`

राजावादीले जलाएकाे ‘सञ्चो’ बनाउने जडीबुटी कम्पनीमा २८ करोड क्षति, कहिले बौरिन्छ?

काठमाडौँ, १९ चैतः ‘सञ्चो’ भनेर धेरै नेपालीलाई थाहा छ तर उत्पादक संस्थाबारे कतिपयलाई थाहा नहुन सक्छ । कम्पनिले अन्य विविध उत्पादनहरू गरिरहे पनि ‘सञ्चो’ एक स्थापित ‘ब्रान्ड’ नै भइसकेको थियो । जसले उत्पादक कम्पनीबारे पनि आमनागरिकमा एउटा छाप छोड्दै थियो । यसका पछाडि वर्षौदेखि संस्था र सरकारका लगानी तथा मेहेनत छ । विडम्बना, त्यही संस्था गत शुक्रबारदेखि भग्नावशेषमा परिणत भएको छ । पूर्वराजा ज्ञानेन्द्र शाह पक्षधर प्रदर्शनकारीले आगजनी गर्दा कोटेश्वरस्थित जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड खण्डहर बनेको हो ।

भवन खण्डहर छ । त्यहाँ रहेका उपकरण र अन्य सामग्री जलेर खरानी भएका छन् । ‘गुड म्यानुफ्याक्चरिङ प्राक्टिस’(जिएमपी) सुविधासहितका दुई वटा भवनमा क्षति पुग्नाका साथै औषधि उत्पादनमा प्रयोग हुने कच्चापदार्थ, उपकरण, फर्निचर, कागजातल, प्याकेजिङलगायत सामग्री जलेर खरानी भएका छन् । प्रारम्भिक विश्लेषणअनुसार आगजनीबाट रु २८ करोड बराबरको क्षति हुन पुगेको छ ।

हाल त्यही खण्डहर भवनमा रहेका भग्नावशेष र खरानी पन्छाउने काम जारी छ । त्यो दिन सम्झिँदा कम्पनीकी महाप्रबन्धक सङ्गीता यादवको मन भक्कानिन्छ । जनमानसमा ‘सञ्चो’उत्पादन गर्ने संस्थाका रूपमा चिनिएको यस कम्पनीलाई आफ्नै आँखा अगाडि खरानी भएको देख्दा उहाँको मन रोएको छ ।  महाप्रबन्धक यादव भन्नुहुन्छ, “मैले आफैँले त्यो नयाँ मेसिन राखेको थिएँ । अब यो लेभलसम्म आयो भनेर कति खुसी थियाँैँ तर आँखा अगाडि नै त्यो सबै संरचना जलेको देख्दा आँखाबाट आँसु नै आयो । मन थाम्न सकिँन । यस्तो हुन पुग्यो ।”

जिएमपीअनुसार सञ्चालन गरिएको भवनलगायत स्वचालित उपकरणहरू जलेर ध्वस्त हुँदा उत्पादन ठप्प छ । यद्यपि चाँडै नै कम्पनी पुरानै अवस्थामा फर्किने आशामा रहेको महाप्रबन्धक यादवको विश्वास छ । उहाँले भन्नुभयो, “सबै जलेर खरानीमा परिणत भएको छ । कम्पनी फेरि सुरुआत गर्नु त पर्छ तर सुरुआती चरणमा म्यानुअल(हातबाट) फिलिङमै जानुपर्ने भयो । कम्पनी विविध चुनौतीका बीच एक लेभलमा अगाडि बढिरहेको थियो, शाखा पनि विस्तार गरिसकेका थियौँ । हामी सबै कर्मचारी उत्साहित थियौँ तर हुलदङ्गाको चपेटामा परेर सबै गुम्यो । अब सरकारले यसलाई गम्भीर भएर सोचिदिनुपर्छ ।”

पहिलाकै अवस्थामा कम्पनीलाई ल्याउन कठिन भए पनि प्रयास र समन्वय भइरहेको छ । कम्पनीले देशभरिमा रहेका शाखा कार्यालयबाट उत्पादन सुरु गर्ने लक्ष्य राखेको छ । “यो संस्था अप्रिय दुर्घटनाको सिकार हुन पुग्यो । सातवटै प्रदेशमा शाखा राख्ने भनेर विभिन्न ठाउँमा काम भइसकेको छ । लुम्बिनी प्रदेशमा मात्र जान बाँकी थियो । जाजरकोटमा पनि हालैमात्र शाखा विस्तार गरेका थियौँ । गोरखामा पनि सुरु गर्ने तयारी थियो । अब जिल्लामा रहेका शाखाबाट उत्पादन गर्ने कोशिस गर्छौं तर जति माग थियो त्यसलाई भने धान्न सकिँदैन”, महाप्रबन्धक  यादवले भन्नुभयो ।

उहाँका अनुसार अस्थायी संरचना तयार गरेर भएपनि उत्पादन सुरु गर्ने र यसका लागि सम्बन्धित निकायको ध्यानाकर्षण हुनुपर्छ । यादवले भन्नुभयो, “छानविन आफ्नो ठाउँमा छ । आफ्नो तर्फबाट सम्बन्धित निकायसँग पहल गरिरहेका छौँ । व्यवसाय गर्ने संस्था हो । आफैँ कमाउने आफँै खाने संस्था हो । अर्थतन्त्रमा यसको पनि योगदान हुन्छ । त्यसैले उत्पादन रोकिनुहुन्न । आशा छ हामी चाँडै बौरिने छौँ । सञ्चोको उत्पादन पुनः हुनुपर्छ भनेर लागिरहेका छौँ, यसमा सबैबाट सहयोग पाउने छौँ ।”

विसं २०३८ मा स्थापित सरकारको स्वामित्व भएको यो कम्पनीले विभिन्न औषधियुक्त एवं सुगन्धित जडीबुटीहरूको सङ्कलन र प्रशोधन गर्दै आएको छ । कम्पनीले सञ्चो, भिक्स, हिमालय मसाज तेल, सञ्चो जटा केश तेललगायत उत्पादन गर्दै आएको छ । 

घुमाउने पुल निर्माण, १० वर्षमा ३० प्रतिशत मात्रै भौतिक प्रगति

तनहुँ, १९ चैत : चितवन र तनहुँ जोड्ने घुमाउनेस्थित त्रिशूली नदीमाथि निर्माणाधीन मोटरेवल पुलको १० वर्षको अवधिमा ३० प्रतिशत मात्रै भौतिक प्रगति भएको छ ।
विसं २०७१ असारमा तीन वर्षभित्र सम्पन्न गर्नेगरी सम्झौता भएको पुलको फाउन्डेशनकै चरणमा छ । अहिलेसम्म दुईतिरको भागमा पिल्लर मात्रै ठडिएको छ । पुल निर्माण नहुँदा गण्डकी प्रदेशको राजधानी पोखरालाई तराईसँग पृथ्वीराजमार्गको विकल्पका रूपमा जोड्ने छोटो दूरीको मार्ग सञ्चालनमा ल्याउन पाइएको छैन ।

सडक डिभिजन कार्यालयको सम्झौताअनुसार काम नभए निर्माण कम्पनीलाई कालोसूचीमा राख्न पटक–पटक माग गर्दै आए पनि खुरूखुरू म्याद थप गर्दै काम भएको बुद्धसिंह मार्ग पुल निर्माण सङघर्ष समितिका अध्यक्ष सिद्धान्त थापाले बताउनुभयो ।

पुल निर्माणमा दबाब दिने उद्देश्यले गठित सङ्घर्ष समितिले उक्त घुमाउनेको पुलको निर्माणकार्य अघि बढाउन पटक–पटक माग गर्दै आएका छन् । त्रिशूली नदीमाथि निर्माण भइरहेको पुल दश वर्षसम्म पनि पूरा नहुनु र अन्य चार खोलामा पुल नहुँदा आवतजावतलाई समस्या भएकाले स्थानीय आन्दोलित हुनुपरेको अध्यक्ष थापाले बताउनुभयो ।

डिजाइन एन्ड विल्डरका आधारमा ठेकेदार कम्पनीले नै तयार गरेको डिजाइनअनुसार पुल एक सय पाँच मिटर लम्बाइ र फुटपाथसहित ११ मिटर चौडाइ रहनेछ । आधुनिक ‘आर्क’ डिजाइनमा बन्ने पुलको लागत रू आठ करोड २६ लाख रहेको छ ।

दोहोरो लेनको पुलमा ७ दशमलव ५ मिटर गाडी गुड्ने भाग रहने डिजाइनमा उल्लेख छ । हेडौँडास्थित मृत सञ्जीवनी निर्माण कम्पनीसँग सम्झौता भएको सडक डिभिजन कार्यालय दमौलीका प्रमुख सिनियर डिभिजन इञ्जिनीयर राजीव श्रेष्ठले बताउनुभयो ।

“पुलको डिजाइन परिवर्तन गर्न लागिएकाले अहिले पुल निर्माणको काम रोकिएको छ”, उहाँले भन्नुभयो, “अहिलेको डिजाइनबाट बाढीले क्षति हुने देखिएकाले राज्यको लगानी खेर नजाओस् भनेर परिवर्तन गर्न लागिएको हो ।”

पूर्वमन्त्री तथा तनहुँ क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य शङ्कर भण्डारीले बुद्धसिंह मार्गमा पर्ने घुमाउनेको पुल निर्माण कार्यलाई गति दिन निर्देशन दिनुभएको छ  । निर्माण व्यवसायीको चरम लापरबाहीले गर्दा ठेक्का सम्झौताको १० वर्ष पूरा हुँदा पनि पुल निर्माण अधुरो भएपछि भण्डारीले निर्देशन दिनुभएको हो ।

सांसद भण्डारीले पुल महाशाखाका प्रमुख सिनियर इञ्जिनीयर ललिजन खनाल र सडक डिभिजन कार्यालय दमौलीका प्रमुख राजीव श्रेष्ठलाई सोमबार फोन गरी काम तत्काल सुरू गर्न निर्देशन दिनुभएको हो ।

निर्धारित समयमा उत्कृष्ट रूपले सम्पन्न गर्न केही नीतिगत र कानुनी समस्या छन् भने त्यसको समाधानका लागि सरकारसमक्ष पु¥याएर समाधान गर्न आफू तयार रहेको सांसद भण्डारीले बताउनुभयो । सम्झौता भएको लामो समयसम्म पनि पुलले गति लिन नसक्दा यात्रुलाई सास्ती हुनुका साथै इन्धनमा हुने खर्च कटौती हुन सकेको छैन ।

राष्ट्रिय प्रसारण ग्रीड कम्पनी लिमिटेडका सिइओको शपथ

काठमाडौँ, १९ चैत : राष्ट्रिय प्रसारण ग्रीड कम्पनी लिमिटेड (आरपिजीसीएल) का प्रमुख कार्यकारी अधिकृत (सिइओ) इञ्जिनीयर सागर श्रेष्ठले शपथ ग्रहण लिनुभएको छ ।

आरपिजीसीएलको चैत १८ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको सिईओमा नियुक्त हुनुभएका श्रेष्ठले आज ऊर्जा मन्त्रालयमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको उपस्थितिमा शपथ ग्रहण लिनुभएको हो ।

उहाँलाई कम्पनीका अध्यक्ष एवं ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सुरेश आचार्यले शपथ ग्रहण गराउनुभयो । यसअघि उहाँ ललितपुरस्थित जनकपुर इञ्जिनीयर कलेजको प्रिन्सिपल हुनुहुन्थ्यो । उहाँलाई चार वर्षको कार्यकालका लागि नियुक्त गरिएको हो ।

शपथग्रहण समारोहमा ऊर्जामन्त्री खड्काले सरकारले लिएको ऊर्जा विकासको लक्ष्यलाई पूरा गर्न प्रसारण लाइनको महत्त्वपूर्ण भूमिका रहेको भन्दै विद्युत् प्रसारण प्रणालीलाई व्यवस्थित, भरपर्दो तथा प्रभावकारी बनाउने गरी काम गर्न निर्देशन दिनुभयो ।

मन्त्री खड्काले कतिपय जलविद्युत् आयोजना निर्माण सम्पन्न भए पनि प्रसारण लाइनको अभावका कारण उत्पादित विद्युत् खेर जानुपर्ने अवस्था सिर्जना भएको भन्दै अब त्यस्तो समस्या उत्पन्न हुन नदिनेगरी काम गर्न निर्देशन दिनुभयो ।

कम्पनीका अध्यक्ष एवं मन्त्रालयका सचिव आचार्यले मन्त्रालयले सार्वजनिक–निजी साझेदारीअन्तर्गत प्रसारण लाइन निर्माण गर्ने निर्णय गरिसकेको भन्दै निजी क्षेत्रलाई साथमा लिएर अगाडि बढ्न निर्देशन दिनुभयो ।

आरपिजीसियलका नवनियुक्त सिईओ श्रेष्ठले मन्त्रालयले दिएको जिम्मेवारीलाई इमान्दारीतापूर्वक पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । कम्पनीलाई अगाडि बढाउन आफ्नो योग्यता र क्षमताको भरपुर प्रयोग गर्ने उहाँको भनाइ थियो ।

गुजरातको पटाका गोदाममा भीषण विस्फोट, १७ जनाको मृत्यु, ५ घाइते

भारतको गुजरात राज्यमा मंगलबार एक पटाका गोदाममा भएको ठूलो विस्फोटपछि आगलागी हुँदा १७ जनाको ज्यान गएको छ भने ५ जना घाइते भएका छन्।

बनासकाँठा जिल्लाको डीसा नगरमा भएको यस घटनामा गोदामको केही भाग भत्किएको र कैयौं मानिसहरू फसेको बताइएको छ। मृतकमध्ये अधिकांश मजदुर थिए, जो त्यहाँ काम गरिरहेका थिए।

प्रहरीका अनुसार, सुरुमा ६ जनाको मृत्यु भएको खबर आएको थियो, तर आगो नियन्त्रणमा आएपछि खोजी गर्दा मृतक संख्या बढेको हो। घटनाका बेला कति मजदुरहरू उपस्थित थिए भन्ने अझै यकिन हुन सकेको छैन।हाल उद्दार कार्य जारी छ। प्रहरी, नगरपालिकाका कर्मचारी र जिल्ला प्रशासनसहित करिब २०० जना उद्दारकर्मी खटिएका छन्।

प्रहरीले घटनाको अनुसन्धान सुरु गरिसकेको छ भने प्रशासनले आगलागीको कारण र क्षतिको मूल्यांकन गरिरहेको छ।भारतमा पटाका कारखाना र गोदामहरूमा सुरक्षाका मापदण्डहरू बेवास्ता गरिने भएकाले यस्ता दुर्घटना बारम्बार भइरहेका छन्।

बालसुधार गृह पर्सामा बालकद्वारा खानेपानी र पङ्खाको माग गर्दै प्रदर्शन

वीरगञ्ज (पर्सा), १९ चैत : बालसुधार गृह पर्सामा रहेका बालकले सुधारगृहमा आधारभूत आवश्यकता समान नभएको भन्दै आज केही समय प्रदर्शन गरेका छन् । सुधारगृहमा खानेपानीको व्यवस्था, गर्मीयाममा बिग्रिएका पङ्खाको मर्मतसम्भार र शौचालयको उचित व्यवस्थापनलगायत स–साना २२ बुँदे माग राखेर मङ्गलबार केही समय प्रदर्शन गरेका हुन् ।

बालबिज्याइँ गरेर सुधारगृहमा रहेका रहेका एक बालकले सुधारगृह प्रशासनले गर्मीयाममा बिग्रिएका पङ्खा तथा कुलरसमेत मर्मतसम्भार नगरेर बेवास्ता गरेको आरोप लगाउनुभयो ।

“पचास जनाको क्षमता भएको बालसुधार गृहमा एक सय २७ जना बस्दै आइरहेका छौँ । यसमा पनि गर्मीयाममा शुद्ध खानेपानीकोसमेत चर्काे अभाव खेप्दै आइरहेका छौँ”, बालसुधार गृहका एक बालकले भन्नुभयो, “हामीले बालसुधार गृहसँग ठूलाठूला माग पनि राखेका छैनौँ । गर्मीयाम बढेका बेला बिग्रिएको पङ्खासमेत मर्मत गरिदिनुस्भन्दा पनि बेवास्ता गरेपछि प्रदर्शन नगरेर के गर्ने !” 

बालसुधार गृहमा रहेका अर्का बालकले नेपालगञ्ज, नुवाकोटलगायत बालसुधार गृहमा राम्रो खालको सेवासुविधा भए पनि पर्सामा भने हालत खराब भएको गुनासो गर्नुभयो ।

“हामीले जायज माग शान्तपूर्वक बालसुधार प्रशासनलाई भन्दा कहिल्यै पनि सुनुवाइ भएन । त्यसैले आज केही चर्काे स्वरमा बाध्य भएर केही समय विरोध जनाएका हौँ”, उहाँले भन्नुभयो, “बालसुधार गृहमा अनुगमन र निरीक्षण गर्न आउने सरकारी वकिल कार्यालय तथा न्यायाधीशहरूले पनि ठूलाठूला आश्वासन दिएर जाने तर, हाम्रो मागको सम्बोधन नगर्ने परिपाटीले पनि प्रदर्शन गर्न परेको हो । पूरा नगर्ने हो भने हामीलाई आश्वासन नदेखाइयोस् ।”

बालसुधार गृहमा रहेका बालकले शौचालयको ढोका मर्मतसम्भार गर्नुपर्ने, मेसको ढोका मर्मतसम्भार गर्नुपर्ने, ग्यास फ्यान राख्नुपर्ने, पङ्खाको बोर्ड फेर्नुपर्ने, विद्युत्को बल्ब फेर्नुपर्ने, कापीकलम शैक्षिक सामग्री उपलब्ध गराउनुपर्ने, डस्टबिन राख्नुपर्नेलगायत सामान्य खालका माग राखेका छन् । 

बालसुधार गृहमा रहेका अर्का बालक आफूहरूले रू १० हजार सङ्कलन गरे कराई खरिद गर्नका लागि रकम दिए पनि प्रशासनले सो खरिद गरेरसमेत नल्याइदिएको गुनासो गर्नुभयो । बालसुधार गृहका बालकले बालसुधार गृहमा कक्षा ८ देखि १२ कक्षाका विद्यार्थीहरूलाई अध्ययन गर्नका लागि शिक्षकको अभाव  भएको पनि गुनासो गरेका छन् ।

“बालसुधार गृहमा आफ्नो अध्ययनलाई अघि बढाउन चाहने धेरै छौँ”, उहाँले भन्नुभयो, “सुधारगृह प्रशासनले शिक्षकको पनि व्यवस्था गर्न सकिरहेको छैन ।” सुधार गृहमा रहेका बालबालिकाले जापनिज, कोरियन, अङ्ग्रेजीलगायत भाषाको कक्षा सञ्चालन गर्न अनुरोध गरेका छन् । 

पर्साका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) गणेश अर्याल बालसुधारगृहमा रहेका बालकले उठाएका खानेपानी र पङ्खाको समस्यालाई दातासँग समन्वय गरेर एक साताभित्रै समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

“तपाईंले उठाउनुभएको कतिपय आधारभूत आवश्यकताको जायज मागहरूलाई सम्बोधन गर्नेछु”, उहाँले भन्नुभयो, “बालसुधार गृहमा प्रदर्शनी गर्ने, तोडफोड गर्नेजस्ता आवाञ्छित गतिविधिले कसैलाई पनि फाइदा गर्दैन । त्यसैले तपार्इंहरू पनि सभ्य र शान्तपूर्वक बस्नका लागि निर्देश गर्दछु, ।” 

प्रजिअ अर्यालले बुधबार १०ः३० बजे बालसुधारगृहका प्रशासन तथा बालसुधारगृहसँग सरोकारवाला निकायसँग बृहत् छलफल गरेर सुधारगृहमा तत्कालै समाधान गर्न सकिने मागहरू सम्बोधन गर्ने प्रतिबद्धता जनाएसँगै बालसुधारगृहका बालकहरू शान्त भएका छन् । 

पर्साका प्रहरी प्रमुख गौतम मिश्रले बालसुधारगृहमा देखिएका जायज मागलाई प्रहरी र प्रशासन मिलेर समाधान गर्ने बताउँदै बालसुधारगृहमा अराजकता र उदण्डता नदेखाउन अनुरोध गर्नुभयो । 

“तपाईंहरूले शान्तपूर्वक माग राख्नुभयो । त्यस्ता खालका मागलाई हामीले सकेसम्म पूरा गर्ने प्रयास गर्नेछौँ”, उहाँले भन्नुभयो, “तपाईंहरूलाई सुधार गर्नका लागि ल्याएका हौँ । त्यसैले अर्काे अवाञ्छित खालको अपराध गरेर फेरि थुनामा लैजान नपरोस् ।” बाल इजलासका क्षेत्रमा काम गर्दै आउनुभएकी सुष्मा शर्माले बालसुधारगृह प्रशासनले अति सामान्य खालका माग पनि सम्बोधन नगर्दा बालकहरू आक्रोशित भएको बताउनुभयो ।

“बालसुधारगृह प्रशासनले गर्नसक्ने पनि काम गर्न अलमल गर्दै आइरहेकाले पनि बालकहरूले बाध्य भएर नै प्रदर्शनमा उत्रिनुपरेको हो ।” बालसुधारगृह पर्साका निमित्त प्रमुख कृष्णप्रसाद साहले आज दिउँसो सुधारगृहका बालकले केही समय प्रदर्शन गरेको बताउनुभयो । प्रजिअ अर्यालले परवानीपुरमा व्यवस्थित खालको बालसुधारगृहका लागि तीन बिघा क्षेत्रफलको जग्गा खोजी गर्ने काम भइरहेको बताउनुभयो ।

मन्त्रिपरिषद्का निर्णय : प्रदर्शनका क्रममा घाइते भएकाको निःशुल्क उपचार

काठमाडौँ, १९ चैत : सरकारले धुलिखेल अस्पताल ट्रमा तथा आपतकालीन सेवा केन्द्र सुधार परियोजनाका लागि जापान सरकारबाट प्राप्त हुने जापानी ऐन ५७ करोड ३० लाख अनुदान सहायता प्राप्त गर्ने भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले यही चैत १८ को मन्त्रिपरिषद्का निर्णयहरू सावर्जनिक गर्दै उक्त जानकारी दिनुभएको हो ।

सरकारले आर्थिक वर्ष २०८२/८३ देखि २०८६/८७ सम्मका लागि प्रदेश तथा स्थानीय तहलाई उपलब्ध गराउने राजस्व बाँडफाँटको विस्तृत आधार र ढाँचा स्वीकृत गर्ने, आर्थिक वर्ष २०८२/८३ का लागि प्रदेश तथा स्थानीय तहलाई उपलब्ध गराउने राजस्व बाँडफाँटको हिस्साको अनुमानित रकम स्वीकृत गर्ने र आर्थिक वर्ष २०८२/८३ का लागि प्रदेश तथा स्थानीय तहलाई हस्तान्तरण गरिने वित्तीय समानीकरण अनुदान रकम स्वीकृत गर्नेसमेत निर्णय रहेको छ ।

सरकारले नेपाल स्टक एक्स्चेञ्ज लिमिटेडको रिक्त प्रमुख कार्यकारी अधिकृत पदमा चुडामणि चापागाईँलाई नियुक्त गर्ने निर्णय गरे छ । आगामी वैशाख २२ गतेदेखि २६ गतेसम्म स्वीट्जरल्याण्डको बाजलमा सञ्चालन हुने ‘डिलिङ विथ द पास्ट एड्भान्सड कोर्स’ विषयक कार्यक्रममा सहभागिता जनाउन सत्यनिरूपण तथा मेलमिलाप आयोगका सचिव पारावर ढुङ्गाना र बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगका सचिव खेमराज ज्ञवालीलाई स्वीकृति दिएको छ । 

त्यसैगरी यही चैत २६ र २७ गते नेपालमा आयोजना हुने बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) को कृषि मन्त्रिस्तरीय र कृषिसम्बन्धी उच्च पदाधिकारीहरूको तेस्रो बैठक कार्यक्रममा सहभागी हुन कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारी, सचिव (कृषि विकास) डा गोविन्दप्रसाद शर्मा र सचिव (पशुपन्छी विकास) डा राजेन्द्रप्रसाद मिश्रलाई सहभागी हुन स्वीकृति प्रदान गर्ने सरकारले निर्णय गरेको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको कार्यकारी निर्देशक पदमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका वरिष्ठ कृषि अर्थ विज्ञ डा प्रधुम्नराज पाण्डे नियुक्त हुनुभएको छ । परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानसम्बन्धी विधेयक तर्जुमा गर्न सिद्धान्त स्वीकृत गर्ने एवं नेपाल सरकारका नाममा दर्ता रहेको लमजुङ जिल्ला साविक सुन्दरबजार गाविस वडा नं ९ को १५ रोपनीभन्दा बढी सार्वजनिक जग्गा सुन्दरबजार अस्पतालको भवनलगायत भौतिक संरचना निर्माण गर्न सुन्दरबजार नगरपालिका लमजुङलाई उपयोग गर्न स्वीकृति दिइएको छ ।

आगामी वैशाख २ गतेदेखि ४ गतेसम्म संयुक्त राज्य अमेरिकाको न्यूयोर्कमा आयोजना हुने २०२५ एडिसन अफ इसिओएसओसी युथ फोरम कार्यक्रममा युवा तथा खेलकुदमन्त्री तेजु लाल चौधरीलाई सहभागी हुन स्वीकृति दिइएको छ । 

नेपाली सेना, सैनिक साधारण सेवाका एक जना सहायक रथीको सरुवा गर्ने, माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको २२० केभी विद्युत् प्रसारणलाइन आयोजना निर्माणका लागि रसुवाको उत्तरगया गाउँपालिका वडा नं १ मा रहेको राष्ट्रिय वनको २ दशमलव ७६७ हेक्टर जग्गा प्रयोग गर्न स्वीकृति दिने र यही चैत २४ मा दक्षिण कोरियाको राजधानी सिओलमा गैरआवासीय नेपाली सङ्घ, दक्षिण कोरियाले आयोजना गर्ने एकता महाधिवेशनमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुणकुमार चौधरीलाई सहभागी हुन स्वीकृति प्रदान गर्ने निर्णय भएको छ । 

संयुक्त राष्ट्रसङ्घको मुख्यालय न्यूयोर्कमा आगामी वैशाख ८ गतेदेखि आयोजना हुने ‘ट्वान्टी–फोर्थ सेसन अफ द युनाइटेड नेसन्स प्रमानेन्ट फोरम ओन इन्डियिनयस इशु (युएन–पिएफआइआई)’ मा सहभागी हुन सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता नेतृत्वको प्रतिनिधिमण्डलको भ्रमण स्वीकृत गरिएको छ । 

त्यसैगरी यही चैत २५ गतेदेखि २९ गतेसम्म संयुक्त राज्य अमेरिकाको न्यूयोर्कमा सञ्चालन हुने कमिसन ओन पपुलेसन एण्ड डेभलोपमेन्ट(सिपिडी) को बैठकमा सहभागिताका लागि स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेललाई स्वीकृति प्रदान गर्ने मन्त्रिपरिषद्ले  निर्णय रहेको छ ।

त्यसैगरी यही चैत १५ गते बसेको मन्त्रिपरिषद्को बैठकका निर्णयहरू पनि मन्त्री गुरुङले सार्वजनिक गर्नुभएको थियो । सरकारले चैत १५ गतेका दिन पूर्वराजाका समर्थकहरूद्वारा काठमाडौँको तीनकुने र आसपासका क्षेत्रमा भएको अराजक प्रदर्शनका क्रममा निजी, सार्वजनिक एवं सरकारी सम्पत्ति, अस्पताल, सवारीसाधन, राजनीतिक दलका कार्यालय तथा सञ्चार गृहहरूमा भएको आक्रमण, आगजनी र तोडफोड एवं अन्तरराष्ट्रिय विमानस्थल जस्तो संवेदनशील क्षेत्रमा हिंसात्मक गतिविधि गरी आतङ्क फैलाउने, घरभित्र मानिस भएको अवस्थामा ढुङ्गामुढा, आगजनी र मानिसको ज्यान जानेगरी अमानवीय र गैरकानुनी कार्य गर्ने, तोडफोड र लुटपाट गर्नेजस्ता कार्य भएकामा सरकारले घोर भत्र्सना गरेको छ । 

 सरकारले उक्त प्रदर्शनका क्रममा मृत्यु भएका व्यक्तिप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै सो क्रममा घाइते भएकाको शीघ्र स्वास्थ्यलाभको कामनासहित उक्त प्रदर्शनका क्रममा घाइते हुनेको निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मिलाउने निर्णय गरेको छ । उक्त घटनाका सम्बन्धमा सत्यतथ्य छानविन गरी दोषीउपर कारबाही गर्न र आगामी दिनमा यस किसिमको घटना हुन नदिने व्यवस्था मिलाउन गृह मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको छ ।

प्रधानमन्त्री ओली थाइल्यान्डमा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली थाइल्यान्डको औपचारिक भ्रमण र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक)को छैटौँ शिखर सम्मेलनमा भाग लिने क्रममा आज थाइल्यान्डको बैंकक पुगेका छन्।

प्रधानमन्त्री ओली मंगलबार साँझ स्थानीय समयअनुसार ६ः१५ बजे बैंकक पुगेका हुन्। उनलाई सुवर्णभूमि अन्तर्राष्ट्रिय विमानस्थलस्थलको विशिष्ट कक्षमा थाइल्यान्डका उपप्रधानमन्त्री एवं यातायातमन्त्री सुरिया जङ्ग्राउनग्रेङकिट दम्पती संस्कृति तथा खेलकुदमन्त्री सोरावोङ थेनबोङ दम्पती र थाइल्यान्डका लागि नेपाली राजदूत धनबहादुर वली, नेपालका लागि थाइल्यान्डका राजदूत सावापोङ सिरिसोर्नसहितले स्वागत गरे।

थाइल्यान्डका प्रधानमन्त्री पे थोङ थान सिनावातको मैत्रीपूर्ण निमन्त्रणामा नेपालका प्रधानमन्त्रीबाट पहिलोपटक थाइल्यान्डको औपचारिक भ्रमण भएको हो।

प्रधानमन्त्री ओलीको भ्रमण दलमा प्रथम महिला राधिका शाक्य, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, आर्थिक–विकास सल्लाहकार डा. युवराज खतिवडा, नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्याल, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईलगायत छन्।

पुटिन ‘समयका लागि खेल्दै हुनुहुन्छ’ : जर्मन विदेशमन्त्री

जर्मन विदेशमन्त्री एनालेना बारबकले मङ्गलबार किएभको भ्रमणमा आइपुगेपछि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई युक्रेनमा युद्धको वार्तामा ‘समयका लागि खेलिरहेको’ आरोप लगाउनुभएको छ ।

“युक्रेन तत्काल युद्धविरामका लागि तयार छ । पुटिन नै समयको लागि खेल्दै हुनुहुन्छ, शान्ति चाहनुहुन्न र अन्तर्राष्ट्रिय कानूनको उल्लङ्घन गर्ने उहाँको आक्रमणको युद्ध जारी राखिरहनुभएको छ”, बारबकले आफ्नो मन्त्रालयद्वारा साझा गरिएको विज्ञप्तिमा भन्नुभयो ।

“उहाँ वार्ताको इच्छा देखाउँदै हुनुहुन्छ तर आफ्ना लक्ष्यहरूबाट एक इन्च पनि हट्नुहुन्न”, बारबकले युद्ध सुरु भएदेखि युक्रेनको आफ्नो नवौँ भ्रमणमा भन्नुभयो ।

मार्च ११ मा अग्रिम मोर्चामा सङ्घर्ष गरिरहेको युक्रेनी सेना र संयुक्त राज्य अमेरिकाले रुससँग ३० दिने युद्धविरामको योजनामा सहमति जनाएका थिए ।

तर पुटिनले अमेरिकी प्रस्ताव अस्वीकार गर्नुभएको छ र युक्रेनमा नयाँ नेतृत्व स्थापना गर्ने मस्कोको चाहनाबारे आफ्नो बयानबाजी बढाउनुभएको छ ।

बारबक अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पुनः निर्वाचनपछि पहिलो पटक किएभ भ्रमणमा आउनुभएको हो । ट्रम्पले द्वन्द्व अन्त्य गर्न युरोपेली नेताहरूमाथि रुससँग सम्पर्क गरेर अमेरिका–युरोप सम्बन्धलाई उथलपुथल गर्नुभएको छ ।

नीतिमा परिवर्तनले नाटो गठबन्धनको भविष्यबारे चिन्ता उत्पन्न गरेको छ र युरोपलाई आफ्नै रक्षा क्षमता बढाउन र युक्रेनलाई आफ्नो समर्थन बढाउनमा केन्द्रित गर्न प्रेरित गरेको छ ।

जर्मनीले परम्परागत रूपमा कडा ऋण नियमहरूलाई सहज बनाउने एउटा ठूलो नयाँ खर्च प्याकेज अपनाएपछि गत मार्चमा युक्रेनलाई तीन अर्ब युरो (तीन अर्ब २५ करोड डलर) को नयाँ सैन्य सहायता स्वीकृत गरेको थियो ।

“संयुक्त राज्य अमेरिका र रुसबीचको गतिरोधलाई ध्यानमा राख्दै हामी युरोपेलीहरूले युक्रेनको पक्षमा उभिएको देखाउनु… र अहिले भन्दा बढी यसलाई समर्थन गर्नु अत्यन्त महत्त्वपूर्ण छ”, बारबकले भन्नुभयो ।

सोमबार युक्रेनको बुचा सहरमा स्मरण समारोह आयोजना गरिएको थियो । त्यहाँ रुसी सेनामाथि तीन वर्षअघि सयौँ नागरिकको हत्या गरेको आरोप लगाइएको छ ।

दाउन्नेको सडक धुलोले दिउँसै अन्धकार, घन्टौंसम्म जामले यात्रीलाई सास्ती

नारायन भुसाल : बुटवल नारायणघाट सडक खण्ड अन्तरगत दाउन्नेको जामले यात्रुलाई सास्ती घन्टौंसम्म जाममा पर्दा यात्रुहरुले सास्ती भोग्नुपरेको छ।बिहान बुटवल बाट काठमाडौको लागि छुटेका सवारी साधन दाउन्ने जामको कारण ४,५ घन्टा सम्म दाउन्नेमै रोकिन पर्ने अवस्थामा छ्न भने काठमाडौ बाट छुटेका रात्री दिवा बसहरु समेत ५,६घन्टा जाममा रोकिनु परेको छ।

सन २०१९,२४ मार्चमा प्रधानमन्त्री केपी केपी ओलिले नारायणघाट बुटवल सडक स्तर उनन्तिको शिलान्यास गरेका थिय।नारायणघाट देखि बुटवल सम्मको करिब ११४ किलोमिटर सडक बन्न अझै केही बर्षलाग्ने देखिन्छ।यस आयोजना लाई दुई भागमा बिभाजन गरि अगाडी बडाइएको छ।

पहिलो खण्डमा नारायण घाट देखि दाउन्नेसम्मको ६५किमि र दोस्रो खण्ड दाउन्ने देखि बुटवल सम्मको ४९किमि रहेको छ।१५अरब एडिबिको लगानीमा आयोजना अगाडी बडाइएको थियो ।जङ्गलमा ४लेन र सहरीभागमा ६ लेनको बाटो निर्माण गरिने छ।

राज्यका निकायमा मधेसी समुदायको सहभागिता सुनिश्चित गरिनुपर्छ : सांसद कार्की

काठमाडौँ । सङ्घीय लोकतान्त्रिक गणतन्त्र आएपछि देश जुन रूपमा अगाडि बढ्नुपर्ने थियो, त्यो गतिमा बढ्न सकेको छैन । राजनीतिक दलहरूले सही तरिकाले काम गर्न नसकेका कारण जनतामा नैराश्यता छ । संसद्ले जति कानुन बनाउनुपर्ने हो, त्यति बनाउन सकेको छैन ।

संसद् भनेको कानुन निर्माण गर्ने र जनताका सवाललाई सरकारसम्म पुर्याउने थलो हो । तर संसद् सरकार बनाउने र ढाल्ने थलोजस्तो भएको छ । संसद्मा राजनीतिक दल एकले अर्कालाई अरोप लगाउने तथा झगडा गर्ने कार्य जारी छ ।

मुख्य ठूला दलहरु नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले संविधानको पूर्ण कार्यान्वयन गर्न नसक्दा अहिले देशमा यो अवस्था आएको छ । प्रदेश र स्थानीय सरकारलाई अधिकारसम्पन्न बनाउनुपर्ने काम अहिलेसम्म हुनसकेको छैन । पालिकामा अधिकृत नहँदा कर्मचारीले तलब पाउन सकेका छैनन् । स्थानीय तहका शिक्षकले तलब पाउन सकेका छैनन् । कर्मचारी र शिक्षकले कम्तीमा आफूले काम गरेको पैसा पाउनुपर्छ ।

जनता समाजवादी पार्टीको पहिलेदेखिको एजेण्डा भनेको संविधान संशोधन गरेर मधेसी समुदायलाई समेट्नुपर्ने भन्ने हो । संविधान संशोधन गरेर सर्वमान्य बनाउनुपर्छ । संविधान संशोधन गरी अधिकारसम्पन्न सङ्घीयता बनाउनुपर्छ । संविधानमा सुरक्षाको जिम्मा प्रदेश सरकारलाई छ, तर अधिकार छैन । संविधान संशोधन गरेर मधेसी समुदायलाई जनसङ्ख्याका आधारमा राज्यको नीति निर्माण तहमा सहभागी गराइनुपर्छ ।

उनीहरूको जनसङ्ख्याका आधारमा कार्यपालिका, न्यायापालिका र व्यवस्थापिकामा सहभागिताको सुनिश्चितता संवैधानिक रूपमा हुुनुपर्छ । राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्कानुसार २२.२२ प्रतिशत पूर्ण मधेसी समुदायको जनसङ्ख्या छ । त्यसका आधारमा सङ्घीय मन्त्रिपरिषद्मा उनीहरूको सहभागिता सुनिश्चित गर्नुपर्छ । मधेसी समुदायका निम्ति छुट्टै नीति तथा कार्यक्रम र बजेटको व्यवस्था गर्नुपर्छ ।

धार्मिक दृष्टिकोणले धनुषा सम्पन्न छ । सरकारले धार्मिक पर्यटन र प्राकृतिक पर्यटनलाई जोड दिनुपर्छ । धार्मिक पर्यटनको निम्ति जनकपुर महत्त्वपूर्ण स्थान हो । यसको प्रचारप्रसार हुनसकेको छैन । तराईमा सडकको पनि विकास हुनसकेको छैन । तराई कृषिका लागि सिँचाइ अभाव छ । मल र बीउ अभाव छ । सरकारले त्यसतर्फ ध्यान दिन जरुरी छ । जानकी अर्थात् सीताको यो मन्दिर उनको जन्मस्थल जनकपुरमा छ । मुगल शैलीमा बनाइएको मन्दिरलाई कलाको उत्कृष्ट नमूना मानिन्छ । जनकपुरमा धेरै पोखरी छन् । जलपर्यटनको दृष्टिकोणले पनि निकै महत्त्वपूर्ण देखिन्छ ।

यहाँका विभिन्न सागरहरूलाई जनकपुरको आयस्तरमा वृद्धि, रोजगारीमा वृद्धि तथा पर्यटकलाई जलविहार गर्न सकिने गरी विकास गर्न सकिन्छ । प्राचीन मिथिलाको राजधानी जनकपुरमा अवस्थित जानकी मन्दिर विश्वभरका हिन्दूको आस्थाको केन्द्र हो । हिन्दू धर्ममा लोकप्रिय रहेको रामायणकी सीताको जन्मस्थलमा निर्मित यो मन्दिर भव्य र आकर्षक छ । तर यसलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न सरकारको इच्छाशक्ति हुनुपर्छ ।

सङ्घीयतालाई अझै बलियो र सुदृढ बनाउन सङ्घीय सरकारले प्रदेश र स्थानीय तहमा आवश्यक कर्मचारी दिनुपर्छ । सुशासनका निम्ति सबैभन्दा पहिला अख्तियार दुरुपयोग अनुन्धान आयोगलाई बलियो बनाउनुपर्छ । अख्तियारले सबै भ्रष्टाचारीलाई कारबाही गर्न सक्नुपर्छ । अख्तियार स्वतन्त्र हुनुपर्छ । सुशासनका निम्ति दलका नेताको आचरण परिवर्तन हुनुपर्छ । सँगै कर्मचारीको पनि आचरण सही हुनुपर्छ । सुशासन सरकारले ‘भ्रष्टाचार गर्दिनँ र गर्न पनि दिन्न’ भन्ने नाराले मात्र हुँदैन । व्यावहारिक रूपमा त्यसको कार्यान्वयन हुनुपर्छ ।

अहिले देशका धेरै उद्योग बन्द छन् । विराटनगर जुटमिल, जनकपुर चुरोट कारखाना, गोरख काली टायर र वीरगञ्जको चिनी कारखानालगायत धेरै उद्योग बन्द भएको अवस्था छ । सयौँ उद्योग/कलकारखाना बन्द भएको अवस्थामा युवालाई रोजगारी सरकारले कसरी दिनसक्छ ? युवा पलायन रोक्नका लागि सरकारले बन्द भएका उद्योगलाई पुनःसञ्चालन गर्नुपर्ने हुन्छ । सरकारले भन्दा बढी रोजगारी निजी क्षेत्रले दिएको छ । निजी क्षेत्रको उद्योग/कलकारखानाले रोजगारी दिएका छन् । त्यसैले दलका नेताले जनतालाई झुटो आश्वासनमात्र दिएर हुँदैन । सरकार र नेताहरूले जनताको पक्षमा काम गरेर देखाउनुपर्छ । सरकारले बेरोजगारी अन्त्य गर्ने कार्ययोजना बनाउनुपर्छ ।

देशको अवस्था परिवर्तन गर्न नेतृत्व सही हुनुपर्छ । देशको निम्ति काम गर्ने हुटहुटी हुनुपर्छ । अन्य देशका सरकार पनि पार्टीबीच गठबन्धन गरेर बनेका छन् । उनीहरूको सरकार पाँच वर्ष टिक्छ । तर हाम्रोमा एक वर्षमै ढल्छ । यो सबै नेतृत्वपङ्क्तिको दोष हो । हामीकहाँ राजनीतिक संस्कारको विकास हुनसकेको छैन ।

हाम्रो पार्टीले छ महिनासम्म ‘जनतासँग जसपा’ भन्ने अभियान सञ्चालन गरेको थियो । अब राजमार्ग केन्द्रित अभियान सञ्चालनको तयारी भइरहेको छ । पार्टीको जिम्मेवारीसँगै सांसद भएकाले अब संविधानमा मधेसी समुदायको अधिकार सुनिश्चित गर्नेतर्फ मेरो भूमिका हुन्छ । जनताका सवाललाई संसद्मार्फत सरकारसम्म पुर्याउने काम पनि हुन्छ । त्यसैगरी संविधानअनुसार कानुन निर्माणमा मेरो भूमिका हुन्छ । धनुषा जिल्लाको विकासको निम्ति पनि मेरो पहल हुने छ ।

प्रतिनिधिसभामा सांसद दीपक कार्कीको परिचय

जनता समाजवादी पार्टी, नेपालका उपमहासचिव दीपक कार्की प्रतिनिधिसभाको सांसद हुन्। उनी प्रतिनिधिसभा निर्वाचन, २०७९ मा धनुषा–१ बाट निर्वाचित भएका हुन् । विसं २०३६ देखि नेपाली कांग्रेसको भ्रातृ सङ्गठन नेपाल विद्यार्थी सङ्घबाट राजनीति सुरु गर्नुभएका सांसद कार्कीले २०७४ सालमा कांग्रेस पार्टी परित्याग गरी तत्कालीन सङ्घीय समाजवादी पार्टी (फोरम) नेपालमा प्रवेश गरेका थिए। उनी २०८० सालमा वन तथा वातावरण राज्यमन्त्री रहेका थिए ।

कुराकानीको सम्पादित अंश

बिपी राजमार्ग : पहिरो प्रभावित क्षेत्रमा वैकल्पिक सडक निर्माण गरिँदै

धुलिखेल। गत असोजको दोस्रो साताको बाढीपहिरोका कारण क्षतिग्रस्त बिपी राजमार्गमा अहिले तत्कालका लागि खोलाको बगरैबगर बनाएको वैकल्पिक बाटोमा सवारीसाधन सञ्चालन भइरहेको छ ।

काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका- ५ चौकीडाँडाबाट सिन्धुलीको सिमाना बर्खेखोलासम्म अहिले त्यसरी वैकल्पिक सडक बनाएर खोलाको बगरैबगर सवारी सञ्चालन हुँदै आएको छ ।

काठमाडौँबाट पूर्वीतराई जाने छोटो दूरीको यात्रा बिपी राजमार्ग सबैको छनोटको गन्तव्य हो । तर बर्खायाम नजिकिएसँगै ती सडकमा सवारी सञ्चालन गर्न सकिने अवस्था नभएका कारण सडक डिभिजन भक्तपुर त्यसको विकल्पमा आउँदो बर्खायामलाई मध्यनजर गर्दै खोलाको सहतभन्दा माथि उठाएर वैकल्पिक सडक निर्माण गर्ने क्रममा छ । जसअन्तर्गत चौकीडाँडास्थित धेरै क्षतिग्रस्त बनेको खण्डमा खोलाको सतहदेखि माथि उठाएर वैकल्पिक बाटो निर्माणको काम भइरहेको छ ।

कार्यालयले दीर्घकालीन पक्की सडक निर्माण गर्न ठेक्का आह्वान गरेको भए पनि ‘विड ओपनिङ’ गर्ने, मूल्याङ्कन हुने र ठेकेदार फिल्डमा आउने प्रक्रिया नै बाँकी रहेकाले अहिले तत्कालका लागि वैकल्पिक सडक बनाउने क्रममा रहेको सडक डिभिजन कार्यालय भक्तपुरका इन्जिनियर दुर्गाप्रसादले बताए ।

खोलाको उचाइ पनि बढेको र अहिले बगरमा नै गाडी गुडाइरहेको कारण बर्खामा असर हुने भएकाले खोलाको धार परिवर्तन गर्ने र सडकको उचाइलाई खोला सहतभन्दा माथि उठाएर भित्ताबाट चल्नेगरी काम भइरहेको छ ।

त्यसका लागि अहिले चौकीडाँडा खण्डमा तीव्रगतिमा काम भइरहेको छ । बाढीले काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकाको चौकीडाँडाबाट सिन्धुलीको सिमानासम्ममा करिब आठ किलोमिटर सडक बगाएको थियो ।

‘तत्कालका लागि बगाएको सडक ग्राभेल गर्ने, सफा गर्ने र कतिपय स्थानमा खोलाबगर भएर चल्ने गरी बाटो बनाएका छौँ,’ उनले भने,’अहिले जहाँजहाँ खोलाको सतह भएर बाटो बनाइएको छ, ती ठाउँमा खोलाको धार परिवर्तन गर्ने र भएको सतहभन्दा माथि उठाएर बाटो बनाउने क्रममा छौँ ।’

भक्तपुर सडक डिभिजनका कर्मचारी चन्द्रबहादुर लामाका अनुसार अहिलेसम्ममा मङ्गलटार नजिकैको बोक्सेकुना र चिउरीबासमा काम सम्पन्न भइसकेको तथा माम्ती, डालाबेँसी, नार्के, गिम्दीबेँसी, चार सयबेँसी र कटुञ्जे घुम्तीमा काम गर्न बाँकी छ । अहिले चौकीडाँडामा काम भइरहेकामा केही दिनमा नै सो खण्ड सम्पन्न हुनेछ ।

सो कार्य सम्पन्न गर्न अहिले सडक डिभिजन कार्यालयबाट दुई इन्जिनियर, एक सबइन्जिनियरसहित ३० जना अपरेटर निरन्तर काममा छन् ।

आगामी वैशाखभित्र ती सबै काम सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको कार्यालयले जनाएको छ । त्यसरी सडक बनाएको खण्डमा बर्खायाममा पनि बिपी राजमार्गमा सवारीसाधन सञ्चालन हुने आशामा यात्री छन् ।

राजदूत पौडेलद्वारा ओहदाको प्रमाणपत्र पेस

लिस्बन (पोर्चुगल), १९ चैत : पोर्चुगलका लागि नवनियुक्त नेपाली राजदूत प्रकाशमणि पौडेलले राष्ट्रपति मार्सेलो रेबेलो डी सौसासमक्ष ओहोदाको प्रमाणपत्र पेस गर्नुभएको छ ।

लिस्बनस्थित राष्ट्रपति भवन बेलेम प्यालेसमा सोमबार आयोजित एक समारोहबीच राजदूत पौडेलले राष्ट्रपति सौसासमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेस गर्नुभएको हो । ओहोदाको प्रमाणपत्र बुझाएपछि राजदूत पौडेलले राष्ट्रपतिसँग शिष्टाचार भेटवार्ता गर्नुभएको थियो । सो अवसरमा उहाँहरुबीच नेपाल र पोर्चुगलबीचको द्विपक्षीय सम्बन्धलाई थप सुमधुर बनाउने तथा आपसी हित एवं सहयोग अभिवृद्धिबारे छलफल भएको लिस्बनस्थित नेपाली दूतावासले जनाएको छ ।

सो अवसरमा राजदूत पौडेललाई बधाई ज्ञापन गर्दै राष्ट्रपति सौसाले सफल कार्यकालको शुभकामना दिनुभएको थियो । भेटवार्ताका क्रममा दुई देशबीचको द्विपक्षीय सम्बन्धलाई थप प्रगाढ बनाउन, व्यापार, पर्यटन तथा नेपालमा पोर्चुगलको दूतावास स्थापनाका लागि राष्ट्रपतिसमक्ष आग्रह गरिएको थियो ।

उक्त समारोहमा पोर्चुगलका विदेश राज्यमन्त्री÷सहायकमन्त्री नुनो साम्पाइओ, विदेश मामिला सचिवालयका महासचिव फ्रान्सिस्को रिबेरो तेलेस, विदेश मन्त्रालयका अधिकारीहरू, राजदूत पत्नी रुपा पौडेल, दूतावासका द्वितीय सचिव रामबाबु नेपाललगायतको उपस्थिति रहेको दूतावासले जनाएको छ । गत मङ्सिरमा पोर्चुगलको राजदूतमा नियुक्त हुनुभएका पौडेल जिम्मेवारी सम्हाल्न गत फागुन २२ गते पोर्चुगल आउनुभएको हो ।

चलचित्र ‘कर्मा’ को गीतमा दुर्गेश थापाको स्वर

काठमाडौं । चर्चित गायक दुर्गेश थापाले चलचित्र ‘कर्मा’का लागि गीत गाएका छन् । सौरभ चौधरीको लेखन तथा निर्देशन रहेको चलचित्र ‘कर्मा’का लागि दुर्गेशले गीत गाएका हुन् । दुर्गेश स्वयंले आफूले कर्माको गीत गाएको जानकारी दिएका छन् ।

केही दिन अगाडि दुर्गेशले रेकर्ड गरेको गीतको आइतबार भिडियो छायांकन भएको छ । दुर्गेशको गीत चलचित्रभित्रै समावेश हुने बताइएको छ ।
दुर्गेशकले गाएको गीतमा चलचित्रका मुख्य कलाकार विपीन कार्की, उपासनासिंह ठकुरी, मुकुन भुसाललगायतको अभिनय देखिनेछ । निर्माणपक्षका अनुसार केही दिनमा उक्त गीत सार्वजनिक हुनेछ ।

नयाँ वर्ष २०८२ को छेको पारेर चलचित्र ‘कर्मा’ आगामी चैत २९ गते रिलिज हुँदै छ । नेपाल र विदेशमा यो चलचित्र एकसाथ रिलिज हुँदैछ ।
यस्तै, निर्माणपक्षले आज साँझ गायक सुशान्त केसीको आवाजमा रहेको ‘पागल पागल जस्तै’ बोलको गीत सार्वजनिक गर्दैछ ।
गायक केसीले ‘कर्मा’मार्फत पाश्र्व गायनमा डेब्यु गरेका हुन् । केही दिनअघि निर्माणपक्षले भिडियो छायांकन गरेको थियो । यस गीतमा उनकै शब्द, संगीत र स्वर छ ।

युवा पुस्तामाझ सुशान्तको लोभलाग्दो क्रेज छ । हम्मेसी अरूका लागि गीत गाउँदैनन् । उनी आफ्नै च्यानलमा मात्रै गाउँदै आएका छन् । उनका हरेक गीत मिलियन्सभन्दा माथि युट्युबमा भ्यूज गएका छन् ।

चलचित्र ‘कर्मा’मा विपीन र उपासनासँगै मुकुन भुसाल, दिब्यदेब, सरिता गिरी, बेन बस्नेत, सुज्यान सिलवाल, अनिल बुढाथोकी, निर्मल शर्मालगायतको अभिनय रहेको छ ।

एक्सन जनरामा निर्माण भएको ‘कर्मा’ ड्रामा, सस्पेन्स र एक्सन जनरामा निर्माण भएको छ । सिनेमाको कथा निर्देशक चौधरी आफैँले लेखेका छन् ।
‘कर्मा’ले अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार बिक्रीको अधिकार सेभेन सिज सिनेमाले लिएको छ ।

चलचित्रमा भाष्कर स्वाँरको संगीत निर्देशन, कविराज गहतराजको कोरियोग्राफी, श्री श्रेष्ठको द्वन्द्व निर्देशन र निमेष श्रेष्ठको सम्पादन छ ।
तारानाथ न्यौपाने मुख्य सहायक निर्देशक रहेको सिनेमामा समीर मियाको भिएफएक्स, उत्तम न्यौपानेको व्याकग्राउण्ड स्कोर, विजय बश्यालको पब्लिसिटी डिजाइन र राजेन्द्र मोक्तान कलरिस्ट रहेका छन् ।

आर्टिस्टिक इनटरटेनमेन्टको प्रस्तुति रहने ‘कर्मा’मा वसन्त लम्सालको लगानी छ । निर्देशक चौधरीको ‘अगस्त्यः च्याप्टर १’ले दर्शक र समीक्षकको राम्रो प्रतिक्रिया पाएको थियो ।

रवि लामिछानेले आज सभामुख देवराज घिमिरेसँग भेट गर्दै

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आज सभामुख देवराज घिमिरेसँग भेट गर्दै छन् । लामिछानेले रास्वपाका सांसदहरुसहित आज बिहान १० बजे सिंहदरबारमा सभामुखलाई भेट्न लागेको प्रवक्ता मनिष झाले जनाकारी दिएका हुन् ।

उनीविरुद्ध पुस ७ मा जिल्ला अदालत, कास्कीमा सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसूरमा विपक्षी बनाएर मुद्धा दायर भएपछि गत पुस ८ गतेदेखि सांसद पद निलम्बन भएको थियो ।तर लामिछानेले संबिधान विपरित सांसदबाट आफुलाई निलम्बन गरिएको बाताउँदै आएका छन् ।

यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य

काठमाडौँ, १९ चैत : कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो ।

गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ५०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ५०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु २०, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु २५, आलु रातो प्रतिकिलो रु ३४, आलु रातो (भारतीय) प्रतिकिलो रु ४०, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ५०, गाजर (लोकल) प्रतिकिलो रु ३५, गाजर (तराई) प्रतिकिलो रु ३५, बन्दा (लोकल) प्रतिकिलो रु १५, बन्दा (तराई) प्रतिकिलो रु १५, बन्दा (नरिवल) प्रतिकिलो रु १५, काउली (स्थानीय) प्रतिकिलो रु ४०, स्थानीय काउली (ज्यापु) प्रतिकिलो रु ५०, मूला रातो प्रतिकिलो रु ५०, मूला सेतो (लोकल) प्रतिकिलो रु १५, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु २०, भन्टा लाम्चो प्रतिकिलो रु ३० तथा भन्टा डल्लो प्रतिकिलो रु ५०, तने बोडीको मूल्य प्रतिकिलो रु ६० कायम गरिएको छ ।

यसैगरी, मटरकोसा प्रतिकिलो रु ७०, घिउ सिमी (लोकल) प्रतिकिलो रु ७०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु ७०, घिउ सिमी (राजमा) प्रतिकिलो रु १००, टाटे सिमी प्रतिकिलो रु ७०, तितो करेला प्रतिकिलो रु १००, लौका प्रतिकिलो रु ५०, परबर (तराई) प्रतिकिलो रु ९०, घिरौला प्रतिकिलो रु ७०, झिगुनी प्रतिकिलो रु ८०, फर्सी पाकेको प्रतिकिलो रु ५०, फर्सी हरियो (लाम्चो) प्रतिकिलो रु २५, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु २५, भिण्डी प्रतिकिलो रु ११० कायम गरिएको छ । 

यस्तै, सखरखण्ड प्रतिकिलो ७०, बरेला प्रतिकिलो रु ५०, पिँडालु प्रतिकिलो रु ९०, स्कूस प्रतिकिलो रु ४०, रायो साग प्रतिकिलो रु ७०, पालुङ्गो साग प्रतिकिलो ८०, चमसुरको साग रु १००, तोरीको साग प्रतिकिलो रु ६०, मेथीको साग प्रतिकिलो रु ९०, प्याज हरियो प्रतिकिलो रु ५०, बकुला प्रतिकिलो रु ६०, तरुल प्रतिकिलो रु १२०, च्याउ (कन्य) प्रतिकिलो रु १५०, च्याउ (डल्ले) प्रतिकिलो रु ३३० तथा कुरिलो प्रतिकिलो रु ६०० निर्धारण गरिएको छ ।

निगुरो प्रतिकेजी रु १००, ब्रोकाउली प्रतिकिलो रु ५०, चुकुन्दर प्रतिकिलो रु ६०, सजीवन प्रतिकिलो रु २००, कोइरालो प्रतिकिलो रु १८०, रातो बन्दा प्रतिकिलो रु ५०, जिरीको साग प्रतिकिलो रु ६०, ग्याठकोभी प्रतिकिलो रु ६०, सेलरी प्रतिकिलो रु १२०, पार्सले प्रतिकिलो रु २५०, सौफको साग प्रतिकिलो रु ७०, पुदिना प्रतिकिलो रु २५०, गान्टे मूला प्रतिकिलो रु ७०, इमली प्रतिकिलो रु १७०, तामा प्रतिकिलो रु १००, तोफु प्रतिकिलो रु १२० र गुन्द्रुक प्रतिकिलो रु ३५० तोकेकोे छ ।

समितिले स्याउ (झोले) प्रतिकिलो रु २५०, स्याउ (फूजी) प्रतिकिलो रु ३५०, केरा (दर्जन) रु १६०, कागती प्रतिकिलो रु २५०, अनार प्रतिकिलो रु ३५०, अङ्गुर (हरियो) प्रतिकिलो रु २००, अङ्गुर (कालो) प्रतिकिलो रु २५०, भारतीय सुन्तला रु २५०, तरबुजा हरियो प्रतिकिलो रु ७०, मौसम प्रतिकिलो रु २००, जुनार प्रतिकिलो रु २००, भुइँकटहर प्रतिगोटा रु २००, काँक्रो (लोकल) प्रतिकिलो रु ६०, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु ३०, रुख कटहर प्रतिकिलो रु १००, नासपाती (चाइनिज) प्रतिकिलो रु २६०, मेवा (नेपाली) प्रतिकिलो रु ५०, मेवा (भारतीय) प्रतिकिलो रु १२०, अम्बा प्रतिकिलो रु १२०, लप्सी प्रतिकिलो रु १००, स्ट्रबेरी (भुइँऐसेलु) रु २५०, किबी प्रतिकिलो रु ४५० तथा आभोकाडो प्रतिकिलो रु ६५०, अमलाको मूल्य प्रतिकिलो रु ८० निर्धारण गरिएको छ ।

यसैगरी, अदुवा प्रतिकिलो रु १२०, खुर्सानी सुकेको प्रतिकिलो रु ४००, खुर्सानी हरियो प्रतिकिलो रु ६०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु १००, खुर्सानी हरियो (माछे) प्रतिकिलो रु ९०, खुर्सानी हरियो (अकबरे) प्रतिकिलो २५०, भेडे खुर्सानी प्रतिकिलो रु १२०, लसुन हरियो प्रतिकिलो रु ७०, हरियो धनिया प्रतिकिलो रु २००, लसुन सुकेको चाइनिज प्रतिकिलो रु ३२०, लसुन सुकेको नेपाली प्रतिकिलो रु ३००, छ्यापी सुकेको प्रतिकिलो रु १६०, छ्यापी हरियो प्रतिकिलो रु ८०, ताजा माछा (रहु) प्रतिकिलो रु ३२०, ताजा माछा (बचुवा) प्रतिकिलो रु २६०, ताजा माछा (छडी) प्रतिकिलो रु २४०, राजा च्याउ प्रतिकिलो रु ३०० र सिताके च्याउको मूल्य प्रतिकिलो रु १००० तोकेको छ ।

प्रयोगम आयो शीतभण्डार, धमाधम आलु भण्डारण गरिँदै

रामपुर (पाल्पा), १९ चैत – आलु भण्डारणका लागि गाउँमा शीतभण्डार अभावमा खेमराज रानाले भैरहवामा लैजाने गर्नुहुन्थ्यो । रामपुरबाट गाडीमा ढुवानी गरेर भैरहवा लैजान त्यत्ति सहज भने छैन । उत्पादित आलु बिग्रन नदिन ढुवानी खर्चेर सुरक्षितसाथ राख्न भैरहवास्थित शीतभण्डारणमा लैजाने गरेको उहाँले सुनाउनुभयो ।

हिजोआज भने उहाँलाई आलु शीतभण्डारमा राख्न भैरहवा पुर्याउनुपरेको छैन । रामपुर नगरपालिका–२ भलायटार बस्ने रानाले गाउँमै शीतभण्डार केन्द्र प्रयोगमा आएपछि धेरै सजिलो भएको बताउनुभयो । यहाँ निर्माण भएको रामपुरशित भण्डारमा उहाँले माथिल्लो कृषक तरकारी समूहबाट ५० बोरा आलु ल्याएर राख्नुभएको छ । सोमबारदेखि रामपुर नगरपालिकाले सूचना जारी गरेर शीतभण्डारमा किसानलाई आलु भण्डारण गर्न आह्वान गरी सुरु गरिएको हो । गत वर्ष पनि रानाले समूहमार्फत ५० बोरा आलु राख्नुभएको थियो ।

“अघिल्लो वर्ष रामपुर शीतभण्डारमा राखेको राखेको आलु राम्रो भएपछि यो वर्ष पनि ल्याएर राखेका छौँ, गाउँघरमा नै चिस्यान केन्द्रमा राख्ने सुविधा भएपछि धेरै सजिलो भयो, यहाँ शीतभण्डार नबन्दासम्म भैरहवामा आलु राख्दै आइरहेका थियौँ, अब भैरहवा लैजान दौडधुप गर्नुपरेन”, उहाँले भन्नुभयो । अहिले भण्डारण गरेर राख्ने र पछि बेमौसमी याममा निकालेर बिक्री गर्दा किसानले उचित मूल्य पाउने उहाँ बताउनुहुन्छ ।

आफ्नै ठाउँमा शीतभण्डार हुँदा आलु सुरक्षितसाथ राख्न ढुक्क हुने गरेको रामपुर–६ का ७४ वर्षीय लेखनाथ पोखरेल बताउनुहुन्छ । शीतभण्डारको सुविधाले पछिल्ला वर्ष उत्पादन बढाउँदै गएको उहाँले जनाउनुभयो । यस वर्ष उहाँले खायन र बीउ आलु गरेर १५ बोरा राख्ने तयारी गर्नुभएको छ ।

“शीत भण्डारले किसानलाई धेरै सजिलो भएको छ, थोरै उत्पादन गर्ने तथा घरायसी प्रयोजनका लागि मात्र उत्पादन गर्ने किसानलाई भैरहवा, पोखरालगायत शीतभण्डारमा १०–१५ बोरा आलु बोकेर लैजाने र ल्याउने गर्न समस्या हुन्छ, रामपुरमै सुविधा भएपछि भण्डारण गर्न सजिलो, आफूलाई आवश्यक परेका बेला निकाल्न सकियो”, उहाँले भन्नुभयो ।

रामपुरको मात्र नभई स्याङ्जा चापाकोट नगरपालिकाबाट पनि एक हजार पाँच सय बोरा आलु राखिने तयारी भइरहेको रामपुर नगरपालिकाका कार्यवाहक नगरप्रमुख दोवराज तिवारीले जानकारी दिनुभयो । उहाँले नगरपालिकाले आलुको रेखदेखका लागि एक जना दैनिक हेरालु व्यवस्थापन गरिने बताउनुभयो । अहिले कृषि शाखाका कर्मचारी परिचालन गरेर आलु राख्ने कार्य भइरहेको उहाँको भनाइ छ ।

“यसपटक तीन हजार पाँच सयदेखि चार हजार बोरा राख्ने अनुमान गरिएको छ, आलु राख्न धेरै ठाउँबाट सम्पर्क गरिरहनुभएको छ, स्थानीयलाई पहिला प्राथमिकता दिएका छौँ”, उहाँले भन्नुभयो, “यहाँ राखिएको आलु नगरपालिकाले सुरक्षित साथ व्यवस्थापन गर्ने छ, सुरक्षितसाथ राख्न पाउँदा किसान उत्साहित हुनुहुन्छ ।”

यहाँ राख्न ल्याइएका आलु राख्ने र निकाल्ने व्यवस्था पनि नगरपालिका आफैँले गरिरहेको छ । प्रतिकिलो रु छ का दरले किसानसँग भण्डारण शुल्क लिएर राख्ने गरिएको रामपुर नगरपालिका कृषि शाखाका कर्मचारी युवराज नेपालीले जानकारी दिनुभयो । उहाँका अनुसार यहाँ गत वर्ष तीन हजार ३७० बोरा बीउ तथा खायन आलु भण्डारण गरिएको थियो ।

यहाँ शीतभण्डार निर्माण भएपछि यसभन्दाअघि तीनपटक आलु भण्डारण सुविधा किसानले लिइसकेका छन् । पहिलो वर्ष परीक्षणका रूपमा राखिएका केही आलुमा उम्रने समस्या आएपछि पुनः मर्मतसम्भार गरेर सञ्चालनमा ल्याइयो । दोस्रो र तेस्रो वर्ष राम्रो भण्डारण भएपछि किसानले बाहिरका शीतभण्डारमा आलु लैजान छाडेका छन् । अहिले राखिएको खायन आलु भदौ र असोजमा निकालिने छभने बीउ प्रयोजनका लागि राखिएको आलु कात्तिकमा सार्वजनिक सूचना प्रकाशन गरेर निकालिने जनाइएको छ ।

किसानले उत्पादन गरेका कृषि उपजलाई सुरक्षित तरिकाले भण्डार गरेर राख्नका लागि तीन सय मेट्रिक टन क्षमताको शीतभण्डार निर्माण गरी प्रयोगमा ल्याएको नगरप्रमुख रमणबहादुर थापा बताउनुहुन्छ । रामपुर क्षेत्रमा आलु धेरै उत्पादन हुने गरेकाले आलुबाली सुरक्षितसाथ राख्न किसानलाई धेरै सजिलो भएको नगरप्रमुख थापाले बताउनुभयो ।

नगरपालिकाले पहिलो वर्ष बोलपत्रमार्फत रम्भा गाउँपालिका–१ हुँगीका भगवती अधिकारी न्यौपानेलाई, दोस्रो र तेस्रो वर्ष सूर्योदय कृषि सहकारीसँग सम्झौता गरेर सञ्चालन गरेको थियोभने चौथो वर्ष नगरपालिका आफँैले व्यवस्थापन गरेर सञ्चालन गर्ने जनाइएको छ ।

विसं २०७८ वैशाखमा निर्माण सम्पन्न गरी शीतभण्डार प्रयोगमा ल्याइएको हो । यो पाल्पाको सबैभन्दा ठूलो क्षमताको शीतभण्डार रहेको छ । लुम्बिनी प्रदेश सरकारको सर्शत अनुदानमा रबिना र अभिसा जेभी कन्ट्रक्सन प्रालिले संयुक्त रूपमा रु तीन करोड २६ लाख ७६ हजार

एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख

काठमाडौँ । गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) को मे ३–५, २०२५ मा काठमाडौँमा आयोजना हुन गइरहेको एकता महाधिवेशनको नेतृत्व चयनका लागि बन्ने उम्मेदवारहरूको मनोनयन दर्ता शुल्क तोकिएको छ ।

सर्वोच्च अदालतद्वारा गठित उच्चस्तरीय समितिको १३ औँ बैठकले उम्मेदवार बन्नका लागि मनोनयन शुल्क निर्धारण गरेको हो ।

समितिको बैठकले अध्यक्ष पदको उम्मेदवार बन्नका लागि रु ७ लाख रुपैयाँ मनोनयन शुल्क तोकेको छ । यसैगरी उपाध्यक्ष पदका लागि ५ लाख रुपैयाँ तय गरिएको छ भने महासचिवको उम्मेदवार बन्न ४ लाख रुपैयाँ मनोनयन शुल्क तिर्नु पर्ने छ ।

त्यस्तै, सचिव र कोषाध्यक्ष पदको उम्मेदवारले ३–३ लाख रुपैयाँ तिर्नुपर्ने निर्णय भएको उच्चस्तरीय समितिकी सदस्यसचिव जानकी गुरुङले जानकारी दिइन् । यसैगरी, सह कोषाध्यक्षदेखि संयोजक पदका उम्मेदवारको शुल्क रु २ लाख निर्धारण गरिएको छ भने उप संयोजकदेखि आइसिसी सदस्य बन्नका लागि एक एक लाख रुपैयाँ उम्मेदवारी दर्ता शुल्क तोकिएको पनि सदस्य सचिव गुरुङले बताइन् ।

उच्चस्तरीय समितिले यसअघि नै ३ सदस्यीय निर्वाचन समिति गठन गरी सकेको छ । वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरे संयोजक रहेको समितिमा सेवानिवृत्त मेजर डमर घले र अधिवक्ता आशिष उप्रेती सदस्य रहेका छन् । निर्वाचन समितिलाई उच्चस्तरीय समितिले सदस्यता र डेलिगेट्सको सूची बुझाएपछि औपचारिक काम अघि बढाउने जनाइएको छ । यसैगरी, निर्वाचन समितिलाई सहजीकरण गर्नका लागि आवश्यक कार्यविधि (टिओआर) पनि एक साताभित्र बनाउने बैठकले निर्णय गरेको छ ।

सर्वोच्च अदालतको परमादेशद्वारा गठित उच्चस्तरीय समितिले सदस्यता वितरणको समय एक साता थप गरेर अप्रिल ७ तारिखसम्म पुर्‍याएको छ भने डेलिगेट्स (प्रतिनिधि) बन्नका लागि अप्रिल १ देखि २२ सम्म निवेदन दिन समय सीमा तोकेको छ । काठमाडौँमा डेलिगेट्स बन्नका लागि भने १ सय डलर वा सो बराबरको नेपाली रकम बुझाउनु पर्ने छ ।

एमआइस सिस्टममा पहुँच नपाएपछि उच्चस्तरीय समितिले आफ्नै वेबसाइटमार्फत सदस्यता आह्वान गरेको हो । उक्त वेबसाइट www.nrnahlc.com मा गएर एनआरएनएका आजीवन सदस्यहरूले पनि अनिवार्य दर्ता गर्नु पर्ने व्यवस्था गरिएको उच्चस्तरीय समितिका अध्यक्ष डा. शेष घलेले जानकारी दिए ।

प्रधानमन्त्री ओली छैटौँ शिखर सम्मेलनमा भाग लिन आज बैंककतर्फ प्रस्थान गर्दै

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओली मित्र राष्ट्र थाइल्याण्डको औपचारिक भ्रमण र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) को छैटौँ शिखर सम्मेलनमा भाग लिन आज बैंककतर्फ प्रस्थान गर्दै हुनुहुन्छ ।

थाइल्याण्डका प्रधानमन्त्री फेथोङथान सिनावात (पैटोङ्टार्न शिनावात्रा) को मैत्रीपूर्ण निमन्त्रणामा नेपालका प्रधानमन्त्रीबाट इतिहासमै पहिलो पटक थाइल्याण्डको औपचारिक भ्रमण हुन लागेको हो । प्रधानमन्त्री ओली नेतृत्वको भ्रमण टोली यही चैत १९ गते दिउँसो १३ः३० बजे थाइ एयरलाइन्सबाट बैंककतर्फ प्रस्थान गर्नेछ । प्रधानमन्त्रीको सचिवालय र परराष्ट्र मन्त्रालयले भ्रमणको सबै आवश्यक तयारी पूरा गरिसकेको जनाइएको छ । प्रधानमन्त्री ओलीले भ्रमणका सम्बन्धमा आज सङ्घीय संसद्का दुवै सदनलाई औपचारिक जानकारीसमेत गराइसक्नुभएको छ ।

यही चैत २० गते प्रधानमन्त्री ओलीबाट थाइल्याण्डको औपचारिक भ्रमण सुरु हुनेछ । भ्रमणका क्रममा प्रधानमन्त्रीस्तरमा द्विपक्षीय वार्ता भई पर्यटन र संस्कृतिका सन्दर्भमा दुई र गैरसरकारी क्षेत्रबीच छ वटा समझदारीपत्रमा हस्ताक्षर हुनेछ । द्विपक्षीय वार्तापछि थाइल्याण्डका प्रधानमन्त्री सिनावातसँगै प्रधानमन्त्री ओलीले संयुक्त प्रेस ब्रिफिङमा भाग लिनुहुनेछ । थाइल्याण्डका नरेशसँगको भेटपछि एकदिने औपचारिक भ्रमण सकिनेछ ।

“दुई देशबीच ६५ वर्षको कूटनीतिक इतिहासमा यो एउटा औपचारिक भ्रमणको आदानप्रदानको नयाँ सुरुआत हो । हाम्रो तर्फबाट यो विल्कुलै नयाँ सुरुआत हो”, प्रधानमन्त्री ओलीले संसद्मा सम्बोधनका क्रममा भन्नुभएको थियो ।

थाइल्याण्डमा रहँदा प्रधानमन्त्री ओलीले यही चैत २१ गते बिहान त्यहाका प्रतिष्ठित व्यवसायीहरूसँग भेटघाट र छलफल गर्नुहुनेछ भने सोही दिन दिउँसो एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुनेछ । साँझ बिमस्टेक शिखर सम्मेलनका नेताहरूलाई दिइने औपचारिक रात्रिभोजमा प्रधानमन्त्री ओली सहभागी हुनुहुनेछ ।

चैत २२ गते बिमेस्टक शिखर सम्मेलनमा सहभागी तथा सम्बोधन हुने कार्यक्रम रहेको छ । शिखर सम्मेलन लगत्तै बाँकी मुलुकका नेताहरूसँग सम्भव भएसम्म ‘साइडलाइनण्द्दज्ञड वार्ता गर्ने प्रधानमन्त्री ओलीको योजना रहेको छ । सोही दिन मेरिटाइम ट्रान्स्पोर्ट कोअपरेशन अग्रिमेन्टमा हुने हस्ताक्षर समारोहमा प्रधानन्त्री ओली सहभागी हुनुुहुनेछ । सोही दिन साँझ बैंककस्थित नेपाली दूतावासमा हुने कार्यक्रममा उहाँ सहभागी हुनुहुनेछ ।

प्रधानमन्त्री ओलीको भ्रमण दलमा प्रथम महिला राधिका शाक्य, परराष्ट्रमन्त्री डा आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, आर्थिक–विकास सल्लाहकार डा युवराज खतिवडा, नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्याल, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई, प्रधानमन्त्रीका निजी चिकित्सक डा दिव्यासिंह शाह, प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव राजेश बज्राचार्य, सुरक्षाकर्मी र सञ्चारकर्मीसहित २१ जना रहनुहुनेछ ।  

भ्रमणको तयारीका क्रममा परराष्ट्र मन्त्रालयका दुई अधिकारी अग्रिम रूपमा बैंकक जानुभएको छ भने थाइल्याण्डका लागि नेपाली राजदूत धनबहादुर वलीसहित दूतावासका चार अधिकारी नेपाल सरकारलाई कुनै आर्थिक दायित्व नपर्ने गरी भ्रमण दलमा सामेल हुनुहुनेछ । भ्रमणमा नेपालको निजी क्षेत्रका प्रतिनिधि पनि सामेल हुनुहुनेछ ।

प्रधानमन्त्री ओलीले भ्रमणको पूर्वतयारी र परामर्शका क्रममा आइतबार पूर्वप्रधानमन्त्री र  पूर्वपरराष्ट्रमन्त्रीहरूसँग परामर्श छलफल गर्नुभएको थियो । छलफलमा नेपालको आर्थिक विकास, कनेक्टिभिटी, ऊर्जा, पर्यटन र सांस्कृतिक आदानप्रदानलगायत क्षेत्रमा भ्रमणलाई मुलुकको अधिकतम हितमा उपयोग गर्न सुझाव दिइएको थियो । प्रधानमन्त्री नेतृत्वको टोली यही चैत २३ गते स्वदेश फर्किनेछ ।

नेपाल सरकारले म्यानमा सरकारलाई मेडिकल उपकरण र औषधिसहित राहत सामग्री उपलब्ध गराइने

काठमाडौँ- नेपाल सरकारले विभिन्न निकायसँग मौज्दात रहेका तथा निजी क्षेत्रबाट सहयोगस्वरुप प्राप्त मेडिकल उपकरणसहित औषधिलगायत राहत सामग्री म्यानमा सरकारलाई प्रदान गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को सोमबार साँझ बसेको बैठकले यही चैत १५ गते म्यानमामा गएको शक्तिशाली भूकम्पबाट जनधनको क्षति भएको सन्दर्भमा नेपाल सरकारकोतर्फबाट ती सहयोग सामग्री सहयोगस्वरुप उपलब्ध गराउने निर्णय गरेको हो ।

उक्त सामग्री नेपालबाट हवाइजहाजमार्फत म्यारमामा ढुवानी गर्दा लाग्ने रकम अर्थ मन्त्रालयबाट नेपाल वायुसेवा निगमका नाममा निकासा गर्ने निर्णय भएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिनुभयो ।

उहाँका अनुसार बैठकले नेपाल सरकारका विभिन्न निकायबाट पठाइने ती सामग्रीको अर्थ मन्त्रालयबाट तत् निकायमा सोधभर्नाका लागि रकम उपलब्ध गराउने निर्णय पनि गरेको छ । उक्त भूकम्पमा परी घाइते भएकालाई तत्काल उपचार गर्न नेपाल सरकारकातर्फबाट नेपाली सेनाको चिकित्सक टोली नेपाली सेनाकै जहाज प्रयोग गरी पठाउने निर्णय भएको पनि उहाँले जानकारी दिनुभयो ।

आइपिएलः मुम्बईको पहिलो जित, कोलकाता ८ विकेटले पराजित

काठमाडौँ- इन्डियन प्रिमियर लिग (आइपिएल) २०२५ को १२औँ खेलमा मुम्बई इन्डियन्सले कोलकाता नाइट राइडर्सलाई आठ विकेटले पराजित गरेको छ ।
मुम्बईस्थित वानखेडे अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा भएको खेलमा मुम्बईले कोलकातालाई आठ विकेटले हराएको हो । जारी आइपिएलमा तीन खेल खेलेको मुम्बईको यो पहिलो जित हो । यसअघिका दुईवटै खेलमा मुम्बईले हार व्यहोरेको छ ।

कोलकाताले जितका लागि दिएको एक सय १७ रनको लक्ष्य मुम्बईले १२ दशमलव पाँच ओभरमा दुई विकेट गुमाउँदै पूरा गर्‍याे । मुम्बईको लागि रायन रिकेलटनले अविजित रहदैँ सर्वाधिक ६२ रन बनाए । उनले सो क्रममा ४१ बलमा पाँच छक्का र चार चौका हिर्काए । यस्तै, सूर्यकुमार यादवले अविजित २७ रन बनाए भने विल ज्याक्सले १६ र रोहित शर्माले १३ रनको योगदान दिए । मुम्बईले अतिरिक्त तीन रन प्राप्त गर्‍याे । कोलकाताका लागि आन्द्रे रसेलले दुई विकेट हात पारे । 

त्यसअघि, टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कोलकाताले १६ दशमलव दुई ओभरमा १० विकेट गुमाउँदै एक सय १६ रन बनाएकोे थियो । कोलकाताका लागि अंगकृष रघुवंशीले सर्वाधिक २६ रन बनाए । उनले १६ बलमा तीन चौका र एक छक्का प्रहार गर्दै २६ रन बनाएका हुुन् । 

कोलकाताका लागि रमनदीप सिंहले २२, मनिष पाण्डेले १९, रिङ्कु सिंहले १७, कप्तान अजिक्य रहाणले ११ र आन्द्रे रसेलले पाँच रन बनाए । त्यस्तै, हर्षित राणाले चा, वेंकटेश अय्यरले तीन, क्विन्टन डे कक र स्पेन्सर जाँनसन समान एक/एक बनाउँदा सुनील नारिनले एक रन पनि जोड्न सकेनन् । कोलकाताले अतिरिक्त सात रन प्राप्त गरेको थियो । मुम्बईका लागि अश्विनी कुमारले सर्वाधिक चार विकेट लिएका छन् ।     दीपक चाहरले दुई विकेट हात पार्दा कप्तान हार्दिक पाण्डेय, ट्रेन्ट बोल्ट, विग्नेश पुथुर र मिचेल सेन्टनरले समान एक/एक विकेट लिए ।

आजको मौसम : पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव

काठमाडौँ, १९ चैत : हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । यसको प्रभावले कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने तथा बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

आज राति बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । यसबाट दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने हुँदा त्यसबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

अन्नपूर्ण हिमाल आरोहणका लागि आरोहीहरू आधार शिविरमा

म्याग्दी । अन्नपूर्ण हिमाल आरोहणका लागि आरोहीहरू आधार शिविरमा पुग्न थालेका छन् । आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल आरोहण गर्ने आधार शिविर म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको भूगोलमा पर्दछ ।

चालु वसन्तयाममा अन्नपूर्ण हिमाल आरोहणका लागि आएका आरोही, शेर्पा, पथप्रर्दशक, मजदुर र पर्यटकहरूको आधार शिविरमा चहलपहल बढेको अन्नपूर्ण गाउँपालिका–४ का वडासदस्य श्याम पुर्जाले बताए ।

“अन्नपूर्ण आधार शिविरमा आरोहण टोलीले टेन्ट टाँगेर गाउँ जस्तै बनाएका छन्”, उनले भने, “आरोहण टोलीका साथै आन्तरिक तथा बाह्य पर्यटकहरूको पनि आगमन सुरु भएको छ ।” उनका अनुसार समुन्द्री सतहबाट चार हजार एक सय मिटर उचाइमा आरोहीका साथै घुमघामका लागि पर्यटकहरू पनि आउन थालेका छन् ।

पर्यटन विभागले पछिल्लो पटक गत मङ्लवार सार्वजनिक गरेको तथ्याङ्क अनुसार यस वर्षको वसन्तयाममा अन्नपूर्ण हिमाल आरोहणका लागि पाँच समूहका ३० पुरुष र १२ जना महिला आरोहणको अनुमति लिएका छन् । वसन्तयामका लागि हालसम्म पाँच वटा हिमाल अरोहण गर्न ५८ जनाले अनुमति लिएकामा सबैभन्दा बढी अन्नपूर्ण चढ्ने पर्यटक रहेका विभागका निर्देशक आरती न्यौपानेले जानकारी दिए ।

उनका अनुसार पायनियर एडभेन्चर, आठ के एक्सपिडेसन, इमेल नेपाल, सेभेन समिट, १४ पिक्स एक्सपिडेसन, मकालु एडभेन्चर र बोचीबोची पिक्समार्फत विश्वका विभिन्न देशबाट आएका आरोहीहरू आधार शिविरमा पुगेर तयारी थालेका छन् ।

भारतीय पर्वतारोहीलाई आरोहण गराउन आधार शिविर पुगेका सेभेन समिटका पेम्बा शेर्पाले २० दिनभित्र अन्नपूर्ण आरोहण सकेर सगरमाथा जाने योजना रहेको बताए । “शेर्पाहरूले आधार शिविरबाट हिमालको चुचुरोतर्फ जाने बाटो बनाउन थालेका छन् । केहीदिन आधार शिविरमा विश्राम र तयारी गरेपछि आरोहीहरू हिमाल चढ्न जानेछन्”, उनले भने ।

विश्वको दशौँ अग्लो अन्नपूर्ण हिमाल आरोहणका लागि वसन्तयाम उपयुक्त मानिन्छ । अन्नपूर्णको अहिलेसम्म चार सय ८८ जनाले सफल आरोहण गरेका पर्यटन विभागले जनाएको छ । सन् १९५० मा फ्रान्सका मौरिस हर्गोजले अन्नपूर्ण पहिलो पटक आरोहण गरेका थिए । मौरिसले अन्नपूर्ण चढेको तीन वर्षपछि सन् १९५३ मा सरएडमण्ड हिलारी र तेन्जिननोर्गे शेर्पाले सर्वोच्च शिखर सगरमाथा आरोहण गरेका थिए ।

आठ हजार मिटरभन्दा अग्लो सबैभन्दा पहिलो पटक मानव पाइला परेका कारण अन्नपूर्णलाई ‘जेठो’ हिमाल पनि भन्ने गरिन्छ । प्रथम आरोही मौरिस हर्जोगले आरोहणका क्रममा प्रयोग गरेको बाटोलाई पहिचान गरेर नारच्याङ–आधार शिविर जोड्ने मौरिस हर्जोग पदमार्ग तयार गरिएको अन्नपूर्ण गाउँपालिका कार्यालयले जनाएको छ ।

नारच्याङका अगुवा तेज गुरुङको अगुवाइमा विसं २०६७ मा पहिचान भएको यो पदमार्गमा आधारभूत पूर्वाधार तयार भएपछि आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा परेको उनले उल्लेख गरे । पदमार्गलाई व्यवस्थित बनाएपछि यसपाली मजदुरहरूले सामान बोकेर आधार शिविरमा पुर्‍याएका अभियन्ता गुरुङले बताए ।

“गत वर्षसम्म सामान र पर्यटक दुवै हेलिकप्टरबाट आधार शिविर जाने गर्दथे”, उनले भने, “यसपाली पर्यटक हेलिकप्टरमा गएपनि सामान भरियाले बोकेर लगेका छन् ।” पदमार्गको प्रयोगसँगै आरोहीहरूको खर्च घट्नुका साथै भरियाहरूका लागि रोजगारीको अवसर सिर्जना भएको उनको भनाइ छ ।

पदमार्ग र आधार शिविर क्षेत्रमा अस्थायी संरचना ‘टेन्ट’को आश्रय स्थल निर्माण गरी खाना र खाजा खुवाउने व्यवस्था मिलाएपछि पर्यटकहरूलाई सहज भएको गुरुङले बताए । यसअघि होटल तथा लजको सुविधा नभएको मौरिस हर्जोग पदमार्ग र अन्नपूर्ण आरोहण शिविरमा जानेहरूले खाना, खाजाका परिकार, भाँडाकुँडा, ग्यास, लत्ताकपडालगायत सामग्री आफैँले जोहो गर्नुपर्ने समस्या थियो ।

फुटफुते झरनामा चिया पसल, साधीखर्क, गुफाँफाँट, भुसकेट र अन्नपूर्ण आधार शिविरको पञ्चकुण्डताल परिसरमा अस्थायी शिविर सञ्चालन गरेपछि पर्यटकलाई खान, बस्न सहज भएको अभियन्ता गुरुङले बताए । उनका अनुसार बन्दोबस्तीका सामानको भारी बोकेर यात्रा गर्नुपर्ने बाध्यता हट्नुका साथै स्थानीयस्तरमा रोजगारी र आयआर्जनको अवसर सिर्जना भएको छ ।

ती अस्थायी शिविरमा दैनिक ५० जनासम्म पर्यटक बास बस्न सक्छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)मा पर्ने उक्त क्षेत्रमा स्थायी संरचना बनाउन नमिल्ने कानुनी व्यवस्था भएकाले पर्यटकीय याममा सञ्चालन गर्न मिल्ने गरी क्षेत्र तोकेर शिविर बनाउन अनुमति दिइएको एकयापले जनाएको छ ।

आधार शिविरबाट सोमबार फर्किएका म्याग्दीका सञ्चारकर्मी गणेश गुरुङले अस्थायी शिविर र रेष्टुरेन्टको सुविधाले सहज भएपनि स्वभाविक शल्क निर्धारण र एकरुपता कायम गर्नुपर्नेमा जोड दिए ।

मिस्त्रीखोलाको किनारैकिनार, अग्ला झरना, मनमोहक हिमशृङ्खला, अनौठो भूगोल, पहाड, दुर्लभ वनस्पति, वन्यजन्तुको अवलोकन गर्दै समुन्द्री सतहबाट चार हजार १०० मिटर उचाइमा रहेको अन्नपूर्ण आधार शिविरमा पुग्न सकिन्छ । नारच्याङबाट दुई घण्टा सवारीसाधनमार्फत यात्रा गरेपछि पुगिने हुमखोलाबाट दुई दिनमा आधार शिविर पुग्न र तेस्रो दिन फर्कन सकिन्छ ।

छोटो यात्रामा पुग्न सकिने भएकाले अन्नपूर्ण आधार शिविर पर्यटकको रोजाइमा परेको स्थानीय बताउँछन् । शान्त र एकान्त वातावरण, वन्यजन्तु, पशुपन्छी, जङ्गल, अग्ला पहाडको खोँच, फुटफुते झरना, अन्नपूर्ण हिमालको फेदीमा रहेको निलो रङ्गको पञ्चकुण्डताल आधार शिविरका आकर्षण हुन् ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ स्थित अन्नपूर्ण आधार शिविरमा आरोहण टोलीले राखेको क्याम्प । बसन्तयाममा अन्नपूर्ण हिमाल आरोहणका लागि आरोहीहरुको टोलीको आधार शिविरमा चहलपहल बढेको छ । तस्बिर ः सन्तोष गौतम / रासस

नारायणगढ–बुटवल सडक निर्माण योजनाको पूर्वी खण्डमा ५० किलोमिटर सडक कालोपत्र

त्रिवेणी (नवलपरासी), १९ चैत : नारायणगढ–बुटवल सडक निर्माण योजनाको पूर्वी खण्डमा ५० किलोमिटर सडक कालोपत्र गरिएको छ । पूर्वी खण्डको गैँडाकोटबाट दाउन्नेसम्मको ६३ किलोमिटर खण्डमध्ये एकतर्फको ५० किलोमिटर सडक कालोपत्र गरिएको हो ।

योजनाका सूचना अधिकारी शिव खनालका अनुसार आउँदो बर्खा अगाडि नै बाँकी १३ किलोमिटर सडकसमेत कालोपत्र गर्ने लक्ष्यअनुसार काम भइरहेको छ । दाउन्ने खण्डमा यात्रा गर्दा सास्ती खेप्नुपरेकाले सो क्षेत्रमा चार किलोमिटर र घुमाउरो घुम्तीमा चार किलोमिटर सडक वर्षाअघि नै ढलान गरिने उहाँले बताउनुभयो । ढलानको काम यसै सातादेखि थालिने छ ।

“पहिलो चरणमा एकतर्फी रूपमा यातायात सहज होस् भन्ने हो, यसलाई प्राथमिकता दिएका छौँ, सँगै दोस्रो भागतर्फको काम पनि समानान्तर रूपमा भइरहेको छ”, सूचना अधिकारी खनालले भन्नुभयो ।

विसं २०७५ माघमा सम्झौता भएर २०७९ साउनमा सडक विस्तारको काम सम्पन्न गर्नेगरी काम अघि बढाइएको हो । नारायणगढ–बुटवल सडकको कुल ११३ किलोमिटर सडकलाई दुई खण्डमा विभाजन गरी काम थालिएको हो । निर्धारित समयमा काम सम्पन्न नभएपछि २०८१ साउनसम्मका लागि दोस्रोपटक म्याद थप गरिएको थियो । सो अवधिमा पनि काम सम्पन्न नभएपछि २०८२ साउनसम्मका लागि तेस्रोपटक म्याद थप गरिएको छ ।

एसियाली विकास बैंक (एडिबी)को ऋण सहयोगमा सडक विस्तार योजनाको दुवै खण्ड रु १६ अर्ब ९९ करोड ५३ लाखको लागतमा काम भइरहेको सूचना अधिकारी खनालले बताउनुभयो । एक सय १३ किलोमिटर सडकमध्ये ७० किलोमिटर चार लेन तथा २९ किलोमिटरमा चार लेनसहित दुवैतर्फ ६–६ मिटरको सर्भिस लेन हुनेछ । दाउन्नेमा १४ किलोमिटर सडक तीन लेनको हुने छ ।

कञ्चनपुरमा गहुँबालीबाट नियन्त्रणमा लिइएको बाघलाई निकुञ्जमा छाडिने

कञ्चनपुर, १९ चैतः बेलौरी नगरपालिका–२ टेढुवा गाउँबाट नियन्त्रणमा लिइएको वयस्क भाले पाटेबाघलाई शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा छाडिने भएको छ ।
वन प्राविधिकको टोलीले आइतबार गहुँ खेतबाट पाटेबाघलाई डार्ट (बेहोस) गरेर नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा लिइएको बाघलाई डिभिजन वन कार्यालय कञ्चनपुरको संरक्षणमा राखिएको छ ।

“नियन्त्रणमा लिएर संरक्षणमा राखिएको बाघको स्वास्थ्य परीक्षणको कार्य गर्दा स्वस्थ देखिएको छ”, डिभिजन वन कार्यालयका प्रमुख रामविचारी ठाकुरले भन्नुभयो, “घाउ चोटपटक पनि छैन, बाघ तन्दुरुस्त छ ।” यथाशीघ्र निकुञ्जको कोर एरिया (भित्री भाग) को सुरक्षित स्थानमा छाड्ने तयारी भइरहेको उहाँले बताउनुभयो । 

डिभिजन वन कार्यालय कञ्चनपुर, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोषको १२ जनाको प्राविधिक टोलीले दुई वटा हात्तीको सहायताले बाघलाई नियन्त्रणमा लिएको हो । बस्तीबीचको गहुँ खेतमा पसेको बाघलाई खोज्न ड्रोन क्यामेराको सहायता लिइएको थियो । 

चैत्र शुक्ल द्वितीयाः पशुपति क्षेत्रमा गरिएको देशोद्वार पूजासहितको वत्सलेश्वरी जात्रा समाप

काठमाडौँ, १९ चैतः मुलुकमा शान्ति स्थापना होस् भन्ने कामनाका साथ पशुपति क्षेत्रमा गरिएको देशोद्वार पूजासहितको वत्सलेश्वरी जात्रा समापन भएको छ ।
आर्यघाट जाने बाटोस्थित वत्सलेश्वरी मन्दिर परिसरबाट यही चैत ९ गते शनिबार चैत्र कृष्ण अष्टमीदेखि सुरु भएको जात्रा पशुपति क्षेत्रका सबै टोलमा घुमाइएको छ । पशुपति क्षेत्रभर घुमाएपछि सोमबार राति जात्रा सकिएको पशुपति क्षेत्र विकास कोष अमालकोट कचहरीका द्वारे रामकृष्ण डङ्गोलले राससलाई जानकारी दिनुभयो ।

चैत्र कृष्ण अष्टमीका दिन चैत ९ गते शनिबार पशुपतिका भट्टले जात्रामा उपत्यकाका मुख्य देवदेवी एवं स्थानीयवासीलाई जात्रा हेर्न आउनु भनी निमन्त्रणा गर्नुभएको थियो । यात्रामा यसरी निमन्त्रणा दिने लिच्छविकालदेखिको परम्परा रहेको डङ्गोलले बताउनुभयो । उहाँका अनुसार उपत्यकाका देवदेवीलाई निमन्त्रणा गरेपछि देशोद्वार पूजासमेत भनिने यो जात्रा सुरु भएको हो ।

जात्राअघि बज्रेश्वरी, वत्सलेश्वरी, आकाशभैरव, पशुपति क्षेत्रका नौ शक्तिपीठलगायत स्थानमा देशोद्वार पूजा सम्पन्न गरिएको हो । चैत्र शुक्ल द्वितीयाका दिन सोमबार राति सिन्दुर जात्रा गरी वत्सलेश्वरी जात्रा समापन गरिएको छ । एघार दिनसम्म सञ्चालन भएको यो जात्रा पशुपति क्षेत्रका लामो जात्रामध्येको एक मानिन्छ ।

मुलुकमा शान्ति कायम होस् भन्ने कामनाले पूजा एवं जात्रा गरिएकाले दूध खाने बालक पनि यो जात्रा हेर्न आउँछन् भन्ने विश्वास पशुपति क्षेत्रमा गरिन्छ । देशोद्वार पूजा र जात्रामा चार थरका मानिस प्रत्यक्ष रूपमा संलग्न हुने गरेका छन् । उपाध्याय, वैद्य, डङ्गोल र सङ्गत गरी चार थर प्रत्यक्ष रूपमा सहभागी हुने गरेको डङ्गोलले सुनाउनुभयो । 

वत्सलेश्वरीलाई नक्साल भगवतीको दिदीका रूपमा पूजा आराधना गरिन्छ । भगवान् शिवको पत्नीका रूपमा पूजिने वत्सलेश्वरीलाई पशुपतिबाट निकालेको भन्ने किंवदन्तीका आधारमा सोमबार नक्साल भगवतीको जात्रा पनि पशुपति क्षेत्रमा लगिएको थियो । नक्साल भगवतीले भगवान् शिवको ध्यानाकर्षण गराउन सोमबार बेलुकी रथले पशुपतिको मूलढोकामा तीनपटक ठोकाएर फर्काउने प्रचलन रहिआएको छ ।

बहिनीले श्रीमान्को ध्यानाकर्षण गराएपछि वत्सलेश्वरी माता भने चैत्र शुक्ल प्रतिपदा अर्थात् आइतबार राति छोरा चन्द्रविनायककहाँ बस्न जाने परम्परा छ । यसै परम्परा अनुसार सोमबार वत्सलेश्वरीको रथ तानेर चाबहिल गणेशसमेत भनेर पुजिने चन्द्रविनायकमा लगिएको थियो । त्यहाँबाट आज पशुपति क्षेत्रका विभिन्न स्थानमा घुमाएर पशुपति अमालकोटमा ल्याई सिन्दुर जात्रा गरेपछि ११ दिन लामो जात्रा समापन गरिएको कोषको अमालकोट कचहरीका द्वारे डङ्गोलले जानकारी दिनुभयो ।

प्रत्येक वर्ष यो जात्रा मनाएमा जनतामा रोग व्याध नलाग्ने, सुख, शान्ति हुने विश्वास रहेको छ । यसै विश्वासले बालबालिका पनि जात्रा हेर्न पशुपति क्षेत्रमा आउने गरेका छन् । दूध खाने बालकसमेत जात्रा हेर्न आउने भएकाले यसलाई दुदु च्याँ च्याँ भन्ने नामलेसमेत चिनिन्छ ।

किच्चकबधमा उत्खननका क्रममा ‘दरबारको जग’ भेटियो

झापा, १९ चैतः महाभारतकालीन विराट राजाको सालो किच्चकको दरबार रहेको विश्वास गरिएको भद्रपुर नगरपालिका–३ स्थित किच्चकबधस्थलमा पुरातत्व विभागको टोलीले आठौँ चरणको उत्खनन गरेको छ ।

उत्खनन गर्दा पुरातात्विक महत्वको ‘दरबारको जग’ भेटिएको पुरातत्वविद् उद्धव आचार्यले जानकारी दिनुभयो । उहाँको नेतृत्वमा पुरातत्व विभागबाट आएको चार सदस्यीय टोलीले यही फागुन २५ गतेदेखि किच्चकबध स्थलमा उत्खनन तथा संरक्षणको कार्य निरन्तर गरिरहेको छ ।

विभागका अधिकृत नवराज अधिकारीले किच्चकबध स्थलमा विसं २०५८ देखि विभागले आचार्यको नेतृत्वमा उत्खनन गरिरहेको बताउनुभयो । उहाँका अनुसार यसपटक जारी उत्खननका क्रममा तीन मिटरभन्दा गहिरो जग र केही प्राचीन सामग्रीहरू भेटिएका हुन् । भेटिएको जगको इँटाहरू विगतमा फेला परेका इँटासँग मिल्दोजुल्दो छ ।

“यसपटक हामीले केही नयाँ ठाउँमा उत्खनन गरेका थियौँ”, पुरातत्वविद् आचार्यले भन्नुभयो, “विगतमा उत्खनन हुँदा फेला परेका प्राचीन संरचनाहरूको संरक्षणमा बढी ध्यान दिएका छौँ ।” उहाँका अनुसार विगतमा यहाँ भएको उत्खननबाट २२०० वर्ष पुरानो दरबारको सुरक्षा पोस्ट, पर्खाल र कम्पाउन्डसहितको भौतिक संरचना भेटिएको थियो । त्यसबेला मानिसले प्रयोग गर्ने भाला, बाण र माटाका भाडावर्तनसमेत फेला परेपछि त्यसलाई पुरातत्व विभागले संरक्षण गर्दै आएको छ ।

दश बिघा क्षेत्रमा फैलिएको किच्चकबध स्थलमा पछिल्लो समय मानव निर्मित मन्दिर, पोखरी र अन्य भौतिक संरचना बनाइएका कारण प्राचीन महत्वका संरचना तथा वस्तुहरु नष्ट हुने जोखिम छ । विभागले नयाँ संरचनाहरू जथाभावी रूपमा नबनाउन आग्रह गर्दै आएको छ । विगतमा खनजोत गरेर खेतीपातीसमेत गरिएका कारण कतिपय भूसतहका पुरातात्विक महत्त्वका वस्तुहरू नष्ट भएको विभागको आशङ्का छ ।

गत वर्ष विभागले एउटा मन्दिर हटाउन लगाएको थियो । सोही मन्दिरमुनि यसपटक उत्खनन गर्दा प्राचीन दरबारको जग भेटिएको छ । यसपटक अझै केही दिन उत्खनन र संरक्षणको कार्य जारी रहने विभागका अधिकृत अधिकारीले जानकारी दिनुभयो ।

पुरातत्वविद् आचार्यले किच्चकबध स्थलमा फेला परेका प्राचीन वस्तुहरूको बेलायतमा नमुना लगेर कार्बन टेस्ट गर्दा २२ सय वर्ष पुरानो पुष्टि भएको बताउनुभयो । प्राचीन स्मारकका बारेमा आठौँ चरणसम्मको उत्खननबाट कुनै लिखित सामग्री भने फेला नपरेको उहाँले बताउनुभयो । 

“यहाँ हामीले भेटाएका सामानहरू २२ सय वर्ष पुरानो बास्तुकला, सभ्यता र संरचनाको प्रमाण भएको पुष्टि भइसक्यो”, उहाँले भन्नुभयो, “सानो कम्पाउन्डसहित सुरक्षा पोस्ट र हात्ती घोडालाई लगाइदिने सामान पनि भेटिएका छन् । यी कुराले यो स्थान प्राचीन धरोहर हो भन्ने प्रमाणित हुन्छ ।”

किंवदन्तीअनुसार महाभारतकालीन राजा विराटको ‘किच्चक’ नामका सालो थिए । यहाँ उनको दरबार थियो । पाँच पाण्डव गुप्तबास बसेका बेला द्रौपदीमाथि कुदृष्टि राखेका कारण भीमसेनले विराटनगरदेखि लखेटेर किच्चकलाई यही दरबारमा ल्याएर बध गरेका थिए । त्यहीकारण यस स्थानलाई किच्चकबध स्थल भनिन थालेको हो ।

सरकारले किच्चकबध स्थलको पौराणिक तथा पुरातात्विक महत्व धेरै भए पनि उत्खनन तथा संरक्षणका लागि पर्याप्त लगानी गर्न सकेको छैन । थोरै बजेट भएका कारण उत्खनन र संरक्षणको कार्य हरेक वर्ष अधुरो हुने गरेको छ । 

सरकारले उत्खननका लागि यसपटक रु १० लाख बजेट छुट्याएको विभागका अधिकृत अधिकारीले बताउनुभयो । “बजेट धेरै हुने हो भने एकै वर्षमा धेरै काम हुन्थ्यो”, उहाँले भन्नुभयो, “तैपनि सीमित स्रोतसाधन हुँदाहुँदै दैनिक १३ जनासम्म कामदार लगाएर यसपाली संरक्षणको काम गरिरहेका छौँ ।”

किच्चकबधस्थल मानिसको प्राचीन सभ्यता र संस्कृति चिनाउने एउटा ऐतिहासिकस्थल भएकाले यसको प्रचारप्रसार हुनसके ठूलो सङ्ख्यामा पर्यटक भित्र्याउन सकिने सम्भावना रहेको स्थानीय किच्चकबध संरक्षण समितिका अध्यक्ष दिलबहादुर थेबेले बताउनुभयो ।

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर

काठमाडौँ, १९ चैत : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १३६ रुपैयाँ ४६ पैसा र बिक्रीदर १३७ रुपैयाँ ०६ पैसा कायम भएको छ ।

युरोपियन युरो एकको खरिदर १४७ रुपैयाँ ६३ पैसा र बिक्रीदर १४८ रुपैयाँ २८ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर १७६ रुपैयाँ ६३ पैसा र बिक्रीदर १७७ रुपैयाँ ४० पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १५४ रुपैयाँ ९२  पैसा र बिक्रीदर १५५ रुपैयाँ ६० पैसा कायम गरिएको छ । 

अष्ट्रेलियन डलर एकको खरिददर ८५ रुपैयाँ ३० पैसा र बिक्रीदर ८५ रुपैयाँ ६८ पैसा, क्यानेडियन डलर एकको खरिदर ९५ रुपैयाँ ०८ पैसा र बिक्रीदर ९५ रुपैयाँ ५० पैसा, सिङ्गापुर डलर एकको खरिददर १०१ रुपैयाँ ६८ पैसा र बिक्रीदर १०२ रुपैयाँ १३ पैसा निर्धारण गरिएको छ । 

जापानी येन १० को खरिदर नौ रुपैयाँ १४ पैसा र बिक्रीदर नौ रुपैयाँ १८ पैसा, चिनियाँ युआन एकको खरिदर १८ रुपैयाँ ८१ पैसा र बिक्रीदर १८ रुपैयाँ ९० पैसा, साउदी अरेवियन रियाल एकको खरिददर ३६ रुपैयाँ ३८ पैसा र बिक्रीदर ३६ रुपैयाँ ५४ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ४४ पैसा र बिक्रीदर ३७ रुपैयाँ ६० पैसा कायम भएको छ । 

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ०२ पैसा र बिक्रीदर चार रुपैयाँ ०४ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ १५ पैसा र बिक्रीदर ३७ रुपैयाँ ३२ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ ७५ पैसा र बिक्रीदर ३० रुपैयाँ ८९ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ २५ पैसा र बिक्रीदर नौ रुपैयाँ २९ पैसा, स्विडिस क्रोनर एकको खरिददर १३ रुपैयाँ ६१ पैसा र बिक्रीदर १३ रुपैयाँ ६७ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ७९ पैसा र बिक्रीदर १९ रुपैयाँ ८७ पैसा तोकिएको छ । 

राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिदर १७ रुपैयाँ ५४ पैसा र बिक्रीदर १७ रुपैयाँ ६२ पैसा, कुवेती दिनार एकको खरिददर ४४२ रुपैयाँ ६९ पैसा र बिक्रीदर ४४४ रुपैयाँ ६४ पैसा, बहराइन दिनार एकको खरिददर ३६१ रुपैयाँ ९९ पैसा र बिक्रीदर ३६३ रुपैयाँ ५८ पैसा, ओमनी रियाल एकको खरिददर ३५४ रुयैयाँ ४६ पैसा र बिक्रीदर ३५६ रुपैयाँ ०२ पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । 

राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको ‘वेबसाइट’ मा उपलब्ध हुने जनाइएको छ ।

नेपाल सरकारले एआइटीलाई एक लाख अमेरिकी डलर सहयोग गर्ने

काठमाडौँ, १९ चैतः नेपाल सरकारले एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी (एआइटी)लाई एक लाख अमेरिकी डलर आर्थिक सहयोग उपलब्ध गराउने भएको छ ।
मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले आर्थिक सङ्कटमा रहेको उक्त संस्थालाई नेपाल संस्थापक सदस्य राष्ट्र भएकाले सो अनुदान सहयोग उपलब्ध गराउने निर्णय भएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिनुभयो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले थाइल्याण्डको औपचारिक भ्रमण र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को छैटौँ शिखर सम्मेलनमा भाग लिने क्रममा बैंककमा रहँदा सो संस्थामा सम्बोधन गर्नुहुने कार्यक्रम रहेको उहाँले बताउनुभयो ।

प्रधानमन्त्री ओली थाइल्याण्डका प्रधानमन्त्री फेथोङथान सिनावात (पैटोङ्टार्न शिनावात्रा) को मैत्रीपूर्ण निमन्त्रणामा थाइल्याण्डको औपचारिक भ्रमणका लागि आज दिउँसो त्यसतर्फ जाँदै हुनुहुन्छ ।

मुख्यमन्त्री सिंहमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र

जनकपुर, १८ चैतः नेपाल पत्रकार महासङ्घका प्रदेश अध्यक्ष श्याम बन्जारा नेतृत्वको टोलीले मुख्यमन्त्री सतिशकुमार सिंहमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ ।गत शुक्रबार काठमाडौँको तीनकुनेमा भएको पत्रकार हत्या तथा सञ्चारमाध्यममाथि आक्रमण घटनाका दोषीमाथि कारबाहीको माग गर्दैे आज जनकपुरधाममा मुख्यमन्त्रीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो ।

पूर्वराजावादी पक्षधरले आयोजना गरेको प्रदर्शनका क्रममा आगलागी भएको घरमा जलेर एभिन्युज टेलिभिजनका सुरेश रजकको बीभत्स हत्या । र विभिन्न सञ्चारमाध्यममाथि भएको आक्रमणमा सङ्लनमाथि कडा कारबाहीको माग गर्दै ज्ञापनपत्र बुझाईको हो । 

त्यस अवसरमा मुख्यमन्त्री सिंहले पत्रकारमाथि हुने कुनै प्रकारका हिंसाका विपक्षमा प्रदेश सरकार रहेको बताउनुभयो । यसअघि पत्रकार महासङ्घ धनुषाले प्रमुख जिल्ला अधिकारी रामुराज कडरीयामार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको थियो ।

डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य घट्यो

काठमाडौँ, १८ चैत: नेपाल आयल निगमले डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको बैठकले आज मध्यरातदेखि लागू हुने गरी डिजेल, मट्टितेलको साविकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर दुई रुपैयाँ र हवाई इन्धन (आन्तरिक)तर्फ सात रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ अमेरिकी डलर ५१ ले घटाएको हो ।

    मूल्य घटेसँगै पहिलो, दोस्रो र तेस्रो वर्गमा डिजेल र मट्टितेल क्रमशः प्रतिलिटर एक सय ४६ रुपैयाँ ५० पैसा, एक सय ४८ रुपैयाँ र एक सय ४९ रुपैयाँ तथा आन्तरिकतर्फको हवाई इन्धन प्रतिलिटर एक सय २५ रुपैयाँ कायम भएको छ । यसैगरी निगमले अन्तरराष्ट्रियतर्फको हवाई इन्धन प्रतिकिलोलिटर काठमाडौँमा अमेरिकी डलर नौ सय ५२, पोखरामा सात सय ८२ र भैरहवामा सात सय ६७ तोकेको छ ।

    इन्डियन आयल कर्पोरेसशनबाट आज प्राप्त नयाँ मूल्यसूचीअनुसार डिजेल, मट्टितेल र हवाई इन्धनको नयाँ खरिद मूल्य घटेर आएकाले स्थानीय बजारमा मूल्य समायोजन गरिएको निगमले स्पष्ट पारेको छ ।

अब ल्याउने स्वास्थ्य बिमा योजनाले स्वास्थ्य क्षेत्रमा समाजवाद स्थापना गर्नेछ: मन्त्री पौडेल

मोरङ, १८ चैत: स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सरकारले ल्याउन लागेको स्वास्थ्य बिमा योजनाले स्वास्थ्य क्षेत्रमा समाजवाद स्थापना गर्ने बताउनुभएको छ ।

विराटनगरमा आज सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले स्वास्थ्य बिमा कोष करिब रु एक खर्ब बराबरको बनाउन सके स्वास्थ्य बिमा क्षेत्रका समस्या समाधान हुने बताउनुभयो । उहाँले मुलुकमा कुल बजेटको करिब सात प्रतिशत स्वास्थ्य क्षेत्रमा विनियोजन गर्नुपर्ने माग गर्नुभयो ।

मन्त्री पौडेलले निजी मेडिकल कलेजले चिकित्सकहरूलाई दिइने सुविधाबारे सरकारले ल्याएको नीति कार्यान्वयन गर्नुपर्ने र यसका लागि सहमतिको विन्दु पहिल्याउने प्रयास भइरहेको बताउनुभयो ।

उहाँले फरक प्रसङ्गमा बोल्दै लोकतान्त्रिक गणतन्त्रको विकल्प उन्नत र परिष्कृत लोकतन्त्र नै भएको बताउनुभयो । मन्त्री पौडेलले नागरिक अधिकार, आफैँले जनप्रतिनिधि चयन गर्ने, बोल्न पाउने अधिकारलगायत विषय लोकतान्त्रिक गणतन्त्रमा मात्र पाइने धारणा राख्नुभयो । उहाँले हिंसाको जगमा व्यवस्था परिवर्तन हुन नसक्ने धारणा राख्नुभयो ।

रास्वपाको पहिलो महाधिवेशन आगामी वैशाखमै हुने

काठमाडौँ, १८ चैतः राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले पार्टीको पहिलो महाधिवेशन आगामी वैशाखमा हुने बताउनुभएको छ ।
सभापति रवि लामिछानेको अध्यक्षतामा आज बसेको केन्द्रीय समितिको बैठकले पार्टीको राष्ट्रिय भेलाबाट घोषणा गरेकै समय अर्थात वैशाखमा पहिलो महाधिवेशन आयोजना गर्ने निर्णय गरेको हो ।

महाधिवेशन आयोजना गर्ने सन्दर्भमा केन्द्रीय समितिका सदस्य र प्रदेश समितिबाट आगामी तीन दिनभित्र लिखित राय र कार्यविवरण पार्टीमा पेश गर्न उहाँले निर्देशन दिनुभएको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिनुभयो ।  

त्यसैगरी बैठकले ‘जनताको कुरा सुन्ने यात्रा, जनयात्रा’ यही चैत २३ गते चितवनबाट सुरु गर्ने निर्णय गरेको छ ।  पार्टीकातर्फबाट राष्ट्र निर्माणसम्बन्धी खाका तयार गर्न उपसभापति डोलप्रसाद अर्याल र डा स्वर्णिम वाग्लेको संयोजकत्वमा पूर्वमन्त्री सुमना श्रेष्ठ, शिशिर खनाल, विराजभक्त श्रेष्ठ र डा तोसिमा कार्कीसहितको ‘मिसन ब्लुप्रिन्ट’ कार्यदल गठन गरिएको छ । 

लिडरसिप एकेडेमी र उम्मेद्वार क्लबको कार्यान्वयनका लागि सहमहामन्त्री सुमना श्रेष्ठ र विपिनकुमार आचार्यलाई जिम्मेवारी तोकिएको छ ।  पार्टीको जनयात्रा कार्यक्रमको कार्यविधिलगायतको संयोजन जिम्मेवारी संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठलाई तोकिएको छ ।

आजको बैठकले गण्डकी प्रदेश समितिको सिफारिसमा गण्डकी प्रदेश सहमहामन्त्रीमा कृष्णप्रसाद लम्साल र कृष्णकुमारी अधिकारीलाई मनोनयनसमेत गरेको छ । करिब साढे पाँच महिनापछि सभापतिको जिम्मेवारीमा फर्कनुभएका लामिछानेले वर्तमान राजनीतिक परिस्थितिमा अहिलेको पार्टी संरचना अझै सबल र सशक्त हुन आवश्यक रहेको बताउनुभयो ।   सङ्गठनमा फेरबदल र पुनःसंरचनाका लागि तयार रहन सभापति लामिछानेले पार्टी सदस्यलाई आह्वान गर्नुभयो ।  

गण्डकी प्रदेशसभामा दुई विधेयकमाथि सैद्धान्तिक छलफल

गण्डकी, १८ चैतः गण्डकी प्रदेशसभाको आजको बैठकमा जनस्वास्थ्य सेवा र घरेलु मदिराको उत्पादनलाई नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयकमा सामान्य सैद्धान्तिक छलफल भएको छ । दुवै विधेयक आइतबार प्रदेशसभामा प्रस्तुत गरिएका थिए । विधेयकमाथि ७२ घण्टाभित्र संशोधन प्रस्ताव राख्न सकिने जनाइएको छ ।

सैद्धान्तिक छलफलपछि विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित विषयगत समितिमा पठाइने प्रदेशसभा सचिवालयका प्रवक्ता प्रेम सुवेदीले जानकारी दिनुभयो । आजको बैठकले भवन निर्माण तथा बस्ती विकास र खानी तथा खनिजसन्बन्धी विधेयकलाई दफावार छलफलका लागि विषयगत समितिमा पठाउने प्रस्तावलाई सर्वसम्मत पारित गरेको छ ।

जनस्वास्थ्य सेवा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेकमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले नागरिकलाई सर्वसुलभ रूपमा गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहका लागि आवश्यक कानुनी प्रबन्ध गर्न लागिएको बताउनुभयो । उहाँले प्रदेश मातहतका सबै अस्पतालको स्तरोन्नति गर्न लागिएको बताउनुभयो ।

पोखरामा भलिबल च्याम्पियनसिप हुने

काठमाडौँ, १८ चैत : लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ एम, नेपालको आयोजनामा ‘प्रथम लायन्स कप राष्ट्रिय तथा अन्तरराष्ट्रिय आमन्त्रित पुरुष भलिबल च्याम्पियनसिप–२०८२’ हुने भएको छ ।

लायन्सले आज काठमाडौँमा पत्रकार सम्मेलन गरी आगामी वैशाख १८ गतेदेखि २२ गतेसम्म पोखरामा भलिबल च्याम्पियनसिप हुने जानकारी गराएको हो । संस्थाको स्थापना अन्तरराष्ट्रियस्तरमा एक सय सात वर्ष र नेपालमा ५३ वर्ष पूरा भएको उपलक्ष्यमा नेपालको राष्ट्रिय खेल भलिबललाई प्रवर्द्धन गर्ने उद्देश्यले भलिबल च्याम्पियनसिप आयोजना गर्न लागिएको डिस्ट्रिक्ट गभर्नर चण्डीप्रसाद अर्यालले जानकारी दिनुभयो । उहाँले खेलहरू पोखरा रङ्गशालास्थित मल्टिपर्पोज हलमा हुने बताउनुभयो ।

उहाँले लायन्सको माध्यमबाट राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा भलिबल खेलको प्रवर्द्धन गर्नु र युवा खेलाडीलाई अन्तरराष्ट्रिय खेलाडीसँग प्रतिस्पर्धा गर्ने अवसर प्रदान गर्नु च्याम्पियनसिपको प्रमुख उद्देश्य रहेको बताउनुभयो ।

“लायन्सको माध्यमबाट राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा भलिबल खेलको प्रवर्द्धन गर्नु, युवा खेलाडीलाई अन्तरराष्ट्रिय खेलाडीसँग प्रतिस्पर्धा गर्ने अवसर प्रदान गर्नु, पोखरालाई खेल पर्यटनको केन्द्रका रूपमा स्थापित गर्ने र खेलकुदमार्फत अन्तरराष्ट्रिय सम्बन्ध विस्तार गर्ने उद्देश्य लिइएको छ”, उहाँले भन्नुभयो । ।

च्याम्पियनसिपमा छ वटा टिमको सहभागिता रहने आयोजकले जनाएको छ । पाकिस्तान भलिबल क्लब इस्लामावाद, गण्डकी प्रदेश भलिबल सङ्घ, नेपाल पुलिस क्लब, नेपाल एपिएफ क्लब र त्रिभुवन आर्मी क्लबसँग सम्झौता भइसकेको तथा भारत र इरानको टिमसँग सरसल्लाह भइरहेको आयोजकले जनाएको छ ।

च्याम्पियनसिपको प्रथम पुरस्कार रु चार लाख ४४ हजार ४४४, द्वितीय पुरस्कार रु दुई लाख ४४ हजार ४४४ र तृतीय पुरस्कार रु एक लाख ४४ हजार ४४४ नगद, ट्रफी मेडल र प्रमाणपत्र राखिएको छ । च्याम्पियनसिपको सर्वोत्कृष्ट खेलाडीलाई रु १४ हजार ४४४ नगद, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ भने विधागत पुरस्कारतर्फ रु आठ हजार ४४४ रहेको आयोजकले जनाएको छ ।

पत्रकारको सुरक्षा तथा क्षतिपूर्तिका लागि प्रदेश सरकारले पहल गर्ने

सुन्दरहरैँचा (मोरङ), १८ चैत : कोशी प्रदेशका मुख्यमन्त्री हिम्मतकुमार कार्कीले पत्रकारको सुरक्षा तथा क्षतिपूर्तिका लागि प्रदेश सरकारले केन्द्रीय सरकारसँग समन्वय र पहल गर्ने प्रतिबद्वता व्यक्त गर्नुभएको छ ।

नेपाल पत्रकार महासङ्घ कोशी प्रदेशले बुझाएको ज्ञापनपत्र बुझ्दै आज उहाँले काठमाडौँमा भएको हिंसात्मक आन्दोलन लोकतन्त्र माथिको प्रहार भएको बताउनुभयो । पत्रकार महासङ्घले लोकतान्त्रिक शासन प्रणालीको पक्षमा उठाएको आवाजमा आफू सदैव उभिने प्रतिबद्धता व्यक्त गर्दै व्यवस्थाप्रतिको प्रहार रोक्न र गणतन्त्रको पक्षमा उभिन पत्रकारलाई मुख्यमन्त्री कार्कीले आग्रह गर्नुभयो । उहाँले अपराधिक मनस्थितिबाट गरिएको आन्दोलनलाई सबैतिरबाट विरोध गर्नुपर्ने बताउँदै पत्रकारको आन्दोलनमा आफ्नो पूर्ण समर्थन रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

नेपाल पत्रकार महासङ्घले पत्रकारको सुरक्षाको माग गर्दै मुख्यमन्त्री कार्कीलाई ज्ञापनपत्र बुझाएको थियो । नेपाल पत्रकार महासङ्घ कोशीका केन्द्रीय सदस्य कमल रिमाल, कोशी प्रदेशका अध्यक्ष भरत खड्का, जिल्ला अध्यक्ष सुशिला पाठकलगायतले मुख्यमन्त्री कार्कीलाई ज्ञापनपत्र बुझाउनुभएको थियो ।

मुलुकलाई लोकतान्त्रिक गणतन्त्रको दिशाबाट पछाडि फर्काउने प्रयास किमार्थ स्वीकार्य हुँदैन: महासचिव पोखरेल

काठमाडौँ, १८ चैतः नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले नेपाललाई लोकतान्त्रिक गणतन्त्रको दिशाबाट पछाडि फर्काउने प्रयास किमार्थ स्वीकार्य नहुने बताउनुभएको छ ।

एमालेले आज काठमाडौँ तीनकुनेदेखि भक्तपुरको सल्लाघारीसम्म आयाजना गरेको मोटरसाइकल र्‍यालीको शुभारम्भ गर्दै उहाँले पूर्वराजा ज्ञानेन्द्र शाहले संविधान र कानुनविपरीत गतिविधि गरिरहेको बताउनुभयो । महासचिव पोखरेलले यही चैत १५ गते जेजस्ता घटना घटे ती सबै कुरा आमजनताले थाहा पाउनुपर्ने बताउनुभयो । उहाँले नेपाली जनता अब पछाडि होइन अगाडि बढ्न चाहन्छन भन्ने सन्देश दिन र्‍याली आयोजना गरिएको बताउनुभयो ।

महासचिव पोखरेलले नेपालको एकीकरणमा पृथ्वीनारायण शाहले गरेको योगदान सबैले स्वीकारेर सम्मान गरिरहेको तर उहाँका सबै सन्तान लायक र योग्य नभएको स्पष्ट पार्नुभयो । उहाँले गणतन्त्र स्थापना हुनुमा दरबार हत्याकाण्ड मुख्य कारक रहेको धारणा राख्नुभयो । “राजा वीरेन्द्रको वंशविनाश नेपाली जनताको कारणले होइन । दरबारभित्रको शक्ति सङघर्षकै परिमाण थियो । नारायणहिटी दरबारभित्र जनताका छोराछोरी जान पाउने स्थिति थिएन । त्यस्तो अवस्थामा राजा वीरेन्द्रको सम्पूर्ण वंश विनाश गर्ने काम भयो । यसले नै मुलुकमा गणतन्त्र ल्याउने काममा सहयोग गरेको हो”, पोखरेलले भन्नुभयो, “पूर्वराजा ज्ञानेन्द्रले दुई÷दुई पटक राजनीतिक दललाई प्रतिबन्ध लगाउने, मिडियामाथि प्रहार गर्ने र मुलुकलाई अँध्यारो युगतर्फ लैजाने धृष्टताका कारणले नै २०६२/०६३ को आन्दोलन भएको हो ।”

संविधानसभाले नेपाली जनतालाई सार्वभौमसत्ता सम्पन्न बनाएको फैसलालाई कसैले पनि उल्लघङ्न गर्न नसक्ने धारणा राख्दै उहाँले व्यवस्था परिवर्तन गर्नेले सडकमा तमासा नदेखाएर जनताको विश्वास जितेर संसद्को दुई तिहाईमार्फत संविधान संशोधन गर्न चुनौती दिनुभयो । उहाँले संसद्बाहेक अरु कुनै बाटोबाट हुने परिवर्तन नेपाली जनताका लागि स्वीकार्य नहुने पोखरेलको भनाइ थियो ।

मोटरसाइकल र्‍यालीमा स्थायी कमिटी सदस्य भानुभक्त ढकाल, राजन भट्टराई, केन्द्रीय सदस्य विष्णु रिजाललगायत नेता सहभागि हुनुभएको थियो । र्‍यालीका संयोजक तथा राष्ट्रिय युवा सङ्घका अध्यक्ष क्षितिज थेवेले र्‍यालीमा हजारौँ जनाको सहभागिता रहेको बताउनुभयो ।

अवैध रूपमा सञ्चालित अस्पतालका व्यवस्थापक पक्राउ

महेन्द्रनगर (धनुषा), १८ चैत: मधेस प्रदेश सरकारले बन्द गर्ने निर्देशन अवज्ञा गर्ने जनकपुरका एक अस्पतालका दुई व्यवस्थापकलाई प्रहरीले पक्राउ गरेको छ ।
मधेस प्रदेशको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गैरकानुनी तथा मापदण्डविपरीत सञ्चालनमा रहेकोे जनकपुरधाम उपमहानगरपालिका–९ थापाचोकस्थित जनकपुर सीता अस्पताल प्रालि बन्द गराउन निर्देशन दिएको थियो ।

उक्त निर्देशनविपरीत अस्पताल सञ्चालन गरेको भन्दै व्यवस्थापक मधु महतो र सुभाष मुखियालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख भुवनेश्वर तिवारीले जानकारी दिनुभयो । अस्पतालले बाहिर बन्द गरेरभित्र सञ्चालन भइरहेको सूचना आएपछि मुख्यमन्त्री सतिषकुमार सिंहको आदेशपछि उनीहरूलाई पक्राउ गरिएको हो ।

मुख्यमन्त्री सिंहसहितको टोलीले गत माघ २६ गते गरेको अनुगमनका क्रममा अस्पतालमा उपचाररत बिरामीलाई अर्को अस्पतालमा सारेर बन्द गर्न निर्देशन दिएको थियो ।

हिंसात्मक र आपराधिक गतिविधिका दोषीलाई कारबाही गर्न जसपा अध्यक्ष यादवको माग

भक्तपुर, १८ चैतः जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले चैत १५ गते काठमाडौँको तीनकुनेमा भएको घटनाका दोषीलाई कारबाही गर्न माग गर्नुभएको छ ।

आज रफत सञ्चार क्लब भक्तपुरले आयोजना गरेको पत्रकार सञ्चार संवाद कार्यक्रममा उहाँले कुनै पनि बाहनामा हुने आपराधिक र हिंसात्मक कार्य गर्नेलाई कारबाहीको दायरामा ल्याउनुपर्ने बताउनुभयो ।

अध्यक्ष यादवले भन्नुभयो, “लोकतन्त्रमा सबैले आ–आफ्नो विचार राख्न र बोल्न पाउने अधिकार छ तर चैत १५ गते राजतन्त्र फर्काउने नाममा भएको हत्या, आगजनी र तोडफोडले लोकन्तान्त्रिक पद्धतिको खिल्ली उडाएको छ । त्यसदिन भएका सबै गतिविधि हिंसात्मक एवं आपराधिक भएकाले दोषीलाई कारबाहीको दायरामा ल्याउनुपर्छ ।”

एकात्मक राज्य व्यवस्थाको अन्त्य गर्दैै लोकतान्त्रिक गणतन्त्रको स्थापना भइसकेको अवस्थामा फेरि एकात्मक शासन र हिन्दू राज्यसहितको राजतन्त्र स्थापना गर्नेहरूलाई सल्बलाउन नदिन राजनीतिक दल पनि सच्चिनुपर्ने उहाँको भनाइ थियो । 

लोकतान्त्रिक गणतन्त्र स्थापनापछि जनताले अपेक्षा गरेअनुसार राजनीतिक दलले सत्ताको बागडोर सम्हाले पनि जनताको चाहनाअनुसार काम हुन नसक्दा दलप्रति आक्रोस बढेको अध्यक्ष यादवले जिकिर गर्नुभयो । “सङ्घीय सरकारले नै सङ्घीयताको सबल कार्यान्वयनमा अवरोधको भूमिका निर्वाह गरेको छ । प्रदेशलाई प्रदान गरिएका अधिकारमा रोक लगाएको छ । प्रहरी समायोजन, कर्मचारी समायोजन ऐनलगायत विभिन्न विषय अल्झाएर काम गर्न असक्षम बनाएको छ”, उहाँको आरोप थियो । 

बागमती प्रदेश मन्त्रिपरिषद् बैठक: विधेयक मस्यौदाको लागि स्वीकृति

मकवानपुर, १८ चैत: बागमती प्रदेश मन्त्रिपरिषद्को बैठकले प्रदेश नीति तथा योजना आयोगको गठन तथा सञ्चालनको लागि विधेयक मस्यौदा तयार गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ ।

आज बसेको बैठकले प्रदेश समपूरक अनुदानसम्बन्धी कार्यविधि २०८१ लाई स्वीकृति प्रदान गरिएको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले जानकारी दिनुभएको छ ।

बैठकले प्रदेशको कामकाजको भाषा ऐन कार्यान्वयन भएको दिन, गाईजात्रा, चेपाङ समुदायको न्वागी र माझी समुदायको लदी पर्वको सन्दर्भमा विसं २०८२ मा थप चार दिन सार्वजनिक बिदा थप्ने निर्णय गरिएको पनि उहाँले बताउनुभयो । साथै, भौतिक पूर्वाधार मन्त्रालयअन्तर्गत पूर्वाधार विकास कार्यालय प्रमुख राजु श्रेष्ठलाई बढीमा छ महिनाका लागि कायममुकायम भई काम गर्ने गरी जिम्मेवारी दिने निर्णय गरिएको छ ।

नेपाली समाज धार्मिक सहिष्णुताको दृष्टिले उदाहरणीय छ: अध्यक्ष नेपाल

काठमाडौँ, १८ चैत: नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाली समाज धार्मिक सहिष्णुताको दृष्टिले उदाहरणीय रहेको बताउनुभएको छ ।

मुस्लिम समुदायको ईद–उल– फित्रका अवसरमा एक सन्देश जारी गर्दै उहाँले मुलुकमा सबै जाति समुदायबीच कायम रहेको सद्भाव, विभिन्न समुदायका चाडपर्व र धर्म–संस्कृतिले राष्ट्रिय एकतालाई बलियो बनाएको बताउनुभयो । इस्लाम धर्मावलम्बीसहित स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि एवं प्रगतिको शुभकामना व्यक्त गर्दै अध्यक्ष नेपालले बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतायुक्त मुलुकमा मौलिक पर्व तथा संस्कृतिले राष्ट्रिय एकता, सामाजिक सद्भाव र आपसी मित्रतालाई थप सुदृढ गर्ने विश्वास व्यक्त गर्नुभयो ।  

यसैबीच पूर्वप्रधानमन्त्री झलनाथ खनालले ईदको शुभकामना दिँदै मेलमिलापका साथ खुसी साटासाट गर्ने यस पर्वले विविधतामा आधारित नेपालीको राष्ट्रिय एकता र आस्थागत सहिष्णुता प्रवर्द्धनमा सहयोग गर्ने बताउनुभयो । 

उहाँले मुस्लिम समुदायले आपसमा भ्रातृत्व र पारिवारिक मिलनका साथै मानवीयताको पर्वका रूपमा मनाइने इदले सामाजिक सद्भाव तथा सहिष्णुताको भावना अभिवृद्धि गर्ने उल्लेख गर्नुभयो ।