राष्ट्रपतिद्वारा कतार राष्ट्रिय सङ्ग्रहालय तथा इस्लामिक कला सङ्ग्रहालयको अवलोकन
काठमाडौँ, १९ कात्तिक : कतारको राजधानी दोहामा जारी ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी हुन जानुभएका राष्ट्रपति रामचन्द्र पौडेलले आज त्यहाँस्थित कतार राष्ट्रिय सङ्ग्रहालय तथा इस्लामिक कला सङ्ग्रहालयको अवलोकन गर्नुभएको छ ।
सो अवसरमा राष्ट्रपति पौडेललाई सङ्ग्रहालयका अधिकारीहरूले स्वागत गर्दै त्यहाँका बारेमा अवगत गराउनुभएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो ।
राष्ट्रपति पौडेल कतारको राजधानी दोहामा मङ्गलबारदेखि सुरु भएको ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सोमबार त्यहाँ पुग्नुभएको हो । कतारका अमिर शेख तमिम बिन हमद अल थानीको निमन्त्रणामा ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी हुन राष्ट्रपति पौडेल त्यहाँ पुग्नुभएको हो ।
उहाँले संयुक्त राष्ट्रसङ्घको महासभाको निर्णयअनुसार कतारको दोहामा जारी ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’ को मुख्य सत्रलाई मङ्गलबार सम्बोधन गर्नुभयो । साथै उहाँले सम्मेलनअन्तर्गत यहाँ आयोजित सामाजिक विकासका तीन स्तम्भहरूको सुदृढीकरणः गरिबी निवारण, पूर्ण र उत्पादनशील रोजगारी एवं सबैका लागि मर्यादित काम र सामाजिक समावेशीकरण विषयक उच्चस्तरीय गोलमेच सम्मेलनलाई समेत सम्बोधन गर्नुभएको थियो ।
राष्ट्रपति पौडेलले मङ्गलबार नै संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेससँग शिष्टाचार भेट गर्नुभएको थियो ।
यसअघि उक्त सम्मेलन १९९५ मा डेनमार्कको कोपनहेगनमा भएको थियो । सम्मेलनमा वर्तमान विश्वले सामना गर्नुपरेको विकासको असमानता, जनसङ्ख्यामा आएको असन्तुलन र प्रविधिका कारण समाजमा परेको प्रभावलगायत विषयमा छलफल भएको छ । भ्रमण पूरा गरी राष्ट्रपति पौडेल कात्तिक २० गते स्वदेश फर्किनुहुनेछ ।
