मंसिरभित्रै महाधिवेशन गर्न डा. शेखरको माग, निर्वाचनमार्फत जेनजीको भावना सम्बोधन गर्न सुझाव


काठमाडौँ, ३० असोजः नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले सरकारले घोषित निर्वाचनमा सबै नेपाली सहभागी हुने वातावरण बनाउनुपर्नेमा जोड दिनुभएको छ । कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा आज उहाँले कांग्रेस जनताको घरदैलोमा पुग्ने यस अवसरलाई उत्साहपूर्वक अग्रिम पंक्तिमा उभिएर अघि बढ्नुपर्ने उल्लेख गर्नुभयो ।
नेता डा कोइरालाले भन्नुभयो, “सात दशकको प्रयत्नपछि निर्माण भएको वर्तमान संविधान यतिखेर अर्धमूर्छित अवस्थामा छ । यो संविधानको रक्षार्थ हामी कहाँ उभिन्छौँ, भावी राजनीतिक दिशा त्यसैले तय गर्नेछ ।”
राजनीतिक दल, जेनजी पुस्तालगायत सबैैले वर्तमान सरकारलाई निर्वाचनको म्यान्डेट दिएको उहाँको भनाइ थियो । उहाँले निर्वाचनको वातावरण बनाउन गत भदौ २३ र २४ गते जेनजी आन्दोलनको क्रममा लुटिएका हतियारहरु सरकारको नियन्त्रणमा आउनुपर्ने बताउनुभयो । नेता डा कोइरालाले त्यसक्रममा जेलवाट भागेका अपराधीहरुलाई पुनः सरकारले युद्धस्तरमा खोजेर नियन्त्रणमा लिई कानुनको कठघरामा ल्याउन ढिलो गर्नु नहुने बताउनुभयो ।
‘कांग्रेसलाई नयाँ दिशा र नयाँ संभावनाको पार्टी’ बनाउन आगामी मंसिर महिनामा पार्टीको १५औं महाधिवेशन गर्नुपर्ने उल्लेख गर्दै उहाँले नियमित महाधिवेशनवाट मात्र सबैैको सम्बोधन र नेतृत्वमा समेत ताजापन सम्भव हुने उहाँको भनाइ थियो ।
एकताबद्ध कांग्रेस, बलियो कांग्रेस र समयसापेक्ष परिवर्तन कांग्रेस आजको आवश्यकता भएको बताउँदै नेता डा कोइरालाले २०७९ सालमा कांग्रेस र अन्य दलहरुसँग भएको गठबन्धनका उम्मेदवारलाई सहयोग नगरेको भन्ने उजुरीका आधारमा या विद्रोही उम्मेदवार उठेको कारण कारबाहीको सिफारिसमा परेको सबैका कारबाही फिर्ता गर्न माग गर्नुभयो ।