`

काठमाडौँ रेजर्स र झापा एफसीबीचको खेल बराबरीमा सकियो

काठमाडौँ, २१ चैतः नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगिताअन्तर्गत आज भएको काठमाडौँ रेजर्स र झापा एफसीबीचको खेल बराबरीमा सकिएको छ ।त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सम्पन्न खेलमा दुवै टोलीले गोलरहित बराबरी खेलेका हुन् । दुवै टोलीको जारी प्रतियोगितामा दोस्रो बराबरी हो ।

योसँगै दुवै टोलीले समान दुई खेलबाट दुई अङ्क बनाएका छन् । काठमाडौँले साविक विजेता ललितपुर सिटी एफसीसँग २–२ गोलको बराबरी खेलेको थियो । झापा भने बुटवल लुम्बिनी एफसीसँग गोलरहित बराबरीमा रोकिएको थियो । प्रतियोगिताअन्तर्गत शुक्रबार एफसी चितवन र बुटवल लुम्बिनीबीच खेल हुनेछ ।

तोकिएकै समयमा दशौँ राष्ट्रिय खेलकुद सम्पन्न गर्न समितिको निर्देशन

काठमाडौँ, २१ चैत : प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले तोकिएकै समयमा दशौँ राष्ट्रिय खेलकुद प्रतियोगताको आयोजना र व्यवस्थापन गर्न युवा तथा खेलकुद मन्त्रालयलाई निर्देशन दिएको छ ।

यहाँ आज बसेको समितिको बैठकले युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष धुव्र आचार्य र राखेपका सदस्य सचिव टङ्कलाल घिसिङलाई बोलाएर तोकिएकै समयमा खेलकुद प्रतियोगता आयोजना र व्यवस्थापन गर्न निर्देशन दिएको हो । समितिका सभापति अमरबहादुर थापाले भौतिक पूर्वाधारलगायत अन्य आवश्यक तयारी र व्यवस्थापन कार्यलाई तीव्रताका साथ सम्पन्न गर्नेगरी सबै कार्य जतिसक्दो छिटो सक्न तथा भव्यताका साथ तोकिएकै समयमा प्रतियोगता गर्न मन्त्रालयलाई निर्देशन दिएको बताउनुभयो । उक्त प्रतियोगिता २०८२ जेठ ३ देखि १० गतेसम्म कर्णाली प्रदेशको सुर्खेतमा आयोजना गर्ने तय भएको छ ।  

यस्तै खेलकुद मन्त्री चौधरीले खेलकुद प्रतियोगिता समयमा नै सम्पन्न गर्नेगरी काम अगाडि बढाइएको जानकारी दिनुभयो । उहाँले खेलाडीलाई पनि तयारी अवस्थामा राखिएको बताउनुभयो । व्यवस्थापनमा केही कठिनाइ आउने उल्लेख गर्दै उहाँले त्यसलाई ध्यानमा राखेर काम भइरहेको बताउनुभयो । 

समितिले प्रतियोगिता आयोजनाको तयारी तथा व्यवस्थापनको कार्यमा आबद्ध सम्पूर्ण तह, निकाय र पदाधिकारीबीच प्रभावकारी समन्वय तथा सहकार्य गरी कार्य अगाडि बढाउन निर्देशन दिएको छ । समितिका सदस्य रेखा शर्माले जुनसुकै हालतमा पनि पतियोगिता गर्नुपर्ने बताउनुभयो । 

समितिका अर्का सदस्य दीपा शर्माले प्रतियोगिता सम्पन्न गर्न मन्त्रालय र राखेपबीच सहकार्य हुनुपर्ने बताउनुभयो ।

समितिका सदस्य रामप्रकाश चौधरीले पतियोगिता सम्पन्न गर्न मन्त्रालय र राखेपबीच तालमेल नमिलेको भन्दै समयमा नै प्रतियोगिता गर्नुपर्ने बताउनुभयो । समितिले प्रतियोगिताको तयारी र व्यवस्थापनबारे यही चैत २२ देखि २४ गतेसम्म स्थलगत अवलोकन गरी जानकारी लिने सभापति थापाले जानकारी दिनुभयो । 

२० लाखभन्दा बढी रकमसहित चिनियाँ नागरिक पक्राउ

काठमाडौँ, २१ चैतः नेपाल प्रहरीले रु २० लाख ९२ हजार नगदसहित हुण्डी कारोबारमा संलग्न रहेको अभियोगमा एक चिनियाँ नागरिकलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा तीब्बत स्थायी वतन तथा सुजा–३ जोगिन्दर नगर, मडी भारत ठेगाना भई हाल काठमाडौँ महानगरपालिका–६ बौद्ध, बस्ने २६ वर्षीया रिक्शे वाङमो रहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “हिजो बुधबार १७ः३० बजेको समयमा महाबौद्धस्थित हुण्डी कारोबार भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरी टोलीले निज वाङमो तथा निजको साथबाट रु २० लाख ९२ हजार नगद फेला पारी उक्त रकम सहित निजलाई नियन्त्रणमा लिएको हो ।”

पक्राउ परेका निज वाङमोलाई जिल्ला अदालत काठमाडौँबाट चार दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान सुरु भइरहेको प्रवक्ता बोहराले बताउनुभयो । प्रहरीले निजको साथबाट रु एक हजार दरको नोट थान एक हजार एक सय ८३ जम्मा रु ११ लाख ८३ हजार पाँच सय दरको नोट थान एक, आठ सय १८ जम्मा रु नौ लाख नौ हजार तथा आइफोन कम्पनीको मोवाइल एक थान बरामद गरेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

हितेन्द्रको रिटमाथि सर्वोच्चले दिएन अन्तरिम आदेश

काठमाडौँ, २१ चैतः सर्वोच्च अदालतले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले दायर गर्नुभएको रिट निवेदनमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

 न्यायाधीशद्वय कुमार चुडाल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले आज चार वर्षअघि आफूलाई निकालेर घिसिङको नियुक्ति नै गलत भएको उल्लेख गर्दै प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले दायर गरेको रिट निवेदनमा अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

केपी शर्मा ओली नेतृत्वको सरकारले शाक्यलाई २०७७ माघ २७ मा चार वर्षका लागि प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गरेको थियो । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकार (नेकपा माओवादी केन्द्र सहित) २०७८ साउन २४ मा प्राधिकरणको कार्यकारी निर्देशक रहेका शाक्यलाई हटाउँदै कुलमान घिसिङलाई नियुक्ति सिफारिस गरेको थियो ।

 सरकारको उक्त निर्णयविरुद्ध शाक्यले सर्वोच्च अदातलमा रिट निवेदन दायर गर्नुभएको थियो । सोही रिट निवेदनको फैसला नआउँदै गत माघ २६ गते उहाँको कार्यकाल सकिएको थियो ।

 प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले चार वर्षअघि आफूलाई निकालेर घिसिङको नियुक्ति नै गलत भएको उल्लेख गर्दै त्यतिबेला रिट निवेदन दायर गर्नुभएको थियो ।   
उक्त रिट निवेदनमाथि निर्णय नभई चार वर्ष बितेपछि अहिले कुलमानको निवेदनमा सुनुवाइ गर्न नमिल्ने उल्लेख गर्दै अर्को रिट निवेदन दायर गर्नुभएको थियो ।

मधेस प्रदेशका छात्रवृत्ति करार चिकित्सक चार महिनादेखि तलबविहीन

सिरहा, २१ चैतः मधेस प्रदेशका प्रादेशिक अस्पतालमा छात्रवृत्ति करार सेवामा कार्यरत चिकित्सक चार महिनादेखि तलबविहीन बनेपछि आन्दोलित बनेका छन् ।
चालु आर्थिक वर्षको मङ्सिरदेखिको तलब भत्ता नपाएपछि चैत १७ गतेदेखि उनीहरु अस्पतालको आकस्मिक सेवाबाहेक अन्य सेवा बन्द गरेर आन्दोलनमा उत्रिएका हुन् । प्रदेशका सात प्रादेशिक अस्पतालमा कार्यरत १५५ छात्रवृत्ति करारका चिकित्सकको आन्दोलनका कारण चार दिनदेखि अस्पतालको सेवा प्रभावित बन्न पुगेको छ ।

नेपाल चिकित्सा सङ्घले चैत्र १७ गते नै मधेस प्रदेश सरकारलाई प्रदेशअन्तर्गत अस्पताल, शिक्षण संस्थान र स्थानीय तहअन्तर्गत अस्पतालमा खटाइएका छात्रवृत्ति करारका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको तलब भुक्तानीका लागि ७२ घण्टे ‘अल्टिमेटम’ दिए पनि सुनुवाइ नभएपछि चरणबद्ध रुपमा आन्दोलनमा उत्रिन बाध्य हुनुपरेको सङ्घका केन्द्रीय उपाध्यक्ष एवं मधेस प्रदेश संयोजक डा नीरजकुमार सिंहले बताउनुभयो ।

“प्रदेश स्वास्थ्य मन्त्रालयले सङ्घीय सरकारसँग समन्वय नगर्दा यस्तो स्थिति आएको हो । स्वास्थ्य संस्था जस्तो संवेदनशील क्षेत्रमा काम गर्ने स्वास्थ्यकर्मीमाथि प्रदेश सरकार असंवेदनशील हुनु दुःखद विषय हो”, संयोजक डा सिंहले भन्नुभयो, “विगतमा यस विषयमा पटकपटक आन्दोलन गर्नुपरेको थियो । चालु आवमा मात्रै छात्रवृत्ति करारका स्वास्थ्यकर्मीले तीन पटक आन्दोलन गर्नुपरेको छ ।”

उहाँका अनुसार छात्रवृत्ति करार सेवामा मधेस प्रदेशमा ५५ जना चिकित्सक र १०० स्वास्थ्यकर्मी कार्यरत छन् । मधेश प्रदेश सरकारका मुख्यमन्त्री सतिशकुमार सिंहले छात्रवृत्ति करारका चिकित्सकको तलब निकासाका लागि सङ्घीय सरकारसँग पहल गरिरहेको र चाँडै तलब भक्त निकासा गर्ने आश्वासन आफूहरुले पाएको पनि संयोजक डा सिंहले जानकारी दिनुभयो । उहाँले स्वास्थ्यकर्मीका माग समयमै पूरा नगरिए आगामी चैत २२ गतेबाट थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने बताउनुभयो ।

छात्रवृत्ति करारका चिकित्सकहरूको आन्दोलनलाई समर्थन गर्दै बिहीबारदेखि करार बाहेकका चिकित्सकले आन्दोलनमा समर्थन जनाएका छन् । जसले गर्दा अस्पताल आउने बिरामीहरु आकस्मिक सेवाबाहेक अन्य उपचारबाट वञ्चित हुन पुगेका छन् ।

छात्रवृत्ति प्राप्त चिकित्सक तथा स्वास्थ्यकर्मी परिचालन निर्देशिका, २०७१ अनुसार छात्रवृत्ति कोटामा अध्ययन पूरा गरेका विद्यार्थीले दुई वर्ष सरकारी अस्पतालमा अनिवार्य काम गर्नुपर्ने व्यवस्था छ । उनीहरूलाई सेवा सुविधा सङ्घीय सरकारले प्र्रदेश सरकारमार्फत उपलब्ध गराउँछ ।

सर्वोच्चले दिएन कुलमान घिसिङलाई अन्तरिम आदेश

काठमाडौँ, २१ चैतः सर्वोच्च अदालतले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाएपछि पुनःबहालीको माग गर्दै दायर भएको रिटमा कुलमान घिसिङलाई अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

 न्यायाधीशहरू डा कुमार चुडाल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले आज घिसिङलाई पदमुक्त गर्ने सरकारको निर्णयविरुद्धको रिट निवेदनमा अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । अदालतले उक्त विवादमा उठाएको विषयवस्तुको गाम्भीर्यतालाई ध्यानमा राखेर प्राथमिकताका साथ सुनुवाइका लागि अग्राधिकार समेत दिएको छ ।

 आदेशमा भनिएको छ, “प्रस्तुत रिट निवेदनमा उठाइएको विषयवस्तुको गाम्भिर्यता समेतलाई विचार गर्दा चाँडो निरुपण हुनुपर्ने प्रकृतिको देखिँदा प्रस्तुत रिट निवेदनमा लिखित जवाफ परे वा पर्ने अवधि व्यतित भएको १० (दश) दिनभित्र प्राथमिकता क्रममा पर्ने गरी सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ७३ को उपनियम (१) बमोजिम अग्राधिकार दिई पूर्ण सुनुवाईका लागि पेसी तोक्नु ।”
अदालतमा तीनदिनको निरन्तर सुनुवाइपछि आज अन्तरिम आदेश दिन अस्वीकार गर्दै शीर्घ सुनुवाइका गर्ने भएको हो ।

संविधान विरोधी गतिविधि गर्न कसैलाई छुट छैन : सञ्चारमन्त्री गुरुङ

वालिङ (स्याङ्जा), २१ चैत : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले संविधानमाथि आँच आउने गरी गतिविधि गर्न कसैलाई छुट नभएको बताउनुभएको छ । स्याङ्जाको वालिङ नगरपालिका–१३ उदियाचौरस्थित सरस्वती माध्यमिक विद्यालयको स्वर्ण महोत्सव समारोहलाई सम्बोधन गर्दै सञ्चारमन्त्री गुरुङले गणतन्त्र तथा संविधान विरोधी गतिविधि गर्ने छुट कोहीलाई पनि नभएको बताउनुभयो । हिंसात्मक गतिविधि, लुटपाट, आगजनी तथा शान्तिसुरक्षा खलल पार्नेगरी संविधान विरोधी गतिविधि गर्नेलाई राज्यद्रोहको मुद्दा लगाउन सकिने उहाँले बताउनुभयो ।

“गणतन्त्रको युगमा राजतन्त्र खोज्नु बिजुलीको युगमा अगुल्टो खोज्नु जस्तै हो”, सञ्चारमन्त्री गुरुङले भन्नुभयो, “अहिले देश धेरै अगाडि गइसकेको छ, अब पछाडि फर्किन सम्भव छैन, राजतन्त्र आउने कुरा कल्पना बाहिरको कुरा हो ।”

नागरिकले राजनीतिक दलहरुबाट गरेका आशा तथा अपेक्षा चाहेअनुरुप पूरा हुन नसके पनि गणतन्त्रपश्चात् विकासले धेरै फड्को मारेको सञ्चारमन्त्री गुरुङको भनाइ थियो । मुर्खहरु मात्रै निरकुंश राजतन्त्र ल्याउनुपर्छ भनेर लाग्ने गरेको उल्लेख गर्दै उहाँले सज्जनले यस्तो कुरा उठाउनै नसक्ने बताउनुभयो । 

“राजतन्त्र त्यो दिन सक्कियो जुन दिन नारायणहिटी दरबार हत्याकाण्ड भएको थियो”, उहाँले भन्नुभयो । 

स्वर्णमहोत्सव समारोहमा पूर्वमन्त्री पद्माकुमारी अर्यालले नेपाली समाज धेरै अगाडि बढिसकेकाले अब पछाडि नफर्किने बताउनुभयो । उहाँले भन्नुभयो, “हल्लाका पछि कोही पनि नजाउ, हल्लाले बिगार्छ ।” 

कार्यक्रममा पूर्वमन्त्री जगत् विश्वकर्मासमेत उपस्थित हुनुहुन्थ्यो । विसं २०३२ मा स्थापना भएको उक्त विद्यालयमा कक्षा १२ सम्म पठनपाठन हुँदै आएको छ । यहाँ छात्रबास सञ्चालनको समेत तयारी भइरहेको छ । स्वर्णमहोत्सवका अवसरमा जग्गादाता, चन्दादाता, पूर्वप्रधानाध्यापक तथा शिक्षक शिक्षिकाहरु, विद्यार्थीलगायतलाई सम्मान गरिएको थियो ।

भूकम्पको क्षति आँकलन कार्य प्रभावकारी बनाउन उपप्रधानमन्त्री सिंहको निर्देशन

काठमाडौँ, २१ चैत : प्रधानमन्त्रीको समेत जिम्मेवारी सम्हाल्नुभएका उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले जाजरकोट भूकम्पबाट प्रभावित जिल्लाका नागरिकका निजी आवासको विस्तृत क्षति आँकलन कार्य प्रभावकारी बनाउन निर्देशन दिनुभएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख ई. दिनेश भट्टले आज सिंहदरबारमा गर्नुभएको भेटका क्रममा उपप्रधानमन्त्री सिंहले त्यसका लागि मन्त्रालयबाट आवश्यक सहयोग रहने स्पष्ट पार्नुभयो । भेटका अवसरमा उहाँहरुबीच जाजरकोट भूकम्पबाट प्रभावित जिल्लाका निजी आवासको विस्तृत क्षति आँकलनलगायतका विषयमा छलफल भएको थियो ।

सो अवसरमा कार्यकारी प्रमुख भट्टले मन्त्रालयबाट क्षति आँकलनका लागि खटिएका प्राविधिकको म्याद थप गरिदिन तथा अन्य प्राविधिक जनशक्ति थप गरिदिन उपप्रधानमन्त्री सिंह समक्ष आग्रह गर्नुभयो । उपप्रधानमन्त्री सिंहले क्षति आँकलनमा खटिएका प्राविधिकको म्याद थपिने आश्वासन दिनुभएको कार्यकारी प्रमुख भट्टले जानकारी दिनुभयो ।

बागलुङमा भिरबाट लडेर एक जनाको मृत्यु

ढोरपाटन (बागलुङ), २१ चैतः बागलुङमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । जिल्लाको तमानखोला गाउँपालिका-१ हिलका ५० वर्षीय इन्द्र घर्तीमगरको भिरबाट लडेर मृत्यु भएको हो ।

आज बारीमा घाँस काट्ने क्रममा लडेर गम्भीर घाइते हुनुभएको घर्तीमगरको हेलिकप्टरमार्फत पोखरास्थित मणिपाल अस्पतालमा पुर्‍याइएको थियो । अस्पताल पुर्‍याएको केही समयमै घर्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी दिनुभयो ।

घर्ती भिरबाट एक सय मिटर तल खस्नुभएको थियो । उहाँले भन्नुभयो, “घटनास्थलबाट उद्धार गरी त्यहाँको स्थानीय स्वास्थ्य चौकीमा ल्याएर उपचार गर्दा टाउकोमा ठूलो चोट लागेको थियो, बोल्न सक्नु हुँदैनथ्यो, तत्कालै हेलिकप्टरको व्यवस्थापन गरेर पोखरा पठाइएको थियो, अस्पताल पठाएको केही समयमै उहाँको निधन भयो ।”

खेल क्षेत्रको विकासका लागि पूर्वाधार निर्माण पहिलो प्राथमिकता : नेता डा महत

त्रिशूली (नुवाकोट), २१ चैतः नेपाली कांग्रेसका प्रवक्ता तथा पूर्वमन्त्री डा प्रकाशशरण महतले खेल क्षेत्रको विकासका लागि पूर्वाधार निर्माण पहिलो प्राथमिकता रहेको बताउनुभएको छ ।

नुवाकोटको सूर्यगढी गाउँपालिमा आज आयोजित पाँचौँ राष्ट्रपति रनिङसिल्ड प्रतियोगिताको उद्घाटन गर्दै उहाँले खेल र खेलाडीको उत्पादनका लागि खेल मैदानसहितको पूर्वाधार आवश्यकता रहेको बताउनुभयो ।

“खेल मैदानको अभावले खेलाडीले क्षमता प्रदर्शन र खेल पर्यटनको वृद्धि गराउन सकिएको छैन”, उहाँले भन्नुभयो, “सीमित स्रोतसाधन तथा सेवा र सुविधामा खेलाडीबाट भइरहेको प्रदर्शन सन्तोषजनक छ । तीन तहमा रहेका सरकारले रङ्गशाला, कभर्डहललगायत भौतिक संरचना निर्माणमा प्राथमिकता दिनुपर्छ ।” खेल क्षेत्रको विकासले देशलाई एक ढिक्का विश्वसामू चिनाउन र खेल पर्यटनमार्फत आर्थिक उपार्जन बढाउन सहयोग पुग्ने उहाँको भनाइ छ ।

आन्दोलरत शिक्षकलाई मन्त्रालयले वार्तामा बोलायो

काठमाडौँ, २१ चैतः शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आन्दोलरत शिक्षकलाई वार्ताका लागि बोलाएको छ । मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले आज विज्ञप्ति जारी गर्दै आन्दोलन छाडेर वार्ताबाट समस्या सामाधान खोज्न नेपाल शिक्षक महासङ्घलाई आग्रह गर्नुभएको हो ।

“शिक्षक समुदायसँग विगत झैँ फेरि पनि सान्दर्भिक छलफल गर्न र साझा धारणा निर्माण गर्न नेपाल सरकार तयार रहेकाले शिक्षा तथा कर्मचारीका प्रतिनिधिलाई मन्त्रालयमा हार्दिक स्वागत गर्दछौँ”, उहाँले भन्नुभएको छ । 

विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० प्रतिनिधिसभामा पेस भई छलफलका प्रक्रियामा रहेकामा त्यसलाई यथाशीघ्र पारित गरियोस् भन्ने माग राख्दै सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीबाट केही समयदेखि ध्यानाकर्षण गराउँदै आएको विषयप्रति मन्त्रालयको ध्यानाकर्षण भएको जनाइएको छ । 

प्रवक्ता सापकोटाले विद्यालय शिक्षा विधेयक स्वीकृतिको पर्खाइमा रहेकाले यसका लागि सामूहिक सन्देश प्रवाह गर्न मन्त्रालय सदैव सकारात्मक रहेको उल्लेख गर्नु भएको छ । 

“विद्यालय शिक्षा विधेयक समयमै पारित गर्ने वातावरण सिर्जना गर्नका निमित्त सिङ्गो शिक्षक समुदायको पैरवी, सरोकार र ऐक्यबद्धताका बारेमा मन्त्रालय सदैव सकारात्मक छ”, प्रवक्ता सापकोटाले भन्नुभएको छ, “शिक्षक समुदायका प्रतिनिधिसँगको यथोचित छलफल र परामर्शबाट विधेयकको मस्यौदा तयार गरिएकाले विद्यालय शिक्षा विधेयक चाँडै जारी होस् भन्ने अपेक्षा रहनु र यस विषयप्रति शिक्षक तथा कर्मचारीको चासो रहनु स्वाभाविकै हो ।” उहाँले विधेयक संसद्मा पेस हुने, छलफल हुने र स्वीकृति हुने विधायकी प्रक्रियाका हुने भएको जनाउनु भएको छ ।  शिक्षकहरुले शिक्षक महासङ्घको नेतृत्वमा हिजोदेखि विद्यालय शिक्षा विधेयक चाँडै पारित गराउन काठमाडौँमा सडक आन्दोलन सुरु गरेका छन् ।  

मधेशकेन्द्रित ७ दलको ‘संघीय लोकतान्त्रिक मोर्चा’ घोषणा

काठमाडौँ, २१ चैत : तराई–मधेस केन्द्रित सात राजनीतिक दलले ‘सङ्घीय लोकतान्त्रिक मोर्चा’ घोषणा गरेका छन् । संविधान संशोधन, सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, सुशासन प्रवर्द्धनलगायत उद्देश्यसहित आज एक कार्यक्रमबीच मोर्चा घोषणा गरिएको हो ।

मोर्चामा उपेन्द्र यादव अध्यक्ष रहेको जनता समाजवादी पार्टी (जसपा) नेपाल, महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल, सिके राउत अध्यक्ष रहेको जनमत पार्टी, रञ्जिता चौधरी अध्यक्ष रहेको नागरिक उन्मुक्ति पार्टी, राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपाल, हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टी तथा वृषेशचन्द्र लाल नेतृत्वको तजनता प्रगतिशील पार्टी रहेका छन् ।

 विभिन्न २६ बुँदे उद्देश्य र प्रतिबद्धतासहित मोर्चा घोषणा गरिएको हो । मोर्चाको मुख्य उद्देश्य सामथ्र्य र पहिचानका आधारमा प्रदेशको सीमाङ्कन, नामाङ्कन तथा संरचना गर्न÷गराउन तथा राजस्व तथा स्रोत साधन सन्तुलित र न्यायोचित रूपमा बाँडफाँट गर्ने, राज्यका तर्फबाट प्रदान गरिने सेवा, सुविधा जनता माझ पु¥याउन प्रदेशलाई सक्षम बनाउनुपर्ने र स्थानीय तहलाई प्रदेशको क्षेत्राधिकारभित्र रहने गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीलाई समृद्ध पार्ने, सङ्घ र प्रदेश सरकारबीचको क्षेत्राधिकारलाई स्पष्ट पार्ने रहेको छ ।

 यस्तै सङ्घ र प्रदेशबीच स्रोतसाधनको न्यायोचित वितरण, सङ्घीयताको मूल्य र मान्यताअनुरुप बाँडफाँटको नीति निर्माण गरी कार्यान्वयन गराउने, प्रहरी समायोजन ऐन, २०७६ बमोजिम गर्ने र यथाशीघ्र सङ्घीय निजामती ऐन निर्माण गरी कर्मचारी समायोजनसम्बन्धी कार्य सम्पन्न गर्ने उल्लेख छ । मोर्चाले १३ बुँदे आचारसंहिता पनि जारी गरेको छ ।

जडिबुटी केन्द्र छिटो सञ्चालन गर्न गृहकार्य भइरहेको छ : मन्त्री शाही

काठमाडौँ, २१ चैत : वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले यही चैत १५ गते आन्दोलनका क्रममा जलाइएको जडिबुटी उत्पादन तथा प्रशोधन केन्द्रको निरीक्षण गर्नुभएको छ । उहाँका साथमा काठमाडौँ क्षेत्र न २ का प्रतिनिधिसभा सदस्य सोविता गौतमसमेत रहनुभएको थियो ।

मन्त्री ठकुरी र सांसद गौतमले जडिबुटीस्थित प्रशोधन केन्द्र पुगेर जलेर भग्नावशेष भएका भौतिक संरचनाको अवलोकन गर्नुभएको हो । यही चैत १५ गते पूर्वराजा ज्ञानेन्द्र शाहका समर्थकहरुको आन्दोलनका क्रममा प्रदर्शनकारीले आगो लगाउँदा प्रशोधन केन्द्र भग्नावशेष बनेको हो । त्यहाँ रहेका सवारीसाधन जलाइएको थियो भने करोडौँको रुपैयाँ बराबरको क्षति भएको छ ।

सो अवसरमा प्रशोधन केन्द्रका महाप्रबन्धक सङ्गीता यादवलगायत पदाधिकारीले आगलागीबाट क्षति भएको भग्नावशेषको अवलोकन गराउँदै क्षतिबारे उहाँहरुलाई जानकारी गराउनुभएको थियोे ।निरीक्षणपछि मन्त्री शाहीले छिटोभन्दा छिटो सञ्चालन गर्न गृहकार्य भइरहेको बताउनुभयो । “प्राविधिक र विज्ञ राखेर छलफल गरिरहेका छौँ । रु १० करोड बजेट भए अस्थायी रुपमा सञ्चालन गर्न सकिन्छ । यसबारे मन्त्रिपरिषद्मा छलफल भएको छ । चाँडै रकम उपलब्ध हुन्छ”, उहाँले भन्नुभयो ।

क्षतिबारे सहरी विभागले मूल्याङ्कन गरिरहेको र चाँडै पुनर्निर्माण प्रक्रिया अगाडि बढ्ने मन्त्री शाहीको भनाइ थियो । “उत्पादन बढाउने र रोजगारलाई सुनिश्चित गर्ने सवालमा हामी सबै प्रक्रिया पूरा गरेर पुनःसुरु गर्छौँ”, उहाँले भन्नुभयो ।सांसद गौतमले आगो लगाउनेलाई सरकारले कानुनी दायरामा ल्याउनुपर्ने बताउनुभयो । प्रशोधन केन्द्रलाई घना बस्तीबाट अन्यत्र सार्नुपर्ने उहाँको सुझाव थियो ।

प्रशोधन केन्द्रका महाप्रबन्धक यादवले नयाँ उत्पादनको तयारी गरिरहेका बेला आगो लाग्दा ठूलो क्षति भएको बताउनुभयो । उहाँकाअनुसार उद्योगको दुई भवन र १३ गाडी जलेर क्षति भएको छ । रु २८ करोडको क्षति भएको प्रारम्भिक अनुमान गरिएको महाप्रबन्धक यादवले बताउनुभयो । प्रशोधन केन्द्रका कर्मचारीले उत्पादन बन्द हुँदा बेरोजगार हुने मन्त्री शाही र सांसद गौतम समक्ष चिन्ता व्यक्त गरेका थिए ।

प्रधानमन्त्री ओली र म्यान्मारका प्रधानमन्त्री हलिङबीच भेटवार्ता

बैङ्कक, २१ चैत : थाइल्याण्डको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र म्यान्मारका प्रधानमन्त्री मिन आङ हलिङबीच आज बैंककमा भेटवार्ता भएको छ ।

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)कोे छैटौँ शिखर सम्मेलनमा भाग लिने क्रममा बैंककमा रहनुभएका प्रधानमन्त्री ओलीसँग म्यान्मारको स्टेट एडमिनिस्ट्रेसन काउन्सिलका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री हलिङसँग ‘साइडलाइन’ भेटवार्ता भएको हो ।

उहाँहरुबीच दुईपक्षीय, क्षेत्रीय र बहुपक्षीय सम्बन्धका थप बलियो बनाउने विषयमा छलफल भएको थियो । भेटमा परराष्ट्रमन्त्री डा आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईलगायत सहभागी हुनुहुन्थ्यो ।

प्रधानमन्त्री ओलीसहित बिम्स्टेक मुलुकका सरकार प्रमुखहरु एकै ठाउँ -प्रधानमन्त्री ओलीसहित बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) कोे छैटौँ शिखर सम्मेलनको सदस्य मुलुकका प्रधानमन्त्रीहरु थाइल्याण्डमा भेला हुनुभएको छ ।

आयोजक राष्ट्र थाइल्याण्डका प्रधानमन्त्री पे थोङ् थान् शिनावात्राले शीर्ष नेताहरुका लागि आज बैंकको होटेल साड्रिग्रलामा आयोजना गर्नुभएको रात्रिभोजमा उहाँहरु सहभागी हुनुभयो । सो अवसरमा उहाँहरुबीच सामूहिक भेटघाट भएको थियो ।थाइल्याण्डको पहिलो औपचारिक भ्रमण पूरा गरी प्रधानमन्त्री ओली बिम्स्टेक शिखर सम्मेलनमा सहभागी हुनुभएको हो ।

प्रधानमन्त्री ओली र भूटानी प्रधानमन्त्री तोब्गेबीच भेटवार्ता

बैङ्कक, २१ चैत : थाइल्याण्डमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र भूटानका प्रधानमन्त्री छिरिङ तोब्गेबीच आज बैङ्ककमा भेटवार्ता भएको छ ।बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) कोे छैटौँ शिखर सम्मेलनमा भाग लिने क्रममा बैङ्ककमा रहनुभएका प्रधानमन्त्री ओली र भूटानका प्रधानमन्त्री तोब्गेबीच ‘साइडलाइन’ भेटवार्ता भएको हो ।

उहाँहरुबीच गत सेप्टेम्बरमा संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभाका क्रममा न्युयोर्कमा भएको भेटको स्मरणका साथै सहकार्यका विविध पक्षबारे छलफल भएको थियो । भेटमा परराष्ट्रमन्त्री डा आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईलगायत सहभागी हुनुहुन्थ्यो । 

राजनीतिक दल र नेताको आचरणले गर्दा जनतामा असन्तुष्टि बढ्यो र प्रतिगमनले टाउको उठायोः प्रचण्ड

बाँके । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताका कुरा सुन्न र सम्बन्ध सुदृढ गर्न हुलाकी राजमार्ग केन्द्रित तराई मधेस जागरण अभियान पुनः थालिएको बताएका छन् ।

अभियानअन्तर्गत माओवादी केन्द्र बाँकेले बिहीबार नेपालगञ्जमा आयोजना गरेको नागरिक अन्तरसंवाद कार्यक्रममा प्रचण्डले विगतमा जनताको भावना बुझ्न नसकेकाले अहिले भूगोलमै पार्टी नेतृत्व खटिएको उल्लेख गरे ।

“विगतमा नेता कार्यकर्ताको घेराबन्दीमा परेर गल्ती गरियो, अब हामी नेता कार्यकर्ताको रिपोर्टमा भर पर्दैनौँ, सिधै जनताका कुरा सुन्न आएका छौँ”,उनले भने, “हामी सच्चिन तयार छौं, सच्चिन्छौँ र जनतासँगको सम्बन्ध सुदृढ बनाउँछौँ ।”

हुलाकी राजमार्ग छेउछाउ सिमाना नजिक बस्ने नागरिकको अवस्था र भावना बुझ्न जनताको घरघरमा आफूहरु पुग्ने गरेको अध्यक्ष दाहालको भनाइ थियो । उनले भने, “जनताकै घरमा बसेर जनताका कुरा सुन्न चाहेका छौँ ।”

राजनीतिक दल र नेताको आचरणले गर्दा जनतामा असन्तुष्टि बढ्दै गएका कारण प्रतिगमनले टाउको उठाएको उल्लेख गर्दै अध्यक्ष दाहालले योभन्दा परिस्थिति बिग्रिए मुलुकमा ठूलो दुर्घटना हुने भएकाले सबै गणतन्त्रवादी जिम्मेवार भएर लाग्न जरुरी भएको बताए ।

“राजावादीको चरित्र जे थियो त्यो चैत १५ गते देखियो । हामीले शालिन तरिकाले जवाफ दियौँ”, उनले भने, “प्रतिगमनविरुद्ध अभियान छेडेर प्रतीकार गर्यौं।”

उपराष्ट्रपति यादव र बङ्गलादेशी कार्यवाहक राजदूत कबीरबीच शिष्टाचार भेटवार्ता

काठमाडौँ, २१ चैतः उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालस्थित बङ्गलादेशी दुतावासका कार्यवाहक राजदूत मोहम्मद हुमायूँ कबीरले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । लैनचारस्थित उपराष्ट्रपतिको कार्यालयमा आज भएको भेटमा दुई मुलुकबीचको द्विपक्षीय सम्बन्धका विविध आयामबारे छलफल भएको उपराष्ट्रपतिको कार्यालयले जनाएको छ । उपराष्ट्रपति यादवले नेपाल र बङ्गलादेशबीच सन् १९७१ मा बङ्गलादेश स्वतन्त्र राष्ट्रका रूपमा स्थापना भएदेखि नै मैत्रीपूर्ण र सद्भावपूर्ण सम्बन्ध कायम रहेको बताउनुभयो ।

“दुई देशबीच उच्चस्तरीय भ्रमणहरूको आदान–प्रदान, द्विपक्षीय संयन्त्र र बैठकहरूले द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको छ”, उहाँले भन्नुभयो, “हाम्रो दुई देशबीचको व्यापार पछिल्ला वर्षहरूमा वृद्धि भएको र थप व्यापार विस्तार र विविधीकरण गर्न सक्नुपर्दछ ।” उपराष्ट्रपति यादवले बङ्गलादेशले तेस्रो देशसँगको व्यापारका लागि चिटगाँव र मङ्गला बन्दरगाहमार्फत ट्रान्जिट सुविधा प्रदान गरेकोमा खुसी व्यक्त गर्नुभयो । “रोहनपुर–सिङ्गाबाद रेलवेमार्गको शीघ्र सञ्चालनले यी समुन्द्री बन्दरगाहहरूमार्फत ट्रान्जिट सहकार्य प्रवद्र्धन गर्न महत्वपूर्ण हुनेछ”, उहाँले भन्नुभयो, “विमान बङ्गलादेश र हिमालयन एयरलाइन्समार्फत हवाई उडानले पर्यटन प्रवद्र्धन एवं नेपाल र बङ्गलादेशबीच जनसम्पर्कलाई सहज बनाएको छ ।”

उपराष्ट्रपति यादवले नेपालको जलविद्युत् सम्भावना र बङ्गलादेशको ऊर्जा आवश्यकताहरूले दुई देशबीच ऊर्जा सहकार्यलाई विस्तार गर्ने प्रचुर अवसर प्रदान गरेको उल्लेख गर्नुभयो । उहाँले नेपाल विद्युत् प्राधिकरण, बङ्गलादेश डेभलपमेन्ट बोर्ड र भारतको विद्युत् व्यापार निगम लिमिटेडबीच ३ अक्टोबर २०२४ मा काठमाडौँमा त्रिपक्षीय पावर सेल्स एग्रिमेन्ट (पिएसए) मा हस्ताक्षर हुनु प्रशंसनीय कार्य भएको बताउनुभयो । 

“यस ऐतिहासिक सम्झौता नेपाल–बङ्गलादेश सम्बन्धमा कोसेढुङ्गाका रूपमा रहेको छ र यसले दक्षिण एसियामै क्षेत्रीय र उपक्षेत्रीय ऊर्जा सहकार्यलाई प्रवद्र्धन गर्ने अपेक्षा छ,” उहाँले भन्नुभयो, “नेपाल र बङ्गलादेश दुवै देशमा प्राकृतिक सौन्दर्य, समृद्ध सभ्यता र सांस्कृतिक धरोहर, साहसिक खेलकुद र जैविक विविधता झल्काउने प्रशस्त प्रसिद्ध पर्यटकीय गन्तव्यहरू छन् । नेपाल बङ्गलादेशका लागि महत्वपूर्ण पर्यटक गन्तव्य रहिआएको छ ।”

उपराष्ट्रपति यादवले नेपाल र बङ्गलादेशबीच सांस्कृतिक सम्बन्ध र जनसम्पर्क प्रगाढ रहेको उल्लेख गर्नुभयो । “नेपाली विद्यार्थीहरूका लागि बङ्गलादेश चिकित्सा, दन्तचिकित्सा र इन्जिनियरिङका क्षेत्रमा उच्च अध्ययनका लागि एक आकर्षक गन्तव्य रहीआएको छ”, उहाँले भन्नुभयो, “बङ्गलादेश सरकारले वार्षिक रुपमा सोही सङ्कायहरुमा २० भन्दा बढी छात्रवृत्ति प्रदान गरिरहेकामा नेपाल धन्यवाद दिन चाहन्छ ।” 

उहाँले नेपाल र बङ्गलादेशबीच उपक्षेत्रीय, क्षेत्रीय र अन्तरराष्ट्रिय मञ्चहरूमा आपसी चासोका विषयहरूमा सहकार्य हुँदै आएकामा खुसी समेत व्यक्त गर्नुभयो । “यस्ता सहकार्य भविष्यमा पनि जारी रहनु पर्दछ”, उहाँले भन्नुभयो, “नेपालले बङ्गलादेशसँगको सम्बन्धलाई एक मित्रराष्ट्रका रूपमा उच्च महत्व दिन्छ । हाम्रो दुई देश र जनता बीचको सम्बन्ध भविष्यमा अझ प्रगाढ हुने विश्वास लिएको छु ।” 

भेटवार्ताका क्रममा उपराष्ट्रपति रामसहायप्रसाद यादवले बङ्गलादेशको राष्ट्रिय दिवसका अवसरमा महामहिम राष्ट्रपति महम्मद शाहबुद्दिन र बङ्गलादेशी जनतालाई न्यानो अभिवादनसहित हार्दिक बधाई तथा शुभकामनासमेत व्यक्त गर्नुभयो । 

कार्यवाहक राजदूत मोहम्मद हुमायूँ कबीरले नेपाल र बङ्गलादेशबीचको सम्बन्ध गहिरो रहेको उल्लेख गर्दै दुई देशले पर्यटन विकासमा जोड दिनुपर्ने बताउनुभयो । “नेपालसँग सगरमाथा छ, बङ्गलादेशसँग ‘सी बिच’ छ, जुन पर्यटनको आकर्षणको केन्द्र बन्न सक्छ,” उहाँले भन्नुभयो, “हरेक वर्ष ४० हजार बङ्गलादेशी नेपाल भ्रमण गर्छन्, यसलाई बढाउन सकिन्छ ।”  

प्रधानमन्त्रीसँग राष्ट्रसङ्घका क्षेत्रीय कार्यकारी सचिवको भेट

बैङ्कक, २१ चैत : थाइल्याण्डमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीसँग संयुक्त राष्ट्रसङ्घको एसिया प्रशान्त क्षेत्रका लागि आर्थिक तथा सामाजिक आयोगका कार्यकारी सचिव अमिदा सलैहले भेट गर्नुभएको छ ।

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) कोे छैटौँ शिखर सम्मेलनमा भाग लिने क्रममा बैङ्ककमा रहनुभएका प्रधानमन्त्री ओलीसँग कार्यकारी सचिव सलैहले आज भेट गर्नुभएको हो । भेटका अवसरमा उक्त निकायको नेपालमा सहकार्य र नेपालको विकासशील राष्ट्रमा स्तरोन्नतिका सहयोगका विषयमा कुराकानी भएको थियो ।

गायक मुरलीधरको नयाँ गीत सार्वजनिक

काठमाडौँ, २१ चैतः ‘उडायो सपना सबै हुरीले’ बोलको गीतका गायक मुरलीधरको ‘छट्पटिएको त्यो दिन फेरि किन याद आयो’बोलको नयाँ गजल गीत र भिडियो सार्वजनिक भएको छ ।

गायक मुरलीधरको नयाँ गजल गीतमा सुनिल मास्केको शब्द र सङ्गीत रहेको छ । एक पङ्क्ति स्थायी भएको यो गीत सङ्गीतको क्षेत्रमा वीरलै प्रयोग हुने गरेको गीतकार मास्केले जानकारी दिनुभयो ।

प्रदीप श्रेष्ठको ‘एरेन्ज’ रहेको गीतलाई किशोर थापाले ‘मिक्सिङ’ र ‘मास्टरिङ’ गर्नुभएको छ । गायक मुरलीधर र प्रिया गोलेले अभिनय गर्नुभएको भिडियोमा दीपक गिरीले छायाङ्कन गर्नुभएको छ भने युवराज वाइबाले निर्देशन गर्नुभएको छ ।

गजलप्रति टिप्पणी गर्दै गीतकार शङ्कर कोइरालाले शब्दमा नयाँ प्रयोग र एक पङ्क्तिको यस गीतले उडायो सपना सबै हुरीले भन्ने गजललाई पुनः स्मरण गराएको बताउनुभयो । उहाँले रचना, गायन र सङ्गीतका दृष्टिले यो उत्कृष्ट छ भन्नुभयो । गायक मुरलीधरले उत्कृष्ट शब्द सङ्गीत तथा थोरै शब्दको गीत सुन्दर रहेको टिप्पणी गर्नुभयो । यो गीत एस म्युजिकले युट्युबमा पनि राखेको छ ।

बारुदी सुरुङ जागरूकता दिवस आज मनाइँदै

काठमाडौँ, २१ चैतः ‘सुरक्षित भविष्य यहाँबाट सुरु हुन्छ’ नाराका साथ आज विश्वभर बारुदी सुरुङ जागरूकता र सहयोगका लागि अन्तरराष्ट्रिय दिवस मनाइँदै छ ।
सन् २००५ देखि संयुक्त राष्ट्रसङ्घको आह्वानमा यो दिवस मनाउन प्रारम्भ भएको हो । युद्ध एवं सशस्त्र द्वन्द्वका बेला बिछ्याइएका बारुदी सुरुङ तथा प्रयोग भएका विस्फोटक पदार्थका अवशेष र विस्फोटक उपकरणहरू आज पनि चुनौती बनेका छन् ।

औसतमा प्रत्येक घण्टा यस्ता विस्फोटक उपकरणबाट एक जनाको मृत्यु वा घाइते हुने गरेको छ । बारुदी सुरुङ विस्फोटबाट सबैभन्दा धेरै बालबालिका पीडित हुने गरेका छन् ।

फ्रान्सका जेम्मुरलाई दोस्रो विश्वयुद्धका नेताले ‘यहुदीहरूलाई बचाए’ भन्ने दाबीका लागि १० हजार युरो जरिवाना

नाजी सहयोगी फिलिप पेटिनले दोस्रो विश्वयुद्धको समयमा फ्रान्सेली यहुदीहरूलाई ‘बचाएको’ भन्दै मानवताविरुद्धको अपराधको खण्डन गरेको आरोपमा फ्रान्सेली अति–दक्षिणपन्थी राजनीतिज्ञ एरिक जेम्मुरलाई बुधबार १० हजार युरो (१० हजार आठ सय डलर) जरिवाना तिर्न आदेश दिइएको छ ।

अति–दक्षिणपन्थी रिकन्क्वेस्ट पार्टीका प्रमुख जेम्मुरले सन् २०१९ को एक टेलिभिजन बहसमा यी टिप्पणी गर्नुभएको थियो ।

युद्धकालीन नेताको राम्रोसँग दस्तावेज गरिएको यहुदी–विरोधी विचारधारालाई औँल्याउने धेरैजसो इतिहासकारहरूले यो दाबीलाई अस्वीकार गर्छन् ।

तल्लो अदालतले विगतमा जेम्मुरलाई मानवता विरुद्धको अपराध अस्वीकार गरेको आरोपबाट मुक्त गरेको थियो । तर कानूनहरू सही रूपमा लागू गरिएको छ कि छैन भन्ने प्रश्नका लागि फ्रान्सको शीर्ष अदालत कोर्ट अफ क्यासेसनले उहाँको सफाइलाई उल्ट्याएको थियो र नयाँ सुनुवाइको आदेश दिएको थियो ।

बुधबार ६६ वर्षीय जेम्मुरलाई मानवता विरुद्धको अपराधका लागि १० हजार युरो तिर्न आदेश दिइएको थियो ।

फैसलापछि जारी गरिएको एक बयानमा जेम्मुरले आफूले कुनै पनि समयमा ‘पेटिनको रक्षा’ गर्न नचाहेको जोड दिनुभयो र फैसलाविरुद्ध अपील गर्ने बताउनुभयो ।

सन् २०२२ मा एउटा अपिल अदालतले टिप्पणीहरूले ‘निर्वासितहरूका परिवारलाई अपमान गर्न सक्छ’, तर तिनीहरू ‘निर्वासनका सिकारहरूको सङ्ख्या वा यातना शिविरहरूमा उन्मूलनको नीतिलाई विवाद गर्ने वा कम गर्ने उद्देश्यले होइनन्’ भनी फैसला गरेको थियो ।

उक्त अदालतले नाजी जर्मनीसँगको सहकार्यमा दोस्रो विश्वयुद्धको समयमा भिची सरकारको नेतृत्व गर्ने पेटिनलाई ‘मानवता विरुद्धको एक वा बढी अपराध’ को दोषी ठहर गरेको थिएन तर ‘दुश्मनसँग मिलेर काम गरेको’ भनी औँल्याएको थियो ।

यद्यपि कोर्ट अफ क्यासेसनले ‘कथित टिप्पणीहरू अपराध हुनसक्छ यदि तिनीहरू मानवता विरुद्धको अपराधको दोषी नठहरिएको सार्वजनिक व्यक्तिसँग सम्बन्धित भए पनि’ भनी फैसला गर्‍यो ।

इस्लाम विरोधी उग्र दृष्टिकोण भएका टिप्पणीकार र लेखकका रूपमा परिचित जेम्मुरलाई जातिवादी घृणायुक्त भाषणका लागि धेरै दोषी ठहर गरिएको छ । उहाँ सन् २०२२ को राष्ट्रपतीय चुनावमा उम्मेदवार हुनुभएको थियो तर पहिलो चरणमा नै बाहिरिनुभएको थियो ।

रुसद्वारा रुसी प्रभावलाई लक्षित गर्ने बेलायती ‘पागलपन’ नियमहरूको आलोचना

रुसले बुधबार बेलायतमा रुसी राज्यका लागि काम गर्नेहरूलाई आफूलाई घोषणा गर्न वा जेल सजाय भोग्न बाध्य पार्ने नयाँ बेलायती नियमहरूको तीव्र आलोचना गरेको छ । रुसले यसबाट को प्रभावित हुनेछ भन्ने बारे स्पष्टता नभएको बताएको छ ।

बेलायती सरकारले मङ्गलबार मस्कोलाई आफ्नो ‘विदेशी प्रभाव दर्ता योजना’ मा राखेको घोषणा गरेको छ । यसको अर्थ रुसी सरकार वा यससँग सम्बद्ध संस्थाद्वारा निर्देशित जोसुकैले पनि जुलाईमा सुरु हुने नयाँ सूचीमा दर्ता गर्नुपर्ने वा पाँच वर्षको जेल सजायको जोखिम मोल्नुपर्ने हुन्छ ।

“अप्रिल १ मा मजाक, हाँसो र मूर्खहरूको दिन, बेलायतको गृह मन्त्रालय र विदेश मन्त्रालयले सँगै मनाए”, रूसी विदेश मन्त्रालयका प्रवक्ता मारिया जाखारोभाले टेलिग्राममा भन्नुभयो ।

नयाँ नियमहरूलाई ‘साँच्चै पागल’ भनेर वर्णन गर्दै जाखारोभाले हाँस्दै सोभियत सङ्घसँगको बेलायतको विगतको सहकार्यलाई समेट्ने बेलायती सङ्ग्रहालयहरूले पनि दर्ता गर्नुपर्ने सुझाव दिनुभयो र लन्डनलाई पागलपनको आरोप लगाउनुभयो ।

बेलायतको गृह मन्त्रालयले रुसी सरकारी एजेन्सीहरू, सशस्त्र बल, गुप्तचर सेवा र प्रहरी बल, संसद् र तिनका न्यायपालिकाहरूका लागि काम गर्ने जोसुकै पनि यी उपायहरूको अधीनमा रहने बताएको छ ।

मस्को र लन्डनबीचको सम्बन्ध रुसी राष्ट्रपति भ्लादिमिर पुटिन शक्तिमा रहेको २५ वर्षभरि गुप्तचर घटनाहरूले तनावपूर्ण रहेको छ ।

गत महिना एक बेलायती अदालतको जुरीले तीन बुल्गेरियालीलाई पत्रकारहरूलाई लक्षित गर्ने र तीन वर्षसम्म रुसलाई संवेदनशील जानकारी हस्तान्तरण गर्ने बेलायतमा आधारित जासुसी गिरोहमा उनीहरूको भूमिकाका लागि दोषी ठहर गरेको थियो ।

सन् २०१८ मा बेलायत र यसका सहयोगीहरूले सोभियत–युगको नर्भ एजेन्ट नोभिचोकले एक पूर्व दोहोरो एजेन्ट सर्गेई स्क्रिपाललाई विषादी प्रयोग गर्ने प्रयास गरेको आरोपमा उनीहरूले जासुस भनेका दर्जनौँ रुसी दूतावासका अधिकारीहरूलाई निष्कासन गरेका थिए ।

विश्वको सबैभन्दा सानो पेसमेकर चामलको दानाभन्दा पनि सानो

वैज्ञानिकहरूले बुधबार विश्वको सबैभन्दा सानो पेसमेकर विकास गरेको बताएका छन् । वैज्ञानिकहरूका अनुसार यो चामलको दानाभन्दा पनि सानो अस्थायी मुटुको धडकन नियन्त्रक हो । यसलाई घुलनशील गर्नुअघि प्रकाशद्वारा इन्जेक्ट र नियन्त्रण गर्न सकिन्छ ।

मानवमा परीक्षण हुन अझै वर्षौं बाँकी हुँदा यो वायरलेस पेसमेकरलाई ‘रूपान्तरणकारी प्रगति’ का रूपमा प्रशंसा गरिएको छ र यसले चिकित्साको अन्य क्षेत्रहरूमा प्रगति गर्न सक्छ ।

विश्वभर लाखौँ मानिसमा स्थायी पेसमेकरहरू छन् । यी पेसमेकरले मुटुको धड्कन सामान्य भएको सुनिश्चित गर्न विद्युतीय आवेगहरूद्वारा हृदयलाई उत्तेजित गर्दछन् ।

नयाँ उपकरणको पछाडि अमेरिकी नेतृत्वको अनुसन्धानकर्ताहरूको टोलीले उनीहरू शल्यक्रियापछि हप्तामा अस्थायी पेसमेकर आवश्यक पर्ने जन्मजात हृदय दोषका साथ जन्मेका एक प्रतिशत बच्चालाई मद्दत गर्न प्रेरित भएको बताएका थिए ।

पेसमेकरले वयस्कहरूलाई मुटुको शल्यक्रियाबाट निको भएपछि सामान्य मुटुको धड्कन पुनःस्थापित गर्न पनि मद्दत गर्न सक्छ ।

हाल अस्थायी पेसमेकरहरूका लागि मुटुको मांसपेशीमा इलेक्ट्रोड सिलाउन शल्यक्रिया आवश्यक पर्छ र यसमा बिरामीको छातीमा सञ्चालित उपकरणमा तारहरू जडान हुन्छन् ।

जब पेसमेकरको आवश्यकता समाप्त हुन्छ चिकित्सक वा नर्सहरूले तारहरू बाहिर निकाल्छन्, जसले कहिलेकाहीँ क्षति पुर्‍याउन सक्छ ।

चन्द्रमामा हिँड्ने पहिलो व्यक्ति निल आर्मस्ट्रङ सन् २०१२ मा उहाँको अस्थायी पेसमेकर हटाएपछि आन्तरिक रक्तस्रावका कारण मृत्यु भएको थियो ।

तर भर्खरै विकसित पेसमेकर वायरलेस छ र केवल एक मिलिमिटर बाक्लो र ३.५ मिलिमिटर लामो भएकाले यो सिरिन्जको टुप्पामा फिट हुन सक्छ ।

यसलाई अब आवश्यक नभएको बेलामा शरीरमा नै घुलनशील हुने गरी डिजाइन गरिएको छ । यसबाट बिरामीहरूलाई आक्रामक शल्यक्रियाबाट बचाउँछ ।

– महत्त्वपूर्ण फड्को अगाडि –

नेचर जर्नलमा प्रकाशित यस उपकरणको वर्णन गरिएको अध्ययन अनुसार पेसमेकर बिरामीको छातीमा लगाइने नरम प्याचसँग जोडिएको छ ।

जब प्याचले अनियमित मुटुको धडकन पत्ता लगाउँछ, यसले स्वचालित रूपमा प्रकाश चम्काउँछ जसले पेसमेकरलाई के मुटुको धडकन उत्तेजित गर्नुपर्छ भनेर बताउँछ ।

पेसमेकरलाई ग्याल्भेनिक सेल भनिन्छ । ग्याल्भेनिक सेलले शरीरको तरल पदार्थलाई रासायनिक ऊर्जालाई विद्युतीय आवेगमा रूपान्तरण गर्छ जसले मुटुलाई उत्तेजित गर्छ ।

अध्ययनअनुसार अहिलेसम्म पेसमेकरले मुसा, सुँगुर, कुकुर र प्रयोगशालामा मानव मुटुको तन्तुमा गरिएका परीक्षणहरूमा प्रभावकारी रूपमा काम गरेको छ ।

संयुक्त राज्य अमेरिकाको नर्थवेस्टर्न युनिभर्सिटीका वरिष्ठ अध्ययन लेखक जोन रोजर्सले पेसमेकर दुईदेखि तीन वर्षमा मानिसमा परीक्षण गर्न सकिने अनुमान गरिएको बताउनुभयो ।

उहाँको प्रयोगशालाले यो लक्ष्य हासिल गर्न एउटा स्टार्ट–अप सुरु गरेको उहाँले बताउनुभयो ।

“भविष्यमा अन्तर्निहित प्रविधिले मानव स्वास्थ्यमा सामाजिक चुनौतीहरूलाई सम्बोधन गर्न अद्वितीय र शक्तिशाली रणनीतिहरू सिर्जना गर्न सक्छ”, रोजर्सले भन्नुभयो ।

सिकागो विश्वविद्यालयको प्रयोगशालाका बोझी टियानले पनि प्रकाश–सक्रिय पेसमेकरहरू विकास गरेको तर उहाँ पछिल्लो अनुसन्धानमा संलग्न हुनुहुन्न थियो । उहाँले यसलाई ‘महत्त्वपूर्ण फड्को अगाडि’ भन्नुभएको छ ।

“यो नयाँ पेसमेकर चिकित्सा प्रविधिमा एक रूपान्तरणकारी प्रगति हो”, उहाँले भन्नुभयो, “यो अस्थायी गति र बायोइलेक्ट्रोनिक मेडिसिनमा एउटा मापदण्ड परिवर्तन हो, यसले स्नायु पुनर्जन्म, घाउ निको पार्ने र एकीकृत स्मार्ट इम्प्लान्टहरूसहित कार्डियोलोजीभन्दा बाहिरका सम्भावनाहरू खोल्छ ।”

विश्व स्वास्थ्य सङ्गठनका अनुसार हृदय रोग विश्वको मृत्युको प्रमुख कारण हो ।

भोजपुरको साम्के र तामालुङमा व्यावसायिक स्याउखेती

भोजपुर, २१ चैतः रामप्रसादराई गाउँपालिका–६ वैकुण्ठेका किसान स्याउको व्यावसायिक खेतीमा जुटेका छन् । वडाले स्याउखेतीका निम्ति अनुदान दिएपछि स्थानीय व्यावसायिक स्याउखेतीमा जुटेका हुन् ।

साम्के र तामालुङ गाउँका २६ जना किसानले करिब एक सय रोपनी क्षेत्रफलमा स्याउको खेती विस्तार गरेको स्थानीयवासी पाण्डव राईले बताउनुभयो । वडाले स्याउखेती विस्तारको लागि अनुदान दिएपछि किसानहरु उत्साहित भएर खेती विस्तारमा लागेका हुन् । पचास प्रतिशत लागत साझेदारीमा व्यावसायिक खेती प्रवद्र्धन थालिएको उहाँले जानकारी दिनुभयो ।

स्याउखेतीका निम्ति भूबनोट र जलवायु उपयुक्त भएकाले साम्के र तामालुङ गाउँमा स्याउखेती कार्यक्रम सञ्चालन गरिएको वडाध्यक्ष एकराज आचार्यले बताउनुभयो । किसानलाई एक हजार ८०० बिरुवा वितरण गरिएको छ ।

“यो क्षेत्रलाई स्याउको नमूना क्षेत्र बनाउने हाम्रो लक्ष्य छ । अन्य ठाउँमा सुन्तला, कागतीलगायत फलफूलखेती प्रोत्साहन गर्दै आएका छौँ ”, वडाध्यक्ष आचार्यले भन्नुभयो ।

यसअघि वडाले व्यावसायिक सुन्तलाखेतीमा लागेका किसानलाई प्रोत्साहन गर्न नर्सरी स्थापना गरेको थियो । वैकुण्ठेमा स्याउ, सुन्तलालगायत फलफूलका बिरुवा उत्पादन गर्न सकिने उहाँले बताउनुभयो ।

कृषि शाखाका प्रमुख धीरज ठाकुरका अनुसार किसानका खेतबारीमा पुगेर प्राविधिक सहयोग प्रदान गरिएको छ । यो वर्ष हुर्काइएका स्याउका बिरुवाबाट चार वर्षपछि उत्पादन प्राप्त हुनेछ । जैविकखेती प्रणालीमा जोड्न किसानलाई जैविक मल तथा विषादी बनाउने तालिम पनि दिइएको छ । माटो परीक्षण गरेर माटो सुहाउँदो बालीको व्यावसायिक खेतीमा किसानलाई प्रोत्साहन गरिरहेको उहाँको कथन छ ।

गाउँपालिकाले कृषि गुरुयोजना तयार गरेर कृषिमा लगानी गरिरहेको छ । कृषि एम्बुलेन्सबाट स्थानीय उजप बजार पु¥याइने गरेको छ । साथै पालिकाले सागसब्जी तथा फलफूलको ‘पकेट’ क्षेत्र निर्धारण गरेर तदनुरुप काम गरिहेको जनाएको छ । कृषि उपज भण्डारणका लागि भुल्के र वैकुण्ठेमा चिस्यान केन्द्र निर्माण गरिएको छ । सागसब्जीखेती विकासका लागि वडा नं ३ भुल्केमा ‘एक घर एक टनेल’ कार्यक्रम सञ्चालन भएको छ ।

आज ६ संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौँ, २१ चैतः ‘मिनी संसद्’का नामले पनि परिचित सङ्घीय संसद्अन्तर्गतका विभिन्न समितिका बैठक आज हुँदैछन् । संसद् सचिवालयका अनुसार कानुन, न्याय तथा मानवअधिकार समिति, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, महिला तथा सामाजिक मामिला समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र विकास र आर्थिक मामिला तथा सुशासन समितिका बैठक बिहान ११ः०० बजे हुँदैछन् ।

त्यसैगरी, राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको बैठक भने बिहान ११ः३० बजे हुने भएको छ ।

शिक्षा समितिको बैठकमा दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीका सम्बन्धमा युवा तथा खेलकुद मन्त्रालयसँग सम्बन्धित विषयमा छलफल हुने कार्यसूची छ ।

त्यसैगरी, विकास समितिमा ‘नेपाल अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुने’ विषयमा गैरसरकारी सङ्घसंस्था, नागरिक समाजलगायत सरोकार भएकाहरुसँग छलफल हुनेछ ।

यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य

काठमाडौँ, २१ चैतः कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो ।

गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ४०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ५०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु २०, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु २५, आलु रातो प्रतिकिलो रु ३५, आलु रातो (भारतीय) प्रतिकिलो रु ४०, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ४८, गाजर (लोकल) प्रतिकिलो रु ५०, गाजर (तराई) प्रतिकिलो रु ३५, बन्दा (लोकल) प्रतिकिलो रु १५, बन्दा (तराई) प्रतिकिलो रु १२, बन्दा (नरिवल) प्रतिकिलो रु २०, काउली (स्थानीय) प्रतिकिलो रु ३०, स्थानीय काउली (ज्यापु) प्रतिकिलो रु ३०, मूला रातो प्रतिकिलो रु ५०, मूला सेतो (लोकल) प्रतिकिलो रु २०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु ३०, भन्टा लाम्चो प्रतिकिलो रु ३५ तथा भन्टा डल्लो प्रतिकिलो रु ५०, तने बोडीको मूल्य प्रतिकिलो रु ७० कायम गरिएको छ ।

यसैगरी, मटरकोसा प्रतिकिलो रु ७०, घिउ सिमी (लोकल) प्रतिकिलो रु ८०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु ८०, घिउ सिमी (राजमा) प्रतिकिलो रु १००, टाटे सिमी प्रतिकिलो रु ७०, तितो करेला प्रतिकिलो रु १२०, लौका प्रतिकिलो रु ५०, परबर (लोकल) प्रतिकिलो रु ९०, परबर (तराई) प्रतिकिलो रु ९०, घिरौला प्रतिकिलो रु ७०, झिगुनी प्रतिकिलो रु ८०, फर्सी पाकेको प्रतिकिलो रु ५०, फर्सी हरियो (लाम्चो) प्रतिकिलो रु ३०, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु ३०, सलगम प्रतिकेजी रु ७०, भिण्डी प्रतिकिलो रु ११० कायम गरिएको छ । 

यस्तै, सखरखण्ड प्रतिकिलो ७०, बरेला प्रतिकिलो रु ४०, पिँडालु प्रतिकिलो रु ९०, स्कूस प्रतिकिलो रु ४०, रायो साग प्रतिकिलो रु ६०, पालुङ्गो साग प्रतिकिलो ८०, चमसुरको साग रु १००, तोरीको साग प्रतिकिलो रु ६०, मेथीको साग प्रतिकिलो रु ९०, प्याज हरियो प्रतिकिलो रु ४०, बकुला प्रतिकिलो रु ५०, तरुल प्रतिकिलो रु १२०, च्याउ (कन्य) प्रतिकिलो रु १८०, च्याउ (डल्ले) प्रतिकिलो रु ३०० तथा कुरिलो प्रतिकिलो रु ६०० निर्धारण गरिएको छ ।

निगुरो प्रतिकेजी रु १००, ब्रोकाउली प्रतिकिलो रु ५०, चुकुन्दर प्रतिकिलो रु ६०, सजीवन प्रतिकिलो रु २००, कोइरालो प्रतिकिलो रु १८०, रातो बन्दा प्रतिकिलो रु ५०, जिरीको साग प्रतिकिलो रु ६०, ग्याठकोभी प्रतिकिलो रु ६०, सेलरी प्रतिकिलो रु १५०, पार्सले प्रतिकिलो रु ३००, सौफको साग प्रतिकिलो रु ७०, पुदिना प्रतिकिलो रु ३००, गान्टे मूला प्रतिकिलो रु ७०, इमली प्रतिकिलो रु १७०, तामा प्रतिकिलो रु १००, तोफु प्रतिकिलो रु १२० र गुन्द्रुक प्रतिकिलो रु ३५० तोकेकोे छ ।

समितिले स्याउ (झोले) प्रतिकिलो रु २५०, स्याउ (फूजी) प्रतिकिलो रु ३५०, केरा (दर्जन) रु १६०, कागती प्रतिकिलो रु २९०, अनार प्रतिकिलो रु ३५०, अङ्गुर (हरियो) प्रतिकिलो रु २००, अङ्गुर (कालो) प्रतिकिलो रु २५०, भारतीय सुन्तला रु १५०, तरबुजा हरियो प्रतिकिलो रु ७०, मौसम प्रतिकिलो रु २००, जुनार प्रतिकिलो रु २००, भुइँकटहर प्रतिगोटा रु २००, काँक्रो (लोकल) प्रतिकिलो रु ७०, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु ४०, रुख कटहर प्रतिकिलो रु १२०, निबुवा प्रतिकेजी रु ५०, नासपाती (चाइनिज) प्रतिकिलो रु २६०, मेवा (नेपाली) प्रतिकिलो रु ५०, मेवा (भारतीय) प्रतिकिलो रु १२०, अम्बा प्रतिकिलो रु १२०, लप्सी प्रतिकिलो रु १२०, उखु प्रतिगोटा रु १००, स्ट्रबेरी (भुइँऐसेलु) रु २५०, किबी प्रतिकिलो रु ४५० तथा आभोकाडो प्रतिकिलो रु ६५०, अमलाको मूल्य प्रतिकिलो रु ८० निर्धारण गरिएको छ ।

यसैगरी, अदुवा प्रतिकिलो रु १२०, खुर्सानी सुकेको प्रतिकिलो रु ४००, खुर्सानी हरियो प्रतिकिलो रु १००, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु ८०, खुर्सानी हरियो (माछे) प्रतिकिलो रु ८०, खुर्सानी हरियो (अकबरे) प्रतिकिलो २५०, भेडे खुर्सानी प्रतिकिलो रु १३०, लसुन हरियो प्रतिकिलो रु ६०, हरियो धनिया प्रतिकिलो रु २००, लसुन सुकेको चाइनिज प्रतिकिलो रु ३२०, लसुन सुकेको नेपाली प्रतिकिलो रु ३००, ताजा माछा (रहु) प्रतिकिलो रु ३२०, ताजा माछा (बचुवा) प्रतिकिलो रु २६०, ताजा माछा (छडी) प्रतिकिलो रु २४०, रुख टमाटर प्रतिकिलो रु १४०, राजा च्याउ प्रतिकिलो रु ३०० र सिताके च्याउको मूल्य प्रतिकिलो रु ८०० तोकेको छ ।

नयाँ वर्षको अवसरमा चारतारेमा चौँरी महोत्सव हुँदै

पाँचथर, २१ चैतः नयाँ वर्ष विसं २०८२ का अवसरमा पाँचथरको फालेलुङ गाउँपालिका–४ चाररातेमा आठौँ चौँरी महोत्सव हुँदैछ । विश्वमै लोपोन्मुख अवस्थामा पुगेको चौँरीको संरक्षणमार्फत पर्यटन विकास गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको हो ।

फालेलुङ गाउँपालिकाले यहाँका फालेलुङ कञ्चनजङ्घा पर्यापर्यटन प्रवर्द्धन संस्था, दीपज्योति युवा क्लब र कञ्चनजङ्घा चाँैरीपालन तथा संरक्षण संस्थासँगको सहकार्यमा महोत्सव आयोजना गर्न लागेको जनाएको छ । महोत्सवको स्थानीय व्यवस्थापनमा यहाँका सामुदायिक वन उपभोक्ता संस्थाहरू समेत रहेका छन् । 

महोत्सवमा छ सयभन्दा बढी चौँरी प्रदर्शन गरिनाका साथै चौँरीजन्य सामग्री, स्थानीय घरेलु उत्पादन, हिमाली संस्कृति झल्काउने सामग्री तथा दृश्यहरू प्रदर्शनमा राखिने गाउँपालिका उपाध्यक्ष महेन्द्रहाङ जबेगूले जानकारी दिनुभयो । “विश्वमै लोपोन्मुख अवस्थामा पुगेको चौँरी संस्कृतिको गजेर्ना गरी पर्यटन विकास, उच्च पहाडी क्षेत्रको पर्यापर्यटन सन्तुलन कायम राख्न  सन्देश प्रवाह, जैविक विविधताको संरक्षणमा जोड, प्राकृतिक तथा जैविक विविधतासँग जोडिएको नेपाल–भारत सीमा क्षेत्र भएकाले नेपालले पर्यटकीय लाभ लिन सकिने सन्देश दिने उद्देश्यले महोत्सव आयोजना गरिएको छ”, उहाँले भन्नुभयो ।  

यस्तै, फालोट क्षेत्रको पर्यटकीय सम्भावनालाई उजागर गरी विश्वभरिका पर्यटकलाई आकर्षित गर्ने तथा पर्यापर्यटनको विकासमार्फत चौँरीपालक किसानसहित स्थानीयवासीको आम्दानीको स्रोत वृद्धि गर्ने महोत्सवले लक्ष्य लिएको छ । महोत्सव समुद्री सहतबाट तीन हजार ५०० मिटर उचाइमा अवस्थित नेपाल–भारत सीमा क्षेत्र नजिकैको चाररातेमा आयोजना हुनेछ । चैत ३१ गते सुरु हुने महोत्सव वैशाख २ गते सम्पन्न हुने उपाध्यक्ष जबेगूले जानकारी दिनुभयो । 

विसं २०७४ सालदेखि यहाँ निरन्तर महोत्सव गरिँदै आइएको छ । नेपाल पर्यटन बोर्ड, पर्यटन कार्यालय कांकरभिट्टालगायत संस्था प्रवद्र्धकका रूपमा रहेको यस वर्षको महोत्सवमा नेपालसहित भारत र भूटानबाट समेत पर्यटक आउने आयोजकमध्येको फालेलुङ कञ्चनजङ्घा पर्यापर्यटन प्रवर्द्धन संस्थाका उपाध्यक्ष शील्प साम्पाङले जानकारी दिनुभयो । महोत्सवमा उत्कृष्ट चौँरीपालक कृषक सम्मान, चौँरीपालकबीच मैत्रीपूर्ण फुटबल खेल, चौँरी नृत्य जस्ता कार्यक्रम हुनेछन् ।

आयोजकका अनुसार चौँरी महोत्सव पाँचथरको फालेलुङमा मात्रै हुने गरेको छ । चौँरीपालन क्षेत्रमा विश्वमै दुर्लभ वन्यजन्तु रातो हाब्रेसमेत पाइने गरेको छ । नेपाल–भारत सीमा क्षेत्रमा आयोजना हुने यस महोत्सवमा दुवै देशबाट चौँरी प्रदर्शनका लागि ल्याइन्छन् भने दुवै देशबाट पर्यटकको सहभागिता रहने गर्छ ।  

सीमावर्ती फालोट क्षेत्रमा बर्सेनि करिब तीन लाख पर्यटकले भ्रमण गर्ने गरेको अनुमान गरिन्छ । नेपालतर्फ चौँरी महोत्सवको नियमित आयोजना तथा पर्यटन पूर्वाधार निर्माणले पर्यटक आवागमन वृद्धि भई नेपाली लाभ लिन थालेको फालेलुङ गाउँपालिकाका प्रवक्ता भरतकुमार खपाङ्गीले बताउनुभयो ।

आज वासन्ती छठ पर्वको व्रत र सझियाघाट

महोत्तरी, २१ चैतः महोत्तरीसहित मधेसका जिल्लाहरूमा हाल वासन्ती छठ पर्वको रौनक छ । बोलीचालीमा चैती छठ भनिने यो पर्वको तेस्रो र मुख्य दिन व्रतालुुले आज षष्ठी तिथिका दिन निराहार व्रत सुरु गरेका छन् । पञ्चमीका दिन बुधबार मध्यरातअघि खरना विधि गरेर सख्खरको खिर प्रसादस्वरुप खाएपछि निराहार व्रत प्रारम्भ भएको छ ।

आज साँझ नै व्रतालुुले पवित्र जलाशयमा सजाइएको घाटमा मिष्टान्न परिकार राखिएका डालीहरू हातमा उठाएर अस्ताउँदो सूर्यलाई पहिलो अघ्र्य दिनेछन् । यो विधिलाई मिथिलाको बोलीचालीमा ‘सझुका अरख’ वा ‘सझियाघाट’ भन्ने गरिन्छ । 

श्रद्धा, निष्ठा र समर्पणको प्रतीक मानिने छठ पर्वको अवसरमा मिथिलाका गाउँबस्ती भक्तिमय बनेका छन् । जलाशयमा बनाइएका घाटहरूरु अत्यन्त मनमोहक देखिएका छन् । व्रतालुुले भोलि शुक्रबार सप्तमी तिथिका दिन बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि यसपालिको वासन्ती छठ पर्व विधिवत् समापन हुनेछ । यसअघि गत मङ्गलबार चौथी तिथिका दिन ‘नहाय–खाय’ विधिबाट पर्व सुरु गरेका व्रतालुुले पञ्चमी तिथिका दिन बुधबार राति नुन नहालेर एकछाक मात्र खाएर ‘खरना’ विधि सम्पन्न गरिसकेका छन् । 

मधेसको प्राचीन मिथिला क्षेत्रमा वर्षको दुईपटक छठ मनाइन्छ । कात्तिक शुक्लपक्ष चौथीदेखि सप्तमीसम्म मनाइने छठलाई शारदीय भनिन्छ । यसैगरी, चैत शुक्ल चौथीदेखि सप्तमीसम्म मनाइने छठलाई वासन्ती वा चैती छठ भनिन्छ । दुवैै छठमा सूर्यदेव र षष्ठीदेवी (बोलीचालीमा छठीदेवी) को उपासना गरिन्छ । दुवै छठका व्रतविधान समान छन् । यो व्रतको प्रभावले मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ ।

केही दशकअघि मिथिला र तराई क्षेत्रको मात्र मुख्य पर्व मानिने छठ पछिल्लो समय नेपालभर विस्तार भएको छ । सबैको साझा र मिथिला संस्कृतिको प्रतीक बनेको यो पर्वलाई लोकआस्थाको महापर्व पनि भनिन्छ ।

राष्ट्रिय गौरवको भेरी बबई डाइभर्सन आयोजनाको प्रगति ८३ प्रतिशतभन्दा

काँक्रेविहार (सुर्खेत), २१ चैतः आर्थिक वर्ष २०७१÷७२ मा सुरु भएको राष्ट्रिय गौरवको भेरी बबई डाइभर्सन आयोजनाको प्रगति ८३ प्रतिशतभन्दा बढी भएको छ । भेरी नदीको पानी बबईमा खसालेर बाँके र बर्दियामा सिँचाइ पु¥याउने लक्ष्यका साथ निर्माण भइरहेको यो आयोजनाको प्रगति हाल ८३ दशमलव सात प्रतिशत पुगेको छ ।

सुर्खेतको भेरीगङ्गा नगरपालिका–११ चिप्लेस्थित भेरी नदीमा बाँध बाँधेर १२ दशमलव दुई किलोमिटर सुरुङमार्फत भेरीको पानी सुर्खेत र बर्दियाको सिमानास्थित बबई नदीमा खसाल्न लागिएको छ । छयालिस मेगावाट विद्युत् उत्पादनसहित बाँके र बर्दियाको करिब ५१ हजार जमिनमा सिँचाइ सुविधा पु¥याउने यसको लक्ष्य छ । रु ३३ अर्ब १९ करोड ६६ लाख लागत अनुमान गरिएको आयोजनामा हालसम्म रु १६ अर्ब ९६ करोड खर्च भइसकेको छ । बाँधस्थलमा बाँधका छ वटा ‘वे’ मध्ये दुईवटाको ढलान, ग्राभल ट्रिप, फारवे, लिफ्ट वाललगायत संरचना निर्माण भइसकेका छन् ।

‘सर्ज साफ्ट’ निर्माणस्थलमा स्लोभ स्टभविलाइजेसन गर्ने कार्य सम्पन्न भई साफ्ट खन्न ग्रान्टी क्रेन राखेर कलर बिम ढलान भई साफ्ट खन्न सुुरु भएको आयोजनाका सूचना अधिकारी पवन अधिकारीले जानकारी दिनुभयो । 

आयोजनास्थलका ‘स्लिपवेको वे’ एक र दुईको स्टिल लाइनको काम सम्पन्न भई हाइड्रोमेकानिकलसम्बन्धी अधिकांश ‘डिजाइन’ स्वीकृतिको चरणमा रहेको सूचना अधिकारी अधिकारी बताउँछन् । “तीनवटा ड्राफ्ट ट्युब फिल्डमा आइसकेको छ”, उहाँले भन्नुभयो, “इलेक्ट्रोमेकानिकलसम्बन्धी ट्रान्सफर्मर–३, टर्वाइन रनर एकलगायत सामान पनि आइसकेका छन् ।” विद्युत् प्रसारण लाइनसम्बन्धी सम्झौता भइसकेको र विद्युत् लाइनसम्बन्धी अध्ययन तथा इआईए अध्ययनको सम्झौता भइसकेको उहाँले बताउनुभयो ।

आयोजनालाई चाहिने ३३ हेक्टर जग्गामध्ये गत आर्थिक वर्षमा १०.५९ हेक्टर जग्गा प्राप्तिका लागि सूचना प्रकाशन भई जग्गाको स्वामित्व यकिन गर्ने कामसमेत सम्पन्न भएको छ । छ दशमलव पाँच तीन हेक्टर जग्गाको मुआब्जा रकम भुक्तानी भएको र बाँकी प्रक्रियामा छ । स्थानीयहरुले पटक–पटक स्थानीयले अवरोध गर्दा आयोजनाले गति लिन नसकेको आयोजनाले जनाएको छ । छुट भएका ऐलानी जग्गा तथा उक्त जग्गामा निर्मित संरचनाको क्षतिपूर्तिका सम्बन्धमा स्थानीयहरुबाट आयोजनामा निवेदन पेस भई प्रक्रिया अघि बढेको छ । ऐलानी जग्गा प्राप्तिका सन्दर्भमा स्पष्ट नीति तथा कार्यविधिको अभाव रहनाका साथै ऐलानी जग्गाको स्वामित्व परिवर्तनले प्रक्रियागत जटिलता थपिने गरेको अधिकारीले बताउनुभयो ।

पावर हाउस निर्माण हुने बबईको बायाँ किनारा बस्तीबाट निर्माणस्थलमा भएको अवरोध फुकाउन केही भूभागमा हाल कायम सिभिल निर्माण कार्यको ठेक्काबाट तथा अन्य भूभागमा नयाँ ठेक्काबाट निर्माण कार्य अगाडि बढाई स्थानीयवासीको माग सम्बोधन गरिएको छ ।

निर्माण व्यवसायीलाई आवश्यक दक्ष जनशक्ति, यन्त्र उपकरण तथा निर्माण सामग्रीलगायतका उचित व्यवस्थापनमा जोड एवं निर्देशनका साथै आवश्यक समन्वय गरिएको उहाँको भनाइ छ । जग्गा प्राप्ति प्रक्रियामा विभिन्न समस्या आउने गरिए तापनि सहजीकरण गर्न स्थानीय प्रशासनलगायत सम्बन्धित निकायहरुसँग समन्वय गर्दै आयोजना अघि बढिरहेको छ । ऐलानी जग्गाको हकमा पेस भएको प्रस्ताव स्वीकृत भएको र हाल कार्यान्वयनको चरणमा रहेको आयोजनाले जनाएको छ ।

सरकारले आर्थिक वर्ष २०६८÷६९ देखि सुरु गर्ने भनिएको आयोजना २०७१÷७२ मा मात्र सुरु भएको थियो । पहिलो चरणमा २०७६ चैत १५ सम्म सुरुङ निर्माण गर्ने गरी चाइना ओभरसिज इञ्जिनियरिङ ग्रुप (कोभेक) लाई जिम्मा दिइएको थियो । तर कम्पनीले करिब १२.२ किलोमिटर लामो सुरुङ आफूलाई दिएको म्यादअघि नै सम्पन्न गरेको थियो । ३ वैशाख २०७६ मा प्रधानमन्त्री केपी शर्मा ओलीले सुर्खेतको भेरीगङ्गा–११ स्थित चिप्लेमा १२ किलोमिटर सुरुङको ‘ब्रेक थ्रू’ गरेका थिए ।

अत्याधुनिक प्रविधि प्रयोग गरेर तोकिएको मितिभन्दा एक वर्षअगावै सुरुङ छिचोलिएको चर्चा कमाएको आयोजनाको दोस्रो चरणको काम भने मन्द गतिमा चलिरहेको छ । आयोजनाका लागि चालु आर्थिक वर्षका लागि एक अर्ब ७७ करोड छुट्याइएकामा हालसम्म रु ४६ करोड मात्र खर्च भएको आयोजनाका प्रमुख रणबहादुर बमले बताउनुभयो । अहिलेसम्म आयोजनामा ६६ प्रतिशत भौतिक प्रगति भएको छ । आयोजनास्थलमा दैनिक १५० जनाले काम गरिरहेको उहाँले बताउनुभयो ।

जनताले वंशवादमा आधारित शासन व्यवस्था हटाइसकेकाले फेरि त्यसको कुरा गर्न आवश्यक छैनः अध्यक्ष नेपाल

राजविराज (सप्तरी- नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले जनताको आन्दोलनले वंशवादमा आधारित शासन व्यवस्था हटाइसकेकाले फेरि त्यसको सम्भावनाको कुरा गर्न आवश्यक नरहेको बताउनुभएको छ ।

  राजविराजमा पार्टीको १०औँ जिल्ला अधिवेशनको उद्घाटन गर्दै उहाँले पूर्वराजालाई राजनीति गर्ने मन भए मौजुदा व्यवस्थाअनुसार पार्टी खोलेर आउने बाटो खुल्ला रहेको बताउनुभयो । पूर्वप्रधानमन्त्री नेपालले निर्वाचनबाट बहुमत ल्याएर आफ्नो नीति तथा कार्यक्रम लागू गर्ने व्यवस्था सुनिश्चित रहेको भन्दै  वंशवादको विगततर्फ फर्किने सपना नदेख्न आग्रह गर्नुभयो । 

राजतन्त्रकालमा भएको दमनको भुक्तभोगी आफूसमेत भएको र दमनको जम्मै कुरा नेपाली जनतालाई पनि अझै याद रहेको भन्दै उहाँले चैत १५ गते काठमाडौँमा भएको पूर्वराजा  पक्षधरको प्रदर्शनले पनि त्यसलाई ताजा बनाएको धारणा राख्नुभयो ।  “पूर्वराजा ज्ञानेन्द्र पक्षधर र गठतन्त्रवादी समाजवादी मोर्चाको कार्यक्रम एकैदिन भयो तर त्यहाँ हेर्नुस् न के के भयो । हजारौँ गणतन्त्रवादी नागरिक सहभागी भएको कार्यक्रम सभ्य भयो तर थोरै सङ्ख्यामा रहेका व्यवस्था विरोधीहरुले लुटपाट, आगजनी र तोडफोड गरेर आफ्नो विगत सम्झाए”, अध्यक्ष नेपालको भनाइ थियो । 

पार्टीका जिल्ला अध्यक्ष प्रतापनारायण चौधरीको अध्यक्षतामा भएको अधिवेशन उद्घाटन कार्यक्रममा पार्टी उपाध्यक्ष धर्मनाथप्रसाद साह, मधेस प्रदेश  अध्यक्ष रामचन्द्र यादव, अखिल नेपाल महिला सङ्घकी केन्द्रीय उपाध्यक्ष उषा पोखरेललगायतले मन्तव्य व्यक्त गरेका थिए । 

काठमाडौँ उपत्यकामा डम्म लागेको बादल फाट्न अझ केही दिन लाग्ने

काठमाडौँ, २१ चैतः विगत केही दिनदेखि वायु प्रदूषणका कारण काठमाडौँ उपत्यकामा डम्म लागेको बादल फाट्न अझ केही दिन लाग्ने भएको छ ।

भोलि शुक्रबारदेखि वायुको वेग आजको तुलनामा अधिक हुने सम्भावना रहेकाले क्रमशः सुधार भई आकाश खुल्ने मौसमविद् बिनु महर्जनले राससलाई बताउनुभयो । हाल राजधानी उपत्यकामा वर्षा हुने अवस्था नरहेको तर क्रमशः यहाँको आकाशबाट बादल हट्ने लक्षण देखिएको उहाँले बताउनुभयो । बुधबारको तुलनामा आज तापक्रम पनि केही घटेको जानकारी दिँदै उहाँले भोलिदेखि क्रमशः तापक्रम पनि बढ्ने जानकारी दिनुभयो ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको तथा लुम्बिनी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिक बदली भएको छ ।

चितुवाको निसानामा बालबालिका, डेढ महिनामा एकको मृत्यु, दुई घाइते

ठाकुरबाबा (बर्दिया), २१ चैतः पछिल्ला केही महिनामा बर्दियामा चितुवाको आक्रमण बढ्दै गएको छ । फागुन र चैत महिनाका घटना हेर्दा विशेषगरी बालबालिका चितुवाको निसानामा पर्ने गरेका छन् । यस अवधिमा तीनजना बालक चितुवाको आक्रमणमा परेका छन् ।

डेढ महिनामा चितुवाको आक्रणबाट एक बालकको मृत्यु भएको छभने दुई बालक गम्भीर घाइते भएका डिभिजन वन कार्यालय बर्दियाका सूचना अधिकारी रामकुमारी चौधरीले जानकारी दिनुभयो  । विसं २०८१ फागुन ३ गते साँझ करिब ८ बजे मधुवननगरपालिका–९ धर्मबस्तीमा दुई वर्षीय  बालक रिहान चलाउने चितुवाको सिकार भए । ती बालक सानीआमाका घरमा पाहुना आएका थिए ।  

यस्तै, यही चैत ९ गते मधुवन नगरपालिका–४ स्थित सरस्वती सामुदायिक वनबाट आएको चितुवाले माया नर्सरी नजिक खेलिरहेका चार वर्षीय बालकलाई साँझ ६ः३० बजेतिर आक्रमण ग¥यो । मधुवन नगरपालिका–४, गमक्का निवासी मुन्सिराम थारूका चार वर्षीय छोरा शुभम् थारूलाई स्थानीयवासीको सहयोगमा बालकलाई घाइते अवस्थामा उद्धार गरियो ।

यस्तै, बुधबार मात्रै दिउँसो करिब २ बजेको समयमा गुलरिया नगरपालिका–४ इन्द्रेणी टोलका सात वर्षीय सिर्जन चौधरीलाई चितुवाले आक्रमण गरेको छ । घरआँगनबाट चितुवाले लैजाँदै गरेको देखेपछि स्थानीयको सहयोगमा बालकको उद्धार गरिएको थियो । बालकको घाँटीमा गहिरो चोट लागेको छ । बर्दिया अस्पताल, गुलरियामा प्रारम्भीक उपचारपछि थप उपचारका लागि नेपालगञ्जस्थित नर्सिङ होममा पठाइएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक ऋषिराम घर्तिमगरले जानकारी दिनुभयो । 

चितुवाले लगातार आक्रमण गर्न थालेपछि स्थानीय बासिन्दा त्रसित बनेका छन् । स्थानीय नागरिकले वन तथा वातावरण संरक्षणका क्षेत्रमा कार्यरत निकायले चितुवाको आतङ्क नियन्त्रण गर्न आवश्यक उपायहरू अवलम्बन गर्न माग गरेका छन् । 

बिहीबारका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, २१ चैतः नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । जसअनुसार आज अमेरिकी डलर एकको खरिददर १३६ रूपैयाँ ५० पैसा र बिक्रीदर १३७ रूपैयाँ १० पैसा कायम भएको छ ।

युरोपियन युरो एकको खरिददर १४७ रूपैयाँ ४१ पैसा र बिक्रीदर १४८ रूपैयाँ ०५ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १७६ रूपैयाँ ६६ पैसा र बिक्रीदर १७७ रूपैयाँ ४३ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १५४ रूपैयाँ ४२ पैसा र बिक्रीदर १५५ रूपैयाँ १० पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८६ रूपैयाँ ०८ पैसा र बिक्रीदर ८६ रूपैयाँ ४६ पैसा, क्यानेडियन डलर एकको खरिददर ९५ रूपैयाँ ३० पैसा र बिक्रीदर ९५ रूपैयाँ ७२ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०१ रूपैयाँ ६३ पैसा र बिक्रीदर १०२ रूपैयाँ ०७ पैसा निर्धारण गरिएको छ ।

यस्तै, जापानी येन १० को खरिददर नौ रूपैयाँ १५ पैसा र बिक्रीदर नौ रूपैयाँ १९ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रूपैयाँ ७८ पैसा र बिक्रीदर १८ रूपैयाँ ८६ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपैयाँ ३९ पैसा र बिक्रीदर ३६ रूपैयाँ ५५ पैसा, कतारी रियाल एकको खरिददर ३७ रूपैयाँ ४५ पैसा र बिक्रीदर ३७ रूपैयाँ ६१ पैसा कायम भएको छ ।

केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर तीन रूपैयाँ ९९ पैसा र बिक्रीदर चार रूपैयाँ ०१ पैसा, युएई दिराम एकको खरिददर ३७ रूपैयाँ १६ पैसा र बिक्रीदर ३७ रूपैयाँ ३३ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रूपैयाँ ६५ पैसा र बिक्रीदर ३० रूपैयाँ ७८ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रूपैयाँ ३३ पैसा र बिक्रीदर नौ रूपैयाँ ३७ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १३ रूपैयाँ ७० पैसा र बिक्रीदर १३ रूपैयाँ ७६ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रूपैयाँ ७६ पैसा र बिक्रीदर १९ रूपैयाँ ८५ पैसा तोकिएको छ ।

 राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रूपैयाँ ५४ पैसा र बिक्रीदर १७ रूपैयाँ ६२ पैसा, कुवेती दिनार एकको खरिददर ४४२ रूपैयाँ ६९ पैसा र बिक्रीदर ४४४ रूपैयाँ ६४ पैसा, बहराइन दिनार एकको खरिददर ३६२ रूपैयाँ ०९ पैसा र बिक्रीदर ३६३ रूपैयाँ ६८ पैसा, ओमनी रियाल एकको खरिददर ३५४ रूपैयाँ ५७ पैसा र बिक्रीदर ३५६ रूपैयाँ १३ पैसा तोकेको छ । भारतीय रूपैयाँ एक सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा कायम भएको छ ।

राष्ट्र बैङ्कले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

नागरिक उन्मुक्ति र जनमत पार्टीबीच एकता अन्तिम चरणमा

काठमाडौँ, २१ चैतः तराई–मधेस केन्द्रित दुई राजनीतिक दल जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच पार्टी एकीकरण करिब अन्तिम चरणमा पुगेको छ । एकता प्रक्रियालाई टुङ्ग्याउन दुवै पक्षका नेताहरू पछिल्ला दिनमा सघन छलफलमा छन् । दुवै पार्टीलाई एकीकरण गरेर राष्ट्रिय मुद्दा र जनसवाललाई सशक्त रूपमा उठाउनेगरी एकताका लागि पहल गरिएको नेताहरू बताउँछन् । दुवै पार्टीले एकीकरणका लागि गठन गरेका कार्यदलले विभिन्न चरणमा बैठक बसी सहमतिको विन्दु पहिल्याउन कसरत गरिरहेका छन् । कार्यदल र शीर्ष नेतृत्वतहमा चरणबद्ध छलफल भइरहेको नेताहरूले बताएका छन् ।

जनमत पार्टीका उपाध्यक्ष अब्दुल खानले पार्टी एकीकरणलाई अन्तिम रुप दिन आन्तरिक र बहुपक्षीय छलफल तीव्र रूपमा भइरहेको र आगामी वैशाख १५ भित्रै पार्टी एकीकरणको घोषणा गर्नेगरी संवादमा भइरहेको बताउनुभयो । “आगामी वैशाख १५ भित्र एकता प्रक्रियालाई टुङ्गोमा पु¥याउने गरी छलफल भइरहेको छ”, जनमतका तर्फबाट गठित कार्यदलका संयोजकसमेत रहनुभएका उहाँले भन्नुभयो, “नयाँ बन्ने पार्टीको नाम, झण्डा, चुनाव ‘फाइनल’ भइसकेको छ । हाल पार्टीको विधान लेख्ने काम भइरहेको छ, पार्टीको पदाधिकारी टुङ्ग्याउन मात्र बाँकी छ ।”

संयोजक खानका अनुसार वैशाखको पहिलो सातामा आ–आफ्नो केन्द्रीय समितिबाट एकीकृत विधान पारित गरिने र दोस्रो साता पार्टी एकीकरणको घोषणा गरिनेछ । पार्टी एकीकरणका लागि दुई महिनायता नेताहरूले कसरत गरिरहेका छन् । दुवै दलले कार्यदल गठन गरेपछि यो प्रक्रियाले तिब्रता पाएको छ । 

नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठले पार्टी एकीकरण प्रक्रियालाई चाँडै टुङ्ग्याउनेगरी छलफल भइरहेको जानकारी दिनुभयो । उहाँले कार्यदल तहमा छलफल भइरहेको र कार्यदलको निचोडलाई अन्तिम रूप दिइने बताउनुभयो । “पार्टी एकीकरणलाई टुङ्गो लगाउन कार्यदल तहमा छलफल भइरहेको छ, त्यहाँको निर्णयअनुरुप दुवै पार्टीका शीर्ष नेताहरूले पार्टी एकीकरणलाई अन्तिम रूप दिनेछौँ”, अध्यक्ष श्रेष्ठले भन्नुभयो ।

जनमत पार्टीका प्रवक्ता डा शरद् सिंह यादवले पनि पार्टी एकीकरण प्रक्रिया करिब अन्तिम चरणमा पुगेको बताउनुभयो । “पार्टी एकीकरणका लागि दुवै पार्टीबाट गठित कार्यदलको बैठक र छलफल चलिरहेको छ”, उहाँले भन्नुभयो, “केही कुरा मोटामोटी सहमति पनि भइसकेको छ, उदाहरणका रूपमा पार्टीको नाम, नेतृत्व र पदाधिकारीको विषयमा करिब सहमति बनिसकेको छ । बाँकी विषयलाई कार्यदलको तहबाट चाँडै टुङ्ग्याएर पार्टी एकीकरणलाई पूर्णता दिइनेछ ।”

प्रारम्भिक समझदारीअनुसार पार्टीको नाम, पार्टीको झण्डा, पार्टीको नेतृत्वमा पनि करिब सहमति बनिसकेको जनाइएको छ । एकीकरणपछि बन्ने पार्टीको अध्यक्षमा हालको जनमत पार्टीका अध्यक्ष सिके राउत र सहअध्यक्षमा नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ रहने नेताहरूले दाबी गर्छन् । “ हामी पार्टी एकीकरणमा प्रवेश गरिसक्यौँ, पार्टीको नाम, झण्डा, चुनाब चिह्न, अध्यक्षसहितका पदाधिकारीमा मोटामोटी सहमति भइसकेको छ । सचिवालय, केन्द्रीय समितिलगायत पार्टीको तल्लो तहका संरचना विस्तारै मिलाउँदै जान सकिन्छ”, कार्यदल सदस्यसमेत रहनुभएका जनमत पार्टीका प्रवक्ता डा शरदसिंह यादवले भन्नुभयो ।

जनमत पार्टीले नागरिक उन्मुक्ति पार्टीसँग एकीकरणका लागि गत फागुनको तेस्रो साता कार्यदल गठन गरेको थियो भने नागरिक उन्मुक्ति पार्टीले हालै कार्यदल बनाएको छ । जनमत पार्टीका तर्फबाट गठित कार्यदलमा उपाध्यक्ष खानको संयोजकत्वमा पार्टी प्रवक्ता डा यादव र बाल गोविन्द चौधरी सदस्य हुनुहुन्छ । यस्तै, नागरिक उन्मुक्ति पार्टीका तर्फबाट नेता गङ्गाराम चौधरीको संयोजकत्वमा कार्यदल गठन गरिएको छ । कार्यदलमा सुनिता चौधरी र रामलाल डगौरा थारू सदस्य हुनुहुन्छ ।

पार्टी एकीकरण भएपछि पहिचानवादी शक्ति, आदिवासी जनजाति समुदायहरू एकताबद्ध भएर आफ्ना मुद्दालाई बलियो बनाउन सकिने अपेक्षा रहेको जनमत पार्टीका प्रवक्ता डा यादवले बताउनुभयो ।

विसं २०७५ मा सिके राउतको नेतृत्वमा जनमत पार्टी र विसं २०७८ पुस १९ गते नागरिक उन्मुक्ति पार्टी गठन भएको थियो । सो पार्टीको अध्यक्ष रञ्जिता श्रेष्ठ हुनुहुन्छ । जनमत र नाउपाले २०७९ को प्रतिनिधिसभा र प्रदेशसभामा पहिलोपटक भाग लिएका थिए । हाल संसद्मा जनमतका छ र नागरिक उन्मुक्ति पार्टीका चार सांसद रहेका छन् ।

‘गण्डकीलाई समृद्ध बनाउने मुख्य आधार पर्यटन’ : मुख्यमन्त्री पाण्डे

ढोरपाटन (बागलुङ), २० चैत : गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशलाई समृद्ध बनाउने मुख्य आधार पर्यटन भएको बताउनुभएको छ । बागलुङमा आज आयोजित धार्मिक सम्मेलन तथा ऐतिहासिक चैत्राष्टमी मेलालाई सम्बोधन गर्दै उहाँले सम्भावना बोकेका क्षेत्रको प्रचारप्रसार र प्रवर्द्धनमा प्रदेश सरकार लागेको बताउनुभयो ।

धार्मिक तथा पर्यटकीय हिसाबले गण्डकी प्रदेश अब्बल रहेको उल्लेख गर्दै हरेक वर्ष प्रदेश सरकारले करोडौँ रकम पूर्वधार निर्माण र प्रवर्द्धनमा लगानी गर्दै आएको उहाँको भनाइ छ । धार्मिक पर्यटकीय क्षेत्र घुम्न आउने पर्यटकलाई केही समय अडिने वातावरण बनाउँदा त्यसले प्रदेश र स्थानीय तहको अर्थतन्त्रमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने उहाँले बताउनुभयो ।

मुख्यमन्त्री पाण्डेले भन्नुभयो, “प्राकृतिक सुन्दरता र धार्मिक हिसाबले गण्डकी प्रदेश पवित्र छ, बर्सेनि हजारौँ विदेशी धार्मिक पर्यटक यहाँ आउँछन्, उनीहरूलाई धेरै दिन यस क्षेत्रमा टिकाउनका लागि अझै धेरै पूर्वाधार निर्माण गर्न जरूरी छ, सीमित स्रोत साधानका कारण एकै पटक धेरै काम गर्न सकिएको छैन, यद्यपि क्रमिक रूपमा गर्दै जाने छौँ ।”

मुख्यमन्त्री पाण्डेलले नेपाल, बहुभाषा, बहुधर्म, बहुसंस्कृति भएको देशमा धार्मिक सहिष्णुता विथोल्ने प्रयास भएको बताउनुभयो । पछिल्लो समय अराजकता मौलाउँदै गएको भन्दै यस्ता गतिविधिलाई नियन्त्रण गर्न जरूरी रहेको उहाँको भनाइ छ ।

ऐसेलुखर्कमा निर्माणाधीन पालिकास्तरीय अस्पताल भवन निर्माणको अन्तिम चरणमा

खोटाङ, २० चैत : ऐसेलुखर्क गाउँपालिकामा निर्माणाधीन पालिकास्तरीय अस्पताल भवनको काम अन्तिम चरणमा पुगेको छ । ग्रामीण क्षेत्रमा प्राथमिक स्वास्थ्य सेवा विस्तार गर्ने उद्देश्यसहित नेपाल सरकारको लगानीमा वडा नं ३ ऐसेलुखर्क बजारमा निर्माण सुरू गरिएको पालिकास्तरीय १५ शय्याको अस्पतालको काम अन्तिम चरणमा पुगेको हो ।

अपाङ्गमैत्री भौतिक संरचनासहित निर्माणाधीन सुविधा सम्पन्न अस्पताल भवन निर्माणको काम ९९ प्रतिशत सम्पन्न भएको ठेकेदार कम्पनी तुवाचुङ कन्ट्रक्सन प्रालिका प्रबन्ध÷निर्देशक सुनिल राईले जानकारी दिनुभयो ।

भ्याटसहित रू १९ करोड ३० लाख ४४ हजार ३०० को लागतमा निर्माणाधीन अस्पताल भवन यही महिना दिनभित्र गाउँपालिकालाई हस्तान्तरण गर्नेगरी रङरोगनको काम भइरहेको ठेकेदार कम्पनीले जनाएको छ ।

लिफ्ट सुविधासहितको अपाङ्गमैत्री अस्पताल भवन निर्माणको काम अन्तिम चरणमा पुग्दा स्थानीय बासिन्दा हर्षित भएका छन् । निर्माण सम्पन्न हुनै लागेको अस्पताल भवनको भूइँतलामा इमरजेन्सी ल्याब र ऐक्सरे सेवा, पहिलो तलामा शल्यक्रिया र ओपिडी सेवा, दोस्रो तलामा वार्ड र प्रशासन तथा अन्तिम तलामा भण्डारण र क्लिनिङ रहेको छ ।

विसं २०७९ साउन २६ गते सम्झौता गरिएको अस्पताल भवनको काम गत विसं २०८० माघ २३ गते सम्पन्न गर्नेगरी श्यामसुन्दर–गोरखा–तुवाचुङ जेभीले अस्पताल भवन निर्माणको जिम्मा लिएको छ । प्रत्येक तलामा सर्वसाधारण, सेवाग्राही र कर्मचारीका लागि महिला÷पुरूष छुट्टाछुट्टै शौचालय निर्माण हुने सम्झौतामा उल्लेख गरिएको छ ।

अपाङ्गता भएका व्यक्तिलेसमेत सहजरूपमा सेवा लिनसक्ने वातावरण बनाउन अन्तिम तलासम्म नै ह्वील चियर गुडाउन मिल्नेगरी भौतिक संरचना निर्माण गरिएको गाउँपालिका प्रमुख गीरेन्द्रबहादुर राईले जानकारी दिनुभयो ।

“निर्माणाधीन अस्पताल भवनको काम गुणस्तरीय भएको छ । तोकिएकै समयमा निर्माणको काम पनि सम्पन्न हुने देखिएको छ”, उहाँले भन्नुभयो, “ऐसेलुखर्क बजार उत्तरी क्षेत्रका स्थानीयवासीको प्रमुख बजार हो । यहाँ सुविधा सम्पन्न अस्पताल नहुँदा धेरै मानिसले दुःख पाएका छन् । अब त्यो समस्या हल हुन्छ ।”

प्राथमिक स्वास्थ्य केन्द्र ऐसेलुखर्कको भवन नजिकै निर्माणाधीन अस्पताल विसं २०७७ मङ्सिर १५ गते शिलान्यास गरिएको थियो । नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीले भर्चुअल माध्यमबाट एकैसाथ पाँच, दश र १५ शय्याका ३०९ वटा अस्पताल शिलान्यास गर्दा खोटाङमा ऐसेलुखर्कसँगै हलेसी तुवाचुङ नगरपालिका, रावाबेँसी गाउँपालिका, केपिलासगढी, साकेला र जन्तेढुङ्गा गाउँपालिकामा अस्पताल निर्माणको योजना परेको थियो ।

निर्माणाधीन पालिकास्तरीय अस्पताल भवनका लागि स्थानीय पर्शुराज भण्डारीले रू ३० लाख बराबरको सात रोपनी जग्गा निःशुल्क उपलब्ध गराउनुभएको गाउँपालिकाका प्रवक्ता एवम् वडा नं ३ ऐसेलुखर्क का वडाध्यक्ष टेकेन्द्र राजभण्डारीले जानकारी दिनुभयो ।

ऐसेलुखर्क बजारमा सुविधा सम्पन्न अस्पताल सञ्चालनमा आएपछि उत्तरी क्षेत्रका स्थानीयवासीका साथै छिमेकी जिल्ला सोलुखुम्बुका बासिन्दालाईसमेत सहज हुने गाउँपालिकाले जनाएको छ ।

उता, जिल्लाका अन्य स्थानीय तहमा निर्माणाधीन पालिकास्तरीय भवनमध्ये केहीमा निर्माण सम्पन्न भएर सञ्चालनमा आएका छन् भने केहीमा अलपत्र अवस्थामा छन् । साकेला गाउँपालिकामा निर्माण गरिएको पाँच शय्याको अस्पताल भवन यसअघि नै सम्पन्न गरेर सञ्चालनमा ल्याइसकिएको छ ।

जल्दै गरेको अवस्थामा उद्धार गरिएकी महिलाको मृत्यु

काठमाडौँ, २० चैत : काठमाडौँ महानगरपालिका–६ तेन्जिङचोकस्थित एक घरमा आगलागी हुँदा जलेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनसरी बाराहक्षेत्र नगरपालिका–२ स्थायी घर भई काठमाडौँ महानगरपालिका–६ को राजेशचन्द्र गिरीको घरमा डेरा गरी बस्ने वर्ष १८ की मुमेन तामाङ (महिला) रहेकी प्रहरीले जनाएको छ ।

आज साँझ ५ः२७ बजेको समयमा उनको कोठामा आगलागी भइरहेको अवस्थामा तामाङलाई जलिरहेको देखेपछि तत्काल उद्धार गरिएकोमा साँझ ६ः२० बजेको समयमा ओम अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक अपीलराज बोहराले जानकारी दिनुभयो ।

आगलागीको कारण नखुलेको उहाँले बताउनुभयो । आगलागी साँझ १७ः३५ बजे पूर्णरूपमा नियन्त्रणमा लिइएको र अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । प्रहरी प्रभाग कपनबाट प्रहरी निरीक्षक नेत्रबहादुर कुँवरको कमाण्डमा खटी गएको प्रहरी टोली, स्थानीयवासी र घाइतेको बुबा दधीराम तामाङसमेतको टोलीले आगो नियन्त्रणमा ल्याएको थियो ।

बिमस्टेकलाई जनकेन्द्रित र सहकार्यमुखी बनाऔँ : परराष्ट्रमन्त्री

काठमाडौँ, २० चैत : परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) जनकेन्द्रित र विकासमुखी जीवन्त संस्थाका रूपमा अघि बढ्नुपर्ने बताउनुभएको छ ।

थाइल्याण्डको राजधानी बैंककमा आज आयोजित छैठौँ बिमस्टेक समिटको पूर्वसन्ध्यामा आज इन्डिया फाउन्डेसनद्वारा आयोजित तेस्रो ‘बिमस्टेक डायलग’ लाई सम्बोधन गर्दै उहाँले बिमस्टेक जनताका आशा, अपेक्षा र समस्यामा काम गर्न सक्ने एक जीवन्त क्षेत्रीय सङ्गठनका रूपमा रहनुपर्नेमा जोड दिनुभएको हो ।

मन्त्री डा राणाले भन्नुभयो, “अहिलेका कुनै पनि क्षेत्रीय र विश्व संस्थाहरूले आफ्ना समस्याहरूको पहिचान गरी तिनको समाधानका लागि सामूहिक प्रयास गर्न सक्नुपर्छ । जनताका समस्या एकातिर अनि उद्देश्य र प्रयास अर्कातिर भयो भने त्यस्ता सङ्गठनहरू जीवन्त र जनताको भरोसा बन्न सक्दैनन् ।”

विश्वभर खासगरी दोस्रो विश्वयुद्धपछि क्षेत्रीय कूटनीति र सहकार्यको लहर आएको र स्थानीय गतिशीलता, क्षेत्रीय पहिचान र अवसरका साथै विश्वव्यापीकरणमा अघि बढ्ने क्रममा क्षेत्रीय सङ्गठनहरू जन्मिन पुगेका प्रसङ्ग उहाँले उल्लेख गर्नुभयो ।

मन्त्री डा राणाले आफूले बिमस्टेकलाई एक बलियो साझेदारी मञ्चका रूपमा रूपान्तरण गर्न सक्ने आधारहरू देखेको र यसका लगि सबैभन्दा पहिला क्षेत्रीय एकता र सामूहिक सहकार्यको भावना हुनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “जस्तो कि हामीले यस क्षेत्रमा सहकार्य गर्दैछौँ भने सबैभन्दा पहिला त हामीले यहाँका आमा तथा बालबालिकाको रूग्ण स्वास्थ्य अवस्था, आमा तथा शिशु मृत्युको अवस्था, शासनका हरेक मोडलमा महिलाको उपस्थिति र महिला नेतृत्वको अवस्था, सामाजिक पछ्यौटेपन, जलवायु परिवर्तनले हामीलाई दिनप्रतिदिन थपिरहेको चुनौती आदिजस्ता विषयमा पहिला हेरौँ र तिनको समाधानमा लागौँ ।”

मन्त्री डा राणाले बङ्गालको खाडी क्षेत्र र त्यसभन्दा बाहिर समेतको क्षेत्रीय शान्ति, एकता र वातावरणीय दिगोपना प्रवर्द्धनमा बिमस्टेकको भूमिका महत्त्वपूर्ण रहेकोमा पनि जोड दिनुभयो । उहाँले भन्नुभयो, “क्षेत्रीय शान्ति र एकताका लागि बिमस्टेकको प्रमुख भूमिकालाई नेपालले सदा स्वीकार गरेको छ । यस क्षेत्रको सामूहिक समृद्धिका लागि बिमस्टेकको सिद्धान्त र उद्देश्यप्रति नेपाल प्रतिबद्ध छ ।”

सदस्य राष्ट्रहरूबीचको सामूहिक सहकार्य र जनता–जनताबीचको सम्पर्कका माध्यमबाट संस्कृति र पर्यटनको प्रवर्द्धन, गरिबी निवारण, जलवायुजन्य जटिलताको समाधानका लागि बिमस्टेक राष्ट्रहरूबीच अर्थपूर्ण सहकार्य हुनुपर्ने पक्षमा नेपाल रहेको उहाँले स्पष्ट गर्नुभयो । मन्त्री राणाले भन्नुभयो, “बिमस्टेकलाई जीवन्त तथा जनता–केन्द्रित संस्था बनाउनका लागि विकास साझेदारहरू र संयुक्त राष्ट्रसङ्घलगायत अन्य क्षेत्रीय तथा अन्तर्राष्ट्रिय संस्थाहरूसँगको सहकार्यलाई बढावा दिनुपर्छ ।”

बिमस्टेक भित्रको क्षेत्रीयताको प्रमुख उत्प्रेरक भनेको यस क्षेत्रको अर्थतन्त्र, स्रोतसाधन, संस्कृति, समाज र जनताबीचको सम्बन्धलाई प्रगाढ बनाउनु रहेको बताउँदै मन्त्री राणाले प्रशस्त प्राकृतिक स्रोतसाधन र युवा जनसङ्ख्या भएपनि बिमस्टेक त्यस रूपमा अझै अघि बढ्न नसकेको बताउनुभयो । बिमस्टेक फ्रेमवर्कभित्र स्वतन्त्र व्यापार क्षेत्र, कनेक्टिभिटी, बिमस्टेक गुरूयोजना, बौद्ध सर्किट, मन्दिर सर्किट, इको–टुरिजम सर्किट र अन्य पहलहरूलाई समेत समेटेर विकासका क्षेत्रमा अघि बढ्नुपर्ने पनि उहाँले सुझाउनुभयो ।

त्यस्तै मन्त्री डा राणाले मानव संसाधन विकास, नवप्रवर्तन र प्रविधि हस्तान्तरणलाई प्राथमिकतामा राखेर ठूलो जनसङ्ख्याको आवादीका रूपमा रहेको यस क्षेत्रले युवा र गतिशील जनसङ्ख्याबाट लाभ लिनसक्नुपर्ने बताउनुभयो । क्षेत्रीय चुनौतीको सामना गर्न हाल विकसित एआइले ल्याएकोे नवीन प्रविधिहरूको प्रयोग र आदानप्रदानमा सहकार्य गर्नुपर्नेमा पनि उहाँको जोड थियो ।

न्यु इयर इभमा गुन्जिदै राम कृष्ण ढकाल

नयाँ वर्ष २०८२ सालको पूर्वसन्ध्यामा भक्तपुरको गठ्ठाघरमा रहेको जर्मन होम्सले ‘न्यु इयर इभ’ कार्यक्रम गर्ने भएको छ। वरिष्ठ लोकप्रिय गायक राम कृष्ण ढकाल एण्ड ब्याण्डको विशेष प्रस्तुति रहने उक्त कार्यक्रमलाई ‘न्यु इयर इभ एट जर्मन होम्स विथ राम कृष्ण ढकाल’ नाम दिइएको छ । कार्यक्रममा गायक ढकालका अलावा अन्य राष्ट्रिय कलाकारहरूको पनि प्रस्तुति रहने छ ।

चैत ३१ गते बेलुका ६ बजेबाट सुरु हुने उक्त कार्यक्रम राती १२ बजेसम्म चल्नेछ। कार्यक्रमलाई नेपाल कै चर्चित उद्घोषिका / नायिका रीमा विश्वकर्माले सञ्चालन गर्नेछिन् । ‘न्यु इयर इभ एट जर्मन होम्स’मा साङ्गीतिक कार्यक्रमको साथसाथै कमेडी, साल्सा नृत्य र डी.जे सेसन पनि रहने छ ।

न्यु जर्मन आर्किटेक्चरमा बनेको भव्य हल उद्घाटन समेत रहेको उक्त कार्यक्रममा करिब १५ सय देखी २ हजार दर्शकलाई सहभागिता गराउने लक्ष्य राखिएको छ। ‘न्यु इयर इभ एट जर्मन होम्स’ मा सहभागिता जनाउन यही चैत २२ गते बाट खल्ती एप मार्फत टिकट वुकिङ्ग गर्न सकिनेछ भने डोर सेलको पनि व्यवस्था गरिएको आयोजकले जनाएको छ । कार्यक्रममा सहभागी हुने मध्यबाट एक जनाले थाइल्यान्ड ट्रिपको पुरस्कार प्राप्त गर्न सक्नेछन् भने अन्य विशेष उपहारहरू पनि रहेका छन् ।

जर्मन होम्समा आयोजना हुने यो विशेष कार्यक्रमलाई सफल बनाउन सम्पूर्ण तयारीहरू तीव्र रूपमा अघि बढिरहेको आयोजकले जनाएको छ । २०८१ साललाई धन्यवाद भन्दै नयाँ ऊर्जाका साथ २०८२ साललाई स्वागत गर्नको लागी भव्य कार्यक्रमको आयोजना गरेको जर्मन होम्स होटेल & इभेन्ट भेन्युका सञ्चालक एवम् कार्यकारी निर्देशक राजन कार्कीले जानकारी दिनु भयो । नयाँ वर्षको पूर्वसन्ध्यामा भव्य साङ्गीतिक वातावरणको आनन्द लिन इच्छुक सम्पूर्णलाई कार्यक्रम स्थलमा उपस्थित हुन आयोजक टिमले आग्रह गरेको छ।

नयाँ होटेल रुम र १५०० जनाको क्यापासिटी रहेको बलरुम साथै इनडोर र आउटडोर सुविधा दिई रहेको जर्मन होम्स हस्पिटालिटी (होटेल एण्ड इभेन्ट भेन्यु) बिगत ४ वर्ष देखी गठ्ठाघरमा रही उच्च गुणस्तरको सेवा प्रदान गर्दै आएको एक प्रतिष्ठित गन्तव्य हो ।

चैत्र २३ गते ‘पाटन फेस्ट’मा दुर्गेशसहित को–कोले दिदैछन् प्रस्तुति ?

काठमाडौँ । चैत्र २३ गते अर्थात शनिबार नेपाल रोयल मल्टिप्रपोजको एकल आयोजनामा हुन लागेको ‘पाटन फेस्ट २०२५’मा गायक दुर्गेश थापासहित विभिन्न व्याण्डहरुले प्रस्तुति दिने भएका छन् ।

शनिबार मध्यान्न १२ बजेबाट ललितपुरको च्यासल खेल मैदानमा आयोजना हुने यो महोत्सवमा १० हजार बढी दर्शकको उपस्थिती रहने अपेक्षा आयोजकको छ । यो महोत्सवमा युवापुस्ताका चर्चित गायक दुर्गेश थापाले दर्शक झुमाउनेछन् । उनी अतिथी गायकको रुपमा यो फेस्टमा दर्शकमाझ प्रस्तुत हुन लागेका हुन् ।

साथमा, ‘जोन एण्ड द लोकल्स, पुर्ण राई दाजुभाइहरु, अल्बारोस, स्वार’ लगायतका व्याण्डका कलाकारहरुले पनि दर्शक झुमाउनेछन् । दर्शकले यो महोत्सवमा सहभागी हुनका लागि खल्ती एपबाट टिकट काट्न सक्नेछन् । कार्यक्रममा सहभागी हुनका लागि दर्शकले ९ सय, बाह्र सय, र दुई हजारसम्मका टिकट काट्न सक्नेछन् ।

कार्यक्रममा सुविधासम्पन्न खानेकुराका लागि २० वटा स्टल राख्ने तयारी आयोजकको छ । आयोजकले कार्यक्रममा प्रवेश गर्ने दर्शकले सुविधा सम्पन्न र अत्याधुनिक प्रविधिबाट तयार पारिएको साउण्ड सिस्टमबाट संगीतको मज्जा लिने विश्वास लिएको छ । यो फेस्टले पाटनको स्थानीय पर्यटनलाई समेत प्रोत्साहन गर्ने विश्वास लिइएको छ ।