`

तीनकुने घटनामा मृतकका परिवारलाई १० लाख राहत दिइने

काठमाडौँ, २० चैत : तीनकुनेको घटनामा ज्यान गुमाएका दुई जनाको परिवारलाई सरकारले जनही रु १० लाख राहत दिने भएको छ । सिंहदरबारस्थित मन्त्रालयमा आज बसेको गृहमन्त्रीस्तरीय बैठकले उक्त निर्णय गरेको हो ।

तीनकुने घटनामा ज्यान गुमाएका पत्रकार सुरेश रजक तथा सविन महर्जनको परिवारलाई जनही रु १० लाख दिने निर्णय गरिएको गृहमन्त्री रमेश लेखकको सचिवालयले जनाएको छ ।

तीनकुनेमा यही चैत १५ गते भएको हिंसात्मक प्रदर्शनका क्रममा आगजनी भएको घरमा एभिन्यूज टेलिभिजनका पत्रकार सुरेश रजक मृत फेला परेका थिए । महर्जनको भने प्रहरीको गोली लागेर मृत्यु भएको थियो ।

‘मुक्ति दिवस’ भन्सार महसुल लागु गर्ने ट्रम्पको तयारी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बुधबार व्यापक नयाँ ‘मुक्ति दिवस’ भन्सार महसुलहरू घोषणा गर्न तयार हुनुहुन्छ । यद्यपि उहाँले विश्वव्यापी व्यापार युद्ध निम्त्याउन सक्ने आक्रमणको दायरा बारे अन्तिम मिनेटसम्म विश्वलाई अन्योलमा राख्नुभएको छ ।

वाल स्ट्रिट बजारहरू बन्द भएपछि ट्रम्पले अपराह्न ४ बजे (२००० जिएमटी) मा ह्वाइट हाउसको रोज गार्डेनमा क्याबिनेट सदस्यहरूको साथमा उपायहरू घोषणा गर्नुहुनेछ । उहाँले ती उपायले अमेरिकालाई ‘ठगिनबाट’ रोक्ने र अमेरिकी उद्योगको नयाँ ‘सुनौलो युग’ ल्याउने प्रतिज्ञा गर्नुभएको छ ।

तर ट्रम्पले आफूले संयुक्त राज्य अमेरिकालाई लक्षित गरेका देशहरूमाथि प्रतिकारात्मक भन्सार महसुल लगाउने निर्णय गरेको कुरामा जोड दिए पनि ह्वाइट हाउसले घोषणामा २४ घण्टाभन्दा कम समय बाँकी रहँदा उहाँले अझै विवरणहरू मिलाउँदै गरेको स्वीकार गरेको छ ।

बुधबार बिहानै ट्रम्पले आफ्नो ट्रुथ सोशल नेटवर्कमा ठूला अक्षरमा एक पङ्क्ति लेख्नुभयो, “अमेरिकामा यो मुक्ति दिवस हो !”

रिपब्लिकन अर्बपति ट्रम्पले भन्सार महसुलसँग लामो समयदेखि प्रेम सम्बन्ध राख्दै आउनुभएको छ । आर्थिक विशेषज्ञहरूको अनुहारमा जोड दिँदै उहाँले यो मित्र र शत्रु दुवैसँगको अमेरिकाको व्यापारिक असन्तुलनहरूको समाधान गर्ने सर्वोत्तम उपाय हो भन्ने दाबी गर्दै हुनुहुन्छ ।

आलोचकहरूका अनुसार आयातकर्ताहरूले लागत हस्तान्तरण गर्दा अमेरिकी उपभोक्ताहरूले मात्र यसको भार वहन गर्ने नभई यसले स्वदेश र विदेशमा हानिकारक मन्दीको जोखिम बढाउन सक्छ ।

ट्रम्पको घोषणाअघि विश्व बजारहरू धेरै दिनदेखि अस्थिर रहेका छन् भने निशानामा पर्नसक्ने देशहरूले प्रतिकारात्मक उपायहरू तयार गरेको भए पनि वार्ताका लागि आह्वान गरेका छन् ।

– धेरै दयालु –

यस कदमले ट्रम्पको अमेरिका र उहाँका धेरै नजिकका मित्रराष्ट्रहरूबीच व्यापारमा मात्र नभई सुरक्षा, रक्षा र लगभग अन्य सबै कुरामा बढ्दो र गहिरो खाडललाई पनि उजागर गर्दछ ।

अठहत्तर वर्षीय अमेरिकी राष्ट्रपतिले हप्तौँदेखि यी उपायहरूको सङ्केत दिँदै आउनुभएको छ । सुरुमा उहाँले भन्सार महसुलहरू अन्य देशहरूले लगाएको कर बराबर हुनेछ भन्ने सुझाव दिनुभएको थियो ।

सोमबार उहाँले केवल आफू ‘धेरै दयालु’ हुने कुरा बताउनुभयो तर थोरै मात्र खुलासा गर्नुभयो ।

समयसीमा नजिकिँदै जाँदा अमेरिकी मिडियाले उहाँले २० प्रतिशत शुल्क लगाउने विचार गरिहुनभएको र त्यसपछि केही मुलुकले प्राथमिकता पाउने गरी तेस्रो विकल्प हेरिरहनुभएको बताएको थियो ।

ह्वाइट हाउसका प्रेस सचिव क्यारोलिन लेभिटले ‘यो एक उत्तम सम्झौता हो भनेर सुनिश्चित गर्न यसलाई सिद्ध गर्दै’ ट्रम्पले घोषणाको पूर्वसन्ध्यामा आफ्ना शीर्ष सल्लाहकारहरूसँग बैठक गरिरहेको बताउनुभयो ।

अन्य देशहरूसँग वार्ताका लागि कुनै पनि ढिलाइलाई प्रभावकारी रूपमा अस्वीकार गर्दै लेभिटले बुधबारको घोषणापछि भन्सा महसुलहरू ‘तुरुन्तै’ लागू हुने बताउनुभयो ।

जनवरीमा कार्यालयमा फर्केपछि ट्रम्पले क्यानाडा र मेक्सिको जस्ता मित्रराष्ट्रहरूसँग अन्तिम क्षणमा पछि हट्दै अन्य भन्सार महसुल घोषणाहरूमा अनिश्चय देखाउनुभएको छ ।

तथापि उहाँका योजनाहरूले विश्वभर क्षतिकारक व्यापार युद्धको बढ्दो डर फैलाएकाले यसले मूल्य वृद्धि गराउन र व्यापक अव्यवस्था निम्त्याउन सक्छ ।

युरोपेली केन्द्रीय बैंक (इसिबी) की अध्यक्ष क्रिस्टिन लागार्डले बुधबार आइरिस रेडियो स्टेशन न्युजटकसँगको अन्तर्वार्तामा प्रभावहरूले ‘हामीले जान्ने व्यापार संसारलाई अस्थिर बनाउनेछ’ भनी चेतावनी दिनुभयो ।

– पटक्कै परवाह छैन –

युरोपेली सङ्घ (इयु) र क्यानाडा लगायतका प्रमुख अर्थतन्त्रहरूले प्रतिशोध लिने प्रतिज्ञा गरेका छन् ।

“क्यानाडाका लागि लड्नका लागि हामीले लिएका उपायहरूका सन्दर्भमा हामी धेरै सावधानी अपनाउनेछौँ”, क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीले मङ्गलबार भन्नुभयो ।

इयुले मङ्गलबार वार्ताद्वारा समाधान निकाल्ने आशा राखेको तर प्रतिशोध लिन ‘सबै उपकरणहरू टेबलमा छन्’ भनेको छ । इयुलाई ट्रम्पले संयुक्त राज्य अमेरिकालाई ‘ठग्ने’ प्रयास गरेको आरोप लगाउनुभएको छ ।

बेलायती प्रधानमन्त्री किर स्टार्मरले ट्रम्पसँग बेलायत–अमेरिका व्यापार सम्झौतातर्फ ‘उत्पादक वार्ताहरू’ बारे कुरा गर्नुभयो । भियतनामले मङ्गलबार ट्रम्पलाई खुसी पार्न विभिन्न वस्तुमा भन्सार महसुल घटाउने बताएको छ ।

यसैबीच अन्य प्रमुख निर्यातकर्ताहरू वासिङ्टनको प्रतिरोध गर्न गठबन्धन निर्माण गर्न प्रयासरत छन् । चीन, जापान र दक्षिण कोरियाले मुक्त व्यापार सम्झौतामा वार्तालाई गति दिएका छन् ।

मेक्सिकोले आफ्नो सबैभन्दा ठूलो व्यापारिक साझेदारसँगको तनावलाई उद्धृत गर्दै मङ्गलबार सन् २०२५ को वृद्धिको पूर्वानुमानलाई घटाएको छ ।

ट्रम्पले के ल्याउँदैहुनुहुन्छ भन्ने अनुमानले व्यापारिक बजारहरूमा अनिश्चितता बढाइरहेको छ ।

पच्चिस प्रतिशतको अटो भन्सार महसुल पनि अप्रिल ३ देखि लागु हुने भएको छ । विश्वभरबाट आउने स्टिल र एल्युमिनियममा २५ प्रतिशत कर मार्चको मध्यदेखि लागु भएको थियो ।

चीनमाथि मार्चमा सबै सामानमा थप २० प्रतिशत भन्सार महसुल थोपरिएको थियो । यसले बेइजिङबाट प्रतिकारात्मक भन्सार महसुल निम्त्यायो । इयुले अप्रिल मध्यदेखि सुरु हुने आफ्नै उपायहरू घोषणा गरेको छ ।

राप्रपा नेता बोहराको अन्त्येष्टि

काठमाडौँ, २० चैत : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संस्थापक नेता तथा प्रतिनिधिसभाका सांसद दीपक बोहराको आज अन्त्येष्टि गरिएको छ । उहाँको उपचारको क्रममा मङ्गलबार ७६ वर्षको उमेरमा निधन भएको थियो ।

सांसद बोहराको आज पशुपति आर्यघाटमा हिन्दू परम्परा अनुसार अन्त्येष्टि गरिएको हो । उहाँको पार्थिव शरीरमा छोराहरु गौरव बोहरा र प्रज्ज्वल बोहराले दागबत्ती दिनुभएको थियो । सभामुख देवराज घिमिरे, उप्रप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंह, उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे तथा राप्रपाका नेता कार्यकर्ताले पशुपति आर्यघाटमा पुगेर नेता बोहराप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो ।

त्यसैगरी राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले नेता बोहराको पार्थिव शरीरमा पार्टीको झण्डा ओडाएर श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो । त्यसअघि राप्रपाले आयोजना गरेको श्रद्धाञ्जली कार्यक्रममा उपसभामुख इन्दिरा राना, नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसाल, नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसी, नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डे, नेकपा (एमाले) सचिव योगेश भट्टराई र राप्रपाका नेता तथा कार्यक्रताले बोहराप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो ।

प्रीय शिक्षकहरू धन्यवाद, हामीले जरिवाना खोजेको होइनौँ, चेतना खोजेको हो : मेयर साह

काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आन्दोलनरत शिक्षकहरूलाई धन्यबाद दिएका छन् । उनले आज सामाजिक सजालमार्फत सार्वजनिक सम्पतिलाई हानीनोक्सानी नपुर्याई सरसफाइमा ध्यान दिदै शान्तिपूर्ण आन्दोलन गरेकोमा शिक्षकहरूलाई धन्यबाद दिएका हुन् ।

उनले महानगरले जरिवाना खोजेको नभई चेतना खोजेको समेत उल्लेख गरेका छन् ।

उनले भने – प्रीय शिक्षकहरू,तपाईहरूले आफ्नो आन्दोलन फोहोर नगरि, केहि नभत्काइ गरि दिनुभयो, धन्यवाद । हामीले जरिवाना खोजेको होइनौँ, चेतना खोजेको हो । सार्वजनिक सम्पति पनि आफ्नै सम्पति हो भनेर त्यसलाई जोगाउने चेतनशील समाजको निर्माण गर्न खोजेको हो । यहि शिक्षा तपाईले आफ्नो विद्यार्थीहरूलाई पनि दिनुहोला ।

हामी सबै मिलेर चेतनशील समाजको निर्माण गरौँ । तपाईहरू त झन् शिक्षक हुनुहुन्छ, तपाईहरूको त झन् ठुलो जिम्मेवारी र भुमिका छ यसमा ।कृपया, आफ्नो कुरा राख्नलाई चेतनशील भएर विद्यार्थीहरूको पढाइ नबिगारी कार्यक्रम गरिदिनुहोला । गाउँ गाउँमा सिहदरबार भन्ने त नारा मात्र भयो । आशा छ एकदिन आफ्नो अधिकारको लागि काठमाडौ धाइरहनु नपरोस् ।

थाइल्याण्डका राजा बजिरालोङकर्नसँग प्रधानमन्त्री ओलीको भेटवार्ता

बैंकक, २० चैत : थाइल्यान्डका महा बजिरालोङकर्नसँग प्रधानमन्त्री केपी शर्मा ओलीले आज भेटवार्ता गर्नुभएको छ ।

थाइल्याण्डको औपचारिक भ्रमण र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) कोे छैटौँ शिखर सम्मेलनमा भाग लिने क्रममा बैंकक रहनुभएका प्रधानमन्त्री ओलीले राजा बजिरालोङकर्नसँग बैंककस्थित एम्फोर्न राजदरबारमा शिष्टाचार भेटवार्ता गर्नुभएको हो । राजदम्पत्तीले प्रधानमन्त्री ओली र प्रथम महिला राधिका शाक्यलाई राजदरबारमा स्वागत गर्नुभएको थियो ।

यसअघि प्रधानमन्त्री ओलीसँग समकक्षी पे थोङ् थान् शिनावात्राको सरकारी भवनमा दुईपक्षीय भेटवार्ता भई दुई देशका बीचमा आठ सहमतिपत्रमा हस्ताक्षर सम्पन्न भएको थियो । थाइल्यान्डका प्रधानमन्त्री शिनावात्राको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री ओली यही चैत १९ गते बैंकक आउनुभएको हो ।

प्रधानमन्त्री ओलीको भ्रमण दलमा प्रथम महिला राधिका शाक्य, परराष्ट्रमन्त्री डा आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, आर्थिक/विकास सल्लाहकार डा युवराज खतिवडा, नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्याल, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईलगायत हुनुहुन्छ ।

तराई मधेस जागरण अभियान पुनः सुरू भयो : अध्यक्ष दाहाल

राँझा (बाँके), २० चैत : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीले केही समय स्थगित गरेको जनतासँग माओवादी, तराई मधेस जागरण अभियान पुनः सुरू गरिएको बताउनुभएको छ ।

बाँकेको कोहलपुरमा आज अनेमसङ्घ क्रान्तिकारी लुम्बिनीको दोस्रो प्रदेश सम्मेलन उद्घाटन गर्दै उहाँले अभियान नवलपरासीबाट सुरू गर्नुपर्ने भए पनि महिलाको प्रदेश सम्मेलनसँगै लुम्बिनीबाट अभियान सुरू गरिएको जानकारी दिनुभयो ।

अध्यक्ष दाहालले जनयुद्धका क्रममा केन्द्रीय आधार इलाकाको भूमिका निर्वाह गरेको लुम्बिनीले सबैभन्दा धेरै बलिदान गरेको र त्यसमा महिला क्रान्तिकारीहरूले त्याग बलिदानका कयौँ कृतिमान कायम गरेको बताउनुभयो ।

अध्यक्ष ‘प्रचण्ड’ ले नेपाली महिलाले गरेको बलिदानीपूर्ण आन्दोलन नेपालमा मात्र नभई विश्व राजनीतिमै प्रेरणाको स्रोत बनेको बताउनुभयो । “हिजो जनयुद्धको बेलामा महिला सहभागिता बढाउन सकिएन भने क्रान्ति सफल हुँदैन भन्ने मान्यताका साथ महिला सहभागिता बढाइएको र नेतृत्वदायी भूमिकामा अघि बढाइएको थियो”, उहाँले न्नुभयो, “नेपाली महिलाले गरेको बलिदानीपूर्ण आन्दोलन नेपालमा मात्र होइन, संसारभरिका महिलाका लागि प्रेरणा र ऊर्जाको स्रोत बनेको छ ।”

अध्यक्ष दाहालले हिजो क्रान्तिको नेतृत्व र रक्षा गर्ने महिलाले अब फेरि समाजवादी क्रान्तिको नेतृत्व गर्ने बेला आएको बताउनुभयो । उहाँले जनयुद्धको रापतापबाट महिला, जनजाति, किसान, मजदुर, दलित, मधेसी, मुस्लिमलगायत उत्पीडित वर्गको मुक्तिका लागि ऐतिहासिक सफलता प्राप्त गरे पछिल्ला आठ/दश वर्षमा पार्टीले आफ्नोक वर्ग र समुदायसँगको सम्बन्ध कायम राख्न केही कमजोरी गरेको बताउनुभयो ।

बढ्दो क्षयरोगको सामना गर्न नयाँ कार्ययोजना तयार पार्दै बेलायत

बेलायतले बुधबार स्वास्थ्य विशेषज्ञ र क्षयरोग (टिबी) बाट पीडित व्यक्तिहरूलाई यस रोगको रेकर्ड वृद्धिको सामना गर्दै नयाँ पञ्चवर्षीय कार्ययोजना तयार गर्न सहयोग गर्न आग्रह गरेको छ ।

सन् २००० मा बढ्दो निगरानी सुरु भएदेखि सन् २०२३ मा इङ्गल्यान्डले क्षयरोगका मामिलाहरूमा सबैभन्दा ठूलो वार्षिक वृद्धि (११ प्रतिशत) रेकर्ड गरेको थियो ।

सन् २०२४ का लागि अनुमानित आँकडाले यस्तै विश्वव्यापी प्रवृत्तिलाई प्रतिबिम्बित गर्दै थप १३ प्रतिशत वार्षिक वृद्धि भई पाँच हजार चार सय ८० मामिला भएको सङ्केत गर्दछ ।

बेलायतमा क्षयरोगको रोकथाम, पहिचान र नियन्त्रणमा सुधार गर्ने उद्देश्यले सरकार आफ्नो नयाँ राष्ट्रिय कार्ययोजना (२०२६–२०३१) तयार गर्ने प्रारम्भिक चरणमा छ ।

यसले शैक्षिक, स्वास्थ्य र सामाजिक हेरचाह व्यवसायीहरू, जनस्वास्थ्य विज्ञहरू, डाटा वैज्ञानिकहरू र क्षयरोगको जीवित अनुभव भएका व्यक्तिहरूलाई उनीहरूको अन्तरदृष्टि साझा गर्न आह्वान गरेको छ ।

“क्षयरोग निको र रोकथाम योग्य छ, तर इङ्गल्यान्डमा यो रोग गम्भीर जनस्वास्थ्यको समस्या बनेको छ”, स्वास्थ्य सुरक्षा एजेन्सी (युकेएचएसए) का क्षयरोग एकाइ प्रमुख एस्थर रोबिन्सनले भन्नुभयो, “इङ्गल्यान्डलाई अझै पनि क्षयरोगका लागि कम–घटना देश मानिए पनि, हालका वर्षहरूमा मामिलामा भएको वृद्धिले ‘हामी अहिले’ विश्व स्वास्थ्य सङ्गठनले परिभाषित गरेको कम–घटना सीमा प्रति एक लाख जनसङ्ख्यामा १० मामिलाभन्दा केही कम मात्र छौँ ।”

बेलायतमा यस रोगको सबैभन्दा बढी घटना ८१ दशमलव पाँच प्रतिशत मुलुकबाहिर जन्मेका मानिसहरूमा रहेको सरकारले बताएको छ ।बेलायतमा गरिएको अनुसन्धानले क्षयरोग र गरिबीबीच स्पष्ट सम्बन्ध देखाएको छ । यसमा घरबारविहीनहरू, लागुऔषध र रक्सीको लतमा परेका व्यक्तिहरू र आपराधिक न्याय प्रणालीसँग सम्पर्क गरेका व्यक्तिहरू समावेश छन् ।

“प्रमाणका लागि यो आह्वानले हामीलाई एउटा कार्ययोजना विकास गर्न मद्दत गर्नेछ जसले विशेष गरी सबैभन्दा बढी प्रभावितहरूको आवश्यकतामा ध्यान केन्द्रित गर्दै यस प्रवृत्तिलाई उल्ट्याउन सबैभन्दा प्रभावकारी हस्तक्षेपहरूलाई प्राथमिकता दिन्छ”, रोबिन्सनले भन्नुभयो ।

ट्रम्पको भन्सार महसुलको जवाफ इयुले अप्रिल अन्त्यसम्ममा दिनेछ : फ्रान्सेली सरकार

युरोपेली सङ्घ (इयु) ले संयुक्त राज्य अमेरिकाद्वारा बुधबार घोषणा गरिने नयाँ भन्सार महसुलको जवाफ ‘अप्रिल महिनाको अन्त्यभित्र’ दिने फ्रान्सेली सरकारका प्रवक्ताले मन्त्रिपरिषद्को बैठकपछि बताउनुभएको छ ।

“त्यहाँ दुईवटा जवाफहरू हुनेछन् । पहिलो, अप्रिलको मध्यमा हुनेछ, त्यो स्टिल र एल्युमिनियममा पहिले नै निर्णय गरिएको भन्सार महसुलको प्रतिक्रिया हो”, सरकारी प्रवक्ता सोफी प्रिमासले भन्नुभयो, “त्यसपछि क्षेत्र–क्षेत्र अनुसार विस्तृत अध्ययन हुनेछ र अप्रिलको अन्त्यअघि समन्वित, एकताबद्ध र बलियो तरिकाले युरोपेली निर्णय घोषणा गरिनेछ ।”

फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले बुधबार अपराह्न युरोपेली आयोगका प्रमुख उर्सुला भन डेर लेयनसँग कुरा गर्नुहुने प्रिमासले बताउनुभयो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार अपराह्न ४ः०० बजे (२००० जिएमटी) मा व्यापक ‘मुक्ति दिवस’ भन्सार महसुलहरू घोषणा गर्नुहुने अपेक्षा गरिएको छ ।

युरोपेली सङ्घ (इयु) को व्यापार नीतिका प्रभारी युरोपेली आयोगले फ्रान्सेली सरकारको टिप्पणीलाई पुष्टि गरेन ।

“जब व्यापार नीतिको कुरा आउँछ फ्रान्स युरोपेली सङ्घको तर्फबाट बोल्दैन । हामी बोल्छौँ”, आयोगका व्यापार प्रवक्ता ओलोफ गिलले ब्रसेल्समा पत्रकारहरूलाई भन्नुभयो ।

भन डेर लेयन युरोपेली सङ्घका नेताहरूसँग सम्पर्कमा रहेको उहाँको प्रवक्ताले पुष्टि गर्नुभएको छ । “स्पष्ट रूपमा यस महत्त्वपूर्ण विषयमा हामीले विभिन्न नेताहरूको इनपुटसहित वास्तवमै एक समन्वित प्रतिक्रिया पाउन सकौँ भनेर अध्यक्ष युरोपेली सङ्घभर नेताहरूसँग सम्पर्कमा रहनुभएको छ”, प्रवक्ता पाउला पिन्होले एक पत्रकार सम्मेलनमा भन्नुभयो ।

देउडी भञ्जाङबाट लडेर एकको मृत्यु

बागमती, २० चैत : मकवानपुरको बागमती गाउँपालिका–८ स्थित भुवनचुलि देउडी भञ्जाङबाट लडेर आज एक युवकको मृत्यु भएको छ ।

देउडी भज्याङबाट करिब ५० मिटर मदनभण्डारी लोकमार्गको दायाँ साइडको नालामा लडेर हेटौँडा उपमहानगरपालिका–१६ चिसापानी निवासी ३८ वर्षीय मिलन दङ्गालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो ।

मृतकको शव परीक्षणका लागि हेटौँडा अस्पतालमा राखिएको र घटना शङ्कास्पद देखिएकाले सोधपुछ तथा अनुसन्धानको लागि सात जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाइएको प्रहरी नायब उपरीक्षक अर्यालले बताउनुभयो ।

कोशी प्रदेश प्रिमियर लिगमा ७ लाख नाफा

धरान (सुनसरी), २० चैत : कोशी प्रदेश प्रिमियर लिगको आयव्यय सार्वजनिक गरिएको छ । धरानको एन्फा एकेडेमीमा आज आयोजित पत्रकार सम्मेलनमा प्रदेश फुटबल सङ्घका कोषाध्यक्ष आनन्द चौधरीले लिगको आयव्यय सार्वजनिक गर्नुभएको हो ।

सार्वजनिक गरिएको आयव्यय अनुसार कोशी प्रदेश प्रिमियर लिगबाट रु ६ लाख ९० हजार नाफा भएको छ । कोषाध्यक्ष चौधरीका अनुसार लिग सञ्चालन गर्दा रु ३६ लाख ६७ हजार सहयोग जुटेको थियो भने रु २९ लाख आठ हजार खर्च भएको थियो । लिग सञ्चालन गर्न कोशी प्रदेश सरकारको रु २० लाख तथा अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को रु १५ लाख खर्च भएको थियो ।

यसैगरी गोर्खा ब्रुअरीबाट रु ५० हजार, रेडबुलबाट रु ५० हजार, धरानका पूर्व खेलाडीहरुबाट रु ३७ हजार तथा अन्य दाताबाट रु ३० हजार जुटेको थियो । नगद पुरस्कारमा रु सात लाख ६५ हजार, पहाडी जिल्लाका क्लबलाई तयारी खर्चवापत रु चार लाख २० हजार, तराईका जिल्लालाई विशेष तयारीवापत रु दुई लाख तथा रेफ्रिलगायतमा रु तीन लाख ५० हजार खर्च भएको कोशी प्रदेश फुटबल सङ्घका अध्यक्ष किशोर राईले बताउनुभयो ।

कोशी प्रदेश प्रिमियर लिग गत माघ २८ गतेदेखि फागुन ८ गतेसम्म धरान उपमहानगरपालिका–१६ स्थित रङ्गशालामा सञ्चालन भएको थियो । लिगमा कोशी प्रदेशका ११ क्लबको सहभागिता रहेको थियो ।

प्राधिकरणका अध्यक्ष ओझा विरूद्धको रिटमा कारण देखाउ आदेश

काठमाडौँ, २० चैत : सर्वोच्च अदालतले नेपाल बिमा प्राधिकरणका अध्यक्ष शरद ओझाविरूद्ध दायर रिट निवेदनमा कारण देखाउ आदेश गरेको छ ।

न्यायाधीश डा नहकुल सुवेदीको एकल इजलासले आज प्राधिकरणका अध्यक्ष ओझो योग्यतामाथि प्रश्न उठाइएको उक्त विवादमा लिखित जवाफ माग गर्दै कारण देखाउ आदेश गरेको हो ।

अधिवक्ता इन्दिरा धमलाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय, नेपाल बिमा प्राधिकरण सञ्चालक समितिको अध्यक्ष पदमा नियुक्तिका लागि गठित सिफारिस समिति र प्राधिकरणका अध्यक्ष ओझालाई विपक्षी बनाइ चैत १७ गते दायर गरेको रिट निवेदनमा उहाँको नियुक्ति बदर गर्न माग गरिएको छ ।

मन्त्रिपरिषद्को गत फागुन १२ गतेको बैठकले ओझालाई प्राधिकरण अध्यक्षमा नियुक्त गरेको थियो ।

सहकारी अभियान र सरकार सँगैसँगै हातेमालो गरेर अगाडि बढिरहेको छ : उपप्रधानमन्त्री सिंह

काठमाडौँ, २० चैत : प्रधानमन्त्रीको समेत जिम्मेवारी सम्हाल्नुभएका उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले सहकारी अभियान र सरकार सँगैसँगै हातेमालो गरेर अगाडि बढिरहेको बताउनुभएको छ ।

काठमाडौँमा आज आयोजित ६८औँ राष्ट्रिय सहकारी दिवस तथा अन्तरराष्ट्रिय सहकारी वर्ष–२०२५ को मूल समारोहलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री सिंहले सहकारी मर्यादित हुन सके मात्रै त्यसले समुन्नत समाज निमार्णको आधार तयार गर्न सक्ने बताउनुभयो ।

“सहकारीका सदस्यहरु साझा बन्धनमा बलियो गरी बाँधिएका हुन्छन् अर्थात् सहकारीमा साझा बन्धन अनिवार्य हुन्छ । नेपालको सहकारी अभियानमा ७३ लाखभन्दा बढी सदस्य आबद्ध छन्”, उहाँले भन्नुभयो, “सहकारीमा महिलाको ५६ प्रतिशत सहभागिता रहेको छ, यसले महिला सशक्तिकरण र नेतृत्व विकासमा आफ्नो योगदानलाई थप सार्थक तुल्याएको छ ।”

 उपप्रधानमन्त्री सिंहले सहकारी आफैमा आर्थिक र सामाजिक जागरणको अभियान भएको बताउनुभयो । हाम्रो संविधानले सहकारी क्षेत्रलाई गरिबी न्यूनीकरण, आत्मनिर्भर, दिगो एवं समाजवाद उन्मुख राष्ट्रिय अर्थतन्त्रको एक महत्वपूर्ण आधार स्तम्भको रुपमा स्वीकार गरेको बताउनुभयो । 

“सार्वजनिक, निजी र सहकारी क्षेत्रको सहभागिता तथा स्वतन्त्र विकासमार्फत राष्ट्रिय अर्थतन्त्र सुदृढ गर्ने नीति र सहकारी क्षेत्रलाई प्रवद्र्धन गर्दै राष्ट्रिय विकासमा अत्याधिक परिचालन गर्ने नीति संविधानमा नै उल्लेख गरेका छौँ,” उहाँले भन्नुभयो । नेपालमा रहेका ३१ हजारभन्दा बढी सहकारी संस्थामध्ये विगत केही समयदेखि केही सहकारी संस्थामा जनताको बचत रकम फिर्ताको समस्या देखिएको उल्लेख गर्दै उपप्रधानमन्त्री सिंहले सहकारीमा सदस्यहरु नै केन्द्रीय तत्व हुने तथा उनीहरु पीडित बन्नुपर्ने अवस्था आउन नहुनेमा जोड दिनुभयो ।

“केही सहकारीमा मात्र देखिएको समस्या हो भनेर हामी चुप बस्न सक्दैनौँ । हाम्रा प्रयासलाई अझ धेरै प्रभावकारी बनाउन सरकार प्रतिबद्ध छ,” उपप्रधानमन्त्री सिंहले भन्नुभयो, “हालसालै सहकारी ऐनमा समसामयिक संशोधन गरी राष्ट्रिय सहकारी नियमन प्राधिकरणको स्थापनाका साथै अन्य व्यवस्था गरी सरकार सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न र सहकारी क्षेत्रमा सुशासन कायम गर्न कटिबद्ध छ ।”

नागरिकको सबै बचत सहज रुपमा फिर्ता गराउन सहकारी अभियानले पनि थप दायित्वबोध गर्नुपर्ने र सरकार नेपालको सहकारी अभियानसँग हातेमालो गर्दै आएको उपप्रधानमन्त्री सिंहको भनाइ थियो ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्दै सहकारी व्यवस्थित भएको सन्देश प्रभाव गर्नुपर्ने बताउनुभयो । “तीन खम्बे अर्थनीतिमध्ये सहकारी पनि एक हो, तसर्थ यसलाई व्यवस्थित रुपमा सञ्चालन गर्नुपर्छ,” उहाँले भन्नुभयो, “सरकारले पनि सहजीकरण गर्दै आइरहेको छ । यसकारण समस्या समाधान गर्न प्राधिकरण ल्याएका छाँै ।”

मन्त्रालयका सचिव अर्जुनप्रसाद पोखरेलले सहकारी क्षेत्रमा युवा वर्गको सहभागिता अझै बढाउनुपर्ने, आर्थिक, समाजिक र सांस्कृतिक विकासका लागि सहकारीलाई मर्यादित बनाउनुपर्ने, सहकारीलाई भरपर्दो बनाउने प्रयास गर्नुपर्नेमा जोड दिनुभयो ।

सहकारी क्षेत्रको छाता सङ्गठन राष्ट्रिय सहकारी महासङ्घका अध्यक्ष ओमदेवी मल्लले सहकारीमा देखिएका चुनौती समाधान गर्ने हो भने मात्रै ‘मर्यादित सहकारीः समुन्नत समाज’को नारा कार्यन्वयनमा आउने बताउनुभयो । सहकारीलाई कसैले पनि निजी कम्पनी जस्तो बनाउन नहुनेमा उहाँले जोड दिनुभयो ।

पूर्वराजाले अस्तिरता मच्चाए : महासचिव पोखरेल

इटहरी (सुनसरी), २० चैत : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले पूर्वराजा ज्ञानेन्द्र शाहले देशमा अस्थिरता निम्त्याएको आरोप लगाउनुभएको छ । एमाले सुनसरी जिल्ला कमिटीले आज इटहरीमा आयोजना गरेको जागरणसभालाई सम्बोधन गर्दै उहाँले जनतामा भ्रम छर्दै देशमा अराजकता मच्चाउन पूर्वराजा सक्रिय भएको आरोप लगाउनुभएको हो ।

गणतन्त्रको स्थिरताका लागि पूर्वराजाविरुद्ध पुनः एकपटक प्रतिकार गर्न आवश्यक रहेको उल्लेख गर्दै महासचिव पोखरेलले भन्नुभयो, “गणतन्त्र सजिलै ढल्दैन, शाही परिवारकै तानासाका कारण जनताले ल्याएको गणतन्त्रको विकल्प पुनःशाहीतन्त्र हुन सक्दैन ।” उहाँले गणतन्त्रको पक्षमा जनताको विचार र सोचलाई उठाउन जरूरी रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “यो मुलुकमा परिवर्तन सर्वसाधारणको त्याग र बलिदानले आएको हो, कुनै व्यक्तिको कृपाले होइन ।”

महासचिव पोखरेलले चैत १५ गते घटेको घटनाको जिम्मेवारी पूर्वराजा ज्ञानेन्द्र शाहले लिनुपर्ने र उहाँ नै मुख्य जिम्मेवार भएको तर्क गर्नुभयो । उहाँले भन्नुभयो, “पूर्वराजा अस्तिरताको कारण हुन्, उहाँले सरकार र ज्ञानेन्द्र शाहको बीचमा भएको सम्झौता विपरीत गतिविधि गरेका छन् ।”

काठमाडौँ विश्वविद्यालय र सियाम विश्वविद्यालयबीच सम्झौता

बैंकक, २० चैत : काठमाडौँ विश्वविद्यालय र थाइल्याण्डको सियाम विश्वविद्यालयबीच नेपालमा हिमनदी विज्ञान (ग्ल्यासियोलोजी) लगायत विषयमा उच्चशिक्षा अध्ययनका लागि थाइल्याण्डका विद्यार्थीहरू वृद्धि गर्ने विषयको सहमतिपत्रमा हस्ताक्षर भएको छ ।

थाइल्याण्डको पहिलो औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र समकक्षी पे थोङ् थान् शिनावात्राबीचको दुईपक्षीय भेटवार्तापछि उहाँहरूको उपस्थितिमा भएको सहमतिपत्रमा हस्ताक्षर समारोहमा उक्त सहमतिपत्र आदानप्रदान गरिएको छ ।

काठमाडौँ विश्वविद्यालयका उपकुलपति प्रा डा अच्युत वाग्ले र सियाम विश्वविद्यालयका अध्यक्ष प्रोच्याइ मोङ्कोन्भनितबीच हस्ताक्षर भएको हो । उपकुलपति डा वाग्लेका अनुसार सहमतिपछि नेपालमा थाइल्याण्डबाट हिमनदी विज्ञान (ग्ल्यासियोलोजी), परम्परागत वास्तुकला (टे«डिसनल आर्किटेक्ट) र वातावरणीय विज्ञान (इन्भाइरोनमेन्ट साइन्स) विषयमा थाइल्याण्डबाट विद्यार्थी आउने सहज वातावरण बनेको छ ।

ठूला चार दललाई भुईँ मान्छेको चार बिन्ती !

सम्माननीय प्रधानमन्त्री ज्यू,
शेरबहादुर ज्यू,
प्रचण्ड ज्यू,
रवि लामिछाने ज्यू,
सम्पूर्णमा नमस्कार !

म यही माटोमा जन्मे, हुर्केँ र पसिना वगाई सुन्दर सपना बोकेको आम भुईँ मान्छेको एक प्रतिनिधी पात्र । यहाँहरुका आदर्श व्यक्तीत्व र यहाँहरुले पहिला आमुल क्रान्ती गर्दा जस्ता साहसीक कार्यहरु गर्नुभयो सुनेका, पढेका र आफैंले भोगेको भन्नु पर्दा “जनताको अवस्था बदल्नका लागि नै भनेर धेरै व्यवस्था फेर्नु भयो ।” कोही कयौं वर्ष जेल जानुभयो, कोही जनयुद्ध लड्नु भयो र कोही भड्किएका जनाताको छोटो समयमानैँ मन जित्ने क्रान्ति गर्नु भयो । भलै कालखण्ड अनुसारका क्रान्तिहरु भित्रका अँध्यारा पक्षहरुको मूल्यांकन इतिहाँसले छुट्टै गर्नेछ तर सारमा जहाँनिया र वंशवादको निरंकुशतालाई ढालेर जनताकै छोरा छोरीले सक्षम नेतृत्व छान्न पाउने सुन्दर लोकतन्त्रको जग बसाल्नु भयो । दुर्भाग्य, यहि सुन्दर मुहारमा कालो बादल मडारिन थालेको छ र यसको कारण अरुकोही नभएर तपाईँहरु नै हो । जस–अपजसहरुको भागीदारमा भर्खर आएको पार्टीको हिसाबले रा.स्व.पा.लाई चाँहिनै भनीहाल्ने ठाँऊ छैन भलै उपनिर्वाचनको परिणामले उहाँहरु आफैँलाई प्रश्न गर्ने बेला आएको स्वीकार गरी सक्नु भएको छ र बाँकी तिन दलले त भन्ने कुनै ठाँऊ नै छैन ।

अब एक पटक वर्तमानमा रहेर तपाईहरुको विगत हेर्नुहोस् त ! तपाईँहरुले एक–अर्कालाई कुन हद सम्मको शत्रु ठान्नु भएको थियो ? अनी व्यवहार पनि ? टाउकाको मोल तोक्ने, सफाया गर्ने, सिध्याउने मात्र नभई नो नट अगेन भनेर जनतामा अपिल सम्म गर्नुभयो । पानी बाराबार सम्म भए । गणतन्त्रको दुई दशक नपुग्दै तपाईँहरुका बोली र व्यवहार छेपारोले रङ्ग बदल्नु भन्दा कुनै कमी भएन । आफ्नै चुनावी घोषणा पत्रले गिज्याई रह्यो । राष्ट्रको आवश्यकता भन्दा तपाईँहरुको व्यक्तिगत स्वार्थ र दलगत फाइदाको तराजुमा आम जनताहरुलाई जोख्दैमा दशक बित्यो ।

माओवादी जनयुद्धको साथ र २०६२–०६३ को जन आन्दोलनले गणतन्त्र ल्यायो तर जनताको प्रत्यक्ष अभिमत बिना नै देशमा संघियता र धर्म निरपेक्षता थोपरियो । शासकिय, आर्थिक र सामाजिक रुपमा समस्या यहीँबाट सुरु भयो अनी मलजल तपाईँहरुको व्यबहार र विकृतीले । जनमतको कदर त भएन नै एक पक्ष हावी हुँदा अर्को पक्षलाई निषेधको राजनीतिले समय खेर फाल्नुभयो । तपाईँहरुले युग परिवर्तनको नेतृत्व गर्नुभयो भलै योगदान धेरै या थोरै होला । धेरै अधिकारहरु स्थापित भए तर आम भुँई मान्छेको आर्थिक अवस्था बदल्न सक्नु भएन । उनीहरुका समस्याहरु जिउँका तिउँ भए बरु चाङ्ग लाग्दै गए परिणामतः जनतामा व्यवस्था परिवर्तनबाट अवस्था नफेरिएपछि निराशा यसरी बढ्यो की तपाईँहरु हरेकले परिवर्तनका लागि उद्घोष गर्दाको क्षण जस्तै ।

जनतामा चरम गरिवी र बेरोजगारले युवाहरु खाडीको मरुभुमीमा श्रम बेचीरहेका छन् । अनी रोजी रोटीका लागि रुस र युक्रेनको युद्धमा समेत होमीन बाध्य छन् भने शिक्षित र सिप भएकाहरु सधैका लागि विदेशीन थाली सके तर राजनैतीक नेतृत्व भने ठूला–ठूला भ्रष्टचारका काण्डमा पर्दै गए र दलगत अनुसार जोगाउँदै सिमित माफीया र विदेशी गिरोहको गोटी हुन पुगे । सर्वहारा वर्गको अवस्था फेर्ने रटान लाउँदा–लाउँदा आँफू धनी र मालिक भएको पत्तो नै पाउनु भएन । बैदेशीक ऋणले हामी थलिएका छौं । आज देश अतिनै संवेदनशिल घडीमा छ । आम जनतामा तपाईँहरुको नेतृत्व प्रति नै चरम वितृष्णा जागेको छ भने केहीमा व्यवस्था प्रतिनै । तपाईँहरु एकले उठाएका मागलाई अर्कोले वास्ता नगर्दा आज हामीले दशकौँका स्वर्णीमकालहरु व्यवस्था परिवर्तनमा मात्रै सकायौँ । कृपया हाम्रा भावि सन्ततीले अब यसमा समयखेर फाल्नु नपरोस् किनकी संसारकै आम सुन्दर व्यवस्था केही छ भने त्यो लोकतन्त्र हो । जुन हामीले पाइसकेका छौं अब त्यो सुन्दर बगैचामा गोडमेल गरि हाम्रो राष्ट्रिय गान जस्तै सयौँ थुगाँ फूलका हामी एउटै माला नेपाली भई अपनत्व लिनु पर्नेछ । यदि जनताले चाहेर मत दिए भने संविधान संशोधन मार्फत राजनैतीक दलहरुले चाहेको प्रणाली ल्याउन सक्ने सुन्दर पक्ष लोकतन्त्रमा जहिले पनि हुन्छ । तसर्थ तपाईहरु ठूला चार दलले कृपया तुरुन्तै गोलमेच सम्मेलनको नेतृत्व गरेर अन्य दलहरुको पनि भावना र सुझावहरु लिएर असन्तुष्ट आवाजहरुलाई बेलैमा सम्बोधन गर्नुहोला भनि निम्न चार कार्यहरु अविलम्ब गर्नका लागि बिन्ति गर्दछु ।

१. संघियताको स्वरुप र धर्म निरपेक्ष खारेजी

अहिले जनताको ठूलो असन्तुष्टी यसमा रहेको छ किनकी यो जनताबाटै मत नलिइकन बलजफ्ती थोपरिएको थियो र अहिले परिणामका दृष्टिले पनि असफल भइसकेको छ । २०६२–०६३ मा जहाँ मुख्य सबै दल र आमजनता सहभागी थिए त्यो जनआन्दोलनको माग संघियता र धर्म निरपेक्ष नभएको साथै हाम्रो जस्तो सानो र आर्थिक अवस्था कमजोर भएको मुलुकले संघियता सहितको शासन प्रणाली धान्न नसकेको तितो यथार्थलाई बुझ्न ढिला गर्नु हुँदैन । जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको व्यवस्था गरेर विकासलाई विकेन्द्रिकरण गर्नुपर्ने हुन्छ । यसैगरि पहिला नेपालमा जुन सनातन धर्म थियो त्यति बेला अरु कुनै धर्मलाई निषेध गरिएको थिएन जति अहिले चर्चा–परिचर्चा र एक–आपसमा मतभेदका घटनाहरु बाहिर आएका छन् । साथै बाह्य शक्तीको दबाबमा नेपालमा धर्म परिवर्तनका लागि के कसरी लगानी भईराखेको रहेछ भन्नेकुरा अहिले आएर त झन छर्लङ्गनै भयो । अस्तिकै जस्तो तत्वहरु फेरि धर्मको नाममा आन्दोलन गरेर वितण्डा मच्चाउन सक्ने प्रवल सम्भावना छ ।

२. सबै पुर्व विशिष्टहरुको सेवा र सुविधा खारेजी

अहिले हाम्रो कुल बजेटको ६१.३२% चालु खर्च, १९.७४% वित्त व्यवस्थापनका लागि र १८.९४% पुँजीगत खर्चका लागि बजेट छुट्याइएको छ जसका लागि झण्डै ३०% स्रोत त ऋण लिएर जुटाउँछौ । ऋणको ब्याज तिर्नका लागि ऋण लिनुपर्ने दुरा अवस्थामा हामीले यसरी नै सुबिधा दिदै जाने हो भने देश टाट पल्टिन बेरै लाग्दैन । राजतन्त्रका पुर्व राजा देखी अहिले सम्मका पुर्व विशिष्टहरु सबैलाई दिएको सेवा र सुविधा खारेज गर्ने बेला भयो । यसले गर्दा राज्यकोषले नधानेर ऋण लिएरै पुर्व पदाधिकारीलाई पाल्नु परेको भार पनि कम हुन जान्छ र विकृति पनि पुर्ण रुपमा हट्छ अनि सबै जना पुर्वहरु स्वतः सेवा पछि आम नागरिक जस्तै सरल र स्वतन्त्र हुन्छन् ।

३. २०४६ पछिका हत्याकाण्ड र भ्रष्टचारका फाइलहरु खोल्ने

दरबार हत्याकाण्ड देखी मदन भण्डारी हत्याकाण्ड सम्म र सबै भ्रष्टचारका फाइलहरु खोलि दोषी उपर कडा कारवाही चलाउन सम्बन्धित निकायलाई पुर्ण अधिकार दिनुपर्दछ । प्रकृयागत भ्रष्टचारमा संलग्न कर्मचारीहरु हुन या नीतीगत भ्रष्टचारमा संलग्न नेता र जो–कोही भएपनि सबैलाई कानुनी दायरामा ल्याउनु पर्दछ । अहिले का.म.पा.को मेयर बालेन साहले जस्तो कानुन सबैलाई बराबर भन्ने प्रणालीको विकास गर्नुपर्छ । कानुन सबैलाई बराबर लाग्छ भन्ने कुराको प्रत्याभुती हुने भयो भने आगामी दिनमा दण्डहिनता र भ्रष्टाचार हराउँदै र सुशासन मौलाउँदै जान्छ ।

४. पुर्व राजा विरेन्द्रको परिवारका सम्पत्ति पुर्णरुपमा राष्ट्रियकरण र पुर्व विशिष्टहरुको सम्पत्ति छानबिन

अझै पनि स्व. पुर्व राजा विरेन्द्रका परिवारका सबै सम्पत्ति राष्ट्रियकरण हुन सकेको छैन । धेरै सम्पत्ति अझै पनि पुर्व राजा ज्ञानेन्द्रका परिवारमा गएको देखिन्छ । उनले कानुनी राज्यमा कर तिरेर जोडेको बाहेक अरु सबै राष्ट्रियकरण हुनुपर्दछ । त्यसैगरि हालसम्म उच्च ओहोदामा रहेका सबै नेता र कर्मचारीको सम्पत्तिको स्रोतहरुको छानविन गर्नुपर्दछ र गैह्रकानुनी सम्पत्ति राष्ट्रियकरण गर्नु पर्दछ ।

कृपया तपाईहरु ठूला निर्णायक चारदलले नेतृत्व गर्दै अन्य दलहरुको राय लिएर गोलमेच सम्मेलन गरि यी चार विषयहरुको सम्वोधन गर्न अब ढिला नगर्नुहोला नत्र अब यो असन्तुष्टिको झिल्को भुसको आगोझैं फैलिने छ र त्यसको परिणामले विनास मात्रै निम्त्याउने छ । देश अझै कयौं दशक विनाश र द्धन्द्धको भुमरीमा फस्ने कुरामा दुईमत नहोला । शक्ति राष्ट्रहरुले कसरी र कस्ता स्वार्थका लागि सहयोग गर्छन, भिडाउँछन् र लडाउँछन् भन्ने कुरा युक्रेन देखी प्यालेस्टाईन सम्मको युद्ध र अवस्थाले छर्लङ्ग बनाएको छ । त्यसैगरि जनताको विश्वासमा कुठाराघात भएपछिको जन विद्रोह अनि विद्रोह भड्केपछिको अवस्थाका बारेमा श्रीलंका र बंगलादेशले राम्रै पाठ पढाईसके । अनि धमिलो पानीमा माछा मार्नेहरु कसरी परिस्थिति विगार्छन भन्ने कुरा अस्तिको राजाबादीको आन्दोलनमा भएको हिंसा त्यसैको झल्को हो । यदि यी सबै निराशालाई समयमै सम्बोधन गर्न सकिएन भने हाम्रो पनि परिणाम त्यस्तै हुने हो । बरु अहिले नै सोचौं नेपाली हामी रहौंला कहाँ नेपालै नरहे ?

अन्तमा, यहाँहरुले यी चार बिन्तीहरुको तुरन्तै सम्बोधन गरेर कम्तिमा ठूला दलका तीन नेताहरुले नेतृत्व सक्षम युवापुस्तामा हस्तान्तरण गर्नुभयो भने पुर्व राजा ज्ञानेन्द्रलाई पहिलानै कारवाही गर्नुको सट्टा यो स्थान दिनाले अहिले फेरि यो वितण्डा भयो भनेर तपाईँहरु जसरी पछुताउनु भएको छ त्यस्तै पश्चताप हामीहरुले पनि भोली गर्नु पर्ने थिएन साथसाथै तपाईंहरुका अहिले सम्मका पापहरु पखालिएलान र सजिलै वैतर्णी पनि तर्नुहुनेछ अनि यहाँहरुकै भाषामा भन्दा स्वर्ग पनि जानु हुनेछ र जनतालाई स्वर्गजस्तो देशलाई नर्क हुने सम्भावनाबाट बेलैमा बचाउनु हुनेछ । धन्यवाद ।

-शंकर पाण्डे ‘मुक्ति’ माडी–२, चितवन . [email protected]

वर्तमान सरकार प्रेस स्वतन्त्रताप्रति पूर्ण निष्ठावान् छ : प्रधानमन्त्री

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताप्रति पूर्ण निष्ठावान् रहेको बताएका छन्।

सार्वजनिक सेवा प्रसारण संस्था रेडियो नेपालको ७५औँ वार्षिकोत्सवका अवसरमा आज दिएको शुभकामना सन्देशमा उनले प्रेस स्वतन्त्रताप्रतिको सरकारको निष्ठा व्यवहारसिद्ध रहेको दाबी गरेका छन्।

समाजको महत्त्वपूर्ण अंगको भूमिका पाएको प्रेस जगत्‌ले राष्ट्रियता, लोकतन्त्र, सुशासन र विकासलाई सहयोग पुग्नेगरी जिम्मेवार भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिँदै प्रधानमन्त्री ओलीले राष्ट्र निर्माणको अभिभारा पूरा गर्न सरकारले अघि सारेका सामाजिक परिवर्तन, विकास, सुशासन, स्वच्छता र पारदर्शिताको अभियानलाई जनसमक्ष विस्तार गर्न रेडियो नेपालले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेका छन्।

सन्देशमा प्रधानमन्त्री ओलीले भनेका छन्, ‘नेपालको राजनीतिक जागरणमा रेडियो नेपालको ठूलो योगदान रहेको छ। रेडियो नेपालले अब देश विकासका निम्ति सिर्जनात्मक रूपमा आमनागरिकलाई सुसूचित गर्नुपर्ने बेला आएको छ। अब हाम्रा सूचना र सन्देश रोजगारी सिर्जनासँगै नवीन प्रविधिका माध्यमबाट देश विकासको गतिलाई अगाडि बढाउँदै आर्थिक समृद्धिको यात्रामा केन्द्रित हुनुपर्छ।’

रेडियो नेपाल आवाजविहीनहरूको आवाज बन्नुपर्छ : राष्ट्रपति

काठमाडौँ, २० चैत : राष्ट्रपति रामचन्द्र पौडेलले यसै वर्ष सार्वजनिक सेवा प्रसारण संस्थामा रुपान्तरण भएको रेडियो नेपाललाई नागरिक केन्द्रित बनाउँदै आवाजविहीनहरूको आवाज बन्न र मुलुकले अङ्गीकार गरेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने दिशामा सक्रिय रहन आह्वान गर्नुभएको छ ।

मुुलुकको सबैभन्दा पुरानो प्रसारण संस्था रेडियो नेपालको ७५औँ वार्षिकोत्सवका अवसरमा आज शुभकामना दिनुहुँदै उहाँले ‘आधुनिक नेपालको समावेशी आवाज’ मूल नारासहित ‘राष्ट्रिय रेडियो, राष्ट्रिय सञ्चार’को मर्मअनुरुप क्रियाशील रेडियो नेपाललाई नेपालको संविधानले व्यवस्था गरेको नागरिकको सूचनाको हक प्रत्याभूत गर्न तथा सार्वजनिक सेवा प्रसारणको मर्म, भावना र उद्देश्यअनुसार प्रभावकारी ढङ्गले काम गर्न सुझाउनुभएको छ ।

सबै जातजाति, भाषाभाषीको अधिकार संरक्षण गर्ने बहुलवादमा आधारित लोकतन्त्रको सुदृढीकरणलाई आफ्नो धर्म मानेर काम गर्न अनुरोध गर्दै “इण्टरनेट र सूचनाप्रविधिको विकासले समाचारको विषयवस्तु, सञ्चारमाध्यम र सूचना सम्प्रेषणमा आएको परिवर्तन उल्लेखनीय छ । यस्तो अवस्थामा दक्ष जनशक्ति र आधुनिक प्रविधिको अधिकतम उपयोग गरी रेडियो नेपाललगायत आमसञ्चारमाध्यमले आफ्नो सेवा, गुणस्तर र समाचार प्रस्तुतिमा समयानुकूल परिमार्जन गरी अझै जिम्मेवार, विश्वसनीय र जवाफदेही भएर काम गर्नेछन् भन्ने मैले विश्वास लिएको छु”, राष्ट्रपति पौडेलले भन्नुभएको छ ।

रमा–कृष्ण साहित्य सम्मान समालोचक चुडामणि बन्धुलाई

काठमाडौँ, २० चैत : रमा–कृष्ण सृजना प्रतिष्ठानले २०८० सालको कवि भवानी घिमिरे स्मृति रमा–कृष्ण साहित्य सम्मान समालोचक चुडामणि बन्धुलाई प्रदान गर्ने भएको छ ।

यही चैत २३ गते काठमाडौँमा एक कार्यक्रम आयोजना गरी साहित्यकार एवं समालोचक बन्धुलाई उक्त सम्मान प्रदान गरिने प्रतिष्ठानका महासचिव यादव भट्टराईले बताउनुभयो ।

सोही समारोहमा वीरझागल गुरु¬ङ स्मृति रमा–कृष्ण जनजाति उन्नयन पुरस्कार सङ्गीतकार बुलु मुकारुङलाई र डा हर्क गुरुङ स्मृति रमा–कृष्ण विज्ञानप्रविधि पुरस्कार मनिषराज पाण्डेलाई प्रदान गरिने छ ।

यसैगरी, प्रतिष्ठानले २०८१ सालको कवि भवानी घिमिरे स्मृति रमा–कृष्ण साहित्य सम्मान साहित्यकार अभि सुवेदीलाई, वीरझागल गुरु¬ङ स्मृति रमा–कृष्ण जनजाति उन्नयन पुरस्कार राजकुमार श्रेष्ठलाई र डा हर्क गुरुङ स्मृति रमा–कृष्ण विज्ञानप्रविधि पुरस्कार इन्द्रप्रसाद सुवेदीलाई प्रदान गरिने जानकारी उहाँले दिनुभयो । प्रतिष्ठानको हालैको बैठकले उक्त निर्णय गरेको हो ।

राजसंस्था फर्काउँछु र देहत्याग गरेका हजुरबालाई फर्काउँछु भन्नु उस्तै हो : सांसद घर्ती

काठमाडौँ, २० चैतः नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का केन्द्रीय सदस्य पूर्णबहादुर घर्ती सङ्घीय संसद्, प्रतिनिधिसभाको सांसद हुनुहुन्छ । उहाँ प्रतिनिधिसभा निर्वाचन २०७९ मा रुकुमपूर्व–१ बाट निर्वाचित हुनुभएको हो । सांसद घर्तीले निर्वाचनमा १२ हजार २६२ मत प्राप्त गर्नुभएको थियो । भूमे गाउँपालिका वडा नम्बर ९ रुकुममा २०२४ असार २९ गते जन्मिनुभएका घर्ती २०३६ सालदेखि राजनीतिमा लाग्नुभएको थियो ।

लुम्बिनी प्रदेशको सभासुखको भूमिका निर्वाह गरिसक्नुभएका सांसद घर्ती तत्कालीन मसालको गाउँ पार्टीमा रुपान्तरण गरी तत्कालीन चुनवाङ गाविसको संस्थापक पार्टी अध्यक्ष बन्नुभएको थियो । विसं २०६२ देखि २०६४ सम्म माओवादी रुकुम जिल्ला इन्चार्ज, २०६५ देखि २०६७ सम्म एकीकृत नेपाल कम्युनिष्ट पार्टी (माओवादी)को मगरात राज्य सेक्रेटरी तथा केन्द्रीय सदस्य हुनुभएको थियो । सांसद घर्तीले २०६८ सालदेखि २०७० सम्म नेकपा क्रान्तिकारी माओवादीको थारुवान राज्य इन्चार्ज तथा केन्द्रीय सदस्य, २०७१ देखि २०७२ सम्म नेकपा क्रान्तिकारी माओवादीको पश्चिम मगरात इन्चार्ज तथा पोलिटब्यूरो सदस्यमा रहेर काम गरिसक्नुभएको छ । प्रतिनिधिसभाका सांसद घर्तीसँग राससका समाचारदाता सुशील दर्नालले गर्नुभएको कुराकानीको सम्पादित अंशः

सङ्घीय संसद्, प्रतिनिधिसभाको अनुभव

दश वर्षको जनयुद्ध, २०६२÷०६३ सालको जनआन्दोलन, मधेस आन्दोलन र विभिन्न जातीय र क्षेत्रीय आन्दोलनबाट प्राप्त उपलब्धि भनेको संविधान र सङ्घीय लोकतान्त्रिक गणतन्त्र हो । यसको कार्यान्वयनको सवालमा अघिल्लो पाँच वर्षमा पनि हामीले राजनीतिक सङ्घीयता स्थापित गरियो । तर प्रशासनिक सङ्घीयता, वित्तीय सङ्घीयताको कार्यान्वयन अहिले पनि प्रभावकारी ढङ्गबाट हुनसकेको छैन । राजनीतिक दल र संसद् जति जनताप्रति उत्तरदायी हुनुपर्ने हो, त्यति भएको देखिँदैन । पटकपटक सरकार परिवर्तन हुने कुराले पनि संसदीय गतिविधिलाई कमजोर बनाएको छ ।

केन्द्रीय नेतृत्वमा रहेका दलहरूको फितलो भूमिकाका कारण पनि सङ्घीयताप्रतिको जवाफदेहिता कमजोर भयो भन्ने लागेको छ । जसको कारण सङ्घीय लोकतान्त्रिक गणतन्त्रविरुद्धको शक्ति सल्बलाउन थालेको छ । प्रतिनिधिसभा आफैँमा कानुन निर्माण गर्ने थलो हो । तर दलका नेता र सांसदहरू कानुन निर्माण प्रक्रियामा कम, सत्ता फेरबदलमा बढी लागेको देखिन्छ । संसद्मा सत्तापक्ष र प्रतिपक्ष दलको दोहोरी धेरै चलेको छ । त्यसैले सङ्घीय प्रणाली कमजोर बनाउने काम दलहरूले नै गर्दै आएको देखिन्छ । यद्यपि शिक्षा, स्वास्थ्य र रोजगारीलगायत जनताका समसामयिक सवाल संसद्मा उठिरेहको छ । तर सरकारले कार्यान्वयन गरेको अवस्था छैन । जनताप्रति सरकारको जवाफदेहिता देखिएको छैन ।

संविधान कार्यान्वयन र संशोधन

हामी राजनीतिक दलहरूले राजनीतिक सङ्घीयता स्थापित गरियो । व्यवस्थालाई परिवर्तन पनि गरियो । आन्दोलनको उपलब्धि पनि हो । एउटा ठूलो परिवर्तन पनि हो । तर यसलाई जनतामा स्थापित गर्न सकेका छैनौँ । जनतामा राखिएका प्रतिबद्धता पूरा हुनसकेको छैन । अहिले पनि पालिका र वडाहरूमा कर्मचारीको अभाव छ । प्रहरी समायोजन ऐन अहिले पनि आउनसकेको छैन । निजामती कर्मचारी ऐन छलफलमै सीमित छ । शिक्षा ऐन पनि छलफलमै सीमित छ । त्यसैले संविधान कार्यान्वयन पूर्ण रूपमा हुनसकेको छैन । संविधान आफैँमा अपरिवर्तित कुनै धर्मग्रन्थ होइन ।

संविधान राष्ट्र र जनताको आवश्यकतानुसार संशोधन गर्न सकिने विषय हो । सैद्धान्तिक रूपमा संविधान संशोधन गर्ने भन्ने नै हो । वर्तमान सरकार गठनका क्रममा भएको सहमतिको पहिलो बुँदा नै संविधान संशोधन गर्ने भन्ने छ । तर कुन विषयमा संशोधन गर्ने भन्ने विषय प्रष्ट आउन सकेको छैन । पहिला कुन धारामा संशोधन गर्ने भन्ने विषयमा प्रष्ट हुनुपर्छ । यो विषयमा सरकारको अहिले पनि प्रष्ट धारणा छैन । त्यसैले हाम्रो पार्टीको कुरा भनेको पहिला संशोधन गर्ने विषयमा प्रष्ट हुनुपर्छ भन्ने हो ।

हामीले प्रशासकीय स्वरुप, निर्वाचन प्रणाली र पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा संविधान संशोधन गर्नुपर्छ भन्दै आएका छौैँ । अहिलेको निर्वाचन प्रणाली अत्यन्त महँगो छ । यसलाई संशोधन गरेर सामान्य मानिसले पनि चुनाव लड्न सक्ने खालको बनाउनुपर्छ । अर्को अस्थिर सरकारले पनि विकासमा प्रभाव पारेको छ । त्यसैले प्रत्यक्ष निर्वाचित राष्ट्रपति र प्रभनमन्त्री हुनुपर्छ भन्ने हाम्रो मान्यता हो । यसो गर्दा जुन पार्टीको सरकार भए पनि पाँच वर्ष ढुक्क हुन्छ । सरकार नौ–नौ महिना परिवर्तन गर्नु पर्दैन । सरकारले पनि ढुक्कका साथ काम गर्न पाउँछ । देशमा पनि स्थिरता हुन्छ । सरकार संविधान संशोधन गर्नेभन्दा पनि संविधानलाई मिचेर अगाडि बढेको देखिन्छ । सरकारले संविधानको कमीकमजोरी सच्याएर अगाडि जाने विषयमा गम्भीर भएर सोच्नुपर्छ ।

सङ्घीयता सुदृढीकरणको लागि सुझाव

सङ्घीयतालाई अझै सुदृढ र बलियो बनाउनका लागि प्रदेश सरकारलाई आवश्यक कानुन जतिसक्दो चाँडो बनाउनुपर्छ । संविधान जारी भएको नौ वर्ष हुँदा पनि हामीले स्थानीय र प्रदेश सरकारलाई आवश्यक पर्ने कानुन बनाउन सकेका छैनौँ । कर्मचारी समायोजनसम्बन्धी कानुन बन्न सकेको छैन । त्यसलाई छिटोभन्दा छिटो बनाउनुपर्ने छ । प्रदेश सरकारले निजामती ऐन पारित गरे पनि सङ्घीय निजामती ऐन नभएका कारण प्रदेश सरकारलाई काम गर्न समस्या भइरहेको छ । प्रहरी ऐन प्रदेश सरकारले पारित गरिसकेका छन् ।

तर सङ्घीय प्रहरी ऐन बन्न नसक्दा प्रदेश सरकारलाई काम गर्न जटिलता भएको छ । शिक्षा ऐन पनि आउन सकेको छैन । यो अहिले पनि विचाराधीन अवस्थामा छलफलमै छ । यी विभिन्न ऐनका कारण गर्दा सङ्घीयता कमजोर देखिएको छ । अर्को भनेको विकासका कामहरू सङ्घीय सरकारले राख्नुपर्ने आवश्यक छैन । विकासका काम प्रदेश र स्थानीय सरकारलाई दिए हुन्छ । जनताको सबैभन्दा नजिकको सरकार भनेको स्थानीय सरकार हो । त्यसपछि प्रदेश हो । विकासका सबै काम स्थानीय सरकारसँग जोडिएको हुन्छ । त्यसैले प्रदेश र स्थानीय सरकारलाई अधिकारसम्पन्न बनाउनुपर्छ । संविधान संशोधन गरेर सङ्घीय र प्रदेश सरकारको मन्त्रिपरिषद्को सङ्ख्या पनि घटाउनुपर्छ ।

व्यवस्था परिवर्तनबारे उठेका सवाल

राजसंस्था आर्यघाटमा पुगिसकेको छ । यद्यपि आर्यघाटमा पुगे पनि त्यसका मलामीहरू बाँकी छन् । तर इतिहास कहिल्यै पनि पछाडि फर्किएको थाहा छैन । इतिहास अगाडि नै बढेको छ । सङ्घीयता कार्यान्वयन गर्नका लागि केही अपुग भएको छ । सङ्घीय लोकतान्त्रिक गणतन्त्र कार्यान्वयन गर्ने सवालमा हामी दलहरूको केही कमीकमजोरी भएका छन् । त्यसको अर्थ राजसंस्था भन्ने होइन । अब यही सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुधार्नुको विकल्प छैन ।

गणतन्त्रको विकल्प भनेको सुदृढ गणतन्त्र हो । कार्यान्वयनको सवालमा राजनीतिक दलहरूबीच सहमति हुनसकेको छैन । सरकारप्रति जनताको आक्रोश, आलोचना र अपेक्षा पनि छन् । थुप्रै आशाहरू पनि छन् । तर जनताले गणतन्त्रको विकल्प राजसंस्था भनेका छैनन् । मेरो बितिसकेको हजुरबुबालाई फर्काउँछु भन्नु र गइसकेको राजतन्त्र फर्काउँछु भन्नु उस्तै हो । यद्यपि राजसंस्थाप्रति आस्था राख्न पाइन्छ । त्यो उहाँहरूको इच्छाको कुरा हो । तर अहिले राजतन्त्र फर्किने अवस्था छैन ।

राजतन्त्रवादीहरूले सडकमा नारा लगाउँदै गर्दा, राजतन्त्रको पक्षमा समर्थन बटुल्दै गर्दा, अहिलेको लोकतान्त्रिक प्रणालीको विरोध गर्दैगर्दा लोकतन्त्र वा सङ्घीयतामा खतरा पैदा भयो भन्ने होइन । मैले त्यो खतरा देखेको छैन । बरु यसको पूर्ण कार्यान्वयन हुने सवालमा दलहरू सक्रिय नभएको देखिन्छ । सरकार र सत्तारुढ दलको प्रवृत्तिका कारण जनताको असन्तुष्टि सडकमा पोखिएको मात्रै हो । त्यसप्रति सरकार गम्भीर हुन जरुरी छ ।

सुशासनको निम्ति सरकारलाई सुझाव

सुशासनको निम्ति सरकारले भ्रष्टाचार गर्दिनँ र हुन पनि दिन्न भनेको छ । त्यसलाई व्यावहारिक रूपमा कार्यान्वयन गर्नुपर्छ । सबै भ्रष्टाचारीलाई कानुनबमोजिम कडा कारबाही गर्नुपर्छ । राजनीतिक दलले आफ्ना नेता वा कार्यकर्ता भनेर बचाउ गर्न मिल्दैन । कानुनको नजरमा भ्रष्टाचारी भ्रष्टाचारी नै हो । सरकारले सुशासन कायम गर्नेभन्दा पनि उत्कृष्ट काम गर्ने नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने काम गरेको छ । उज्यालो नेपालका अभियन्ता घिसिङलाई हटाएर सरकारले गलत गरेको छ । चार महिनापछि स्वतः अवकाश हुने घिसिङलाई सरकारले पूर्वाग्रही ढङ्गले हटाउनु आपत्तिजनक छ ।

रोजगारी सृजना र युवा पलायन रोक्ने सवाल

युवा पलायन अहिलेको समस्या होइन । पहिलेदेखि नै युवा विदेशिने क्रमः थियो । यद्यपि अहिले यो सङ्ख्या बढ्दै गएको छ । अहिले सूचना, सञ्चार र प्रविधिको विकाससँगै युवाहरू अध्ययनको सिलसिलामा विदेश जानु सामान्य पनि हो । अब विदेशी युवा शिक्षाका लागि नेपालमा आउने गरी शिक्षा प्रणाली परिवर्तन गर्नुपर्छ । अर्को कुरा, रोजगारीका निम्ति विदेश जाने युवालाई रोक्न सरकारले देशमा उद्योग÷कलकारखाना सञ्चालन गर्नुपर्छ ।

यसमा राज्य सञ्चालकहरूको तत्परताको जरुरी हुन्छ । हामीले व्यवस्था परिवर्तनमात्र गर्यौँ । जनताको अवस्था परिवर्तन गर्न सकेका छैनौँ । हामीले भएको परिवर्तनपनि जनतालाई सही ढङ्गबाट बुझाउन सकेनौँ कि भन्ने लाग्छ । नयाँ पुस्ताको आकाङ्क्षा सरकारले पूरा गर्न सकेको छैन । हामीले देशकै स्रोत÷साधनबाट रोजगारी सृजना गर्न सक्छौँ । तर त्यसका लागि सरकार गम्भीर हुन जरुरी हुन्छ ।

नेकपा (माओवादी केन्द्र)को अबको भूमिका

अब हाम्रो पार्टी गम्भीरतापूर्वक सुशासन र समृद्धिको पक्षमा लाग्ने छ । सामाजिक न्यायको पक्षमा लड्ने छ । सामाजिक न्यायका पक्षमा लडिरहने छ । हाम्रो पार्टी सरकारमा हुँदा पनि र नहुँदा पनि जनताको पक्षमा सङ्घर्ष गर्ने छ । जनताको अवस्था सुधार्नका निम्ति लाग्ने पार्टीको योजना छ । देशमा भएका विकृति र विसङ्गतिका विरुद्ध अझै सक्रियताका साथ लाग्ने छ । अर्को, देशमा समाजवाद ल्याउनका लागि पनि पार्टी लागिरहेको छ । हाम्रो पार्टीले सङ्घीयतालाई अझै बलियो बनाउन आवश्यक कानुन निर्माणका निम्ति सक्रियता बढाउने छ ।

मौसम पूर्वानुमान : पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहने

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएको छ ।
महाशाखाका अनुसार अहिले कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।

आज दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ ।
कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

आज राति कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ ।

म्यान्मा भूकम्प प्रभावितलाई सहायता निरन्तर जारी : संयुक्त राष्ट्रसङ्घ

संयुक्त राष्ट्रसङ्घ (युएन) ले म्यान्मामा गएको विनाशकारी भूकम्पपछि मानवीय सहायता अवरुद्ध भएको कुनै सङ्केत नदेखिएको जनाएको छ । भूकम्पका कारण अहिलेसम्म दुई हजार ५६ जनाको मृत्यु भइसकेको छ भने तीन हजार ९०० भन्दा बढी घाइते भएका छन् ।

चार दिन बितिसक्दा पनि उद्धार टोलीहरू राहत सामग्री वितरण गर्न सङ्घर्ष गरिरहेका छन् । सञ्चार सेवा अवरुद्ध भएका कारण धेरै प्रभावित क्षेत्रहरूमा अझै सम्पर्क स्थापित हुन सकेको छैन । यद्यपि, संयुक्त राष्ट्रसङ्घीय मानवीय सहायता संयोजक मार्कोलुइजी कोर्सीले भन्नुभयो,“हामीले हालसम्म कुनै सहायता अवरोधको अनुभव गरेका छैनौं । वितरण कार्य जारी छ ।”

म्यान्मामा भइरहेको गृहयुद्धका कारण उद्धार तथा राहत कार्य थप जटिल बनेको छ । सैनिक प्रशासनले सहायता वितरणमा अवरोध पु¥याएको भन्ने आरोपहरू आए पनि संयुक्त राष्ट्रसङ्घले हालसम्म कुनै ठोस प्रमाण नदेखिएको जनाएको छ ।

“विनाश ठूलो छ, आवश्यकताहरू तीव्र गतिमा बढिरहेका छन्,” संयुक्त राष्ट्रसङ्घीय बाल कोष (युनिसेप) का उपप्रतिनिधि जुलिया रिसले भन्नुभयो ।“स्वच्छ पानी, खाद्य सामग्री र औषधिको चरम अभाव छ । राहत नपुगे धेरैको जीवन सङ्कटमा पर्नेछ ।”

संयुक्त राष्ट्रसङ्घीय शरणार्थी एजेन्सी (युएनएचसीआर) का प्रवक्ता बाबर बलोचले उद्धार टोलीहरूले सबैभन्दा जोखिममा रहेका समुदाय पहिचान गरिरहेको बताउनुभयो । उहाँले भूकम्प प्रभावित क्षेत्रमा रहेका विस्फोटक पदार्थहरूको खतरा पनि रहेको बताउनुभयो ।

यसैबीच, अन्तर्राष्ट्रिय रेडक्रस संस्था (आइआरएफसी) ले तापक्रम ४० डिग्री सेल्सियससम्म पुगेका कारण उद्धार कार्य झन् कठिन बनेको उल्लेख गरेको छ । आइआरएफसीले झन्डै एक लाख प्रभावित व्यक्तिलाई सहयोग गर्न १०० मिलियन स्विस फ्र्याङ्क (११३ मिलियन डलर) सहयोग सङ्कलन अभियान थालेको छ ।

संयुक्त राष्ट्रसङ्घका अनुसार, भूकम्पअघि नै म्यान्मामा २० लाख मानिसलाई मानवीय सहायता आवश्यक थियो, जसमा ६.५ लाखभन्दा बढी बालबालिका थिए । अहिले यो सङ्ख्या पाँच लाखभन्दा बढीले बढ्न सक्ने अनुमान गरिएको छ ।

संयुक्त राष्ट्रसङ्घका अधिकारीहरूले भूकम्पको बेलामा पनि जारी रहेको सैन्य आक्रमणप्रति चिन्ता व्यक्त गरेका छन् । संयुक्त राष्ट्रसङ्घीय विशेष प्रतिवेदक टम एन्ड्रयूजले म्यानमारका सैनिकलाई आक्रमण तुरुन्त रोक्न आग्रह गरेका छन् ।

संयुक्त राष्ट्रसङ्घले मानवीय सहायता कार्यक्रमका लागि यस वर्ष १.१ अर्ब डलरको अनुरोध गरेको थियो, तर हालसम्म जम्मा पाँच प्रतिशत मात्र प्राप्त भएको छ । राहत सङ्कलन अभावका कारण उद्धार कार्य सुस्त भइरहेको अधिकारीहरूले बताएका छन् ।

यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य

काठमाडौँ, २० चैत : कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो ।

गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ४०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ५०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु २०, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु २५, आलु रातो प्रतिकिलो रु ३५, आलु रातो (भारतीय) प्रतिकिलो रु ४०, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ५०, गाजर (लोकल) प्रतिकिलो रु ५०, गाजर (तराई) प्रतिकिलो रु ३५, बन्दा (लोकल) प्रतिकिलो रु १२, बन्दा (तराई) प्रतिकिलो रु १२, बन्दा (नरिवल) प्रतिकिलो रु १२, काउली (स्थानीय) प्रतिकिलो रु ५०, स्थानीय काउली (ज्यापु) प्रतिकिलो रु ५०, मूला रातो प्रतिकिलो रु ५०, मूला सेतो (लोकल) प्रतिकिलो रु १५, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु २०, भन्टा लाम्चो प्रतिकिलो रु ३५ तथा भन्टा डल्लो प्रतिकिलो रु ५०, तने बोडीको मूल्य प्रतिकिलो रु ७० कायम गरिएको छ ।

यसैगरी, मटरकोसा प्रतिकिलो रु ७०, घिउ सिमी (लोकल) प्रतिकिलो रु ८०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु ८०, घिउ सिमी (राजमा) प्रतिकिलो रु १००, टाटे सिमी प्रतिकिलो रु ७०, तितो करेला प्रतिकिलो रु १००, लौका प्रतिकिलो रु ५०, परबर (लोकल) प्रतिकिलो रु ९०, परबर (तराई) प्रतिकिलो रु ९०, घिरौला प्रतिकिलो रु ७०, झिगुनी प्रतिकिलो रु ८०, फर्सी पाकेको प्रतिकिलो रु ५०, फर्सी हरियो (लाम्चो) प्रतिकिलो रु ३०, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु ३०, सलगम प्रतिकेजी रु ७०, भिण्डी प्रतिकिलो रु १०० कायम गरिएको छ । 

यस्तै, सखरखण्ड प्रतिकिलो ७०, बरेला प्रतिकिलो रु ४०, पिँडालु प्रतिकिलो रु ९०, स्कूस प्रतिकिलो रु ४०, रायो साग प्रतिकिलो रु ८०, पालुङ्गो साग प्रतिकिलो ८०, चमसुरको साग रु १००, तोरीको साग प्रतिकिलो रु ६०, मेथीको साग प्रतिकिलो रु ९०, प्याज हरियो प्रतिकिलो रु ४०, बकुला प्रतिकिलो रु ५०, तरुल प्रतिकिलो रु १२०, च्याउ (कन्य) प्रतिकिलो रु १५०, च्याउ (डल्ले) प्रतिकिलो रु ३२० तथा कुरिलो प्रतिकिलो रु ६०० निर्धारण गरिएको छ ।

निगुरो प्रतिकेजी रु १००, ब्रोकाउली प्रतिकिलो रु ५०, चुकुन्दर प्रतिकिलो रु ६०, सजीवन प्रतिकिलो रु २००, कोइरालो प्रतिकिलो रु १८०, रातो बन्दा प्रतिकिलो रु ५०, जिरीको साग प्रतिकिलो रु ६०, ग्याठकोभी प्रतिकिलो रु ६०, सेलरी प्रतिकिलो रु १५०, पार्सले प्रतिकिलो रु ३००, सौफको साग प्रतिकिलो रु ७०, पुदिना प्रतिकिलो रु ३००, गान्टे मूला प्रतिकिलो रु ७०, इमली प्रतिकिलो रु १७०, तामा प्रतिकिलो रु १००, तोफु प्रतिकिलो रु १२० र गुन्द्रुक प्रतिकिलो रु ३५० तोकेकोे छ ।

समितिले स्याउ (झोले) प्रतिकिलो रु २५०, स्याउ (फूजी) प्रतिकिलो रु ३५०, केरा (दर्जन) रु १६०, कागती प्रतिकिलो रु २७०, अनार प्रतिकिलो रु ३५०, अङ्गुर (हरियो) प्रतिकिलो रु २००, अङ्गुर (कालो) प्रतिकिलो रु २५०, भारतीय सुन्तला रु १५०, तरबुजा हरियो प्रतिकिलो रु ७०, मौसम प्रतिकिलो रु २००, जुनार प्रतिकिलो रु २००, भुइँकटहर प्रतिगोटा रु २००, काँक्रो (लोकल) प्रतिकिलो रु ६०, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु ४०, रुख कटहर प्रतिकिलो रु १००, निबुवा प्रतिकेजी रु ५०, नासपाती (चाइनिज) प्रतिकिलो रु २६०, मेवा (नेपाली) प्रतिकिलो रु ५०, मेवा (भारतीय) प्रतिकिलो रु १२०, अम्बा प्रतिकिलो रु १२०, लप्सी प्रतिकिलो रु १२०, उखु प्रतिगोटा रु १००, स्ट्रबेरी (भुइँऐसेलु) रु २५०, किबी प्रतिकिलो रु ४५० तथा आभोकाडो प्रतिकिलो रु ६५०, अमलाको मूल्य प्रतिकिलो रु ८० निर्धारण गरिएको छ ।

यसैगरी, अदुवा प्रतिकिलो रु १२०, खुर्सानी सुकेको प्रतिकिलो रु ४००, खुर्सानी हरियो प्रतिकिलो रु १००, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु १००, खुर्सानी हरियो (माछे) प्रतिकिलो रु ९०, खुर्सानी हरियो (अकबरे) प्रतिकिलो २५०, भेडे खुर्सानी प्रतिकिलो रु १२०, लसुन हरियो प्रतिकिलो रु ६०, हरियो धनिया प्रतिकिलो रु २००, लसुन सुकेको चाइनिज प्रतिकिलो रु ३२०, लसुन सुकेको नेपाली प्रतिकिलो रु ३००, ताजा माछा (रहु) प्रतिकिलो रु ३२०, ताजा माछा (बचुवा) प्रतिकिलो रु २६०, ताजा माछा (छडी) प्रतिकिलो रु २४०, राजा च्याउ प्रतिकिलो रु ३०० र सिताके च्याउको मूल्य प्रतिकिलो रु ८०० तोकेको छ ।

तीनकुने प्रदर्शनमा ज्यान गुमाएका पत्रकार रजकको परिवारका लागि आर्थिक सङ्कलन सुरु

मन्थली (रामेछाप)- यही चैत १५ गते काठमाडौँको तीनकुनेमा भएको प्रदर्शनका क्रममा ज्यान गुमाएका पत्रकार सुरेश रजकको परिवारका लागि आर्थिक सङ्कलन सुरु भएको छ । नेपाल पत्रकार महासङ्घ रामेछाप शाखाले सहयोग सङ्कलन अभियान सुरु गरको अध्यक्ष दीपक घिमिरेले बताउनुभयो ।

मङ्गलबारदेखि सुरु भएको यो अभियान एक हप्तासम्म सञ्चालन हुने र त्यसपछि सङ्कलित रकम रजकको परिवारलाई दिइने उहाँले बताउनुभयो ।

एसइई सम्पन्न, असार ७ गतेभित्र परीक्षाफल

भक्तपु-माध्यमिक शिक्षा परीक्षा (एसइई) मंगलबारबाट सम्पन्न भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानोठिमीका अनुसार देशभरका दुई हजार ७९ परीक्षा केन्द्रमा यही चैत ७ गतेबाट सुरु भएको परीक्षा मंगलबार सम्पन्न भएको हो ।

परीक्षा नियन्त्रण कार्यालय, कक्षा १० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले भन्नुभयो, “यसवर्षको परीक्षा शान्तिपूर्ण र मर्यादित रह्यो, अर्मयादित काममा संलग्न भएका केही निरीक्षक निष्कासित समेत भए ।”

यस वर्षको परीक्षामा पाँच लाख १४ हजार ७१ जनाले परीक्षार्थी सहभागी भएका थिए । जसमा सबैभन्दा काठमाडौँमा ३९ हजार ६०० र सबैभन्दा कम मनाङ्गमा ४३ जना थिए । जापानको एक परीक्षाकेन्द्रमा २९ जनाले एसइई दिए । साथै काठमाडौँको केन्द्रीय कारागार र दैलेखका दुई कारागार तथा भक्तपुरको बालसुधार गृहबाट पनि विद्यार्थी सहभागी भएका थिए ।

बोर्डले यसवर्ष परीक्षाफल आगामी असार ७ गतेभित्र सार्वजनिक गर्ने जनाएको छ । परीक्षामा न्यूनतम ३५ अङ्कभन्दा कम ल्याउने परीक्षार्थी अनुत्तीर्ण हुनेछन् । परीक्षाको नतिजामा उत्तीर्णदरमा ७० प्रतिशत पु¥याउने लक्ष्य राखेको छ । विसं २०८० सालको एसइईमा ४८ प्रतिशत मात्रै विद्यार्थी पास भएका थिए ।

प्रधानमन्त्री ओली र थाइल्याण्डका प्रधानमन्त्री सिनावातबीच भेटवार्ता हुँदै

बैङ्कक, २० चैत : थाइल्याण्डको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र उहाँका थाइ समकक्षी पे थोङ् थान् शिनावातबीच आज भेटवार्ता हुँदैछ ।थाइल्याण्डको सरकारी भवनमा भेटवार्ताअघि प्रधानमन्त्री ओली समकक्षी सिनावातले आयोजना गर्नुभएको स्वागत समारोहमा सहभागी हुनुभयो ।

थाइल्याण्डका प्रधानमन्त्री निवातको मैत्रीपूर्ण निमन्त्रणामा नेपालका प्रधानमन्त्रीबाट पहिलोपटक थाइल्याण्डको औपचारिक भ्रमण भएको हो । यो भ्रमणबाट दुई देशबीचको आपसी सम्बन्ध विस्तार र सहकार्यमा योगदान पुग्ने अपेक्षा गरिएको छ । परराष्ट्र मन्त्रालयका अनुसार भेटवार्तापछि संस्कृति र पर्यटनका क्षेत्रमा सहकार्यसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर हुने छ । यसैगरी दुई देशबीचका गैरसरकारी र व्यावसायिक संस्थाबीच विभिन्न छ सहमतिपत्र आदाप्रदान हुनेछ ।

सम्झौतापछि दुवै प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलन गर्ने कार्यक्रम छ । त्यसपछि प्रधानमन्त्री ओली आफ्नो सम्मानमा समकक्षी सिनावातले आयोजना गर्नुभएको दिवभोजमा सहभागी हुनुहुने छ । प्रधानन्त्री ओलीले आजै थाइल्याण्डका राजा महा बजिरालोङकर्नसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।थाइल्याण्डको औपचारिक भ्रमणका क्रममा प्रधानमन्त्री ओली मङ्गलबार अपराह्न यहाँ आइपुग्नुभएको हो ।

चैती छठ व्रतअन्तर्गत आज दोस्रो दिन खरना पर्व मनाइँदै

जलेश्वर, २० चैत : सूर्य उपासनाको चार दिने महापर्व चैती छठ व्रतअन्तर्गत आज दोस्रो दिन खरना पर्व मनाइँदै छ । धार्मिक विधिपूर्वक सम्पूर्ण मिथिलाञ्चलमा मङ्गलबारदेखि सुरु भएको चैती छठ पर्वको आज दोस्रो दिन साँझपख मिथिलाको घरघरमा कूल देवताको पूजा गर्दै भगवान सूर्य देवता र छठी मातालाई छठ पर्व स्वीकार गर्नका लागि आगमनको निम्तो दिएर खरना पर्व मनाउन लागिएको जलेश्वर नगरपालिका–१ स्थित जलेश्वरनाथ महादेव मन्दिरका सहायक पूजारी कामेश्वर पाठकले बताउनुभयो ।

खर्नाका दिन मिथिलानी व्रतालुहरु दिनभरि निर्जल एवं निराहार उपबास बसेर साँझपख घर घरमा खीर, पूरी, लरु (लड्डु), केरा, तुलसीको पातको प्रसाद तयार गरी कूल देवताको पूजा गरेर सूर्य भगवान् र छठी मातालाई चैती छठ पर्वको निमन्त्रण दिनुका साथै प्रसाद (नेउज) चढाउने चलन रहेको जलेश्वर ८ की व्रतालु महिला सुमिन्त्रा देवीले बताउनुभयो ।

यस दिनमा व्रतालु महिला खरना पर्व मनाइसकेपछि राति आफूले भने अरवा अरबाईन ( विना नुन हालेको ) खानेकुरा मात्रै खाने गर्दछन् । जसमा खीर, पुरी, केरालगायत वस्तुहरु समावेश हुन्छ ।

चार दिनसम्म विभिन्न विधिहरु गर्दै मनाइने चैती छठ पर्व मिथिलाञ्चलको महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोरङ, सर्लाही, रौतहट, बारा, पर्सालगायत भारतीय भूभागमा पर्ने सम्पूर्ण मिथिलाञ्चलभरि धुमधामका साथ चलिरहेको छ ।

सत्य र अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्नु यस पर्वको विशेषता रहेको जलेश्वर–५ का संस्कृतिविद् ध्रुव रायले बताउनुभयो । पारिवारिक सुख, शान्ति, समृद्धि, शारीरिक कल्याण, रोगबाट मुक्ति तथा विभिन्न मनोकाङ्क्षा पूरा होस् भन्ने उद्देश्यले श्रद्धापूर्वक मनाइने चैती छठ पर्वका अवसरमा पोखरी, नदी, तलाउ र जलासयमा श्रद्धालु भक्तजनको भीड लाग्ने गर्दछ ।

पर्वको पहिलो दिन मङ्गलबार व्रतीहरुले नहा खा अर्थात नुहाएर खाने अर्थात जीऊ चोख्याउने काम गरेका थिए भने पर्वको दोस्रो दिन आज बुधबार खर्ना मनाइरहेका छन् । त्यस्तै षष्ठी एवं चैती छठ पर्वको मुख्य दिन बिहीबार साँझ गहुँ र चामल ओखल, जातो वा ढिकीमा कुटान पिसान गरी सोबाट निस्केको पिठोबाट बनाइएका विभिन्न गुलियो खाद्य सामग्री ठकुवा, भुसवा, खजुरीया, पेरुकिया जस्ता पकवान र विभिन्न फलपूmल तथा मुला, गाजर, बेसारको गाँहो, भोगटे, ज्यामिरी, नरिवल, सुन्तला, केरा नाङ्गलो, कोनिया, सरवा, ढाकन, माटोको हाति, ठूलो ढाक्कीमा राखी परिवारका सम्पूर्ण सदस्य विभिन्न भक्ति एवं लोकगीत गाउँदै निर्धारित जलाशय नजिक बनाएको छठ घाटसम्म पुग्नेछन् ।

षष्ठीका दिन व्रतीहरुले सन्ध्याकालीन अर्घका लागि पानीमा पसेर सूर्य अस्ताउञ्जेलसम्म अस्ताउँदो सूर्यलाई आराधना गर्दै दुवै हत्केलामा पिठार र सिन्दुर लगाएर अक्षेता फूल हालेर अन्य अर्घ सामग्री पालोपालो गरी अस्ताचलगामी सूर्यलाई अर्घ अर्पण गर्नेछन् ।

त्यस्तै सप्तमीका दिन शुक्रबार बिहान पुनः छठघाटमा पुगी जलाशयमा पसेर अघिल्लो दिन गरेको क्रम दोहो¥याई उदाउँदो सूर्यलाई अर्घ दिई चैती छठ पर्व सम्पन्न गर्ने चलन छ । 

पौराणिक अथाअनुसार द्रौपदीसहित पाण्डवहरु अज्ञातवासमा रहँदा उक्त गुप्तावास सफल होस् भनी सूर्यदेवलाई आराधना गरेका थिए । उक्त समयमा पाण्डवहरु मिथिलाको किरात राजाका क्षेत्रमा बास बसेको उल्लेख छ । लोक कथन बमोजिम सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो ।

सूर्य पुराणअनुसार सर्वप्रथम पत्नी अनुसुईयाले छठ व्रत गरेकी थिइन् । फलस्वरुप उनले अटल सौभाग्य र परिप्रेम प्राप्त गरिन र त्यही बेलादेखि छठ गर्ने परम्पराको सुरुवात भएको मानिन्छ । धार्मिक आस्थाका साथसाथै सामाजिक सदभावको रुपमा विकसित छठ पर्व हिन्दुको सँगसँगै मुस्लिमले पनि मनाउने गर्छन् । यस पर्वमा चढाइने पदार्थको सङ्ख्या ७० पु¥याउनुपर्छ तर चढाउने सामथ्र्य नभएकाहरु गम्हरी धानको चामल मात्र चढाए पनि देउता प्रसन्न हुने जनविश्वास  छ । 

चैते दसैँ सुरु भएसँगै कालिका मन्दिरमा धार्मिक पर्यटक बढे

गलकोट (बागलुङ), २० चैतः चैते दसैँ सुरु भएसँगै यहाँस्थित कालिका मन्दिरमा धार्मिक पर्यटकको बढेका छन् । आइतबारदेखि नवरात्र सुरु भएको छ । चैते दसैँसमेत भनिने यस पर्वमा दुर्गा भवानीको पूजा उपासना गरिन्छ । चैते दसैँमा बागलुङ कालिका मन्दिरमा भने विशेष पूजाआराधना हुने भएकाले टाढा–टाढाबाट भक्तजन आउने गर्दछन् ।

चैतको नवरात्रमा बागलुङ कालिकाको पूजाआराधना र बलि दिइँदा आँटेको पुग्ने जनविश्वास छ । गण्डकी प्रदेशको मुख्य शक्तिपीठका रूपमा मन्दिरमा अहिल भक्तजनको भीड लागेको कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले बताउनुभयो । 

“चैते दसैँको तेस्रो दिनसम्म दैनिक हजारौँको सङ्ख्यामा  भक्तजन आउनुभएको छ, यसपटक पाँच लाखभन्दा बढी भक्तजन आउने अनुमान गरिएको छ”, खड्काले भन्नुभयो, “यही अवसरमा चैत २० गतेदेखि यहाँ मेलासमेत आयोजना गरिएको छ, भक्तजनको चापलाई मध्यनजर गरेर सवारी पार्किङ, सुरक्षालगायतको व्यवस्था मिलाइएको छ ।”

मेला आयोजनाका लागि रु ५५ लाख खर्चको अनुमान गरिएको छ ।  मन्दिरमा छिमेकी मुलुक भारतबाटसमेत धार्मिक पर्यटक आउने गर्दछन् । मन्दिरमा बोका, राँगो, कुखुरालगायतको बलि चढाइनाका साथै शान्तिको प्रतीक परेवा उडाउने गरिन्छ । 

मेलामा स्थानीय कला संस्कृति झल्कने झाँकीसमेत प्रदर्शनको व्यवस्था मिलाइएको बताउँदै उहाँले स्थानीय सामग्री डोको, नाङ्लो ठेका, डालालगायतको व्यापारलाई स्टल निःशुल्क उपलब्ध गराइएको जानकारी दिनुभयो ।

ऊर्जा मन्त्रालयको हटलाइनमा एक महिनामा १९ सय उजुरी

काठमाडौँ, २० चैतः ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले सञ्चालनमा ल्याएको हटलाइन सेवा (११५१)मा उजुरी दिनेको सङ्ख्या उल्लेख्य देखिएको छ । काममा ढिलासुस्ती, सूचनाबिना नै बत्ती काट्ने, मिटर नपाउने, ट्रान्सफर्मर जल्ने, अनियमित मिटर रिडिङ तथा अनावश्यक झन्झट जस्ता समस्या समाधान गर्न सञ्चालनमा ल्याइएको हटलाइन सेवा प्रभावकारी बनेको मन्त्रालयले जनाएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले हटलाइनमा आएका जनताको गुनासोलाई यथासक्य चाँडो सम्बोधन गर्न निर्देशन समेत दिनुभयो । हटलाइन सेवामा कार्यरत रामकृष्ण पौडेलले गुनासो आउने वित्तिकै सम्बन्धित कार्यालय र वितरण केन्द्रका प्रमुखलाई जानकारी गराएर समस्या समाधान गर्दै आएको बताउनुभयो ।

 हटलाइनमा फागुन महिनामा मात्र एक हजार ९०२ वटा उजुरी दर्ता भएको उहाँले बताउनुभयो । उहाँका अनुसार चैत महिनामा एक हजारभन्दा बढी गुनासो आइसकेका छन् । हटलाइनमा प्राप्त गुनासोमध्ये ट्रान्सफर्मर जलेको, पोल ढलेको, विद्युत् आपूर्तिमा अवरोध, भोल्टेज कम आउनुजस्ता विषय बढी छन् ।

फोनबाहेक फेसबुक, भाइबरलगायतका डिजिटल माध्यमबाट सेवाग्राहीहरूले गुनासो गर्ने गरेका छन् । सबैभन्दा बढी गुनासो बागमती र मधेस प्रदेशबाट आएका छन् । गुनासो सम्बोधन गर्न थप जनशक्ति परिचालन गरिएको हटलाइनमा कार्यरत एकबहादुर महर्जनले जानकारी दिनुभयो । मन्त्रालयमा नै सिधैँ गुनासो गर्न पाउने व्यवस्था भएपछि जिल्लास्थित कार्यालयमा हुने ढिलासुस्ती कम हुँदै गएको छ ।

भारत सरकारको सहयोगमा निर्माण हुने १० परियोजनाको समझदारी पत्रमा हस्ताक्षर

काठमाडौँ, २० चैतः भारत सरकारको अनुदान सहयोगअन्तर्गत नेपालमा शिक्षा, स्वास्थ्य र संस्कृति क्षेत्रमा कार्यान्वयन हुने १० वटा उच्च प्रभाव सामुदायिक विकास परियोजनाको समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

भारतको सहयोगमा कूल रु ६२ करोड पाँच लाख परियोजना लागतमा नेपालमा १० वटा उच्च प्रभाव सामुदायिक विकास परियोजना (एचआइसीडीपी) सञ्चालन गर्न काठमाडौँस्थित भारतीय दूतावास, नेपाल सरकारको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र नेपाल सरकारका परियोजना कार्यान्वयन एजेन्सीहरूले आज समझदारी पत्र (एमओयु) मा हस्ताक्षर गरेका छन् ।

नेपालमा यी परियोजना नेपाल सरकारका स्थानीय निकाय जस्तै महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकामार्फत कार्यान्वयन गरिने दूतावासले जनाएको छ । यी उच्च प्रभाव सामुदायिक विकास परियोजना (एचआइसीडीपी) को कार्यान्वयनले नेपालका जनतालाई राम्रो शैक्षिक, स्वास्थ्य सेवा र सांस्कृतिक सुविधा प्रदान गर्न मद्दत गर्नेछ ।

सन् २००३ यता भारतले आज समझदारी पत्रमा हस्ताक्षर भएका १० वटा परियोजनासहित नेपालमा ५७३ भन्दा बढी एचआइसीडीपीहरुमा कार्य गरेको छ र नेपालका सात वटै प्रदेशका तल्लो तहमा शिक्षा, स्वास्थ्य, सडक तथा पुल, नदी तालिम, खानेपानी, विद्युतीकरण, सिँचाइ, संस्कृति, समाज कल्याण र अन्य सार्वजनिक उपयोगिताको सिर्जनाका क्षेत्रमा चार सय ९५ परियोजना पूरा गरेको छ । बाँकी परियोजना विभिन्न चरणहरूमा सञ्चालन भइरहेको छ ।

यस्तो छ बुधबारका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, २० चैतः नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १३६ रुपैयाँ ४६ पैसा र बिक्रीदर १३७ रुपैयाँ ०६ पैसा कायम भएको छ ।

युरोपियन युरो एकको खरिदर १४७ रुपैयाँ २१ पैसा र बिक्रीदर १४७ रुपैयाँ ८५ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर १७६ रुपैयाँ १० पैसा र बिक्रीदर १७६ रुपैयाँ ८८ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १५४ रुपैयाँ ५९ पैसा र बिक्रीदर १५५ रुपैयाँ २७ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८५ रुपैयाँ २४ पैसा र बिक्रीदर ८५ रुपैयाँ ६१ पैसा, क्यानेडियन डलर एकको खरिदर ९४ रुपैयाँ ७७ पैसा र बिक्रीदर ९५ रुपैयाँ १८ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०१ रुपैयाँ ५७ पैसा र बिक्रीदर १०२ रुपैयाँ ०१ पैसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिदर नौ रुपैयाँ १४ पैसा र बिक्रीदर नौ रुपैयाँ १८ पैसा, चिनियाँ युआन एकको खरिदर १८ रुपैयाँ ७७ पैसा र बिक्रीदर १८ रुपैयाँ ८५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ३८ पैसा र बिक्रीदर ३६ रुपैयाँ ५४ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ४४ पैसा र बिक्रीदर ३७ रुपैयाँ ६० पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ र बिक्रीदर चार रुपैयाँ ०१ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ १५ पैसा र बिक्रीदर ३७ रुपैयाँ ३२ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ ७५ पैसा र बिक्रीदर ३० रुपैयाँ ८९ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ २६ पैसा र बिक्रीदर नौ रुपैयाँ ३० पैसा, स्वीडिस क्रोनर एकको खरिददर १३ रुपैयाँ ६१ पैसा र बिक्रीदर १३ रुपैयाँ ६७ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ७३ पैसा र बिक्रीदर १९ रुपैयाँ ८२ पैसा तोकिएको छ ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिदर १७ रुपैयाँ ५४ पैसा र बिक्रीदर १७ रुपैयाँ ६२ पैसा, कुवेती दिनार एकको खरिददर ४४२ रुपैयाँ ५६ पैसा र बिक्रीदर ४४४ रुपैयाँ ५१ पैसा, बहराइन दिनार एकको खरिददर ३६१ रुपैयाँ ९९ पैसा र बिक्रीदर ३६३ रुपैयाँ ५८ पैसा, ओमनी रियाल एकको खरिददर ३५४ रुयैयाँ ४६ पैसा र बिक्रीदर ३५६ रुपैयाँ ०२ पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।

राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

सांसद बोहराको निधनप्रति राप्रपाले तीन दिन शोक मनाउने

काठमाडौँ, १९ चैत : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आफ्नो पार्टीका वरिष्ठ नेता एवं प्रतिनिधिसभा सदस्य दीपक बोहराको निधनप्रति दुःख व्यक्त गर्दै तीन दिन शोक मनाउने भएको छ ।

आज पार्टीको केन्द्रीय पदाधिकारीको आकस्मिक बसेको बैठकले वरिष्ठ नेता एवं प्रतिनिधिसभा सदस्य बोहराको निधनप्रति गहिरो दुःख व्यक्तसहित भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै तीन दिन शोक मनाउने निर्णय गरेको सो पार्टीका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “वरिष्ठ नेता बोहराको निधनपश्चात आज बैठक बसीशोक प्रकट गर्न तीन दिन पार्टीको केन्द्रीय कार्यालय, जिल्ला र कमिटिगत कार्यालयमा पार्टीको झण्डा आधा झुकाउने तथा तीन दिन कुनै पनि औपचारिक कार्यक्रम नगर्ने निर्णय भएको हो ।”

बैठकमा वरिष्ठ नेता बोहराको निधनबाट राप्रपा र नेपालको राष्ट्रवादी आन्दोलनलाई ठूलो क्षति पुगेको तथा राप्रपा निर्माणमा उहाँको योगदान सदैव स्मरण गरिने र पार्टीले शोकाकूल परिवारमा समवेदना प्रकट गरिएको प्रवक्ता श्रेष्ठले बताउनुभयो ।

यसैगरी वरिष्ठ नेता बोहराको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि भोलि चैत २० गते बुधबार दिउँसो २ बजेदेखि पार्टी केन्द्रीय कार्यालय चाबहिलमा राखिने र स्व बोहराको बुधबार नै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने सो पार्टीले जनाएको छ ।

मार्चमा एक लाख २१ हजारभन्दा बढी विदेशी पर्यटक नेपाल आए

काठमाडौँ, १९ चैत : सन् २०२५ को मार्च महिनामा एक लाख २१ हजार आठ सय विदेशी पर्यटक नेपाल आएका छन् । नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार यो सङ्ख्या हवाइमार्ग भएर आएका पर्यटकको हो । बोर्डको विवरणमा वर्षको पहिलो तीन महिनामा दुई लाख ९८ हजार पर्यटक नेपाल भित्रिएका थिए । जनवरीमा ७९ हजार नौ सय र फेब्रुअरीमा ९६ हजार आठ सय पर्यटक नेपाल आएका थिए ।

मार्च महिनामा सबैभन्दा धेरै भारतबाट २१ हजार चार सय १२ पर्यटक नेपाल आएका थिए । यस्तै, चीनबाट ११ हजार चार सय ४३ र अमेरिकाबाट ११ हजार ९२ जना अमेरिकी आएका बोर्डको विवरणमा उल्लेख छ । श्रीलङ्काबाट आठ हजार आठ सय ८६ र बेलायतबाट पाँच हजार नौ सय ९५ जना आएका छन् । मार्चमा दक्षिण एसियाली मुलुकका मात्रै ३५ हजार दुई सय ८७ पर्यटक आएका छन् ।

पाँच वर्षमा पनि सम्पन्न भएन तीनखुट्टे–देवीटार सडक

धुलिखेल, १९ चैतः काभ्रेपलाञ्चोकको महाभारत गाउँपालिकाको केन्द्र देवीटार जोड्ने सडकखण्ड पाँच वर्षसम्म पनि सम्पन्न भएको छैन ।आठ दशमलव सात किलोमिटर ट्र्याक खोलेर सडक कालोपत्रका लागि विसं २०७७ असोज २० मा शिलान्यास गरिएको थियो । बागमती प्रदेश सरकारको सहयोगमा सडक निर्माण सुरु भएको थियो ।

सडक निर्माणले निरन्तरता नपाउने र काम गरेका मजदुरको ज्यालासमेत भुक्तानी नगरेपछि कामले गति लिनसकेको छैन । स्थानीय लीलाध्वज ग्लानले ठेकेदार नियमित नआउने, कामदारले काम गरेको पैसा नपाएका कारण पाँच वर्षदेखि सडक अलपत्र अवस्थामा रहेको बताउनुभयो । पछिल्लो दुई महिनादेखि काम ठप्प रहेको उहाँले बताउनुभयो ।

स्थानीय टेकबहादुर घिसिङले सडक पक्की हुने भन्दै उत्साहित नागरिक अचेल निरास भएको गुनासो गर्नुभयो । ‘ठेकेदारले सडक छेउ भित्ता खनेर त्यसै छोडेका छन् । समयमा काम सम्पन्न नगर्दा सडकको प्रयोग गर्न त पाइएको छैन नै, बर्खामा बाढीले घरबारी बगाउने र कतै पहिरो जान्छ कि भन्ने डरले रातभरि जागै बस्नुपर्ने अवस्था रहेको छ”, उहाँले भन्नुभयो ।स्थानीय बासिन्दा कर्णबहादुर थिङले दुई वर्षभित्रमा कालोपत्र गर्ने भनिएको सडक पाँच वर्ष बितिसक्दा पनि सम्पन्न नभएकाले हिलो धुलोले थप पीडा भएको बताउनुभयो ।

महाभारत गाउँपालिका—६ का वडाध्यक्ष रमेश लुङ्गेली मगरले पछिल्लो समयमा ट्र्याक खोलेर  तारजाली पर्खाल लगाउने काम भए पनि बर्खामा सबै बगाएपछि समस्यामा भएको जानकारी दिनुभयो । काम गर्ने भनेर थुपारेका सामान पनि अलपत्र अवस्थामा रहेका उहाँले बताउनुभयो । “ट्र्याक खोलेर त्यसको उचित व्यवस्थापन नगर्दा आवतजावतमा मात्रै नभएर भित्ता भत्किने, बर्खामा हिलो र हिउँदमा धुलो हुने समस्याले सबै हैरान छौँ । पहिरोको जोखिमले छेउछाउका परिवार निकै त्रासमा छन्”, वडाध्इक्ष लुङ्गेली मगरले भन्नुभयो ।

महाभारत गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले गाउँपालिका केन्द्र जोड्ने पहिलो बहुवर्षीय योजनाअन्तर्गत करिब रु ४९ करोड लागतमा कालोपत्रसहितको सो योजना सुरु गरेदेखि पटकपटक म्याद थपिए पनि काम सम्पन्न नभएको बताउनुभयो । सजिलो स्थानतिर करिब डेढ किलोमिटर जति कालोपत्र गरे पनि अप्ठ्यारो भागमा काम हुन नसक्दा थप समस्या भएको उहाँको भनाइ छ । यस विषयलाई लिएर प्रदेशका मुख्यमन्त्रीदेखि भौतिक पूर्वाधार विकासमन्त्री, अर्थमन्त्री र मन्त्रालयका सचिवलाई स्थलगत निरीक्षण गराएर पटकपटक ध्यानाकर्षण गराउँदा पनि काम अगाडि नबढेको अध्यक्ष जिम्बाले गुनासो गर्नुभयो ।

पछिल्लो पटक थपेको समयसीमा पनि आगामी वैशाखसम्म मात्रै रहे पनि समयमा काम सम्पन्न हुने अवस्था नदेखिएको अध्यक्ष जिम्बाले बताउनुभयो ।

पूर्वाधार विकास कार्यालय काभ्रेपलाञ्चोकका कार्यालय प्रमुख राजु श्रेष्ठले अब चाँडै काम सुरु हुने बताउनुभयो । ठेकेदारलाई तोकिएको समयमै काम सक्न निर्देशन दिइएको उहाँले जानकारी दिनुभयो । हालसम्म समग्रमा ६० प्रतिशत र करिब दुई किलोमिटर सडक कालोपत्र भइसकेको कार्यालय प्रमुख श्रेष्ठले बताउनुभयो ।

बागमती प्रदेशसभा सदस्य रत्नप्रसाद ढकालले सम्बन्धित मन्त्रालयका मन्त्री र कर्मचारीले स्थलगत अनुगमन गरिसकेको र मन्त्रालयमा नै बसेर धेरैपटक उक्त सडकका विषयमा छलफल गरेर ताकेता गरिएको बताउनुभयो । यतिगर्दा पनि काम नहुनुमा ठेकेदारको चरम लापर्र्बाही रहेको उहाँको भनाइ छ । बाटो नबन्दा नुन तेलदेखि सबैजसो सामान बनेपाबाट बोकेर लानुपर्ने बाध्यता रहेको भन्दै ढकालले छिटो काम गर्न ठेकेदार र सरोकार भएकाहरूलाई आग्रह गर्नुभयो । 

निर्माण कम्पनी श्रेष्ठ÷साक्ष्मक जेभीसँग विसं २०७७ असार ३० मा रु २५ करोड ८२ लाख दश हजार ३१६ मा ठेक्का सम्झौता भई  विसं २०७९ असार ३० गतेभित्रमा सम्मन्न गर्ने समयसीमा तोकिएको थियो । त्यसपछि दुई पटक म्याद थप भइसकेको छ । 

पर्यटकीय हब बन्दै मुस्ताङको मार्फा

मुस्ताङ, १९ चैत : मुस्ताङको मार्फा भन्ने वित्तिकै त्यहाँ स्याउको बगान । पुराना प्राचीन घरहरू । गाउँभित्र साँघुरो गल्ली र त्यसभित्र चाहार्दै जाँदा एक दर्जन बढी शाखा गल्लीगल्ली । त्यही जैविक तथा सांस्कृतिक विविधताले भरिएको छ मुस्ताङको मार्फा ।

यही पृष्ठभूमिलाई समेट्दै त्यही गाउँ जन्मिएकी एक सर्जक स्वर्गाीय बसन्ती लालचनले तीन दशक अघि ‘क्या राम्रो स्याउ बारी मार्फा गावैमा’ गीत रचना गरेकी थिइन् । ज्योति गुरूङको स्वर रहेको त्यही गीतले नेपालभरी मार्फालाई गुञ्जायो, त्यसपछि त मुस्ताङको मार्फा नआउने पनि मुस्ताङमा मार्फा गाउँ छ भन्ने थाहा पाए ।

आजभोलि सडक सञ्जाल सहज हुँदै जान थालेपछि मुस्ताङको मार्फा गाउँ नपस्ने कुनै पर्यटक हुँदैनन् । सडकमार्गमा सवारी रोकेर मार्फा गाउँमा लुकेर रहेको भौतिक तथा सांस्कृतिक सम्पदा नियाल्न पर्यटक घण्टौँ बिताउँछन् ।

क्या राम्रो स्याउबारी मार्फा गावैमा गीतले भने जस्तै अहिले मार्फा गाउँको स्याउ बगानमा स्याउ देख्न पाइँदैन । पुस र माघ महिनामा स्याउ बगैँचा व्यवस्थापन गरिएका यहाँका स्याउ बगानमा स्याउको फूल फूल्ने तयारीमा छ । बर्सेनि असोज कात्तिकमा स्याउ बगान ‘पोस्ट हार्भेस्ट’ गरिसकेपछि यहाँ स्याउ बगान उजाडमय हुन्छन् । बर्सेनि भदौदेखि असोज र कात्तिक महिनामा मुस्ताङ आउने पर्यटकले मुस्ताङको मार्फा स्याउ बगानमा लटरम्म स्याउ फलेको देख्न सक्छन् ।

हिउँदयाम सकिँदै गर्दा र वसन्त ऋतुको आगमनसँगै मुस्ताङको मार्फा गाउँमा आन्तरिक पर्यटकको उपस्थिति थेगिनसक्नु छ । राष्ट्रिय गौरवको (बेनी—जोमसोम) सडक नजिकै पर्ने मार्फा गाउँमा त्यहाँको पुरानो मौलिक कलासंस्कृति र त्यहाँका प्राचीन घरको संरचना र त्यही घर भित्रभित्र रहेको साँघुरो गोरेटो गल्ली बाटो पुग्ने पर्यटकका यो निकै अविष्मरणीय क्षण हुनेछ । मुख्य सडकमार्गबाट पश्चिम करिब दुई सय मिटरको भिरालो सतहमा अवस्थित मुस्ताङको मार्फा गाउँमा प्रत्येक दिन दिउँसोदेखि साँझसम्मै पर्यटकको निकै बाक्लो भीडभाड रहन्छ ।

सडकमार्ग स्तरोन्नति र विस्तारले मुस्ताङको मार्फा गाउँको पर्यटकीय गतिविधिलाई झनै चलाएमान बनाइदिएको छ । मुक्तिनाथ दर्शन र कोरलानाका पुगेर फर्किएका पर्यटक एक पटक मार्फा गाउँको अवलोकन गर्न छुटाउँदैनन् ।

सूर्य विनायक नगरपालिका भक्तपुरबाट मुक्तिनाथ दर्शन गर्न परिवारका सदस्यसहित मुस्ताङ आएका बलराम गौतम मुस्ताङको मार्फा गाउँको सांस्कृतिक सम्पदा देखेर आफू मोहित भएको बताउनुभयो । पहिलो पटक मुस्ताङ आएका गौतमले मार्फा गाउँको परम्परागत सदियाँै वर्ष पुराना, ढुङ्गा र माटोले बनेका घर, प्रत्येक घरका छतमाथि राखिएका दाउराको चाङ र अनि गाउँभित्रको साँघुरो गोरेटो गल्ली चाहार्दा निकै आनन्दित तुल्याएको अनुभूति सुनाउनुभयो । ‘मार्फा गाउँको मुख्य विशेषता भनेका यहाँको प्राचीन घर र साँघुरो गल्ली रहेछ’ उहाँले भन्नुभयो, “साँघुरो गल्लीभित्र होटल र समथिङ पसलनै रहेछन्, सडकमार्गमै पर्ने भएकाले यहाँ घुम्न निकै सजिलो पनि रहेछ ।”

मुस्ताङको मार्फा गाउँमा करिब एक सय भन्दाबढी घरधुरी छन् । जहाँका स्थानीयले कृषि र पर्यटन व्यवसाय अपनाएको पाइन्छ । स्याउ लगायतका अन्नबाली उत्पादन गरेर मनग्ये आम्दानी गर्ने मार्फाली समुदायले पर्यटन व्यवसायलाई पनि मुख्य आम्दानीको रूपमा व्यवसाय चलाउँदै आइरहेका छन् । बर्सेनि पर्यटक आगमन बढेसँगै पछिल्लो समय बेनी—जोमसोम मुख्य सडकमा स्याउ बगैँचा मासेर कङ्क्रिट होटल निर्माण गर्नेसमेत होडबाजी चलेको छ । मार्फा गाउँको पुरानो भौतिक संरचना मासिन नहुने घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचन बताउनुभयो ।

सडकमार्गमा कङ्क्रिट घर बनेपनि मार्फाको प्राचीन बस्तीको भौतिक तथा सास्ंकृतिक संरचना मासिएमा मार्फा गाउँको अस्तित्व सङ्कटमा पर्ने गाउँपालिका अध्यक्ष लालचनको भनाइ छ । मुस्ताङको पर्यटकीय गाउँ मार्फाको मुख्य सडकमार्गबाट अलग्गिएर गाउँतर्फ मोडिएर करिब पाँच सय मिटर बढी साँघुरो गल्लीमा पैदलयात्रा गरेपछि उत्तरतर्फको मुख्य राजमार्ग सडकमा निस्किन सकिन्छ । त्यहाँको भिरालो सतहमा एकआपसमा लस्करै जोडिएका प्राचीन घरभित्र दर्जनौँ शाखा गल्ली छन् । मार्फा र यहाँको साँघुरो गल्लीभित्र दर्जनौँ स्वदेशी तथा विदेश चलचित्र र म्युजिक भिडियो सार्वजनिक भइसकेको छ ।

यहाँ छायाँङ्कन भइसकेका चलचित्र, म्युजिक भिडियो र सामाजिक सञ्जालमा पोष्ट भएका दृष्यहरूले मार्फा गाउँको पर्यटनलाई थप उचाइमा पुर्‍याएको छ ।

पोखराबाट पहिलो पटक मुस्ताङ आउनुभएका सुरज कुँवरले मार्फा गाउँको सांस्कृतिक सौन्दर्यता अद्भूत भएको बताउनुभयो । “हामीले बजारमा यस प्रकार सांस्कृतिक विविधता देख्न पाएका थिएनौँ, जुन यहाँ प्रत्यक्ष साक्षात्कार गर्न पाईयो”, कुँवरले थप्नुभयो, “साँच्चै मुस्ताङको मार्फा गाउँ पुरानो सांस्कृतिक विविधतायुक्त पुरानो नेपाल देख्न पाइयो ।” उहाँले मार्फा गाउँ सम्बन्धिको ‘क्या राम्रो स्याउ बारी’ भन्ने गीत सानै छँदा सुनेपनि बमौसममा आएकाले स्याउ फलेको दृष्य देख्न नपाइएको बताउनुभयो । मार्फा गाउँभित्र एक दर्जन बढी साँघुरा शाखा गल्ली छन् । मार्फा गाउँलाई थप पर्यटन प्रवर्द्धन गर्नका लागि पछिल्लो समय त्यहाँका गल्लीलाई विभिन्न प्रकारले नामाकरण गरिएको छ ।

त्यहाँका शाखा गल्लीमा कतिपयलाई चलचित्रको नामसँग जोडिएको छ । मार्फा गाउँभित्र जेरी गल्ली, कबड्डी गल्ली, टिकटक गल्ली र झाँक्री गल्ली लगायतका विभिन्न नामले गल्लीको परिचय खुल्ने गरी स्याउ आकृतिको साइनबोर्ड टाँसिएको छ ।

मार्फा गाउँभित्र चाहार्ने पर्यटकका लागि स्थानीय थकाली, गुरूङ र तिब्बतीय संस्कृति झल्किने मौलिक पोसाक लगाएर फोटो भिडियो खिच्न पाइने व्यवस्था मिलाइएको छ । मार्फा गाउँमा साँझपख स्थानीय मौलिक पोसाक लगाएर फोटो खिच्न पर्यटक लालायित हुने गर्छन् । साँघुरो गल्लीमा पर्यटकको गुल्जार हुँदा एकआपसमा ठोक्किँन पुग्छन् ।

मुस्ताङको मार्फा गाउँभित्र एक बौद्ध धार्मिक गुम्बा छ । गाउँभित्रै जापानीज भिक्षु इकाई कावागुची बसेको पाँच सय वर्ष पुरानो घर छ । गाउँ नजिकैको एक थुम्कोमा घरपझोङ गाउँपालिकाले एप्पल पार्कसमेत निर्माण गरिसकेको छ । साँझपखको समयमा सडक बत्तीको उज्यालोले मार्फा गाउँको सौन्दर्यतालाई थप उजागर गरिदिन्छ ।

मार्फा गाउँमाथिको अग्लो पहाडसँगै जोडिएको गुफामा पुगेर त्यहाँको परिदृष्य अवलोकन गर्न सकिन्छ । मार्फा गाउँमा आधा दर्जन स्याउबाट बनाइने ब्राण्डी उत्पादन गर्ने प्रशोधित डिस्टिलरी छन् । मार्फामा नेपाल सरकारको स्वामित्वमा रहेको शीतोष्ण बागबानी विकास केन्द्र नामक कृषि फार्म छ । जसले मुस्ताङका किसानलाई कृषिखेती सिकाउने र बिरूवा उत्पादन गरेर सेवा पुर्‍याइ रहेको छ ।

बागमती प्रदेशसभा बैठक स्थगित

मकवानपुर, १९ चैत : सत्तापक्ष र प्रतिपक्ष दलहरूबीच बजेटमाथिको विवाद टुङ्गो नलागेका कारण आज दिउँसो १ बजेका लागि बोलाइएको बागमती प्रदेशसभाको बैठक साँझ ७ बजेतिर सूचना टाँसेर स्थगित भएको छ ।

प्रदेशसभा बैठक सूचना टाँस गरेर बुधबार दिउँसो १ बजेसम्मका लागि स्थगन गरिएको हो । आज दिउँसो १ बजेका लागि आह्वान भएको प्रदेशसभा बैठक सत्तापक्ष र प्रतिपक्षी दलहरूबीच सहमति हुन नसक्दा दिउँसो ४ बजेसम्मका लागि सारिएको थियो । ४ बजे आह्वान गरिएको बैठक बस्ने अवस्था नरहेपछि साँझ ७ बजे सूचना टाँस गरेर बुधबार १ बजेका लागि बैठक स्थगित गरिएको हो । 

आज बसेको प्रदेशसभामा प्रतिनिधित्व गर्ने ७ दलको बैठकपछिको कार्यव्यवस्था परामर्श समितिको बैठकले बुधबार १ बजेसम्मका लागि बैठक सार्ने निर्णय गरेको प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले जानकारी दिनुभयो ।

सरकारले विगतमा गरेका सहमतिलाई कार्यान्वयनमा ल्याउनुपर्ने अडान राख्दै प्रतिपक्ष दलहरूले बैठक अवरुद्ध गर्ने चेतावनी यसअघि दिँदै आएका थिए । मङ्गलबार बिनाअवरोध बैठक सञ्चालनका लागि सभामुख पाठकले बिहान ८ बजे सर्वदलीय बैठक आह्वान गर्नुभएको थियो । दलहरूबीचको लामो छलफलपश्चात् बेलुकी ७ बजेसम्म पनि सहमति जुट्न नसक्दा बैठक स्थगित भएको हो ।

सरकार र प्रतिपक्षबीच विगतमा भएका सहमति कार्यान्वयनका लागि प्रतिपक्षीले जोड दिँदै आएको राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता उद्धव थापाले बताउनुभयो । 

केही समयअघि बागमती प्रदेशका सहकारीमन्त्री मदुकुमार श्रेष्ठका स्वकीयको आत्महत्याको विषय छानबिनका लागि संसदीय छानबिन समिति गठन गरिनुपर्ने माग प्रतिपक्ष दल एकीकृत समाजवादीका संसदीय दलका नेता कृष्णप्रसाद शर्मा खनालले बताउनुभयो ।

प्रदेशसभा सभामुख पाठकका अनुसार दलहरूबीच विगतको बजेटमाथिको सहमतिका विषय समेट्ने सहमति बनेको र सोहीअनुसार बैठक आह्वान गरिएको हो । बैठकमा प्रदेशसभाका समितिमा तयार भएका संशोधन विधेयकका प्रतिवेदनहरू पेस हुने कार्यसूची रहेको थियो ।

विधेयकका प्रतिवेदनहरूलाई छलफल गरेर पारित गर्नुपर्ने भएकाले केही दिन प्रदेशसभा चलाउने गरी विषेश समयको कार्यसूची राखेर बैठक सञ्चालन गरिने सभामुख पाठकको भनाइ छ । 

पर्वतको लेखफाँटमा ट्र्याक्टर दुर्घटना हुँदा १५ वर्षीय किशोरको मृत्यु, चालक गम्भीर

पर्वत, १९ चैत : पर्वतको जलजला गाउँपालिका वडा नं ५ लेखफाँटमा आज भएको ट्र्याक्टर दुर्घटनामा परी १५ वर्षीय एक किशोरको घटनास्थलमै ज्यान गएको छ ।
दुर्घटनामा परी जलजला गाउँपालिका–५ गिद्धेश्वरका १५ वर्षीय रोशन परियारको घटनास्थलमै मृत्यु भएको हो भने ट्र्याक्टर चालक सोही स्थानका २० वर्षीय अनिल रेग्मीको अवस्था गम्भीर रहेको छ ।

लेखफाँटको गिद्धेश्वरबाट गैरीगाउँतर्फ जाँदै गरेको ग१त २२६० नम्बरको खाली ट्र्याक्टर सडकदेखि एक सय मिटर तल भिरमा खसेर दुर्घटना भएको हो । घाइते रेग्मीलाई थप उपचारका लागि प्रदेश अस्पताल म्याग्दी पठाइएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक रामप्रसाद सापकोटाले जानकारी दिनुभयो । 

घटनाका बारेमा बारीबेनी प्रहरी चौकीबाट पुगेको प्रहरीको टोलीले अनुसन्धान गरिरहेको सापकोटाले बताउनुभयो । चालकले नियन्त्रण गुमाउँदा दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान रहेको छ । 

परोपकारी सेवा समितिले मृगौला पिडितलाई गर्यो सात लाख रुपैयाँ सहयोग

गल्याङ । परोपकारी सेवा समितिले मृगौला पिडितलाई सात लाख रुपैयाँ सहयोग गरेको छ । स्याङ्जाको गल्याङ नगरपालिका ७ पट्काङमा रहेको परोपकार सेवा समितीले संचालन गरेको ‘किड्नि पिडित रोमलाल थापा बचाउं अभियान’ अन्तर्गत एक महिनामा नै करिब ७ लाख सहयोग रकम संकलन गरी पिडितलाई हस्तान्तरण गरिएको हो ।

सहयोगी मनहरुबाट संकलित रकम परोपकार सेवा समितिले शनिवार पिडितको घरमा नै पुगेर हस्तान्तरण गरेको छ ।
पिडितको घरमा बिशेष कार्यक्रम आयोजना गरी संस्थाका पदाधिकारीहरु ,पत्रकार ,बुद्धिजिबि समाजसेवि, एवम् गाउँवासीहरुको उपस्थितिमा ७ लाख बराबरको चेक हस्तान्तरण गरेको हो ।

कार्यक्रममा समाजसेवी तथा शिक्षक श्याम प्रसाद भट्टराले परोपकारी सेवा समिति नाम जस्तै परोपकारी रहेको बताउनुभयो । उहाँले समस्या जो सुकैलाई पर्न सक्ने भन्दै समस्या परेको अवस्थामा एकले अर्कोलाई यसरी नै सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा समाजसेवी, नारायण पान्डे , शिक्षक तथा संस्थाका कोषाध्यक्ष ज्ञान प्रसाद अधिकारी, हिमलाल अधिकारी, गोपि कृष्ण पान्डे कर्ण बहादुर थापा, पदम थापा, टिकाराम अधिकारी लगायतले परोपकारी सेवा समितिबाट बिपत र अप्ठ्यारोमा परेकोलाई गरेको सेवाप्रति प्रशंसा व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा बोल्ने बक्ताहरुले आगामी दिनमा पनि यस्तै रचनात्मक काम गर्ने सुझाव समेत दिनुभएको छ । सहयोग हस्तान्तरण कार्यक्रममा मृगौला पीडित रोमलाल थापाले संस्थाले गरेको सहयोग प्रति आफू सधैं ऋणी रहेको भन्दै संस्थाले गरेको कामलाई मुक्तकण्ठले प्रसंसा गर्नु भएको थियो

अभियानलाइ सफल बनाउनको लागि संस्थाका महासचिव दीपक अधिकारी लगायत कोरियामा कार्यरत जुझारु टिम महेन्द्र सापकोटा,नारायण अधिकारी,रमेश अधिकारी,कपिल भट्टराई,सुनिल अधिकारी,विनोद थापा अमेरिकाबाट संस्थाका अध्यक्ष शिव अधिकारी ,मलेशियाबाट श्याम थापा,दुबैबाट किसान थापा,गोपाल भट्टराई नेपाल र अन्य ठाउँबाट संस्थाका उपाध्यक्ष सुनिल भट्टराई,सचिव हरी अधिकारी,वीरेन्द्र भट्टराई,ज्ञान प्रसाद अधिकारी,हिमलाल अधिकारी,श्याम प्रसाद भट्टराई लगायत सम्पूर्ण सहयोगीहरूको महत्वपूर्ण योगदान रहेको छ।


  • हाल संस्थाका अध्यक्ष शिब अधिकारी अमेरिकामा र महासचिव दिपक अधिकारी दक्षिण कोरियामा हुनुहुन्छ ।उहाँहरु देश बाहिर भएपनी रकम संकलन र कार्यक्रमको तयारीमा समाजिक संन्जाल र अन्लाईन मार्फत निकै महत्त्वपूर्ण भुमिका खेल्नु भएको संस्थाका सचिब हरि अधिकारीले जानकारी दिनुभयो ।सुनिल भट्टराईको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन संस्थाका सचीव हरि अधिकारीले गर्नुभएको थियो ।

कर्णाली प्रदेशसभाको हिउँदे अधिवेशनबाट सात विधेयक पारित

भेरीगङ्गा (सुर्खेत), १९ चैत : कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको पाँचौँ अधिवेशनबाट सात वटा विधेयक पारित भएको छ । प्रदेशसभा सचिवालयका अनुसार हिउँदे अधिवेशनबाट विभिन्न सातवटा विधेयक पारित भएको हो ।

कर्णाली प्रदेशको विद्युत् सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, कर्णाली प्रदेश सवारी तथा यातायात सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८१, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सभाबाट पारित भएको प्रदेशसभा सचिवालयका सचिव जीवराज बुढाथोकीले जानकारी दिनुभयो ।

यस्तै, कर्णाली प्रदेश प्रहरी सेवा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, कर्णाली प्रदेश निजामती सेवा (पहिलो संशोधन) विद्येयक २०८१ दलित समुदायको सशक्तिकरण र जीवनस्तर प्रवर्द्धन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र कर्णाली प्रदेश बीउ, बिजनसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक पारित भएको बुढाथोकीले जानकारी दिनुभयो ।

सरकारले कर्णाली प्रदेश खेलकुद विकास ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक भने फिर्ता लिएको छ । केही अपुग रहेको भन्दै यो विधेयक फिर्ता लिइएको सरकारले जनाएको छ । योसँगै प्रदेशसभाको पाँचौँ अधिवेशन रातिदेखि अन्त्य गरिएको छ ।

सभामुख नन्दा गुरूङले प्रदेश प्रमुखले पठाएको पत्र वाचन गर्दै अधिवेशन अन्त्य गरिएको घोषणा गर्नुभयो । ‎‎पाँचौँ अधिवेशनको पहिलो बैठक माघ ७ गते बसेको थियो भने यो अधिवेशनमा ३१ वटा बैठक बसेका थिए ।

उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिम सम्पन्न

काठमाडौँ, १९ चैत: रक्षा मन्त्रालय र नेपाली सेनाको सहकार्यमा यही चैत ३ गतेदेखि सैनिक कमाण्ड तथा स्टाफ कलेज शिवपुरीमा सञ्चालन भएको उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिम आज सम्पन्न भएको छ ।

तालिममा विभिन्न मन्त्रालय, संवैधानिक निकाय, विश्वविद्यालय, सञ्चार जगत्, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल एवं राष्ट्रिय अनुसन्धान विभागबाट गरी २९ जना सम्मिलित हुनुहुन्थ्यो ।

तालिमको समापन समारोहमा रक्षामन्त्री मानवीर राईले नेपालको संविधानले निर्देशित गरेको स्वतन्त्रता, भौगोलिक अखण्डता र राष्ट्रिय एकतालाई अक्षुण्ण राख्दै राष्ट्रिय सुरक्षा प्रणालीलाई विकास गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले बहुजाति, धर्म, भाषा, संस्कृति र सम्प्रदायहरूमा पारस्परिक सद्भाव, सहिष्णुता र ऐक्यबद्धता कायम गर्दै सुरक्षा प्रणालीलाई सुदृढ गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

प्रधानसेनापति अशोकराज सिग्देलले यस किसिमको तालिमबाट राष्ट्रिय सुरक्षाका क्षेत्रमा विभिन्न निकायबीच सहकार्य र समन्वय भई एकीकृत प्रयासमा साझा धारणा निर्माण हुने उल्लेख गर्नुभयो । उहाँले तालिमबाट सुरक्षा नीतिहरूको सफल कार्यान्वयन गर्न गराउन महत्वपूर्ण भूमिका निर्वाह हुने विश्वास व्यक्त गर्नुभयो ।

सैनिक कमाण्ड तथा स्टाफ कलेजका शिक्षाध्यक्ष उपरथी चोकबहादुर ढकालको स्वागत मन्तव्यबाट सुरु भएको समापन समारोहमा पूर्व प्रदेश प्रमुख, पूर्वप्रधानसेनापति, विभिन्न मन्त्रालयका सचिव, बलाधिकृत रथी, बलाध्यक्ष रथी, रथीवृन्द, अन्य सुरक्षा निकायका प्रतिनिधिहरू, अधिकृत तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो ।

तालिमका क्रममा चैत १४ गते राज्य सञ्चालनमा सू–शासनका संयन्त्रहरू र नेपालको वर्तमान अवस्था विषयक राष्ट्रियस्तरको एक दिवसीय उच्चस्तरीय सेमिनारसमेत सञ्चालन गरिएको थियो । राष्ट्रिय सुरक्षा र बृहत्तर राष्ट्रिय हितका आयामहरूबारे ज्ञान र बुझाइमा एकरुपता कायम होस् भन्ने उद्देश्यले विसं २०७२ देखि सुरु भएको यस तालिमबाट हालसम्म २५२ जना प्रशिक्षित भइसकेका छन् ।  

नेपाल सुपर लिग फुटबलमा धनगढी एफसीको जित

काठमाडौँ, १९ चैत: अहमद हिजाजीको दुई गोलसँगै साविक विजेता धनगढी एफसीले नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगितामा विजयी सुरुआत गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा धनगढीले बुटवल लुम्बिनी एफसीलाई ४–१ गोलअन्तरले पराजित गर्दै विजयी भएको हो । यस जितसँगै धनगढीले पहिलो खेलमै तीन अङ्क बटुलेको छ । बुटवलको भने यो पहिलो हार हो । बुटवलले यसअघि झापा एफसीसँग गोलरहित बराबरी खेलेको थियो ।

धनगढीको जितमा हिजालीबाहेक कृतिशरत्न छुन्जु र जर्जप्रिन्स कार्कीले समान एक÷एक गोल थपे । यता बुटवलका लागि केन्टा हाराले एक गोल फर्काए । खेलको छैटौँ मिनेटमै हिजाजीले धनगढीलाई सुरुआती अग्रता दिलाए ।  त्यसपछि खेलको ३१औँ मिनेटमा बुटवलका केन्टाले गोल गर्दै खेललाई एक÷एक गोलको बराबरीमा ल्याए । 

खेलको ७५औँ मिनेटमा धनगढीका मार्की प्लेयर कृतिशरत्नले अग्रता दोब्बर बनाए । त्यसपछि खेलको दोस्रो हाफको अतिरिक्त समयमा हिजाजीले अर्को गोल थपे । खेल सकिन केही समय बाँकी रहँदा धनगढीका जर्जप्रिन्सले अर्को गोल थप्दै ४–१