मौसम व्यवसायीले ‘अफ सिजन’ भन्दै अन्त घुम्न जाने सोच बनाउँथे । कोही गोवा पुग्थे त कोही थाइल्याण्ड, तर अचेल समय बदलिएको छ । उही जाडो मौसम हो, तर अचेल यहाँको अवस्था भने नितान्त फरक छ । पर्यटन व्यवसायीलाई पात्रोमा अङ्ग्रेजी नयाँ वर्ष थपिँदा उत्साह पनि थपिन्छ । त्यसमा पोखरा सडक महोत्सवले रौनक थप्छ । यस वर्ष उक्त महोसत्वको २७ औँ संस्करण हुँदैछ । आगामी २०८२ पुस १३ देखि १७ गतेसम्म (डिसेम्बर २८–जनवरी १) आयोजना हुने महोत्सवको तयारीमा रेष्टुरेण्ट एण्ड बार एसोसियसन नेपाल (रेवान) जुटीसकेको छ । विगतमा झै यस संस्करणको सडक महोत्सवले पनि पोखरालाई ‘गुल्जार’ बनाउँदै छ ।

आयोजकले महोत्सवलाई सभ्य, भव्य र व्यवस्थित बनाउन सरोकार भएकाहरूसँगको परामर्शलाई तीव्र बनाएका छन् । २७ वर्षअघि यस्तो महोत्सवको परिकल्पना गर्ने अग्रज पर्यटन व्यवसायी गणेशबहादुर भट्टराई भने आफ्नो पहलको निरन्तरताले मख्ख हुनुहुन्छ । उहाँ भन्नुहुन्छ, “तीन दशकअघिसम्म जब डिसेम्बर लाग्थ्यो, विदेशीहरू क्रिसमस मनाउन घर फर्कन्थे र पोखराको लेकसाइड सुनसान हुन्थ्यो । त्यो समयमा ‘अफ सिजन’ भन्दै सटर तानेर हामी व्यवसायी पनि भारतको गोवा वा थाइल्याण्ड जाने प्रचलन थियो ।”

भट्टराई मनस्पटलमा अझै एउटा घटना ताजै छ । “सन् १९९६ मा तत्कालीन राजा वीरेन्द्रले जाडोको समय लेकसाइडको सुनसानप्रति देखाएको चासो र गोवामा देखेको त्यो ‘फुड एण्ड कल्चर’ को महोत्सवले मेरो धारणा बदल्यो । जसको फलस्वरूप हामीले सन् १९९८ मा बसुन्धरा पार्कबाट वेटर रेस र हस्तकला प्रदर्शनीसहित एउटा प्रयासको थालनी ग¥यौंँ । त्यो प्रयास २७औँ संस्करणमा आइपुग्दा पोखराको ‘ब्रान्ड’ बनेको छ ।”

उहाँ सडक महोत्सवले विदेश जाने पर्यटकलाई पोखरामै रोकेर नयाँ वर्ष मनाउने वातावरण बनाएको र विदेशीसँगै नेपालीमा पनि घुम्ने बानीको विकास गराएको बताउनुहुन्छ । परिवर्तित समयसँगै महोत्सवलाई केवल नाचगान र खानपानमा सीमित नराखी जाति, धर्म संस्कृतिबीचको सहिष्णुता र सद्भावलाई विकास गर्दै कृषि, हस्तकला, प्रविधि र मौलिक उत्पादनलाई महोत्सवसँग जोडेर बृहत ‘एक्स्पो’ का रूपमा रूपान्तरण गर्नुपर्ने भट्टराईको धारणा छ ।

“महोत्सव भनेपछि मनोरञ्जन भन्ने कुरा ठान्ने गरिन्छ, तर हामीले विगतदेखि नै यसलाई बदल्ने प्रयास गरिरहेका छौँ । स्थानीय उत्पादनदेखि विदेश निर्यात गर्ने सामग्रीलाई महोत्सवबाट प्रवर्द्धन गर्न सकिने र यसले समग्र राष्ट्रिय अर्थतन्त्रलाई नै चलायमान बनाउने हाम्रो विश्वास छ”, उहाँले भन्नुभयो, “सडक महोत्सव केवल रमाइलो मेला मात्र होइन, यो पोखराका पर्यटन व्यवसायीको सामूहिक एकता, दूरदर्शीता र अथक प्रयासको जीवित इतिहास हो ।”

रेवान पोखराका अध्यक्ष विश्वराज पौडेल पर्यटनमा सङ्कट आउने अवस्थामा यस महोत्सवले ‘सञ्जीवनी’ को काम गरेको बताउनुहुन्छ । “सशस्त्र द्वन्द्व, भूकम्प, कोरोना महामारी र पछिल्लो समयको जेनजी आन्दोलन होस् वा आर्थिक मन्दी, हामीले हरेक विषम परिस्थितिमा पनि महोत्सव रोकेनौँ । यसले ‘पोखरा सुरक्षित छ र बाह्रैमहिना खुला छ’ भन्ने सन्देश विश्वभर प्रवाह गर्न सफल भयौँ । यसपटक पनि दिगो पर्यटनको परिकल्पनासहित तीन दशमलव पाँच किलोमिटर सडकलाई उत्सवमय बनाउँदै छौँ”, उहाँले भन्नुभयो ।

महोत्सवका संयोजक तथा रेवानका प्रथम उपाध्यक्ष वसन्त गौतमले पोखरालाई एउटा खुला सङ्ग्रहालयको रूपमा प्रस्तुत गर्ने प्रयासलाई थप प्रभावकारी बनाउन तयारी भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो,“फिस्टेल गेटदेखि जरेवरसम्मको सडकमा सवारी निषेध गरी सडकमै राष्ट्रिय तथा अन्तरराष्ट्रिय परिकारको स्वाद लिन पाइनेछ । सडकमा देखाइने लोपोन्मुख सांस्कृतिक झाँकी र मौलिक नाचले पर्यटकलाई नेपालका विभिन्न संस्कृति बुझ्ने अवसर मिल्नेछ । महोत्सवलाई अङ्ग्रेजी नयाँ वर्ष गन्तव्यको रूपमा स्थापित गर्न सक्दो प्रयास गरिरहेका छौँ ।”

रेवान महासचिव वीरेन्द्र शेरचन महोत्सव केवल रमाइलोका लागि मात्र नभइ ग्रामीण अर्थतन्त्र उकास्ने माध्यम पनि बनेको बताउनुहुन्छ । “गाउँमा उत्पादन हुने कृषिउपज, सुन्तला र हस्तकलाका सामग्रीले महोत्सवमा बजार पाउँछन् । पर्यटन चलायमान भए देशकै अर्थतन्त्र चलायमान हुन्छ ।”

शेरचनका अनुसार महोत्सवमा नेपालका विभिन्न जातजातिका लोपोन्मुख झाँकी, वेषभूषा र नृत्य, चर्चित राष्ट्रिय कलाकारहरूको लाइभ कन्सर्ट, लोक दोहोरी, बोट रेस, वेटर रेस, टग अफ वार र पर्यटक लक्षित खेल र पोखराको पर्यटनका अवसर र चुनौतीबारे विज्ञहरूसँग विमर्श र वृत्तचित्र प्रदर्शनी हुनेछन् ।

एनपिएलः रोसिङटनको अर्धशतकमा पोखरा आठ विकेटले विजयी

काठमाडौँ, २० मङ्सिरः नेपाल प्रिमियर लिग (एनपिएल)को आजको खेलमा पोखरा एभेन्जर्सले एडम रोसिङटनको अर्धशतकको सहयोगमा चितवन राइनोजलाई आठ विकेटले पराजित गरेको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट मैदानमा एक सय २१ रनको सामान्य लक्ष्य पोखराले १९ दशमलव ४ ओभरमा दुई विकेट गमाउँदै पूरा ग¥यो ।

पोखराको जीतमा रोसिङटनले ४८ बल खेल्ने क्रममा पाँच छक्का र चार चौकाको सहयोगमा ६५ रन बनाए । प्रतियोगितामा पहिलो पटक अवसर पाएका अर्जुन कुमालले अविजित ४३ रन जोडे । उनले ५३ बल खेल्दै एक छक्का र दुई चौका प्रहार गरे ।

पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १२० रन मात्रै बनाउन सक्यो । चितवनका लागि देव खनालले सर्वाधिक ३५ र अल्पेश रामजानीले अविजित ३३ रन बनाए । पोखराका धनन्जय लक्षनले ३ विकेट लिए ।

लिग चरणको अन्तिम खेल आइतबार दिउँसो ३ः३० बजे जनकपुर बोल्ट्स र कर्णाली याक्सबीच हुनेछ ।

दलहरूबीच अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छ – सभामुख घिमिरे

सुरुङ्गा (झापा) – सभामुख देवराज घिमिरेले निर्वाचनको विषयलाई लिएर दलहरूबीच अविश्वास बढेको बताएका छन्। वीरता जेसिज विर्तामोडको आयोजनामा आज यहाँ आयोजित ‘सङ्कटपछि देशको अर्थतन्त्रः अवसर र चुनौती’ विषयक कार्यक्रममा उनले सुरक्षालगायत कारणले निर्धारित समयमा निर्वाचन हुनेमा शङ्कासमेत रहेको बताए ।

सभामुख घिमिरेले मुलुकमा राजस्व सङ्कलन कमजोर हुँदा सामान्य खर्च धान्न पनि सरकारले ऋण लिनुपर्ने अवस्था आएको भन्दै यस्तो बेला निजी क्षेत्रलाई विश्वासमा लिनसक्नुपर्ने धारणा राखे । “मुलुकमा अराजक गतिविधि बढ्दै जाँदा निजी क्षेत्र लगानी गर्न हिचकिचाइरहेको समय छ । सुरक्षाका कारण मनोबल कमजोर भएको छ, त्यसैले निजी क्षेत्रलाई लगानी गर्ने वातावरण बनाउन लाग्नुपर्छ”, उनले भने ।

वीरता जेसिजका अध्यक्ष युवराज कुँवरको अध्यक्षतामा भएको कार्यक्रममा लिड नेपालका प्रधान सम्पादक राजेन्द्र बाँनियाले सहजीकरण गरेका थिए । कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटीगर्भनर बमबहादुर मिश्र, नविल बैंकका कार्यकारी प्रमुख मनोज ज्ञवाली, उद्योग वाणिज्य महासङ्घका केन्द्रीय उपाध्यक्ष हेमराज ढकाल, राष्ट्रिय सहकारी बैंकका अध्यक्ष महेन्द्रकुमार गिरी, वीरता जेसिजका सङ्घ संस्था समन्वय संयोजक भूपेन्द्र भण्डारी, कोषाध्यक्ष लोकचन्द्र श्रेष्ठ, नेपाल पत्रकार महासङ्घ झापाका अध्यक्ष एकराज गिरीलगायतले मुलुुकको पछिल्लो आर्थिक अवस्थाका विषयमा आ–आफ्नो धारणा राखेका थिए।

इजरायलको ‘पूर्ण फिर्ता’ बिना गाजा युद्धविराम अधुरो हुने कतारका प्रधानमन्त्रीको भनाइ

वाशिङ्टन र संयुक्त राष्ट्रसङ्घको समर्थन प्राप्त शान्ति योजना अन्तर्गत इजरायली सेना प्यालेस्टिनी भूभागबाट फिर्ता नभएसम्म गाजा पट्टीमा लगभग दुई महिनादेखि जारी युद्धविराम पूरा नहुने मध्यस्थकर्ता कतारका प्रधानमन्त्रीले शनिबार बताउनुभएको छ ।

“अब हामी एक महत्त्वपूर्ण क्षणमा छौँ । इजरायली सेनाको पूर्ण फिर्ता नभएसम्म र गाजामा पुनः स्थिरता नआएसम्म युद्धविराम पूरा हुन सक्दैन ।” कतारी प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान अल थानीले खाडी राष्ट्रको राजधानीमा आयोजित वार्षिक कूटनीतिक सम्मेलन ‘दोहा फोरम’ मा सम्बोधनका क्रममा भन्नुभयो ।

कतारले संयुक्त राज्य अमेरिका र इजिप्टसँग मिलेर गाजामा लामो समयदेखि प्रतीक्षित युद्धविराम सुनिश्चित गर्न मद्दत गरेको थियो । अक्टोबर १० देखि जारी युद्धविरामले इजरायल र हमासबीचको दुई वर्ष लामो लडाइँलाई प्रायः रोकेको छ ।

सम्झौताको दोस्रो चरण अन्तर्गत इजरायलले उक्त क्षेत्रमा रहेका आफ्ना स्थानहरूबाट फिर्ता हुनुपर्नेछ यद्यपि यो अझै सुरु हुन बाँकी छ । दोस्रो चरणको प्रवेशसँगै गाजामा स्थायित्वका लागि एक अन्तराष्ट्रिय बल परिचालन गरिनेछ र अन्तरिम प्राधिकरणले शासनको जिम्मा लिनेछ।

अरब र मुस्लिम राष्ट्रहरू गाजामा नयाँ सुरक्षा संयन्त्र बनाउने कुरामा सहभागी हुन हिचकिचाइरहेका छन् । यसले अन्ततः प्यालेस्टिनी लडाकुहरूसँग लड्नुपर्ने हुन सक्छ।

फोरममा बोल्दै टर्कीका परराष्ट्र मन्त्री हकान फिदानले भन्नुभयो, “सुरक्षा संयन्त्रसम्बन्धी वार्ता जारी छ र यसको कमान्ड, संरचनामा कुन देशहरूले योगदान गर्नेछन् भन्ने जस्ता महत्त्वपूर्ण प्रश्नहरू टुङ्ग्याउने काम बाँकी छन् ।

फिदानले भन्नुभयो, “गठन हुने नयाँ सुरक्षा संयन्त्रको योगदान प्यालेष्टाइनलाई इजरायली हस्तक्षेपबाट अलग गर्नु हुनुपर्छ।”“यो हाम्रो मुख्य उद्देश्य हुनुपर्छ। त्यसपछि हामी बाँकी रहेका अन्य मुद्दाहरूलाई सम्बोधन गर्न सक्छौँ,” उहाँले थप्नुभयो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा पहिलो पटक प्रस्तुत गरिएको २०–बुँदे योजना अन्तर्गत हमासले पनि आफ्ना हतियार बुझाउनुपर्नेछ, जसमा हतियारहरू बुझाउने हमास (लडाकू) लाई गाजा छोड्न अनुमति दिइनेछ। उक्त लडाकु समूहले यो प्रस्तावलाई बारम्बार अस्वीकार गरेको छ ।

– दिगो समाधान –

टर्कीले गाजाको शान्तिका लागि गठन हुने नयाँ सुरक्षा संयन्त्रमा भाग लिन चाहेको सङ्केत दिएको छ तर इजरायलमा यसको प्रयासलाई नकारात्मक रूपमा हेरिन्छ । इजरायलले अङ्कारालाई हमाससँग धेरै नजिकको शक्ति मान्दछ।

“मलाई लाग्छ, यो युद्ध अन्त्य गर्ने एकमात्र व्यावहारिक तरिका भनेको शान्ति वार्तामा निष्ठापूर्वक र दृढताका साथ संलग्न हुनु हो,” फिदानले भन्नुभयो ।

प्रधानमन्त्री अल थानीले भन्नुभयो, “कतार र युद्धविरामका लागि अन्य सहयोगी टर्की, इजिप्ट र अमेरिकाले सम्झौताको ‘अर्को चरणलाई अगाडि बढाउन हमास र इजरायललाई दवाव दिन शनिबार संयुक्त बैठकको आयोजना गरेका छन् ।

“हाम्रो दृष्टिकोणमा यो अर्को चरण पनि अस्थायी मात्र हो,” उहाँले भन्नुभयो ।

“यदि हामीले पछिल्ला दुई वर्षमा भएको कुरा मात्र समाधान ग¥यौँ भने त्यो पर्याप्त हुनेछैन,” उहाँले दुवै जनतालाई न्याय प्रदान गर्ने ‘दिगो समाधान’ को लागि आह्वान गर्दै भन्नुभयो ।

इजिप्टका परराष्ट्र मन्त्री बद्र अब्देलअत्तिले युद्धविरामबारे छलफल गर्न मञ्चको अवसरमा कतारका प्रधानमन्त्रीसँग भेटवार्ता गर्नुभएको कायरोले शनिबार जनाएको छ।

“बैठकले गाजा पट्टीको वर्तमान अवस्थाबारे छलफल गरेको थियो भने छलफलमा युद्धरत दुवै पक्षका अधिकारीहरूले शार्म अल–शेख शान्ति सम्झौता कार्यान्वयन गर्न प्रयासहरू जारी राख्ने बिषयमा जोड दिएका कतारको विदेश मन्त्रालयको विज्ञप्तिमा भनिएको छ ।

इजिप्टले गाजाका लागि पाँच हजार प्रहरी अधिकारीलाई तालिम दिने योजना घोषणा गरेको छ र इजिप्ट गाजामा राजनीतिक स्थायित्वका लागि गठित सुरक्षा संरचनामा सम्भावित योगदानकर्ता देशमध्ये एक हो।

पार्टीको १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगै अगाडि बढाइएको छ – महामन्त्री थापा

मलङ्गवा (सर्लाही) – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको आसन्न १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगै अगाडि बढाइएको बताउनुभएको छ ।

नेपाल प्रेस युनियन सर्लाहीले आज सदरमुकाम मलङ्गवामा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले कतिपय नेताले महाधिवेशनमा लाग्दा निर्वाचनको तयारी नपुग्ने हो कि भन्ने चिन्ता गरिरहेको भन्दै दुवै कार्यक्रमलाई सँगै अगाडि बढाइने बताउनुभएको हो ।

महामन्त्री थापाले फागुन २१ को प्रतिनिधिसभा सदस्य निर्वाचनअघि नै पार्टीको महाधिवेशन गर्ने वा नगर्ने बहसमा केही समय खेर गए पनि अब छोटो समयमा महाधिवेशन सम्पन्न गरेर निर्वाचनमा सरिक हुने निर्णय भइसकेकाले त्यसमा होमिन सबैलाई आग्रह गर्नुभयो । उहाँले फागुन २१ को निर्वाचनले संविधानमाथिको थप क्षति हुन नदिने बुझाइसहति पार्टीले निर्वाचनको बाटो रोजेको धारणा राख्नुभयो ।

महामन्त्री थापाले भन्नुभयो, “हामी फागुन २१ को निर्वाचनप्रति पूर्ण प्रतिबद्ध छौँ । अन्य दलहरू पनि तयार भइसकेकाले सरकारले सम्पूर्ण संशय हटाएर निर्वाचन गराउने गरी अघि बढ्नुपर्छ । जेनजी प्रदर्शनपछि फरार रहेका कैदीबन्दी र लुटिएका हतियार निर्वाचनका लागि चुनौती हुनसक्ने कुरा सरकारलाई अवगत गराइसकेका छौँ । सरकारले समयमै त्यस्ता आपराधिक गतिविधि नियन्त्रण गर्नुपर्छ ।”

उहाँले प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार राखेको सर्वदलीय बैठकमा पनि यस विषयमा ध्यानाकर्षण गराउनुका साथै सबै समूह र राजनीतिक दलले चुनावमा भाग लिन पाउनुपर्नेमा जोड दिइएको उल्लेख गर्नुभयो ।

महामन्त्री थापाले नयाँ नीति र सन्देशका साथ आफू सभापतिको उम्मेदवार हुने भन्दै नयाँ नेतृत्व चयनका लागि चाँडै नै देश दौडाहामा जाने बताउनुभयो । उहाँले आफू आगामी निर्वाचनमा पनि काठमाडौँबाटै प्रतिस्पर्धा गर्ने स्पष्ट पार्नुभयो ।

पुराना पार्टीमध्ये एमाले चुनावपछि उदाएर आउने छ – ओली

काठमाडौँ – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुराना दल सकिए वा सकिन्छन् भन्ने नसोच्न आग्रह गर्नुभएको छ । आज च्यासलस्थित पार्टी कार्यालयमा पार्टीको मुखपत्र नवयुग ई-बुलेटिनको शुभारम्भ गर्दै उहाँले पार्टीको आसन्न ११औँ राष्ट्रिय महाधिवेशनले एमालेविरुद्धको घरेबन्दी तोड्ने र पार्टी फेरि अघि बढ्ने बताउनुभयो ।

उहाँले महाधिवेशनको सफलता लोकतन्त्रको सफलता भएकोले महाधिवेशनलाई भव्य बनाउनु पर्नेमा जोड दिनुभयो । “यो महाधिवेशनको सफलता लोकतन्त्रको सफलता हो । त्यसैले यसलाई सफल बनाउनु पर्दछ,” उहाँले भन्नुभयो, “महाधिवेशन नेपाली जनता र देशको भविष्यको लागि आवश्यक छ ।”

उहाँले जनताको शक्तिलाई निर्णायक शक्तिमा बदल्नका लागि महाधिवेशन आयोजनासमेत गरिएको बताउनुभयो । अध्यक्ष ओलीले स्वतन्त्र, निष्पक्ष शान्तिपूर्ण वातावरणमा चुनाव हुनुपर्नेमा जोड दिनुभयो । “हामीले चुनावलाई पर्खिरहेका छौँ । चुनावबाट आउने सरकार एमालेको हुन्छ,” उहाँले भन्नुभयो, “पुराना पार्टीमध्ये एमाले चुनावपछि उदाएर आउने छ ।”

एमाले महासचिव शङ्कर पोखरेलले आजको जटिल अवस्थाको नेतृत्व गर्न सक्ने र मुलुकलाई लोकतन्त्रतर्फ फर्काउने पार्टी र नेतृत्व आवश्यक रहेको बताउनुभयो । एमालेको महाधिवेशनलाई प्रतिगमनविरुद्धको सङ्घर्ष र जनसङ्घर्षको कार्यक्रमका रूपमा परिभाषित गर्नुपर्ने उहाँको भनाइ थियो ।

महासचिव पोखरेलले राष्ट्र निर्माणको योजनाकार एमाले भएको बताउँदै उहाँले देशको राजनीति एमालेको वरिपरि घुमेको बताउनुभयो । उहाँले पार्टीमा यतिबेला प्रतिष्पर्धा नभई एकता खाँचो रहेको भन्दै केपी शर्मा ओलीलाई नेतृत्वमा स्थापित गरेर सबै त्यसमा एकताबद्ध हुन आवश्यक रहेको बताउनुभयो ।

महाधिवेशन प्रचार समितिका संयोजक पद्मा अर्यालले प्रभावकारी रूपले महाधिवेशन र पार्टीका गतिविधि प्रचार गर्न नवयुग ई–बुलेटिन प्रकाशनमा ल्याइएको बताउनुभयो । उहाँले महाधिवेशनको प्रचारप्रसार अझ व्यापक बनाउनुपर्नेमा जोड दिनुभयो । आज सुरु गरिएको ई–बुलेटिनमा हरेक दिन बेलुका ७ बजे महाधिवेशनको गतिविधि प्रकाशित गरिने बताउनुभयो ।

धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना

मलेखु (धादिङ) – पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुनिबेसी–६ चालिसेमा सात वटा सवारी एकै ठाउँमा दुर्घटनामा परेका छन् ।

स्कुल बससहित चार वटा बस, दुई वटा ट्रक र एउटाक मोटरसाइकल दुर्घटनामा परेका हुन् । जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक प्रकाश दाहालका अनुसार भारतीय नम्बर प्लेटको ट्रकको ब्रेक फेल भएपछि अन्य सवारीलाई ठक्कर दिँदा दुर्घटना भएको हो ।

अहिले दुर्घटनास्थलबाट प्रहरी र स्थानीयले घाइतेको उद्धार गरिरहेको छ । दुर्घटनापछि सडकमा यातायात पूर्णरुपमा अवरुद्ध भएको छ ।

दुघटनास्थलमा रहेका पत्रकार आशीष ठकुरीअनुसार दुई वटा बसमा सवार अधिकांश यात्रु घाइते भएका छन् । घाइतेलाई उद्धार गरी नजिकैको स्वास्थ्य संस्था र काठमाडौँतर्फ पठाइएको र प्रहरीद्वारा दुर्घटनामा परेका सवारीलाई हटाएर बाटो खुलाउने प्रयास भइरहेको छ ।

यस्तो छ आजका लागि सागसब्जी र फलफूलको थोक मूल्य

काठमाडौँ, २० मङ्सिरः कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु १०५, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ११०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ७८, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु १००, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ८०, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु १००, आलु रातो प्रतिकिलो रु ५५, आलु रातो (भारतीय) प्रतिकिलो रु ४५, आलु सेतो प्रतिकिलो रु ३७ र प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ३२ रहेको छ ।

यस्तै, गाजर (लोकल) प्रतिकिलो रु १४०, गाजर (तराई) प्रतिकिलो रु १३०, बन्दा (लोकल) प्रतिकिलो रु ६५, बन्दा (तराई) प्रतिकिलो रु ५०, बन्दा (नरिवल) प्रतिकिलो रु ५५, काउली स्थानीय प्रतिकिलो रु ७०, काउली स्थानीय (ज्यापु) प्रतिकिलो रु ९०, काउली तराई प्रतिकिलो रु ६०, रातो मूला प्रतिकिलो रु ७०, सेतो मूला (लोकल) प्रतिकिलो रु ३०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु ५०, भन्टा लाम्चो प्रतिकिलो रु ७०, भन्टा डल्लो प्रतिकिलो रु ९०, तने बोडी प्रतिकिलो रु १८० र मकै बोडी प्रतिकिलो रु ८० कायम भएको छ ।

त्यसैगरी, मटरकोसा प्रतिकिलो रु १५०, घिउ सिमी (लोकल) प्रतिकिलो रु १७०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु १६०, घिउ सिमी (राजमा) प्रतिकिलो रु १००, टाटे सिमी प्रतिकिलो रु १५०, तिते करेला प्रतिकिलो रु १३०, लौका प्रतिकिलो रु ८०, परबर (लोकल) प्रतिकिलो रु १००, परबर (तराई) प्रतिकिलो रु ११०, घिरौँला प्रतिकिलो रु १३०, फर्सी पाकेको प्रतिकिलो रु ४०, हरियो फर्सी (लाम्चो) प्रतिकिलो रु ६०, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु ७०, सलगम प्रतिकिलो ११०, भिन्डी प्रतिकिलो १२०, सखरखण्ड प्रतिकिलो ८०, बरेला प्रतिकिलो रु ८०, पिँडालु प्रतिकिलो रु १०० र स्कुस प्रतिकिलो रु ३० कायम गरिएको छ ।

रायोसाग प्रतिकिलो रु ८०, पालुङ्गो साग प्रतिकेजी रु १५०, चमसुर प्रतिकिलो रु १५०, तोरीको साग प्रतिकिलो रु ६०, मेथीको साग प्रतिकिलो रु १६०, हरियो प्याज प्रतिकिलो रु ६०, बकुला प्रतिकिलो रु १५०, तरुल प्रतिकिलो रु ९०, च्याउ (कन्य) प्रतिकिलो रु २२०, च्याउ (डल्ले) प्रतिकिलो रु ३८० र कुरिलो प्रतिकिलो रु १२०० निर्धारण गरिएको छ ।

ब्रोकाउली प्रतिकिलो रु १७०, चुकुन्दर प्रतिकिलो रु १००, रातो बन्दा प्रतिकिलो रु १८०, जिरीको साग प्रतिकिलो रु ३००, सेलरी प्रतिकिलो रु ५५०, पार्सले प्रतिकिलो रु ६००, सौफको साग प्रतिकिलो रु १५०, पुदिना प्रतिकिलो रु ४००, गान्टेमुला प्रतिकिलो रु ८०, इमली प्रतिकिलो रु १८०, तामा प्रतिकिलो रु १३०, तोफु प्रतिकिलो रु १५० र गुन्द्रुक प्रतिकिलो रु ४०० तोकिएको छ ।

स्याउ (झोले) प्रतिकिलो रु २५०, स्याउ (फुजी) प्रतिकिलो रु ३००, केरा (दर्जन) रु २२०, कागती प्रतिकिलो रु ११०, अनार प्रतिकिलो रु ४००, सुन्तला (नेपाली) प्रतिकिलो रु ११०, तरबुजा हरियो प्रतिकिलो रु १००, मौसम प्रतिकिलो रु १००, जुनार प्रतिकिलो रु १२०, भुइँकटहर प्रतिगोटा रु १५५, काँक्रो (लोकल) प्रतिकिलो रु ७५, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु ५०, निबुवा प्रतिकिलो रु ६०, नास्पाती (चाइनिज) प्रतिकिलो रु २३०, मेवा (नेपाली) प्रतिकिलो रु ६०, मेवा (भारतीय) प्रतिकिलो रु १००, अम्बा प्रतिकिलो रु १२०, लप्सी प्रतिकिलो रु ७०, स्ट्रबेरी भुइँऐसुलु प्रतिकिलो रु ५००, किबी प्रतिकिलो रु ३००, सरिफा प्रतिकिलो रु २५० र आभोकाडो प्रतिकिलो रु ३०० निर्धारण गरिएको छ ।

यसैगरी, अमला प्रतिकिलो रु ८०, अदुवा प्रतिकिलो रु ९०, सुकेको खुर्सानी प्रतिकिलो रु ४२०, खुर्सानी हरियो प्रतिकिलो रु ७०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु १००, खुर्सानी हरियो (माछे) प्रतिकिलो रु १४०, खुर्सानी हरियो (अकबरे) प्रतिकिलो रु २२०, भेडे खुर्सानी प्रतिकिलो रु १५०, हरियो लसुन प्रतिकिलो रु १००, हरियो धनियाँ प्रतिकिलो रु १००, लसुन सुकेको (चाइनिज) प्रतिकिलो रु २००, लसुन सुकेको (नेपाली) प्रतिकिलो रु २००, छ्यापी सुकेको प्रतिकिलो रु २२०, छ्यापी हरियो प्रतिकिलो रु १८०, माछा सुकेको प्रतिकिलो रु १०००, ताजा माछा (रहु) प्रतिकिलो रु ३४०, ताजा माछा (बचुवा) प्रतिकिलो रु २८०, ताजा माछा (छडी) प्रतिकिलो रु २५०, रूख टमाटर प्रतिकिलो रु १४०, राजा च्याउ प्रतिकिलो रु ३००, सिताके च्याउ प्रतिकिलो रु १००० र काँक्रो (लोकल क्रस) प्रतिकिलो रु ६० निर्धारण गरिएको छ ।

अरनिको राजमार्ग : धुलिखेल–खावा सडकखण्ड विस्तार कार्य तीव्र

काभ्रेपलाञ्चोक, २० मङ्सिर : अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकस्थित धुलिखेल–खावा सडकखण्डको स्तरोन्नतिकार्यलाई तीव्रता दिइएको छ । रोकिएको विस्तारकार्यका लागि नयाँ निर्माण कम्पनीसँग गत कात्तिकमा सम्झौता कार्य गरिएपछि पुनःस्तरोन्नतिको काम सुरु गरिएको हो ।

डिभिजन सडक कार्यालय भक्तपुरका अनुसार १४ महिनामा काम सम्पन्न गर्नेगरी सि–एन ए–वान काली जेभीसँग सम्झौता गरिएको छ । भ्याटबाहेक रु ३१ करोड ५६ लाखमा ठेक्का सम्झौता भएको कार्यालयका प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशले जानकारी दिनुभयो । पहिलो चरणमा आगामी चैतसम्ममा फराकिलो स्थानमा कालोपत्रे सक्ने र बाँकी अन्य बाँकी काम क्रमशः गर्दै निर्धारित समयमा सकिने उहाँको भनाइ छ । विभिन्न स्थानमा ‘कटिङ’ को कामबाट पुनःविस्तारकार्यलाई तीव्रता दिइएको हो ।

निर्माण कार्यमा ढिलासुस्ती गर्दा तीन वर्षदेखि राजमार्गको यात्रा कष्टकर बन्दै आएको छ । कार्यालयले पुरानो ठेक्का रद्द गरेको पाँच महिनापछि गत साउनमा पुनः बोलपत्र आह्वान गरेको थियो । चार किलोमिटर दूरीको उक्त सडकखण्ड नयाँ निर्माण कम्पनीले समयमै सक्नेमा आशावादी भएको योगेशले बताउनुभयो ।

उक्त सडक तोकिएको समयमा निर्माण सम्पन्न नभएको जनाउँदै कार्यालयले गौरी–पार्वती निर्माण सेवा कम्पनीसँगको ठेक्का रद्द गरेको थियो । सम्झौताको समयसीमा सकिएको ११ महिनापछि कार्यालयले गत साल फागुन १५ गते स्तरोन्नतिको जिम्मा लिएको गौरी–पार्वती निर्माण सेवासँगको ठेक्का रद्द गरेको हो । जिल्ला सदरमुकाम धुलिखेलदेखि–खावासम्मको सडक विस्तारको काम गौरी–पार्वतीले विसं २०७९ जेठ २० मा २२ महिना अर्थात् २०८० चैत १९ गतेभित्र बनाइसक्नुपर्ने गरी रु २० करोड १९ लाख ४६ हजार ५०१ मा ठेक्का लिएको थियो ।

यसअघि धुलिखेल बसपार्कदेखि जिपलाइनसम्म डाँडा ‘कटिङ’ को काम मात्रै भएको छ भने केही स्थानमा नाली तथा ड्रेन–वाल लगाउने काम मात्रै भएको छ । जिपलाइन स्थानदेखि तल खावासम्मको करिब सडकमात्रै भत्काइएको तर एक किलोमिटर भागमा कटिङ नै बाँकी रहेको छ । विसं २०८१ जेठमा धुलिखेलतर्फबाट बेश, सब–बेश हाल्ने काम सुरु गरिए पनि पटकपटकको बर्खामा सबै बगाएर खण्डहरझैँ बनाएको थियो । निर्माणमा आलटाल गर्दै आएका कारण समयसीमा सकिएको ११ महिना बितिसक्दा पनि ठेकेदार कम्पनीले २५ प्रतिशतसमेत निर्माणको काम सकेको थिएन ।

अरनिको राजमार्ग हुँदै नेपालको चिनसँगको उत्तरी नाका अर्थात् सिन्धुपाल्चोकको तातोपानी तथा छिमेकी जिल्ला दोलखा, रामेछापलगायत जिल्लातर्फ जाने मुख्य सडकको रूपमासमेत रहेको उक्त राजमार्ग समयमै नबन्दा यात्रु धुलो, हिलो, ट्राफिक जाम र दुर्घटनाको जोखिमबीच यात्रा गर्न बाध्य भएका छन् । सडक निर्माणको काम समयमा नसकिँदा पुनःनिर्माणका लागि भत्काइएको सडकमा दुर्घटना हुँदा सयौँ यात्री घाइते भइसकेका छन् ।

केही वर्षदेखि जीर्ण बन्दै आएको धुलिखेल–खावा सडकखण्डलाई १२ मिटरको फराकिलो बनाई कालोपत्र गर्न लागिएको थियो । उक्त सडकमा गुड्ने मालवाहक सवारीको भारबहन क्षमतालाई मध्यनजर गर्दै बलियो बनाउन नेपालमा नै पहिलोपटक ग्राभेलमाथि २० सेन्टिमिटर बाक्लो सिमेन्ट मिसाइएको बेस हाल्ने तथा दुई चरणको कालोपत्रे डिबिएम र आस्फाल कालोपत्रे गर्ने कार्यालयले योजना बनाएको छ ।

‘एमाले निर्वाचनबाट कहिल्यै भाग्दैन’:उपमहासचिव प्रदीप ज्ञवाली

भक्तपुर- नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले एमाले निर्वाचनबाट कहिल्य नभागेको र नभाग्ने पनि बताउनुभएको छ । भक्तपुर जिल्ला कमिटीद्वारा ११औँ राष्ट्रिय महाधिवशनको सन्दर्भमा आयोजित जिल्ला भेलामा उहाँले एमाले लोकतान्त्रिक पार्टी भएकाले निर्वाचनसँग नभाग्ने बताउँदै भयरहित वातावरणमा निर्वाचन गराउनेतर्फ सरकार केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो ।

उपमहासचिव ज्ञवालीले भन्नुभयो, “एमाले निर्वाचनबाट कहिल्यै भागेन र आगामी दिनमा पनि भाग्दैन । कसले चुनाव गराउँछ भन्ने सरकोरभन्दा पनि निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन हुनुपर्नेमा एमालेले जोड दिन्छ । आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा जनताले निधक्क भएर मतदान गर्न सक्ने अवस्था र वातावरण तयार हुनुपर्छ ।”

महाधिवेशन सकिएपछि आगामी पुस १ गतेदेखि देशको राजनीतिक बाटोको खाका खुल्ने दाबी गर्दै उहाँले महाधिवेशनबाट आएको परिणामलाई स्विकार्दै एमाले एक ढिक्का र एकताबद्ध भएर पार्टी, देश, लोकतन्त्र, संविधान र राष्ट्रियता जोगाउन अग्रस्थानमा रहेर अगाडि बढ्ने प्रतिबद्धता जनाउनुभयो ।

नेकपा एमालेका पोलिटब्यूरो सदस्य महेश बस्नेत, एमाले केन्द्रीय सदस्यहरू सोम मिश्र, निर्मल भट्टराई, एमाले भक्तपुर जिल्ला अध्यक्ष वचन देउजा, उपाध्यक्ष एवं बागमती प्रदेश स्वास्थ्यमन्त्री किरण थापालगायतले महाधिवेशन भव्य र सव्य रूपमा सम्पन्न गर्नेगरी तयारी भइरहेको बताउनुभएको थियो ।

चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित ,धाराको पानीमा हिउँ जम्ने थाल्यो

मुस्ताङ, २० मङ्सिरः अत्यधिक चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित बन्दै गएको छ । दिउँसो घाम लाग्दाको पारिलो समय केही न्यानो महशुस गरिए पनि बिहान र बेलुकीको समय चिसोले स्थानीयबासी तथा सुरक्षा निकाय र कर्मचारीको दैनिक जनजीवन कष्ठकर बन्न थालेको छ ।

माथिल्लो मुस्ताङमा अत्यधिक चिसोका कारण बिहान र बेलुकीको तापक्रम माइनस १५ डिग्रीसम्म पुग्ने गरेको लोमान्थाङ–२ छोसेका वडाध्यक्ष कर्मा नाम्गेल गुरुङले जानकारी दिनुभयो । वडाध्यक्ष गुरुङका अनुसार अत्यधिक चिसोका कारण सिँचाइ कुलो, घरघरका धाराको पानी, शौचालयको सेफ्टी ट्याङ्की र शाखा नदीमा हिउँ जम्ने गरेको बताउनुभयो ।

वडाध्यक्ष गुरुङले भन्नुभयो, “धाराबाट पानी झर्न बन्द भयो, दिउँसो घाम लाग्दा कुलोको पानी तताएर खानुपर्ने अवस्था छ ।” घाम नलागेको अवस्थामा सिँचाइ कुलोको पानी ग्यास वा आगोमा तताएर खानुपर्ने बाध्यता रहेको वडाध्यक्ष गुरुङले बताउनुभयो । वडाध्यक्ष गुरुङले छोसेरमा खानेपानीका तीन ट्याङकी एकसाथ चालु राखिने भए पनि चिसोका कारण खानेपानीमा समस्या आएकाले आलोपालो सञ्चालन गर्न थालिएका बताउनुभयो ।

यसपालि हिउँदयामको चिसो सुरु भएसँगै कात्तिक अगावै माथिल्लो मुस्ताङका अधिकाँश नागरिक बेसी झरेका वडाध्यक्ष गुरुङले उल्लेख गर्नुभयो । गतवर्ष नाका पूर्ण रूपमा सञ्चालन नहुँदा यतिबेलासम्म गाउँका शतप्रतिशत नागरिक बेसी झर्ने गरेकामा यसपालि नाकाको व्यापारले करिव तीन सय बढी नागरिक यथास्थानमा बसेका वडाध्यक्ष गुरुङको भनाइइ छ ।

यसैगरी माथिल्लो मुस्ताङको लामान्थाङमा पनि चिसोले नागरिक धमाधम बेसी झर्न थालेका स्थानीय पर्यटन व्वयसायी राम गुरुङले जानकारी दिनुभयो । लोमान्थाङमा पर्यटक लक्षित करिव दुई दर्जन बढी होटल सञ्चालनमा रहेकामा दुइतिहाई बढी होटल बन्द गरी बेसी झरिसकेको पर्यटन व्यवसायी गुरुङको भनाइ छ । लोमान्थाङमा एक हप्ताभित्र सञ्चालनमा रहेका होटल पनि चिसोका कारण बन्द हुने बताउनुभयो ।

“माथिल्लो मुस्ताङमा न्यून पर्यटक आइरहेका छन्, तर चिसोले जाडो छल्न स्थानीय बेसी झरिसके र झर्ने क्रममा छन”, पर्यटन व्यवसायी गुरुङले भन्नुभयो, “स्थानीयवासी र पर्यटन व्यवसायी दुई महिनाका लागि धमाधम होटल बन्द गरेर बेसी झर्दैछन्, यहाँको जनजीवन पनि निकै कष्टकर भइरहेको छ ।”

माथिल्लो मुस्ताङमा अत्यधिक चिसोका कारण सिँचाइ कुलो जमेर घाम लाग्दा सिँचाइको पानी बाहिर बग्ने भएको र यसले विपद् निम्त्याउन सक्ने भएकाले सिँचाइको पानीको मुहान बन्द गरिएको लोमान्थाङका वडाध्यक्ष ढुक्के विष्टले जानकारी दिनुभयो । माथिल्लो मुस्ताङमा अत्यधिक चिसोका कारण विकास निर्माणलगायतका काम पुरै रोकिएका वडाध्यक्ष विष्टको भनाइ छ ।

माथिल्लो मुस्ताङमा अत्यधिक चिसो बढेपनि माथिल्लो मुस्ताङका प्रहरी एकाइ बेसीमा मर्ज नहुने जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ । कोरलानाका सञ्चालनमा रहेका र भन्सार कार्यालयसमेत सञ्चालनमा रहेकाले सुरक्षा निकायले यथास्थान छोडेर जिल्ला मर्ज गर्न योजना नरहेको प्रहरी निरीक्षक सन्तोष बस्यालले जानकारी दिनुभयो । उहाँका अनुसार लोमान्थाङ गाउँपालिका अन्तर्गतका लोमान्थाङ, छोसेर र छोनुप र लोघेकर दामोदरकुण्ड गाउँपालिका अन्तर्गत चराङ, घमी र सुर्खाङका प्रहरी एकाइहरु हिउँदयामसमेत सोही स्थानमा रहेर सुरक्षा प्रदान गर्ने प्रहरी निरीक्षक बस्यालले बताउनुभयो । “भारी हिमपात र कुनै त्यस्तो विषम अवस्था आए मात्रै हामीले त्यहाँका एकाइलाई तल झाछौँ, चिसोकै कारण भनेर त्यहाँका प्रहरी एकाइलाई तल झार्ने कुनै योजना छैन”, प्रहरी निरीक्षक बस्यालले भन्नुभयो ।

मर्मतका लागि कान्ति राजमार्ग आजदेखि २ महिनासम्म दिनभर बन्द

काठमाडौँ, २० मङ्सिरः आवश्यक मर्मत सम्भारका लागि आजदेखि दुई महिनासम्म कान्ति राजमार्ग बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय ललितपुरका अनुसार कान्ति राजमार्गका विभिन्न खण्डमा सडक विस्तारका लागि बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म बन्द हुने छ ।

आगामी दुई महिनासम्म सवारी साधन सबै बन्द गरेर मर्मत एवम् विस्तारको काम अगाडि बढाउन लागिएको कान्ति राजमार्ग सडक योजनाले जनाएको छ । जिल्ला प्रशासन कार्यालय ललितपुरले उक्त सडकखण्डमा सवारी आवागमन पूर्ण रूपमा बन्द हुनेछ । सो अवधिभर कान्ति राजमार्ग हुँदै यात्रा गर्ने सवारी साधनले वैकल्पिक मार्ग प्रयोग गर्न तथा गराउन आग्रह गरिएको छ ।

एनपिएलमा आज दुई खेल हुँदै, सुदूरपश्चिमसँग विराटनगर र चितवनसँग पोखरा भिड्दै

काठमाडौँ, २० मङ्सिर : राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज दुई खेल हुने भएका छन् । त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा बिहान ११ः१५ बजे हुने पहिलो खेलमा सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्स भिड्दा दिउँसो ३ः३० बजे चितवन राइनोज र पोखरा एभेन्जर्स प्रतिस्पर्धा गर्नेछन् ।

सुदूरपश्चिम अपराजित रहेर छ खेलबाट १२ अङ्क जोडेर पहिलो क्वालिफायरमा पुगिसकेकाले उसलाई कुनै दबाब हुने छैन । आठ अङ्कसहित प्लेअफमा सुरक्षित भएको विराटनगरलाई भने पहिलो क्वालिफायर खेल्न आजको जित आवश्यक छ ।

विराटनगरले राम्रो रनरेटका साथ जित निकाले सुदूरपश्चिमसँगै नै पहिलो क्वालिफायरमा खेल्नेछ । अन्यथा लुम्बिनी लायन्ससँग इलिमिलेटर खेल्नेछ । त्यसपछि पहिलो क्वालिफायरमा सुदूरपश्चिम र काठमाडौँ गोर्खाज भिड्नेछन् ।दिउँसो हुने खेलमा प्लेअफ दौडबाट बाहिरिसकेका चितवन र पोखराबीच प्रतिष्ठाको लडाइँ मात्रै हुनेछ । दुवै टोलीको छ खेलबाट चार÷चार अङ्क मात्रै रहेको छ ।

जुम्ला र कालीकोट सिमानामा निर्माण हुने तिला जलविद्युत्को लागत सात अर्ब

जुम्ला, २० मङ्सिरः जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा निर्माणहुने तिला जलविद्युत्को ३८ दशमलव ०७ मेगावाटको बिजुली उत्पादन गर्न करिब रु सात अर्बभन्दा बढी लाग्ने भएको छ ।

तिला गाउँपालिका–१ र ७ कालिकोट जिल्लाको तिलागुफा नगरपालिका–१, २, ३, ४ र ९ को प्रभावित क्षेत्रको पहिलो चरणको प्रारम्भिक वातारणीय परीक्षण प्रतिवेदन उपर सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको तिला जलविद्युत् आयोजनाका परामर्शदाता तथा वातारणविद् सुरेन्द्रदेव भट्टले जानकारी दिनुभयो । तिलामा जलविद्युत् आयोजना निर्माण गर्न सम्भाव्यता अध्ययन चारवर्ष पहिला भइसकेको छ । तिला गाउँपालिका र तिलागुफा नगरपालिका भएर बग्ने तिला नदीमा निर्माणहुने प्रस्ताविक आयोजनाको डिजाइन डिस्चार्ज ५२ दशमलव ५१ घनमिटर प्रतिसेकेन्ड रहेको वातारणविद् भट्टको भनाइ छ ।

ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालय अन्तर्गत विद्युत् विकास विभागबाट उक्त योजनाको नाँप जाँच २०७८ सालमा स्वीकृत भएको हो । आयोजना सञ्चालनबाट प्राप्तहुने रोजगारी, रोयल्टी, शेयर, सामुदायिक सहयोग कार्यक्रम तथा स्थानीय जनताको व्यापार व्यवसायबाट आयआर्जन गर्न जस्ता अनुकूल प्रभावहुने भएकोले समग्रमा यस आयोजनाबाट स्थानीय स्तरदेखि राष्ट्रियस्तरसम्म लाभ पूग्ने तिला गाउँपालिका अध्यक्ष मोतीलाल रोकायाले बताउनुभयो ।

उत्पादन भएको विद्युत्लाई १३२ केभी सिङ्गल सर्किटको प्रशारण लाइनमार्फत जुम्ला बजारमाको सबस्टेशनमा लगेर जोडिने छ । विद्युत् गृहबाट निष्कासन भएको पानीलाई २५ मिटर लामो टेलरेस टनेलद्धारा पुनःतिला नदीमा छोडिने छ । आयोजनाका सम्पूर्ण संरचना तिला नदीको बायाँ किनारमा रहनेछन् । आयोजना कुल लागत नेपाल सरकारको रु सात अर्ब ५६ करोड ७४ लाख लाग्ने अनुमान गरिएको विद्युत् विकास विभागका उपसचिव गोपिप्रसाद शाहले जानकारी दिनुभयो ।

आयोजनाबाट उत्पादन भएको विद्युत्् ३० दशमलव २० किमि लामो र १३२ केभी सिङ्गल सर्किट प्रशारण लाइनमार्फत जुम्ला बजारमा जोडिने छ । आयोजना निर्माण गर्नका लागि कुल ७ दशमलव ५८५ हेक्टर जग्गा आवश्यक पर्ने छ । जसमा वन क्षेत्रको जग्गा ४ दशमलव ७७२ हेक्टर र नीजी जग्गा २ दशमलव ८१३ हेक्टर रहेको विभागको उपसचिव शाहको भनाइ छ । स्थानीयलाई रोजगारीमा विशेष प्रथामिकता दिइने छ । निर्माण अवधिभर स्थानीय जनताले प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा व्यपार व्यवसाय गर्न सक्नेछन् । जसले गर्दा यहाँका नागरिकको आयआर्जनमा वृद्धिहुने अपेक्षा राखिएको तिला गाउँपालिका–७ का वडाध्यक्ष खुम्बिलाल रोकायाले जानकारी दिनुभयो ।

आयोजना निर्माण तथा सञ्चालनबाट कुल ३४ घरधूरी प्रत्यक्ष रूपमा प्रभावितहुने देखिन्छ । प्रत्यक्ष प्रभावित घरधूरीको विवरण आयोजना प्रभावित सम्बन्धित वडा कार्यालयमा टाँस गरिएको तिला जलविद्युत् आयोजनाले जनाएको छ । तिला जलविद्युत् आयोजनाको अध्ययन अवधि पुरा भएपछि निर्माणको काम अगाडि बढ्ने आयोजनाले जनाएको छ ।

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ, २० मङ्सिरः निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आयोग सबै हिसाबले तयारीमा रहेको बताउनुभएको छ ।

निर्वाचनको दिन आउन अब ९० दिन बाँकी रहेको अवस्थामा आज राष्ट्रिय समाचार समिति (रासस)सँग कुरा गर्दै कार्यबाहक प्रमुख आयुक्त भण्डारीले नेपाल सरकारले आयोगको मागबमोजिम आवश्यक सबै प्रबन्ध गरेको अवस्था र आयोगले कार्यतालिका तथा कार्यक्रम प्रकाशन गरी सोही अनुसार काम भइरहेकाले निर्वाचनको वातावरण थप सुनिश्चित भएको बताउनुभयो । उहाँले आजै प्रधानमन्त्री सुशीला कार्कीले डाक्नुभएको राजनीतिक दल, नेपाल सरकारका सम्बन्धित मन्त्री र सुरक्षा निकायका प्रमुखहरुसँगको छलफलमा आयोगले निर्वाचनका लागि आयोग तत्पर रहेको स्पष्ट राखेको बताउनुभयो ।

“हामीलाई बजेटको केही अपर्याप्तता थियो । अर्थ मन्त्रालयले माग वा खर्च हुने आधारमा थप रकम पनि निकासा दिने प्रतिबद्धता दिइसकेको छ”, कार्यबाहक प्रमुख आयुक्त भण्डारीले भन्नुभयो, “अब हामी नियमित कार्यक्रम अघि बढाउँछौँ । यो कुरा हामीले सरकार, राजनीतिक दल र सुरक्षा निकायलाई स्पष्ट भनेका छौँ ।”

निर्वाचनका लागि आयोगले करिब रु सात अर्ब बजेट माग गरेकामा अर्थ मन्त्रालयले रु पाँच अर्ब ९६ करोड स्रोत यसअघि सुनिश्चित गरिसकेको छ । आयोगले आजै समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचनमा भाग लिन चाहने राजनीतिक दलहरूलाई निवेदन दिन आव्हान गरेको छ । यसअघि यही मङ्सिर १४ गते सम्ममा निर्वाचनमा भाग लिने १२० राजनीतिक दलले आयोगमा निवेदन दिइसकेका छन् ।

यसैबीच राससले आफ्ना नियमित बुलेटिनमा निर्वाचनको दिनगणना (काउण्टडाउन) सहित समाचार र सामग्रीहरु महत्व दिन थालेकामा आभार व्यक्त गर्दै कार्यबाहक प्रमुख आयुक्त भण्डारीले मुलुकमा निर्वाचनमय वातावरण सृजनाका लागि राससजस्ता सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण हुने बताउनुभयो ।

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, २० मङ्सिर : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ६८ पैसा र बिक्रीदर १४४ रुपैयाँ २८ पैसा निर्धारण गरिएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १६७ रुपैयाँ ३४ पैसा र बिक्रीदर १६८ रुपैयाँ ०४ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९१ रुपैयाँ ५५ पैसा र बिक्रीदर १९२ रुपैयाँ ३५ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७८ रुपैयाँ ८३ पैसा र बिक्रीदर १७९ रुपैयाँ ५८ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ९५ रुपैयाँ २९ पैसा र बिक्रीदर ९५ रुपैयाँ ६९ पैसा, क्यानेडियन डलर एकको खरिददर १०३ रुपैयाँ ०६ पैसा र बिक्रीदर १०३ रुपैयाँ ४९ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११० रुपैयाँ ९१ पैसा र बिक्रीदर १११ रुपैयाँ ३७ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ २६ पैसा र बिक्रीदर नौ रुपैयाँ ३० पैसा, चिनियाँ युआन एकको खरिददर २० रुपैयाँ ३२ पैसा र बिक्रीदर २० रुपैयाँ ४१ पैसा , साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपैयाँ २९ पैसा र बिक्रीदर ३८ रुपैयाँ ४४ पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपैयाँ ४२ पैसा र बिक्रीदर ३९ रुपैयाँ ५८ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ५१ पैसा र बिक्रीदर चार रुपैयाँ ५३ पैसा, युएई दिराम एकको खरिददर ३९ रुपैयाँ १२ पैसा र बिक्रीदर ३९ रुपैयाँ २८ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३४ रुपैयाँ ९५ पैसा र बिक्रीदर ३५ रुपैयाँ १० पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ७५ पैसा र बिक्रीदर नौ रुपैयाँ ७९ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ २६ पैसा र बिक्रीदर १५ रुपैयाँ ३३ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ४१ पैसा र बिक्रीदर २२ रुपैयाँ ५० पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ४६ पैसा र बिक्रीदर १८ रुपैयाँ ५३ पैसा, कुवेती दिनार एकको खरिददर ४६८ रुपैयाँ १४ पैसा र बिक्रीदर ४७० रुपैयाँ ०९ पैसा, बहराइन दिनार एकको खरिददर ३८१ रुपैयाँ १४ पैसा र बिक्रीदर ३८२ रुपैयाँ ७३ पैसा , ओमनी रियाल एकको खरिददर ३७३ रुपैयाँ १९ पैसा र बिक्रीदर ३७४ रुपैयाँ ७५ पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।

राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली

काठमाडौँ, २० मङ्सिरः नेपाल विद्युत् प्राधिकरणले आज पशुपतिनाथ क्षेत्र, विमानस्थल, मित्रपार्क र बत्तीसपुतलीलगायतका स्थानमा बिद्युत् कटौती गर्ने भएको छ । विद्युत् वितरण प्रणाली भूमिगत तथा सुदृढीकरण आयोजनाले आज बिहान आठबजेदेखि मध्यान्न १२ बजेसम्म सो क्षेत्रमा बिजुली कटौतीका लागि आग्रह गरेको प्राधिकरणको बानेश्वर वितरण केन्द्रले जनाएको छ ।
मित्रपार्क पशुपति कलेज क्षेत्र, विमानस्थल फिडर अन्तर्गत गर्ने ढल किवास आयोजना, विमानस्थल आर्मी व्यारेकसम्म र बत्तीसपुतली फिडर अन्तर्गत चाबहिल दिर्घायु हस्पिटलदेखि जयवागेश्वरी हुँदै पशुपतिनाथ मन्दिरसम्म विद्युत् आपूर्ति बन्द रहने प्राधिकरणले जनाएको छ ।

यस्तै नयाँ चाबहिल नयाँबस्ती फिडर अन्तर्गत पर्ने मित्रपार्क अगाडि विद्युत् वितरण प्रणाली भूमिगत तथा सुदृढीकरण आयोजनाले बिहान ७ बजेदेखि आठबजेसम्म चाबहिलचोक र गौरीघाट चोकदेखि नयाँबस्ती पूरै क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुनेछ ।

बिजुली आपूर्ति नहुँदा ग्राहक वर्गमा पर्न जाने असुविधाप्रति प्राधिकरणले क्षमा मागेको छ । तोकिएको कार्य निर्धारित समय अगावै सम्पन्न भएमा विद्युत् आपूर्ति नियमित हुने प्राधिकरणको सूचनामा उल्लेख छ ।

गण्डकी प्रदेशको हिमाली हल्का वर्षा/हिमपातको सम्भावन

काठमाडौँ, २० मङ्सिर : हाल कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ ।आज राति गण्डकी प्रदेशको हिमाली भू–भागको एक–दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी तथा हिमाली भू–भागमा पनि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने छ ।आज दिउँसो सुदूरपश्चिम प्रदेशलगायत कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने विभागले जनाएको छ ।

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौँ, २० मङ्सिरः निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरुलाई विभिन्न २० बुँदे निर्देशन दिएको छ । आयोगले आगामी पुस ११ गते राष्ट्रियसभाको निर्वाचनको मिति तय गरेको छ । प्रतिनिधिसभा र राष्ट्रियसभाको निर्वाचनका लागि आवश्यक सहयोग गर्न आग्रह गर्दै आयोगले निर्देशन दिएको छ ।

निर्वाचनमा समावेशी समानुपातिक प्रतिनिधित्व कायम गर्दै निर्वाचनमा सुशासन कायम गर्नका लागि राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ५७ बमोजिम आयोगमा दर्ता भएका राजनीतिक दललाई आवश्यक निर्देशन दिइएको आयोगका सहायक प्रवक्ता प्रकाश न्यौपानेले जानकारी दिनुभयो ।

निर्वाचन प्रणालीमा समानुपातिक समावेशी प्रतिनिधित्व सुनिश्चित गर्न निर्वाचनमा प्रत्येक दलले प्रत्यक्षतर्फ उम्मेदवारी दिँदा त्यसको एकतिहाई नघटने गरी महिला उम्मेदवारको प्रतिनिधित्व सुनिश्चित गर्ने एवम लैङ्गिक तथा समावेशी प्रतिनिधित्व सुनिश्चित हुने गरी उम्मेदवार मनोनयनको व्यवस्था गर्नुपर्नेछ ।

राजनीतिक दलले दिगो विकासको लक्ष्यलाई ध्यानमा राखी सन् २०३० सम्म संसद्मा ४० प्रतिशत महिला प्रतिनिधित्व पुर्याउने नीति अख्तियार गर्ने विषयको प्रभावकारी कार्यान्वयनका लागि लैङ्गिक तथा समावेशी प्रतिनिधित्व सुनिश्चित हुनेगरी उम्मेदवार मनोनयनको व्यवस्था गर्नुपर्नेछ ।

यस्तै, राजनीतिक दलले निर्वाचनसँग सम्बन्धित क्रियाकलाप सञ्चालन गर्दा नेपालको संविधानप्रति निष्ठावान रही विभिन्न जातजाति, सम्प्रदाय, लिङ्ग, धर्म, भाषा, क्षेत्र र संस्कृतिको सम्मान गर्दै आपसी सुसम्बन्धमा खलल पार्ने कुनै गतिविधि गर्न पाइनेछैन ।

मतदानस्थल, मतदान केन्द्र, मतगणनास्थललाई लैङ्गिक तथा अपाङ्गमैत्री बनाउन आवश्यक सहयोग गर्ने, राजनीतिक दलको घोषणा पत्र लगायतका दस्तावेजमा लैङ्गिक तथा समावेशीसम्बन्धी व्यवस्थालाई उचित सम्बोधन गर्नुपर्नेछ ।

महिला, दलित वा अल्पसङ्ख्यक समुदायका लागि आरक्षण गरिएका पद बाहेकका पदमा उम्मेदवार मनोनयन गर्दा कम्तिमा एक तिहाई महिला र नेपालको सामाजिक विविधता प्रतिविम्वित हुने गरी समानुपातिक समावेशी सिद्धान्तका आधारमा उम्मेदवार मनोनयन गर्नुपर्नेछ । राजनीतिक दलबाट सञ्चालन गरिने प्रशिक्षण, गोष्ठी, तालिम, सेमिनार, छलफल तथा अन्तरक्रिया आदि कार्यक्रममा महिला, समावेशी समूह तथा लक्षित वर्गको सहभागितालाई सुनिश्चितता गर्नुपर्नेछ ।

निर्वाचन प्रचारप्रसार गर्दा महिला, बालबालिका, अपाङ्गता भएका व्यक्ति एवम समावेशी समूह वा अन्य कुनै पनि उम्मेदवारलाई प्रत्यक्ष वा अप्रत्यक्ष धम्की दिने, व्यक्तिगत लाञ्छना लगाउने, गालीगलौज गर्ने, हतोत्साहित गर्ने, चरित्र हत्याका प्रयास गर्ने एवम कमजोरी देखाउने जस्ता विभेदजन्य कार्य नपाइने व्यवस्था गरिएको छ । ज्येष्ठ नागरिक, महिला, यौनिक तथा लैंगिक अल्पसङ्ख्यक तथा अपाङ्गता भएका व्यक्तिहरूको भावना, इज्जत, चरित्र एवम् प्रतिष्ठामा आँच आउन सक्ने, आत्मसम्मानमा चोट पुग्ने प्रकारले कुनै किसिमको प्रचारप्रसार गर्न पाइने छैन ।

राजनीतिक दलले सामाजिक सञ्जालमा प्रयोग गर्ने भाषामा महिला तथा समावेशी समूहका व्यक्तिको भावनामा नकारात्मक असर पर्ने गरी गलत, भ्रामक वा द्वेषपूर्ण सूचना प्रवाह नहुने कुराको सुनिश्चितता गर्नुपर्ने आयोगको निर्देशनमा उल्लेख छ । राजनीतिक दलले निर्वाचनको प्रचारप्रसार गर्दा निर्वाचनमा लैङ्गिक तथा समावेशीता, निर्वाचनको महत्व र मतदान गर्ने तरीकालगायतका विषयमा मतदातालाई सुसूचित गर्ने गरी आवश्यक व्यवस्था मिलाउनुपर्नेछ ।

राजनीतिक पदाधिकारी, सदस्य र कार्यकर्ताले पालना गर्नुपर्ने आचारसंहिता बनाई लागु गर्नुपर्ने र त्यस्तो आचारसंहिता सम्बन्धित दल, दलका पदाधिकारी, सदस्य र कार्यकर्ताले पालना गर्नुपर्नेछ । त्यस्तो आचारसंहिता पालना नगर्ने दलका पदाधिकारी, सदस्य तथा कार्यकर्तालाई दललको विधान बमोजिम कारवाही गर्नुपर्ने भन्ने कानुनी व्यवस्थालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्नेछ ।

राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रममा उल्लिखित समयभित्र निर्वाचन अधिकृतको कार्यालयमा समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूची पेश गरेपछि त्यसरी पेश गरेको वन्दसूची सम्बन्धित दलले सार्वजनिक गर्नुपर्नेछ । राजनीतिक दलले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रियता र स्वाधीनतामा खलल पार्ने एवम् जातीय वा साम्प्रदायिक विद्धेष फैलाउने वा बिभिन्न जात,जाति, धर्म र सम्प्रदाय बीचको सुसम्बन्धमा खलल पार्ने जस्ता हिँसात्मककार्य गर्न बन्देज गरिएको छ । सरकारी, सार्वजनिक, सामुदायिक वा नीजि सम्पतिको तोडफोड हानि नोक्सानी वा क्षति पुर्याउने वा पुर्याउन लगाउने तथा सार्वजनिक नैतिकताको प्रतिकूल हुने कार्य नगर्ने र नगराउने व्यवस्था मिलाउनुपर्नेछ ।

राजनीतिक दलले निर्वाचन घोषणापत्र बनाइ आयोगमा पेश गर्ने र सो घोषणापत्रको आधारमा निर्वाचन प्रचारप्रसार गर्ने व्यवस्था मिलाउनुपर्नेछ । राजनीतिक दलहरूले राजनीतिक गतिविधि गर्दा बालबालिकालाई प्रयोग नगर्ने नगराउने व्यवस्था मिलाउनुपर्नेछ । यस्तै, दलले राजनीतिक वा निर्वाचनसँग सम्बन्धित गतिविधि गर्दा एक दलले अर्को दललाई वाधा अरोध गर्ने, थुनछेक गर्ने वा गराउने, निषेध गर्ने वा गर्न लगाउने जस्ता अलोकतान्त्रिक कार्य गर्न पाइनेछैन ।

आइटिएफ टेनिसः नेपालकी शिवाली फाइनलमा

कास्की, १९ मङ्सिरः पोखरामा यही मङ्सिर १५ गतेदेखि आइटिएफ वल्र्ड टेनिस टुर जुनियर्स जे–३० प्रतियोगिता सञ्चालन भइरहेको छ । पोखरा रङ्गशालाको टेनिस सेन्टरमा जारी प्रतियोगिताको आज सम्पन्न सेमिफाइनल खेलमा पुरुष एकलतर्फ कोरियाका युल हो जुङ र श्रीलङ्काका गानुका फर्नान्डो फाइनलमा प्रवेश गरेका छन् ।

त्यसैगरी, महिलातर्फ नेपालकी शिवाली गुरुङ र चाइनिज ताइपेइकी केचि सु उपाधि नजिक पुगेका छन् । पुरुषतर्फ कोरयाका युलले प्रतियोगितामा जुनियर शीर्ष वरियताका चाइनिज ताइपेइका टिङ हो याङलाई ३–६, ६–३, ७–६ (१) ले पराजित गरी जित निकाल्दै फाइनलमा स्थान बनाएका हुन् । त्यस्तै, आजै भएको सेमिफाइनल खेलमा श्रीलङ्काका गानुकाले नेपालका प्रणव मानन्धरलाई ६–४, ६–२ को सोझो सेटमा हराउँदै फाइनल स्थान सुरक्षित गरेका छन् ।

महिला एकलतर्फ चाइनिज ताइपेइकी सुले भारतकी अनन्या जैनलाई ६–२, ६–० को सोझो सेटमा पराजित गर्दै फाइनलमा स्थान बनाउकी छिन् भने अर्काे सेमिफाइनलमा नेपालकी गुरुङले भारतकी जुनियर दोस्रो वरियताकी कार्तिकालाई ६–२, ३–६, ६–१ ले हराउँदै फाइनलमा प्रवेश गरेकी हुन् ।

प्रतियोगितामा ‘पुरुष डबल्स’तर्फ कोरियाका हियोजिन हा र युल हो जुङको जोडीले भारतका फजल अली मिर र हङकङका सेल्विन युएन वङको जोडीलाई ३–६, ६–३, १०–८ ले हराउँदै उपाधि जित्न सफल भएका छन् । महिला डबल्सतर्फ शिवाली गुरुङ र केचि सुको जोडीले भारतकी सौम्या चटर्जी र रञ्जना सग्रामको जोडीलाई ६–२, ६–२ ले पराजित गर्दै उपाधि जितेका छन् ।

जारी प्रतियोगिताको सर्किट–१ अन्तर्गतको फाइनल खेल शनिबार हुने आयोजक कास्की टेनिसका अध्यक्ष राजकुमार गुरुङले जानकारी दिएका छन् । यही दुई सातासम्म सञ्चालन हुने आइटिएफ वल्र्ड टेनिस टुर जे ३० सर्किट–१ र २ अन्तर्गत १६ देशका ८० खेलाडीको सहभागिता रहेको छ । जसमा पुरुषतर्फ ५५ र महिलातर्फ २५ जना रहेका छन् ।

प्रतियोगितामा नेपालसहित भारत, चीन, अमेरिका, न्युजील्याण्ड, ताइवान, बङ्गलादेश, क्यानाडा, अस्ट्रेलिया, कोरिया, बेलायत, सिङ्गापुर, मलेसिया, श्रीलङ्का, इजरायल र हङकङका खेलाडीको सहभागिता छ । प्रतियोगितामा विभिन्न चार विधामा प्रतिस्पर्धा हुनेछ ।

प्लेअफ पुग्दा उत्साहित छौँः लुम्बिनीका कप्तान पौडेल

काठमाडौँ, १९ मङ्सिरः राजधानीमा जारी एनपिएल क्रिकेटमा लुम्बिनी लायन्स प्लेअफमा सुरक्षित भएको छ । आज सम्पन्न जनकपुर बोल्ट्सविरुद्धको खेलमा चार विकेटको जित निकाल्दै लुम्बिनी प्लेअफ पुग्ने अन्तिम टोलीसमेत बनेको छ । चार खेलबाट आठ अङ्क जोड्दै लुम्बिनी प्लेअफ पुग्दा जनकपुरसहित पोखरा र चितवन लिग चरणको अन्तिम खेल्न बाँकी छँदै बाहिरिएका छन् । यसअघि सुदूरपश्चिम, काठमाडौँ र विराटनगर प्लेअफमा सुरक्षित भइसकेका छन् ।

आजको जितमा लुम्बिनीका कप्तान रोहित पौडेलले म्याच विनर पारी खेले । उनी प्लेयर अफ दी म्याचसमेत चुनिए । जितसँगै प्लेअफमा पुगेपछि कप्तान रोहित पौडेलले सञ्चारकर्मीसँग उत्साहित भएको प्रतिक्रिया दिए ।

उनले भने, “प्लेअफ पुग्दा एकदमै खुसी छौँ । अबका खेलमा राम्रो गरेर उपाधि जित्छौँ भन्ने लागेको छ ।” आफ्ना लागि कुनै पनि टिम बलियो नरहेको बताउँदै उनले सहज जित निकाल्नेमा विश्वास व्यक्त गरे । उनले भने, “अबका खेलहरू भनेका नकआउट जस्तै हुन् । कुनै पनि टोलीसँग खेल्न हामीलाई गाह्रो हुँदैन ।”जनकपुर बोल्ट्स कप्तान जान निकोल लफ्टि इटनले अन्तिम खेल प्रतिष्ठा, समर्थक र व्यवस्थापनका लागि खेल्ने बताउनुभयो ।

सर्वदलीय बैठकमा प्रधानमन्त्री आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ, १९ मङ्सिर : प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी पनि शान्तिपूर्ण, भयरहित वातावणमा निर्वाचन सम्पन्न गर्ने प्रतिबद्धता दोहोर्याउनुभएको छ । प्रधानमन्त्रीले आज बालुवाटारमा आह्वान गर्नुभएको सर्वदलीय बैठकलाई सम्बोधन गर्दै निर्वाचन आयोग, सुरक्षा निकायका सबै अङ्गलगायत निर्वाचनसँग प्रत्यक्ष जोडिएका राज्यका निकायहरू निर्वाचनका लागि तयार रहेको जनाउँदै प्रतिनिधिसभाको निर्वाचन फागुन २१ भन्दा पछाडि नजाने प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।

उहाँले भन्नुभयो, “चुनाव हुन्छ कि हुँदैन भन्ने अब नसोचौँ, कसरी चुनाव सफल पार्ने भनेर सोचौँ, सबैले एकचित्तले सोचेमा चुनाव नहुने कुरै छैन, एक सय २६ वटै दलले चुनाव हुनुपर्छ भन्ने धारणा राख्नुपर्छ । हामी एकमत भयौँ भने निर्वाचनमा कसैले खलल पार्न सक्दैन, खराब तत्वले आक्रमण गर्न सक्दैन ।” उहाँले सुरक्षाको पहिलो कडी जनता नै भएको उल्लेख गर्दै त्यसपछि मात्र प्रहरी, सशस्त्र, भूतपूर्व सुरक्षाकर्मी भएको उल्लेख गर्नुभयो ।

प्रधानमन्त्री कार्कीले भन्नुभयो, “अहिलेको परिस्थितिमा हरेकले भनिरहेको एउटैमात्र बाटो निर्वाचन हो, यसबाहेक अर्को विकल्प छैन, हामी जेनजी आन्दोलनबाट आयौँ तर दलका विरोधी होइनौँ, राजनीतिक दललाई स्थापित गर्न नै चुनाव चाहिएको हो भनेर यहाँहरूले बुझ्नुपर्छ”, उहाँले भन्नुभयो, “निर्वाचन आयोगले तत्कालै सक्रिय भएर निर्वाचनको तयारी अघि बढाएको छ, सुरक्षा निकायको प्रस्तुतिले हामी सक्रिय र सक्षम छौँ भनेको छ, सेनाले पनि आफ्नो काम सुरु गरिसकेको छ, प्रहरीले निरन्तर कानुनीराज स्थापनाका लागि काम गरिरहेको छ ।”

प्रधानमन्त्री कार्कीले आज भएको सर्वदलीय बैठकले दलहरू पनि निर्वाचनका लागि तयार रहेको जनाएको उल्लेख गर्नुभयो । “आज जुन भेला भयो, अहिलेसम्मकै महत्त्वपूर्ण हो भन्ने लागेको छ, समग्रमा निर्वाचन होस् र हुनुपर्छ भन्ने आवाज नै यहाँ सबैको रह्यो, कहीँकतै आशङ्काका कारण छन् भने पनि तिनले हामीलाई सचेत गराउँछन् र अगाडि बढ्न मद्दत गर्छन् ।”

उहाँले भदौ २३ र २४ गते भएको आन्दोलनको स्मरण गर्दै एकताबद्ध भएर अगाडिको बाटो पहिल्याउन दलहरूलाई आग्रह पनि गर्नुभयो । उहाँले भन्नुभयो, “हामीकहाँ जुन घटना भयो, त्यसको विश्लेषण, व्याख्या समयक्रममा होला र निचोड पनि आउला, तर यस घटनाले राष्ट्रको जीवनमा ठूलो परिवर्तन ल्याइदियो । भइरहेको निर्वाचित र बलियो सरकार परिस्थितिलाई वशमा लिन विफल भयो ।” युवा विद्रोहपछि विकल्पका रूपमा वर्तमान सरकार अन्तरिमकालको व्यवस्थापनका लागि आएको प्रष्ट पार्दै सरकारको विरुद्धमा अदालतबाट अन्तरिम आदेश भएको परिस्थिति फरक हुनसक्ने बताउनुभयो ।

जेनजीदेखि सबै दल, निर्वाचन आयोग, सुरक्षा निकाय, नागरिक समाज सबै पक्षसँग निरन्तर र कयौँपटक छलफल गर्दै आएको र आशङ्काहरू निवारण गर्दै आएको उहाँको भनाइ छ । “मुलुकप्रति हामी सबैको दायित्व छ । मुलुकले एउटा बाटो पाओस्, जेनजी आन्दोलनको मागअनुसार मुलुकले गति र दिशा लेओस्, तर २३ गते निहत्था युवा मारिए, भोलिपल्ट आगजनी भयो । यो कसले किन गरेको, अध्ययनले बताउने नै छ”, उहाँले भन्नुभयो ।

तर, उहाँले आगजनी गर्ने बानी भयो भने भोलि जोकोहीले जोकसैलाई जलाउन सक्ने चिन्ता व्यक्त गर्दै हिंस्रक र हृदयविदारक अवस्थाको सामना गर्नु नपरोस् भनेर सबैले सोच्नुपर्नेमा जोड दिनुभयो । “काठमाडौँमा धेरै क्षति भयो, ललितपुरमा कम भयो । ललितपुरमा किन कम भयो भनेर पनि हेर्नुपर्छ, ललितपुरका जनताले धेरै ठाउँमा विध्वंशको प्रतिकार गरेको देखियो । यसरी खराब तत्वलाई रोक्ने सामथ्र्य पनि समाजमा हुनुपर्छ, हामीले आफ्नै छिमेकी, साथीभाइको घर किन जलाउनबाट जोगाउन सकेनौँ, यो चिन्ताको विषय हो । यसमा हामीले क्षमायाचना पनि गरौँ ।” उहाँले सरकारको कुनै पनि निजी स्वार्थ र आकाङ्क्षा नभएको प्रस्ट पार्दै केही अतिरिक्त प्राप्तिका लागि सरकारले कुनै पनि नगरेको बताउनुभयो ।

विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न उज्यालो नेपाल पार्टीको माग

काठमाडौँ, १९ मङ्सिर : उज्यालो नेपाल पार्टीले विदेश तथा आफ्नो निर्वाचन क्षेत्र बाहिर रहेका नेपाली नागरिकको मताधिकार सुनिश्चित गर्नुपर्ने माग गर्दै निर्वाचन आयोगमा आज ज्ञापनपत्र बुझाएको छ ।

सो पार्टीले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा प्रत्यक्ष र समानुपातिक दुवै निर्वाचन प्रणालीमा सुरक्षित, गोप्य र सहज रूपमा मतदान गर्न सक्ने व्यवस्था मिलाउन आयोगसमक्ष माग गरेको हो ।

सो पार्टीले विभिन्न कारण नेपाल बाहिर रहेका मतदातालाई मताधिकार सुनिश्चित गर्न लाखौँ नेपाली र देशभित्रै आफ्नो निर्वाचन क्षेत्रभन्दा बाहिर रहेका नेपालीले संविधानको धारा ८४ (५) तथा २०७४ साल चैत ७ गते सर्वोच्च अदालतबाट जारी भएको परमादेशअन्तर्गत प्राप्त मतदान अधिकार व्यवहारमा प्रयोग गर्नुपर्ने माग गरेको प्रवक्ता डा राजु थापाले जानकारी दिनुभयो ।

पार्टीले भनेको छ, “रोजगार, अध्ययन तथा बसोबासको कारण देश बाहिर रहेका लाखौँ नेपाली नागरिक र देशभित्रै मतअधिकारबाट वञ्चित भएका छ्न, उहाँहरुको मतअधिकारको सुनिश्चित गरिनुपर्छ ।” सरकार र राज्यका सरोकारवाला निकायले आगामी फागुन २१ गते हुने निर्वाचन गतिविधिलाई तीव्रता दिएका छन् ।

कृषि क्षेत्रको विकासका लागि सरकारले कृषियोग्य जमिन छुट्याउने

काठमाडौँ, १९ मङ्सिर : सरकारले कृषि क्षेत्रको विकासका लागि कृषियोग्य जमिन छुट्याउने भएको छ । कृषियोग्य जमिनको संरक्षणका लागि कृषि र गैरकृषि जग्गा वर्गीकरण गर्न लागिएको भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्रालयले जनाएको हो ।

सबै स्थानीय तहले जग्गाको कित्तागत विवरण सहितको भूउपयोग क्षेत्र वर्गीकरण गरी मन्त्रालयमा विवरण पठाउन परिपत्र गरिएको छ । मन्त्रालयका प्रवक्ता गणेशप्रसाद भट्टले कृषि र गैरकृषि जग्गाको वर्गीकरण छिट्टै भएमा त्यसको आधारमा कृषियोग्य जग्गाको संरक्षण, खण्डीकरण नियन्त्रण, चक्लाबन्दी कार्यक्रममार्फत कृषि उत्पादन वृद्धि र खाद्य सुरक्षाको प्रत्याभूति गर्न सहज हुने जानकारी दिनुभयो ।

सरकारले हालै गरेको भूउपयोग नियमावली तेस्रो संशोधनमा स्थानीय तहलाई भूमिको वर्गीकरण, भूउपयोग योजना तर्जुमा र कार्यान्वयन गर्ने अधिकार दिइएको छ । स्थानीय तहको हरेक कित्ता जग्गा कृषियोग्य भए÷नभएको छुट्याएर वर्गीकरण गरिने छ ।

जमिनलाई कृषि, आवासीय, व्यावसायिक, औद्योगिक, खानी तथा खनिज, वन तथा जङ्गल, सांस्कृतिक तथा पुरातात्विकलगायतको आधारमा वर्गीकरण गरिने जनाइएको छ । व्यवस्थित सहरीकरण र सुरक्षित आवासको व्यवस्थापन तथा पूर्वाधार विकास, प्राकृतिक स्रोतसाधनको संरक्षणका लागि आवश्यक योजना निर्माण गर्न सकिने मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्री डा गौतमद्वारा स्वास्थ्य बिमा सुधार्न छलफल

काठमाडौँ, १९ मङ्सिरः स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा गौतमले स्वास्थ्य बिमा सुधार गर्नका लागि गर्नुपर्ने पहलबारे सरोकार भएका निकायका प्रतिनिधिसँग छलफल गर्नुभएको छ । मन्त्रालयमा आज उहाँले सामाजिक सुरक्षा कोष र स्वास्थ्य बिमा बोर्डका पदाधिकारीसँग स्वास्थ्य बिमा सुधारका लागि गर्नुपर्ने पहलका सम्बन्धमा छलफल गर्नुभएको हो ।

मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले छलफलमा सामाजिक सुरक्षा कोषद्वारा सञ्चालित कार्यक्रमको असल अभ्यास र समस्याबारे छलफल भएको जानकारी दिनुभयो । “नेपालमा स्वास्थ्य बिमाको पहुँच र गुणस्तर बढाउन मन्त्रालय, कोष र बोर्डबीच सहकार्यका विषयमा गहन छलफल भएको छ । जसले स्वास्थ्य बिमामा थप सुधारका लागि मार्गदर्शन गर्ने अपेक्षा गरिएको छ”, उहाँले भन्नुभयो ।

छलफलमा मन्त्रालयका सचिवद्वय डिल्लीराम शर्मा र डा विकास देवकोटा, स्वास्थ्य सेवा विभागबाट महानिर्देशक डा केशरबहादुर ढकाल, सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कविराज अधिकारी र स्वास्थ्य बिमा बोर्डका कार्यकारी निर्देशक डा रघुराज काफ्लेलगायत सरोकार भएका निकायका प्रतिनिधिको उपस्थिति थियो ।

संयुक्त बैठकपछि निर्वाचनमा जाने बाटो अझ बलियो बनेको छ : सञ्चारमन्त्री खरेल

काठमाडौँ, १९ मङ्सिर : सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सरकार, प्रमुख राजनीतिक दल, निर्वाचन आयोग र सुरक्षा प्रमुखहरूको संयुक्त बैठकले निर्वाचनको वातावरण थप बलियो बनेको बताउनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको सर्वपक्षीय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री खरेलले संयुक्त बैठक उपलब्धिपूर्ण रहेको र यसले निर्वाचनको माहोल तयार गरेको उल्लेख गर्नुभयो ।

सञ्चारमन्त्री खरेलले भन्नुभयो, “संयुक्त बैठकपछि निर्वाचनमा जाने बाटो अझ बलियो बनेको छ । निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्ने वातावरणको सुनिश्चित भएको छ ।”

यसअघिका बैठकहरू द्विपक्षीय र त्रिपक्षीय हुँदै आएकामा निर्वाचनसँग सरोकार भएका सबै सरोकारवालासँग एकै थलोमा भएको बैठक र छलफलले निर्वाचनको माहोल बनेको उहाँको भनाइ छ ।

मन्त्री खरेलले सरकारका तर्फबाट खासगरी संयुक्त सुरक्षाको कार्ययोजना र रणनीति तयार गरी कार्यान्वयनको चरणमा रहेको जानकारी दिँदै यसैमा केन्द्रित रहेर सम्भावित सुरक्षा चुनौती र व्यवस्थापकीय सरोकारबारे गहन ढङ्गले छलफल भएको बताउनुभयो ।

“विगतका निर्वाचनहरूमा जेजस्ता चुनौतीहरू देखिएका थिए, ‘फेक न्यूज’, ‘मिस इन्फरमेसन’, ‘डिसइन्फरमेसन’बारे खुलेर कुराकानी भएको छ”, उहाँले भन्नुभयो, “यी सवालमा सुरक्षा निकायका प्रमुखहरूले सुरक्षा चुनौतीको सामना गर्ने तयारी तथा निर्वाचनको सुरक्षाको सम्पूर्ण वातावरण बनाउन सरकारको प्रतिबद्धता पनि आएको छ । केही दलले सुरक्षालगायतको वातावरण बनाउन चासो देखाएका छन्, सरकार त्यसप्रति सचेत छ ।”

मन्त्री खरेलले पछिल्लो समय सरकारले निर्वाचनको वातावरणका लागि संवादलाई निरन्तरता दिएको, जनता उत्साहित भएको र राजनीतिक दलहरू पनि निर्वाचनको माहोल बनाउन केन्द्रित रहेको बताउनुभयो ।

सरकारका प्रवक्तासमेत रहनुभएका सञ्चारमन्त्री खरेलले जेनजी आन्दोलनको जगमा बनेको वर्तमान सरकारले जेनजी सहिद र घाइते परिवारको सरोकारका विषयलाई विशेष प्राथमिकता दिएको उल्लेख गर्नुभयो । फागुन २१ गतेका लागि तोकिएको निर्वाचनको सन्दर्भमा आज सरकार, प्रमुख राजनीतिक दलहरू, निर्वाचन आयोग र सुरक्षा निकायका प्रमुखहरूबीच संयुक्त बैठक भएको हो ।

छ दिनमा १२ जना फरार प्रतिवादी पक्राउ

घोराही (दाङ), १९ मङ्सिरः जिल्ला प्रहरी कार्यालय दाङले अदालतबाट फैसला भएका तर पक्राउ नपरेका फरार प्रतिवादीलाई पक्राउ गर्ने कामलाई तीव्र बनाएको छ । पछिल्लो छ दिनमा जिल्ला प्रहरी कार्यालयले १२ जना फरार प्रतिवादीलाई पक्राउ गरेको हो ।

यही मङ्सिर १४ देखि १९ गतेसम्म जिल्लाका विभिन्न स्थानबाट १२ जना फरार प्रतिवादीलाई पक्राउ गरिएको कार्यालयका प्रवक्ता चक्रबहादुर शाहले जानकारी दिनुभयो । उहाँका अनुसार पक्राउ परेका १२ जनाबाट ११ वर्ष १० महिना १० दिन कैद सजाय भुक्तान हुन बाँकी छ भने रु २३ हजार ५२ जरिवाना असुलउपर गर्नुपर्ने छ । सोही कारणले निजहरूलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालतमा बुझाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यसैबीच, जिल्ला प्रहरी कार्यालयले जिल्लाका विभिन्न खोला तथा नदीहरूबाट अवैध नदीजन्य वस्तु उत्खनन गर्ने सवारीसाधनलाई नियन्त्रणमा लिने तथा जरिवाना तिराउने कार्यक्रमलाई पनि तीव्रता दिएको छ । मङ्सिर १ देखि मङ्सिर १९ गतेसम्म जिल्लाका विभिन्न स्थानमा अवैध रूपमा ढुङ्गा, बालुवा उत्खनन गर्ने १८ वटा सवारीसाधनलाई नियन्त्रणमा लिइएको प्रवक्ता शाहले जानकारी दिनुभयो ।

उहाँका अनुसार १३ वटा ट्याक्टर कारबाहीमा पर्दा रु दुई लाख २० हजार, तीनवटा टिपटरबाट रु एक लाख २७ हजार ५४०, दुईवटा जेसिबीबाट रु ९० हजार जरिवाना सङ्कलन गरिएको छ । कारबाहीमा परेका १८ सवारीसाधनका धनीबाट जरिवाना लिएपश्चात् सम्बन्धित व्यक्तिको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

रुस भारतका लागि ऊर्जाको भरपर्दो आपूर्तिकर्ता हुनेछ : राष्ट्रपति पुटिन

भारतको द्रुत बृद्धि भइरहेको अर्थतन्त्रका लागि रूस एक स्थिर र निर्बाध आपूर्तिकर्ता रहने घोषणा भारत भ्रमणमा रहेका रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले शुक्रबार बताउनुभएको छ।भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको संयुक्त प्रेस सम्बोधनका क्रममा उहाँले भन्नुभयो, “रुसले ऊर्जाको क्षेत्रमा भारतसँग सफल साझेदारीको सम्भावना देखिरहेको छ । भारतको ऊर्जाको विकासका लागि आवश्यक तेल, ग्यास, कोइला र सबै चीजको भरपर्दो आपूर्ति रूसले गर्नेछ । हामी द्रुत बृद्धि भइरहेको भारतीय अर्थव्यवस्थाको लागि इन्धनको निर्बाध ढुवानी जारी राख्न तयार छौँ।

परम्परागत इन्धन सहयोगभन्दा धेरै क्षेत्रमा सहयोग विस्तार भइरहेको छ । पहिले नै भइरहेको प्रमुख संयुक्त आणविक ऊर्जा पहलको प्रकाश पार्दै उहाँले भन्नुभयो, “रूसले ‘भारतमा सबैभन्दा ठूलो आणविक ऊर्जा प्लान्ट निर्माण गर्न एक प्रमुख परियोजना’ सञ्चालन गरिरहेको छ।”

उहाँले थप्नुभयो, “दुबै देशहरूले ‘साना ‘मोड्युलर रिएक्टर’हरू र तैरिरहेका आणविक ऊर्जा प्लान्टहरूको निर्माण, र आणविक प्रविधिहरूको गैर–ऊर्जा अनुप्रयोगका लागि चिकित्सा वा कृषिमा पनि अन्वेषण गर्न सक्ने सम्भावनाको उद्घोष गर्नुभयो ।”

उहाँले ‘उद्योग, मेशिन निर्माण, डिजिटल प्रविधि, अन्तरिक्ष अन्वेषण र अन्य विज्ञानको क्षेत्रमा गहन सम्भावनाबारे’ पहल गर्दै उच्च प्रविधि र औद्योगिक क्षेत्र’हरूमा बढ्दो सहयोगमा पनि लगानी भइरहेको र यसलाई विकास गरिने बताउनुभयो ।

उहाँले थप्नुभयो,“रूसले भारतको घरेलु उत्पादन ढाँचामा आफ्नो भूमिका विस्तार गर्नेछ । “रूसले मेक इन इन्डिया कार्यक्रमको ढाँचामा औद्योगिक उत्पादनहरूको उत्पादन पनि स्थापित गर्नेछ, जुन प्रधानमन्त्री मोदीको पहिचानको प्रतिष्ठित परियोजना हो।

रणनीतिक र आर्थिक सम्बन्धबाहेक दुई देशबीचको सांस्कृतिक र मानवीय सम्बन्धको गहिराइलाई प्रकाश पार्दै पुटिनले भन्नुभयो, “सहयोग ‘बहुआयामी’ छ र भारतीय र रूसी जनता ‘शताब्दीयौँदेखि एक अर्काको परम्परा, इतिहास र आध्यात्मिक मूल्यहरूमा इमानदारीपूर्वक चासो राख्छन्।”उहाँले युवा र जनताबीच वैज्ञानिक र शैक्षिक सम्पर्क र आदानप्रदान पनि सक्रिय रूपमा विकसित भइरहेको बताउनुभएको छ।

युक्रेनी शान्तिको लागि आफ्नो योगदानका लागि भारत तत्परः प्रधानमन्त्री मोदी

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले युक्रेन मुद्दामा शान्तिका लागि भारतले गरेको वकालत दोहो¥याउनुभएको छ । यस मुद्दाको शान्तिपूर्ण समाधानका लागि गरिएका सबै प्रयासको भारतले स्वागत गरेको उहाँले बताउनुभएको छ।

रूसी राष्ट्रपति पुटिनको भारत भ्रमणपछि जारी संयुक्त प्रेस वक्तव्यमा उहाँले भन्नुभयो, “भारतले सुरुदेखि नै युक्रेनको मुद्दामा शान्तिको वकालत गर्दै आएको छ । हामी यस मामिलाको शान्तिपूर्ण र स्थायी समाधानको लागि गरिएका सबै प्रयासहरूको स्वागत गर्दछाँैं। भारत आफ्नो योगदान दिन सधैँ तयार छ र भविष्यमा पनि रहनेछ।”

उहाँले भन्नुभयो, “भारत र रुस आतङ्कवादविरुद्धको लडाइँमा लामो समयदेखि काँधमा काँध मिलाएर उभिएका छन् । पहलगाममा भएको आतंकवादी आक्रमण होस् वा क्रोकस सिटी हलमा कायरतापूर्ण आक्रमण होस्, यी सबै घटनाको जड एउटै हो । भारतको अटल विश्वास यो छ कि आतङ्कवाद मानवताको मूल्यहरूमाथिको प्रत्यक्ष आक्रमण हो र यसको विरुद्ध विश्वव्यापी एकता हाम्रो सबैभन्दा ठूलो शक्ति हो।”

प्रधानमन्त्री मोदीले भन्नुभयो, “मलाई पूर्ण विश्वास छ आगामी दिनमा हाम्रो मित्रताले हामीलाई विश्वव्यापी चुनौतीहरूको सामना गर्न शक्ति दिनेछ र यही विश्वासले हाम्रो साझा भविष्यलाई समृद्ध बनाउनेछ।”

यसअघि राष्ट्रपति पुटिनसँगको द्विपक्षीय भेटका क्रममा प्रधानमन्त्री मोदीले राष्ट्रिय राजधानीमा रूसी राष्ट्रपति पुटिनसँग द्विपक्षीय शिखर सम्मेलनमा आफ्नो उद्घाटन मन्तव्यमा भारत युक्रेनी शान्तिको पक्षमा उभिएको साथै युद्धबारे भारतको मत तटस्थ नरहेको बताउनुभएको थियो ।

उहाँले भन्नुभयो, “हालैका दिनहरूमा मैले विश्व समुदायका नेताहरूसँग युक्रेनबारे व्यापक छलफल गरेको छु, मैले सधैं भनेको छु कि भारत युद्धबारे तटस्थ छैन। भारतको स्पष्ट अडान छ र त्यो अडान शान्तिको पक्षमा छ । हामी शान्तिको लागि हरेक प्रयासको समर्थन गर्दछौँ। भारत शान्तिको पक्षमा छ र विश्व शान्तिमा फर्कनु पर्छ।”

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको संयुक्त वक्तव्यमा प्रधान मन्त्री नरेन्द्र मोदीले भारत–रुस सम्बन्धलाई गहिरो बनाउनमा पुटिनको दूरदर्शी नेतृत्वको प्रशंसा गर्नुभयो र विश्वव्यापी चुनौतीहरूको बाबजुद मित्रता दृढ रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “देशहरूले सन् २०३० सम्म ‘आर्थिक सहयोग कार्यक्रम’ को बारेमा छलफल गरेका छन् र ‘यूरेसियन इकोनोमिक युनियन’ सँग स्वतन्त्र व्यापार सम्झौतालाई छिटो निष्कर्षमा पुर्याउने दिशामा काम गरिरहेका छन्।भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा दुई दिने राजकीय भ्रमणका लागि पुटिन चार वर्षपछि पहिलो पटक भारत भ्रमणमा आउन लाग्नुभएको हो ।”