`

गर्मीसँगै उखु जुस व्यापारीको आम्दानी बढ्दै, मासिक ५० हजार कमाइ

महोत्तरी, १४ चैतः तराई मधेसमा बिस्तारै गर्मी बढ्दै गएको छ । मौसम परिवर्तन, जलवायु परिवर्तनको असरका कारण अघिल्ला वर्षभन्दा पछिल्ला वर्षहरू निरन्तर ताता हुँदैछन् । यस वर्ष त झन् सुक्खा हिउँदको असरस्वरुप गर्मी बढ्ने भन्दै आमनागरिक चिन्तित छन् तर यहाँका उखुको जुस व्यापारी भने उत्साहित हुँदै महोत्तरीका बजार क्षेत्रका चोकचोकमा देखिन थालिसकेका छन् ।

गौशाला–५ का मोहम्मद साबिर चैत लागेसँगै दैनिकजसो करिब एक क्विन्टल उखु पेलेर जुस बेच्न थालेको र गर्मी बढ्दै जाँदा व्यापार पनि थपिँदै गएको बताउनुहुन्छ । “अहिले राम्रो बिक्री छ, कुनैकुनै बेला त ग्राहकको भीड नै लाग्छ”, बर्दिबासचोक र आसपास ठेलामा घुमन्ते व्यापार गर्दै आएका उहाँले भन्नुभयो, “मध्याह्नपछि जुस खोज्ने बढी हुन्छन् । चैत लागेयता दैनिक करिब एक क्विन्टल उखु पेलेर बेच्ने गरेको छु ।” 

धेरै जाँगर र आँट चल्ने युवा उमेर विदेशमा बिताएका ४० वर्षीय साबिरले उखुको जुस बेच्न थाल्नुभएको एक वर्षमात्र भयो । यसै अवधिमा जहान परिवार, चार छोराछोरीको शिक्षादीक्षासहित विदेश जाँदा लागेको रु तीन लाखभन्दा बढी ऋण तिरेको उहाँले सुनाउनुभयो । “गर्नेलाई त यही ठाउँ रहेछ नि ! के गर्नु पहिले विदेश गएर के के न  गरौँला भन्ने लाग्यो, तीनपटक गरेर १२ वर्ष मलेसिया र कत्तारमा बिताइयो । ऋणको भारी बोकियो”, साबिर भन्नुहुन्छ, “उता हण्डरठक्कर खाएपछि, ठगिएपछि बल्ल यहाँ केही गर्ने होस खुल्यो । अहिले यहाँको मेहनतबाट प्राप्त उपलब्धिले पहिले नै किन बुद्धि आएन छ भन्ने सोच्छु । राम्रै भइरहेको छ ।” उखुको जुसको व्यापारबाट महिनामा करिब रु ५० हजारसम्म कमाइ हुने गरेको उहाँको भनाइ छ ।

बर्दिबास चोकबजार क्षेत्रमा हाल साबिरजस्ता १५÷१६ जनाले यस्तै व्यापर गर्न थालेका छन् । जसमा विदेश गएर फर्किएकाहरू नै बढी छन् । तीमध्येका एक हुनुहुहुन्छ धनुषाको मिथिला नगरपालिकाका पञ्चलाल साह । बर्दिबासचोकमा जुस बेच्ने गरेका उहाँले भन्नुभयो, “दलालको पछि लागेर विदेश गइयो, ऋणले थिच्यो, उता भनेको काम पाइएन । यहाँ फर्किएपछि यही काम गरिरहेको छु । अबभने आफ्नो ठाउँ छोडेर कतै जाने सोच छैन ।” 

पछिल्ला दुई वर्षदेखि यही काम गरिरहेको बताउने साहले छ जनाको परिवारको लालनपालनसहित  मासिक रु ३० हजारसम्म बचाइने गरेको बताउनुभयो । आफ्नो ठाउँमा सानो लगानीमा सुरु गर्न सकिने उद्यम छाडेर विदेश धाएको विगत सम्झेर अचेल पछुतो मात्रै लाग्ने गरेको उहाँको भनाइ छ ।

गर्मी बढेसँगै बर्दिबासमात्र नभएर जिल्लाका गौशाला, रामगोपालपुर, औरही र सदरमुकाम जलेश्वरमा पनि उखुको जुसको व्यापार फस्टाउँदो छ । यस्तो व्यापारमा लागेकाहरू आफ्नो गाउँठाउँभन्दा छिमेकका बजारमा रमाउने गरेका छन् । “छन् त हाम्रै ईश्वरपुर र लालबन्दीमा पनि जुसको राम्रो व्यापार छ तर आफूलाई चिनेको क्षेत्रमा भन्दा अलि पर काम गर्दा खुलेर गर्न पाइँदो रहेछ”, सर्लाहीको ईश्वरपुर नगरपालिकाको श्रीनगरका २१ वर्षीय विक्कीकुमार साह भन्नुहुन्छ, “आफ्नो ठाउँमा सघाउनेभन्दा टिप्पणी गर्ने बढी हुन्छन्, त्यसैले घरबाट १५÷१६ किलोमिटर यता  बर्दिबास रोजेको हुँ ।” विदेश जान राहदानी ठिक्क पारिसकेका उहाँ कसैले ऋण नपत्याएपछि यस काममा लागेको र हाल यसैमा सन्तुष्ट रहेको सुनाउनुहुन्छ । “मलाई कसैले ऋण नपत्याएर ठिकै भएछ, पत्याएको भए त खै कुन देशमा कस्तो अवस्थामा हुन्थे ! अचेल आफ्नै देशमा रमाइरहेको छु । ऋणको भारले थिचिनु परेको छैन, आम्दानी पनि ठिकै छ”, साहले खुसी व्यक्त गर्नुभयो ।   

औरही बजारमा व्यापार गर्ने भङ्गाहा–३ का समिम कवारी पनि गर्मी बढेसँगै व्यापारसमेत बढ्ने भन्दै खुसी हुनुहुन्छ । “उखुको व्यापार राम्रै हुन्छ तर गर्मी बढेपछि झनै माग बढ्छ । गर्मी भोग्दा त समस्या नै हुन्छ तर व्यापार पनि हुने भएकाले हाम्रा लागि त यो अवसरका रूपमा आउँछ । यसबाट हुने कमाईसँगै परिवारसँग बसेर खुसी साट्न पाउँला निकै रमाइलो लाग्छ”, उहाँले भन्नुभयो । 

ठेला र मोटर जडानमा रु दुई लाख जति लगानी गरेमा आफ्नै व्यापार गर्न पाइने भन्दै यसमा लागेका प्रायः सबैजसो व्यापारीहरू खुसी व्यक्त गर्छन् । त्यसैमा उधारोमा उखु किनेर जुसबाट भएको आम्दानीबाट त्यसको मूल्य चुक्ता गर्न पाइने हुँदा पनि यो व्यवसाय थप सहज हुने गरेको छ । यहाँ रु एक हजारमा प्रतिक्विन्टलमा उखु पाइने गरेको छ । प्रतिक्विन्टल रु १०० उखु छिल्न खर्च हुने गरेको छ । महोत्तरी, सर्लाही र धनुषामा उखुखेती बढी हुने भएकाले यहाँ कच्चा पदार्थ (उखु) खोज्न भौँतारिनु नपर्ने भएकाले पनि आफूहरू सहज हुने गरेको व्यापारीहरूको भनाइ छ । 

उखुको रस स्वास्थ्यका लागि पनि गुणकारी र कुनै अखाद्य वस्तुको मिसावट नहुने भएकाले पनि गर्मीयाममा यसको माग बढ्ने गरेको छ । बजारमा पाइने अन्य पेयपदार्थभन्दा उखुको जुसको स्वास्थ्यका दृष्टिले पनि लाभदायक हुने हुँदा तराई मधेसमा उपभोक्ताको रोजाइमा पर्ने गरेको बर्दिबास नगरपालिका, स्वास्थ्य शाखा प्रमुख सुरेश पासवान बताउनुहुन्छ ।

समयमा काम नहुँदा दाउन्ने सडकखण्डको यात्रा कष्टपूर्ण, १४ किलोमिटर बाटो पार गर्न तीन घण्टा

मध्यविन्दु (नवलपरासी), १४ चैतः नारायणगढ–बुटवल सडकखण्डअन्तर्गत दाउन्ने क्षेत्रको यात्रा निकै कष्ट पूर्ण बनेको छ । सडक विस्तारका क्रममा दाउन्ने क्षेत्रको राजमार्ग भत्काइँदा अहिले यो खण्ड भएर यात्रा गर्नु निकै कठिन चुनौतीपूर्ण रहेको छ ।

सडक विस्तारका क्रममा भत्काइएका संरचनाहरू समयमै पुनर्निर्माण नहुँदा यात्रुहरू दिनहुँ कष्ट भोग्न बाध्य छन् । सडकखण्डको अन्य क्षेत्रमा धमाधम कालोपत्र गरिए पनि दाउन्ने क्षेत्रमा भने उबड–खाबड सडक, साँघुरा घुम्ती, निर्माणका लागि बनाइएका अस्थायी डाइभर्सन र धुलाम्मे बाटोले यात्रालाई कष्टकर बनाएको हो ।

यात्रु जीवन ढकालले भन्नुभयो, “दुम्कीवासदेखि दाउन्ने हुँदै बर्दघाटसम्मको बाटो निकै जोखिम पूर्ण छ । धुलो, धुवासँँगै दुर्घटनाको जोखिम पनि उत्तिकै छ । दाउन्नेको बाटो छिचोल्न चार घण्टा लाग्यो ।” दाउन्ने खण्डमा धुलोका कारण दिउँसै ‘हेड लाइट’ बालेर हर्न बजाउँदै गाडीहरू गुडाउनुपर्ने बाध्यता छ । वैकल्पिक सडक नहुँदा यहाँ दिनहुँ सवारी जाम हुने समस्या उस्तै छ । फोन नलाग्ने, जङ्गल भएका कारण कहिलेकाहीँ यात्रु भोकभोकै बस्नुपर्ने अवस्था छ । दाउन्ने  सडकको दुर्गति देखेर गाडी चालकहरू पनि हैरान छन् । ट्रक, बस, मोटरसाइकल सबैका लागि यो खण्ड जोखिमपूर्ण बनेको छ । 

चालक वसन्त खनाल भन्नुहुन्छ, “१४ किलोमिटरको बाटो पार गर्न दुई–तीन घण्टा लाग्छ । लगातार धुलो खेप्नुपर्ने, गाडी हल्लिने र जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता छ । प्रायः सङ्घीय राजधानी काठमाडौँबाट आउने र मुलुकका अन्य स्थानबाट काठमाडौँ जाने सवारीसाधन मध्यरातमा यहाँ पुग्दछन् । यो समयमा यात्रु र चालकले भोग्नुपर्ने सास्ती थप कष्ट पूर्ण हुने गरेको छ । बाटो नदेखिने गरी उड्ने धुलोका कारण दुर्घटनाको जोखिम पनि उस्तै छ”, उहाँले भन्नुभयो । 

इलाका प्रहरी कार्यालय दुम्कीवासका प्रहरी नायब निरीक्षक लक्ष्मण तनगामी पनि समयमा सडक निर्माण नहुँदा यस क्षेत्रको यात्रा निकै कष्टपूर्ण रहेको सुनाउनुभयो । “दाउन्ने खण्डको सडक साँघुरो, उकालो–ओरालो, घुमाउरो मोड, एउटा गाडी बिग्रियो वा अर्कोले लेन क्रस गरेर अगाडि जान खोज्यो भने घण्टौँ जाम हुन्छ”, उहाँले भन्नुभयो, “भिरसहितको साँघुरो सडक भएकाले सवारीसाधन बिग्रिएपछि व्यवस्थापन गर्न पनि समय लाग्ने हुँदा जामको समस्या बढी हुने गरेको छ । हामीलाई पनि ट्राफिक व्यवस्थापनमा उत्तिकै समस्या छ ।”  

यस खण्डमा हाल सडक विस्तारको कामअन्तर्गत कल्भर्ट निर्माण र सडक चौडा बनाउने काम भइरहेको छ । दाउन्ने क्षेत्रमा अधिकांश बाटो एकतर्फी मात्र सञ्चालनमा छन् । एकतर्फी बाटोमा मालवाहक सवारीसाधन बिग्रँदा घण्टौँ आवागमन ठप्प हुने गरेको प्रहरी नायब निरीक्षक तनगामीले बताउनुभयो । “नारायणगढ बुटवल सडकखण्डको बढी जोखिमपूर्ण मानिने दाउन्ने क्षेत्रमा पनि घ्यू खोला र ८३ मोड बढी दुर्घटना हुने क्षेत्र मानिन्छन् । हिजोआज यो खण्डमा सानोठूला सवारी दुर्घटना हुने क्रम पनि बढेको छ”, उहाँले भन्नुभयो ।   

नारायणगढ बुटवल सडक आयोजना पूर्वी खण्डका सूचना अधिकारी इञ्जिनियर शिव खनालका अनुसार पूर्वी खण्डमा पर्ने ६५ किलोमिटर सडकमध्ये ४७ किलोमिटर एकतर्फी कालोपत्रको काम भएको छ । कल्भर्ट तथा बाँकी पुलको निर्माण, १३ स्थानमा बेस तथा सब–बेसका कामहरू भइरहेका छन् । दाउन्ने क्षेत्र पहाड भएकाले कटानको काम चलिरहेकाले यात्रा कष्टपूर्ण नैे छ । आयोजनाअन्तर्गत पूर्वी खण्डको अहिलेसम्मको भौतिक प्रगति ५७ दशमलव सात प्रतिशत रहेको उहाँले जानकारी दिनुभयो ।

निर्माण कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनियरिङका सहव्यवस्थापक राकेश झाले सवारी आवागमनमा अवरोध कम गर्ने गरी निर्माण कार्य गरिएको दाबी गर्नुभयो । “हाल सडक विस्तारका लागि ६५० भन्दा बढी कामदार परिचालन गरेर काम भइरहेको छ । सडक आयोजनाको पूर्वी खण्डअन्तर्गत दाउन्ने क्षेत्रको सबैभन्दा कठिन पहाडी चट्टान कटान गसिकेका छौँ”, उहाँले भन्नुभयो । 

उहाँकाअनुसार नारायणगढ–बुटवल सडकको ११४ किलोमिटरअन्तर्गत गैँडाकोटदेखि दाउन्नेसम्मको ६५ किलोमिटरमध्ये बजार क्षेत्रमा सर्भिस लेनसहित छ र दाउन्नेको जोखिमपूर्ण क्षेत्रमा १४ किलोमिटर खण्डमा तीन लेनको सडक विस्तारको काम चलिरहेको छ । रु १७ अर्ब लागतमा निर्माण सुरु भएको यस आयोजनामा समयमा काम नभएपछि हालसम्म तीनपटक म्याद थपिएको छ । तेस्रो पटक थप गरिएको म्याद २०८२ साउन ८ गते सकिने छ ।

सबैभन्दा अग्लो स्थानमा रहेको छिम्केश्वरीलाई पर्यटकीय गन्तव्यस्थल बनाउन पहल

दमौली (तनहुँ), १४ चैतः जिल्लाको सबैभन्दा अग्लो स्थानमा रहेको छिम्केश्वरीलाई पर्यटकीय गन्तव्यस्थल बनाउन पहल थालिएको छ । समुन्द्री सतहबाट दुई हजार १३४ मिटर उचाइमा अवस्थित छिम्केश्वरीमा पर्यटकीय गतिविधि बढाउन र यहाँका स्थानीयवासीको आर्थिकस्तर उकास्ने उद्देश्यसहित यस ठाउँलाई पर्यटकीय गन्तव्यस्थल बनाउन पहल थालिएको हो ।

आँबुखैरेनी गाउँपालिका–५ मा अवस्थित छिम्केश्वरीमा हाल वार्षिक एक लाख पर्यटक आउने गरेको तथ्याङ्क छ । गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले यहाँ आवश्यक पर्यटकीय पूर्वाधार निर्माण गरी धेरै पर्यटक भित्र्याउने लक्ष्य राखेर काम अगाडि बढाइएको जानकारी दिनुभयो । “हामी छिम्केश्वरीको एकीकृत पर्यटकीय विकासमा जुटेका छौँ । त्यसका लागि सङ्घ र प्रदेश सरकारसँग सहकार्य गरेर अगाडि बढ्छौँ”, उहाँले भन्नुभयो,“गाउँपालिकाले छिम्केश्वरीमा पूर्वाधार निर्माण गरेर समग्र गाउँपालिकाको विकास योजना अगाडि बढाएका छौँ । यसमा सङ्घीय, प्रदेश, स्थानीय तहको सरकारको साझेदारी, आमजनताको सहभागिता र निजी क्षेत्रको लगानी अपेक्षा गरेका छौँ ।”

अध्यक्ष चुमानले छिम्केश्वरीमा सडक असुविधा, खानेपानी अभाव, विद्युत् समस्या, मोबाइल टावर नभएका जस्ता समस्या क्रमशः निराकरण हुँदै जाने र सडक सञ्जाल स्तरोन्नतिका क्रममा रहेको बताउनुभयो । यस्तै, खानेपानीको बजेट स्रोत सुनिश्चित भएर विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) बनाएर ठेक्का लगाउने प्रक्रियामा रहेको छ । अध्यक्ष चुमानले भन्नुभयो, “वडा नं ४, ५ र ६ लाई समेटेर एकीकृत छिम्केश्वरी खानेपानी आयोजना अगाडि बढाउन डिपिआर भइरहेको छ । त्यो काम सकिएपछि मन्त्रालयबाट ठेक्का आह्वान हुनेछ ।” खानेपानीका लागि करिब रु १० करोड लाग्ने अनुमान गरिएको छ ।

यस्तै, छिम्केश्वरीमा टेलिकमको टावर नहुँदा सञ्चार सम्पर्कमा समस्या हुँदै आएकाले त्यसको समाधानका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसँग र विद्युत् पहुँच नपुग्दा सोलारबाट काम चलाउनुपर्ने अवस्था अन्त्यका लागि विद्युत् प्राधिकरणसँग समन्वय भइरहेको जनाइएको छ । यहाँ पर्यटकीय क्रियाकलाप बढाउन मन्दिर नजिकै बूढीमाईमा ध्यानगृह बनाउने लक्ष्यसमेत राखिएको छ । छिम्केश्वरी पर्यटन विकास समितिका अध्यक्ष कृष्णमान तामाङले यी सबै योजना सम्पन्न भएमा हाल वार्षिक रूपमा एक लाख पर्यटक आउने गरेकामा त्यो सङ्ख्या निकै बढ्ने विश्वास व्यक्त गर्नुभयो ।

यहाँ रहेको छिम्केश्वरी मन्दिर गोरखा मनकामनाकी दिदीका रूपमा पुजिँदै आएकी छिम्केश्वरीको पूजाआजा गरेपछि मनले चिताएको इच्छा पूरा हुने धार्मिक विश्वास रहँदै आएको छ । सात देवीमध्ये जेठी बूढीदेवीमाई र माइली छिम्केश्वरीमाई यसै क्षेत्रमा अवस्थित छन्भने साइली गोरख कालीमाई, काइली मनकामनामाई, अन्तरी इच्छाकामनामाई, जन्तरी अन्नपूर्णामाई र कान्छी अकलामाईलाई सोही स्थलबाट दृश्यावलोकनसहित दर्शन गर्न सकिन्छ । यसका साथै यस स्थानबाट धौलागिरि, अन्नपूर्ण, लमजुङ, मनास्लु, माछापुच्छ«ेलगायत हिमाल हेर्न सकिन्छ ।

यस मन्दिरमा पुग्नका लागि गण्डकी प्रदेश सरकारको सहयोगमा पैदलमार्ग र रेलिङ निर्माण भइसकेको छ । आर्थिक वर्ष ०७५÷७६ मा रु ४१ लाख ६३ हजार ७०६ को लागतमा ४८६ मिटर ढुङ्गाको सिँढी निर्माण सम्पन्न गरिएको थियो भने आर्थिक वर्ष ०७६÷७७ मा रु ३५ लाख ९९ हजार १४१ को लागतमा ३०५ मिटर ढुङ्गाको सिँढी र रेलिङ निर्माण सम्पन्न गरिएको थियो ।

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, १४ चैतः नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलर केही घटेर एकको खरिददर १३६ रूपैयाँ ८४ पैसा र बिक्रीदर १३७ रूपैयाँ ४४ पैसा कायम भएको छ । बुधबार अमेरिकी डलर एकको खरिददर १३६ रूपैयाँ ९२ पैसा र बिक्रीदर १३७ रूपैयाँ ५२ पैसा कायम भएको थियो । युरोपियन युरो एकको खरिददर १४७ रुपैयाँ ६८ पैसा र बिक्रीदर १४८ रुपैयाँ ३३ पैसा कायम भएको छ । युरो पनि हिजोको भन्दा घटेको हो । बुधबार युरो एकको खरिददर १४८ रुपैयाँ १६ पैसा र बिक्रीदर १४८ रुपैयाँ ८१ पैसा कायम भएको थियो ।

यस्तै, युके पाउन्ड स्टर्लिङ र स्विस फ्र्याङ्कको विनिमयदर पनि घटेको छ । आज पाउन्ड स्टर्लिङ एकको खरिददर १७६ रूपैयाँ ५९ पैसा र बिक्रीदर १७७ रूपैयाँ ३७ पैसा, स्विस फ््र्याङ्क एकको खरिददर १५४ रूपैयाँ ९० पैसा र बिक्रीदर १५५ रूपैयाँ ५८ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८६ रूपैयाँ ५६ पैसा र बिक्रीदर ८६ रूपैयाँ ९४ पैसा, क्यानेडियन डलर एकको खरिददर ९६ रूपैयाँ ०१ पैसा र बिक्रीदर ९६ रूपैयाँ ४३ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०२ रूपैयाँ ३१ पैसा र बिक्रीदर १०२ रूपैयाँ ७६ पैसा निर्धारण गरिएको छ ।

यस्तै, जापानी येन १० को खरिददर नौ रूपैयाँ ११ पैसा र बिक्रीदर नौ रूपैयाँ १५ पैसा तोकिएको छ । चिनियाँ युआन एकको खरिददर १८ रूपैयाँ ८३ पैसा र बिक्रीदर १८ रूपैयाँ ९२ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपैयाँ ४८ पैसा र बिक्रीदर ३६ रूपैयाँ ६४ पैसा, कतारी रियाल एकको खरिददर ३७ रूपैयाँ ५४ पैसा र बिक्रीदर ३७ रूपैयाँ ७० पैसा कायम भएको छ ।

केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रूपैयाँ ०३ पैसा र बिक्रीदर चार रूपैयाँ ०५ पैसा, युएई दिराम एकको खरिददर ३७ रूपैयाँ २६ पैसा र बिक्रीदर ३७ रूपैयाँ ४२ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रूपैयाँ ८९ पैसा र बिक्रीदर ३१ रूपैयाँ ०३ पैसामा विनिमय हुनेछ ।

साउथ कोरियन वन १०० को खरिददर नौ रूपैयाँ ३५ पैसा र बिक्रीदर नौ रूपैयाँ ३९ पैसा, स्विडिस क्रोनर एकको खरिददर १३ रूपैयाँ ६२ पैसा र बिक्रीदर १३ रूपैयाँ ६८ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रूपैयाँ ८० पैसा र बिक्रीदर १९ रूपैयाँ ८८ पैसा तोकिएको छ ।

त्यस्तै, हङकङ डलर एकको खरिददर १७ रूपैयाँ ६० पैसा र बिक्रीदर १७ रूपैयाँ ६८ पैसा, कुवेती दिनार एकको खरिददर ४४३ रूपैयाँ ७४ पैसा र बिक्रीदर ४४५ रूपैयाँ ६८ पैसा, बहराइन दिनार एकको खरिददर ३६२ रुपैयाँ ९५ पैसा र बिक्रीदर ३६४ रूपैयाँ ५४ पैसा, ओमनी रियाल एकको खरिददर ३५५ रूपैयाँ ४५ पैसा र बिक्रीदर ३५७ रूपैयाँ ०१ पैसा रहेको छ । भारतीय रूपैयाँ १०० को खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा तोकिएको छ ।

चालु आवको दोस्रो चौमासिकमा पाँच दशमलव एक प्रतिशत आर्थिक वृद्धिदर

काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमासिकमा पाँच दशमलव एक प्रतिशतको आर्थिक वृद्धि अनुमान हासिल भएको अनुमान गरिएको छ ।

राष्ट्रिय तथ्याङ्क कार्यालयले बुधबार चालु आवको दोस्रो त्रैमासिकको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) सार्वजनिक गर्दै यातायातलगायत केही क्षेत्रमा राम्रो सुधार देखिए पनि जिडिपीमा सामान्य वृद्धि हासिल भएको जनाएको हो । यद्यपि, यो मौसमी प्रभाव समायोजन नगरिएको वृद्धिदर हो । दोस्रो त्रैमासिकको मौसमी प्रभाव समायोजनपछिको जिडिपी वृद्धिदर भने दुई दशमलव दुई प्रतिशत रहेको कार्यालयले जनाएको छ ।

‘दोस्रो त्रैमासिकमा अर्थतन्त्रको धनात्मक वृद्धि हुनुमा यातायात, निर्माण क्षेत्र, कृषि, विद्युत् उत्पादन तथा वितरणमा भएको वृद्धिसँगै वित्तीय मध्यस्थताको कुल मूल्य अभिवृद्धिमा भएको वृद्धि प्रमुख कारक रहेका छन्,’ कार्यालयले भनेको छ, ‘खासगरी यस अवधिमा शिक्षा, आवास तथा भोजन र अन्य सेवा क्षेत्रमा उल्लेख्य वृद्धि हुन नसकेकाले अर्थतन्त्रको वृद्धिदर सामान्य रहन गएको अनुमान रहेको छ ।’

मौसमी प्रभाव समायोजित तथ्याङ्कका आधारमा कुल १८ ओटा औद्योगिक क्षेत्रमध्ये दुईओटामा ऋणात्मक वृद्धिको अनुमान गरिएको छ । विद्युत् तथा ग्यास क्षेत्रमा चार दशमलव आठ प्रतिशत र आवास तथा भोजन क्षेत्रमा दुई दशमलव सात प्रतिशतको ऋणात्मक वृद्धि देखिएको छ ।

मौसमी प्रभाव समायोजन नगरिएको तथ्याङ्कअनुसार यातायात तथा भण्डारणसँग सम्बन्धित क्रियाकलापको सबैभन्दा धेरै १४ दशमलव दुई प्रतिशत वृद्धिदर रहेको छभने खानी तथा उत्खनन क्षेत्र नौ दशमलव पाँच प्रतिशत वृद्धिदरसहित दोस्रो धेरै वृद्धि हुने औद्योगिक क्षेत्र रहेको छ ।

यसैगरी, निर्माण सामग्रीहरूको आयात तथा घरेलु उत्पादनको वृद्धिसँगै निर्माण क्षेत्रको कुल मूल्य अभिवृद्धि वृद्धिदर नौ दशमलव एक प्रतिशत हुने प्रारम्भिक अनुमान गरिएको छ । उत्पादनमूलक उद्योगको वृद्धिदर सात दशमलव चार प्रतिशत र निक्षेप तथा कर्जामा भएको वृद्धिका कारण वित्तीय तथा बिमा क्षेत्रको मूल्य अभिवृद्धि वृद्धिदर छ दशमलव छ प्रतिशत हुने अनुमान गरिएको छ । व्यापार क्षेत्रको वृद्धिदर छ दशमलव एक र सूचना तथा प्रविधि क्षेत्रको वृद्धिदर चार दशमलव नौ प्रतिशत रहने प्रारम्भिक अनुमान गरिएको छ ।

मुलुकको अर्थतन्त्रमा सबैभन्दा धेरै योगदान पुर्याउने कृषि क्षेत्रको वृद्धिदर तीन दशमलव दुई प्रतिशत मात्र हुने प्रारम्भिक अनुमान गरिएको छ । “धानको उत्पादनमा भएको वृद्धिका साथै तरकारी, अमिलो जातको फलफूल तथा हिउँदे फलफूल र पशुपक्षीजन्य उत्पादनमा भएको वृद्धिले यस क्षेत्रको कुल मूल्य अभिवृद्धिमा सकारात्मक प्रभाव परेको देखिन्छ,’ सार्वजनिक विवरणमा भनिएको छ ।

अर्थतन्त्रको दोस्रो ठूलो क्षेत्रका रूपमा रहेको थोक तथा खुद्रा व्यापार क्षेत्रमा स्वदेशी उत्पादनमा भएको वृद्धि तथा प्रमुख व्यापारजन्य वस्तुको आयातमा भएको वृद्धिका कारण केही विस्तार देखिएको जनाइएको छ ।

यस्तै, औद्योगिक वस्तुको उत्पादनमा क्रमिक सुधार आएका कारण उत्पादनमूलक उद्योग क्षेत्रको वृद्धिमा उल्लेख्य सुधार हुन गएको प्रारम्भिक अनुमान छ । दोस्रो त्रैमासिकमा सार्वजनिक प्रशासन तथा रक्षा दुई दशमलव दुई, स्वास्थ्य तीन दशमलव एक, घरजग्गा कारोबार तीन दशमलव एक प्रतिशतले बढ्ने अनुमान गरिएको छ ।

कांग्रेसलाई बलियो बनाउनुपर्छ : नेता गच्छदार

बनियानी, १३ चैत : नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारले पार्टी बलियो बनाउने अभियान सबै नेता–कार्यकर्ताले आफैँबाट सुरुआत गर्नुपर्नेमा जोड दिनुभएको छ ।

कांग्रेस कोशी प्रदेश प्रशिक्षण विभागले आज बिर्तामोडमा आयोजना प्रशिक्षक÷प्रशिक्षण कार्यक्रममा नेता गच्छदारले अरूलाई दोष दिनुभन्दा पनि आफैँबाट पार्टी सुदृढ बनाउन लाग्नुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “गुट–उपगुट समाप्त पारेर एकजुट होऔँं, एकतामा नै शक्ति छ, यो गाह्रो छ तर असम्भव छैन ।” केन्द्रदेखि टोलसम्मकै नेता–कार्यकर्ताले पार्टी अनुशासन र आचारसंहिताको पालना गर्नुपर्नेमा जोड दिँदै नेता गच्छदारले कांग्रेस पार्टीको विधान ‘पे्रसिडेन्टियल सिष्टम’ मा रहेको बताउनुभयो ।

“सिकाइको क्रम निरन्तर चलिरहन्छ, कोही पनि कुनै पनि विषयमा दक्ष हुँदैन”, उहाँले भन्नुभयो, “प्रशिक्षणमा सिकेको सीप, पार्टीको इतिहास, वर्तमान र सैद्धान्तिक विषयवस्तुलाई वडा–टोलसम्म पुर्‍याउनपर्छ ।”

कार्यक्रमका संविधानसभा सदस्य सुधीरकुमार शिवाकोटीले कार्यकर्ता प्रशिक्षित नहुँदा विपक्षीले गरेको आलोचनालाई पत्याइदिनुपर्ने बाध्यता रहेको बताउनुभयो ।

पार्टीकी केन्द्रीय सदस्य महेन्द्राकुमारी सुब्बाले आगामी निर्वाचनमा कांग्रेसले एक्लै चुनाव लड्नुपर्नेमा जोड दिनुहुँदै पार्टीले गरेका कामको व्यापक प्रचार गर्न आग्रह गर्नुभयो । केन्द्रीय सदस्य सुशीला ढकाल आचार्यले कांग्रेसले हिजो के गर्‍यो ? आज के गर्दैछ र भोलि के गर्छ ? भन्ने कुरा सबै जनतामाझ पुर्‍याउन प्रशिक्षणलाई प्रभावकारी रुपमा सञ्चालन गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा केन्द्रीय सदस्य गोमा भट्टराईले सामाजिक सञ्जालदेखि चिया पसलसम्म हुने पार्टीप्रतिको आलोचना चिर्न प्रत्येक नेता–कार्यकर्तालाई प्रशिक्षित गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रदेश उपसभापति एवं प्रदेश प्रशिक्षण विभागका संयोजक रमेशजङ्ग रायमाझीले १४ वटै जिल्लामा प्रशिक्षक प्रशिक्षण कार्यक्रम सञ्चालन गरिने जानकारी दिँदै प्रशिक्षक उत्पादन गरेर वडातहसम्म प्रशिक्षण पुर्‍याउने लक्ष रहेको बताउनुभयो ।

वनमन्त्री शाही जर्मनीमा भेटघाटमा व्यस्त

काठमाडौँ, १३ चैत : जर्मनीको भ्रमणमा रहनुभएका वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले विभिन्न उच्चस्तरीय भेटवार्ता गर्नुभएको छ ।बर्लिनमा आयोजित पिटर्सवर्ग जलवायु संवादमा सहभागी हुन त्यहाँ पुग्नुभएका उहाँले सो अवसरमा आज जर्मनीका सङ्घीय विदेशमन्त्री अन्नालेना बेयरबोक, ब्राजिलका कोप–३० का प्रमुख आन्द्रे कोर्रिया दो लागो, संयुक्त राष्ट्रङ्घका महासचिवका जलवायु विशेष सल्लाहकार सेल्विन हार्ट, संयुक्त राष्ट्रसङ्घ जलवायु परिवर्तन सचिवालयका कार्यकारी प्रमुख साइमन स्टिल, साथै, चिली र संयुक्त अधिराज्यका प्रतिनिधिहरूसँग पनि भेटवार्ता गर्नुभएको थियोे ।

भेट्मा उहाँले नेपालका जलवायु परिवर्तनसम्बन्धी प्राथमिकताबारे छलफल गर्नुका साथै सगरमाथा संवादका लागि औपचारिक निमन्त्रणा गर्नुभएको मन्त्री शाहीको सचिवालयले जनाएको छ ।

पिटर्सवर्ग संवादमा सहभागी हुन मन्त्री शाही यही चैत १० गते त्यसतर्फ प्रस्थान गर्नुभएको थियो । विगत १४ वर्षदेखि जर्मनी सरकारले जलवायु परिवर्तनमा बहुपक्षीय भूमिका र अन्तरराष्ट्रिय सहकार्यको महत्त्वलाई प्रवर्द्धन गर्न ‘पिटर्सवर्ग जलवायु संवाद’ आयोजना गर्दै आएको छ ।

जलवायु वार्तामा विशेष भूमिका रहेका देशहरूलाई आमन्त्रित गरिने यस संवादको १५औँ संस्करणमा पहिलो पटक नेपाल सरकारका तर्फबाट वनमन्त्री शाही सहभागी हुनुभएको हो ।

अर्घाखाँची बस दुर्घटना अपडेटः मृतकको संख्या चार पुग्यो

अर्घाखाँची । अर्घाखाँचीको भुवनपाटामा बुधबार साँझ भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या चार पुगेको छ । मृतक तीन जनाको सनाखत भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा रुपन्देहीको बुटवल उपमहाननगरपालिका–८ बस्ने ५५ वर्षीया जमुना वस्याल, नवलपरासीको पश्चिम भुमही बस्ने ४५ वर्षीया उमा न्यौपाने, उनकी ६५ वर्षीया सासु (नामथर नखुलेकी) र पश्चिम बर्दघाट बस्ने ४५ वर्षीय बस चालक मदनकुमार विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रहरी प्रमुख एवं प्रहरी निरीक्षक विष्णुप्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार बस चालक विकको उद्धार गरी अस्पताल लैजाने क्रममा बाटोमा मृत्यु भएको हो ।

यसअघि १५ जना घाइतेको उद्धार गरिएकामा प्रहरीले घटनास्थलबाट थप १२ जनाको उद्धार गरेको जनाउँदै प्रहरी निरीक्षक पौडेलले घाइतेको सङ्ख्या २७ पुगेको बताइ ।

उनका अनुसार घाइतेमध्ये छ जनालाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा पठाइएको छ भने अन्यको प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा उपचार भइरहेको छ ।

गोरुसिङ्गे–सन्धिखर्क सडकखण्डमा सुपा मन्दिर दर्शन गरी नवलपरासीका लागि फिर्ता हुँदै गरेको लु २ ख ३०३ नं को बस बस अचानक अनियन्त्रित भई शितगङ्गा नगरपालिका–२ सितापुरको भुवनपाटामा सडकबाट करिब २५ मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रहरी निरीक्षक पौडेलका अनुसार चालक विकको उद्धार गरी अस्पताल लैजाने क्रममा बाटोमा मृत्यु भएको हो । घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

इजिप्टले उपग्रह निमार्णमा तीव्रता दिँदै, अन्तरिक्ष क्षेत्रमा नयाँ पहल

इजिप्टको अन्तरिक्ष एजेन्सी (इजीएसए) ले स्थानीय स्याटेलाइट निर्माण र अन्तरिक्ष क्षेत्रको विकासलाई प्रवद्र्धन गर्न इजिप्टको निजी कम्पनी ‘एक्युमार’ सँग रणनीतिक सहयोग प्रोटोकलमा हस्ताक्षर गरेको छ । इजीएसएले मङ्गलबार एक विज्ञप्ति जारी गर्दै यो जानकारी दिएको हो । ‘एक्युमार’ उपग्रह प्रविधिमा विशेषज्ञता हासिल गर्ने इजिप्टियन कम्पनी हो ।

विज्ञप्ति अनुसार, सोमबार हस्ताक्षर गरिएको प्रोटोकलले इजिप्टमा उपग्रह र तिनका कम्पोनेन्टको उत्पादनमा सहयोग अभिवृद्धि गर्नुका साथै उपग्रहहरूको वातावरणीय, मेकानिकल र विद्युतीय परीक्षणका लागि इजीएसएको उन्नत पूर्वाधारको प्रयोग गर्ने लक्ष्य राखेको छ ।

इजीएसएका प्रमुख कार्यकारी अधिकृत शेरिफ सेड्की र एक्युमारका प्रमुख कार्यकारी अधिकृत अहमद नसारले प्रोटोकलको हस्ताक्षर समारोहमा भाग लिनुभयो । यसलाई इजीएसएले ‘अन्तरिक्ष क्षेत्रमा इजिप्टका अनुसन्धान संस्था र प्रविधि कम्पनीहरू बीच एकीकरणको नयाँ मोडेल’ भनेको छ ।

प्रोटोकलमा उपग्रह सञ्चालनमा सहयोग, वैज्ञानिक तथा प्राविधिक विशेषज्ञताको आदानप्रदान र स्याटेलाइट सञ्चारका लागि फ्रिक्वेन्सीहरू पनि समावेश छ ।
यो साझेदारीले इन्टरनेट अफ थिङ्ग्स सेवा, दूरसञ्चार र पृथ्वी इमेजिङका लागि उपग्रह विकास महत्वाकांक्षालाई समर्थन गर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ ।

मुलुकलाई अब नयाँ सिराबाट अगाडि बढाउनुपर्ने छ : महासचिव पोखरेल

काठमाडौँ, १३ चैत : नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले मुलुकलाई कसरी बनाउने भन्ने विषयमा अब नयाँ सिराबाट छलफल गर्नुपर्ने बताउनुभएको छ । राष्ट्रिय युवा सङ्घ नेपालको स्वयंसेवक भेलालाई आज यहाँ सम्बोधन गर्दै उहाँले नयाँ सिराबाट मुलुक अगाडि बढाए मात्र विकास हुने बताउनुभयो ।

महासचिव पोखरेलले एमाले सरकारमा रहेको समयमा देशको विकास नयाँ ढङ्गले अघि बढेको भन्दै मुलुकमा सामाजिक अराजकता, दक्षिणपन्थी अराजकतालाई पराजित गर्न आवश्यक रहेको बताउनुभयो । 

कतिपयले पञ्चायत शासन कालमा पनि मुलुकमा राम्रो काम भएको भ्रम फिजाउने प्रयास गरिरहेका भन्दै महासचिव पोखरेलले यस्तो भ्रमको खेती गरेर राजतन्त्रको पक्षमा जनमत बनाउन सकिन्छ भन्ने सपना नदेख्न आग्रह गर्नुभयो । 

उहाँले राजतन्त्रको बेलामा भन्दा गणतन्त्र आएपछि नेपाली समाजमा आर्थिक, सामाजिक र सांस्कृतिक क्षेत्रमा उल्लेख्य प्रगति भएको भनाइ राख्नुभयो । एमालेले अलोकतान्त्रिक गतिविधि बढेको भन्दै उहाँले गणतन्त्रको पक्षमा जनमत सिर्जना गर्नका लागि जनचेतना अभियान घोषणा गरेको छ । 

 सो घोषणाअनुसार काठमाडौँसहित मुलुकका प्रमुख सहरमा यही चैत १८ गते धनगढी, सुर्खेत, बुटवल, पोखरा, वीरगञ्ज र दमकमा मोटरसाइकल र्‍याली आयोजना गरिएको छ । सोही र्‍यालीलाई सफल बनाउनका लागि भेलाको आयोजना गरिएको थियो । भेलामा युवा सङ्घका अध्यक्ष क्षितिज थेवेले मुलुकमा अराजकता बढेकाले युवा वर्ग सचेत हुनुपर्ने बताउनुभयो । 

गिरिजाप्रसाद कोइराला सभागृहको निर्माण अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

काठमाडौँ, १३ चैत : प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको भद्रपुर नगरपालिका–८ स्थित गिरिजाप्रसाद कोइराला सभागृह निर्माण कार्य अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

प्रधानमन्त्री निवास, बालुवाटारमा आज नेपाली कांगेसका नेता एवं राष्ट्रियसभाका सांसद कृष्णप्रसाद सिटौला, भद्रपुुरका नगरप्रमुख गणेश पोखरेलसहितको प्रतिनिधिमण्डलले अलपत्र अवस्थामा रहेको निर्माण कार्य पुनः सञ्चालन गर्न ज्ञापनपत्र बुुझाएपछि प्रधानमन्त्री ओलीले सो प्रतिबद्धता व्यक्त गर्नुभएको हो । प्रधामन्त्री ओलीलाई प्रतिनिधिमण्डलले अलपत्र रहेको निर्माण कार्यलाई अघि बढाउन नगरसभाको निर्णयसहित विभिन्न विकल्प समावेश गरी सुुझाव दिएको छ ।

साविक जिल्ला विकास समितिबाट दुुई वर्षमा निर्माण सम्पन्न हुने गरी ठेकेदार कम्पनीसँग सम्झौता भए पनि ठेकेदारको पटकपटक अवधि थप भएको र बजेटलगायत कानुनी समस्याका कारण निर्माण कार्य अलपत्र परेको थियो ।  

पूूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति गिरिजाप्रसाद कोइरालाका नाममा निर्माण हुने सो सभागृहको २०७२ असार २८ गते तत्कालीन प्रधानमन्त्री सुशील कोइरालासहित प्रमुख तीन दलका शीर्ष नेताबाट शिलान्यास भएको थियो ।

बिहीबारदेखि ‘एडभान्स फन्सनल मटेरियल्स’ सम्बन्धी दोस्रो अन्तरराष्ट्रिय वैज्ञानिक सम्मेलन

काठमाडौँ, १३ चैत : नेपालमा ‘एडभान्स फन्सनल मटेरियल्स’ सम्बन्धी दोस्रो अन्तरराष्ट्रिय वैज्ञानिक सम्मेलन हुने भएको छ । नेपाल मटेरियल्स साइन्स सोसाइटीको आयोजनामा बिहीबारदेखि तीन दिनसम्म सञ्चालन हुनेगरी ललितपुरमा आयोजना सम्मेलन गर्न लागिएको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

सम्मेलनमा नेपालसहित जापान, अमेरिका, भारत, चीन, स्वीजरल्याण्ड, अस्ट्रेलियालगायत एक दर्जनभन्दा बढी देशका करिब एक सय ५० वैज्ञानिक तथा अनुसन्धानकर्ताहरू सहभागी हुने अमृत साइन्स क्याम्पसका उपप्राध्यापक एवं आयोजक संस्थाका सदस्य डा देवलप्रसाद भट्टराईले जानकारी दिनुभयो ।

 सम्मेलनका क्रममा विभिन्न छ वटा विधामा आधारित रहेर एक सय १४ जना वैज्ञानिकले प्रस्तुती दिने उहाँले बताउनुभयो । सम्मेलनको विषय क्षेत्रमा अध्ययन अनुसन्धान गरिरहेका विज्ञ वैज्ञानिक र नयाँ पुस्ताका वैज्ञानिकहरूबीच सहकार्यलाई स्थापित र सुदृढ गर्नु आफूहरूको मुख्य उद्देश्य रहेको डा भट्टराईको भनाइ छ । सम्मेलनमा क्वान्टम मेकानिक्स,  ऊर्जा भण्डारण तथा रूपान्तरण, हाइड्रोजन उत्पादन, जलवायु परिवर्तनजस्ता विषयहरूमा प्रस्तुती, मुख्य वक्तव्य र छलफल हुने आयोजकले जनाएको छ ।  

अनुसन्धाता प्रा डा लोककुमार श्रेष्ठले सम्मेलनमा नेपालमा अध्ययन, अनुसन्धान गरिरहेका अनुसन्धानकर्मीहरूले अन्तरराष्ट्रियस्तरको अनुसन्धानको अनुभव आफ्नै देशमा हासिल गर्न पाउने र आफ्ना वैज्ञानिक प्रस्तुतिसमेत विज्ञहरू समक्ष पेस गर्न पाउने बताउनुभयो । 

उहाँले पदार्थ विज्ञानका क्षेत्रमा विश्वले हासिल गरेका उपलब्धि, पछिल्लो विश्वको अनुसन्धानको गति र दिशा, तिनको विश्वव्यपाी प्रभावका बारेमा बृहत छलफल हुने र त्यसबाट नेपालका युवा वैज्ञानिक र विद्यार्थीहरू लाभान्वित हुने बताउनुभयो । 

“हामीले यसअघि पहिलो सम्मेलन सफलतापूर्वक सम्पन्न गरिसकेका छौँ । त्यसको अनुभव र सिकाइका आधारमा दोस्रो सम्मेलनलाई अझै प्रभावकारी र थप उपयोगी बनाउने गरी तयारी गरेका छौँ । पदार्थ विज्ञानका क्षेत्रमा विश्वव्यापी रूपमा भइरहेका अभ्यास, अवसर र चुनौतीका विषयमा प्रख्यात वैज्ञानिकहरूबीच छलफल हुनेछ र त्यसले एउटा निष्कर्ष निकाल्ने छ”, प्राडा श्रेष्ठले भन्नुभयो, “यसले नेपाली युवा वैज्ञानिक र अनुसन्धाताहरूलाई आफ्ना अनुभव र अनुसन्धानबारे वैज्ञानिक अनुसन्धान प्रस्तुत गर्ने र विज्ञ वैज्ञानिकका कुरा सुनेर लाभ लिनुका साथै बाँकी विश्वसँग सम्पर्क विस्तार गरी थप प्रगति हासिल गर्न यो सफल सिद्ध हुनेछ । अघिल्लो सम्मेलनले त्यो ढोका खोली सकेको छ ।”

पत्रकार सम्मेलनमा आयोजक संस्थाका सदस्य डा प्रकाशचन्द्र लोहनीले नेपालका विश्वविद्यालयहरूले वैज्ञानिक अनुसन्धानका क्षेत्रमा अनुभवी वैज्ञानिक र नयाँ पुस्ताबीच ज्ञान आदानप्रदानका लागि पनि यस्ता सम्मेलन गर्न आवश्यक रहेको महसुस गरी विभिन्न संस्थाहरूको सहकार्यमा यसको सुरूआत गरिएको बताउनुभयो । उहाँले त्रिभुवन विश्वविद्यालयजस्ता पुराना शैक्षिक संस्थाले आफ्नो क्यालेन्डरमा राखेरै यस्ता सम्मेलन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । 

डा लोहनीले बिहीबारदेखि सुरू हुने सम्मेलन नेपालमा स्नातक, स्नातकोत्तर र विद्यावारिधी तहमा अध्ययन गरिरहेका विद्यार्थीहरूलाई अनुसन्धान क्षेत्रमा लाग्न हौसला प्रदान गर्न उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो । 

सम्मेलनमा नेपाल सरकार, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, सुदूरपश्चिम विश्वविद्यालय, जापानको नेशनल इन्टिच्युट अफ मटेरियल साइन्सेज (निम्स), डब्लुपिआइ, माना, अमृत साइन्स क्याम्पस र पुल्चोक क्याम्पस सह आयोजक रहेका छन् । 

मुख्यमन्त्री सिंहद्वारा होटल अनुगमन

महेन्द्रनगर (धनुषा), १३ चैत : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले आज जनकपुरधामका नौवटा होटलमा अनुगमन गर्नुभएको छ । आइतबार १० वटा होटल अनुगमन गर्नुभएका उहाँले जनकपुरधामका विभिन्न होटलको खाद्य सुरक्षा तथा स्वच्छतास्थिति अनुगमन गर्नुभएको हो ।

प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, जिल्ला प्रशासन कार्यालय धनुषा, खाद्यप्रविधि तथा गुणस्तर नियन्त्रण कार्यालय जननकपुरधाम, साना उद्योग तथा घरेलु कार्यालय जनकपुरधामका अधिकारी र उद्योग वाणिज्य सङ्घ जनकपुरधामका प्रतिनिधि सम्मिलित संयुक्त अनुगमन टोलीसँगै उहाँले होटल अनुगमन गर्नुभएको हो ।

मुख्यमन्त्री सिंहले प्रादेशिक राजधानी जनकपुरधाम देशविदेशका पर्यटकका लागि महत्त्वपूर्ण गन्तव्यस्थल रहेको र पर्यटकीय दृष्टिले छुट्याउनै नहुने यस गन्तव्यमा रहेका केही होटलमा स्वस्थकर र स्वच्छ खानाखाजा उपलब्ध नहुने गरेको गुनासो आएपछि आफूले अनुगमन थालेको बताउनुभयो ।

सबै होटलले स्वच्छताको मापदण्ड पछ्याउन खोजे पनि त्यो उचित तथा पर्याप्त नभएको भन्दै उहाँले बहुसङ्ख्यक होटलमा ग्राहक बस्ने ठाउँ सफा भए पनि भान्साघरमा सरसफाइ तथा त्यहाँ उपयोग हुने सामग्रीको भण्डारण व्यवस्थित नभएको उल्लेख गर्नुभयो ।

होटलका लागि स्वस्थ्यकर सामग्री र स्वच्छता अनिवार्य सर्त भएको भन्दै मुख्यमन्त्री सिंहले मापदण्डअनुसार होटल सञ्चालन नभए कानुनअनुसार कारबाही हुने पनि प्रस्ट्याउनुभयोे । “सरकार सुधारात्मक आग्रहले अघि बढेको छ । यसको अर्थ अनुगमनका क्रममा हामीले दिएको सल्लाह वा निर्देशनको पालना होटल सञ्चालकले गर्नुपर्छ । अटेर भएमा होटल बन्द गर्नेसम्मको कारबाही हुनेछ,” मुख्यमन्त्री सिंहले अनुगमनस्थलमा पुगेका सञ्चारकर्मीसँग भन्नुभयो । उहाँले होटलमा बिक्रीवितरण हुने सामग्रीको मूल्य व्यवस्थापन गर्न जिम्मेवार निकायसँग प्रदेश सरकारले समन्वय गर्ने समेत बताउनुभयो ।

अनुगमनमा संलग्न जनकपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुरेन्द्र भण्डारीले होटलमा देखिएका त्रुटि सुधार गर्न आफूहरूले व्यवसायीलाई आह्वान गर्ने बताउनुभयो । सोमबारको अनुगमनमा नौ होटलमध्ये एकमात्र होटलको अवस्था सन्तोषजनक पाइएको साना उद्योग तथा घरेलु कार्यालय जनकपुरधामका प्रमुख सन्तोष साहले बताउनुभयो ।

अनुगमनक्रममा अत्यधिक सेवाग्राहीको भिड हुने गरेको शिवचौकस्थित न्यू राधा होटल र छपरिया नास्ता पसलमा सरसफाइको अवस्था कमजोर देखिएको र त्यहाँ खाना नहुने २० लिटर तेल, प्याज, समोसा र लिटी नष्ट गरिएको छ । दुवै होटललाई अन्तिम पटकका लागि भान्साघरको सरसफाइ मापदण्डअनुसार व्यवस्थापन गर्न निर्देशन दिइएको छ ।

जनकचोकको होटल फिल इट र मिथिला यात्री निवासमा शाकाहारी र मांसाहारी सामग्री छुट्टाछुट्टै राख्न र भान्साकोठाको सरसफाइ व्यवस्थापन गर्न निर्देशन दिइनुका साथै त्यहाँ रहेका अखाद्य वस्तु ब्रेड, ब्रेडरोटी र मासु नष्ट गरिएको छ ।

यसैगरी लक्ष्मी मिष्टान भण्डारमा म्याद गुज्रेका च्याउमिन पाँच थान, खान नहुने बिग्रेको बर्फी २० पिस नष्ट गरिएका छन् । सो मिष्ठान भण्डारलाई भान्साघर सरसफाइ व्यवस्थापनमा गम्भीर नभए होटल नै बन्द गराउनुपर्ने अवस्थाका बारेमा जानकारी गराइएको साना उद्योग तथा घरेलु कार्यालय जनकपुरधामका प्रमुख साहले जानकारी दिनुभयो ।

गङ्गालाल राष्ट्रिय हृदयरोग केन्द्रमा १५ वर्ष मुनिका विपन्न बालबालिकाको मुटुको निःशुल्क उपचार

काठमाडौँ, १३ चैतः स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सहिद गङ्गालाल राष्ट्रिय हृदयरोग केन्द्रमा १५ वर्ष मुनिका विपन्न परिवारका बालबालिकाको मुटुको निःशुल्क उपचार गर्ने भएको छ । स्वास्थ्यमन्त्री एवं केन्द्र सञ्चालक समितिका अध्यक्ष प्रदीप पौडेलको अध्यक्षतामा आज यहाँ बसेको बैठकले विपन्न, आर्थिक अवस्था कमजोर भएका परिवारका बालबालिकाको मुटुको क्यान्सरसम्बन्धी उपचार निःशुल्क गर्ने निर्णय गरेको केन्द्रका कार्यकारी निर्देशक रवि मल्लले जानकारी दिनुभयो । उहाँले यहाँ आउने आर्थिक अवस्था कमजोर भएका कोही पनि बालबालिका उपचारबाट वञ्चित हुनुनपर्ने बताउनुभयो ।

मन्त्रालयले केन्द्रलाई ५०० बालबालिकाको शल्यक्रियासहित मुटुको उपचारका लागि प्रतिबालबालिका रु दुई लाख ५० हजार सहयोग उपलब्ध गराउँदै आइरहेको जनाएको छ । 

चालु आर्थिक वर्षको पुससम्म ४८० बालबालिकाले केन्द्रबाट निःशुल्क मुटुको शल्यक्रियासहित उपचार सेवा पाएका केन्द्रका कार्यकारी निर्देशक मल्लले जानकारी दिनुभयो ।     आर्थिक अभावमा कोही पनि बालबालिका मुटु उपचारबाट वञ्चित हुन नपरोस् भनेर थप आर्थिक स्रोतको व्यवस्थापन गर्न थालिएको उहाँले बताउनुभयो । उहाँका अनुसार नेपालमा एक हजार बालबालिकामध्ये आठदेखि १० जनामा मुटुसम्बन्धी समस्या देखिने गरेको छ । 

दिगो सहरी विकास र सुशासनका लागि सरकार प्रतिबद्ध छ : उपप्रधानमन्त्री सिंह

पाटन (ललितपुर), १३ चैत : उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले दिगो सहरी विकास र सुशासनका लागि सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । नीति प्रतिष्ठानले आज ललितपुरमा आयोजना गरेको सहरी सुशासन तथा विकाससम्बन्धी क्षेत्रीय गोष्ठीमा उहाँले सहरी क्षेत्रका हरेक मानिसका लागि आर्थिक अवसर मात्र नभइ संस्कृति, दिगोपन र सुशासनको केन्द्र बन्नुपर्नेमा जोड दिनुभयो ।

“काठमाडौँ उपत्यका, तीव्र सहरीकरण, प्राकृतिक स्रोतको क्षयीकरण र सामाजिक–आर्थिक असमानताका बहुआयामिक चुनौतीको सामना गरिरहेको छ, सहरी शासन व्यवस्थामा समावेशिता, समुदायको सहभागिता र स्थानीय ज्ञानको एकीकरणका माध्यमबाट नगर विकासका लागि काम गर्नु छ, यसलाई ध्यान दिँदै सरकारले जनजीवन र जीविकोपार्जनलाई केन्द्रमा राख्दै सिर्जित समस्या समाधान गर्न क्रियाशील रहेको छ”, उहाँले भन्नुभयो ।

उपप्रधानमन्त्री सिंहले भूकम्पपछि काठमाडौँको पुनःनिर्माणमा समुदायको सक्रिय भूमिकाको उदाहरण दिँदै सहरी पुनःनिर्माण सरकार मात्र होइन, स्थानीय नागरिकको समेत सहकार्य र साझेदारीबाट सम्भव हुने बताउनुभयो । सरकारले ‘राष्ट्रिय सहरी नीति २०२४’ मार्फत सहरी पूर्वाधार सुधार, सन्तुलित विकास र सुशासन प्रवर्द्धन गर्ने लक्ष्य राखेको जानकारी दिँदै उहाँले सहरी पूर्वाधार सूचकलाई न्यूनतम ५० प्रतिशत पुर्‍याउने र हरित लगानी तथा जलवायु केन्द्रित कोषमार्फत सहरी विकासलाई दिगो बनाउने सरकारको योजना रहेको बताउनुभयो ।

“नेपालले आफ्नो सहरी विकास योजनामा सामुदायिक सहभागिता, पूर्वाधार पहुँच, स्रोत व्यवस्थापन र बहु–क्षेत्रीय सहकार्यलाई मुख्य प्राथमिकताका रूपमा अघि सारेको छ”, उहाँले भन्नुभयो, “स्थानीय सरकारलाई सहरी योजनासम्बन्धी प्रविधि तथा दक्षता अभिवृद्धि गर्न सरकारको प्रतिबद्धता रहेको छ ।”

अर्घाखाँचीको भुवनपाटामा बस दुर्घटना : तीन जनाको मृत्यु,१५ जना घाइते

अर्घाखाँची । अर्घाखाँचीको भुवनपाटामा बुधबार साँझ भएको बस दुर्घटनामा तीनको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् ।

शितगङ्गा नगरपालिका–२ सितापुरको भुवनपाटामा लु २ ख ३०३ नम्बरको बस दुर्घटना हुँदा तीन जनाको घटनास्थलमा मृत्युु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विष्णुप्रसाद पौडेलले जानकारी दिए ।

उनका अनुसार घाइतेमध्ये सात जनालाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल र आठ जनालाई प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा पठाइएको छ । प्रहरी निरीक्षक पौडेलले घटनाका बारेमा अनुसन्धान भइरहेको जनाउँदै उद्धार कार्य पनि भइरहेको बताए ।

गाजा पट्टीबाट दक्षिणी इजरायलमा दूई वटा रकेट प्रहार

इजरायल रक्षा बल (आइडीएफ) ले बुधबार बिहान गाजा पट्टीबाट दक्षिणी इजरायलतर्फ दूई वटा रकेट प्रहार भएको जनाएको छ । रकेटहरूले गाजा पट्टी नजिकका समुदायहरू किबुट्ज किसुफिम र किबुट्ज इन हास्लोशामा साइरनहरू बजाएको थियो । सेनाले एउटा रकेट उत्तरपश्चिमी नेगेभ मरुभूमिको जिम्रतमा खसेको जनाएको छ ।

सो हमलाको बारेमा विस्तृतमा कुनै पनि जानकारी दिइएको छैन । आइडीएफले बुधबार बिहान सबेरै सो हवाई आक्रमण भएको तर यसबाट भएको क्षतिको बारेमा भने अहिले नै केही प्राप्त नभएको जनाएको छ ।

प्यालेस्टाइन इस्लामिक जिहाद (पीआइजे) को सशस्त्र शाखा अल–कुड्स ब्रिगेड्सले आक्रमणको दाबी गर्दै प्यालेस्टिनीहरू विरुद्ध इजरायली आक्रमणको प्रतिक्रियामा ‘रकेटको एक श्रृङ्खला’ प्रहार गरेको बताएको छ ।

चीनलाई लक्षित गरेर दर्जनौं संस्थामाथि अमेरिकाद्वारा प्रतिबन्ध

संयुक्त राज्य अमेरिकाले बेइजिङको कृत्तिम बौद्धिकता (एआई)र उन्नत गणना क्षमतामा खलल पु¥याउने उद्देश्यले मङ्गलबार दर्जनौँ संस्थालाई व्यापार कालोसूचीमा राखेको वाणिज्य विभागले जनाएको छ ।

यो कारबाहीले चीन, संयुक्त अरब इमिरेट्स र इरानलगायत देशका ८० संस्थालाई प्रभावित पारेको छ र विभागले उनीहरूको ‘अमेरिकी राष्ट्रिय सुरक्षा र विदेश नीति विपरीतका गतिविधिहरू’ भनेको छ।

‘प्रतिबनध सूची’ मा थपिएकाहरूलाई सरकारी अनुमति बिना अमेरिकी वस्तुहरू र प्रविधिहरू प्राप्त गर्न प्रतिबन्ध लगाइएको छ।

अमेरिकी वाणिज्यमन्त्री हावर्ड लुटनिकले भन्नुभयो, “हामी विरोधीहरूलाई अमेरिकी प्रविधिको दुरुपयोग गरेर आफ्नो सेनालाई बलियो बनाउन र अमेरिकी जीवनलाई खतरामा पार्न अनुमति दिनेछैनौँ।”

चीनस्थित प्रयोगकर्ताहरूका लागि उन्नत एआई, सुपर कम्प्युटर र उच्च प्रदर्शन एआई चिप्सको विकासमा संलग्न भएको आरोप लगाई चीनमा रहेका ११ र ताइवानमा रहेको एक संस्थालाई लक्षित गरी प्रतिबन्ध लगाइएको हो । यसमा ‘बेइजिङ एकेडेमी अफ आर्टिफिसियल इन्टेलिजेन्स’ र विशाल प्रविधि फर्म ‘इन्सपुर ग्रुप’का सहायक कम्पनीहरू सामेल छन् ।

अन्यलाई ‘असुरक्षित आणविक गतिविधिहरूमा योगदान’ वा ब्यालिस्टिक क्षेप्यास्त्र कार्यक्रमहरूको लागि दोषी करार गरिएको छ।

उद्योग तथा सुरक्षाका लागि वाणिज्य उपमन्त्री जेफरी केसलरले अमेरिकी प्रविधि र सामानलाई उच्च कार्यसम्पादन कम्प्युटिङ, हाइपरसोनिक क्षेप्यास्त्र र सैन्य विमान प्रशिक्षणजस्ता गतिविधिका लागि दुरुपयोग हुनबाट रोक्नु यसको उद्देश्य रहेको बताउनुभयो ।

इरानको रक्षा उद्योग र ड्रोन कार्यक्रमका लागि अमेरिकी सामान खरिद गर्न खोज्ने इरान र चीनका दुई संस्थालाई पनि सूचीमा समावेश गरिएको वाणिज्य विभागले जनाएको छ ।

बेइजिङले आफ्ना कम्पनीहरूलाई कालोसूचीमा राख्ने निर्णयको निन्दा गर्दै वासिङ्टनले व्यापार र प्रविधिलाई ‘आधिपत्यवादको विशिष्ट कार्य’मा ‘हतियार’ बनाएको आरोप लगाएको छ।

“हामी अमेरिकी पक्षलाई राष्ट्रिय सुरक्षाको अवधारणालाई सामान्यीकरण नगर्न आग्रह गर्दछौँ”, चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले नियमित पत्रकार भेटमा भन्नुभयो, “चिनियाँ उद्यमहरूलाई अनुचित रूपमा दबाउन सबै प्रकारका प्रतिबन्ध सूचीहरूको दुरुपयोग बन्द गर्नुहोस्।”

गुओले चीनले आफ्ना कम्पनीहरूको अधिकार रक्षाका लागि आवश्यक कदम चाल्ने बताउनुभएको छ । कालोसूचीमा परेका केही कम्पनीहरुले एएफपीको प्रतिक्रियाको लागि बुधबार गरेको अनुरोधमा तत्काल प्रतिक्रिया जनाउन चाहेनन् ।

प्रधानमन्त्री कप क्रिकेट : एपिएफ क्लबद्वारा कोशी प्रदेश पराजित

भैरहवा (रूपन्देही), १३ चैत : प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा एपिएफ क्लब विजयी भएको छ । एपिएफले कोशी प्रदेशलाई पराजित गरेको हो ।
भैरहवास्थित सिद्धार्थ क्रिकेट रङ्गशालामा टस जितेर ब्याटिङ रोजेको कोशीले विकेट गुमाउदै २५४ रन बनायो । कोशीका लागि साकिब हकले ६३ बलमा ११ चौकाको सहयोगमा ६८ रन बनाए । यस्तै अङ्कीत सुवेदीले ३५, आशिष भट्टराईले ३४ र सुजन थपलियाले ३३ रन बनाए ।

बलिङतर्फ एपिएफ क्लबका अभिषेक गौतम र मौसाम ढकालले तीन तीन, कप्तान रोहितकुमार पौडेलले दुई तथा इरशाद अहमद र अमरसिंह रौटेलाले एक एक विकेट लिए । 

एपिएफ क्लबले २५५ रनको विजयी लक्ष्य ४४ दबमलव चार ओभरमा आठ विकेट गुमाएर पूरा गर्यो । एपिएफ क्लबका लागि लोकेश बमले अविजित ८४ रन बनाए । उनले ५४ बलमा ६ छक्का र ६ चौका प्रहार गरे । यस्तै रोहितकुमार पौडेलले ६१, दीपक बोहराले ३६, सन्दिप जोराले ३०, इर्शाद अहमदले अविजित १६ तथा अभिषेक गौतमले १४ रन बनाए । बलिङतर्फ कोशीका फिर्दोस अन्सारी र दिपेश कँडेलले तीन तीन तथा ज्ञानेन्द्र श्रेष्ठ र विपुल लुइँटेलले एक एक विकेट लिए । 

जलविद्युतमा लगानी गर्न भारतीय लगानीकर्तालाई ‘इप्पान’को आग्रह

काठमाडौँ, १३ चैतः स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)का अध्यक्ष गणेश कार्कीले भारतीय लगानीकर्तालाई नेपालमा लगानी गर्न आग्रह गर्नुभएको छ । नयाँ दिल्लीमा आज भएको ‘नेपाल–भारत इनर्जी समिटमा’ बोल्दै इप्पान अध्यक्ष कार्कीले भारतीय लगानीकर्तालाई लगानीको सुरक्षा र प्रतिफलको ग्यारेन्टी रहेकाले ढुक्कसाथ लगानी गर्न आग्रह गर्नुभएको हो ।

“नेपाल सरकारले सन् २०३५ सम्ममा २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन पु¥याउने महत्वाकांक्षी लक्ष्य लिएको छ । त्यसका लागि ४६.५ अर्ब डलर लगानी आवश्यक रहेकाले नेपालमा लगानीको सुनौलो अवसर छ”, कार्कीले भननुभयो ।

नेपाल लगानी बोर्डले गरेको प्रारम्भिक अध्ययनअनुसार, नेपालको सौर्य ऊर्जा उत्पादन क्षमता ४.३२ गिगावाटभन्दा बढी रहेकाले सौर्य ऊर्जामा पनि भारतीय लगानीकर्ताले लगानी गर्न सक्ने उहाँको भनाइ छ ।

नेपाल आदानी समूह, टाटा पावर, जिन्दल पावर, जिएमआर समूह, एसजेभीएन लिमिटेड, एनएचपिसीजस्ता प्रमुख भारतीय व्यापारिक घरानाहरूसँग साझेदारी गर्न इच्छुक रहेको उहाँले जानकारी गराउनुभयो ।

इप्पान उपाध्यक्ष आनन्द चौधरीले नेपालमा तीन हजार ५०० मेगावाट विद्युत् उत्पादन भइरहेकामा चार हजार मेगावाट बराबरका आयोजना निर्माणाधीन रहेको, चार हजार १०० मेगावाट क्षमताका आयोजना विद्युत् खरिद बिक्री सम्झौता (पिपीए) गरेर वित्तीय व्यवस्थापनको पर्खाइमा रहेको र करिब २० हजार मेगावाट क्षमताका आयोजना अध्ययनको चरणमा रहेको बताउनुभयो ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव चिरञ्जीवी चटौतले सरकारले अघि सारेको २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन लक्ष्य प्राप्तिका लागि मन्त्रालयले सहजीकरण गर्ने हुँदा ढुक्कसँग लगानी गर्न आग्रह गर्नुभयो ।

‘जलविद्युत् र नवीकरणीय ऊर्जा क्षेत्रमा लगानीका अवसरको खोजी’ भन्ने नारासहित नेपाली राजदूतावास भारत र भारतीय हरित ऊर्जा महासङ्घको आयोजना तथा इप्पानको संस्थागत सहभागितामा उक्त सम्मेलन भएको इप्पानले जनाएको छ ।

गण्डकी प्रदेशसभाः अपाङ्गतासम्बन्धी विधेयकमा सैद्धान्तिक छलफल

गण्डकी, १३ फागुनः गण्डकी प्रदेशसभाको आजको बैठकमा अपाङ्गता भएका व्यक्तिको अधिकारका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि सैद्धान्तिक छलफल भएको छ ।

बैठकमा सांसद सुनिता थापा, दमयन्ती रूचाल, सरस्वती गुरूङ, टीकाकुमारी बस्याल, देवका पहारी, भक्त कुँवर र सीता सुन्दाशले अपाङ्गता भएका व्यक्तिहरू समाजमा सम्मानपूर्वक बाँच्न पाउनुपर्नेमा जोड दिँदै उहाँहरूका अधिकारलाई सुनिश्चित गराउन कानुन आवश्यक भएको धारणा राख्नुभयो ।

छलफलमा उठेका प्रश्नको जवाफ दिँदै प्रदेशका सामाजिक विकास, युवा तथा खेलकूदमन्त्री विन्दुकुमार थापाले सरकारले चालु आर्थिक वर्षमा अपाङ्ता भएका व्यक्तिको सशक्तिकरणका लागि रु एक करोड बजेट विनियोजन गरेको जानकारी गराउनुभयो ।

विधेयकलाई सरकारले प्रभावित व्यक्ति तथा सरोकार भएका सङ्घसंस्थासँग छलफल गरी सदनमा प्रस्तुत गरिएको उल्लेख गर्दै उहाँले यसबाट मुलुकभर अपाङ्गता भएका व्यक्तिको अधिकार सुनिश्चित गर्ने कानुनी ढाँचा निर्माणका लागि मार्ग प्रशस्त गर्ने अपेक्षा गरिएको बताउनुभयो ।

अपाङ्गता भएका व्यक्तिको पहिचान, वर्गीकरण, परिचयपत्र व्यवस्थापन, सीप विकास, रोजगारी, स्वरोजगारलगायत विषयलाई विधेयकले सम्बोधन गरेको मन्त्री थापाले जानकारी दिनुभयो । उहाँका अनुसार विधेयकमा शिक्षा, स्वास्थ्य, निर्देशन समिति गठनलगायत संरचनात्मक व्यवस्थाको आधारसमेत तयार पारिएको छ ।

चितवनका सहरी क्षेत्रमा क्षयरोगी बढे

चितवन, १३ चैतः गत वर्षको तुलनामा यो वर्ष चितवनमा क्षयरोगीको सङ्ख्या बढेको पाइएको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार चालु आर्थिक वर्षको फागुनसम्ममा जिल्लामा भेटिएका पाँच सय आठ जना क्षयरोगीमध्ये दुई सय ८९ जना भरतपुर महानगरका छन् ।

रत्ननगर नगरपालिकाका ६१, खैरहनी नगरपालिकाका ४१, कालिका नगरपालिकाका ३६, राप्ती नगरपालिकाका ५३, माडी नगरपालिकाका १७ र इच्छाकामना गाउँपालिकाका ११ जनामा क्षयरोगको सङ्क्रमण देखिएको हो । उनीहरूमध्ये ७१ जना पुरानामा पुनः यो रोग देखिएको छ । यो रोग जिल्लामा गत आवमा एक हजार एक सय ३९ जनामा देखिएको थियो । एक सय ६१ जना पुराना बिरामी हुन् भने अन्य नयाँ बिरामी रहेको उहाँले वताउनुभयो ।

गत आर्थिक वर्षमा भेटिएका बिरामीमध्ये छ सय नौ जना भरतपुर महानगरपालिकाका थिए । यसैगरी, रत्ननगरका एक सय पाँच, खैरहनीका १०३, कालिकाका ९६, राप्तीका एक सय २५, माडीका ५७ र इच्छाकामनाका ४४ जना रहेका थिए ।

ग्रामीण सडकःमार्ग खुलेको १४ वर्षपछि स्तरोन्नति

म्याग्दी, १३ चैतः मङ्गला गाउँपालिका–२ मा बाबियाचौर–काफलचौर–सल्ल्यान–भर्जुला सडक स्तरोन्नति भएको छ ।

विसं २०६७ मा स्थानीयवासीले चन्दा सङ्कलन गरेर खोलेको यो सडक मङ्गला गाउँपालिकाको केन्द्र बाबियाचौरका वडा नं १ र २ का बस्ती जोडिन्छ । बेनी–दरवाङ सडकमा पर्ने भाइवाङ खोलाबाट सुरु हुने सडकको प्रवेशबिन्दुबाट काफलचौर हुँदै सल्ल्यान खण्डको सडक रु दुई करोड १५ लाखको लागतमा स्तरोन्नति भएको मङ्गला गाउँपालिका–२ का वडाध्यक्ष धनबहादुर खाती क्षेत्रीले बताउनुभयो । बाटो स्तरोन्नति गर्न ती वर्ष लागेको हो ।

सडकलाई वर्षाको पानीबाट जोगाउन निकासका निम्ति नाली, भूक्षय रोक्न टेवा र ग्यावियन पर्खाल निर्माण गरेर पाँच सय ३८ मिटर ढलान गरिएको छ । भाइवाङखोलाको प्रवेशबिन्दुबाट एक सय १० मिटर सडक छ मिटर फराकिलो बनाएर ढलान पनि गरिएको छ ।

यसअघि भरजुला–थाइवाङ खण्ड गण्डकी प्रदेश सरकारअन्तर्गतको पूर्वाधार विकास कार्यालयमार्फत रु ३० लाख लागतमा स्तरोन्नति भएको थियो

श्रीलङ्काका लागि नेपालका राजदूत नेपालीद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत

काठमाडौँ, १३ चैत : श्रीलङ्काका लागि नेपालका राजदूत पूर्णबहादुर नेपालीले त्यहाँका राष्ट्रपति अनुराकुमारा दिसानायकेसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्नुभएको छ ।

राष्ट्रपति कार्यालयमा सोमबार आयोजित विशेष समारोहमा राजदूत नेपालीले आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्नुभएको कोलोम्बोस्थित नेपाली राजदूतावासले आज जनाएको छ ।

त्यस अवसरमा राजदूत नेपालीले राष्ट्रपति रामचन्द्र पौडेलका तर्फबाट श्रीलङ्काली राष्ट्रपतिको व्यक्तिगत सुख, सुस्वास्थ्यका साथै प्रजातान्त्रिक समाजवादी गणतन्त्र श्रीलङ्काका जनताको निरन्तर शान्ति एवं प्रगतिको कामना गर्नुभएको थियो ।

राजदूत नेपालीलाई स्वागत गर्दै राष्ट्रपति दिसानायकेले राष्ट्रपति पौडेलको व्यक्तिगत सुख, सुस्वास्थ्यका साथै नेपाली जनताको शान्ति एवं समृद्धिको कामना गर्नुभएको थियो । त्यस अवसरमा श्रीलङ्काका विदेशमन्त्री, राष्ट्रपति कार्यालयका सचिव, राजदूतकी धर्मपत्नी, राष्ट्रपतिको कार्यालय र विदेश मन्त्रालयका वरिष्ठ अधिकारीहरूको उपस्थिति थियो ।

प्रतिनिधिसभाको बैठक बस्दै

काठमाडौं । बुधबार प्रतिनिधिसभाको बैठक बस्दैछ । नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बिहान ११ बजेदेखि सुरू हुने बैठकमा ‘बैंकिङ्ग कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८०’ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश सहितको विधेयक टेबुल गरिने कार्यसूची छ ।

त्यस्तै कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसियाले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘नेपाल कानून व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ माथी विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदन सहितको राष्ट्रिय सभामा उत्पत्ति भएको संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ माथि छलफल गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

त्यस्तै ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८१ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गरिने सम्भावित कार्यसूची संसद सचिवालयले जनाएको छ ।

यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य

काठमाडौँ, १३ चैत : कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो ।

गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ४०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ५०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु २०, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु २५, आलु रातो प्रतिकिलो रु ३५, आलु रातो (मुढे) प्रतिकिलो रु ३५, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ५५, गाजर (लोकल) प्रतिकिलो रु ५०, गाजर (तराई) प्रतिकिलो रु ४०, बन्दा (लोकल) प्रतिकिलो रु १५, बन्दा (तराई) प्रतिकिलो रु १५, बन्दा (नरिवल) प्रतिकिलो रु २०, काउली (स्थानीय) प्रतिकिलो रु ४०, स्थानीय काउली (ज्यापु) प्रतिकिलो रु ५०, मूला रातो प्रतिकिलो रु ५०, मूला सेतो (लोकल) प्रतिकिलो रु १५, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु २५, भन्टा लाम्चो प्रतिकिलो रु ४० तथा भन्टा डल्लो प्रतिकिलो रु ५०, तने बोडीको मूल्य प्रतिकिलो रु १२० कायम गरिएको छ ।

यसैगरी, मटरकोसा प्रतिकिलो रु ६०, घिउ सिमी (लोकल) प्रतिकिलो रु ७०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु ७०, घिउ सिमी (राजमा) प्रतिकिलो रु १००, टाटे सिमी प्रतिकिलो रु ७०, तितो करेला प्रतिकिलो रु १२०, लौका प्रतिकिलो रु ६०, परबर (लोकल) प्रतिकिलो रु ८०, परबर (तराई) प्रतिकिलो रु ८०, घिरौला प्रतिकिलो रु ८०, झिगुनी प्रतिकिलो रु ८०, फर्सी पाकेको प्रतिकिलो रु ५०, फर्सी हरियो (लाम्चो) प्रतिकिलो रु ३५, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु ३०, सलगम प्रतिकिलो रु ६० तथा भिण्डी प्रतिकिलो रु १२० कायम गरिएको छ । 

यस्तै, सखरखण्ड प्रतिकिलो ८०, बरेला प्रतिकिलो रु ४०, पिँडालु प्रतिकिलो रु ९०, स्कूस प्रतिकिलो रु ४०, रायो साग प्रतिकिलो रु ८०, पालुङ्गो साग प्रतिकिलो ७०, चमसुरको साग रु ७०, तोरीको साग प्रतिकिलो रु ५०, मेथीको साग प्रतिकिलो रु ७०, प्याज हरियो प्रतिकिलो रु ५०, बकुला प्रतिकिलो रु ५०, तरुल प्रतिकिलो रु ९०, च्याउ (कन्य) प्रतिकिलो रु १५०, च्याउ (डल्ले) प्रतिकिलो रु ३५० तथा कुरिलो प्रतिकिलो रु ७०० निर्धारण गरिएको छ ।

निगुरो प्रतिकेजी रु १२०, ब्रोकाउली प्रतिकिलो रु ५०, चुकुन्दर प्रतिकिलो रु ६०, सजीवन प्रतिकिलो रु २००, कोइरालो प्रतिकिलो रु १८०, रातो बन्दा प्रतिकिलो रु ५०, जिरीको साग प्रतिकिलो रु ६०, ग्याठकोभी प्रतिकिलो रु ६०, सेलरी प्रतिकिलो रु १५०, पार्सले प्रतिकिलो रु ३००, सौफको साग प्रतिकिलो रु ७०, पुदिना प्रतिकिलो रु ३००, गान्टे मूला प्रतिकिलो रु ६०, इमली प्रतिकिलो रु १६०, तामा प्रतिकिलो रु १००, तोफु प्रतिकिलो रु १२० र गुन्द्रुकको मूल्य प्रतिकिलो रु ३५० तोकेकोे छ ।

समितिले स्याउ (झोले) प्रतिकिलो रु २५०, स्याउ (फूजी) प्रतिकिलो रु ३५०, केरा (दर्जन) रु १६०, कागती प्रतिकिलो रु २७०, अनार प्रतिकिलो रु ३५०, अङ्गुर (हरियो) प्रतिकिलो रु २००, अङ्गुर (कालो) प्रतिकिलो रु २५०, तरबुजा हरियो प्रतिकिलो रु ८०, मौसम प्रतिकिलो रु २००, जुनार प्रतिकिलो रु १८०, भुइँकटहर प्रतिगोटा रु २००, काँक्रो (लोकल) प्रतिकिलो रु ६०, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु ३५, रुख कटहर प्रतिकिलो रु १००, निबुवा प्रतिकिलो रु ५०, नासपाती (चाइनिज) प्रतिकिलो रु २६०, मेवा (नेपाली) प्रतिकिलो रु ५०, मेवा (भारतीय) प्रतिकिलो रु १२०, अम्बा प्रतिकिलो रु १२०, लप्सी प्रतिकिलो रु १३०, उखु प्रतिगोटा रु १००, स्ट्रबेरी (भुइँऐसेलु) रु २५०, किबी प्रतिकिलो रु ४५० तथा आभोकाडो प्रतिकिलो रु ६५०, अमलाको मूल्य प्रतिकिलो रु १०० निर्धारण गरिएको छ ।

यसैगरी, अदुवा प्रतिकिलो रु १२०, खुर्सानी सुकेको प्रतिकिलो रु ४००, खुर्सानी हरियो प्रतिकिलो रु ८०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु ८०, खुर्सानी हरियो (माछे) प्रतिकिलो रु १००, सुर्खानी हरियो (अकबरे) प्रतिकिलो २५०, भेडे खुर्सानी प्रतिकिलो रु १००, लसुन हरियो प्रतिकिलो रु ६०, हरियो धनिया प्रतिकिलो रु १००, लसुन सुकेको चाइनिज प्रतिकिलो रु ३२०, लसुन सुकेको नेपाली प्रतिकिलो रु ३००, छ्यापी सुकेको प्रतिकिलो रु १६०, छ्यापी हरियो प्रतिकिलो रु ६०, ताजा माछा (रहु) प्रतिकिलो रु ३२०, ताजा माछा (बचुवा) प्रतिकिलो रु २६०, ताजा माछा (छडी) प्रतिकिलो रु २४०, रुख टमाटर प्रतिकिलो रु १८०, राजा च्याउ प्रतिकिलो रु ३०० र सिताके च्याउको मूल्य प्रतिकिलो रु ८०० तोकेको छ ।

एनआरएनए उच्चस्तरीय समितिले एकता महाधिवेशन सम्बन्धी पुस्तिका प्रकाशन गर्‍यो

काठमाडौँ । सर्वोच्च अदालतको २०८० चैत्र २१ गतेको परमादेश अनुसार गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) को एकता महाधिवेशन गराउन गठित उच्चस्तरीय समितिले महाधिवेशनसम्बन्धी जानकारी समेटिएको पुस्तिका प्रकाशन गरेको छ।उक्त पुस्तिका आउँदो मे ३–५, २०२५ मा काठमाडौँमा हुने एकता महाधिवेशनका सम्बन्धमा सत्य तथ्य जानकारी दिन प्रकाशन गरिएको समितिले जनाएको छ।

“सर्वोच्च अदालतको परमादेशको गलत व्याख्या गर्दै भ्रम फैलाउने कार्य भइरहेकोले संसारभर रहेका एनआरएन साथीहरूलाई सही जानकारी गराउने उद्देश्यले हामीले यो पुस्तिका प्रकाशन गरेका हौँ,” उच्चस्तरीय समितिकी सदस्य सचिव जानकी गुरुङले बताइन्।

पुस्तिकामा एनआरएनएको सदस्यता, महाधिवेशन प्रक्रियामा हुने परिवर्तन, सर्वोच्च अदालतबाट जारी आदेशहरूको प्रभाव, तथा एकता महाधिवेशनको वैधानिकतासम्बन्धी जानकारी समेटिएको छ।

त्यसैगरी, अक्टोबर २०२५ मा अर्को महाधिवेशन गर्ने भनिएको सन्दर्भमा पुस्तिकाले स्पष्ट पारेको छ कि सर्वोच्च अदालतको आदेशअनुसार हुने मे २०२५ को एकता महाधिवेशनले मात्र कानुनी मान्यता प्राप्त गर्नेछ। एकता महाधिवेशन सम्पन्न भएपछि नवनिर्वाचित कार्यसमितिले एनआरएनए केन्द्रीय सचिवालयबाट आफ्नो काम तत्काल सुरु गर्ने पनि समितिले जनाएको छ।

वीरगञ्ज महानगरद्वारा ३३ करोड ५६ लाख राजस्व सङ्कलन

वीरगञ्ज (पर्सा), १३ चैत : वीरगञ्ज महानगरले चालु आर्थिक वर्षको आठ महिनामा रु ३३ करोड ५६लाख ८७ हजार सात सय ७८ राजस्व सङ्कलन गरेको छ ।महानगरले गत आवको सोही अवधिको तुलनामा रु ३६ लाख ४१ हजार १६१ बढी राजस्व सङ्कलन गरेको हो ।

वीरगञ्ज महानगरपालिका राजस्व महाशाखा प्रमुख मनोज कर्णले चालु आवको आठ महिनामा वार्षिक लक्ष्यको ४० प्रतिशतको हाराहारीमा राजस्व सङ्कलन भएको जानकारी दिनुभयो । महानगरले सम्पत्ति करबापत रु १२ करोड ११ लाख ९७ हजार र पूर्वाधार सेवाको कर उपभोगमा लाग्ने करबापत रु एक करोड ६८ लाख सङ्कलन गरेको छ ।

भारत, बङ्गलादेश र भुटानका आँखाका बिरामी उपचार गर्न नेपालमा

काठमाडौं । भारत, बङ्गलादेश, भुटानलगायत देशका नागरिक आँखा उपचारका लागि नेपाल आउने गरेका छन् । नेपाल नेत्रज्योति सङ्घद्वारा सञ्चालित २८ आँखा अस्पताल, दुई सय २४ आँखा उपचार केन्द्रमा विदेशी बिरामी उपचारार्थ आएका हुन् ।

सन् २०२४ मा सङ्घको सञ्जालमार्फत नौ लाख सात हजार ७१ जना विदेशी नागरिकको आँखा परीक्षण तथा एक लाख ६२ हजार आठ सय ४५ जनाको शल्यक्रिया गरिएको सङ्घका कार्यकारी निर्देशक डा. शैलेशकुमार मिश्रले बताए ।

सञ्जालमार्फत सन् २०२४ मा ३२ लाख ६८ हजार ३४ जना आँखाका बिरामीको आँखा परीक्षण गरी दुई लाख ५८ हजार पाँच सय ७५ जनाको शल्यक्रिया गरिएको छ ।

सङ्घका अस्पताल तथा विभिन्न बाह्य कार्यक्रममार्फत ३४ हजार चार सय २५ जना आँखाका बिरामीको निःशुल्क शल्यक्रिया गरिएको छ । सङ्घद्वारा विभिन्न राष्ट्रिय तथा अन्तरराष्ट्रिय विकास साझेदार संस्थाको सहयोग तथा अस्पतालको आन्तरिक स्रोतबाट निःशुल्क शल्यक्रिया गरिएको हो ।

सङ्घले आफ्ना सञ्जालमार्फत नेपाली तथा अन्य देशका नागरिक गरी हालसम्म चार करोड ६८ लाख ६८ हजार ६० जनाको उपचार गरेको छभने ५३ लाख ९२ हजार दुई सय २४ जनाको आँखाको शल्यक्रिया गरेको जानकारी कार्यकारी निर्देशक मिश्रले दिए ।

स्वीट्जरल्याण्डका पर्यटकलाई नेपाल भ्रमणको निम्तो

काठमाडौँ-स्वीट्जरल्याण्डको जेनेभामा नेपालको पर्यटन प्रवर्द्धन गर्दै स्वीस नागरिकलाई नेपाल भ्रमणको निम्तो दिइएको छ । नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसङ्घका लागि नेपाल स्थायी मिसन, जेनेभाको सहकार्यमा आयोजित ‘नेपाल नाइट’मार्फत स्वीट्जरल्याण्डका पर्यटकलाई नेपाल भ्रमणका लागि आग्रह गरिएको हो ।

जेनेभमा सोमबार सम्पन्न नेपाल नाइटको अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव विनोदप्रकाश सिंहले नेपालका प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता, साहसिक पर्यटनका अवसर तथा नेपाली आतिथ्य संस्कृतिको विशेषता प्रस्तुत गर्दै स्वीट्जरल्याण्डका पर्यटकलाई नेपाल भ्रमण गर्न आह्वान गरेको बोर्डले विज्ञप्तिमार्फत जनाएको छ ।

 सचिव सिंहले नेपाल र स्वीट्जरल्याण्डबीच सन् १९५६ देखि कायम कूटनीतिक सम्बन्धको चर्चा गर्दै यी दुई देशका भौगोलिक समानता र स्वीट्जरल्याण्डले नेपालको पूर्वाधार, प्रविधि तथा पर्यटन प्रवर्द्धनमा पु¥याएको योगदानलाई  स्मरण गर्नुभयो । उहाँले प्रसिद्ध स्वीस भूगर्भविद् तथा अन्वेषक डा टोनी ह्यागेनले नेपाललाई विश्वसामु चिनाउन गरेको योगदानको प्रशंसासमेत गर्नुभयो । 

बोर्डका वरिष्ठ प्रबन्धक खड्गविक्रम शाहले नेपालको पर्यटकीय विविधता, रमणीय भू–दृश्य, पर्यटनका नयाँ पहल तथा नीतिसम्बन्धी विस्तृत प्रस्तुति दिनुभएको थियो । पर्यटन विभागका महानिर्देशक डा नारायणप्रसाद रेग्मीले नेपालमा थप स्वीस पर्यटक तथा लगानीकर्तालाई स्वागत गर्न नेपाल पूर्णरूपमा तयार रहेको जानकारी गराउनुभयो । 

आठ महिनामा काँकडभिट्टाबाट १२ अर्ब ६४ करोडको पेट्रोलिय आयात

भद्रपुर (झापा), १३ चैत : चालु आर्थिक वर्षको आठ महिनामा काँकडभिट्टाबाट रु १२ अर्ब ७४ करोड १६ लाख मूल्य बराबरको पेट्रोलिय पदार्थ आयात भएको छ ।गत आवको आठ महिनाको तुलनामा चालु आवको सोही अवधिमा रु ६४ करोड १७ लाख ५९ हजारले पेट्रोलियम पदार्थको आयातमा कमी आएको छ । गत आवको आठ महिनामा रु १३ अर्ब ३८ करोड ३३ लाखको पेट्रोलियम पदार्थ आयात भएको थियो । मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँले पेट्रोलियम पदार्थको आयात घटे पनि राजस्व बढेको बताउनुभयो ।

चालु आवका आठ महिनामा पेट्रोलिय पदार्थको आयातबाट रु छ अर्ब १२ करोड ४२ लाख राजस्व सङ्कलन भएको छ । यो गत आवको सोही अवधिको तुलनामा पाँच दशमलव छ प्रतिशतले बढी हो । गत आवको आठ महिनामा रु पाँच अर्ब ८० करोड १८ लाख राजस्व सङ्कलन भएको थियो ।

आठ महिनामा ५६ अर्ब बराबरको खानेतेल निर्यात

काठमाडौँ, १३ चैतः नेपालले पछिल्लो आठ महिनामा करिब ५६ अर्ब बराबरको खानेतेल निर्यात गरेको छ । विदेशबाट कच्चा पदार्थ आयात गर्ने र नेपालमा प्रशोधन गरी मूल्य अभिवृद्धि गरेर खानेतेल बेच्दा निर्यात उल्लेख्य रुपमा बढेको हो ।

भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्षको फागुन मसान्तसम्मको वैदेशिक व्यापारको तथ्याङ्कअनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यसवर्ष आयात ११ दशमलव २० र निर्यात ५७ दशमलव २० प्रतिशतले बढेको छ । अर्थात् गतवर्षको तुलनामा यसवर्ष नेपालको निर्यातमा खानेतेलको निकै ठूलो हिस्सा देखिएको छ । 

पछिल्लो आठ महिनामा रू एक खर्ब ५८ अर्बको निर्यात गर्दा नेपालले रू ४७ अर्ब ९४ करोड ६६ लाख बराबरको भटमास (सोयाबिन) तेल मात्रै निर्यात गरेको छ । त्यस्तै, रू सात अर्ब ९८ करोड २३ लाख बराबरको सूर्यमुखी तेल, रू पाँच अर्ब ८३ करोड ७३ लाखको अलैंची, रू चार अर्ब ३२ करोड ३९ लाखको कार्पेट निर्यात भएको छ ।

विभागका अनुसार चालु आवको दोस्रो चौमासिक अवधिसम्म मुलुकले कुल रू १३ खर्ब तीन अर्ब ७३ करोड ८६ लाख बराबरको वैदेशिक व्यापार गर्दा रू नौ खर्ब ८७ अर्ब ३९ करोड ३८ लाखको घाटा बेहोरेको छ । पछिल्लो आठ महिनामा रू ११ खर्ब ४५ अर्ब ५६ करोड ६२ लाख बराबरको वस्तु आयात भएको छ भने रू एक खर्ब ५८ अर्ब १७ करोड २४ लाख बराबरको निर्यात भएको छ ।

छिमेकी मुलुक भारतसँग मात्र नेपालले आठ महिनामा रू पाँच खर्ब ६३ अर्ब ६७ करोडको व्यापार घाटा बेहोरेको छ । गत साउनदेखि फागुनसम्म भारतबाट रू छ खर्ब ८८ अर्ब ६८ करोडको आयात हुँदा रू एक खर्ब २५ अर्ब बराबरको निर्यात भएको छ । चीनसँग रू दुई खर्ब १९ अर्ब १८ करोडको आयात र रू दुई अर्ब १२ करोडको निर्यात हुँदा रू २१ अर्ब ७० करोडको व्यापार घाटा बेहोरेको छ । साथै अर्जेन्टिना, युक्रेन, युनाईटेड अरब ईमिरेट्स, अस्ट्रेलियालगायतका मुलुकहरुसँग नेपालको व्यापारघाटा उच्च छ । उक्त अवधिमा ३४ वटा मुलुकसँगको व्यापारमा नेपाल नाफामा छ । अफगानिस्तान, डेनमार्क, रसिया, अस्ट्रिया, माल्दिभ्सलगायतका मुलुकसँगको वैदेशिक व्यापारमा नेपाललाई नाफा छ ।

सो अवधिमा पेट्रोलियम पदार्थको आयात उच्च छ । पछिल्ला आठ महिनामा नेपालले रू ७८ अर्ब ८६ करोड ३७ लाखको डिजेल, रू ४२ अर्ब ८० करोड १७ लाखको पेट्रोल र रू ४१ अर्ब बराबरको एलपी ग्यास आयात गरेका छ । त्यस्तै, रू नौ अर्ब ६९ करोड २२ लाख बराबरको विद्युतीय सवारीसाधन र रू दुई अर्ब ११ करोड बराबरको अन्य सवारीसाधन आयात भएको छ । यो अवधिमा रू २१ अर्ब ९१ करोड ८३ लाख बराबरको १४ लाख सात हजार ७८ वटा स्मार्टफोन आयात भएको पनि विभागको तथ्याङ्क छ । 

हरेक खेलाडीको कथा अञ्जिला

काठमाडौँ, १३ चैतः अखिल नेपाल फुटवल सङ्घ (एन्फा) का अध्यक्ष पङ्कजविक्रम नेम्वाङ्गले चलचित्र ‘अञ्जिला’ मा देखाइएको सङ्घर्ष हरेक खेलाडीको जीवनीसँग मिल्ने बताउनुभएको छ । मङ्गलवार ललितपुरको लाविम मलमा रहेको एक चलचित्र भवनमा नेपाली राष्ट्रिय महिला फुटवल टिमकी कप्तान तथा गोलरक्षक अञ्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित चलचित्र ‘अञ्जिला’ हेरेपछि अध्यक्ष नेम्वाङ्गले चलचित्रले खेलमा आफ्नो भविष्य देख्नेलाई प्रेरणा दिने बताउनुभयो ।

उहाँले भन्नुभयो, “चलचित्रमा देखाइएको पात्रले हाम्रो सबै खेलाडीको प्रतिनिधित्व गर्छ, कप्तान सुब्बाको जस्तो सङ्घर्ष गरेर धेरै खेलाडीले गर्नुभएको छ । यहाँ हामीले आफ्नो बच्चा पनि लिएर आएका छौँ, किनकी चलचित्रले उनीहरूलाई लक्ष्य प्राप्तिका लागि मेहनत गर्न प्रेरणा दिन्छ । यो हरेक खेलाडी हेर्नु पर्ने चलचित्र बनेको छ ।”

उहाँले खेलाडीको विषयमा चलचित्र बन्नु प्रसंशनीय रहेको बताउदै निर्माता प्रेमकुमार श्रेष्ठ र निर्देशक मिलन चाम्सलाई धन्यवाद दिनुभयो । कप्तान सुब्बाका धर्मपिता समेत रहनुभएका निर्माता श्रेष्ठले यसचलचित्रको सफलताले आगामी दिनमा खेलाडीको विषयमा चलचित्र बनाउन अन्यलाई पनि प्रोत्साहित गरेको बताउनुभयो । 

“नेपालमा खेलाडीका विषयमा बनेका चलचित्रले व्यावसायिक सफलता आर्जन गर्न नसकेका कारण अन्य निर्माताले लगानी गर्न सक्नुभएको थिएन, यद्यपि अञ्जिलाको सफलताले उहाँहरूलाई हौसला दिएको छ । मैले कप्तान सुब्बालाई लिएर देखेको सपना पनि छिटै पूरा हुने भएको छ”, निर्माता श्रेष्ठले भन्नुभयो । 

चलचित्रका निर्देशक चाम्सले धेरै खेलाडीको कथा चलचित्रमा आउन योग्य रहेको बताउनुभयो । “अब आउँदो समयमा खेलाडी वा खेलको विषयमा चलचित्र बन्ने छ, मैले केही चलचित्रको छलफल भएको सुनेको छु । यो एउटा खेलप्रेमीका लागि पनि सुखद खबर हो”, निर्देशक चाम्सले भन्नुभयो ।

आयोजित विशेष प्रदर्शनीमा एन्फाका महासचिव किरण राई, पूर्व कप्तान हरि खड्का र विराज महर्जन, खेलाडी सङ्घका अध्यक्ष विक्रम लामा, महिला फुटवल सङ्घका केन्द्रीय सदस्य पेमा लामा र विना श्रेष्ठ, राष्ट्रिय महिला फुटबल टिमको म्यानेजर विन्द्रा देवानलगायत उपस्थित हुनुहुन्थ्यो । नेपालमा यो चलचित्र गत फागुन २९ देखि प्रदर्शनमा आएको हो । 

हिमाल आरोहण अनुमति सुरु, नेपालसहित २४ देशका आरोहीले अनुमति लिए

काठमाडौँ, १३ चैतः यस वर्षको वसन्तकालीन यामको हिमाल आरोहणका लागि आरोहण अनुमति दिन सुरु गरिएको छ । पर्यटन विभागका अनुसार अन्नपूर्ण–१ सहित विभिन्न चुली आरोहणका लागि आठ आरोही समूहका १८ महिला र ४० पुरुष गरी कूल ५८ जनाले अनुमति पाइसकेका छन् ।

हालसम्म नेपालसहित २४ देशका आरोहीले आरोहण अनुमति लिएका छन् । विभागका निर्देशक लिलाधर अवस्थीले वसन्त यामको हिमाल आरोहणका लागि अनुमति दिन सुरु गरिएको बताउनुभयो । “यो यामको हिमाल आरोहणका लागि अनुमति दिन सुरु गरिएको छ, सगरमाथा आरोहणका लागि छिट्टै अनुमति दिइनेछ”, उहाँले भन्नुभयो, “सगरमाथा क्षेत्रमा आरोहणको चहलपहल बढेको छ ।”

 सगरमाथा आरोहणका तयारी व्यवस्थापनमा आरोहण गराउने कम्पनी जुटेका छन् । विभागका अनुसार सगरमाथा आधार शिविरमा अहिले स्नो होराइजन, पायोनियर, सेभेनसमिट ट्रेक, सेभेन समिट क्लब, एलिट एक्सिपीडिसन, हिमालयन गाइड्स, एसियन ट्रेकिङलगायत कम्पनीले शिविर व्यवस्थापनलगायतका काम गरिरहेका छन् ।

 वसन्त ऋतु सगरमाथासहितका हिमाल आरोहणका लागि उपयुक्त मौसम मानिन्छ । यो याममा सगरमाथा आरोहणका लागि उल्लेख्य सङ्ख्यामा विदेशी आउँछन् । वसन्त ऋतुको सगरमाथा आरोहणका लागि बाटो बनाउन सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसीसी)ले ‘आइसफल डाक्टर’ खटाएको छ । सगरमाथाको आधार शिविरदेखि दोस्रो शिविरसम्म बाटो बनाउन एसपीसीसीले १० जनाको टोली खटाएको हो ।

 यस्तै सगरमाथाको दोस्रो शिविरदेखि चुचुरोसम्म बाटो बनाउने अर्थात् ‘रोप फिक्सिङ’ (डोरी टाँग्ने) कामका लागि हालै दक्ष सगरमाथा आरोही खटिएका छन् । पर्वतारोहण सञ्चालक सङ्घले अशोक लामाको नेतृत्वमा आठ सदस्यीय दश शेर्पा आरोहीलाई सगरमाथाको चुचुरोसम्म डोरी टाँग्नका लागि खटाएको हो । सङ्घका महासचिव ऋषिराम भण्डारीका अनुसार वसन्त ऋतुको सगरमाथा र ल्होत्से हिमाल आरोहणका लागि आरोही केही दिनअघि सगरमाथा गएका छन् । सन् २०२५ को वसन्त ऋतुमा सगरमाथा, ल्होत्से र आमादब्लम हिमाल आरोहणका लागि रोप फिक्सिङको व्यवस्थापकीय जिम्मेवारी एट्के एक्सपिडिसन कम्पनीले पाएको छ ।

लुम्बिनीका विद्युतीय सवारीलाई हरियो नम्बर प्लेटमा परिवर्तन गर्न अदालतको परमादेश

मर्चवार (लुम्बिनी), १३ चैतः उच्च अदालत तुलसीपुर, बुटवल इजलासले लुम्बिनी विकास कोष मातहत रहेका विद्युतीय सवारीलाई हरियो नम्बर प्लेटमा परिवर्तन गरी सञ्चालन गर्न परमादेश जारी गरेको छ ।

न्यायाधीशद्वय राजेश्वर तिवारी र पुण्यशिला दवाडी घिमिरेको संयुक्त इजलासले लामो समयदेखि अलपत्र अवस्थामा रहेका ती सवारीसाधनलाई हरियो नम्बर प्लेटमा रूपान्तरण गरी पर्यटन प्रयोजनका लागि सञ्चालन गर्न परमादेश जारी गरेको हो । एसियाली विकास बैंकको ‘ग्रिन इनर्जी फण्ड’बाट नेपाल सरकार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमार्फत विसं २०७८ मा लुम्बिनी बिकास कोषलाई पर्यटन प्रयोजनका लागि हस्तान्तरण भएका पाँच बस र १४ भ्यानसहित १९ विद्युतीय गाडीलाई सेतो नम्बर प्लेटबाट हरियो नम्बर प्लेटमा परिवर्तन गरी उद्देश्यअनुसार सञ्चालन गर्न उच्च अदालतले एक महिनाको समय सीमा तोकेको छ ।

“सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को अनुसुची २ को भाग १ को खण्ड ‘ख’ बमोजिम सेतो नं. प्लेटमा भएका ती सवारी शाधनलाई हरियो नं. प्लेटमा परिवर्तन गर्न सकिने कानुनीमार्ग उपलब्ध रहिरहेको हँुदा सोही मार्ग अवलम्बन गरी प्रस्तुत आदेशको जानकारी प्राप्त गरेको मितिले एक महिनाभित्र उक्त सवारी साधनलाई हरियो नं. प्लेटमा परिवर्तन गरी पर्यटन प्रयोजनका लागि सञ्चालनमा ल्याउनु भनी विपक्षीको नाउमा परमादेश जारी हुनेछ”, अदालतको आदेशमा लेखिएको छ ।

लुम्बिनी प्रदेश सरकार, यातायात ब्यवस्था मंत्रालय, लुम्बिनी बिकास कोष, लुम्बिनी, यातायात ब्यवस्था कार्यालय बुटवल र जिल्ला प्रशासन कार्यालय रुपन्देही समेतलाइ बिपक्षी बनाइ मधेश मानव अधिकार गृह (माहुरी होम)का तर्फबाट राम विकास चौधरी समेतले दायर गर्नु भएको रिट निबेदनमा अधिवक्ताद्वय रेशम अधिकारी र बाबुराम भुसालले निवेदकको पक्षमा बहस गर्नु भएको थियो । साथै विपक्षी कार्यालयहरूको तर्फबाट मुख्य महान्यायधिवक्ता यमलाल खनाल, वरिष्ठ अधिवक्ता लिलाधर मरासिनी, सहायक न्यायाधिवक्ता रमेश पोखरेल र अधिवक्ता पार्वती अधिकारीले बहस गर्नुभएको थियो ।

नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सहमती, लुम्बिनी प्रदेश सरकारको निर्णय तथा सार्वजनिक लेखा समितिको निर्देशन अनुसार नम्बर प्लेट परिवर्तन गरिनुपर्ने भएपनि यातायात व्यवस्था कार्यालय, बुटवलले कार्यान्वयन नगरेका कारण ती सवारी लामो समयसम्म सञ्चालनमा आउन नसकेको लुम्बिनी बचाउ महाअभियानका संयोजकअकराम खाँले बताउनुभयो ।

“लुम्बिनी विकास कोषले २०७९ सालमै प्रतिवेदन तथा कार्यविधिको मस्यौदा तयार पारेको भए तापनि नम्बर प्लेट परिवर्तन नभएकाले कार्यान्वयन हुन सकेको थिएन”, रिट निबेदक तथा लुम्बिनी बचाउ सङ्घर्ष समितिका सदस्य मेघनाथ आचार्यले भन्नुभयो, “परमादेशसँगै कोषलाई अब आवश्यक परिवर्तन गरी विद्युतीय बस तथा भ्यान सञ्चालन गर्न बाटो खुलेको छ ।” हाल कोषले दानपत्र सङ्कलनमार्फत दुईवटा बस सञ्चालन गरिरहेको छ । यो परमादेशले लुम्बिनीक्षेत्रका पर्यटकहरूको सुविधाका लागि विद्युतीय सवारीको व्यवस्थित सञ्चालनमा मार्ग प्रशस्त गरेको आचार्यले बताउनुभयो ।

विसं २०७७ मङ्सिर ९ गते लुम्बिनीलाई प्रदूषणमुक्त बनाउन भन्दै एसियाली विकास बैंकको रु १३ करोड अनुदानमा १४ वटा विद्युतीय भ्यान र पाँच वटा विद्युतीय बस ल्याइएको थियो । 

सेतो प्लेटका गाडीलाई सरकारी कामबाहेक अन्य काममा प्रयोग गर्न पाइँदैन । सेतो प्लेटका सरकारी गाडीलाई हरियो वा अर्को कुनै नम्बर प्लेटमा परिवर्तन गर्न पाउने प्रावधान यातायात व्यवस्था ऐनमा नभएको भन्दै यातायात व्यवस्था विभाग बुटवलले नम्बर परिवर्तनको लागि अनुमति दिएको थिएन ।

एडिबीको अनुदान सहयोगमा क्लिन इनर्जी प्रोजेक्टअन्तर्गत १४ वटा विद्युतीय भ्यान, पाँच वटा बस, सौर्य ऊर्जा प्लान्ट र चार्जिङ स्टेशनसहित ३५ करोड लगानी भएको थियो । क्लिन इनर्जीले गाडी नेपाल ल्याउँदा मात्र भन्सार शुल्कमै रु आठ करोड बुझाएको थियो । वातानुकूलित, अपाङ्गतामैत्री र स्वचालित ढोका भएका ती बसमा १९ सिट र भ्यानमा पाँच सिट क्षमता रहेको छ । एक पटक पूरा चार्ज गरेपछि चार सय किलोमिटरसम्म गुड्न सक्ने ती बस÷भ्यानमा कार्डबाटै भुक्तानी गर्न सकिने सुविधा छ ।

यस्तो छ आजका लागि विदेशी मुद्राको सटहीदर

काठमाडौँ, १३ चैतः नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको सटहीदर तोकेको छ । राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३६ रूपैयाँ ९२ पैसा र बिक्रीदर १३७ रूपैयाँ ५२ पैसा कायम भएको छ । युरोपियन युरो आज एकको खरिददर १४८ रुपैयाँ १६ पैसा र बिक्रीदर १४८ रुपैयाँ ८१ पैसा रहनेछ ।

त्यस्तै, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १७७ रूपैयाँ ३६ पैसा र बिक्रीदर १७८ रूपैयाँ १४ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १५५ रूपैयाँ २७ पैसा र बिक्रीदर १५५ रूपैयाँ ९५ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८६ रूपैयाँ ५३ पैसा र बिक्रीदर ८६ रूपैयाँ ९१ पैसा, क्यानेडियन डलर एकको खरिददर ९५ रूपैयाँ ८५ पैसा र बिक्रीदर ९६ रूपैयाँ २७ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०२ रूपैयाँ ५२ पैसा र बिक्रीदर १०२ रूपैयाँ ९६ पैसा निर्धारण गरिएको छ ।

 यस्तै, जापानी येन १० को खरिददर नौ रूपैयाँ १२ पैसा र बिक्रीदर नौ रूपैयाँ १६ पैसा तोकिएको छ । चिनियाँ युआन एकको खरिददर १८ रूपैयाँ ८६ पैसा र बिक्रीदर १८ रूपैयाँ ९४ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपैयाँ ५० पैसा र बिक्रीदर ३६ रूपैयाँ ६६ पैसा, कतारी रियाल एकको खरिददर ३७ रूपैयाँ ५६ पैसा र बिक्रीदर ३७ रूपैयाँ ७३ पैसा कायम भएको छ ।

केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रूपैयाँ ०४ पैसा र बिक्रीदर चार रूपैयाँ ०६ पैसा, युएई दिराम एकको खरिददर ३७ रूपैयाँ २८ पैसा र बिक्रीदर ३७ रूपैयाँ ४४ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रूपैयाँ ८७ पैसा र बिक्रीदर ३१ रूपैयाँ कायम भएको छ ।

साउथ कोरियन वन १०० को खरिददर नौ रूपैयाँ ३४ पैसा र बिक्रीदर नौ रूपैयाँ ३८ पैसा, स्विडिस क्रोनर एकको खरिददर १३ रूपैयाँ ६७ पैसा र बिक्रीदर १३ रूपैयाँ ७३ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रूपैयाँ ८६ पैसा र बिक्रीदर १९ रूपैयाँ ९५ पैसा तोकिएको छ ।

त्यस्तै, हङकङ डलर एकको खरिददर १७ रूपैयाँ ६१ पैसा र बिक्रीदर १७ रूपैयाँ ६९ पैसा, कुवेती दिनार एकको खरिददर ४४४ रूपैयाँ ०६ पैसा र बिक्रीदर ४४६ रूपैयाँ, बहराइन दिनार एकको खरिददर ३६३ रुपैयाँ १७ पैसा र बिक्रीदर ३६४ रूपैयाँ ७६ पैसा, ओमनी रियाल एकको खरिददर ३५५ रूपैयाँ ७१ पैसा र बिक्रीदर ३५७ रूपैयाँ २६ पैसा रहेको छ । भारतीय रूपैयाँ १०० को खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा तोकिएको छ ।

देशका अधिकांश भागमा आज मौसम सफा रहने पूर्वानुमान

काठमाडौँ, १३ चैतः हाल देशमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान महाशाखाले पहाडी भागमा आंशिक बदली भएको तथा बाँकी भागको मौसम सफा रहेको बताएको छ ।

महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भेगमा आंशिक बदली हुनेछ भने कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाका साथै उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

यसैगरी, आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ ।

आगामी २४ घण्टामा कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाका साथै उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको जनाउँदै महाशाखाले त्यसबाट दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाईउड्डयनमा आंशिक प्रभाव पर्न सक्ने हुँदा सतर्कता अपनाउन विभागले सम्बद्ध सबैमा अनुरोध गरेको छ ।

विश्व समुदाय मिलेर कार्बन उत्सर्जन घटाउनुपर्छ : वनमन्त्री शाही

काठमाडौँ, १२ चैत : जर्मनीको भ्रमणमा रहनुभएका वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरी र अजरबैजानका वातावरण मन्त्री मुक्टार बाबायेभबीच द्विपक्षीय भेटवार्ता भएको छ ।

जर्मनीको बर्लिनमा भएको सो भेटमा उहाँहरूबीच द्विपक्षीय आपसीहितका विविध विषयमा छलफल भएको मन्त्री शाहीको सचिवालयले जनाएको छ । भेटमा मन्त्री शाहीले गत वर्ष अजरबैजानको बाकुमा भएको जलवायुसम्बन्धी अन्तरराष्ट्रिय सम्मेलन (कोप–२९) को सफल आयोजनाका लागि धन्यवाद व्यक्त गर्नुभएको थियो । साथै उहाँले नेपालले आगामी जेठ २ देखि ४ गतेसम्म काठमाडौँमा आयोजना गर्न लागेको ‘सगरमाथा संवाद’ मा सहभागी हुन औपचारिक निमन्त्रणा समेत गर्नुभएको थियो ।

मन्त्री ‘पिटर्सवर्ग जलवायु संवाद’ मा सहभागी हुन यही चैत १० गते त्यसतर्फ प्रस्थान गर्नुभएको थियो । विगत १४ वर्षदेखि जर्मन सरकारले जलवायु परिवर्तनमा बहुपक्षीय भूमिका र अन्तरराष्ट्रिय सहकार्यको महत्त्वलाई प्रवर्द्धन गर्न ‘पिटर्सवर्ग जलवायु संवाद’ आयोजना गर्दै आएको छ ।

उक्त संवादमा विशेषगरी जलवायु परिवर्तनको अन्तरराष्ट्रिय परिप्रेक्ष्य, जलवायु कूटनीति, सबैको सहकार्यबाट पृथ्वीको बढ्दो तापक्रमलाई कसरी नियन्त्रण गर्ने र जलवायु जोखिममा परेका देशहरूलाई कसरी सहयोग गर्ने भन्ने विषयमा छलफल भइरहेको छ ।

जलवायु वार्ताहरूमा विशेष भूमिका रहेका देशहरूलाई आमन्त्रित गरिने यस संवादको १५औँ संस्करणमा पहिलोपटक नेपाल सरकारका तर्फबाट वनमन्त्री शाही सहभागी हुनुभएको हो । 

कार्यक्रममा मन्त्री शाहीसँगै जर्मनीका लागि नेपाली राजदूत शैल रुपाखेती, जलवायुविज्ञ मञ्जित ढकाललगायत सहभागी हुनुहुन्छ । मन्त्री शाही यही चैत १५ गते स्वदेश फर्कनुहुनेछ ।

कम स्रोतबाट धेरै नागरिक लाभान्वित हुने गरी काम गरौँ: उपप्रधानमन्त्री सिंह

काठमाडौँ, १२ चैतः उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले कम स्रोतबाट धेरै नागरिक लाभान्वित हुने गरी विकास निर्माणका काम गर्नुपर्ने बताउनुभएको छ । नगर विकास कोषले आज यहाँ आयोजना गरेको ‘सहरी पूर्वाधारः प्राथमिकता तथा वित्त व्यवस्थापन’ कार्यशालामा उहाँले त्यसका लागि सङ्घीयतालाई बलियो बनाउन सङ्घ र स्थानीय सरकारबीचको सम्बन्ध सुमधुर हुनुपर्नेमा जोड दिनुभयो ।

उपप्रधानमन्त्री सिंहले परिवर्तित सन्दर्भमा नगर विकास कोषले नगरपालिकाको भौतिक पूर्वाधार विकासमा उपयुक्त कार्यक्रमका विषयमा छलफल गर्न कार्यशाला उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो । सहरीकरणका लागि हाल देखिएको समस्या समाधानका लागि सरकार प्रतिबद्ध रहेको भन्दै उहाँले नागरिकको जीवन र जीविका सहज बनाउने कुरा नै सरकारको प्राथमिकतामा रहेको बताउनुभयो ।

कार्यक्रममा देशभरका महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकाका प्रमुख तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो । त्यस क्रममा जनप्रतिनिधिहरूले हाल भोगिरहेका समस्या र वित्त व्यवस्थापनका चुनौतीबारे धारणा राखेका थिए ।

पुँजीगत खर्चबारे विषयगत मन्त्रालयहरूसँग अर्थ मन्त्रालयको छलफल

काठमाडौँ, १२ चैत : चालु आर्थिक वर्ष २०८१/८२ को पुँजीगत खर्चबारे अर्थ मन्त्रालयले अरू विषयगत मन्त्रालयहरूसँग छलफल गरेको छ । अर्थ मन्त्रालयका अनुसार २०८१ साल चैत ११ गतेसम्म पुँजीगततर्फ रु ८७ अर्ब ३३ करोड ४२ लाख मात्रै खर्च भएको छ ।

कार्यक्रममा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पुँजीगत खर्च वृद्धिका लागि सक्रिय भएर लाग्न सम्बन्धित मन्त्रालयहरूलाई निर्देशन दिनुभएको छ । “अर्थ मन्त्रालयले चालू आर्थिक वर्षको सुरूदेखि नै गर्नुपर्ने काम र सहजीकरण गरेको छ । विषयगत मन्त्रालय पनि ‘प्रो एक्टिभ’ रूपमा प्रस्तुत हुनुहोस्”, अर्थमन्त्री पौडेलले भन्नुभयो, “स्रोतको व्यवस्थापन र सहजीकरण अर्थले गर्ने हो । आउनुपर्ने परिणाम र गर्नुपर्ने काम सम्बन्धित मन्त्रालयको हो ।” अर्थमन्त्री पौडेलले बजेट निर्माण, बजेटको विनियोजन र कार्यान्वयनमा कुशलता प्रदर्शन गर्न जरूरी रहेको बताउनुभयो ।

अर्थ सचिव घनश्याम उपाध्यायले खर्च गर्ने क्षमताअनुसार आगामी वर्षको बजेटका लागि कार्यक्रम तथा योजना पेस गर्न आग्रह गर्नुभयो । राजस्व सचिव दिनेशकुमार घिमिरेले बजेटको सिलिङ बाँड्दा पुगेन भन्ने र खर्च नगर्ने शैलीमा सुधार हुनुपर्ने बताउनुभयो ।

अर्थ मन्त्रालयले चालू आर्थिक वर्षको बजेट खर्च गर्न नसक्ने भए समयमै ‘सरेन्डर’ गर्न पनि विषयगत मन्त्रालयहरूलाई निर्देशन दिएको छ । छलफलमा सहभागी विषयगत मन्त्रालयका सचिवहरूले बजेटमा समावेश कार्यक्रम कार्यान्वयनको चरणमा रहेको उल्लेख गर्दै पुँजीगत खर्च वृद्धिका लागि अन्तर मन्त्रालयबीच समन्वय, रकमान्तर, भुक्तानी प्रक्रिया, नीतिगत स्पष्टता गर्दै अघि बढिरहेको र चालु आर्थिक वर्षको अन्त्यसम्ममा गत वर्षको भन्दा बढी पुँजीगत खर्च हुने बताएका थिए ।