`

अवैध मोबाइलमा आजदेखि ‘नेटवर्क लक’ लागु हुने

काठमाडौं । अवैध मोबाइल नियन्त्रण गर्ने उद्देश्यसाथ बारम्बार सञ्चालनको घोषणा गरिएको ‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) अन्ततः सोमबारदेखि लागु हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयनमा ल्याउने भएको हो ।

गत वर्ष असोज १ देखि परीक्षणका रूपमा सञ्चालनमा ल्याइएको यो प्रणालीलाई प्राधिकरणले त्यसको एक वर्षपछि सञ्चालन गर्न लागेको हो । प्रणालीमा दर्ता नभएका मोबाइलको नेटवर्क लक गर्न सेवाप्रदायकलाई जानकारी गराइसकिएको प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले जानकारी दिनुभयो । “पहिलो चरणमा ‘हाइएन्ड’ मोबाइल लक गर्ने गरी सेवाप्रदायकलाई निर्देशन दिएका छौँ,” उहाँले भन्नुभयो । उहाँका अनुसार अबदेखि हरेक दिन दर्ता नभएका त्यस्ता मोबाइलको नेटवर्क लक हुँदै जाने छन् ।

प्राधिकरणले एमडिएमएस लागु गर्नुपूर्व कात्तिक ४ गते सार्वजनिक सूचना जारी गरेर १५ दिनभित्र दर्ता गरिसक्न जानकारी गराएको थियो । त्यसअघि पनि प्राधिकरणले बारम्बार एमडिएमएस प्रणालीमा मोबाइल दर्ता गराउन सार्वजनिक सूचना जारी गरेको थियो ।

प्राधिकरणले गत वर्ष भदौ मसान्तसम्म प्रयोगमा रहेका जुनसुकै मोबाइललाई आफ्नो प्रणालीमा स्वतः दर्ता गरिसकेको छ तर त्यसपछि आएका धेरै मोबाइल दर्ता नभएकाले त्यस्ता सेट सञ्चालनमा रोक लगाइने जनाएको छ । प्राधिकरणका अनुसार गत वर्ष असोजयता नेपाल भित्रिएका करिब २० लाख व्यक्तिगत मोबाइल सेट यो प्रणालीमा दर्ता छैनन् ।

बजारमा अवैध मोबाइलसमेत खुलेआम बिक्री भएको जनाउँदै प्राधिकरणले मोबाइल आयातकर्ता र बिक्रेतालाई पनि मोबाइल आयात गर्नुअघि अनिवार्य रूपमा प्राधिकरणमा स्वीकृति लिएर दर्ता गर्न आग्रह गरेको छ । बजारमा अवैध मोबाइल खरिद हुन सक्ने जोखिमलाई ध्यानमा राख्दै प्राधिकरणले मोबाइल खरिदपूर्व त्यसको आइएमइआई दर्तापूर्व प्रणालीमा दर्ता भएरनभएको यकिन गर्न पनि आग्रह गरेको छ । यो समाचार गोरखापत्र दैनिकमा छ ।

६.४ रेक्टरस्केलको भूकम्प जाँदा पनि जाजरकोटमा किन भयो बढी मानवीय क्षति ?

काठमाडौं । गत वर्ष डोटीमा गएको ६.६ रेक्टरस्केलको भूकम्प जाँदा ६ जनाको मात्र मृत्यु हुँदा अहिले जाजरकोटमा ६.४ रेक्टरस्केलको भूकम्प जाँदा १५८ जनाको मृत्यु भएको छ । यसो हुनुका कारणबारे भूकम्पविदहरुले विभिन्न कारण औल्याउनुभएको छ ।

२०७२ मा गोरखा बारपाकपछि जाजरकोट केन्द्रविन्दु बनाएर शुक्रबार राति सबैभन्दा बढी मानवीय क्षति गर्ने भूकम्प गएको छ । २०७२ सालमा गएको भूकम्पमा परी नौ हजार बढीको मृत्यु भएको थियो । २२ हजार बढी घाइते भएका थिए ।

यो भूकम्पपछि सयौँ साना पराकम्पहरु गएका थिए । तर ठूलो मानवीय क्षति गर्नेगरी पश्चिम नेपालको जाजरकोट केन्द्रविन्दु भएर ६.४ रेक्टरस्केलको भूकम्प गयो । गृह मन्त्रालयको तथ्यांकअनुसार यस भूकम्पमा अहिलेसम्म १५८ जनाले ज्यान गुमाइसकेका छन् । ३५७ जना घाइते भएका छन् ।

जाजरकोट सदरमुकाम खलंगामा दर्जनौँ घरहरु भत्किएका छन् । भूकम्पलगत्तै ४ रेक्टरस्केल माथिका चारवटा पराकम्पनहरु गइसकेका छन् । ४ रेक्टरमुनिका ३११ वटा पराकम्पहरु गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

गोरखा बारपाक केन्द्रविन्दु बनाएर गएको भूकम्प दिउँसोको समय र सार्वजनिक बिदाको दिन परेका कारण बढी ठूलो क्षति हुन पाएन । तर जाजरकोट केन्द्रबिन्दु बनाएर गएको भूकम्प मध्यरातमा गएकाले मानिसहरु ओछ्यानमै रहेकाले बढीको ज्यान गएको आँकलन गरिएको छ ।

भूकम्प गएपछि धेरै मानिस घरबाहिर निस्कन सकेनन् । केही मानिसहरु मात्र भागेर ज्यान जोगाउन सफल भए । भूकम्पका कारण प्रायजसो परम्परागत घर तथा कच्ची घरमा बढी क्षति पुगेको देखिएको छ । गतवर्ष डोटीलाई केन्द्रविन्दु बनाएर ६.६ रेक्टरस्केलको भूकम्प गएको थियो ।

गतवर्ष कात्तिक २२ गते राति २ः१२ बजे गएको भूकम्पमा परी डोटीमा मात्र ६ जनाको ज्यान गएको थियो । भौतिक संरचनामा धेरै क्षति पुर्याएको थिएन । यो समाचार गोरखापत्र दैनिकमा छ ।

विशिष्ट सरकारी कर्मचारीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको एक्सन

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लुम्बिनी प्रदेशका तत्कालीन सचिव बैकुण्ठ अधिकारीसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । उनीहरूले गैरकानुनी लाभ तथा हानि पु¥याइ भ्रष्टाचार गरेको भन्दै आइतबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको हो ।

सचिव अधिकारीविरुद्ध १ करोड ३१ लाख ६० हजार बिगो दाबीसहित विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ । तत्कालीन प्रदेश सचिव बैकुण्ठ अधिकारीले सम्झौताबमोजिम खरिदसम्बन्धी सम्पूर्ण कागजात अध्ययन र स्थलगत अनुगमन समेत नगरी–नगराई भुक्तानीसम्बन्धी टिप्पणी सदर गरी सम्झौताबमोजिम गुणस्तर र ब्रान्डको वितरण गर्नुपर्ने यन्त्र उपकरणभन्दा कम गुणस्तरको र फरक ब्रान्डको मिनिटिलर खरिद र आपूर्तिकर्तालाई भुक्तानी गरेको पाइएको छ ।

त्यस्तै आयोगले तत्कालीन भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका महाशाखा प्रमुख श्रीधर ज्ञवालीविरुद्ध १ करोड ३१ लाख ६० हजार बिगो दाबीसहित मुद्दा दायर भएको छ । ज्ञवालीले सम्झौताबमोजिम खरिदसम्बन्धी कागजात संलग्न भए–नभएको एवं सम्झौताबमोजिम गुणस्तर र ब्रान्डको यन्त्र उपकरण रहे–नरहेको अध्ययन नगरी सम्झौतामा उल्लेख भएबमोजिम गुणस्तर र ब्रान्डभन्दा कम गुणस्तर र फरक ब्रान्डको यन्त्र उपकरण आपूर्तिकर्तालाई भुक्तानीको लागि टिप्पणी सिफारिस गरेको अभियोग छ ।

कृषि प्रसार अधिकृत मुकेश राम्जाली नेपालीलाई पनि १ करोड ६० लाख बिगो दाबीसहित भ्रष्टाचार मुद्दा दायर भएको छ । आयोगले नपालीविरुद्ध सम्झौताबमोजिम खरिदसम्बन्धी कागजातहरू संलग्न भए नभएको एवं सम्झौताबमोजिम गुणस्तर र ब्रान्डको यन्त्रउपकरण रहे–नरहेको अध्ययन नै नगरी फरक ब्रान्ड र कम गुणस्तरको यन्त्र उपकरण आपूर्तिकर्ताले पेस गरेको कागजात जस्ताको तस्तै भुक्तानीको लागि टिप्पणी पेस गरेको अभियोग लगाएको छ ।

त्यस्तै, आधुनिक कृषि किसान संसार र सो संस्थाका प्रबन्ध निर्देशक राजाराम तिवारीलाई पनि प्रतिवादी बनाएको छ । आयोगले तिवारीलाई सम्झौतामा उल्लेख भएबमोजिम गुणस्तर र ब्रान्डको वितरण गर्नुपर्ने मिनिटिलर खरिद नगरी कम गुणस्तर र ब्रान्डको मिनिटिलर वितरण गरेको अभियोग लगाएको छ । यो समाचार राजधानी दैनिकमा छ ।

नेपालमै पहिलो पटक ‘हाइड्रोजन कार’

काठमाडौँ । काभ्रेपलाञ्चोकको धुलिखेलमा रहेको काठमाडौँ विश्वविद्यालय (केयु) ले नेपालमै पहिलो पटक ‘हाइड्रोजन कार’ भित्र्याएको छ । नेपाल आयल निगमको सहयोगमा केयुले कोरियामा उत्पादन भएको हुन्डाई कम्पनीको उक्त कार नेपाल भित्र्याएको हो ।

काठमाडौँ विश्वविद्यालयका उपकुलपति प्राडा भोला थापाले नेपालको सडकमा कुदाउन सकिन्छ भन्ने नमुना देखाउन हाइड्रोजन कार भित्र्याएको बताए । उहाँले हाइड्रोजनलाई वैकल्पिक इन्धनका रूपमा स्थापित गर्न सरकारले आफ्नो क्षेत्रबाट काम गर्नुपर्ने बताए । विश्वविद्यालयका उपप्राध्यापक तथा विश्वविद्यालयको ग्रिन हाइड्रोजन ल्याबका प्रमुख डा. विराजसिं थापाले विश्वविद्यालयले शनिबार भित्र्याएको हाइड्रोजन कार नेपालको पहिलो हाइड्रोजन कार भएको दाबी गरे ।

“नेपालमा हाइड्रोजनलाई वैकल्पिक इन्धनका रूपमा प्रयोग गर्न सकिन्छ भनेर देखाउन हाइड्रोजन ल्याव, हाइड्रोजनसम्बन्धी नीति, निर्माण कसरी गर्न सकिन्छ भनेर सुझाव दिन तथा नेपालको सडकमा हाइड्रोजनबाट गाडी कुदाउन सकिन्छ भनेर देखाउन दुई वर्षअघि नेपाल आयल निगमसँग सम्झौता भएको थियो । सोही सम्झौता अनुसार हामीले हाइड्रोजन कार भित्र्याएका हौँ,” डा. थापाले भने।

केयुले उक्त हाइड्रोजन कार ४३ लाख ८९ हजार रुपियाँमा खरिद गरिएको हो । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

काठमाडौंका ७१ विद्यालयमा पुसदेखि नयाँ प्रधानाध्यापक

काठमाडौं । राजधानीका ७१ वटा विद्यालयमा पुस पहिलो साताबाट नयाँ प्रधानाध्यापकले काम थाल्ने भएका छन् । कामपा शिक्षा विभागले सार्वजनिक सूचना जारी गरी प्रअ र स्रोत शिक्षक नियुक्तिका लागि दरखास्त आहृवान गरेको छ। जसमा १ प्रधानाध्यापक र ११ जना स्रोत शिक्षक माग गरिएको छ ।

कामपा शिक्षा विभागका अधिकारीसीताराम कोइरालाले मसिर १ गतेबाट प्रक्रिया शुरू गरी पुस पहिलो साताभित्र विद्यालयमा नया प्रअ र स्रोत शिक्षकले काम थाल्ने जानकारी दिए । कमपाको शिक्षा ऐन २०७५ (संशोधनसहित) को दपत्र २९ (क) बमोजिम विद्यालयमा पाँच वर्षका लागि करारमा प्रधानाध्यापक छनोट गर्नका लागि दरखास्त आह्वान गरेको शिक्षा अधिकारी कोइरालाले जानकारी दिए ।

विभागले दरबन्दी मिलान तथा प्रधानाध्यापक नियुत्तिसम्बन्धी कार्यविधि, २०८० बमोजिम दरखास्त आह्वान गरेको हो । प्रधानाध्यापकका लागि कम्तीमा सम्बन्धित तहमा पाँच वर्ष स्थायी सेवा अवधि भएको हुनुपर्ने प्रावधान राखिएको छ । यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।

पाकिस्तानको कपास उत्पादनमा ८२ प्रतिशतले वृद्धि

पाकिस्तानमा कपास उत्पादनमा गत वर्षको तुलनामा ८२ प्रतिशतले वृद्धि भएको पाकिस्तान कपास जिनर्स एसोसिएसनले आइतबार जानकारी गराएको छ ।

गत वर्ष बाढी र भारी वर्षाका कारण बालीनालीमा क्षति पुगेपछि ३७ लाख भारी उत्पादन भएको कपास यस बर्ष अक्टोबर ३१ सम्ममा नै करिब ६८ लाख भारी उत्पादन भई देशभरका जिनिङ फ्याक्ट्रीमा आइपुगेको छ ।

गत वर्ष लगभग पूरै बाली गुमाएको दक्षिण सिन्ध प्रान्तमा यस वर्ष कपास उत्पादनमा १३२ प्रतिशतले वृद्धि भएको सङ्घले जनाएको छ । उत्पादनमा वृद्धि भए तापनि, देशले अझै पनि कपडा उद्योगको आवश्यकता पूरा गर्न कपास आयात गर्न आवश्यक छ ।

सङ्घीय कृषि समिति तय गरेको लक्ष्यअनुसार पाकिस्तानलाई टेक्सटाइल क्षेत्रमा खपतका लागि एक करोड १५ लाख भारी कपास आवश्यक पर्छ । यस वर्ष कपासको कुल उत्पादन करिब ९५ लाख भारी हुने अनुमान गरिएको छ भने कपडा व्यवसायीले थप २० लाख भारी आयात गर्नुपर्ने सङ्घले जनाएको छ ।

गाजाबाट तीन सयभन्दा बढी अमेरिकीलाई सुरक्षित स्थानमा सारिएको ह्वाइट हाउसको भनाइ

हमासविरुद्ध इजरायलको संघर्ष चर्किँदै जाँदा तीन सयभन्दा बढी अमेरिकी र उनीहरूका परिवारलाई गाजापट्टीबाट सुरक्षित स्थानमा सारिएको ह्वाइट हाउसले आइतबार जनाएको छ ।

ह्वाइट हाउसका उपराष्ट्रिय सुरक्षा सल्लाहकार जोनाथन फिनरले सीबीएस न्यूजसँग कुरा गर्दै हालैका दिनहरूमा गरिएको उद्धार ‘यस द्वन्द्वसँग सम्बन्धित सबै पक्षसँग गहन वार्ताको परिणाम’ भएको बताउनुभयो ।

यी प्रयासका बावजुद गाजाभित्र अझै पनि ‘धेरै’ अमेरिकीहरू रहेको वासिङ्टनको विश्वास छ ।

फिनरले भन्नुभयोे, “गाजा छोड्न चाहने प्रत्येक अमेरिकीलाई उद्धार गरिनसक्दासम्म हामीले प्रमुख प्राथमिकताका साथ उद्धार प्रयासलाई जारी राख्नेछौं ।”

हप्तौंको युद्धपछि गाजादेखि इजिप्टसम्मको राफा सीमा नाका बुधबार देखि खुल्यो, जसले गर्दा घाइते प्यालेस्टिनी र दोहोरो नागरिकता भएका मानिसहरूलाई त्यहाँबाट बाहिर जान अनुमति दिइएको थियो ।

इजिप्टले सात हजार विदेशीलाई त्यहाँबाट बाहिर निकाल्न सहयोग गर्ने बताएको छ तर हमासले शनिबार अबेर राति इजरायलले केही घाइते प्यालेस्टिनीलाई राफासम्म पुग्न नदिएसम्म दोहोरो नागरिकता भएका गाजाबासी र विदेशी नागरिकको उद्धार कार्य स्थगन गरिएको जनाएको छ ।

ह्वाइट हाउसका एक वरिष्ठ अधिकारीले हमासले आफ्ना लडाकूलाई गाजाबाट बाहिर निकाल्नका लागि अमेरिकी मध्यस्थतामा भएको सम्झौताको दुरुपयोग गरेको आरोप लगाएका छन् ।

अधिकारीका अनुसार हमासले उपलब्ध गराएको सूचीमा एक तिहाइ नाम प्यालेस्टिनीको रहेको र तीमध्ये एक तिहाइ नाम हमासका सदस्य र लडाकूको रहेको बताइएको छ ।

ह्वाइट हाउसले बुधबार र बिहीबार करिब ८० जना अमेरिकी नागरिक र उनीहरूका परिवारका सदस्यले देश छोडेको बताएपछि आइतबार उद्धार गरिएका अमेरिकीहरूको पछिल्लो गणना आएको हो ।

गाजामा गत अक्टोबर ७ मा हमासले इजरायलमा गरेको रक्तपातपूर्ण आक्रमणबाट एक हजार ४०० भन्दा बढी व्यक्तिको मृत्यु भएको इजरायली अधिकारीहरूले बताएका छन् ।

हमास शासित गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार इजरायली बमबारीमा नौ हजार २२७ जनाभन्दा बढीको मृत्यु भएको छ ।

गण्डकी प्रदेश : सात दिनको तलब भूकम्पपीडितलाई

लेखनाथ – नेकपा(एमाले)बाट गण्डकी प्रदेशसभामा निर्वाचित प्रदेशसभा सदस्यले एक हप्ता बराबरको तलब भूकम्पपीडितलाई प्रदान गर्ने भएका छन् ।

संसदीय दलको आइतबारको बैठकले जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितका लागि रु दुई लाख ७९ हजार सहयोग गर्ने निर्णय गरेको हो ।

दलका २१ जना सदस्यको एक हप्ताको पारिश्रमिक बराबरको उक्त कोषमा दाखिला गर्ने निर्णय गरेको दलका नेता खगराज अधिकारीले पत्रकार सम्मेलनमार्फत जानकारी गराउनुभयो ।

आफूहरूले सुरुवात गरेको र पार्टीले पनि सहयोग सङ्कलन गर्न सक्ने भएकाले तत्काललाई एक हप्ताको मात्रै पारिश्रमिक पठाउन लागेको जानकारी नेता अधिकारीले बताउनुभयो । गण्डकीमा एमालेका उपसभामुखसहित २२ जना प्रदेशसभा सदस्य छन् ।

दलका नेता खगराज अधिकारीको अध्यक्षतामा बसेको बैठकले घाइतेको उपचारमा आवश्यक परेमा थप सहयोगसमेत प्रदान गर्ने बताउनुभयो । साथै बैठकले भूकम्पबाट ज्यान गुमाउने प्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।

जाजरकोट भूकम्प : १२ स्वास्थ्य संस्थामा क्षति

काठमाडौँ – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले भूकम्पमा परी घाइते भएकाको उपचारका लागि स्वास्थ्य सेवा प्रवाहमा कुनै समस्या नभएको स्पष्ट गरेको छ ।

मन्त्रालयका अनुसार जाजरकोट र रुकुम पश्चिमका १२ वटा स्वास्थ्य संस्थामा क्षति भएता पनि स्वास्थ्य सेवा प्रवाहमा भने कुनै समस्या नभएको मन्त्रालयले आइतबार प्रेस विज्ञप्ति जारी गरी जनाएको हो ।

“धेरै घाइते उपचारपश्चात् घर फर्केका छन् । उपचारका लागि अन्यत्र सिफारिस गरिएकाहरुको प्रादेशिक अस्पताल सुर्खेत, भेरी अस्पताल नेपालगञ्ज र त्रिवि शिक्षण अस्पताल काठमाडौँमा उपचारको व्यवस्था गरिएको छ,” विज्ञप्तिमा भनिएको छ । स्वास्थ्य सेवा विभागद्वारा औषधी तथा औषधीजन्य सामग्री प्रभावित जिल्लामा पठाइएको छ ।

विज्ञप्ति अनुसार भूकम्पबाट प्रभावित जाजरकोट, रुकुम पश्चिम रुकुम पूर्व, सल्ल्यान, रोल्पा, नवलपरासी पूर्व, दैलेख, दाङ, बैतडी, जुम्ला र प्यूठानका गरी एक सय ५७ जनाको मृत्यु भएको छभने अन्य दुई सय ५६ जना घाइते भएका छन् ।

घाइते र कुरुवालाई हवाई भाडा नलाग्ने

काठमाडौँ – नेपाल वायुसेवा निगमले भूकम्प प्रभावित क्षेत्रबाट उद्धार गरिएका घाइते र उनीहरुका कुरुवाको हवाई भाडा नलिने निर्णय गरेको छ ।

निगमका प्रवक्ता रमेश पौडेलका अनुसार भैँचालो प्रभावित क्षेत्रबाट उद्धार गरिएका घाइते र तिनका कुरुवाको हवाई भाडा निगमको सामाजिक उत्तरदायित्वअन्तर्गत बेहोर्ने निर्णय गरेको छ । सरकारसँगको समन्वयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरबाट प्राप्त हुने राहत सामग्रीसमेत विमानको क्षमता र स्थान उपलब्धताका आधारमा निःशुल्क ढुवानी गरिनेछ । निगमले शनिबार भूकम्प प्रभावित क्षेत्रबाट घाइतेहरुलाई नेपालगञ्ज र काठमाडौँसम्म उद्धार गरेको थियो ।

राहत कोष स्थापना

पर्यटन क्षेत्रका अगुवा संस्थाहरुले भूकम्पपीडितको सहयोगका लागि राहत कोष स्थापना गरेका छन् । होटल सङ्घ नेपाल, ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान), नेपाल एसोसिएसन अफ टूर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा), नेपाल पर्वतारोहण सङ्घ, प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टर, वल्र्ड टुरिजम नेटवर्क नेपाल च्याप्टरलगायत संस्थाले कोष स्थापना गरेका हुन् ।

नेपालका गुल्शन झा उत्कृष्ट युवा खेलाडी घोषित

काठमाडौँ – टी–२० विश्वकप एसिया क्षेत्र अन्तिम छनोटमा नेपालका तीब्रगतिका बलर तथा अलराउन्डर गुल्शन झा उत्कृष्ट युवा खेलाडी घोषित भएका छन् ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आइतबार भएको अन्तिम खेलमा नेपाल सुपर ओभरमा पराजित भए पनि नेपाली खेलाडी झाले उक्त अवार्ड पाएका हुन् । गुल्शनले विश्वकप एसिया क्षेत्र छनोट खेलमा पाँच खेल खेलेका थिए । जसमा उनले ७९ रन बनाउनुका साथै पाँच विकेट लिएका थिए । त्यस्तै आजै भएको अन्तिम खेलमा गुल्शनले सर्वाधिक ५४ रनको योगदान दिएका थिए । यस उपाधिसहित उनले एक थान पल्सर मोटरसाइकल प्राप्त गर्नेछन् ।

त्यस्तै प्रतियोगितामा ओमानका अलराउण्डर अकिब इतियास सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् । ओमानलाई उपाधि जिताउन उनले उत्कृष्ट प्रदर्शन गरेका थिए । त्यस्तै ओमानका बिलाल खान प्रतियोगितामा उत्कृष्ट बलर चुनिए । उनले ५ खेलमा ११ विकेट लिएका थिए । नेपालका कुशल भुर्तेल प्रतियोगितामा उत्कृष्ट ब्याटर चुनिए । कुशलले ५ खेलमा एक अर्धशतकसहित कूल एक सय ८५ रन बनाएका थिए ।

नेपाल र ओमानले आगामी सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टि २० विश्वकप खेल्न पाउनेछन् । नेपालले सेमिफाइनलमा युएईलाई पराजित गर्दै विश्वकमा छनोट भएको थियो भने ओमानले बहराइनलाई हराउँदै विश्वकपमा स्थान बनाएका हो । उक्त प्रतियोगिताको विजेता टोलीलाई प्रधानमन्त्री पुष्पकल दाहाल (प्रचण्ड), युवा तथा खेलकुदमन्त्री डीगबाहदुर लिम्बू, नेपाल क्रिकेट सङ्घका अध्यक्ष चतुरबहादुर चन्द, राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टङ्कलाल घिसिङलगायतले पुरस्कार प्रदान गर्नुभएको थियो ।

रानीकोटको विकासमा पर्यटनमन्त्री किरातीको जोड

भक्तपुर – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले भक्तपुरको रानीकोट पर्यटकीय दृष्टिकोणले अपार सुन्दरता रहेको बताउनुभएको छ ।

भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं. ७ र ८ को क्षेत्रमा रहेको नयाँ पर्यटकीय गन्तव्य रानीकोट क्षेत्रको आइतबार अवलोकन गर्दै उहाँले यो क्षेत्र पर्यटनको धेरै सम्भावना बोकेको ऐतिहासिक क्षेत्र रहेको बताउनुभयो ।

अवलोकनका क्रममा यहाँको एक रिसोर्टमा पर्यटन व्यवसायीसँग यहाँको पर्यटनका बारेमा छलफल गर्दै उहाँले ऐतिहासिक क्षेत्र रानीकोट दरबारको उत्खनन्, यहाँको संरक्षण र पर्यटकीय गन्तव्यका लागि आवश्यक संरचनाको निर्माणमा ध्यान दिने बताउनुभयो ।

रानीकोटको बाघ भैरव मन्दिर र विशेषताका बारेमा उहाँले जानकारी लिनुभएको थियो । पर्यटन व्यवसायी एवं होटल हाइल्याण्ड रिसोर्टका सञ्चालक रामसुन्दर बकेँले पर्यटनमन्त्री किरातीले यस क्षेत्रको अवलोकनबाट प्रभावित भएको बताउनुभयो । यहाँबाट देखिने उपत्यकाका मनोरम दृश्य, यहाँबाट देखिएका विभिन्न आठ वटा हिमाल, सुन्दर प्राकृतिक दृश्य, ऐतिहासिक क्षेत्रको अवलोकन पछि यहाँको विकास आवश्यक रहेको र सरकारले सहयोग गर्ने बताउनुभयो ।

मन्त्री किरातीसँगै रानीकोट पुग्नुभएका लुम्बिनी विकास कोषको उपाध्यक्षसमेत रहनुभएका बौद्ध धर्म गुरु डा ल्हारक्याल लामाले बाघ भैरव मन्दिर क्षेत्रका विकासका लागि आफूले आवश्यक सहयोग गर्ने बताउनुभयो । उहाँले यहाँको विकासका लागि सरकारले बजेट व्यवस्थापन गर्नुपर्ने बताउनुभयो ।

भूकम्पपीडितलाई पुनःस्थापना गर्न किसान महासङ्घको आग्रह

काठमाडौँ – अखिल नेपाल किसान महासङ्घले जाजरकोटको बारेकोट गाउँपालिका–१ रामीडाँडा केन्द्रविन्दु भएर शुक्रबार राति गएको भूकम्पबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त प्रकट गरेको छ ।

महासङ्घका अध्यक्ष बलराम बाँस्कोटाले जारी गर्नुभएको विज्ञप्तिमा शोकाकुल परिवारजनप्रति समवेदना व्यक्त गर्दै पीडितलाई गाँस, बास, कपाससहित पुनःस्थापनाका साथै पीडितलाई आर्थिक सहयोग उपलब्ध गराउन सबैसँग अपिल गरिएको छ ।

पीडितको उद्धार तथा आवश्यक स्वास्थ्य उपचारको व्यवस्थापन गर्न सरकारसँग माग गरेको विज्ञप्तिमा कर्णाली प्रदेशका किसानलाई पीडितको उद्धार कार्यमा सरकारलाई आवश्यक सहयोग गर्न निर्देशन दिइएको छ । विज्ञप्तिमा सरकारले पीडितको उद्धारमा देखाएको अग्रसरताको सराहना गर्दै प्राकृतिक विपद् व्यवस्थापनमा संवेदनशील हुनुपर्नेमा जोड दिइएको छ ।

महासङ्घले पनि पीडितलाई सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाइएको विज्ञप्तिमा विपद्को बेलामा सबै प्रकारका सहयोग तथा राहत व्यवस्थापन गर्न देश विदेशमा रहेका नेपालीलाई आग्रह गरिएको छ ।

कांग्रेस महासमिति बैठक मङ्सिर २९ देखि पुस २ गतेसम्म हुने

काठमाडौँ, १९ कात्तिक : नेपाली कांग्रेसले शुक्रबार पश्चिम नेपालमा गएको भूकम्प र सभाहलको प्राविधिक कारणले पार्टीको महासमिति बैठकको निर्धारित मिति दुई साता पछाडि सारेको छ । कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको आइतबार बसेको बैठकले महासमिति बैठक आगामी मङ्सिर २९ देखि पुस २ गतेसम्म गर्ने नयाँ मिति तय गरेको पार्टीको प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिनुभयो ।

यसअघि आगामी मङ्सिर १३ देखि १५ गतेसम्म महासमिति बैठक गर्ने तय भए पनि उक्त मितिमा तयारी पूर्ण नहुने नदेखिएपछि कांग्रेसले नयाँ मिति तोकेको हो । भूकम्पका कारण तिहार अघिका पार्टीका औपचारिक कार्यक्रम स्थगन गर्नुपरेको र बैठक गर्ने सभाहल पनि निर्धारित मितिमा उपलब्ध नहुने भएपछि बैठकको मिति सार्नुपरेको उहाँले बताउनुभयो । कार्यसम्पादन समितिको बैठकले महासमिति बैठक ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा गर्ने निर्णय गरेको छ ।

यसैगरी बैठकले भूकम्पबाट प्रभावितको तत्काल उद्धार, राहत र पुनस्थापनाका लागि सरकारको ध्यानाकर्षण गराउने निर्णय गर्दै सरकारले हालसम्म गरेका कामका लागि धन्यवाद र थप क्रियाशील हुन आग्रह गरेको छ । कांग्रेसले भूकम्प प्रभावितको राहत र पुनःस्थापनाका लागि पार्टीका तर्फबाट घोषणा गरेको रु ५० लाख पर्याप्त नभएको भन्दै थप रकम जुटाउन पार्टीका सबै संरचनालाई आग्रह गरेको छ । बैठकले भूकम्प प्रभावितलाई प्रदान गर्ने राहत र वितरणमा अनियमता हुन नदिन पार्टीका तर्फबाट अनुगमन तथा सहजीकरण समिति गठन गर्ने निर्णय गरिएको छ ।

भूकम्पपीडितलाई प्राधिकरणको एक करोड

काठमाडौँ – नेपाल नागरिक उड्ययन प्राधिकरण (क्यान) ले भूकम्पपीडितलाई रु एक करोड राहत सहयोग गर्ने निर्णय गरेको छ ।

जाजरकोट तथा पश्चिम रुकुमका भूकम्पपीडितलाई सहयोग स्वरुप प्राधिकरणको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु एक करोड जम्मा गर्ने आज निर्णय गरेको नेपाल नागरिक उड्ययन प्राधिकरण (क्यान) का प्रवक्ता तथा उपमहानिर्देशक जगन्नाथ निरौलाले राससलाई जानकारी दिनुभयो ।

भूकम्पपीडितलाई सहयोग स्वरुप रु एक करोड सहयोग गर्ने र नेपालगञ्ज, सुर्खेत, रुकुम सल्ले तथा चौरजहारी विमानस्थलबाट राहतका लागि प्रयोग हुने विमानको शुल्कमा सतप्रतिशत छुट दिने निर्णय पनि प्राधिकरणले गरेको छ ।”

अमेरिका भ्रमण फलदायी भएको परराष्ट्रमन्त्रीको दाबी

काठमाडौँ – परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले आफ्नो संयुक्त राज्य अमेरिकाको औपचारिक भ्रमण फलदायी भएको बताउनुभएको छ ।

अमेरिका भ्रमण पूरा गरी आइतबार साँझ स्वदेश फर्केपछि अन्तर्राष्ट्रिय विमानस्थल सञ्चारकर्र्मीसँग कुरा गर्दै मन्त्री साउदले आफ्नो भ्रमण नेपाल–अमेरिका सम्बन्धलाई थप उचाइमा पुर्‍याउन सफल भएको बताउनुभयो ।

“यो भ्रमणबाट नेपाल र अमेरिकाबीचको आपसी मैत्री, समझदारी र सहयोगमा अभिवृद्धि भई द्विपक्षीय सम्वन्ध अझ सुदृढ भएको छ । अमेरिकी समकक्षी एन्टोनी ब्लिङ्केनसँगको भेटवार्तामा दुवै पक्षबीच सहकार्यलाई घनीभूत बनाउने प्रतिबद्धता व्यक्त भएको छ,” मन्त्री साउदले भन्नुभयो ।

अल्पविकसित मुलुकबाट स्तरोन्नतिको प्रक्रियामा रहेकाले नेपालको विकासका प्राथमिकतामा वैदेशिक सहयोग महत्त्पूर्ण हुने चर्चा गर्दै परराष्ट्रमन्त्री साउदले नेपाललाई सूचना प्रविधिको विकास, खाद्य सुरक्षा, कृषिको विकास, बजार पहुँच, लगानी र व्यापारलगायत क्षेत्रहरूमा अमेरिकी सरकारबाट सहयोग बढाउन आग्रह गरेको जानकारी दिनुभयो । अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसिसी)अन्तर्गतका परियोजना समयमै कार्यान्वयनको महत्त्वमा जोड दिएको उहाँको भनाइ थियो ।

आफूले अमेरिकी विदेशमन्त्री ब्लिङ्गेनलाई नेपालको औपचारिक भ्रमणका लागि निमन्त्रणा गरेको मन्त्री साउदले जानकारी दिनुभयो । उहाँ यही कात्तिक १२ गते काठमाडौँबाट अमेरिका प्रस्थान गर्नुभएको थियो ।

भ्रमणका क्रममा मन्त्री साउदले युएसएआइडीका प्रशासक समन्था पावर, सिनेटर क्रिस भान होलान तथा युएस इन्टरनेशनल डेभलपमेन्ट फाइनान्स कर्पाेरसनका प्रमुख कार्यकारी अधिकृत स्कोट नाथनसँग छुट्टाछुट्टै भेटवार्ता गर्नुभएको थियो । त्यसैगरी त्याँहास्थित नेपाली दूतावासमा एमसिसीका प्रमुख कार्यकारी अधिकृत एलिस अलब्राइट, अमेरिकी विदेश मन्त्रालयकी नागरिक सुरक्षा, प्रजातन्त्र र मानव अधिकार मामिला हेर्ने उपविदेशमन्त्री उज्रा जेया, अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्की वरिष्ठ डाइरेक्टर आइलीन लाउवाकरसँग पनि छुट्टाछुट्टै भेटवार्ता भएको थियो ।

सामाजिक सञ्जालको गलत प्रयोग गरे कारबाही हुने चेतावनी

काठमाडौँ – गृह मन्त्रालयले टिकटकलगायत सामाजिक सञ्जालको मर्यादित रुपमा प्रयोग गर्न सम्बद्ध पक्षसँग आग्रह गरेको छ ।

गृह मन्त्रालयले आइतबार एक विज्ञप्ति जारी गरी सामाजिक सञ्जालमा सम्प्रेषण गरिएका गलत सामग्रीले व्यक्ति र समाजमा नकारात्मक प्रभाव पार्नाका साथै व्यक्तिको चरित्र हत्या हुने, शान्तिसुरक्षाको अवस्थामा प्रभाव पार्ने, जातीय, भाषिक, धार्मिक सद्भाव खल्बल्याउने र राष्ट्रिय एकता तथा राष्ट्रहितमा प्रतिकूल असर पार्ने भएकाले त्यस्ता सामग्री सञ्जालमा नराख्न अनुरोध गरेको हो ।

मन्त्रालयले सामाजिक सञ्जालको दुरुपयोग रोक्न तथा दोषीउपर कानुनी कारबाही गर्न र गलत सामग्री सञ्जालबाट स्वतः हट्ने व्यवस्था मिलाउन सिङ्गापुरस्थित टिकटक कार्यालय र नेपाल प्रहरीको साइबर ब्यूरोलगायत सरकारी निकायहरुबीच सहकार्य बढाउने उद्देश्यले गत शुक्रबार गृह मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सुरक्षा निकाय, सरकारी निकाय एवम् टिकटकका अन्तर्राष्ट्रिय प्रतिनिधिबीच भएको छलफल भएको जनाउँदै सामाजिक सद्भाव बिगार्ने, विद्वेष फैलाउने, विशिष्ट व्यक्तिहरुको मानमर्दन गर्ने, जातीय, धार्मिक, सामाजिक सद्भाव बिगार्ने र अश्लील गतिविधि तथा सामग्री हटाउने र त्यस्ता सामग्री सञ्जालमा राख्ने व्यक्ति पत्ता लगाई कानुनी दायरामा ल्याउन सहज हुने भएकाले कानुनी कारबाही गर्ने जनाएको छ ।

मन्त्रालयले जिम्मेवार नागरिकका रुपमा कानुनसम्मत् शिक्षामूलक र सामाजिक सद्भाव नबिगार्ने सामग्री मात्र सामाजिक सञ्जालमा राख्न अनुरोध गर्दै गैरकानुनी काम गरेमा कानुनअनुसार कारबाही गर्ने चेतावनी दिएको छ ।

हेर्नुहोस् कार्तिक २० गते सोमवारको राशिफल

ज्यो.पं सरोज घिमिरे/मेष राशि – अप्रिय खवरको श्रवणले मनमा सामान्य चिन्ता प्राप्त रहने दिन रहेकोछ । मान्यजनको स्वास्थमा सामान्य समस्या उत्पन्नहुन सक्नेछ । मध्यान पश्चात भने अध्यन अध्यापनका क्षेत्रमा समय ब्यतित रहनेछ । आम्दानि मध्यम रहला । बौधिक क्षेत्रका ब्यतित्व सगँको संगत द्वारा मन प्रशन्न रहला ।

बृष राशि – मित्रजनह?को साथ सहयोगमा अधुराकार्य सम्पादित रहनेछन । यात्राकारक समय रहेकोछ । अ?द्वारा सम्पादित कार्यको श्रेय प्राप्त हुनाले मन प्रशन्न रहला । मध्यान पश्चात मानसम्मानमा आधात पर्नसक्ने सम्भाबना रहेकोछ । पारिवारिक स्वास्थमा समस्या उत्पन्न हुनसक्नेछ । नोकरीमा उन्नति मिल्नेछ ।

मिथुन राशि – स्वास्थमा सामान्य तनाब उत्पन्न हुन सक्नेछ । भोजभतेर तथा सभासम्मेलन जन्य कार्यमा सहभागीता जनाउने अवसर प्राप्त हुनेछ । रचनात्मक कार्यमा समय ब्यतित रहनाले मन प्रशन्न रहनेछ । तपाईको कार्य सम्पादनको श्रेय अन्य ब्यत्तिह?लाई सहजै प्राप्त हुनेछ । यात्रा झन्झट पुर्ण रहन सक्छ ।

कर्कट राशि- मनोबिलासिताका साधनको प्रयोगले समय ब्यतित रहनेछ । ब्यापार ब्यवसायका क्षेत्रमा समय उत्तम रहेकोछ । रोकिएर रहेका कार्य सम्पादित हुनाले मन प्रशन्न रहला । समयको सहि सदुपयोग गर्न नसक्नाले कार्य क्षेत्रमा साधारण ढिलाई भोग्नु पर्नेछ । आफन्तजन ह?को साथ सहयोगको कमि महसुस हुनेछ ।

सिंह राशि – कार्य सम्पादन प्रति अ?को दबावको महसुस हुनाले दिन तनाब पूर्ण ब्यतित रहला । प्रतिश्पर्दिह? सवल रहनाले हर कदममा सजग रहनु होला । स्वास्थमा देखिएको समस्याका कारण सामान्य खर्चको योग रहेकोछ । पारीवारिक भेटघाटको क्षेत्रमा समय ब्यतित रहला । ब्यापार ब्यवसायमा आफ्नो प्रभुत्व रहनेछ ।

कन्या राशि – आय आर्जनका बिभिन्न श्रोत साधनह? फेला परेतापनि मानसिक चन्चलताले कार्य श्रेत्रमा ब्यवधान आई पर्नेछ । अध्यन अध्यानपनमा अधिक समय ब्यतित गर्नु पर्नेछ । आँट शाहसमा कमि आउनाले कार्यसम्पादनमा समस्या आउन सक्छ । सहयोगी ब्यक्तिह?को साथ छुट्नाले मनमा आघात पुग्नेछ ।

तुला राशि – सभासम्मेलन जन्य कार्यमा सहगायीता साथै सामान्य मान प्रतिष्ठा प्राप्तीको योग रहेकोछ । कार्यप्रतिको लगन सिलतामा बृद्यि हुनेछ । मनोरञ्जनका निम्ती सामान्य खर्चको सम्भाबना रहेकोछ । मानसिक चन्चलताले सताउनेछ । बौधिक क्षेत्रका ब्यतित्व सगँको संगत द्वारा मन प्रशन्न रहला ।

बृश्चिक राशि- यात्राका क्रममा सामान्य खर्चको सम्भाबना रहेकोछ । तपाइको कार्यसम्पादनको श्रेय गैर ब्यतित्वह?ले प्राप्त गर्नेछन । नजिकका मित्रजनह?सगँको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुनेछ । भौतिक साधनको प्रयोगमा समय ब्यतित रहनेछ । मान्यजनको साथ सहयोग द्वारा सामाजिक कार्यको क्षेत्रमा अग्रसर भईनेछ ।

धनु राशि – स्वास्थ सम्बन्धी समस्याका कारण सामान्य तनाब उत्पन्न हुन सक्नेछ । पुरानो लगानि उठाउन समयले साथ दिनेछ । मान्यजनको मार्गदर्शन अबलम्बन गर्नाले भाग्योदयको बाटो देखा पर्नेछ । आजको कार्यले भोलिलाई फाइदा रहनेछ । सामान्य शकां उपशकांह?को निबारण हुने दिन रहेको छ ।

मकर राशि – शारीरिक आलस्यताका कारण गरीरहेको कार्यमा सामान्य झन्झट उत्पन्नहुन सक्नेछ । मान प्रतिष्ठामा सामान्य आचँ आउन सक्ने सम्भाबना रहेकोछ । मानसीक चन्चलताले कार्य क्षेत्रमाझन्झट आई पर्नेछ । सामान्य बादबिवादको सामना गर्नु पर्ला । सामान्य चोटपटकको सामना गर्नु पर्न सक्छ ।

कुम्भ राशि – तपाईको कार्यमा त्?टि देखाउनेह?को बृद्यिहुनेछ । स्वास्थमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ । अनावश्यक खर्चको सम्भाबना रहेकोछ । गैर ब्यत्तिह?को बिश्वासमा नपर्नुनै उत्तम रहनेछ । यात्रामा सामान्य झन्झट आईपर्न सक्नेछ । साजेदारी कार्यमा हात नहालेकै बेश रहनछ । ब्यापार ब्यवसायका क्षेत्रमा सामान्य समस्या देखापर्नेछ ।

मीन राशि – अध्यन अध्यापनका क्षेत्रमा समय ब्यतित रहनेछ । रचनात्मक तथा कला कौशलका क्षेत्रबाट सामान्य आम्दानि लिन सकिनेछ । स्वास्थका निम्ती सामान्य खर्चको सम्भाबना समेत रहेकोछ । तपाईको कार्य बाट फाईदा लिनेह?को सङख्यामा बृद्यि हुनेछ । आटशाहसको बृद्यिहुने योग रहेको छ ।

मूल्य घटेपछि च्याउ उत्पादक किसान मर्कामा

लेखनाथ(कास्की), १९ कात्तिक : उत्पादित च्याउको बजार मूल्य अत्यधिक मात्रामा घटेपछि कास्कीका च्याउ किसान मर्कामा परेका छन् ।

च्याउ उत्पादन वृद्धिसँगै मूल्यमा आएको भारी गिरावटका कारण कास्कीमा व्यावसायिक च्याउखेती गर्ने किसान मर्कामा परेका हुन् । डेढ महिनाअघि प्रतिकिलो रु दुई सय बजार मूल्य रहेको कन्य च्याउको मूल्य यतिबेला घटेर प्रतिनकिलो रु ६० पुगेको छ ।

पोखरा बजारमा बढी मात्रामा उपभोक्ताले उपभोग गर्ने च्याउ कन्य नै हो । चिसो मौसममा च्याउको उत्पादन पनि बढी हुने गर्छ । किसानले उतपादन गरेको कन्य च्याउ पोखरा बजारमा दैनिक चार हजार किलो बिक्री हुने गर्छ । कास्कीमा व्यावसायिक च्याउखेती गर्ने किसानको सङ्ख्या २० र बाहिरबाट पनि केहीमात्रामा च्याउ आयात हुने गरेको छ ।

पोखरा महानगरपालिकाका कृषि महाशाखा प्रमुख मनोहर कडरियाले किसानको उत्पादन गरेको च्याउ र सिमीको मूल्य यतिबेला अत्यधिक मात्रामा घटेपछि किसानको लागत मूल्यसमेत उठ्न नसकेको बताउनुभयो ।

पोखरा–१९ लामाचौरका च्याउ उत्पादक किसान सन्दीप क्षेत्रीले एक किलो च्याउ उत्पादन गर्न लागत मूल्य रु एक सय ३० लाग्छ तर प्रतिकिलो ६० मा बिक्री गर्नुपर्दा च्याउ किसानको लगानी सिधै डुब्ने अवस्थामा पुगेको बताउनुभयो । रु १४ लाखको लागतमा छ रोपनी जग्गामा उत्पादन गरेको च्याउले बजार नपाउँदा आफूले ठूलो नोक्सानी व्यहोर्नुपरेको उहाँले बताउनुभयो ।

“पोखरामा च्याउको मूल्य चार वर्षयताकै न्यून हो”, क्षेत्रीले भन्नुभयो, “च्याउ उत्पादक किसानको सङ्ख्या पनि बढ्दै जानु, च्याउ उत्पादन गर्ने अनुकूल मौसम र दसैँ पर्व पछाडि अर्थात् च्याउ उत्पादन बढी हुने समयमा पर्दा उपभोक्ताले मासु खाइदिँदा च्याउको माग घटेसँगै मूल्यमा पनि गिरावट आएको हो ।”

महानगरपालिकामा सूचीकृत किसानले उत्पादन गरेको च्याउको न्यूनतम समर्थन मूल्य तोकिदिएका कारण च्याउ किसान विस्थापित नै हुनुपर्ने अवस्थामा भने छैन । महानगरले पोखरामा च्याउको समर्थन मूल्य रु एक सय ३० तोकेको छ । गत वर्ष महानगरले पोखरामा च्याउको न्यूनतम समर्थन मूल्य रु एक सय ५० ँ तोकेको थियो । यस वर्ष रु २० घटाएर रु एक सय ३० कायम गरिएको कृषि महाशाखा प्रमुख कडरियाले जानकारी दिनुभयो ।

लागत मूल्यलाई आधार बनाएर न्यूनतम समर्थन मूल्य तोकिएको उहाँले बताउनुभयो । “समर्थन मूल्यभन्दा कम मूल्यमा किसानले च्याउ बेचेमा त्यसमा थपेर समर्थन मूल्य बराबर महानगरले रकम उपलब्ध गराउँछ”, कडरियाले भन्नुभयो, “समर्थन मूल्यका कारण च्याउखेतीबाट विस्थापित हुने स्थिति आउँदैन, न्यूनतम समर्थन मूल्यबापतको रकम लिन पनि सजिलो छ ।”

किसानले मूल्य घटेकोबारेमा महानगरलाई पूर्वजानकारी गराउनुपर्ने उहाँले बताउनुभयो । कडरियाले भन्नुभयो, “पछि हामीले अनुगमन गर्छौं र बेचेको रकमका आधारमा प्रमाण पेस भए तुरुन्तै रकम उपलब्ध गराउँछौँ ।”

पोखराका अर्का च्याउ किसान रवीन मैनालीले च्याउखेती गर्दा बढी मेहनत र झन्झटिलो भएकाले किसानलले दुःखअनुसारको मुनाफा प्राप्त गर्न नसक्ने बताउनुभयो । पोखरामा च्याउखेती गर्ने किसानको सङ्ख्या बढे पनि उत्पादित च्याउले मूल्य नपाउँदा किसानले सन्तुष्टि प्राप्त गर्न नसकेको मैनालीको भनाइ छ ।

भूकम्पपीडितलाई आइएमई ग्रुपको एक करोड पचास लाख

काठमाडौँ, १९ कात्तिक : ग्लोबल आइएमई बैंक, आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स, आइएमई लाइफ इन्स्योरेन्स र आइएमई लिमिटेडलगायत आइएमई ग्रुपबाट प्रवर्दित कम्पनी तथा आइएमई फाउन्डेसनमार्फत भूकम्पपीडितका लागि रु एक करोड ५० लाख नगद सहयोग प्रदान गरिने भएको छ ।

जाजरकोट, रुकुम पश्चिमलगायत जिल्लाका प्रभावित क्षेत्रमा उद्धार तथा राहत सामग्री वितरण गर्ने उद्देश्यले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम प्रदान गरिने समूहले आज एक प्रेस विज्ञप्ति निकालेर जनाएको छ ।

गालीगलौजको प्रवृत्तिले कांग्रेस कमजोर भएको गुनासो

भक्तपुर, १९ कात्तिक : नेपाली कांग्रेसका सहमहामन्त्री भीष्मराज आङदेम्बेले नेपाली कांग्रेसभित्र आन्तरिक रुपमा एकले अर्कालाई गाली गर्ने प्रवृत्तिले पार्टीलाई कमजोर बनाएको बताउनुभएको छ ।

नेपाली कांग्रेस भक्तपुर क्षेत्र नं २ प्रदेशसभा ‘क’ को दधिकोटमा आज आयोजना गरिएको प्रथम सम्मेलनको उद्घाटन गर्दै उहाँले पार्टीभित्र उत्पन्न विभिन्न गुटउपगुटका कारण पार्टी कमजोर भएको बताउनुभयो । उहाँले भन्नुभयो, “एकले अर्कोलाई गाली गर्ने प्रवृत्तिले इमान्दार कार्यकर्ताको भावनामा ठेस पुग्दा पार्टी कमजोर भएकाले यस्ता गतिविधि रोक्नुनुपर्छ ।”

नेपाली कांग्रेसका केन्द्रीय सदस्य मदनकृष्ण श्रेष्ठ, केन्द्रीय सदस्य रमा कोइराला पौडेलले पार्टी विधानसम्मत् रुपमा चल्न सके सबै समस्या समाधान हुने आँैल्याउनु भयो ।

नेपाली कांग्रेस बागमती प्रदेशका सभापति इन्द्र बानियाँले नयाँ पार्टीले चाहेर पनि कांग्रेसको इतिहास मेटाउने नसक्ने बताउनुभयो । नेपाली कांग्रेस भक्तपुरका सभापति एवम् सांसद दुर्लभ थापाले एकअर्कालाई गालीगलौज गर्ने प्रवृत्ति त्याग्नुपर्नेमा जोड दिनुभयो ।

नेपाली कांग्रेसका सूर्यविनायक नगर सभापति निशान ढुङ्गेल, भक्तपुर क्षेत्र नं २ प्रदेश सभा ख का सभापति ओमप्रकाश श्रेष्ठ, भक्तपुर क्षेत्र नं २ का सभापति भेषबहादुर कार्की, क्षेत्र नं १ का सभापति जीवन खत्री, बागमती प्रदेशसभा सदस्य सुरेश श्रेष्ठले कांग्रेस कमजोर भए लोकतन्त्र कमजोर हुने बताउनुभयो । त्यस अवसरमा कांग्रेसका पुराना नेता तथा कार्यकर्तालाई सम्मान गरिएको थियो ।

नेपालको दिगो विकासका निम्ति विश्व बैंकले सघाउने

काठमाडौँ, १९ कात्तिकः विश्व बैंकले जाजरकोट भूकम्पबाट प्रभावित भएका जनतालाई तत्काल सहयोग गर्न उपलब्ध कोषबाट स्रोत परिचालन गर्ने भएको छ ।

नेपालको चारदिने भ्रमण पूरा गरी अमेरिका प्रस्थान गर्नुअघि विश्व बैंकका प्रबन्ध निर्देशक आना जेर्डीले एक विज्ञप्ति निकालेर भूकम्पपीडितका निम्ति नेपाल सरकारबाट हुने प्रयासमा बैंकले स्रोत परिचालन गर्ने बताउनुभएको हो ।

दक्षिण एसियाका लागि बैंकका उपाध्यक्ष मार्टिन रेजरसँगै चारदिने भ्रमणका क्रममा उहाँले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर नेपालको दिगो एवम् समावेशी विकासका लागि बैंकले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

यहाँस्थित विश्व बैंकको कार्यालयका अनुसार प्रबन्ध निर्देशक जेर्डीले अर्थमन्त्री प्रकाशशरण महतलगायत नेपाल सरकारका उच्चअधिकारी, नेपालको विकासका साझेदार, नागरिक समाज, विद्वत वर्गलाई बेग्लाबेग्लै भेटेर नेपालको दिगो एवम् समावेशी विकासका निम्ति बैंकले सघाउने र सम्बद्ध निकायबाट पनि त्यस प्रयासमा साझेदारी हुने विश्वास व्यक्त गर्नुभएको थियो । उहाँले महिला तथा युवा वर्गलाई सीपमूलक तालिमका माध्यमबाट आत्मनिर्भर एवम् उद्यमी बनाउने कार्यक्रम आवश्यक भएकामा जोड दिनुभएको थियो ।

भारतद्वारा १६ करोडका राहत सामग्री हस्तान्तरण

काठमाडौँ, १९ कात्तिक : भारत सरकारले जाजरकोट भूकम्पपीडितका लागि रु १६ करोड बराबरका राहत सामग्री हस्तान्तरण गरेको छ ।

जाजरकोट भूकम्पपछि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल सरकारलाई हरसम्भव सहयोग गर्ने प्रतिबद्धताअनुरुप आज रु १६ करोडबराबरका आपत्कालीन राहत सामग्रीको पहिलो खेप नेपालगञ्ज विमानस्थलमा उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्कालाई हस्तान्तरण गरिएको यहाँस्थित भारतीय दूतावासले जनाएको छ ।

भारतीय वायुसेनाको विशेष विमानले आज ढुवानी गरेका ११ टनभन्दा बढी राहत सामग्री मन्त्री खड्कालाई हस्तान्तरण गरिएको हो । आज हस्तान्तरित सामग्रीमा त्रिपाल, टारपोलिन सिट, कम्बल र स्लिपिङ ब्याग, पोर्टेबल भेन्टिलेटरलगायत चिकित्सा उपकरण र अत्यावश्यक औषधी छन् ।

भारत सरकारका तर्फबाट नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले ती राहत सामग्री कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माको उपस्थितिमा मन्त्री खड्कालाई हस्तान्तरण गर्नुभयो ।

आगामी दिनमा राहत सामग्रीका थप खेप नेपाल आइपुग्ने दूतावासले आज साँझ जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । छिमेकीका नाताले नेपालमा भूकम्पबाट प्रभावित भएकालाई हरसम्भव सहयोग गर्न भारत प्रतिबद्ध रहेको जनाइएको छ ।

विपिन जोशीको सकुशल रिहाइको माग

दोधारा चाँदनी, १९ कात्तिक : प्यालेस्टिनी आतङ्कवादी समूह हमासको नियन्त्रणमा रहेको भनिएका कञ्चनपुरको भीमदत्त नगरपालिका–३ का विपिन जोशीको सकुशल रिहाइको माग गर्दै आज महेन्द्रनगरमा प्रदर्शन गरिएको छ ।

विपिनका परिवारसँगै आफन्तले जोशीको रिहाइका लागि माग गर्दै कञ्चनपुरका प्रमुख जिल्ला अधिकारीमार्फत परराष्ट्रमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् । “आफ्नै छोरा सम्झेर जस्तो अवस्थामा भए पनि मेरो छोरालाई ल्याइदिनूस्,” आमा पद्माले भक्कानिँदै भन्नुभयो, “जतिसक्दो चाँडो छोराको उद्धार गरिदिनूस् ।”

इजरायली सरकारले विपिन हमास समूहको नियन्त्रणमा रहेको पुष्टि गरेपछि उनको परिवारमा केही आशा पलाएको छ । विपिनका बुबा महानन्द जोशीले विपिन सकुशल नेपाल फर्किने आशा रहेको बताउनुभयो । “हामीलाई अझै आशा छ सरकारले छोरालाई सकुशल उद्धार गर्नेछ,” महानन्दले भन्नुभयो, “हामी विपिनको प्रतीक्षामा छौँ, तिहार अगावै छोराको उद्धार गरेर घर ल्याइदिनूस् ।”

नेपाल सरकार, संयुक्त राष्ट्रसङ्घ र मानव अधिकारवादी सङ्घसंस्थाहरूले तत्काल छोराको उद्धारमा सहयोग गर्न आग्रह गरे । ¥यालीमा जोशीका बुबासँगै आमा पद्मा र बहिनी पुष्पा पनि सहभागी थिइन् । महेन्द्रनगरको मदन चोकबाट सुरु गरिएको ¥याली बजार परिक्रमा गरी जिल्ला प्रशासन कार्यालयमा पुगेर समापन गरिएको हो ।

प्रशासनमा पुगेर प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र पनि बुझाइएको छ । ज्ञापनपत्र बुझ्दै कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले विपिनको उद्धारका लागि सरकारले सक्दो प्रयास गरिरहेको बताउनुभयो ।

सुदूरपश्चिम विश्वविद्यालयको टीकापुर क्याम्पसमा कृषि सङ्कायमा आठौँ सेमेष्टरमा अध्ययनरत जोशी ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत भदौमा इजरायल गएका थिए ।

नेपाली सेनाको आयोजनामा रक्षा संवाददातालाई अभिमुखीकरण

काठमाडौँ, १९ कात्तिक : नेपाली सेनाको सङ्गठनात्मक स्वरुप, जिम्मेवारी तथा भूमिका एवं मुख्य गतिविधिबारे जानकारी गराउने उद्देश्यले प्रतिरक्षा र सुरक्षा विधामा कार्यरत सञ्चारकर्मीका लागि अभिमुखीकरण आयोजना गरिएको छ ।

कार्यक्रममा नेपाली सेनाका विभिन्न निकायको काम, कर्तव्य र जिम्मेवारीका बारेमा प्रस्तुतीकरण तथा छलफल हुनेछ । सहभागीलाई शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज तथा नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन राष्ट्रिय गौरवको काठमाडौँ–तराई र मधेस द्रूतमार्ग सडक आयोजनाको स्थलगत भ्रमण गराउने योजना रहेको नेपाली सेनाले जनाएको छ ।

जनसम्पर्क तथा सूचना निर्देशक सहायक रथी कृष्णप्रसाद भण्डारीले संविधानद्वारा निर्देशित तथा राज्यबाट प्राप्त जिम्मेवारी वहन गर्दै मातृभूमिको रक्षा तथा विकास निर्माणको क्षेत्रमा नेपाली सेना समर्पित रहेको बताउनुभयो । उहाँले सेना र सञ्चार जगत्बीचको सम्बन्धलाई थप व्यावसायिक बनाउन अभिमुखीकरण उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो । पाँच दिनसम्म चल्ने अभिमुखीकरणमा २६ पत्रकारको सहभागिता छ ।

विधायिकाको भूमिका कमजोर भयो : नेत्री कठायत

काठमाडौँ, १९ कात्तिक: “सङ्घीय संसद्को दुवै सदनको चालू अधिवेशन बिहीबारदेखि अन्त्य भयो । पछिल्लो १० महिनामा हामीले एउटा मात्रै कानुन बनाउन सक्यौँ”, राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विनिता कठायतले भन्नुभयो, “यस्तो अवस्थामा विधायिकाको भूमिकामाथि प्रश्न उठ्न अस्वभाविक होइन ।”

‘सांसदसँग रासस’ संवादका क्रममा सांसद कठायतले सांसद र सरकार दुवै कानुन निर्माणमा भन्दा अन्य काममा बढी केन्द्रित हुँदा कानुन निर्माण गर्ने विधायिकाको भूमिका कमजोर भएको बताउनुहुन्छ । उहाँ संसद प्रभावकारी नहुनुको कारण दलगत स्वार्थ र टकराव हो ।

“हाम्रो पहिलो काम र कर्तव्य कानुन निर्माण नै हो । जुन हामी पूर्णरुपमा गरिरहेका छैनौँ”, उहाँले भन्नुभयो, “तर विकास निर्माणका काममा योजना हाल्ने, कर्मचारी सरुवा बढुवा गराइदिने र यताको कुरा उता गराइदिनेमा मात्रै बढी केन्द्रित भयौ जस्तो लाग्छ । मुख्य काममा ध्यान गइरहेको छैन । कानुन निर्माणमा हुनुपर्ने समय अन्यत्रै खर्च भइरहेको छ ।”

सांसद कठायतले सांसदको भूमिकाबारे जनता र जनप्रतिनिधि दुवै स्पष्ट हुनुपर्ने बताउनुहुन्छ । २८ वर्षीय सांसद कठायत २०७९ सालको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को खस आर्यबाट पहिलो पटक समानुपातिक निर्वाचन प्रणालीमार्फत प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको हो ।

जुम्लाको चन्दननाथ नगरपालिकाको बासिन्दा कठायतको पारिवारिक राजनीतिक पृष्ठभूमि पुरानो राजनीतिक दलसँग जोडिएको छ । तर रास्वपा सभापति रवि लामिछानेसँग एक सञ्चारमाध्यममा काम गर्दै गर्दा उहाँले रास्वपा पार्टी स्थापनादेखि सदनसम्म जोडिन आइपुग्नु भएको हो ।

संसदीय अभ्यासको १० महिनासम्मको अनुभव रासससँग सुनाउँदै उहाँले भन्नुभयो, “सांसदबारे जति सुनेको थिए त्यतिमात्र सोचेको थिएँ । यदि म सांसद भएको भए धेरै काम गर्थे भन्ने हुन्थ्यो । जुन सांसद भएपछि धेरै फरक भएको पाएँ ।” सांसदको भूमिकालाई प्रभावकारीरुपमा निर्वाह गर्न आफूलाई ‘अपग्रेड’ गर्दै लगेको उहाँको भनाइ छ ।

“संसदीय अभ्यासको सुरुआती दिनमा पार्टी सभापतिले ठूला दलका नेताबाट सिक्नु हौसाउनुहुन्थ्यो । हामी डायरी र पेन लिएर बस्थ्याँै”, सांसद कठायतले भन्नुभयो, “तर अहिले मन लाग्दैन । उहाँहरुले गरिरहेको अभ्यास हामीलाई सिक्नु छैन । उहाँहरुले गर्नुभएको अभ्यासलाई निरन्तरता दिने हो भने नयाँ पुस्ता राजनीतिमा आउने छैनन् ।”

उहाँले जनताको अपेक्षाअनुसार काम गर्न नसक्दा जनप्रतिनिधिले गर्व गर्ने ठाउँ नभएको बताउनुभयो । “तपाईं सांसद हो, तपाईंले गर्नुपर्छ भन्नुहुन्छ, उहाँहरुको विश्वासले हामीलाई हौसला बढेको छ । तर म र मेरो पार्टीको २१ जनाले मात्र गरेर सम्भव हुदैन”, उहाँले भन्नुभयो, “म सांसद हुँ भनेर गर्व गर्ने अवस्था छैन ।”

कर्णाली प्रदेशका जनताको आवश्यकताबारे सरकारको ध्यानाकर्षण गराउन सधँै अगाडि रहनुभएको सांसद कठायतले स्थानीय तहसँग ‘इगो’को समस्याका कारण वास्तविक समस्या समाधान हुन नसकेको अनुभव सुनाउनुभयो । “तीन तहको सरकारबीच समन्वय नहँुदा सहकार्यमा समस्या भइरहेको छ । कतिपय समस्या सङ्घमा ल्याउनै नपर्ने हुन्छ, स्थानीय तहले नै सुन्ने र समाधान गर्ने समस्यालाई पनि इगोका कारण अल्झाइरहने स्थिति देखेको छु”, उहाँले भन्नुभयो ।

अझ फरक–फरक राजनीतिक पार्टीको सरकार हुने स्थानमा समस्या धेरै हुने उहाँको भनाइ छ । सदनमा कर्णालीको जनताको आवाज बोल्ने सांसद कठायतलाई जनप्रतिनिधिका रुपमा विश्वास जित्न उति सजिलो नहुने उहाँको अनुभव छ । “मेरो उमेर, तौल र अनुहार हेरेर कस्तो फुच्चे रहेछ भनेर नपत्याउने समस्या पनि हुने रहेछ । म महिला हुँ, त्यसका कारण पनि अविश्वास गर्नेछन्”, उहाँले भन्नुभयो ।

प्रतिनिधिसभाअन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक प्रकोप समितिको सदस्यसमेत रहनुभएका कठायतले युवाको सहभागिताबिना विकास सम्भव नहुने भन्दै पछिल्लो समय युवा नै विदेशिने क्रम बढेकोप्रति चिन्ता व्यक्त गर्नुभयो । राज्यले युवामाथि विश्वास गर्दै उनीहरुमा विश्वासको वातावरण सिर्जना गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

“बङ्गलादेशमा अध्ययनरत एक नेपाली विद्यार्थीले अध्ययनका विदेश गएका हामी के आधारमा देश फर्किने ? भनेर सोध्नुभयो”, सांसद कठायतले भन्नुभयो, “उहाँको प्रश्नले नमज्जाले दुःख्यो, हामी प्रयास गर्दैछौँ कृपया नेपाल फर्किनुहोस् र मिलेर काम गरौँ भन्नुबाहेक उत्तर थिएन ।”

प्रदूषणका कारण दिल्लीमा स्कुल बन्दको समय बढाइयो

वायु प्रदूषणका कारण भारतको राजधानी नयाँदिल्लीमा अधिकारीहरूले आइतबार आपत्कालीन स्कुलहरू एक साताका लागि बन्द गर्ने अवधि बढाएका छन् । महानगरको प्रदूषणको स्तरमा सुधारको कुनै सङ्केत नदेखिएपछि अधिकारीहरूले त्यस्तो निर्णय गरेका हुन् ।

छिमेकी कृषि प्रधान राज्यहरूमा किसानहरूले पराल जलाउने गरेकाले हरेक शरद याममा दिल्लीलाई भीषण धुवाँले ढाक्ने गर्छ । नयाँदिल्लीलाई संसारको सबैभन्दा धेरै प्रदूषित सहरमध्ये एक मानिन्छ । यहाँको वार्षिक धुवाँ प्रत्येक वर्ष सयौँ÷हजारौँ मानिसको अकाल मृत्युको कारण बन्ने गर्छ ।

“प्रदूषणको स्तर लगातार उच्च रहेकाले दिल्लीमा प्राथमिक विद्यालय नोभेम्बर १० सम्म बन्द रहने छन्”, दिल्ली राज्यका शिक्षामन्त्री आतिशीले सामाजिक सञ्जाल एक्समा भन्नुभयो, “उच्च प्रदूषण स्तरका कारण माध्यमिक विद्यालयहरूलाई ‘अनलाइन कक्षा’ सञ्चालन गर्ने विकल्प दिइएको छ ।”

अनुगमन गर्ने संस्था आइक्युएयरका अनुसार तीन करोड जनसङ्ख्या भएको भारतीय राजधानी आइतबार फेरि एक पटक विश्वको सबैभन्दा धेरै प्रदूषित सहरको स्थानमा छ ।

दिल्लीले प्रत्येक वर्ष निर्माण गतिविधिहरूमाथि प्रतिबन्ध लगाउँछ र प्रदूषण गम्भीर स्तरमा पुग्दा केही सवारी साधनलाई सडकबाट हटाउने आदेश दिन्छ । तर आलोचकहरूले सरकारले सार्वजनिक स्वास्थ्य सङ्कटको प्राथमिक स्रोत कृषिलाई जानाजानी नजरअन्दाज गरेको बताउँछन् ।

छिमेकी राज्यहरूमा किसान निर्वाचनमा शक्तिशाली मतदाता हुन् र निर्वाचित नेताहरूले उनीहरूको सो कार्यका लागि कडा जरिवाना वा अन्य दण्डात्मक कदम लगाउनु पर्छ भन्ने मागलाई लामो समयदेखि विरोध गर्दै आएका छन् ।

नयाँदिल्लीमा सोमबार श्रीलङ्का र बङ्गलादेशबीच विश्व कप क्रिकेट खेल हुँदैछ । तर दुवै टिमले हालैका दिनमा धुवाँबाट हुने स्वास्थ्य जोखिमका कारण आफ्नो निर्धारित खेलपूर्वको प्रशिक्षण रद्द गरेका छन् ।

आगामी केही सातासम्म गम्भीर धुवाँको स्तर कायमै रहने आशङ्का गरिएको छ । आइक्युएयरका अनुसार आइतबार सबैभन्दा खतरनाक पिएम२.५ कणहरूको स्तर पाँच सय ७० माइक्रो प्रतिघनमिटरसम्म पुगेको छ । विश्व स्वास्थ्य सङ्गठनले सिफारिस गरेकोभन्दा यो करिब ४० गुणा धेरै हो । पिएम२.५ कण रक्त प्रवाहमा प्रवेश गर्नसक्ने अति सानो कण हो ।

सन् २०२० मा एक अध्ययनले अघिल्ला वर्षका क्रममा वायु प्रदूषणका कारण १६ लाख ७० हजारको मृत्यु भएको र यसमा नयाँदिल्लीमा करिब १७ हजार पाँच सयको मृत्यु भएको थियो ।

शिकागो विश्वविद्यालयको ऊर्जा नीति संस्थानको अगस्टको एक प्रतिवेदनअनुसार वायु प्रदूषणका कारण औसत सहरवासी अपेक्षा गरिएभन्दा १२ वर्षअघि नै मर्न सक्छन् । भारत ऊर्जा उत्पादनका लागि प्रदूषणकारी कोइलामाथि अत्यधिक निर्भर छ । यसलाई चरणबद्ध तरिकाले अन्त्य गर्नुपर्ने मागको भारतले विरोध गरिरहेको छ । पछिल्लो सात वर्षमा भारतको प्रतिव्यक्ति कोइला उत्सर्जन २९ प्रतिशतले बढेको छ ।

पाकिस्तानका प्रधानमन्त्रीद्वारा शोक व्यक्त

काठमाडौँ, १९ कात्तिक : पाकिस्तानका प्रधानमन्त्री अन्वर उल हक ककरले जाजरकोट भूकम्पमा ज्यान गुमाएका नेपालीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै भूकम्पपीडितप्रति ऐक्यबद्धता जाहेर गर्नुभएको छ ।

“यो कठिन घडीमा पाकिस्तान नेपालको साथमा छ, नेपाललाई आवश्यक पर्ने जस्तोसुकै सहयोग गर्न पाकिस्तान तयार छ,” प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई उल्लेख गरेर पाकिस्तानी प्रधानमन्त्रीले सामाजिक सञ्जाल एक्समा लेख्नुभएको छ ।

यसैगरी, सिनेटका अध्यक्ष मोहम्मद सिद्धत सञ्जरानीले भूकम्पबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै शोकाकुल परिवारप्रति हार्दिक समवेदना व्यक्त गनुभएको छ । उहाँले घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।

भूकम्पका घाइतेको उपचारमा कमी हुन नदिन रक्षामन्त्रीको निर्देशन

नेपालगञ्ज (बाँके) १९ कात्तिक ः उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले भेरी अस्पतालमा उपचाररत भूकम्पका घाइतेलाई भेट्नुभएको छ ।

आज भेरी अस्पताल पुग्नुभएका उपप्रधानमन्त्री खड्काले घाइतेहरूको अवस्था बुझ्नुभएको हो । उहाँले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै भेरी अस्पताललाई भूकम्पका घाइतेको उपचारमा कुनै कमी हुन नदिन निर्देशन दिनुभयो । उहाँले सरकारले घाइतेको निःशुल्क औषधि गर्ने जानकारी गराउँदै प्रतिकार्य र राहतमा तदारुकताका साथ काम गरिरहेको बताउनुभयो ।

उपप्रधानमन्त्री खड्कालाई बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले बाँकेका अस्पतालमा भूकम्प प्रभावित घाइतेको प्रभावकारी उपचार, उद्धार र राहतका लागि भएका कामका बारेमा जानकारी गराउनुभएको थियो ।

भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा पवनजङ्ग रायमाझीले अस्पतालमा उपचाररत घाइतेको अवस्थाबारे जानकारी गराउनुभएको थियो । सरकारले भूकम्प प्रभावित जिल्लाका घाइतेको उपचारका लागि भेरी अस्पताललाई
‘डेडिकेटेड अस्पताल’ तोकेको छ ।

भेरीमा भूकम्पका घाइतेको उपचारका लागि १०५ श्यया छुट्ट्याइएको छ । हाल जाजरकोट र रुकुम पश्चिमका ३७ घाइतेको भेरीमा उपचार भइरहेको छ । घाइते एक जना भने नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचाररत छन् ।
–––

सशस्त्रले भूकम्प प्रभावित क्षेत्रमा पठायो ‘डिजास्टर रेस्पोन्स सिस्टम कन्टेनर’

काठमाडौँ, १९ कात्तिक : सशस्त्र प्रहरी बल नेपालद्वारा टेन्टसहित तीनवटा ‘डिजास्टर रेस्पोन्स सिस्टम कन्टेनर’ भूकम्प प्रभावित क्षेत्रमा पठाएको छ ।

सशस्त्र प्रहरी सहायक निरीक्षक रामविश्वास यादवसहितको सरक्षा फौज आज तीनवटा कन्टेनरमा १० हजार सात सय थान त्रिपाल लिएर रुकुम पश्चिमका लागि आज प्रस्थान गरेको हो ।

उपत्यकास्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर २० विपद् उद्धार उपत्यका गणमा रहेको सात सय थान र नम्बर २२ गुह्वेश्वरी गणमा रहेको १० हजार थान त्रिपाल लिएर तीनवटा कन्टेनर प्रभावित क्षेत्रतर्फ गएको सशस्त्र प्रहरी बल नेपालका प्रवक्ता वरिष्ठ उपरीक्षक राजेन्द्र खड्काले राससलाई जानकारी दिनुभयो ।

यसअघि भूकम्प प्रभावितका लागि आवश्यक सामग्रीसहित दाङबाट रुकुम पश्चिमका लागि र सुर्खेतबाट जाजरकोटका लागि दुईवटा डिजास्टर रेस्पोन्स सिस्टम (डिआरएस) कन्टेनर पठाइसकिएको उहाँले बताउनुभयो ।

अहिले पनि सशस्त्र प्रहरीका पाँच सयभन्दा बढी जनशक्ति भुकम्प प्रभावित क्षेत्रमा खोज तथा उद्धारमा सक्रिय छन् । नेपाल प्रहरीका एक हजारभन्दा बढी जनशक्ति परिचालित छन् ।

बत्तीस किचन सम्हाल्दै सेफ कौशल

चितवन, १९ कात्तिक ः होटल, रेष्टुराँ, पार्टी प्यालेसका सञ्चालक र त्यहाँका कार्यकारी प्रमुखलाई धेरैले चिन्दछन् तर त्यही भान्साघर ९किचन० लाई व्यवस्थित गरेर संस्थालाई चिनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने सेफहरुलाई भने कमैले मात्र चिन्दछन् ।

यस्तै भूमिकामा रहनुभएका बुटवलको देवीनगरका एलबी कौशलले सिद्धार्थ हस्पिटालिटी एण्ड विजनेश ग्रुपका ३२ वटा किचन सम्हाल्दै आउनु भएको छ । उहाँकै नेतृत्वमा यो समूहका होटल, रेष्टुराँ, पार्टी भेनु र कलेज सञ्चालन हुँदै आएका छन् । विगत पाँच वर्षदेखि कौशलले यो समूहको नेतृत्व गर्दै आउनुभएको हो ।

होटल म्यानेजमेन्टको अध्ययनसँगै सन् २००० देखि उहाँले यो यात्रा सुरु गर्नुभएको हो । एकचालिस वर्षीय कौशलले धेरै पाँचतारे होटलमा काम गरिसक्नु भएको छ । सोही अनुभवका कारण उहाँले अहिले एक हजारभन्दा बढी किचनको नेतृत्व गरेर सिद्धार्थ ग्रुपको भान्सालाई अघिबढाउनु भएको छ । भारतको नयाँदिल्लीमा बिएचएम उत्तीर्ण गरेसँगै कौशलले भारतकै भूपालमा रहेका पाँचतारे होटलमा काम सुरु गर्नुभएको थियो ।
ट्रेनिङ सेसनदेखि नै काम सुरु गर्नुभएका उहाँ कमी थर्ड, कमी सेकेण्ड, कमी फस्ट हुँदै अहिले कर्पोरेट सेफ बन्नु भएको हो । कौशलले होटल सूर्या, ताज होटल, अन्तर्राष्ट्रिय ग्रुप आइजी, चेन ग्रुप सिग्नेटलगायत होटलमा कामगरिसक्नु भएको छ । यससँगै उहाँ नेपालका होटल म्यानेजमेन्ट कलेजहरुसँग पनि जोडिनुभएको छ ।

गेट कलेज काठमाडौँ, सिल्भर माउण्टेन कलेज, नाथेम कलेज, त्रिभुवन विश्वविद्यालय, पोखरा विश्वविद्यालयलगायतमा गेष्ट लेक्चर र प्रयोगात्मक इन्स्ट्रक्टरका रूपमा कौशलले काम गर्दै आउनु भएको छ । सन् २०१९ को मास्टरसेफ प्रतियोगिताको निर्णायक समेत उहाँ हुनुहुन्थ्यो । सिद्धार्थ ग्रुपमा कौशल छिर्दै गर्दा १३ वटा शाखा थिए । अहिले यो शाखा ३२ पुगेको छ ।

सिद्धार्थ ग्रुपमा रेष्टुरेन्टदेखि पाँचतारे होटलसम्म छन् । उहाँले भन्नुभयो “हरेक शाखामा कार्यकारी सेफ राख्छौँ । उनीहरुले मलाई रिपोर्टिङ गर्छन् । खानाका परिकार मबाट फलो गरेर तयार गर्छन् ।” दैनिक अनलाइन बैठक गरेर छलफल गर्ने र आइपरेका समस्या पहिचान गरी समाधान गर्ने गरेको उहाँको भनाइ थियो ।

कौशलले थप्नुभयो “खानाको गुणस्तरमा सम्झौता गर्दैनौ । फुडलाई सेफ्टी र हाईजेनिक बनाउनाका साथै केयर पनि गर्छौँ ।” खानाबाटै ९५ प्रतिशत रोग लाग्ने भएकाले उहाँले त्यसमा कुनै पनि हेलचक्र्याई नगरी खाद्य सुरक्षालाई ख्याल गर्ने गरिएको बताउनुभयो । कौशलले थप्नुभयो “स्वस्थकर खाना दिन्छौँं । प्राङ्गारिक खानामा हामी विश्वास गर्छौं ।”

आफूहरुले मसलामा पनि विशेष ध्यान दिन गुणस्तरीय ब्राण्डका मात्रै मसला प्रयोग गर्ने गरेको कौशलले बताउनुभयो । उहाँले भन्नुभयो “जिरा, धनियाँ, गरममसला, कबाब मसला आफँै बनाउँछौँ । रङग प्रयोग गर्दैनौंँ । हामीले तयार गरेको खानामा प्राकृतिक रङ्ग हुन्छ ।” व्यवस्थापनले पनि गुणस्तरमा कुनै सम्झौना नगर्न आफूहरुलाई भनेकै कारण उच्चस्तरको खाना तयार गर्न सकिएको कौशलले बताउनुभयो ।

काठमाडौँको कोटेश्वरमा रहेको सिद्धार्थ हस्पिटालिटी इन्स्टिच्यूटबाट तालिम लिएर आउनेलाई मात्रै काममा लगाउने गरेको उहाँले बताउनुभयो । पेसागत हिसाबले यो क्षेत्र महत्वपूर्ण रहेकाले आफ्नो ग्रुपभित्र काम गर्ने सेफले मासिक रु तीन लाखसम्म पारिश्रमिक पाउने गरेको उहाँले जानकारी दिनुभयो । बजारमा खोजेजस्तो जनशक्ति पाउन नसकिएको अवस्थामा यही बसेर मेहनत गर्न सक्यौंँ भने राम्रै कमाउन सकिने कौशलले बताउनुभयो ।

भूकम्पपीडितलाई सरकारले सक्दो सहयोग गर्छ – गृहमन्त्री श्रेष्ठ

जाजरकोट, १९ कात्तिक : उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले जाजरकोट भूकम्पपीडितलाई सरकारले सक्दो सहयोग गर्ने बताउनुभएको छ । पीडित परिवारलाई राहत सामग्रीको व्यवस्था गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

जाजरकोट सदरमुकाममा सरोकारवाला निकायसँग भूकम्प प्रभावित क्षेत्रमा सरकारले गरेका कामका बारेमा जानकारी दिँदै उपप्रधानमन्त्री श्रेष्ठले पीडितलाई सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।उपप्रधानमन्त्री श्रेष्ठले आज मन्त्रिपरिषद्को बैठक, विपद् व्यवस्थापन परिषद्को बैठक बसेर सबै ठाउँका अस्पताललाई भूकम्पपीडितको अविलम्ब उपचारको व्यवस्था गर्न निर्देशन दिइएको बताउनुभयो ।उपप्रधानमन्त्री श्रेष्ठले पूर्णरुपमा भत्किएका र आंशिक रुपमा भत्किएका घरको मूल्याङ्कन, क्षतिका आधारमा राहतको व्यवस्था, तत्काल उपलब्ध गराउनुपर्ने त्रिपाल, कम्बल, खाद्यान्नलगायत सामग्रीको व्यवस्था गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभयो । उहाँले रेडक्रसलगायत मानवीय सहायता निकायलाई सहयोग परिचालन गर्न आग्रह पनि गर्नुभयो ।

शान्ति प्रक्रिया निष्कर्षमा पुर्‍याउन पलाएको आशा

काठमाडौँ, १९ कात्तिक : “नेपालको शान्ति प्रक्रियामा सघाउन पाउँदा राष्ट्रसङ्घ गौरव गर्दछ, यस क्षणमा म नेपालका शान्ति प्रक्रियामा संलग्न नेताहरूप्रति राष्ट्र सङ्घका तर्फबाट सम्मान व्यक्त गर्दछु”, संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले सङ्घीय संसद्को दुवै सदनलाई सम्बोधन गर्ने क्रममा भन्नुभयो ।

नेपालले शान्ति प्रक्रियाअन्तर्गत सङ्क्रमणकालीन न्यायलाई अन्तिम निष्कर्षमा पु¥याउन लागेकामा शुभेच्छा व्यक्त गर्नुहुँदै उहाँले पीडित पक्षको अधिकारको रक्षा गर्दै उक्त प्रक्रियालाई टुङ्गोमा पु¥याउन उपयुक्त हुने विश्वास व्यक्त गर्नुभयो । महासचिव गुटेरेसले थप्नुभयो, “यो एक नाजुक र जटिल प्रक्रिया भएपनि अन्तर्राष्ट्रिय मापदण्डहरू पूरा गर्ने, तपाईंको सर्वोच अदालतका निर्णय र पीडितहरूका आवश्यकता पूरा गर्ने प्रक्रियाको विकास गर्न र यसलाई व्यवहारमा ल्याउन संयुक्त राष्ट्रसङ्घ तपाईंहरूलाई सहयोग गर्न तयार छ ।”

महासचिव गुटेरेसको उक्त भनाइले राष्ट्रसङ्घको नेपालको शान्ति प्रक्रियाको बाँकी काम पूरा गर्न सहयोग गर्ने स्पष्ट सन्देश दिएको छ । नेपाल भ्रमणका क्रममा उहाँले भन्नुभयो, “नेपाल सङ्क्रमणकालीन न्याय प्रक्रियालाई टुङ्गोमा पु¥याउन राष्ट्रसङ्घ आवश्यक सहयोग गर्न तयार छ, क्रमणकालीन न्यायले पीडित, उनीहरुको परिवार र समुदायमा शान्ति ल्याउन सहयोग गर्छ भन्ने विश्वास व्यक्त गर्दछु ।”

संयुक्त राष्ट्रसङ्घले सङ्क्रमणकालीन न्यायको विषयलाई निकै चासोका साथ हेरेको विषयलाई सरकार र राजनीतिक दलका नेताहरुले पनि निश्कर्षमा पुर्‍याउनुपर्ने महसुस गर्नुभएको देखिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका नेता डा शशाङ्क कोइरालालगायत राजनीतिक दलका नेताहरुको पनि एउटै स्वरमा शान्तिप्रक्रियाको बाँकी काम पूरा गर्नुपर्छ भन्ने अभिव्यक्ति दिनुभएको छ ।

प्रधानमन्त्री ‘प्रचण्ड’ ले नेपालको शान्ति प्रक्रिया टुङ्ग्याउन संयुक्त राष्ट्रसङ्घबाट सहयोग हुने विश्वास व्यक्त गर्दै भन्नुभयो, “शान्ति प्रक्रिया टुङ्ग्याउन संयुक्त राष्ट्रसङ्घका साथै अन्तर्राष्ट्रिय समुदायको पनि सहयोग रहनेमा म विश्वस्त छु, नेपालको शान्ति प्रक्रियाप्रति अन्तर्राष्ट्रिय समुदाय र महासचिव गुटेरेसको धारणा सकारात्मक छ, अब छिटै शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउनुपर्छ ।” प्रधानमन्त्री दाहालले जस्तै प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष ओलीले नेपालको शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन सबैले ध्यान दिन जरुरी रहेको बताउनुभयो । “महासचिव गुटेरेसले शान्ति प्रक्रियालाई निश्कर्षमा पुर्‍याउन सघाउने भन्नुभएको छ, नेपालले पनि महत्वका साथ उक्त प्रक्रियालाई अघि बढाएर टुङ््रग्याउनुपर्छ । ”

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालको पनि शान्ति प्रक्रियालाई निश्कर्षमा पु¥याउनुपर्छ भन्ने नै रहेको छ । नेपालले भन्नुभयो, “शान्ति प्रक्रिया टुङ्ग्याउनका लागि उहाँले दिएको, सुझाव महत्त्वपूर्ण छन्, यसमा हामी विश्व समुदायको समर्थनको अपेक्षा गर्छौँ र हामी पनि लाग्छौँ ।” कांग्रेस नेता डा कोइरालाको भनाइ पनि उस्तै छ । “सबैलाई न्याय हुने गरी शान्तिप्रक्रिया टुङ्गोमा पु¥याउन महासचिवले सुझाव दिनुभएको छ”, उहाँले जोड्नुभयो, “सर्वोच्च अदालतको आदेश, पीडितको राय लिएर, अन्तराष्ट्रिय मूल्य मान्यताअनुसार नै प्रक्रियालाई अघि बढाउनुपर्छ ।” नेपाल सरकार र राजनीतिक दलहरुको यो अभिव्यक्तिअनुसार काम हुनसकेमा नेपालको शान्ति प्रक्रिया छिट्टै निष्कर्षमा पुग्नेछ ।

सङ्क्रमणकालीन न्यायका जानकार अधिवक्ता राजु चापागाईंलाई पनि संयुक्त राष्ट्रसङ्घले प्राथमिकताका साथ सघाउने प्रतिवद्धता जनाएको अवस्थामा जतिसक्दो छिटो ऐन संशोधन गरेर काम अघि बढाउनुपर्छ भन्ने लागेको छ । “संयुक्त राष्ट्रका महासचिव आउँदा प्राथमिकताका साथ नै शान्ति प्रक्रियालाई टुङ्ग्याउनुपर्छ, त्यसमा राष्ट्रसङ्घ सहयोग गर्न तयार छ भन्नुभएको छ”, उहाँले भन्नुभयो, “जुन कुरा महत्वपूर्ण छ, नेपालका राजनीतिक दलको पनि एकतावद्ध भएर यो विषयमा काम गर्नुपर्ने जरुरी छ ।” संयुक्त राष्ट्रसङ्घले चासो दिनु आफैँमा महत्वपूर्ण विषयमा भएको र नेपाली राजनीतिक दलका नेतृत्वले गम्भीर भएर पीडितलाई न्याय दिने काममा लगाउनु उपयुक्त हुने देखिन्छ । “खाली प्रतिवद्धता व्यक्त गरेर मात्र हुँदैन, राजनीतिक दलबीच सहमति गरेर काम गरेर देखाउनुपर्ने हुन्छ”, अधिवक्ता चापागाईंले थप्नुभयो, “शान्ति सम्झौता भएदेखि शान्ति प्रक्रिया टुङ्याउनुपर्छ भनेको १७/१८ वर्षदेखि भइसक्यो तर हुन सकेको छैन, अब चाहीँ प्राथमिकतामै राखेर यो काम गर्न जरुरी छ ।”

संयुक्त राष्ट्रसङ्घका महासचिव गुटेरेसले नागरिक समाज र पीडितले भनेको कुरालाई अर्थाथ भएको महसुस गर्नुभएको छ भने राष्ट्रिय र अन्तर्राष्ट्रियरुपमा सङ्क्रमणकालीन न्यायले प्राथमिकता पाउनेपर्छ भन्ने विषयलाई महत्वका साथ उठाउनुभएको छ । त्यो कुरालाई ध्यान दिएर नेपाली राजनीतिक दलहरुले पनि एक भएर पीडितलाई न्याय दिने काममा ढिलाई गर्न नहुने पीडितहरुको पनि भनाई छ ।

द्वन्द्वपीडित साझा चौतारीको संस्थापक अध्यक्ष सुमन अधिकारी संयुक्तराष्ट्र र पीडितले भनेको कुरा एउटै रहेको सुनाउनुभयो । “नेपालमा भ्र्रमणका क्रममा संयुक्त राष्ट्रसंघका महासचिवले जे भन्नुभयो, पीडितको माग पनि त्यही हो”, उहाँले थप्नुभयो, “यो समय शान्ति प्रक्रियालाई निश्कर्षमा पुर्‍याउनु गोल्डेन अवसर हो, कानुन संशोधन गर्दा र आयोगमा पदाधिकारी नियुक्ति गर्दा पीडितमैत्री हुनुपर्छ ।” अहिले सङ्क्रमणकालीन न्यायको विषय राम्रोसँग उठेको र सबै दलको पनि निश्किर्षमा पुर्‍याउनुपर्छ भन्ने सोचका साथ काम अघि बढेको हुनाले पीडितहरुमा केही न्याय पाउनेमा केही आशा पलाएको उहाँको भनाइ छ ।

तत्कालीन विद्रोही माओवादी र राज्यपक्षबाट २०५२ फागुन १ देखि २०६३ मङ्सिर ५ भित्रको १० वर्षअवधिमा भएका मानवअधिकार उल्लङ्घनका घटनाका पीडित अझै न्यायको पर्खाइमा छन् । दशवर्षे सशस्त्र द्वन्द्वको सत्य, तथ्य अनुसन्धान गरी दोषीलाई सजाय र पीडितलाई न्याय निरुपण गर्न सरकारले सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग २०७१ सालमा गठन गरेको थियो । उक्त आयोगले केही काम अघि बढाए पनि पूर्णरुपमा पूरा गर्न सकेको छैन । अहिले दुवै आयोग पदाधिकारीविहीन अवस्था छ ।

सङ्क्रमणकालीन न्यायसम्बन्धी ऐन प्रतिनिधिसभाको कानुन तथा मानव अधिकारसमितमा छलफलका क्रममा रहेको छ । उक्त समितिमा पनि एउटा उपसमिति गठन गरेर छलफल गरी समितिलाई प्रतिवेदन बुझाइसकेको छ । समितिमा थप छलफल गरेर समितिले पारित गरेपछि उक्त विधेयक संसदमा पेश हुन्छ । “दुवै आयोगमा पदाधिकारी सिफारीस गर्दा पीडितलाई न्याय दिने खालका पदाधिकारी जरुरी छ”–द्वन्द्वपीडित अधिकारीले थप्नुभयो, “पार्टीका कार्यकर्ताभन्दा पनि सम्बन्धित विषयमा विज्ञलाई पदाधिकारी नियुक्ति गर्नुपर्छ, जसले पीडितलाई न्याय महसुस हुने गरी काम गरुन् ।”

विस्तृत शान्ति सम्झौताको दफा ५.२.५. मा उद्देश्य र भावनालाई आत्मसाथ गर्दै सशस्त्र द्वन्द्वको क्रममा मानव अधिकारको गम्भीर उल्लङ्घन, मानवताविरूद्धको अपराध र त्यस्तो घटनामा संलग्न व्यक्तिहरूको बारेमा सत्य अन्वेषण गर्ने उल्लेख थियो । वास्तविक तथ्य जनसमक्ष ल्याई समाजमा मेलमिलापको वातावरण निर्माण गर्ने, पीडितलाई परिपूरणको व्यवस्था गर्ने र गम्भीर अपराधमा संलग्न व्यक्तिलाई कानुनी कारवाहीका लागि सिफारिस गर्ने उद्देश्यसहित दुई आयोगको ऐन, २०७१ जारी भएको थियो । उक्त ऐनले अझै पूर्णता पाएको छैन । यसले गर्दा सङ्क्रमणकालीन न्यायले पूर्णता पाउन सकेको छैन ।

सङ्क्रमणकालीन न्यायको पर्खाइमा रहेका पीडित महासचिव गुटेरसलाई लेखिएको पत्रमा भनिएको छ, “नेपालको शान्ति प्रक्रियाका बाँकी कामहरुः सङ्क्रमणकालीन न्यायमार्फत पीडितहरुको आवश्यकता सम्बोधन गर्न, सत्य उजागर, आत्मसम्मान, परिपूरण, स्मृति र फेरि नदोहोरिने सुनिश्चितताका लागि संयुक्त राष्ट्र सङ्घका महासचिवको ध्यानाकर्षण गर्न चाहन्छौं ।”

अधिकांश पीडितहरु तिनका आधारभूत आवश्यकताहरु पूरा नहुँदा चरम अभाव र समस्यामा बाँच्न वाध्य भएको र विभिन्न वहानामा प्रक्रियालाई थप ढिलाइ गर्ने कुनै पनि हस्तक्षेपले पीडितको आवश्यकतामा प्रतिकुल असर पर्ने हुँदा राष्ट्रसङ्घले उक्त प्रक्रियालाई द्रुत गतिमा अघि बढाउन सकारात्मक पहलका लागि आग्रह गरिएको छ । “सङ्क्रमणकालीन न्यायप्रतिको दृष्टिकोणमा देखिएको परिवर्तन तथा हाल सार्वभौम संसदमा विचाराधिन संशोधन विधेयकलाई स्वागत गर्दछौं”–पत्रमा भनिएको छ, “यस विधेयकले आयोगहरुलाई लैङिगक तथा अपाङ्गतामैत्री र पीडित केन्द्रित भएर पारदर्शीरुपमा काम गर्नसक्ने अधिकार दिन्छ, विधेयकले पीडितको परिपूरण, मनोसामाजिक परामर्श, अन्तरिम राहत, क्षतिपूर्ति तथा पुनःस्थापनालाई अधिकारको रुपमा सुनिश्चित गरेको छ ।”

नेपालको परिवेशमा स्थानीय पीडितहरुको आवश्यकता सम्बोधन हुने गरी तत्काल सङ्क्रमणकालीन न्याय संयन्त्र स्थापना गरी काम थाल्नुपर्ने, पीडितहरुको माग सुनुवाइ गर्न र पीडित न्यायको प्रक्रिया अगाडि बढाउन सरकारलाई आह्वान गरिएको छ । महासचिवलाई लेखिएको पत्रमा भनिएको छ, “कानुनी तथा माफी प्रावधान संशोधन गर्नु महत्वपूर्ण छ, तर यसलाई लम्ब्याएर पीडितको आर्थिक, सामाजिक न्याय, औपचारिक स्वीकृति राष्ट्रिय स्मृतिलगायत पीडित र तिनका परिवारका लागि पुनःस्थापकीय न्यायका अन्य क्षेत्रहरुमा गरिने कार्यलाई रोक्नु हुँदैन ।”

नेपालको शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्‍याउन सर्वोच्च अदालतको फैसला, पीडितको राय र अन्तराष्ट्रिय मूल्य/मान्यताअनुसार ऐन संशोधन गरी आयोगमा पदाधिकारी नियुक्त गरेर तत्काल प्रक्रिया अघि बढाउन जरुरी छ । जुन विषयमा संयुक्त राष्ट्रसङ्घका महासचिवको सुझाव र सहयोग गर्ने प्रतिबद्धताअनुसार नेपालका राजनीतिक दलका नेताहरुले प्राथकिताका साथ उक्त कामलाई एकतावद्ध भएर अघि बढाउनुपर्ने आवश्यक छ ।

कोशी प्रदेशसभा बैठक भोलि बस्ने

विराटनगर, १९ कात्तिक ः कोशी प्रदेशसभाको चौथो अधिवेशनको चौथो बैठक भोलि कात्तिक २० गते सोमबार दिउँसो १ बजे बस्ने भएको छ ।

अर्को सूचना जारी नभएसम्म कात्तिक १ गते स्थगन गरिएको सो बैठक कोशी प्रदेशसभा नियमावली, २०७४ को नियम ६ बमोजिम बैठक बस्ने भएको प्रदेशसभा सचिवालयका सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिनुभयो ।

काठमाडौँ ल्याइएका भूकम्पमा परी घाइते भएकाको अवस्था सामान्य

काठमाडौँ, १९ कात्तिक : भूकम्पमा परी गम्भीर घाइते भएका नौ जनाको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ । उनीहरुको अवस्था सामान्य रहेको अस्पतालका प्रशासन प्रमुख प्रमोदकुमार निरौलाले जानकारी दिनुभयो ।

भूकम्पबाट घाइते भएकामध्ये छ महिला, दुई पुरुष र २१ दिनको शिशुलाई थप उपचारका लागि शनिबार काठमाडौँ ल्याइएको थियो । पचपन्न वर्षीया मैना ओली, ६२ वर्षीया साबित्री चन्द, २० वर्षीया सुशीला बुढा, २० वर्षीया विमला ओली (बुढाथोकी), १२ वर्षीया निरुता पुन, ६३ वर्षीया बाली बुढाथोकी, सीता पाण्डेको २१ दिनको शिशू, एक वर्षीय रिषभ बुढाथोकी र २२ वर्षीय गोपाल बुढाथोकीको उपचार जारी छ ।

शुक्रबार रातिको भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममा एक सय ५७ जनाको मृत्यु भएको छ । सो घटनामा जाजरकोटमा एक सय पाँच र रुकुम पश्चिममा ५२ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । भूकम्पमा परी जाजरकोटमा एक सय १२, रुकुममा एक सय ३२, जुम्लामा पाँच, दैलेख र बैतडीमा तीन/तीन तथा सल्यान र रोल्पामा एक÷एक गरी दुई सय ५७ घाइते भएका छन् ।

कांग्रेस सांसदले १५ दिनको पारिश्रमिक भूकम्पपीडितलाई दिने

काठमाडौ, १९ कात्तिक : नेपाली कांग्रेसबाट प्रतिनिधित्व गर्ने सांसदहरुले भूकम्पपीडितको उद्धार, राहत र पुनःस्थापनाका लागि १५ दिन बराबरको पारिश्रमिक सहयोग गर्ने भएका छन् । कांग्रेस संसदीय दलको आज बसेको बैठकले भूकम्पपीडितका लागि सङ्घीय संसद्मा कांग्रेसका तर्फबाट प्रतिनिधित्व गर्नुहुने सदस्यको १५ दिन बराबरको पारिश्रमिक सहयोगस्वरुप नेपाल सरकारलाई उपलब्ध गराउने निर्णय गरेको हो ।

पार्टी सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाको अध्यक्षतामा धुम्बाराहीस्थित उहाँको निवासमा बसेको बैठकले भूकम्पमा परी जीवन गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना तथा घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।

यसैगरी बैठकले भूकम्पबाट मानवीय क्षति, भौतिक क्षति र सयौँ घाइते भएको घटनाप्रति दुःख व्यक्त गरेको पार्टीका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिनुभयो । शुक्रबार राति ११ः४७ बजे जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएको ६.४ म्याग्निच्युडको भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिमका विभिन्न क्षेत्रमा ठूलो जनधनको क्षति भएको थियो ।

गोदावरी नगरपालिकाले भूकम्पपीडितलाई २५ लाख दिने

गोदावरी (ललितपुर) १९ कात्तिक ः गोदावरी नगरपालिकाले भूकम्पपीडितलाई रु २५ लाख दिने निर्णय गरेको छ ।

नगरपालिकाका नगर प्रमुख गजेन्द्र महर्जनले जाजरकोट जिल्लाको रामीडाँडा केन्द्रविन्दु भएर गत शुक्रबार राति ११ः४७ बजे गएको ६.४ म्याग्नेच्युडको भूकम्पमा परेका भूकम्पपीडितको उद्धार, राहत र पुनःस्थापनाका लागि विपद् व्यवस्थापन कोषबाट रु २५ लाख सहयोग गरेको जानकारी दिनुभयो ।

भूकम्पपछि जाजरकोट र रुकुम पश्चिम लगायतका प्रभावित क्षेत्रमा ठूलो सङ्ख्यामा मानवीय क्षति, भौतिक क्षति तथा सयौँ सङ्ख्यामा घाइते भएकोप्रति दुःख प्रकट गर्दै उहाँले भन्नुभयो, “विपद्को समयमा सबै एक भएर विपद्को सामना गर्नुपर्छ ।”

जाजरकोट–भूकम्पबाट घाइतेहरुको निःशुल्क उपचार र पुनःस्थापनाका लागि समितिको निर्देशन

काठमाडौँ, १९ कात्तिक : राष्ट्रियसभा, दिगो विकास तथा सुशासन समितिको आजको बैठकले जाजरकोट–भूकम्पबाट घाइतेहरुको उद्धार, शीघ्र र निःशुल्क उपचारका साथै राहत र पुनःस्थापना कार्यमा राज्यका सम्पूर्ण शक्ति परिचालन गर्न सरकारलाई निर्देशन दिएको छ ।

समितिका सभापति प्रकाश पन्थको अध्यक्षतामा आज भएको बैठकले राज्यको सम्पूर्ण शक्ति परिचालन गरी प्रभावकारी रुपमा एकद्वार प्रणालीबाट व्यवस्थापन गर्न नेपाल सरकारलाई निर्देशन दिइएको समितिका सचिव डा रोजनाथ पाण्डेले जानकारी दिनुभयो । समितिले भूकम्पको क्षति उपर राहत एवं पुनःस्थापना गर्ने कार्यमा सम्पूर्ण स्वदेशी तथा विदेशी दातृ निकाय, राज्यका सबै तह, निकाय, सङ्घसंस्था एवं सम्पूर्ण नागरिकलाई सहयोगका लागि एकजुट हुन सबैमा आग्रह गरेको छ ।

भूकम्पमा ज्यान गुमाउनेको अन्त्येष्टि र पीडितलाई राहत वितरण

काठमाडौँ, १९ कातिक : शुक्रवार राति गएको भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममा निधन हुनेको सङ्ख्या एक सय ५७ पुगेको छ । सो घटनामा जाजरकोटमा एक सय पाँच र रुकुम पश्चिममा ५२ जनाको मृत्यु भएको तथ्याङ्क प्राप्त भएको सशस्त्र प्रहरी बल नेपालका प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिनुभयो । भूकम्पमा परी जाजरकोटमा एक सय १२, रुकुममा एक सय ३२, जुम्लामा पाँच, दैलेख र बैतडीमा तीन÷तीन तथा सल्यान र रोल्पामा एक÷एक गरी दुई सय ५७ जना घाइते भएका छन् ।

सामान्य घाइते उपचारपछि घर फर्किएका छन् भने केहीको आधारभूत र जिल्ला अस्पतालमा उपचार भइरहेको छ । गम्भीर घाइतेको सुर्खेत, नेपालगञ्ज र काठमाडौँमा उपचार भइरहेको छ । प्रभावित क्षेत्रमा आज शव बुझ्ने, दाहसंस्कार गर्ने तथा पीडितलाई अत्यावश्यक राहत सामग्रीलगायत पाल, कम्बल वितरणको कार्य भइरहेको तत् स्थानीय तहका पदाधिकारीले जानकारी दिनुभएको छ । जाजरकोटको छेडागाड नगरपालिका प्रमुख रत्नबहादुर खड्काले भूकम्पमा परी ज्यान गुमाएकाको शव परीक्षण गरी भेरी नदी किनारमा दाहसंस्कार गर्ने काम भएको जानकारी दिनुभयो । पाल, कम्बललगायत राहत सामग्री प्राप्त हुनेक्रम जारी रहेको उहाँले बताउनुभयो । “प्राप्त राहत सामग्री पीडितसमक्ष पु¥याउने काम भइरहेको छ । रेडक्रसलगायतका सङ्घसंस्थाबाट थुप्रै राहत सामग्री प्राप्त भएको छ”, उहाँले भन्नुभयो, “केही वितरण गरियो, केही पुग्दैछन् ।”

भेरी नगरपालिकाका उपप्रमुख सीता जैसीले जिल्ला विपद् व्यवस्थापन समितिको निर्णयअनुसार एकद्वार प्रणालीबाट राहत वितरण भएको जानकारी दिनुभयो । वडा कार्यालयबाट क्षतिको तथ्याङ्कअनुसार राहत वितरण गरिएको उहाँको भनाइ छ । “ओढ्ने, ओछ्याउने र खाद्यान्नलगायत राहत सामग्री वितरण गरियो, राहत बुझ्ने र मृतकको दाहसंस्कार गर्ने काम भइरहेको छ ।” बारेकोट गाउँपालिकाका उपाध्यक्ष नरबहादुर गिरीले उद्धारका काम निरन्तर भइरहेको जानकारी दिनुभयो । “प्रभावितको स्वास्थ्य अवस्थालाई ध्यान राखी चिकित्सकको टोली परिचालित गरिएको छ, थप वस्तुस्थिति बुझी विपद् व्यवस्थापन समितिको बैठक बसेर बजेटसहितको निर्णय गर्ने तयारीमा छौँ ।” भूकम्पबाट घर क्षति भएका नागरिकलाई तत्काल बसोबासका लागि सार्वजनिकस्थल, विद्यालयलगायतका स्थानमा व्यवस्था गरिएको उहाँको भनाइ छ ।

“ग्रामीण वस्ती र सामाजिक सम्बन्ध राम्रो भएका कारण धेरैले पीडितलाई आश्रय प्रदान गरेको अवस्था छ”, उहाँले भन्नुभयो । कुशेँ गाउँपालिकाका उपाध्यक्ष देविका सिंहले प्रारम्भिक राहतका सामग्री दाल, चालम, चाउचाउ, च्यूरा, कम्बल, त्रिपाल वितरण गरिएको जानकारी दिनुभयो । मृतकको शव प्रक्रिया पु¥याएर अन्त्येष्टि गरिएको उहाँको भनाइ छ । “सामान्य घाइतेको चिकित्सकले उपचार गरिरहनुभएको छ”, उहाँले भन्नुभयो ।

नक्कली कागजात बनाउने गिरोह प्रहरीद्वारा सार्वजनिक

काठमाडौँ, १९ कात्तिक : विदेश जान आवश्यक पर्ने श्रम स्वीकृति लगायतका नक्कली कागजात बनाउने कार्यमा संलग्न रहेको अभियोगमा पक्राउ परेकालाई प्रहरीले आज सार्वजनिक गरेको छ ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेका चार जनालाई आज यहाँ पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । उनीहरुलाई टोखा र स्वयम्भूमा सञ्चालित कारखानामा छापा मारी पक्राउ गरिएको जानकारी प्रहरीले दिएको छ ।

नवलपुर मध्यविन्दु नगरपालिका–५ घर भएका ४५ वर्षीय जयराम श्रेष्ठ, गोरखा सिरान चोक गाउँपालिका–८ घर भई हाल टोखा बस्ने ३४ वर्षीय भक्तबहादुर थापा, काठमाडौँ महानगरपालिका–१ नक्साल बस्ने ३८ वर्षीय दीपक केसी र सल्यान रामपुर कालिमाटी गाउँपालिका–३ घर भई हाल काठमाडौँ नागार्जुन नगरपालिका–इचङ्गुनारायण बस्ने ४२ वर्षीय बलबहादुर रावत रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी नायब उपरीक्षक गोविन्द पन्थीले जानकारी दिनुभयो ।

नायब उपरीक्षक पन्थीका अनुसार विदेश जान लागेका व्यक्तिका कागजात शङ्कास्पद रहेको भनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कात्तिक १२ गते पठाइएका कागजातमध्ये सुजल हेङगजुको नामको श्रम स्वीकृति नक्कली देखिएकामा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको प्रहरीले उक्त कागजात बनाउने कार्यमा संलग्न रहेको अभियोगमा पक्राउ गरिएको थियो ।

हालसम्म नौ जनालाई प्रहरीले पक्राउ गरेको जानकारी पनि दिइएको छ । उनीहरूमध्ये सल्यान घर भएका बलबहादुर रावतले टोखामा फ्ल्याट भाडामा लिएर कारखाना सञ्चालन गरेको पाइएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिनुभयो ।

प्रवक्ता रेग्मीका अनुसार स्वयम्भूमा दीपक केसीले प्लसटुको नक्कली कागजात बनाउने कारखाना नै सञ्चालन गरेका थिए । उनीहरुले प्रहरी रिपोर्ट, श्रम स्वीकृति, प्लसटुको सर्टिफिकेट र नाता प्रमाणित पनि नक्कली बनाउने गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको प्रवक्ता रेग्मीले बताउनुभयो ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी नायब उपरीक्षक पन्थी नेतृत्वको टोलीले लामो अनुसन्धानपछि उनीहरुलाई पक्राउ गर्न सफल भएको बताइएको छ ।