`

भूकम्पका कारण म्यान्मा र थाइल्याण्डमा मृत्यु हुनेको सङ्ख्या १५० पुग्यो

म्यान्मा र थाइल्याण्डमा शुक्रबार गएको शक्तिशाली भूकम्पमा परी लगभग १५० जनाको मृत्यु भएको छ भने सयौं घाइते भएका छन् । दर्जनौं मानिस भत्किएका भवनहरूमा फसेका छन् । मृत्यु हुनेको सङ्ख्या बढ्ने अनुमान गरिएको छ ।

शुक्रबार दिउँसो सागिङ सहरको उत्तरपश्चिममा ७.७ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भीय सर्वेक्षणले जनाएको छ । केही मिनेटपछि सोही क्षेत्रमा ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो ।भूकम्पले म्यान्माका ठूला भागहरूमा भवन ध्वस्त भयो, पुल भत्किए, सडक भत्किए र सयौं किलोमिटर टाढा बैङ्ककमा निर्माणाधीन ३० तले गगनचुम्बी भवन पनि भत्कियो ।

यद्यपि प्रकोपको पूर्ण गम्भीरता अझै खुल्न सकेको छैन । गृहयुद्धबाट प्रभावित म्यान्माका नेताले अन्तर्राष्ट्रिय सहायताको लागि अपील गर्नुभयो ।जन्टाका प्रमुख मिन आङ ह्लिङले १४४ जनाको ज्यान गएको र ७३२ जना घाइते भएको बताउनुभयो । साथै, उहाँले मृत्यु हुनेको सङ्ख्या बढ्न सक्ने बताउनुभयो । थाइल्याण्डमा अहिलेसम्म तीन जनाको मृत्यु भएको पुष्टि भएको छ ।

“केही ठाउँमा, केही भवनहरू भत्किए,” राजधानी नेपिडावको एक अस्पतालको भ्रमणपछि टेलिभिजनमा सम्बोधन गर्दै उहाँले भन्नुभयो ।“म कुनै पनि देश, कुनै पनि संस्था वा म्यान्माका जो कोहीलाई पनि सहयोग गर्न आउन आमन्त्रित गर्न चाहन्छु । धन्यवाद ।”उहाँले विपत्तिपछि व्यापक राहत प्रयास गर्न आग्रह गर्नुभयो । “विदेशी सहायताको लागि सबै बाटो खोलिदिएको बताउनुभयो ।”

चैत्र कृष्ण औँसीःआज काठमाडौँ उपत्यकामा घोडेजात्रा पर्व मनाइँदै

काठमाडौँ, १६ चैतः चैत्र कृष्ण औँसीका दिन आज काठमाडौँ उपत्यकामा परम्परागत घोडेजात्रा पर्व मनाइँदैछ ।जनविश्वासअनुसार टुँडिखेलको पूर्व–दक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने गुरुमापा भन्ने राक्षसले शहरका बालबालिकालाई खाने गरेकाले पीडित स्थानीयवासीले विभिन्न उपायले त्यसलाई संहार गरे पनि उसको प्रेतात्मा फेरी जागा भई बालबालिकालाई अनिष्ट गर्नसक्ने भय तिनमा रहिरह्यो ।

यसैकारण प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन घोडेजात्रा गरी गुरुमापाको आत्मालाई घोडाको टापले कुल्चाएर दबाउने गरिएको हो । साथै शहरका कुनै पनि बालबालिकामाथि खतरा नहोस् भनी आजै राति त्यही रूखको फेदमा गुरुमापालाई खानेकुरा पनि दिइन्छ ।

नेपाली सेनाका तर्फबाट आजै टुँडिखेलमा अश्वकला, मोटरसाइकल खेल, शारीरिक व्यायाम, युद्धकलालगायतको प्रदर्शन गरिन्छ । आजकै दिन ललितपुरमा पनि एउटा कानो घोडा दौडाएर घोडेजात्रा मनाउने परम्परा छ ।

यस्तो छ सागसब्जी र फलफूलको थोक मूल्य

काठमाडौँ, १६ चैतः कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो ।

गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ४०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ५०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु २०, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु २५, आलु रातो प्रतिकिलो रु ३५, आलु रातो (भारतीय) प्रतिकिलो रु ३५, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ५५, गाजर (लोकल) प्रतिकिलो रु ५०, गाजर (तराई) प्रतिकिलो रु ४०, बन्दा (लोकल) प्रतिकिलो रु १५, बन्दा (तराई) प्रतिकिलो रु १५, बन्दा (नरिवल) प्रतिकिलो रु २०, काउली (स्थानीय) प्रतिकिलो रु ४०, स्थानीय काउली (ज्यापु) प्रतिकिलो रु ५०, मूला रातो प्रतिकिलो रु ५०, मूला सेतो (लोकल) प्रतिकिलो रु १५, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु २०, भन्टा लाम्चो प्रतिकिलो रु ३५ तथा भन्टा डल्लो प्रतिकिलो रु ५०, तने बोडीको मूल्य प्रतिकिलो रु ८० कायम गरिएको छ ।

यसैगरी, मटरकोसा प्रतिकिलो रु ७०, घिउ सिमी (लोकल) प्रतिकिलो रु ७०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु ७०, घिउ सिमी (राजमा) प्रतिकिलो रु १००, टाटे सिमी प्रतिकिलो रु ७०, तितो करेला प्रतिकिलो रु १००, लौका प्रतिकिलो रु ५०, परबर (लोकल) प्रतिकिलो रु ९०, परबर (तराई) प्रतिकिलो रु ९०, चिचिण्डो प्रतिकिलो रु ९०, घिरौला प्रतिकिलो रु ८०, झिगुनी प्रतिकिलो रु ८०, फर्सी पाकेको प्रतिकिलो रु ५०, फर्सी हरियो (लाम्चो) प्रतिकिलो रु ३०, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु ३०, भिण्डी प्रतिकिलो रु १२० कायम गरिएको छ ।

यस्तै, सखरखण्ड प्रतिकिलो ७०, बरेला प्रतिकिलो रु ५०, पिँडालु प्रतिकिलो रु ९०, स्कूस प्रतिकिलो रु ४०, रायो साग प्रतिकिलो रु ८०, पालुङ्गो साग प्रतिकिलो ७०, चमसुरको साग रु ७०, तोरीको साग प्रतिकिलो रु ५०, मेथीको साग प्रतिकिलो रु ७०, प्याज हरियो प्रतिकिलो रु ५०, बकुला प्रतिकिलो रु ५०, तरुल प्रतिकिलो रु ९०, च्याउ (कन्य) प्रतिकिलो रु १२०, च्याउ (डल्ले) प्रतिकिलो रु २५० तथा कुरिलो प्रतिकिलो रु ६०० निर्धारण गरिएको छ ।

निगुरो प्रतिकेजी रु १२०, ब्रोकाउली प्रतिकिलो रु ५०, चुकुन्दर प्रतिकिलो रु ६०, सजीवन प्रतिकिलो रु २००, कोइरालो प्रतिकिलो रु १८०, रातो बन्दा प्रतिकिलो रु ५०, जिरीको साग प्रतिकिलो रु ६०, ग्याठकोभी प्रतिकिलो रु ६०, सेलरी प्रतिकिलो रु १५०, पार्सले प्रतिकिलो रु ३००, सौफको साग प्रतिकिलो रु ७०, पुदिना प्रतिकिलो रु ३००, गान्टे मूला प्रतिकिलो रु ७०, इमली प्रतिकिलो रु १७०, तामा प्रतिकिलो रु १००, तोफु प्रतिकिलो रु १२० र गुन्द्रुक प्रतिकिलो रु ३५० तोकेकोे छ ।

समितिले स्याउ (झोले) प्रतिकिलो रु २५०, स्याउ (फूजी) प्रतिकिलो रु ३५०, केरा (दर्जन) रु १६०, कागती प्रतिकिलो रु २५०, अनार प्रतिकिलो रु ३५०, अङ्गुर (हरियो) प्रतिकिलो रु २००, अङ्गुर (कालो) प्रतिकिलो रु २५०, भारतीय सुन्तला रु २५०, तरबुजा हरियो प्रतिकिलो रु ७०, मौसम प्रतिकिलो रु २००, जुनार प्रतिकिलो रु २००, भुइँकटहर प्रतिगोटा रु २००, काँक्रो (लोकल) प्रतिकिलो रु ७०, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु ३५, रुख कटहर प्रतिकिलो रु १००, निबुवा प्रतिकिलो रु ५०, नासपाती (चाइनिज) प्रतिकिलो रु २६०, मेवा (नेपाली) प्रतिकिलो रु ५०, मेवा (भारतीय) प्रतिकिलो रु १२०, अम्बा प्रतिकिलो रु १२०, लप्सी प्रतिकिलो रु १२०, उखु प्रतिगोटा रु १००, स्ट्रबेरी (भुइँऐसेलु) रु २५०, किबी प्रतिकिलो रु ४५० तथा आभोकाडो प्रतिकिलो रु ६५०, अमलाको मूल्य प्रतिकिलो रु १०० निर्धारण गरिएको छ ।

यसैगरी, अदुवा प्रतिकिलो रु १२०, खुर्सानी सुकेको प्रतिकिलो रु ४००, खुर्सानी हरियो प्रतिकिलो रु ६०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु ७०, खुर्सानी हरियो (माछे) प्रतिकिलो रु ९०, खुर्सानी हरियो (अकबरे) प्रतिकिलो २५०, भेडे खुर्सानी प्रतिकिलो रु १००, लसुन हरियो प्रतिकिलो रु ६०, हरियो धनिया प्रतिकिलो रु १००, लसुन सुकेको चाइनिज प्रतिकिलो रु ३२०, लसुन सुकेको नेपाली प्रतिकिलो रु ३००, छ्यापी सुकेको प्रतिकिलो रु १६०, छ्यापी हरियो प्रतिकिलो रु ६०, ताजा माछा (रहु) प्रतिकिलो रु ३२०, ताजा माछा (बचुवा) प्रतिकिलो रु २६०, ताजा माछा (छडी) प्रतिकिलो रु २४०, रुख टमाटर प्रतिकिलो रु १८०, राजा च्याउ प्रतिकिलो रु ३०० र सिताके च्याउको मूल्य प्रतिकिलो रु ८०० तोकेको छ ।

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, १६ चैतः नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिदर १३६ रुपैयाँ ४६ पैसा र बिक्रीदर १३७ रुपैयाँ ०६ पैसा कायम भएको छ ।

युरोपियन युरो एकको खरिदर १४६ रुपैयाँ ९९ पैसा र बिक्रीदर १४७ रुपैयाँ ६३ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिदर १७६ रुपैयाँ ४२ पैसा र बिक्रीदर १७७ रुपैयाँ १९ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १५४ रुपैयाँ ५१ पैसा र बिक्रीदर १५५ रुपैयाँ १९ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८५ रुपैयाँ ८६ पैसा र बिक्रीदर ८६ रुपैयाँ २४ पैसा, क्यानेडियन डलर एकको खरिदर ९५ रुपैयाँ २४ पैसा र बिक्रीदर ९५ रुपैयाँ ६६ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०१ रुपैयाँ ६६ पैसा र बिक्रीदर १०२ रुपैयाँ १० पैसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिदर नौ रुपैयाँ ०५ पैसा र बिक्रीदर नौ रुपैयाँ ०९ पैसा, चिनियाँ युआन एकको खरिदर १८ रुपैयाँ ७८ पैसा र बिक्रीदर १८ रुपैयाँ ८७ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ३८ पैसा र बिक्रीदर ३६ रुपैयाँ ५४ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ४४ पैसा र बिक्रीदर ३७ रुपैयाँ ६० पैसा कायम भएको छ ।

केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ०१ पैसा र बिक्रीदर चार रुपैयाँ ०३ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ १५ पैसा र बिक्रीदर ३७ रुपैयाँ ३२ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ ७५ पैसा र बिक्रीदर ३० रुपैयाँ ८९ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ २९ पैसा र बिक्रीदर नौ रुपैयाँ ३४ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १३ रुपैयाँ ५७ पैसा र बिक्रीदर १३ रुपैयाँ ६३ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ७० पैसा र बिक्रीदर १९ रुपैयाँ ७९ पैसा तोकिएको छ ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिदर १७ रुपैयाँ ५४ पैसा र बिक्रीदर १७ रुपैयाँ ६२ पैसा, कुवेती दिनार एकको खरिददर ४४२ रुपैयाँ ५१ पैसा र बिक्रीदर ४४४ रुपैयाँ ४५ पैसा, बहराइन दिनार एकको खरिददर ३६१ रुपैयाँ ९७ पैसा र बिक्रीदर ३६३ रुपैयाँ ५६ पैसा, ओमनी रियाल एकको खरिददर ३५४ रुपैयाँ ४६ पैसा र बिक्रीदर ३५६ रुपैयाँ ०२ पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।

राष्ट्र बैङ्कले यो विनिमयदरलाई आवश्यकता अनुसार जुनसुकै समयमा संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

दोषीमाथि कानुनी कारबाही गर्न पत्रकार महासङ्घको माग

काठमाडौँ, १६ चैत : राजसंस्थाको पुनःस्थापनाको माग राख्दै भएको भनिएको आन्दोलनमा सहभागी समूहले सञ्चार गृहमाथि भएको तोडफोडप्रति नेपाल पत्रकार महासङ्घले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

महासङ्घका महासचिव रामप्रसाद दाहालले शुक्रबार साँझ एक विज्ञप्तिमार्फत समाचार सङ्कलनका क्रममा एक सञ्चारकर्मीको  मृत्यु भएको, विभिन्न सञ्चार गृहको भवनमा आगो लगाइएको, हुलहुज्जत गरेर भवनभित्र प्रवेश गर्न नपाएपछि ढुङ्गा हानिएको तथा सवारीसाधन तोडफोड गर्ने र सञ्चारकर्मीलाई आतङ्कित तुल्याउने कार्य भएकामा गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्नुभएको छ ।

आगो लगाएको भवनको समाचार सङ्कलनको क्रममा जलेर एभिन्यूज टेलिभिजनका पत्रकार सुरेश रजकको मृत्यु भएको छ । त्यसैगरी तीनकुनेस्थित अन्नपूर्ण मिडिया ग्रुुपको भवनमा तोडफोड र आगजनी गरी क्षति पु-याइएको छ । कान्तिपुर टेलिभिजनको भवनमा जबरजस्ती प्रवेश गर्न खोज्दा सुरक्षाकर्मीले रोकेपछि ढुङ्गामुढा गरी समाचार कक्षसम्म आतङ्क सिर्जना गरिएको छ । हिमालयन टेलिभिजनको सवारीसाधन तोडफोड भएको जानकारी महासङ्घमा प्राप्त भएको विज्ञप्तिमा उल्लेख छ  ।

जनतालाई सुसूचित गराउने र विचार निर्माणमा सघाउने प्रेसजस्तो भरपर्दो सञ्चार संस्था र सञ्चारकर्मीको ज्यानै जाने गरी यसप्रकारको हमला हुनु घोर आपत्तिजनक, निन्दनीय र भत्र्सनायोग्य भएको महासङ्घको ठहर छ ।

“शान्तिपूर्ण प्रदर्शन गर्ने संवैधानिक अधिकारको महासङ्घ सदैव सम्मान गर्दछ । तर, आन्दोलनको नाममा सञ्चारकर्मीको ज्यानै जाने, प्रेसलाई आतङ्कित र त्रसित बनाउने कार्य किमार्थ स्वीकार गर्दैन”, विज्ञप्तिमा भनिएको छ, “यस्ता हर्कतमा संलग्न जो कोही भए पनि तत्काल कानुनी कठघरामा उभ्याउन महासङ्घ सरकारसँग जोडदार माग गर्दछ ।”

महासङ्घले क्षति पु-याइएका सञ्चारमाध्यमलाई क्षतिपूर्ति दिन, सञ्चार गृह र सञ्चारकर्मीको सुरक्षामा गम्भीर हुन आग्रह गरेको छ । महासङ्घले लोकतन्त्र र प्रेसविरोधी यस्ता क्रियाकलाप नदोहो¥याउन सम्बन्धित पक्षको ध्यानाकर्षण गराउन चाहने र यस प्रकारका हर्कत दोहोरिए त्यस विरुद्ध उत्रन बाध्य हुनेतर्फ सचेत गराएको छ । 

यसैबीच सञ्चारकर्मी रजकको जलेर निधन भएको  खबरले महासङ्घ स्तब्ध भएको उल्लेख छ । महासङ्घले  सो अमानवीय घटनाको गहिरो छानबिन गरी दोषीमाथि कानुनी कारबाहीको माग गरेको छ । मृतक पत्रकार रकजप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरिएको छ । 

नेपाल प्रेस यूनियन, प्रेस चौतारी नेपाल, प्रेस सेन्टर नेपाल, समाजवादी प्रेस सङ्गठनलगायत सञ्चार आवद्ध विभिन्न सङ्घ संस्थाले पनि आज भएको घटनाप्रति आपत्ति प्रकट गर्दै दोषीमाथि कारबाहीको माग गरेका छन् । स्वतन्त्र प्रेसको सम्मान गर्न, निर्वाध समाचार सङ्कलन गर्न दिन र सञ्चार गृह र सञ्चारकर्मीको सुरक्षामा गम्भीर हुन सम्वद्ध सबैलाई आग्रह गरेका छन् ।

आगजनी र तोडफोडको घटनाप्रति रास्वपाद्वारा भर्त्सना

काठमाडौँ, १६ चैत : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले लोकतन्त्रमा लोकतन्त्रकै विरोध गर्न पाउनु सबैभन्दा उदार र सुन्दर विशेषता रहेतापनि यस्तो आधारभूत मान्यताबाट पर गई शुक्रबार पूर्वराजाका समर्थकहरूबाट भएको आगजनी र तोडफोडको घटनाप्रति भर्त्सना गरेको छ ।

सो पार्टीका प्रवक्ता (कार्यवहाक) मनिष झाले भन्नुभएको छ, “शान्तिपूर्ण आन्दोलन संविधानले दिएको अधिकार मात्र हैन, लोकतन्त्रमा नागरिक सहभागिताको स्वीकृत विधि भएपनि अराजकता, मानवीय क्षति, निजी तथा सार्वजनिक सम्पत्तिमाथिको हमला, लुटपाट तथा आगजनी जस्ता घटनाप्रति घोर भर्त्सना गर्दछौँ ।” 

सो पार्टीले शुक्रबारको घटना भड्काउने र जनधनको क्षति गराउनेलाई कारबाहीको माग गर्दै आगामी दिनमा आन्दोलनरत पक्षलाई जिम्मेवार एवम् शान्तिपूर्णरुपमा प्रस्तुत हुन सचेत गराएको छ । 

आमजनताको सम्पत्तिको सुरक्षा गर्नु, संयमता अपनाई हिंसात्मक हुन सक्ने भीडलाई नियन्त्रण गर्नु सरकारको दायित्व भएको उल्लेख गर्दै सो पार्टीले प्रदर्शनको भिडियो खिचिरहेका एभिन्युज टेलिभिजनका पत्रकार सुरेश रजक र कीर्तिपुरका २९ वर्षीय सविन महर्जनको मृत्युप्रति गहिरो दुःख व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेको छ । 

राजावादी समूहले भक्तपुरतर्फ गइरहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक सन्तोष परियारले प्रयोग गरेको सरकारी गाडीसमेत बालकुमारीमा जलाइदिएको घटनाप्रति पार्टीले निन्दा गरेको छ । घाइते हुनुभएका सुरक्षाकर्मी तथा आन्दोलनकारीको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै स्थानीय प्रशासनद्वारा जारी सूचना अनुसार आ–आफ्नो स्थानमा सुरक्षित र अनुशासित रहन सबैमा सो पार्टीले अनुरोध गरेको छ । 

तीनकुने घटनाः दुईको मृत्यु, ५३ प्रहरी घाइते

काठमाडौँ, १६ चैतः जिल्ला प्रहरी परिसर काठमाडौँले तीनकुने क्षेत्रमा भएको मानवीय र भौतिक क्षतिको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
पूर्वराजाका समर्थकद्वारा तीनकुने क्षेत्रमा शान्तिपूर्ण प्रदर्शनको लागि पूर्वअनुमति लिई भएको प्रदर्शनका क्रममा निषेधित क्षेत्रसमेत तोडी निजी सम्पत्ति, अस्पताल, सञ्चारगृह, राजनीतिक दलका कार्यालय, व्यापारिक क्षेत्रलगायत यातायातका सवारी साधनमाथि तोडफोड भएको प्रहरीले जनाएको छ ।

प्रहरीले मानवीय र भौतिक क्षति भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै क्षतिको विवरणसमेत सार्वजनिक गरेको छ । तीनकुने घटनामा परी कीर्तिपुर–४ का सविन महर्जनको उपचारको क्रममा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा निधन भएको घोषणा गरिएको प्रहरीले जनाएको छ । तीनकुनेस्थित मार्बल हाउसमा सुरेश रजक मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । सो घटनामा परी नेपाल प्रहरीका ५३ जना, सशस्त्र प्रहरी बलका २२ र प्रदर्शनकारीतर्फ ३५ जना घाइते भएका थिए ।

यसैगरी नौ वटा सरकारी सवारी साधन, छ वटा सरकारी वा निजी नखुलेका सवारी साधनमा आगजनी भएको छ । विभिन्न १४ स्थानमा आगजनी भएको, नौ वटा संस्थामा तोडफोड र एक स्थानमा लुटपाट भएको जिल्ला प्रहरी परिसर प्रहरी उपरीक्षक अपीलराज बोहराले जानकारी दिनुभयो ।

ढुक्कसँग परीक्षामा सहभागी हुने वातावरण बनाइदिन आग्रह

काठमाडौँ, १६ चैत : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले माध्यमिक शिक्षा परीक्षामा सम्मिलित परीक्षार्थीलाई ढुक्कसँग परीक्षामा सहभागी हुने वातावरण बनाइदिन सम्बन्धित सबै निकायसँग आग्रह गरेको छ ।

मन्त्रालयका सहसचिव एवम् प्रवक्ता शिवकुमार सापकोटाद्वारा शुक्रबार साँझ प्रकाशित विज्ञप्तिमा परीक्षा जस्तो संवेदनशील शैक्षिक गतिविधिलाई शान्तिपूर्ण र भयरहीत वातावरणमा सञ्चालन हुन दिनु देशका सम्पूर्ण नागरिकको कर्तव्य रहेको उल्लेख गरिएको छ । 

सो परीक्षामा पाँच लाख १४ हजार ७१ जना विद्यार्थी सम्मिलित  छन् । परीक्षा निरन्तर सञ्चालनमा छ । साथै, विश्वविद्यालयका विभिन्न अध्ययन संस्थान तथा संकायबाट स्नातक तहका हजारौँ विद्यार्थी सम्मिलित परीक्षा सञ्चालन भइरहेको छ । 

लाखौँ विद्यार्थीको भविष्य निर्माणको एउटा महत्त्वपूर्ण कडीका रुपमा रहेको परीक्षालाई निर्वाध सञ्चालन गराउने वातावरण बनाउन मन्त्रालयले आग्रह गरेको हो । “लाखौँ विद्यार्थीको अधिकारलाई उपभोग गर्ने सहज वातावरण बनाइदिन सम्बन्धित सबै निकाय, शिक्षण संस्था, शिक्षक समुदाय, अभिभावक र आम समुदायलाई मन्त्रालय हार्दिक आग्रह गर्दछ”, जारी विज्ञप्तिमा भनिएको छ । 

आजको मौसम : यी प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौँ, १६ चैत : हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेकोे छ । हाल कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागको एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा हुनाका साथै उक्त प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज राति लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

कोशी र गण्डकीको पहाडी भूभागको एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको साथै उक्त प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकाले यसबाट पर्न सक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

तोडफोड, हिंसा र अराजकताको निन्दा गरौँः कांग्रेस

काठमाडौँ, १५ चैत- नेपाली कांग्रेसले सङ्घीय राजधानीको तीनकुनेलगायत केही स्थानमा आज शान्तिपूर्ण प्रदर्शनका नाममा भएका हिंसात्मक घटनाको निन्दा गरेको छ । कांग्रेसले आज विज्ञप्तिमार्फत व्यक्तिको घर, मिडिया हाउस, पार्टी कार्यालय, सपिङ मल, सरकारी कार्यालय, सर्वसाधारणको सवारीसाधन आदिमा भएको तोडफोड र आगजनीलाई गम्भीरतापूर्वक लिएको जनाएको छ ।

“लोकतान्त्रिक गणतन्त्रको स्थापना ०६२/६३ को जनआन्दोलनबाट सोझै भएको होइन, आन्दोलनले केवल प्रतिनिधिसभा पुनःस्थापित गरेको थियो । संसद्मार्फत अन्तरिम संविधान हुँदै संविधानसभाको निर्वाचन र त्यो निर्वाचनबाट चुनिएका जनताका प्रतिनिधिहरूको संविधानसभाको पहिलो बैठकले देशलाई गणतन्त्रमा लगेको थियो । यो वास्तविकतालाई आजको मितिमा हामी स्मरण गर्न र गराउन चाहन्छौँ”, विज्ञप्तिमा उल्लेख छ ।

कांग्रेस महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले संयुक्त विज्ञप्तिमार्फत नागरिकमा रहेका कयौँ असन्तुष्टिको हल वर्तमान संविधानभित्रैबाट सम्भव रहेको उल्लेख गर्दै नागरिकको भावना दृष्टिगत गरेर निरन्तरतामा नवीनता दिन दृढ ढङ्गले प्रतिबद्ध रहेको उल्लेख गर्नुभएको छ ।

कांग्रेसले कमजोरीको निदान खोज्न र समाधान पहिल्याउन दृढ रहेको उल्लेख गर्दै समाजले अपेक्षा गरेका परिवर्तनका सबै आकाङ्क्षा सम्बोधन यही संविधानको दायराभित्रैबाट क्रमशः गर्न सकिने जनाएको छ । “लोकतन्त्रको विकल्प अझ समुन्नत लोकतन्त्र हो, कुनै पनि प्रकृतिको राजतन्त्र एक्काइसौँ शताब्दीको सचेत नेपालीका लागि विकल्प किमार्थ हुन सक्दैन । कांग्रेस सबै राजनीतिक दललाई यसमा स्पष्ट ढङ्गले उभिन अपिलसमेत गर्दछ”, विज्ञप्तिमा उल्लेख छ ।

हिंसात्मक प्रदर्शनका कारण जीवन गुमाउनेप्रति कांग्रेसले श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको उपचारमा ध्यान दिन सरकारलाई आग्रह गरेको छ । साथै कांग्रेसले हिंसा भड्काउने र हिंसामा सामेल हुने व्यक्तिहरूलाई कडा कानुनी कारबाहीको दायरामा अविलम्ब ल्याउन आग्रह गर्दै समस्त नेपालीमा संयम र एकताका लागि अपिलसमेत गरेको छ ।

प्रमुख सचेतक परियारको गाडीमा आगजनी

काठमाडौँ, १५ चैत : पूर्वराजाका समर्थकहरूले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक सन्तोष परियार चढेको गाडी जलायका छन् ।

आज संसद्को काम कारबाही सकेर घर फर्कने क्रममा बालकुमारीमा राजावादीहरूले गाडी जलाइदिएको सचेतक परियारले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “भक्तपुरस्थित घर फर्किँदै गर्दा बालकुमारीस्थित सिसीआरसी कलेज अगाडि पुगेपछि राजावादी प्रदर्शनमा संलग्न भएका व्यक्तिहरूले रोकेर गाडी जलाइ दिएका छन् ।” उनीहरूले परियार चढेको १३८२ नम्बरको गाडी जलाई दिएका हुन् ।

पश्चगमनका दुष्प्रयासका विरुद्ध गोलबन्द हुन एमालेको आह्वान

काठमाडौँ, १५ चैत : नेकपा (एमाले) ले सबै राजनीतिक दल पश्चगमनका दुष्प्रयासका विरुद्ध गोलबन्द हुन आह्वान गरेको छ ।

एमालेका महासचिव शङ्कर पोखरेलले आज विज्ञप्ति जारी गर्दै सबै राजनीतिक दल, नागरिक समाज र आमनेपाली जनतालाई लोकतन्त्रका पक्षमा र पश्चगमनका दुष्प्रयासका विरुद्ध गोलबन्द हुन आह्वान गर्नुभएको छ ।

एमालेले आज पूर्वराजावादीहरूको अराजक समूहले काठमाडौँको तीनकुने, कोटेश्वर र जडिबुटी क्षेत्रमा देखाएको उडण्डता, अराजकता र हिंसाको घोर भ्रत्र्सना गरेको छ । एमाले महासचिव पोखरेलले आजका आपराधिक क्रियाकलापमा सङ्लग्नलाई तत्काल कानुनी दायरामा ल्याउन र शान्ति सुरक्षाको प्रभावकारी प्रबन्ध गर्न सरकारसँग माग गर्नुभएको छ ।

“शान्तिपूर्ण प्रदर्शनका नाममा सुरक्षा घेरा तोड्ने, सुरक्षाकर्मीमाथि आक्रमण गर्ने, हतियार खोस्ने, सर्वसाधारण नागरिकका घर, व्यावसायिक भवन, सञ्चार गृह, राजनीतिक दलका कार्यालय र सरकारी भवन माथि आगजनी गर्ने, लुटपाट गर्ने, जानी–जानी हिंसा र आतङ्कलाई दुरुत्साहन गर्ने तथा मुलुकको लोकतान्त्रिक प्रणालीलाई बिथोलेर अराजकतातिर धकेल्ने यस्ता आपराधिक क्रियाकलाप निन्दनीय छन्,”, महासचिव पोखरेलले जारी गर्नु भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

उहाँले एमाले लोकतान्त्रिक गणतन्त्र र नेपालको संविधानको रक्षाका लागि दृढतापूर्वक उभिने सङ्कल्प समेत गरेको बताउनु भएको छ ।

पुनर्उत्थानवादी समूहले भवनका सिसा, फर्निचर तोडफोड गरी महत्त्वपूर्ण कागजात जलाएका छन् : महासचिव भुसाल

काठमाडौँ, १५ चैत : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले राजावादीहरूले शान्तिपूर्ण प्रदर्शनका नाममा सर्वसाधारण नागरिकका घर, व्यावसायिक भवन, सञ्चार गृह, राजनीतिक दलका कार्यालयमा गरेको तोडफोड तथा आगजनीको निन्दा गरेको छ ।

यहाँ आज आयोजित पत्रकार सम्मलेनमा पार्टीका महासचिव घनश्याम भुसालले अराजक समूहले सरकारी भवनमाथि आगजनी गर्ने, लुटपाट गर्ने, हिंसा र आतङ्क फैलाउन गरेको कार्य आपत्तिजनक रहेको बताउनुभयो ।

पुनर्उत्थानवादी समूहले आफ्नो केन्द्रीय तथा काठमाडौँ जिल्ला कार्यालयमा आक्रमण गरी तोडफोड र आगजनी गरेको भन्दै उहाँले आफ्नो पार्टी कार्यालयभित्र उनीहरू प्रवेश गरी भवनका सिसा, फर्निचर तोडफोड गरी महत्त्वपूर्ण कागजात जलाएको जानकारी दिनुभयो ।

पार्टीको सुरक्षाका लागि सम्बन्धित सुरक्षा निकायलाई बिहानदेखि खबर गर्दा पनि उनीहरू त्यस विषयमा संवेदनशील नभएकाले घटना हुन पुगेकामा उहाँले दुःख व्यक्त गर्नुभयो ।

महासचिव भुसालले मुलुकको लोकतान्त्रिक प्रणाली बिथोलेर अराजकतातिर धकेल्ने आपराधिक क्रियाकलापविरुद्ध सबै परिवर्तन पक्षधर एकजुट हुनुपर्नेमा जोड दिनुभयो ।

चलचित्र बोर्ड सदस्यमा चलचित्रकर्मी लोहनी नियुक्त

काठमाडौँ, १५ चैतः सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले चलचित्र विकास बोर्डको नयाँ सदस्यका रूपमा अभिनेता एवं निर्देशक सन्तोषबाबु लोहनीलाई नियुक्त गरेको छ ।

यही चैत ६ गतेदेखि बोर्डमा दुई सदस्यको कार्यकाल सकिएपछि रिक्त रहेको पदमा मन्त्रालयले चैत १४ गते बिहीबार चलचित्रकर्मी लोहनीलाई उक्त पदमा नियुक्त गरेको हो ।

विसं २०४९ मा निर्माण भएको चलचित्र ‘अपमान’ मा अभिनय गरेर कलाकारिता सुरु गर्नुभएका लोहनी निर्देशन तथा निर्माणमा सक्रिय हुनुहुन्छ । बोर्डको सदस्यमा नियुक्त भएसँगै उहाँले चलचित्रको प्रवर्द्धन, नीति निर्माण र डिजिटल माध्यममार्फत विश्वव्यापी प्रचारप्रसारका लागि कार्य गर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “मैले पाएको अवसरलाई मेरो अनुभवका आधारमा सदुपयोग गर्नेछु । बोर्डको एक समितिमा रहेर काम गरिरहेको अवस्थामा सञ्चालक समितिको सदस्य बनेसँगै आगामी दिनमा चलचित्र क्षेत्रको विकास र प्रवर्द्धनमा योजनाबद्ध रूपमा काम गर्नेछु ।”

यसअघि उहाँ बोर्डअन्तर्गत अन्तरराष्ट्रिय चलचित्र प्रवर्द्धन समितिको सदस्य पनि हुनहुन्छ । बोर्डका अध्यक्ष दिनेश डिसीले नवनियुक्त सदस्य लोहनीलाई शुभकामना दिँदै उहाँको अनुभव र योगदान चलचित्र विकासका लागि महत्त्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभयो । नवनियुक्त सदस्य लोहनीको कार्यकाल दुई वर्षको रहनेछ ।

प्राधिकरणका कार्यकारी निर्देशक शाक्यको निवेदनमा लिखित जवाफ माग

काठमाडौँ, १५ चैत : सर्वोच्च अदालतले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले दायर गर्नुभएको रिट निवेदनमा लिखित जवाफ माग गरेको छ ।

न्यायाधीश अब्दुल अजीज मुसलमानको एकल इजलासले आज लिखित जवाफ माग गर्दै यही चैत १७ गते अन्तरिम आदेश जारी गर्ने वा नगर्ने भन्ने विषयमा छलफलका लागि बोलाउने आदेश गरेको छ ।

“यसमा के–कसो भएको हो ? निवेदकको मागबमोजिम आदेश किन जारी हुन नपर्ने हो ? मागबमोजिमको आदेश जारी हुनु नपर्ने कुनै आधार, कारण र प्रमाण भए सबुद प्रमाणसहित म्याद सूचना तामेल भएका मितिले बाटोको म्यादबाहेक १५ दिनभित्र महान्यायाधिवक्ता कार्यालयमार्फत लिखित जवाफ पेस गर्नु”, आदेशमा भनिएको छ ।

आदेशमा उक्त निवेदनमा सुनुवाइ प्राथमिकतासहित अग्राधिकार दिई नियमानुसार पेस गर्नुका साथै प्रस्तुत विवादसँग सम्बन्धित मिसिल कागज प्रमाणहरू महान्यायाधिवक्ताको कार्यालयमार्फत छलफल पेशीका दिन लिई आउनु भनिएको छ ।

रिट निवेदनमा आफ्नो सेवाको शर्तअन्तर्गत मन्त्रिपरिषद्ले निर्धारण गरेको चार वर्षको पदावधिलाई सम्झौताको दफा ३.१ मा २०७७ माघ २९ गतेदेखि २०८१ माघ २८ सम्म कायम गरेको भन्दै त्यसको न्याय निरुपण नगरी थप प्रक्रिया अघि नबढाउन माग गरिएको छ ।

निवेदनपत्रमा शाक्यले २०७८ साउन २७ गते ‘इमेल’को माध्यमबाट प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हटाई जल तथा ऊर्जा आयोगको ऊर्जा विशेषज्ञ सदस्य पदमा नियुक्त गरिएको उल्लेख छ ।

निवेदनमा भनिएको छ, “मन्त्रिपरिषद्को २०७८ साउन २५ को निर्णयानुसार नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदमा खाईपाई आएसरहको पारिश्रमिक तथा सुविधा उपलब्ध गराउने गरी नेपाल विद्युत् प्राधिकरणबाट जल तथा ऊर्जा आयोगको ऊर्जा विशेषज्ञ सदस्य पद (नेपाल सरकारको विशिष्ट श्रेणीसरह)मा पूरा समय काम गर्नेगरी चार वर्षका लागि नियुक्ति गरिएको थियो ।”

अदालतले उक्त विवादमा २०७८ भदौ ८ मा मिसिलसमेत झिकाउने आदेश गरेको थियो । साथै २०७८ साल असोज ५ मा सुनुवाइ हुँदा अन्तरिम आदेश जारी गर्नु परेन भनी आदेश भएको थियो । त्यसपछि उक्त मुद्दाको सुनुवाइका लागि २०७७ जेठ १ देखि २०८१ माघ २१ सम्म पटकपटक पेसी सूचीमा चढेकामा हेर्न नभ्याएको तथा बेच्न नबसेको जस्ता कारणबाट सुनुवाइ हुनसकेको थिएन ।

रिट निवेदनमा पदमा रही कार्य गरेबापत प्राप्त हुने आर्थिक लाभसमेतबाट वञ्चित भएको पनि उहाँले उल्लेख गर्नुभएको छ । रिट निवेदनमा भनिए

अवरुद्ध त्रिभुवन विमानस्थलको उडान सञ्चालन

काठमाडौँ, १५ चैतः आन्तरिक तथा वाह्य उडान अवरुद्ध भएको त्रिभुवन अन्तराराष्ट्रिय विमानस्थलमा अहिले नियमित उडान सञ्चालन भएको छ ।

विमानस्थल आसपासका क्षेत्रमा पूर्वराजाका सर्मथकहरूले सवारीसाधन, कार्यालयलगायत भौतिक संरचनामा आगजनी गरेकाले अवरुद्ध बनेको विमानस्थलको उडान अहिले सञ्चालन भएको विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले राससलाई जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “आगजनीका कारण उडान अवतरण करिब ४५ मिनेट अवरुद्ध भएको थियो । अहिले सामान्य भएपछि आन्तरिक तथा बाह्य उडान नियमित रूपमा सञ्चालन भइरहेका छन् ।”

प्रदर्शनकारीले विमानस्थल क्षेत्र आसपास आगो लगाएपछि सुरक्षाको कारण देखाउँदै जहाज उडान तथा अवतरण रोकिएको थियो । उडान अवतरण अवरुद्ध भएको समयमा आएका जहाजहरू भैरहवा, पोखरा र विराटनगरका विमानस्थलमा ‘डाइभर्ड’ गरिएको बताउँदै निरौलाले अहिले सबै जहाजहरू त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण गरिरहेका जानकारी दिनुभयो ।

राष्ट्रियसभाको बैठक १७ गतेका लागि सर्‍यो

काठमाडौँ, १५ चैत : राष्ट्रियसभाको बैठक यही चैत १७ गते ११ः१५ मा बस्ने भएको छ । दिउँसो १ बजेर १५ मिनेटको समयमा तोकिएको बैठक ढिला गरी सुरु भएको थियो । बैठक सुरु हुने वित्तिकै प्रतिपक्षी दलको अवरोधपछि आज अपराह्न ३ः३० बजे बस्ने गरी सूचनाद्वारा निर्धारण गरिएको थियो ।

सोही समयमा बैठक विशेष कारणवश तोकिएको समयमा बस्न नसक्ने भएपछि संसद् सचिवालयले बैठक सरेको सूचना जारी गरेको हो । सूचनामा भनियको छ, “राष्ट्रियसभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम सम्माननीय अध्यक्षले मिति २०८१ साल चैत १७ गते आइतबार बिहान ११ः१५ बजे बस्ने गरी निर्धारण गर्नुभएको व्यहोरा माननीय सदस्यको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ ।”

अन्नपूर्ण आरोहणका लागि ४२ जनाले अनुमति लिए

म्याग्दी, १५ चैतः वसन्तयाममा अन्नपूर्ण प्रथम हिमाल आरोहरणका लागि ४२ जनाले अनुमति लिएका छन् । आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमाल म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको भूगोलमा पर्दछ । वसन्तयामका लागि चार समुहका ३० पुरुष र १२ जना महिलाले अन्नपूर्ण आरोहणका लागि अनुमति लिएका पर्यटन विभागका निर्देशक आरती न्यौपानेले जानकारी दिनुभयो ।

उहाँका अनुसार वसन्तयामका लागि हालसम्म नेपालका पाँच वटा हिमाल आरोहरण गर्न ५८ जनाले अनुमति लिएकामा सबैभन्दा बढी अन्नपूर्ण आरोहण गर्नेहरू छन् । अघिल्लो वर्षभन्दा यो वर्ष अन्नपूर्ण आरोहण गर्न अनुमति लिने आरोहीहरू बढेका छन् ।

अन्नपूर्ण हिमाल आरोहण अनुमति दिएबापत विभागले रु एक करोड ४७ लाख नौ हजार चार सय २० शुल्क सङ्कलन भएको विभागका निर्देशक न्यौपानेले जानकारी दिनुभयो । उहाँका अनुसार अघिल्लो वर्षको वसन्तयाममा २५ जनाले अनुमति लिँदा रु ५९ लाख ६१ हजार सात सय ८० शुल्क सङ्कलन भएको थियो । 

अनुमति लिएका आरोहीहरू आधार शिविर पुग्न थालेका अन्नपूर्ण आधार शिविर र मौरिस हर्जोज पदमार्गका अभियन्ता तेज गुरुङले बताउनुभयो । अन्नपूर्ण आरोहणका लागि योयाम उपयुक्त मानिन्छ । उहाँका अनुसार अन्नपूर्णको हालसम्म चार सय ८८ जनाले सफल आरोहण गरेका छन् । 

आरोहणको ७५ वर्ष पूरा भएको अवसरमा आगामी जेठ २० गते अन्नपूर्ण गाउँपालिकाले अन्नपूर्ण आधार शिविरमा विशेष कार्यक्रमको तयारी गरेको पालिका कार्यालयले जनाएको छ । 

सन् १९५० मा फ्रान्सका मौरिस हर्गोजले अन्नपूर्णमा पहिलो पटक आरोहण गर्नुभएको थियो । मौरिसले अन्नपूर्ण आरोहण गरेको तीन वर्षपछि सन् १९५३ मा सर एडमण्ड हिलारी र तेन्जिननोर्गे शेर्पाले सर्वोच्च शिखर सगरमाथाको आरोहण गर्नुभएको थियो । 

सार्वजनिक तथा निजी सम्पत्तिमाथि आक्रमण गर्नेलाई कारबाही गर्न समाजवादी मोर्चाको माग

काठमाडौँ, १५ चैत : समाजवादी मोर्चा नेपालले प्रदर्शनका नाममा सार्वजनिक तथा निजी सम्पत्तिमाथि आक्रमण गर्ने आपराधिक तत्वलाई यथाशीघ्र कडाभन्दा कडा कारबाही गर्न सरकारसँग माग गरेको छ ।

मोर्चाले आज विज्ञप्ति जारी गर्दै राजनीतिक दलको कार्यालय र नागरिकको जनधनको सुरक्षा गर्न सरकारको ध्यानाकर्षण गराएको हो । मोर्चाले यस प्रकारका उच्शृङ्खल र अराजककार्यको भत्र्सना र निन्दा गरेको छ ।

राजधानीमा आयोजना गरेको जनप्रदर्शनबाट अत्तालिएका यथास्थितिवादी तत्वले नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को केन्द्रीय, काठमाडौँ जिल्ला कार्यालय, अध्यक्ष माधवकुमार नेपालका भाइ सरोजको निजी निवास, निजी तथा सार्वजनिक सम्पत्ति र सञ्चार गृहमा तोडफोड तथा आगजनी गरेको मोर्चाले जनाएको छ ।

मोर्चाले प्रतिगामी षड्यन्त्रका विरुद्ध तथा गणतन्त्रको संवर्द्धन र राष्ट्रिय स्वाधिनताको संरक्षणका लागि आज आयोजित जनप्रदर्शनमा उल्लेख्य नागरिकको सहभागिताका लागि आभार प्रकट गरेको छ । मोर्चामा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी), नेपाल कम्युनिष्ट पार्टी र नेपाल समाजवादी पार्टी आबद्ध छन् ।

एकीकृत समाजवादीद्वारा घटनाको छानबिनको गरी दोषीलाई कारबाहीको माग

काठमाडौँ, १५ चैत : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले केन्द्रीय कार्यालयमा गरिएको तोडफोड तथा आगजनीको छानबिनको माग गरेको छ ।पार्टीका उपाध्यक्ष एवं केन्द्रीय प्रचार विभाग प्रमुख प्रकाश ज्वालाले आगलागी तथा तोडफोडप्रति दुःख व्यक्त गर्दै घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाहीको माग गर्नुभयो । उहाँले भौतिक संरचना तोडफोड तथा हिंसात्मक कार्यको निन्दा गर्दै प्रारम्भिक चरणको छानबिन सुरू गरिएको बताउनुभयो । उक्त घटनाबाट भएको नोक्सान तथा क्षतिको विवरण सङ्कलन सुरु गरिएको छ ।

विभिन्न धार्मिक सङ्घसंस्था तथा राजावादी समर्थकहरूले हिन्दू राष्ट्र पुनःस्थापनालगयत माग गर्दै जुलुस प्रदर्शन तथा आन्दोलनका क्रममा तीनकुनेमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएपछि आक्रोशित बनेको आन्दोलनकारीको भीडले एकीकृत समाजवादीको पार्टी कार्यालय तोडफोड गरेको हो । आलोकनगरस्थित कार्यालयमा आन्दोलनकारीले तोडफोडका क्रममा गरेको आगजनी सुरक्षाकर्मीलगायत सहयोगमा निभाइएको छ ।

स्कारपिओ दुर्घटना हुँदा मृत्यु भएका चारै जनाको सनाखत

तुलसीपुर (दाङ), १५ चैतः तुलसीपुरबाट भारतमा तीर्थयात्राका लागि गएको स्कारपिओ दुर्घटना हुँदा मृत्यु भएका चारै जनाको सनाखत भएको छ ।
दुर्घटनामा तुलसीपुर–७ श्रीगैँ निवासी ८५ वर्षीय जयबहादुर वली र ८३ वर्षीया धनमाया वली, तुलसीपुर–४ गोठीखोला निवासी ७५ वर्षीय परवीर खत्री र गाडी चालक तुलसीपुर–७ पर्सेनी निवासी ३७ वर्षीय युवराज चापागाईँको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक सूर्य रानाले जानकारी दिनुभयो ।

बिहीबार बिहान तुलसीपुरबाट छुटेको भारतीय नम्बर प्लेटको युपी ३१ एसी ७२०० नम्बरको स्कारपियो गाडी भारतको तुलसीपुरमा दुर्घटनामा परेको हो । प्रहरीका अनुसार दुर्घटनामा पाँच जना गम्भीर घाइते भएका छन् भने दुई जना समान्य छन् ।    गाडीमा सवार सबै यात्रु तुलसीपुरका रहेका जनाउँदै प्रहरी निरीक्षण्क रानाले मृतकको शवलाई नेपाल ल्याउने तयारी गरिएको बताउनुभयो ।

रसुवागढी नाकाबाट सवारी साधन भित्रिनेक्रम बढ्दो, आठ महिनामा चार हजारभन्दा बढी चिनियाँ गाडी भित्रिए

रसुवा, १५ चैतः उत्तरी नाका रसुवागढीबाट आर्थिक वर्ष २०८१÷८२ को साउनदेखि फागुन मसान्तसम्म चार हजारभन्दा बढी चिनियाँ सवारीसाधन नेपाल भित्रिएका छन् । रसुवा भन्सार कार्यालयका सूचना अधिकारी रवीन्द्र प्याकुरेलका अनुसार साउनदेखि फागुनसम्म आठ महिनामा चार हजार छ सय ३७ वटा सानाठूला सवारीसाधन भित्रिएका हुन् ।

आयातित सवारीसाधनमा विशेषगरी विद्युतीय कार, भ्यान, माइक्रोबस तथा इन्धनबाट चल्ने गाडी छन् । सो नाकाबाट गत आव २०८०÷८१ मा सात हजार तीन सय ७७ वटा सवारीसाधन नेपाल भित्रिएको भन्सार कार्यालयले जनाएको छ ।

यसैबीच रसुवागढी हुँदै नेपाल भित्रिएका तर नियमानुसार कानुनी प्रक्रिया पूरा गर्न बाँकी रहेका कैयौँ सवारीसाधन नाका नजिकैको टिमुरेस्थित खुला स्थानमा पार्किङ गरी राखिएका छन् । भन्सार छुटाउन सवारीसाधन धनी नआएका कारण सरकारी सुरक्षा घेराभित्र सयौँ सवारीसाधन लामबद्ध गरी राखिएको टिमुरे प्रहरी कार्यालयले स्पष्ट गरेको छ ।

आयात गरिएका सवारीसाधनसहित अन्य सामानको तोकिएको ढाँचामा रसुवागढीस्थित टिमुरे भन्सार कार्यालयलाई ‘घोषणापत्र’ नबुझाएसम्म कार्यालयमा अभिलेख नरहने सूचना अधिकारी प्याकुरेलले बताउनुभयो । घोषणापत्रको अभावमा बरबुझारथ हुन नसक्दा सवारीसाधनको विषयमा एकीन तथ्याङ्क बताउन नसकिने भन्सार कार्यालयको भनाइ छ ।

सवारी साधनका अतिरिक्त स्याउ, कालो अङ्गुर, ड्रागन फ्रुट, किवी, हलुवाबेद, खजुर, आँप, सुन्तलालगायत फलफूल, मसलाजन्य वस्तु, चकलेट, बिस्कुट, नुडल्स फुड, लत्ताकपडा, पेय पदार्थलगायत सामगी चीनतर्फबाट आयात हुने गरेको भन्सार कार्यालयले स्पष्ट गरेको छ ।

गत साउनदेखि फागुनसम्म आठ महिनामा आयात–निर्यातबाट रु १९ अर्ब १४ करोड २० लाख राजस्व सङ्कलन भएको प्रमुख भन्सार अधिकृत तुलसीप्रसाद भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार रसुवागढी भन्सार कार्यालयमा अहिले छ जना अधिकृतसहित ४३ कर्मचारी कार्यरत छन् ।

यसैबीच टिमुरेस्थित भन्सार कर्मचारीहरूले पहराको फेदमा जोखिम मोलेर काम गर्ने कर्मचारीलाई आवासको व्यवस्था नभएको र तोकिएको समयभन्दा बढी अवधि कार्यालयमा काम गर्दा अतिरिक्त सेवा–सुविधाको व्यवस्था नभएको गुनासो गर्नुभएको छ ।

सुनको मूल्य हालसम्मकै उच्च, तोलाको एक लाख ७६ हजार दुई सय पुग्यो

काठमाडौँ, १५ चैत : सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ ।बिहीबार प्रतितोला रू एक लाख ७४ हजार आठ सयमा कारोबार भएको सुन आज एक हजार चार सय बढेर तोलामा रू एक लाख ७६ हजार दुई सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस तीन हजार ७३ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।   त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला रू २० बढेर रू दुई हजार ४० कायम भएको छ 

एकता महाधिवेशन संस्था सुधार गर्ने अवसर हो : उच्चस्तरीय समिति अध्यक्ष घले

काठमाडौँ – सर्वोच्च अदालतको परमादेशबाट गठित उच्चस्तरीय समितिका अध्यक्षसहितको टोली एकताको अधिवेशन सफल बनाउने उद्देश्यका साथ विभिन्न एनसीसीहरुको भ्रमणमा रहेको छ ।

समितिका संयोजक डा. शेष घले नेतृत्वको टोलीले मध्यपूर्वको युएई, बेलायत, बेल्जियम, डेनमार्क, पोर्चुगल लगायतका देशमा एनसीसीहरुले गरेको कार्यक्रममा मे ३–५ को अधिवेशनको बारेमा जानकारी गराएको छ । सुरुमा युएईमा आयोजित कार्यक्रममा सहभागी भएको टोली त्यसपछि बेलायत, डेनमार्क, बेल्जियम हुँदै पोर्चुगल पुगेको हो ।

एनसीसीहरुद्वारा आयोजित अन्तरक्रियालाई सम्बोधन गर्दै अध्यक्ष घलेले उच्चस्तरीय समितिका १३ जना सबैको उत्तिकै अधिकार भएको बताए । उनले अदालतको फैसला कार्यान्वयन गर्ने काम परराष्ट्र मन्त्रालयको भएको पनि प्रस्ट पारे । ‘हामीले नेपालमा गएर नयाँ विधान बनाउने हो । एनआरएनएको विधान आउटडेटेड भई सक्यो । यो संस्था ग्रो भएन । मेरो कार्यकालमा भिजन २०२० ल्यायौँ, तर कार्यान्वयन भएन । अदालतले सदस्यता वितरण, डेलिगेट्स छनोट र निर्वाचन प्रणालीमै समस्या देखायो । एकता मात्रै हैन विवाद रहित अधिवेशन गराउनु भन्यो । अब सुधारिएको हैन, साँच्चिकै नयाँ विधान बनाउनु पर्‍यो । यस्तो परमादेश फेरि नआउला । अब चुनौती हैन, अवसर मात्रै हेरौँ,’ अध्यक्ष घलेले भने ।

अहिले पनि एमआइएस सिस्टममा पहुँच नहुँदा अप्ठेरो भएको बताउँदै घलेले भने ‘ म आफू अस्ट्रेलियाको आजीवन सदस्य भएर पनि आफ्नै डेटामा एक्सेस पाएको छैन ।’ समितिका सदस्यहरूले ३१ मार्चभित्र एकता महाधिवेशनमा प्रतिनिधि पठाउने गरी तयारी गर्न आग्रह गरे ।
कार्यक्रममा उच्चस्तरीय समितिका सदस्यहरू जानकी गुरुङ, विनोद कुँवर, कुल आचार्य तथा अभियन्ताहरू आरके शर्मा, गंगाधर गौतम, चिन्तामणि सापकोटालगायतको सहभागिता रहेको थियो ।
विभिन्न एनसीसीहरुले उच्चस्तरीय समितिसँग आफ्नो देशमा भइरहेका एनआरएनएका मूभमेन्टबारे जानकारी गराएका थिए ।

पोर्चुगलमा सहयोग

पोर्चुगलमा धेरै नेपाली श्रमिक रहेको भन्दै घलेले नेपाली समुदायको सुख दुःखमा साथ दिन १० हजार युरोको कोष स्थापना गर्न आफूले सहयोग गर्ने बताए । साथै, उक्त कोषलाई आवश्यक परेको खण्डमा थप सहयोग गर्न तयार रहेको उनले बताए । समितिका सदस्य विनोद कुँवरले पनि नेपाली समुदायको सहयोगका लागि १,१०० युरो प्रदान गरेका छन् । उक्त रकम एनआरएनए पोर्चुगलमार्फत समस्यामा परेकाहरूका लागि खर्च गरिनेछ ।

अमेरिका: स्वास्थ्य तथा मानव सेवा मन्त्रालयले १० हजार रोजगारी कटौती गर्ने

संयुक्त राज्य अमेरिकाको स्वास्थ्य तथा मानव सेवा मन्त्रालयले बिहीबार एक ठूलो पुनर्संरचना योजनाको हिस्साका रूपमा १० हजार रोजगारी कटौती गर्ने घोषणा गरेको छ ।समग्रमा सङ्क्रामक रोगहरूको अनुगमन गर्ने, खाद्यान्न र अस्पतालहरूको निरीक्षण गर्ने र देशको लगभग आधा भागका लागि स्वास्थ्य बिमा कार्यक्रमहरूको निरीक्षण गर्ने यो निकायले आफ्नो कार्यबल ८२ हजारबाट ६२ हजारमा घटाउने बताएको छ ।

यसमा १० हजार बर्खास्तीका साथै अन्य १० हजार कामदार समावेश छन् जसले ट्रम्प प्रशासनद्वारा लगभग सबै सङ्घीय कर्मचारीलाई दिइएका प्रारम्भिक अवकाश वा खरिद प्रस्तावहरू लिँदैछन् ।

कटौतीको अधिकांश सार्वजनिक स्वास्थ्य निकायहरूबाट आउनेछ र अमेरिकीहरूका खाद्य पदार्थ र औषधिहरूका लागि मापदण्ड निर्धारण गर्न जिम्मेवार खाद्य तथा औषधि प्रशासनले तीन हजार पाँच सय कर्मचारी कटौती गर्नेछ भने सङ्क्रामक रोग प्रकोपहरू अनुगमन गर्ने रोग नियन्त्रण तथा रोकथाम केन्द्रले दुई हजार चार सय पद कटौती गर्नेछ ।

यसैबीच विश्वको अग्रणी जनस्वास्थ्य अनुसन्धान एजेन्सी, नेसनल इन्स्टिच्युट फर हेल्थले एक हजार दुई मानिस गुमाउनेछ । वृद्ध र गरिब अमेरिकीहरूका लागि स्वास्थ्य कभरेजको निरीक्षण गर्ने मेडिकेयर र मेडिकेड सेवाहरूका लागि केन्द्रहरूले तीन सय रोजगारी गुमाउनेछन् ।

ट्रम्पको बढ्दो कर लक्ष्य सूची

स्याम्पेनदेखि स्टिल र अब कारहरू: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको बढ्दो कर लक्ष्य सूची र व्यापार साझेदारहरूद्वारा प्रतिशोधात्मक उपायहरू पालना गर्न कठिन हुँदै गइरहेको छ । बढ्दो व्यापार युद्धमा के कार्यान्वयन गरिएको छ, के खतरामा परेको छ र अर्कोमा के आउँदैछ भन्ने बारे यहाँ एक सूची दिइएको छ :

– कार द्वन्द्व –

ट्रम्पले बुधबार संयुक्त राज्य अमेरिकाले अटो आयातमा २५ प्रतिशत कर लगाउने र करहरू अप्रिल ३ देखि सुरु हुने घोषणा गर्नुभयो ।फोक्सवागन, मर्सिडिज र जीप निर्माता स्टेलान्टिस जस्ता ठूला कम्पनीहरूको घर जर्मनी र फ्रान्सले युरोपेली सङ्घ (इयु) ले प्रतिशोध लिनुपर्ने बताएका छन् भने जापान र क्यानाडाले आफ्ना विकल्पहरू तौलिरहेका छन् । यदि युरोपेली सङ्घ (इयु) र क्यानाडाले संयुक्त राज्य अमेरिकालाई आर्थिक क्षति पुर्‍याउन मिलेर काम गरे भने हालको योजनाभन्दा धेरै ठूलो कर ती दुवैमा लगाइने भनी ट्रम्पले चेतावनी दिनुभएको छ ।

– लागू गरिएका करहरू –

मार्चको सुरुमा ट्रम्पले चीनका उत्पादनहरूमा २० प्रतिशत कर लगाउनुभयो । चीनको संयुक्त राज्यसँग ठूलो व्यापार अधिशेष छ र पहिलो राष्ट्रपति कार्यकालमा (२०१७–२०२१) पहिलेदेखि नै उहाँको शीर्ष लक्ष्य थियो ।

बेइजिङले कुखुरा, गहुँ र कपास जस्ता अमेरिकी कृषि उत्पादनहरूमा निशाना साँधेर प्रतिशोध लिएको छ ।विश्वभरबाट आउने स्टिल र एल्युमिनियममा २५ प्रतिशत अमेरिकी कर मार्चको मध्यदेखि लागु भएको थियो ।ट्रम्पको लक्ष्य विशेष गरी एसियाबाट बढ्दो प्रतिस्पर्धाको सामना गर्दै गरेको घट्दो अमेरिकी स्टिल उद्योगको संरक्षण गर्नु हो ।

संयुक्त राज्य अमेरिकाले कार र विमानदेखि सफ्ट–ड्रिङ्क क्यानसम्मका वस्तुहरू बनाउन देशमा प्रयोग हुने लगभग आधा स्टिल र एल्युमिनियम आयात गर्दछ ।
क्यानाडा संयुक्त राज्य अमेरिकामा स्टिलको प्रमुख आपूर्तिकर्ता हो । त्यसपछि ब्राजिल र त्यसपछि युरोपेली सङ्घ हुन् ।

ओटावाले स्टिलदेखि कम्प्युटर र खेलकुद उपकरणसम्म अमेरिकी सामानहरूमा २९ अर्ब ८० करोड क्यानेडियन डलर (२० अर्ब ७० करोड अमेरिकी डलर) को अतिरिक्त कर लगाएको छ ।

– स्थगित कदमहरू –

युरोपेली आयोगले कुल २८ अर्ब डलर मूल्यका बाउबर्नदेखि डुङ्गा र मोटरसाइकलसम्मका अमेरिकी सामानहरूलाई लक्षित गर्ने योजना घोषणा गरेर स्टिल करको जवाफ दिएको छ ।

तर ब्रसेल्सले गत हप्ता मूल रूपमा अप्रिल १ देखि लागू हुने करकहरू संवादका लागि थप समय दिन दुई हप्ता स्थगित गरिने बताएको छ । ट्रम्पले युरोपेली सङ्घ (इयु) बाट आउने स्याम्पेन, वाइन र अन्य मदिराहरूमा दुई सय प्रतिशत कर लगाउने धम्की दिनुभएको छ । उहाँले क्यानाडा र मेक्सिकोबाट आउने सामानहरूमा करहरूमा ढिलाइ गर्नुभएको छ । ती दुवै मुलुक प्रतिशोधका लागि तयार छन् ।

– अर्को ठूलो मिति: अप्रिल २ –

ट्रम्पले अप्रिल २ सम्म मित्र र शत्रु दुवैलाई प्रभावित गर्न सक्ने व्यापक ‘पारस्परिक कर’ का लागि योजनाहरूमा हस्ताक्षर गर्नुभएको छ । यसलाई उहाँले ‘मुक्ति दिवस’ भन्नुभएको छ ।

यी करकहरू प्रत्येक अमेरिकी व्यापार साझेदारका लागि अनुकूल हुनेछन् र अमेरिकी सामानहरूमा तिनीहरूले लगाएका करहरू र मूल्य अभिवृद्धि कर जस्ता करहरूलाई ध्यान दिइनेछ ।मेक्सिको र क्यानाडाबाट ढिलाइ भएको कर लागु हुने दिन पनि यही हो ।

– अन्य धम्की –

यस हप्ताको सुरुमा ट्रम्पले भेनेजुएलाबाट तेल र ग्यास खरिद गर्ने देशहरूबाट आयातमा २५ प्रतिशत कर लगाउने घोषणा गर्नुभयो । यो दण्डात्मक उपायले विशेष गरी चीन र भारतलाई असर गर्न सक्छ ।युरोपेली सङ्घले ‘हामीबाट फाइदा उठाएको छ’ भन्ने दाबी गर्दै उहाँले २७ सदस्यीय युरोपेली सङ्घका उत्पादनहरूमा २५ प्रतिशत शुल्क लगाइने पनि वाचा गर्नुभएको छ । युरोपेली सङ्घको संयुक्त राज्य अमेरिकासँग ५० अर्ब डलरको व्यापार अधिशेष छ ।

सिरहा घटना : प्रहरीले सरकारी वकिललाई बुझायो प्रतिवेदन

सिरहा । सिरहाको औरही गाउँपालिका–५ मा महायज्ञका नाममा जातीय विभेद गरिएको घटनाको अनुसन्धान प्रतिवेदन प्रहरीले सरकारी वकिलको कार्यालयलाई बुझाएको छ । जातीय भेदभाव तथा छुवाछूतसम्बन्धी मुद्दाको ६ दिनमै अनुसन्धान सकाएर प्रहरीले बिहीबार प्रतिवेदन सरकारी वकिललाई बुझाएको हो ।

अनुसन्धान प्रतिवेदन प्राप्त भएको र त्यसको अध्ययन गर्ने काम भइरहेको जिल्ला न्यायाधिवक्ता राजेन्द्र बस्नेतले जानकारी दिए । अध्ययनपछि उक्त प्रतिवेदन अदालतमा अभियोग पत्रका रूपमा दायर गरिने उनले बताए ।

औरहीका दलित समुदायका दीपक मल्लिकको घर भत्काएको घटनामा यही चैत ९ गते साँझ गाउँपालिकाका अध्यक्ष शिवजी यादव र पूर्ववडाध्यक्ष दिलीप यादव पक्राउ परेका थिए । त्यसपछि चैत १० गते प्रहरीले उनीहरूसँगै बजरङ्गी बाबाविरुद्ध पीडितसँग जाहेरी लिएको थियो ।

यही चैत १७ देखि आयोजना हुने भनिएको महायज्ञका नाममा गत फागुन १० गते अछुत भन्दै महायज्ञस्थलमा रहेको दिपक मल्लिकको घर भत्काइएको थियो । गाउँपालिका अध्यक्ष, पूर्ववडाध्यक्ष र बजरङ्गी बाबाले डोजर लगाएर भत्काइदिएको भनेर घटना सार्वजनिक भएको थियो ।

यसअघि घटनाबारे संवेदनशील नभएको भन्दै गृह मन्त्रालयले सिरहाका प्रमुख जिल्ला अधिकारी वासुदेव दाहाललाई मन्त्रालय तथा जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक रमेश पण्डितलाई प्रहरी प्रधान कार्यालय तानेको थियो ।

यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

काठमाडौँ, १५ चैत : कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो ।

गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ४०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ५०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु २०, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ३०, आलु रातो प्रतिकिलो रु ३५, आलु रातो (भारतीय) प्रतिकिलो रु ३५, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ५५, गाजर (लोकल) प्रतिकिलो रु ५०, गाजर (तराई) प्रतिकिलो रु ४०, बन्दा (लोकल) प्रतिकिलो रु १५, बन्दा (तराई) प्रतिकिलो रु १५, बन्दा (नरिवल) प्रतिकिलो रु २०, काउली (स्थानीय) प्रतिकिलो रु ४०, स्थानीय काउली (ज्यापु) प्रतिकिलो रु ५०, मूला रातो प्रतिकिलो रु ५०, मूला सेतो (लोकल) प्रतिकिलो रु १५, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु २०, भन्टा लाम्चो प्रतिकिलो रु ३५ तथा भन्टा डल्लो प्रतिकिलो रु ५०, तने बोडीको मूल्य प्रतिकिलो रु ९० कायम गरिएको छ ।

यसैगरी, मटरकोसा प्रतिकिलो रु ८०, घिउ सिमी (लोकल) प्रतिकिलो रु ८०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु ८०, घिउ सिमी (राजमा) प्रतिकिलो रु १००, टाटे सिमी प्रतिकिलो रु ७०, तितो करेला प्रतिकिलो रु १२०, लौका प्रतिकिलो रु ६०, परबर (लोकल) प्रतिकिलो रु ९०, परबर (तराई) प्रतिकिलो रु ९०, चिचिण्डो प्रतिकिलो रु ९०, घिरौला प्रतिकिलो रु ८०, झिगुनी प्रतिकिलो रु ८०, फर्सी पाकेको प्रतिकिलो रु ५०, फर्सी हरियो (लाम्चो) प्रतिकिलो रु ३०, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु ३०, सलगम प्रतिकिलो रु ६० तथा भिण्डी प्रतिकिलो रु १४० कायम गरिएको छ । 

यस्तै, सखरखण्ड प्रतिकिलो ७०, बरेला प्रतिकिलो रु ५०, पिँडालु प्रतिकिलो रु ९०, स्कूस प्रतिकिलो रु ४०, रायो साग प्रतिकिलो रु ८०, पालुङ्गो साग प्रतिकिलो ७०, चमसुरको साग रु ७०, तोरीको साग प्रतिकिलो रु ५०, मेथीको साग प्रतिकिलो रु ७०, प्याज हरियो प्रतिकिलो रु ५०, बकुला प्रतिकिलो रु ५०, तरुल प्रतिकिलो रु ९०, च्याउ (कन्य) प्रतिकिलो रु १३०, च्याउ (डल्ले) प्रतिकिलो रु २५० तथा कुरिलो प्रतिकिलो रु ६०० निर्धारण गरिएको छ ।

निगुरो प्रतिकेजी रु १२०, ब्रोकाउली प्रतिकिलो रु ५०, चुकुन्दर प्रतिकिलो रु ६०, सजीवन प्रतिकिलो रु २००, कोइरालो प्रतिकिलो रु १८०, रातो बन्दा प्रतिकिलो रु ५०, जिरीको साग प्रतिकिलो रु ६०, ग्याठकोभी प्रतिकिलो रु ६०, सेलरी प्रतिकिलो रु १५०, पार्सले प्रतिकिलो रु ३००, सौफको साग प्रतिकिलो रु ७०, पुदिना प्रतिकिलो रु ३००, गान्टे मूला प्रतिकिलो रु ७०, इमली प्रतिकिलो रु १७०, तामा प्रतिकिलो रु १००, तोफु प्रतिकिलो रु १२० र गुन्द्रुक प्रतिकिलो रु ३५० तोकेकोे छ ।

समितिले स्याउ (झोले) प्रतिकिलो रु २५०, स्याउ (फूजी) प्रतिकिलो रु ३५०, केरा (दर्जन) रु १६०, कागती प्रतिकिलो रु २७०, अनार प्रतिकिलो रु ३५०, अङ्गुर (हरियो) प्रतिकिलो रु २००, अङ्गुर (कालो) प्रतिकिलो रु २५०, भारतीय सुन्तला रु २५०, तरबुजा हरियो प्रतिकिलो रु ७०, मौसम प्रतिकिलो रु २००, जुनार प्रतिकिलो रु २००, भुइँकटहर प्रतिगोटा रु २००, काँक्रो (लोकल) प्रतिकिलो रु ७०, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु ३३, रुख कटहर प्रतिकिलो रु १००, निबुवा प्रतिकिलो रु ५०, नासपाती (चाइनिज) प्रतिकिलो रु २६०, मेवा (नेपाली) प्रतिकिलो रु ५०, मेवा (भारतीय) प्रतिकिलो रु १२०, अम्बा प्रतिकिलो रु १२०, लप्सी प्रतिकिलो रु १३०, उखु प्रतिगोटा रु १००, स्ट्रबेरी (भुइँऐसेलु) रु २५०, किबी प्रतिकिलो रु ४५० तथा आभोकाडो प्रतिकिलो रु ६५०, अमलाको मूल्य प्रतिकिलो रु १०० निर्धारण गरिएको छ ।

यसैगरी, अदुवा प्रतिकिलो रु १२०, खुर्सानी सुकेको प्रतिकिलो रु ४००, खुर्सानी हरियो प्रतिकिलो रु ८०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु ८०, खुर्सानी हरियो (माछे) प्रतिकिलो रु ९०, खुर्सानी हरियो (अकबरे) प्रतिकिलो २५०, भेडे खुर्सानी प्रतिकिलो रु १००, लसुन हरियो प्रतिकिलो रु ६०, हरियो धनिया प्रतिकिलो रु १००, लसुन सुकेको चाइनिज प्रतिकिलो रु ३२०, लसुन सुकेको नेपाली प्रतिकिलो रु ३००, छ्यापी सुकेको प्रतिकिलो रु १६०, छ्यापी हरियो प्रतिकिलो रु ६०, ताजा माछा (रहु) प्रतिकिलो रु ३२०, ताजा माछा (बचुवा) प्रतिकिलो रु २६०, ताजा माछा (छडी) प्रतिकिलो रु २४०, रुख टमाटर प्रतिकिलो रु १८०, राजा च्याउ प्रतिकिलो रु ३०० र सिताके च्याउको मूल्य प्रतिकिलो रु ८०० तोकेको छ ।

आईपीएलमा लखनउको शानदार जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति भएको खेलमा सनराइजर्स हैदरावाद पराजित भएको छ । सुरुमा ब्याटिङ गरेको हैदरावादलाई लखनउ सुपर जायन्ट्सले पाँच विकेटले हराएको हो ।

आक्रामक ब्याटिङ लाइनअपका रुपमा चिनिने अभिषेक शर्मा, इशन किशन र नितिशकुमार रेड्डी, हेनरिक क्लासेन नचल्दा हैदरावाद पराजित भएको हो । टस जितेर लखनउले फिल्ड रोजेपछि पहिला ब्याटिङ गरेको हैदरावादले ९ विकेटको क्षतिमा १९० रन बनाएको थियो । १९१ रनको लक्ष्य पछ्याएको लखनउले आक्रामक ब्याटिङ गर्दै १६.१ बलमा पाँच विकेटको क्षतिमा १९३ रन बनाएको थियो ।

यो जितसँगै लखनउले दुई खेल खेलेर दुई अंक जोडेको छ । पहिलो खेलमा लखनउ दिल्ली क्यापिटल्ससँग मात्र एक विकेटले पराजित भएको थियो । यो सिजनमा हैदरावादको पहिलो हार हो ।

दुई दिनदेखि अवरुद्ध प्रतिनिधिसभा बैठक आज पनि बस्दै

काठमाडौं । दुई दिनदेखि अवरुद्ध प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । संसद् सचिवालयका अनुसार सो बैठक संघीय संसद भवन, नयाँ बानेश्वरमा बिहान ११ः०० बजेबाट सुरु हुनेछ ।

आजको बैठकमा अर्थ, गृह, भौतिक पूर्वाधार तथा यातायात र संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालय सबन्धी मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले उत्तर दिने सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ ।

यस्तै ‘बैंकिङ कसुर तथा सजाय (दोस्रो संसोधन) विधेयक, २०८०’ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गरिने भएको छ ।
सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार पूर्वाधार विकास समितिका सभापति दीपकबहादुर सिंहले जलस्रोत विधेयक सबन्धी समितिको प्रतिवेदन, २०८१ पेश गर्ने छन् ।

साथै, उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले ‘नवीकरणीय उर्जा तथा उर्जा दक्षता सबन्धी विधेयक, २०८१’ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

हिजो बिहान ११ः०० बजेका लागि तय गरिएको बैठक दिउँसो २ः०० बजे बस्ने भनिए पनि बैठक बस्न नसके पछि आज बिहान ११ः०० बजेसम्मका लागि स्थगित भएको गरिएको थियो । प्रतिनिधिसभा बैठक सूचना टाँस गरेर आज बिहान ११ः०० सम्म स्थगित गरिएको हो ।

विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाउने सरकारको निर्णयको विरोध भएपछि बैठक बुधबारदेखि अवरोध हुँदै आएको छ ।

नाटक ‘आतुरकाल’ जापानमा मञ्चन गरिँदै

गण्डकी, १५ चैत : इन्द्रेणी थिएटर पोखराको प्रस्तुति तथा निर्देशक केदारनाथ पौडेलद्वारा लिखित, निर्देशित नाटक ‘आतुरका जापानमा मञ्चन गरिने भएको छ ।आगामी अप्रिल १२ र १३ मा इटाबासीस्थित भूमिगत थिएटर नाटकघरमा र अप्रिल १४ मा टोकियोको नाकानो जेरो हलमा नाटक मञ्चन गर्न लागिएको हो । नाटकमा नेपाली समाजको पीडा, सङ्घर्ष, विस्थापन, वर्गसङ्घर्ष तथा युद्धका त्रासदीपूर्ण क्षणहरूको मनोवैज्ञानिक चित्रण गरिएको छ ।

जीवनका विभिन्न क्षणहरूमा पात्रले भोगेका दुःख, विछोड, सपना, समाजको विभेद तथा निरन्तर आइरहने नियतिको खेललाई नाटकले सशक्त रूपमा प्रस्तुत गरेको छ । नाटकका प्रमुख कलाकार किरण चापागाईले अत्यन्त गहकिलो अभिनय प्रस्तुत गर्नुभएको छ ।

नेपाली रङ्गमञ्चका प्रतिभाशाली कलाकार चापागाईले युरोप, अमेरिका, क्यानडाजस्ता मुलुकमा नाट्यकला अध्ययन गर्नुभएको छ । उहाँले ‘अनुत्तर’ जस्ता नाटकमा एकल अभिनय प्रस्तुत गर्दै देश, जीवन र भविष्यसँग जुधिरहेका पात्रहरूको कथा उजागर गर्नुभएको छ ।

यसअघि ‘आतुरकाल’ नाटक पोखरा थिएटरमा सन् २०२१ को फेब्रुअरी २२ देखि ३२ सम्म तथा रसियन हाउस, काठमाडौँमा २०२३ सेप्टेम्बर ७ देखि ९ सम्म मञ्चन भएको थियो ।

प्रत्येक मञ्चनमा दर्शकहरूबाट प्रशंसा पाएको यस नाटकको मूल कथावस्तु एउटा वृद्ध (किरण चापागाई) पात्रको स्मृतिहरू वरिपरि घुमेको छ । जीवनका उत्तरार्धमा जब स्मृतिहरूले तड्पाउन थाल्छन्, तब उनले विगतको सम्झनामा बाँच्नुपर्ने बाध्यता महसुस गर्छन् । नाटकले बाल्यकालका सुखका क्षणदेखि पारिवारिक विछोड, सामाजिक विभेद, विस्थापन, सङ्घर्ष र अन्ततः वृद्धावस्थाको एक्लोपनलाई मार्मिक रूपमा उजागर गरेको छ ।

यसअघि जापानमा केदारनाथ पौडेल निर्देशित ‘भ्रुण’ नाटक मञ्चन गरिएको थियो । जापानमा हुने यो नयाँ प्रदर्शनसँगै नेपाली नाटकले अन्तरराष्ट्रिय मञ्चमा अझ गहिरो छाप छोड्ने अपेक्षा गरिएको छ । यो नाटकले नेपाली प्रवासी दर्शकसहित जापानी रङ्गमञ्चप्रेमीलाई पनि लोभ्याउने विश्वास गरिएको छ ।

इन्द्रेणी थिएटर पोखरामा आधारित एक प्रतिष्ठित नाट्य संस्था हो, जसले नेपाली समाजका विविध पक्ष उजागर गर्ने मौलिक नाटकहरू मञ्चन गर्दै आएको छ । यस थिएटरको छैटौँ प्रस्तुति ‘सपना डिलक्स कोच’ हो, जसमा पोखराबाट काठमाडौँ जाने यात्रुवाहक बसमा हुने विभिन्न घटनाक्रमलाई समेटिएको छ ।

केदारनाथ पौडेल इन्द्रेणी थिएटरका अध्यक्ष तथा प्रतिष्ठित नाटककार हुनुहुन्छ । उहाँका अन्य नाटकहरूमा ‘घेरो’, ‘धनीरामको गोरु’, ‘आतुरकाल’, ‘भ्रुण’ र ‘बाटो’ रहेका छन् । यी नाटकहरूले नेपाली समाजका विविध विषयवस्तुलाई मञ्चमा उतारेका छन् ।

म्याद सकिएको दुई वर्षपछि रावण पार्क निर्माण थालियो

म्याग्दी, १५ चैत : म्याद सकिएको दुई वर्षपछि बेनी नगरपालिका–५ पछैमा रावण पार्क निर्माणको कामले गति लिएको छ । दुई वर्षमा सम्पन्न गर्ने लक्ष्यसहित २०७७ साल फागुनमा धर्म एस कास्यप जेभीले रु एक करोड ७६ लाखमा ठेक्का सम्झौता गरेको रावण पार्क निर्माणकार्यले पछिल्लो दुई महिनायता तीव्रता पाएको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको पर्यटन पूर्वाधार तथा पर्यटन उपज विकास साझेदारी कार्यक्रमअन्तर्गत मन्त्रालयको ७० र बेनी नगरपालिकाको ३० प्रतिशत लागत साझेदारीमा रावणको मूर्तिसहित पार्क निर्माण गर्न थालिएको थियो ।

योजनाका बारेमा नगरपालिकाले नियमित प्रतिवेदन बुझाउन नसक्दा आव २०७९÷८० र २०८०÷८१ मा बजेट व्यवस्थापन हुन नसकेको योजनाका निर्माण व्यवसायी पनि पन्छिन खोजेपछि निर्माण ४४ महिनासम्म निर्माण रोकिएको थियो । लामो समयको प्रयासपछि बजेट व्यवस्थापन गरेर २०७८ साल असारदेखि रोकिएको रावण पार्क निर्माणकार्यलाई लयमा फर्काएको बेनी नगरपालिका–५ का वडाध्यक्ष गोविन्द बानियाँले बताउनुभयो ।

“पार्कमा घेराबार, प्रवेशद्वार, पदमार्ग निर्माणको काम करिब सकिएको छ । रावणको मूर्ति राख्ने ठाउँमा जग खन्न थालेका छन्”, उहाँले भन्नुभयो, “जसोतसो पार्क बन्ने देखिए पनि सर्वोच्च अदालतमा परेको मुद्दाको टुङ्गो नलागेसम्म रावणको मूर्ति राख्ने विषयमा अन्योल सृजना भएको छ ।”

ठेकेदारले रु १८ लाख खर्चेर पार्कमा राख्ने छ मिटर अग्लो रावणको मूर्ति तयार पारेका छन् । पर्वतका केदारनाथ दासले गत असारमा सर्वोच्च अदालतमा दायर गरेको रिटमा रावणको प्रतिमा नराख्न अन्तरिम आदेश दिएको थियो ।

ऋषिमुनिहरूले तपस्या गरेको स्थानमा रावणको मूर्ति राख्न नहुने तर्कसहित परेको मुद्दामा अदालतबाट फैसला हुन भएको ढिलाइले अन्योल भएको वडाध्यक्ष बानियाँले बताउनुभयो । पछैस्थित पुलाश्रम मन्दिरका पुजारी जगदीश सुवेदीका अनुसार हिन्दू धर्मग्रन्थ रामायणका पात्र पुलह, पुलत्य ऋषिको तपोभूमि पछैमा रावण जन्मिएको र उनको नावी गाडेको ठाउँमा राखिएको शिला अझै सुरक्षित छ ।

करिब १४ रोपनी क्षेत्रफलमा फैलिएको पुलाह आश्रम क्षेत्रमध्ये चार रोपनीमा पार्क बनाउन लागिएको हो । आश्रममा रहेका ऋषिमुनि मन्दिर, हवन कुण्ड, रावणको नाभी गाडिएको भनिने स्थानलाई यथावत संरक्षण गरी रावणको मूर्तिसहित बगैँचा, विश्रामस्थल, घेरबार र जमिन संरक्षणलगायत पूर्वाधार निर्माणको काम ७० प्रतिशत सकिएको ठेकेदार कम्पनीका प्रतिनिधिले बताएका छन् ।

घेराबारका लागि पर्खाल निर्माण भइसककेको छ । पार्क निर्माणले पर्यटन प्रवर्द्धन हुने स्थानीयले आशा गरेका छन् । समुद्री सतहदेखि दुई हजार मिटर उचाइमा रहेको रावण पार्क निर्माणस्थल पछैबाट धवलागिरि, नीलगिरि, अन्नपूर्ण हिमशृङ्खला, सूर्योदयको मनोरम दृश्यका साथै म्याग्दी र कालीगण्डकी नदी दोभानमा अवस्थित बेनीसहित जिल्लाका अधिकांश भूगोलको दृश्यावलोकन गर्न सकिन्छ ।

यहाँ पुलह, कपिल र जडभरत ऋषिले तपस्या गरी सिद्धि प्राप्त गरेको पौराणिक मान्यता छ । रामायणको पाँचौँ अध्यायमा रावणको जन्म पछैमा भएको उल्लेख छ । पुलह, पुलत्स्य र भरत ऋषिले पछैमा तपस्या गरेको रामायणमा व्याख्या गरिएको छ । विसं २०६६ मा म्याग्दी उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष प्रमोदकुमार श्रेष्ठलगायतले धार्मिक पर्यटकलाई लक्षित गरेर बेनीमा उद्यान बनाउने योजनाको परिकल्पना गर्नुभएको थियो ।

विसं २०७४ देखि नै बजेट विनियोजन गरे पनि ठाउँको विवाद र स्रोतको अभावमा रामायण उद्यानको योजना कार्यान्वयन हुनसकेको थिएन । मुक्तिनाथ प्रवेशद्वार गलेश्वर, पुलाचौरको पछै, जगन्नाथ र टोड्के क्षेत्रलाई समेटेर धार्मिक करिडोर बनाउने योजना पनि अघि सारिएको छ । बेनी बजारबाट गाडीमा ३० मिनेट यात्रा गरेपछि पछै पुग्न सकिन्छ । बेनी अर्थुङ्गे हुँदै बाँसबोटसम्मको सडक कालोपत्र भएको छ ।
—छि बेनी नगरपालिका–५ पछैमा रावण पार्क निर्माणको कामले गति लिएको छ । दुई वर्षमा सम्पन्न गर्ने लक्ष्यसहित २०७७ साल फागुनमा धर्म एस कास्यप जेभीले रु एक करोड ७६ लाखमा ठेक्का सम्झौता गरेको रावण पार्क निर्माणकार्यले पछिल्लो दुई महिनायता तीव्रता पाएको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको पर्यटन पूर्वाधार तथा पर्यटन उपज विकास साझेदारी कार्यक्रमअन्तर्गत मन्त्रालयको ७० र बेनी नगरपालिकाको ३० प्रतिशत लागत साझेदारीमा रावणको मूर्तिसहित पार्क निर्माण गर्न थालिएको थियो ।

योजनाका बारेमा नगरपालिकाले नियमित प्रतिवेदन बुझाउन नसक्दा आव २०७९÷८० र २०८०÷८१ मा बजेट व्यवस्थापन हुन नसकेको योजनाका निर्माण व्यवसायी पनि पन्छिन खोजेपछि निर्माण ४४ महिनासम्म निर्माण रोकिएको थियो । लामो समयको प्रयासपछि बजेट व्यवस्थापन गरेर २०७८ साल असारदेखि रोकिएको रावण पार्क निर्माणकार्यलाई लयमा फर्काएको बेनी नगरपालिका–५ का वडाध्यक्ष गोविन्द बानियाँले बताउनुभयो ।

“पार्कमा घेराबार, प्रवेशद्वार, पदमार्ग निर्माणको काम करिब सकिएको छ । रावणको मूर्ति राख्ने ठाउँमा जग खन्न थालेका छन्”, उहाँले भन्नुभयो, “जसोतसो पार्क बन्ने देखिए पनि सर्वोच्च अदालतमा परेको मुद्दाको टुङ्गो नलागेसम्म रावणको मूर्ति राख्ने विषयमा अन्योल सृजना भएको छ ।”

ठेकेदारले रु १८ लाख खर्चेर पार्कमा राख्ने छ मिटर अग्लो रावणको मूर्ति तयार पारेका छन् । पर्वतका केदारनाथ दासले गत असारमा सर्वोच्च अदालतमा दायर गरेको रिटमा रावणको प्रतिमा नराख्न अन्तरिम आदेश दिएको थियो ।

ऋषिमुनिहरूले तपस्या गरेको स्थानमा रावणको मूर्ति राख्न नहुने तर्कसहित परेको मुद्दामा अदालतबाट फैसला हुन भएको ढिलाइले अन्योल भएको वडाध्यक्ष बानियाँले बताउनुभयो । पछैस्थित पुलाश्रम मन्दिरका पुजारी जगदीश सुवेदीका अनुसार हिन्दू धर्मग्रन्थ रामायणका पात्र पुलह, पुलत्य ऋषिको तपोभूमि पछैमा रावण जन्मिएको र उनको नावी गाडेको ठाउँमा राखिएको शिला अझै सुरक्षित छ ।

करिब १४ रोपनी क्षेत्रफलमा फैलिएको पुलाह आश्रम क्षेत्रमध्ये चार रोपनीमा पार्क बनाउन लागिएको हो । आश्रममा रहेका ऋषिमुनि मन्दिर, हवन कुण्ड, रावणको नाभी गाडिएको भनिने स्थानलाई यथावत संरक्षण गरी रावणको मूर्तिसहित बगैँचा, विश्रामस्थल, घेरबार र जमिन संरक्षणलगायत पूर्वाधार निर्माणको काम ७० प्रतिशत सकिएको ठेकेदार कम्पनीका प्रतिनिधिले बताएका छन् ।

घेराबारका लागि पर्खाल निर्माण भइसककेको छ । पार्क निर्माणले पर्यटन प्रवर्द्धन हुने स्थानीयले आशा गरेका छन् । समुद्री सतहदेखि दुई हजार मिटर उचाइमा रहेको रावण पार्क निर्माणस्थल पछैबाट धवलागिरि, नीलगिरि, अन्नपूर्ण हिमशृङ्खला, सूर्योदयको मनोरम दृश्यका साथै म्याग्दी र कालीगण्डकी नदी दोभानमा अवस्थित बेनीसहित जिल्लाका अधिकांश भूगोलको दृश्यावलोकन गर्न सकिन्छ ।

यहाँ पुलह, कपिल र जडभरत ऋषिले तपस्या गरी सिद्धि प्राप्त गरेको पौराणिक मान्यता छ । रामायणको पाँचौँ अध्यायमा रावणको जन्म पछैमा भएको उल्लेख छ । पुलह, पुलत्स्य र भरत ऋषिले पछैमा तपस्या गरेको रामायणमा व्याख्या गरिएको छ । विसं २०६६ मा म्याग्दी उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष प्रमोदकुमार श्रेष्ठलगायतले धार्मिक पर्यटकलाई लक्षित गरेर बेनीमा उद्यान बनाउने योजनाको परिकल्पना गर्नुभएको थियो ।

विसं २०७४ देखि नै बजेट विनियोजन गरे पनि ठाउँको विवाद र स्रोतको अभावमा रामायण उद्यानको योजना कार्यान्वयन हुनसकेको थिएन । मुक्तिनाथ प्रवेशद्वार गलेश्वर, पुलाचौरको पछै, जगन्नाथ र टोड्के क्षेत्रलाई समेटेर धार्मिक करिडोर बनाउने योजना पनि अघि सारिएको छ । बेनी बजारबाट गाडीमा ३० मिनेट यात्रा गरेपछि पछै पुग्न सकिन्छ । बेनी अर्थुङ्गे हुँदै बाँसबोटसम्मको सडक कालोपत्र भएको छ ।

तीस करोडको लागतमा मध्यविन्दु प्रादेशिक अस्पतालको नयाँ भवन निर्माण

त्रिवेणी (नवलपरासी), १५ चैत : नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरस्थित मध्यविन्दु प्रादेशिक अस्पतालको नयाँ भवन निर्माण गरिएको छ । गण्डकी प्रदेश सरकारको करिब रु १२ करोड लागत र नेपाल हिल्फे संस्थाको रु १८ करोडको लागतमा उक्त भवन निर्माण गरिएको हो ।

साँघुरो भवनका कारण सहज रूपमा सेवा दिन कठिन भइरहेको अवस्थामा नयाँ भवन निर्माणसँगै अब सहज हुने सो अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा रमेशप्रसाद आचार्यले बताउनुभयो । नयाँ भवनबाट केही दिनमा सेवा दिन थालिने छ ।

पन्ध्र श्ययाको अस्पतालले पुरानो भवनबाट ८० श्ययाको सेवा दिँदै आएको छ । बिरामीको चाप धेरै भएकाले आफूहरूले स्वीकृत दरबन्दीभन्दा धेरै श्यया सञ्चालन गर्नुपरेको मेडिकल सुपरिटेन्डेन्ट डा आचार्यले बताउनुभयो । स्वीकृत दरबन्दी पन्ध्र शैय्याको मात्र हुँदा जनशक्ति अभाव झेल्नु परेको उहाँको भनाइ छ । हाल अस्पतालमा स्थायी, करार र अन्य गरी १६४ कर्मचारी कार्यरत छन् ।

सामुदायिक रूपमा सञ्चालित सो अस्पताललाई २०७५ सालमा जिल्ला अस्पतालमा परिणत गरिएको थियो । उक्त समय गण्डकी प्रदेश सरकारले १५ श्ययाको जिल्ला अस्पताल कायम गरेको थियो । प्रदेश सकारको २०८१ पुस ९ गतेको मन्त्रिपरिषद्को निर्णयले यस अस्पताललाई प्रादेशिक अस्पतालका रुपमा अघि बढाएको हो । अस्पतालले जग्गाको भोगाधिकार समेत प्राप्त गर्न सकेको छैन । जमिन भोगाधिकारका लागि पहल भइरहेको भए पनि अस्पतालको नाममा आउन नसकेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बालकृष्ण घिमिरेले बताउनुभयो । जमिनको भोगाधिकार नहुँदा अन्य दातासँग सहयोग लिन र नयाँ काम गर्न समस्या हुँदै आएको उहाँले बताउनुभयो ।

अस्पतालको वार्षिकोत्सव कार्यक्रममा गत फागुन २८ गते यहाँ आउनुभएका गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सो अस्पताललाई एक सय श्ययाको बनाउने आश्वासन दिनुभएको अध्यक्ष घिमिरेले बताउनुभयो ।

आजको मौसम : पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

काठमाडौँ, १५ चैत- हाल देशमा पश्चिमी तथा स्थानीय वायूको आंशिक प्रभाव रहेको छ । आज बिहान कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागको मौसम मूख्यतया सफा रहेको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सफा रहने छ । 

आज दिउँसो ती दुवै प्रदेशका हिमाली क्षेत्रमा हल्का हिमपात तथा पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । आज राति कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू–भागमा मौसम आंशिक बदली रहने महाशाखाले जनाएको छ ।     कोशी र गण्डकी प्रदेशका हिमाली भू–भागमा आज राति हल्का हिमपात र पहाडी भू–भागमा हल्का वर्षाको सम्भावना रहेको छ ।

कृषि क्षेत्रको विकासका लागि स्थानीय सरकारको भूमिका महत्त्वपूर्ण : मन्त्री अधिकारी

काठमाडौँ- कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कृषि क्षेत्रको विकासका लागि स्थानीय सरकारको महत्त्वपूर्ण भूमिका हुने बताउनुभएको छ ।आगामी आर्थिक वर्षका लागि मन्त्रालयले अघि सारेका नीति तथा कार्यक्रम एवं बजेट तर्जुमा र प्राथामिकताका विषयमा धादिङ जिल्लाका स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरूसँग सिंहदरबारमा छलफल गर्नुहुँदै उहाँले स्थानीय तहबाट प्राप्त सुझावलाई मन्त्रालयले ग्रहण गर्ने प्रतिबद्धता जनाउनुभयो ।

सो अवसरमा मन्त्री अधिकारीले आगामी आर्थिक वर्षका लागि मन्त्रालयले अघि सारेका कार्यक्रम र प्राथामिकतालाई स्थानीय सरकारले पनि अपनत्व लिनसक्ने वातावरण बन्न सकोस् भन्ने आफ्नो चाहाना रहेको बताउनुभयो । आगामी बजेटमा कृषि क्षेत्रमा अघि सारिने कार्यक्रमलाई उत्कृष्ट बनाउन प्रयत्न गर्ने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभयो ।

छलफलमा मन्त्री अधिकारीले सरोकारवालाको सुझावका आधारमा मन्त्रालयले आगामी आर्थिक वर्षको कार्यक्रम र प्राथामिकता तय गर्ने बताउनुभयो । मन्त्रालयले काठमाडौँ उपत्यकाभित्रका पालिकाका प्रमुख एवं उपप्रमुखहरूसँग पनि यस विषयमा शुक्रबार मन्त्रालयमा छलफल आयोजना गरिएको जानकारी दिनुभयो ।

मन्त्रालयमा आज भएको छलफलमा धादिङ जिल्लाका दुई नगरपालिका र ११ गाउँपालिकाका प्रमुख तथा उपप्रमुख, मन्त्रालयका सचिवद्वय डा गोविन्दप्रसाद शर्मा, डा राजेन्द्रप्रसाद मिश्रलगायत सहभागी हुनुहुन्थ्यो ।

बैतडीको मटेलामा पहिलोपटक सडक पुग्यो, सशस्त्र प्रहरीलाई सहज

बैतडी-नेपाल–भारत सीमा क्षेत्र शिवनाथ गाउँपालिका–१ मटेला पहिलोपटक सडक सञ्जालले जोडिएको छ । सशस्त्र प्रहरी बलको बोर्डर आउट पोष्ट (बिओपी)लाई लक्षित गर्दै सडक निर्माण गरिएको शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्णसिंह साउदले जानकारी दिनुभयो ।

सुल्लेखान–शर्माली–नगरौघाट सडकअन्तर्गत पर्ने सिमल चौतारीबाट सशस्त्र प्रहरी बल नेपालको बिओपीसम्म एक हजार एक सय मिटर कच्ची सडक निर्माण गरिएको छ । उहाँले भन्नुभयो, “सशस्त्रको बिओपीसम्म सडक पूर्वाधारको पहुँच पुर्याउन सडक निर्माण गरिएको हो । यसले अन्य गाउँका बासिन्दालाई पनि सहज हुनेछ ।”

सङ्घीय समपूरक अनुदान कार्यक्रममार्फत सडक निर्माणको ठेक्का सम्झौता गरिएको हो । शिवनाथ गाउँपालिका र सङ्घीय सरकारको लगानीमा सडक निर्माणको ठेक्का सम्झौता भएको गाउँपालिकाले जनाएको छ । आधा बजेट गाउँपालिकाको र आधा सङ्घीय सरकारमार्फत गरेर रु एक करोडमा ठेक्का सम्झौता गरिएको हो ।

बिओपीसम्म सडक सञ्जाल पुगेसँगै सशस्त्र प्रहरीलाई पनि सहज भएको छ । सडक नहुँदा खाद्यान्नलगायत सामग्री सिमल चौतारीबाट बोकेरै ल्याउने गरेकामा अब भने सहज भएको बिओपीका प्रमुख, सशस्त्र प्रहरी नायब निरीक्षक प्रकाशजैशी ढकालले बताउनुभयो ।

चालु आर्थिक वर्षमा गरिएको ठेक्का सम्झौतामा सुर्नयागाड, रत्याल, जोलापानी, पौँखर, बगार, दुबला, स्वाल, गाउँसल्ला हुँदै कुस्माउतघाटलगायत ठाउँमा रोड निर्माण गर्ने गाउँपालिकाले योजना बनाएको छ ।

चैत्र कृष्ण चतुर्दशी : विभिन्न कार्यक्रम गरी पाहाँचह्रे मनाइँदै

काठमाडौँ, १५ चैत : काठमडौँ उपत्यकाका नेवार समुदायले दसैँपछिको ठूलो पर्वका रूपमा मनाउने पाहाँचह्रे पर्व आज देशभर छरिएर रहेका संस्थाका प्रतिनिधिले विभिन्न कार्यक्रम गरी देशभरा मनाउँदै छन् ।

यसलाई पासाचह्रे पनि भन्दछन् । नेवार भाषामा पाहाँको अर्थ पाहुना हो भने पासाको अर्थ साथी । चह्रे चन्द्रमासको भित्तेपात्रोअनुसार चौधौँ दिनलाई भनिन्छ । यस चाडका दिन खाइने मुख्य खाद्यवस्तु लसुन भएकाले कसैकसैले यसलाई ‘लसुने चाड’ पनि भन्ने गरेको संस्कृतिविद्को भनाइ छ ।

यो चाडलाई काठमाडौँमा नेवार सम्प्रदायले दसैँ र तिहारजस्तै मनाउँदै आएको पनि स्मरण गर्नुभयो । यस दिन बालबालिका, युवायुवती, वृद्धवृद्धा बिहानै सूर्योदयभन्दा अघि उठी मध्याह्नसम्म हर्षोल्लासका साथ भद्रकाली, रक्तकाली, श्वेतकाली, कङ्केश्वरी आदि पीठका देवी, भैरव, गणेश आदि देवताको दर्शन तथा पूजा गर्छन् । मानिसहरूले दिउँसोदेखि बेलुकीसम्म आआफ्ना घरमा परिवारसँग बसी विविध प्रकारका खानेकुरा खान्छन् ।

पाँहाचह्रेका दिन मुख्यतया समयबजी खाइन्छ । यसमा चिउरा, बोडी, अन्डा, बारा, साग, अचार, आलु, माछा, भटमासलगायत परिकार खाइन्छ । “विभिन्न स्थानमा अन्य देवीदेवताको खट जात्रा गरी पाँहाचह्रे पर्व मनाउने चलन छ ।” “यस पर्वको पहिलो दिन बिहान विभिन्न शक्तिपीठमा पूजा गरी बेलुकी भष्मासुरको डरले लुकेर बसेका महादेवको पूजा गरिन्छ ।”

“लुकु महाद्यः भन्दै महादेवको एउटा आकृतिलाई जमिनमुनि लुकाएर पूजा गर्ने परम्परा छ ।” घरघरमा खाल्टोमा राखिएका महादेवलाई लसुन, मुलाको पहेँलो र सेतो फूल राखेर पूजा गर्ने गरिन्छ ।

यस अवसरमा कङ्केश्वरीदेवीलगायत विभिन्न शक्तिपीठ देवदेवीका मूर्तिको खटजात्रा गर्ने परम्परा छ । पाहाँचह्रे पर्वको दोस्रो दिन अर्थात् घोडेजात्राका दिन दुई वर्षसम्मका बालबालिकालाई मरःजा खुवाइन्छ । चौरासी व्यञ्जनसहितको उक्त परिकार खुवाउँदा बालबालिका निरोगी हुने र भूतप्रेतले नसताउने जनविश्वास छ ।

पाहाँचह्रेको अन्तिम दिन आइतबार दिउँसो असनमा देवीको खट जुधाउने जात्रा गरिन्छ । रातो, नीलो र पहेँलो गरी तीनवटा रङका टोपी र टिसर्ट लगाएकाहरू असनको मुख्य चोकमा भेला हुन्छन् । भद्रकाली (लुँमरी अजिमा) र कङ्केश्वरी (चामुण्डार कङ्ग अजिमा)को खट बोक्नेहरूले चिराग साट्ने गर्छन् । यसलाई स्थानीय भाषामा ‘द्य ल्वाकेगु’ भनिन्छ ।

पहिले असनमा सात खट जात्रा गरी ‘द्य ल्वाकेगु’ जात्रा हुने गरे पनि पछिल्लो समय दुई देवीको मात्र जात्रा हुने गरेको छ । खट तीनवटा भए पनि दुईवटा खट भद्रकाली (लुँमरी अजिमा) र एउटा खट कङ्केश्वरी (चामुण्डार कङ्ग अजिमा) को हुन्छ । “असनमा खट जुधाउने भनिए पनि खट नै जुधाइँदैन ।” रातो, नीलो र पहेँलो गरी तीनवटा रङका टोपी र टिसर्ट लगाएकाहरू असनको मुख्य चोकमा भेला हुन्छन् ।

३० हजार घुस रकमसहित प्रहरी नायब निरीक्षक पक्राउ

लुम्बिनी (मर्चवार), १५ चैतः रूपन्देहीमा एक प्रहरी नायब निरीक्षक (सइ)लाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रु ३० हजार घुस रकमसहित पक्राउ गरेको छ ।

रूपन्देहीको हाटीबनगाई (दुर्गौलिया) प्रहरी चौकीमा कार्यरत प्रहरी नायब निरीक्षक खिमबहादुर खड्कालाई रु ३० हजार घुसको रकमसहित पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयले जनाएको छ । बिहीबार दिउँसो भन्सार छली र चोरी तस्करी गर्न सहजीकरण गरीदिने भन्दै घुस रकम लिइसकेको अवस्थामा अख्तियारको टोलीले प्रहरी नायब निरीक्षक खड्कालाई पक्राउ गरेको अख्तियारको बुटवल कार्यालय प्रमुख बिनिता भट्टराईले जानकारी दिनुभयो ।

कार्यालय प्रमुख भट्टराईका अनुसार, रुपन्देहीको मर्चवार क्षेत्रस्थित मायादेवी गाउँपालिका–६ मकरीचोकबाट घुस रकमसहित पक्राउ परेका प्रनानि खड्कालाई घुस प्रकरणमा आवश्यक कारबाहीका लागि थप अनुसन्धान भइरहेको छ ।” पक्राउ परेका खड्का हाटीबनगाई (दुर्गौलिया) प्रहरी चौकीका प्रमुख हुन् ।

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, १५ चैत : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १३६ रुपैयाँ ९६ पैसा र बिक्रीदर १३७ रुपैयाँ ५६ पैसा कायम भएको छ ।

युरोपियन युरो एकको खरिदर १४७ रुपैयाँ ७० पैसा र बिक्रीदर १४८ रुपैयाँ ३५ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर १७७ रुपैयाँ १८ पैसा र बिक्रीदर १७७ रुपैयाँ ९५ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १५४ रुपैयाँ ९८ पैसा र बिक्रीदर १५५ रुपैयाँ ६६ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ४६ पैसा र बिक्रीदर ८६ रुपैयाँ ८३ पैसा, क्यानेडियन डलर एकको खरिदर ९५ रुपैयाँ ८८ पैसा र बिक्रीदर ९६ रुपैयाँ ३० पैसा, सिङ्गापुर डलर एकको खरिददर १०२ रुपैयाँ २६ पैसा र बिक्रीदर १०२ रुपैयाँ ७१ पैसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिदर नौ रुपैयाँ ०८ पैसा र बिक्रीदर नौ रुपैयाँ १२ पैसा, चिनियाँ युआन एकको खरिदर १८ रुपैयाँ ८५ पैसा र बिक्रीदर १८ रुपैयाँ ९४ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ५१ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६७ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ५७ पैसा र बिक्रीदर ३७ रुपैयाँ ७४ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ०५ पैसा र बिक्रीदर चार रुपैयाँ ०६ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ २९ पैसा र बिक्रीदर ३७ रुपैयाँ ४५ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ ९१ पैसा र बिक्रीदर ३१ रुपैयाँ ०४ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ३५ पैसा र बिक्रीदर नौ रुपैयाँ ३९ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १३ रुपैयाँ ६६ पैसा र बिक्रीदर १३ रुपैयाँ ७२ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ८० पैसा र बिक्रीदर १९ रुपैयाँ ८९ पैसा तोकिएको छ ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिदर १७ रुपैयाँ ६१ पैसा र बिक्रीदर १७ रुपैयाँ ६९ पैसा, कुवेती दिनार एकको खरिददर ४४४ रुपैयाँ ०६ पैसा र बिक्रीदर ४४६ रुपैयाँ, बहराइन दिनार एकको खरिददर ३६३ रुपैयाँ २७ पैसा र बिक्रीदर ३६४ रुपैयाँ ८६ पैसा, ओमनी रियाल एकको खरिददर ३५५ रुयैयाँ ७६ पैसा र बिक्रीदर ३५७ रुपैयाँ ३२ पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।

राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

महिला र शिशुको कुपोषणमा काम गर्न स्वास्थ्यमन्त्रीको प्रस्ताव

काठमाडौँ, १४ चैतः स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले नेपालमा गर्भवती तथा नवजात शिशुमा देखिएको कुपोषणमा कमी ल्याउनका लागि एक अमेरिकी परोपकारी संस्थासँग सहकार्यका लागि प्रस्ताव गर्नुभएको छ ।

फ्रान्सको पेरिसमा पोषणसम्बन्धी एक विश्व सम्मेलनमा सहभागिताका लागि त्यहाँ रहनुभएका मन्त्री पौडेलले अमेरिकी सहायता संस्था एलेनर क्रुक फाउन्डेसनका प्रमुख कार्यकारी तथा अनुसन्धान निर्देशक विलियम मुरसँग पेरिसस्थित नेपाली दूतावासमा वार्ता गर्दै उक्त आग्रह गर्नुभएको हो ।

नेपालमा अहिले गर्भवतीहरुलाई आइरन चक्की दिइन्छ ।  तर त्यसमा आइरन र फोलिक एसिड भए पनि अन्य विभिन्न १५ तत्व अभाव रहेको विज्ञहरुले बताउने गरेका छन् । 

गर्भवती तथा नवजात शिशु दुवैमा कुपोषणमा कमी ल्याउन अहिले खुवाइने आइरन चक्कीको साटो कमी देखिएका १५ वटै तत्वको मिश्रण दिने सरकारको तयारी छ । यसका लागि सहकार्य गर्न मन्त्री पौडेलले गरेको आग्रहमा अमेरिकी परोपकारी संस्थाले सकारात्मक प्रतिक्रिया दिएको छ । उसले सरकारलाई थप आवश्यक पर्ने बजेटको अध्ययन गरेर सघाउने गरी निकट भविष्यमा सम्झौता गर्न सकिने बताएको छ । 

“आर्थिक अभावमा मातृशिशु स्वास्थ्य हेरचाह कमजोर नहोस् भन्नका लागि हामीले स्रोतको पहिचानका लागि प्रयास गरिरहेका छौँ,” मन्त्री पौडेलले भन्नुभयो, “यो वार्ता त्यसैको एक कडी हो । छलफलबाट हामी उत्साही छौँ ।”    केही महिनाभित्रै सहकार्य गर्न सकिने गरी खाका बनेको भ्रमणमा सहभागी परिवार कल्याण महाशाखा प्रमुख डा विवेककुमार लालले बताउनुभयो । उहाँले भन्नुभयो, “नेपालको मातृशिशु कुपोषण सुधारमा सकारात्मक पहल भएको छ ।”  

नेपाली उद्योगलाई समेत पोषक तत्वमिश्रित सामग्री उत्पादनमा सहकार्य गर्न मन्त्री पौडेलले गरेको अनुरोधमा समेत सकारात्मक प्रतिक्रिया संस्थाले दिएको छ । नेपालमा कुपोषणका कारण हुने मातृशिशु मृत्युदर कम गर्न गर्भवतीलाई दिइने पोषक तत्वको भूमिका महत्वपूर्ण हुने भएकाले यसमा हुने सुधारले महत्वपूर्ण अर्थ राख्ने डा लालले बताउनुभयो ।