`

कृषि क्षेत्रको विकासका लागि स्थानीय सरकारको भूमिका महत्त्वपूर्ण : मन्त्री अधिकारी

काठमाडौँ- कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कृषि क्षेत्रको विकासका लागि स्थानीय सरकारको महत्त्वपूर्ण भूमिका हुने बताउनुभएको छ ।आगामी आर्थिक वर्षका लागि मन्त्रालयले अघि सारेका नीति तथा कार्यक्रम एवं बजेट तर्जुमा र प्राथामिकताका विषयमा धादिङ जिल्लाका स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरूसँग सिंहदरबारमा छलफल गर्नुहुँदै उहाँले स्थानीय तहबाट प्राप्त सुझावलाई मन्त्रालयले ग्रहण गर्ने प्रतिबद्धता जनाउनुभयो ।

सो अवसरमा मन्त्री अधिकारीले आगामी आर्थिक वर्षका लागि मन्त्रालयले अघि सारेका कार्यक्रम र प्राथामिकतालाई स्थानीय सरकारले पनि अपनत्व लिनसक्ने वातावरण बन्न सकोस् भन्ने आफ्नो चाहाना रहेको बताउनुभयो । आगामी बजेटमा कृषि क्षेत्रमा अघि सारिने कार्यक्रमलाई उत्कृष्ट बनाउन प्रयत्न गर्ने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभयो ।

छलफलमा मन्त्री अधिकारीले सरोकारवालाको सुझावका आधारमा मन्त्रालयले आगामी आर्थिक वर्षको कार्यक्रम र प्राथामिकता तय गर्ने बताउनुभयो । मन्त्रालयले काठमाडौँ उपत्यकाभित्रका पालिकाका प्रमुख एवं उपप्रमुखहरूसँग पनि यस विषयमा शुक्रबार मन्त्रालयमा छलफल आयोजना गरिएको जानकारी दिनुभयो ।

मन्त्रालयमा आज भएको छलफलमा धादिङ जिल्लाका दुई नगरपालिका र ११ गाउँपालिकाका प्रमुख तथा उपप्रमुख, मन्त्रालयका सचिवद्वय डा गोविन्दप्रसाद शर्मा, डा राजेन्द्रप्रसाद मिश्रलगायत सहभागी हुनुहुन्थ्यो ।

बैतडीको मटेलामा पहिलोपटक सडक पुग्यो, सशस्त्र प्रहरीलाई सहज

बैतडी-नेपाल–भारत सीमा क्षेत्र शिवनाथ गाउँपालिका–१ मटेला पहिलोपटक सडक सञ्जालले जोडिएको छ । सशस्त्र प्रहरी बलको बोर्डर आउट पोष्ट (बिओपी)लाई लक्षित गर्दै सडक निर्माण गरिएको शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्णसिंह साउदले जानकारी दिनुभयो ।

सुल्लेखान–शर्माली–नगरौघाट सडकअन्तर्गत पर्ने सिमल चौतारीबाट सशस्त्र प्रहरी बल नेपालको बिओपीसम्म एक हजार एक सय मिटर कच्ची सडक निर्माण गरिएको छ । उहाँले भन्नुभयो, “सशस्त्रको बिओपीसम्म सडक पूर्वाधारको पहुँच पुर्याउन सडक निर्माण गरिएको हो । यसले अन्य गाउँका बासिन्दालाई पनि सहज हुनेछ ।”

सङ्घीय समपूरक अनुदान कार्यक्रममार्फत सडक निर्माणको ठेक्का सम्झौता गरिएको हो । शिवनाथ गाउँपालिका र सङ्घीय सरकारको लगानीमा सडक निर्माणको ठेक्का सम्झौता भएको गाउँपालिकाले जनाएको छ । आधा बजेट गाउँपालिकाको र आधा सङ्घीय सरकारमार्फत गरेर रु एक करोडमा ठेक्का सम्झौता गरिएको हो ।

बिओपीसम्म सडक सञ्जाल पुगेसँगै सशस्त्र प्रहरीलाई पनि सहज भएको छ । सडक नहुँदा खाद्यान्नलगायत सामग्री सिमल चौतारीबाट बोकेरै ल्याउने गरेकामा अब भने सहज भएको बिओपीका प्रमुख, सशस्त्र प्रहरी नायब निरीक्षक प्रकाशजैशी ढकालले बताउनुभयो ।

चालु आर्थिक वर्षमा गरिएको ठेक्का सम्झौतामा सुर्नयागाड, रत्याल, जोलापानी, पौँखर, बगार, दुबला, स्वाल, गाउँसल्ला हुँदै कुस्माउतघाटलगायत ठाउँमा रोड निर्माण गर्ने गाउँपालिकाले योजना बनाएको छ ।

चैत्र कृष्ण चतुर्दशी : विभिन्न कार्यक्रम गरी पाहाँचह्रे मनाइँदै

काठमाडौँ, १५ चैत : काठमडौँ उपत्यकाका नेवार समुदायले दसैँपछिको ठूलो पर्वका रूपमा मनाउने पाहाँचह्रे पर्व आज देशभर छरिएर रहेका संस्थाका प्रतिनिधिले विभिन्न कार्यक्रम गरी देशभरा मनाउँदै छन् ।

यसलाई पासाचह्रे पनि भन्दछन् । नेवार भाषामा पाहाँको अर्थ पाहुना हो भने पासाको अर्थ साथी । चह्रे चन्द्रमासको भित्तेपात्रोअनुसार चौधौँ दिनलाई भनिन्छ । यस चाडका दिन खाइने मुख्य खाद्यवस्तु लसुन भएकाले कसैकसैले यसलाई ‘लसुने चाड’ पनि भन्ने गरेको संस्कृतिविद्को भनाइ छ ।

यो चाडलाई काठमाडौँमा नेवार सम्प्रदायले दसैँ र तिहारजस्तै मनाउँदै आएको पनि स्मरण गर्नुभयो । यस दिन बालबालिका, युवायुवती, वृद्धवृद्धा बिहानै सूर्योदयभन्दा अघि उठी मध्याह्नसम्म हर्षोल्लासका साथ भद्रकाली, रक्तकाली, श्वेतकाली, कङ्केश्वरी आदि पीठका देवी, भैरव, गणेश आदि देवताको दर्शन तथा पूजा गर्छन् । मानिसहरूले दिउँसोदेखि बेलुकीसम्म आआफ्ना घरमा परिवारसँग बसी विविध प्रकारका खानेकुरा खान्छन् ।

पाँहाचह्रेका दिन मुख्यतया समयबजी खाइन्छ । यसमा चिउरा, बोडी, अन्डा, बारा, साग, अचार, आलु, माछा, भटमासलगायत परिकार खाइन्छ । “विभिन्न स्थानमा अन्य देवीदेवताको खट जात्रा गरी पाँहाचह्रे पर्व मनाउने चलन छ ।” “यस पर्वको पहिलो दिन बिहान विभिन्न शक्तिपीठमा पूजा गरी बेलुकी भष्मासुरको डरले लुकेर बसेका महादेवको पूजा गरिन्छ ।”

“लुकु महाद्यः भन्दै महादेवको एउटा आकृतिलाई जमिनमुनि लुकाएर पूजा गर्ने परम्परा छ ।” घरघरमा खाल्टोमा राखिएका महादेवलाई लसुन, मुलाको पहेँलो र सेतो फूल राखेर पूजा गर्ने गरिन्छ ।

यस अवसरमा कङ्केश्वरीदेवीलगायत विभिन्न शक्तिपीठ देवदेवीका मूर्तिको खटजात्रा गर्ने परम्परा छ । पाहाँचह्रे पर्वको दोस्रो दिन अर्थात् घोडेजात्राका दिन दुई वर्षसम्मका बालबालिकालाई मरःजा खुवाइन्छ । चौरासी व्यञ्जनसहितको उक्त परिकार खुवाउँदा बालबालिका निरोगी हुने र भूतप्रेतले नसताउने जनविश्वास छ ।

पाहाँचह्रेको अन्तिम दिन आइतबार दिउँसो असनमा देवीको खट जुधाउने जात्रा गरिन्छ । रातो, नीलो र पहेँलो गरी तीनवटा रङका टोपी र टिसर्ट लगाएकाहरू असनको मुख्य चोकमा भेला हुन्छन् । भद्रकाली (लुँमरी अजिमा) र कङ्केश्वरी (चामुण्डार कङ्ग अजिमा)को खट बोक्नेहरूले चिराग साट्ने गर्छन् । यसलाई स्थानीय भाषामा ‘द्य ल्वाकेगु’ भनिन्छ ।

पहिले असनमा सात खट जात्रा गरी ‘द्य ल्वाकेगु’ जात्रा हुने गरे पनि पछिल्लो समय दुई देवीको मात्र जात्रा हुने गरेको छ । खट तीनवटा भए पनि दुईवटा खट भद्रकाली (लुँमरी अजिमा) र एउटा खट कङ्केश्वरी (चामुण्डार कङ्ग अजिमा) को हुन्छ । “असनमा खट जुधाउने भनिए पनि खट नै जुधाइँदैन ।” रातो, नीलो र पहेँलो गरी तीनवटा रङका टोपी र टिसर्ट लगाएकाहरू असनको मुख्य चोकमा भेला हुन्छन् ।

३० हजार घुस रकमसहित प्रहरी नायब निरीक्षक पक्राउ

लुम्बिनी (मर्चवार), १५ चैतः रूपन्देहीमा एक प्रहरी नायब निरीक्षक (सइ)लाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रु ३० हजार घुस रकमसहित पक्राउ गरेको छ ।

रूपन्देहीको हाटीबनगाई (दुर्गौलिया) प्रहरी चौकीमा कार्यरत प्रहरी नायब निरीक्षक खिमबहादुर खड्कालाई रु ३० हजार घुसको रकमसहित पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयले जनाएको छ । बिहीबार दिउँसो भन्सार छली र चोरी तस्करी गर्न सहजीकरण गरीदिने भन्दै घुस रकम लिइसकेको अवस्थामा अख्तियारको टोलीले प्रहरी नायब निरीक्षक खड्कालाई पक्राउ गरेको अख्तियारको बुटवल कार्यालय प्रमुख बिनिता भट्टराईले जानकारी दिनुभयो ।

कार्यालय प्रमुख भट्टराईका अनुसार, रुपन्देहीको मर्चवार क्षेत्रस्थित मायादेवी गाउँपालिका–६ मकरीचोकबाट घुस रकमसहित पक्राउ परेका प्रनानि खड्कालाई घुस प्रकरणमा आवश्यक कारबाहीका लागि थप अनुसन्धान भइरहेको छ ।” पक्राउ परेका खड्का हाटीबनगाई (दुर्गौलिया) प्रहरी चौकीका प्रमुख हुन् ।

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, १५ चैत : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १३६ रुपैयाँ ९६ पैसा र बिक्रीदर १३७ रुपैयाँ ५६ पैसा कायम भएको छ ।

युरोपियन युरो एकको खरिदर १४७ रुपैयाँ ७० पैसा र बिक्रीदर १४८ रुपैयाँ ३५ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर १७७ रुपैयाँ १८ पैसा र बिक्रीदर १७७ रुपैयाँ ९५ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १५४ रुपैयाँ ९८ पैसा र बिक्रीदर १५५ रुपैयाँ ६६ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ४६ पैसा र बिक्रीदर ८६ रुपैयाँ ८३ पैसा, क्यानेडियन डलर एकको खरिदर ९५ रुपैयाँ ८८ पैसा र बिक्रीदर ९६ रुपैयाँ ३० पैसा, सिङ्गापुर डलर एकको खरिददर १०२ रुपैयाँ २६ पैसा र बिक्रीदर १०२ रुपैयाँ ७१ पैसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिदर नौ रुपैयाँ ०८ पैसा र बिक्रीदर नौ रुपैयाँ १२ पैसा, चिनियाँ युआन एकको खरिदर १८ रुपैयाँ ८५ पैसा र बिक्रीदर १८ रुपैयाँ ९४ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ५१ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६७ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ५७ पैसा र बिक्रीदर ३७ रुपैयाँ ७४ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ०५ पैसा र बिक्रीदर चार रुपैयाँ ०६ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ २९ पैसा र बिक्रीदर ३७ रुपैयाँ ४५ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ ९१ पैसा र बिक्रीदर ३१ रुपैयाँ ०४ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ३५ पैसा र बिक्रीदर नौ रुपैयाँ ३९ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १३ रुपैयाँ ६६ पैसा र बिक्रीदर १३ रुपैयाँ ७२ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ८० पैसा र बिक्रीदर १९ रुपैयाँ ८९ पैसा तोकिएको छ ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिदर १७ रुपैयाँ ६१ पैसा र बिक्रीदर १७ रुपैयाँ ६९ पैसा, कुवेती दिनार एकको खरिददर ४४४ रुपैयाँ ०६ पैसा र बिक्रीदर ४४६ रुपैयाँ, बहराइन दिनार एकको खरिददर ३६३ रुपैयाँ २७ पैसा र बिक्रीदर ३६४ रुपैयाँ ८६ पैसा, ओमनी रियाल एकको खरिददर ३५५ रुयैयाँ ७६ पैसा र बिक्रीदर ३५७ रुपैयाँ ३२ पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।

राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

महिला र शिशुको कुपोषणमा काम गर्न स्वास्थ्यमन्त्रीको प्रस्ताव

काठमाडौँ, १४ चैतः स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले नेपालमा गर्भवती तथा नवजात शिशुमा देखिएको कुपोषणमा कमी ल्याउनका लागि एक अमेरिकी परोपकारी संस्थासँग सहकार्यका लागि प्रस्ताव गर्नुभएको छ ।

फ्रान्सको पेरिसमा पोषणसम्बन्धी एक विश्व सम्मेलनमा सहभागिताका लागि त्यहाँ रहनुभएका मन्त्री पौडेलले अमेरिकी सहायता संस्था एलेनर क्रुक फाउन्डेसनका प्रमुख कार्यकारी तथा अनुसन्धान निर्देशक विलियम मुरसँग पेरिसस्थित नेपाली दूतावासमा वार्ता गर्दै उक्त आग्रह गर्नुभएको हो ।

नेपालमा अहिले गर्भवतीहरुलाई आइरन चक्की दिइन्छ ।  तर त्यसमा आइरन र फोलिक एसिड भए पनि अन्य विभिन्न १५ तत्व अभाव रहेको विज्ञहरुले बताउने गरेका छन् । 

गर्भवती तथा नवजात शिशु दुवैमा कुपोषणमा कमी ल्याउन अहिले खुवाइने आइरन चक्कीको साटो कमी देखिएका १५ वटै तत्वको मिश्रण दिने सरकारको तयारी छ । यसका लागि सहकार्य गर्न मन्त्री पौडेलले गरेको आग्रहमा अमेरिकी परोपकारी संस्थाले सकारात्मक प्रतिक्रिया दिएको छ । उसले सरकारलाई थप आवश्यक पर्ने बजेटको अध्ययन गरेर सघाउने गरी निकट भविष्यमा सम्झौता गर्न सकिने बताएको छ । 

“आर्थिक अभावमा मातृशिशु स्वास्थ्य हेरचाह कमजोर नहोस् भन्नका लागि हामीले स्रोतको पहिचानका लागि प्रयास गरिरहेका छौँ,” मन्त्री पौडेलले भन्नुभयो, “यो वार्ता त्यसैको एक कडी हो । छलफलबाट हामी उत्साही छौँ ।”    केही महिनाभित्रै सहकार्य गर्न सकिने गरी खाका बनेको भ्रमणमा सहभागी परिवार कल्याण महाशाखा प्रमुख डा विवेककुमार लालले बताउनुभयो । उहाँले भन्नुभयो, “नेपालको मातृशिशु कुपोषण सुधारमा सकारात्मक पहल भएको छ ।”  

नेपाली उद्योगलाई समेत पोषक तत्वमिश्रित सामग्री उत्पादनमा सहकार्य गर्न मन्त्री पौडेलले गरेको अनुरोधमा समेत सकारात्मक प्रतिक्रिया संस्थाले दिएको छ । नेपालमा कुपोषणका कारण हुने मातृशिशु मृत्युदर कम गर्न गर्भवतीलाई दिइने पोषक तत्वको भूमिका महत्वपूर्ण हुने भएकाले यसमा हुने सुधारले महत्वपूर्ण अर्थ राख्ने डा लालले बताउनुभयो ।

पूर्वाधार निर्माणमा बढी बजेट विनियोजन गर्छौं : प्रमुख महर्जन

पाटन (ललितपुर), १४ चैत : ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले चक्रपथबाहिर रहेका महानगरका वडाको पूर्वाधार निर्माणमा बढी बजेट विनियोजन गर्ने बताउनुभएको छ ।

ललितपुर महानगरले आफ्नै लगानीमा निर्माणसम्पन्न गरेको वडा नं १४ देखि वडा नं २५ र २६ लाई जोड्ने नख्खु खोलामा निर्मित मोटरेबल पुलको आज उद्घाटन गर्दै प्रमुख महर्जनले महानगरमा चक्रपथभित्र रहेका वडामा सडक पूर्वाधारको विकासमा ठूलो रकम खर्चनुपर्ने अवस्था नरहेको उल्लेख गर्दै चक्रपथबाहिरको पूर्वाधार निर्माणमा बढी लगानी गर्नुपर्ने अवस्था रहेको बताउनुभयो ।

“राष्ट्रिय तथा अन्तरराष्ट्रिय क्षेत्रबाट प्राप्त हुने बजेट यहाँका पूर्वाधार योजनामा राख्छौँ, २०७३ सालमा महानगरमा जोडिएका वडाहरुको पूर्वाधार निर्माणमा बढी ध्यान दिन्छौँ, राष्ट्रिय तथा अन्तरराष्ट्रिय क्षेत्रबाट प्राप्त हुने बजेट यहाँका पूर्वाधार योजनामा राख्छौँ,” प्रमुख महर्जनले भन्नुभयो ।

महानगरप्रमुख महर्जनले गुणस्तरीय पूर्वाधार निर्माणमा ललितपुर सबै स्थानीय तहभन्दा अग्रस्थानमा रहेको बताउनुभयो । “यसै वर्ष तीन पुल सम्पन्न भएका छन्, चक्रपथमा अपाङ्गतामैत्री पुल निर्माण सम्पन्न हुने चरणमा छ,

६ वटा पुल निर्माणको चरणमा छन्”, उहाँले भन्नुभयो । उहाँले चक्रपथमा रातिको समयमा हुने दुर्घटना रोक्न बत्ती राख्न ठेक्का भइसकेको जानकारी गराउँदै दसैँसम्ममा सम्पन्न हुने जानकारी दिनुभयो ।

प्रमुख प्रशासकीय अधिकृत रेखादास श्रेष्ठले भौतिक पूर्वाधार निर्माणमा ललितपुरले उल्लेख्य प्रगति गरेको बताउनुभयो । वडा नं १४ का अध्यक्ष अमृतजङ्ग महतले नख्खु खोलामा निर्माण भएका तीनवटै पुलले महानगरका एकअर्का वडामा रहेका व्यक्ति र समाजलाई जोडेको बताउनुभयो । पूर्वाधार निर्माण महाशाखा प्रमुख इञ्जिनियर प्रदीप पौडेलले महानगरले आफ्नै आर्थिक तथा प्राविधिक लगानीमा यस वर्ष पुल निर्माण सम्पन्न गरेको जानकारी दिनुभयो । 

गण्डकी प्रदेशसभा बैठक: भवन निर्माण तथा बस्ती विकाससम्बन्धी विधेयकमा छलफल

गण्डकी, १४ चैतः गण्डकी प्रदेशसभाको आजको बैठकमा भवन निर्माण तथा बस्ती विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि छलफल गरिएको छ । विधेयकमाथिको छलफलमा सहभागी हुँदै प्रदेशसभा सदस्यहरूले दीर्घकालीन सोचका साथ भवन निर्माण एवं बस्ती विकास गर्ने कुरामा लाग्नुपर्ने आवश्यकता औँल्याउनुुभएको थियो ।

बैठकमा प्रदेशसभा सदस्य सुनिता थापाले गण्डकीमा बस्तीहरू छरिएका कारण सडक, बत्ती, खानेपानी, शिक्षालगायतका सुविधाको वितरणमा समस्या गरेको बताउँदै एकीकृत बस्ती विकासले थोरै लगानीमा धेरै सुविधा दिन सकिने धारणा राख्नुुभयो । 

प्रदेशसभा सदस्य डिल्लीराम सुवेदीले भविष्यमुखी भएर भवन निर्माण एवं बस्ती विकासमा लाग्नुुपर्ने बताउनुुभयो । प्रदेशसभा सदस्य भीमबहादुर कार्कीले यो ऐन आफैँमा महत्वपूर्ण रहेको बताउँदै साझा सूचीमा रहेको यस विषयमा केन्द्र र स्थानीयसँग सहकार्य गर्दै अघि बढ्नुुपर्ने आवश्यकता औँल्याउनुभयो ।   प्रदेशसभा सदस्य जीतबहादुर शेरचनले परिवर्तनलाई आत्मसाथ गर्दै एकीकृत बस्ती विकासको योजनामा लाग्नुुपर्ने धारणा राख्नुुभयो । 

छलफलमा उठेका प्रश्नहरुको जवाफ दिँदै गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री प्रकाशबहादुर केसीले भवन निर्माण तथा बस्ती विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकले प्रदेशमा भवन निर्माण तथा बस्ती विकास गर्ने कार्यलाई सुविधायुक्त, सुरक्षित र जोखिममुक्त बनाइ नागरिक जीवन सुरक्षित बनाउन, मौलिक पहिचान झल्किनेलगायतका विषय समेटेकोे बताउनुुभयो ।

 भवन निर्माणको मापदण्ड र वर्गीकरण गर्ने कार्यको नियमन गर्न, परम्परागत बस्तीको पहिचान र अभिलेखीकरण, वर्गीकरण, बस्ती÷एकीकृत बस्तीको निर्माण, जोखिममा रहेको बस्ती स्थान्तरण गर्न र बस्ती विकास कोषको व्यवस्थालगायत विषय विधेयकमा रहेको उहाँले बताउनुुभयो । 

उहाँका अनुुसार विधेयकले सार्वजनिक भवन निर्माण, प्रयोग, मर्मत साम्भार सम्बन्धमा व्यवस्था गरिनुका साथै जग्गा विकास वा भवन एकीकरण सम्बन्धमा व्यवस्था गरिएको विषयलाई समेटेको छ । विधेयकले प्रदेशभित्र भवन निर्माण, जग्गा विकास वा भवन एकीकरण, सार्वजनिक भवन निर्माण, प्रयोग, मर्मत सम्भार, परम्परागत बस्तीको पहिचान, संरक्षण, भवन संहिताको व्यवस्था, जोखिममा रहेको बस्तीको स्थानान्तरण कार्यमा कानुनी व्यवस्था गरेको उहाँले जानकारी दिनुुभयो ।विधेयकलाई सरकारले विज्ञ टोली, प्राविधिकलगायत सल्लाह सुझावमा तयार गरेर सदनमा प्रस्तुत गरेको उहाँले बताउनुुभयो । 

सङ्घीय लोकतान्त्रिक गणतन्त्रको विकल्प राजसंस्था हुन सक्दैन् : नेता राई

दमक (झापा), १४ चैत : नेपाल कम्युनिष्ट पार्टी (एमाले) स्थायी कमिटी सदस्य तथा पार्टीका कोशी प्रदेश इन्चार्ज शेरधन राईले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको विकल्प राजसंस्था हुनै नसक्ने बताउनुभएको छ ।

प्रेस चौतारी नेपाल झापाले आज दमकमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा कोशी प्रदेशका पूर्वमुख्यमन्त्री समेत रहेका नेता राईले २०६२÷६३ सालको जनआन्दोलनले फालेको राजसंस्था लोकतान्त्रिक गणतन्त्रको विकल्प नहुने स्पष्ट पार्नुभयो । देशलाई विकास र समृद्धिको बाटोमा लैजान दुई ठूला दलबीच सहकार्य भएको उल्लेख  गर्दै उहाँले सहकार्य आगामी निर्वाचनसम्म नै जारी रहने बताउनुभयो ।

आसन्न निर्वाचनमा एमाले एक्लै निर्वाचनमा सहभागी भएर पहिलो पार्टी बन्ने नेता राईले दाबी गर्नुभयो । उहाँले भन्नुभयो, “गणतन्त्रविरुद्ध हुँदै आएका सबै किसिमका भ्रम चिर्न एमालेले देशव्यापी सचेतना अभियान सञ्चालन गर्दैआएको छ ।” 

पार्टीले यही चैत ३० गते दमकमा प्रदेशस्तरको जनप्रदर्शन गर्ने निर्णय गरेको नेता राईले जानकारी दिनुभयो । सोही जनप्रदर्शनबारे जानकारी दिने उद्देश्यले पत्रकार सम्मेलन आयोजना गरिएको उहाँले बताउनुभयो । लोकतन्त्रको रक्षा र प्रतिगामी तत्वका विरुद्ध खबरदारी गर्न सातै प्रदेशमा जनसभा गर्न लागिएको उहाँले जानकारी दिनुभयो । 

ट्रम्पको अटो भन्सार शुल्क र दुवै महादेशका लागि आर्थिक खतरालाई लिएर युरोपद्वारा आलोचना

पहिलेदेखि नै घरेलु सुस्त आर्थिक वृद्धि र चीनबाट बढ्दो प्रतिस्पर्धाको समस्यामा रहेका युरोपेली अटोमोबाइल निर्माताहरूले बिहीबार अमेरिकी आयात करलाई बोझका रूपमा घोषणा गरेका छन् ।

उनीहरूले यसले अटलान्टिकका दुवै तर्फका उपभोक्ता र कम्पनीहरूलाई समान रूपम सजाय दिने बताएका छन् ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार घोषणा गर्नुभएको नयाँ २५ प्रतिशत आयात कर ‘विश्वव्यापी अटोमोबाइल निर्माताहरू र अमेरिकी उत्पादनलाई एकैसाथ चोट पुर्‍याउने’, युरोपेली अटोमोबाइल निर्माता सङ्घले एक विज्ञप्तिमा बताएको छ ।

जर्मनीको अटो उद्योग सङ्घ, भिडिएका प्रमुखले करहरूले कार निर्माताहरू र गहिरो अन्तरसम्बन्धित विश्वव्यापी आपूर्ति शृङ्खलामा प्रत्येक कम्पनीलाई ‘उत्तर अमेरिकासहित उपभोक्ताहरूका लागि सबै भन्दा बढी नकारात्मक परिणामहरू ल्याउने’ बताउनुभयो । “परिणामले सबै पक्षबाट विकास र समृद्धिलाई खर्च गर्नेछ”, हिल्डेगार्ड मुलरले एक विज्ञप्तिमा भन्नुभयो ।

बिएमडब्लु, फोक्सवागन, मर्सिडिज–बेन्ज, भोल्भो, स्टेलान्टिस र तिनीहरूको आपूर्तिकर्ताहरूको विशाल सञ्जालका साथै सम्पूर्ण युरोपेली अर्थतन्त्रका लागि यो ठूलो जोखिम हो ।

अमेरिका युरोपेली अटो उद्योगको सबैभन्दा ठूलो निर्यात गन्तव्य हो र सन् २०२३ मा युरोपेली अटोमोबाइल निर्माताहरूले ५६ अर्ब युरो मूल्यका सवारी सान र पाट्र्सहरू अमेरिका पठाएका थिए । युरोपको अटो उद्योगले एक करोड ३८ लाख रोजगारी वा कुल युरोपेली सङ्घ (इयु) रोजगारीको छ दशमलव एक प्रतिशत समर्थन गर्दछ ।

युरोपका कार निर्माताहरूले पहिले नै सङ्कुचित घरेलु बजार र सस्तो चिनियाँ विद्युतीय सवारी साधनहरूबाट नयाँ प्रतिस्पर्धाको सामना गरिरहेका छन् । अ उद्योगमा कुनै पनि समस्याले युरोपेली अर्थतन्त्रमा असर पार्नेछ । यो सन् २०२४ को अन्तिम त्रैमासिकमा बिल्कुलै बढेको छैन र सम्पूर्ण वर्षका लागि शून्य दशमलव नौ प्रतिशत मात्र बढेको थियो ।

बैभ बढी जोखिममा जर्मनी र इटालीका कार निर्माताहरू छन् किनभने जर्मनीको २४ प्रतिशत र इटालीको ३० प्रतिशत गैर–युरोपेली सङ्घ निर्यात अमेरिका जान्छ । जर्मनी फोक्सवागन, मर्सिडिज–बेन्ज र बिएमडब्लु जस्ता ठूला अटोमोबाइल निर्माताहरूको घर हो ।

अक्सफोर्ड इकोनोमिक्सकी विश्लेषक क्लारिसा हानले लेख्नुभएको छ, “यसले लाखौँ रोजगारी मात्र नभई ब्लकको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) को ठूलो अनुपातमा योगदान पुर्‍याउने क्षेत्रलाई ठूलो धक्का दिनेछ ।” उहाँले जर्मनीको निर्यात सात दशमलव एक प्रतिशतले घटेको र इटालीको निर्यात छ दशमलव छ प्रतिशतले घटेको बताउनुभयो ।

अमेरिकी कार निर्माताहरू प्रतिशोधात्मक कारबाहीका लागि कम जोखिममा छन् किनभने तिनीहरूले इयुमा आफ्नो उत्पादनको दुई प्रतिशत मात्र निर्यात गर्छन् । अझै पनि अमेरिकामा डेट्रोइटका फोर्ड र जनरल मोटर्सका सेयरहरू तीव्र रूपमा घटे किनभने अमेरिकी उद्योग आपूर्तिकर्ताहरूबीच सीमापार व्यापारमा धेरै निर्भर छ । “इयु र अमेरिकाले कर र व्यापार युद्धका क्षतिकारक परिणामहरू टार्न तत्काल संवाद गर्नुपर्छ”, युरोपेली निर्माता सङ्घले भन्यो ।

जर्मन अटो एसोसिएसनका प्रमुख मुलरले इयु र अमेरिकाबीच द्विपक्षीय सम्झौतामा तत्काल वार्ताका लागि आह्वान गर्नुभयो । उहाँका अनुसार यसले ‘अटोमोबाइल उत्पादनहरूका लागि विभिन्न कर र गैर–कर अवरोधहरूबारे छलफल गर्न र अधिक सन्तुलित दृष्टिकोणमा लैजान सक्ने’ एउटा फोरम प्रस्ताव गर्नेछ ।

यस वर्षको मदन भण्डारी स्मृति पत्रकारिता पुरस्कार पत्रकार बस्नेतलाई

काठमाडौँ, १४ चैत्रः रिपोर्टर्स क्लब नेपालले यस वर्षको ‘मदन भण्डारी स्मृति पत्रकारिता पुरस्कार’ जनता टाइम्स डटकमका अध्यक्ष तथा प्रधान सम्पादक गणेशबहादुर बस्नेतलाई प्रदान गर्ने निर्णय गरेको छ ।

क्लबका संस्थापक सभापति ऋषि धमलाको सभापतित्वमा पुरस्कार छनोट समितिको आज बसेको बैठकले सो निर्णय गरेको हो । क्लब नेपालले हरेक वर्ष प्रदान गर्दै आएको सो पुरस्कार क्लबको यही चैत १७ गते राष्ट्रिय सभागृहमा आयोजना हुने २७औँ वार्षिकोत्सवका अवसरमा प्रदान गरिनेछ । 

पुरस्कारको राशि नगद रु एक लाख रहेको छ । बस्नेत विगत लामो समयदेखि पत्रकारिता क्षेत्रमा सक्रिय हुनुहुन्छ । पत्रकारितामा आफ्नो क्षमता र कुशलता प्रदर्शन गर्दै आउनुभएका बस्नेतले व्यावसायिक पत्रकारिताको संस्थागत विकास र प्रवद्र्धनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आउनुभएको छ ।  

प्रेस चौतारीको एक दशक लामो नेतृत्व गरिसक्नुभएका बस्नेतले २०५० सालबाट छलफल साप्ताहिकमार्फत पत्रकारिताको सुरुआत गर्नुभएको हो । बस्नेतले एक दर्जनभन्दा बढी साप्ताहिक पत्रिकामा कार्यकारी सम्पादकको भूमिका निर्वाह गर्नुभएको छ । पत्रकार बस्नेतले स्पेस टाइम्स दैनिकको समाचार सम्पादक, राजधानी दैनिकको कार्यकारी सम्पादक, सौर्य दैनिकको सम्पादक र च्यानल नेपाल टिभीको समाचार प्रमुखका रूपमा काम गरिसक्नुभएको छ । 

‘सुदूरपश्चिम प्रदेश सरकार खेलकुदका संरचना निर्माण गर्ने अभियानमा’ : मुख्यमन्त्री शाह

सुदूरपश्चिम, १४ चैत : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सरकार खेलकुदका संरचना निर्माणको अभियानमा अघि बढेको बताउनुभएको छ ।कैलालीको लम्कीचुहा नगरपालिका–३ व्यवस्थितनगर खेलकुद मैदानमा निर्माण हुन लागेको ‘प्यारापिट’को आज शिलान्यास गर्दै मुख्यमन्त्री शाहले जिल्लाको प्राथमिकताका आधारमा खेलकुदको विकासका लागि प्रदेश सरकारले बजेट विनियोजन गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “खेलकुदका क्षेत्रमा बजेट विनियोजन गर्दा जिल्लाका प्राथमिकताका आधारमा गरिएको हो, जिल्लाभर विभिन्न खेलकुदका संरचना निर्माण भइरहेका छन् ।” व्यवस्थितनगरको खेलकुद मैदानमा प्यारापिट निर्माण गर्न रु एक करोड विनियोजन गरिएको छ ।

मुख्यमन्त्री शाहले आजै लम्कीचुहा नगरपालिका–७ को हरैयापुर गाउँमा निर्माण हुन लागेको थारू समुदायको ‘देउथान मरुवा’को शिलान्यास गर्नुभयो । थारू समुदायको मठमन्दिरका रुपमा लिइने ‘देउथान मरुवा’ आस्थाको केन्द्रका रुपमा रहेको छ । यसको निर्माणका लागि प्रदेश सरकारले रु दुई करोड बजेट विनियोजन गरेको छ ।     सो अवसरमा मुख्यमन्त्री शाहले हरेक नागरिकको आस्था फरक फरक रहने गरे पनि प्रदेश सरकारले सम्पूर्ण जातजातिको धर्म संस्कारको संरक्षण गर्नुपर्ने बताउनुभयो । 

सहिद स्मारक फुटबल : वीरगञ्ज युनाइटेड र भगवती क्लबबीचको खेल बराबरी

काठमाडौँ, १४ चैत : राजधानीमा जारी सहिद स्मारक ‘बी डिभिजन लिग फुटबल’ प्रतियोगितामा वीरगञ्ज युनाइटेड क्लब र भगवती क्लबबीचको खेल बराबरीमा सकिएको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा दुवै टोलीले १–१ गोलको बराबरी खेलेका हुन् । खेलको दोस्रो हाफको अतिरिक्त समयसम्म अग्रतामा रहेको भगवती अन्तिम समयमा गोल खान पुगेको हो । खेलको ३१औँ मिनेटमा भगवतीका विक्रान्त नरसिंह रानाले गोल गरे । त्यसपछि खेलको दोस्रो हाफको अतिरिक्त समयमा वीरगञ्जका कृपाकान्त महतो थारूले गोल गर्नुका साथै खेललाई बराबरी गरे ।  

खेलसँगै दुवै टोलीले समान एक–एक अङ्क बाँडेका छन् । भगवतीले लगातार तेस्रो जित निकाल्ने मौका गुमायो । उसको ३ खेलबाट ७ अङ्क छ । वीरगञ्जको ३ खेलबाट ५ अङ्क रहेको छ । 

यसैगरी, सोही मैदानमा आजै भएको अर्को खेलमा प्लानिङ ब्वाइज युनाइटेडले मध्यपुर युथ एसोसिएसनलाई २–० गोलले हरायो । प्लानिङ ब्वाइजका लागि खेलको ३०औँ मिनेटमा विशाल दर्जीले गोल गरे । त्यसपछि खेलको  ७७औँ मिनेटमा फागुराम थारूले गोल गर्दै प्लानिङ ब्वाइजको अग्रता दोब्बर बनाए । जितसँगै प्लानिङ ब्वाइज नौ अङ्क जोडेको छ । मध्यपुरले भने ३ खेलमा ४ अङ्क जोडेको छ । प्रतियोगिताअन्तर्गत शुक्रबार झापा फुटबल क्लब र ब्वाइज युनियनबीच तथा ब्रिगेड ब्वाइज र बाँसबारी क्लबबीच प्रतिस्पर्धा हुनेछ । 

तनहुँ जलविद्युत् आयोजनाको प्रसारण लाइनबाट प्रभावित क्षेत्रको जग्गा सट्टाभर्ना प्रक्रिया थालियो

तनहुँ, १४ चैत : ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको प्रसारण लाइनबाट प्रभावित वनक्षेत्रमा जग्गा सट्टाभर्ना प्रक्रिया अघि बढाइएको छ ।

आयोजनाले भोगचलन गर्ने वनक्षेत्र बराबरको जग्गा खरिद गरी नेपाल सरकारलाई बुझाउन वनसँग जोडिएका व्यक्तिको जग्गा सट्टाभर्ना कार्य अघि बढाएको हो । सार्वजनिक सूचना जारी गरेपछि तनहुँ खण्डबाट दुई जनाले न्यून क्षेत्रफलमा आवेदन दिएको र चितवन खण्डबाट कुनै पनि आवेदन नपरेको तनहुँ जलविद्युत् आयोजनाका प्रमुख श्यामजी भण्डारीले जानकारी दिनुभयो । आयोजनाले भोगचलन गरेको जग्गाको क्षतिपूर्तिवापत वनसँग जोडिएका व्यक्तिको जग्गा खरिद गरी नेपाल सरकारलाई उपलब्ध गराउन लागिएको उहाँले बताउनुभयो ।

उक्त आयोजनाबाट तनहुँ खण्डमा ६७ हेक्टर र चितवन खण्डमा २५ हेक्टर वनक्षेत्र प्रभावित हुने छ । प्रमुख भण्डारीले भन्नुभयो, “प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा गठित जिल्ला सहजीकरण समितिको बैठकले सट्टाभर्ना संम्बन्धि जग्गाको टुङ्गो लगाउने छ ।”

वन मन्त्रालयसँगको समस्याले विद्युत् प्रसारण लाइनको निर्माण कार्य रोकिन पुगेको र रुख नभएको क्षेत्रमा निर्वाध रुपमा काम भइरहेको प्रमुख भण्डारीले बताउनुभयो । अर्थ मन्त्रालयबाट वन मन्त्रालय, वन विभाग हुँदै डिभिजन वन कार्यालयमा आर्थिक वर्षका लागि बजेट सुनिश्चित गरेका कारण प्रसारण लाइनको निर्माण कार्य अघि बढाउन सहज भएको छ ।

आयोजनाको प्याकेज–३ अन्तर्गत प्रसारणलाइन निर्माणका लागि २०७७ असोजदेखि काम सुरु भएको थियो । रुख कटानका विषयमा मन्त्रिपरिषद्बाट स्वीकृति पाए पनि कार्यान्वयनमा नआउँदा निर्माण कार्य प्रभावित भएको थियो । “कूल ९४ टावरमध्ये ६९ वटा ठडाइएको छ”, प्रमुख भण्डारीले भन्नुभयो, “एघार टावरको सबै काम सम्पन्न भएको छ । १४ वटाको पूरै काम गर्न बाँकी छ ।”

तनहुँको तुलनामा चितवन खण्डमा सालका ठूला रुख कटान गर्नुपर्ने र केन्द्रीयस्तरबाट रुख कटानको आदेश नआउँदा काम प्रभावित भएको आयोजना प्रमुख भण्डारीले बताउनुभयो । तनहुँ खण्डमा रहेका सामुदायिक वनसँग आयोजनाले समन्वय गरी काम गरेका कारण सहज बनेको छ । चितवन खण्डमा ठूला सालका रुख कटान गर्नुपर्ने भएकाले वनले जोखिम बहन र सहजीकरण गर्न नसकेकाले कार्य प्रभावित भएको प्रमुख भण्डारीले बताउनुभयो ।

‘खेलकुदको विकास गर्न मधेस प्रदेश प्रयासरत’: मुख्यमन्त्री सिंह

जनकपुरधाम, १४ चैत : मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले नागरिकको जीवनमा खेलकुद तथा अनुशासनको महत्वपूर्ण भूमिका रहेकाले मधेस प्रदेशमा खेलाडीलाई प्रोत्साहन गर्न तथा खेलकुदको विकासका लागि आफ्नो सरकार प्रयासरत रहेको बताउनुभएको छ ।

‘प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता’मा प्रथम स्थान हासिल गरेको मधेस प्रदेश प्रहरीको क्रिकेट टोलीलाई आज जनकपुरधाममा आयोजित समारोहमा सम्मानका साथ प्रशंसापत्र प्रदान गर्दै मुख्यमन्त्री सिंहले मधेस प्रदेश सरकारको खेलकूदसम्बन्धी ऐन प्रदेश संसद्बाट पारित भइसकेको जानकारी दिनुभयो । प्रदेशका खेलाडीले क्रिकेट तथा फुटबल खेलमा प्राप्त गरेको सफलताको उहाँले प्रशंसा गर्नुभयो । 

मधेस प्रदेश अहिले खेलकुदमा धेरै अगाडि बढेकाले आफ्नो सरकारले त्यसको विकास तथा प्रोत्साहनका लागि खेलडीलाई रोजगारी दिने तथा प्रदेशअन्तर्गतका खेलकुद रङ्गशालाको स्तरोन्नति गर्नतर्फ ध्यान दिएको मुख्यमन्त्री सिंहको भनाइ थियो ।

मधेस प्रदेशको खेलकुद तथा समाज कल्याण मन्त्रालयद्वारा आयोजित सो सम्मान समारोहमा  प्रदेशका खेलकुद तथा समाज कल्याणमन्त्री प्रमोद जयसवालले खेलाडीको बिमा गर्ने तथा मधेसमा हुने खेलकुद प्रतियोगितालाई संरक्षण गर्नतर्फ लागिपरेको बताउनुभयो ।

सो अवसरमा नेपाल प्रहरी मधेस प्रदेश कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक लालमणि आचार्यले प्रहरीले शान्तिसुरक्षाको सवालमा महत्वपूर्ण कार्य गरिरहेको जानकारी दिँदै नेपाल प्रहरीले खेलकुदका साथै अनुशासन तथा सामाजिक कार्य गर्दैआएको बताउनुभयो ।

पूर्वराष्ट्रपति भण्डारी लुम्बिनीमा,गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा स्वागत

लुम्बिनी, १४ चैतः पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी रुपन्देहीमा आयोजित विभिन्न कार्यक्रममा सहभागी हुन आज रुपन्देही आउनुभएको छ । उहाँलाई भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा स्वागत गरिएको थियो ।

सद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा अधिकारीले यही चैत १६ गते नगरपालिकाले भैरहवामा आयोजना गर्न लागेको महिला नेतृहरुबीच अन्तरसंवाद कार्यक्रममा पूर्वराष्ट्रपति भण्डारी प्रमुख आतिथी रहनुहुने बताउनुभयो । 

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट पूर्वमन्त्री तथा पार्टी केन्द्रीय सचिव पद्यमा अर्याल र नेपाल कम्युनिष्ट पार्टी (माओबादी केन्द्र)का तर्फबाट पूर्वसञ्चारमन्त्री रेखा शर्मा, नेपाली कांग्रेसका तर्फबाट केन्द्रीय सदस्य गङ्गा शाहीलाई वक्ताका रुपमा आमन्त्रण गरिएको छ । 

महिला जनप्रतिनिधिहरुबीच कार्यसम्पादनमा आइपरेका समस्या, समाधान, उपलब्धि, भावी सम्भावनालगायतका विषयमा केन्द्रित रहेर अन्तरसंवाद आयोजना गरिएको सिद्धार्थनगर नगरपालिकाका नगर प्रमुख इश्तियाक अहमद खाँले जानकारी दिनुभयो ।  

कार्यक्रममा लुम्बिनी प्रदेशका महिला सांसद, स्थानीय तहका महिला प्रमुख, उपप्रमुख, महिला अध्यक्ष, उपाध्यक्ष, महिला वडाअध्यक्ष र महिला कार्यपालिका सदस्यलाई आमन्त्रण गरिएको उपप्रमुख अधिकारीले जानकारी दिनुभयो । 

भैरहवास्थित होटल भिलासामा आज पूर्वराष्ट्रपति भण्डारीसँग नेकपा (एमाले) का नेता–कार्यकर्ता, सांसदलगायतले भेटघाट गरेका छन् । उहाँलाई भेट्न सिद्धार्थ भिलासामा एमाले पोलिटब्यूरो सदस्य एवं लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री लीला गिरी, केन्द्रीय सदस्य खिमलाल भट्टराई, लुम्बिनी प्रदेशका अध्यक्ष राधाकृष्ण कँडेल, प्रतिनिधिसभा सदस्य वासुदेव घिमिरे, नेताहरू दधिराम खरेल, जिल्ला अध्यक्ष यज्ञ गैरेलगायत पुग्नुभएको थियो । 

पूर्वराष्ट्रपति भण्डारी शुक्रबार लुम्बिनीमा एक बौद्ध विहारको शिलान्यास गर्नुहुने कार्यक्रम रहेको सांसद तथा नेकपा एमालेका नेता कृष्णगोपाल श्रेष्ठले जानकारी दिनुभयो ।

संविधानसभाबाट बनेको संविधान हट्नेवाला छैनः सभापति देउवा

पाटन (ललितपुर), १४ चैतः नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान संविधान जनताको चाहना बमोजिम बनेकाले यसको सफल कार्यान्वयनमा जोड दिनुभएको छ । नेपाली कांग्रेसको मानव अधिकार विभागद्वारा पार्टीको केन्द्रीय कार्यालय सानेपामा आयोजित ‘मानवअधिकारप्रति नेपाली कांग्रेसको प्रतिबद्धता, व्यवहार र वास्तविकता’ विषयक कार्यक्रममा सभापति देउवाले संविधानले सम्पूर्ण नागरिकलाई समेटेको उल्लेख गर्दै यसको कार्यान्वयन महत्वपूर्ण भएको बताउनुभयो ।

“देशमा प्राप्त संविधानअनुसार राज्यको सबै तहमा समावेशी, समानुपातिक प्रतिनिधित्व भएको छ, यो सम्पूर्ण नेपाली जनताले संविधानसभामार्फत जनताको इच्छाअनुसार गणतन्त्र आएको हो, यो हट्नेवाला छैन, हट्ने कुरा पनि छैन”, उहाँले भन्नुभयो । 

सभापति देउवाले राजतन्त्र पुनःस्थापित हुने विषय असम्भव भएको बताउनुभयो । “प्रजातन्त्र कुनै हालतमा पनि हट्न सक्दैन, लोकतन्त्र र गणतन्त्रलाई स्थायी गराउने काममा लाग्नु जरुरी छ, बिपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइरालालगायत हामी सबैले यो व्यवस्था ल्याएका हौँ”, उहाँले भन्नुभयो ।

नेपाली कांग्रेस बाग्मती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँले संविधानअनुसार प्राप्त अभिव्यक्तिको स्वतन्त्रताको उपयोग गर्दै अरूको अधिकारको हनन नहुने गरी सबै किसिमका अधिकतम सदुपयोग गर्नेतर्फ ध्यान दिनुपर्नेमा जोड दिनुभयो । 

संविधानसभा सदस्य एवं वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारीले मानवअधिकारप्रति नेपाली कांग्रेसको प्रतिबद्धता, व्यवहार र वास्तविकता विषयमा कार्यपत्र प्रस्तुत गर्नुभयो । उहाँले नेपाली कांग्रेसले स्थापनादेखि नै मानवअधिकारका पक्षमा काम गर्दै आएको उल्लेख गर्नुभयो । कांग्रेसले नै जनतालाई रैतीबाट जनतामा परिणत गरेको बताउँदै कृष्णप्रसाद भट्टराईको नेतृत्वमा बनेको २०४७  संविधानमा स्वतन्त्रतासम्बन्धी हक कायम भएको र अघिल्लो संविधानमा भएको मृत्युदण्ड दिने व्यवस्था हटाएर मानवअधिकार संरक्षणका पक्षमा उत्कृष्ट काम गरेको उहाँले धारणा राख्नुभयो । 

विभागका प्रमुख एवं केन्द्रीय सदस्य धना खतिवडाले मानवअधिकार र लोकतन्त्रविना समाज समृद्ध बन्न सक्दैन भन्दै समाजमा आज पनि कायम रहेको हिंसा, असमानता हटाउनका लागि क्रियाशील भएर लाग्नुपर्ने अवस्था रहेकामा जोड दिनुभयो । उहाँले समाजमा भएका मानवअधिकार उल्लङ्घनका घटनाहरूको चर्चा गर्दै मानवअधिकार हननका घटनामा परेर पीडितलाई क्षतिपूर्तिको व्यवस्थामा ध्यान दिनुपर्नेमा ध्यानाकर्षण गराउनुभयो ।

हवाई टिकटमा लगाइएको मूल्य अभिवृद्धि कर हटाउन माग

काठमाडौँ, १४ चैतः हवाई टिकटमा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट) हटाउन पर्यटन व्यवसायीले माग गरेका छन् । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले हवाई टिकटमा लगाइएको करबारे व्यवसायी एवं सरोकारवालासँग गरेको अन्तरक्रियाका क्रममा वक्ताले हवाई टिकटको भ्याट हटाएर अरू विकल्प खोज्न सुझाव दिएका हुन् ।

साथै व्यवसायीले हवाई भाडा महँगो भएकै कारण विदेशबाट नेपाल आउन लागेका नेपाली नागरिकहरु विदेशी एयरलाइन्सको प्रयोग गर्न बाध्य भएको भन्दै नेपाल आगमनलाई सहज बनाउन आग्रह गरे । टिकट महँगिएकै कारण नेपाल आगमन हुने विदेशी पर्यटकमा असर परेको व्यवसायीको दाबी छ । 

नेपाल वायु सेवा सञ्चालक सङ्घका अध्यक्ष मनोज कार्कीले हवाई टिकटमा लगाइएको भ्याटले एयरलाइन्सलाई समेत असर परेको र हवाई यात्रु महँगो टिकट खरिद गर्न बाध्य भएको बताउनुभयो । हवाई उड्डयन मात्र नभई पर्यटनका अन्य व्यवसायमा पनि यसको प्रत्यक्ष असर परेको उहाँको भनाइ छ ।

नेपाल पर्वतारोहण सङ्घका वरिष्ठ उपाध्यक्ष ठाकुरराज पाण्डेले समग्र पर्यटन क्षेत्रमा लगाइने करको नीतिगत रुपमा सहज बनाइनुपर्ने धारणा राख्नुभयो । उहाँले आगामी आर्थिक वर्षको बजेटमा हवाई क्षेत्रलगायत पर्यटनका अन्य व्यवसायमा समेत लगाइने करमा हेरफेर गरिनुपर्नेमा जोड दिनुभयो ।

नाट्टाका पूर्वअध्यक्ष मधु आचार्यले सरकारले हवाई टिकटमा लगाएको करलाई हटाएर अन्य विकल्प खोज्न सुझाउनुभयो । छिमेकी मुलुक भारतमा आन्तरिकमा पाँच प्रतिशत र विजनेस क्लासको टिकटमा १२ प्रतिशत कर लगाएको उदाहरण दिँदै नेपालको सन्दर्भमा कर व्यावहारिक नभएको दाबी गर्नुभयो । “हवाई टिकट महँगो भएकै कारण विदेशी पर्यटक आगमन खुम्चिएको छ,” उहाँले भन्नुभयो, “पर्यटक आकर्षण गर्न हवाई टिकटमा भ्याट हटाएर अरू उपाय खोज्नु उपयुक्त हुन्छ ।”

रेष्टुरेन्ट एन्ड बार एसोसिएसन (रेबान) का अध्यक्ष सङ्घर्ष बिष्टले हवाई टिकट महँगो भएकाले नेपाल आउने विदेशी पर्यटक पनि खुम्चिएको बताउनुभयो । भ्याटले व्यावसायिक वातावरण नबनेको तथा समग्र व्यवसायमा असर परेको दाबी गर्नुभयो । सरकारले चालु आर्थिक वर्ष २०८०/८१ को बजेट वक्तव्यमार्फत हवाई टिकटमा भ्याट लाग्ने व्यवस्था गरेको थियो ।

लुम्बिनी प्रदेश सरकारद्वारा दोस्रो आवधिक योजना स्वीकृत

लुम्बिनी, १४ चैत : लुम्बिनी प्रदेश सरकारले प्रदेशको दोस्रो आवधिक योजना स्वीकृत गर्ने निर्णय गरेको छ । प्रदेशको मन्त्रिपरिषद्को आज बसेको बैठकले आवधिक योजना स्वीकृत गर्ने निर्णय गरेको हो ।

प्रदेश सरकारका प्रवक्ता एवं कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री दिनेश पन्थीले योजनाले प्रदेशको विकासको मार्गचित्र तय गर्ने अपेक्षा गरिएको बताउनुभयो । आन्तरिक मामिला तथा कानुन मन्त्रालयको प्रस्तावअनुसार २०८२ सालका लागि सार्वजनिक बिदा स्वीकृत गरिएको छ । नेपाल सरकारले वर्षभरि दिने सार्वजनिक बिदाका अतिरिक्त प्रदेशका सरकारी कार्यालयमा बढीमा ६ दिन अतिरिक्त सार्वजनिक बिदा दिन सकिने व्यवस्था छ ।

यस्तै सामाजिक विकास मन्त्रालयले अघि सारेको दलित अधिकारसम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक सहमति प्राप्त गरेको छ । बैठकले लुम्बिनी प्रदेश मानसिक स्वास्थ्य तथा मनोसामाजिक रणनीतिक कार्ययोजना स्वीकृत गर्ने निर्णय गरेको मन्त्री पन्थीले जानकारी दिनुभयो ।

प्रदेश सरकारले स्वीकृत गरेको दोस्रो आवधिक योजनाले प्रदेशको भौगोलिक, आर्थिक, सामाजिक, सांस्कृतिक, तथा वातावरणीय विशेषतालाई ध्यानमा राखी विकासको स्पष्ट मार्गचित्र प्रस्तुत गरेको छ । आवश्यक वित्तीय स्रोत परिचालनका लागि रु १४ खर्ब ९९ अर्बको अनुमानित लगानीको क्षेत्र पहिचान गरिएको छ । योजनाको अन्त्यमा कूल गार्हस्थ्य उत्पादन रु ११ खर्ब ४९ अर्ब पुग्ने, कूल गार्हस्थ्य उत्पादनको वृद्धिदर (औसत) अनुमान ७ दशमलव ६ प्रतिशत पुग्ने अनुमान गरिएको छ ।

योजनाले समृद्ध लुम्बिनी निर्माणका लागि विभिन्न रणनीति अघि सारेको छ । कृषि आधुनिकीकरणमार्फत उत्पादन वृद्धि गर्ने, पर्यटन प्रवर्द्धन गरी रोजगारी सिर्जना गर्ने, औद्योगीकरण मार्फत आर्थिक गतिशीलता बढाउने, गुणस्तरीय स्वास्थ्य सेवा र शिक्षा प्रवद्र्धन गर्ने, व्यावसायिक सीप अभिवृद्धि गर्ने, पूर्वाधार विकासमा लगानी वृद्धि गर्नेलगायतका रणनीतिक योजना छन् ।

आवधिक योजनाको दीर्घकालीन सोच समृद्ध लुम्बिनी, खुसी नागरिक रहेको छ । दोस्रो आवधिक योजना सामाजिक न्यायसहितको दिगो आर्थिक विकास, सुशासन, र पूर्वाधार प्रवर्द्धनमा केन्द्रित रहेको प्रदेश योजना आयोगका उपाध्यक्ष डा डिल्लीराज अर्यालले जानकारी दिनुभयो । यस योजनाले लुम्बिनी प्रदेशको दिगो आर्थिक वृद्धि, समावेशी विकास, सामाजिक न्याय तथा रोजगारी सिर्जना मा टेवा पुग्ने विश्वास गरिएको छ ।

यस्तै प्रदेश सरकारले स्वीकृत गरेको मानसिक स्वास्थ्य तथा मनोसामाजिक रणनीतिक कार्ययोजनामा लुम्बिनी प्रदेश सरकारले पछिल्लो समय तीव्र रुपमा वृद्धि भइरहेको मानसिक स्वास्थ्य समस्यालाई न्यूनीकरण गर्न मानसिक स्वास्थ्य रणनीतिक तय गरिएको छ । योजना मानसिक स्वास्थ्य सेवा विस्तार, रोकथाम, उपचार र पुनःस्थापनाका लागि मार्गदर्शन गर्ने उद्देश्यले तयार गरिएको छ । लुम्बिनी प्रदेशमा १३ देखि १७ वर्ष उमेर समूहका ६.१ प्रतिशत किशोरकिशोरी मानसिक स्वास्थ्य समस्याबाट ग्रस्त छन् । त्यस्तै, १८ वर्षमाथिका १३ प्रतिशत व्यक्तिले जीवनमा एकपटक मानसिक स्वास्थ्य समस्या भोग्ने सम्भावना रहेको अध्ययनले देखाएका छन् ।

मानसिक स्वास्थ्य सेवाको पहुँच विस्तार गर्दै स्वास्थ्य केन्द्रमा आवश्यक सेवा प्रवाह गर्ने, मनोसामाजिक परामर्शको प्रभावकारी कार्यान्वयन गर्न विद्यालय, समुदाय र कार्यस्थलमा कार्यक्रम सञ्चालन गर्ने, मानसिक रोगको रोकथाम र सचेतना कार्यक्रम अघि बढाउन मानसिक स्वास्थ्यलाई अन्य सामान्य स्वास्थ्य सेवासँग जोड्ने, आत्महत्या रोकथामका लागि विशेष कार्यक्रम सञ्चालन गर्ने, जसले जोखिममा परेका समूहको पहिचान र सहयोग गर्नेछ । लागुऔषध नियन्त्रण र पुनःस्थापना केन्द्रको सुदृढीकरण गरिने रणनीतिक योजनामा समेटिएको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक शाक्यद्वारा सर्वोच्चमा रिट, शुक्रबार पेसी

काठमाडौँ, १४ चैतः नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्नुभएको छ । रिट निवेदनमा आफ्नो सेवाको सर्तअन्तर्गत मन्त्रिपरिषद्ले निर्धारण गरेको चार वर्षको पदावधिलाई सम्झौताको दफा ३.१ म २०७७ माघ २९ गतेदेखि २०८१ माघ २८ सम्म कायम गरेको भन्दै त्यसको न्याय निरुपण नगरी थप प्रक्रिया अघि नबढाउन माग गरिएको छ ।

निवेदनपत्रमा शाक्यले २०७८ साउन २७ गते ‘इमेल’को माध्यमबाट प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हटाइ जल तथा ऊर्जा आयोगको ऊर्जा विशेषज्ञ सदस्य पदमा नियुक्त गरिएको उल्लेख गर्नुभएको छ । “मन्त्रिपरिषद्को २०७८ साउन २५ को निर्णयानुसार नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदमा खाईपाई आए सरहको पारिश्रमिक तथा सुविधा उपलब्ध गराउने गरी नेपाल विद्युत् प्राधिकरणबाट जल तथा ऊर्जा आयोगको ऊर्जा विशेषज्ञ सदस्य पद (नेपाल सरकारको विशिष्ट श्रेणी सरह) मा पूरा समय काम गर्ने गरी चार वर्षका लागि नियुक्ति गरिएको थियो”, उहाँले उल्लेख गर्नुभएको छ । 

अदालतले उक्त विवादमा २०७८ भदौ ८ मा मिसिलसमेत झिकाउने आदेश गरेको थियो । साथै २०७८ साल असोज ५ मा सुनुवाइ हुँदा अन्तरिम आदेश जारी गर्नु परेन भनी आदेश भएको थियो । त्यसपछि उक्त मुद्दाको सुनुवाइका लागि २०७७ जेठ १ देखि २०८१ माघ २१ सम्म पटक–पटक पेसी सूचीमा चढेकामा हेर्न नभ्याएको तथा बेच्न नबसेको जस्ता कारणबाट सुनुवाइ हुन सकेको थिएन ।

रिट निवेदनमा पदमा रही कार्य गरेबापत प्राप्त हुने आर्थिक लाभ समेतबाट वञ्चित भएको पनि उहाँले उल्लेख गर्नुभएको छ । रिट निवेदनमा भनिएको छ, “मैले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकको पदबाट राजीनामा नदिएको तथा मलाई नहटाइएको अवधिभरि मेरो पद कायमै रहने भई उक्त अवधिको तबल भत्तालगायतका आर्थिक सुविधाहरु मैले पाउने निर्विवाद छ ।”

एसियातर्फ व्यापार केन्द्रित गर्दै ‘कीर्तिमान’ आर्कटिक शिपिङको रूसद्वारा प्रशंसा

रूसले आफ्नो उत्तरी समुद्री मार्गमार्फत ‘कीर्तिमान’ माल ढुवानीको मात्रा हासिल गरेको छ । यसले युरोप र एसिया बीचको यात्रा समय कम गर्छ र आर्कटिक बर्फ पग्लँदै गएपछि युक्रेनमाथि लगाइएको प्रतिबन्धका कारण मस्कोलाई व्यापार पुनः निर्देशित गर्न मद्दत गर्दछ ।

मस्कोको युक्रेन आक्रमण सुरु गर्नुअघि राष्ट्रपति भ्लादिमिर पुटिनले आर्कटिक मार्गको प्रयोगलाई प्राथमिकता दिनुभएको थियो । यसमा रुसले आठवटा आणविक आइसब्रेकरहरूको फ्लीट विकास गरेको थियो ।रूसी राष्ट्रपति पुटिनले बिहीबार उत्तरी रूसी बन्दरगाह मुरमान्स्कमा आर्कटिक विकासको मञ्चमा यस विषयमा सम्बोधन गर्नुहुनेछ ।

जलवायु परिवर्तनले पहिले बर्फले छोपिएका समुद्री मार्गहरू खुला हुँदै गएपछि आर्कटिक संसाधनहरूका लागि प्रतिस्पर्धा तीव्र भएको छ । मस्कोले उत्तरी समुद्री मार्गमा ठूलो लगानी गरेको छ ।

यो मार्गले माल ढुवानी गर्ने जहाजहरूको यात्रा समय सुएज क्यानलमार्फत जाँदा भन्दा १५ दिन कम गर्छ तर यसले धेरै लजिष्टिक समस्याहरूको सामना गर्नुपरेको छ ।रूसको रोसाटोम आणविक एजेन्सीका आर्कटिक विकासका विशेष प्रतिनिधि भ्लादिमिर पानोभले बुधबार यस मार्गले सन् २०२४ मा यातायातको ‘नयाँ कीर्तिमान’ देखेको बताउनुभयो ।

“हामीले उत्तरी समुद्री मार्गका लागि नयाँ कीर्तिमानका साथ सन् २०२४ समाप्त गर्‍यौँ । हामीले तीन करोड ७९ लाख टन (माल) ढुवानी गरेका छौँ”, पानोभले भन्नुभयो ।उहाँले मस्कोले ‘गृष्म र शरद ऋतुमा ढुवानीकर्ताहरूलाई आफ्नो मालहरू एसियाको बाटो हुँदै पुनः निर्देशित गरेको’ देखेको बताउनुभयो ।

जलवायु परिवर्तनले रूसका आणविक आइसब्रेकरहरूलाई कहिलेकाहीँ कठिनाइका साथ आफ्नो पूर्वी तटका पूरै क्षेत्रमा जान दिएको छ ।“पछिल्लो दुई वर्षदेखि पहिलो पटक हामीले उत्तरी समुद्री मार्गका जलक्षेत्रमा आइसब्रेकरहरूको वर्षभरि सञ्चालन गर्न सुरु गर्‍यौँ”, पानोभले भन्नुभयो ।

आर्कटिक संसाधनका लागि विश्वव्यापी प्रतिस्पर्धा तीव्र भएको छ र यो पश्चिमसँग रूस असहमत रहेको अर्को क्षेत्र हो ।सको विदेश मन्त्रालयका अधिकारी भ्लादिस्लाभ मास्लेनिकोभले पश्चिममा ‘उत्तेजक’ आर्कटिक नीति रहेको आरोप लगाउनुभयो ।“वातावरण संरक्षण र जलवायु परिवर्तनसँग लड्ने आडमा हामी वास्तविक रूपमा अनुचित प्रतिस्पर्धामा चलिरहेको प्रयासहरू देखिरहेका छौँ”, उहाँले भन्नुभयो ।

तर उच्च महत्त्वाकांक्षालाई बेवास्ता गर्दा मस्कोले अझै पनि मार्गमा लजिस्टिक समस्याहरूको शृङ्खलाको सामना गरिरहेको छ, जसबाट यसबाट गुज्रने माल रूसले अपेक्षा गरेको भन्दा धेरै कम हुँदै गएको छ ।

तीन करोड ७९ लाख टन अझै पनि क्रेमलिनको लक्ष्यभन्दा धेरै पछाडि छ । सन् २०१८ मा आर्कटिकका लागि महत्त्वाकांक्षी योजनाहरू खोल्दै पुटिनले सन् २०२४ सम्ममा उत्तरी समुद्री मार्गमार्फत वार्षिक आठ करोड टन पास हुने आशा गर्नुभएको थियो ।

सिद्धार्थ बैंकद्वारा ‘ग्लोबल मनी वीक २०२५’ मा विविध कार्यक्रम सम्पन्न

चैत्र १४, २०८१, काठमाडौं – सिद्धार्थ बैंक लिमिटेडले विद्यार्थीहरूलाई वित्तीय शिक्षा प्रदान गरी आर्थिक रूपमा सचेत र सशक्त बनाउने उद्देश्यले २०२५ मार्च १७ देखि २३ गतेसम्म सप्ताहव्यापी रूपमा मनाइएको ‘ग्लोबल मनी वीक २०२५’ को अवसरमा विभिन्न कार्यक्रमहरू सम्पन्न गरेको छ।

यस वर्षको ग्लोबल मनी वीक २०२५ को नारा ‘Protect Your Money, Secure Your Future’ लाई सार्थक बनाउने प्रयासस्वरूप बैंकले देशका सातै प्रदेशमा विद्यालय तथा क्याम्पस गरी २४ स्थानहरूमा विद्यार्थी लक्षित वित्तीय साक्षरता कार्यक्रमहरू सञ्चालन गरेको थियो। बैंकले प्रदान गर्ने सेवा, डिजिटल कारोबार तथा यसमा अपनाउनुपर्ने सावधानीका विषयमा सचेत गराउँदै विद्यार्थीहरूमा वित्तीय ज्ञान, सीप, मनोवृत्ति तथा व्यवहारमा सुधार ल्याउने उद्देश्यले सञ्चालन गरिएको सो कार्यक्रममा १,२१२ जना विद्यार्थीहरूको सहभागिता रहेको थियो।

साथै, विद्यार्थीहरूलाई बैंकको आधारभूत बैंकिङ सञ्चालन र विभिन्न बैंकिङ माध्यमहरूसम्बन्धी व्यवहारिक शिक्षा प्रदान गर्ने उद्देश्यले ४४८ जना विद्यार्थीहरूलाई बैंकका विभिन्न शाखाहरूमा भ्रमण कार्यक्रम पनि आयोजना गरिएको थियो। यस सप्ताहव्यापी रूपमा मनाइएको ‘ग्लोबल मनी वीक २०२५’ मा बैंकले कुल ३८ कार्यक्रममार्फत १,६६० जना विद्यार्थीहरूलाई वित्तीय शिक्षा प्रदान गरेको थियो।

बैंकले देशका सम्पूर्ण व्यक्तिहरूलाई वित्तीय सेवाको पहुँचमा ल्याउने तथा हरेक वर्ग र क्षेत्रका नागरिकलाई वित्तीय चेतना प्रदान गर्दै वित्तीय सशक्तीकरण गर्ने उद्देश्यले यी कार्यक्रमहरू सञ्चालन गरेको हो। बैंकले वार्षिक रूपमा मनाइने ‘ग्लोबल मनी वीक’ अभियानले वित्तीय शिक्षाको महत्वबारे जागरूकता ल्याउने तथा यस अभियानका उद्देश्यहरू प्राप्त गर्न योगदान दिने विश्वास लिएको छ।

समिक्षा अधिकारी र शुभाङ्गी सिंह खड्काको ‘घामपानी घामपानी’ को चर्चा

काठमाडौँ । गायिका समिक्षा अधिकारी र नव बालगायिका शुभाङ्गी सिंह खड्काको ‘घामपानी घामपानी’ बोलको गीतको भिडियो सार्वजनिक गरिउको छ । जसमा प्रकाश सापकोटाको शब्द छ भने आर.एण्ड बि.को संगीत रहेको छ ।

गीतको भिडिओमा नायिका बर्षा राउतसँगै गायिका शुभाङ्गीले अभिनय गरेका छन् । भिडिओलाई आशिष गुरुङले निर्देशन गरेका हुन् भने अर्जुन तिवारीको टिमले खिचेको हो । सन्जय विश्वकर्माको कोरियोग्राफी रहेको भिडिओ मिलन विश्वकर्माले सम्पादन गरेका हुन् ।

शुभाङ्गी कल्चर क्रिएसनको युट्युव च्यानलमार्फत सार्वजनिक भिडिओमा सार्वजनिक भएसँगै सकारात्मक प्रतिक्रिया आउन थालेका छन् । शुभाङ्गी उदाउँदै गरेकी नव प्रतिभा हुन् । उनको गायकीलाई सामाजिक सन्जालमा धेरैले रुचाएका पनि छन् ।

सबैको सहमतिमा संविधान संसोधन हुन्छ : गृहमन्त्री लेखक

भैरहवा (रूपन्देही), १४ चैत : गृहमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले संविधान संशोधन जस्तो कुरा दुई तिहाईले मात्र नभई सबै पार्टी र सरोकारवालासँगको व्यापक छलफलपछि सहमतिको वातावरण बनाएर मात्र संशोधन गरिने बताउनुभएको छ ।

नेपाली कांग्रेस रूपन्देही क्षेत्र नम्बर ३ ले आज भैरहवामा आयोजना गरेको भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा मन्त्री लेखकले संविधानमा संशोधनमा सबैको सहमतिको आवश्यकता आँैल्याउनुभयो । संविधान बनेको १० वर्ष भएको उल्लेख गर्दै उहाँले यसको अभ्यासको क्रममा राम्रा पक्ष र जटिलता देखिएका पक्षमा समीक्षा गर्न आवश्यक रहेको बताउनुभयो । आवधिक रूपमा संविधानको समीक्षा गर्नुपर्ने उहाँको भनाइ थियो ।

“हामीले संविधानको अभ्यास भएको १० वर्षमा सकारात्मक पक्ष के रहे र कहाँ, कहाँ जटिलता र समस्या छन् भनेर पहिचान गर्नु पर्छ”, मन्त्री लेखकले भन्नुभयो, “समस्या पहिचानपछि संविधान निर्माण गर्न जति पार्टी थिए, अहिले संविधानसभामा जति पार्टी छन्, ती पार्टीहरुका बीचमा व्यापक संवाद र छलफल गरी सहमतिको आधारमा संशोधन हुन्छ ।”

गृहमन्त्री लेखकले मुलुक फेरि निरङ्कुशता र तानाशाहीतर्फ नजाने बताउनुभयो । नेपाल निरङ्कुश र तानाशाही व्यवस्था फालेर लोकतान्त्रिक व्यवस्थामा अगाडि बढिसकेको उहाँले उल्लेख गर्नुभयो । “सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामा समाज अगाडि बढी सकेपछि फेरि त्यो समाज निरङ्कुशता र तानाशाहीतर्फ फर्केर जान्छ भन्ने कुरा समाज विकास विज्ञानले मान्दैन”, मन्त्री लेखकले भन्नुभयो, “हामीले गर्नुपर्ने काम जति गर्नुपथ्र्यो गर्न सकेका छैनौँ, हुनुपर्ने काम भएका छैनन् । यसले नागरिकमा केही चिन्ता र पीडा अवश्य छ । त्यो चिन्ता र पीडालाई आक्रोशमा बदलेर व्यवस्था कै विरुद्धमा प्रयोग गर्ने काम भइरहेको छ ।”

नेपाली कांग्रेस अहिलेको व्यवस्थाको पक्षमा उभिन जरुरी रहेको उल्लेख गर्दै मन्त्री लेखकले कांग्रेस संविधानको रक्षा गर्न तत्पर रहनुपर्ने जिकिर गर्नुभयो ।

कार्यक्रममा नेपाल शिक्षक महासङ्घ सिद्धार्थनगरका अध्यक्ष चर्तुभुज रेग्मी, कांग्रेस क्षेत्र नम्बर ३ का कोषाध्यक्ष कृष्ण खनाल, क्षेत्रीय प्रतिनिधि गुरचरण प्रजापति, क्षेत्रीय सहसचिव कुलप्रसाद न्यौपाने, पर्यटन व्यवसायी सञ्जय बजिमय, पूर्वमहाधिवेशन प्रतिनिधि भरथरी यादव, युवा नेता टीका जिसी, नारायणप्रसाद कोइराला, सिद्धार्थनगर–४ का सभापति नरेन्द्रप्रसाद रौनियार, जिल्ला सदस्य ओमकुमार श्रेष्ठ, महाधिवेशन प्रतिनिधि विनय ज्ञवालीलगायतले आ–आफ्नो धारणा राख्नुभएको थियो ।

‘जन्ते बाख्रो’ को फस्र्ट लुक सार्वजनिक, जेठ २३ गते प्रदर्शन मिति घोषणा

काठमाडौं । अभिनेता सौगात मल्ल, आशिफ शाह र अभिनेत्री गरिमा शर्माको मुख्य भूमिा रहेको सिनेमा ‘जन्ते बाख्रो’को फस्र्ट लुक सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरिएको छ । सार्वजनिक पोस्टरमार्फत् सिनेमा आगामी जेठ २३ गतेबाट प्रदर्शनमा जानकारी दिइएको हो । यो मितिमा अहिलेसम्म अन्य कुनैपनि सिनेमाले प्रदर्शन मिति घोषणा गरेका छैनन् ।

हिमालको काखमा सेटअप गरिएको पोस्टरमा आशिफ र गरिमालाई रोमान्टिक अवतारमा प्रस्तुत हुँदा सौगातले निराश भावमा उनीहरुलाई हेरिरहेका छन् । उनीहरुको बीचमा चस्मा लगाएको बाख्रोलाई देखाइएको छ ।

निर्माण टिमले यसलाई बेहुली भित्र्याउने दिन जन्तीलाई खुवाइने भोजलाई जन्ते बाख्रो रुपमा चित्रण गर्न खोजेको बुझिन्छ । सिनेमाको कथावस्तु यसैको वरिपरि आधारित रहको छ ।

सिमोस सुनुवारको निर्देशनमा निर्माण सिनेमामा सौगात, आशिफर गरिमासँगै रमा थपलिया, लोकेन्द्र लेखक, कमल देवकोटा, विशाल पहाडी, रुशा न्यौपाने, कुसुम शर्मा, स्नेहा जोशी, समापिका गौतम, कुशल गजमेर लगायतका कलाकारहरुको अभिनय रहनेछ ।

मुईन इन्टरटेनमेन्टको प्रस्तुति रहने ‘जन्ते बाख्रो’ सामाजिक कमेडी कथावस्तुमा निर्माण भएको छ । प्रदीप भारद्धाजको कथा, पटकथा र संवाद लेखन रहेको सिनेमाको निर्माता सन्तोष गौतम हुन् ।

सिनेमा हरि हुँमागाईको डिओपी, उत्तम हुँमागाईको सिनेमाटोग्राफी, सुनिल शिवभक्तिको सम्पादन र रोयल भिमसेन (ट्राइडेन्ट कन्सेप्ट टिम) को पोस्टर डिजाइन रहेको छ । टिफल्क फिल्मस्ले वितरण गर्ने सिनेमाको डिजिटल राइट्स स्वंयम निर्माण कम्पनी मुईन इन्टरटेनमेन्टले नै राखेको छ ।

प्रेस चौतारीमा कुनै पनि प्रकारको भाइरस नछिरोस्ः प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रेस चौतारी नेपालको नवनिर्वाचित नेतृत्वलाई बधाई तथा शुभकामना दिएका छन् ।

प्रधानमन्त्री निवास, बालुवाटारमा आज भएको भेटमा प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष ओलीले चौतारीको केन्द्रीय कमिटी सर्वसम्मतरुपमा चयन हुनुले राम्रो सन्देश दिएको बताउँदै अब व्यावसायिक, वैचारिक र साङ्गठनिक काममा सक्रिय हुन आग्रह गरे ।

यही चैत १० देखि १२ गतेसम्म विराटनगरमा भएको चौतारीको दसौँ राष्ट्रिय महाधिवेशनबाट गणेश पाण्डेको नेतृत्वमा नयाँ केन्द्रीय कमिटी चयन भएको थियो ।

अध्यक्ष ओलीले चौतारीको नेतृत्व चयनका सन्दर्भमा आकाङ्क्षीहरूले आफूसँग भेट गरे पनि आफूले कसैलाई कुनै पदमा राख्नु भनेर नतोकेको स्पष्ट गर्दै महाधिवेशनले सहमतिका साथ नेतृत्व चयन गरोस् भन्ने कामना मात्रै राखेको स्मरण गराए ।

प्रधानमन्त्री ओलीले झुटबाहेक केही नबोल्ने र अरूलाई आरोप लगाउनेहरूबाट बचेर देशको समृद्धि र सामाजिक सद्भाव एवं एकताका लागि सञ्चार क्षेत्रबाट योगदान दिनुपर्नेमा जोड दिए । उनले सामाजिक सञ्जालको सही सदुपयोग गर्दै साम्प्रदायिक, जातीय, भाषिक, क्षेत्रीय र लैङ्गिकताका नाममा सङ्गठनभित्र कुनै पनि प्रकारको रोग (भाइरस) छिर्न नदिनेतर्फ सचेत गराए ।

एकताको महाधिवेशन सफल पार्न एनआरएनए हंगेरीका अध्यक्ष भण्डारीको अपिल

गैर आवासीय नेपाली सङ्घ (एनआरएनए ) मा हाल देखिएको विवाद समाधान गरी संस्थालाई बलियो बनाउन एकताको महाधिवेशन सफल पार्न एनआरएनए हंगेरीको अध्यक्ष नारायण भण्डारीले अपिल गरेका छन् ।

अध्यक्ष भण्डारीले सर्वोच्च अदालतको परमादेश पालना गर्दै आउँदो मे महिनामा काठमाडौँमा हुन गइरहेको एकताको महाधिवेशनमा सबै पक्ष सहभागी हुनु पर्ने बताए। उनले लामो समयदेखिको विवादले गर्दा एनआरएनएको साख निकै गिरेको बताउँदै अब एकजुट भएर सहकार्य गर्नुको विकल्प नभएको धारणा व्यक्त गरे।

“गएको केही समय यता एनसीसीहरु चेपुवामा परेका छन्। एनसीसीहरू स्वायत्त निकाय हुन्। यिनलाई चेपुवामा पार्नु ठिक होइन। आपसमा इगोको लडाई गर्नुको सट्टा मिलेर अगाडी बढ्दा नै संस्था र सबै एनआरएनहरूको हित हुन्छ,” उनले भने।

उनले हंगेरीमा बस्ने सबै एनआरएनहरूलाई उच्चस्तरीय समितिको वेबसाइट (www.nrnahlc.com) मा गएर ३१ मार्च २०२५ भित्र सदस्यताको लागि निवेदन दिन आग्रह पनि गरे।

अध्यक्ष भण्डारीले बद्री केसी पक्षलाई सर्वोच्च अदालतको निर्देशन बमोजिम सदस्यता सूचना प्रणाली (एमआइएस) लगायत सङ्घको सचिवालयमा उच्चस्तरीय समितिलाई पहुँच दिन आग्रह पनि गरे। “सङ्घको भवन र सचिवालय हामी सबैको साझा हो। कुनै एक पक्षले सचिवालय कब्जा गर्न मिल्दैन,” उनले भने।

धम्पुसदेखि बुडापेष्टसम्म

गएको २० वर्षदेखि हंगेरीमा बसोबास गर्दै आएका भण्डारीका अनुसार हंगेरीमा झन्डै १२०० नेपालीहरू बसोबास गर्दछन्। “धेरै जसो नेपालीहरू ग्रामीण क्षेत्रमा खेतीपाती वा कारखानामा काम गरेर बसी रहनु भएको छ। उहाँहरूलाई संस्थामा जोड्न पनि गाह्रो छ,” भण्डारीले भने।

हरेक वर्ष हंगेरीका नागरिकहरूलाई नेपालको पदयात्रामा लग्ने गरेका भण्डारीले हस्तकला लगायत नेपालका उत्पादन युरोपमा बिक्री गर्न पनि सघाउने गरेका छन्। कास्कीको रमणीय पर्यटकीय केन्द्र धम्पुसमा अन्नपूर्ण हिमाल हेर्दै हुर्किएका भण्डारीले धम्पुसमै अन्नपूर्णा किन्डरगार्डन पनि खोलेका छन्। “उक्त किन्डरगार्डनका तीन जना शिक्षिकाहरूको तलब मैले नै उपलब्ध गराउँदै आएको छु। कहिलेकाहीँ पर्यटकहरूले पनि सहयोग गर्नु हुन्छ,” उनले भने।

“हामी केही लिन हैन दिनको लागि एनआरएन अभियानमा लागेका हौँ। अब सबै मिलेर सहकार्य गरौँ। मातृभूमिको सेवाका लागि हातेमालो गरौँ,” भण्डारीले भने।

प्रतिनिधिसभा बैठक ११ बजे बस्दै , यस्तो छ कार्यसूची

काठमाडौं । बिहीबार प्रतिनिधिसभाको बैठक बस्दैछ । नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बिहान ११ बजेदेखि सुरू हुने बैठकमा प्रश्नोत्तरको कार्यक्रम रहेको छ ।अर्थ मन्त्रालय, गृह मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसम्बन्धी मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यसूची रहेको छ ।

बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गर्ने कार्यसूची रहेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले लोकसेवा आयोगको ६५औँ वार्षिक प्रतिवेदन (२०८० साउन २०८१ असार) पेस गर्ने कार्यसूची रहेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ र नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले निकासी पैठारी (नियमन) विधेयक, २०८१ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाउन प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

काठमाडौँ, १४ चैतः कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो ।

गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ४०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ५०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु २०, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ३०, आलु रातो प्रतिकिलो रु ३५, आलु रातो (भारतीय) प्रतिकिलो रु ३५, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ५५, गाजर (लोकल) प्रतिकिलो रु ५०, गाजर (तराई) प्रतिकिलो रु ३५, बन्दा (लोकल) प्रतिकिलो रु १५, बन्दा (तराई) प्रतिकिलो रु १५, बन्दा (नरिवल) प्रतिकिलो रु २०, काउली (स्थानीय) प्रतिकिलो रु ४०, स्थानीय काउली (ज्यापु) प्रतिकिलो रु ५०, मूला रातो प्रतिकिलो रु ५०, मूला सेतो (लोकल) प्रतिकिलो रु १५, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु २५, भन्टा लाम्चो प्रतिकिलो रु ३५ तथा भन्टा डल्लो प्रतिकिलो रु ५०, तने बोडीको मूल्य प्रतिकिलो रु १०० कायम गरिएको छ ।

यसैगरी, मटरकोसा प्रतिकिलो रु ७०, घिउ सिमी (लोकल) प्रतिकिलो रु ७०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु ७०, घिउ सिमी (राजमा) प्रतिकिलो रु १००, टाटे सिमी प्रतिकिलो रु ७०, तितो करेला प्रतिकिलो रु १००, लौका प्रतिकिलो रु ६०, परबर (लोकल) प्रतिकिलो रु ९०, परबर (तराई) प्रतिकिलो रु ९०, चिचिण्डो प्रतिकिलो रु १००, घिरौला प्रतिकिलो रु ९०, झिगुनी प्रतिकिलो रु ८०, फर्सी पाकेको प्रतिकिलो रु ५०, फर्सी हरियो (लाम्चो) प्रतिकिलो रु ३०, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु ३०, सलगम प्रतिकिलो रु ६० तथा भिण्डी प्रतिकिलो रु १२० कायम गरिएको छ । 

यस्तै, सखरखण्ड प्रतिकिलो ७०, बरेला प्रतिकिलो रु ५०, पिँडालु प्रतिकिलो रु ९०, स्कूस प्रतिकिलो रु ५०, रायो साग प्रतिकिलो रु ९०, पालुङ्गो साग प्रतिकिलो ८०, चमसुरको साग रु ८०, तोरीको साग प्रतिकिलो रु ५०, मेथीको साग प्रतिकिलो रु ८०, प्याज हरियो प्रतिकिलो रु ५०, बकुला प्रतिकिलो रु ५०, तरुल प्रतिकिलो रु ९०, च्याउ (कन्य) प्रतिकिलो रु १४०, च्याउ (डल्ले) प्रतिकिलो रु २५० तथा कुरिलो प्रतिकिलो रु ६०० निर्धारण गरिएको छ ।

निगुरो प्रतिकेजी रु १२०, ब्रोकाउली प्रतिकिलो रु ५०, चुकुन्दर प्रतिकिलो रु ६०, सजीवन प्रतिकिलो रु २००, कोइरालो प्रतिकिलो रु १८०, रातो बन्दा प्रतिकिलो रु ५०, जिरीको साग प्रतिकिलो रु ७०, ग्याठकोभी प्रतिकिलो रु ७०, सेलरी प्रतिकिलो रु १५०, पार्सले प्रतिकिलो रु ३००, सौफको साग प्रतिकिलो रु ८०, पुदिना प्रतिकिलो रु ३००, गान्टे मूला प्रतिकिलो रु ७०, इमली प्रतिकिलो रु १७०, तामा प्रतिकिलो रु १००, तोफु प्रतिकिलो रु १२० र गुन्द्रुकको मूल्य प्रतिकिलो रु ३५० तोकेकोे छ ।

समितिले स्याउ (झोले) प्रतिकिलो रु २५०, स्याउ (फूजी) प्रतिकिलो रु ३५०, केरा (दर्जन) रु १६०, कागती प्रतिकिलो रु २७०, अनार प्रतिकिलो रु ३५०, अङ्गुर (हरियो) प्रतिकिलो रु २००, अङ्गुर (कालो) प्रतिकिलो रु २५०, भारतीय सुन्तला रु २५०, तरबुजा हरियो प्रतिकिलो रु ७०, मौसम प्रतिकिलो रु २००, जुनार प्रतिकिलो रु २००, भुइँकटहर प्रतिगोटा रु २००, काँक्रो (लोकल) प्रतिकिलो रु ६०, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु ३५, रुख कटहर प्रतिकिलो रु १००, निबुवा प्रतिकिलो रु ५०, नासपाती (चाइनिज) प्रतिकिलो रु २६०, मेवा (नेपाली) प्रतिकिलो रु ५०, मेवा (भारतीय) प्रतिकिलो रु १२०, अम्बा प्रतिकिलो रु १२०, लप्सी प्रतिकिलो रु १३०, उखु प्रतिगोटा रु १००, स्ट्रबेरी (भुइँऐसेलु) रु २५०, किबी प्रतिकिलो रु ४५० तथा आभोकाडो प्रतिकिलो रु ६५०, अमलाको मूल्य प्रतिकिलो रु १०० निर्धारण गरिएको छ ।

यसैगरी, अदुवा प्रतिकिलो रु १२०, खुर्सानी सुकेको प्रतिकिलो रु ४००, खुर्सानी हरियो प्रतिकिलो रु ८०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु ८०, खुर्सानी हरियो (माछे) प्रतिकिलो रु १००, सुर्खानी हरियो (अकबरे) प्रतिकिलो २५०, भेडे खुर्सानी प्रतिकिलो रु १००, लसुन हरियो प्रतिकिलो रु ६०, हरियो धनिया प्रतिकिलो रु १००, लसुन सुकेको चाइनिज प्रतिकिलो रु ३२०, लसुन सुकेको नेपाली प्रतिकिलो रु ३००, छ्यापी सुकेको प्रतिकिलो रु १६०, छ्यापी हरियो प्रतिकिलो रु ६०, ताजा माछा (रहु) प्रतिकिलो रु ३२०, ताजा माछा (बचुवा) प्रतिकिलो रु २६०, ताजा माछा (छडी) प्रतिकिलो रु २४०, रुख टमाटर प्रतिकिलो रु १८०, राजा च्याउ प्रतिकिलो रु ३०० र सिताके च्याउको मूल्य प्रतिकिलो रु ८०० तोकेको छ ।

संचारकर्मी गोपिकृष्ण चापागाईं राष्ट्रिय डिजिटल मिडिया चलचित्र पत्रकारिता अवार्डबाट सम्मानित

काठमाडौं । आर्टिष्ट खबर डटकमका पत्रकार गोपिकृष्ण चापागाईंलाई राष्ट्रिय डिजिटल मिडिया चलचित्र पत्रकारिता अवार्ड २०८१ प्रदान गरिएको छ । बुधबार (चैत १३) आयोजीत दोस्रो राष्ट्रिय डिजिटल मिडिया अवार्ड २०८१मा चापागाईंलाई रंग पत्रकारितामा दिएको योगदानको कदर गर्दै उक्त अवार्ड प्रदान गरिएको हो ।

समारोहमा उहाँले राष्ट्रिय सभाकी उप सभामुख इन्दिरा राना मगर लगायतका अतिथिबाट अवार्ड ग्रहण गर्नुभयो । अवार्ड न्युज एक्प्रेस मिडिया प्रा.ली.ले आयोजना गर्दै आएको छ ।

पत्रकार चापागाईंले एकदशक देखी रंग पत्रकारिता गर्दै आउनुभएको छ । उहाँले गृहजिल्ला नवलपरासी (बर्दघाट सुस्ता पुर्व) नवलपुरमा रहेका रेडियोसँगै देवचुली टेलिभिजनमा समाचार वाचनसँगै काठमाडौंमा रहेर हिमालय टाइम्स राष्ट्रिय दैनिक, हिमालय टेलिभिजनमा पनि काम गरिसक्नुभएको छ । साथै उहाँले सन् २०१५ देखी नै आर्टिष्ट खबरको प्रकाशक तथा सम्पादकको जिम्मेवारी निभाइरहनुभएको छ ।

नरैनापुरका अग्निपीडित १७ परिवारलाई सहयोग

नेपालगञ्ज, १४ चैतः बाँकेको नरैनापुरका अग्निपीडित १७ परिवारलाई रु १० हजार बराबरका राहत सामग्री वितरण गरिएको छ । नरैनापुरस्थित नेपाल रेडक्रस सोसाइटीको उपशाखाले अग्निपीडितलाई त्रिपाल, ब्ल्याङ्केटका साथ भान्सामा प्रयोग हुने भाँडावर्तन, साबुन, सर्ट पाइन्ट, महिला तथा पुरुषले लगाउने धोतीलगायत लत्ताकपडा प्रदान गरेको हो ।

उपशाखाका कोषाध्यक्ष सोहनलाल यादवका अनुसार
नरैनापुर गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमत शाहको उपस्थितिमा राहत सामग्री पीडितलाई हस्तान्तरण गरिएको हो । नरैनापुरमा गत मङ्गलबार आगलागी हुँदा १७ घरगोठ जलेर रु ५० लाख बराबरको क्षति भएको थियो ।

५ करोड बढी राजस्व छल्ने दुई कम्पनीविरुद्ध मुद्दा दर्ता

वीरगञ्ज । पथलैयास्थित राजस्व अनुसन्धान कार्यालयले  पाँच करोड सात लाख ९४ हजार ९८२ राजस्व चुहावटको माग दाबीसहित यहाँका दुई कम्पनीविरुद्ध मुद्दा दायर गरेको छ ।

राजस्व अनुसन्धान कार्यालयका प्रमुख अनुसन्धान अधिकृत हरिप्रसाद शर्माका अनुसार बुधबार अमायरा वस्त्रालयका सञ्चालक चन्दन गुप्ता र शिवशान्ति कन्स्ट्रक्सनका सञ्चालक सञ्जयकुमार कुर्मीको कम्पनीले राजस्व चुहावटको कसुर गरेको मागदाबीसहित उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्जमा अभियोगपत्र दायर गरेको होे ।

अमायरा वस्त्रालयका सञ्चालक जितपुर सिमरा उपमहानगर–७ का चन्दन गुप्ताले विजक नै जारी नगरी गलत विवरण बुझाई कपडाको कारोबार गरी राजस्व चुहावटको कसुर गरेको हुँदा कपडाको आयकरतर्फ रु एक करोड ६५ लाख ६० हजार पाँच सय ९३ र मूल्यअभिवृद्धि करतर्फ रु ५८ लाख ३७ हजार छ सय ८३ गरी कूल रु दुई करोड २३ लाख ९८ हजार दुई सय ७६ बिगो कायम गरिएको उनले जानकारी दिए ।

उक्त कार्यालयले सञ्चालक गुप्तालाई राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा २३ (१) बमोजिम बिगो असुलउपर गरी बिगोको शतप्रतिशत जरिवाना गरी हुन आउने रु चार करोड ४७ लाख ९६ हजार पाँच सय ५३ र कैद सजाय हुन मागदाबी लिई अभियोगपत्र दर्ता गरेको हो ।

यसैगरी वीरगञ्ज महानगर–१६ का सञ्जयकुमार कुर्मीले शिव शन्ति कन्स्ट्रक्सनले दोहोरो रसिदमार्फत कारोबार गरेर राजस्व चुहावट गरेको कसुरमा बिगोतर्फ रु १९ लाख ६० हजार १५१ र मूल्यअभिवृद्धिकरतर्फ बिगो रु १० लाख ३९ हजार ६३ गरी २९ लाख ९९ हजार २१४ को शतप्रतिशत जरिवाना गरी रु ५९ लाख ९८ हजार चार सय २८ र कैद सजाय हुन मागदाबी लिई अभियोगपत्र दर्ता गरेको छ ।

अस्थायी इजलासमा हालसम्म राजस्व चुहावटसम्बन्धी ११ वटा र विदेशी विनियम अपचलनसम्बन्धी आठ वटा मुद्दा दर्ता भएका छन् ।

देशका अधिकांश भागमा आज मौसम सफा रहने

काठमाडौँ, १४ चैतः हाल देशमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले कोशी र गण्डकी प्रदेशलगायत अन्य प्रदेशका पहाडी भागमा आंशिक बदली भई बाँकी भागको मौसम सफा रहेको छ ।

विभागका अनुसार दिउँसो देशको पहाडी भागमा आंशिक बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सफा रहनेछ । कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागको एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

त्यसैगरी, आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहनेछ । कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

आगामी २४ घण्टामा कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागको एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको जनाउँदै महाशाखाले त्यसबाट दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाईउड्डयनमा आंशिक प्रभाव पर्न सक्ने भएकाले सतर्कता अपनाउन सम्बद्ध सबैमा अनुरोध गरेको छ ।

परीक्षणका लागि पहिलो पटक मनाङ पुग्यो बस, मनाङबासीमा खुसी

मनाङ- बेँसीसहर–चामे खण्डमा बस सञ्चालनका लागि परीक्षण गर्न सदरमुकाम चामेसम्म पहिलो पटक बस पुर्‍याइएको छ । लमजुङ सदरमुकाम बेँसीसहरबाट यात्रु लिएर बेँसीसहर–पोखरा सञ्चालन हुने ना ६ ख ९५७९ नं को बस पहिलो पटक सदरमुकाम चामे पुगेको हो ।

सफल रूपमा बस चामे पुगेपछि मनाङबासीमा खुसी छाएको छ । आगामी नयाँ वर्षदेखि मनाङ सदरमुकामसम्म नियमित रूपमा बस सञ्चालन गर्ने तयारी भएसँगै निजी क्षेत्रको एकल प्रयासमा चामेसम्म बस पुर्‍याइएको बस सञ्चालक सुरेश घिमिरेले बताउनुभयो । उहाँका अनुसार अन्नपूर्ण पदयात्राका लागि आउने विदेशी पर्यटकलाई लिएर उक्त बस यही चैत ७ गते चामे पुगेर हो ।

“सुरुमा यात्रु लिएर मनाङ जाने प्रस्ताव आउँदा जाने कि नजाने अन्योल थियो । मनाङमा निर्माणाधीन मनाङ–मस्र्याङ्दी जलविद्युत्का सामान लिएर १० चक्के ट्रकसमेत सहज रूपमा पुग्ने गरेका पाएपछि यात्रुसहित बस लैजान सकिन्छ भन्ने लागेर पठाका थियौँ । जाँदाआउँदा कुनै समस्या भएन”, उहाँले भन्नुभयो ।

घिमिरेका अनुसार चालक विनोद रिमालले सहज रूपमा बसलाई चामेसम्म पुर्‍याएर फर्किनुभएको छ । मनाङको सडक साँघुरो र अधिकांश भाग कच्ची भए पनि अनुभवी चालक भए बस सञ्चालनमा समस्या नहुने भन्दै नयाँ र कम अनुभव भएका चालक उक्त खण्डमा नखटाइने उहाँले बताउनुभयो ।

सञ्चालक घिमिरेले स्थानीय प्रशासन तथा मनाङबासीको साथ पाए आफूले नियमित रूपमा बँेसीसहर–चामे खण्डमा यात्रुवाहक बस सञ्चालन गर्न सकिने धारणा राख्नुभयो । “हामीले सडकको अवस्था हेरेका छौँ । अहिले परीक्षणका क्रममा अनुभव पनि भयो । अब नियमित बस सञ्चालन गर्न समस्या छैन, अनुमति पाए बस सञ्चालन गर्न सकिन्छ”, उहाँले भन्नुभयो ।

जिल्ला प्रशासन कार्यालयले जिल्लामा यात्रुवाहक बस सञ्चालनको तयारी थालेको छ । गत फागुन २५ गते जिल्ला प्रशासन कार्यालयमा बसेको समन्वयात्मक बैठकले बेँसीसहरबाट चामेसम्म आगामी वैशाख १ गते नयाँ वर्षदेखि सार्वजनिक बस सञ्चालन गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी मातृका आचार्यले जानकारी दिनुभयो ।

यसका लागि स्थानीय प्रशासनले डुम्रे–बेँसीसहर–चामे सडक आयोजना र अन्य सरोकार भएका निकायसँग छलफल गरी लाई आवश्यक निर्देशन जारी गरिएको प्रशासन कार्यालयले जनाएको छ ।

डुम्रे–बेँसीसहर–चामे आयोजनाका प्रमुख इञ्जिनीयर सतिश सुवेदीले सडकमा ट्राफिक सङ्केत राख्न प्रशासनबाट अनुरोध आएपछि आवश्यक सङ्केत निर्माणका लागि ठेकेदारलाई काममा लगाइएको बताउँदै केही समयमा ती सङ्केत तयार भई सडक छेउमा गाडिने जानकारी दिनुभयो ।

डेढ दशकअघि मोटर सञ्चालन हुन थालेको मनाङमा हालसम्म बोलेरो, टाटासुमो जस्ता साना सवारीसाधनले मात्र यातायात सेवा दिइरहेका छन् । बेँसीसहरबाट चामेसम्मको करिब ६४ किलोमिटर सडकमा यात्रा गर्न अहिले बोलेरोले प्रतियात्रु रु एक हजार २५० भाडा लिने गर्दछन् ।

पाँच जना यात्रु अट्ने जीपले १०–१५ जनासम्म यात्रु र मालसामन बोक्दा यात्रा जोखिमपूर्ण बन्ने गरेको स्थानीय बताउँछन् । बस सञ्चालनमा ल्याउन सकिएमा स्थानीयलाई सहज हुने अपेक्षा गरिएको छ । साथै महँगो भाडाको मारमा परेका स्थानीय र पर्यटकलाई आर्थिक भार कम हुनेछ ।

बेँसीसहर–चामे सडकअन्तर्गत बेँसीसहरबाट खुदीसम्मको सात किलोमिटर सडक कालोपत्र भएको छ । खुदीभन्दा माथि चामेसम्म ठाउँठाउँमा १० किलोमिटर सडक ढलान गरिएको छ । बाँकी ४७ किलोमिटर कच्ची सडक रहेकामा साँघुरा घुम्तीमा मर्मत गरी बस सञ्चालनको तयारी गरिएको मनाङ प्रशासनले जनाएको छ ।

एकीकृत समाजवादीको प्रथम प्रदेश अधिवेशन धनगढीमा हुने

कैलाली- नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को प्रथम सुदूरपश्चिम प्रदेश अधिवेशन यही चैत १७ र १८ गते कैलालीको धनगढीमा हुने भएको छ ।धनगढीमा आयोजित पत्रकार सम्मेलनमा प्रदेश अध्यक्ष हर्कबहादुर सिंहले ‘सुशासन र रोजगारी, समाजवादको तयारी’ भन्ने नारासहित प्रदेश अधिवेशनका लागि प्रदेशका नौ जिल्लामा प्रतिनिधि छनोट गरिसकिएको जानकारी दिनुभयो । अधिवेशन सम्पन्न गर्न मूल आयोजक कमिटीसँगै विभिन्न समिति गठन गरिएको उहाँले बताउनुभयो ।

पार्टी केन्द्रीय उपाध्यक्ष एवं सुदूरपश्चिम प्रदेश इन्चार्ज भानुभक्त जोशीले प्रदेश अधिवेशनमा पार्टीका केन्द्रीय अध्यक्ष माधवकुमार नेपाल, महासचिव घनश्याम भुसाललगायत पदाधिकारीको सहभागिता रहने बताउनुभयो । उहाँले आफ्नो पार्टी विपक्षमा रहे पनि राष्ट्रिय समस्या समाधानका लागि सहकार्य गर्न तयार रहेको बताउनुभयो । 

प्रदेशमा एकीकृत समाजवादीका १७ हजार ६७९ जना सङ्गठित सदस्य रहेको र प्रथम प्रदेश अधिवेशनमा करिब पाँच सय जना सहभागी रहने त्यस अवसरमा जानकारी दिइयो ।

कैलाली भन्सार कार्यालयद्धारा आठ महिनामा पाँच अर्ब चौँतिस करोड राजस्व सङ्कलन

अत्तरिया (कैलाली), १४ चैतः कैलाली भन्सार कार्यालय धनगढीले चालु आर्थिक वर्ष २०८१/८२ को आठ महिनामा रु पाँच अर्ब ३४ करोड १९ लाख बराबर राजस्व सङ्कलन गरेको छ । कार्यालयले चालु आवको साउनदेखि फागुन मसान्तसम्म उक्त राजस्व सङ्कलन गरिएको जनाएको छ ।

कार्यालयका सूचना अधिकारी खिमप्रसाद अर्यालका अनुसार यस अवधिमा भन्सार महसुलतर्फ रु दुई अर्ब ५९ लाख, मूल्य अभिवृद्धि करतर्फ रु दुई अर्ब ४१ लाख, अन्तःशुल्कतर्फ रु १३ करोड ८२ लाख र अन्यतर्फ रु एक अर्ब १९ करोड ३५ लाख राजस्व सङ्कलन गरिएको हो । चालु आवमा रु ११ अर्ब १६ करोड २६ लाख राजस्व सङ्कलनको वार्षिक लक्ष्य रहेकामा आठ महिनामा सो लक्ष्यको ४७ दशमलव ८६ प्रतिशतमात्रै सङ्कलन भएको उहाँले जानकारी दिनुभयो ।

चालु आवको साउनमा रु ५७ करोड ५० लाख, भदौमा रु ५३ करोड ८४ लाख, असोजमा रु ६७ करोड २४ लाख र कात्तिकमा रु ६२ करोड ७८ लाख राजस्व सङ्कलन भएको छ । यस्तै, मङ्सिरमा रु ८१ करोड १३ लाख, पुसमा रु ६५ करोड ८७ लाख, माघमा रु ७३ करोड दुई लाख र फागुनमा रु ७२ करोड ७६ लाख राजस्व सङ्कलन भएको सूचना अधिकारी अर्यालले जानकारी दिनुभयो । सूचना अधिकारी अर्यालले बढी राजस्व सङ्कलन हुने पेट्रोलियम पदार्थलगायत वस्तुको आयात घटेको र यस्तै अन्य कारणले पनि राजस्व सङ्कलनको लक्ष्य हासिल गर्न नसकिएको बताउनुभयो । 

कार्यालयले गत आव २०८०/८१ मा पनि राजस्व सङ्कलन लक्ष्य पूरा गर्न सकेको थिएन । गत आवमा रु ११ अर्ब ५८ करोड २४ लाख वार्षिक राजस्व सङ्कलनको लक्ष्य तोकिएकामा रु सात अर्ब ९१ करोड ८० लाख मात्र सङ्कलन भएको थियो । जुन वार्षिक लक्ष्यको ६८ दशमलव ३६ प्रतिशत मात्रै हो । 

गर्मीसँगै उखु जुस व्यापारीको आम्दानी बढ्दै, मासिक ५० हजार कमाइ

महोत्तरी, १४ चैतः तराई मधेसमा बिस्तारै गर्मी बढ्दै गएको छ । मौसम परिवर्तन, जलवायु परिवर्तनको असरका कारण अघिल्ला वर्षभन्दा पछिल्ला वर्षहरू निरन्तर ताता हुँदैछन् । यस वर्ष त झन् सुक्खा हिउँदको असरस्वरुप गर्मी बढ्ने भन्दै आमनागरिक चिन्तित छन् तर यहाँका उखुको जुस व्यापारी भने उत्साहित हुँदै महोत्तरीका बजार क्षेत्रका चोकचोकमा देखिन थालिसकेका छन् ।

गौशाला–५ का मोहम्मद साबिर चैत लागेसँगै दैनिकजसो करिब एक क्विन्टल उखु पेलेर जुस बेच्न थालेको र गर्मी बढ्दै जाँदा व्यापार पनि थपिँदै गएको बताउनुहुन्छ । “अहिले राम्रो बिक्री छ, कुनैकुनै बेला त ग्राहकको भीड नै लाग्छ”, बर्दिबासचोक र आसपास ठेलामा घुमन्ते व्यापार गर्दै आएका उहाँले भन्नुभयो, “मध्याह्नपछि जुस खोज्ने बढी हुन्छन् । चैत लागेयता दैनिक करिब एक क्विन्टल उखु पेलेर बेच्ने गरेको छु ।” 

धेरै जाँगर र आँट चल्ने युवा उमेर विदेशमा बिताएका ४० वर्षीय साबिरले उखुको जुस बेच्न थाल्नुभएको एक वर्षमात्र भयो । यसै अवधिमा जहान परिवार, चार छोराछोरीको शिक्षादीक्षासहित विदेश जाँदा लागेको रु तीन लाखभन्दा बढी ऋण तिरेको उहाँले सुनाउनुभयो । “गर्नेलाई त यही ठाउँ रहेछ नि ! के गर्नु पहिले विदेश गएर के के न  गरौँला भन्ने लाग्यो, तीनपटक गरेर १२ वर्ष मलेसिया र कत्तारमा बिताइयो । ऋणको भारी बोकियो”, साबिर भन्नुहुन्छ, “उता हण्डरठक्कर खाएपछि, ठगिएपछि बल्ल यहाँ केही गर्ने होस खुल्यो । अहिले यहाँको मेहनतबाट प्राप्त उपलब्धिले पहिले नै किन बुद्धि आएन छ भन्ने सोच्छु । राम्रै भइरहेको छ ।” उखुको जुसको व्यापारबाट महिनामा करिब रु ५० हजारसम्म कमाइ हुने गरेको उहाँको भनाइ छ ।

बर्दिबास चोकबजार क्षेत्रमा हाल साबिरजस्ता १५÷१६ जनाले यस्तै व्यापर गर्न थालेका छन् । जसमा विदेश गएर फर्किएकाहरू नै बढी छन् । तीमध्येका एक हुनुहुहुन्छ धनुषाको मिथिला नगरपालिकाका पञ्चलाल साह । बर्दिबासचोकमा जुस बेच्ने गरेका उहाँले भन्नुभयो, “दलालको पछि लागेर विदेश गइयो, ऋणले थिच्यो, उता भनेको काम पाइएन । यहाँ फर्किएपछि यही काम गरिरहेको छु । अबभने आफ्नो ठाउँ छोडेर कतै जाने सोच छैन ।” 

पछिल्ला दुई वर्षदेखि यही काम गरिरहेको बताउने साहले छ जनाको परिवारको लालनपालनसहित  मासिक रु ३० हजारसम्म बचाइने गरेको बताउनुभयो । आफ्नो ठाउँमा सानो लगानीमा सुरु गर्न सकिने उद्यम छाडेर विदेश धाएको विगत सम्झेर अचेल पछुतो मात्रै लाग्ने गरेको उहाँको भनाइ छ ।

गर्मी बढेसँगै बर्दिबासमात्र नभएर जिल्लाका गौशाला, रामगोपालपुर, औरही र सदरमुकाम जलेश्वरमा पनि उखुको जुसको व्यापार फस्टाउँदो छ । यस्तो व्यापारमा लागेकाहरू आफ्नो गाउँठाउँभन्दा छिमेकका बजारमा रमाउने गरेका छन् । “छन् त हाम्रै ईश्वरपुर र लालबन्दीमा पनि जुसको राम्रो व्यापार छ तर आफूलाई चिनेको क्षेत्रमा भन्दा अलि पर काम गर्दा खुलेर गर्न पाइँदो रहेछ”, सर्लाहीको ईश्वरपुर नगरपालिकाको श्रीनगरका २१ वर्षीय विक्कीकुमार साह भन्नुहुन्छ, “आफ्नो ठाउँमा सघाउनेभन्दा टिप्पणी गर्ने बढी हुन्छन्, त्यसैले घरबाट १५÷१६ किलोमिटर यता  बर्दिबास रोजेको हुँ ।” विदेश जान राहदानी ठिक्क पारिसकेका उहाँ कसैले ऋण नपत्याएपछि यस काममा लागेको र हाल यसैमा सन्तुष्ट रहेको सुनाउनुहुन्छ । “मलाई कसैले ऋण नपत्याएर ठिकै भएछ, पत्याएको भए त खै कुन देशमा कस्तो अवस्थामा हुन्थे ! अचेल आफ्नै देशमा रमाइरहेको छु । ऋणको भारले थिचिनु परेको छैन, आम्दानी पनि ठिकै छ”, साहले खुसी व्यक्त गर्नुभयो ।   

औरही बजारमा व्यापार गर्ने भङ्गाहा–३ का समिम कवारी पनि गर्मी बढेसँगै व्यापारसमेत बढ्ने भन्दै खुसी हुनुहुन्छ । “उखुको व्यापार राम्रै हुन्छ तर गर्मी बढेपछि झनै माग बढ्छ । गर्मी भोग्दा त समस्या नै हुन्छ तर व्यापार पनि हुने भएकाले हाम्रा लागि त यो अवसरका रूपमा आउँछ । यसबाट हुने कमाईसँगै परिवारसँग बसेर खुसी साट्न पाउँला निकै रमाइलो लाग्छ”, उहाँले भन्नुभयो । 

ठेला र मोटर जडानमा रु दुई लाख जति लगानी गरेमा आफ्नै व्यापार गर्न पाइने भन्दै यसमा लागेका प्रायः सबैजसो व्यापारीहरू खुसी व्यक्त गर्छन् । त्यसैमा उधारोमा उखु किनेर जुसबाट भएको आम्दानीबाट त्यसको मूल्य चुक्ता गर्न पाइने हुँदा पनि यो व्यवसाय थप सहज हुने गरेको छ । यहाँ रु एक हजारमा प्रतिक्विन्टलमा उखु पाइने गरेको छ । प्रतिक्विन्टल रु १०० उखु छिल्न खर्च हुने गरेको छ । महोत्तरी, सर्लाही र धनुषामा उखुखेती बढी हुने भएकाले यहाँ कच्चा पदार्थ (उखु) खोज्न भौँतारिनु नपर्ने भएकाले पनि आफूहरू सहज हुने गरेको व्यापारीहरूको भनाइ छ । 

उखुको रस स्वास्थ्यका लागि पनि गुणकारी र कुनै अखाद्य वस्तुको मिसावट नहुने भएकाले पनि गर्मीयाममा यसको माग बढ्ने गरेको छ । बजारमा पाइने अन्य पेयपदार्थभन्दा उखुको जुसको स्वास्थ्यका दृष्टिले पनि लाभदायक हुने हुँदा तराई मधेसमा उपभोक्ताको रोजाइमा पर्ने गरेको बर्दिबास नगरपालिका, स्वास्थ्य शाखा प्रमुख सुरेश पासवान बताउनुहुन्छ ।

समयमा काम नहुँदा दाउन्ने सडकखण्डको यात्रा कष्टपूर्ण, १४ किलोमिटर बाटो पार गर्न तीन घण्टा

मध्यविन्दु (नवलपरासी), १४ चैतः नारायणगढ–बुटवल सडकखण्डअन्तर्गत दाउन्ने क्षेत्रको यात्रा निकै कष्ट पूर्ण बनेको छ । सडक विस्तारका क्रममा दाउन्ने क्षेत्रको राजमार्ग भत्काइँदा अहिले यो खण्ड भएर यात्रा गर्नु निकै कठिन चुनौतीपूर्ण रहेको छ ।

सडक विस्तारका क्रममा भत्काइएका संरचनाहरू समयमै पुनर्निर्माण नहुँदा यात्रुहरू दिनहुँ कष्ट भोग्न बाध्य छन् । सडकखण्डको अन्य क्षेत्रमा धमाधम कालोपत्र गरिए पनि दाउन्ने क्षेत्रमा भने उबड–खाबड सडक, साँघुरा घुम्ती, निर्माणका लागि बनाइएका अस्थायी डाइभर्सन र धुलाम्मे बाटोले यात्रालाई कष्टकर बनाएको हो ।

यात्रु जीवन ढकालले भन्नुभयो, “दुम्कीवासदेखि दाउन्ने हुँदै बर्दघाटसम्मको बाटो निकै जोखिम पूर्ण छ । धुलो, धुवासँँगै दुर्घटनाको जोखिम पनि उत्तिकै छ । दाउन्नेको बाटो छिचोल्न चार घण्टा लाग्यो ।” दाउन्ने खण्डमा धुलोका कारण दिउँसै ‘हेड लाइट’ बालेर हर्न बजाउँदै गाडीहरू गुडाउनुपर्ने बाध्यता छ । वैकल्पिक सडक नहुँदा यहाँ दिनहुँ सवारी जाम हुने समस्या उस्तै छ । फोन नलाग्ने, जङ्गल भएका कारण कहिलेकाहीँ यात्रु भोकभोकै बस्नुपर्ने अवस्था छ । दाउन्ने  सडकको दुर्गति देखेर गाडी चालकहरू पनि हैरान छन् । ट्रक, बस, मोटरसाइकल सबैका लागि यो खण्ड जोखिमपूर्ण बनेको छ । 

चालक वसन्त खनाल भन्नुहुन्छ, “१४ किलोमिटरको बाटो पार गर्न दुई–तीन घण्टा लाग्छ । लगातार धुलो खेप्नुपर्ने, गाडी हल्लिने र जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता छ । प्रायः सङ्घीय राजधानी काठमाडौँबाट आउने र मुलुकका अन्य स्थानबाट काठमाडौँ जाने सवारीसाधन मध्यरातमा यहाँ पुग्दछन् । यो समयमा यात्रु र चालकले भोग्नुपर्ने सास्ती थप कष्ट पूर्ण हुने गरेको छ । बाटो नदेखिने गरी उड्ने धुलोका कारण दुर्घटनाको जोखिम पनि उस्तै छ”, उहाँले भन्नुभयो । 

इलाका प्रहरी कार्यालय दुम्कीवासका प्रहरी नायब निरीक्षक लक्ष्मण तनगामी पनि समयमा सडक निर्माण नहुँदा यस क्षेत्रको यात्रा निकै कष्टपूर्ण रहेको सुनाउनुभयो । “दाउन्ने खण्डको सडक साँघुरो, उकालो–ओरालो, घुमाउरो मोड, एउटा गाडी बिग्रियो वा अर्कोले लेन क्रस गरेर अगाडि जान खोज्यो भने घण्टौँ जाम हुन्छ”, उहाँले भन्नुभयो, “भिरसहितको साँघुरो सडक भएकाले सवारीसाधन बिग्रिएपछि व्यवस्थापन गर्न पनि समय लाग्ने हुँदा जामको समस्या बढी हुने गरेको छ । हामीलाई पनि ट्राफिक व्यवस्थापनमा उत्तिकै समस्या छ ।”  

यस खण्डमा हाल सडक विस्तारको कामअन्तर्गत कल्भर्ट निर्माण र सडक चौडा बनाउने काम भइरहेको छ । दाउन्ने क्षेत्रमा अधिकांश बाटो एकतर्फी मात्र सञ्चालनमा छन् । एकतर्फी बाटोमा मालवाहक सवारीसाधन बिग्रँदा घण्टौँ आवागमन ठप्प हुने गरेको प्रहरी नायब निरीक्षक तनगामीले बताउनुभयो । “नारायणगढ बुटवल सडकखण्डको बढी जोखिमपूर्ण मानिने दाउन्ने क्षेत्रमा पनि घ्यू खोला र ८३ मोड बढी दुर्घटना हुने क्षेत्र मानिन्छन् । हिजोआज यो खण्डमा सानोठूला सवारी दुर्घटना हुने क्रम पनि बढेको छ”, उहाँले भन्नुभयो ।   

नारायणगढ बुटवल सडक आयोजना पूर्वी खण्डका सूचना अधिकारी इञ्जिनियर शिव खनालका अनुसार पूर्वी खण्डमा पर्ने ६५ किलोमिटर सडकमध्ये ४७ किलोमिटर एकतर्फी कालोपत्रको काम भएको छ । कल्भर्ट तथा बाँकी पुलको निर्माण, १३ स्थानमा बेस तथा सब–बेसका कामहरू भइरहेका छन् । दाउन्ने क्षेत्र पहाड भएकाले कटानको काम चलिरहेकाले यात्रा कष्टपूर्ण नैे छ । आयोजनाअन्तर्गत पूर्वी खण्डको अहिलेसम्मको भौतिक प्रगति ५७ दशमलव सात प्रतिशत रहेको उहाँले जानकारी दिनुभयो ।

निर्माण कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनियरिङका सहव्यवस्थापक राकेश झाले सवारी आवागमनमा अवरोध कम गर्ने गरी निर्माण कार्य गरिएको दाबी गर्नुभयो । “हाल सडक विस्तारका लागि ६५० भन्दा बढी कामदार परिचालन गरेर काम भइरहेको छ । सडक आयोजनाको पूर्वी खण्डअन्तर्गत दाउन्ने क्षेत्रको सबैभन्दा कठिन पहाडी चट्टान कटान गसिकेका छौँ”, उहाँले भन्नुभयो । 

उहाँकाअनुसार नारायणगढ–बुटवल सडकको ११४ किलोमिटरअन्तर्गत गैँडाकोटदेखि दाउन्नेसम्मको ६५ किलोमिटरमध्ये बजार क्षेत्रमा सर्भिस लेनसहित छ र दाउन्नेको जोखिमपूर्ण क्षेत्रमा १४ किलोमिटर खण्डमा तीन लेनको सडक विस्तारको काम चलिरहेको छ । रु १७ अर्ब लागतमा निर्माण सुरु भएको यस आयोजनामा समयमा काम नभएपछि हालसम्म तीनपटक म्याद थपिएको छ । तेस्रो पटक थप गरिएको म्याद २०८२ साउन ८ गते सकिने छ ।

सबैभन्दा अग्लो स्थानमा रहेको छिम्केश्वरीलाई पर्यटकीय गन्तव्यस्थल बनाउन पहल

दमौली (तनहुँ), १४ चैतः जिल्लाको सबैभन्दा अग्लो स्थानमा रहेको छिम्केश्वरीलाई पर्यटकीय गन्तव्यस्थल बनाउन पहल थालिएको छ । समुन्द्री सतहबाट दुई हजार १३४ मिटर उचाइमा अवस्थित छिम्केश्वरीमा पर्यटकीय गतिविधि बढाउन र यहाँका स्थानीयवासीको आर्थिकस्तर उकास्ने उद्देश्यसहित यस ठाउँलाई पर्यटकीय गन्तव्यस्थल बनाउन पहल थालिएको हो ।

आँबुखैरेनी गाउँपालिका–५ मा अवस्थित छिम्केश्वरीमा हाल वार्षिक एक लाख पर्यटक आउने गरेको तथ्याङ्क छ । गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले यहाँ आवश्यक पर्यटकीय पूर्वाधार निर्माण गरी धेरै पर्यटक भित्र्याउने लक्ष्य राखेर काम अगाडि बढाइएको जानकारी दिनुभयो । “हामी छिम्केश्वरीको एकीकृत पर्यटकीय विकासमा जुटेका छौँ । त्यसका लागि सङ्घ र प्रदेश सरकारसँग सहकार्य गरेर अगाडि बढ्छौँ”, उहाँले भन्नुभयो,“गाउँपालिकाले छिम्केश्वरीमा पूर्वाधार निर्माण गरेर समग्र गाउँपालिकाको विकास योजना अगाडि बढाएका छौँ । यसमा सङ्घीय, प्रदेश, स्थानीय तहको सरकारको साझेदारी, आमजनताको सहभागिता र निजी क्षेत्रको लगानी अपेक्षा गरेका छौँ ।”

अध्यक्ष चुमानले छिम्केश्वरीमा सडक असुविधा, खानेपानी अभाव, विद्युत् समस्या, मोबाइल टावर नभएका जस्ता समस्या क्रमशः निराकरण हुँदै जाने र सडक सञ्जाल स्तरोन्नतिका क्रममा रहेको बताउनुभयो । यस्तै, खानेपानीको बजेट स्रोत सुनिश्चित भएर विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) बनाएर ठेक्का लगाउने प्रक्रियामा रहेको छ । अध्यक्ष चुमानले भन्नुभयो, “वडा नं ४, ५ र ६ लाई समेटेर एकीकृत छिम्केश्वरी खानेपानी आयोजना अगाडि बढाउन डिपिआर भइरहेको छ । त्यो काम सकिएपछि मन्त्रालयबाट ठेक्का आह्वान हुनेछ ।” खानेपानीका लागि करिब रु १० करोड लाग्ने अनुमान गरिएको छ ।

यस्तै, छिम्केश्वरीमा टेलिकमको टावर नहुँदा सञ्चार सम्पर्कमा समस्या हुँदै आएकाले त्यसको समाधानका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसँग र विद्युत् पहुँच नपुग्दा सोलारबाट काम चलाउनुपर्ने अवस्था अन्त्यका लागि विद्युत् प्राधिकरणसँग समन्वय भइरहेको जनाइएको छ । यहाँ पर्यटकीय क्रियाकलाप बढाउन मन्दिर नजिकै बूढीमाईमा ध्यानगृह बनाउने लक्ष्यसमेत राखिएको छ । छिम्केश्वरी पर्यटन विकास समितिका अध्यक्ष कृष्णमान तामाङले यी सबै योजना सम्पन्न भएमा हाल वार्षिक रूपमा एक लाख पर्यटक आउने गरेकामा त्यो सङ्ख्या निकै बढ्ने विश्वास व्यक्त गर्नुभयो ।

यहाँ रहेको छिम्केश्वरी मन्दिर गोरखा मनकामनाकी दिदीका रूपमा पुजिँदै आएकी छिम्केश्वरीको पूजाआजा गरेपछि मनले चिताएको इच्छा पूरा हुने धार्मिक विश्वास रहँदै आएको छ । सात देवीमध्ये जेठी बूढीदेवीमाई र माइली छिम्केश्वरीमाई यसै क्षेत्रमा अवस्थित छन्भने साइली गोरख कालीमाई, काइली मनकामनामाई, अन्तरी इच्छाकामनामाई, जन्तरी अन्नपूर्णामाई र कान्छी अकलामाईलाई सोही स्थलबाट दृश्यावलोकनसहित दर्शन गर्न सकिन्छ । यसका साथै यस स्थानबाट धौलागिरि, अन्नपूर्ण, लमजुङ, मनास्लु, माछापुच्छ«ेलगायत हिमाल हेर्न सकिन्छ ।

यस मन्दिरमा पुग्नका लागि गण्डकी प्रदेश सरकारको सहयोगमा पैदलमार्ग र रेलिङ निर्माण भइसकेको छ । आर्थिक वर्ष ०७५÷७६ मा रु ४१ लाख ६३ हजार ७०६ को लागतमा ४८६ मिटर ढुङ्गाको सिँढी निर्माण सम्पन्न गरिएको थियो भने आर्थिक वर्ष ०७६÷७७ मा रु ३५ लाख ९९ हजार १४१ को लागतमा ३०५ मिटर ढुङ्गाको सिँढी र रेलिङ निर्माण सम्पन्न गरिएको थियो ।

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, १४ चैतः नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलर केही घटेर एकको खरिददर १३६ रूपैयाँ ८४ पैसा र बिक्रीदर १३७ रूपैयाँ ४४ पैसा कायम भएको छ । बुधबार अमेरिकी डलर एकको खरिददर १३६ रूपैयाँ ९२ पैसा र बिक्रीदर १३७ रूपैयाँ ५२ पैसा कायम भएको थियो । युरोपियन युरो एकको खरिददर १४७ रुपैयाँ ६८ पैसा र बिक्रीदर १४८ रुपैयाँ ३३ पैसा कायम भएको छ । युरो पनि हिजोको भन्दा घटेको हो । बुधबार युरो एकको खरिददर १४८ रुपैयाँ १६ पैसा र बिक्रीदर १४८ रुपैयाँ ८१ पैसा कायम भएको थियो ।

यस्तै, युके पाउन्ड स्टर्लिङ र स्विस फ्र्याङ्कको विनिमयदर पनि घटेको छ । आज पाउन्ड स्टर्लिङ एकको खरिददर १७६ रूपैयाँ ५९ पैसा र बिक्रीदर १७७ रूपैयाँ ३७ पैसा, स्विस फ््र्याङ्क एकको खरिददर १५४ रूपैयाँ ९० पैसा र बिक्रीदर १५५ रूपैयाँ ५८ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८६ रूपैयाँ ५६ पैसा र बिक्रीदर ८६ रूपैयाँ ९४ पैसा, क्यानेडियन डलर एकको खरिददर ९६ रूपैयाँ ०१ पैसा र बिक्रीदर ९६ रूपैयाँ ४३ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०२ रूपैयाँ ३१ पैसा र बिक्रीदर १०२ रूपैयाँ ७६ पैसा निर्धारण गरिएको छ ।

यस्तै, जापानी येन १० को खरिददर नौ रूपैयाँ ११ पैसा र बिक्रीदर नौ रूपैयाँ १५ पैसा तोकिएको छ । चिनियाँ युआन एकको खरिददर १८ रूपैयाँ ८३ पैसा र बिक्रीदर १८ रूपैयाँ ९२ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपैयाँ ४८ पैसा र बिक्रीदर ३६ रूपैयाँ ६४ पैसा, कतारी रियाल एकको खरिददर ३७ रूपैयाँ ५४ पैसा र बिक्रीदर ३७ रूपैयाँ ७० पैसा कायम भएको छ ।

केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रूपैयाँ ०३ पैसा र बिक्रीदर चार रूपैयाँ ०५ पैसा, युएई दिराम एकको खरिददर ३७ रूपैयाँ २६ पैसा र बिक्रीदर ३७ रूपैयाँ ४२ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रूपैयाँ ८९ पैसा र बिक्रीदर ३१ रूपैयाँ ०३ पैसामा विनिमय हुनेछ ।

साउथ कोरियन वन १०० को खरिददर नौ रूपैयाँ ३५ पैसा र बिक्रीदर नौ रूपैयाँ ३९ पैसा, स्विडिस क्रोनर एकको खरिददर १३ रूपैयाँ ६२ पैसा र बिक्रीदर १३ रूपैयाँ ६८ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रूपैयाँ ८० पैसा र बिक्रीदर १९ रूपैयाँ ८८ पैसा तोकिएको छ ।

त्यस्तै, हङकङ डलर एकको खरिददर १७ रूपैयाँ ६० पैसा र बिक्रीदर १७ रूपैयाँ ६८ पैसा, कुवेती दिनार एकको खरिददर ४४३ रूपैयाँ ७४ पैसा र बिक्रीदर ४४५ रूपैयाँ ६८ पैसा, बहराइन दिनार एकको खरिददर ३६२ रुपैयाँ ९५ पैसा र बिक्रीदर ३६४ रूपैयाँ ५४ पैसा, ओमनी रियाल एकको खरिददर ३५५ रूपैयाँ ४५ पैसा र बिक्रीदर ३५७ रूपैयाँ ०१ पैसा रहेको छ । भारतीय रूपैयाँ १०० को खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा तोकिएको छ ।