`

दिपावलीको उमङ्ग छाइरहँदा किसानलाई धान भित्र्याउन भ्याइनभ्याई

Nepal One HD ३१ असोज २०८२ २१:३७
समाज

कैलाली । बडादसैँको समयमा प्रतिकूल मौसमका कारण खेतमा पाकेको धानबाली भित्र्याउन नपाएका कैलालीका किसान यतिबेला धान भित्र्याउन व्यस्त देखिन्छन् । उज्यालो पर्व दिपावलीको उमङ्ग छाइरहँदा किसानलाई खेतमा पाकेर पहेँलपुर भएको धानबाली काटेर भित्र्याउन भ्याइनभ्याई भएको हो ।धनगढी उपमहनगरपालिका–१३ का किसान चेतराज भट्टले दुई साताअघि खेतमा पाकेर झुलिसकेको धान मौसममा सुधार भएसँगै बल्ल काटेर भित्र्याउन पाइएको बताए ।जिल्लामा यो वर्ष धानको फसल राम्रो देखिएको बताउँदै उनले भने, “केही क्षेत्रमा रोग/कीराको समस्या देखिए पनि अधिकांश ठाउँमा यसपालि धान उत्पादन राम्रो देखिएको छ ।”

दसैँको समयमा भएको वर्षाले प्रदेशका कैलालीसहित जिल्लाका कतिपय किसानको खेतमा काटेर सुकाइ राखिएको धानबाली भिजेर क्षति पुगेको थियो । किसानको मुख्य आम्दानीको स्रोतका रूपमा धानबाली पर्दछ । घरायसी उपभोगका लागि आवश्यक पर्ने धान भण्डारण गरी बढी भएको किसानले स्थानीय व्यापारीलाई बिक्री गरेर चाडपर्वको समयमा खर्चको जोहो गर्छन् ।

कञ्चनपुरको पुरैना गाउँका किसान केशव पाठकले गाउँका किसानले आफ्नो धानको उचित मूल्य नपाइरहँदा चाडपर्वका बेला खर्चको जोहो गर्न समस्या भइरहेको गुनासो गरे ।

उनले भने,“गाउँका व्यापारीले मुस्किलले नयाँ धानको मूल्य प्रतिक्विन्टल रु दुई हजार ६०० तोकेर खरिद गर्ने गरेकाले किसानले उचित मूल्य पाउन सकिरहेका छैनन् ।” दसैँ र तिहार जस्ता ठुला पर्वमा नयाँ धानको चामल पिँधेर बनाइने पिठोबाट न्वागी, माणा, सिरौलालगायत डोटेली खानाका परिकार पकाएर खाने प्रचलन सुदूरपश्चिम प्रदेशमा छ । नयाँ खाद्यान्नको चामल वा पिठोबाट परिकार बनाएर खानुअघि देवीदेवतालाई चढाउनुपर्ने परम्परा रहेको पाठकले बताए ।धान, गहुँलगायत बाली काट्नुअघि नयाँ बाला काटेर आ–आफ्नो घरको दैलोमा र कूलदेवताको मन्दिरमा गाईको गोबरले टाँसेर पूजा गर्ने प्रचलन प्रदेशमा छ ।

यसलाई ‘देलीबालो’ लगाउने भनिन्छ । देलीबालो लगाउँदा कूलदेवता खुसी हुने, अन्न उत्पादन बढ्ने र भण्डारण गरिएको खाद्यान्न सुरक्षित हुने विश्वास गरिन्छ । प्रदेशको तराईका दुई जिल्ला कैलाली र कञ्चनपुरमा उत्पादन हुने धान पहाडका जिल्लामा आपूर्ति हुन्छ । प्रदेशमा कूल एक लाख ८१ हजार ३९६ हेक्टर जग्गामा बर्खे धान खेती हुने गरेको प्रदेशस्थित कृषि विकास निर्देशनालयले जनाएको छ ।

सबैभन्दा बढी कैलालीमा ७२ हजार ५०० हेक्टर र कञ्चनपुरमा ४८ हजार ४९० हेक्टर जग्गामा धानखेती हुने गरेको निर्देशनालयको तथ्याङ्कमा उल्लेख छ । पहाडी क्षेत्रका डोटी, डडेलधुरा, बाजुरा, बैतडी, बझाङ, दार्चुला र डडेलधुरा जिल्लामा गरी करिब ६० हजार ४०६ हेक्टरमा बर्खे धानखेती हुन्छ । पछिल्लो दशकमा धान बालीको उत्पादन र उत्पादकत्व बढ्दै गएको कृषि प्राविधिकको भनाइ छ ।

खेत खनजोत गर्ने, बाली काट्ने, झार्नेलगायत काममा आधुनिक कृषि औजारको प्रयोग बढ्न थालेपछि खेती गर्न सहज भएको किसान बताउँछन् । आधुनिक कृषि औजारको प्रयोगले खेती गर्दा समयको बचत हुनुका साथै परिश्रम कम गर्नुपर्ने हुँदा खेती गर्न सहज भइरहेको कृषकको अनुभव छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *