`

रुकुम पश्चिममा २५ हजार लाभग्राही यकिन, विवरण सङ्कलन अझै जारी

त्रिवेणी (रुकुमपश्चिम), २६ मङ्सिर : गत कात्तिक १७ गते राति जाजरकोट रामीडाँडा केन्द्रविन्दु बनाएर गएको भूकम्पले क्षति पुर्याएको रुकुम पश्चिममा २५ हजार लाभग्राहीको सङ्ख्या यकिन भएको छ । जिल्लाका छवटै पालिकामा ती लाभग्राहीको सङ्ख्या यकिन भएको हो । प्रभावित क्षेत्रमा क्षतिको विवरण सङ्कलन गरेर २५ हजार लाभग्राहीको प्रहरी लागत तयार भएको र केही स्थानीय तहमा अझै सङ्कलनको काम जारी रहेको सहायक प्रमुख जिल्ला अधिकारी प्रवेश बढुवालले जानकारी दिनुभयो ।

उहाँका अनुसार लाभग्राहीको विवरण सङ्कलनको काम जारी रहेकाले जिल्लामा पाँच हजार लाभग्राही बढ्नसक्ने जनाइएको छ । हालसम्म आठबीसकोट, चौरजहारी र मुसीकोट नगरपालिका तथा त्रिवेणी, बाँफीकोट र सानीभेरी गाउँपालिकामा गरेर साढे १७ हजार लाभग्राहीलाई अस्थायी आवास निर्माण गर्नका लागि प्रतिघर रु २५ हजारका दरले रु ४३ करोड ७५ लाख रकम स्थानीय तह विपद् जोखिम न्यूनीकरण कोषमा पठाइसकिएको छ । अब सङ्घीय सरकारले पठाएको रु ५० करोडमा रु छ करोड २५ लाख रकम मौज्दात रहेको सहायक प्रजिअ बढुवालले जानकारी दिनुभयो ।“पच्चीस हजार लाभग्राहीको प्रहरी मुचुल्का तयार भइसकेको छ, विवरण सङ्कलनको काम केही ठाउँमा बाँकी रहेकाले पाँच हजार लाभग्राही थपिने अनुमान हामीले गरेका छौँ, सङ्घीय सरकारले अस्थायी आवास निर्माणका लागि पठाएको रु ५० करोड रकमले नपुग्ने देखिएपछि ३० हजार लाभग्राहीका लागि रकम माग गरेर पठाएका छौँ”, उहाँले भन्नुयभो । घर क्षति भएका लाभग्राहीको विवरण सङ्कलनको काम एक महिना बढी हुँदा पनि अझै पूर्ण विवरण आएको छ । सबै पालिकाबाट लाभग्राहीको विवरण आउन अझै तीन–चार दिन लाग्ने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।भूकम्पले बढी मानवीयसँगै भौतिक संरचनामा ठूुलो क्षति पुर्याएको आठबीसकोट नगरपालिकाको भने अस्थायी आवास निर्माण गर्नुपर्ने क्षतिको पूर्ण विवरण आएको छ । नगरपालिकाभर नै हजार नौ सय ६२ लाभग्राही यकिन भएको निमित्त प्रमुख प्रशासकीय अधिकृत मणिराज शाहले जानकारी दिनुभयो । उहाँका अनुसार तीमध्ये साढे चार हजार लागग्राहीको रकम स्थानीय तह विपद् जोखिम न्यूनीकरण कोषमा जम्मा भएको छ ।केही लाभग्राहीको खातामा रकम गइसके पनि केही लाभग्राहीको खाता सञ्चालन नहुँदा ढिलाइ भएको छ । आठबीसकोटमा एउटा मात्रै बैंक हुँदा लाभग्राहीलाई खाता सञ्चालनमा समस्या हुने गरेको पीडित परिवारको गुनासो छ । आठबीसकोट नगरपालिकामा यकिन भएका लाभग्राहीमध्ये पाँच हजार चार सय ६२ जनाको भने पहिलो किस्तावापतको रकम आउन बाँकी रहेको शाहले जाजकारी दिनुभयो ।कति भूकम्पपीडितका अस्थायी आवास बने कतिका बन्न बाँकी छन् । त्यसको विवरण स्थानीय तहले सङ्कलन गरेका छैनन् । चौरजहारी नगरपालिकाले भने हालसम्म आठवटा अस्थायी आवास निर्माण भएर पीडित परिवार बस्न थालेको जनाएको छ । नगरपालिकाभित्र चार सय ३५ अस्थायी आवास निर्माणको अन्तिम चरणमा पुगेको चौरजहारी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीकय अधिकृृत शेरप्रसाद ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार अन्य लाभग्राही पनि स्थानीय कच्चा पदार्थ, काठ, बाँसलगायत जस्तापाता प्रयोग गरेर अस्थायी आवास निर्माण जुटेका छन् ।नगरपालिकामा छ हजार दुई सय ७९ लाभग्राहीका लागि विपद् जोखिम न्यूनीकरण कोषमा पहिलो किस्ताबापतको रु २५ हजारका दरले रु १५ करोड ६९ लाख ७५ हजार रकम प्राप्त भएको छ । त्यसमध्ये बैंकमा खाता खोलेका साढे सात सय लाभग्राहीको खातामा रकम पठाएको छ । बाँकी लाभग्राहीको पनि खाता सञ्चालन भएमा तत्काल रकम पठाइने निमित्त प्रमुख प्रशासकीय अधिकृत ढकालले जानकारी दिनुभयो । लाभग्राहीको विरण सङ्कलनको काम नसकिएकाले अझै नगरपालिकामा आठ सय लाभग्राही थपिने नगरपालिकाले जनाएको छ ।

प्रधानमन्त्री तथा मन्त्रीहरूले राखे सम्पत्ति विवरण गोप्य

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, उपप्रधानमन्त्रीद्वय नारायणकाजी श्रेष्ठ र पूर्णबहादुर खड्कालगायत सरकारका २५ जना मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक हुन सकेको छैन। झण्डै एक वर्षदेखि उनीहरूको सम्पत्ति विवरण गोप्य राखिँदै आइएको छ।

आर्थिक वर्ष सकिएको ६० दिनभित्र नयाँ सम्पत्ति विवरण बुझाउनुपर्ने प्रावधानलाई प्रधानमन्त्री, उपप्रधानमन्त्रीका साथै सबैजसो मन्त्रीहरूले उल्लङ्घन गरेका छन्।भ्रष्टाचार निवारण ऐन २०५९ अनुसार आर्थिक वर्ष सकिएको ६० दिनभित्र प्रधानमन्त्री, मन्त्रीलगायत सबै राष्ट्र सेवकले तोकिएको निकायमा सम्पत्ति विवरण बुझाउनुपर्ने प्रावधान छ। सोअनुसार असोज मसान्तसम्म सबैले नयाँ सम्पत्ति विवरण बुझाउनु पर्छ। तर, अहिलेसम्म उनीहरू कसैले पनि नयाँ सम्पत्ति विवरण बुझाएका छैनन्।सरकारको वेबसाइटमा प्रधानमन्त्री तथा मन्त्रीहरूको नयाँ सम्पत्ति विवरण राखिएको छैन। कार्यालयको वेबसाइटमा पुरानै सम्पत्ति विवरण पनि प्राप्त भएको मात्रै भनिएको छ तर सार्वजनिक गरिएको छैन।यसअघि प्रधानमन्त्री कार्यालयको वेबसाइटमा नै सरकारका प्रधानमन्त्री तथा मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक हुने गरेको थियो । प्रचण्ड नेतृत्वको सरकार गठन भएको एक वर्ष पुग्नै लाग्दासमेत अझसम्म प्रधानमन्त्रीलगायत कुनै पनि मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक हुन सकेको छैन।पुरानो सम्पत्ति विवरण सार्वजनिक हुन नसकेको र नयाँ सम्पत्ति विवरण पनि नबुझाइएकाले कुन मन्त्रीको सम्पत्ति कति घट्यो वा बढ्यो भन्ने बारेमा विश्लेषण गर्न नसकिने अवस्था छ। सुशासनका विज्ञहरूले प्रधानमन्त्री तथा मन्त्रीहरूले सम्पत्ति विवरण गोप्य राख्नुले उनीहरू भ्रष्टाचारमा लिप्त भएको अनुमान गर्न सकिने बताएका छन् ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार सम्पत्ति विवरण गोप्य राख्नेहरूमा कृषि तथा पशुपंक्षी मन्त्री बेदुराम भुसाल, कानुन न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङ, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राई, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिह भण्डारी, अर्थ मन्त्री प्रकाशशरण महत, खानेपानी मन्त्री महिन्द्र राय यादव रहेका छन्।यसै गरी ऊर्जा जलस्रोत तथा सिचाई मन्त्री शक्तिबहादुर बस्नेत, परराष्ट्रमन्त्री नारायणप्रसाद साउद, सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मा, स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेत, संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री सुदन किराँतीलगायतले पनि सम्पत्ति विवरण गोप्य राखेका छन् ।यस्तै, सम्पत्ति विवरण गोप्य राख्नेमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री रञ्जिता श्रेष्ठ, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाल, सहरी विकास मन्त्री सिता गुरुङ, युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बू, महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री सुरेन्द्रराज आचार्य, वन तथा वातावरण मन्त्री वीरेन्द्रप्रसाद महतो र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अनितादेवी रहेका छन्।यसै गरी राज्यमन्त्रीहरू सुनितादेवी श्रीपाली, नन्दा चपाईं र प्रमिला कुमारीको पनि सम्पत्ति विवरण गोप्य नै राखिएको छ। विगतका धेरैजसो सरकारका प्रधानमन्त्री र मन्त्रीहरूले सरकार गठन भएलगत्तै आफू र परिवारको नाममा रहेको सम्पत्ति विवरण सार्वजनिक गर्ने गरेका थिए।तर वर्तमान गठबन्धन सरकारका प्रधानमन्त्री प्रचण्डलगायत सबै मन्त्रीहरूको सम्पत्ति विवरण हालसम्म सार्वजनिक हुन सकेको छैन। प्रधानमन्त्री प्रचण्डको सरकार ११ पुष २०७९ मा गठन भएको थियो। यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।

सेताम्मे हिमाल किन कालो हुँदैछ ?

गण्डकी, २६ मङ्सिर : “विश्वव्यापी ताममान वृद्धिले हिमालका हिउँ पग्लँदै गए माउण्टेन क्लाइम्बिङ कुनै दिन रक क्लाइम्बिङमा फेरिन सक्छ”, विश्व वन्यजन्तु कोषका नेपाल प्रमुख एवं संरक्षणविद् डा घनश्याम गुरुङले भन्नुभयो, “जलवायु परिवर्तनको असर न्यूनीकरणका उपाय अपनाउनु र यससँग अनुकूलन हुनुको विकल्प हामीसँग छैन ।”

पोखरामा जारी अन्तर्राष्ट्रिय पर्वतीय महोत्सवका अवसरमा सोमबार आयोजित ‘हिमाल किन कालो हुँदैछ ? के यो परिवर्तन हाम्रो जीवनसँग सम्बन्धित छ ?’ शीर्षकमा भएको समूहगत छलफलमा उहाँले पृथ्वीको बढ्दो तापमानलाई रोक्न स्वच्छ ऊर्जाको प्रयोग बढाउनुपर्ने बताउनुभयो । संरक्षणविद् गुरुङले अहिलेकै गतिमा हिउँ पग्लँदै गए आउँदा केही वर्षभित्रैमा हिमालहरू कालापत्थरमा परिणत हुने उल्लेख गर्नुभयो ।पृथ्वीको तापक्रम वृद्धि र धुवाँधुलोका कारण हिमाल पग्लिरहेको उहाँको भनाइ छ । संरक्षणविद् गुरुङले कार्बन उत्सर्जनमा नेपालको योगदान नभए पनि जलवायु परिवर्तनको विश्वव्यापी असरबाट बच्न स्थानीय तवरबाटै योजना बनाउनुपर्ने धारणा राख्नुभयो । “जलवायु परिर्तनमा विकसित देशको मात्र दोष छ, नेपालको केही भूमिका छैन भनेर हामी चुप लागेर बस्नु हुँदैन”, उहाँले भन्नुभयो, “अन्तर्राष्ट्रिय समुदायमा आवाज उठाउन पनि हामीसँग नैतिक धरातल चाहिन्छ ।”कार्यक्रमका अर्का वक्ता जीविकोपार्जन तथा बसाइँसराइविद् डा अमिना महर्जनले जलवायु परिवर्तनले नेपालमा मात्र नभएर सिङ्गो हिन्दूकुश क्षेत्रकै हिमाल सुक्खा बन्दै गएको बताउनुभयो । “जलवायु परिवर्तनले पर्यावरण, कृषि, पर्यटन, स्वास्थ्यलगायत यावत क्षेत्रमा प्रत्यक्ष÷अप्रत्यक्ष असर पुर्याइरहेको छ”, उहाँले भन्नुभयो, “जलवायु परिवर्तनको प्रभाव अझ बढ्दै जान्छ, घट्दैन तसर्थ यससँग अनुकूलन हुनुबाहेक अर्को विकल्प छैन ।”पृथ्वीको तापमान वृद्धि हुँदै जानुमा नेपालको कुनै भूमिका नभए पनि यसको परिणाम भने भोग्नुपरिरहेको उहाँले बताउनुभयो । केही महिनाअघि मुस्ताङको कागबेनीमा आएको बाढी, सन् २०१२ मा हिमपहिरोका कारण सेती नदीमा आएको बाढी त्यसकै उदाहरण भएको उहाँले बताउनुभयो ।“जलवायु परिवर्तनका कारण स्वास्थ्य क्षेत्रमा परेको प्रभावबारे कम बहस हुने गरेको छ, खासै अनुसन्धान पनि भएको छैन”, डा महर्जनले भन्नुभयो, “नयाँ–नयाँ जनस्वास्थ्यका समस्या निम्तिरहेका छन्, रोग विस्तार भएका छन् ।” उहाँले जलवायु अनुकूलन योजनाका लागि सरकार र अन्तर्राष्ट्रिय क्षेत्रबाट न्यूनमात्र मद्दत आउने गरेको उल्लेख गर्नुभयो । “जति प्रयास स्थानीय समुदायबाट भएको छ, सरकारबाट त्यति हुनसकेको छैन, ‘लस एण्ड ड्यामेज फण्ड’का लागि पनि सरकारले अन्तर्राष्ट्रियस्तरमा आवाज उठाउनुपर्छ ।”छलफलमा भाग लिँदै वरिष्ठ पत्रकार कुन्द दीक्षितले जलवायु परिवर्तनलाई अब जलवायु सङ्कट भन्नुपर्ने बेला आएको बताउनुभयो । उहाँले जलवायु परिवर्तनलाई वातावरणीय समस्याका रूपमा मात्र नहेरेर अर्थ–राजनीतिक पाटोबाट पनि हेर्नुपर्ने धारणा राख्नुभयो । “पृथ्वीको तापमान वृद्धि भइरहेको छ, अबको केही दशकमा हाम्रा हिमालहरू हिमालजस्तै नरहन सक्छन्, त्यसबाट पानीको सङ्कट उत्पन्न हुन्छ”, उहाँले भन्नुभयो, “पानीमा आधारित कृषि र जनजीवनमा ठूलो असर पर्छ ।”हिमालबाट हिउँ रित्तिए नदी र पानीको स्रोत सुक्ने उहाँले बताउनुभयो । नेपालले खनिज तेलको खपत घटाएर स्वच्छ ऊर्जाको प्रयोगलाई बढाउनुपर्ने उहाँले सुझाव छ । पत्रकार दीक्षितले पेट्रोलियम पदार्थको सट्टा जलविद्युत् र नवीकरणीय ऊर्जाको प्रयोगलाई राज्यले प्रोत्साहित गर्नुपर्ने धारणा राख्नुभयो ।“नेपालमा उत्पादन हुने बिजुली स्वदेशमै खपत गर्न विद्युतीय सवारीसाधन चलाउनदेखि भान्छामा पनि विद्युतीय उपकरणको प्रयोगलाई बढाउनु आवश्यक छ”, पत्रकार दीक्षितले भन्नुभयो, “पृथ्वीको तापक्रम बढ्नुमा खनिज तेलको प्रमुख हात छ, यसको सट्टा अब स्वच्छ ऊर्जा प्रयोग गर्नुपर्छ ।” उहाँले नेपालको कुल आयातको २५ प्रतिशत पेट्रोलियम पदार्थले ओगट्ने गरेको बताउनुभयो ।जलवायु परिवर्तन र खाद्य सुरक्षामा अनुसन्धानरत डा जगन्नाथ अधिकारीले हिमालको सम्बन्ध नेपाली संस्कृतिसँग पनि जोडिएको बताउनुभयो । “बिहानै हिमाल हेर्यो भने दिन पवित्र हुन्छ भन्ने मान्यता छ, विभिन्न देवीदेवताका नामबाट पनि हिमाललाई पुकारिन्छ”, उहाँले भन्नुभयो, “हिमालय क्षेत्र मानिसको जनजीवन र संस्कृतिसँग प्रत्यक्ष जोडिएको छ, हिउँ नरहे हाम्रा सांस्कृतिक परम्परा पनि हराउन सक्छन् ।” हिउँ पग्लँदै गएपछि पोखराबाट देखिने हिमालको सुन्दरता पनि विस्तारै खस्कँदै गएको डा अधिकारीले बताउनुभयो ।हावापानीमा आएको परिवर्तनका कारण कृषि उत्पादन कम हुने, बालीनालीमा रोग कीराले सताउनेजस्ता समस्या बढिरहेको उहाँले बताउनुभयो । “कृषि उत्पादन घट्दा खाद्य सुरक्षामा पनि असर पुग्छ, मुस्ताङ, मनाङजस्ता हिमाली जिल्लामा त हिउँ नपरेसम्म खेती बाली नै हुँदैन”, डा अधिकारीले भन्नुभयो, “प्राकृतिक विपद्को पनि उस्तै जोखिम छ, जलवायु परिर्वतनका बहुअसर छन् ।” उहाँले जलवायु परिवर्तनसँग जुध्न नेपालले अन्तर्राष्ट्रिय सहयोग जुटाउनुपर्ने धारणा राख्नुभयो ।

साउदीमा कार्यरत नेपाली कामदारलाई तलब पाउन सकस

काठमाडौं । दुई वर्षअगाडि साउदी अरब पुगेका रूपन्देहीका मोहम्मद हुसैन फकिर मुसलमान सम्झौताअनुसारको काम र तलब नपाएपछि रोजगारदाता कम्पनी छाडेर भागे । त्यसलगत्तै उनलाई सो रोजगारदाताले भगौडा कामदारको सूचीमा राख्यो ।

पछि नेपाल फर्किने बेलामा आवश्यक पर्ने एक्जिट भिसा लगाउनुपर्ने भएपछि उनी गत ५ नोभेम्बरमा नेपाली दूतावास रियादका अवैधानिक प्रतिनिधि विशालकुमार श्रेष्ठ र अली हुसैन मियाँको सम्पर्कमा पुगे । उनलाई आवश्यक कागजात बनाएर सफर जेल पठाइयो । १५ दिन जेल बसेपछि गत २० नोभेम्बरमा सफर जेलमार्फत एक्जिट (बहिर्गमन) भिसा प्राप्त गरी उनी नेपाल फर्किए ।


उनी त एक प्रतिनिधि पात्र मात्र हुन् । पछिल्ला दिनमा साउदीमा कार्यरत वैदेशिक कामदारलाई रोजगारदाता कम्पनीले अकमा नबनाइदिने, करार बमोजिम तलब सुविधा नदिने प्रवृत्ति बढ्दै गएको छ । यसले गर्दा विदेशमा श्रम गर्न त्यहाँ पुगेका नेपाली दाजुभाइ बाहिर हिँडडुल गर्न, आफूले कमाएको धेरथोर पैसा घर परिवारलाई पठाउन वञ्चित हुनु परिरहेको छ । साथै प्रहरीले पक्राउ गरी जरिमाना गराउनेलगायत धेरै समस्याबाट पीडित हुनुपरेको गैरआवासीय नेपाली संघ ९एनआरएनए०ले जनाएको छ ।

यस्ता घटना कम गर्न नेपाली दूतावास रियादले साउदी अरबमा रहेका सम्पूर्ण नेपाली दाजुभाइलाई कम्पनीले आफूले पाउने सुविधाबाट वञ्चित गरेमा तुरुन्त श्रमिक अदालतमा उजुरी गरी कानुनी बाटो समाती आफ्नो अधिकार लिन अनुरोध गरेको छ । यसका लागि दूतावास तथा साउदीमा भएका नेपाली समाजका अगुवाले साथ सहयोग गर्ने जनाएको छ ।

पछिल्लो समय साउदी पुगेर हजारौं नेपाली कामदारले नेपालमा गरिएको सम्झौताअनुसार तलब नपाउने र पाए पनि समयमा नपाउँदा कम्पनी छाडेर गैरकानुनी तरिकाले काम गर्ने क्रम बढेको छ । यसरी गैरकानुनी तरिकाले काम गर्दा त्यहाँको प्रहरीले पक्राउ गर्ने र केही समय जेल बसेर मात्र नेपाल फर्किन पाउने अवस्था छ ।

साउदीमा ११ हजारभन्दा बढी नेपालीले गैरकानुनी रूपमा काम गर्ने गरेको दूतावासको तथ्यांक छ । यो दूतावासको सम्पर्कमा आएकाको मात्र तथ्यांक हो । यो समाचार राजधानी दैनिकमा छ ।

राष्ट्रियसभा निर्वाचनका लागि दल दर्ता गर्ने जसपाको निर्णय

दावरी (ललितपुर)- जनता समाजावादी पार्टी, नेपालले आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्ने निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा सम्पन्न जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठकले निर्वाचन आयोगमा दल दर्ताको निर्णय गरेको हो ।

बैठकले राष्ट्रियसभा निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार चयनका लागि आगामी पुस १० गते केन्द्रीय कार्यकारिणी समितिको पुनः बैठक बस्ने निर्णय गरेको छ । यसका साथै, कार्यकारिणी समितिले यही पुस २५, २६ र २७ गते पार्टीको राजनीतिक समितिको बैठक आह्वान गरेको छ । 

जसपा नेपालले सञ्चालन गरेको तीन महिने सङ्गठन विस्तार तथा सुदृढीकरण अभियानको समीक्षा गर्दै उक्त अभियानलाई पुस मसान्तसम्म थप प्रभावकारी ढङ्गले निरन्तरता दिने निर्णय गरेको छ । समसामयिक राजनीतिक विषयमा छलफल गर्दै जसपा नेपालले यसबीच सञ्चालन गरेको प्रदेशस्तरीय प्रशिक्षक प्रशिक्षण अभियान प्रभावकारी रहेको निष्कर्षसमेत निकालेको छ ।

कार्यालयमा धर्ना, जुलुस नगर्न ईपीएस कोरिया शाखाको आग्रह

काठमाडौँ-वैदेशिक रोजगार विभाग ईपीएस शाखा कार्यालयले परीक्षार्थीलाई धर्ना, जुलुस जस्ता कार्यक्रम तत्काल बन्द गर्न अनुरोध गरेको छ । दक्षिण कोरियामा उत्पादनमुलक क्षेत्रका लागि कामदार माग गर्दा यसअघि सञ्चालित ‘सीप बिल्डिङ’मा अनुत्तीर्ण परीक्षार्थीले आवेदन दिन नपाउने भनेपछि परीक्षार्थीले कार्यालयमा धर्ना दिँदै आएका थिए ।

सन् २०२३ मा कुनै पनि क्षेत्रको कोरियन भाषा परीक्षाको फारम भर्न नपाइने व्यहोरा उल्लेख गरिएको भन्दै परीक्षार्थीहरुले धर्ना, जुलुस तथा विरोध गर्न थालेपछि कार्यालयले त्यस्तो नगर्न आग्रह गरेको हो । 

कार्यालयले आज एक विज्ञप्ति जारी गर्दै उठान गरेका मागका विषयमा कोरिया सरकारसँग छलफल भइरहेको ईपीएस कोरिया शाखा कार्यालयले जनाएको छ । नेपालस्थित दक्षिण कोरियाको सम्पर्क कार्यालय एचआरडी सर्भिस अफ कोरिया, ईपीएस सेन्टर नेपाल र अन्य सम्बन्धित निकायसँग छलफल भइरहेको र निष्कर्षमा पुग्न केही समय लाग्ने भएकाले धर्ना, जुलुस जस्ता विरोधका कार्यक्रम रोक्न विज्ञप्तिमार्फत आग्रह गरिएको छ । 

बागमती प्रदेश प्रमुख शर्माको स्वास्थ्यमा सुधार

मकवानपुर, २५ मङ्सिरः बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माको स्वास्थ्यमा सुधार आएको छ । स्वास्थ्यमा समस्या देखिएपछि उहाँ आइतबार काठमाडौँको चावहिलस्थित हेल्पिङ ह्यान्ड अस्पताल भर्ना हुनुभएको थियो ।

उहाँका स्वकीय सचिव पारसमणि फुयाँलले भोलि अपराह्नसम्ममा प्रदेश प्रमुख शर्मालाई अस्पतालबाट डिस्चार्ज हुनसक्ने बताउनुभयो । प्रदेश प्रमुख शर्मा गत शनिबार चीनको पाँचदिने भ्रमण सकेर स्वदेश फर्कनुभएको थियो । 

संसदीय दलको विधान पुनःसंरचना गर्ने रास्वपाको निर्णय

काठमाडौँ, २५ मङ्सिर : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको विधान पुनःसंरचना गर्ने निर्णय गरेको छ । आज केन्द्रीय कार्यालय वनस्थलीमा बसेको संसदीय दलको बैठकमा दलको विधानमा पुनःसंरचना गर्ने विषयमा छलफल भएको सो पार्टीका प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिनुभयो ।

“हामीले यसअघि नै संसदीय दलको विधानको मस्यौदा तयार गरेका थियाैँ । जलेश्वरको बैठकपछि त्यसलाई फेरि पुनःसंरचना गर्नपर्ने भएर विधानसम्बन्धी छलफल गर्‍याैँ”, उहाँले भन्नुभयो । 

बैठकमा आगामी अधिवेशनमा संसद् र संसदीय समितिलाई सक्रिय बनाउने विषयमा छलफल भएको उहाँले बताउनुभयो । उहाँका अनुसार सांसदले आफ्नो क्षेत्रगत समस्या संसदको शून्य समयमा र राष्ट्रिय मुद्दा विशेष समयमा प्रस्तुत गर्ने विषयमा छलफल भएको बताउनुभयो । प्रमुख सचेतक परियारले भन्नुभयो, “पार्टीले राष्ट्रिय मुद्दालाई अध्ययन र अनुसन्धान गरी टुङ्गाउने हिसाबले उठान गर्नेबारे पनि छलफल भयो ।” 

सचेतक निशा डाँगीले जनताका मुद्दा र सार्वजनिक महत्वका विषयमा उठाएको मुद्दाको सम्बोधन र समाधानका विषयमा पार्टी कहाँ चुक्यो भन्नेमा छलफल भएको जानकारी दिनुभयो ।

“हामीले विगतमा जे जति मुद्दा उठायाैँ, त्यसलाई टुङ्गोमा पुर्‍याउन बिर्सिएको होकि भन्ने विषय आजको बैठकमा छलफल भयो”, उहाँले भन्नुभयो, “ विगतमा हामी कहिँकतै चुकेको भए आगामी दिनमा कस्ता मुद्दा उठाउने र त्यसलाई कसरी निरन्तरता दिने विषयमा पनि छलफल केन्द्रित भयो ।” 

‘समाजवादी जागरण अभियान’ ले नयाँ तरङ्ग : अध्यक्ष नेपाल

काठमाडौँ, २५ मङ्सिर : नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले समाजवादको आधारभूत मान्यतालाई जनताकाबीच पु¥याउन ‘समाजवादी जागरण अभियान’ ले समाजमा नयाँ तरङ्ग सृजना गरेको बताउनुभएको छ ।

गत असोजमा सम्पन्न अभियानमा खटिएका स्वयंसेवकलाई सम्मान गर्न पार्टी केन्द्रीय कार्यालयमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले मुलुकमा पहिलो पटक आफ्नो पार्टीले समाजवादी जागरण अभियान सम्पन्न गरेको बताउनुभयो । सो अभियानले देशको राजनीति नै तरङ्गित बनाएकाले अहिले अन्य पार्टीले पनि अवलम्बन गरिरहेको उहाँले सुनाउनुभयो ।

एकीकृत समाजवादीले अघि सारेको उक्त अभियान जनतासँग एकाकार हुन प्रभावकारी भएकाले अरूले पनि अनुसरण गरेको बताउँदै उहाँले भन्नुभयो, “राम्रो कामको अरुले पनि अनुसरण गर्छन् । पार्टीलाई हेयको दृष्टिकोणले हेर्ने, जोसँग हाम्रो ठूलो अन्तरविरोध छ, त्यही पार्टीले हामीले घोषणा गरेको कार्यक्रम टिपेर हिँडिरहेको छ ।”

अध्यक्ष नेपालले अभियानका क्रममा खटिएका स्वयंसेवकलाई धन्यवाद दिँदै पार्टीको सिद्धान्त र विचारप्रति प्रतिबद्ध भएर जनताको सेवामा क्रियाशील रहन निर्देशन दिनुभयो । अभियानका क्रममा भएका केही कमी कमजोरीबाट पाठ सिकेर अगाडि बढ्नुपर्ने बताउँदै उहाँले भन्नुभयो, “हामीले अरूको प्रशंसा सुन्ने हो, हामीले गरेका कामको गहिरो समीक्षा गर्नुपर्छ । हामीले तय गर्ने मञ्च, हामीले प्रयोग गर्ने सडक, सुरक्षा आदिका बारेमा हामीले सचेतना अपनाउनुपर्छ । राम्रा कुरालाई फैलाउने र कमजोरीलाई सुधार गर्दै अगाडि बढ्नुपर्छ ।”

समाजवादी जागरण अभियानलाई जनताले सकारात्मक रूपमा लिएको बताउदै अध्यक्ष नेपालले भन्नुभयो, “हामीले सम्पन्न गरेको अभियानलाई राजनीतिक क्षेत्रमा सकारात्मक रूपमा लिएका छन, त्यसको प्रशंसा भएको छ ।”

महासचिव घनश्याम भुसालले मुलुकमा राष्ट्रिय पूँजी परिचालन गरी उद्यमशीलताको विकास गर्न समाजवादको खाँचो औँल्याउँदै त्यसले रोजगारीका साथै उत्पादन वृद्धि गर्ने र राष्ट्र निर्माणमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

स्वयंसेवक सञ्चालन कमिटीका संयोजक विष्णु लम्सालले वर्तमान व्यवस्थामाथि उठेका चुनौतीलाई सामना गर्न परिवर्तन पक्ष सबै एकमत हुनुपर्नेमा जोड दिँदै भेला, सम्मेलन र सभाको आयोजना गरी जनतालाई जानकारी गराउनुपर्ने बताउनुभयो ।

प्रधानमन्त्री कप सुदूरपश्चिम छनौट : बैतडी दोस्रो जितसँगै शीर्ष स्थानमा

बैतडी, २५ मङ्सिर : प्रधानमन्त्री कप महिला टि २० राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम प्रदेशस्तरीय छनौटमा बैतडीले लगातार दोस्रो जित निकालेको छ । दोस्रो जितसँगै बैतडी शीर्ष स्थानमा उक्लिएको छ ।

पहिलो खेलमा बझाङलाई छ विकेटले हराएको बैतडीले दोस्रो खेलमा कञ्चनपुरमाथि ३३ रनको जित दर्ता ग¥यो । बैतडीले दिएको १३० रनको लक्ष्य पन्छाएको कञ्चनपुरले निर्धारित १५ ओभरमा चार विकेटको क्षतिमा ९६ रन मात्रै जोड्न सक्यो । उसका रेवती धामीले २८ र कप्तान बिन्दु रावलले २४ रन बनाइन् । बैतडीका लागि करिष्मा थापा र वसन्ती बोहराले एक÷एक विकेट लिइन् ।

त्यसअघि कैलालीको तेघरीस्थित सैनिक आवासीय महाविद्यालयको खेलमैदान पहिला ब्याटिङ गरेको बैतडीले १५ ओभरमा दुई विकेटको क्षतिमा १२९ रन बनायो । जसमा कप्तान रितु कनौजियाले अविजित ३५ र लक्ष्मी महरले २८ रनको योगदान गरिन् ।

कञ्चनपुरका लागि अर्चना चन्दले एक विकेट हात पारिन् । रितु खेलकी ओम्यान अफ द म्याच चुनिएकी स्कोरर नरेन्द्रराज भट्टले बताउनुभयो । प्रदेशस्तरीय छनौट प्रतियोगिताका सबै खेल जित्दै च्याम्पियन हुने लक्ष्य रहेको बैतडीका टिम व्यवस्थापक अनिल विष्टले बताउनुभयो । प्रदेशस्तरीय छनौट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीको सुदूरपश्चिमको टोली बनाइनेछ । उक्त टोलीले अगामी पुसमा हुने राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउनेछ ।

काठमाडौँमा हुने प्रधानमन्त्री कप महिला टि २० राष्ट्रिय क्रिकेट प्रतियोगितामा सात प्रदेश र एक विभागीय क्लब एपीएफको सहभागिता रहने नेपाल क्रिकेट सङ्घ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिनुभयो ।

काठमाडौँ महानगरका सामुदायिक कुकुरमा ‘डिस्टेम्पर’ रोग, सचेत रहन आग्रह

काठमाडौँ, २५ मङ्सिर : काठमाडाैँ महानगरपालिकाले केही स्थानका सामुदायिक कुकुरमा ‘डिस्टेम्पर’ रोग देखा परेकाले सचेत रहन आग्रह गरेको छ । महानगर पशुपन्छी विभागका प्रमुख डा अवधेश झाका अनुसार यो रोग कुकुरका लागि प्राणघातक मानिन्छ । यस रोग लागेका कुकुरलाई विशेषगरी ज्वरो आउँछ । खाना खान सक्दैनन् भने झोक्राउने, नाकमा सिँगान र आँखामा चिप्रा देखिने जस्ता लक्षण देखिन्छन् । त्यस्तै खोक्ने, बान्ता गर्ने, पातलो दिशा गर्ने, छारे रोगजस्तो लक्षण देखाउने, लड्बडाएर हिँड्ने, किटकिट गरेर दाँत बजाउने यस रोगका मुख्य लक्षण हुन् ।

स्थानीयबाट आएको सूचनाका आधारमा कुकुरमा परीक्षण गर्दा रोग पुष्टि भएको प्रमुख झाको भनाइ छ । कुकुरहरुमा हुने यो रोग एउटा कुकुरदेखि अर्को कुकुरमा सजिलै सर्छ तर कुकुरबाट मान्छेमा भने सर्दैन । कुकुरमा रोग लागेको पुष्टि भएपछि महानगरले व्यवस्थापन सुरु गरेको विभागले जनाएको छ । 

विभागका अनुसार यदि कुनै पनि सामुदायिक कुकुरमा यस्ता रोग लागेको थाहा पाएमा महानगरको निःशुल्क टेलिफोन नम्बरमा सम्पर्क १६६००१०५५११ र ११८० मा फोन गरी जानकारी दिन विभागले अनुरोध गरेको छ । कुकुरबाट कुकुरमा सर्ने भएकाले रोग फैलिएका ठाउँमा घरपालुवा कुकुर बाहिर नलैजान र कुकुरहरुलाई रोगविरुद्धको खोप अनिवार्य लगाउन विभागले आग्रह गरेको छ ।  

महानगरले सामुदायिक कुकुरको अनियन्त्रित प्रजनन रोक्नका लागि बन्ध्याकरण प्रक्रिया पनि अघि बढाएको छ । आगामी पुस महिनासम्मा करिब छ हजार कुकुरलाई बन्ध्याकरण र रेबिजविरुद्धको खोप लगाइने महानगरको भनाइ छ । हाल महानगरमा २२ हजार सामुदायिक कुकुर रहेको अनुमान छ ।

एउटै बहसमा लाखौँ लिने गरेको गुनासो आएका छन्, यसलाई सुधार गर्नूस्: मन्त्री गुरुङ

चितवन, २५ मङ्सिर : कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले धेरै पारिश्रमिक लिएर न्याय पाइन्छ भन्ने भ्रम जनतामा रहेको भन्दै यसलाई चिर्न जरुरी रहेको बताउनुभएको छ । नेपाल बार एसोसिएसनका ४९औँ कार्यकारिणी परिषद् बैठकलाई आज सौराहामा सम्बोधन गर्दै उहाँले अधिवक्ताहरुले न्याय दिनका लागि पारिश्रमिकबापत ठूलो रकम माग गर्ने गरेको गुनासो आएकाले यसतर्फ ध्यान दिन बारलाई अनुरोध गर्नुभएको हो ।

उहाँले भन्नुभयो, “एउटै बहसमा लाखौँ लिने गरेको गुनासो आएका छन्, यसलाई सुधार गर्नूस् । धेरै पैसा लिँदैमा न्याय दिन सकिन्छ र ?” अहिले सामान्य परिवारका व्यक्तिहरुले न्याय पाउन कठिन हुने गरेको उहाँले बताउनुभयो । 

अधिवक्ताको शुल्क मिलानमा बारले ध्यान दिन जरुरी रहेको उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, “न्यायालयमा भ्रष्टाचार भयो भन्ने अनि आफूहरुले एक पटकको लाखौँ रुपैयाँ लिने । यो चाहिँ के हो ?” न्यायालयमा देखिएको फोहर हटाउनु आफ्नो जिम्मेवारी रहेको बताउँदै उहाँले न्याय क्षेत्रको सुधारका लागि सबैले म–म भनेर अघि बढ्न जरुरी रहेको बताउनुभयो । बदल्ने कुराको आफैँबाट सुरुआत गर्नुपर्ने भन्दै उहाँले आफू सबै कुरामा पारदर्शी हुनुपर्छ भन्नेमा लागेको बताउनुभयो ।

कानुन मन्त्रालयको विषयमा आम नागरिकमा भएको बुझाइ चिर्दै अघि बढ्नका लागि बारले भूमिका खेल्नुपर्ने उहाँले बताउनुभयो । कानुन बनाउने कुरामा समेत विभिन्न समस्या देखिने गरेको उहाँको गुनासो थियो । अहिले सरकारले बनाएका कानुनहरुसमेत संसद्मा पेस गर्न नसकिएको मन्त्री गुरुङको भनाइ थियो ।

कार्यक्रममा बोल्दै महान्यायाधिवक्ता डा दीनमणि पोख्रेलले राजनैतिक आस्थाका आधारमा न्याय दिनु गलत भएको बताउनुभयो । न्याय सबैका लागि समान हुने भन्दै उहाँले राजनैतिक आस्थाका कारण कसैलाई काखा र कसैलाई पाखा गर्न नहुने बताउनुभयो । उहाँले भन्नुभयो, “कानुनको प्रयोगमा पूर्वाग्रह राख्नु हुँदैन ।”

अधिवक्ताहरुले स्वार्थ समूहको चाहना के हो भन्ने बुझ्न जरुरी रहेको बताउनुभयो । कानुनको सुविधाबाट कोही वञ्चित र कसैले फाइदा उठाउने काम गर्न नहुने उहाँको भनाइ थियो ।

नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले बारले संविधानको रक्षा गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “अहिलेको व्यवस्थाविरुद्ध लाग्न बारलाई छुट छैन । अन्यथा हरेक १०–१० वर्षमा संविधान बनाउने देशमा दर्ज हुनुपर्छ ।” संविधानको रक्षाका लागि बारले रचनात्मक काम गर्नुपर्ने उहाँको भनाइ थियो । न्यायालयमा भएको विसङ्गतिको विषयमा बार अघि बढ्ने उहाँले बताउनुभयो ।

कार्यक्रममा बागमती प्रदेशका आन्तरिक मामिलामन्त्री गङ्गा नारायण श्रेष्ठ, बागमती प्रदेशका मुख्य न्यायाधिवक्ता ज्ञानेन्द्र नेपाल, अधिवक्ता लीलामणि पौडेल, विजय मिश्र, विनय सिंह, चण्डेश्वर श्रेष्ठ, हर्कबहादुर रावल लगायतले बोल्नुभएको थियो ।

आइतबारदेखि सुरु भएको मानव अधिकारसम्बन्धी राष्ट्रिय गोष्ठी तथा ४९औँ केन्द्रीय कार्यकारिणी परिषद् बैठक आज समापन हुँदैछ । बन्दसत्रमा नीतिगत कुराहरु अनुमोदन गरिने अध्यक्ष घिमिरेले बताउनुभयो ।

बैठकमा न्यायालयको अहिलेको अवस्था के छ, बारले कस्तो नीति ल्याउने, न्यायाधीशहरुको निर्णय र यसको प्रभाव कस्तो छ भन्ने विषयमा समेत छलफल हुनेछ । बारले सर्वोच्चका न्यायाधीशको कार्यकाल ७ वर्ष हुनुपर्ने माग उठाउँदै आएको र यस विषयमा समेत परिषद् बैठकमा छलफल हुने घिमिरेले बताउनुभयो ।बैठकमा देशभरका एक हजारभन्दा बढी कानुन व्यवसायी सहभागी भएका छन् । बैठक चितवन घोषणापत्र जारी गर्दै सकिने उहाँले जानकारी दिनुभयो ।

बागलुङका गाउँ–गाउँमा किबी खेतीको लहर, प्रति किलो दुई सय ५०मा सहजै बिक्री

गलकोट / बागलुङमा थोरै लगानीमा राम्रो आम्दानी गर्ने उत्कृष्ट फलफूल खेतीको रुपमा किबीलाई लिन थालिएको छ । पछिल्लो समय शिक्षा, रोजगारलगायत कारणले बसाइँसराइ गर्नेको सङ्ख्या बढ्दै गएपछि बाँझो खेतीयोग्य जग्गाको सदुपयोग गर्दै गाउँगाउँमा किबी खेतीको लहर चलेको हो ।

गाउँमा उत्पादन भएको किबी अहिले बागलुङ बजारमा देख्न सकिन्छ । केही वर्ष पहिलासम्म आयात गरिएको किबी बिक्री गर्दै आएका बागलुङका फलफूल व्यवसायी अहिले स्थानीयस्तरमा उत्पादित किबी बिक्री हुन थालेको बताउँछन् ।

बागलुङ नगरपालिका–८ सिगानाका पूर्व वडाध्यक्ष जितबहादुर जिसीले किबी खेती गर्न थालेको दुई वर्ष भयो । पहिलो वर्ष थोरै उत्पादन भएकाले बजारमा पुर्‍याउन नसकेको बताउँदै उहाँले यस पटक बजारमा पठाउन थालिएको जानकारी दिए । ‘आफू वडाध्यक्ष हुँदा किसानलाई सुन्तला र फलफूल खेतीमा आकर्षण गरेको थिएँ । अहिले आफैँले खेती गर्दा राम्रो उत्पादन भएको छ’, उनले भने।

पछिल्लो समय जिसी मात्रै होइन बागलुङका गाउँ–गाउँमा किबी खेती विस्तार हुँदै गएको छ । बागलुङमा पछिल्लो समय बागलुङमा एक सय भन्दाबढी किसान किबी खेतीमा लागेका छन् ।

काठेखोला गाउँपालिका–५ बिहुँका खिमानन्द कँडेलले उत्पादन गरेको किबी बागलुङ बजारहुँदै चितवन पुगेको बताए । पहाडी जग्गाको सदुपयोगसँगै बहुगुणी फलको राम्रो सम्भावना रहेको उनको भनाइ थियो ।

गतवर्ष चार हजार केजी बिक्री गर्नुभएका बागलुङका पुराना किबी किसान मेहरसिंङ पाइजाले यसवर्ष भने असिनाका कारण उत्पादनमा गिरावट आएको बताए । बागलुङमा सबैभन्दा ठूलो क्षेत्रफलमा किबी लगाउने पाइजाले यसवर्ष आम्दानी घटेको बताउँदै उचित काँटछाँट गर्दा राम्रो उत्पादन दिने बताए। प्रतिकेजी रू १०० मा बिक्री भए पनि किबीमा नाफा रहेको उनले अनुभव सुनाए ।

एक पटक किबीको झाल र थाक्रा व्यवस्थापन गरे पुग्ने भन्दै किबीलाई सामान्य हेरचाहमा राम्रो उत्पादन दिन सक्ने बागलुङ भकुण्डेका हर्कबहादुर थापाले बताए । उत्पादित किबी भकुण्डेकै अतिथि सत्कार घरबासमा आउने विदेशी पर्यटकले उपभोग गर्ने गरेका उनको भनाइ थियो । विसं २०७३ मा पोखरामा किबीको बिरुवा देख्नुभएका हर्कबहादुरले बारीमा जम्मा पाँचबोट मात्रै लगाएका थिए ।

उक्त बोटमै वार्षिक पाँच सय केजी किबी उत्पादन हुने गरेको थापाले जानकारी दिए। मलजल र थाँक्रो राम्रो भएमा एउटै बोटमा धेरै फलाउन सकिने उनले बताए। थापाको घरनै अहिले किबीले ढाकेको छ । अहिले भकुण्डेमा मात्रै आधादर्जन किसानले व्यावसायिक किबी खेती गर्दै आएका छन् ।

किबी खेती गर्दा जग्गा सदुपयोग हुनुका साथै आम्दानी स्रोत बन्ने भएपछि किसान यसतर्फ आकर्षित भएका काठेखोला-७ का वडाध्यक्ष प्रेम लामिछानेले बताए । ‘आफैबाट सुरु गरेँ अरुलाई भन्न र सिकाउन सहज हुन्छ भनेर चार रोपनी जग्गामा किबी खेती गरेको छु । पहाडी क्षेत्रमा धेरै स्याहार गर्न नपर्ने र एक पटक लगानी गरेपछि वर्षौँ लगानी थप्न नपर्ने खेती हो’, उनले भने, ‘एकै पटक उत्पादन भए पनि लामो समय टिकाउन सक्ने फलफूल भएकाले धेरै किसान किबी खेतीमा आकर्षित भएका छन् ।’

रेशमा वडा कार्यालयले अनुदानमा किबीका बिरुवासमेत वितरण गर्दै आएको लामिछानेले जानकारी दिएका छन् । उनका अनुसार किबीप्रति किलो स्थानीय बजारमा दुई सयदेखि दुई सय ५० सम्ममा सहजै बिक्री वितरण हुने गरेको छ ।

किबीको नियमित सेवनबाट गर्भवती, रक्तचाप, मुटु र रुघाखोकीलगायत बिरामीलाई विशेष फाइदा पुग्ने भएकाले बजारमा यसको माग बढी भएको स्वास्थ्यकर्मीको भनाइ छ । किबी खेती एक हजार दुई सयदेखि दुई हजार फिटसम्मको उचाइमा लगाउन सकिने कृषि ज्ञान केन्द्रले जनाएको छ ।

रोपेको तीन वर्षदेखि उत्पादन दिन सुरु गर्ने यो बिरुवाले लगातार लामो समयसम्म राम्रो उत्पादन दिने भएकाले किसानको आकर्षण बढेको कृषि ज्ञान केन्द्र बागलुङका बागवानी विकास अधिकृत कुमार पुनले जानकारी दिए ।

नेपालबाट वार्षिक १२ अर्बको हस्तकला विदेश निर्यात

काठमाडौँ, २५ मङ्सिर: नेपालबाट वार्षिक रु १२ अर्ब मूल्य बराबरको हस्तकला विदेश निर्यात हुने गरेको छ । नेपाल हस्तकला महासङ्घले २०औँ हस्तकला व्यापार मेला तथा १८औँ हस्तकला प्रतियोगिताबारे जानकारी दिन आज यहाँ आयोजित पत्रकार सम्मेलनमा नेपालबाट ६० भन्दा बढी देशमा सो मूल्य बराबरको हस्तकला विदेश निर्यात हुने गरेको जानकारी दिइयो ।

त्यस अवसरमा महासङ्घका अध्यक्ष प्रचण्ड शाक्यले राष्ट्रिय अर्थतन्त्रमा नेपाली हस्तकला क्षेत्रको महत्वपूर्ण योगदान रहेकाले हस्तकलाको संरक्षण र संवद्र्धनमा सरकारले विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो । आगामी मङ्सिर २८ देखि पुस २ गतेसम्म आयोजना हुन लागको १८औँ हस्तकला प्रतियोगिता र २०औँ हस्तकला व्यापार मेलामा सहभागी हुन आग्रह गर्नुभयो ।

दरबारमार्गस्थित होटल डेल अन्नपूर्णमा आयोजना गर्न लागिएको व्यापार मेला तथा प्रतियोगितामा तीन प्याभिलियनसहित एक सय ३० कक्ष रहनेछन् । मेलामा एक लाखभन्दा बढीले अवलोकन गर्ने अपेक्षा गरिएको आयोजकको भनाइ छ ।

अठारौँ हस्तकला प्रतियोगितामा परम्परागत विधातर्फ पौभा र समसामयिक विधातर्फ छ्वाली कलाको प्रतियोगिता गराइने छ । प्रतियोगितामा प्रथम पुरस्कार रु ५० हजार, द्वितीय पुरस्कार रु ३० हजार र तृतीय पुरस्कार रु २० हजार राखिएको छ । सो अवसरमा ७० वर्ष नाघेका १० जना ज्येष्ठ तथा वरिष्ठ कलाकारलाई सम्मान गरिनेछ ।

मन्त्री बस्नेतद्धारा कुश्मा-नयाँ बुटवल दुई सय २० केभी प्रसारण लाइनको उद्घाटन

काठमाडौँ, २५ मङ्सिर : नवलपरासी, रुपन्देहीलगायत जिल्लामा सहज विद्युत् आपूर्तिका लागि महत्वपूर्ण मानिएको कालीगण्डकी करिडोर दुई सय २० केभी क्षमताको प्रसारण लाइन आयोजनाअन्तर्गत कुश्मा–नयाँ बुटवल खण्ड आज उद्घाटन भएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले आज सो आयोजनाको दोस्रो खण्डअन्तर्गत पवर्तको कुश्मा नगरपालिका–२ खुर्कोटबाट नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को सुनवल नगरपालिका–१३ सूर्यबस्तीस्थित नयाँ बुटवल सबस्टेसनसम्मको करिब ९० किलोमिटर प्रसारण लाइनको उद्घाटन गर्नुभयो । उक्त खण्डको निर्माण सम्पन्न गरी गत असोज अन्तिमदेखि प्रसारण लाइन सञ्चालनमा ल्याइएको थियो ।

कालीगण्डकी र यसका सहायक नदीमा निर्माण हुने जलविद्युत् आयोजनाहरुको विद्युत् एकीकृत गरी राष्ट्रिय प्रणालीमा समाहित गर्न कालीगण्डकी करिडोर दुई सय २० केभी डबल सर्किट प्रसारण लाइन निर्माण गरिएको हो ।

कालीगण्डकी करिडोर दुई सय २० केभी डबल सर्किट प्रसारण लाइन आयोजनाअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दाना सबस्टेसनबाट सुरु भई पर्वत, बागलुङ, स्याङ्जा, पाल्पा, रुपन्देही हुँदै नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को नयाँ बुटवल सबस्टेसनसम्मको करिब एक सय ३० किलोमिटर डबल सर्किट प्रसारण लाइन निर्माण गरिएको छ । प्रसारण लाइनले करिब एक हजार दुई सय मेगावाट विद्युत् भार बोक्न सक्ने छ ।

उद्घाटन समारोहमा मन्त्री बस्नेतले कालीगण्डकी करिडोर प्रसारण लाइन नेपालको पूर्व–पश्चिम विद्युत् जोड्न र अन्तरदेशीय विद्युत् व्यापारका लागि महत्वपूर्ण भएको बताउनुभयो । एक÷डेढ वर्षभित्रमा सुक्खायाममा समेत विद्युत् आयात गर्न नपर्ने गरी काम गरिरहेको उल्लेख गर्दै बस्नेतले २०९२ सालभित्रमा २८ हजार मेगावाट विद्युत् उत्पादन गर्ने कार्यदेश र कार्यदिशाका साथ अगाडि बढिरहेको बताउनुभयो । उहाँले सङ्घीय, प्रदेश र स्थानीय तीनवटै सरकारको एकीकृत र सामूहिक प्रयासमा सिँचाइमा देखिएको विद्युतीकरणको समस्या समाधान गरिने उल्लेख गर्नुभयो ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले स्थानीय रुपमा विद्युत् खपत गर्न, पूर्व–पश्चिम प्रवाह र भारततर्फ निर्यात गर्न नयाँ बुटवल सबस्टेसन विद्युत्को ठूलो पुलिङ हबका रुपमा रहेको बताउनुभयो । देशभर नै प्रसारण लाइनको सञ्चालन बनाउन काम भइरहेको उल्लेख गर्दै घिसिङले यसका लागि आगामी पाँच÷छ वर्षभित्रमा झन्डै रु सात खर्ब आवश्यक पर्ने बताउनुभयो ।

एसियाली विकास बैंक, नेपाल आवासीय नियोगका निर्देशक आर्नोड कुश्वाले कोभिड–१९ को महामारी, रूख कटानमा रहेको जटिल कानुनी व्यवस्थालाई पार गर्दै आयोजना सम्पन्न हुनु प्रशंसायोग्य रहेको बताउनुभयो । हिमाली क्षेत्रमा उत्पादन भएको नेपालको हरित स्वच्छ ऊर्जा दक्षिण एसियाली क्षेत्रमा विस्तार र औद्योगिक क्षेत्रमा खपतका लागि प्रसारण लाइनले योगदान पुग्ने उल्लेख गर्दै उहाँले कालीगण्डकी करिडोर आयोजना निर्माणमा अवलम्बन गरिएका राम्रा अभ्यासहरुलाई अन्य आयोजनामा पनि अनुकरण गर्न सकिने बताउनुभयो ।

प्राधिकरणले कालीगण्डकी करिडोर प्रसारण लाइनलाई दुई खण्डमा विभाजन गरी निर्माण गरेको थियो । पहिलो खण्डअन्तर्गत दानादेखि पर्वतको कुश्मा नगरपालिका–२ खुर्कोटसम्मको करिब ४० किलोमिटर प्रसारण लाइन निर्माण गरिएको थियो । पहिलो खण्डमा नै खुर्कोटमा २२०÷१३२ केभी र दानामा २२०÷१३२÷३३ केभी सबस्टेसन निर्माण सम्पन्न भई सञ्चालनमा छन् । दुबै सबस्टेसनमा १००÷१०० एमभिए क्षमताका पावर ट्रान्सफर्मर राखिएका छन् ।

कुश्मा–नयाँ बुटवल खण्डमा दुई सय ३६ वटा टावर निर्माण गरिएको छ । सुनवल नगरपालिका–१३ बडेराबाट नयाँ बुटवल सबस्टेसनसम्म २२० केभीको चार सर्किट (मल्टी सर्किट) लाइनका लागि टावरहरु निर्माण गरिएको छ ।

मुलुकभित्र उत्पादित विद्युत्को आन्तरिक खपत एवं द्विपक्षीय तथा क्षेत्रीय विद्युत् व्यापार प्रवद्र्धनका लागि आन्तरिक प्रसारण एवं वितरण र अन्तरदेशीय प्रसारण प्रणालीहरुको विस्तार तथा सदृढीकरणका लागि नयाँ बुटवल २२० केभी सबस्टेसनको निर्माण गरिएको हो ।

कालीगण्डकी करिडोर प्रसारण लाइन सञ्चालनमा आएपछि एकीकृत विद्युत् प्रणालीको विश्वसनीयता बढ्ने र नवलपरासी, रुपन्देहीलगायत क्षेत्रको भोल्टेज सुधार भएको छ । मुस्ताङ, म्याग्दीलगायत जिल्लामा निर्माणाधीन तथा निर्माण हुने जलविद्युत् आयोजनाहरुको विद्युत् कालीगण्डकी यही प्रसारण लाइनमा जोडी राष्ट्रिय प्रणालीमा समाहित गरिने छ ।

रूख कटान अनुमति प्रक्रियामा भएको ढिलाइ, स्थानीयको अवरोध, कोभिड–१९को महामारीलगायत कारणले कालीगण्डकी करिडोर प्रसारण लाइन निर्माण प्रभावित भएको आयोजना प्रमुख चन्दन घोषले बताउनुभयो ।

कुश्मा–नयाँ बुटवल खण्ड निर्माणका लागि भारतीय कम्पनी एल एन्ड टीसँग २०७४ मङ्सिरमा ठेक्का सम्झौता भएको थियो । उक्त सम्झौता २०७४ पुसबाट कार्यान्वयनमा आएको थियो ।

नेपाल सरकार तथा प्राधिकरणको लगानी र एसियाली विकास बैंकको दक्षिण एसिया उपक्षेत्रीय आर्थिक सहयोग (सासेक)अन्तर्गत विद्युत् प्रणाली विस्तार परियोजनाबाट प्राप्त सहुलियतपूर्ण ऋणमा कालीगण्डकी करिडोर प्रसारण लाइन आयोजना निर्माण गरिएको हो । आयोजनाको अनुमानित लागत करिब रु ११ अर्ब छ ।

नयाँ बुटवल सबस्टेसनबाट बर्दघाटसम्मको लाइन निर्माण सम्पन्न भएपछि हेटौँडाबाट नयाँ बुटवलसम्म २२० केभी प्रसारण लाइन पूर्वाधार संरचना तयार हुने छ । नयाँ बुटवल–बर्दघाट २१ किलोमिटर प्रसारण लाइन निर्माणाधीन छ । अहिले हेटौँडाबाट भरतपुर हुँदै बर्दघाटसम्मको २२० केभी प्रसारण लाइन निर्माण सम्पन्न भई सञ्चालनमा आइसकेको छ । भारतसँगको विद्युत् व्यापारका लागि नयाँ बुटवल–गोरखपुर चार सय केभी दोस्रो अन्तरदेशीय प्रसारण लाइन पनि निर्माण गर्न लागिएको छ ।

देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत् सोही प्रसारण लाइनमार्फत भारततर्फ निर्यात गरिने छ । अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)मार्फत प्राप्त हुने अनुदानबाट नयाँ बुटवलमा चार सय केभीको सबस्टेसन र सरकार तथा प्राधिकरणको लगानीमा बुटवल–गोरखपुर प्रसारण लाइनअन्तर्गत नेपाल खण्डको निर्माण गरिने छ । नयाँ बुटवल–लमही (दाङ) चार सय केभी प्रसारण लाइन निर्माण हुँदैछ ।

विदेशबाट फर्केर तीन जना युवाले गरे सामूहिक माछापालन, भन्छन्– माग बढे पनि पर्याप्त उत्पादन गर्न सकिएन


गलेश्वर / वैदेशिक रोजगारीमा भनेजस्तो कमाइ नभएपछि स्वदेश फर्केर पश्चिम म्याग्दीको मालिका गाउँपालिका–३ का तीन जना युवाले सामूहिक माछापालन गरेका छन्

स्थानीय पूर्णबहादुर रोका, तेजेन्द्र बुढा र यमेन्द्र रोकाले मालिका–३ मा पर्ने टिमुरे खोलामा सामूहिक माछापालन थालेका हुन् । उक्त सामूहिक माछापालन पश्चिम म्याग्दीका लागि उदाहरणीय व्यवसाय बनेको छ ।

पूर्ण कतारमा छ र यामेन्द्र तीन वर्ष तथा तेजेन्द्र बहराइनमा तीन वर्ष काम गरेर स्वदेश फर्किएपछि सामूहिक माछापालनमा लागेका हुन् । टिमुरे खोला नजिकैको आठ रोपनी जग्गा भाडामा लिएर उनीहरुले सामूहिक रूपमा ट्राउट जातका माछा पालेका छन् ।

रू २० लाख लगानीमा माछापालनका लागि १० पोखरी निर्माण गरिएको पूर्णले जानकारी दिए । विसं २०७९ कात्तिकदेखि मालिका रेन्बो ट्राउट फर्म दर्ता गरी माछापालन व्यवसाय सुरु गरिएको उनले बताए । “सुरुमा रू आठ लाखको लगानीमा छ वटा पोखरी (रेसवे) निर्माण गरी माछापालन थालनी गर्‍यौँं । अहिले १० पोखरी निर्माण गरेका छौंँ”,उनले भने ।

गण्डकी रेन्बो ट्राउटबाट १० हजार अण्डा ल्याएर ह्याचिरिङ गरिएको जनाउँदै पूर्णले करिब नौ महिनामा माछा बिक्रीका लागि तयार हुने बताए । अहिले पोखरीमै भुरा उत्पादन हुने भन्दै १२ हजार बढी माछा हुर्किरहेका उनले जानकारी दिए । पूर्णका अनुसार पहिलो वर्ष सात सय केजी बढी माछा बिक्री भएको थियो ।

यस वर्ष दुई हजार केजी उत्पादन गर्ने लक्ष्य रहेको उहाँको भनाइ थियो । पहिलो वर्षको आम्दानी पनि व्यवसाय विस्तारमा लगाइएको बताउँदै उनले यस वर्षदेखि राम्रो आम्दानी लिन सकिने बताए । माछापालनका लागि चिसो र बहाव भएको स्वच्छ पानी आवश्यक हुने सञ्चालक पूर्णको भनाइ थियो ।

वर्षातको समयमा माछाका भुरा बचाउन गाह्रो हुने तेजेन्द्रले सुनाए । यहाँ उत्पादित माछा नजिकैको दरबाङ बजारसहित सदरमुकाम बेनी र छिमेकी जिल्ला बागलुङसम्म लगिएको उनले बताए । पहिलो वर्ष प्रतिकेजी रू एक हजार दुई सयमा बिक्री गरिएकामा यस वर्ष भने दानाको मूल्य बढेकाले रू एक हजार तीन सयमा बेच्ने गरिएको तेजेन्द्रले जानकारी दिए । बजारमा माग बढे पनि पर्याप्त उत्पादन गर्न नसकिएको उनको भनाइ थियो ।

उनीहरुले टिमुरेमा सामूहिक रुपमा आफ्नै रेष्टुराँ पनि सञ्चालन गरेका छन् । पोखरीमा उत्पादित माछा रेस्टुराँमा समेत खपत हुने गरेको माछापालका यमेन्द्रले जानकारी दिए । माछापालन गरी मनग्य आम्दानी भएकाले विदेशभन्दा नेपालमै फाइदा भएको उनको भनाइ थियो । आधुनिक किसिमले पोखरी निर्माण गरेर व्यावसायिक रूपमा माछापालन सुरु गरिएकाले फर्ममा परिवारका अन्य सदस्यलेसमेत साथ दिनुभएको यमेन्द्रले बताए ।

मालिका–३ का वडाध्यक्ष मोतीप्रसाद बुढाले गाउँमै युवाको लगानीमा व्यावसायिक माछापालन गरेसँगै अन्य युवाका लागि पनि प्रेरणाको स्रोत बनेको बताए । उनका अनुसार वडाको ५० प्रतिशत अनुदान कार्यक्रमबाट पोखरी वरिपरी घेरबार गरिएको छ । सरकारबाट पाउने ऋण र अनुदानमा समेत झन्झटिलो प्रक्रिया भएको भन्दै वास्तविक किसानसँग अनुदान पुग्न नसकेको माछापालक रोकाले गुनासो गरे। आगामी दिनमा यस व्यवसायलाई अझै विस्तार गर्ने सोच रहेको उनले बताए ।

सरकारले थालनी गरेका जनपक्षीय काम देखेर विरोधीहरु भ्रम र जालझेलको षड्यन्त्रमा लागे : प्रधानमन्त्री दाहाल

काठमाडौँ, २५ मङ्सिर : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले थालनी गरेका जनपक्षीय काम देखेर विरोधीहरु भ्रम र जालझेलको षड्यन्त्रमा लागेको टिप्पणी गर्नुभएको छ । सरकारले सामाजिक न्याय, सुशासन, समृद्धि र अन्तर्राष्ट्रिय कूटनीतिका क्षेत्रमा राम्रा काम अघि बढाएपछि व्यवस्थाविरोधी शक्ति अत्तालिएको उहाँको भनाइ छ ।

नेकपा (माओवादी केन्द्र)ले काठमाडौँको गोकर्णेश्वरमा आयोजना गरेको ‘जनतासँग माओवादी, विशेष रूपान्तरण अभियान’ अन्तर्गत कार्यकर्ता प्रशिक्षणमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष दाहालले सरकार बनेदेखि नै सरकारविरुद्ध लागेकाहरु अहिले झनै अत्तालिएर संविधानमाथि नै धावा बोल्ने दुस्साहस गर्न थालेको बताउनुभयो ।

“एकथरीले सरकार गठन भएदेखि नै नेपाल श्रीलङ्का बन्ने भयो, उत्पातै हुने भयो, आकाशै खस्ने भयो भन्ने किसिमले प्रचार गरे”, उहाँले भन्नुभयो, “तर सरकारले सामाजिक न्याय, सुशासन र समृद्धिका क्षेत्रमा राम्रा काम गर्दै गएपछि यसरी कुप्रचार गर्नेहरु विक्षिप्त बनेर व्यवस्थाविरुद्ध अनर्गल प्रचारबाजी र सरकारलाई बदनाम गर्ने षड्यन्त्रमा लागेका छन् ।”

व्यवस्था विरोधीले सङ्घीयता, धर्मनिरपेक्षता, जाति, वर्ग, क्षेत्र र लिङ्गका अधिकारविरुद्ध नै प्रहार गर्न पुगेका उहाँको भनाइ छ । सरकारले सामाजिक न्यायका पक्षमा इतिहासकै महत्वपूर्ण निर्णय गरेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले मिटरब्याज पीडितका पक्षमा कानुन निर्माण गरेर सामन्तीको पीडाबाट हजारौँ जनतालाई मुक्ति दिन सफल बनेको बताउनुभयो ।

“मिटरब्याज पीडितका पक्षमा आयोग र ऐन नै बनाएर पीडकमाथि कारबाही गरियो, पीडितका लागि यो मुक्ति अभियान जस्तै भयो”, प्रधानमन्त्री दाहालले भन्नुभयो, “बुबाआमा नेपाली भएर पनि नागरिकता नपाउनुको पीडा झेलेका लाखौँ नेपालीले नागरिकता पाउन सके ।”

सुशासनका पक्षमा सरकारले महत्वपूर्ण कदम उठाएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले ठूलाठूला भ्रष्टाचारका काण्डको छानबिन अघि बढाइएको बताउनुभयो । “भू–माफिया र तस्करीविरुद्ध नयाँ अभियान चलाइएको, अन्तरर्राष्ट्रिय क्षेत्रमा सफल कूटनीतिक अभ्यास गरेको र त्यसमा पनि खासगरी जलवायु न्यायका क्षेत्रमा निर्णायक पहल गरिएको छ, यी कामबाट व्यवस्थाविरोधी शक्ति छटपटिएका छन्”, उहाँले भन्नुभयो ।

प्रधानमन्त्री दाहालले लोकतान्त्रिक गणतन्त्रको विकल्प नभएको उल्लेख गर्दै नेपाली समाजमा देखिएका समस्या लोकतान्त्रिक गणतन्त्रबाटै हल हुने दाबी गर्नुभयो । “कतिपय शक्ति व्यवस्थाविरुद्ध भ्रम छर्न, बदनाम गर्न लागिपरेका छन् । कुनै बेला इतिहासमा मिल्काइएका राजा महाराजा ल्याउने कुरा गरिरहेका छन्”, उहाँले भन्नुभयो, “तर लोकतान्त्रिक गणतन्त्रको विकल्प हिजोको सामन्ती निरङ्कुशतन्त्र कदापि हुन सक्दैन ।”

प्रधानमन्त्री दाहालले सुकुम्वासी तथा भूमिहीनको समस्या समाधान गर्न निर्णायक पहलकदमी लिइएको जानकारी दिँदै उहाँले वन तथा भूमिसम्बन्धी ऐन संशोधन गरेर लाखौँ सुकुम्वासीलाई जग्गा प्रदान गर्ने तयारी भइरहेको बताउनुभयो ।

जनताको समर्थनले एमालेको आत्मविश्वास वृद्धि भएको छ : अध्यक्ष ओली

काठमाडौँ, २५ मंसिर : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जनताको समर्थनले एमालेको मनोबल र आत्मविश्वास बढेको बताउनुभएको छ । झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्राको क्रममा आज दोलखाको चरिकोटमा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यात्राका क्रममा नागरिकले माया, ममता, स्वागत र आत्मीयपन देखाएको बताउनुभयो । गौरीशङ्करको काखमा रहेको कालिञ्चोक भगवती र दोलखा भीमसेनको आशीर्वादप्राप्त दोलखा धार्मिक र प्राकृतिक हिसाबले भरपुर रहेको ओलीको भनाइ थियो ।

एमालेको यात्राका क्रममा बालबालिका सहभागितालाई लिएर बालबालिकाको प्रयोग गरिएको भनि गरिएको प्रचारको अध्यक्ष ओलीले त्यस अवसरमा आलोचना गर्नुभयो । एमालेले सुरु गरेको यो अभियान राष्ट्रिय उत्सवको अभियान भएकाले त्यसमा बालबालिकाले सहभागिता जनाउनु स्वाभाविक भएको उहाँको भनाइ थियो ।अध्यक्ष ओलीले युवालाई देशमै राख्ने वातावरण बनाउनुपर्नेमा जोड दिनुभयो । राजनीतिक पार्टीले अब विकास र सामाजिक सुधारको अभियन्ताका रूपमा काम गर्नुपर्ने उहाँको भनाइ थियो ।अध्यक्ष ओलीले मुलुकको विकास र समृद्धिका लागि संकल्प अभियान सञ्चालन गरेको बताउनुभयो । सो यात्रामा अध्यक्ष ओलीसहित वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू युवराज ज्ञवाली, रामबहादुर थापा, विष्णु पौडेल, सुरेन्द्र पाण्डे, महासचिव शङ्कर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, सचिवहरू, स्थायी कमिटी, पोलिटब्युरो, केन्द्रीय कमिटी सदस्यहरू, प्रदेश कमिटी लगायतका नेताहरू, प्राविधिक, विज्ञ सम्मिलित हुनुहुन्छ । बैतडीको झुलाघाटबाट मङ्सिर १४ गते सुरु यात्रा पुस १ गते पाँचथरको चिवाभञ्ज्याङ पुग्ने कार्यक्रम छ ।

राष्ट्रिय एकता र सुशासन कायम राख्न सरकार सफल : महासचिव गुरुङ

भक्तपुर, २५ मङ्सिरः नेकपा (माओवादी केन्द्र)का महासचिव देव गुरुङले वर्तमान गठबन्धन सरकार राष्ट्रिय एकता र सुशासन कायम राख्न सफल भएको बताउनुभएको छ ।आज भक्तपुरमा रफत सञ्चार क्लवले आयोजना गरेको सञ्चार संवादमा महासचिव गुरुङले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्व सरकारले यसैगरी अगाडि बढ्दै देशलाई समाजवादतर्फ अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो ।

महासचिव गुरुङले भन्नुभयो, “देश सफल रुपमा अगाडि बढिरहँदा धार्मिक राज्य स्थापना गर्नेदेखि समाप्त भइसकेको सामन्तवादको ‘मुद्दा’ लिएर केही तत्व अस्थिरता र अराजकता फैलाइरहेका छन्, यसले देशलाई कमजोर बनाएर बाह्य हस्तक्षेप बढाएर सधैँ अस्थिरता कायम गर्न खोजिरहेका छन्, यसतर्फ सचेत हुनुपर्छ ।”

मुलुकबाट भ्रष्टाचार, तस्करी, कमिसनतन्त्रको अन्त्य गर्दै सुशासन कायम गर्ने विषयमा गठबन्धन सरकारले नीति नै बनाएर अगाडि बढेको उहाँको दाबी थियो । सोही कारणले पछिल्लो समय धमाधम सुन तस्करी पक्राउ पर्न थालेको उहाँको भनाइ छ ।

महासचिव गुरुङले एनसेल शेयर खरिदबिक्री प्रकरणमा छानबिन गर्न सरकारले समिति नै गठन गरेको भन्दै दोषी उपर कारबाही भएरै छाड्ने दाबी गर्नुभयो । सरकारले आफ्ना कमीकमजोरीलाई सुधार गर्दै जनपक्षीय काममा अगाडि बढेर अराजक तत्वलाई विस्थापित गर्दै लैजानुपर्नेमा जोड दिँदै उहाँले गणतन्त्रको स्थायित्वदेखि मुलुकको समग्र समस्या समाधानका लागि राष्ट्रिय एकता आवश्यक रहेको बताउनुभयो ।

आवश्यकताअनुसार देशको व्यवस्था र प्रणालीलाई सुधार्दै लैजानुपर्नेमा जोड दिँदै व्यवस्था नै परिवर्तन गर्छु भन्ने अराजक तत्व असफल हुने बताउनुभयो ।

कम्युनिष्ट पार्टीहरुबीचको एकीकरणलाई मूर्तरुप दिन छलफल चलिरहेको बताउँदै महासचिव गुरुङले समाजवादी मोर्चालाई अगाडि बढाउने र मोर्चाभन्दा बाहिर रहेकालाई समेटेर संयोजन समिति बनाएर एकीकरण अगाडि बढाइने उहाँको भनाइ छ ।

कैदी रिहाइको माग पूरा नगरेसम्म कुनै पनि इजरायली बन्धक नछोड्ने हमासको चेतावनी

हमासले कैदी रिहाइको माग पूरा नगरेसम्म कुनै पनि इजरायली बन्धकले उक्त क्षेत्र नछोड्ने चेतावनी दिएपछि इजरायलले सोमबार दक्षिणी गाजाको मुख्य शहरमा बमबारी गरेको छ ।हमासले गत अक्टोबर ७ मा इजरायलमाथि घातक आक्रमण गरी एक हजार २०० जनाको ज्यान लिएको र करिब २४० जनालाई गाजामा बन्धक बनाएको इजरायली तथ्याङ्कले देखाएको छ ।

बदलामा इजरायलले हमासबिरूद्ध चलाएको कारबाहीमा गाजाको अधिकांश भाग भग्नावशेषमा परिणत भएको छ भने करिब १८ हजार जनाको ज्यान लिएको हमासले सञ्चालन गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।इजरायली सेनाले गाजा पट्टीमा गरेको आक्रमणमा परी दर्जनौं व्यक्तिको मृत्यु भएको र इजरायली सेनाले गाजाबाट इजरायलतर्फ रकेट प्रहार गरेको मन्त्रालयले सोमबार जनाएको छ ।

एएफपी संवाददाताका अनुसार इजरायलले सोमबार मुख्य दक्षिणी शहर खान युनिसमा आक्रमण गरेको छ भने प्यालेस्टाइनी लडाकू इस्लामिक जिहादले इजरायली सेनाले सुरुङको खाडल खोजी गरिरहेको एउटा घरलाई विस्फोट गराएको बताएको छ ।

हमासले आइतबार चेतावनी दिँदै भनेको छ, “इजरायलले आफ्ना कैदीहरूलाई आदानप्रदान र वार्ता बिना जीवितै प्राप्त गर्ने सम्भावना रहने छैन ।”इजरायलले गाजामा अझै पनि १३७ जना बन्धक रहेको बताएको छ भने अधिकारकर्मीहरूले करिब सात हजार प्यालेस्टिनी इजरायली जेलमा रहेको बताएका छन् ।

महिनौँदेखिको भीषण बमबारी र झडपका कारण गाजाको स्वास्थ्य प्रणालीमा व्यापक प्रभावपरेको छ । अधिकांश अस्पतालहरू सञ्चालनमा छैनन् र करिब २० लाख मानिस विस्थापित भएका छन् ।

गाजा शहरको अल–शिफा अस्पतालको बमबारी गरिएको भग्नावशेषको भ्रमण गरेको थियो र गत महिना इजरायली सेनाले बमबारी गरेको गाजा शहरको अल–शिफा अस्पतालमा छापा मारेपछि कम्तीमा ३० हजार मानिसहरू भग्नावशेष वरपरका क्षेत्रमा एकत्रित भएका छन् ।

“हाम्रो जीवन जीवित नरक भएको र प्यालेष्टिनीहरू बिजुली, पानी, खाद्यान्न र औषधिविहिन बनेको छ,” ३८ वर्षीय मोहम्मद दलौलले भन्नुभयो । संयुक्त राष्ट्रसङ्घका अनुसार गाजाका २४ लाख जनसंख्यामध्ये १९ लाख मानिस आफ्नो घरबाट विस्थापित भएका छन्।इजरायलले मानिसहरूलाई दक्षिणमा शरण लिन आग्रह गरेको छ ।

मानवीय सहयोगका लागि समन्वय गरिरहेका संस्थाहरूले इजरायललाई द्वन्द्वमा नागरिकहरूको अधिक सुरक्षाको लागि दबाब दिइरहेका छन् ।गैरलडाकूको मृत्यु कम गर्न इजरायली सेनाले प्रयोग गरेको म्यापिङ सफ्टवेयरलाई अपर्याप्त भन्दै प्यालेस्टाइनी क्षेत्रका लागि संयुक्त राष्ट्रसंघीय मानवीय संयोजक लिन हेस्टिङ्सले आइतबार निन्दा गर्नुभएको छ ।
उहाँले भन्नुभयो, “कुनै पनि शक्तिले एकतर्फी रूपमा पूर्वाधार, खाद्यान्न, पानी, स्वास्थ्य सेवा वा सरसफाइ नभएको जमिनलाई ‘सुरक्षित क्षेत्र’ भनेर घोषणा गर्नुको अर्थ उनीहरू सुरक्षित छन् भन्ने होइन ।”

संयुक्त राष्ट्रसङ्घको मानवीय निकाय (ओसीएचए) का अनुसार गाजाका ३६ अस्पतालमध्ये १४ वटा मात्र पूर्ण क्षमतामा सञ्चालनमा छन् । हमासले गत अक्टोबर ७ मा इजरायलमाथि घातक आक्रमण गरी एक हजार २०० जनाको ज्यान लिएको र करिब २४० जनालाई गाजामा बन्धक बनाएको इजरायली तथ्याङ्कले देखाएको छ ।बदलामा इजरायलले गाजापट्टीका क्षेत्रमा गरेको आक्रमणमा अधिकांश भाग भग्नावशेषमा परिणत हुनुका साथै करिब १८ जनाको ज्यान लिएको हमासले सञ्चालन गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

जम्मू–कश्मीरमा विधानसभा निर्वाचन गर्न भारतीय सर्वोच्च अदालतको निर्देशन

भारतको सर्वोच्च अदालतले सोमबार जम्मू–कश्मीरमा धारा ३७० को खारेजीलाई सदर गर्दै भारतीय निर्वाचन आयोगलाई ३० सेप्टेम्बर २०२४ भित्र विधानसभा चुनाव गर्न निर्देशन दिएको छ । सर्वोच्च अदालतले पनि लद्दाखलाई केन्द्र शासित प्रदेशको रूपमा पुनर्गठित गर्ने निर्णयलाई सदर गरेको छ भने जतिसक्दो चाँडो राज्यको बहाली गर्न भनेको छ ।

प्रधान न्यायाधीश चन्द्रचूड, न्यायाधीश सञ्जय किशन कौल, सञ्जीव खन्ना, बीआर गवई र सूर्यकान्तको संवैधानिक इजलासले उक्त फैसला सुनाएको हो । प्रधान न्यायाधीश डीवाई चन्द्रचूडले सोमबार फैसला सुनाउँदै भन्नुभयो, “अदालत केन्द्र सरकारलाई भारतीय निर्वाचन आयोगले पुनर्गठन अधिनियमको धारा १४ अन्तर्गत गठित जम्मू र कश्मीरको विधान सभाको चुनाव ३० सेप्टेम्बर २०२४ भित्र सम्पन्न गर्न कदम चाल्न र छिट्टै राज्य सरकारको गठन गर्न निर्देशित गर्छ ।

भारत सरकारको प्रतिनिधित्व गर्ने सोलिसिटर जनरलले जम्मु काश्मिरलाई राज्यको दर्जा पुनस्र्थापित गरिने र केन्द्र शासित प्रदेशको रूपमा यसको दर्जा अस्थायी भएको बताउनुभएको छ । उहाँले जम्मु–कश्मीरलाई राज्यको दर्जा पुनस्र्थापित गर्दा केन्द्र शासित प्रदेश लद्दाखको स्थिति प्रभावित नहुने बताउनुभयो । “सोलिसिटर जनरलले जम्मु–कश्मीरलाई राज्यको दर्जा पुनस्र्थापित गर्ने भनी दिएको निवेदनलाई ध्यानमा राख्दै जम्मू–कश्मीर राज्यलाई लद्दाख र जम्मु–कश्मीरलाई दुई केन्द्र शासित प्रदेशमा रूपान्तरण गर्न धारा ३ अनुसार अनुमति छ कि छैन भनेर निर्धारण गर्न आवश्यक छैन,” सर्वोच्च अदालतको फैसलामा भनिएको छ ।

कुनै पनि राज्यबाट एक क्षेत्रलाई अलग गरेर केन्द्र शासित प्रदेश बनाउन अनुमति दिने हुँदा लद्दाखलाई केन्द्र शासित प्रदेशको रूपमा कायम राखिएको र यो अनुच्छेद ३ (ए) अनुरूप हुने फैसलामा उल्लेख छ । फैसलामा भनिएको छ, “भारतको प्रतिनिधिमूलक लोकतन्त्रको सर्वोपरि विशेषताका रुपमा रहेको विधान सभाको प्रत्यक्ष निर्वाचनलाई राज्यको दर्जा बहाल नहुञ्जेलसम्म स्थगित गर्न सकिदैन ।” सर्वोच्च अदालतले जम्मु–कश्मीरलाई विशेष राज्यको दर्जा दिने संविधानको धारा ३७० खारेज गर्ने केन्द्र सरकारको निर्णयलाई सदर गर्दै भनेको छ, “कुनै पनि राज्यको तर्फबाट केन्द्र सरकारले लिने हरेक निर्णय कानुनी चुनौतीको अधीनमा हुन सक्दैन र यसले राज्यको प्रशासनलाई ठप्प पार्नेछ ।” सन् २०१९ ५ अगस्टमा, केन्द्र सरकारले अनुच्छेद ३७० अन्तर्गत प्रदान गरिएको जम्मू र कश्मीरको विशेष दर्जा खारेज गर्ने घोषणा गरेको थियो र यस क्षेत्रलाई दुई केन्द्र शासित प्रदेशहरूमा विभाजन गरेको थियो ।

न्यायाधीश सञ्जय किशन कौलले सन् १९८० को दशकदेखि राज्य र गैरसरकारी पक्षबाट भएका मानव अधिकार उल्लङ्घनका घटनाको छानबिन र प्रतिवेदन दिन निष्पक्ष सत्य निरुपण तथा मेलमिलाप समिति गठन गर्न र मेलमिलापका उपायहरू सुझाउन सुझाव दिनुभएको छ । न्यायाधीश कौलले फैसलामा भन्नुभएको छ, “घाउ निको पार्ने दिशामा पहिलो कदम भनेको राज्य र यसका तत्वहरूद्वारा गरिएका उल्लङ्घनका कार्यहरूको स्वीकारोक्ति हो र सत्य बोल्दा मेलमिलापको मार्ग प्रशस्त हुन्छ । उहाँले जम्मु काश्मिरका युवा र जनताले धेरै कष्ट भोगेको र घाउ निको पार्नुपर्ने भन्दै ‘सत्य निरुपण तथा मेलमिलाप आयोग’ कसरी गठन गर्ने भन्ने विषयको संवेदनशीलतालाई ध्यानमा राखेर सरकारले निर्णय गर्ने हो’ ।

प्रदेश निजामती सेवा ऐन संशोधन गर्न बनेको विधेयक पारित

विराटनगर, २५ मङ्सिर -कोशी प्रदेशसभाको आजको बैठकमा ‘प्रदेश निजामती सेवा ऐन, २०७९ लाई संशोधन गर्न बनेको विधेयक, २०८०’ सर्वसम्मतिले पारित भएको छ ।कोशी प्रदेशको प्रदेशसभा नियमावली (पहिलो संशोधन समेत), २०७४ को नियम १०८ बमोजिम मुख्यमन्त्री केदार कार्कीका तर्फबाट आन्तरिक मामिला तथा कानुनमन्त्री शम्शेर राईले सो प्रस्ताव पेस गर्नुभएको थियो ।

सो विधेयक सम्बन्धित विषयगत समितिबाट दफावार छलफल भई सुशासन तथा योजना समितिका ज्येष्ठ सदस्य मालतीकुमारी लिम्बूले सदनमा आइतबार पेस गर्नुभएको हो । प्रस्तावित विधेयकको कोशी प्रदेशसभाका सदस्य रेवतीरमण भण्डारी, नारायण बुर्जा मगर, कमला दर्नाल, गोम्बु शेर्पा, रामदेव यादव, भक्तिप्रसाद सिटौला र प्रदीपकुमार सुनुवारले उपादेयता, सान्दर्भिकता, सकारात्मक तथा नकारात्मक पक्षमा बोल्नुभएको थियो ।

विधेयकको विषयमा उठेका जिज्ञासाका सम्बन्धमा मन्त्री राईले मुलुकमा प्रशासनिक सङ्घीयतालाई सुदृढ एवं बलियो बनाउन यो विधेयक आवश्यक छ भत्रुभयो । उहाँले विधेयकमा कुनै कमी तथा त्रुटी भएमा अविलम्ब सच्याउने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

 विशेष समय

नेकपा एमाले संसदीय दलका तर्फबाट प्रमुख सचेतक रेवतीरमण भण्डारीले नेकपा एमालेले मङ्सिर १४ गतेदेखि पश्चिम नेपालबाट थालेको समृद्धिको सङ्कल्प यात्राको सफलताको शुभकामना दिनुभयो । उहाँले यो यात्राले एकता, धार्मिक, सांस्कृतिक सद्भाव कायम राखी मुलुकमा विकास गर्न मद्दत पुग्ने बताउँदै मुलुकको अर्थतन्त्र सुधार गर्न सङ्घीय सरकारले ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।


  शून्य समय

कोशी प्रदेशसभाका सदस्य खिनु लङ्वा लिम्बूले किसानले उत्पादन गरेको दूध र दुग्धजन्य पदार्थको बजार र बजारीकरणमा सरकारले ध्यान दिनुपर्ने बताउनुभयो ।

सदस्य गीतादेवी रेग्मीले उदयपुरको त्रियुगा नगरपालिका–११ स्थित एक ग्यारेजमा भएको आगलागीको छानबिन गर्नुपर्ने माग गर्नुभयो । उहाँले यस किसिमको हानी– नोक्सानीबाट जोगाउन त्रियुगा नगरपालिकामा वारुणयन्त्र राख्ने व्यवस्था मिलाउन प्रदेश सरकारसँग माग गर्नुभयो ।

सदस्य गीत तिमल्सेनाले प्रदेशमा रिक्त रहेका पदमा सरकारले अविलम्ब पदपूर्ति गर्नुपर्ने माग गर्दै कोशी प्रदेशसभाको सभामुख छनौट गर्ने प्रक्रिया पनि अघि बढाउनुपर्नेमा सरकारको ध्यानाकर्षण गराउनुभयो । सदस्य तिलचन पाठकले विराटनगरको एक अस्पतालमा मृत घोषणा गरेको व्यक्ति जीवित नै रहेकाले यस विषयमा सरकारले छानबिन गर्नुपर्ने माग गर्नुभयो ।

अर्की सदस्य ललिताकुमारी चौधरीले सरकारले सामुदायिक विद्यालयमा व्यावसायिक प्रतियोगिता गराई विद्यार्थीहरुलाई स्वरोजगार हुने विषय लागू गर्नुपर्ने बताउनुभयो । सदस्य सपना दर्जीले विराटनगरको एक अस्पतालमा सुनसरी इनरुवा नगरपालिका–३ निवासी प्रताप सदालाई मृत घोषणा गरेको अस्पताललाई कारबाही गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रदेशसभाको अर्को बैठक आगामी पुस ४ गते अपराह्न १ बजे बस्ने उपसभामुख सिर्जना दनुवारले जानकारी दिनुभयो । अपराह्ने १ बजे बस्ने भनिएको बैठक केही समय ढिला गरी सञ्चालन भएपछि बीचमा ३० मिनेटका लागि स्थगन भएको बैठक ३ः१० मा पुनः प्रारम्भ भएको थियो ।

सहमतिकै आधारमा संघीयताका बाँकी काम टुङ्गो लगाइने

जनकपुर । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सहमतिका आधारमा संघीयताका बाँकी काम टुङ्गोमा र्पुयाउनुपर्ने बताएका छन् । धनुषाको औरही गाउँपालिका– ४ मा आज नेपाली कांग्रेसका पुराना नेता एवं धनुषा निर्वाचन क्षेत्र नं २ का पूर्वसभापति राजकिशोर सिंह राजपुतको सालिक अनावरण गर्दै सभापति देउवाले संघीयतालाई बलियो बनाउन प्रदेशलगायत निकायले उठाइरहेका सवाल सम्बोधन गर्न राष्ट्रिय सहमतिको आवश्यकता औँल्याए । सभापति देउवाले प्रजातन्त्रका लागि पञ्चायतकालदेखि नै सक्रिय नेपाली कांग्रेसका प्रतिबद्ध नेता सिंहले पार्टी सङ्गठन र परिवर्तनका लागि भएका आन्दोलनमा र्पुयाएको योगदानको सम्मानका लागि पनि पार्टी नेता कार्यकर्तालाई क्रियाशील हुन आग्रह गरे ।


“स्वर्गीय सिंह पार्टीको सम्पत्ति हुनुहुन्छ, उहाँको अनुपस्थितिले हाम्रो पार्टी र लोकतान्त्रिक आन्दोलनलाई ठूलो क्षति भएको छ । त्यो क्षतिपूर्तिका लागि हामी सबैले उहाँको सपना सकार गर्न लाग्नुपर्ने पर्छ । त्यसका लागि क्रियाशील हुन म अनुरोध गर्दछु”, सभापति देउवाले भने । कार्यक्रममा पार्टीका पूर्वउपसभापति एवं प्रतिनिधिसभा सांसद विमलेन्द्र निधिले संविधानअनुसार दुई(दुईपटक निर्वाचन भइसक्दा पनि सङ्घीयता कार्यान्वयनको महत्वपूर्ण काम बाँकी रहेको भन्दै दलहरुले गम्भीर बन्नुपर्नेमा जोड दिए ।

उनले परिवर्तनका लागि भएका सबै आन्दोलनको नेतृत्व मधेस र कांग्रेसले गरेका भन्दै सङ्यीयता कार्यान्वयनको नेतृत्व पनि कांग्रेसले नै गर्नुपर्नेमा जोड दिए आगामी महासमिति बैठकमा सङ्घीयतासँग जोडिएका बाँकी काम, प्रदेशलाई बलियो बनाउन प्रहरी प्रशासन, निजामती कर्मचारी, स्थानीय तहले काठमाडौँ धाउनुपर्ने अवस्था अन्त्य गर्ने विषय मुख्य एजेन्डा बनाएर अगाडि बढ्नुपर्ने उनको भनाइ थियो ।

त्यसैगरी पार्टी सहमहामन्त्री महेन्द्र यादवले कांग्रेस बलियो भएमा मात्रै सङ्घीयता, मधेस र देश बलियो हुने भन्दै आगामी दिनमा पार्टीलाई थप बलियो बनाउन सबै एकढिक्का हुनुपर्ने धारणा राखे ।

कार्यक्रममा पार्टी केन्द्रीय अनुशासन समितिका संयोजक आनन्दप्रसाद ढुङ्गाना, केन्द्रीय सदस्य एवं धनुषा क्षेत्र नं २ बाट निर्वाचित प्रतिनिधिसभा सांसद रामकृष्ण यादव, पार्टीका प्रदेश सभापति एवं प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री कृष्णप्रसाद यादव, धनुषा सभापति योगेन्द्र पजियार, स्व सिंहका छोरा डा कुनाल सिंहलगायतले सङ्घीयता कार्यान्वयन, बेरोजगारी समस्या समाधान र विकासको गति बढाउन ठूलो पार्टीका हैसियतले कांग्रेसले अग्रसरता लिनुपर्नेमा जोड दिएका थिए ।

विसं २०१३ वैशाख २ गते जन्मिएर गत वर्ष मङ्सिर १ गते दिवङ्गत हुनुभएका सिंह लगातार चार कार्यकाल क्षेत्र नं २ को सर्वसम्मत सभापति हुनुभएको थियो । पञ्चायतकालमा प्रजातन्त्र पुनर्बहालीका लागि पार्टीको क्रियाशील सदस्य भएर लाग्ने थोरै नेताहरुमध्ये सिंह पनि एक हुनुहुन्थ्यो ।

देवघाटका सुन्तला किसानलाई काठमाडौँ महानगरको सहयोग

डुम्रे (तनहुँ), २५ मङ्सिर : तनहुँको देवघाट गाउँपालिका–१, २, ३ र ४ मा उत्पादित सुन्तलाको प्रभाव काठमाडौँ महानगरपालिकासम्म परेको छ । आइतबार ‘गाउँमा करोडौँको सुन्तला, बजार पुर्‍याउन गाह्रो’ शीर्षकमा राष्ट्रिय समाचार समिति (रासस)मा समाचार प्रकाशित भएपछि कामपाले देवघाटका किसानलाई बजार र अनुदानको व्यवस्था गर्ने विषयमा छलफल सुरु गरेको हो ।

काठमाडौँलाई मुख्य बजार बनाएर देवघाटमा उत्पादित सुन्तला बिक्री वितरणका लागि बजार व्यवस्थापन, किसानले सिधै अनुदान पाउने व्यवस्थालगायत विषय महानगरको बैठकमा छलफल गरिने कामपाका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले राससलाई जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “देवघाटबाट सुन्तला आयात गर्दा विचौलियाले खाने कमिसन रोक्नुपर्छ । यसका लागि नगरप्रमुखसँग छलफलमा छौँ । बोर्ड बैठकबाट निर्णय गराएर प्रक्रियामा जाने गरी अगाडि बढेका छौँ ।”

अधिकारीले भृकुटीमण्डपमा बजारको व्यवस्था गर्ने विषयमा छलफल गरिने जानकारी दिनुभयो । विचौलियाबिना किसानका सुन्तला काठमाडौँ आउनुपर्ने उहाँको भनाइ थियो । “देवघाटमा उत्पादित सुन्तलामा प्रतिकेजी रु पाँच गाउँपालिकामार्फत किसानलाई अनुदान उपलब्ध गराउने गरी प्रक्रिया अगाडि बढाउन छलफलमा जुट्ने तयारी गरिरहेका छौँ”, अधिकारीले भन्नुभयो । प्राङ्गारिक सुन्तला काठमाडौँवासीले उपभोग गर्न पाउने वातावरण बन्ने अपेक्षा गरिएको उहाँले बताउनुभयो ।

देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले राससमा प्रकाशित समाचार पढेपछि फोनमार्फत कामपाका प्रमुख प्रशासकीय अधिकृत अधिकारीले यहाँ उत्पादित सुन्तलालाई बजार र अनुदानको व्यवस्था गर्ने विषय बोर्ड बैठकमा छलफल गरिने जानकारी दिनुभएको बताउनुभयो । उहाँले भन्नुभयो, “समाचारले गाउँपालिकाको मुख्य उत्पादनलाई प्रोत्साहन मिलेको छ । महानगरले छलफलमा लगेकाले यहाँका किसानसँगै सबै खुसी भएका छौँ । हामीले यस क्षेत्रको बाटो सहज बनाउने पहलमा लागिरहेका छौँ ।”

तनहुँको कर्णालीका रुपमा देवघाटका ग्रामीण भेगलाई चिनिन्छ । यस स्थान सुन्तला उत्पादनको पकेट क्षेत्र हो । यहाँ उत्पादित करोडौँको सुन्तला बजारसम्म पुर्‍याउन बाटोका कारण सकस हुने गरेको छ । यहाँको मुख्य उत्पादन नै सुन्तला रहेको स्थानीय बताउँछन् ।

पालिकाका विभिन्न वडामा यस वर्ष करोडौँको सुन्तला उत्पादन भएको अध्यक्ष थापाले जानकारी दिनुभयो । सुन्तला उत्पादनका लागि यहाँको हावापानी र माटो राम्रो भएकाले देवघाट नेपालमै प्रख्यात मानिएको उहाँको भनाइ थियो ।

यहाँका ग्रामीण क्षेत्र, सडक तथा पुलको अभाव, भरियामार्फत ढुवानी गर्नुपर्नेलगायत कारणले बजारसम्म पुर्‍याउन समस्या हुने गरेको थापाले जानकारी दिनुभयो । यहाँ उत्पादित सुन्तला सिधै काठमाडौँको कालीमाटीस्थित तरकारी तथा फलफूल बजारमा लगिन्छ । त्यहाँ देवघाटको सुन्तला नेपालकै उत्कृष्ट मान्दै कारोबार हुने कृषकको भनाइ छ ।

देवघाट–३ छापश्वरा लुम्रिङका किसान कर्णसिंह राना लामो समयदेखि सुन्तला खेती गर्दै आउनुभएको छ । उहाँले यहाँ उत्पादन राम्रो भए पनि बजारसम्म पुर्‍याउन बाटो र पुलको अभाव, भरियामार्फत ढुवानी गर्दा बढी खर्च लाग्नेलगायत कारणले बजारीकरणमा समस्या हुने गरेको बताउनुभयो ।

देवघाट क्षेत्र विकास समितिका अध्यक्ष एवं सुन्तला कृषक भीमबहादुर रानाले किसानलाई सहयोग पुग्ने गरी महानगरले गरेको सूचना पाउँदा खुसी लागेको बताउनुभयो । उहाँका अनुसार समाचारले यहाँका किसानलाई हौसला दिनुका साथै बजारीकरणमा सहयोग पुग्ने विषयले हर्षित बनाएको छ ।

अहिले सुन्तला पुर्‍याउन नाल्दी र गाईघाटमा पुल नहुँदा यहाँका किसानले कोटा, बैदी हुँदै साराङघाटको मोटरेवल पुलको बाटो प्रयोग गरी दमौली हुँदै काठमाडौँ पठाउने गरेका किसान बताउँछन् ।

सिधा सडक सञ्जाल विस्तार नभएकाले यसरी घुमाउरो बाटो प्रयोग गर्दा किसानले दोब्बर भाडा तिर्नु परेको किसान नवराजले बताउनुभयो । “केही किसानले मुग्लिङ–नारयणगढ सडकको गाईघाटसम्म जिपमा ल्याएर त्यहाँबाट बोकाएर झोलुङ्गे पुल तारेर राजमार्गसम्म ल्याउने गर्दछन्”, उहाँले भन्नुभयो, “छापस्वारा दगराका कृषकले ग्राभिटी रोपवेमार्फत बुद्धसिंह मार्गमा लगेर त्यहाँबाट दमौली हुँदै काठमाडौँ लैजाने गरेका छन् ।”

यहाँ उत्पादित सुन्तलाका साथै अदुवा, केरा तथा अन्य फलफूल तुइनबाट नै राजमार्गसम्म लगेर बजारसम्म पुर्‍याउने गरिएको नवराजले सुनाउनुभयो । साथै बाख्रा, कुखुरा तथा अन्य पशुपक्षीको लागि दाना चोकर पनि तुइनबाटै ल्याउने गरिएको उहाँले जानकारी दिनुभयो ।

उत्पादित सुन्तलालगायत खाद्यान्न ल्याउन तथा लैजान मुख्य ढुवानीको माध्यम भनेको घुमाउरो बाटो र तुइन मात्रै भएको किसान बताउँछन् । ढुवानी समस्याकै कारण करोडौँको सुन्तला बजारसम्म पुर्‍याउन सास्ती हुने गरेको सुन्तला कृषक रानाले बताउनुभयो ।

देवघाटका वडा नं १, २, ३ र ४ का विभिन्न भाग सुन्तला उत्पादनको पकेट क्षेत्र हुन् । विगतमा यहाँका किसानले बारीबाटै डोकोमा बोकेर नारायणगढलाई बजार क्षेत्र बनाएका थिए । नदीमाथि पुल नहुँदा राजमार्गसम्म किसानको सिधै पहुँच पुगेको छैन । पहुँच अभावका कारण यहाँका किसानले विचौलियाका माध्यमबाट दमौली, मुग्लिन, नारायणगढ र काठमाडौँसम्म बजार विस्तार गर्न बाध्य छन् । सडक सञ्चाल विस्तारसँगै पुल र बाटो नहुँदा यहाँका स्थानीयले उचित फल भने पाउन सकेका छैनन् ।

कक्षा १२ सम्म शिक्षा निःशुल्क हुन्छ : मन्त्री बस्नेत


चितवन, २५ मङ्सिर : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले कक्षा १२ सम्मको शिक्षा निःशुल्क हुने बताउनुभएको छ । चितवनको भरतपुर अस्पतालको बर्थिङ युनिटको आज उद्घाटन गर्नुहुँदै उहाँले शिक्षा र स्वास्थ्य सहज तथा निःशुल्क हुनुपर्ने बताउनुभयो ।

शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारमा मन्त्री हुनुभन्दा पहिलादेखि नै आफू निरन्तर लाग्दै आएको मन्त्री बस्नेतले बताउनुभयो । “शिक्षा १० कक्षासम्म निःशुल्क गर्नुपर्छ भनेर जोड दिदैआएको हुँ”, उहाँले भन्नुभयो, “यही सरकारले कक्षा १२ सम्म विद्यार्थीलाई निःशुल्क पढाउने व्यवस्था गर्छ ।” आफ्नो गृह जिल्ला सिन्धुपाल्चोकका सबै स्थानीय तहले कक्षा १२ सम्म निःशुल्क शिक्षाको व्यवस्था गरेको उल्लेख गर्दै उहाँले शिक्षा र स्वास्थ्यमा राज्यले लगानी गर्नुपर्नेमा जोड दिनुभयो ।

चिकित्सा शिक्षा ऐन संशोधन गरेर अहिलेको समस्या समाधान गर्नुपर्ने उहाँको भनाइ थियो । “चिकित्सा शिक्षा नीतिका कारण नेपालबाट खर्बौं रुपैयाँ बाहिर गयो । बेरोजगारी बढायो । युवा बाहिर पठायौँ”, मन्त्री बस्नेतले भन्नुभयो । चिकित्सा शिक्षा ऐनलाई आवश्यकताअनुसार, समय अनुकूल संशोधन गर्दै जाने उहाँको भनाइ थियो । यसबाट निजी क्षेत्रका मेडिकल कलेज, नर्सिङ कलेजलाई गुणस्तरता कायम गर्दै शुल्क निर्धारणा गर्ने कार्यविधि बनाएर अनुगमन गर्ने उहाँले बताउनुभयो ।

चिकित्सा शिक्षा ऐन संशोधन गर्ने प्रक्रिया अघि बढेपछि कतिपय अनशन बस्ने कुरा आएको प्रसङ्गमा मन्त्री बस्नेतले भन्नुभयो, “जो जो अनशन बसुन् राज्यले खुट्टा कमाउनु हुँदैन ।” सरकारी अस्पतालले राम्रो सेवा दिनसक्यो र जनताको भरोसा जोगाउन सक्यो भने राज्यको स्वास्थ्य नीति सफल भएको ठानिने उहाँको भनाइ थियो । निजी विद्यालय, क्याम्पस र विश्वविद्यालयभन्दा सरकारीमा गुणस्तरका कारण विद्यार्थी बढे भने त्यहाँ शिक्षा सुध्रियो भन्ने सबैले बुझ्नुपर्ने मन्त्री बस्नेतले उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “स्वास्थ्य क्षेत्रमा निजी अस्पतालमा भन्दा गुणस्तरका कारण सरकारीमा बढी चाप हुन थाल्यो भने स्वास्थ्य नीति राम्रो छ भन्ने बुझिन्छ ।”

अहिले पनि उपचार गर्न नपाएर आत्महत्या गरेका घटना धेरै सुनिने गरेको भन्दै मन्त्री बस्नेतले निजी अस्पतालमा १० प्रतिशत श्यया अनिवार्य निःशुल्क गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “निःशुल्क नगर्ने अस्पतालको नवीकरण हुँदैन र नयाँ स्वीकृत पनि पाउँदैन ।” पैसाको अभावमा कसैको पनि उपचार नरोकिने भन्दै उहाँले भन्नुभयो, “गरिब र विपन्न बिरामीको उपचार गरेमा सरकारी अस्पताललाई सरकारले सोधभर्ना दिन्छ । गरिब र विपन्नले निःशुल्क उपचार पाउनुपर्छ ।” स्वास्थ्य क्षेत्रमा निकै कम दरबन्दी रहेको भन्दै छिट्टै थप गरिने मन्त्री बस्नेतको भनाइ थियो । 
कार्यक्रममा बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले विपन्न नागरिकले निःशुल्क उपचार पाउने बताउनुभयो । स्थानीय, प्रदेश र सङ्घीय अस्पतालमा विपन्नका लागि निःशुल्क उपचारको सुविधा रहेको भन्दै उहाँले भन्नुभयो, “उपचार अभावमा कसैको ज्यान जानु हुँदैन ।” अस्पतालमा उपकरण खरिद गर्दा अनावश्यकरुपमा तनाव र आरोप लगाइने गरेको उल्लेख गर्दै उहाँले काम पारदर्शीरुपमा गर्न निर्देशन दिनुभयो । भरतपुर अस्पताल सङ्घीय भए पनि प्रदेश सरकारकोतर्फबाट सहयोग गरिँदै आएको उहाँले बताउनुभयो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापा, अस्पताल विकास समितिका अध्यक्ष राजु पौडेल, प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा श्रीराम तिवारी, निक साइमन इन्स्टिच्युटका निर्देशक डा अर्चना अमात्य, अस्पतालका प्रसूति रोग विभाग प्रमुख प्रा डा सुनिलमणि पोखरेल, डा गोविन्द कँडेललगायतले आ–आफ्नो धारणा राख्नुभएको थियो । अस्पतालमा गत आवमा ११ हजार आठ सय ९८ शिशु जन्मिएका थिए । दैनिक ३० देखि ४० गर्भवती महिला प्रसूति सेवाका लागि अस्पताल आउने गरेको तथ्याङ्क छ ।

शैजला आचार्य हृदयरोग केन्द्र एक महिनाभित्र सञ्चालन गर्न मुख्यमन्त्री कार्कीको निर्देशन

मोरङ, २५ मङ्सिर : कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आगामी एक महिनाभित्र शैलजा आचार्य हृदयरोग उपचार केन्द्र सञ्चालन गर्न निर्देशन दिनुभएको छ । स्वास्थ्यमन्त्रीको समेत जिम्मेवारी सम्हाल्नु भएका मुख्यमन्त्री कार्कीले आज मन्त्रालयका कर्मचारीसँगको छलफलमा विराटनगर–१० रहेको केन्द्र अगामी एक महिनाभित्र सञ्चालन हुने गरी काममा कुनै किसिमको ढिलासुस्ती नगरी लाग्नुपर्ने बताउनुभयो ।

मुख्यमन्त्री कार्कीले स्वास्थ्य केन्द्र तथा मन्त्रालयका काम नागरिकको जीवनसँग जोडिएको विषय भएकाले कर्मचारीले विशेष गरी स्वास्थ्य सुरक्षाप्रति संवेदनशील भएर काम गर्नुपर्नेमा जोड दिनुभयो । “मन्त्रालयअन्तर्गत कुनै नयाँ अनुसन्धान गर्नुपर्ने आवश्यक भएमा नागरिकप्रति उत्तरदायी भएर गर्नुपर्छ”, उहाँले भन्नुभयो, “दुगर्म तथा ग्रामीण क्षेत्रमा सेवा प्रभावमा कुनै कमी हुनुहुदैन ।”

रकम अभावमा नागरिक उपचारविहीन अवस्था भएर मृत्यु हुन नदिने उद्देश्यले सबैले काम गर्नुपर्नेमा मुख्मन्त्री कार्कीले जोड दिनुभयो । छलफलका क्रममा ओखलढुङ्गाका साथै अन्य एक अस्पतालमा आगामी १५ दिनभित्र विशेषज्ञसहित उपचार सेवा सञ्चालनका लागि आवश्यक व्यवस्था गर्न उहाँले कर्मचारीलाई निर्देशन दिनुभयो ।

मन्त्रालयकी सचिव डा सुधा देवकोटाले मन्त्रालयअन्तर्गतका कार्यालयमा समन्वयको अभाव रहेकाले सोको व्यवस्था गर्न मुख्यमन्त्री समक्ष आग्रह गर्नुभयो । मन्त्रालयअन्तर्गतका प्रदेश आपूर्ति व्यवस्था, स्वास्थ्य कार्यालय, प्रदेश प्रयोगशालालगायत कार्यालयका प्रमुख एवं कर्मचारीले आ–आफ्नो कार्यालयले प्रदान गर्ने सेवाका विषयमा मुख्यमन्त्री कार्कीलाई जानकारी गराएका थिए ।

हाम्रो वास्तविकताका आधारमा संसद अघि बढछ : सभामुख घिमिरे

काठमाडौँ, २५ मङ्सिर : सभामुख देवराज घिमिरेले लोकतन्त्रको असल अभ्यासमा रहेका मुलुकबाट सिकेर हाम्रो आफ्नो वास्तविकताका आधारमा सदन र ससदीय समितिलाई अघि बढाइने बताउनुभएको छ । आज १७औँ सङ्घीय संसद् सेवा दिवसका अवसरमा आयोजित ‘संसद सेवाको प्रभावकारिता’ विषयक अन्तरक्रियामा सभामुख घिमिरेले मुलककै सर्वाेच्च विधायिकीलाई विशिष्ट तुल्याउने गरी कार्यसम्पादन गर्न सचिवालयका कर्मचारीलाई निर्देशन दिनुभयो ।

उहाँले भन्नुभयो, “संसद सर्वाेच्च विधायिकी संस्था हो, यो अहिले त्यो अवस्थामा छ कि छैन ? हामी सबै मिलेर मेहनतकासाथ सदनलाई सर्वाेच्च संस्था बनाउनुपर्छ । सदनलाई गरिमायुक्त र नतिजामुखी तुल्याउने ढङ्गले काम गरौँ ।”

संसदलाई प्रभावकारी तुल्याउन कर्मचारीमा इमान्दारीका साथ काम गर्ने प्रण हुनुपर्छ भन्दै सभामुख घिमिरेले कतिपय संस्थामा योग्य कर्मचारी भएपनि परिणाम दिन सकेको उदाहरण प्रस्तुत गर्नुभयो ।

उहाँले भन्नुभयो, “जनताका प्रतिनिधिसँग सिधै काम गर्ने, कानून तर्जूमाको जिम्मेवारीमा रहने भएकाले संसद् सेवाका कर्मचारी मर्यादित र अनुशासित ढङ्गबाट कार्यसम्पादन गर्नेतर्फ सजग र सचेत हुनुपर्छ ।”

त्यस अवसरमा राष्ट्रियसभा सदस्य डा खिमलाल देवकोटाले संसद् र संसद् सचिवालयको प्रभावकारिता विषयमा कार्यपत्र प्रस्तुत गर्दै कार्यपालिकाले शक्ति सन्तुलनको मर्म विपरीत सङ्घीय संसदलाई थोरै रकम विनियोजन गरिएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “चालु आर्थिक वर्षमा सरकारले प्रस्तुत गरेको रु १७ खर्ब ५१ अर्बको बजेटबाट ससदलाई जम्मा रु एक अर्ब २२ करोड मात्र रकम विनियोजन भएको छ । छिमेकी मुलुकमा एक सांसद बराबर छ जना विशेषज्ञसहितका सहयोगी कर्मचारी रहने गरेको पाइएकामा नेपालमा भने एक बराबर एक मात्रै छ । प्रदेश संसदको समेत सङ्घीय ससदले अभिभावकत्व लिनुपर्छ ।”

प्रतिनिधिसभाका सचिव पद्मप्रसाद पाण्डेयले सचिवालयका कर्मचारीमा उत्प्रेरणाको अवस्था कम्जोर मात्र होइन आवश्यक उपकरण र दक्ष जनशक्तिको समेत कमी रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “आर्थिक अवस्था कमजोर भएकाले गुणस्तरीय सेवा प्रदान गर्न नसक्दा राज्यको उद्देश्य प्राप्ति नभएको मात्र होइन,  कर्मचारीको मनोबल समेत कम्जोर भएको छ ।”

संसद दिवस मूल समारोहका संयोजक एवं सचिवालयका सचिव डा रोजनाथ पाण्डेले आफनो बुद्धि र विकेकले भ्याएसम्म जिम्मेवारी पूरा गरिरहेका विशिष्टकृत  संसद सेवाका कर्मचारीको पीर मर्का हेरिदिने कस्ले भन्ने प्रश्न उब्जेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “संसद सेवाका कर्मचारी कुनै ‘बाद’का आधारमा नभई व्यवसायिकरुपमा रुपमा काम गरिरहनुभएको छ, उहाँहरुको सेवा सुविधा र उत्प्रेरणा दिने काममा अभिभावकले विशेष ध्यान पु¥याउनु पर्ने देखिन्छ ।”

वरिष्ठ पत्रकार हरिबहादुर थापाले कार्यपत्र प्रस्तुत गर्दै लोकतन्त्रको मन्दिर मानिएको सङ्घीय संसदले उच्च मनोबलकासाथ गुणस्तरीय कानून निर्माणमा ध्यान दिन आवश्यक रहेको बताउनुभयो ।

संसद सचिवालयका सहसचिव बविता मिश्रले मुलुकको नीतिगत तथा कानूनी व्यवस्था गर्ने संसद सेवाप्रतिको चासो पछिल्लो समय निकै खस्केको विषय परीक्षामा सहभागिता, नतिजा र टिकाइ राख्न देखिएको चूनौतिले छर्लङ तुल्याएको बताउनुभयो । 

देशमा निजामती सेवाबाट संसद सेवा अलग भएका दिन प्रत्येक वर्ष मंसिर २८ गते संसद सेवा दिवस मनाइने गरिएको छ । दुई सदनात्मक सङ्घीय संसद सञ्चालन र व्यवस्थापनका लागि संसद सचिवालयले काम गर्दै आएको छ । 

कतारका प्रधानमन्त्रीसँग परराष्ट्रमन्त्री एनपी साउदको भेटवार्ता


काठमाडौँ, २५ मङ्सिर : कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुल रहमान अल–थानीसँग परराष्ट्रमन्त्री एनपी साउदले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । कतारको राजधानी दोहामा उहाँहरुबीच आज शिष्टाचार भेटवार्ता भएको मन्त्री साउदको सचिवालयले जनाएको छ

भेटवार्ताका क्रममा परराष्ट्रमन्त्री साउदले हमासद्वारा बन्दी बनाइएका नेपाली विद्यार्थी विपिन जोशीको शीघ्र रिहाइका लागि थप सशक्त पहल गरिदिन विशेष अनुरोध गर्नुभएको मन्त्रीका स्वकीय सचिव दीपक जोशीले जानकारी दिनुभयो ।

परराष्ट्रमन्त्री साउदले हमाससँग कतारको सम्पर्क, मध्यपूर्वको समस्यामा कतारले निर्वाह गरिरहेको सक्रिय मध्यस्थकर्ताको भूमिका एवम् कतार र नेपालबीचको जनस्तरलगायतको गहिरो र मित्रवत् सम्बन्धका आधारमा यस मानवीय मामिलामा कतार अधिराज्यसँग नेपाल सरकारले उच्च आशा गरेको बताउनुभयो ।

जवाफमा कतारका प्रधानमन्त्री अल थानीले विपिन जोशीलगायत विदेशी बन्दीहरुको रिहाइका लागि कतार सरकारले उच्च प्रयास गरिरहेको बताउनुभएको थियो । उहाँले चाँडै सकारात्मक परिणाम आउनसक्ने सङ्केतसमेत गर्नुभयो । उहाँले नेपालसँगको सम्बन्धलाई कतार सरकारले प्राथमिकतामा रहेको पनि बताउनुभयो ।

परराष्ट्रमन्त्री साउदले कतारका प्रधानमन्त्री अल थानीसँग व्यापार र लगानीका विषय, कतार फ्रन्ट फर डेभलपमेन्टबाट हुने विकास सहयोग, आगामी उच्चस्तरीय भ्रमण आदि विषयमा समेत कुराकानी गर्नुभयो ।

परराष्ट्रमन्त्री साउद दोहामा जारी विभिन्न मुलुकका राष्ट्रप्रमुख, सरकार प्रमुख, विदेशमन्त्री, निजी क्षेत्र, विषय विज्ञ, सञ्चारकर्मी सम्मिलित दोहा फोरम २०२३ मा प्यानलिस्टका रुपमा समेत सहभागी हुनुभएको स्वकीय सचिव जोशीले बताउनुभयो ।

नेपालमै किन लगानी गर्ने भन्ने प्रश्नको जवाफ हामीसँग छ : अर्थमन्त्री डा महत

काठमाडौँ, २५ मङ्सिर : अर्थमन्त्री डा प्रकाशशरण महतले अन्य देशको तुलनामा नेपालमै किन लगानी गर्ने भन्ने लगानीकर्ताले सोध्ने प्रश्नको जवाफ आफूसँग रहेको बताउनुभएको छ ।

आगामी वैशाख ९ र १० गते काठमाडौँमा आयोजना हुने तय भएको तेस्रो लगानी सम्मेलनबारे आज अर्थ मन्त्रालयमा विकास साझेदारसँगको छलफलपछि मन्त्री डा महतले भन्नुभयो, “नेपालमा धेरै माग छ, आपूर्ति कम छ । त्यसकारण नेपाल लगानीका लागि उत्कृष्ट गन्तव्य हो । नेपालमा जलविद्युत्, पर्यटन, सूचनाप्रविधि, कृषि लगानीका सम्भावित उर्वर क्षेत्र हुन् ।”

लगानीकर्ताले नेपालमा लगानीको वातावरणबारे के सोच्छन् र हामीले के कुरामा सुधार गर्नुपर्छ भन्नेमा आफू लागेको अर्थमन्त्री डा महतको भनाइ छ । “साना तथा मझौला उद्यममा पनि लगानी गर्न सकिन्छ । नेपालमा लगानीका लागि धेरै सम्भावनाका क्षेत्र छन् । लगानीका क्षेत्रमा देखिएका समस्या हटाउन सरकारले गम्भीर भएर काम गरिरहेको छ”, उहाँले भन्नुभयो ।

त्यस अवसरमा लगानी सम्मेलनलाई कसरी प्रभावकारी र नतिजामुखी बनाउन सकिन्छ भन्नेबारे विकास साझेदारसँग छलफल भएको थियो । विकास साझेदारका अनुभवका आधारमा दिइने सुझावलाई आत्मसात गर्दै कस्ता लक्ष्य र उद्देश्य लिनुपर्छ भन्नेबारेमा छलफल भएको उहाँले बताउनुभयो ।

“सम्पत्ति शुद्धीकरणसँग सम्बन्धित विधेयक संसद्बाट चाँडै पारित भएर आउँछन् । हामी लगानी सम्मेलन अगावै नेपालको सार्वभौम साख मूल्याङ्कन (कन्ट्री रेटिङ)को काम सक्छौँ । सबै खालका समस्या र चुनौती हटाउन लागिपरेका छौँ”, विकास साझेदारसँगको छलफलका क्रममा अर्थमन्त्री महतले भन्नुभयो ।

छलफलमा मुख्य सचिव डा बैकुण्ठ अर्यालले लगानीकर्ताले गर्ने प्रतिबद्धताअनुसारको लगानी प्राप्तिका लागि नीतिगत र प्रक्रियागत सुधार भइरहेको जानकारी दिनुभयो । उहाँका अनुसार तेस्रो लगानी सम्मेलन आयोजनाका लागि सरकारले आन्तरिक तयारी तीव्र पारेको छ ।

सम्मेलन आयोजना गर्नका लागि गठित निर्देशक र कार्यान्वयन समितिको बैठक बसिसकेको छ । सार्वजनिक–निजी साझेदारीमा नेपालमा लगानी गर्नका लागि के कस्ता कानुनी र प्रक्रियागत समस्या समाधान गर्न आवश्यक छ भन्नेबारे छलफल भएको जनाइएको छ । सम्मेलनका क्रममा ‘सोकेस’मा राखिने आयोजनाको पूर्वतयारीका विषयमा पनि छलफल भएको थियो ।

अगामी वैशाख ९ र १० गते काठमाडौँमा अन्तर्राष्ट्रियस्तरको लगानी सम्मेलन गर्ने सरकारको तयारी छ । सम्मेलन आयोजना गर्न अर्थमन्त्रीको संयोजकत्वमा निर्देशक समिति, मुख्य सचिवको संयोजकत्वमा कार्यान्वयन समिति र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव संयोजकत्वमा प्राविधिक समिति गठन गरिएको छ ।

निर्देशक समितिको पहिलो बैठक मङ्सिर १० गते र कार्यान्वयन समितिको पहिलो बैठक मङ्सिर १९ गते बसेको थियो । प्राविधिक समितिको बैठक भने अझै बस्न सकेको छैन ।

सम्मेलनको कार्यतालिका र ढाँचा स्वीकृत गर्ने, लगानी गर्ने वातावरण बनाउनका लागि आवश्यक नीतिगत सुधारका क्षेत्र पहिचान गर्ने र सम्मेलनको समग्र पक्ष हेर्ने काम निर्देशक समितिको हो । अर्थमन्त्रीको संयोजकत्वमा गठित उक्त समितिमा परराष्ट्र, ऊर्जा, भौतिक पूर्वाधार, संस्कृति पर्यटन, उद्योग, कृषि, सहरी र सङ्घीय मामिलामन्त्री, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, मुख्य सचिव, नेपाल राष्ट्र बैंकका गभर्नर, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव, अर्थ सचिव, उद्योग सचिव, निजी क्षेत्रका तीन छाता संस्थाका अध्यक्ष सदस्य छन् ।

निर्देशक समितिमा पेस गर्ने प्रस्ताव तयार गर्ने, सम्बद्ध सरोकारवालासँग आवश्यक समन्वय गर्ने र सम्मेलनको समग्र तयारीका लागि निर्देशक समितिलाई आवश्यक सहयोग गर्ने जिम्मेवारी कार्यान्वयन समितिको हो । मुख्य सचिवको संयोजकत्वमा विषयगत मन्त्रालयका सचिव, राष्ट्र बैंकका डेपुटी गभर्नर र निजी क्षेत्रका छाता संस्थाका अध्यक्ष सदस्य रहनेगरी कार्यान्वयन समिति बनाइएको छ ।

लगानी सम्मेलनमा प्रस्तुत हुने आयोजनाको स्थिति विश्लेषण गरी परियोजनाको अवधारणा बनाउने, सम्मेलनमा प्रस्ताव गर्ने आकर्षक र भरपर्दो आयोजनाको विकास गर्ने, सम्मेलनमा गरिने विभिन्न समझदारीपत्र तथा सम्झौताको आवश्यक तयारी गर्नेलगायत कामका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सचिव संयोजक रहने गरी विभिन्न विषयगत मन्त्रालयका सहसचिवसहितको प्राविधिक समिति बनाइएको छ ।

कानुन निर्माणमै केहीको पहुँच र प्रभाव देखिन्छ–नेता लुवार

काठमाडौँ, २५ मङ्सिर : ठकुरी समुदायको बाहुल्य रहेको कालीकोटको रास्कोटमा तत्कालीन पञ्चायती व्यवस्थामा निर्वाचित प्रधानपञ्च नरपति लुवार अहिले समाजका विभिन्न क्षेत्रमा ख्यातिप्राप्त प्रबुद्ध समूहको प्रतिनिधित्व रहने राष्ट्रियसभा सदस्य हुनुहुन्छ । बर्दियाको राजापुर पुगेर लत्ताकपडा, नुन, तेलसहित अत्यावश्यक वस्तु खरिद गरी ढाकर बोकेर जङ्गल र ओढारमा १५ दिनसम्म बास बस्नुपरेको घटना स्मरण गर्दै उहाँ अहिले स्थानीय तहका प्रत्येक वडामा मोटर बाटो देख्दा अचम्म अनुभव गर्नुहुन्छ ।

तत्कालीन राजा वीरेन्द्रसँगको भेटमा कर्णालीका लागि बाटो माग्दा यहाँको भूगोलले त्यो माग नगरेको भन्ने जवाफ पाएका लुवार कच्ची नै भए पनि अहिले बाटो विस्तार र टोलमै खाद्य सामग्रीका पसल खुल्दा निकै खुसी भएको प्रतिक्रिया दिनुहुन्छ । सांसद लुवारका अनुसार अत्यावश्यक वस्तुको जोहो गर्ने सन्दर्भमा पिँठ्युमा महिनौँ ढाकर बोक्नुपर्ने अवस्था अन्त्य होस् भनी एक पटकको भेटमा बिन्तीपत्र दिँदा तत्कालीन राजाले सडक नभई पानीजहाजका लागि कोसिस गर्ने भनी सुनाएका थिए ।

‘सांसदसँग रासस संवाद’ मा नेता लुवारले अहिले बाटो जति नै नराम्रो र कच्ची नै भए पनि जिल्लाका जुनसुकै भागबाट दुई घन्टामा सदरमुकाम पुग्न सकिने जिकिर गर्नुभयो ।

मुलुकमा बहुदलीय प्रजातन्त्रको पुनःस्थापनापछि तत्कालीन नेकपा (एमाले) का महासचिव मदन भण्डारीका पुस्तक अध्ययनका आधारमा सो पार्टीमा आबद्ध लुहार विसं २०४९ मा भने वडाध्यक्षमा निर्वाचित हुनुभएको थियो ।

उहाँले दलित समुदायले उच्च जातिका घरआँगन र कोठाचोटामा टेक्न नपाइने अवस्थामा तत्कालीन नेकपा (माओवादी) को सशस्त्र विद्रोहले जातीयता र विभेद अन्त्य गर्न केही सहयोग पु¥याए पनि उसको अत्याचारका घटनाले गाउँ नै छाड्न बाध्य बनाएको घटना सुनाउनुभयो । उहाँ तत्कालीन माओवादीले तीन पटक अपहरण गरेपछि घर छाडेर ज्यान जोेगाउन करिब आठ वर्ष कैलाली र भारत पलायन हुनुपरेको थियो । उहाँ नेपालमा विद्रोही शक्ति र सात राजनीतिक दलबिचको शान्तिवार्तापछि गाउँ फर्केर पार्टी सम्पर्कमा आउनुभएको थियो । नेकपा (एमाले) जिल्ला कमिटी सचिवालय सदस्य तथा तत्कालीन नेकपा प्रदेश कमिटी सदस्यको अनुभव सम्हाल्नुभएका लुवारले निर्वासनमा बस्नुपरेको र सङ्गठन विस्तारमा योगदान नभएका कारण टिकट पाए पनि चुनाव लड्न सक्नुभएको थिएन ।

विसं २०७४ मा पार्टीले राष्ट्रियसभा सदस्यको टिकट दिएर सम्मान गरेको जनाउँदै नेता लुवारले राष्ट्रिय सञ्जालमा सडक र बत्ती जोडिए तापनि प्रायः सबै सरकारको कर्णालीमैत्री दृष्टिकोण नरहेको आरोप लगाउनुभयो । उहाँका अनुसार कर्णालीमा विगतका तुलनामा केही विकास भए पनि हुनुपर्ने जति भएको छैन । संविधानले जातीय छुवाछूतको प्रथा हटाए पनि यहाँ अझै जातीय विभेद विकराल छ । रुढीवादी परम्परा हटिनसकेकाले कुकुरलाई घरभित्र पस्न र बस्न दिइए पनि त्यहाँका दलितलाई त्यो अधिकार छैन ।

मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेपछि महिला र दलित समुदायको राजनीतिक दल र राज्यका विभिन्न संरचनामा नेतृत्व र पहुँच स्थापित भए पनि कानुन कार्यान्वयनमा भइरहेको ढिलाइले संविधानप्रदत्त कैयाँै अधिकार प्राप्ति गर्न चुनौती झेल्नुपरेको भनाइ उहाँले राख्नुभयो ।

सङ्घीय संसद्को माथिल्लो सभा सदस्य लुवारले स्थायी सदनमा समेत कानुन निर्माण र पारित गर्नमा केहीको मात्र पहुँच र प्रभाव देखिने गरेको विचार प्रकट गर्नुभयो । उहाँले भन्नुभयो, “प्रतिनिधिसभाका तुलनामा राष्ट्रियसभालाई बजेट र अन्य सुविधालगायत हरेक हिसाबले छायामा पारिएको छ । जनताले प्राप्त गर्ने अधिकार र कानुन पनि सबैलाई समान किसिमले प्रदान गरिएको तथा प्रयोग भएको देखिन्न ।”

नेता लुवारका अनुसार प्रतिनिधिसभा सदस्यलाई सांसद विकास कोषको रकम छुट्याइयो । कोषको रकम खर्च गर्न बनाइएको संरचनाको संयोजक पनि उनीहरूलाई नै बनाइयो । राष्ट्रियसभा सदस्यलाई भने अन्याय भएको कुरा प्रधानमन्त्रीलाई भनियो तर त्यसको सुनुवाइ भएन । नाम ‘अपर हाउस’ राखिए पनि काम र सेवा सुविधामा भने प्रतिनिधिसभाभन्दा तल पारियो । मर्यादित सभा भएकाले कतिपय विषयमा चित्त नबुझे पनि प्रतिनिधिसभा जस्तो नारा लगाउने, सदन अवरुद्ध गर्ने र चर्काे स्वरले विरोध नगरिएको मात्र हो ।

एक प्रसङ्गमा उहाँले कानुन निर्माणको मुख्य दायित्वलाई पन्छाएर विकास निर्माणमै स्थायी सदनका सदस्य केन्द्रित भएजस्तो आफूले नबुझेको र नलागेको मात्र होइन, देखेकै छैन भन्नुभयो । माथिल्लो सदन मातहतका सबै समितिलाई राष्ट्रिय गौरवलगायत आयोजना अवलोकन र त्यस सम्बन्धमा निर्देशन दिने अधिकार रहेको बताउँदै उहाँले बनेका कानुनको प्रभावकारी कार्यान्वयन नहुँदा भ्रष्टाचारको आयतन र उचाइ बढ्नाका साथै सुशासन कमजोर भएको धारणा राख्नुभयो ।

मुलुकमा भएका कतिपय घटनामा संलग्न दोषी पहुँचकै आधारमा कानुनी कठघराबाट उम्किएको घटनाले ठूलालाई होइन, सानालाई मात्रै कानुन भन्ने देखिएको जिकिर गर्दै नेता लुवारले राज्य र मातहतका निकायबाट कानुन कार्यान्वयनमा बेवास्ता गरिएको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो, “ठूलालाई कानुन नलाग्ने तर सानोलाई मात्र लाग्ने अवस्था अहिले देशमा देखिएको छ । यस अवस्थाको अन्त्य नभएसम्म मलाई देशले कोल्टो फेर्दैन भन्ने लाग्छ ।”

विगतमा रु २० हजार बजेटबाट जनताको सहभागितामा निकै प्रभावकारी ढङ्गबाट काम गरिएको अनुभव सुनाउँदै सांसद लुवारले अहिलेका सत्ता सञ्चालक र नेतामा आफ्नो दासत्वमा जनता चल्नुपर्छ भन्ने सोच रहेको प्रतिक्रिया दिनुभयो । उहाँका अनुसार धेरै पटक प्रधानमन्त्री भइसक्नुभएका नेताकै जिल्लामा विकास र जनताले प्राप्त गर्ने सेवासुविधा निकै प्रभावकारी हुनुपर्ने जस्तो लागे पनि त्यस्तो देखिएन । को व्यक्ति कति पटक प्रधानमन्त्री भए र उनका पालामा के कति काम भयो भनी जनताले मूल्याङ्कन गरिरहेका छन् ।

एक अर्काे प्रसङ्गमा उहाँले राजनीतिक दलका ठुलाबडा भनिएका नेतामा नै विदेश भ्रमणप्रतिको उत्कट मोह देखिने गरेको बताउँदै त्यसै कारण देशको संविधान निर्माणकर्ताकै परिवारले समेत आफ्नो अभिभावक भेट्न नपाएको घटना सुनाउनुभयो ।

समानखाले गुणस्तरीय शिक्षा र योग्यता तथा क्षमतानुरूपको रोजगारी नभएकै कारण युवा विदेश पलायन प्रवृत्ति बढिरहेको बताउँदै नेता लुवारले सडक कालोपत्र र ग्रामीण विद्युतीकरण जिल्लाको प्राथमिकताको विषय भएको जानकारी दिनुभयो ।

चीनको बेजिङलगायत सहर र मानसरोवरको अवलोकनमा देखिको विकास र आधुनिकताको प्रसङ्ग उल्लेख गर्दै उहाँले भन्नुभयो, “चीनमा पनि कम्युनिस्टकै सरकार हो नि, नेपालमा चाहिँ मनमा अर्कै, विचार सामन्ती चरित्र भएका कम्युनिस्टका खोल ओढेका मात्रै पार्टी भए ।” छिमेकी चीनका मानिसको बोल्ने शैली, गर्ने व्यवहार, जनताले प्राप्त गर्ने सुविधाबारे चर्चा गर्दै सांंसद लुवारले नेताले आफ्नो पुरानो चरित्र र व्यवहार अन्त्य गरी नयाँ सोचका साथ अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

कानुन निर्माणमा बागमती प्रदेश अगाडि : सभामुख पाठक

भक्तपुुर, २५ मङ्सिर : बागमती प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले बागमती प्रदेश ऐन, नीति, नियम, कानुन निर्माणलगायतका गतिविधिमा अगाडि रहेको बताउनुभयो ।

बागमती प्रदेशसभा सचिवालयद्वारा संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम, संसद् सहयोग परियोजनाको सहकार्यमा आयोजित अभिमुखीकरणमा उहाँले यस्तो बताउनुभएको हो । प्रदेशसभाका विषयगत समितिका सभापति, सदस्य र सचिवको लागि प्रभावकारी समिति सञ्चालन र तथ्यमा आधारित कानुन निर्माण तथा संसदीय निगरानीसम्बन्धी दुईदिने कार्यक्रममा सभामुख पाठकले बागमती प्रदेशसभाले गरेको हरेक काम र गतिविधि अरु प्रदेशका लागि पनि सिकाइ र उदाहरणीय बन्न सक्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “प्रदेशको ऐन, नियम, कानुन, विधेयक निर्माणलगायतका काममा प्रदेशसभाका विषयगत समितिको ठूलो भूमिका रहन्छ, साथै सरकारको विभिन्न कार्यलाई सक्रिय बनाउने, अध्ययन अनुसन्धान गर्ने दायित्व पनि समितिकै रहेको हुन्छ ।”

संसद्को मुख्य काम ऐनको रुप दिनु भए पनि त्यसअघि ऐन निर्माणका लागि सूक्ष्मरुपमा अध्ययन गर्ने, विश्लेषण गर्ने र आवश्यकताअनुसार थपघट गर्ने काम समितिले कै भएको उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, “सामान्यतया विधेयक सरकारले नै ल्याउने हो, तर विधेयक निर्माणको क्रममा त्यसकोबारेमा अधिकतम छलफल गर्ने, त्यसको अध्ययन अनुसन्धान गर्ने, अनुसन्धान गर्ने परम्परा हुनु पर्ने हो, त्यो हुन सकेको छैन ।”

कार्यक्रममा उपसभामुख अप्सरा चापागाईले प्रदेशसभाका विषयगत समिति प्रदेशसभा र सरकारको काममा सहयोग गर्न सक्रिय हुनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा प्रदेशसभाका सचिव कृष्णहरि खड्का, अर्का सचिव पूर्णबहादुर दर्जीलगायतले कार्यक्रमको उपलब्धिका बारेमा चर्चा गर्नुभयो ।

दिवङ्गत पितृको सद्गतिको कामना गर्दै शिवालयमा शतबीज छरियो

काठमाडौँ, २५ मङ्सिर : दिवङ्गत पितृको सद्गतिको कामना गर्दै पशुपतिनाथलगायत देशभरका शिवालयमा शतबीज छरिएको छ । आइतबार रातभर दीपदान गरी बसेका भक्तजनले मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन आज बिहानै पितृको सम्झनामा शतबीज छरी बालाचतुर्दशी पर्व मनाएका छन् ।

बालाचतुर्दशी पर्व मनाउन देशका विभिन्न स्थानबाट आएका भक्तजनको पशुपतिनाथमा बाक्लो उपस्थिति थियो । पशुपतिनाथ आउन नसक्ने भक्तजनले भने आआफ्ना घर नजिकैको शिवालयमा त्रयोदशीको बेलुकीदेखि महादीपदान गरी चतुर्दशीका दिन बिहान शतबीज छर्ने गर्छन् ।

बत्ती बाल्न बस्ने ठाउँ रोक्न आइतबार बिहानैदेखि देशका विभिन्न स्थानबाट आएका भक्तजनको पशुपतिमा भीड लागेको थियो । आफ्नो परिवारभित्रका दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै १०८ शिवलिङ्ग, कैलाश, सूर्यघाट, गौरीघाट, आर्यघाट, गुह्येश्वरी, पशुपति, मृगस्थली, विश्वरूप र किराँतेश्वर आदि ठाउँमा शतबीज छर्ने गरिन्छ ।

रुकुम (पूर्व) मा फलाम खानी उत्खननको लागि पुनः अध्ययन गरिँदै

रुकुम (पूर्व), २५ मङ्सिर : रुकुम (पूर्व) मा फलाम खानीको विस्तृत अध्ययन पुनःथालिएको छ । भूमे गाउँपालिकामा फलाम खानी भएको पत्ता लागेपछि भूगर्भविद्ले गत साताबाट उत्खनन्को लागि सम्भाव्यता अध्ययन सुरु गरेका हुन् । खानी तथा भूगर्भ विभागका भूगर्भविद् सुजन देवकोटा र सौनक भण्डारीको समूहले भूमे –३ स्थित झुम्लाबाङमा अध्ययन सुरु गरेको हो ।

आर्थिक अभावले सो क्षेत्रको विस्तृत अध्ययन अहिलेसम्म अघि बढ्न सकेको थिएन । भूमे गाउँपालिकाका अध्यक्ष होमप्रकाश श्रेष्ठले गाउँपालिकाको विभिन्न क्षेत्रमा फलाम खानीको बारेमा अध्ययन सुरु भएको बताउनुभएको छ । हाल फलाम खानी पत्ता लागेको भनिएको ठाउँमा एक सय वर्षअघिसम्म तामा खानी उत्खनन हुने गरेको स्थानीयले जानकारी दिएका छन् । तत्कालीन समयमा तामा खानी उत्खनन गर्दा भूमे गाउँपालिकाको २, ३, ४ र ५ नम्बर वडाको विभिन्न ठाउँमा बनेका ठूला खाडल र सुरुङ अहिले पनि देख्न सकिने अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । गत वर्ष तीनै ठाउँमा फलाम रहे नरहेको अध्ययन गर्दा फलाम खानी रहेको पत्ता लागेपछि अहिले उत्खननको लागि विस्तृत अध्ययन थालिएको उहाँले बताउनुभयो ।

“गत साल गरिएको अध्ययनबाट हम्रो गाउँपालिकाको झुम्लाबाङमा फलाम खानी भएको कुरा पत्ता लाग्यो”, अध्यक्ष श्रेष्ठले भन्नुभयो, “झुम्लाबाङमा फलाम खानी रहेको पत्ता लगेको छ ।” रुकुम पूर्वमा हालसम्म खानी तथा भूगर्भ विभागमले फलाम र तामा खानीको बारेमा तीन पटकसम्म अध्ययन गरिसकेको जनाइएको छ ।

कर्णालीमा बालबालिकाको क्षेत्रमा सरकारको लगानी न्यून


भेरीगङ्गा (सुर्खेत), २५ मङ्सिर : बालबालिकाको क्षेत्रमा कर्णाली प्रदेश सरकारको लगानी न्यून रहेको पाइएको छ । कर्णाली प्रदेश सरकारसँगको समन्वयमा बालबालिकाको क्षेत्रमा काम गर्दै आएको बालअधिकारका लागि साझा अभियान कर्णाली प्रदेशले गरेको अध्ययनका अनुसार तीन आर्थिक वर्षको बजेटलाई विश्लेषण गर्दा एक प्रतिशत मात्रै बजेट विनियोजन भएको देखिएको छ ।

प्रदेश सरकारले विनियोजन आव २०७८/०७९ देखि आव २०८०/८१ सम्मको बजेटलाई विश्लेषण गरिएको थियो । यसअन्तर्गत आव २०७८/७९ मा प्रदेश सरकारले छुट्याएको रु ३८ अर्ब ४७ करोड ४२ लाख ७९ हजार कूल बजेटमध्य १४ करोड ९० लाख १७ हजार सात सय ७३ अर्थात् १ दशमलव २८ प्रतिशत मात्रै बालबालिकाको क्षेत्रमा बजेट विनियोजन भएको थियो ।

त्यसैगरी, आव २०७९/०८० मा बालबालिकाको क्षेत्रमा बजेट घटेको देखिएको छ । कूल बजेट रु ३२ अर्ब ६१ करोड ६१ लाख ६३ हजार बजेटमध्ये बालबालिकाको क्षेत्रमा रु २८ करोड १४ लाख २८ हजार आठ सय आठ अर्थात् ० दशमलव ८६ प्रतिशत मात्रै बजेट विनियोजन भएको छ ।

यस्तै, चालु आवमा समेत बालबालिकाको क्षेत्रमा बजेट १ दशमलव ०७ प्रतिशत मात्रै विनियोजन भएको छ । यस वर्ष सरकारले रु ३३ अर्ब ३७ करोड ९७ लाख बजेट विनियोजन गरेकोमा बालबालिकाको क्षेत्रमा रु ३५ करोड ५८ लाख २५ हजार ५२ मात्रै विनियोजन भएको सिसीआर कर्णाली प्रदेशका अध्यक्ष टेकराज आचार्यले जानकारी दिनुभयो । बजेट विश्लेषण गर्दा बाल अधिकारका चार क्षेत्रलाई समावेश गरिएको थियो भने विद्यालय पूर्वाधार निर्माणलाई समेत बालबालिको क्षेत्रमा बजेट मानिएको छ ।

यसैबीच बजेट विश्लेषण समीक्षा कार्यक्रममा सरोकारवालाले बालबालिकाको क्षेत्रमा लगानी बढाउन तिनै तहका सरकारले प्राथमिकता दिन आग्रह गरिएको छ । उनीहरुले बालबालिकामा लगानी गरे मात्रै समृद्धि हासिल हुने जनाउँदै तिनै तहका सरकारले त्यहीअनुसारको योजना र कार्यक्रम ल्याउनुपर्नेमा जोड दिएका हुन् ।

सिसीआर कर्णाली प्रदेशका अध्यक्ष आचार्यले प्रदेश सरकारले बालबालिकामा लगानी गर्न नसकेको जनाउँदै यस्तो अभ्यासले समृद्धि हासिल गर्न नसकिने बताउनुभयो । गैरसरकारी संस्था महासङ्घका सुर्खेतका अध्यक्ष प्रकाश सारु मगरले पनि बालबालिकामा लगानी बढाउन सरकारलाई सुझाव दिनुभयो ।

कार्यक्रममा विभिन्न सरोकारवालाले बजेट विश्लेषण नतिजाले बालबालिकाप्रति सरकार संवेदनशील नदेखिएको गुनासो गरेका थिए । कार्यक्रममा कर्णाली प्रदेशसभा सदस्य एवं सामाजिक विकास समितिका सभापति घनश्याम भण्डारीले बालबालिकामा लगानी बढाउन आवश्यक रहेको जनाउँदै त्यसको लागि आफूले पहल गर्ने प्रतिबद्धता जनाउनुभयो ।

बालअधिकार महासन्धि १९८९ मा बाल बचाउ, बाल संरक्षण, बाल विकास, बाल सहभागिताको अधिकारको व्यवस्था गरेको, नेपालको संविधान धारा ३४ मा बालबालिकाको मौलिक हकको व्यवस्था गरिएको छ ।

बालबालिकासम्बन्धी ऐन २०७५ अनुसार राज्यको दायित्वको व्यवस्थासमेत गरिएको छ । तर सरकारले भने बालबालिकाका सवाललाई खासै चासो नदिएको सरोकारवालाले बताएका छन् ।

विद्युतको नाङ्गो तारले हाँगा छुन थालेपछि सुन्तलाको बगैँचा पस्न डराउँछन् दोसल्लेवासी

म्याग्दी, २५ मङ्सिर :म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेका प्रेम पाइजा बगैँचामा फलेको सुन्तलाको दाना कसरी टिप्ने भन्ने चिन्तामा हुनुहुन्छ । दोसल्लेकै रेबहादुर पुनको फल दिने भएका सुन्तलाका बोट बिजुलीको तारले छुन थालेपछि मर्न थालेका छन् । ४२ घरधुरीको बसोबास रहेको दोसल्लेका बासिन्दाले पूरै गाउँमा सुन्तलाखेती गरेका छन् । नौ हजार सुन्तलाको बोट भएको बगैँचाको बीचमा रहेको ११ केभी क्षमताको विद्युतको नाङ्गो तारले हाँगा छुन थालेको छ । बगैँचाभित्र पस्न विद्युत्को करेन्ट लागेर दुर्घटना हुने जोखिम रहेको अन्नपूर्ण गाउँपालिकाका पूर्वउपाध्यक्ष केशमाया मगरले बताउनुभयो ।

“सुन्तलाको बोटले बिजुलीको वितरण लाइनको तार छोएकाले बगैँचामा जाँदा करेन्टको झट्का आउँछ”, दोसल्ले व्यावसायिक सुन्तला कृषक समूहका अध्यक्ष पाइजाले भन्नुभयो, “तारमा छोइएर सुन्तलाको बोट मर्न थालेका छन् । रहेका बोटका सुन्तलाको दाना टिप्न, गोडमेल र मलजलका लागि बगैँचामा पस्दा करेन्ट लागेर दुर्घटना हुने डर छ ।”

सुन्तलाको बोट हुर्कदै गएपछि हाँगाले नाङ्गो तार छोएर जोखिम बढेको हो । चार सय भोल्टको विद्युत् प्रवाह हुने नाङ्गो तारले छोइएर सुन्तलाका बोट मर्न थालेका हुन् । गोडमेल गर्दा र सुन्तलाको फल टिप्दा करेन्ट लाग्ने जोखिम रहेको स्थानीय बेगबहादुर पाइजाले बताउनुभयो ।

“सुन्तला बगैँचाभित्र जाँदा करेन्ट लागेर ज्यानै जाला भन्ने डर छ”, उहाँले भन्नुभयो, “तारले छोएको बोटको सुन्तला माया मार्नुपर्ने अवस्था छ । बगैँचा पस्दा कता करेन्ट लागेर मरिने हो भन्ने डर छ ।” केही दिनअघि दोसल्ले जानुभएका गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर भण्डारीलाई स्थानीयवासीले विद्युतीय दुर्घटनाको जोखिम न्यूनीकरणका लागि नाङ्गो तार हटाएर एबिसी केबुल भएको कालो तार जडान गर्ने व्यवस्था गर्न माग गरेका थिए ।

“दोसल्लेको विद्युतीय दुर्घटनाको जोखिमको अवस्थाका बारेमा नेपाल विद्युत् प्राधिकरण बेनी वितरण केन्द्रमा जानकारी गराएपछि प्राविधिक टोलीले स्थलगत निरीक्षण गरेको छ”, उहाँले भन्नुभयो, “जति सक्दो छिटो नाङ्गा तार हटाएर एबिसी केबुल राख्ने तयारी गरेका छौँ ।”

सदस्य भण्डारीको नेतृत्वमा आइतबार नेपाल विद्युत् प्राधिकरणको बेनी वितरण केन्द्रका प्रमुख प्रताप बराल, इञ्जिनियर शिव पौडेल, लेखा प्रमुख श्याम रानासहितको टोलीले दोसल्लेको विद्युत् वितरण लाइनको स्थलगत निरीक्षण गरेको छ ।

केन्द्रका प्रमुख बरालले सुन्तला बगैँचाभित्र नाङ्गो तारको विकल्पका एबिसी केबुल राख्न प्रक्रिया अघि बढाएको र केही दिनमै तार परिवर्तन गरिने बताउनुभयो । अन्नपूर्ण गाउँपालिकाको दोवा, बेनी नगरपालिकाको बास्कुनालगायत ठाउँमा बस्ती र बगैँचामाथि रहेको विद्युत्को तार व्यवस्थापन गर्न पहल गरिरहेको प्रदेशसभा सदस्य भण्डारीले बताउनुभयो ।

गठबन्धनलाई पालो पुर्‍याउन मन्त्रीको सेटै फेर्न दबाब

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई एमाले सहितको गठबन्धनमा २०७९ पुस १० गते प्रधानमन्त्री बनाउने समझदारी बन्यो। एमाले र माओवादीबीच प्रधानमन्त्री र सभामुख आलोपालो र राष्ट्रपति एमालेले लिने समझदारीसहित नयाँ सत्ता गठबन्धन निर्माण पनि भयो।

तर, नयाँ राष्ट्रपति निर्वाचनका लागि उम्मेदवार मनोनयन दर्ताको एक दिनअघि कांग्रेस नेतृत्वमा रहेको पुरानो माओवादीसहित पाँच दलीय गठबन्धन ब्युँताउने सहमति भयो। र, अर्को गठबन्धनमा सरेर दाहाल नेतृत्वमा सरकार बन्यो। यो सरकार बनेको एक वर्ष पुग्न लाग्दैछ। यसै अवधिमा अहिले सरकारमा रहेका मन्त्रीको ‘सेट’ नै परिवर्तन गर्ने तयारी सुरु भएको छ।


एक वर्ष नपुग्दै मन्त्रीको सेट नै किन फेर्ने रु स्रोत भन्छन्, ‘गठबन्धन भित्रका दललाई मन्त्रीको भाग पुर्‍याउन।’ सबैलाई पालो पुर्‍याउनुपर्ने कारण बताइए पनि गठबन्धन दलभित्रैबाट मन्त्री फेर्न तीव्र दबाब आएको उच्च स्रोतको दाबी छ। अहिलेका मन्त्रीले गठबन्धनमा सामेल दलका नेतारकार्यकर्तालाई नै असर गर्ने निर्णय गरेकाले सत्ता गठबन्धन दलका शीर्ष नेता नै असन्तुष्ट छन्। केही ‘काण्ड’लाई छानबिनको दायरामा ल्याउँदा त्यसको झड्का गठबन्धनभित्र पनि परेकाले यो अवस्था आएको बताइएको छ।

यता मन्त्रीको सेट नै परिवर्तन गर्न तयार भएका गठबन्धनका शीर्ष नेताहरू व्यक्ति बदल्दा काममा तीव्रता आउने भन्दै आन्तरिक कुरा लुकाउने प्रयास गरिरहेका छन्। तर, मुख्य कारण भनेको अहिलेका मन्त्रीको आलोचना बढ्नु नै हो। यो बीचमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदी निकालिएका थिए।


स्रोतका अनुसार मन्त्रीको सेट नै बदल्ने विषयमा करिब–करिब देउवा र प्रचण्डबीच सहमति भइसकेको छ। यसअघि कांग्रेसले गृहमन्त्री हटाउन दबाब दिएको थियो। गृहमन्त्री श्रेष्ठलाई मात्र हटाउँदा जनमानवमा नराम्रो छाप पर्ने भन्दै प्रचण्ड पन्छाइरहेका थिए। सेटै परिवर्तन गर्नमा भने उनी पनि सहमत भएका छन्। स्रोत भन्छ, ‘देउवा गृहमन्त्री श्रेष्ठको नामसमेत सुन्न चाहँदैनन्।’

औपचारिक भेटमा मलाईसमेत थुन्नु होस् भन्दै देउवा उनीसँग झर्किएका थिए। आफ्ना अति विश्वासिला नेता बालकृष्ण खाँणलाई जेल जानबाट रोक्न र जेल गए पनि निकाल्न नसकेकोमा देउवाले अत्यन्तै ‘गिल्टी फिल’ गरिरहेको उनी निकटहरू बताउँछन्।

पछिल्ला समय गृहमन्त्री श्रेष्ठबाहेक कुनै मन्त्रीको कार्य सम्पादन राम्रो छैन। अर्का मन्त्री सुदन किरातीले केही काम गरे जस्तो देखिए पनि उनी विवादमा मात्रै परिरहे। दाहाल नेतृत्वको २५ सदस्यीय मन्त्रीको कार्यसम्पदान एकदमै कमजोर देखिएको छ। धेरै मन्त्री त गुमनाम नै भएका छन्। विदेश भ्रमण गर्ने र आफ्नो दुनो सोझ्याउनेमा नै उनीहरू तल्लीन छन्। कार्यसम्पादन कमजोर भएको निहुँ बनाएर मन्त्रीको सेट नै परिवर्तन गर्ने गृहकार्य अहिले भइरहेको छ। यो समाचार अन्नपूर्ण पोस्टमा छ ।

सरकारले फिर्ता गर्‍यो चार अर्ब ५८ करोड कर

काठमाडौं । सरकारले चार अर्ब ५८ करोड रुपियाँ कर फिर्ता गरेको छ । मूल्य अभिवृद्धि कर छुटको सुविधा प्राप्त गरेको कूटनीतिक निकाय, कूटनीतिज्ञ, क्रेडिट, निकासी र अर्थ मन्त्रालयले छुट प्रदान गरेका अन्तर्राष्ट्रिय संस्थालाई गत आर्थिक वर्ष २०७९/८० को सो रकम बराबरको मुअकर फिर्ता गरिएको हो ।

अर्थ मन्त्रालय मातहतको आन्तरिक राजस्व विभागले छुट सुविधा प्राप्त गर्ने त्यस्ता संस्था र व्यक्तिलाई कर फिर्ता गर्दै आएको छ । विभागका अनुसार गत आवमा कूटनीतिक नियोग, कूटनीतिज्ञ एवं कूटनीतिक एजेन्सीको ८५१ वटा कर फिर्ता दाबी परेको थियो । ती निकायले विभागसमक्ष ५९ करोड ३१ लाख रुपियाँ कर फिर्ता दाबी गरेकामा ५२ करोड ४४ लाख रुपियाँ फिर्ता गर्ने विभागले निर्णय गरेको छ ।

यसमध्ये पनि कूटनीतिक नियोग एवं कूटनीतिज्ञले कुल १५ करोड ४५ लाख रुपियाँ फिर्ता दाबी गरेकामा एक करोड २७ लाख रुपियाँ मात्र फिर्ता गर्ने निर्णय गरेको विभागले जनाएको छ । त्यस्तै कूटनीतिक एजेन्सी एवं परियोजनाले गरेका २६९ वटा दाबीबाट ४३ करोड ८५ लाख रुपियाँ कर फिर्ता माग गरेकामा पाँच करोड ५९ लाख रुपियाँ मात्र फिर्ता गर्ने विभागले निर्णय गरेको छ ।

विभागले यसबाहेक लगातार क्रेडिट तथा निकासीको आधार तथा परियोजना अन्तर्गत ८४० करदाताले १९ अर्ब एक करोड ५७ लाख रुपियाँ फिर्ता दाबी माग गरेकामा ४९८ करदाताको पाँच अर्ब पाँच करोड रुपियाँ फिर्ता गरेको जानकारी दिएको छ । योसहित सबै गरेर विभागले गत आवमा चार अर्ब ५८ करोड २५ लाख रुपियाँ फिर्ता गरेको उल्लेख गरेको छ । यो समाचार गोरखापत्र दैनिकमा छ ।

एनसेल प्रकरण छानबिन समितिले ३० दिनभित्रै प्रतिवेदन बुझाउने

काठमाडौं । २०८६ सालमा स्वतः रूपमा नेपाल सरकारको मातहतमा आउने २ खर्बको सम्पत्ति रहेको एनसेल आजियटाको ८० प्रतिशत सेयर ६ अर्बमा बेचिएपछि दबाबमा परेको सरकारले गठन गरेको समितिले छानबिन थालेको छ ।

एनसेलको सेयर खरिदबिक्री सम्बन्धमा पूर्वमहालेखा परीक्षक टंकमणि शर्मा दंगालको संयोजकत्वमा गठित समितिले छानबिन थालेको हो ।
सरकारले एनसेलको सेयर खरिदबिक्री सम्बन्धमा छानबिन गर्न बनाएको ‘एनसेलको सेयर खरिदबिक्री अध्ययन तथा छानबिन समिति’ले ३० दिनभित्रमा प्रतिवेदन बुझाउने संयोजक दंगालले बताए ।मन्त्रिपरिषद्को गत बिहीबारको बैठकले एनसेलको सेयर खरिदबिक्री छानबिन गर्न समिति बनाई ३० दिनको म्याद दिएको थियो ।

सरकारले दिएको कार्यादेशभित्र रही तोकिएको समयसीमामा सुझावसहितको प्रतिवेदन बुझाउने समितिले जनाएको छ ।कार्य थालनी गर्दै संयोजक दंगालले भने, ‘एनसेलको सेयर खरिदबिक्री सम्बन्धमा केही सूचना तथा जानकारी भए उपलब्ध गराइदिन सरोकारवालालाई आग्रह गर्दै सूचना निकालेका छौं ।’

समितिले छानबिनका क्रममा सरकारी अधिकारी सेवाप्रदायक कम्पनी, विज्ञलगायतको राय सुझाव लिनेछ ।मन्त्रिपरिषद् बैठकले पूर्वमहालेखा परीक्षक टंकमणि शर्माको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको थियो । समितिमा सचिव फणिन्द्र गौतम, सहसचिव बाबुराम भण्डारी, सहसचिव रितेशकुमार शाक्य र आइक्यानका अध्यक्ष सुजन कुमार काफ्ले रहेका छन् ।

३० दिनको कार्यादेश प्राप्त गरेको समितिले छानबिनका लागि सार्वजनिक रूपमा सुझाव माग गरेको छ । समितिले अध्ययन तथा छानबिन क्रममा सम्बन्धित विषय क्षेत्रका नियामक निकाय, सरकारी अधिकारी, सम्बन्धित सेवाप्रदायक कम्पनीसँग छलफल गर्ने, कागजात तथा जानकारी प्राप्त गर्ने तथा सम्बन्धित विषयका विज्ञ, विभिन्न सरोकारवाला संघसंस्था र व्यक्तिसँग समेत आवश्यकताअनुसार छलफल गरी राय सुझाव लिने उल्लेख गरिएको छ । यो समाचार राजधानी दैनिकमा छ ।

काठमाडौंका १५ पुल झकिझकाउ पार्दै महानगर

काठमाडौं । काठमाडौं महानगरपालिकाले राजधानीका १५ वटा पुललाई सौन्दर्यीकरण गर्ने भएको छ। बालाजुस्थित विष्णुमती पुल सौन्दर्यीकरण गरी सौन्दर्यीकण कार्यक्रम शुरू गरेको कामपाले सोही पुललाई आधार मानेर अन्य पुलको पनि सौन्दर्यीकरण गर्न लागेको हो ।

कामपा हरियाली प्रवर्द्धन तथा पार्क आयोजनाका निर्देशक नवराज थापाका अनुसार धोबीखोला, वागमती, विष्णुमती, मनोहरा र इच्छुमती पुलमाथि सौन्दर्यीकरण गर्न लागिएको हो । उनले यी सबै पुलको बारेमा अध्ययन गरी ड्रइङ डिजाइन तयार गरिरहेको बताए ।आयोजनाले विष्णुमती पुलमा क्यारी निर्माण गरी सोमाथि २ फिट जाली बिच्छ्याएर लहरेफूल रोप्ने कार्य जारी राखेको छ । जाली राख्दा नदीमा फोहोर फ्याँक्न नमिल्ने व्यवस्था गर्न लागेको हो । यो पुलको सौन्दर्यीकरण सकिएपछि अवस्था हेरेर अन्य पुलको पनि सौन्दर्यीकरण गर्ने जानकारी दिँदै आयोजनाका इन्जिनियर घनश्याम पौडलले भने ‘पुल निमाण गर्ने कारब १० लाख रुपियाँ लाग्ने अनुमान गरेको छ ।’कामपाले पुल र पुलको परिसरमा सौन्दर्यीकरण गर्न १ करोड ४० लाख रुपियाँ विनियोजन गरेको छ । आयोजना प्रमुख थापाले पुलको अवस्था हेरेर पार्क, बगैंचा, रूख रोप्नेलगायतका सौन्दर्यीकरण गर्नेतयारी गरेको जानकारी दिए ।आयोजनाले धोबीखोला करिडोरमा रहेको कालोपुल, रातोपुल, निलोपुल, पहेँलो पुल, बिजुलीबजार, परोपकार, कोटेश्वर र शंखमूल पुलको एकैसाथ सौन्दर्यीकरण गर्ने तयारी गरेको छ । यसअघि महानगरले बिजुलीबजार र ताहाचलको पुलमा बिजुलीले भिलिमिली बनाएको थियो ।शहरी सौन्दर्यीकरण गर्न सबै पुलमा विशेष सजावट गर्ने तयारी थालिएको आयोजना प्रमुख थापाको भनाइ छ । उनले भने, ‘सम्बन्धित वडा कार्यालयको सहयोगमा पुलमा कस्तो सौन्दर्यीकरण गर्ने भन्ने विषयमा सुभाव संकलन गरिरहेका छौं ।’ यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।

अस्पतालले मृत घोषणा गरी घाट लैजान लागेका एक व्यक्ति जीवितै

इनरुवा । अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जीवितै रहेको पाइएको छ । विराटनगरस्थित मेट्रो न्यूरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा राखेर दाहसंस्कारका लागि पठाएका इनरुवा नगरपालिका-३ का ४५ वर्षीय प्रताप सदा मुसहरलाई घाटमा लैजान लाग्दा जीवित नै पाइएको हो ।

इनरुवाका सामाजिक व्यक्तित्व तथा प्रतापका छिमेकी पहल कटुवालका अनुसार उनलाई शनिबार बिहान उपचारका क्रममा मेट्रो न्युरो अस्पताल भर्ना गरिएको थियो । स्थानीय बसचोकमा आउने जाने गाडीमा सामान लोड अनलोड गरी जीविकोपार्जन गर्दै आएका सदा गाडीमा सामान लोड गर्ने क्रममा लडेर बेहोस भएका थिए । मेट्रो न्युरो अस्पताल भर्ना गरिएका सदाको उपचारका क्रममा राति मृत्यु भएको अस्पतालले घोषणा गरेको थियो।

सदाको दाहसंस्कारका लागि उनीहरूको जातीय संस्कार र परम्परा अनुसार सबै तयार गरी मलामीसमेत जुटेर घाट लैजान लाग्दा उनी जीवित पाइएको थियो । सबै आफन्त छरछिमेक भेला भई स्थानीय सुनसरी खोलामा दाहसंस्कारका लागि लैजान लाग्दा केही व्यक्तिले उनी जीवित रहेको जस्तो देखेपछि उनलाई पानी र दूध खुवाएको स्थानीयले बताएका थिए । त्यसपछि सदाको स्वास्थ्य सुधार हुँदै सामान्य बन्दै गएको र घरमै राखिएको समाजसेवी कटवालले जानकारी दिए । आजको गोरखापत्र दैनिकमा समाचार छ ।