`

सागसब्जीखेती प्रवर्द्धन गर्न भोजपुरको भुल्केमा ‘एक घर, एक टनेल’ कार्यक्रम

भोजपुर, २९ चैतः सागसब्जीखेती प्रवर्द्धन गर्ने उद्देश्यले रामप्रसादराई गाउँपालिका–३ भुल्केमा ‘एक घर,एक टनेल’कार्यक्रम सञ्चालन भएको छ । किसानलाई व्यावसायिक सागसब्जीखेतीमा जोड्न गाउँपालिकाले ‘एक घर एक प्लाष्टिक टनेल’ कार्यक्रम सञ्चालन गरेको हो ।

गाउँपालिकाको ‘नेपाल जलवायु अनुकूलन कार्यक्रम’मार्फत रु १० लाख र वडाले रु तीन लाख ५० हजार बजेट विनियोजन गरेर किसानलाई टनेल वितरण गरेको रामप्रसादराई–३ भुल्केका वडाध्यक्ष रामु थापामगरले बताउनुभयो ।

किसानको ५० प्रतिशत लागत साझेदारीमा प्लाष्टिक टनेलसहित अन्य कृषि सामग्री वितरण गरिएको वडाध्यक्ष थापामगरले जानकारी दिनुभयो । किसानको मागको आधारमा पहिलो चरणमा वडाका १२१ जना किसानलाई टनेल वितरण गरिएको उहाँले जानकारी दिनुभयो ।

“भुल्के क्षेत्रलाई सागसब्जीमा नमूना बनाउने लक्ष्यका साथ अघि बढेका छौँ”, वडाध्यक्ष थापामगरले भन्नुभयो, “यो वर्ष हामीले किसानको लागत साझेदारीमा कृषि सामग्री वितरण गरेका छौँ । तरकारीको लागि उपयुक्त भूगोल रहेकाले यसको खेतीमा जोड दिएका हौँ ।” किसानलाई कम्तीमा पनि तीन वर्षसम्म अनिवार्य खेती गर्ने सर्तसहित टनेल वितरण गरिएको वडाध्यक्ष थापामगरले बताउनुभयो ।

प्लाष्टिक टनेलसहित थोपा सिँचाइ, मल्चिङ प्लाष्टिक, पाइप, कीरा मार्ने पासो र आवश्यक बीउबिजन पाएको स्थानीय किसान सीताराम मगरले बताउनुभयो । गाउँपालिका तथा वडाले गरेको सहयोगले व्यावसायिक सागसब्जी खेतीमा लाग्न प्रोत्साहन मिलेको उहाँले बताउनुभयो । प्लाष्टिक टनेलसहित आवश्यक बीउबिजन र कृषि सामग्री पाएकाले खेती गर्न सहज भएको उहाँले बताउनुभयो ।

गाउँपालिकाले गरेको सहयोगबाट थप टेवा पुगेको अर्का किसान देवीप्रसाद भट्टराईले बताउनुभयो । अन्य बालीको तुलनामा प्रविधि प्रयोग गरेर उत्पादित सागसब्जीबाट छ गुणा बढीसम्म आम्दनी लिएको उहाँले सुनाउनुभयो ।

किसानलाई प्रविधिमैत्री जैविकखेती प्रणालीमा जोड्न ‘एक घर एक प्लाष्टिक टनेल’को कार्यक्रम सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष थामबहादुर राईले बताउनुभयो । किसानलाई सागसब्जीखेतीसम्बन्धी जानकारी दिन पाँच वटा वडामा केन्द्र स्थापना गरेर प्रशिक्षणको व्यवस्था गरिने उहाँले बताउनुभयो ।

अध्यक्ष राईले भन्नुभयो, “अधिकांश किसानको मुख्य आम्दानीको स्रोत नै कृषि छ । खेती प्रणालीलाई व्यवस्थितसँगै आयमूलक बनाउन विभिन्न कार्यक्रम गरिरहेका छौँ । किसानले उत्पादन गरेको कृषिउपजको बजारीकरणको लागि कृषि एम्बुलेन्स खरिद गरेका छौँ ।”

गाउँपालिकालाई तरकारीको ‘हब’ बनाउने लक्ष्यका साथ ‘कृषि गुरुयोजना’ बनाएर कृषिमा लगानी गरिरहेको छ । गाउँपालिकाले उत्कृष्ट खेती गर्ने किसानलाई पुरस्कारको व्यवस्था गरेको अध्यक्ष राईले जानकारी दिनुभयो ।

जय नेपाल फाउन्डेसनको नयाँ वर्ष कार्यक्रमलाई कांग्रेस नेता कोइरालाले सम्बोधन गर्ने

काठमाडौँ – जय नेपाल इन्टरन्याशनल फाउन्डेसनले नयाँ वर्षको अवसरमा विश्वभरका नेपाली माझ शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गर्न लागेको छ ।

जय नेपाल इन्टरनेशनल फाउन्डेसनको ग्लोबल युथ नेटवर्कले भर्चुअल माध्यमबाट नयाँ वर्ष २०८२ को स्वागतसँगै शुभकामना आदान प्रदान गर्ने कार्यक्रम राखेको छ ।

अप्रिल १२, २०२५ मा भर्चुअल माध्यमबाट शुभकामना आदानप्रदान गरिने फाउन्डेसनका प्रवक्ता लाल प्रसाद काफ्लेले बताए । उनका अनुसार नेपाली काँग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाको प्रमुख आतिथ्ययतामा कार्यक्रम आयोजना गर्न लागिएको हो । डा. कोइराला सहित नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्व मन्त्री एनपी साउद र काँग्रेसका गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले विशिष्ट अतिथिको रूपमा सम्बोधन गर्ने छन् । उक्त कार्यक्रमको माध्यमबाट संसारभरिका नेपालीहरूलाई एकत्रित बनाउन खोजिएको जय नेपाल इन्टरनेशनल फाउन्डेसन ग्लोबल युथ नेटवर्कका अध्यक्ष मदनराज पौडेलले बताए ।

मानवअधिकार, वाक स्वतन्त्रता तथा प्रजातान्त्रिक मूल्य मान्यतामा विश्वास राख्नेहरूको नेटवर्कमार्फत आफू रहेको समुदाय र नेपालको विकासमा समेत सहभागिता बढाउने उद्देश्यले फाउन्डेसनको स्थापना गरिएको हो । फाउन्डेसनले विश्व भरिका युवाहरूको सञ्जाल ‘ग्लोबल युथ नेटवर्क ’, महिलाहरूको ‘ग्लोबल विमन नेटवर्क,’ सञ्चारकर्मीहरूको ‘ग्लोबल मिडिया नेटवर्क,’ विज्ञहरूको ‘ग्लोबल नलेज नेटवर्क ’ र खेलाडीहरूको ‘ग्लोबल स्पोर्ट नेटवर्क ’ मार्फत विभिन्न कार्यक्रमहरू गर्दै आएको छ ।
फाउन्डेसनका अमेरिका र अन्य देशमा गरेर ३८ च्याप्टर घोषणा भैसकेका छन् । देश तथा विदेशमा रहेका नेपालीहरूका बिचमा शुभकामना आदानप्रदान गर्ने उद्देश्यले वेबिनार राखिएको हुँदा सबैलाई जोडिनको लागि अध्यक्ष डा. यादव पण्डितले अनुरोध गरेका छन् ।

कार्यक्रममा जोडिनको लागि जुम लिङ्क :

जुम आइडी– ९८८ २८७० ६६५६

कोड– २०२५

नेपाली समय–चैत्र ३०, २०८१ शनिवार साँझ ०६ः०० बजे

न्युयोर्क समय– अप्रिल १२, २०२५ बिहान ०८ः१५ बजे

टेक्सस समय – अप्रिल १२, २०२५ बिहान ०७ः१५ बजे

क्यालिफोर्निया समय– अप्रिल १२, २०२५ बिहान ०५ः१५ बजे

बेलायत समय अप्रिल १२, २०२५ दिउसो ०१ः१५ बजे

मुख्यमन्त्री कँडेलद्वारा एक वर्षको कार्य प्रगति सार्वजनिक

कर्णाली-कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले वार्षिक कार्य प्रगति सार्वजनिक गर्नुभएको छ । प्रदेश सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पत्रकार भेटघाट कार्यक्रम आयोजना गरी उहाँले आफ्नो वार्षिक कार्य प्रगति सार्वजनिक गर्नुभएको हो ।

मुख्यमन्त्री कँडेलको एक वर्षको प्रगति विवरणमा दोस्रो पञ्चवर्षीय योजना, नौ कानुन, १३ कार्यविधि, दुई निर्देशिका निर्माणदेखि सुशासन कायमका साथै दश जिल्लाको भ्रमणलाई समेटिएको छ । जथाभावी बजेट वितरण, आफूखुसी रकमान्तर गर्ने र उपभोक्ता समितिले गर्ने बदमासी  नियन्त्रण गरिएको उहाँले बताउनुभयो । 

सडक, बिजुली, खानेपानी तथा पुल निर्माणका क्षेत्रमा पछिल्लो एक वर्षको अवधिमा भौतिक पूर्वाधारतर्फ कर्णालीमा ९५ किलोमिटर कालोपत्र, २०५ किलोमिटर ग्राभेल, २३ पक्की पुल, ४२ झोलुङ्गे पुल र आठ सार्वजनिक भवन निर्माण भएको कुरा प्रगति विवरणमा उल्लेख छ । यस्तै, जनता आवास (सङ्घतर्फ) ६६१, प्रदेशतर्फ २३१ र ५६ विपन्नका घर निर्माण गरिएको मुख्यमन्त्री कँडेलले बताउनुभयो ।

साउन महिनामै बजेट कार्यान्वयनका लागि मातहतका निकायलाई नौबुँदे प्रतिबद्धता गराएअनुसार ७० प्रतिशत बढी अलपत्र आयोजनाको काम सुरु भएको र चालु आवको फागुन मसान्तसम्म १५ प्रतिशत विकास बजेट खर्च भएको मुख्यमन्त्री कँडेलले बताउनुभयो । रणनीतिक महत्वका मूलपानी रानीघाट, ताल्चा–रारा–गमगढी, हुम्ला–मानसरोवर प्रवेशद्वार तथा से–फोक्सोण्डो सडक निर्माण कार्य सुरु गरिएको वार्षिक प्रगतिमा उल्लेख छ ।

मुख्यमन्त्री कँडेलले चैत मसान्तसम्म ३० प्रतिशत बजेट खर्च हुने जिकिर गर्दै वितरित योजनामा ९० प्रतिशत कार्यान्वयनमा गएकाले असार मसान्तसम्म अधिकांश आयोजनाले पूर्णता पाउने विश्वास व्यक्त गर्नुभयो । उहाँ २०८० चैत २७ गते कर्णाली प्रदेशको मुख्यमन्त्री बन्नुभएको हो ।

भेट्रान्स कप रनिङ शिल्ड फुटबलको उपाधि हेटौँडालाई

कास्की- ‘आपसी सद्भाव, स्वास्थ्य र भाइचाराका लागि फुटबल’ भन्ने नारासहित पोखरामा सञ्चालन भएको तेस्रो संस्करणको ४५ वर्ष उमेर समूहमाथिको ‘एट ए साइड भेट्रान्स कप रनिङ शिल्ड’ फुटबल प्रतियोगिताको उपाधि हेटौँडा भेट्रान्सले जितेको छ ।

अमरसिंह ब्वाइज क्लबले आयोजनामा पोखरा रङ्गशालामा भएको प्रतियोगिताको आज सम्पन्न फाइनल खेलमा हेटौँडा भेट्रान्सले रूपन्देही ११ लाई २–० गोलअन्तरले पराजित गर्दै उपाधि उचालेको हो । खेलको पहिलो हाफको १९औँ मिनेटमा हेटौँडाका उमल मोक्तानले पहिलो गोल गर्दै टोलीलाई १–० को अग्रता दिलाए । त्यसैगरी, दोस्रो हाफको २७औँ मिनेटमा अटल बर्माले दोस्रो गोल गर्दै हेटौँडाको उपाधि सुनिश्चित गराएका थिए ।

च्याम्पियन बनेको हेटौँडाले उपाधिसहित नगद रु एक लाख ५५ हजार ५५५, शिल्ड, मेडल र प्राप्त गरेको छ । त्यसैगरी उपविजेता रूपन्देहीले नगद रु ७७ हजार ७७७, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी हटौँडाका उदय गुरुङले हात पारे । गुरुङले नगद रु १० हजार प्राप्त गरे । प्रतियोगिताका विजेताहरूलाई गण्डकी प्रदेशसभा सदस्य सरस्वती गुरुङ, एबिसी क्लबका अध्यक्ष राजेश गुरुङ, गण्डकी प्रदेश फुटबल सङ्घका महासचिव विनोद गुरुङ, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मिलन गुरुङलगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।
प्रतियोगितामा देशका विभिन्न स्थानबाट गरी ११ टोलीले उपाधिका लागि प्रतिस्पर्धा गरेको क्लबका सचिव विजय घिमिरेले जानकारी दिनुभयो ।

पत्रकार रजकको परिवारलाई न्याय दिलाउन माओवादीले पहल गर्ने

काठमाडौँ- नेकपा (माओवादी केन्द्र)का उपअध्यक्ष अग्निप्रसाद सापकोटाले दुर्गा प्रसाई समूहले गरेको आगजनीमा परी मृत्यु भएका पत्रकार सुरेश रजकको परिवारलाई न्याय दिन आफ्नो पार्टीले सरकारलाई दबाब दिइरहेको बताउनुभएको छ ।

बिहीबार ताहाचलस्थित रजकको घर पुगी उहाँले घटनाको सत्यतथ्य छानबिन गर्न र दोषीलाई कारबाही गर्न पटकपटक सरकारको ध्यानाकर्षण गराइरहेको बताउनुभयो ।

पीडित परिवारको साथमा माओवादी पार्टी रहेको उल्लेख गर्दै प्रवक्ता सापकोटाले परिवारले उठाएको मागमा आफूहरूको पनि समर्थन रहेको स्पष्ट पार्नुभयो । त्यसक्रममा रजकका परिवारजनले घटनाको सत्यतथ्य छानबिन, दोषीलाई कडा कारबाही, सुरेशलाई सहिद घोषणा र तीनकुनेमा उनको सालिक बनाउन पहल गर्न आग्रह गर्नुभएको थियो ।

विवादित मेडिकल व्यवसायी प्रसाईं नेतृत्वको पूर्वराजा ज्ञानेन्द्र शाह समर्थित भीडले यही चैत १५ गते तीनकुनेमा निजी घरमा गरेको तोडफोड र आगजनीमा परी प्रदर्शनको दृश्य छायाङ्कन गरिरहेका पत्रकार रजकको मृत्यु भएको थियो ।

यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य

काठमाडौँ, २९ चैतः कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो ।

गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ४०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ५०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु २०, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु २५, आलु रातो प्रतिकिलो रु ३५, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ४३, गाजर (लोकल) प्रतिकिलो रु ३५, गाजर (तराई) प्रतिकिलो रु ३०, बन्दा (लोकल) प्रतिकिलो रु १५, बन्दा (तराई) प्रतिकिलो रु १२, बन्दा (नरिवल) प्रतिकिलो रु २०, काउली (स्थानीय) प्रतिकिलो रु ४०, स्थानीय काउली (ज्यापु) प्रतिकिलो रु ३०, मूला रातो प्रतिकिलो रु ४५, मूला सेतो (लोकल) प्रतिकिलो रु २०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु ३०, भन्टा लाम्चो प्रतिकिलो रु ४० तथा भन्टा डल्लो प्रतिकिलो रु ४०, तने बोडीको मूल्य प्रतिकिलो रु ९० कायम गरिएको छ ।

यसैगरी, मटरकोसा प्रतिकिलो रु ७०, घिउ सिमी (लोकल) प्रतिकिलो रु ९०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु ९०, घिउ सिमी (राजमा) प्रतिकिलो रु ८०, टाटे सिमी प्रतिकिलो रु ७०, तितो करेला प्रतिकिलो रु ७०, लौका प्रतिकिलो रु ५०, परबर (लोकल) प्रतिकिलो रु ९०, परबर (तराई) प्रतिकिलो रु ९०, चिचिण्डो प्रतिकिलो रु ७०, घिरौला प्रतिकिलो रु ७०, झिगुनी प्रतिकिलो रु ७०, फर्सी पाकेको प्रतिकिलो रु ५०, फर्सी हरियो (लाम्चो) प्रतिकिलो रु ४०, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु ४०, सलगम प्रतिकेजी रु ७०, भिण्डी प्रतिकिलो रु ७० कायम गरिएको छ । 

यस्तै, सखरखण्ड प्रतिकिलो ७०, बरेला प्रतिकिलो रु ६०, पिँडालु प्रतिकिलो रु ९०, स्कूस प्रतिकिलो रु ४०, रायो साग प्रतिकिलो रु ६०, पालुङ्गो साग प्रतिकिलो ८०, चमसुरको साग रु १००, तोरी प्रतिकिलो रु ४०, मेथीको साग प्रतिकिलो रु ९०, प्याज हरियो प्रतिकिलो रु ५०, बकुला प्रतिकिलो रु ५०, तरुल प्रतिकिलो रु १००, च्याउ (कन्य) प्रतिकिलो रु १४०, च्याउ (डल्ले) प्रतिकिलो रु ३०० तथा कुरिलो प्रतिकिलो रु ६०० निर्धारण गरिएको छ ।

निगुरो प्रतिकिलो रु ८०, ब्रोकाउली प्रतिकिलो रु ७०, चुकुन्दर प्रतिकिलो रु ६०, सजीवन प्रतिकिलो रु १८०, कोइरालो प्रतिकिलो रु २२०, रातो बन्दा प्रतिकिलो रु ८०, जिरीको साग प्रतिकिलो रु ६५, ग्याठकोभी प्रतिकिलो रु ६५, सेलरी प्रतिकिलो रु २००, पार्सले प्रतिकिलो रु ३००, सौफको साग प्रतिकिलो रु ९०, पुदिना प्रतिकिलो रु ३५०, गान्टे मूला प्रतिकिलो रु ६०, इमली प्रतिकिलो रु १७०, तामा प्रतिकिलो रु १००, तोफु प्रतिकिलो रु १२० र गुन्द्रुक प्रतिकिलो रु ३५० तोकेकोे छ ।

समितिले स्याउ (झोले) प्रतिकिलो रु २५०, स्याउ (फूजी) प्रतिकिलो रु ३५०, केरा (दर्जन) रु १६०, कागती प्रतिकिलो रु २८०, अनार प्रतिकिलो रु ३५०, अङ्गुर (हरियो) प्रतिकिलो रु २००, अङ्गुर (कालो) प्रतिकिलो रु २५०, भारतीय सुन्तला रु १५०, तरबुजा हरियो प्रतिकिलो रु ७०, मौसम प्रतिकिलो रु २००, जुनार प्रतिकिलो रु २००, भुइँकटहर प्रतिगोटा रु २००, काँक्रो (लोकल) प्रतिकिलो रु ११०, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु ५०, रुख कटहर प्रतिकिलो रु १००, निबुवा प्रतिकेजी रु ५०, नासपाती (चाइनिज) प्रतिकिलो रु २६०, मेवा (नेपाली) प्रतिकिलो रु ५०, मेवा (भारतीय) प्रतिकिलो रु १२०, अम्बा प्रतिकिलो रु १२०, लप्सी प्रतिकिलो रु १००, उखु प्रतिगोटा रु १००, स्ट्रबेरी प्रतिकिलो रु २५०, किबी प्रतिकिलो रु ४५०, आभोकाडो प्रतिकिलो रु ६५० तथा अमला प्रतिकिलो रु १३० निर्धारण गरिएको छ ।

यसैगरी, खुर्सानी सुकेको प्रतिकिलो रु ४००, खुर्सानी हरियो प्रतिकिलो रु ७०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु ६०, खुर्सानी हरियो (माछे) प्रतिकिलो रु ७०, खुर्सानी हरियो (अकबरे) प्रतिकिलो २५०, भेडे खुर्सानी प्रतिकिलो रु ६०, लसुन हरियो प्रतिकिलो रु ६०, हरियो धनिया प्रतिकिलो रु १८०, लसुन सुकेको चाइनिज प्रतिकिलो रु ३२०, लसुन सुकेको नेपाली प्रतिकिलो रु ३००, ताजा माछा (रहु) प्रतिकिलो रु ३२०, ताजा माछा (बचुवा) प्रतिकिलो रु २६०, ताजा माछा (छडी) प्रतिकिलो रु २४०, रुख टमाटर प्रतिकिलो रु १४० र राजा च्याउ प्रतिकिलो रु ३००, सिताके च्याउ प्रतिकिलो रु ८०० तोकेको छ ।

तेस्रो एनडिसी मस्यौदा : दशककै जलवायु लक्ष्य निर्धारण

काठमाडौँ, २९ चैत : वन तथा वातावरण मन्त्रालयले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय खाका (युएनएफसिसिसी) का पक्ष मुलुकहरूको २१औँ जलवायु शिखर सम्मेलन (कोप–२१) अन्तर्गत पेरिस सम्झौतामा आधारित भई तेस्रो राष्ट्रिय निर्धारित योगदान (तेस्रो एनडिसी)को मस्यौदा तयार गरेको छ । मन्त्रालयले मस्यौदामाथि सरोकारवालाहरूको लिखित राय सुझाव सङ्कलन गर्ने प्रक्रिया पनि सुरू गरेको छ ।

पेरिस सम्झौतामा निर्धारित लक्ष्यअनुसार सबै पक्ष राष्ट्रले पाँच वर्षको अन्तरालमा आफ्नो राष्ट्रिय निर्धारित योगदान (एनडीसी) पेस गर्नुपर्ने प्रावधानअनुसार नेपालले मस्यौदा तयार गरेको हो । नेपालले सन् २०१६ र २०२० मा पहिलो र दोस्रो एनडिसी प्रस्तुत गरेको थियो । अब भने सन् २०२५ सम्म नेपालले तेस्रो एनडिसी पेस गर्ने लक्ष्यसहित प्रस्तावित तेस्रो राष्ट्रिय निर्धारित योगदानको मस्यौदामाथि प्रतिक्रिया सङ्कलन भइरहेको छ ।

एक्काइसौँ कोपको पेरिस सम्झौताले विश्वको औसत तापक्रम वृद्धि १ दशमलव ५ डिग्री सेल्सियसमा सीमित राख्ने र दुई डिग्री सेल्सियसभन्दा बढ्न नदिने लक्ष्य राखेको छ । यी लक्ष्य प्राप्त गर्न पेरिस सम्झौताका पक्ष राष्ट्रले प्रत्येक पाँच वर्षमा राष्ट्रिय निर्धारित योगदान पेस गर्नुपर्छ ।

मन्त्रालयअन्तर्गत जलवायु व्यवस्थापन माहाशाखा प्रमुख डा महेश्वर ढकालले नेपालले हरितगृह ग्यास उत्सर्जन न्यूनीकरण गर्न तथा जलवायु अनुकूलनसम्बन्धी परिमाणात्मक र नीतिगत लक्ष्य आवधिक रूपमा परिमार्जन गरी तेस्रो राष्ट्रिय निर्धारित योगदान मस्यौदा तयार भएको जानकारी दिनुभयो । “प्रस्तावित तेस्रो एनडिसी तयारी गर्न सङ्घीय र प्रादेशिक तहमा पनि विविध मन्त्रालय र सरोकारवाला निकायका प्रतिनिधिबीच विभिन्न समयमा औपचारिक तवरमा छलफल र अन्तरक्रिया सम्पन्न भइसकेको छ”, उहाँले भन्नुभयो, “सबै सरोकारवालालाई लिखित राय सुझावका लागि मन्त्रालयको आधिकारिक बेवसाइटमा मस्यौदासहित राखेका छौँ ।”

नेपालले सन् २०३५ सम्मको अवधि ‘कभर’ गर्नेगरी मस्यौदा तयार गरेको हो । जलवायु न्यूनीकरण, अनुकूलन तथा वित्तीय व्यवस्थापनको विस्तृत खाकासहित सन् २०३५ सम्मको दिगो विकास लक्ष्य, घरेलु तथा अन्तरराष्ट्रिय वित्तीय स्रोतको परिचालन तथा स्थानीय तहसम्म जलवायु कार्यान्वयनको योजना समेटेर तेस्रो एनडिसीको मस्यौदा तयार भएको छ ।

तेस्रो एनडिसीमा विश्वको तापमान वृद्धिलाई १ दशमलव ५ डिग्री सेल्सियसभित्र सीमित राख्न विश्वव्यापी प्रयासलाई सहयोग गर्दै नेपालले जलवायुजन्य सङ्कट व्यवस्थापनमा योगदान गर्ने लक्ष्य छ । विश्वव्यापी ग्रिनहाउस ग्यास उत्सर्जनमा नेपालको नगण्य योगदान भए पनि नेपालले आफ्नो परिमाणात्मक न्यूनीकरण लक्ष्य र नीति तथा उपायको दायरा विस्तार गरेको मस्यौदामा उल्लेख छ । तेस्रो एनडिसीले सन् २०३५ सम्मको अवधि समेट्ने छभने पहिलो र दोस्रो एनडिसी (कार्यान्वयन योजनासहित)ले सन् २०२५ र २०३० का लक्ष्य पूरा गर्ने उद्देश्य राखेको थियो ।

मन्त्रालयअन्तर्गत जलवायु व्यवस्थापन माहाशाखाका उपसचिव नरेश शर्माले एनडिसीको तयारी प्रक्रियामा समावेशी परामर्श प्रक्रियामा स्थानीय समुदाय र आदिवासी जनजातिलाई समावेश गर्दै ‘कसैलाई पछि नछोड्ने’ सिद्धान्तलाई अनुशरण गरिएको बताउनुभयो ।

“यस प्रक्रियामा वन तथा वातावरण मन्त्रालयको नेतृत्वमा सङ्घीय, प्रादेशिक तथा स्थानीय सरकार, नागरिक समाज, युवा, महिला तथा आदिवासी जनजाति, निजी क्षेत्र, विज्ञ, शैक्षिक संस्था, विकास साझेदार, सञ्चारमाध्यम र सांसदहरूको व्यापक सहभागिता रहेको छ”, उहाँले भन्नुभयो, “मन्त्रालयले सङ्घीय मन्त्रालय र प्रादेशिक सरकारसँग सहकार्य गर्दै नेपालको उच्चतम सम्भावित महत्वाकाङ्क्षा पहिचान गर्न पहल गरेको थियो । नेपालले अनुकूलन र सहनशीलता निर्माणमार्फत जलवायु परिवर्तनका बाँकी जोखिम हटाउने प्रयास गर्ने लक्ष्य राखेको छ ।”

जलवायुजन्य सबै जोखिम हटाउन सम्भव नभए पनि नेपालले अन्तरराष्ट्रिय वित्तीय तथा प्रविधि सहयोगको माध्यमबाट जलवायुजन्य क्षति तथा हानी सम्बोधन गर्ने प्रयास गरेको उहाँको भनाइ छ । “एनडिसी कार्यान्वयनले दिगो विकास लक्ष्य प्राप्त गर्न, गरिबी निवारणमा योगदान गर्न र न्यायोचित रूपान्तरण सुनिश्चित गर्न सहायक भूमिका खेल्नेछ । नेपालको न्यूनीकरण, अनुकूलन, क्षति तथा हानि, सहलाभ, न्यायोचित रूपान्तरण, मानवअधिकार, लैङ्गिक समानता, समावेशिता र विविधता पेरिस सम्झौताअन्तर्गतको धारा ६, कार्यान्वयनका साधन (जलवायु वित्त, क्षमता निर्माण, प्रविधि स्थानान्तरण), शासन प्रणाली, पारदर्शितालगायत विषयलाई समेटेको छ”, शर्माले भन्नुभयो ।

साथै, यी लक्ष्य प्राप्त गर्न आवश्यक पर्ने नीतिगत उपाय सुनिश्चित गरिएको मन्त्रालयले जानकारी दिएको छ । जलवायु परिवर्तनका प्रभावसँग जुध्न नेपालले हरितगृह ग्यास उत्सर्जन न्यूनीकरण, अनुकूलन रणनीति, हानि तथा क्षति व्यवस्थापन र वित्तीय तथा प्राविधिक सहायता सुनिश्चित गर्ने तेस्रो एनडिसीले लक्ष्य राखेको छ ।

तेस्रो एनडिसीको महत्त्व

जलवायुविद् मञ्जित ढकालले निरन्तर वृद्धि भइरहेको कार्बनका कारण विश्वको तापक्रम वृद्धि हुँदा नेपाललगायत जलवायुजन्य प्रकोपका कारण जोखिम बढ्ने भन्दै विश्वका सबै देशले सम्भव भएसम्मको प्रभावकारी एनडिसी बुझाउन आवश्यक रहेको बताउनुभयो । वर्तमान परिस्थितिमा सबै देशको एनडिसी कार्यान्वयन हुँदासमेत पृथ्वीको तापक्रम वृद्धि लगभग तीन डिग्री हुने हुन्छ”, उहाँले भन्नुभयो, “सबै देशले तेस्रो एनडिसी अझ प्रभावकारी बनाई पृथ्वीको तापक्रम वृद्धिलाई १ दशमलव ५ डिग्रीमा सीमित गर्न आवश्यक छ ।”

नेपालको तेस्रो एनडिसीमा जलवायु अनुकूलन, कार्बन उत्सर्जन घटाउने योजना, क्षति र नोक्सानी सम्बोधनलगायत कार्यान्वयनका लागि आवश्यक आर्थिक स्रोत व्यवस्थापन भने आवश्यक रहेको ढकालको भनाइ छ । “प्रभावकारी कार्यन्वयनका लागि मन्त्रालयबिचको समन्वय, एनडिसीमा उल्लेख भएका विकासका योजनासँग समायोजन गर्ने र स्थानीय सरकारको भूमिका महत्त्वपूर्ण हुन जान्छ”, उहाँले भन्नुभयो, “यसका साथै योजना कार्यान्वययनका लागि आन्तरिक र बाहिरी स्रोत जुटाउन गर्नुपर्ने पहल पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ ।”

समन्वय र सहकार्यको आवश्यकता

विपद् व्यवस्थापन तथा जलवायु व्यवस्थापनविद् डा धर्मराज उप्रेतीले तेस्रो एनडिसीका १० वर्षे लक्ष्य कार्यान्वयनका लागि अन्तरसरकारी, तीनै तहका सरकार, निजी क्षेत्र, दातृ निकाय तथा अन्य सरोकारवालाबीचको समन्वय र सहकार्य आवश्यक रहेको बताउनुभयो । “रणनीति बन्नुभन्दा पनि त्यसको प्रभावकारी कार्यान्वयन महत्त्वपूूर्ण हुन्छ । जुन कार्यान्वयन सरकार एक्लैले गर्न सक्दैन । सबै सरोकारवालको भूमिका महत्त्वपूर्ण छ”, उहाँले भन्नुभयो, “दोस्रो एनडिसीलाई कार्यान्वयनको खाका तयार गरेर कार्यान्वनयमा लानुपर्छ । यही एनडिसीको कार्यान्वयनका सिकाइका आधारमा तेस्रो एनडिसी कार्यान्वयनमा कहाँ पुग्छौँ ? मूल्याङ्कन गर्न सहज हुन्छ ।”

नेपालले तयार गरेको एनडिसीका लक्ष्यले बढी कार्बन उत्सर्जन गर्ने छिमेकी मुलुक भारत र चीनलाई पनि उत्सर्जन घटाउन नैतिक दबाब सृजना हुने उप्रेतीको भनाइ छ । जलवायुविद् गीता पाण्डेले तेस्रो एनडिसीमा नेपालले सबै सरकारी तहमा लैङ्गिक, वातावरणीय, सामाजिक समावेशिता र जलवायु परिवर्तन रणनीति कार्यान्वयन गर्ने योजनासहितको मस्यौदा तयार गर्नु सकरात्मक रहेको भन्दै प्रभावकारी कार्यन्वयन हुनुपर्नेमा जोड दिनुभयो । “सबैको सहभागिताले मात्र जलवायु परिवर्तनको अनुकूलन र समावेशी विकासमा महत्त्वपूर्ण योगदान पुर्याउनेछ”, उहाँले भन्नुभयो ।

यी हुन् एनडिसीका मुख्य लक्ष्यहरू

नेपालले सन् २०४५ सम्म लिएको शून्य कार्बन उत्सर्जनसम्बन्धी रणनीति (नेट–शून्य) प्राप्त गर्ने लक्ष्य राखेको छ । लक्ष्य कार्यन्वयनका लागि सन् २०३५ भित्र प्रमुख क्षेत्रमा विभिन्न प्रयास गरिने मन्त्रालयको भनाइ छ । नेपालले २०३० र २०३५ सम्म नवीकरणीय ऊर्जा उत्पादन क्षमतामा ठूलो वृद्धि गर्ने योजना बनाएको छ । नेपाल सरकारको लक्ष्यअनुसार सन् २०३० सम्म नवीकरणीय विद्युत् उत्पादन क्षमतामा १४ हजार ३१ मेगावाट र सन् २०३५ सम्म २८ हजार ५०० मेगावाट ऊर्जा उत्पादनको लक्ष्य राखिएको छ ।

त्यसैगरी, सरकारले ट्रान्समिसन र वितरण प्रणालीमा सुधार गर्दै कुल ट्रान्समिसन र वितरण हानिहरूलाई सन् २०३० सम्म ११ दशमलव ५० प्रतिशत र सन् २०३५ सम्म १० दशमलव ५० प्रतिशतमा घटाउने लक्ष्य राखेको छ । ग्रामीण भेगमा विद्युत् विस्तार तथा सौर्य तथा जलविद्युत् प्रवर्द्धन गर्ने लक्ष्य र २०३५ सम्म विशेष आर्थिक क्षेत्रमा फोहोरदेखि ऊर्जा प्लान्ट स्थापना गर्ने अर्को लक्ष्य छ । काठमाडौँ उपत्यकामा १०० टन प्रतिदिन क्षमताको (आरडिएफ) प्लान्ट निर्माण गर्ने लक्ष्य रहेको छ ।

यातायात : इलेक्ट्रिक बस, ट्रली र रेल

निजी सवारीसाधनको सन् २०३० सम्म मा ९० प्रतिशत र सन् २०३५ सम्ममा ९५ प्रतिशत सार्वजनिक यातायातको सन् २०३० सम्ममा र सन् २०३५ सम्ममा ९० प्रतिशत विद्युतीकरण गर्ने लक्ष्य छ । काठमाडौँ उपत्यकामा विद्युतीय यातायत सन् २०३० सम्ममा ५० किमी र सन् २०३५ सम्म १०० किमी ट्रलीबस, लाइटरेल जडान गर्ने लक्ष्य छ ।

काठमाडौँ उपत्यकामा ५० किमी इलेक्ट्रिक बस, ट्रली र रेल प्रणाली सञ्चालन गर्ने तेस्रो एनडिसीको लक्ष्य छ । यसैगरी सन् २०३५ सम्ममा देशव्यापी रेल नेटवर्क २०० किमी र सन् २०३५ सम्ममा ३०० किमी विस्तारको लक्ष्य छ ।

औद्योगिक : सबै फलाम तथा स्टिल उद्योग विद्युतीय भट्टी

सन् २०३५ सम्म सबै फलाम र स्टिल उद्योगमा विद्युतीय फर्नेस प्रयोग गर्ने तथा सन् २०३० सम्ममा उद्योगमा प्रयोग भइरहेका कुल बायलर (पानी तताएर बाफ बनाउने यन्त्र हो, जुन विद्युत् उत्पादन, तातो आपूर्ति र खाना पकाउनका लागि प्रयोग गरिन्छ) मध्ये ३० प्रतिशत बायलरलाई र सन् २०३५ सम्ममा ७० प्रतिशत बायलरलाई विद्युत्मा आधारित प्रविधिमा रूपान्तरण गरिने लक्ष्य छ । सन् २०३५ सम्ममा सबै फलाम तथा स्टिल उद्योग विद्युतीय भट्टीमा रूपान्तरण गर्ने र सिमेन्ट उद्योगमा ३५ प्रतिशत इन्धनका रूपमा वायु ऊर्जा प्रयोग गर्ने लक्ष्य छ ।

कृषि तथा वन : बगैँचाको रोपाइँ गरिने

सन् २०३५ सम्म पाँच लाख सुधारिएको गाईगोठ निर्माण गर्ने, ४६ दशमलव ०८ प्रतिशत वनक्षेत्र जोगाउने तथा वन व्यवस्थापन सुधार गर्ने र वनबाट कार्बन उत्सर्जन कटौती गर्नेलगायत लक्ष्य राखिएको छ । साथै सन् २०३० सम्म दक्षिणी नेपालमा कृषि अवशेष जलाउने समस्यामा आधारभूत अध्ययन गरिनेछ र २०३५ सम्म अवशेष जलाउने प्रचलन घटाइने छ । सन् २०३० सम्म पाँच हजार हेक्टर नयाँ बगैँचाको रोपाइँ गरिनेछ, जसलाई २०३५ सम्म १० हजार हेक्टरमा पुर्‍याइने छ ।

अनुकूलन : जलवायुमैत्री गाउँ स्थापना गरिने

सन् २०३० सम्म २०० जलवायुमैत्री फार्म र सन् २०३५ सम्ममा १०० जलवायुमैत्री गाउँ स्थापना गर्ने लक्ष्य छ । सात लाख ५३ हजार हेक्टर सिँचाइ सुविधा विस्तार गर्ने लक्ष्य छ । साप्ताहिक कृषि–मौसम परामर्श सेवा ७७ वटै जिल्लामा विस्तार गर्ने लक्ष्य छ । वन, जैविक विविधता तथा जलाधार संरक्षण, ५० प्रतिशत वनमा दिगो व्यवस्थापन (रेड प्लस पहलसहित) गर्ने रहेको छ । ५० प्रतिशत नदी किनार र वेटल्यान्ड क्षेत्र पुनःस्थापना गर्ने लक्ष्य छ । वन आगलागी नियन्त्रण गरी ५० प्रतिशत घटना न्यूनीकरण गर्ने, पानी स्रोत तथा ऊर्जाअन्तर्गत २०० वर्षा–सञ्चय बाँध र एक हजार पानी स्रोत संरक्षण योजना छ । त्यसैगरी, २० नदी उपबेसिनमा जल गुणस्तर परीक्षण र जल लेखा प्रणाली लागू गर्ने अर्को लक्ष्य छ ।

अन्य लक्ष्य

नेपाली सरकारको योजनाअनुसार २०३० सम्म सात नगरपालिका क्षेत्रमा सहरी प्रतिरोधात्मकता र जीवनस्तर सुधारका पहल नगरपालिका पूर्वाधार र शासन प्रणालीमा एकीकृत गरिने छ । यसका साथै २०३० सम्म जलवायु–प्रतिरोधी र समावेशी सहरी वातावरण व्यवस्थापनका लागि निर्देशिका विकास गरिनेछ । सन् २०३५ सम्म नेपालका सहरी क्षेत्रमा पूर्वाधार सूचकाङ्कलाई कम्तीमा ५० प्रतिशतसम्म वृद्धि गरिने लक्ष्य छ । यसका लागि भवन र पूर्वाधारका लागि नयाँ निर्देशिका र कोड अद्यावधिक गरिनेछन् जसले जलवायु प्रतिरोधात्मकता सुनिश्चित गर्ने एनडिसीको लक्ष्य छ ।

“यातायात पूर्वाधार परियोजनामा २०३० सम्म जलवायु प्रतिरोधी योजना लागू गरिनेछ र संशोधित नियमका आधारमा प्रमुख राजमार्गमा पूर्वचेतावनी प्रणाली राखिने योजना अघि सारिएको छ”, एनडिसीको मस्यौदामा उल्लेख छ । यसैगरी २०३५ सम्म नेपालको ऐतिहासिक, सांस्कृतिक र धार्मिक धरोहरस्थलको संरक्षण गरिनेछ, विशेष ध्यान विश्व धरोहरस्थलमा केन्द्रित गरिने लक्ष्य छ ।

तेस्रो एनडिसी तयारीमा सुदृढ प्रगति

जलवायु युवा अभियन्ता राजन थापाले पेरिस सम्झौताअन्तर्गत नेपालले आफ्नो जलवायु प्रतिबद्धता व्यक्त गर्ने महत्त्वपूर्ण दस्तावेज, तेस्रो राष्ट्रिय रूपमा निर्धारण गरिएका योगदानको तयारी राम्रो गरिरहेको प्रतिक्रिया दिनुभयो ।

“लगभग एक वर्षअघि सुरू भएको यस प्रक्रियामा प्राविधिक तथा प्रक्रियागत छलफल सञ्चालन गरिएको छ, जसमा विभिन्न क्षेत्रका विज्ञ, नीतिनिर्माता तथा सरोकारवालाको संलग्नता रहेको छ । यसले वैज्ञानिक आधारमा आधारित, सशक्त र समावेशी दृष्टिकोणलाई सुनिश्चित गरेको छ”, उहाँले भन्नुभयो, “नेपालका लागि एनडिसीजस्ता मापनयोग्य लक्ष्य अङ्गीकार गर्नु अनिवार्य छ– यसले जलवायु वित्त आकर्षित गर्न, लगानी जुटाउन र न्यूनीकरण, अनुकूलन तथा सहनशीलता अभिवृद्धिमा ठोस प्रगति देखाउन सहयोग पुर्‍याइने छ ।”

एनडिसीका उद्देश्य प्राप्त गर्न सकिने सुनिश्चितता र कार्यान्वयन क्षमतामा ध्यान दिनु आवश्यक रहेको तथा स्पष्ट र मापनयोग्य लक्ष्य निर्धारण गरेर नेपालले अन्तरराष्ट्रियस्तरमा आफ्नो विश्वसनीयता बढाउन, सहयोग जुटाउन र संरक्षित तथा प्रभावशाली जलवायु कार्यमा गति ल्याउन सक्ने थापाले बताउनुभयो । “आगामी बाटोले महत्त्वाकाङ्क्षा र व्यावहारिकताबीच सन्तुलन खोज्नुपर्नेछ, अनि मात्र आज गरिएको प्रतिबद्धता भोलिका लागि वास्तविक समाधान बन्न सकोस्”, उहाँले भन्नुभयो ।

के हो एनडिसी ?

संयुक्त राष्ट्रसङ्घका अनुसार राष्ट्रिय निर्धारण योगदान (एनडिसी) पेरिस सम्झौताका केन्द्रीय अंश हुन् र यसको दीर्घकालीन लक्ष्यहरूको प्राप्ति गर्दा महत्त्वपूर्ण भूमिका खेल्दछन् । एनडिसीले प्रत्येक देशको राष्ट्रिय उत्सर्जन घटाउने र जलवायु परिवर्तनका प्रभावसँग अनुकूलन गर्ने प्रयासलाई समावेश गर्छ । पेरिस सम्झौताका अनुच्छेद ४, परिच्छेद २ अनुसार प्रत्येक पक्षले आफ्नो निर्धारित योगदान तयार गर्नुपर्छ । पेरिस सम्झौताले प्रत्येक देशलाई आफ्नो सन् २०२० पछि जलवायु क्रियाकलापको रेखाचित्र तयार गर्न र कार्यान्वयन गर्न जोड दिएको हुन्छ । जसलाई ती देशको एनडिसी भनिन्छ ।

एनडिसीहरू प्रत्येक पाँच वर्षमा जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (युएनएफसीसिसी) सचिवालयमा प्रस्तुत गरिन्छ । पक्ष मुलुकलाई आफ्नो आगामी एनडिसी (नयाँ एनडिसी वा अपडेटेड एनडिसी) २०२० सम्म र त्यसपछि प्रत्येक पाँच वर्षमा प्रस्तुत गर्न अनुरोध गरिएको छ ।

गोरखा–जितगढी एकीकरण पदयात्रा तनहुँ आइपुग्यो

दमौली (तनहुँ), २९ चैत : ऐतिहासिक महत्त्व बोकेका स्थानको प्रवर्द्धन गर्ने उद्देश्यका साथ सुरू भएको नेपाली सेनाको ऐतिहासिक गोरखा–जितगढी पदयात्रा तनहुँ आइपुगेको छ । पृथ्वीनारायण शाहले राज्य एकीकरणका क्रममा प्रयोग गरेका पदमार्गको प्रचारप्रसार गर्दै कोट, गढी, किल्लाहरूको संरक्षण गर्ने र इतिहासबारे सर्वसाधारणलाई जानकारी गराउने उद्देश्यसहित सुरू भएको गोरखा–जितगढी एकीकरण पदयात्रा टोली बिहीबार साँझ तनहुँ आइपुगेको हो ।

गोरखा दरबारबाट सुरू भएको पदमार्ग पालुङटार सतिघाट हँुदै तनहुँ आइपुगेको हो । रिपुमर्दन गणले सतिघाटबाट भानु नगरपालिकास्थित रूरू भैरव दल गणलाई पदयात्राको झण्डा हस्तान्तरण गरेको छ ।

पदयात्रा टोलीलाई स्थानीयवासीले बाजागाजा बजाएर भव्य स्वागत गरेका छन् । उक्त कार्यक्रममा भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठी, प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापालगायतले पदयात्रा टोलीलाई स्वागत गर्नुभएको थियो । उक्त पदयात्रा टोली आज (शुक्रबार) व्यास नगरपालिका–११ तनहुँसुर दरबार आइपुग्ने कार्यतालिका रहेको व्यास नगरपालिका–५ चापाघाटस्थित कालीभञ्जन गण (इ) का गणपति प्रमुख सेनानी वसन्त कार्कीले जानकारी दिनुभयो ।

तनहुँसुर आएर उक्त पदयात्राको झण्डा कालीभञ्जन गण (इ) लाई हस्तान्तरण गर्ने कार्यक्रम छ । पदयात्रा टोलीलाई स्थानीय तहको समन्वयमा स्वागत गर्ने कार्यक्रम छ । पदयात्रा कार्यक्रमले राज्य एकीकरण गर्दा प्रयोग गरिएका पदमार्गका बारेमा सबैलाई जान्ने अवसर मिल्ने प्रमुख सेनानी कार्कीले बताउनुभयो ।

तनहुँसुरबाट पदयात्रा टोली तनहुँकै धेनुङ देउराली पुग्नेछ । धेनुङ देउरालीमा श्री नम्बर ३ राजदल गणलाई झण्डा हस्तान्तरण गरिनेछ । धेनुङ देउरालीबाट केलादीघाटसम्म पुगेको टोलीलाई श्री दि फेमस महेन्द्रदल गणलाई झण्डा हस्तान्तरण गरिनेछ । पदयात्रा टोली चैत २९ देखि वैशाख २ गतेसम्म तनहुँ खण्डमा रहनेछ ।

केलादीघाटबाट नुवाकोटगढीसम्म पुगेको टोलीलाई गरूणदल गणलाई झण्डा हस्तान्तरण गर्ने र वैशाख ७ गते पदयात्रा टोली नुवाकोटगढीबाट जीतगढीसम्म पुग्ने कार्यक्रम छ । पदयात्रामा फौज, बाजागाजा, राष्ट्रिय झण्डा तथा एकीकरणको दौरान स्थापना भएका पाँच प्रथम कम्पनी (श्रीनाथ, कालीबक्स, पुरानो गोरख, बर्दवाणी र सबुज) र जितगढी लडाइमा सहभागी गुरूबक्स गुल्मको झण्डा समावेश गरिएको नेपाली सेनाले जनाएको छ । गोरखादेखि जितगढीसम्मको दूरी २०७ किलोमिटर रहेको छ । नेपाली सेनाले हरेक वर्ष गोरखा–जितगढी पदयात्रा गर्दै आएको छ ।

विश्वप्रसिद्ध बिस्काः जात्रा भैरवको रथ वंशगोपाल पुगेर फर्काउँदै

भक्तपुर, २९ चैत : आठ रात नौ दिनसम्म भव्य रूपमा मनाइने भक्तपुरको ऐतिहासिक एवं सांस्कृतिक महत्त्व बोकेको बिस्काः अर्थात् बिस्केट जात्राको भैरवको राथ वंशगोपाल पुर्‍याएको छ ।

बिहीबार अपराह्न करिब ४ः०० बजे तौमढीमा विधिवत सबै पूजा गरेर तान्न सुरू भएको भैरवको रथलाई तलतर्फ गहिटी, नासमना, वंशगोपाललगायत क्षेत्रमा पुर्‍याएर अड्किएपछि पुनः स्थानीयले रथलाई तानेर राति ११ः०० बजे फर्काएर वंशगोपल ल्याएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक माधव बुढाथोकीले जानकारी दिनुभयो ।

बिहीबार दिउँसो १ः०० बजेसम्म गुठी संस्थानको प्रमुख र सिकर्मी नाइकेले सरकारी पूजा गरेर त्यसपछि अन्य समुदायको पूजा सकेर भैरवको रथ तान्न सुरू गरिएको थियो । तान्त्रिक विधिपूर्वक गुठी कार्यालयले ल्याएको सरकारी पूजा गर्दै भैरवको रथमा भैरवनाथ र बेताल विराजमान गराई हनुमान ढोकाबाट राजाको प्रतीकस्वरूप ल्याइएको खड्ग, तरबार र निशान राखेपछि विधिपूर्वक रथ तानेर जात्रा सुरू भएको थियो ।

रथलाई गए राति ११ बजेसम्म तल्लो र माथिल्लो क्षेत्रका सरोकारवाला निकायले तानिरहेको थिए । जात्रा शान्तिपूर्ण रूपमा चलेको प्रहरी परिसर प्रमुख बुढाथोकीले जानकारी दिनुभयो । जात्रा चैत ३१ गते ल्यासिंखेलमा गुठी पूजासहित सबै प्रक्रिया पूरा गरी अपराह्न ५ः०० बजे लिङ्गो उठाउने जात्रा हुनेछ । वैशाख १ गते अपराह्न ५ः०० बजेभित्र लिङ्गो ढाल्ने र वैशाख ५ गते पनि अपराह्न ५ः०० बजेसम्म रथ तानिसकेर जात्रा सम्पन्न गर्नेगरी तयारी गरिएको उहाँले बताउनुभयो ।

उहाँले नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान, नेपाली सेनासहितको सुरक्षा टोली आवश्यकताअनुसार खटिने गरी सुरक्षा व्यवस्था तयारी अवस्थामा राखेको उहाँले बताउनुभयो । जात्रा भड्काउन खोज्ने, ढुङ्गा हान्ने र हुलदङ्गा गर्न खोज्नेलाई पक्राउ गरी कडा कारबाही गरिने उहाँले बताउनुभयो ।

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, २९ चैत : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३८ रूपैयाँ ४१ पैसा र बिक्रीदर १३९ रूपैयाँ ०१ पैसा कायम भएको छ ।

युरोपियन युरो एकको खरिददर १५३ रूपैयाँ २९ पैसा र बिक्रीदर १५३ रूपैयाँ ९५ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १७८ रूपैयाँ ८९ पैसा र बिक्रीदर १७९ रूपैयाँ ६७ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १६४ रूपैयाँ २८ पैसा र बिक्रीदर १६५ रूपैयाँ कायम भएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८५ रूपैयाँ ५२ पैसा र बिक्रीदर ८५ रूपैयाँ ८९ पैसा, क्यानेडियन डलर एकको खरिददर ९८ रूपैयाँ ३९ पैसा र बिक्रीदर ९८ रूपैयाँ ८१ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०३ रूपैयाँ ५५ पैसा र बिक्रीदर १०४ रूपैयाँ निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिददर नौ रूपैयाँ ५१ पैसा र बिक्रीदर नौ रूपैयाँ ५५ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रूपैयाँ ८८ पैसा र बिक्रीदर १८ रूपैयाँ ९६ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपैयाँ ८७ पैसा र बिक्रीदर ३७ रूपैयाँ ०३ पैसा, कतारी रियाल एकको खरिददर ३७ रूपैयाँ ९७ पैसा र बिक्रीदर ३८ रूपैयाँ १३ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रूपैयाँ ०६ पैसा र बिक्रीदर चार रूपैयाँ ०८ पैसा, युएई दिराम एकको खरिददर ३७ रूपैयाँ ६८ पैसा र बिक्रीदर ३७ रूपैयाँ ८५ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रूपैयाँ ९८ पैसा र बिक्रीदर ३१ रूपैयाँ ११ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रूपैयाँ ५१ पैसा र बिक्रीदर नौ रूपैयाँ ५५ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १३ रूपैयाँ ९६ पैसा र बिक्रीदर १४ रूपैयाँ ०२ पैसा र डेनिस क्रोनर एकको खरिददर २० रूपैयाँ ५३ पैसा र बिक्रीदर २० रूपैयाँ ६२ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रूपैयाँ ८३ पैसा र बिक्रीदर १७ रूपैयाँ ९१ पैसा, कुवेती दिनार एकको खरिददर ४५० रूपैयाँ ३० पैसा र बिक्रीदर ४५२ रूपैयाँ २६ पैसा, बहराइन दिनार एकको खरिददर ३६७ रूपैयाँ १६ पैसा र बिक्रीदर ३६८ रूपैयाँ ७६ पैसा, ओमनी रियाल एकको खरिददर ३५९ रूयैयाँ ५२ पैसा र बिक्रीदर ३६१ रूपैयाँ ०८ पैसा रहेको छ । भारतीय रूपैयाँ एक सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा तोकेको छ ।

राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

चट्याङ लागेर खोटाङमा दुई महिला गम्भीर घाइते

खोटाङ, २९ चैत : चट्याङ लागेर दिप्रुङ चुइचुम्मा गाउँपालिका–६ छितापोखरीका दुई महिला गम्भीर घाइते भएका छन् । बिहीबार वर्षासँगै परेको चट्याङका कारण छितापोखरीका कृष्णमाया खड्का र देविका भुजेल गम्भीर घाइते हुनुभएको हो ।

छितापोखरीकी कृष्णमायाको घरमाथि र देविकाको केही मुनि पर्छ । कृष्णमाया घरभित्र भान्छाको काम गरिरहेको बेला चट्याङ परेको जनाइएको छ । चट्याङको असरका कारण कृष्णमाया बेहोस बन्नुभएको आफन्तले बताएका छन् ।

स्थानीयका अनुसार चट्याङ परेको बेला कृष्णमायाको घरभित्र आगोको ज्वाला पसेजस्तो देखिएको थियो । चट्याङ परेको केही समयपछि घरभित्र गएर हेर्दा कृष्णमायालाई बेहोस अवस्थामा भेटिएको बताइएको छ ।

देविकाको भने अत्तालिएर ठोक्किन पुग्दा टाउकोमा गहिरो चोट लागेको दिप्रुङ चुइचुम्मा गाउँपालिका प्रवक्ता भूपेन्द्र बस्नेतले जानकारी दिनुभयो । चट्याङका कारण घाइते बनेका दुवै महिलोको वडा नं २ डाँडागाउँस्थित आधारभूत अस्पताल ओख्रेमा उपचार भइरहेको छ । देविकाको टाउकोमा पाँच टाँका लगाइएको छ । उनीहरू दुवै जनालाई गाउँपालिका प्रमुख लोकेन्द्र राईले गाडीमा राखेर आधारभूत अस्पताल पुर्याउनुभएको प्रवक्ता बस्नेतले बताउनुभयो ।

यसैबीच, खोटाङमा करिब सात महिनापछि वर्षा हुँदा किसानलाई राहत मिलेको छ । गत असोजपछि वर्षा नभएको जिल्लामा पहिलोपटक बिहीबार वर्षा भएको हो । लामो समयपछि वर्षा भएसँगै हिउँदे बाली लगाएका किसान खुसी भएका छन् । करिब छ घण्टा लामो वर्षा भएपछि किसान वर्षेबालीका लागि खेतबारी खनजोत गर्ने तथा बाली लगाउने तयारीमा जुटेका छन् ।

म्याग्दीमा १२ जलविद्युत् आयोजना निर्माणाधीन

म्याग्दी, २९ चैत : कालीगण्डकी, म्याग्दी, राहुघाट र निलगिरि खोलामा १२ जलविद्युत् आयोजना निर्माणाधीन छन् । यी आयोजना निर्माण सकिएपछि राष्ट्रिय प्रसारण लाइनमा ४५६ दशमलव ५ मेगावाट विद्युत् थपिने छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाबाट पछिल्लो पाँच वर्षमा चारवटा आयोजनाले १११ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा पठाएका छन् ।

निर्माणाधीन आयोजनामध्ये केही यसै आर्थिक वर्ष र केही आउँदो वर्ष केन्द्रीय प्रसारण लाइनमा जोडिँदै छन् । केही आयोजनाले भने पहुँचमार्ग निर्माण गरी टनेल खन्ने तयारी गरेका छन् । त्यस्तै ४० दशमलव ७ मेगावाट क्षमताको निलगिरि पहिलो, ३७ दशमलव ५ मेगावाटको मङ्गले राहुघाट र छ मेगावाट क्षमताको रेलेखोला आयोजना अन्तिम चरणमा छन् ।

अन्नपूर्ण गाउँपालिकामा निर्माण भएका ७१ मेगावाटको निलगिरि दोस्रो, ४२ मेगावाटको मिस्त्रीखोला, १४ मेगावाटको घारखोला र पाँच मेगावाटको घलेम्दीखोला जलविद्युत् आयोजनाको विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोडिइसकेको छ ।

अन्नपूर्ण गाउँपालिकामा ६६ दशमलव ५ मेगावाटको मध्यकालीगण्डकी जलविद्युत् आयोजना निर्माण सुरु भएको छ । कुल रु ३९ अर्ब ५० करोड २४ लाख लागत अनुमान गरिएको १८० मेगावाटको कालीगण्डकी जलविद्युत् आयोजनाले वित्तीय स्रोत व्यवस्थापन गरेर निर्माणको तयारी गरेको छ ।

रघुगङ्गा गाउँपालिका भएर बग्ने राहुघाट नदीमा ४० मेगावाटको राहुघाट जलविद्युत् आयोजना, ४८ दशमलव ५ मेगावाटको माथिल्लो राहुघाट, २१ दशमलव ३ मेगावाटको ठूलोखोला जलविद्युत् आयोजना र सबैभन्दा माथि २२ दशमलव ५ मेगावाट क्षमताको ठूलोखोला माथिल्लो ‘ए’ जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा छन् । यी सबै आयोजनाले एक वर्षभित्र विद्युत् उत्पादन सुरु गर्ने रघुगङ्गाका अध्यक्ष भवबहादुर भण्डारीले बताउनुभयो । उहाँका अनुसार ३७ दशमलव ५ मेगावाटको मङ्गले राहुघाटले परीक्षण उत्पादनको तयारी गरेको छ ।

म्याग्दीखोला जलाधार क्षेत्रमा रहेका २५ मेगावाटको दरबाङ म्याग्दीखोला आयोजना, ५३ मेगावाटको अपर म्याग्दी–१ र ३७ मेगावाटको अपर म्याग्दीले धमाधम टनेल निर्माण गरिरहेका छन् भने ५७ मेगावाटको म्याग्दीखोला जलविद्युत् आयोजनाले पहुँचमार्ग निर्माण गरिरहेका धवलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले बताउनुभयो ।

म्याग्दीको उत्तरी भेगमा बेनीबाट मुस्ताङ सीमावर्ती घाँसासम्मको ३७ किमी खण्डमा बग्ने कालीगण्डकी नदीमा १८० मेगावाटको कालीगण्डकी गर्ज, ६६ दशमलव ५ मेगावाटको मध्यकालीगण्डकी, ५८ मेगावाटको तिप्ल्याङ कालीगण्डकी, ६५ मेगावाटको अपरकालीगण्डकी तथा ५० दशमलव ५३ मेगावाटको बेनी कालीगण्डकी गरी करिब ३८८ मेगावाट क्षमताका आयोजना विद्युत् विकास विभागसँग खरिद सम्झौता गरी निर्माण प्रक्रियामा छन् । बेनी कालीगण्डकीको ‘एलाइमेन्ट’मा म्याग्दी सदरमुकाम बेनीको अवरोध रहेकाले प्रक्रिया रोकिएको छ ।

म्याग्दीमा निर्माण भएका र निर्माणाधीन जलविद्युत् आयोजनाको केन्द्रीय ग्रिडमा जोड्नका लागि २२० केभी क्षमताको कालीगण्डकी करिडोर दाना–खुर्कोट प्रसारण लाइन र सबस्टेशन निर्माण भइसकेको छ । एक सय ३२ केभी क्षमताको डाँडाखेत–राहुघाट प्रसारण लाइन र सबस्टेशन निर्माणाधीन छ । सबस्टेशन र प्रसारण लाइन निर्माणसँगै जलविद्युत् आयोजनाले गति लिन थालेका गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जालीले बताउनुभयो ।

प्रहरीले भन्यो : दुर्गा प्रसाईं पक्राउ परेका छैनन्

काठमाडौँ, २९ चैत : नेपाल प्रहरीले विभिन्न आपराधिक घटनामा संलग्न रही फरार भएका दुर्गा प्रसाईँ खोजीको सूचीमा रहेको जनाएको छ ।

प्रहरीको विभिन्न स्रोत उल्लेख गरी ‘दुर्गा प्रसाईँ पक्राउ’ भन्ने शीर्षकमा विभिन्न सञ्चारमाध्यममा समाचार प्रकाशन भएकामा आफूहरूको गम्भीर ध्यानाकर्षण भएको प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक दिनेशकुमार आचार्यले जानकारी दिनुभयो । उहाँले प्रसाईँ पक्राउ नपरेको हुँदा भ्रामक समाचार प्रकाशन, प्रसारण नगरिदिन सबैमा अनुरोध गर्नुभएको छ ।

चीनको चोङकिङमा माओवादी केन्द्र र सिपिसीका नेताहरूबीच भेटवार्ता

चोङकिङ (चीन), २९ चैत : चीनको चोङकिङ भ्रमणमा रहेको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को उच्चस्तरीय भ्रमण दलले चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी)को चोकिङ सहरका वरिष्ठ अधिकारीसँग भेटवार्ता गरेको छ ।

बिहीबार साँझ चोङकिङ सहरको पार्टी स्कुल विभागमा भएको भेटवार्तामा माओवादी केन्द्रका सचिव दीनानाथ शर्मा, केन्द्रीय सदस्य रामद्वीप आचार्य, लेखनाथ न्यौपाने र नेताहरू सहभागी हुनुहुन्थ्यो ।

सो अवसरमा सचिव शर्माले माओवादी केन्द्र र चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) बीच गहिरोे सम्बन्ध रहेको बताउनुभयो । “यो पार्टी–पार्टीबीचको मात्र सम्बन्ध होइन, हामीबीच जनस्तरको सम्बन्ध पनि घनिष्ट छ । चीनप्रति सबै नेपालीले गहिरो माया, प्रेम र सम्मान प्रकट गर्दै आएका छन्”, उहाँले भन्नुभयो ।

सचिव शर्माले चिनियाँ विद्वानले इतिहासमा नेपालमा बुद्ध जन्मेको विषय बाहिरी विश्वलाई जानकारी गराएर नेपालको महत्त्व बढाएको उल्लेख गर्दै चीन र नेपालको सम्बन्ध सांस्कृतिक, धार्मिक, आर्थिकसहित बहुआयामिक रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “यस्ता भेटवार्ताले नेपाल–चीन मित्रतालाई थप गहिरो र घनिष्ट बनाउने छ, यहाँको विकासले हामीलाई प्रभावित गरेको छ । नेपालले चीनसँग सिक्ने विषय धेरै छन् । कतिपय विषयमा नेपालले चीनसँग समझदारी गरेर अगाडि बढ्ने नीति लिएको छ ।”

भेटवार्तामा चीनको चिनियाँ कम्युनिष्ट पार्टी र माओवादी केन्द्रले वैचारिक विषयमा अनुभव आदानप्रदान र तालिम कार्यक्रमलाई थप व्यवस्थित तरिकाले सञ्चालन गर्न दुवै दल सहमत भएका छन् ।

सो अवसरमा चोङकिङ नगरका पार्टी स्कुल विभागका प्रमुख लियु सियोउले चीनले नेपालसँगको सम्बन्धलाई ज्यादै महत्त्व दिएको र दुई देशबीचका जनतालाई पारस्पारिक लाभ हुनेगरी काम गर्न र सहकार्यका लागि आफूहरू सदैव तत्पर रहेको बताउनुभयो ।

नेपाल चीनबीचको ७०औँ वर्षगाठको प्रसङ्ग उल्लेख गर्दै नेता लियुले दुई देशबीच शिक्षा, व्यापार, संस्कृति र जनस्तरका क्षेत्रमा सम्बन्ध विस्तार गर्ने र व्यावहारिक सहकार्यलाई बलियो बनाउने धारणा व्यक्त गर्नुभयो ।

जनसङ्ख्याका हिसाबले चोङकिङ विश्वकै सबैभन्दा ठूलो र गतिशील सहर हो । पश्चिम चीनको यो सहरको जनसङ्ख्या तीन करोड छ लाख छभने आर्थिक हिसाबले पनि यो सहर महत्त्वपूर्ण रहेको छ । भेटवार्तामा चिनियाँ कम्युनिष्ट पार्टीको अन्तरराष्ट्रिय विभागका सदस्यहरू र चोङकिङ सहरका अन्य वरिष्ठ अधिकारीको सहभागिता रहेको थियो ।

यसअघि बिहीबार नै माओवादी केन्द्रको प्रतिनिधिमण्डलले चोङकिङ कृषि प्रविधि पार्कको भ्रमण गरेको छ । उच्चस्तरीय वैज्ञानिक प्रविधियुक्त सो कृषि पार्कसँग भरतपुर महानगरपालिकाले साझेदारीमार्फत काम गरिरहेको छ । उक्त आधुनिक कृषि अनुसन्धान केन्द्रमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समेत भ्रमण गर्नुभएको थियो ।

अनुसन्धानमा आधारित नीति निर्माणलाई संस्थागत बनाउनुपर्छ : मन्त्री भट्टराई

काठमाडौँ, २८ चैत : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले अध्ययन अनुसन्धानमा आधारित नीति निर्माणलाई संस्थागत बनाउनुपर्ने बताउनुभएको छ ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद् स्वास्थ्य तथा जनसङ्ख्या वैज्ञानिकहरुको ११औँ शिखर सम्मेलनको आज यहाँ उद्घाटन गर्दै मन्त्री भट्टराईले वैज्ञानिक प्रमाण र तथ्यमा आधारित निर्णयले मात्र दिगो विकास सम्भव बनाउने बताउनुभयो ।

“तथ्य र प्रमाणमा अनुसन्धानकर्ताको निश्चित निष्कर्षका आधारमा नीति निर्माण भए दिगो विकास सम्भव हुन्छ”, उहाँले भन्नुभयो, “अध्ययन अनुसन्धान नीति निर्माणको आधारशिला र मार्गदर्शन हो ।” नीति र निर्माण गर्ने कुरा राजनीतिले निर्धारण गरिरहेको मन्त्री भट्टराईले उल्लेख गर्नुभयो । हाम्रो देशमा स्वास्थ्य र शिक्षामा भएका अनुसन्धानले नीति निर्मातालाई तथ्यमा आधारित भएर निर्णय लिन सहयोग पु¥याउँदै आए पनि त्यो प्रर्याप्त नभएको उहाँले बताउनुभयो ।

मन्त्री भट्टराईले स्वास्थ्य सम्बन्धि दिगो विकास लक्ष्य र परिवेश सुहाउँदो स्वास्थ्य सेवा प्राप्तिका लागि वैज्ञानिक खोज र अनुसन्धान अपरिहार्य रहेको तथा त्यसका लागि स्वास्थ्य अनुसन्धानमा लगानी गर्नुपर्ने दायित्व सरकारको रहेको बताउनुभयो । परिषद्ले स्वास्थ्य क्षेत्रलाई सवल र प्रभावकारी बनाउनमा अनुसन्धानका कार्य निरन्तर अगाडि बढाइरहेको उहाँको भनाइ थियो ।

मन्त्री भट्टराईले अनुसन्धानलाई नियमन गर्न, नवप्रवर्तक अनुसन्धानकर्तालाई क्षमता अभिवृद्धि गर्न तथा अनुसन्धानको तथ्य र प्रमाणको आधारमा नीति तथा योजना र कार्यक्रम निर्माण जस्ता प्रशसनिय कार्य परिषद्ले गर्दैआएको बताउनुभयो । विश्वव्यापी रुपमा नसर्ने रोगको समस्या, मानसिक स्वास्थ्य, पोषण, जैविक प्रतिरोध, जलवायु परिवर्तनले भविष्यमा पार्ने असर तथा ज्येष्ठ नागरिकको उपचार, स्वास्थ्य बिमा कार्यक्रमको विद्यामान समस्या र समाधानका उपाय जस्ता विषयलाई विशेष प्राथमिकता राखी अध्ययन अनुसन्धान गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

जलवायु परिवर्तन चुनौतीको रुपमा आएको र यस क्षेत्रमा थपिएका समस्या तथा सम्भावित असरलाई मापन गर्न विभिन्न अनुसन्धान सञ्चालन गरिएको उल्लेख गर्दै मन्त्री भट्टराईले स्वास्थ्य तथा जनसङ्ख्या क्षेत्रमा भएका अनुसन्धानबाट प्राप्त तथ्याङक र निष्कर्षलाई नीति निर्माण तथा कार्ययोजनामा रुपान्तरण गर्नुपर्ने बताउनुभयो ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा डा शिवराज अधिकारीले स्वास्थ्य क्षेत्र विकासका लागि स्वास्थ्य अनुसन्धानका विषयलाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो । सम्मेलनमा मन्त्रालयका सचिव डा विकास देवकाटाले अस्पातल, स्वास्थ्य चौकीमा सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) नभएकाले समस्या भएको जिकिर गर्दै ओएनएम गरेर स्वास्थ्यकर्मी व्यवस्थापन गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्रा डा अञ्जनीकुमार झाले परिषद्ले स्वास्थ्य क्षेत्रको अनुसन्धानका लागि नीति बनाउनुपर्नेमा जोड दिनुभयो । परिषद्का कार्यकारी सचिव डा प्रमोद जोशीले सम्मेलनबाट प्राप्त निष्कर्षले प्रमाणमा आधारित नीति निर्माण गर्न पूर्वाधार बनाउन र दिगो विकास लक्ष्य प्राप्त गर्न सहयोग पुग्ने बताउनुभयो ।

सम्मेलनमा नेपालसहित भारत, चीन, बेलायत, स्वीजरल्याण्ड, जर्मनी, अमेरिकालगायत देशका एक सयभन्दा बढी अन्तरराष्ट्रिय विज्ञ तथा एक हजारभन्दा बढी नेपाली प्रतिनिधि भौतिक तथा भर्चुअल रुपमा उपस्थित हुनेछन् । शनिबारसम्म सञ्चालन हुने उक्त सम्मेलनमा नसर्ने रोग, जलवायु परिवर्तनका कारण लाग्ने रोगलगायतबारे समूहगत रुपमा छलफल गरिने छ ।

अर्घाखाँचीमा चट्याङ लागेर वृद्धको मृत्यु

अर्घाखाँची, २८ चैतः जिल्लाको भूमिकास्थान नगरपालिकामा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ । भूमिकास्थान–१० लिसेपानी बस्ने ७२ वर्षीय यमबहादुर घर्तीको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिनुभयो ।

बोल्न नसक्ने बेहोसी अवस्थामा रहेका घर्तीलाई उपचारका लागि अर्घाखाँची अस्पतालमा ल्याइएको थियो । अस्पताल पुगेलगत्तै चिकित्सकले उहाँलाई मृत घोषणा गरेका प्रनाउ मल्लले बताउनुभयो । 

घरमा अन्य परिवार सकुशल रहेका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी जगन्नाथ मरासिनीले बताउनुभयो । गएरातिको हावाहुरीले पाणिनि गाउँपालिका–६ धातिबाङमा १७ घर गोठका छाना उडाएको छ । 

वडाभरिमा ११ वटा घर र छ वटा गोठका छानो हुरीले उडाएको वडा अध्यक्ष कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । हुरीबाट भएको क्षतिको यकिन विवरण सङ्कलन भइरहेको उहाँले बताउनुभयो । 

सन्धिखर्क नगरपालिका–१० धरमपानीका कमल जिसीको कुखुराको खोर गएरातिको हुरीले भत्काई पूर्णरूपमा क्षति भएको छ । खोर भत्किएपछि करिब एक सय ५० वटा ब्वायलर कुखरा च्यापिएर मरेका छन् । 

हुरीसँगै परेको वर्षाका कारण शीतगङ्गा नगरपालिका–१२ देउराली बस्ने भीमबहादुर चित्रेको टिनले छाएको दुईतले कच्ची घरको छानो उडाएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ । छानो उडाउनाका साथै घरको गारो पनि भत्किएको छ ।

४७ वर्षपछि जग्गा प्राप्तिसम्बन्धी नयाँ कानुन बन्दै:गृहमन्त्री लेखक

काठमाडाँै, २८ चैत : गृहमन्त्री रमेश लेखकले कानुनी र नीतिगत सुधारलाई प्राथमिकतामा राखेर ४७ वर्षपछि जग्गा प्राप्तिसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न विधयेकलाई द्रूत गतिमा अघि बढाउनुभएको छ ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नागरिकतासम्बन्धी ऐनलाई संशोधन र परिर्माजन गर्न बनको विधयेकलाई सङ्घीय संसद्मा पु¥याएपछि गृहमन्त्री लेखकले २०३४ सालमा बनेको जग्गा प्राप्ति ऐनलाई  समयसापेक्ष संशोधन तथा परिमार्जजन गर्न जग्गा प्राप्तिसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधयेक अघि बढाउनुभएको हो । गृह मन्त्रालयले जग्गा प्राप्तिसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न विधयेकमाथि सुझाव उपलब्ध गराउन सार्वजनिक गरेको छ । 

“विधयेकमाथि सुझाव सङ्कलनका लागि सबै मन्त्रालय, प्रदेश सरकार तथा सबै जिल्ला प्रशासन कार्यालयमा पठाउनुका साथै गृह मन्त्रालयको वेवसाइडमै विधेयक राखेका छौँ”, गृह मन्त्रालय कानुन महाशाखाका प्रमुख सहसचिव भरतमणि रिजालले भन्नुभयो, “प्राप्त सुझावसहित मन्त्रिपरिष्दको स्वीकृति लिएर विधेयकलाई सङ्घीय संसद्मा पेस गर्छौँ ।” उहाँले जग्गा प्राप्तिमा सहजता हुने गरी नयाँ कानुन ल्याउन लागिएको बताउनुभयो । 

“नयाँ कानुनमा सङ्घ÷प्रदेश र स्थानीय तहलाई जग्गा प्राप्तिको विषयमा सहजीकरण हुने गरी व्यवस्था गरिएको छ”, सहसचिव रिजालले भन्नुभयो, “प्रदेश र स्थानीय तहले व्यक्तिको जग्गा क्षतिपूर्ति दिएर लिन सक्नेलगायत व्यवस्था प्रस्ताव गरिएको छ ।” 

त्यसैगरी विधेयकमा वातावरण संरक्षण ऐन अनुकूल हुने गरी जग्गा प्राप्तिको विषय समेटिएको छ । उहाँले सङ्घीय स्वरुप दिने गरी जग्गा प्राप्तिको विषय अघि बढाइएको बताउनुभयो । “जग्गा प्राप्तिको अधिकार, पूर्व सम्भाव्यता अध्ययन तथा सामाजिक प्रभाव मूल्याड्कन अध्ययन, जग्गा प्राप्तिको प्रक्रिया, जग्गा प्राप्तिसम्बन्धी प्रारम्भिक कारबाही, वार्ताद्धारा जग्गा प्राप्ति लगायतका विषय कानुनमा समेटिएका छन्”, सहसचिव रिजालले भन्नुभयो– “जग्गा प्राप्तिको कार्यविधि, क्षतिपूर्ति र पुनःस्थापना वा पुनःवास कार्यक्रम लागू गर्ने प्रस्ताव रहेको छ ।”

बाजुरामा चट्याङ लागेर नौ महिने नाबालिकाको मृत्यु, आमा घाइते

बाजुरा, २८ चैत : बुढीगङ्गा नगरपालिका–१ कुँडीमा चट्याङ लागेर नौ महिने नाबालिकाको मृत्यु भएको छ ।चट्याङ लागेर बुढीगङ्गा–१ तल्लो कुडीकी वीरु सार्कीकी नौ महिनाकी छोरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिनुभयो ।

उनको घटनास्थलमै मृत्यु भएको हो । चट्याङ लागेर मृतक नाबालिकाकी आमा २८ वर्षीया सञ्जिता सार्की घाइते भएकी छिन् । प्रहरी नायब उपरीक्षक गिरीका अनुसार घाइते सञ्जिताको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

रामेछापमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, नौ घाइते

मन्थली ( रामेछाप), २८ चैत : रामेछापमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा नौ जना घाइते भएका छन् ।

मन्थली नगरपालिका–३ ठाँटीमा बा १६ च ६४७६ नं को जिप आज दुर्घटना हुँदा स्थानीय ६२ वर्षीया कृष्णनारायण श्रेष्ठ र ११ वर्षीया भूमिका श्रेष्ठको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रदीपकुमार सिंहका अनुसार स्थानीय शारदादेवी मन्दिरमा पुजा सकेर फर्कने क्रममा उक्त दुर्घटना भएको हो ।

घाइतेको मन्थलीस्थित विभिन्न अस्पतालमा उपचार भइरहेको छ । चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

उपकुलपति प्रा डा बरालको राजीनामा स्वीकृत

काठमाडौँ, २८ चैत : त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा डा केशरजङ्ग बरालको राजीनामा स्वीकृत भएको छ ।

प्रधानमन्त्री एवं त्रिभुवन विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले आज उपकुलपति प्रा डा बरालको राजीनामा स्वीकृत गर्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

केही दिन अघि उपकुलपति प्रा डा बरालले प्रधानमन्त्री ओली समक्ष राजीनामा बुझाउनुभएको थियो । उहाँ २०८० फागुनमा त्रिभुवन विश्वविद्यालयको उपकुलपति पदमा नियुक्त हुनुभएको थियो ।

तयारी नपुगेकाले कांग्रेसको महाधिवेशन २०८२ को मङ्सिरभित्र हुँदैन : प्रवक्ता महत

सिरहा । नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले तयारी नपुगेकाले  २०८२ मङ्सिरभित्र कांग्रेसको १५औँ महाधिवेशन नहुने बताएका छन् ।

नेपाल प्रेस युनियन सिरहा शाखाले बिहीबार लहानमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले पार्टीको आगामी महाधिवेशन समयमै नहुने स्पष्ट पारेका हुन् ।

“महाधिवेशनका लागि अहिलेसम्म सचिवालय पनि गठन भएको छैन । सदस्यता नवीकरण र नयाँ सदस्यता वितरणमा ढिलाइ भएको छ”, प्रवत्ता डा महतले भने, “त्यसकारण महाधिवेशनको निर्धारित समय सर्छ ।”

विधानअनुसार म्याद थप गर्ने व्यवस्था भएकाले त्यहीअनुसार महाधिवेशनको समय कम्तीमा एक वर्ष थपिने उनको भनाइ थियो । अहिले हुलाकी राजमार्गअन्तर्गत मधेस प्रदेशका जिल्लामा कांग्रेसका नेताकार्यकर्तासँग भेटघाट तथा अन्तरक्रिया अभियान आफूले सुरु गरेको डा महतले जानकारी दिए ।

फरक प्रसङ्गमा प्रवक्ता डा महतले नेपालमा अब संवैधानिक राजतन्त्रको सम्भावना नरहेको स्पष्ट पारे । उनले वर्तमान कांग्रेस–एमाले गठबन्धन सरकारले जनताको पक्षमा काम गरिरहेको दाबी गरे ।

चिनियाँ भर्तीहरू रुसका लागि लडिरहेको जेलेन्स्कीको भनाइपछि बेइजिङद्वारा ‘गैरजिम्मेवार टिप्पणीहरू’ को आलोचना

युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले बेइजिङलाई आफ्ना नागरिकहरू रुसद्वारा सङ्घर्षमा लड्न भर्ती भइरहेको थाहा भएको बताएपछि चीनले बिहीबार युक्रेन युद्धका पक्षहरूलाई ‘गैरजिम्मेवारपूर्ण टिप्पणी’ नगर्न चेतावनी दिएको छ ।

युक्रेनी सेनाले पूर्वी डोनेट्स्क क्षेत्रमा दुई चिनियाँ सैनिकलाई पक्राउ गरेको दाबी गरेको एक दिनपछि मस्कोको आक्रमणमा सहयोग गर्न तैनाथ गरिएका एक सय ५५ चिनियाँ नागरिकको विवरण किएभसँग रहेको जेलेन्स्कीले बुधबार बताउनुभएको थियो ।

बिहीबार जेलेन्स्कीको भनाइबारे सोधिएको प्रश्नमा बेइजिङको विदेश मन्त्रालयले ‘सम्बन्धित पक्षहरूलाई’ ‘गैरजिम्मेवारपूर्ण टिप्पणी व्यक्त गर्नबाट टाढा रहन’ भन्यो ।

“हामी सम्बन्धित पक्षहरूलाई चीनको भूमिका सही र स्पष्ट रूपमा पहिचान गर्न सल्लाह दिन्छौँ”, मन्त्रालयका प्रवक्ता लिन जियानले युक्रेन वा जेलेन्स्कीको नाम उल्लेख नगरी नियमित समाचार ब्रिफिङमा भन्नुभयो ।

रुससँगको घनिष्ठ सम्बन्धले मस्कोलाई महत्त्वपूर्ण आर्थिक र कूटनीतिक समर्थन दिएको भन्दै पश्चिमी सरकारहरूले आलोचना गरे तापनि तीन वर्षको युद्धमा चीनले आफूलाई तटस्थ पक्षको रूपमा चित्रण गरेको छ ।

“युद्ध कारबाहीमा चिनियाँ नागरिकहरूको प्रत्यक्ष संलग्नता... युद्ध विस्तार गर्ने दिशामा एक जानाजानी कदम हो”, जेलेन्स्कीले बुधबार भन्नुभयो ।   “उनीहरूले अन्य देशहरूलाई युद्धमा तान्छन्”, जेलेन्स्कीले रुसका बारेमा भन्नुभयो, “मलाई विश्वास छ कि उनीहरूले अब चीनलाई यो युद्धमा तान्दैछन् ।”

लिनले बेइजिङले ‘सधैँ आफ्ना नागरिकहरूलाई... कुनै पनि प्रकारको सशस्त्र द्वन्द्वमा संलग्न हुनबाट जोगिन आवश्यक रहेको’ बताउनुभयो ।   “चीन युक्रेन सङ्कटको निर्माता वा पक्ष होइन । हामी शान्तिपूर्ण समाधानका कट्टर समर्थक र सक्रिय प्रवद्र्धनकर्ता हौँ”, उहाँले भन्नुभयो ।

म्यान्मामा विनाशकारी भूकम्पपछि अहिलेसम्म ११२ वटा परकम्प रेकर्ड

म्यान्मामा ७.९ म्याग्निच्युडको विनाशकारी भूकम्पपछि करिब दुई हप्ताको अन्तरालमा ११२ परकम्प गएको रेकर्ड गरिएको छ । म्यान्माको मौसम विज्ञान तथा जल विज्ञान विभागका अनुसार चेत १५ पछि चैत २८ (बिहीबार)सम्म म्यान्मामा २.८ देखि ७.५ म्याग्निच्यूडसम्मका ११२ वटा परकम्प गएका हुन् ।

गत मार्च २८ मा गएको ७.९ म्याग्नीच्यूडको विनाशकारी भूकम्पका कारण तीन हजार ६४५ जनाकोे मृत्यु भएको र पाँच हजारभन्दा व्यक्ति घाइते भएका त्यहाँको सरकारले जनाएको छ ।

राज्य प्रशासन परिषद्को सूचना टोलीले मङ्गलबारसम्म जारी गरेको विज्ञप्तिमा मारिनेको सङ्ख्या तीन हजार ६४५ पुगेको छ भने पाँच हजार १७ जना घाइते भएका छन् भने १४८ जना अझै हराइरहेका छन् ।

बूढानीलकण्ठ नगरपालिकासँग कर्णालीका चार पालिकाको शैक्षिक समझदारीमा सम्झौता

काँक्रेविहार (सुर्खेत), २८ चैतः काठमाडौँको बूढानीलकण्ठ नगरपालिकाले कर्णालीका दुई जिल्लाका चार पालिकासँग शैक्षिक समझदारीपत्रमा हस्ताक्षर गरेको छ ।

जाजरकोटको कुशे गाउँपालिका र ठूलीभेरी नगरपालिका तथा डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका र त्रिपुरासुन्दरी नगरपालिकामा शैक्षिक समझदारीपत्रमा हस्ताक्षर भएको बूढानीलकण्ठका शिक्षा महाशाखाका प्रमुख उपसचिव ललितविक्रम सिंहले जानकारी दिनुभयो । उहाँका अनुसार बुधबार डोल्पाका दुई स्थानीय तह र आज जाजरकोटका दुई स्थानीय तहसँग शैक्षिक क्षेत्रको सुधार तथा विकासका लागि समझदारीपत्रमा हस्ताक्षर गरिएको हो । 

त्रिपुरासुन्दरी नगरपालिकाका तर्फबाट प्रमुख जनचन्द्र रोकाय, शे–फोक्सुण्डो गाउँपालिकाका तर्फबाट अध्यक्ष धावासम्दुक गुरुङ र बूढानीलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारीले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो । जाजरकोटको भेरी नगरपालिकाका तर्फबाट उपप्रमुख सीता जैसी, कुशे गाउँपालिकाका तर्फबाट देवीका सिंहले हस्ताक्षर गर्नुभएको थियो । बूढानीलकण्ठ नगरपालिकाको तर्फबाट नगरप्रमुख अधिकारीले सम्झौतापत्रमा हस्ताक्षर गनुभएको छ । 

दुई जिल्लाका चार स्थानीय तहको शैक्षिक क्षेत्रको विकास तथा एकअर्का पालिकामा भएका असल अभ्यासलाई अनुशरण गर्नेगरी प्रमुखहरूबीच समझदारी भएका सिंहले जानकारी दिनुभयो । यस प्रकारको समझदारीले दुर्गमका पालिकाको शिक्षा क्षेत्रमा सुधार गर्न सघाउ पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । 

सदस्यताको आवेदन दिने समय सकियो, अब सम्पूर्ण ध्यान डेलिगेट्समा केन्द्रीत हुन अपिल

काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) उच्चस्तरीय समितिले डेलिगेट्समा केन्द्रीत हुन सबैलाई अपिल गरेको छ । अप्रिल ७ तारिखसम्म तय भएको सदस्यता आवेदनको समय सकिएकाले डेलिगेट्स दर्ताका लागि निवेदन दिन पनि समितिले सबैलाई अपिल गरेको हो ।

उच्चस्तरीय समितिकी सदस्य सचिव एवं सदस्यता तथा डेलिगेट्स उपसमिति संयोजक जानकी गुरुङले मंगलबार एक विज्ञप्ति प्रकाशित गरेर मे ३–५, २०२५ मा काठमाडौंमा हुने महाधिवेशनका लागि तयारी तीव्र भइरहेको जानकारी गराउँदै सदस्यताको लागि प्राप्त निवेदनहरुको छानविन गरेर पारदर्शी तरिकाले प्रकाशित गरिने बताइन् ।

सर्वोच्च अदालतको परमादेशबाट गठित उच्चस्तरीय समितिले पारदर्शी तरिकाले काम गरिरहेको बताउँदै सवै विवरण वेवसाइटमा सार्वजनिक हुने भएकाले कुनै पनि भ्रममा नपर्न पनि गुरुङले आग्रह गरिन् । उनले भनिन्, ‘अब सदस्यताको काम सकिएको छ, सचिवालयले छानविन गरेर सार्वजनिक गर्छ । अब सम्पूर्ण ध्यान २२ अप्रिलसम्म डेलिगेट्समा केन्द्रीत हुन्छौं ।’ उच्चस्तरीय समितिकै वेवसाइट (www.nrnahlc.com) मार्फत डेलिगेट्समा दर्ता हुनका लागि अप्रिल १ तारिखदेखि खुला गरिसकिएको छ ।

केही सामाजिक सञ्जालमा उच्चस्तरीय समितिलाई जोडेर आएका सामग्रीप्रति पनि ध्यानाकर्षण भएको उनले बताइन् ।

नेपालको संसदद्वारा पारित गैर आवासीय नेपाली सम्बन्धी ऐन २०६४ ले गरेको परिभाषा अन्तर्गत पर्ने, सार्क मुलुक बाहिर बसोबास गर्ने एनआरएनहरू मात्रै महाधिवेशनका लागि डेलिगेट्स बन्न पाउने विषय प्रष्ट रहेकोमा यो तथ्यलाई बङ्ग्याइ सार्क सदस्य मुलुकहरुबाट पनि सदस्यताका लागि निवेदन परेको भन्ने जस्ता समाचारहरू असत्य र आधारहीन भएको पनि उच्चस्तरीय समितिले स्पष्ट गरेको छ ।

पानीको परम्परागत स्रोतको पुनरुत्थान गर्न महानगरप्रमुख शाहको निर्देशन

काठमाडौँ, २८ चैतः काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले पानीको परम्परागत स्रोतको पुनरुत्थानका लागि सरोकार भएका निकायलाई निर्देशन दिनुभएको छ । आज पुरातात्विक महत्त्वको भैरव हिटी उत्खनन कार्यको अनुगमन गर्दै उहाँले पानीको परम्परागत स्रोतको पुनरुत्थान गर्नुपर्नेमा जोड दिनुभयो ।

उक्त हिटी कामपाको वडा नम्बर ७ गङ्गाहिटी मार्गमा पर्दछ । अनुगमनका क्रममा प्रमुख शाहले हिटीको प्राचीन पहिचान, उपयोग र अतिक्रमण, पानीको प्रवाह र निकासका बारेमा जानकारी लिनुभएको थियो । 

भैरव हिटीभन्दा माथिल्लो भूगोलमा रहेको गङ्गाहिटीमा आउने पानीलाई भैरव हिटीमा आउने पानीको स्रोतका रूपमा उपयोग गर्न सुझाव प्राप्त भएपछि प्रमुख शाहले पुरानो पानीको स्रोत पहिचान गरेर उपयोगको सम्भावना खोज्न निर्देशन दिनुभएको हो । 

कामपा–७ का वडाध्यक्ष विमलकुमार होडाका अनुसार वडामा करिब १२ हिटी छन् । जसमध्ये आठ अस्तित्वमा छन् । वाहिटी, गङ्गाहिटी, गणेशधारा, भैरव हिटी र मित्र धारा वडामा भएका हिटी रहेका भन्दै सङ्कटमा रहेका हिटीहरूको पुनरुत्थान र अस्तित्वमा नभएका हिटीहरूको खोजी भइरहेको उहाँले जानकारी दिनुभयो । 

“स्थानीय प्रतिनिधि र स्थानीयवासीले दिएको सूचनाका आधारमा कामपाले पुरिएको अवस्थामा हिटी फेला पारेको थियो । हिटीमाथि दुईतले पक्की संरचना थियो । यो संरचनालाई टोल सुधार समितिले भोगचलन गर्दै आएको थियो । यसको माथिल्लो तलामा कार्यालय र जमिन तलामा व्यावसायिक सटर थिए”, उहाँले भन्नुभयो ।  

टोल सुधार समितिको समन्वयमा पक्की संरचना हटाएर हिटीको उत्खनन सुरु गरिएको हो । सम्पदा तथा पर्यटन विभागले यही चैत १० गतेदेखि दैनिक १० जना कामदार परिचालन गरेर उत्खनन गरिरहेको छ । उत्खननका क्रममा अहिलेसम्म हिटीको ‘माअप्पा’ (मुख्य पर्खाल) र ढुङ्गेधारा भेटिएको छ । करिब सात फिट गहिराइसम्मको उत्खननपछि यी संरचना भेटिएका हुन् । 

अभिलेख उद्धृत गर्दै सम्पदा तथा पर्यटन विभागकी प्रमुख कुमारी राईले भन्नुभयो, “यो अठारौँ शताब्दीमा निर्माण गरिएको हो । विसं १९४० मा यसको जीर्णोद्धार गरिएको पाइन्छ । हिटीको लम्बाइ २५ फिट तीन इञ्च र चौडाइ १५ फिट रहेको विवरण छ । उत्खनन कार्य नियालिरहेका स्थानीयका अनुसार २०२८ सालतिर चक्रपथको काम गर्दा पानीको स्रोत बन्द भयो । अहिले यहाँ खानेपानीको पाइप जडान भएको छ ।” 

शैक्षिक गुणस्तरका लागि चार हजार बढी शिक्षकलाई तालिम 

काठमाडौँ महानगरपालिकाले शैक्षिक गुणस्तर विकास र नतिजा सुधारका लागि विद्यालयका शिक्षकहरूलाई विभिन्न विधामा तालिम आयोजना गर्ने भएको छ ।   चार हजार ८० शिक्षकलाई लक्षित मानेर तालिम सञ्चालनको तयारी गर्न लागिएको कामपा सहरी योजना आयोगका सहायकविज्ञ विवेक बास्तोलाले जानकारी दिनुभयो ।  

उहाँका अनुसार आगामी वैशाख ८ गतेदेखि सुरु हुने तालिमका सातवटा क्षेत्र रहनेछन् । तालिममा सहभागी हुन शिक्षकले ‘अनलाइन’बाट आवेदन दिनुपर्नेछ । सामुदायिक र संस्थागत दुवै प्रकारका विद्यालयमा अध्यापन गर्ने शिक्षकले आवेदन दिन पाउने बताउँदै उहाँले आवेदनको अन्तिम मिति वैशाख २ गतेसम्म रहेको जानकारी दिनुभयो । 

“आवेदन दिँदा नाम थर, स्थायी ठेगाना, फोन नम्बर, इमेल ठेगाना, काम गरिरहेको शिक्षण संस्थाको नाम र ठेगाना, शिक्षण संस्थाको प्रकार (सामुदायिक वा संस्थागत), शिक्षण पेसामा काम गरिरहेको प्रमाण, नागरिकताको प्रमाणपत्र, परिचयपत्र वा नियुक्ति पत्रलगायत विवरण भर्नुपर्छ”, बास्तोलाले भन्नुभयो ।  

आगामी वैशाख ८ गतेदेखि सुरु हुने तालिममा कक्षा ४ देखि १० सम्मका शिक्षकहरू एकीकृत सिकाइ, आन्तरिक मूल्याङ्कन नतिजा सुधारका लागि वैशाख १२ गतेसम्म सञ्चालन हुनेछ । 

यही समूहका लागि वैशाख १३ देखि १५ गतेसम्म प्रश्नपत्र निर्माण तथा विश्लेषण तालिम हुनेछ । तालिमका लक्षित सहभागी शिक्षक क्रमशः ५४० र एक हजार २९० जना हो । यही समूहका शिक्षक सिकाइमा सूचना प्रविधिसम्बन्धी तालिम वैशाख १६ गतेदेखि सुरु हुनेछ । चारदिने यो तालिममा ४५० शिक्षक सहभागी  हुनेछन् । 

कक्षा १ देखि ३ सम्मका शिक्षकलाई एकीकृत पाठ्यक्रम र प्रारम्भिक बाल विकास तथा शिक्षाका सहजकर्ताको वैशाख ८ गते सुरु हुने तालिम वैशाख २८ गतेसम्म सञ्चालन हुने कामपा सहरी योजना आयोगका सहायकविज्ञ बास्तोलाले जानकारी दिनुभयो । उहाँका अनुसार यी दुवै शीर्षकका हरेक तालिममा ४८०/४८० जना शिक्षकलाई सहभागी हुनेछन् । 

कक्षा ४ देखि ८ सम्मका शिक्षकहरूका लागि पुस्तकबिनाको सिकाइ (बुक फ्री फ्राइडे) सिर्जनात्मक सिकाइसम्बन्धी तालिम वैशाख २१ गते प्रारम्भ हुनेछ । तीन सय शिक्षकलाई सहभागी गराउने लक्ष्य राखिएको यो तालिम आगामी जेठ ४ गते सम्पन्न हुनेछ । यही समूहका शिक्षकलाई वृत्ति मार्गनिर्देशन तथा मनोसामाजिक परामर्शसम्बन्धी तालिम आगामी जेठ ४ गते सुरु भएर ८ गते समापन हुनेछ । यसमा ५४० जना शिक्षक सहभागी  हुनेछन् ।

गुल्मीमा हावाहुरीबाट ३६ लाखको क्षति

तम्घास (गुल्मी), २८ चैतः गुल्मीमा गएराति गएको हावाहुरीबाट ३६ लाखभन्दा बढीको भौतिक क्षति भएको छ । बुधबार राति चलेको हावाहुरीबाट जिल्लाका विभिन्न स्थानका घर, विद्यालय एवं होटलको छाना उडाउनाका साथै भौतिक संरचनामा गरी कुल ३६ लाख ४५ हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

हावाहुरीले कालीगण्डकी गाउँपालिकाका तीन, मालिकाका ११, धुर्कोट गाउँपालिकाका नौ, रुरु गाउँपालिकाका एक तथा रेसुङ्गा नगरपालिकाका दुई घरमा क्षति पु¥याएको छ । धुर्कोट गाउँपालिका–४ बर्बोटमा अरुण गैरेले सञ्चालन गरेको सुपारी होटलमा पाँच लाखको क्षति भएको छ । होटलको छाना उडाउनाका साथै अन्य क्षति गरेको प्रहरीले जनाएको छ । 

गएराति चलेको हावाहुरीले मालिका गाउँपालिका–४ मा रहेको अर्खबाङ्ग माध्यमिक विद्यालयको कम्प्युटर ल्याब, शौचालय र पुस्तकालय भवनको छानो उडाएको छ । त्यसैगरी, अर्खबाङमा रहेको अर्खबाङ कृषि तथा पशु सहकारीको छानो पनि उडाएको जिल्ला प्रहरी कार्यालयका प्रमुख राजन भुजेलले जानकारी दिनुभयो । उहाँका अनुसार विद्यालयमा एक लाख ५० हजार तथा सहकारीमा एक लाख बराबरको क्षति भएको छ । 

प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले यो विवरण अहिलेको प्रारम्भिक तथ्याङ्क भएको जनाउँदै क्षतिको थप विवरण पालिकालाई पठाउन आग्रह गरिएको बताउनुभयो । राहतका लागि पालिकालाई अनुरोध गरिएको भन्दै उहाँले अहिले तत्काल प्रशासनबाट कुनै राहतका कार्यक्रम भने नभएको जानकारी दिनुभयो ।

माओवादी केन्द्रका नेताहरु चीनको चोङकिङमा

चोङकिङ (चीन), २८ चैतः चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का सदस्य सम्मिलित २० सदस्यीय प्रतिनिधिमण्डल चीनको चोङकिङ सहरमा आइपुगेको छ ।

माओवादी केन्द्रका सचिव दीनानाथ शर्मा नेतृत्वको प्रतिनिधिमण्डललाई चोङकिङ नगरमा बुधबार चिनियाँ कम्युनिष्ट पार्टीको चोङकिङ नगरपालिका पार्टी स्कुलका नेता वाङ तियानलियाङले स्वागत गर्नुभयो ।

प्रतिनिधिमण्डलमा पार्टी केन्द्रीय सदस्यहरु लेखनाथ न्यौपाने, रामदीप आचार्य, माओवादी केन्द्रको अन्तरराष्ट्रिय विभाग, स्कुल विभाग, मजदूर तथा बुद्धिजीवी सङ्गठन, अखिल (क्रान्तिकारी)लगायत विभागका सदस्य सहभागी हुनुहुन्छ ।चोङकिङ चीनको महत्वपूर्ण आर्थिक र व्यापारिक केन्द्र हो भने चीनमा केन्द्रीय सरकार मातहत रहेका चार सहरमध्ये एक हो ।

नरेश फिलिपेसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत

काठमाडौँ, २८ चैतः बेल्जियम अधिराज्यका लागि नेपालकी राजदूत सेवा लम्सालले त्यहाँका नरेश फिलिपेसमक्ष आफ्नो ओहोदाका प्रमाणपत्र प्रस्तुत गर्नुभएको छ ।
ब्रसेल्सस्थित राजदरबारमा बुधबार आयोजित विशेष समारोहमा उहाँले आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्नुभएको हो । प्रमाणपत्र पेस गरेपछि बेल्जियमका नरेशसँग भएको शिष्टाचार भेटमा राजदूत लम्सालले राष्ट्रपति रामचन्द्र पौडेलका तर्फबाट मौसूफको सुख, सुस्वास्थ्यका साथै बेल्जियमका जनताको निरन्तर समृद्धिको कामना गर्नुभएको ब्रसेल्सस्थित नेपालको राजदूतावासले जनाएको छ ।

त्यस अवसरमा नेपाल–बेल्जियम सम्बन्धका विविध पक्षका साथै दुई देशबीचको व्यापार, पर्यटन, लगानी, शिक्षा, संस्कृति र जनस्तरको सम्बन्धलाई अझ सुदृढ बनाउनेबारे विचारविमर्श भएको थियो ।

सन् १९९८ मा आफू युवराजधिराज रहँदा गरेको नेपाल भ्रमणको स्मरण गर्दै मौसूफले राजदूत लम्सालको कार्यकालमा बेल्जियम र नेपालबीचको सम्बन्ध अझ समृद्ध हुने विश्वास व्यक्त गर्नुभएको थियो ।

यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य

काठमाडौँ, २८ चैतः कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो ।

गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ४०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ५०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु २०, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु २५, आलु रातो प्रतिकिलो रु ३५, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ४३, गाजर (लोकल) प्रतिकिलो रु ३५, गाजर (तराई) प्रतिकिलो रु ३०, बन्दा (लोकल) प्रतिकिलो रु १५, बन्दा (तराई) प्रतिकिलो रु १२, बन्दा (नरिवल) प्रतिकिलो रु २०, काउली (स्थानीय) प्रतिकिलो रु ३०, स्थानीय काउली (ज्यापु) प्रतिकिलो रु ३०, मूला रातो प्रतिकिलो रु ४५, मूला सेतो (लोकल) प्रतिकिलो रु २०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु ३०, भन्टा लाम्चो प्रतिकिलो रु ४० तथा भन्टा डल्लो प्रतिकिलो रु ४५, तने बोडीको मूल्य प्रतिकिलो रु ८० कायम गरिएको छ ।

यसैगरी, मटरकोसा प्रतिकिलो रु ७०, घिउ सिमी (लोकल) प्रतिकिलो रु ९०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु ९०, घिउ सिमी (राजमा) प्रतिकिलो रु ८०, टाटे सिमी प्रतिकिलो रु ७०, तितो करेला प्रतिकिलो रु ९०, लौका प्रतिकिलो रु ५०, परबर (लोकल) प्रतिकिलो रु ९०, परबर (तराई) प्रतिकिलो रु ९०, चिचिण्डो प्रतिकिलो रु ७०, घिरौला प्रतिकिलो रु ७०, झिगुनी प्रतिकिलो रु ७०, फर्सी पाकेको प्रतिकिलो रु ५०, फर्सी हरियो (लाम्चो) प्रतिकिलो रु ४०, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु ४०, सलगम प्रतिकेजी रु ७०, भिण्डी प्रतिकिलो रु ८० कायम गरिएको छ । 

यस्तै, सखरखण्ड प्रतिकिलो ७०, बरेला प्रतिकिलो रु ६०, पिँडालु प्रतिकिलो रु ९०, स्कूस प्रतिकिलो रु ४०, रायो साग प्रतिकिलो रु ६०, पालुङ्गो साग प्रतिकिलो ८०, चमसुरको साग रु १००, तोरी प्रतिकिलो रु ४०, मेथीको साग प्रतिकिलो रु ९०, प्याज हरियो प्रतिकिलो रु ४०, बकुला प्रतिकिलो रु ५०, तरुल प्रतिकिलो रु १००, च्याउ (कन्य) प्रतिकिलो रु १४०, च्याउ (डल्ले) प्रतिकिलो रु ३५० तथा कुरिलो प्रतिकिलो रु ६०० निर्धारण गरिएको छ ।

निगुरो प्रतिकिलो रु ८०, ब्रोकाउली प्रतिकिलो रु ७०, चुकुन्दर प्रतिकिलो रु ६०, सजीवन प्रतिकिलो रु १८०, कोइरालो प्रतिकिलो रु २२०, रातो बन्दा प्रतिकिलो रु ४५, जिरीको साग प्रतिकिलो रु ६५, ग्याठकोभी प्रतिकिलो रु ६५, सेलरी प्रतिकिलो रु २००, पार्सले प्रतिकिलो रु ३००, सौफको साग प्रतिकिलो रु ९०, पुदिना प्रतिकिलो रु ३५०, गान्टे मूला प्रतिकिलो रु ६०, इमली प्रतिकिलो रु १७०, तामा प्रतिकिलो रु १००, तोफु प्रतिकिलो रु १२० र गुन्द्रुक प्रतिकिलो रु ३५० तोकेकोे छ ।

समितिले स्याउ (झोले) प्रतिकिलो रु २५०, स्याउ (फूजी) प्रतिकिलो रु ३५०, केरा (दर्जन) रु १६०, कागती प्रतिकिलो रु २८०, अनार प्रतिकिलो रु ३५०, अङ्गुर (हरियो) प्रतिकिलो रु २००, अङ्गुर (कालो) प्रतिकिलो रु २५०, भारतीय सुन्तला रु १५०, तरबुजा हरियो प्रतिकिलो रु ७०, मौसम प्रतिकिलो रु २००, जुनार प्रतिकिलो रु २००, भुइँकटहर प्रतिगोटा रु २००, काँक्रो (लोकल) प्रतिकिलो रु १००, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु ५०, रुख कटहर प्रतिकिलो रु ११०, निबुवा प्रतिकेजी रु ५०, नासपाती (चाइनिज) प्रतिकिलो रु २६०, मेवा (नेपाली) प्रतिकिलो रु ५०, मेवा (भारतीय) प्रतिकिलो रु १२०, अम्बा प्रतिकिलो रु १२०, लप्सी प्रतिकिलो रु १००, उखु प्रतिगोटा रु १००, स्ट्रबेरी प्रतिकिलो रु २५०, किबी प्रतिकिलो रु ४५०, आभोकाडो प्रतिकिलो रु ६५० तथा अमला प्रतिकिलो रु १३० निर्धारण गरिएको छ ।

यसैगरी, खुर्सानी सुकेको प्रतिकिलो रु ४००, खुर्सानी हरियो प्रतिकिलो रु ५०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु ६०, खुर्सानी हरियो (माछे) प्रतिकिलो रु ७०, खुर्सानी हरियो (अकबरे) प्रतिकिलो २५०, भेडे खुर्सानी प्रतिकिलो रु ८०, लसुन हरियो प्रतिकिलो रु ६०, हरियो धनिया प्रतिकिलो रु १५०, लसुन सुकेको चाइनिज प्रतिकिलो रु ३२०, लसुन सुकेको नेपाली प्रतिकिलो रु ३००, ताजा माछा (रहु) प्रतिकिलो रु ३२०, ताजा माछा (बचुवा) प्रतिकिलो रु २६०, ताजा माछा (छडी) प्रतिकिलो रु २४०, रुख टमाटर प्रतिकिलो रु १४० र राजा च्याउ प्रतिकिलो रु ३००, सिताके च्याउ प्रतिकिलो रु ८०० तोकेको छ ।

स्वास्थ्यमन्त्री पौडेल र माल्दिभ्सकी मन्त्री खादिजाबीच भेटघाट

वासिङटन डिसी (अमेरिका- स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेल र माल्दिभ्सकी स्वास्थ्य राज्यमन्त्री खादिजा अब्दुल समाद अब्दुल्लाहबीच न्युयोर्कमा भेटघाट भएको छ ।

संयुक्त राष्ट्रसङ्घको मुख्यालय न्युयोर्कमा जनसङ्ख्या तथा विकास आयोगको ५८औँ सम्मेलनमा भाग लिन आउनुभएका मन्त्री पौडेलले ‘साइडलाइन’ भेटघाट गर्दै आउनुभएको छ ।

न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घका लागि नेपाली नियोगले दिएको जानकारीअनुसार उहाँहरूबीच स्वास्थ्य क्षेत्रमा सहकार्य गर्नेलगायत विषयमा छलफल भएको थियो ।

भारतीय कृषिमन्त्री नेपालमा, कृषिसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर

काठमाडौँ-भारतका ग्रामीण विकास तथा कृषि तथा किसान कल्याणमन्त्री शिवराज सिंह चौहान तेस्रो बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को कृषिमन्त्रीस्तरीय बैठकमा भाग लिन नेपाल भ्रमणमा आउनुभएको छ ।काठमाडौँमा आयोजित बिम्स्टेक कृषिमन्त्रीस्तरीय बैठक (तेस्रो बिएएमएम)मा सहभागिता जनाउन उहाँ यही मङ्गलबार यहाँ आउनुभएको हो ।

भ्रमणका क्रममा भारतीय मन्त्री चौहानले आफ्ना समकक्षी नेपालका कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीसँग द्विपक्षीय बैठक गर्नुभयो । उहाँले तेस्रो बिएएमएमको बैठक सफलतापूर्वक आयोजना गरेकामा आफ्ना समकक्षीलाई बधाई दिनुभएको थियो । दुवै मन्त्रीहरूले कृषि क्षेत्रमा गरिएका विभिन्न द्विपक्षीय पहल र विकास परियोजनाहरूमा भएको प्रगतिको समीक्षा गर्दै थप सहकार्यका लागि हुन सक्ने अवसरहरूबारे छलफल गर्नुभएको मन्त्रालयले जनाएको छ ।

कृषि क्षेत्रमा सहयोगसम्बन्धी समझदारीपत्रमा दुवै मन्त्रीहरूले आज हस्ताक्षर गर्नुभएको थियो । उक्त सम्झौताले दुई देशबीच कृषि विज्ञान तथा प्रविधि, कृषि उत्पादन, बाली उत्पादन, कृषि व्यापार तथा बजारीकरण, बिरुवा संरक्षण र बजार पहुँच, बागवानी, एकीकृत कृषि प्रणाली, लघु सिँचाइ, प्राकृतिक स्रोत व्यवस्थापन, जैविक खेती, जैविक मल र जैविक विषादी, पोष्टहार्भेष्टको व्यवस्थापन, जलवायु उत्थानशीलता र दिगो कृषि जस्ता क्षेत्रमा सहयोग प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ । यस सम्झौताले २०४८ साल मङ्सिर २० गते कृषि सहयोगका लागि दुई देशबीच हस्ताक्षर गरिएको समझदारीपत्रलाई प्रतिस्थापन गरेको छ ।

यसैगरी, भारतीय मन्त्रीले   प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेटवार्ता गर्नुभएको थियो । उहाँले भारतको नेतृत्वका तर्फबाट अभिवादन व्यक्त गर्दै भारत र नेपालबीचको घनिष्ठ र मैत्रीपूर्ण सम्बन्धका बारेमा छलफल गर्नुभएको थियो । 

त्यस अवसरमा उहाँहरूबीच कृषिका विभिन्न क्षेत्रहरूमा नेपाल—भारत सहयोगलाई थप सुदृढ पार्ने तरिकाहरूबारे पनि छलफल भएको जनाइएको छ ।

क्षेत्रीय कृषि सहयोगलाई आकार दिन सर्वोच्च निर्णय लिने निकायका रूपमा रहेको बिएएमएमको यो तेस्रो बैठक हो । बिएएमएमको पहिलो बैठक २०७६ साल असार २७ गते म्यान्मारमा भएको थियो र त्यसपछिको दोस्रो बैठक २०७९ साल कात्तिक २४ गते भारतमा भएको थियो । तेस्रो बिएएमएम बैठक काठमाडौँमा भएको हो । बैठकमा मत्स्यपालन र पशुपन्छी सहयोगसहित बिम्स्टेक कृषि क्षेत्रमा थप गति प्रदान गर्ने तरिका र माध्यमहरूबारे छलफल भएको छ ।

विगत एक दशकमा बङ्गालको खाडी क्षेत्रमा क्षेत्रीय विकास, सम्पर्क सञ्जाल र आर्थिक समुन्नतिलाई प्रवर्द्धन गर्न बिम्स्टेक एक महत्वपूर्ण मञ्चका रूपमा उदय भएको छ । ‘कृषि र खाद्य सुरक्षा’ बिम्स्टेक सहयोगका मुख्य क्षेत्र मध्यको एक हो ।

गएको मनसुनपछि निकै कम वर्षा, वैशाख १५ सम्म वर्षा कमै हुने अनुमान

काठमाडौँ- गएको मनसुनपछि नेपालमा राम्ररी वर्षा हुन सकेको छैन । जल तथा मौसम विज्ञान विभागका अनुसार यही चैत ९ र १० (मार्च २२ र २३) गते देशका अधिकांश भू–भागमा हल्कादेखि मध्यम वर्षा भएकामा तत्पश्चात् पर्याप्त वर्षा हुन सकेको छैन ।

पश्चिमी वायुको प्रभाव ज्यादै कमजोर रहेकाले विगत लामो समयदेखि देशभर पर्याप्त वर्षा नभएको तथा तापक्रममा वृद्धि हुँदा वायुमण्डल सुक्खा रहेको विभागकी प्रवक्ता विभूती पोखरेलले बताउनुभयो । त्यसैले तुवाँलोको प्रभावले वायुमण्डलको पारदर्शितासमेत न्यून हुन गई हालको वायु प्रदूषणलाई थप जोखिमयुक्त अवस्थामा पु¥याउन भूमिका खेलेको उहाँले बताउनुभयो ।

अप्रिल महिनाको जलवायु आकलनअनुसार सरदर (५८ दशमलव सात मिमी) वा सरदरभन्दा कम वर्षा हुन सक्ने सम्भावना रहेको विभागले जनाएको छ । यही चैत २८ सम्म देशका पहाडी क्षेत्रमा वर्षाको सम्भावना भए पनि ठूलो वर्षा नहुने र देशभरको मौसममा अपेच्छित सुधार हुने अवस्था नदेखिएकाले मौसमसम्बन्धी जानकारी अद्यावधिक गरिरहन तथा आवश्यक सतर्कता अपनाउन विभागले सबैमा अपिल गरेको छ । 

यस वर्ष मनसुनपश्चात् पोष्ट–मनसुनको अवधि (अक्टोबरदेखि नोभेम्बर २०२४) मा देशभर सरदर (६४ मिमी) भन्दा १९ दशमलव ६४ प्रतिशत न्यून वर्षा भएको छ । तापक्रम पनि सरदर (२० दशमलव एक डिग्री सेल्सियस) भन्दा शून्य दशमलव सात डिग्री बढी रहेको विभागले जनाएको छ ।

यसैगरी हिउँद अवधि (डिसेम्बर २०१४ देखि फेब्रुअरी २०२५) मा देशभर सरदर (६० दशमलव चार मिमी) भन्दा ७९ दशमलव ४४ प्रतिशत न्यून वर्षा भएको र तापक्रम सरदर (१३ दशमलव पाँच डि से) भन्दा शून्य दशमलव पाँच डिग्री बढी रहेको विभागले जानकारी दिएको छ ।

गएको मार्च महिनामा समेत देशभरको सरदर वर्षा (३२ दशमलव दुई मिमी) मा २९ दशमलव ५४ प्रतिशत कमी आएको तथा तापक्रममा सरदर (१८ दशमलव आठ डिग्री) भन्दा शून्य दशमलव आठ डिग्री बढी मापन भएको विभागले जनाएको छ ।

राष्ट्रपतिद्वारा महावीर जयन्तीको शुभकामना व्यक्त

काठमाडौँ, २८ चैतः राष्ट्रपति रामचन्द्र पौडेलले जैन धर्मका प्रवर्तक महावीरको २६२४ औँ जन्मजयन्तीका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली जैन धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिका शुभकामना व्यक्त गर्नुभएको छ ।

उहाँले आज दिनुभएको शुभकामना सन्देशमा महावीरले अहिंसा र संयमको उत्कृष्ट साधना गर्नुका साथै जनकल्याणको लागि गर्नुभएको मार्गदर्शनको परिपालन गर्न सकेमा धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधताबीच सहिष्णुता र सद्भाव कायम गर्दै राष्ट्रिय एकतालाई सुदृढ बनाउन सकिने विश्वास व्यक्त गर्नुभएको छ ।

राष्ट्रपति पौडेलले आपसी विश्वास, प्रेम र एकताको भावनालाई प्रगाढ बनाउँदै सभ्य र सुसंस्कृत समाज निर्माणका लागि अग्रसर हुन महावीर जयन्तीबाट सबैलाई प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नुभएको छ ।

हरेक वर्षको चैत्र शुक्ल त्रयोदशीका दिन नेपाललगायत विश्वभर छरिएर रहेका जैन धर्मावलम्बीहरूद्वारा विभिन्न कार्यक्रम आयोजना गरी महावीर जन्मजयन्ती मनाउने गरिन्छ । महावीरले आफ्ना अनुयायीहरूका लागि मोक्षका पाँच मार्ग अहिंसा, सत्य, अचौर्य, ब्रह्मचर्य र अपरिग्रहका सिद्धान्त परिपालन गर्नुभएको थियो । नेपालमा वैदिक, बौद्ध, जैन, शिखलगायत समुदायबाट प्रत्येक वर्ष उत्साहपूर्वक महावीर जयन्ती मनाउने गरिएको छ ।

उपराष्ट्रपति यादवद्वारा महावीर जन्मजयन्तीको शुभकामना व्यक्त

काठमाडौँ, २८ चैतः उपराष्ट्रपति रामसहायप्रसाद यादवले जैन धर्मका प्रवर्तक महावीरको जन्मजयन्तीका अवसरमा सम्पूर्ण जैन धर्मावलम्बीमा शुभकामना व्यक्त गर्नुभएको छ ।

जैन धर्मका २४औँ तीर्थंकर महावीरको दुई हजार ६२४औँ जन्मजयन्ती (जन्म कल्याणक दिवस)का अवसरमा आज शुभकामना दिँदै उपराष्ट्रपति यादवले ‘पञ्चशील’ सिद्धान्तका प्रतिपादक महावीरको जीवनले अहिंसा, सत्य, करुणा र समानताको सन्देश दिने बताउनुभयो ।  

शुभकामना सन्देशमा उहाँले यस दिवसले सिङ्गो मानव जीवनमा शान्ति, सद्भाव र मैत्रीभाव प्रसार गर्नमा सहयोग पुर्याउने विश्वाससमेत व्यक्त गर्नुभएको छ । “यो दिवसले सामाजिक एकता, धार्मिक सहिष्णुता र सांस्कृतिक मूल्यहरूलाई बलियो बनाउने अवसर प्रदान गर्दछ”, उपराष्ट्रपति यादवले भन्नुभएको छ, “भगवान् महावीरले अहिंसा, सत्य, अपरिग्रह, अनेकान्तवाद र ब्रह्मचर्य आदर्शलाई प्रतिपादन गर्नुभयो । यसले धार्मिक दृष्टिसँगै सामाजिक र सांस्कृतिक रूपमा पनि हामीलाई एउटा सुन्दर देश र समाज निर्माणको दिशामा अग्रसर हुन प्रेरित गर्दछ ।”

चारदेशीय टी–२० आई सिरिजः नेपालले कुवेतसँग प्रतिस्पर्धा गर्दै

काठमाडौँ, २८ चैतः हङकङमा जारी चारदेशीय टी–२० आई सिरिजअन्तर्गत नेपालले आफ्नो दोस्रो खेलमा आज कुवेतको सामना गर्दैछ । हङकङको टिन क्वाङ रोड रिक्रिएसन ग्राउन्डमा हुने यो खेल नेपाली समयानुसार बिहान ६ः४५ बजे सुरु हुनेछ ।

यो चारदेशीय टी–२० आई सिरिजको तेस्रो खेल हो । पहिलो खेलमा बुधबार नेपालले कतारलाई आठ विकेटले पराजित गरेको थियो । बुधबार कतारले जितका लागि दिएको १५२ रनको लक्ष्य नेपालले १७ ओभरमा दुई विकेट गुमाउँदै पूरा गरेको थियो । 

यस्तै, सिरिजको दोस्रो खेलमा बुधबार नै कुवेतले घरेलु टोली हङकङलाई चार विकेटले हराएको छ । आजको खेलमा दुवै टोली दोस्रो जितको खोजीमा हुनेछन् । यस्तै, आज नै हङकङ र कतार प्रतिस्पर्धा गर्नेछन् । यो खेल नेपाली समयानुसार बिहान ११ः१५ बजे सुरु हुनेछ । दुवै टोली पहिलो जितको खोजीमा हुनेछन् ।

काठमाडौँ उपत्यकामा वर्षा, तुवाँलो पनि क्रमिक रुपमा हट्ने

काठमाडौँ, २८ चैतः हाल काठमाडौँ उपत्यकामा सामान्य वर्षा भइरहेको छ । आज मध्याह्नका साथै अपराह्न र राति पनि सामान्य रुपमा पानी पर्ने मौसमविद् डेभिड ढकालले राससलाई बताउनुभयो ।

वर्षासँगै काठमाडौँ उपत्यकाका साथै देशका अधिकांश भागमा लागेको तुवाँलो पनि क्रमिक रुपमा हट्ने उहाँले बताउनुभयो ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी र मधेस प्रदेश, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनसक्ने छ । देशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानहरूमा हल्का वर्षा एवं हिमपात पनि हुनसक्ने छ ।

महाशाखाका अनुसार आज दिउँसो बागमती प्रदेशका हिमाली क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही केही स्थानमा हल्का हिमपातको सम्भावना छ । पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही केही स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । तराई क्षेत्रमा आंशिक देखि साधारणतया बदली रही एकदुई स्थानमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

त्यसैगरी, आज राति सोही प्रदेशका हिमाली क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही केही स्थानमा हल्का हिमपातको सम्भावना छ । पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली एकदुई स्थानमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । तराई क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही एकदुई स्थानमा मेघगर्जन, चट्याङ र हुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, २८ चैतः नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३८ रुपैयाँ ४१ पैसा र बिक्रीदर १३९ रुपैयाँ ०१ पैसा कायम भएको छ ।

युरोपियन युरो एकको खरिददर १५२ रुपैयाँ ८९ पैसा र बिक्रीदर १५३ रुपैयाँ ५६ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १७७ रुपैयाँ ३८ पैसा र बिक्रीदर १७८ रुपैयाँ १५ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १६४ रुपैयाँ ८९ पैसा र बिक्रीदर १६५ रुपैयाँ ६१ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८३ रुपैयाँ ०९ पैसा र बिक्रीदर ८३ रुपैयाँ ४५ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ ४५ पैसा र बिक्रीदर ९७ रुपैयाँ ८७ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०२ रुपैयाँ ६३ पैसा र बिक्रीदर १०३ रुपैयाँ ०८ पैसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ५६ पैसा र बिक्रीदर नौ रुपैयाँ ६० पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ८३ पैसा र बिक्रीदर १८ रुपैयाँ ९१ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ८७ पैसा र बिक्रीदर ३७ रुपैयाँ ०३ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ९७ पैसा र बिक्रीदर ३८ रुपैयाँ १३ पैसा कायम भएको छ ।

 केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ र बिक्रीदर चार रुपैयाँ दुई पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ ६८ पैसा र बिक्रीदर ३७ रुपैयाँ ८५ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ ७९ पैसा र बिक्रीदर ३० रुपैयाँ ९२ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ३५ पैसा र बिक्रीदर नौ रुपैयाँ ३९ पैसा, स्विडिस क्रोनर एकको खरिददर १३ रुपैयाँ ८६ पैसा र बिक्रीदर १३ रुपैयाँ ९२ पैसा र डेनिस क्रोनर एकको खरिददर २० रुपैयाँ ४७ पैसा र बिक्रीदर २० रुपैयाँ ५६ पैसा तोकिएको छ । 

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ८५ पैसा र बिक्रीदर १७ रुपैयाँ ९२ पैसा, कुवेती दिनार एकको खरिददर ४५० रुपैयाँ १९ पैसा र बिक्रीदर ४५२ रुपैयाँ १४ पैसा, बहराइन दिनार एकको खरिददर ३६७ रुपैयाँ १२ पैसा र बिक्रीदर ३६८ रुपैयाँ ७१ पैसा, ओमनी रियाल एकको खरिददर ३५९ रुपैयाँ ५० पैसा र बिक्रीदर ३६१ रुपैयाँ ०६ पैसा रहेको छ । 

भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । 

राष्ट्र बैङ्कले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर कन्द्रीय बैङ्कका ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।
 
 
 
 
 
 
 

मधेस प्रदेश प्रमुखसमक्ष राष्ट्रिय दलित आयोगको प्रतिवेदन पेस

महेन्द्रनगर (धनुषा), २८ चैतः मधेस प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीसमक्ष राष्ट्रिय दलित आयोगले आर्थिक वर्ष २०८०/८१ को प्रतिवेदन पेस गरेको छ ।जनकपुरधामस्थित आयोगका सदस्य टुन्जे कामी बराइलीले प्रदेश प्रमुखको कार्यालयमा बुधबार प्रदेश प्रमुख भण्डारीसमक्ष प्रतिवेदन पेस गर्नुभएको हो ।

नेपालको संविधानको धारा २९४ को उपधारा (३) बमोजिम राष्ट्रिय दलित आयोगको प्रतिवेदन पेस  गरिएको हो । प्रतिवेदन बुझ्दै प्रदेश प्रमुख भण्डारीले भन्नुभयो, “मधेसमा रहेका दलित समुदायको समस्या अन्य क्षेत्रकाभन्दा अझ जटिल छ । प्रतिवेदनमा उल्लेख भएका समस्या कार्यान्वयन गर्न प्रदेश सरकारलाई गम्भीर बनाउने विषयमा मेरो पहल हुनेछ ।”

सातवटा परिच्छेद र छवटा अनुसूचीमा  आयोगको परिचय, दलितको हक, हित र अधिकारसम्बन्धी व्यवस्था, दलितको अवस्था र राज्यका निकायमा प्रतिनिधित्व, आयोगको वार्षिक कार्यक्रम कार्यान्वयनको स्थिति, आयोगका सिफारिस तथा सुझाव र कार्यान्वयनको अवस्था, आयोगका अवसर, चुनौती र भावी कार्यदिशालगायत विषय समेटिएको छ ।

जनताको सेवामा थप प्रभावकारी काम गर्न सरकार लागिपरेको छ : मन्त्री गुरुङ

सिन्धुपाल्चोक, २८ चैतः सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जनताको सेवामा थप प्रभावकारी काम हुनेगरी सरकार लागिपरेको बताउनुभएको छ ।

बुधबार यहाँ आयोजित नेपाल कम्युनिष्ट पार्टी (एमाले) जुगल गाउँपालिका कमिटीको दोस्रो पालिका अधिवेशन उद्घाटन समारोहमा उहाँले अब कुनै पनि सरकारी निकायमा पुगेको ‘फाइल’ एक साताभित्र टुङ्गो लाग्ने गरी सुनिश्चित गर्न सरकारले आवश्यक प्रबन्ध मिलाएको बताउनुभयो ।

एमाले उपमहासचिव गुरुङले भन्नुभयो, “सरकार नागरिकको सेवामा तत्पर छ । समृद्धिको यात्रामा निरन्तर अघि बढिरहेका छौँ । नागरिकको प्रतिव्यक्ति आय वृद्धि गर्न सरकार आवश्यक काम गर्छ ।”

एमाले स्थायी कमिटी सदस्य शेरबहादुर तामाङ, पोलिटब्यूरो सदस्य अरुण नेपाल, केन्द्रीय सदस्यहरू सरेश नेपाल, सुवास कर्माचार्य, जिल्ला अध्यक्ष होमनारायण श्रेष्ठ, नेता अमानसिं तामाङलगायतले सम्बोधन गर्नुभएको थियो । अधिवेशनबाट नयाँ नेतृत्व चयन गरिने एमाले जुगल गाउँपालिका अध्यक्ष छिरिङ लामाले जानकारी दिनुभयो ।