`

साउदी अरेबियामा शेख सालेह बिन फावजान अल–फावजान नयाँ ग्रान्ड मुफ्ती नियुक्त

Nepal One HD ६ कार्तिक २०८२ १८:४१
विश्व

दुबई, ६ कात्तिक। साउदी अरेबियाले बुधबार राति एक वरिष्ठ अति रूढीवादी इस्लामिक विद्वान शेख सालेह बिन फावजान अल–फावजानलाई देशको नयाँ ग्रान्ड मुफ्ती, अर्थात् राज्यको सर्वोच्च धार्मिक विद्वानका रूपमा नियुक्त गरेको छ ।

९० वर्षका शेख सालेहले औपचारिक रूपमा पद सम्हाल्नुभएको सरकारी साउदी प्रेस एजेन्सी (एसपिए) ले जनाएको छ । उहाँको नियुक्ति राजा सलमान बिन अब्दुलअजिज अल साउदले आफ्ना पुत्र क्राउन प्रिन्स मोहम्मद बिन सलमानको सिफारिसका आधारमा गरेका हुन् ।

शेख सालेहको जन्म सन् १९३५ सेप्टेम्बर २८ मा साउदी अरबको अल–कासिम प्रान्तमा भएको हो । बाल्यकालमै पिताको देहावसान भएपछि उनले स्थानीय इमामसँग कुरान अध्ययन गरेका थिए । इस्लामिक शिक्षामा पारङ्गत शेख सालेह पछि ‘नूर अला अल–दर्ब’ (अर्थात् ‘मार्गमा प्रकाश’) नामक रेडियो कार्यक्रममार्फत प्रसिद्ध भए । साथै उनका धार्मिक पुस्तकहरू, टेलिभिजन कार्यक्रमहरू र सामाजिक सञ्जालमार्फत प्रसारित फतवाहरूले उनलाई विश्वभरका सुन्नी समुदायबीच एक प्रमुख इस्लामिक विद्वानका रूपमा स्थापित ग¥यो ।

यद्यपि, शेख सालेहका केही बयानहरूलाई पश्चिमी मिडियाले समय–समयमा विवादास्पद ठहर गरेको छ । सन् २०१७ मा ह्युमन राइट्स वाच (एचआरडब्लु) ले उनको एउटा अभिव्यक्तिलाई उद्धृत गर्दै बताएको थियो कि सुन्नी मुसलमानहरूले सिया समुदायलाई ‘शैतानका भाइहरू’ भनेका थिए । उनले त्यसबेला भनेका थिए, “सिया समुदायले भगवान, उनका अगमवक्ता र मुस्लिमहरूको सहमतिबारे झूट बोल्छन् । उनीहरूको अविश्वासमा कुनै शङ्का छैन ।”

विशेषतः साउदी अरेबिया र इरानबीचको दीर्घकालीन राजनीतिक र धार्मिक प्रतिस्पर्धाको पृष्ठभूमिमा साउदी धार्मिक नेताहरूबाट यस्ता टिप्पणीहरू असामान्य होइनन् । शेख सालेहले यमनका हुथी विद्रोहीहरूले मक्का र मदीनाजस्ता पवित्र स्थलहरूतर्फ क्षेप्यास्त्र प्रहार गरेको घटनाको पनि तीव्र निन्दा गरेका थिए ।

सन् २००३ मा शेख सालेहलाई उद्धृत गर्दै भनिएको थियो, “दासत्व इस्लामको एक अङ्ग हो । यो जिहादको हिस्सा हो र जबसम्म इस्लाम रहन्छ, तबसम्म जिहाद रहिरहनेछ ।”

साथै सन् २०१६ मा उनले मोबाइल गेम ‘पोकेमोन गो’ लाई ‘जुवाको रूप’ भन्दै त्यसमा प्रतिबन्ध लगाउने फतवा जारी गरेका थिए । विडम्बनापूर्वक, अहिले साउदी अरबले निन्टेन्डो र ‘पोकेमोन गो’ निर्माता नियान्टिकको गेमिङ शाखामा ठूलो लगानी गरेको छ ।

शेख सालेहले दिवङ्गत ग्रान्ड मुफ्ती शेख अब्दुलआजिज बिन अब्दुल्लाह अल–शेखको स्थान लिएका हुन् । शेख अब्दुलआजिजको गत सेप्टेम्बरमा निधन भएको थियो । शेख अब्दुलआजिज करिब २५ वर्षसम्म साउदी अरेबियाको ग्रान्ड मुफ्तीका रूपमा कार्यरत रहेका थिए ।

साउदी धार्मिक प्रतिष्ठानमा अल–शेख परिवारको ऐतिहासिक वर्चस्व रहँदै आएको छ । यो परिवार १८औँ शताब्दीका इस्लामिक सुधारक शेख मोहम्मद इब्न अब्दुल–वहाबका सन्तान हुन् । उनका अति रूढीवादी शिक्षाहरू—जसलाई पछि ‘वहाबियत’ भनेर चिनियो—ले साउदी अरेबियाको धार्मिक तथा राजनीतिक नीतिलाई दशकौँसम्म मार्गदर्शन गरेको थियो । इरानको १९७९ को इस्लामिक क्रान्तिपछि साउदी अरेबियाको धार्मिक नीति झनै कठोर बनेको इतिहास छ ।

ग्रान्ड मुफ्ती सुन्नी इस्लामिक संसारका सबैभन्दा उच्च धार्मिक पदमध्ये एक हो । मक्का र मदीनाजस्ता पवित्र सहरहरू रहेको साउदी अरेबियामा हरेक वर्ष विश्वभरका लाखौँ मुस्लिम तीर्थयात्री हज गर्न आउने गर्छन् र उनीहरूले ग्रान्ड मुफ्तीका फतवा तथा धार्मिक घोषणाहरूलाई नजिकबाट पछ्याउने गर्छन् ।

हालका वर्षहरूमा साउदी अरेबियाले राजा सलमान र क्राउन प्रिन्स मोहम्मद बिन सलमानको नेतृत्वमा सामाजिक उदारीकरणको दिशा लिएको छ । महिलालाई चलचित्र गृह सञ्चालन गर्न अनुमति, खेलकुद र मनोरञ्जन क्षेत्रमा भाग लिन प्रोत्साहन र अर्थतन्त्रलाई तेल उद्योगको निर्भरता घटाउँदै विविधीकरण गर्ने प्रयासहरू त्यसका उदाहरण हुन् ।

तर, यस्ता सुधारका बीचमा शेख सालेहजस्ता अति परम्परावादी विद्वानको पुनः नियुक्तिले साउदी अरेबियाको धार्मिक संस्थान अझै परम्परागत धारमा आधारित रहेको सङ्केत गर्छ ।

यस नियुक्तिसँगै, ९० वर्षीय शेख सालेह बिन फावजान अल–फावजान अब साउदी अरेबियाका सर्वोच्च इस्लामिक धार्मिक पदाधिकारीका रूपमा कार्यरत हुनेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *