`

बेपत्ता भएको २८ वर्षपछि मानबहादुर टुप्लुक्कै घर आइपुगेपछि….

कञ्चनपुर, १८ चैत : यहाँको शुक्लाफाँटा नगरपालिका–७ सिमलफाँटाका ६२ वर्षीय मानबहादुर धानुक अटोबाट झरेर टुप्लुक्क घरको आँगनमा आइपुग्दा एकैछिन घरमा सन्नाटा छायो । बेपत्ता भएको २८ वर्षपछि धानुक घर फर्किनुहोला भन्ने अनुमान परिवारका कुनै सदस्यले गरेका थिएनन् ।

त्यसो त धानुकलाई पनि सुरुमा आफ्नो घर पत्ता लगाउन कठिन भयो । आफूले घर छोड्दाको बस्ती शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको विस्तारित क्षेत्रभित्र परेपछि स्थानान्तरण गरिएको थियो । भारतको उत्तर प्रदेशको बनारसबाट बस चढेर महेन्द्रनगर आइपुग्नु भएका उहाँ सबैभन्दा पहिले कपडालगायत सामान खरिद गर्ने पुरानो व्यापारी कहाँ पुग्नुभयो । उहाँसँग कुरा गरेपछि थाहा भयो कि साविकको पिपलाडी गाविस–१ को तारापुर बस्ती स्थानान्तरण गरिएको रहेछ । 

त्यसपछि उहाँ महेन्द्रनगर बजार हुँदै झलारी बजार झर्नुभयो । चिनजानका व्यक्तिसँग भेट भयो । तारापुर बस्तीलाई सिमलफाँटामा सारिएको जानकारी पाउनुभयो । चिनजान कै व्यक्तिले अटो चालकलाई सिमलफाँटाको घरसम्म पु-याइ दिन आग्रह गरे । अटो चालकले धानुकलाई घरमै पु-याइदियो । यो गत शनिबारको कुरा हो ।

धानुक यत्तिका वर्षपछि घर फर्कनुमा भने उहाँको एक धर्म आमाको हात छ । जो ६५ वर्षीया वृद्धा हुनुुहुन्छ । भारतकै बनारस बस्ने उनै धर्म आमा र उहाँकी १३ वर्षीया नातिनिपनि धानुकसँगै आउनुभएको छ । 

धानुकले भन्नुभयो, “छोरा छोरी सानै हुँदा हिँडेकाले मैले चिन्ने कुरै भएन, आमा र श्रीमतीले चिने, धेरै वर्षपछि घर आइपुगेकाले परिवारका सदस्यले हर्षका आँसु बगाउन थाले, खुसी भए, मैले धेरै वर्ष सम्पर्कविहीन भएर बिताएकाले परिवार पाउँदा निकै खुसी छु ।”

 घरबाट विसं २०५३ मा कमाइको खोजीमा भारतको राजीस्थानस्थित जयपुर पुग्नुभएका उहाँको गतिलो कमाइ थिएन । काम गर्दा थोरै कमाइ हुन्थ्यो खान र लुगाफाटोमै सिद्धिन्थ्यो ।

 “कामकै खोजीमा कहिले यता पुग्थँे, कहिले उता”, विगत सम्झँदै उहाँले भन्नुभयो, “घरसम्म पुग्ने बस भाडा हुँदैनथ्यो, घर जान पाए हुन्थ्यो भनेर सोच्थँे, जान सक्ने अवस्था थिएन, विस्तारै घरको ठेगाना नै विर्सिने अवस्थामा पुगेको थिएँ ।” 

उहाँका अनुसार राजिस्थानको जयपुरमा एक व्यक्तिसँग गहिरो मित्रता भयो । ती मित्रको ससुराली उत्तर प्रदेशको बनारसमा थियो । त्यहाँ दुवै जनाको आउजाउ थियो । ती मित्र बिरामी भएपछि धानुकले रगत दिएर ज्यान बचाउनुभयो । त्यसै बेलादेखि ती मित्रका सासुले धानुकलाई धर्मपुत्रका रुपमा मान्न थाल्नुभयो । 

ती वृद्धाका छोरा थिएन, उहाँले जमिन दिन्छु बस्नु भनेर पनि धानुकलाई अनुरोध गर्नुभयो । “सित्तैमा लिएमा पाप लाग्छ भनेर जग्ग्गा लिन अस्वीकार गरेँ”, उहाँले भन्नुभयो, “तिनै बृद्धा आमाले परिवारसँग भेटनुपर्छ भनेर कर गर्नु भएपछि उहाँसँगै घर आइपुगँे, यत्तिका समयपछि परिवारसँग भेट हुन्छ भनेर सोचेकै थिइँन । परिवारलाई भेटन पाउँदा निकै खुसी छु, अब भारत फर्किन्न ।”

 धानुकका छोरा गणेशबहादुर ३३ वर्षको हुनुभयो । यो उमेरमा बुवा पाउँदा खुसीको सीमा नै नरहेको उहाँ बताउनुहुन्छ । “सानै छँदा बुवाले छाडेर जानुभएको थियो”, उहाँले भन्नुभयो, “अहिले आएर बुवालाई भेटाएँ, परिवारमा खुसियाली छ ।”

 धेरै वर्षपछि घर आइपुग्नु भएका धानुकलाई भेट्न आफन्त र छिमेकी आउने क्रम बढेको छ । स्थानीय समाजसेवी भरतबहादुर विष्ट धानुकलाई घरसम्म ल्याउन उहाँकी धर्म आमाको महत्त्वपूर्ण भूमिका रहेको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “उहाँको धर्म आमाो कार्य सह्रानीय छ, मानबहादुर धेरै लामो समयपछि घर आइपुग्दा हामी गाउँले खुसी छौँ ।” धानुकको दुई छोरा, एक छोरी, श्रीमती, आमा, भाई र भतिजा छन् । 

आज मुलुकभर नमाज पढेर खुसी साटासाट गर्दै ईद उल फित्र मनाइयो

काठमाडौँ, १८ चैत: ईस्लाम धर्मावलम्बीको चाड ईद (ईद उल फित्र) आज मुलुकभर नमाज पढेर खुसी साटासाट गर्दै मनाइएको छ । मुस्लिम समुदायले एक महिनाको ब्रत (रोजा) बस्न तथा दान दक्षिणा दिन सफल भएको खुसियालीमा यो पर्व मनाउने गर्छन् ।

आजको दिनलाई ‘ईद उल फित्र’ भनिन्छ । ‘ईद’ को अर्थ खुसी साटासाट गर्नु हो । मुस्लिम समुदायले आज बिहानै उठेर नुहाइधुवाइ गरेर खुला स्थान वा  नजिकको मस्जितमा गएर नमाज पढ्ने गर्छन् । नमाज पढेपछि परिवारजन तथा साथीभाईसँग भेटघाट गरेर खुसी सटासाट गर्ने प्रचलन रहेको मुस्लिम अगुवाको भनाइ छ ।

    ईदमा विशेष नमाज समर्पण गरिसकेपछि आफूभन्दा ठूलाबडाबाट आशीर्वाद लिने र आफूभन्दा सानालाई आशीर्वाद दिने गरिन्छ । यस अवसरमा विभिन्न मिष्टान्न, परिकार खाने र खुवाउने परम्परा रहिआएको छ । मुस्लिम आयोगको अगुवाइ र धार्मिक संस्थासँगको सहकार्यमा काठमाडौँसहित विभिन्न जिल्लाबाट आइतबार साँझ चन्द्रमा देखिएको एकीन गरिएको र आज सार्वजनिक बिदा दिन सरकारसमक्ष सिफारिस गरिएअनुसार भएको आयोगका कार्यवाहक अध्यक्ष महमदिन अलीले राससलाई जानकारी दिनुभयो ।

   गणतन्त्रको घोषणा भएपछि सरकारले ईदका अवसरमा सार्वजनिक बिदा दिँदै आएको छ । सरकारी तथ्याङ्कअनुसार मुलुकमा कुल जनसङ्ख्याको पाँच दशमलव नौ प्रतिशत मुस्लिम समुदायको जनसङ्ख्या छ । तराई÷मधेसका रौतहट, कपिलवस्तु, बारा र बाँके तथा पहाडका गोरखा, अर्घाखाँची र कास्कीलगायत जिल्लामा मुस्लिम समुदायको बाहुल्यता छ ।

   कावा अध्यक्ष अलीले मुस्लिम समुदायलाई राज्यको मूल प्रवाहमा ल्याउन आयोगले विभिन्न कार्यक्रम गर्दै आइरहेको बताउनुभयो । उहाँले ईदका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण मुस्लिम दाजुभाई, दिदीबहिनीमा शुभकामना व्यक्त गर्नुभयो । ईदले धार्मिक सहिष्णुतासहित एकता, सद्भाव र मित्रता कायम गर्न प्रेरणा प्रदान गर्ने अलीको विश्वास छ ।

प्रधानमन्त्री ओलीद्वारा एकीकृत समाजवादीको कार्यालय अवलोकन

काठमाडौँ, १८ चैतः प्रधानमन्त्री केपी शर्मा ओलीले आलोकनगरस्थित नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को केन्द्रीय कार्यालय अवलोकन गर्नुभएको छ ।
गत शुक्रबार पूर्वराजावादीले तोडफोडबाट क्षतिग्रस्त भएको एकीकृत समाजवादीको कार्यालयमा पुगेर आज उहाँले कार्यालय अवलोकन तथा क्षतिबारे जानकारी लिनुभयो ।

सोही क्रममा प्रधानमन्त्री ओलीसँगै एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल, महासचिव घनश्याम भुसाल, वरिष्ठ नेता झलनाथ खनाल, नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठलगायत नेता हुनुहुन्थ्यो । 

अर्घाखाँचीमा आगलागी हुँदा एक घर र तीन गोठ जलेर नष्ट

अर्घाखाँची, १८ चैत : यहाँको भूमिकास्थान नगरपालिका–७ पानडाँडामा भएको आगलागीमा परी आज एक घर र तीन गोठ जलेर नष्ट भएका छन् ।आगलागीमा एक भैँसी, एक पाडो, नौ बाख्रा र ५९ कुखुरा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी चक्रबहादुर मल्लले जानकारी दिनुभयो ।

स्थानीय लोकबहादुर थापाको तीन तले टिनले छाएको घर र गोठ, रेलबहादुर थापा मगरको टिनले छाएको कच्ची गोठ र तिलकबहादुर रायमाझीको टिनले छाएको कच्ची गोठ र शौचालय पूर्णरुपमा जलेको छ । नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, वन कार्यालयका कर्मचारी, स्थानीय र सन्धिखर्कको दमकलद्वारा आगो निभाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

तीनकुने घटनामा मारिएका पत्रकार रजकका परिवारलाई सरकारले आवश्यक सहयोग गर्छः प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले यही चैत १५ गते भएको तीनकुने घटनामा मारिएका पत्रकार सुरेश रजकका परिवारलाई सरकारले आवश्यक सहयोग गर्ने बताएका छन् ।

प्रधानमन्त्री निवास, बालुवाटारमा सोमबार भएको भेटमा उनले मृतकको दाहसंस्कार गर्न परिवारजनलाई आग्रह गर्दै सुरेशकी श्रीमती सुजनलाई रोजगारीलगायत आवश्यक व्यवस्थाका लागि सरकारले ध्यान दिने बताए ।

प्रधानमन्त्री ओलीले अराजक जत्थाको आगलागीका कारण अकालमा ज्यान गुमाउन पुगेका पत्रकार रजकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै परिवारमा समवेदना व्यक्त गरे । उनले उक्त दुःखद् घटनाको छानबिन गरी दोषीमाथि कडा कारबाही प्रक्रिया सुरु भएको बताए ।

भेटमा सुरेशका दाजु रमेश रजक र दिनेश रजकलगायत सहभागी थिए ।

चैत्र मसान्तसम्म स्थानीय तहको अधिवेशन सक्ने जसपा नेपालको तयारी

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले चैत्र मसान्तसम्म स्थानीय तहअन्तर्गत वडा, पालिका र जिल्ला समितिहरुको अधिवेशन अधिवेशन सम्पन्न गर्ने भएको छ ।

पालिका समितिको जिम्मेवारीमा खटाइएका केन्द्रीय अभियन्ताहरुको समन्वयमा स्थानीय तहको अधिवशेन कार्यलाई तीव्रता दिइएको पार्टीका प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।

पार्टीको परिपत्रअनुसार स्थानीय तहको अधिवेशनपश्चात प्रदेश समिति र पहिचानमा आधारित राष्ट्रिय समितिको अधिवेशन गर्नुपर्ने छ ।
प्रदेश समिति र पहिचानमा आधारित राष्ट्रिय समितिको अधिवेशन बैशाख २५ गते भित्र र बैशाख मसान्तसम्म भ्रातृसङ्गठनको अधिवेशन गर्ने पार्टीको निर्णय भएको प्रमुख पूर्ण बस्नेतले बताए ।

जसपा नेपालले ‘जनतासँग जसपा नेपाल, आधारभूत सङ्गठन निर्माण अभियान’ को अवधिमा पार्टी प्रवेश कार्यक्रम, सदस्यता वितरण तथा नवीकरणलगायतका सङ्गठनात्मक गतिविधि बढेको पार्टीले जनाएको छ । पार्टीको अभियानलाई २०८२ बैशाख मसान्तसम्म जारी रहने बताइएको छ ।

यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

काठमाडौँ, १८ चैतः कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो ।

गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ४०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ५०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु २०, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु २५, आलु रातो प्रतिकिलो रु ३५, आलु रातो (भारतीय) प्रतिकिलो रु ३८, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ५०, गाजर (लोकल) प्रतिकिलो रु ४०, गाजर (तराई) प्रतिकिलो रु ३५, बन्दा (लोकल) प्रतिकिलो रु १५, बन्दा (तराई) प्रतिकिलो रु १५, बन्दा (नरिवल) प्रतिकिलो रु २०, काउली (स्थानीय) प्रतिकिलो रु ४०, स्थानीय काउली (ज्यापु) प्रतिकिलो रु ५०, मूला रातो प्रतिकिलो रु ५०, मूला सेतो (लोकल) प्रतिकिलो रु १५, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु २०, भन्टा लाम्चो प्रतिकिलो रु ३० तथा भन्टा डल्लो प्रतिकिलो रु ५०, तने बोडीको मूल्य प्रतिकिलो रु ५० कायम गरिएको छ ।

यसैगरी, मटरकोसा प्रतिकिलो रु ७०, घिउ सिमी (लोकल) प्रतिकिलो रु ५०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु ६०, घिउ सिमी (राजमा) प्रतिकिलो रु १००, टाटे सिमी प्रतिकिलो रु ७०, तितो करेला प्रतिकिलो रु १००, लौका प्रतिकिलो रु ६०, परबर (तराई) प्रतिकिलो रु ९०, चिचिण्डो प्रतिकिलो रु ९०, घिरौला प्रतिकिलो रु ७०, झिगुनी प्रतिकिलो रु ८०, फर्सी पाकेको प्रतिकिलो रु ५०, फर्सी हरियो (लाम्चो) प्रतिकिलो रु २५, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु २५, भिण्डी प्रतिकिलो रु ११० कायम गरिएको छ । 

यस्तै, सखरखण्ड प्रतिकिलो ७०, बरेला प्रतिकिलो रु ५०, पिँडालु प्रतिकिलो रु ९०, स्कूस प्रतिकिलो रु ४०, रायो साग प्रतिकिलो रु ८०, पालुङ्गो साग प्रतिकिलो ८०, चमसुरको साग रु १००, तोरीको साग प्रतिकिलो रु ५०, मेथीको साग प्रतिकिलो रु ९०, प्याज हरियो प्रतिकिलो रु ५०, बकुला प्रतिकिलो रु ६०, तरुल प्रतिकिलो रु १२०, च्याउ (कन्य) प्रतिकिलो रु १४०, च्याउ (डल्ले) प्रतिकिलो रु ३०० तथा कुरिलो प्रतिकिलो रु ५०० निर्धारण गरिएको छ ।

निगुरो प्रतिकेजी रु १००, ब्रोकाउली प्रतिकिलो रु ५०, चुकुन्दर प्रतिकिलो रु ६०, सजीवन प्रतिकिलो रु १८०, कोइरालो प्रतिकिलो रु १८०, रातो बन्दा प्रतिकिलो रु ५०, जिरीको साग प्रतिकिलो रु ६०, ग्याठकोभी प्रतिकिलो रु ६०, सेलरी प्रतिकिलो रु १५०, पार्सले प्रतिकिलो रु ३००, सौफको साग प्रतिकिलो रु ७०, पुदिना प्रतिकिलो रु ३००, गान्टे मूला प्रतिकिलो रु ७०, इमली प्रतिकिलो रु १७०, तामा प्रतिकिलो रु १००, तोफु प्रतिकिलो रु १२० र गुन्द्रुक प्रतिकिलो रु ३५० तोकेकोे छ ।

समितिले स्याउ (झोले) प्रतिकिलो रु २५०, स्याउ (फूजी) प्रतिकिलो रु ३५०, केरा (दर्जन) रु १६०, कागती प्रतिकिलो रु २५०, अनार प्रतिकिलो रु ३५०, अङ्गुर (हरियो) प्रतिकिलो रु २००, अङ्गुर (कालो) प्रतिकिलो रु २५०, भारतीय सुन्तला रु २५०, तरबुजा हरियो प्रतिकिलो रु ७०, मौसम प्रतिकिलो रु २००, जुनार प्रतिकिलो रु २००, भुइँकटहर प्रतिगोटा रु २००, काँक्रो (लोकल) प्रतिकिलो रु ६०, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु ३०, रुख कटहर प्रतिकिलो रु १००, नासपाती (चाइनिज) प्रतिकिलो रु २६०, मेवा (नेपाली) प्रतिकिलो रु ५०, मेवा (भारतीय) प्रतिकिलो रु १२०, अम्बा प्रतिकिलो रु १२०, लप्सी प्रतिकिलो रु १००, स्ट्रबेरी (भुइँऐसेलु) रु २५०, किबी प्रतिकिलो रु ४५० तथा आभोकाडो प्रतिकिलो रु ६५०, अमलाको मूल्य प्रतिकिलो रु ९० निर्धारण गरिएको छ ।

यसैगरी, अदुवा प्रतिकिलो रु १२०, खुर्सानी सुकेको प्रतिकिलो रु ४००, खुर्सानी हरियो प्रतिकिलो रु ५०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु ८०, खुर्सानी हरियो (माछे) प्रतिकिलो रु ९०, खुर्सानी हरियो (अकबरे) प्रतिकिलो २५०, भेडे खुर्सानी प्रतिकिलो रु १००, लसुन हरियो प्रतिकिलो रु ७०, हरियो धनिया प्रतिकिलो रु १२०, लसुन सुकेको चाइनिज प्रतिकिलो रु ३२०, लसुन सुकेको नेपाली प्रतिकिलो रु ३००, छ्यापी सुकेको प्रतिकिलो रु १६०, छ्यापी हरियो प्रतिकिलो रु ८०, ताजा माछा (रहु) प्रतिकिलो रु ३२०, ताजा माछा (बचुवा) प्रतिकिलो रु २६०, ताजा माछा (छडी) प्रतिकिलो रु २४०, राजा च्याउ प्रतिकिलो रु ३०० र सिताके च्याउको मूल्य प्रतिकिलो रु ८०० तोकेको छ ।

बाजुरामा चितुवाको आक्रमणबाट ८ वर्षीय बालकको मृत्यु

बाजुरा, १८ चैत : बाजुरामा चितुवाको आक्रमणबाट एक बालकको मृत्यु भएको छ । खप्तड छेडेदह गाउँपालिका–३ धुर्ताेलाका ८ वर्षीय विजय रावतको आइतबार साँझ चितुवाको आक्रमणबाट मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक देबबहादुर चौधरीका अनुसार घर नजिकै आँगनमा खेलिरहेको अवस्थामा चितुवाले रावतमाथि आक्रमण गरेको हो । उनको घटनास्थलमै ज्यान गएको उहाँले बताउनुभयो ।  मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल बाजुरा  ल्याइएको प्रहरीले जनाएको छ । 

ईदले नेपाली समाजमा धार्मिक सहिष्णुता र सद्भावना बढाउँदै लगेको छ : सभापति देउवा

काठमाडौँ, १८ चैत : नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले इस्लाम धर्मावलम्बीको पवित्र पर्व ईद–उल–फित्रले नेपाली समाजमा धार्मिक सहिष्णुता र सद्भावना बढाउँदै लगेको बताउनुभएको छ ।

सभापति देउवाले आज ईद–उल–फित्रका अवसरमा शुभकामना सन्देश दिँदै ईद पर्वले मुलुकमा शान्ति, सद्भाव र समृद्धि ल्याउन सबैलाई प्रेरणा दिने विश्वास व्यक्त गर्नुभयो । उहाँले नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक विशेषताले भरिपूर्ण एक सुन्दर देश भएको र यहाँ विभिन्न जातजातिका आ–आफ्नै विशिष्ट परम्परा, धर्म, संस्कृति, रितिरिवाज र चाडपर्व रहेको बताउनुभयो ।

“विविधता बीचको एकता नेपालीको विशिष्ट पहिचान हो, यी प्रत्येक पर्वहरुलाई सबैले आदर र सम्मान गर्ने हाम्रो आफ्नै सद्भावयुक्त परम्परा छ, त्यस मध्ये ईद–उल–फित्र पर्व पनि एक महत्वपूर्ण पर्व हो”, सभापति देउवाद्वारा जारी शुभकामना सन्देशमा भनिएको छ ।

सभापति देउवाले इस्लाम धर्मावलम्बीको पवित्र पर्व ईद–उल–फित्रका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण मुस्लिम दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति एवं समृद्धिका लागि हार्दिक शुभकामना (ईद मुवारक) व्यक्त गर्नुभएको छ ।

पूर्वराष्ट्रपति भण्डारीद्वारा ईदको शुभकामना

काठमाडौँ, १८ चैत : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले मुस्लिम धर्मावलम्बीको महान् पर्व ईद उल फित्रको शुभकामना दिनुभएको छ ।सामाजिक सञ्जालमार्फत् पूर्वराष्ट्रपति भण्डारीले ईद पर्वले परिवार तथा समाजमा आपसी प्रेम र सद्भाव प्रगाढ बन्ने विश्वास व्यक्त गर्नुभएको छ ।

“रमजानको पवित्र महिना सकिएपछि हर्षोल्लासका साथ मनाइने ईद उल फित्रको सम्पूर्ण नेपाली मुस्लिम समुदायका दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक मङ्गलमय शुभकामना छ”, पूर्वराष्ट्रपति भण्डारीद्वारा जारी शुभकामना सन्देशमा उल्लेख छ ।

बागलुङका एक सय छ खानेपानी मुहानमा दिशामा पाइने जीवाणु कोलिफर्म भेटियो

ढोरपाटन (बागलुङ), १८ चैत : जिल्लाका एक सय छ खानेपानी मुहानमा दिशामा पाइने जीवाणु (कोलिफर्म) भेटिएको छ । प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङले जैमिनी नगरपालिका, काठेखोला गाउँपालिकासहित जिल्लाका १० स्थानीय तहका विभिन्न दुई सय ८५ स्थानमा कोलिफर्म परीक्षण गरेको थियो ।

सबैभन्दा बढी जैमिनी नगरपालिका र काठेखोला गाउँपालिकाको खानेपानीमा कोलिफर्म भेटिएको प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका प्रयोगशाला प्राविधिक डिल्ली आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार काठेखोलामा ४७ वटा मुहानमा परीक्षण गरेकामा २७ वटा र जैमिनीमा एक सय छ वटा मुहानमा परीक्षण गरेकामा ४४ वटामा भेटिएको हो । परीक्षणको दायरा बढाए अझै धेरै मुहानमा कोलिफर्म भेटिन सक्ने आचार्यको भनाइ छ ।

जनस्वास्थ्य कार्यालयले जिल्लाको निसीखोला, तमानखोला, ताराखोला, बरेङ, बडिगाड गाउँपालिका, गलकोट नगरपालिका, ढोरपाटन र बागलुङ नगरपालिकाका खानेपानीमा कोलिफर्म परीक्षण गरिरहेको छ । धेरै ठाउँबाट परीक्षण गर्न आग्रह गरेकाले विस्तारै सबै स्थानीय तहमा परीक्षण गरिने उहाँको भनाइ छ ।

आचार्यले भन्नुभयो, “हामीले जिल्लाको धेरै ठाउँमा पुगेर खानेपानीको मुहान परीक्षण गर्दा कोलिफर्म फेला परेको छ, कोलिफर्म भएको पानी पिउनका लागि उपयुक्त हुँदैन, यस्तो पानी पिउँदा झाडापखाला, हैजा, टाइफाइड, जण्डिस, हेपाटाइटिस बीलगायत पानीजन्य रोग लाग्छ, त्यसले गर्दा जनस्वास्थ्य कार्यालयले जनचेतना मुलक कार्यक्रम गरी रहेको छ ।”

जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले पालिकाले ‘वास प्लान’ बनाएको र सोहीअनुसार मुहान सरसफाइ र संरक्षणमा लाग्ने बताउनुभयो । कोलिफर्म देखिएको मुहानलाई व्यवस्थित गरी आमनागरिकलाई पानी शुद्धीकरण गरेर मात्रै प्रयोग गर्न जनचेतना फैलाउने उहाँको भनाइ छ । 

“कोलिमर्फ नियन्त्रणका लागि नगरपालिकाबाट हुने प्रयास गर्छौँ, अन्य निकायबाट प्राविधिक सहयोग लिन्छौँ, कोलिफर्मबाट पर्ने असरबाट बच्न आम नागरिकलाई सचेत बनाउँछौँ”, उपप्रमुख शर्माले भन्नुभयो, “धेरै मुहानमा कोलिफर्म भेटिएकाले पानी शुद्धीकरण गरेर मात्रै प्रयोग गर्नुपर्ने हुन्छ, यसप्रति हामी गम्भीर भएका छौँ ।” 

प्रधानमन्त्री ओलीद्वारा ईदको शुभकामना

काठमाडौँ, १८ चैत : प्रधानमन्त्री केपी शर्मा ओलीले इस्लाम धर्मावलम्बीले मनाउने महत्त्वपूर्ण र पवित्र पर्व ईदको शुभकामना दिनुुभएको छ । प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जालमार्फत ईद पर्वको अवसरमा सबैलाई शुभकामना दिनुभएको हो ।

“आज इस्लाम धर्मावलम्बीले मनाउने महत्त्वपूर्ण र पवित्र पर्व ईद, एक महिना लामो रोजा व्रत पूरा भएको छ”, सन्देशमा भनिएको छ, “रोजा पूरा भएको खुसियालीमा इस्लाम समुदायले आज इदुल फित्र मनाउँदै छन्, ईद पर्वको अवसरमा सबैलाई शुभकामना ।”

 इस्लाम धर्मावलम्बीको एक महत्त्वपूर्ण पर्वमा प्रेम, दानशीलता, सामाजिक सहयोग र आध्यात्मिक समर्पणको विशेष महत्त्व रहेको छ । समुदायबीचको सम्बन्ध अझ बलियो बनाउने परम्पराले यस चाडलाई अझ अर्थपूर्ण बनाएको छ ।

प्रतिनिधिसभाको बैठक बस्दै, प्रधानमन्त्रीले सम्बोधन गर्ने

काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक संसद भवन नयाँबानेश्वरमा बिहान ११ बजेका लागि बोलाइएको छ ।बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यसूची रहेको छ । ओलीले गत शुक्रबार भएको राजावादीहरूको हिंसात्मक आन्दोलन, विपक्षी दलहरूले उठाउँदै आएको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको बर्खास्ती प्रकरणलगायत विषयमा सम्बोधन गर्ने कार्यसूची छ ।

आजको बैठकमा ‘बैकिङ्ग कसूर तथा सजाय (दोस्रो संशोधन) विधेयक– २०८०’ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गर्ने कार्यसूची रहेको छ ।

यस्तै, पूर्वाधार विकास समितिका सभापति दीपक बहादुर सिंहले ‘जलस्रोत विधेयक सम्बन्धी समितिको प्रतिवेदन– २०८१’ पेस गर्नेछन् ।यसैगरी, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मर बहादुर थापाले ‘शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक सम्बन्धी समितिको प्रतिवेदन– २०८१’ पेस गर्ने छन् ।

कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसियाले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘नेपाल कानून व्यवसायी परिषद (दोस्रो संशोधन) विधेयक– २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने छन् ।

गृहमन्त्री रमेश लेखकले ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक– २०८१ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।प्रमुख विपक्षी दल नेकपा माओवादी केन्द्रलगायत विपक्षी दलहरूको अवरोधका कारण एकसातादेखि संसद बैठक अवरुद्ध हुँदै आएको छ ।

ईदले सदभाव, शान्ति, स्थायित्व र आपसी समझदारी बढाओस् : सभामुख घिमिरेले

काठमाडौँ, १८ चैत : सभामुख देवराज घिमिरे ईद उल फित्रले सबै नेपालीबीच सद्भाव, शान्ति, स्थायित्व र आपसी समझदारी बढाओस् भन्ने कामना गर्नुभएको छ ।
सभामुख घिमिरेले आज जारी गरेको शुभकामना सन्देशमा इस्लाम धर्मावलम्बीको महान् पर्व ईद (ईद उल फित्र) को अवसरमा सम्पूर्ण नेपाली मुस्लिम समुदायमा शुभकामना व्यक्त गर्नुभएको छ ।

 सभामुख घिमिरेले यस्ता चाडपर्वले आपसी एकता, मेलमिलाप र धार्मिक सहिष्णुतालाई अझ सशक्त बनाउने विश्वास लिएको सन्देशमा उल्लेख छ । “रमजान महिनाभरको उपवास, आध्यात्मिक शुद्धता, आत्मसंयम र परोपकारको अभ्यासपछि आउने यो महान् पर्वले सबैमा सुख, शान्ति र समृद्धि ल्याओस्”, सन्देशमा भनिएको छ, “पारस्परिक सद्भाव र भाइचारालाई प्रवद्र्धन गर्दै ईदले सबै नेपालीलाई सुदृढ राष्ट्रिय एकताको भावनामा जोड्ने विश्वास लिएको छु ।”

यो पर्व इस्लाम धर्मावलम्बीको एक महत्त्वपूर्ण चाड हो । यस पर्वमा प्रेम, दानशीलता, सामाजिक सहयोग र आध्यात्मिक समर्पणको विशेष महत्त्व रहेको छ । समुदायबीचको सम्बन्ध अझ बलियो बनाउने परम्पराले यस चाडलाई अझ अर्थपूर्ण बनाएको छ ।

“नेपाल बहुजातीय, बहुधार्मिक, बहुसांस्कृतिक विविधताले भरिएको देश हो, नेपालको संविधानले सबै धर्म, संस्कृति र परम्पराको सम्मान गर्दै धार्मिक स्वतन्त्रतालाई सुनिश्चित गरेको छ”, सन्देशमा भनिएको छ, “यो संवैधानिक व्यवस्थाले सबै नागरिकलाई आ–आफ्नो धार्मिक एवं सांस्कृतिक पहिचान अभिव्यक्त गर्ने अधिकार प्रदान गरेको छ ।”

‘गोएएमएल’मा एक हजार छ सय बढी अनुसन्धानकारी निकाय आबद्ध

काठमाडौँ । सम्पत्ति शुद्धीकरण निवारण तथा आतङ्ककारी कार्यमा वित्तीय लगानी निवारणसम्बन्धी रिपोर्टिङका लागि एकाइका रुपमा स्थापित अनुसन्धनात्मक प्रणाली (गोएएमएल) मा आबद्ध अनुसन्धानकारी निकाय र नियामक निकायको सङ्ख्या एक हजार छ सय ३९ पुगेको छ ।

नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको विवरणअनुसार, अनुसन्धानकारी निकाय र नियामक निकायको सङ्ख्या क्रमशः वृद्धि हुँदै गएको हो । सूचक संस्थाहरूले एकाइमा सम्प्रेषण गरेका शंकास्पद कारोबार तथा गतिविधि प्रतिवेदनको सङ्ख्या आर्थिक वर्ष २०७९/८० मा पाँच हजार नौ सय ३५ रहेकामा आव २०८०÷८१ मा सो सङ्ख्या करिब २४ प्रतिशतले वृद्धि भई सात हजार तीन सय ३८ पुगेको छ ।

सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण ऐन, २०६४ बमोजिम गर्नुपर्ने सूचक संस्थाले एकाइमा पेस गरेको सीमा कारोबारको सङ्ख्या आव २०७९/८० मा १६ लाख ९८ हजार तीन सय ९८ रहेकामा आव  २०८०/८१ मा १६ लाख ९७ हजार सात सय १२ छ ।

वित्तीय जानकारी एकाइले आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन प्रकाशन गरी सार्वजनिक गरेको छ । प्रतिवेदनमा एकाइको वार्षिक काम कारबाही तथा नेपालको सम्पत्ति शुद्धीकरण निवारण प्रणालीसम्बन्धी विवरण तथा जानकारी दिइएको छ ।

सम्पत्ति शुद्धीकरण निवारण तथा आतङ्ककारी कार्यमा वित्तीय लगानी निवारणसम्बन्धी सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण ऐन, २०६४ बमोजिम गर्नुपर्ने रिपोर्टिङका लागि एकाइको गोएएमएल प्रणालीमा आबद्ध गरिएको छ ।

सो प्रणालीमा प्राप्त भएका अधिकांश शङकास्पद कारोबार एवं गतिविधि प्रतिवेदन, कर छलीसम्बन्धी, मौद्रिक एवं बैंकिङ, विदेशी विनिमय, बिमा, सहकारीसम्बन्धी, ठगीसम्बन्धी चिठ्ठा जुवा, सट्टेबाजीलगायत सम्बद्ध कसुरसँग सम्बन्धित रहेको पाइएको छ ।

प्राप्त शङ्कास्पद कारोबार तथा गतिविधि प्रतिवेदनमध्ये गत वर्षभन्दा ३४ प्रतिशतले वृद्धि भई आव २०८०/८१ मा जम्मा विश्लेषण भएको सङ्ख्या एक हजार छ सय ३२ पुगेकामा सोमध्ये आठ सय ८९ वटा प्रतिवेदन थप अनुसन्धानका लागि कानुन कार्यान्वयन गर्ने निकायमा कारबाहीका लागि प्रवाह गरिएको छ । सोमध्ये सात सय ४६ वटा प्रतिवेदन एकाइले भविष्यमा थप जानकारी प्राप्त भएमा पुनःविश्लेषण गर्ने गरी अभिलेखीकरण गरेको छ ।

सन् २०२३ मा नेपालको तेस्रो चरणको पारस्परिक मूल्याङ्कन सम्पन्न भई एक वर्षको अवलोकन अवधिमा नेपालले विविध सुधार गरेको छ । हाल नेपाललाई वित्तीय कारबाही कार्यदल (एफएटिएफ) ले थप अनुगमनको सूचीमा राखेपछि नेपालले सोबाट बाहिरिन तथा समयबद्ध कार्ययोजना कार्यान्वयन प्रयास गरिरहेको छ ।

सम्पत्ति शुद्धीकरण तथा वित्तीय अपराधमा नेपालमा प्रयोग भइरहेका सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी कार्यमा वित्तीय लगानीसम्बन्धी कसुरको प्रकारका बारेमा उल्लेख छ । यसैगरी कसुर गर्ने प्रविधि, पद्धति तथा प्रवृत्तिहरु जस्तै हुण्डी, साइबर ठगी, अनलाइन अवैध खेल, अभौतिक सम्पत्ति, कर छली, भ्रष्टाचार, आयात तथा निर्यातको माध्यमबाट हुने सम्पत्ति शुद्धीकरणलगायतका विषय समावेश छ ।

ईरानद्वारा ट्रम्पसँग प्रत्यक्ष वार्ता अस्वीकार, अप्रत्यक्ष वार्ताका लागि तयार

ईरानी राष्ट्रपति मसौद पेजेश्कियनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग प्रत्यक्ष वार्ता गर्न अस्वीकार गर्नुभएको छ। उहाँले ईरान वार्ताको विपक्षमा नभए पनि अमेरिकासँग सिधै बस्न नचाहने बताउँदै, केवल अप्रत्यक्ष वार्ताका लागि तयार रहेको स्पष्ट पार्नुभयो। ट्रम्प प्रशासनले यदि तेहरानले सम्झौतामा सहमति नगरे बम आक्रमण र थप आर्थिक नाकाबन्दीको चेतावनी दिनुभएको छ ।

राष्ट्रपति पेजेश्कियनले मन्त्रिपरिषद् बैठकपछि भन्नुभयो कि अमेरिका पहिले आफ्नो गल्ती सुधार्नुपर्छ। उहाँका अनुसार, जबसम्म अमेरिका विश्वास जित्न सक्दैन, तबसम्म प्रत्यक्ष वार्ता सम्भव छैन। ईरानले अमेरिकी राष्ट्रपतिको पत्रको जवाफ ओमानमार्फत पठाएर प्रत्यक्ष वार्ताको प्रस्ताव अस्वीकार गरेको जानकारी दिनुभयो।

यसबीच, अमेरिकी राष्ट्रपति ट्रम्पले एनबीसीलाई दिएको अन्तर्वार्तामा भन्नुभयो कि यदि ईरानले सम्झौतामा सहमति जनाएन भने अमेरिका बम आक्रमण गर्न सक्छ। उहाँले चार वर्षअघिजस्तै फेरि कडा आर्थिक नाकाबन्दी लगाउने चेतावनी दिनुभयो। विश्लेषकहरूका अनुसार, ईरानले ट्रम्पमाथि विश्वास नगर्नु ठीक हो, किनभने उनले २०१५ मा भएको आणविक सम्झौता तोडेका थिए।

ईरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनेईका सल्लाहकार कमाल खराजीले अमेरिकासँग वार्ताका सबै ढोका बन्द नभएको बताउनुभयो। उहाँले अप्रत्यक्ष वार्ताबाट ईरानले अर्को पक्षको मनसाय बुझ्ने र त्यसपछि उचित निर्णय गर्ने बताउनुभयो।

संयुक्त राष्ट्रसंघीय अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीका अनुसार, ईरानले आणविक हतियार बनाउन लागेको छैन, तर उसँग आवश्यक आणविक सामग्री भने छ। ईरानले आफ्नो आणविक कार्यक्रम शान्तिपूर्ण भएको दाबी गर्दै आएको छ। अमेरिकी प्रतिबन्धका कारण ईरानी अर्थतन्त्र कमजोर बनेको छ, जसले वार्तालाई अझ महत्वपूर्ण बनाएको छ। तर, प्रत्यक्ष वार्तामा असहमति भएपछि यो कूटनीतिक समस्या झन् जटिल बनेको छ।

झापामा जङ्गली हात्तीको आक्रमणबाट १४ वर्षमा ६४को मृत्यु

भद्रपुर (झापा), १८ चैत : गत फागुनमा यहाँको हल्दीबारी गाउँपालिका–४ का ७६ वर्षीय भीमप्रसाद भट्टराईको हात्तीको आक्रमणमा परी ज्यान गयो । भट्टराई आफ्नो घरदेखि चार किलोमिटर दक्षिणस्थित चौकी बिराम सामुदायिक वनमा मृत फेला पर्नुभएको थियो । गत पुसमा कचनकवल– ७ की कैलावती राजवंशीले हात्तीको आक्रमणमा परी ज्यान गुमाउनु भयो । यस वर्ष मात्रै जिल्लामा हात्तीको आक्रमणमा परी चार जनाले ज्यान गुमाए ।

बितेको १४ वर्षमा हात्तीको आक्रमणमा परी ६४ जनाले जिल्लामा ज्यान गुमाएको डिभिजन वन कार्यालय झापाका पशु चिकित्सक सोनाम भालले जानकारी दिनुभयो । सोही अवधीमा हात्तीको आक्रमणमा परी मृत्यु हुने विदेशी नागरिकको सङ्ख्या आठ रहेको छ । वि.स. २०६२ देखि हालसम्म झापामा २२ वटा जङ्गली हात्तीको मृत्यु भएको डा. भालले बताउनुभयो । 

 पशु चिकित्सक भालका अनुसार हात्तिको परम्परागत आवागमन क्षेत्रलाई सुरक्षित राख्न बस्ती स्थानान्तरण गर्नुपर्ने भए पनि यो व्यावहारिक रुपमा कठिन छ । उहाँले तत्कालीन उपायको रुपमा सामुदायमा जनचेतना फैलाउन सके मात्र मानव–हात्ति द्वन्द्व न्यूनीकरण गर्न सकिने बताउनुभयो । 

डिभिजन वन कार्यालयको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षमा जङ्गली हात्तिबाट पीडित पाँच सय १० जनालाई राहत वितरण गरिएको छ । जसमध्ये दुई जना घाइतेलाई रु दुई लाख ६१ हजार एक सय २०, घर गोठ क्षति भएका एक सय ४८ घरपरिवारलाई रु २३ लाख, भण्डारण गरेको अन्न क्षति भएका एक सय २७ परिवारलाई रु नौ लाख ७९ हजार ४५ र अन्नबाली क्षति भएका तीन सय ७१ परिवारलाई रु  ३४ लाख ५३ हजार चार सय राहत वितरण गरिएको छ ।  

कार्यालयका अनुसार चालु आवमा मन्त्रालयबाट चार जना मृतकको परिवारलाई जनही रु १० लाखका दरले रु ४० लाख र ३३ जना पीडितलाई रु ५२ लाख ९९ हजार नौ सय २८ राहत वितरण गरिएको छ । पशुचिकित्सक डा भालका अनुसार मृतकका परिवारलाई जनही रु १० लाख, घाइतेलाई अवस्था हेरी रु दुई लाखसम्म, जीवनभर अशक्त भएको अवस्थामा रु पाँच लाखसम्म, अन्नबाली तथा भण्डारणमा क्षति भएमा बढीमा रु १० हजारसम्म र घर गोठ भत्केको अवस्थामा अधिकतम् २० हजारसम्म डिभिजन वनले राहत रकम उपलब्ध गराउँदै आएको छ ।

जिल्लामा हात्तिको आक्रमणबाट मानव क्षति बढ्दो छ । यसको दीर्घकालीन समाधान खोज्न नसकिए पनि जनचेतना अभिवृद्धि, उचित राहत व्यवस्थापन तथा प्रभावकारी वन व्यवस्थापनमा ध्यान दिइरहेको डिभिजन वन झापाले जनाएको छ । 

गणतन्त्र पक्षधर दलहरूको निष्कर्ष- व्यवस्थाविरोधी गतिविधिका जिम्मेवार ज्ञानेन्द्र

काठमाडौँ-गणतन्त्र पक्षधर प्रमुख दलले पछिल्ला दिनमा मुलुकको संविधान र सङ्घीय लोकतान्त्रिक गणतन्त्रका विरुद्ध भइरहेको गतिविधिमा प्रमुख जिम्मेवार पूर्वराजा भएको निष्कर्ष निकालेका छन् ।

व्यवस्था र संविधानका विरुद्ध गतिविधि गर्ने पूर्वराजालाई कारबाहीको दायरामा ल्याउनुपर्ने सुझाव उनीहरुले दिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा  सिंहदरबारमा भएको गणतन्त्र पक्षधर दलको बैठकमा सबै दलका नेताले पूर्वराजाकै कारण अराजक गतिविधि बढेको निष्कर्ष निकालेका हुन् । उनीहरुले त्यस्ता गतिविधि गर्नेलाई कारबाहीको दायरामा ल्याउनुपर्ने सुझाव सरकारलाई दिएको गृहमन्त्री रमेश लेखकले जानकारी दिनुभयो ।

नेपाली जनताको सङ्घर्ष, त्याग र बलिदानबाट यो व्यवस्था प्राप्त भएको उल्लेख गर्दै उहाँले त्यसको रक्षा गर्ने दायित्व गणतन्त्र पक्षधर दल र नेपाली जनताको भएकामा सबै दल एकमत रहेको बताउनुभयो । “सङ्घीय लोकतान्त्रिक शासन व्यवस्था उल्ट्याउने, नेपालको संविधान समाप्त पार्ने जे जति गतिविधि भएका छन् । यो सबैको मुख्य जिम्मेवार पूर्वराजा ज्ञानेन्द्र नै हुन् भन्नेमा सबै दलले साझा मत राख्नुभयो”, उहाँले भन्नुभयो ।

संविधान विपरीत हुने यस्ता गतिविधि सह्य नहुने ठहर गर्दै प्रमुख दलले त्यस्ता गतिविधिमा संलग्नलाई आवश्यक कानुनी कारबाहीको प्रक्रिया थाल्न सरकारलाई आग्रह गरेको छ । 

नेकपा (माओवादी केन्द्र) का उपमहासचिव शक्तिबहादुर बस्नेतले संविधान र व्यवस्था विरुद्ध भइरहेको गतिवधिलाई सरकारले नियन्त्रण गर्नुपर्ने सुझाव पार्टीका तर्फबाट सरकारलाई दिएको बताउनुभयो । उहाँले जनताको असन्तुष्टिलाई जिम्मेवार भएर सरकारले सम्बोधन गर्नुपर्ने, आपराधिक गतिविधिमा संलग्नलाई कारबाहीको दायरामा ल्याउनुपर्ने बताउनुभयो ।

नेता बस्नेतका अनुसार बैठकमा प्रधानमन्त्री ओलीले मुलुकको पछिल्लो अवस्थाका बारेमा जानकारी गराउँदै पूर्वराजाका गतिविधि कानुन र संविधान विरुद्ध भइरहेको पाइएकाले प्रमुख राजनीतिक दलका तर्फबाट स्पष्ट सुझाव दिन आग्रह गर्नुभएको थियो ।

यही चैत १५ गते शुक्रबारको घटनाका दोषी पहिचान गरी कारबाही गर्नुपर्ने बैठकको निष्कर्ष रहेको नेता बस्नेतको भनाइ छ । सरकारका तर्फबाट अपनाउनुपर्ने पूर्वसावधानीमा केही कमजोरी भएकामा स्पष्ट धारणा राखेको र प्रधानमन्त्रीका तहबाट त्यसलाई स्वीकार गर्नुभएको नेता बस्नेतले उल्लेख गर्नुभयो ।

 पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले गणतन्त्र पक्षधर दलका बीचमा साझा धारणा बनाएर संविधान विपरित गतिविधि गर्ने पूर्वराजालाई कारबाहीको दायरामा ल्याउनुपर्ने सुझाव सरकारलाई दिएको बताउनुभयो । उहाँले राजनीतिक दलले पूर्वराजालार्ई सदासयतापूर्वक व्यवहार गरे पनि पूर्वराजाले संविधान र व्यवस्थाका विरुद्ध गतिविधि गरेकाले सह्य नहुने धारणा राखेको बताउनुभयो ।

बैठकमा प्रधानमन्त्री ओली, नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, नेता कृष्ण सिटौला, माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष पम्फा भुसाल, उपमहासचिव बस्नेत, पूर्वप्रधानमन्त्री डा भट्टराई, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव, लोसपा अध्यक्ष महन्थ ठाकुर, जसपाका अध्यक्ष अशोक राई, जनमत पार्टी अध्यक्ष सीके राउत, जनमोर्चाका चित्रबहादुर केसीलगायत सहभागी हुनुहुन्थ्यो । 

विशेष अदालतको फैसला चित्त नबुझेपछि अख्तियार पुग्यो सर्वोच्च

काठमाडौँ, १८ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतले गरेको एक फैसला विरुद्ध आइतबार सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।
पशुपन्छी बजार प्रवर्द्धन निर्देशनालय हरिहरभवन ललितपुरका तत्कालीन कार्यक्रम निर्देशक बलराम थापासहित सात जना विरुद्ध आयोगले दायर गरेको मुद्दामा विशेष अदालतको फैसला चित्त नबुझेपछि आयोगले सर्वोच्चमा पुनरावेदन गरेको हो ।

निर्देशनालयका तत्कालीन निर्देशक थापा, लेखा अधिकृत रामप्रसाद बजगाई, वरिष्ठ पशु चिकित्सक पूजा शर्मा समेतका प्रतिवादी विरुद्ध रु ४७ लाख ३७ हजार छ सय २९ बराबरको भ्रष्टाचार भएको आरोपमा विशेषमा मुद्दा दायर गरेको थियो । 

तेह्रथुमको म्याङलुङ नगरपालिका–५ जिरीखिम्ती माझगाउँमा आम्फुवा पशु हाटबजार निर्माणमा कामभन्दा बढी भुक्तानी गरेकाले उनीहरु विरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार कैद सजाय तथा बिगो बमोजिम जरिवानासमेत माग गरी मुद्दा दायर गरिएको थियो । 

आयोगले दायर गरेको मुद्दामा विशेषले गत २०८० फागुन १ गते फैसला गर्दै आंशिक सफाइ दिएको थियो । विशेषको उक्त फैसला चित्त नबुझेपछि सर्वोच्चमा पुनरावेदन गरिएको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिनुभयो । 

आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, १८ चैत : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १३६ रुपैयाँ ४६ पैसा र बिक्रीदर १३७ रुपैयाँ ०६ पैसा कायम भएको छ ।

युरोपियन युरो एकको खरिदर १४७ रुपैयाँ ७६ पैसा र बिक्रीदर १४८ रुपैयाँ ४१ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिदर १७६ रुपैयाँ ६१ पैसा र बिक्रीदर १७७ रुपैयाँ ३८ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १५४ रुपैयाँ ९९ पैसा र बिक्रीदर १५५ रुपैयाँ ६७ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८५ रुपैयाँ ८० पैसा र बिक्रीदर ८६ रुपैयाँ १८ पैसा, क्यानेडियन डलर एकको खरिदर ९५ रुपैयाँ ३० पैसा र बिक्रीदर ९५ रुपैयाँ ७२ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०१ रुपैयाँ ६५ पैसा र बिक्रीदर १०२ रुपैयाँ ०९ पैसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिदर नौ रुपैयाँ ११ पैसा र बिक्रीदर नौ रुपैयाँ १५ पैसा, चिनियाँ युआन एकको खरिदर १८ रुपैयाँ ७९ पैसा र बिक्रीदर १८ रुपैयाँ ८७ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ३८ पैसा र बिक्रीदर ३६ रुपैयाँ ५४ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ४४ पैसा र बिक्रीदर ३७ रुपैयाँ ६० पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ०२ पैसा र बिक्रीदर चार रुपैयाँ ०४ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ १५ पैसा र बिक्रीदर ३७ रुपैयाँ ३२ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ ७५ पैसा र बिक्रीदर ३० रुपैयाँ ८९ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ २८ पैसा र बिक्रीदर नौ रुपैयाँ ३२ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १३ रुपैयाँ ६४ पैसा र बिक्रीदर १३ रुपैयाँ ७० पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ८० पैसा र बिक्रीदर १९ रुपैयाँ ८९ पैसा तोकिएको छ ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिदर १७ रुपैयाँ ५४ पैसा र बिक्रीदर १७ रुपैयाँ ६२ पैसा, कुवेती दिनार एकको खरिददर ४४२ रुपैयाँ ७१ पैसा र बिक्रीदर ४४४ रुपैयाँ ६५ पैसा, बहराइन दिनार एकको खरिददर ३६१ रुपैयाँ ९७ पैसा र बिक्रीदर ३६३ रुपैयाँ ५६ पैसा, ओमनी रियाल एकको खरिददर ३५४ रुयैयाँ ४६ पैसा र बिक्रीदर ३५६ रुपैयाँ ०२ पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।

राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

हुलदङ्गाका कारण भएका क्षतिको बिमा दाबी शिघ्र फर्छ्यौट गर्न निर्देशन

काठमाडौँ, १८ चैत : नेपाल बिमा प्राधिकरणले यही चैत १५ गते काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा भएका हुलदङ्गाका कारण बीमितको धनसम्पत्तिमा भएको क्षतिबाट पर्नसक्ने बीमा दाबीलाई सहजरूपमा यथाशक्य छिटो फर्छ्यौट गर्न निर्देशन दिएको छ ।

प्राधिकरणले आइतबार सबै निर्जीवन बिमा कम्पनी र निर्जीवन लघुबिमा कम्पनीलाई निर्देशन दिएको जनाएको छ । हुलदङ्गाका कारण भएका क्षतिको विवरण ‘एक्सेल स्प्रिडसिट’ ढाँचामा प्राधिकरणले दिएको ‘गुगल फर्म’को लिङ्कमार्फत साप्ताहिक रूपमा हरेक हप्ताको बुधबार प्राधिकरणमा पेस गर्न निर्जीवन बिमा कम्पनी र निर्जीवन लघुबिमा कम्पनीलाई निर्देशन दिइएको छ । 

मन्त्रालयको परिपत्रअनुसार काम नगर्ने व्यवसायीलाई कारबाही गर्न निर्देशन

गण्डकी, १८ चैत : गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री प्रकाशबहादुर केसीले मन्त्रालयको परिपत्रअनुसार काम नगर्ने व्यवसायीलाई कारबाही गर्न निर्देशन दिनुभएको छ ।

मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठक तथा चालु आर्थिक वर्षको दोस्रो चौमासिक प्रगति समीक्षा कार्यक्रममा उहाँले काम नगर्ने निर्माण व्यवसायीलाई सम्पर्क गरी निर्माण सुरु गराउन पहल गर्न निर्देशन दिनुभयो । उहाँले चालु आर्थिक वर्षभन्दा अगाडि रोकिएका बहुवर्षीय नियमित योजना सञ्चालन गर्न बहानाबाजी, ढिलासुस्ती गर्ने निर्माण व्यवसायीलाई सम्पर्क गरी निर्माण कार्य सुरु गर्न आग्रह गर्नुभयो ।

मन्त्रालयबाट गरिएको परिपत्रअनुसार काम अगाडि नबढाएमा निर्माण व्यवसायीलाई लिखित रुपमा कारबाहीका प्रक्रिया अगाडि बढाउन उहाँले निर्देशन दिनुुभयो । प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयमा भौतिकतर्फ ४५ प्रतिशत र वित्तीयतर्फ ३१.१५ प्रतिशत प्रगति देखिएको छ ।

चालु आवको वार्षिक विकास कार्यक्रममा समावेश योजनालाई समयमा सम्पन्न गर्नुपर्ने बताउँदै मन्त्री केसीले कुनै योजनाको ठेक्का प्रक्रिया बाँकी भए चैत मसान्तभित्र ठेक्का सम्झौता गर्न निर्देशन दिनुभयो । वार्षिक गोष्ठीमा आउँदा कम्तीमा ८०% प्रगति हासिल हुने गरी कार्य गर्नुपर्ने उहाँको भनाइ थियो ।

ईदका अवसरमा आज सार्वजनक बिदा

काठमाडौँ, १८ चैत : सरकारले इस्लाम धर्मावलम्बीको पर्व ईदका अवसरमा आज सार्वजनिक बिदा दिएको छ ।

गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव रामचन्द्र तिवारीका अनुसार, २०८० माघ २९ को नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार आज सार्वजनिक बिदा दिइएको हो ।    इस्लाम धर्मावलम्बीको महान पर्व ‘ईद–उल–फित्र’ हर्षोल्लासका साथ मनाउने परम्परा रही आएको छ । 

आजको मौसम : कोशी र गण्डकीमा वर्षाको सम्भावना

काठमाडौँ, १८ चैत : हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश, कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम मूख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भू–भागको एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा उच्च पहाडी र हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । यसबाट दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाट बच्न आवश्यक उपाय र सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

भीमनारायण गोल्डकप : उद्घाटन खेलमा सप्तरी विजयी

धनकुटा, १७ चैत : सहिद भीमनारायण गोल्ड कपको १७औँ संस्करण आजदेखि सुरु भएको छ । धनकुटा सदरमुकामस्थित तल्लो टुँडिखेलमा आज भएको उद्घाटन खेलमा सप्तरीको नमोबद्ध युथ क्लब विजयी भएको छ । उसले आयोजक सहिद भीमनारायण स्मृति प्रतिष्ठानलाई ३–१ गोलअन्तरले हराएको हो ।

सप्तरीले पहिले हाफमा तीन गोल गरेको थियो । खेलको १९औँ मिनेटमा निर्मल घिसिङ, खेलको ३२औँ  मिनेटमा मिक्सम दास र ३९औँ मिनेटमा मोहित गुरुङले गोल गरेका थिए । भीमनारायण स्मृति प्रतिष्ठानका लागि दोस्रो हाफमा कप्तान दीपेन शाक्यले सान्त्वना गोल गरेका थिए । 

सोमबार ब्वाइज फुटबल क्लब इटहरी, सुनसरी र गाईघाट फुटबल क्लब उदयपुरबीच खेल हुने आयोजक समितिका संयोजक शम्भु प्रधानले जानकारी दिए । यही चैत २३ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा आठ टोली सहभागी छन् । 

यसअघि खेलको उद्घाटन महालक्ष्मी नगरपालिका धनकुटाका प्रमुख ध्रुव रायले गरेका थिए । प्रतियोगिताको विजेताले रु पाँच लाख तथा उपविजेताले रु दुई लाख ५० हजार पुरस्कार पाउने छन् । तत्कालिन राजा वीरेन्द्र शाहलाई बम हानेको आरोपमा पक्राउ परेका सहिद भीमनारायण श्रेष्ठलाई २०३५ सालमा शाही सरकारले गोली हानी हत्या गरेको थियो । विसं २०७३ मा उहाँलाई राष्ट्रिय सहिद घोषणा गरिएको हो । उहाँको सम्झनामा २०५५ सालदेखि प्रतिष्ठानले यो प्रतियोगिता सञ्चालन गर्दै आएको छ ।

महिला टी ट्वान्टी विश्वकप एसिया छनोटका लागि २८ खेलाडी छानिए

काठमाडौँ, १७ चैत : नेपाल क्रिकेट सङ्घ (क्यान) ले महिला टी ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत एसिया छनोटका लागि आज २८ खेलाडी प्रारम्भिक चरणमा छानेको छ । आगामी मे महिनामा थाइल्यान्डमा आयोजना हुने एसिया छनोटका लागि क्यानले बन्द प्रशिक्षणमा राख्न ती खेलाडीको नाम सार्वजनिक गरेको हो ।

छनोट हुने खेलाडीहरुमा कप्तान इन्दु बर्मासहित रुविना क्षेत्री, विन्दु रावल, एलिसाकुमारी यादव, साना प्रवीण, राजमती ऐरी, हेलिसा गुरुङ, काजल श्रेष्ठ, सोमु विष्ट, सङ्गीता राई, एलिसा खडिया र रोमा थापा छ्न ।

त्यसैगरी, कविता कुँवर, ईश्वरी विष्ट, पूजा महतो, कविता जोशी, मनीषाकुमारी उपाध्याय, सबनम राई, सिमाना केसी, रचनाकुमारी चौधरी, सम्झनाकुमारी खड़का, रिया शर्मा, रुवी पोद्दार, सीता राना मगर, यशोदा विष्ट, अनु कडायत, मनीषा बोहरा र लक्ष्मी साउद छ्न । 

आइसिसी महिला टी ट्वान्टी विश्वकप एसिया छनोटका लागि नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण यही चैत १९ गतेदेखि सुरु हुने क्यानले जनाएको छ ।

राज्यविरुद्धको मुद्दामा मिश्र र जबरासहित ११ जनालाई थप ५ दिन थुनामा राख्न अनुमति

काठमाडौँ, १७ चैतः जिल्ला अदालत काठमाडौँले शुक्रबार तीनकुनेमा भएको घटनाबारे अनुसन्धान गर्न राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेता रविन्द्र मिश्र, सांसद धवलशमशेर जबरासहित ११ जनालाई राज्यविरुद्ध अपराधको आरोपमा पाँच दिन थुनामा राख्न अनुमति दिएको छ ।

न्यायाधीश तारादेवी मर्हजनको इजलासले आज नेता मिश्र र सांसद जबरासहित ११ जनामध्ये १५ गते पक्राउ परेकालाई पाँच दिन र १६ गते पक्राउ परेकालाई चार दिन थुनामा राखी अनुसन्धान गर्न अनुमति दिएको काठमाडौँ अदालतका श्रेस्तेदार तीर्थराज भट्राईले जानकारी दिनुभयो ।

जिल्ला सरकारी वकिलको कार्यालयले ती व्यक्तिमाथि प्रारम्भिक अनुसन्धानपछि राज्यविरुद्धको कसुर आकर्षित हुने देखिएकाले त्यसमा म्याद थप गर्न सुझाव दिएको थियो ।

जिल्ला सरकारी वकिल कार्यालयले ती ११ जनाबाहेक थप ३० जनालाई आपराधिक उपद्रव र सङ्गठित अपराधको अभियोगमा म्याद थप्न अदालतमा पेस गरेको जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँका प्रमुख रामहरि शर्मा काफ्लेले जानकारी दिनुभयो ।

‘हेल्लो काँशीराम’ सेन्सर पास, युनिभर्सल सर्टिफिकेट प्राप्त

काठमाडौं, चैत १७ – रिम विश्वकर्माको लेखन तथा निर्देशनमा तयार भएको फिल्म ‘हेल्लो काँशीराम’ सेन्सर पास भएको छ। आगामी जेठ २ गते बाट नेपालभरका हलहरूमा प्रदर्शन हुने यस फिल्मले केन्द्रीय जाँच पास समिति (सेन्सर बोर्ड) बाट युनिभर्सल सर्टिफिकेट प्राप्त गरेको हो। अब यस फिल्मलाई हरेक वर्गका दर्शकले सजिलै हेर्न पाउनेछन्।

शनिबार गरिएको सेन्सरमा फिल्मले उत्कृष्ट प्रतिक्रिया पाएको निर्देशक रिम विश्वकर्मा ले जानकारी दिए। कमेडी शैली मा निर्माण भएको यस फिल्मको कथाको रहस्य भने प्रदर्शनपछि मात्र दर्शकले थाहा पाउने उनले बताए। “सेन्सर बोर्डका सदस्यहरूले फिल्मलाई राम्रो रेटिङ दिनुभयो, जसले हामीलाई निकै खुसी बनाएको छ,” उनले थपे।

यसअघि सार्वजनिक गरिएको फिल्मको प्रचार सामग्रीले दर्शकमाझ उत्सुकता सिर्जना गरेको छ। विशेषगरी दिलीप रायमाझी ले बोका बोकेर भागिरहेको दृश्यले दर्शकको ध्यान तानेको छ।

फिल्मको निर्माण टोली

रेडलाइन फिल्मस् प्रा. लि. को ब्यानरमा निर्माण भएको ‘हेल्लो काँशीराम’ का लेखक तथा निर्देशक रिम विश्वकर्मा हुन्। फिल्मका निर्माता पी.बी. थापा हुन् भने सिनेमाटोग्राफी यम आले ले गरेका छन्। करिब डेढ करोड को लागतमा बनेको फिल्मलाई मित्र डी. गुरुङ ले सम्पादन तथा रंग संयोजन गरेका छन्।

कलाकारहरूको दमदार उपस्थिति

फिल्ममा दिलीप रायमाझी सँगै सुरविर पण्डित, रामचन्द्र अधिकारी, शुशिल पोखरेल लगायतका वरिष्ठ कलाकारहरू देखिनेछन्। साथै, चर्चित हाँस्य कलाकार उमेर राई (फुलन्देको आमा), भगेरी डन, नवज्योती रसाइली, सुमन खाँण, अजय न्यौपाने, सरोज केसी, उमेश मायालु, विवेश पुरी लगायतका कलाकारहरूको पनि अभिनय रहनेछ।

फिल्ममा चर्चित अभिनेत्री प्रियंका कार्की को विशेष भूमिका रहेको छ। नेपाली फिल्म उद्योगकी सफल अभिनेत्री भएकाले उनको उपस्थितिले फिल्मलाई थप बलियो बनाउने निर्देशक विश्वकर्माले बताएका छन्।

व्यवस्थाको रक्षाका लागि देखिएका कमजोरी सुधार गर्नुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल

सुदूरपश्चिम, १७ चैत : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले गणतन्त्र, संविधान र व्यवस्थाको रक्षाका लागि देखिएका कतिपय कमीकमजोरीलाई सुधार गर्नुपर्ने बताउनुभएको छ ।

सो पार्टीको आज धनगढीमा सुरु भएको प्रथम सुदूरपश्चिम प्रदेश अधिवेशनमा पूर्वप्रधानमन्त्री नेपालले ठूलो बलिदानी र त्यागबाट प्राप्त परिवर्तनको उपलब्धि एवं जनताको शासनलाई अँध्यारोमा धकेल्ने दुष्प्रयास भइरहेको बताउनुभयो । नेपालले बहुमतको आडमा मनपरी गर्छु भनेर चल्न खोजेमा पार्टीहरु बीचको सम्बन्धमा सुधार नआउने बताउनुभयो । 

उहाँले भन्नुभयो, “हृदय फराकिलो बनाएर देखिएका कतिपय कमीकमजोरी स्वीकार्दै सुधार गर्ने आँट गर्न सक्नुपर्छ ।” उहाँले जनतासँग जोडिएर आन्दोलनलाई उठाउन र परिवर्तनको वाहक बनेर काम गर्न नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभयो । 

समारोहमा पूर्वप्रधानमन्त्री एवं सो पार्टीका सम्मानित नेता झलनाथ खनाल, वरिष्ठ उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डे, महासचिव घनश्याम भुसाललगायतले सम्बोधन गर्नुभएको थियो । दुई दिनसम्म चल्ने अधिवेशनमा पार्टीको सङ्गठन सुदृढीकरणलगायत विषयमा छलफल हुने बताइएको छ ।

मेटाले इंस्टाग्राममा रील्सको गति बढाउने फिचर ल्यायो

मेटाले इंस्टाग्राममा नयाँ स्पीड फिचर थपेको छ, जसले प्रयोगकर्ताहरूलाई रील्सको गति दोब्बर बनाउन मद्दत गर्छ। यो फिचर प्रयोग गर्न प्रयोगकर्ताहरूले स्क्रिन लामो समय थिच्नुपर्ने हुन्छ।

यो सुविधा विशेष रूपमा लामो भिडियोहरू हेर्न सहज बनाउन ल्याइएको हो। इंस्टाग्रामले अहिले तीन मिनेटसम्मका भिडियोहरू समर्थन गर्ने भएकाले प्रयोगकर्ताहरूलाई आफ्नो अनुभव अझ नियन्त्रण गर्न सजिलो हुनेछ।

यो फिचरले छोटो भिडियो सामग्रीले ध्यान केन्द्रित गर्ने क्षमतामा पार्ने प्रभावबारे उठेका चिन्ताहरूलाई समाधान गर्ने अपेक्षा गरिएको छ। यस सुविधाले प्रयोगकर्ताहरूलाई तीव्र गतिमा सामग्री ब्राउज गर्न सहयोग गर्नेछ, जसले रील्सको आकर्षण अझ बढ्ने अनुमान गरिएको छ।यो परिवर्तनले इंस्टाग्रामको प्रयोगलाई अझ प्रभावकारी बनाउन मद्दत गर्ने विश्वास गरिएको छ।

“फोहोर व्यवस्थापन सुधारका लागि पाकिस्तान सरकारको प्रतिबद्धता”

पाकिस्तानका प्रधानमन्त्री शेहबाज शरीफले देशले वातावरण, जनस्वास्थ्य र अर्थतन्त्र जोगाउन फोहोर प्रदूषण घटाउने प्रतिबद्धता जनाएको बताउनुभएको छ। उहाँले शून्य फोहोर समाज निर्माणका लागि सबै पक्षको सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभयो ।

अन्तर्राष्ट्रिय शून्य फोहोर दिवसको अवसरमा, प्रधानमन्त्री शरीफले फोहोर व्यवस्थापनको परम्परागत तरिका बदल्दै स्रोतको पुन: प्रयोगलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो । उहाँले एकल-प्रयोग हुने प्लास्टिक हटाउन, रिसाइक्लिङ बढाउन र वातावरणमैत्री उपायहरू अपनाउनुपर्ने आवश्यकता रहेको उल्लेख गर्नुभयो ।

अन्तर्राष्ट्रिय शून्य फोहोर दिवसको अवसरमा शरीफले परम्परागत फोहोर व्यवस्थापनको सट्टा वृत्तात्मक अर्थतन्त्र अपनाउनुपर्ने बताउनुभयो । उहाँले एकल-प्रयोग प्लास्टिक हटाउने, रिसाइक्लिङ प्रवर्द्धन गर्ने र वातावरणमैत्री उपायहरू विकास गर्ने नीति अवलम्बन गर्नुपर्ने उल्लेख गर्नुभयो ।सरकारले इन्डस नदी संरक्षण योजना, क्लिन ग्रीन पाकिस्तान अभियान मार्फत दिगो फोहोर व्यवस्थापनका उपाय अपनाइरहेको उहाँले जानकारी दिनुभयो ।

प्रधानमन्त्रीले नागरिक, व्यवसायी समुदाय र प्रादेशिक सरकारहरूलाई फोहोर संकलन सुधार, रिसाइक्लिङ केन्द्र विस्तार र हरित प्रविधिहरूमा लगानी गर्न आह्वान गर्नुभयो । “शून्य फोहोर लक्ष्य हासिल गर्न सबैले योगदान दिनुपर्छ,” उहाँले थप्नुभयो ।

नेपाल सुपर लिग: बुटवल लुम्बिनी र झापाबिचको खेल गोलरहित बराबरीमा

काठमाडौं,१७ चैत: नेपाल सुपर लिग (एनएसल) फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा बुटवल लुम्बिनी एफसी र झापा एफसीबिचको खेल बराबरीमा टुङगिएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा दुवै टोलीले खेलको निर्धारित समयमा गोल गर्न नसकेपछि खेल गोलरहित बराबरी टुङगिएको हो । यससँगै दुवै टोलिले समान एक एक अङ्क बाँडेका छन् । ।प्रतियोगिताअन्तर्गत सोमबार एफसी चितवन र पोखरा थन्डर्सबीच खेल हुनेछ ।

सुदूरपश्चिम प्रदेशसभा बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगन

सुदूरपश्चिम, १७ चैतः सुदूरपश्चिम प्रदेशसभाको आजको बैठक निर्धारित कार्यसूचीमा प्रवेश नगरी स्थगन गरिएको छ । बैठक प्रारम्भ हुनासाथ प्रतिपक्षी दलका प्रदेशसभा सदस्यले आ–आफ्नो आसनबाट उभिएर अवरोध गरेपछि कार्यसूचीमा प्रवेश नगरी बैठक अवरुद्ध हुन पुगेको हो । अवरोधका बीच सभामुखको अनुमतिमा प्रतिपक्षी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सदस्य खेमादेवी विष्टले आफ्नो धारणा राख्दै सुशासन कायम राख्न र नियमविपरीत गरिएका राजनीतिक नियुक्तिका सवालमा सरकारले जवाफ दिनुपर्ने माग गर्नुभयो ।

उहाँले दिगो वन व्यवस्थापनसम्बन्धी विधेयक तयारीका क्रममा वनमन्त्रीबाट आर्थिक चलखेल भएको भनेर सार्वजनिक भएको श्रव्य सामग्रीको घटनाबारे सत्यतथ्य पत्ता लगाउन उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने माग गर्नुभयो । उक्त सामग्री सार्वजनिक भएको घटनामा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लक्ष्मणकिशोर चौधरीले शनिबार पदबाट राजीनामा दिनुभएको थियो । 

विष्टको सम्बोधनपछि पनि प्रतिपक्षी दलका सदस्यले अवरोध जारी राखेपछि सभामुख भीमबहादुर भण्डारीले आजको बैठकको पूर्वनिर्धारित कार्यसूची हटाई अर्को सूचना प्रकाशित नभएसम्मका लागि बैठक स्थगन गरिएको जानकारी गराउनुभयो । प्रतिपक्षी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), राप्रपा र स्वतन्त्र सदस्यले प्रदेशसभाको बैठक अवरुद्ध पार्दै आएका छन् ।

प्रधानमन्त्रीको थाइल्यान्ड भ्रमण र बिम्स्टेकको शिखर सम्मेलनमा सहभागिताबारे पूर्वप्रधानमन्त्री र पूर्वपराराष्ट्रमन्त्रीसँग परामर्श

काठमाडौँ, १७ चैतः प्रधानमन्त्री केपी शर्मा ओलीको मित्रराष्ट्र थाइल्यान्डको औपचारिक भ्रमण र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को छैटौँ शिखर सम्मेलनमा सहभागितबारे आज पूर्वप्रधानमन्त्री र पूर्वपरराष्ट्रमन्त्रीहरूसँग परामर्श छलफल भएको छ ।

प्रधानमन्त्री ओलीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा राख्नुभएको छलफलमा नेपालको आर्थिक विकास, कनेक्टिभिटी, ऊर्जा, पर्यटन र सांस्कृतिक आदानप्रदानलगायत क्षेत्रमा भ्रमणलाई मुलुकको अधिकतम हितमा उपयोग गर्न सुझाव दिइएको छ । नेपालबाट प्रधानमन्त्रीको यो पहिलो औपचारिक थाइल्यान्ड भ्रमण हुन लागेकाले पनि यसबाट मुलुकका लागि विविध क्षेत्रमा लाभ हासिल गर्न सुझाव दिइएको छ ।

छलफलमा प्रधानमन्त्री ओलीले नेपाल विश्वशान्ति र क्षेत्रीय सहकार्यका लागि प्रयासरत रहने स्पष्ट गर्दै अरूको हितप्रति संवदेशनशील हुँदै नेपालको हितका लागि भ्रमणलाई उपयोग गर्ने जानकारी गराउनुभयो । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) र असंलग्न राष्ट्रहरूको अभियानलाई पनि सक्रिय बनाउनुपर्नेमा जोड दिँदै उहाँले बिम्स्टेक सम्मेलनमा राष्ट्रिय हितलाई कसरी महत्व दिन सकिन्छ भन्नेबारे प्राप्त सुझावलाई मनन गरिने बताउनुभयो ।

प्रधानमन्त्री ओली यही चैत १९ देखि २३ गतेसम्म थाइल्यान्डको औपचारिक भ्रमण तथा बिम्स्टेकको छैटौँ शिखर सम्मेलनमा सहभागी हुने कार्यक्रम तय भएको छ । समकक्षी प्रधानमन्त्री फेथोङथान सिनावात (पैटोङ्टार्न शिनावात्रा)को मैत्रीपूर्ण निमन्त्रणामा उहाँबाट थाइल्यान्डको औपचारिक भ्रमण हुन लागेको हो ।

छलफलमा पूर्वप्रधानमन्त्रीहरू डा बाबुराम भट्टराई, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी, परराष्ट्रमन्त्री डा आरजु राणा देउवा, पूर्वपरराष्ट्रमन्त्रीहरू उपेन्द्र यादव, ईश्वर पोखरेल, रघुवीर महासेठ, डा भेषबहादुर थापा, रमेशनाथ पाण्डे, डा प्रकाशचन्द्र लोहनी, डा प्रकाशशरण महत, नारायणप्रकाश साउद, डा विमला राई पौड्याल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्याललगायत सहभागी हुनुहुन्थ्यो ।

थाइल्यान्डको औपचारिक भ्रमण तथा बिम्स्टेकको छैटौँ शिखर सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डललाई नेपाल सरकार, मन्त्रिपरिषद्को यही चैत ११ गतेको बैठकले स्वीकृत गरिसकेको छ ।

एनआरएनएको सदस्य बन्न एक साता म्याद थप गर्ने उच्चस्तरीय समितिको निर्णय

काठमाडौँ – गैर आवासीय नेपाली संघ (एनआरएनए) उच्चस्तरीय समितिले सदस्यता वितरणको समय एक हप्ता थप गर्ने निर्णय गरेको छ ।आइतबार भर्चुअल रुपमा सम्पन्न समितिको १३ औं बैठकले त्यस्तो निर्णय गरेको हो।

यसअघि सदस्यताको लागि आवेदन दिने मिति मार्च ३१, २०२५ सम्म तोकिएकोमा अब अप्रिल ७, २०२५ (नेपाली समय अनुसार २३ः५९ सम्म) उच्चस्तरीय समितिको वेबसाइट www.nrnahlc.com मा गएर सदस्यताका लागि आवेदन दिन पाइने छ ।

बैठकले अहिलेको विशेष परिस्थितिका कारण एमआइएस सिस्टममा दर्ता भएका र आजीवन सदस्यता लिएका सबै सदस्यहरुलाई पनि अनिवार्यरुपमा उच्चस्तरीय समितिको वेबसाइटमा दर्ता हुनु पर्ने निर्णय गरेको छ ।

साथै, बैठकले आउँदो मे ३-५, २०२५ मा काठमाडौँमा हुन गैरहेको एकता महाधिवेशनमा प्रतिनिधि (डेलिगेट्स) को रुपमा भाग लिने प्रयोजनका लागि डेलिगेट्स दर्ता प्रक्रिया अप्रिल १ देखि शुरु गर्ने निर्णय पनि गरेको छ । महाधिवेशनमा डेलिगेट्सको रुपमा सहभागी हुन चाहने सबै पंजीकृत सदस्यहरुले अप्रिल २२, २०२५ सम्म डेलिगेट्स बन्नका लागि सबै प्रक्रिया पूरा गरेर १ सय अमेरिकी डलर वा सो बराबरको नेपाली रुपैयाँ जम्मा गर्नु पर्ने छ ।

उच्चस्तरीय समितिका अध्यक्ष डा. शेष घलेको अध्यक्षतामा बसेको बैठकमा अध्यक्ष घलेले हालै मध्यपूर्व र युरोपका विभिन्न देशमा गरेको भ्रमणबारे जानकारी गराएका थिए । त्यस्तै आर्थिक, विधान, सदस्यता वितरण एवम् प्रचार प्रसार उपसमितिका संयोजकहरुले आआफ्नो उपसमितिका गतिविधिहरूबारे जानकारी गराएका थिए ।
उच्चस्तरीय समितिको १३औं बैठकमा सहभागी कानुन मन्त्रालय र परराष्ट्र मन्त्रालयका प्रतिनिधिहरुले मे महिनामा काठमाडौँमा हुने महाधिवेशनलाई सफल बनाउन सरकारको तर्फबाट आवश्यक सहजीकरण भइरहेको बताए । साथै, विधानमा उल्लेखित कार्यक्षेत्र (टिओआर) को विषयमा सहजीकरण गर्न उच्चस्तरीय समितिका सदस्य विनोद कुँवरलाई जिम्मा दिने निर्णय गरिएको छ ।

एनआरएनए उच्चस्तरीय समितिले समस्त गैर आवासीय नेपालीहरुलाई सदस्यता प्रक्रियामा सहभागी हुन तथा महाधिवेशनको तयारीमा सहयोग गर्न आग्रह पनि गरेको छ ।

गण्डकी प्रदेश प्रमुख भट्टसमक्ष आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस

गण्डकी, १७ चैतः गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष आदिवासी जनजाति आयोगले पाँचौँ वार्षिक प्रतिवेदन प्रस्तुत गरेको छ । आज प्रदेश प्रमुखसमक्ष आयोगका सदस्य रीना राना नेतृत्वको टोलीले आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन पेस गरेको हो । प्रतिवेदन बुझ्दै प्रदेश प्रमुख भट्टल आदिवासी जनजातिका अधिकार संरक्षण तथा सशक्तीकरण गर्न आवश्यक योजनाका साथ अगाडि बढ्न आयोगलाई सुझाव दिनुभयो । उहाँले आदिवासी जनजाति समुदायको भाषा, संस्कृति संरक्षण र प्रवर्द्धन गर्ने सवालमा नेपालको संविधानले आयोगलाई महत्वपूर्ण जिम्मेवारी प्रदान गरेकाले त्यसलाई प्रभावकारी रूपमा सम्पादन गर्नुपर्ने बताउनुभयो ।

प्रतिवेदन मुख्यमन्त्रीमार्फत गण्डकी प्रदेशसभामा पठाइने र त्यहाँ सघन छलफल भई प्राप्त हुने निष्कर्षले भविष्यमा आयोगका काम कारबाही थप सबल र सशक्त बनाउन योगदान पुग्ने प्रदेश प्रमुख भट्टको विश्वास थियो । 

आयोगको प्रतिवेदनमा गत आर्थिक वर्षमा आयोगले आदिवासी जनजाति समुदायको विकास, पहिचान र अधिकारको संरक्षण तथा प्रथा परम्परालगायत क्षेत्रमा गरिएका कामहरू समावेश छन् । 

अब नेपालमा कहिल्यै राजतन्त्र नफर्किने अर्थमन्त्री पौडेलको जिकिर

काठमाडौँ, १७ चैतः उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राजतन्त्र पुनःस्थापित गर्ने प्रयास व्यर्थ हुने बताउनुभएको छ । आज रिपोर्टर्स क्लब नेपालको २७औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा उहाँले राजतन्त्रले आफ्नो उपादेयता आफैँ समाप्त गरिसकेकाले अब नेपालमा कहिल्यै राजतन्त्र नफर्किने जिकिर गर्नुभयो ।

उपप्रधानमन्त्री पौडेलले २०५८ सालको दरबार हत्याकाण्डपछि नै राजतन्त्रको औचित्यमाथि प्रश्न उठ्न थालेको उल्लेख गर्दै जनआन्दोलनपछि राजतन्त्र समाप्त भएको स्पष्ट पार्नुभयो । राजसंस्थाको पुनरुत्थानको पक्षमा भइरहेका गतिविधिप्रति कटाक्ष गर्दै उहाँले भन्नुभयो, “राजतन्त्र ब्यँुताउनु भनेको श्मशानघाटबाट मुर्दा फर्काउनुजस्तै हो ।”

अर्थमन्त्री पौडेलले शुक्रबारको प्रदर्शनलाई सङ्केत गर्दै राजतन्त्रका हिमायतीहरूको वास्तविक चरित्र उदाङ्गो भइसकेको बताउनुभयो । “यिनीहरू लुटपाट, हत्या र हिंसाको पक्षमा छन्, त्यो मुखुण्डो उत्रिसकेको छ । अब यिनीहरूलाई ठीक ढङ्गले चिन्न जरूरी छ”, उहाँले भन्नुभयो ।

लोकतन्त्रको रक्षा गर्न सरकार दृढ रहनुपर्नेमा जोड दिँदै अर्थमन्त्री पौडेलले जनताका आशा र अपेक्षालाई ठीक ढङ्गले पूरा गर्न सरकार खरो रूपमा उभिने र यसमा सबै पक्षबाट योगदान आवश्यक रहेको बताउनुभयो ।

‘लोकतन्त्रको विकल्प छैन, तर शासकीय शैलीमा सुधार आवश्यक’ : डा बाबुराम भट्टराई

काठमाडौँ, १७ फागुन : विद्यमान सङ्घीय लोकतान्त्रिक शासन व्यवस्थाको विकल्प नरहे पनि शासनशैली र कार्यव्यवहारमा सुधार अत्यावश्यक रहेको धारणा विभिन्न राजनीतिक दलका नेताहरुले राख्नुभएको छ ।

रिपोर्टर्स क्लब नेपालको २७औँ वार्षिकोत्सवका अवसरमा यहाँ आज आयोजित कार्यक्रममा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले गत शुक्रबार तीनकुने क्षेत्रमा भएको हिंसात्मक प्रदर्शनको घटनाप्रति खेद व्यक्त गर्नुभयो । राजतन्त्रको सन्दर्भमा इतिहास अगाडि बढ्ने तर पछाडि नफर्कने उल्लेख गर्दै उहाँले भोक लाग्यो भन्दैमा विष पिउन नहुने स्पष्ट पार्नुभयो ।

हालका राजनीतिक दलहरूप्रति जनतामा निराशा र असन्तोष रहेको स्वीकार्दै अध्यक्ष डा भट्टराईले भन्नुभयो, “नेताहरू भ्रष्टाचारमा मुछिएको, आसेपासेहरूले घेरिएको देखेर तपाईंहरूलाई विरक्त लाग्न सक्छ । तर नागरिकको चिन्ताप्रति मेरो साथ र सहयोग रहनेछ ।” लोकतान्त्रिक व्यवस्थाका कमजोरी हटाउँदै त्यसलाई थप उन्नत बनाउने दिशामा अघि बढ्नुपर्ने उहाँको धारणा थियो । संविधानमा उल्लेखित शासकीय स्वरूप र निर्वाचन प्रणालीलगायत केही व्यवस्थाहरू संशोधन गर्न आवश्यक रहेको अध्यक्ष डा भट्टराईले बताउनुभयो । जनतामा फैलिएको निराशा चिर्न संविधानमा परिवर्तन जरुरी रहेको उहाँको भनाइ थियो ।

कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सुशासन र जनताका आवाज उठाउने सवालमा रिपोर्टर्स क्लबको अग्रणी भूमिका रहेको बताउनुभयो । पछिल्लो समय पत्रकारिता पेसा विकृत बन्दै गएको उल्लेख गर्दै उहाँले समाजलाई सही दिशा दिनका लागि निष्पक्ष पत्रकारिता आवश्यक रहेको धारणा राख्नुभयो । गणतन्त्रविरुद्ध षड्यन्त्र भइरहेको भन्दै उहाँले लोकतन्त्रको रक्षा गर्न सबैलाई आह्वान गर्नुभयो ।

सांसद प्रभु साहले संसद्को प्रभावकारितामाथि प्रश्न उठाउँदै निर्वाचित प्रतिनिधिमाथि गैर–निर्वाचितको हालीमुहाली रहेको टिप्पणी गर्नुभयो । उहाँले संसद् राजनीतिक दलहरूको नियन्त्रणमा रहेको आरोप लगाउँदै जनताले अझै पनि सुशासन र आर्थिक विकासको अनुभूति गर्न नसकेको तथा जनताको समस्या समाधान हुन नसकेको बताउनुभयो ।

जनता समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठले लोकतान्त्रिक व्यवस्था अझै परिपक्व नभएको र विकासको चरणमा रहेको उल्लेख गर्नुभयो । समानुपातिक र समावेशी प्रतिनिधित्वसहितको समाजवादोन्मुख सङ्घीय लोकतान्त्रिक गणतन्त्रको विकल्प नभएको उहाँको भनाइ थियो । साथै, संसद् र संसदीय समितिले सरकारलाई प्रभावकारी रूपमा निगरानी गर्न नसकेको र भ्रष्टाचार संस्थागत बन्दै गएकोप्रति गुनासो आइरहेको नेता श्रेष्ठले बताउनुभयो ।

नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले कानुनी राज्य, प्रेस स्वतन्त्रता र मानव अधिकारको रक्षा लोकतन्त्रको मूल आधार भएको उल्लेख गर्दै विद्यमान शासन व्यवस्थाले मात्र त्यसको प्रत्याभूति गर्न सक्ने बताउनुभयो । अहिलेको संविधान सबै जातजाति, वेशभूषा, धर्म र लिङ्गको प्रतिनिधित्व हुनेगरी निर्माण भएको उल्लेख गर्दै उहाँले निरङ्कुशता र एकतन्त्रीय शासनलाई निषेध गर्न सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण हुने धारणा राख्नुभयो ।

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरले लोकतान्त्रिक व्यवस्थालाई उल्टाउने प्रयास केवल दिवास्वप्न मात्र हुने बताउनुभयो । पूर्वराजा ज्ञानेन्द्र शाहले पुनः सत्तामा आउन चाहेको भए जनताको मत लिएर चुनाव जित्नुपर्ने उल्लेख गर्दै अब राजतन्त्र फर्कने कुरा केवल कल्पनामा सीमित रहने स्पष्ट पार्नुभयो । जनताले प्राप्त सार्वभौमसत्ता फेरि कुनै व्यक्तिमा केन्द्रित नहुने उहाँको भनाइ थियो । संविधान संशोधनको आवश्यकता रहेको उहाँले बताउनुभयो ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता कर्णबहादुर थापाले जनताले सङ्घर्ष गरेर स्थापित गरेको व्यवस्थालाई उल्टाउने प्रयास असफल हुने बताउनुभयो ।

नेपाली समाज हिन्दू धर्म संस्कारमा अडिग छः पूर्वप्रधानमन्त्री देउवा

डडेल्धुरा, १७ चैतः नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली समाज हिन्दू धर्म संस्कारमा अडिग रहेको बताउनुभएको छ ।
डडेल्धुरा र डोटीको सङ्गमस्थल गहनानधाममा आज श्रीमद्भागवत महायज्ञको उद्घाटन गर्दै उहाँले हिन्दू परम्परालाई मान्ने नेपालीको संस्कृति रहेको बताउनुभयो । सभापति देउवाले पछिल्लो समयमा केही सांस्कृतिक विचलन आइरहेका उल्लेख गर्दै आफ्नो धर्म, संस्कारबारे सचेत रहन यस किसमका धार्मिक कार्यक्रम उपयोगी हुने धारणा राख्नुभयो ।

“हामी हिन्दू संस्कृति र परम्परामा अडिग छौँ । हिन्दू धर्म मान्ने हाम्रो परम्परा हो । गाईलाई पूजा गर्ने, शुद्धताका लागि गाईको गोबर र  गहुँत मन्दिर तथा घरमा प्रयोग गर्ने देश हो”, उहाँले भन्नुभयो,“गौ हत्या गर्न पाइँदैन । त्यसमा कडा कानुन छ । यसलाई अझै कडाइका साथ लागू गर्न हामी प्रतिबद्ध छौँ”, उहाँले भन्नुभयो । 

सभापति देउवाले सेती र साकल्य नदी मिसिएर हुने त्रिवेणीधाम गहनान यस क्षेत्रको ठूलो र महत्वपूर्ण मसान भएको स्मरण गर्नुभयो । “यो हाम्रो पुर्खाहरूको चिहान हो, उहाँहरूलाई यही जलाएको हो । यसका साथै हिमालबाट बगेको सेती नदीमा स्नान गरी पुण्य लाभ हुन्छ भन्ने मान्यता रहिआएको छ”, उहाँले भन्नुभयो,“यो क्षेत्र विभिन्न ऋषिमुनिहरूले तपस्या गरेको पवित्र स्थान पनि हो । यहाँ हुने मेला र पूजाहरूमा धेरै पटक म पनि पुगेको छु ।”

सभापति देउवाले गहानान क्षेत्रमाथि डाँडामा रहेको उच्चकोट विद्यालयमै आफूले अध्ययन गरेको सम्झँदै उहाँले महाभारत पर्वतमा रहेको घण्टेश्वर मन्दिर पूर्व उत्तरका स्थानीयको पवित्रस्थलका रूपमा गहनान रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “घण्टेश्वर उताका स्थानीय महाकाली नदी किनारमा रहेको परशुरामधाम जाने गर्दथे । त्यसलाई फर्सनान भनिन्थ्यो । घण्टेश्वर यताका मान्छेहरू अन्तिम संस्कार, अस्तु सेलाउन र स्नान गर्न यस ठाउँमा आउने चलन पूर्खौंदेखि रहिआएको छ । यो महत्वपूर्ण क्षेत्रको संरक्षण र प्रचार आवश्यक छ ।”

धार्मिक पर्यटन प्रवर्द्धन र गहनान क्षेत्रको विकास गर्ने उद्देश्यसहित गहनान क्षेत्र विकास समितिले महायज्ञको आयोजना गरेको हो । महायज्ञ २५ गतेसम्म सञ्चालन हुनेछ । गहनानधाम डडेल्धुराको नवदुर्गा गाउँपालिका–४, गन्यापधुरा गाउँपालिका–५ र डोटीको शिखर नगरपालिका–१० को सङ्गमस्थल बानेडुग्रिसैनमा अवस्थित छ । गन्यापधुरा गाउँपालिका अध्यक्ष इन्द्रबहादुर कार्कीले तीनवटै पालिकाको समन्वय र सहकार्यमा महायज्ञको आयोजना गरेको बताउनुभयो ।

शिखर नगरपालिका प्रमुख दीर्घबहादुर बलायरले गहनानसँगै यस क्षेत्रमा भौतिक पूर्वाधार विकासका काम अघि बढाउन पूर्वप्रधानमन्त्री देउवालाई ज्ञापनपत्रसमेत बुझाइएको बताउनुभयो । गहनान क्षेत्रमा आवश्यक पूर्वाधार, संस्कृत विद्यालय स्थापना, सेती र सकायल नदीको कटान रोक्न तटबन्ध, सेती नदीमा पुल, महाभारत पर्वत क्षेत्र भएर गन्यापधुराको रेल–शिखर–केआईसिंह गाउँपालिका जोड्ने सडक निर्माणलगायत माग राख्दै ज्ञापनपत्र बुझाइएको उहाँले जानकारी दिनुभयो । 

नेताहरूले गरेका गल्तीबारे प्रश्न गर्न पाइन्छ, हामी जवाफदेही छौँ : गृहमन्त्री लेखक

काठमाडौँ, १७ चैत : गृहमन्त्री रमेश लेखकले लोकतान्त्रिक व्यवस्थामा जनप्रतिनिधि र सरकारप्रति प्रश्न उठाउन पाइने तथा उनीहरू त्यसप्रति जवाफदेही हुनुपर्ने बताउनुभएको छ । अहिले राजतन्त्रको पक्षमा आन्दोलन भइरहँदा पूर्वराजा ज्ञानेन्द्र शाहलाई प्रश्न गर्न र जवाफदेही बनाउन सकिन्छ वा सकिँदैन भनेर सोच्न पनि उहाँले आग्रह गर्नुभयो ।

रिपोर्टर्स क्लब नेपालको २७औँ वार्षिकोत्सवका अवसरमा यहाँ आज आयोजित कार्यक्रममा गृहमन्त्री लेखकले अहिले २८ वर्षभन्दा कम उमेरका युवा पुस्ताले राजतन्त्रको वास्तविक अनुहार नदेखेको उल्लेख गर्दै लोकतन्त्रमा सरकार र सरकारका व्यक्तिहरूको आलोचना गर्न पाइने कुरा बताउनुभयो । 

“हामीले गरेका गल्ती र कमजोरीबारे प्रश्न गर्न पाइन्छ, र हामी ती प्रश्नका जवाफ दिन बाध्य छौँ”, गृहमन्त्री लेखकले भन्नुभयो, “तर राजाको शासनमा राजाको आलोचना गर्न सकिँदैनथ्यो, राजामाथि प्रश्न गर्न र मुद्दा चलाउन सम्भव थिएन । तर विद्यमान व्यवस्थामा भने राष्ट्रपति र प्रधानमन्त्रीलाई समेत प्रश्न गर्न पाइन्छ ।”

लोकतन्त्रको मूल मर्म नै उत्तरदायी शासन व्यवस्था भएको उल्लेख गर्दै गृहमन्त्री लेखकले भन्नुभयो, “सरकारको विरोध गर्न पाइन्छ । सरकारमा बसेकाहरूको आलोचना गर्न पाइन्छ । सरकारलाई प्रश्न गर्न पाउनुपर्छ, सरकारले जवाफ दिनुपर्छ । यही नै लोकतन्त्र हो ।”

गृहमन्त्री लेखकले लोकतन्त्रको विकल्प निरङ्कुशता हुन नसक्ने प्रस्ट पार्दै अहिलेका जनप्रतिनिधि र संसद्मा रहेका व्यक्तिहरुबाट भएका कमजोरी सुधार्न तयार रहेको बताउनुभयो । 

“हामी निर्वाचनमार्फत आएका हौँ, ढुङ्गा हानेर सिंहदरबार आएका होइनौँ । काम गर्ने क्रममा कतै कमजोरी भए सुधार्न तयार छौँ,” उहाँले भन्नुभयो । तर, कानुनी दायराबाहिर गएर गरिएको आलोचनाले लोकतान्त्रिक मूल्यमान्यता कमजोर बनाउने भएकाले लोकतान्त्रिक प्रक्रियालाई सुदृढ गर्न कानुनी ढाँचाभित्र रहेर अगाडि बढ्नुपर्ने गृहमन्त्री लेखकले सुझाव दिनुभयो ।

उद्योगी, व्यवसायीका घर, सञ्चारमाध्यम तथा राजनीतिक दलका कार्यालयमा आक्रमण र आगजनीको विरोध गर्दै गृहमन्त्री लेखकले यस्ता कार्य गराउनेलाई चिन्न आवश्यक रहेको बताउनुभयो । “संविधानले शान्तिपूर्ण प्रदर्शन गर्ने अधिकार दिएको छ, तर हिंसात्मक गतिविधि स्वीकृत हुन सक्दैन”, उहाँले भन्नुभयो, “तीनकुने घटनाले उनीहरुको चरित्र उदाङ्गिएको छ ।”

गृहमन्त्री लेखकले सरकार सञ्चार क्षेत्रको सुरक्षाका लागि प्रतिबद्ध रहेको उल्लेख गर्दै लोकतन्त्रमा सशक्त, निष्पक्ष र सुरक्षित पत्रकारिताको आवश्यकता रहेको औँल्याउनुभयो । राजावादीले आफ्नो चरित्र देखाइसकेको टिप्पणी गर्दै उहाँले नागरिकको सूचनाको हकको प्रत्याभूति गर्न सञ्चारमाध्यमले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । लोकतन्त्रमा प्रश्न सोध्न पाइने र संसद्ले सरकारलाई उत्तरदायी तथा जवाफदेही बनाउने उहाँको भनाइ थियो ।