`

संसदको अवरोध हटाउन प्रतिपक्षी दलहरूलाई एमालेको अनुरोध

काठमाडौं । नेकपा एमालेले संविधान र कानुनको व्यवस्थाअनुरूपको कार्यसम्पादनमा उत्पन्न बाधा हटाउनका लागि प्रतिपक्षी दलहरूलाई आग्रह गरेको छ ।

आइतबार काठमाडौंमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको सचिवालय बैठकले प्रतिनिधिसभा र राष्ट्रियसभाको अवरोधका कारणले प्रतिस्थापन विधेयक पारित गर्ने प्रक्रियामा व्यवधान सिर्जना भइरहेको प्रति ध्यानाकर्षण भएको जनाउँदै संविधान र कानुनको व्यवस्थाअनुरूपको कार्यसम्पादनमा उत्पन्न बाधा हटाउन प्रतिपक्षी दलहरूलाई अनुरोध गरेको एमाले महासचिव शङ्कर पोखरेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

बैठकले सरकारी विधेयकलाई संविधान र कानुनको व्यवस्थाअनुरूप सम्पादन गर्ने कर्तव्यतर्फ राष्ट्रियसभाका अध्यक्ष र प्रतिनिधिसभाका सभामुखको समेत ध्यानाकर्षण गराएको उनले बताए ।

एमाले लोकतान्त्रिक गणतन्त्र र नेपालको संविधानको रक्षाका लागि दृढतापूर्वक उभिने सङ्कल्प गर्दै सबै राजनीतिक दल, नागरिक समाज तथा आम नेपाली जनतालाई लोकतन्त्रका पक्षमा र पश्चगमनका दुष्प्रयासका विरुद्ध गोलबन्द हुन आह्वान गरिएको पनि विज्ञप्तिमा उल्लेख छ ।

बैठकले आगामी ९ वैशाखमा पार्टी स्थापना दिवसलाई ‘युथ समिट’का रूपमा मनाउने निर्णय गरेको र उक्त समिटमा ४० वर्ष मुनिका ६ हजार युवाको सहभागिता रहने महासचिव पोखरेलले जानकारी दिए ।

यस्तै, बैठकले राजावादीका नाममा काठमाडौंको तीनकुने, कोटेश्वर, जडिबुटीलगायतका क्षेत्रमा आपराधिक समूहले देखाएको उदण्डता, अराजकता, तोडफोड, लुटपाट, हत्या र हिंसाका घटनालाई अत्यन्त गम्भीररूपमा लिँदै त्यसको निन्दा तथा भर्त्सना गरेको छ ।

शान्तिपूर्ण प्रदर्शनका नाममा सवारीसाधनको प्रयोग गरी सुरक्षा घेरा तोड्ने, सुरक्षाकर्मीमाथि आक्रमण गर्ने, हतियार खोस्ने, सर्वसाधारण नागरिकका घर, व्यावसायिक भवन, सञ्चारगृह, राजनीतिक दलका कार्यालय र सरकारी भवनमाथि आगजनी गर्ने, लुटपाट गर्ने, जानी–जानी हिंसा र आतङ्क सिर्जना गर्ने तथा मुलुकको लोकतान्त्रिक प्रणालीलाई बिथोलेर अराजकतातिर धकेल्नेजस्ता अराजक र आपराधिक क्रियाकलापको छानबिन गरी दोषीउपर तत्काल कारबाहीको प्रक्रिया अघि बढाउन सरकारको ध्यानाकर्षण गराइएको विज्ञप्तिमा उल्लेख छ ।

एमालेले प्रदर्शनका क्रममा ज्यान गुमाएकाका परिवारजनमा समवेदना तथा घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।

लोकतान्त्रिक गणतन्त्रको विकल्प बलियो र संस्थागत लोकतन्त्र नै हो: अध्यक्ष यादव

काठमाडौँ, १७ चैतः जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले लोकतान्त्रिक गणतन्त्रको विकल्प बलियो र संस्थागत लोकतन्त्र नै भएको बताउनुभएको छ ।

रिपोर्टर्स क्लब नेपालको २७औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले मुलुकको विद्यमान शासन व्यवस्थामाथि किन प्रश्न उठिरहेका छन् भनेर समीक्षा भने आवश्यक रहेको बताउनुभयो ।

अध्यक्ष यादवले शुक्रबार भएको तीनकुने घटनालाई बहुदलीय व्यवस्था आएको लामो समयसम्म पनि स्थिर सरकार बन्न नसकेको र नागरिकका आकांक्षा पूर्ति हुन नसकेको आक्रोशका रूपमा चित्रण गर्नुभयो । “नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रविरुद्धमा विभिन्न खालका खेल भइरहेका छन् । यस व्यवस्थालाई संस्थागत गर्दै कार्यान्वयनका क्रममा देखिएका त्रुटी सच्याउने र समीक्षा गर्ने बेला भएको छ”, उहाँले भन्नुभयो, “सङ्घीय लोकतान्त्रिक गणतन्त्रको विकल्प अझ बलियो र संस्थागत लोकतन्त्र नै हो । यसको विकल्प एकात्मक शासन प्रणाली, राजतन्त्रात्मक शासन व्यवस्था वा कुनै प्रकारको तानाशाही शासन हुन सक्दैन ।”

अध्यक्ष यादवले यसबेला राजतन्त्रको पक्षमा मानिस किन प्रदर्शन गरिरहेका छन् भनेर गम्भीर रूपमा सोच्नुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँले भन्नुभयो, “व्यवस्थामाथि यस किसिमका प्रश्न किन आए भनेर हामीले समीक्षा गर्नुपर्दछ । हामीले बहुदल ल्याएको ३५ वर्षभन्दा बढी समय भयो । ३५ वर्षमा अनेकौँ सरकार बदलिए तर सुशासन दिन सकेनौँ । गरिबी, बेराजगारी घटाउन सकेनौँ । आर्थिक विकास गरी समृद्धिको बाटोमा जाने, शिक्षा स्वास्थ्यजस्ता क्षेत्रमा सुधार गर्न सरकार चुकेको छ ।”

नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठले पूर्वराजाका नामबाट तीनकुनेमा भएको घटनाको छानबिन गरी दोषीउपर कारबाहीको माग गर्नुभयो । उहाँले हिंसात्मक, दुःखदायी र निन्दयीय घटनाका रूपमा त्यसलाई लिइनुपर्ने बताउनुभयो ।

क्लबका अध्यक्ष ऋषि धमलाले विद्यमान शासन व्यवस्थाका पक्षमा आफू र आफ्नो संस्था दृढ रहेको बताउनुभयो । उहाँले पूर्वराजा पक्षधरहरूको आन्दोलनको निसानामा सञ्चार क्षेत्र परेकामा निन्दा गर्दै आन्दोलनका क्रममा निधन भएका पत्रकार सुरेश रजकलाई राज्यले सहिद घोषणा गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा क्लबका तर्फबाट पत्रकार रजकका परिवारलाई रु २५ हजार सहयोग उपलब्ध गराउने घोषणासमेत गरिएको थियो ।

सञ्चारमन्त्री गुरुङलाई प्रेस चौतारीले बुझायो ज्ञापनपत्र

काठमाडौँ, १७ चैत : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङसमक्ष प्रेस चौतारी नेपालले ज्ञापनपत्र बुझाएको छ । प्रेस चौतारी नेपालका नवनिर्वाचित अध्यक्ष गणेश पाण्डेसहितको टोलीले आज सिंहदरबारस्थित मन्त्रालयमा राजावादी समूहका नाममा यही चैत १५ गते काठमाडौँमा भएको हिंसात्मक प्रदर्शनको सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाही गर्न सञ्चारमन्त्री गुरुङलाई ज्ञापनपत्र बुझाएको हो ।

चैत १५ गते काठमाडौँमा भएको अराजक र हिंसात्मक प्रदर्शनका क्रममा समाचार सङ्कलनमा रहेका पत्रकारको ज्यान गुमेको र पत्रकार तथा सञ्चारमाध्यममाथि सुनियोजित रुपमा आक्रमण भएको घटनाले प्रेस चौतारी नेपाल स्तब्ध बनेको ज्ञापनपत्रमा उल्लेख छ । प्रदर्शनका क्रममा भएका आतङ्कपूर्ण र हिंसात्मक घटनाले सिङ्गो सञ्चार जगत त्रसित र मर्माहत भएको उल्लेख गर्दै सत्यतथ्य पत्ता लगाई दोषीमाथि यथाशिघ्र कारबाही प्रक्रिया अगाडि बढाउन प्रेस चौतारी नेपालले सञ्चारमन्त्री गुरुङसमक्ष ज्ञापनपत्रमार्फत माग गरेको छ । 

काठमाडौँको तीनकुनेमा प्रदर्शनकारीले हिंसात्मक ढङ्गले निजी भवनमा आगजनी गर्दा सोही भवनको माथिल्लो तलामा बसेर समाचार छायाङ्कन गरिरहेका एभिन्युज टेलिभिजनका पत्रकार सुरेश रजकको कार्यस्थलमै मृत्यु भएको, आन्दोलनकारीले लुटपाट गरेको श्रव्यदृश्य सार्वजनिक हुने डरले पत्रकार रजकलाई आगो लागेको भवनमै थुनेर बाहिर निस्केको विवरणहरू आइरहेका उल्लेख गर्दै उक्त घटनापछि प्राप्त दृश्यहरूले उहाँको सुनियोजित रुपमै हत्या गरेको  आशङ्का उब्जाएको ज्ञापनपत्रमा उल्लेख छ । 

कार्यस्थलमै एउटा पत्रकारलाई जिउँदै जलाएर ज्यान लिने तथा पत्रकारले मृत्युवरण गर्नुपर्ने कहालिलाग्दो र आततायी घटनाको छानबिन गरी दोषीमाथि कडाभन्दा कडा कारबाही गर्न प्रेस चौतारी नेपालले सरकारसँग माग गरेको छ । साथै, मृतकका परिवारलाई न्याय, राहत तथा परिपूरणको व्यवस्था गर्नसमेत प्रेस चौतारी नेपालले आग्रह गरेको छ ।

यसैगरी राज्यबाट इजाजत लिएर सञ्चालन भइरहेको एभिन्युज टेलिभिजनलगायतका सञ्चारमाध्यमका सञ्चालक र केही सञ्चारकर्मीले यही चैत १५ गतेको हिंसात्मक आन्दोलनमा ऐक्यबद्धता जनाउँदै प्रतिगमनलाई मलजल गर्ने गरी संविधान विपरीत समाचार सामग्री प्रकाशन÷प्रसारण तथा सङ्घीय लोकतान्त्रिक गणतन्त्रको विरुद्धमा मिडिया परिचालन गरिरहेको उक्त ज्ञापनपत्रमा उल्लेख छ । मृतक रजकको हत्याको घटनामा सम्बन्धित टेलिभिजनका सञ्चालकलाई पनि जवाफदेही बनाउन तथा मृतक रजकले पाउन बाँकी तलब तथा श्रमजीवी पत्रकार ऐनअनुसार पाउनुपर्ने सम्पूर्ण सेवा, सुविधा उपलब्ध गराउन टेलिभिजन व्यवस्थापनलाई कानुनअनुसार बाध्यकारी बनाउन प्रेस चौतारी नेपालले सरकारको ध्यानाकर्षण गराएको छ ।

राजावादीको हिंसात्मक प्रदर्शनका दोषीलाई सरकारले कारबाही गर्छ : मन्त्री गुरुङ

काठमाडौँ, १७ चैत : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले यही चैत १५ गते काठमाडाँैमा राजवादीहरुले गरेको हिंसात्मक प्रदर्शनको सत्यतथ्य छानबिन गरी दोषिमाथि कानुनबमोजिम कारबाही गरिने बताउनुभएको छ ।

मन्त्रालयमा आज प्रेस चौतारी नेपालले घटनाबारे ध्यानाकर्षण गराउँदै ज्ञापनपत्र बुझाएपछि मन्त्री गुरुङले हिंसात्मक प्रदर्शन गर्नेलाई छानबिन समिति बनाएर सरकारले कानुनी दायरमा ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो । राजकीय सत्ता जनतामा सुम्पिन्छु भनेर राजनीतिक पार्टीसँग गरेको प्रतिबद्धता पूर्व राजा ज्ञानेन्द्र शाहले बिर्सिएको र आन्दोलनका नाममा हिंसात्मक बाटो अपनाउनु गलत रहेको उहाँको भनाइ थियो । 

“पूर्व राजाले नेपालका पार्टीसँग गरेको सहमति तोडेका छन्,” मन्त्री गुरुङले भन्नुभयो, “चैत १५ गते काठमाडौँमा भएको हिंसात्मक प्रदर्शनीको जिम्मेवारी राजावदीले लिनुपर्छ । यो घटनाको छानबिनको दायरामा पूर्व राजा पनि पर्नेछन् । हत्या, हिंसा र लुटपाटको घटनामा दोषी देखिएका सबैमाथि कानुनी कारबाही हुन्छ ।”

एभिन्युजका पत्रकार सुरेश रजकको मृत्युको घटनामा आन्दोलनकारीकै मुख्य हात रहेको मन्त्री गुरुङले बताउनुभयो । सञ्चारगृहहरुमाथि आन्दोलनकारीको आक्रमण निन्दनीय रहेको उल्लेख गर्दै उहाँले सञ्चारगृहको क्षति मूल्याङ्कन गरी सहयोग प्रदान गरिने बताउनुभयो । आन्दोलनका क्रममा घाइते भएका सबैको सरकारले उपचार गर्ने उहाँले जानकारी दिनुभयो ।

आज अन्तरराष्ट्रिय शून्य फोहर दिवस, विश्वभर मनाइँदै

काठमाडौँ, १७ चैतः आज अन्तरराष्ट्रिय शून्य फोहर दिवस हो । मानवको अस्थिर उत्पादन र उपभोगका अभ्यासले विश्वलाई विनाशतर्फ धकेलिरहेकाले फोहर उत्पादन एवं व्यवस्थापनमा सचेत हुनुपर्नेमा जोड दिँदै आज विश्वभर यो दिवस मनाइँदै छ ।

विद्युतीय उपकरण, खाद्यपदार्थ र अन्य सामग्री तथा प्लाष्टिक एवं प्लाष्टिकजन्य वस्तु प्रयोग गरेर ‘प्याकेज’ हुने सामान, घरपरिवार, साना व्यवसाय र सार्वजनिक सेवा प्रदायकहरूबाट प्रत्येक वर्ष २.१ अर्ब देखि २.३ अर्ब टन ठोस फोहर उत्पादन भइरहेकाले संसारलाई फोहरमुक्त बनाउने प्रयासस्वरुप सन् २०२२ देखि यो दिवस मनाउन प्रारम्भ भएको हो ।

प्लाष्टिक प्रदूषण एवं अन्य फोहरका कारण उत्पन्न हुने सङ्कटलाई सम्बोधन गर्न तत्काल विश्वका हरेक मानिसले आ–आफ्नो स्थानबाट योगदान गर्नुपर्ने भएकाले यो वर्ष कपडा उत्पादन तथा परिधान उद्योगमा शून्य फोहर नाराका साथ यो दिवस मनाइँदै छ ।

संयुक्त राष्ट्रसङ्घका अनुसार एक वर्षमा विश्वभरका नगर क्षेत्रमा उत्पादन हुने ठोस फोहरले विश्वलाई २५ पटक ढाक्न पुग्छ । फोहरको यो भयावह उत्पादन घटाउन राष्ट्रसङ्घीय वातावरण कार्यक्रम तथा मानव बसोबास कार्यक्रमले राष्ट्रसङ्का सदस्य देशलाई सघाइ रहेका छन् । सन् २०३० सम्ममा दिगो विकासका लक्ष्य हासिल गर्न विश्वलाई फोहरमुक्त गर्न अपरिहार्य भएको राष्ट्रसङ्घको कथन छ ।

पूर्वी नेपालका हलहरूमा एन्जिलाको व्यापक क्रेज

काठमाडौं । नेपाली चलचित्र ‘अञ्जिला’ फागुन २९ गते देखि रिलिज भई सुपर हिट भएको छ । चलचित्रको प्रचारप्रसारका लागि खेल जीवनबाट छोटो समय निकालेर नेपाल आएकी यस चलचित्रकी प्रमुख कलाकार समेत रहेकी एन्जिला तुम्बापो सुब्बा पूर्वी नेपालका विभिन्न चलचित्र हलहरूमा दर्शकहरूसँग भेटघाट गरिरहेकी छिन् ।

शुक्रवार बिहान ग्रिसबाट काठमाडौं आएकी एन्जिलाले दिउँसो काठमाडौंको छाया सेन्टरस्थित क्युएफएक्स सिनेमाजमा दर्शकहरूसँग भेटघाट गरेकी थिइन् । त्यसै दिन साँझ इटहरीको इलाइट सिनेमा हलमा पुगेर दर्शकहरूसँग अन्तरक्रिया गरिन् । शनिवार बिहान विराटनगरको क्युएफएक्स सिनेमाजमा उपस्थित भई दर्शकहरूसँग संवाद गरेपछि दिउँसो धरानको फ्रेन्ड्स सिनेमाजमा पुगिन् । धरानमा उनलाई लिम्बू संस्कृतिको च्याब्रुङ नाचद्वारा सम्मानपूर्वक हलमा प्रवेश गराइएको थियो । त्यस अवसरमा उनले एन्फा एकेडेमीका विद्यार्थीहरूसँग भेटघाट गरिन् र धरानमा जारी २५ औँ गोधुली फुटबल कपमा पनि सहभागी भइन् ।

धरानमा दर्शकहरूसँग भेट्दै उनले धरान खेलकुद र कलाकारितामा सम्पन्न सहर भएको बताइन् । एन्जिलाले धरानमा एन्फा एकेडेमीको उपस्थिति, बुढासुब्बा गोल्ड कप र वडा स्तरीय गोधुली कपजस्ता प्रतियोगिताहरूको आयोजनाले धरानलाई खेलकुदको उर्वर भूमि बनाएको उल्लेख गरिन् ।

धरान फुटबल क्लबले एन्जिला र चलचित्रका निर्माता तथा एन्जिलाका गड फादर प्रेमकुमार श्रेष्ठलाई सम्मान गरेको थियो । ’अञ्जिला’का निर्देशक मिलन चाम्सले काठमाडौंपछि धरान नेपाली चलचित्रलाई अत्यधिक माया गर्ने सहर भएको बताउँदै, धरानमा चलचित्र हिट भए देशभरि नै सफल हुने धारणा व्यक्त गरे । ‘अञ्जिला’मा एन्जिलाको आमाको भूमिकामा सशक्त अभिनय गरेकी कलाकार सिर्जना सुब्बाले एन्जिलासँग आमा–छोरीजस्तै सम्बन्ध रहेको बताउँदै, दर्शकहरूसँग सँगै भेट्न पाउँदा खुसी व्यक्त गरिन् ।

एन्जिला आइतबार पनि पूर्वी नेपालमै रहनेछिन्। निर्देशक चाम्सका अनुसार, आइतबार दिउँसो १ बजेसम्म झापाको बिर्तामोड र २ बजेपछि दमकमा दर्शकहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ । पूर्वी नेपाल भ्रमणका क्रममा एन्जिलालाई सशस्त्र प्रहरी बलले सुरक्षा प्रदान गरेको छ ।
हाल एन्जिला ग्रिसको शीर्ष डिभिजनको महिला फुटबल लिगमा निस एट्रोमिटौबाट खेलिरहेकी छिन् । यही खेलको लागि उनी केही महिनायता ग्रिसमा नै रहेकी थिइन् । प्रचार सकेर उनी पुनः ग्रिस फर्किनेछिन् ।

.यस चलचित्रमा एन्जिलाको बाल्यकालदेखि खेल जीवनसम्मको सङ्घर्ष र सफलताको कथा प्रस्तुत गरिएको छ । यसमा एन्जिलासँगै प्रेमकुमार श्रेष्ठ, सुनिल थापा, दयाहाङ राई, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ, सुमीन गुरुङ, बुद्धि तामाङ लगायतका कलाकारहरूको अभिनय रहेको छ ।
बिहीबारदेखि तेस्रो हप्ता प्रवेश गरेको यस चलचित्रले प्रदर्शनको १३ दिनमा ८ करोड ७० लाख रुपैयाँ ग्रस कलेक्सन गरेको थियो । हुने यो चलचित्रलाई दर्शकले मन पराइरहेका छन् र बक्स अफिसमा लगातार राम्रो कमाइ गरिरहेको छ ।

आँबुखैरेनीका तीन सडक धमाधम स्तरोन्नति हुँदै, काम अन्तिम चरणमा

दमौली (तनहुँ), १७ चैतः आँबुखैरेनी गाउँपालिकाका मा तीन वटा ग्रामीण सडकको धमाधम स्तरोन्नतिको भइरहेको छ । तीनवटै सडकको काम अन्तिम चरणमा पुगेको छ ।

आँबुखैरेनी गाउँपालिका–५ स्थित भकुण्डी– बरालुङबेँसी सडक, सोही वडाको लाब्दी घुमाउने सडक, आँबुखैरेनी गाउँपालिका–३ स्थित आँबु सडकको काम अन्तिम चरणमा पुगेको हो । ती सडक रु ९१ लाख ३८ हजार २१२ विनियोजन गरेर काम थालिएको गाउँपालिकाका योजना शाखा प्रमुख उमाकान्त पौडेलले जानकारी दिनुभयो । भकुण्डी–बरालुङबँेसी सडकका निम्ति स्थानीयले रु एक लाख ६३ हजार ८२४ योगदान गरेका छन् । आगामी असार १५ गतेभित्र काम सम्पन्न गर्ने लक्ष्य छ ।

लाब्दी–घुमाउने सडकमा स्थानीयले रु सात लाख ७५ हजार ६५७ योगदान गरेका उहाँले जानकारी दिनुभयो । यसैगरी आँबु मार्गको स्तरोन्नति रु पाँच लाख ३४ हजार ३८८ को लागतमा जारी छ । यो बाटोमा स्थानीयले रु ५४ हजार ३८८ योगदान गरेका छन् ।

निःशुल्क स्वास्थ्य शिविरः मुटु तथा मिर्गौलाका सात सय बिरामी लाभान्वित

रामपुर (पाल्पा), १७ चैतः रामपुर नगरपालिकामा शनिबार सञ्चालन भएको निःस्वास्थ्य शिविरमा मुटु र मिर्गौला रोगका ७०० बिरामी लाभान्वित भएका छन् ।
रोटरी क्लब अफ रामपुर र रोट्र¥याक्ट क्लब सेन्ट्रलको आयोजना तथा रामपुर नगरपालिकाको संयोजनमा भएको बृहत् शिविरमा मुटु तथा मिर्गौला रोग विशेषज्ञबाट बिरामीको स्वास्थ्य जाँच भएको थियो ।

गौतमबुद्ध सामुदायिक मुटु अस्पताल बुटवलको प्राविधिक सहयोगमा वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर विशाल केसीसहितको ६५ जना स्वास्थ्यकर्मीको टोलीले मुटु, मिर्गौला जाँच गरी बिरामीलाई निःशुल्क औषधि गरेको थियो । शिविरमा मधुमेह, रक्तचापलगायत अन्य रोगको पनि परीक्षण भएको थियो ।

आज ११ बजे प्रतिनिधि सभा बैठक बस्दै,यस्तो छन् कार्यसूची

काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बस्दैछ । आइतबार बिहान ११ बजे संसद भवन नयाँबानेश्वरमा बस्ने बैठकमा बैंकिङ्ग कसूर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८०’का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश सहितको विधेयक टेबुल गर्ने कार्यसूची रहेको छ ।

त्यस्तै, पूर्वाधार विकास समितिका सभापति दीपक बहादुर सिंहले ‘जलस्रोत विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८१’ पेस गर्ने छन् भने महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवलकिशोर साह सुडीले ‘मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण (पहिलो संशोधन) विधेयक, २०८१’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव राख्दै उक्त विधेयक प्रस्तुत गर्ने छन् ।

यस्तै,कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसियाले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘नेपाल कानून व्यवसायी परिषद (दोस्रो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्ततु गर्ने कार्यसूची पनि आजको बैठकमा रहेको छ ।

म्यान्माको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या एक हजार ६४४ पुग्यो

म्यान्मामा गएको ठूलो भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या एक हजार ६४४ पुगेको छ भने तीन हजार ४०८ जना घाइते भएका छन् । खोजी तथा उद्धार कार्य जारी रहेको छ ।मध्य म्यान्माको सागिङ सहरको उत्तरपश्चिममा शुक्रबार ७.७ म्याग्निच्युडको भूकम्प गएको र त्यसको केही मिनेटपछि ६.७ म्याग्निच्युडको पराकम्प आएको थियो ।

भूकम्पले म्यान्मामा भवन, पुल र सडकका साथै १७ लाखभन्दा बढी मानिसहरूको घरमा क्षति पुगेको थियो ।म्यान्मामा कम्तीमा एक हजार ६४४ जनाको मृत्यु भएको र करिब तीन हजार ४०८ जना घाइते भएको म्यान्मा सरकारले विज्ञप्तिमा जनाएको छ । उक्त भूकम्पको कारण बैङ्ककमा थप १० जनाको मृत्यु भएको र कम्तीमा १०० जना हराइरहेको पुष्टि भएको छ ।

भुकम्पका कारण सञ्चार प्रणाली अवरुद्ध भएपछि, प्रकोपको वास्तविक तथ्याङ्क सरकारले सार्वजनिक गरिरहेको छ भने मृतकको सङ्ख्या अझै बढ्ने आशङ्का गरिएको छ । विमानस्थल तथा सडकहरु बन्द रहेकाले राहत तथा उद्धार सामाग्री प्ुर्याउने काममा समेत समस्या भइरहेको जनाइएको छ ।

नेपाल–चीन कूटनीतिक सम्बन्धका ७० वर्षः सिछुआन–नेपाल व्यापार आदानप्रदान महिना सुरु

काठमाडौँ, १७ चैतः चीन–नेपाल कूटनीतिक सम्बन्धको ७० औँ वार्षिकोत्सवका सन्दर्भमा सि सिछुआन–नेपाल संस्कृति, पर्यटन, अर्थतन्त्र र व्यापार आदानप्रदान महिनाको सिछुआन शृङ्खला चीनको छेन्दुमा प्रारम्भ भएको छ ।

सिछुआन प्रान्तीय सरकारको विदेश मामिला कार्यालय र छेन्दुस्थित नेपालको महावाणिज्य दूतावासले संयुक्त रूपमा सिछुआन प्रान्तको राजधानी छेन्दुमा गत शुक्रबार व्यापार आदानप्रदान सिछुआन शृङ्खला प्रारम्भ भएको हो ।

त्यसअवसरमा सिछुआन प्रान्तको विदेश मामिला कार्यालयका महानिर्देशक झाङ ताओले नेपाल र सिछुआन बीचको सम्बन्ध क्रमशः प्रगाढ हुँदै गएको, हालै पोखरा महानगरका प्रमुखको नेतृत्वमा गएको प्रतिनिधिमण्डल र पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट सिछुवान विमान कम्पनीले सोझै छन्दुमा हवाई सेवा थालेपछि पारस्परिक आदानप्रदान बढेको बताउनुभयो ।

छेन्दुस्थित महावाणिज्य दूतावासका अनुसार एक वर्षयता चीन र नेपालबीचको सामाजिक–सांस्कृतिक आदानप्रदान पनि वृद्धि भएको उहाँले बताउनुभयो ।

चीनका लागि नेपालका राजदूत कृष्णप्रसाद ओलीले दुई देशबीचको ऐतिहासिक सम्बन्धलाई जनस्तरमा हुने व्यापार, पर्यटन र सांस्कृतिक आदानप्रदानले अझ मजबुत तुल्याएको बताउनुभयो ।

महिनाभरि सञ्चालन हुने सिछुआन शृङ्खलामा सिछुआन प्रान्तका विभिन्न सहरमा स्थानीय उत्पादनको प्रदर्शनी र सांस्कृतिक आदानप्रदानका कार्यक्रमले नेपाल र चीनबीचको सुदृढ सांस्कृतिक, व्यापारिक, आर्थिक एवं जनस्तरको सम्बन्धलाई अझ सुदृढ बनाउने विश्वास महावाणिज्य दूतावासले शनिबार जारी गरेको प्रेस विज्ञप्तिमा व्यक्त गरिएको छ ।

साहित्यकार राईको कथामा बन्यो चलचित्र ‘जार’

काठमाडौँ, १७ चैत : साहित्यकार इन्द्रबहादुर राईको कथामा आधारित रहेर चलचित्र ‘जार’ निर्माण गरिएको छ । निर्देशक फूर्वाछिरिङ लामाले साहित्यकार राईको कथाअनुसार नै चलचित्र तयार भएको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “हामीले कथा पढ्नुभएका पाठकको भावनालाई ध्यानमा राखेर चलचित्र तयार गरेका छौँ । यो कथा पढ्नुभएका र नयाँ दर्शक दुवैलाई हुने किसिमले चलचित्र तयार गरेका छौँ ।”

विसं २०८२ वैशाख २६ गते प्रदर्शन हुने उक्त चलचित्रमा सौगात मल्ल, अनुपविक्रम शाही, गीताञ्जली थापालगायतले अभिनय गर्नुभएको छ । भारतको सिक्किममा छायाङ्कन गरिएको सो चलचित्रको सरवानन इलावार्सुले छायाङ्कन, अखिलेश राईले सम्पादन तथा झुमा लिम्बू र गङ्गा थापाले सङ्गीत सृजना गर्नुभएको छ ।

यस्तो छ सागसब्जी र फलफूलको थोक मूल्य

काठमाडौँ, १७ चैतः कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो ।

गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ४०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ५०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु २०, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु २५, आलु रातो प्रतिकिलो रु ३५, आलु रातो (भारतीय) प्रतिकिलो रु ३५, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ५२, गाजर (लोकल) प्रतिकिलो रु ४५, गाजर (तराई) प्रतिकिलो रु ४०, बन्दा (लोकल) प्रतिकिलो रु १५, बन्दा (तराई) प्रतिकिलो रु १५, बन्दा (नरिवल) प्रतिकिलो रु २०, काउली (स्थानीय) प्रतिकिलो रु ४०, स्थानीय काउली (ज्यापु) प्रतिकिलो रु ५०, मूला रातो प्रतिकिलो रु ५०, मूला सेतो (लोकल) प्रतिकिलो रु १५, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु २०, भन्टा लाम्चो प्रतिकिलो रु ३० तथा भन्टा डल्लो प्रतिकिलो रु ५०, तने बोडीको मूल्य प्रतिकिलो रु ८० कायम गरिएको छ ।

यसैगरी, मटरकोसा प्रतिकिलो रु ७०, घिउ सिमी (लोकल) प्रतिकिलो रु ६०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु ६०, घिउ सिमी (राजमा) प्रतिकिलो रु १००, टाटे सिमी प्रतिकिलो रु ७०, तितो करेला प्रतिकिलो रु १००, लौका प्रतिकिलो रु ६०, परबर (लोकल) प्रतिकिलो रु ९०, परबर (तराई) प्रतिकिलो रु ९०, चिचिण्डो प्रतिकिलो रु ९०, घिरौला प्रतिकिलो रु ८०, झिगुनी प्रतिकिलो रु ८०, फर्सी पाकेको प्रतिकिलो रु ५०, फर्सी हरियो (लाम्चो) प्रतिकिलो रु ३०, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु ३०, भिण्डी प्रतिकिलो रु ११० कायम गरिएको छ । 

यस्तै, सखरखण्ड प्रतिकिलो ७०, बरेला प्रतिकिलो रु ५०, पिँडालु प्रतिकिलो रु ९०, स्कूस प्रतिकिलो रु ४०, रायो साग प्रतिकिलो रु ७०, पालुङ्गो साग प्रतिकिलो ७०, चमसुरको साग रु ९०, तोरीको साग प्रतिकिलो रु ५०, मेथीको साग प्रतिकिलो रु ८०, प्याज हरियो प्रतिकिलो रु ४५, बकुला प्रतिकिलो रु ५०, तरुल प्रतिकिलो रु ९०, च्याउ (कन्य) प्रतिकिलो रु १२०, च्याउ (डल्ले) प्रतिकिलो रु २५० तथा कुरिलो प्रतिकिलो रु ६०० निर्धारण गरिएको छ ।

निगुरो प्रतिकेजी रु १००, ब्रोकाउली प्रतिकिलो रु ५०, चुकुन्दर प्रतिकिलो रु ६०, सजीवन प्रतिकिलो रु २००, कोइरालो प्रतिकिलो रु १८०, रातो बन्दा प्रतिकिलो रु ५०, जिरीको साग प्रतिकिलो रु ६०, ग्याठकोभी प्रतिकिलो रु ६०, सेलरी प्रतिकिलो रु १५०, पार्सले प्रतिकिलो रु ३००, सौफको साग प्रतिकिलो रु ७०, पुदिना प्रतिकिलो रु ३००, गान्टे मूला प्रतिकिलो रु ७०, इमली प्रतिकिलो रु १७०, तामा प्रतिकिलो रु १००, तोफु प्रतिकिलो रु १२० र गुन्द्रुक प्रतिकिलो रु ३५० तोकेकोे छ ।

समितिले स्याउ (झोले) प्रतिकिलो रु २५०, स्याउ (फूजी) प्रतिकिलो रु ३५०, केरा (दर्जन) रु १६०, कागती प्रतिकिलो रु २५०, अनार प्रतिकिलो रु ३५०, अङ्गुर (हरियो) प्रतिकिलो रु २००, अङ्गुर (कालो) प्रतिकिलो रु २५०, भारतीय सुन्तला रु २५०, तरबुजा हरियो प्रतिकिलो रु ७०, मौसम प्रतिकिलो रु २००, जुनार प्रतिकिलो रु २००, भुइँकटहर प्रतिगोटा रु २००, काँक्रो (लोकल) प्रतिकिलो रु ६०, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु ३०, रुख कटहर प्रतिकिलो रु १००, निबुवा प्रतिकिलो रु ५०, नासपाती (चाइनिज) प्रतिकिलो रु २६०, मेवा (नेपाली) प्रतिकिलो रु ५०, मेवा (भारतीय) प्रतिकिलो रु १२०, अम्बा प्रतिकिलो रु १२०, लप्सी प्रतिकिलो रु १००, उखु प्रतिगोटा रु १००, स्ट्रबेरी (भुइँऐसेलु) रु २५०, किबी प्रतिकिलो रु ४५० तथा आभोकाडो प्रतिकिलो रु ६५०, अमलाको मूल्य प्रतिकिलो रु ९० निर्धारण गरिएको छ ।

यसैगरी, अदुवा प्रतिकिलो रु १२०, खुर्सानी सुकेको प्रतिकिलो रु ४००, खुर्सानी हरियो प्रतिकिलो रु ५०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु ६०, खुर्सानी हरियो (माछे) प्रतिकिलो रु ९०, खुर्सानी हरियो (अकबरे) प्रतिकिलो २५०, भेडे खुर्सानी प्रतिकिलो रु १००, लसुन हरियो प्रतिकिलो रु ६०, हरियो धनिया प्रतिकिलो रु १२०, लसुन सुकेको चाइनिज प्रतिकिलो रु ३२०, लसुन सुकेको नेपाली प्रतिकिलो रु ३००, छ्यापी सुकेको प्रतिकिलो रु १६०, छ्यापी हरियो प्रतिकिलो रु ६०, ताजा माछा (रहु) प्रतिकिलो रु ३२०, ताजा माछा (बचुवा) प्रतिकिलो रु २६०, ताजा माछा (छडी) प्रतिकिलो रु २४०, रुख टमाटर प्रतिकिलो रु १८०, राजा च्याउ प्रतिकिलो रु ३०० र सिताके च्याउको मूल्य प्रतिकिलो रु ८०० तोकेको छ ।

नेपाली सेनाले तेस्रो गोरखा-जितगढी एकीकरण पदयात्रा गर्दै

गोरखा- नेपाली सेनाले ‘दोस्रो ऐतिहासिक गोरखा-जितगढी एकीकरण पदयात्रा’ सुरु गर्दैछ । स्थानीय तहको समन्वयमा यही चैत्र २७ गतेदेखि पदयात्रा सुरु गर्न लागिएको रिपुमर्दन गणले जनाएको छ ।

गोरखाबाट सुरु हुने पदयात्रा तनहुँ, पाल्पा हुँदै जितगढी पुगेर समापन हुने गणपति अशोककुमार क्षेत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार यात्रामा पृथ्वीनारायण शाहले तत्कालीन समयमा खडा गरेका पाँच पल्टन (पुरानो गोरख, कालिबक्स, बर्दवाणी, सवुज र श्रीनाथ) र जितगढीको लडाइमा भाग लिएका गुरुबक्स पल्टनका टोली सहभागी हुनेछन् । सहभागीहरूले आ-आफ्नो पल्टनको झण्डासहित यात्रामा निस्कने उहाँले जानकारी दिनुभयो । 

गोरखाको टोली पालुङटारको सतिघाट पुगेर तनहुँलाई उज्यालोको प्रतिकस्वरुप टर्च हस्तान्तरण गर्ने र तनहुँले पाल्पालाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको उहाँले बताउनुभयो । “पाल्पाले रुपन्देहीलाई बुझाउँछ र रुपन्देहीको टोली जितगढीमा पुगेर विजय उत्सवमा सहभागी हुन्छ”, गणपति क्षेत्रीले भन्नुभयो । 

उहाँका अनुसार नेपाल र तत्कालीन ब्रिटिस इस्ट इण्डिया कम्पनीबीच भएको लडाइमा विजय प्राप्त गरेको दिन (वैशाख ७ गते) लाई विजय उत्सवको रूपमा मनाउँदै आइएको छ । सोही उत्सवमा सहभागी हुने गरी पदयात्रा सुरु गर्न लागिएको उहाँले उल्लेख गर्नुभयो । 

नेपाल–अङ्ग्रेज युद्धको क्रममा रुपन्देहीस्थित जितगढी किल्लामा भएको लडाइमा विजय प्राप्त गरेको दिनलाई वर्तमान समयमा स्मरणीय बनाउन बुटवल उपमहानरपालिकाले हरेक वर्ष वैशाख ७ गते विजय उत्सव दिवसका रूपमा मनाउँदै आएको नगर कार्यालयले जनाएको छ । सोही ऐतिहासिक कार्यलाई थप महत्त्वका साथ मनाउन गोरखा–जितगढी पदयात्रा सञ्चालन गरिएको हो । 

यात्राले गढी, किल्ला, दरबार तथा एकीकरणको क्रममा प्रयोग भएका मार्गहरू पहिचान गरी, संरक्षण, सम्वर्द्धन र विकास गर्न सघाउ पुग्ने विश्वास लिइएको छ । सेनाले विसं २०७९ देखि गोरखा दरबार–जितगढी एकीकरण मार्गमा पदयात्रा सुरु गरेको थियो । जितगढी किल्लामा विसं १८७२ वैशाख ७ गते नेपालसँग हारेपछि अङ्ग्रेज सेना फिर्ता भएका इतिहासका जानकार बताउँछन् । नेपाली सेनाले विजय प्राप्त गरेको सम्झनामा प्रत्येक वर्ष जितगढीमा वैशाख ७ गते विजय उत्सव दिवसका रूपमा मनाइँदै आइएको रिपुमर्दन गणले जनाएको छ ।

‘वसन्त’ नितान्त मेरो अनुभूति र ग्रामीण समाजको चित्रण हो: प्रकाश सपूत

काठमाडौँ- सङ्गीतकार, गीतकार, अभिनेताका रूपमा परिचित गायक प्रकाश सपूतले निर्देशन गर्नुभएको पहिलो चलचित्र ‘वसन्त’ आउँदो शुक्रबार अर्थात् चैत २२ मा प्रदर्शन हुँदैछ । गीत र श्रव्यदृश्यमार्फत आफ्नो कथालाई व्यक्त गरिरहनुभएका गायक सपूतले चलचित्रमार्फत आफ्नो भोगाई र विसं २०६० देखि हालसम्मको समाजलाई चित्रण गर्न खोज्नुभएको छ ।

विशेषगरी माओवादी द्वन्द्व, वर्गीय र जातीय विभेदका विषयलाई चलचित्रमा समेटिएको सपूतले बताउनुभयो । “यो मेरो स्कुल जीवन र त्यो समयको ग्रामीण समाजको चित्रण हो । यस चलचित्रमा मेरो देखाइ, भोगाई र अनुभवलाई समेटेको छु । यसले कुनै विधि वा पद्धतिलाई राम्रो वा नराम्रो देखाउनेभन्दा पनि उक्त समयको एउटा वसन्त नामक पात्रको कथा भनेको छ”, उहाँले भन्नुभयो ।

गायक सपूतले ‘वसन्त’ नामक पात्र आफूसँग धेरै नजिक रहेकाले उक्त पात्रको भोगाईले आफ्नो जीवनको महत्वपूर्ण समय चित्रण गरेको उल्लेख गर्नुभयो । “मैले सिर्जना गर्ने कृतिमा समाजकै पात्र र अवस्थालाई चित्रण गर्ने गरेको छु । जे भइरहेको छ, त्यसकै बिम्ब चलचित्रमा प्रस्तुत गरेको छु । मेरा गीत झैँ चलचित्रमा पनि आफ्ना भावनालाई प्रस्तुत गरेको छु, गीतको तुलनामा चलचित्रमा ती झनैँ परिपक्क भएर आएका छन्”, उहाँको भनाइ छ । 

सपूतका अनुसार चलचित्रमा एउटा पात्रले लेखक बन्न गरेको सङ्घर्षलाई देखाइएको छ । त्यो सङ्घर्षमा घट्ने घटनाक्रम, सामाजिक परिवेश, वर्गीय विभेद, जातीय अस्तित्वलाई समेटेर सामाजिक चेतनालाई प्रश्न गरिएको छ । 

चलचित्रमा उहाँको जोडीका रूपमा अभिनेत्री स्वस्तिमा खड्का हुनुहुन्छ । सपूतले दलित समुदाय र अभिनेत्री खड्काले ब्राह्मण समुदायको पात्रको भूमिका निर्वाह गर्नुभएको छ । अन्तरजातीय मित्रता र प्रेमले निम्त्याउने असरलाई पनि चलचित्रमा देखाइएको अभिनेत्री खड्काले बताउनुभयो ।  “मैले बाचेको जीवनभन्दा मैले चलचित्रका लागि निर्वाह गरेको शान्ति शर्मा नामक पात्रको जीवन फरक छ । गाउँ, त्यो समयले ममा भिन्न दृष्टिकोण निर्माण गरेको छ । त्यो परिवेश मेरो लागि नितान्त नयाँ थियो, उक्त पात्रले नयाँ जीवन बाँचेको अनुभूतिसमेत दिएको छ”, उहाँले भन्नुभयो । 

गीतमार्फत आफ्नो अनुभवलाई प्रस्तुत गरिरहनुभएका सपूतले आफ्ना कथा सकिने डर र आफ्नो सिर्जनालाई न्याय गर्नसक्छु भन्ने लागेर निर्देशक बनेको बताउनुभयो । “आफैँ निर्देशक र अभिनेता बन्दा सहज त पक्कै भएन तर मेरो भोगाइलाई मैले नै पर्दामा ल्याउनुपर्छ भन्ने लाग्यो किनकि यो मजस्ता धेरै मध्यमवर्गीय युवाको कथा हो । यसले सामाजिक चेतनालाई प्रश्न गर्दै समतामूलक समाजको कल्पना गरेको छ”, उहाँले भन्नुभयो । 

सपूतले निर्देशन गर्न हतारिएको प्रश्नको सामना गर्नुभएको छ किनकि उहाँ गीतसङगीतमै व्यस्त हुनुहुन्थ्यो । केही समयपछि निर्देशनमा आउँदा परिपक्वता बढेता पनि चलचित्रमा उठाइएको विषयसँग नयाँ पुस्तालाई जोड्न समय लाग्ने भएकाले यो समय चलचित्र निर्देशन गर्न उपयुक्त लागेको उहाँले सुनाउनुभयो ।

“मैले जुन समयको कथा उठाएको छु, त्यहाँ परिवेश देखाउन पनि त्यस बेलाको अवस्थालाई चित्रण गर्नै पथ्र्यो, त्यहि गरेँ । मैले सिर्जनामार्फत समाजलाई गरेको प्रश्न सही छ भने म त्यहाँ डराउनुहँुदैन, मैले एउटा सर्जकका हिसाबले मनबाटै अनुभूति गरेका कुरालाई चलचित्रमा समेटेको छु”, सपूतको कथन छ ।  

अभिनेत्री खड्काले गायक सपूतले एउटा परिपक्व चलचित्रकर्मी भएर काम गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “गायक सपूतलाई मैले नयाँजस्तो कहीँकतै पाइनँ । उहाँको काममा परिपक्वता थियो, जसलाई दर्शकले छिट्टै पर्दामा महसुस गर्नुहुनेछ । वर्षौँसम्म सम्झिने पात्र चलचित्रमा निर्वाह गरे जस्तो लागेको छ ।”

चलचित्रमा प्रभातपाल ठकुरी, अनुप बराल, कमलमणि नेपाल, प्रकाश घिमिरेलगायत कलाकारले अभिनय गर्नुभएको छ ।

प्रधानमन्त्री कप क्रिकेटको विजेतालाई १० लाख पुरस्कार

भैरहवा (रूपन्देही), १७ चैत : प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि लगातार दोस्रोपटक नेपाल पुलिस क्लबले जितेको छ । शनिबार भैरहवामा भएको फाइनल खेलमा पुलिसले त्रिभुवन आर्मी क्लबलाई छ विकेटले हराउँदै उपाधि जितेको हो । यससँगै पुलिसले नगद रु १० लाखसहित आकर्षक ट्रफी हात पारेको छ ।

उपविजेतामा सीमित त्रिभुवन आर्मी क्लबले नगद रु पाँच लाखसहित रनरअप ट्रफी पाएको नेपाल क्रिकेट सङ्घका अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिनुभयो । यसबाहेक अन्य थुप्रैले विभिन्न पुरस्कार जितेका छन् । प्रत्येक खेलमा म्यान अफ द म्याच घोषित हुनेले नगद रु पाँच हजार पाएका थिए भने प्रतियोगिताको उत्कृष्ट ब्याट्सम्यान गण्डकी प्रदेशका अर्जुन कुमाल घोषित भए । उनले नौ खेलमा तीन सय ७४ रन बनाए । सो क्रममा उनले एक शतकसहित ४२ वटा चौका र दुईवटा छक्का प्रहार गरेका थिए । उत्कृष्ट ब्याट्सम्यानका रूपमा उनले बजाजको एनएस–२०० मोडेलको मोटरसाइकल र मेडल प्राप्त गरेका छन् ।

नेपाल पुलिस क्लबका बलर ललितनारायण राजवंशीले बजाजको दुईवटा एनएस–२०० मोडेलको मोटरसाइकल प्राप्त गरे । उत्कृष्ट बलर र प्रतियोगिताको उत्कृष्ट खेलाडीका रूपमा घोषित राजवंशीलाई दुईवटा मोटरसाइकल प्रदान गरिएको चन्दले जानकारी दिनुभयो । राजवंशीले फाइनलसहित गरी १० खेलमा ४१ विकेट लिएका थिए ।यस्तै, उदीयमान खेलाडी नेपाल आर्मीका तृतराज दास घोषित भए । उनले रु ५० हजारसहित क्रिकेट कीट प्राप्त गरेका छन् ।

ढोरपाटनमा यस वर्षको दोस्रो सिकार याम सुरु ,३५ वन्यजन्तुको सिकार हुने

ढोरपाटन (बागलुङ), १७ चैत : नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटनमा यस वर्षको दोस्रो सिकार याम सुरु भएको छ । दोस्रो याममा १३ नाउर, १० झारल र १२ बँदेल गरी ३५ वन्यजन्तुको सिकार हुने भएको हो । वन्यजन्तु तथा राष्ट्रिय निकुञ्ज विभागले गत माघ १५ गते सिकार गर्नका लागि बोलपत्र आह्वान गरेको थियो ।

दोस्रो याममा सिकार खेल्न हिमालयन वाइल्डलाइफ आउटफिर्टस प्रालि, ट्रयाक्स एण्ड ट्रेल्स प्रालि, हिमालयन सफारिज प्रालि, ग्लोबल सफारिज नेपाल, नेपाल ट्राभल एक्सपिडिसन र ओपन नेपाल वाइल्डलाइफ सफारिज गरी छवटा कम्पनीले अनुमति पाएका छन् । वन्यजन्तु तथा राष्ट्रिय निकुञ्ज विभागबाट अनुमति पाएका सिकारी ढोरपाटन सिकार आरक्षको विभिन्न ब्लकमा सिकार खेल्न आउन थालेका छन् ।

यही चैत २६ देखि सिकारी ढोरपाटन आउन थालेका ढोरपाटन सिकार आरक्ष कार्यालयका रेन्जर सागर सुवेदीले जानकारी दिनुभयो । दोस्रो याम (फागुन–वैशाख) का लागि आगामी वैशाख १६ गतेसम्म सिकारीले सिकार खेल्न पाउने छन् । अहिलेसम्म दुई नाउर मात्र सिकार भएको उहाँले बताउनुभयो । रेन्जर सुवेदीका अनुसार हिमालयन वाइल्डलाइफ आउटफिर्टसले सिकारीमार्फत दुई नाउर र दुई बँदेल सिकार गर्न अनुमतिपत्र पाएको छ । यो कम्पनीले एउटा नाउर सिकार गरिसकेको रेन्जर सुवेदीले जानकारी दिनुभयो । उक्त नाउरको सिकार सुनदह ब्लकमा स्पेनका ७० वर्षीय मार्कोस ओलाइजोला अल्कोर्टाले गर्नुभएको हो ।

त्यसैगरी, ट्रयाक्स एण्ड ट्रेल्स प्रालिमार्फत अमेरिकी सिकारीले दुई नाउर, दुई झारल र दुई बँदेल सिकार गर्ने अनुमति पाएका थिए । रेन्जर सुवेदीका अनुसार हिमालयन सफारिज प्रालिमार्फत तीन सिकारीले तीन नाउर र एक झारलका लागि अनमति पाएका छन् । ग्लोबल सफारिज नेपाल प्रालिमार्फत दुई सिकारीले दुई नाउर, एक झारल र दुई बँदेलको सिकार गर्ने अनुमति पाएका छन् । उक्त कम्पनीले हालसम्म एउटा नाउर फागुने ब्लकमा सिकार गरेको उहाँले जानकारी दिनुभयो ।

नेपाल ट्राभल एक्सपिडिसन प्रालिमार्फत तीन सिकारीले तीन नाउर, तीन झारल र तीन बँदेल सिकार गर्ने अनुमति पाएका छन् । यो कम्पनीबाट आएका सिकारीले हतियारमा समस्या आएपछि सिकार नगरी फर्किएको रेन्जर सुवेदी बताउनुहुन्छ ।

ओपन नेपाल वाइल्डलाइफ सफारी एण्ड ट्रेक्स प्रालिमार्फत तीन सिकारीले एक नाउर, दुई झारल र तीन बँदेलको सिकार गर्न अनुमति पाएका छन् । यो सिकार याममा अमेरिका, अर्जेन्टिना, स्पेन र फ्रान्सबाट सिकारी आएको रेन्जर सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार एउटा झारलको रु आठ लाख, नाउराको रु ६ लाख २५ हजार पाँच सय तोकिएको छ ।

यसपालि सुनदह, सेङ, भुस्तुङ, दोगाडी, फागुने, बार्से ब्लकमा सिकार भइरहेको ढोरपाटन सिकार आरक्षका प्रमुख संरक्षण अधिकृत चन्द्रशेखर चौधरीले जानकारी दिनुभयो । दोस्रो याममा रु एक करोड २६ लाख राजस्व सङ्कलन भएको उहाँले बताउनुभयो । सिकारीले मारेको वन्यजन्तु लैजान पनि राजस्व तिर्नुपर्ने प्रावधान छ । ढोरपाटनमा हरेक वर्ष दुई याममा सिकार खुला हुन्छ । पहिलो (असोज–मङ्सिर) र दोस्रो (फागुन–वैशाख) मा सिकार खुला हुन्छ ।

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, १७ चैत : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १३६ रुपैयाँ ४६ पैसा र बिक्रीदर १३७ रुपैयाँ ०६ पैसा कायम भएको छ ।

युरोपियन युरो एकको खरिदर १४६ रुपैयाँ ९९ पैसा र बिक्रीदर १४७ रुपैयाँ ६३ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर १७६ रुपैयाँ ४२ पैसा र बिक्रीदर १७७ रुपैयाँ १९ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १५४ रुपैयाँ ५१ पैसा र बिक्रीदर १५५ रुपैयाँ १९ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८५ रुपैयाँ ८६ पैसा र बिक्रीदर ८६ रुपैयाँ २४ पैसा, क्यानेडियन डलर एकको खरिदर ९५ रुपैयाँ २४ पैसा र बिक्रीदर ९५ रुपैयाँ ६६ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०१ रुपैयाँ ६६ पैसा र बिक्रीदर १०२ रुपैयाँ १० पैसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिदर नौ रुपैयाँ ०५ पैसा र बिक्रीदर नौ रुपैयाँ ०९ पैसा, चिनियाँ युआन एकको खरिदर १८ रुपैयाँ ७८ पैसा र बिक्रीदर १८ रुपैयाँ ८७ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ३८ पैसा र बिक्रीदर ३६ रुपैयाँ ५४ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ४४ पैसा र बिक्रीदर ३७ रुपैयाँ ६० पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ०१ पैसा र बिक्रीदर चार रुपैयाँ ०३ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ १५ पैसा र बिक्रीदर ३७ रुपैयाँ ३२ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ ७५ पैसा र बिक्रीदर ३० रुपैयाँ ८९ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ २९ पैसा र बिक्रीदर नौ रुपैयाँ ३४ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १३ रुपैयाँ ५७ पैसा र बिक्रीदर १३ रुपैयाँ ६३ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ७० पैसा र बिक्रीदर १९ रुपैयाँ ७९ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिदर १७ रुपैयाँ ५४ पैसा र बिक्रीदर १७ रुपैयाँ ६२ पैसा, कुवेती दिनार एकको खरिददर ४४२ रुपैयाँ ५१ पैसा र बिक्रीदर ४४४ रुपैयाँ ४५ पैसा, बहराइन दिनार एकको खरिददर ३६१ रुपैयाँ ९७ पैसा र बिक्रीदर ३६३ रुपैयाँ ५६ पैसा, ओमनी रियाल एकको खरिददर ३५४ रुयैयाँ ४६ पैसा र बिक्रीदर ३५६ रुपैयाँ ०२ पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।

राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

देशका अधिकांश भागमा आज मौसम सफा रहने

काठमाडौँ, १७ चैतः हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत अन्य प्रदेशका पहाडी भागमा आंशिक बदली भएको तथा बाँकी भागको मौसम सफा रहेको बताएको छ ।

विभागका अनुसार आज दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली हुने तथा बाँकी भागमा मौसम सफा रहनेछ । कोशी र गण्डकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । साथै ती प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।
त्यसैगरी, आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहनेछ ।

आगामी २४ घण्टामा कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागको एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको जनाउँदै महाशाखाले त्यसबाट दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाईउड्डयनमा आंशिक प्रभाव पर्न सक्ने भएकाले सतर्कता अपनाउन सम्बद्ध सबैमा अनुरोध गरेको छ ।

आन्दोलनका नाममा हिंसा गर्ने जोसुकैलाई कारबाही हुन्छः मन्त्री गुरुङ

गण्डकी, १६ चैत: सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले आन्दोलनका नाममा हिंसा भड्काउने जोसुकैलाई कारबाही हुने बताउनुभएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घको १२औँ वार्षिक साधारणसभाको आज पोखरामा उद्घाटन गर्दै उहाँले सरकारले अराजक, अनुशासनहीन गतिविधि हेरेर नबस्ने र व्यवस्थाविरोधी गतिविधि गर्नेलाई कारबाही गरिने बताउनुभएको हो ।

अहिलेको व्यवस्थाको विकल्प नरहेको र व्यवस्थाविरुद्धमा हुने गतिविधिलाई कुनै पनि हालतमा छुट दिन नसकिने भन्दै मन्त्री गुरुङले चित्त नबुझे अहिलेको व्यवस्थाअनुसार रहेक पाँच वर्षमा हुने चुनावबाट आफ्नो मुद्दा स्थापित गर्न सुझाव दिनुभयो । “हामीले मन्त्रिपरिषद् बैठकबाट निर्णय गरिसकेका छौँ, यस्ता गतिविधिमा सङ्लग्नलाई छानबिन गरेर कारबाही हुन्छ”, उहाँले भन्नुभयो,“राजतन्त्र आफ्नै कारणले सक्किएको हो । आफ्नो परिवार र संस्था बचाउन नसक्नेले फेरि देश र तीन करोड नेपालीलाई कसरी बचाउन सक्छ ? संविधानको खिलापमा कुनै गतिविधि मा नगरौँ।”

व्यवस्था परिवर्तन भए पनि सोअनुसार कानुन परिवर्तन नहुँदा जनताबाट अपेक्षित काम गर्न समस्य भएको भन्दै सरकारका प्रवक्ता गुरुङले यही अवस्थालाई दृष्टिगत गर्दै सरकारले आवश्यक कानुनहरूको निर्माणमा जोड दिएको बताउनुभयो । उहाँले सरकारका कामलाई प्रभावकारी बनाउन विद्यमान विभिन्न १२ वटा ऐन संशोधन गर्ने तयारी भइरहेको समेत बताउनुभयो ।

मन्त्री गुरुङले वर्तमान सरकारले आर्थिक रूपमा सङ्कटमा गर्ने अवस्थाबाट मुलुकलाई जोगाएको जिकिर गर्दै आवश्यकताका आधारमा मात्रै ऋण लिने नीतिअनुसार सरकार अगाडि बढेको बताउनुभयो । उहाँले सुनचाँदी व्यवसायलाई व्यवस्थित बनाउका लागि आवश्यक नीतिगत व्यवस्थाका लागि सरकारले पहल गर्ने उहाँले बताउनुभयो ।

प्रतिनिधिसभा सदस्य दामोदर बैरागीले सुनचाँदी व्यवसायको सुरक्षा प्रत्याभूति गराउनका सोहीअनुसार विधि र प्रणालीलाई व्यवस्थित गर्दै जानुपर्ने बताउनुभयो । महासङ्घका अध्यक्ष अर्जुन रसाइलीले व्यवसायलाई थप व्यवस्थित बनाउन महासङ्घ निरन्तर लागिरहेको बताउनुभयो ।

गैरआवासीय नेपालीलाई लगानीका लागि उद्योगमन्त्री भण्डारीको आग्रह

काठमाडौँ, १६ चैत: उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले दक्षिण एसियामा नेपाल लगानीका लागि प्रचुर सम्भावनाको क्षेत्र रहेकाले गैरआवासीय नेपालीलाई लगानीका लागि आग्रह गर्नुभएको छ ।

गैरआवासीय नेपाली संघ अन्तरराष्ट्रिय समन्वय परिषद (एनआरएनए आइसीसी) द्वारा आज माल्टामा आयोजित युरोपेली क्षेत्रीय सम्मेलन, २०२५मा उहाँले सरकारले लगानीको सुरक्षा र उपयुक्त वातावरण बनाउन सरकार तयार रहेको बताउनुभयो । मन्त्री भण्डारीले भन्नुभयो, “नेपालमा लगानीको वातावरण बनाएका छौँ, त्यसमा थप सहजीकरणका लागि सरकार तयार छ । कृषि, पर्यटन, उद्योगलगायत क्षेत्रमा तपाईहरू लगानी गर्न आउनुस्, सरकारले पूर्ण सहयोग गर्नेछ ।”

मन्त्री भण्डारीले आफू मन्त्री भएपश्चात् नेपालमा व्यापार, व्यवसाय तथा उद्योगका क्षेत्रमा थुप्रै सकारात्मक एवं राम्रा काम गरेको उल्लेख गर्दै उहाँले निर्धक्क भएर लगानीका लागि आग्रह गर्नुभयो ।  सरकारले लगानीका लागि आवश्यक कानुनी संरचना बनाइसकेको र त्यसैमा टेकेर उद्योग, व्यापारलगायतका क्षेत्रमा पछिल्लो समय थुप्रै लगानी सुरु भइसकेका उहाँको भनाइ थियो । 

नेपालमा उत्पादन भएका वस्तुहरु विदेशमा सहजै निर्यात गर्न सकिने भएकाले दक्षिण एसियामा लगानीको सम्भावित क्षेत्रमा भारतपछि नेपाल मन्त्री भण्डारीले दाबी गर्नुभयो ।  कार्यक्रममा एनआरएनए आइसीसीका महेश अधिकारी, लगानी बोर्ड नेपालका प्रमुख कार्यकारी निर्देशक (सीईओ) सुशील ज्ञवाली मध्यस्थकर्ताका रूपमा रहनुभएको थियो ।  कार्यक्रममा उद्योग विभागका महानिर्देशक राजेश्वर ज्ञवाली, लगानी बोर्डका उपसचिव हिमालचन्द्र अर्याल, डा बद्री केसी, टीका गुरुङ (राधिका), गोविन्द खरेल घनश्याम पाण्डेलगायतले प्रस्तुतीकरण गर्नुभएको थियो ।

पौडी खेल्दा डुबेर दुई युवकको मृत्यु

अर्घाखाँची, १६ चैतः जिल्लाको भूमिकास्थान नगरपालिका झिमरुक नदी र छिर्लिङ्ग खोलाको दोभानको रहमा आज पौडी खेल्दा डुबेर दुई युवकको मृत्यु भएको छ ।

भुमिकास्थान–१० धनचौर पुयापाटाका १९ वर्षीय दिलिप नेपाली र सोही स्थानका १७ वर्षीय अशोक नेपालीको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी निरिक्षक विष्णुप्रसाद पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार घटनाको थप अनुसन्धान भइरहेको छ । 

मुस्ताङको पवित्र धार्मिकस्थल कागबेनी क्षेत्रमा श्रद्धालु भक्तजनको घुइँचो

मुस्ताङ, १६, चैतः जिल्लाको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीधाममा धार्मिक तीर्थालुको घुइँचो बढेको छ । चैतदसैँ कृष्ण औँसीको तिथिका दिन आज मुस्ताङको पवित्र धार्मिकस्थल कागबेनी क्षेत्रमा श्रद्धालु भक्तजनको घुइँचो बढेको हो ।

 मुस्ताङको पवित्र धार्मिक सङ्गमस्थल कागबेनीमा जीवनको एकपटक दिवङ्गत पितृको नाममा पूजाअर्चना, श्राद्ध, पीण्डदान र तर्पणसहित त्रिवेणी नदीमा स्नान गर्नाले धार्मिक मोक्ष प्राप्ति हुने जनविश्वास रहिआएको छ । यही कारण बर्सेनि वडादसैँ औँसी र चैतेदसैँ औँसी तिथिमा कागबेनीधाममा श्राद्ध गर्ने धार्मिक तीर्थालुको घुइँचो लाग्ने गर्दछ ।

 यसवर्षको चैतेदसैँ अघिको कृष्ण औँसी तिथि आज जरेकाले मुस्ताङमा हजारौँ श्रद्धालु भक्तजनले आफ्ना दिवङ्गत पितृ सम्झदै पूजाअर्चना गरी श्राद्ध गर्न कालिगण्डकी दोभानमा स्नान गरेर पितृको नाममा पीण्डदान र तर्पण दिएका छन् । जिल्ला प्रहरी कार्यालयले चैतेदसैँ औँसीलाई लक्षित गरी पछिल्लो २४ घण्टामा १२ हजार ४१२ जना धार्मिक तीर्थालु मुस्ताङ भित्रिएका जनाएको छ । 

जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख एवं प्रहरी नायब उपरीक्षक सूर्यबहादुर बोगटीले पछिल्लो २४ घण्टामा तीर्थालु सवार एक हजार ५८० सवारीसाधन म्याग्दी हुँदै मुस्ताङ भित्रिएका जानकारी दिनुभयो । आज बिहानैदेखि सुरु भएको कागबेनी क्षेत्रमा तीर्थालुहरूको श्राद्ध गर्ने कार्यक्रम सहज र शान्तिपूर्ण रूपमा सम्पन्न भएको उहाँले उल्लेख गर्नुभयो ।

 यसअघि मुस्ताङको कागबेनीमा श्राद्ध गर्न आउने तीर्थालु सवार सवारीसाधनको घुइँचोले मुस्ताङको जोमसोम, मार्फा, कागबेनी र मुक्तिनाथ क्षेत्रमा ट्राफिक व्यवस्थापन गर्न समस्या परेको थियो । जिल्ला प्रहरीको निर्देशनमा जोमसोम, कागबेनी र मुक्तिनाथ क्षेत्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र जिल्ला ट्राफिक कार्यालयको टोलीले ट्राफिक व्यवस्थापन सहज गराएको थियो । 

प्रहरी नायब उपरीक्षक बोगटीले यहाँ आएका दर्शनार्थीहरूले सकुशलपूर्वक दिवङ्गत पितृको नाममा श्राद्ध गरी मुक्तिनाथ मन्दिरको दर्शन गरी फर्किदै गरेका जानकारी दिनुभयो । “जिल्ला शुक्रबार दिउँसैदेखि तीर्थालुले भरिएको थियो, श्राद्ध गर्न आउने कसैलाई पनि लेक लाग्ने समस्या भएन”, उहाँले भन्नुभयो, “सुरक्षा निकाय सर्तक थियो भने सहायता कक्ष स्थापना गरिएको थियो । यहाँ अहिलेसम्म कसैलाई पनि स्थास्थ्य समस्या देखिएको छैन ।”

मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकास्थित दामोदकुण्ड धार्मिकस्थलबाट बग्ने कालिगण्डकी नदी र प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथधामको १०८ धाराबाट बग्ने गण्डकी नदीको सङ्गमस्थल कागबेनीधाममा दिवङ्गत पितृको नाममा श्राद्ध, पीण्डदान र तर्पण दिएर पूजाअर्चना गर्दा पितृ सधैँ खुसी भएर सन्तानको भलो हुने हिन्दू धार्मिक शास्त्रमा उल्लेख छ । 

यसस्थानको कागबेनी सङ्गमस्थलमा जलका लागि देवीदेवता लालायित हुने धार्मिक किंबदन्ती छ । कागबेनीस्थित कालिगण्डकी नदीको तटीय क्षेत्रमा कालो शालिग्राम र मुक्तिक्षेत्रबाट बग्ने गण्डकी नदीमा रातो शालिग्राम पाइन्छ । यसस्थानमा भगवान् विष्णुको अवतार शालिग्राम विराजमान रहेको धार्मिक जनविश्वास रहिआएको छ । साथै कागबेनीधाममा कुर्म अर्थात् कछुवा अवतारको शालिग्राम मन्दिरको दर्शन गर्न पाइन्छ । यसस्थान हिन्दू तथा बौद्ध धर्मालम्बीहरू धार्मिक साझास्थलका रूपमा लिने गरिएको छ । यहाँ कागछोदे गुम्बा, बाह्राैँ शताब्दीमा निर्माण गरिएको कागबेनी दरबारका साथै कागबेनी गाउँको पुरानो ऐतिहासिक बस्ती अवलोकन गर्न सकिन्छ ।

 चैतेदसैँ औँसी तिथिमा मुस्ताङको कागबेनीधाम आएर दिवङ्गत पितृको नाममा श्राद्ध र पूजापाठ गर्न पाउँदा गौरान्वित महसुस भएको चितवनका सोम जिसीले उल्लेख गर्नुभयो । उहाँले प्रकृतिको सुन्दर स्थान मुस्ताङमा आएर पितृ सम्झदै श्राद्ध, पीण्डदान र तर्पण दिएर कालिगण्डकी नदीमा स्नान गर्दा पितृ खुसी भई पुण्य प्राप्ति हुने बताउनुभयो ।

हेटाैँडाका ईश्वरीप्रसाद पोखरेलले कागबेनीमा पितृको पूजाअर्चना गरेर मुक्तिनाथको दर्शन गर्ने उद्देश्यले पहिलोपटक यहाँ आइपुगेको बताउनुभयो । उहाँले यहाँको स्थिति र घुम्ने धोको पूरा गर्न परिवारसहित मुस्ताङ आइपुगेको उल्लेख गर्नुभयो ।

यहाँस्थित कागबेनी मन्दिर तथा श्राद्धस्थल व्यवस्थापन समितिकी अध्यक्ष लक्ष्मी गुरुङले मुस्ताङको आर्थिक विकासमा कागबेनीधामको योगदान महत्त्वपूर्ण रहेको बताउनुभयो । उहाँले कागबेनीमा एकरात बाँस बसेर दिवङ्गत पितृ सम्झदै श्राद्ध गरेमा धार्मिक मोक्ष प्राप्ति हुने जनविश्वास रहिआएको जानकारी दिनुभयो । 

अध्यक्ष गुरुङले डेढ वर्षअघि कागखोला बाढीले कागबेनी मन्दिर, श्राद्ध स्थल र यहाँको भौतिक संरचनामा क्षति पु¥याएकाले यहाँ आएर श्राद्ध गर्ने धार्मिक तीर्थालु व्यवस्थापनमा चुनौती थपिएको बताउनुभयो । धार्मिक महत्त्वको यस स्थानलाई तीनै तहका सरकारले श्राद्धस्थलको पूर्वाधार निर्माणमा यथाशीघ्र पहल गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । 

“यहाँ दीर्घकालीन रूपमा स्थायी भौतिक संरचना आवश्यक छ, आरसिसी तटबन्ध निर्माणका लागि ठूलो बजेटको आवश्यकता पर्दछ । हामीले भक्तजनबाट सङ्कलित दान र स्थानीयस्तरको सहयोगमा पूर्वाधार निर्माण गरी अस्थायी व्यवस्थापन गरिरहेका छौँ”, अध्यक्ष गुरुङले भननुभयो । उहाँका अनुसार कागबेनीधाममा श्राद्ध गरेका तीर्थालुहरू यहाँ श्राद्ध गरी मुक्तिनाथ उकालो उक्लिएर मुक्तिनाथ दर्शन गरेका छन् । 

मुक्तिनाथ विकास समितिका कर्मचारी रविन सुवेदीले आज बिहानैदेखि श्रद्धालु भक्तजनको बाक्लो उपस्थित रहेको जानकारी दिनुभयो । उहाँका अनुसार आजसम्ममा करिब १२ हजार बढीले मुक्तिनाथ मन्दिरको दर्शन गरेका छन् । मुक्तिनाथमा दर्शनार्थीहरूको व्यवस्थापनका लागि मुक्तिनाथ विकास समिति, सुरक्षा निकाय र कार्यरत कर्मचारीले लाइनबद्ध गरी दर्शनमा सहजीकरण गरेका उहाँले बताउनुभयो । चैतेदसैँ कृष्ण औँसी तिथिमा कागबेनीमा श्राद्ध गरी मुक्तिनाथ दर्शन गर्न आउने तीर्थालुको उपस्थितिले मुस्ताङका होटल भरिभराउ भएका छन् ।

कैलालीको मनिकापुरमा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, २७ घाइते

सुदूरपश्चिम, १६चैतः हुलाकी राजमार्गअन्तर्गत कैलालीको कैलारी गाउँपालिका मनिकापुर सडकखण्डमा आज भारती नंको ट्याक्टर दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ । दुर्घटनामा २७ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा भारत, उत्तरप्रदेशस्थित लखिमपुर खिरी जिल्लाका ११ वर्षीय आयुस बर्मा रहेका जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिनुभयो । दुर्घटनामा २७ भारतीय नागरिक घाइते भएका छन् । तीमध्ये तीन जनालाई बढी चोट लागेको उहाँले बताउनुभयो ।

प्रहरीका अनुसार धनगढी उपमहानगरपालिका स्थित बेहडाबाबा मन्दिरमा दर्शन तथा पूजा गरेर फर्किरहेका भारतीय तीर्थयात्री चढेको ट्याक्टर अनियन्त्रित भई सडकछेउको नालीमा खसेको थियो । चालक फरार छन् । ट्याक्टरको नं खुल्न सकेको छैन । बेहडाबाबालाई सीमापारीका भारतीय नागरिकले कुलदेवताको रूपमा पुज्ने गर्छन् ।

ट्रलीमुनी च्यापिएका मृतक बालकको शव निकालिएको छ । घाइतेहरूलाई प्रहरी, रेडक्रसकर्मी र स्थानीयले उद्धारगरी उपचारका लागि धनगढीस्थित सेती प्रादेशिक अस्पताल र अन्य अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ ।

पोखरामा दुई दिवशीय अन्तरराष्ट्रिय सम्मेलन

गण्डकी, १६ चैत : ‘दीगो पर्यटन, नवीनता र आर्थिक विकासका लागि उच्च शिक्षाको भूमिका’ विषयक दुई दिवशीय अन्तरराष्ट्रिय सम्मेलन आजदेखि पोखरामा सुरु भएको छ । कालिका बहुमुखी क्याम्पस पोखराद्वारा आयोजित सम्मेलनमा नेपालसहित जापान, बेलायत, बङ्गलादेश, थाइल्याण्ड, अमेरिकालगायत देशबाट विभिन्न ३० वटा विश्वविद्यलाय एवं क्याम्पसबाट एक सय ५० जनाको सहभागिता रहेको छ ।

सम्मेलनको उद्घाटन गर्दै विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा डा देवराज अधिकारीले आर्थिक विकास र दीगो पर्यटनका लागि उच्च शिक्षाको अहम् भूमिका हुने बताउनुभयो । उहाँले उच्च शिक्षाको पाठ्यक्रम व्यावसायिकता प्रवर्द्धन र उत्पादित जनशक्तिको उपयोग हुनेखालको हुनुपर्नेमा जोड दिनुुभयो ।

त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायका डिन प्रा डा महानन्द चालिसेले देशमा अध्ययनरत विद्यार्थीमध्ये अधिकांश व्यवस्थापन विषयका भएको उल्लेख गर्दै स्वदेशमा नै उनीहरूको उपयोग हुने वातावरण तयार निर्माणको खाँचो औँल्याउनुुभयो ।

कालिका बहुुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष किरण केसीले क्याम्पसले गुणस्तरीय शिक्षामा जोड दिँदै विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको बताउनुभयो । क्याम्पस प्रमुख वीरञ्जी गौतमले गुणस्तर सुनिश्चित तथा प्रत्यायन(क्युएए)प्राप्त क्याम्पसद्वारा गरिएको यस किसिमको कार्यक्रम पोखराको पर्यटन र आर्थिक विकासका लागि महत्वपूर्ण अवसर भएको धारणा राख्नुभयो ।

कार्यक्रममा वरिष्ठ पर्यटन व्यवसायी गणेशबहादुर भट्टराई, बैभव पौडेललगायतले पाठ्यक्रम र व्यवसायबीचको तालमेल हुनु जरुरी भएको धारणा राख्नुभयो ।ओटिएस एकेडेमी युकेको सह आयोजना एवम् विश्वविद्यलाय अनुदान आयोग, व्यवस्थापन सङ्काय त्रिभुवन विश्वविद्यालय, पोखरा महानगरपालिका र केसी ग्रुपको सहयोगमा आयोजित कार्यक्रममा विभिन्न प्राध्यापक एवम् अनुसन्धाताका विषयगत प्रस्तुतीसँगै विभिन्न विषयमा समूहगत छलफल रहने आयोजकले जनाएको छ ।

नेपाल बार एसोसिएशनद्वारा तीनकुने घटनाको भत्र्सना

काठमाडौँ, १६ चैतः नेपाल बार एसोसिएशनले नेपालको संविधानविपरीत पूर्वराजाको समर्थन गर्दै आक्रमण, तोडफोड, आगजनी र लुटपाट गरी मानवीय र भौतिक हुनेगरी भएको घटनाको भत्र्सना गरेको छ । बारका महासचिवमा अन्जिता खनालद्वारा आज जारी भएको प्रेस विज्ञप्तिमा शुक्रबार तीनकुनेमा पूर्वराजा समर्थकको प्रर्दशनका क्रममा भएको घटनामा मानवीय र भौतिक क्षति भएको भन्दै दुःख व्यक्त गर्दै भत्र्सना गरिएको हो ।

बारले एभिन्यूज टेलिभिजनका पत्रकार सुरेश रजक र सोही घटनामा परी सविन महर्जनको मृत्यु भएको जनाउँदै उहाँहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको छ । मृतकका परिवारलाई उचित क्षतिपूर्ति माग गर्नुका साथै घटनाको सत्य अनुसन्धान गरी दोषीलाई कानुन बमोजिम कारबाही गर्न माग गरिएको बारका महासचिवमा खनालले जानकारी दिनुभयो ।     साथै, बारले विज्ञप्तीमार्फत यस्ता घटना पुनः दोहोरिन नदिन मानवअधिकारको रक्षा, सुरक्षाको प्रभावकारी व्यवस्था गर्न र आमनागरिकको सुरक्षा गर्न सरकारसँग अनुरोध पनि गरेको छ ।

तीनकुने प्रकरणः पक्राउ पर्ने १११ जना पुगे

काठमाडौँ, १६ चैतः काठमाडौँको तीनकुनेमा शुक्रबार पूर्वराजाको समर्थनहरूद्वारा गरिएको हिंसात्मक प्रदर्शनमा संलग्न भएको आरोपमा प्रहरीले हालसम्म १११ जनालाई पक्राउ गरेको छ ।पूर्वराजाको समर्थनमा भएको प्रदर्शनका क्रममा आक्रमण, तोडफोड, आगजनी र लुटपाटमा संलग्न रहेका र घटना घटाउन उक्साउनेसहित १११ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपीलराज बोहराले जानकारी दिनुभयो ।

उहाँका अनुसार शुक्रबार एक सय पाँच जनालाई पक्राउ गरिएको थियो भने आज थप छ जना पक्राउ परेका हुन् । प्रहरी परिसर काठमाडौँले २५, प्रहरी वृत्त बानेश्वरले २५, प्रहरी वृत्त गौशालाले नौ, प्रहरी प्रभाग कोटेश्वरले ४६, प्रभाग गोङ्गबुले तीन, प्रहरी वृत्त बालाजुले एक, प्रहरी वृत्त सिंहदरबारले दुई जनालाई पक्राउ गरेको उहाँले जानकारी दिनुभयो ।

उक्त घटनामा दुई जनाको मृत्यु भएको जनाउँदै प्रहरी प्रवक्ता बोहराले नेपाल प्रहरीतर्फ ५५, सशस्त्र प्रहरीतर्फ २२ र प्रर्दशनकारीतर्फ ५१ जना घाइते भएका उल्लेख गर्नुभयो । तीमध्ये प्रहरी र प्रदर्शनकारीसहित २१ जनाको विभिन्न अस्पतालमा उपचार जारी रहेको काठमाडौँ प्रहरीले जनाएको छ ।

तोडफोड, आगजनी र लुटपाट 

प्रवक्ता बोहराका अनुसार व्यक्तिगत र सरकारी कार्यालय गरी १८ वटामा तोडफोड भएको छ । विभिन्न १२ ठाउँमा आगजनी तथा एक ठाउँमा तोडफोड तथा लुटपाट भएको छ ।
प्रहरीतर्फ छ, सरकारी कार्यालयको चार, विवरण नखुलेको छ गाडी तथा विवरण नखुलेको स्कुटर र मोटरसाइकलसहित छ वटामा तोडफोड भएको छ । केही गाडी जलाइएको छ”, उहाँले भननुभयो ।

भूकम्पप्रभावित म्यान्माको एक आवासीय भवनमा ९० जनाभन्दा बढी फसेको आशङ्का

मध्य म्यान्माको मान्डलेमा विनाशकारी भूकम्पका कारण ध्वस्त भएको एक अपार्टमेन्ट ब्लकमा भग्नावशेषभित्र ९० जनाभन्दा बढी मानिस फसेको हुनसक्ने रेडक्रसका एक अधिकारीले शनिबार बताउनुभएको छ ।

शुक्रबार गएको ७.७ म्याग्निच्यूडको भूकम्पबाट सबैभन्दा बढी प्रभावित मान्डलेका भवनमध्ये ‘स्काई भिल्ला कन्डोमिनियम डेभलपमेन्ट’ पनि एक हो ।

उक्त भवनको भग्नावशेषबाट ’नौ जनाको मृत शरीर र ४४ जनालाई जीवितै निकालिएको छ,” घटनास्थलमा रहेका रेडक्रसका एक अधिकारीले नाम नबताउने शर्तमा एएफपीसँग भन्नुभयो ।

उहाँले भन्नुभयो, “९० जनाभन्दा बढी मानिस भित्र हुन सक्छन् । हामी अझै पनि डाटा सङ्कलन गरिरहेका छौँ । हराएका परिवारका सदस्यहरूको खोजी गरिरहेका छन् र हामीले सूचना सङ्कलन गरिरहेका छौँ।”

भूकम्पका कारण म्यान्मामा एक हजारभन्दा बढी मानिसको मृत्यु भएको छ तर सञ्चार सेवा नराम्ररी अवरुद्ध भएको छ । विपत्तिको वास्तविक परिमाण बाहिर आउन थालेको छ ।

यो दशकौँपछिको देशको सबैभन्दा ठूलो भूकम्प हो जसमा१७ लाखभन्दा बढी जनसङ्ख्या भएको दोस्रो ठूलो सहर मान्डले नराम्ररी प्रभावित भएको छ ।

भूकम्पका कारण स्काई भिल्ला कोन्डोको १२ तल्लामध्ये छ तला मात्र दखिएको छ ।

भूकम्पले सडक तथा पुलहरू भत्काएको कारण भग्नावशेष हटाउनका लागि आवश्यक साधनहरू लिएर प्रभावित क्षेत्रमा पुग्न समस्या भइरहेको छ । स्थानीय स्तरमा उपलब्ध डोजर र स्काईभेटरले विशेषज्ञहरूको सहयोगमा काम गरिरहेका छन् ।

सुरक्षित रूपमा व्यापार व्यवसाय गर्न पाउने अधिकार सुनिश्चित गर्न निजी क्षेत्रको माग

काठमाडौँ, १६ चैतः शुक्रबार तिनकुने क्षेत्रमा भएका हिंसात्मक आन्दोलन, तोडफोड, लुटपाटजस्ता अराजक गतिविधिको विरोध जनाउँदै निजी क्षेत्रका पेसागत सङ्गठनले दोषीलाई कारबाहीको माग गरेका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घलगायत निजी क्षेत्रका छाता संस्थाले छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै सुरक्षित रूपमा व्यापार व्यवसाय गर्न पाउने अधिकार सुनिश्चित गर्न माग गरेका हुन् ।

महासङ्घले निजी सम्पत्ति, सञ्चारगृह, व्यावसायिक प्रतिष्ठान, विभिन्न कार्यालय तथा व्यापारिक गतिविधिमा भएको आक्रमण, आगजनी तथा लुटपाटको विरोध जनाउँदै क्षतिपूर्तिको मागसमेत गरेको छ । “संविधानप्रदत्त अधिकारभित्र रहेर आफ्ना माग राख्न पाइए पनि हिंस्रक आन्दोलन एवं प्रदर्शनका साथै लुटपाट, आगजनी, धनजनको क्षति र व्यक्तिगत सम्पत्तिमाथि आक्रमण निन्दनीय छ । कुनै पनि स्वरूपमा हुने यस प्रकारका घटनाप्रति महासङ्घ घोर निन्दा र भत्र्सना गर्दछ”, महासङ्घको विज्ञप्तिमा भनिएको छ । सार्वजनिक सुरक्षा सुनिश्चित गर्न र यस्ता घटनाको पुनरावृत्ति रोक्न पनि महासङ्घले आग्रह गरेको छ ।

यस्तै, उद्योग परिसङ्घले अराजक गतिविधि गर्नेलाई कानुनी दायरामा ल्याउन माग गरेको छ । “शुक्रबार निजी सम्पत्ति तथा सञ्चारगृहमा भएको तोडफोड, आगजनी, तथा व्यावसायिक प्रतिष्ठानमा भएको लुटपाटको घटना अत्यन्त दुःखद् हो । विभिन्न माग राखी आन्दोलन, प्रदर्शन गर्दा आमनागरिक, विभिन्न पेसा, व्यवसायमाथि भौतिक आक्रमण, व्यक्तिगत सम्पत्तिमाथि आगजनी, व्यावसायिक प्रतिष्ठानमा तोडफोड एवं लुटपाटजस्ता कार्य जहिले पनि निन्दनीय छ”, जारी गरेको विज्ञप्तिमा भनिएको छ, “निजी तथा सार्वजनिक सम्पत्तिमा तोडफोड तथा आगजनी, लुटपाटजस्ता अराजक गतिविधि गर्नेलाई कानुनी दायरामा ल्याई सुरक्षित रूपमा व्यापार, व्यवसाय, पेसा गर्न पाउने अधिकारलाई सुरक्षित बनाउन परिसङ्घ माग गर्दछ ।”

विभिन्न माग राखी आन्दोलन, प्रदर्शन गर्न पाउने अधिकार सुरक्षित भए पनि यस्ता कार्यले अरु कसैको अधिकार हनन् गर्न हुँदैन भन्नेतर्फ समेत सचेत हुन निजी क्षेत्रले आग्रह गरेको छ ।

आर्थिक सहायता कटौतीले एक करोड ३० लाख विस्थापितको स्वास्थ्य खतरामा : संयुक्त राष्ट्रसङ्घ

आर्थिक सहायता कटौतीले झण्डै एक करोड ३० लाख विस्थापितको स्वास्थ्यलाई खतरामा पारेको संयुक्त राष्ट्रसङ्घीय शरणार्थी निकाय युएनएचसीआरले शुक्रबार जनाएको छ ।

गत जनवरीमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सत्तामा फर्केपछि शरणार्थी र आप्रवासीको हित विपरित एजेन्डाअघि सार्दै र अधिकांश अमेरिकी वैदेशिक सहायता कोष तत्काल रोक्का गरेपछि विश्वभरका मानवीय संस्थाहरू प्रभावित भएका छन् ।

संयुक्त राज्य अमेरिका परम्परागत रूपमा यूएनएचसीआरको शीर्ष दाता हो र अमेरिकाले प्राप्त कुल योगदानको ४० प्रतिशत भन्दा बढी हिस्सा व्यहोर्ने गरेको थियो ।

युएनएचसीआरका जनस्वास्थ्य प्रमुख एलेन मैनाले भन्नुभयो, “सन् २०२५ सम्ममा, पर्याप्त स्रोत साधनको अभावमा अनुमानित ६३ लाख बालबालिकासहित एक करोड २८ लाख विस्थापित व्यक्ति जीवनरक्षक स्वास्थ्य हस्तक्षेपबाट वञ्चित हुन सक्छन् ।”

“सहयोगको प्रदान गर्ने देशहरूमा स्वास्थ्य खर्चमा आएको गिरावटका कारण बढेको वर्तमान मानवीय अनुदान सङ्कटले शरणार्थी र होस्ट समुदायहरूको लागि सार्वजनिक स्वास्थ्य र पोषण कार्यक्रमहरूको दायरा र गुणस्तरलाई असर गरिरहेको, आवश्यक सेवाहरूमा पहुँचमा बाधा पुर्याइरहेको र रोगको प्रकोप, कुपोषण, उपचार नगरिएको पुरानो अवस्था र मानसिक स्वास्थ्य समस्याहरूको जोखिम बढाइरहेको छ।

कटौतीको उदाहरण दिँदै मैनाले बङ्गलादेशमा रहेका करिब १० लाख रोहिङ्ग्या शरणार्थीले गम्भीर स्वास्थ्य सङ्कटको सामना गरिरहेको र आर्थिक सहायता रोकिँदा हुँदा स्वास्थ्य सेवाको पहुँचमा खतरा आएको उहाँले बताउनुभयो ।

बुरुन्डीका विभिन्न शिविरमा पोषण कार्यक्रम स्थगन हुनुको अर्थ पाँच वर्षमुनिका हजारौं शरणार्थी बालबालिकाले कुपोषणको पर्याप्त उपचार पाउन नसक्ने उहाँको भनाइ छ ।

प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा युएनएचसीआरको सन् २०२५ को स्वास्थ्य बजेट सन् २०२४ को तुलनामा ८७ प्रतिशतले कटौती गरिएको छ ।

“कङ्गोमा कोष कटौतीको स्वास्थ्य परिणामहरू विनाशकारी हुने अपेक्षा गरिएको छ । यसले पाँच लाख २० हजारभन्दा बढी शरणार्थीहरूलाई सङ्क्रामक रोग र मृत्युको उच्च जोखिममा पार्नेछ,” मैनाले भन्नुभयो ।

इजिप्टमा आपतकालीन जीवन रक्षा प्रक्रियाबाहेक शरणार्थीका लागि युएनएचसीआरको सबै उपचार स्थगन गरिएको छ ।

युएनएचसीआरको स्वास्थ्य टोलीले गरेको सर्वेक्षणमा एक करोड २८ लाख विस्थापित व्यक्ति स्वास्थ्य सहायताविहीन हुने अनुमान गरिएको थियो ।

यूएनएचसीआरका प्रवक्ता विलियम स्पिन्डलरले अन्य परम्परागत शीर्ष दाताहरूले पनि आफ्नो कोष घटाइरहेको बताउनुभयो ।

थाइल्याण्ड र म्यान्माका भूकम्प पीडितका लागि सहायता र आश्वासन आउने क्रम जारी

युद्धग्रस्त म्यान्मा र छिमेकी मुलुक थाइल्याण्डमा गएको शक्तिशाली भूकम्पमा परी एक हजारभन्दा बढीको मृत्यु हुनुका साथै व्यापक क्षति भएको छ ।

विश्व समुदायबाट भूकम्प प्रभावित क्षेत्रमा आर्थि राहत तथा सहायता र भौतिक सहयोग आउने क्रम जारी रहेको छ ।

भूकम्पका कारण म्यान्मामा हजारौँ व्यक्ति मारिएका हुनसक्ने घटनास्थलमा पुगेका सहयोगी समूहहरूले जानकारी गराएका छन् ।

– विश्व स्वास्थ्य सङ्गठन –

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले भूकम्पपछिको ‘ट्रमा इन्जुरी’ सामग्री तयार गर्न दुबईमा रहेको आफ्नो केन्द्रलाई परिचालन गरिरहेको र यसको आपतकालीन व्यवस्थापन प्रतिकार्यलाई गति दिएको जनाएको छ ।

प्रवक्ता मार्गरेट ह्यारिसले जेनेभास्थित मुख्यालयबाट भूकम्प प्रतिकार्यका लागि समन्वय गरिरहेको जानकारी दिँदै भन्नुभयो, “हामी यसलाई ठूलो घटनाका रुपमा हेरिरहेका छौँ।”

– चीन –

बेइजिङको आपतकालीन व्यवस्थापन मन्त्रालयले शनिबार ८२ जनाको उद्धार टोली म्यान्मा पठाएको जनाएको छ ।

चीनको युनानबाट एउटा छुट्टै उद्धार टोली शनिबार म्यान्माको व्यापारिक केन्द्र याङ्गुन आइपुगेको सीसीटीभीले जनाएको छ ।

चीन सरकारले म्यान्मालाई आपतकालीन मानवीय सहायताका लागि १० करोड युआन (एक करोड ३८ लाख अमेरिकी डलर) पनि उपलब्ध गराउने घोषणा गरेको छ ।

–भारत–

म्यानमामा शनिबार एक भारतीय सहायता विमान अवतरण गरेको छ ।

भारतीय विदेशमन्त्री सुब्रमण्यम जयशङ्करले सी–१३० सैन्य परिवहन विमानलाई हाइजिन किट, कम्बल, खाद्य पार्सल र अन्य आवश्यक सामग्रीहरू लिएर पठाइएको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “सहयोग लिएर गएको उडानमा खोजी तथा उद्धार टोली र मेडिकल टोली पनि रहेको छ ।”

उहाँले घटनाक्रमको अनुगमन जारी राख्ने र थप सहयोग पठाइने पनि उल्लेख गर्नुभयो ।

–अमेरिका–

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले म्यान्मा भूकम्पपछि त्यहाँको प्रभावित क्षेत्रका वासिन्दालाई सहयोग गर्ने बताउनुभएको छ ।

“यो भयानक प्राकृतिक विपत्ति भएको छ,” ट्रम्पले ओभल अफिसमा पत्रकारसँग भन्नुभयो ।

“यो वास्तविक एक विनाशकारी विपत्ति हो । हामी मद्दत गर्नेछौँ। हामीले प्रभावित मुलुकसँग कुरा गरिसकेका छौँ ।”

– दक्षिण कोरिया –

दक्षिण कोरियाको विदेश मन्त्रालयले भूकम्पपछि ‘तत्काल उद्धार र राहत कार्यमा सहयोग गर्न’ २० लाख अमेरिकी डलर मानवीय सहायता पठाउने जनाएको छ ।

‘कोरियाली सरकारले आफ्नोे सहयोगले प्रभावित क्षेत्रमा जीवन बचाउन र दुःख कम गर्न मद्दत गर्ने आशा गरेको छ,” मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ। सियोलले पनि स्थितिको मूल्याङ्कन र प्रभावित मुलुकसँग राय लिई थप सहयोग पठाउन सक्ने बताएको छ ।

–इरान–

इरानको विदेश मन्त्रालयले शनिबार म्यान्मा र थाइल्याण्डका जनता र सरकारप्रति तेहरानको समवेदना पठाउँदै मानवीय प्रयासमा सहयोग गर्न तयार रहेको बताएको छ ।

“विदेश मन्त्रालयका प्रवक्ता इस्माईल बाकाइद्वारा हस्ताक्षरित एक विज्ञप्तिमा ‘राहत र उद्धार प्रक्रियामा सहयोग गर्न इरान तयार रहेको घोषणा’ गरिएको छ ।

–मलेसिया–

मलेसियाको विदेश मन्त्रालयले म्यान्मामा पनि टोली पठाउने जनाएको छ ।

मन्त्रालयका अनुसार एक जना कमाण्डरसहित ४९ जना तालिमप्राप्त उद्धारकर्मीले जारी मानवीय तथा विपद् राहत कार्यमा सहयोग पुर्‍याउने छन् ।

म्यान्मा र थाइल्याण्ड सदस्य रहेको दक्षिणपूर्वी एशियाली समूह आसियान दुवै देशलाई सहयोग गर्न तयार रहेको विदेशमन्त्री मोहम्मद हसनले बताउनुभयो ।

–इन्डोनेसिया–

इन्डोनेसियाका राष्ट्रपति प्राबोवो सुबियान्तोले म्यानमा र थाइल्याण्डप्रति समवेदना प्रकट गर्दै सहयोगको प्रस्ताव गरेका छन् ।

“यस कठिन घडीमा हाम्रो विचार र प्रार्थना दुवै देशका जनताको साथमा छ”, उहाँले लेख्नुभएको छ, “इन्डोनेसिया प्रभावित क्षेत्रमा उद्धारप्रयासका लागि आवश्यक सबै सहयोग गर्न तयार छ ।”

चीनले हरित ऊर्जा रूपान्तरणका लागि हाइड्रोजन प्रविधि उपयोग गर्दै

चीनले स्वच्छ र दिगो ऊर्जा विकास गर्न हाइड्रोजन प्रविधिलाई उच्च प्राथमिकता दिँदै आएको छ। हालै सम्पन्न चीन अन्तर्राष्ट्रिय हाइड्रोजन कंग्रेस (सिआइएचसी) सन् २०२५ मा यस प्रविधिका नयाँ उपलब्धिहरू प्रदर्शन गरिए, जसले भविष्यमा हाइड्रोजन ऊर्जा महत्वपूर्ण भूमिका खेल्ने देखाएको छ।

देशको पहिलो मानवविहीन हाइड्रोजन-इलेक्ट्रिक हाइब्रिड खानी ट्रक इनर मंगोलियाको शेंगली कोइलाखानीमा सञ्चालनमा आएको छ। यो ट्रक हाइड्रोजन र ब्याट्रीद्वारा सञ्चालित छ, जसले वार्षिक एक हजार टन कार्बन उत्सर्जन घटाउन मद्दत गर्छ। यो प्रविधि जाडो मौसममा समेत राम्रोसँग काम गर्ने क्षमता राख्छ।

चीन सरकारले हाइड्रोजन ऊर्जा प्रवर्द्धन गर्न ठोस नीति अपनाउँदै सन् २०२१-२०३५ रणनीति ल्याएको छ। सन् २०२५ सम्म नवीकरणीय ऊर्जा स्रोतबाट एक लाख देखि दुई लाख टन हाइड्रोजन उत्पादन गर्ने लक्ष्य राखिएको छ। साथै, सन् २०३० सम्म हाइड्रोजन उद्योगलाई व्यवस्थित रूपमा विस्तार गर्ने योजना बनाइएको छ।

देशभरि विभिन्न ठाउँमा हाइड्रोजन प्रविधिको प्रयोग बढिरहेको छ। हालै पूर्वी चीनको यान्ताइ शहरमा समुद्री हाइड्रोजन उत्पादन केन्द्र निर्माण सम्पन्न भएको छ, जसले भविष्यमा लामो दूरीका पानीजहाजहरूका लागि हरित इन्धन आपूर्ति गर्न सक्छ। यस्तै, शाङ्घाइ लगायतका शहरहरूमा हाइड्रोजन बस, ट्याक्सी, ट्रक तथा अन्य सवारीसाधन परीक्षणका रूपमा सञ्चालन भइरहेका छन्।

तर, हाइड्रोजन प्रविधि अझै केही चुनौतीहरू सामना गरिरहेको छ। उच्च लागत, प्रविधिगत सीमाहरू, र पूर्वाधार अभावका कारण यसको व्यापक प्रयोगमा केही कठिनाइ देखिएको छ। हाल विश्वभर हरित हाइड्रोजन उत्पादन एक प्रतिशतभन्दा कम रहेको छ, जसले थप अनुसन्धान र लगानी आवश्यक रहेको देखाउँछ।

चीनले आफ्नो १५औं पञ्चवर्षीय योजनामा हाइड्रोजन उद्योगलाई अझ प्रभावकारी बनाउने योजना अघि सारेको छ। सरकारले प्रविधि सुधार, उद्योगको दिगो विकास, र अन्तर्राष्ट्रिय सहकार्यलाई प्राथमिकता दिँदै हाइड्रोजन ऊर्जा क्षेत्रको विस्तार गर्ने लक्ष्य राखेको छ। यसले चीनको हरित ऊर्जा लक्ष्य हासिल गर्न महत्त्वपूर्ण योगदान दिनेछ।

शार्फु–४ मा पहिलोपटक मानव पाइला

ताप्लेजुङ, १६ चैतः कञ्चनजङ्घा क्षेत्रमा पर्ने छ हजार चार सय ३३ मिटर अग्लो शार्फु–४ हिमालमा पहिलोपटक मानवले पाइला टेकेका छन् । गत मङ्गलबार चिलीका पर्वतारोही हर्नान डेबिड लियलको नेतृत्वमा आएको टोलीले पहिलोपटक उक्त हिमालको सफल आरोहण गरेको आरोहण दलका सदस्य पूर्णिमा श्रेष्ठले जानकारी दिनुभयो ।

एक्स्ट्रिम क्लाइम्बर्समार्फत आएको टोलीले गरेको शार्फु–४ लाई मिनी अन्नपूर्ण को सङ्ज्ञा पनि दिइएको छ । नेतृत्वदायी भूमिकामा रहनुभएका लियलले यसअघि नेपाल, तिब्बत र पाकिस्तानका आठ हजार र छ सय मिटर अग्ला हिमालमा आरोहण गरिसक्नुभएको छ ।

टोलीमा अन्य तीन जना नेपाली आरोही सहभागी हुनुहुन्थ्यो । सोलुखुम्बूका पर्वतारोही लाक्पाछिरी शेर्पा, ताप्लेजुङका नाङ्डा शेर्पा र गोरखाकी पूर्णिमा श्रेष्ठ उक्त टोलीमा रहनुभएको थियो । हिमालयको चुनौतीपूर्ण भूगोललाई जित्दै, शार्फु–४ को पहिलो आरोहण हुनु विश्वभरका पर्वतारोहीका लागि प्रेरणादायी बन्ने अपेक्षा गरिएको आरोहण दलको नेतृत्व गर्नुभएका लियलले बताउनुभयो ।

चामुण्डा माई र बालकुमारी माईको मिलन गराएर मनाइयो जात्रा

कााठमाडौँ, १६ चैतः घोडेजात्राका अवसरमा ललितपुरस्थित चामुण्डा माई र बालकुमारी माई देवीलाई खटमा राखेर टोल टोलमा घुमाइ एकापसमा मिलन गराएर जात्रा मनाइएको छ । परम्पराअनुसार मङ्गलबजार क्षेत्रमा पुगेपछि दुवै देवीलाई मिलन गराई पुनःआफ्नै मन्दिरमा राखिने गरिएको छ ।

ललितपुर महानगरपालिका वडा नं ९ र ११ को पहलमा धिमे बाजासहित पूजाआजा गरी विभिन्न रुटमा घुमाएर आज घोडेजात्राका अवसरमा पाटनका स्थानीयले यो जात्रा मनाएका हुन् । स्थानीयलाई रोगव्याधि, भयबाट मुक्त गराउन तथा भौतिक बाधा अड्चन नहोस् भनेर पाटन नगरभित्र लिच्छवीकालदेखि नै यो जात्रा मनाइँदै आएको यस क्षेत्रका स्थानीयले बताएका छन् ।

किंवदन्तीअनुसार दिदी बालकुमारी माईलाई बहिनी चामुण्डा माईले तीनपटक परिक्रमा गरेपछि दुवै देवीलाई पुनःआफ्नै मन्दिरमा राखिने गरिएको चामुण्डा माई जात्रा व्यवस्थापन समितिका सचिव राजेश्वर महर्जनले जानकारी दिनुभयो ।

यस क्षेत्रका स्थानीयले भेला भई खानाका परिकार खाएर नाँचगान गरी एकअर्कामा मिलन र खुसी साटासाट गर्दै नायखी बाजाको तालमा देवीको परिक्रमा गराई यो जात्रा मनाएका छन् ।

पूर्व-पश्चिम राजमार्ग स्तरोन्नति गरिँदै

कञ्चनपुर, १६ चैतः यहाँ पर्ने पूर्व-पश्चिम राजमार्गलाई खाल्डाखुल्डीरहित बनाउने कार्य अगाडि बढेको छ । जिल्लास्थित सडक डिभिजन कार्यालयले राजमार्गमा पटके मर्मत तथा स्तरोन्नतिका लागि ठेक्का प्रक्रियामार्फत काम अगाडि बढाएको हो ।

जिल्लाको बेदकोट नगरपालिकाको दैजीबाट कैलालीको अत्तरियासम्मको ३४ किलोमिटर सडक मर्मत र स्तरोन्नति गर्न रु ६९ लाख २९ हजार बजेटमा एमएस निर्माण सेवा गुरुखोला बैतडीलाई ठेक्का दिइएको छ । ठेक्का सम्झौताअनुसार आगामी जेठ मसान्तभित्र राजमार्गमा रहेका खाल्डाखुल्डी पुर्ने, स्तरोन्नति गरी कालोपत्र गरी सक्नुपर्ने सडक डिभिजन कार्यालयका सूचना अधिकारी हरिशप्रसाद जोशीले बताउनुभयो ।

“राजमार्ग क्षेत्रमा खाल्डाखुल्डी हुँदा दुर्घटनाको जोखिम बढेको छ । सोको न्यूनीकरण गर्न र यात्रा सहज बनाउन पहल थालेका छौँ”, उहाँले भन्नुभयो, “सवारीसाधन गुडाउनका लागि हुने समस्या निराकरणका लागि पटके मर्मतको कार्य अगाडि बढाएका हौँ ।” राजमार्गलाई खाल्डाखुल्डीरहित बनाउने उद्देश्यले कार्य भइरहेको उहाँको भनाइ छ ।

राप्ती नदी क्षेत्रमा घडियाल गोहीको गुँड खोज्ने कार्य सुरू

चितवन, १६ चैत : चितवन राष्ट्रिय निकुञ्जले घडियाल गोहीको गुँड खोज्ने कार्य सुरू गरेको छ । राप्ती नदी क्षेत्रमा चैत १ गतेदेखि गुँड खोज्ने कार्य सुरू गरिएको हो ।
निकुञ्जका सूचना अधिकारी अविनास थापामगरका अनुसार अहिलेसम्म १४ वटा गुँड फेला परिसकेका छन् । वैशाख १० गतेसम्म चितवन निकुञ्जले दुई जना कर्मचारी खटाएर गुँड खोज्ने कार्य गरिएको छ । स्थानीय बोटे समुदायका व्यक्तिहरूले गोहीको गुँड खोज्ने कार्य गरिरहेका छन् । उनीहरूले गुँड खोजेर त्यसको रेखदेख गर्ने उहाँले बताउनुभयो । वैशाख १५ गतेपछि गोहीको अण्डा सङ्कलन गर्ने तयारी गरिएको उहाँ बताउनुभयो ।

गत वर्ष राप्ती नदीमा भेटिएका १६ वटा गुँडमध्ये आठ वटा गुँडका अण्डा निकालिएको थियो । दुई सय ४७ वटा अण्डा सङ्कलन गरी कोरलिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले गुँड खोजेपछि कतिवटा गुणको अण्डा निकाल्ने भन्ने तय गरिनेछ ।”

निकुञ्जले गोही प्रजनन केन्द्र स्थापना गरेर नदी किनारका जोखिमा रहेका गुँडबाट अण्डा सङ्कलन गरेर प्रजनन केन्द्रमा ल्याएर कोरल्ने गरिन्छ । कोरलिएका बच्चाहरु हुर्काएर पुनः विभिन्न नदीहरूमा छोड्ने गरिएको छ ।

यहाँ उत्पादन गरिएको घडियाल गोही चितवनको नारायणी, राप्ती, कर्णालीलगायतका नदीमा छाडिँदै आएको थियो । पछिल्लो समयमा राप्ती र नारायणीमा मात्रै छाड्ने गरिएको छ । सन् १९७८ मा प्रजनन केन्द्र स्थापना भएपछि गोहीको बच्चा हुर्काएर सन् १९८१ बाट नदीमा छाड्न थालिएको हो ।

तीनकुने क्षेत्रमा जारी गरेको कर्फ्यु आदेश स्थगन

काठमाडौँ, १६ चैतः स्थानीय प्रशासन ऐन, २०२८ को दफा (६)क बमोजिम काठमाडौँ प्रशासनले शुक्रबारदेखि तीनकुने क्षेत्रमा जारी गरेको कर्फ्यु आदेश आज बिहान ७ बजेदेखि स्थगन गरेको छ ।

काठमाडौँ महानगरपालिका तीनकुने आसपास चारकिल्ला तोकी जारी भएको आदेश आज बिहान ७ बजेदेखि स्थगन गरिएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले जानकारी दिनुभयो ।

सो सिमानाभित्र कसैले आवतजावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने गरी जारी गरिएको हिजो तीनकुनेमा भएको झडपपछि बानेश्वर तिनकुने क्षेत्र, गौशालादेखि एयरपोर्ट, गैरीगाउँ, तीनकुने हुँदै कोटेश्वरसम्म, कोटेश्वरदेखि जडीबुटी पुलसम्म, कोटेश्वरबाट बालकुमारी पुलसम्म, बानेश्वर चोकदेखि शङ्खमूल पुलसम्म, गौशाला चोकदेखि पुरानो बानेश्वर हुँदै नयाँबानेश्वर चोकसम्म कर्फ्यु आदेश जारी भएको थियो ।

दक्षिण कोरियामा डढेलो कारण मृत्यु हुनेको सङ्ख्या २६ पुग्यो

दक्षिण कोरियाको दक्षिणपूर्वी क्षेत्रहरूमा अहिलेसम्मकै सबैभन्दा भीषण डढेलो जारी रहँदा मृत्यु हुनेको सङ्ख्या २६ पुगेको छ भने अन्य ३० जना घाइते भएका छन् ।

केन्द्रीय प्रकोप र सुरक्षा उपाय मुख्यालयले गत शुक्रबारदेखि १० क्षेत्रमा मध्यम र ठूला आगलागी भएको बताएको छ, तीमध्ये अधिकांश ग्योङसाङ प्रान्तमा छन् । डढेलोका कारण कम्तिमा ३६ हजार नौ हेक्टर वन क्षेत्र प्रभावित भएको छ ।

डढेलोले सन् २००० मा २३ हजार ७९४ हेक्टर जमिन नष्ट भएको थियो । डढेलोका कारण आठ जना गम्भीर घाइते भएका थिए । मुख्यालयका अनुसार अधिकांश पीडित ६० वर्ष वा सोभन्दा माथिका थिए ।

घर, कारखाना र सांस्कृतिक सम्पदा जस्ता प्रभावित भवन र संरचनाहरूको सङ्ख्या बढेर ३२५ पुगेको छ, जबकि ३७ हजार भन्दा बढी मानिसहरू विस्थापित भएका छन् ।

तेज र सुख्खा हावाका कारण तिव्र गतिमा फैलिएको आगो नियन्त्रणका गर्न दमकलले प्रयास गरिएको थियो । हजारौं अग्नि नियन्त्रक साथै हेलिकप्टर जङ्गलको आगो निभाउन खटिएका छन् ।

भूकम्पका कारण म्यान्मा र थाइल्याण्डमा मृत्यु हुनेको सङ्ख्या १५० पुग्यो

म्यान्मा र थाइल्याण्डमा शुक्रबार गएको शक्तिशाली भूकम्पमा परी लगभग १५० जनाको मृत्यु भएको छ भने सयौं घाइते भएका छन् । दर्जनौं मानिस भत्किएका भवनहरूमा फसेका छन् । मृत्यु हुनेको सङ्ख्या बढ्ने अनुमान गरिएको छ ।

शुक्रबार दिउँसो सागिङ सहरको उत्तरपश्चिममा ७.७ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भीय सर्वेक्षणले जनाएको छ । केही मिनेटपछि सोही क्षेत्रमा ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो ।भूकम्पले म्यान्माका ठूला भागहरूमा भवन ध्वस्त भयो, पुल भत्किए, सडक भत्किए र सयौं किलोमिटर टाढा बैङ्ककमा निर्माणाधीन ३० तले गगनचुम्बी भवन पनि भत्कियो ।

यद्यपि प्रकोपको पूर्ण गम्भीरता अझै खुल्न सकेको छैन । गृहयुद्धबाट प्रभावित म्यान्माका नेताले अन्तर्राष्ट्रिय सहायताको लागि अपील गर्नुभयो ।जन्टाका प्रमुख मिन आङ ह्लिङले १४४ जनाको ज्यान गएको र ७३२ जना घाइते भएको बताउनुभयो । साथै, उहाँले मृत्यु हुनेको सङ्ख्या बढ्न सक्ने बताउनुभयो । थाइल्याण्डमा अहिलेसम्म तीन जनाको मृत्यु भएको पुष्टि भएको छ ।

“केही ठाउँमा, केही भवनहरू भत्किए,” राजधानी नेपिडावको एक अस्पतालको भ्रमणपछि टेलिभिजनमा सम्बोधन गर्दै उहाँले भन्नुभयो ।“म कुनै पनि देश, कुनै पनि संस्था वा म्यान्माका जो कोहीलाई पनि सहयोग गर्न आउन आमन्त्रित गर्न चाहन्छु । धन्यवाद ।”उहाँले विपत्तिपछि व्यापक राहत प्रयास गर्न आग्रह गर्नुभयो । “विदेशी सहायताको लागि सबै बाटो खोलिदिएको बताउनुभयो ।”

चैत्र कृष्ण औँसीःआज काठमाडौँ उपत्यकामा घोडेजात्रा पर्व मनाइँदै

काठमाडौँ, १६ चैतः चैत्र कृष्ण औँसीका दिन आज काठमाडौँ उपत्यकामा परम्परागत घोडेजात्रा पर्व मनाइँदैछ ।जनविश्वासअनुसार टुँडिखेलको पूर्व–दक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने गुरुमापा भन्ने राक्षसले शहरका बालबालिकालाई खाने गरेकाले पीडित स्थानीयवासीले विभिन्न उपायले त्यसलाई संहार गरे पनि उसको प्रेतात्मा फेरी जागा भई बालबालिकालाई अनिष्ट गर्नसक्ने भय तिनमा रहिरह्यो ।

यसैकारण प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन घोडेजात्रा गरी गुरुमापाको आत्मालाई घोडाको टापले कुल्चाएर दबाउने गरिएको हो । साथै शहरका कुनै पनि बालबालिकामाथि खतरा नहोस् भनी आजै राति त्यही रूखको फेदमा गुरुमापालाई खानेकुरा पनि दिइन्छ ।

नेपाली सेनाका तर्फबाट आजै टुँडिखेलमा अश्वकला, मोटरसाइकल खेल, शारीरिक व्यायाम, युद्धकलालगायतको प्रदर्शन गरिन्छ । आजकै दिन ललितपुरमा पनि एउटा कानो घोडा दौडाएर घोडेजात्रा मनाउने परम्परा छ ।