`

दोलखामा भालुको आक्रमणबाट एक जनाको मृत्यु

Nepal One HD ३१ असोज २०८२ २१:५६
समाज

दोलखाको बैतेश्वर गाउँपालिका-३ ठाडेमा भालुको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।घाँस काट्न जङ्गल गएका ५९ वर्षीय टेकबहादुर तामाङलाई भालुले आक्रमण गरेको थियो ।भालुको आक्रमणबाट घाइते भएका तामाङको घटनास्थलमै मृत्यु भएको हो ।

दोलखा । जिल्लाको बैतेश्वर गाउँपालिका–३ ठाडेमा भालुको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार बैतेश्वर–३ ठाडेका ५९ वर्षीय टेकबहादुर तामाङलाई आज बिहान घरबाट करिब २०० मिटर टाढा रहेको जङ्गलमा घाँस काट्न जाने क्रममा भालुले आक्रमण गरेको हो ।

जिरी इलाका प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी निरीक्षक धन्नेद्रहाङ खुजुमका अनुसार चिकित्सकसहितको टोली साँझ घटनास्थल पुग्दा तामाङको मृत्यु भइसकेको थियो । घर नजिकैको जङ्गलमा घाँस काट्ने क्रममा तामाङ भालुको आक्रमणमा परेका प्रहरीको भनाइ छ ।

भालुको आक्रमणबाट तामाङको खुट्टा, टाउको, शरीर र अनुहारमा गहिरो चोट लागेको थियो । दोलखाका अधिकांश स्थानमा भालु पाइने भएकाले आक्रमण भइरहने डिभिजन वन अधिकृत कृष्णराज न्यौपानले बताए । उनका अनुसार भालुको आक्रमणमा परी मृत्यु हुने परिवारलाई प्रतिव्यक्ति रु १० लाख दिने गरिएको छ ।

यसअघि गौरीशङ्कर गाउँपालिकाका दुई जना भालुको आक्रमणबाट घाइते भएका थिए । गौरीशङ्कर संरक्षण क्षेत्र भएकाले पनि वन्यजन्तु विभिन्न स्थानमा बाँस बस्ने र ओहोरदोहोर गर्ने समयमा उनीहरूको बाटोमा परेकालाई आक्रमण गर्ने गरेका वन अधिकृत न्यौपानले उल्लेख गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *