`

कांग्रेसद्वारा बाजुरा जीप दुर्घटनाप्रति दुःख व्यक्त

काठमाडौँ, १९ कात्तिक : नेपाली कांग्रेसले गएराति केआईसिंह राजमार्गमा भएको जीप दुर्घटनाप्रति दुःख व्यक्त गरेको छ । गएराति धनगढीबाट बाजुरातर्फ जाँदै गरेको जीप गएराति केआइसिंह राजमार्गमा दुर्घटना हुँदा चार जनाको मृत्यु र पाँच जना घाइते भएको थियो ।

कांग्रेसले आज एक शोक विज्ञप्ति जारी गर्दै सो घटनाका मृतकहरुप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना र घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । साथै कांग्रेसले घाइतेको उचित उपचारको व्यवस्था मिलाउन सरकारसँग माग गरेको छ ।

भूकम्पपीडितलाई राप्रपाको २५ लाख सहयोग

काठमाडौँ, १९ कात्तिक : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले भूकम्पपीडितलाई रु २५ लाख सहयोग गर्ने निर्णय गरेको छ । कार्यवाहक अध्यक्षको समेत जिम्मेवारी सम्हाल्नुभएका वरिष्ठ नेता उपाध्यक्ष बुद्धिमान तामाङको अध्यक्षतामा आज केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको बैठकले पार्टीको तर्फबाट रु २५ लाख र पार्टीका सङ्घीय सांसद र प्रदेशसभा सदस्यहरुको एक महिना बराबरको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रदान गर्ने निर्णय गरेको हो ।

बैठकले भूकम्प प्रभावित क्षेत्रमा उद्धारमा पार्टीको तर्फबाट सहयोग गर्न जाजरकोट जिल्लाका लागि प्रतिनिधिसभा सदस्य ज्ञानबहादुर शाहीको संयोजकत्वमा र रुकुम पश्चिमका लागि पार्टीका सहायक महामन्त्री सौरेन्द्रबहादुर शाहको संयोजकत्वमा जनपरिचालन गर्ने निर्णय समेत गरेको छ । सो पार्टीको आजको बैठकले पार्टीले भूगोल केन्द्रित जिम्मेवारी कार्यक्रममध्ये जाजरकोट र रुकुम पश्चिमका कार्यक्रम आगामी मंसिर १५ गतेसम्मका लागि र आमसभा, विरोधसभा तथा प्रदर्शनका कार्यक्रम कात्तिक मसान्तसम्मका लागि स्थगित गर्ने निर्णय गरेको छ ।

जाजरकोटको बारेकोट गाउँपालिका–१ रामिडाँडा केन्द्रबिन्दु भएर गत शुक्रबार राति गएको छ दशमलव चार रेक्टरको भूकम्पले जाजरकोट तथा रुकुम पश्चिम जिल्लामा भएको जनधनको क्षति प्रति राष्ट्रिय प्रजातन्त्र पार्टी दुःख प्रकट गरेको छ ।

भूकम्प पीडितलाई पर्वतारोहण सङ्घबाट ३१ लाख सहयोग

काठमाडौँ, १९ कात्तिक ः नेपाल पर्वतारोहण सङ्घले भूकम्प पीडितलाई सहयोग पु¥याउने उद्देश्यले रु ३१ लाख ११ हजार एक सय ११ सहयोग गर्ने निर्णय गरेको छ । सङ्घको आज सम्पन्न केन्द्रीय कार्यकारी बोर्ड बैठकले भूकम्पपीडितलाई सो सहयोग उपलब्ध गराउने निर्णय गरेको हो ।

सङ्घको आन्तरिक स्रोतबाट उक्त रकम प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा जम्मा गर्ने निर्णय भएको सङ्घका महासचिव मोहन लम्सालले जानकारी दिनुभयो ।

उहाँले प्रधानमन्त्रीलाई भेटेर सहयोग रकमको चेक हस्तान्तरण गरिने बताउनुभयो । बैठकले नेपालमा भूकम्प पीडितलाई सहयोग जुटाउन विश्वभरका अल्पाइन क्लबहरुलाई आग्रह गर्ने पनि निर्णय गरेको छ ।

यसैबीच आरजु राईस मिलले भूकम्प पीडित क्षेत्रका लागि पाँच सय बोरा चामल पठाएको छ । उक्त कम्पनीले विज्ञप्ति जारी गर्दै करिब दस टन चालम भूकम्प पीडित क्षेत्रमा पठाइएको जनाएको हो । आरजु राईस निजी क्षेत्रको ठूलो हवाई सेवा प्रदायक कम्पनी बुद्ध एयर मातहतको संस्था हो ।

रुकुम पश्चिममा पहिलो चरणको उद्धार सकियो, राहत वितरण थालिँदै

त्रवेणी (रुकुम पश्चिम), १९ कात्तिक ः रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाले शुक्रबार राति गएको भूकम्पमा परी मृत्यु भएकाहरूको सम्झनामा आज सार्वजनिक बिदा दिएको छ । साथै नगरकार्यपालिकामा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय समेत गरेको छ । नगरप्रमुख रवि केसीले जाजरकोट र रुकुम पश्चिम जिल्लामा भूकम्पबाट मानवीय एवं भौतिक संरचनामा पनि क्षति पुर्याएकाले आठबीसकोट नगरपालिकाले सार्वजनिक विदा दिइ उद्धारमा एकीकृत हुन आह्वान गरेको बताउनुभयो ।

उहाँले कठिन परिस्थितिमा आ–आफ्नो ठाउँबाट राहत तथा उद्धारमा जुट्न नगरबासीलाई अनुरोध समेत गर्नुभएको छ । भूकम्पपीडितको राहत तथा पुनःस्थापनाका लागि नगरपालिकामा कार्यरत शिक्षक, कर्मचारी र जनप्रतिनिधिले एक–एक महिनाको तलब नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा जम्मा गर्ने निर्णयसमेत गरिएको नगरप्रमुख केसीले जानकारी दिनुभयो ।

तत्कालका लागि मृतकका परिवारलाई रु २५ हजारका दरले किरिया खर्च उपलब्ध गराइने नगरपालिकाले जनाएको छ । उपप्रमुख धनकुमारी शाहीको संयोजकमा ११ सदस्यीय विपद् क्षति लगत सङ्कलन मूल्याङ्कन समिति निर्माण गरिएको नगरप्रमुख केसीले जानकारी दिनुभयो । नगरपालिकामा मानवीय र भौतिक संरचनामा क्षति पुगेकाले दातृ निकाय, सङ्घसंस्थालाई सहयोग गर्न नगरपालिकाले अपिल गरेको छ ।

शुक्रबार राति जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर ६ दशमलव ४ रेक्टरस्केलको भूकम्प गएको थियो । सोही भूकम्पमा परी ४२ जनाको मृत्यु भएको छ भने सात जनाको प्रादेशिक अस्पताल सुर्खेत र ९५ जनाको नगर अस्पताल राडीम उपचार भइरहेको नगरप्रमुख केसीले जानकारी दिनुभयो । पहिलो चरणको उद्धार सकिए पनि आजबाट भने राहत वितरणको काम सुरु हुने नगरपालिकाले जनाएको छ ।

नयाँबसपार्कबाट निःशुल्क बससेवा

काठमाडौँ, १९ कात्तिक : पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीले भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिम क्षेत्रका जनताका लागि निःशुल्क बससेवा सञ्चालन गरेको छ ।

काठमाडौँमा बसोबास गर्दै आएका भूकम्पबाट प्रभावित क्षेत्रका जनतालाई आफ्नो घर जानका लागि सहजता होस् भन्ने उद्देश्यले सो कम्पनीले निःशुल्क बससेवा सञ्चालन गरेको हो । कम्पनीका अध्यक्ष योगेन्द्रबहादुर केसीले संस्थाको सामाजिक उत्तरदायित्वअन्तर्गत विपद्को बेलामा काठमाडौँबाट जाजरकोट र रुकुम पश्चिमका जनतालाई सहज सेवा प्रदान गर्नका लागि निःशुल्क बसको व्यवस्था गरेको बताउनुभयो ।

जाजरकोट जाने बस काठमाडौँको गोँगबुस्थित नयाँ बसपार्कबाट आज बिहान र दिउँसो छुट्ने अध्यक्ष केसीले बताउनुभयो । कम्पनीले दुःखद् अवस्थामा दिवङ्गत आत्माप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरेको छ । जाजरकोट र रुकुम पश्चिम क्षेत्रमा जान चाहने यात्रुले सम्पर्क गर्न कम्पनीले आग्रह गरेको छ । काठमाडौँ– ९८५१०१०५४५, ९८५१२४५९९१, ९८५१०२७२९७, ९८४८१०२३६४ र ९८४१५४१०५०,मुग्लिन-९८४५४७२३८४ दमौली – ९८५६०८९१८० र ९८५६०३६६६४ र पोखरा- ९८५६०२०६६६, ९८५६०२७५५८, ९८५६०२५९३८, ९८४७००९७८८, ०६१५७४२९६ र ९८५६०६३०६४ फोन नम्बरमा सम्पर्क राख्न कम्पनीले आग्रह गरेको छ ।

घाइतेको निःशुल्क उपचार गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौँ, १९ कात्तिक ः मन्त्रिपरिषद्को आज बसेको आकस्मिक बैठकले जाजरकोट केन्द्रबिन्दु भई शुक्रबार राति गएको भूकम्पबाट घाइते भएकाहरूको सबै अस्पतालमा निःशुल्क उपचार गराउने निर्णय गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको बैठकले तत्काल उद्धार गर्नुपर्ने व्यक्तिहरू लगभग सबैको उद्धार गरिएको र उपचारका लागि काठमाडौँलगायतका सबै स्थानका अस्पताललाई तयारी अवस्थामा राखिएको स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले पत्रकारलाई जानकारी दिनुभयो ।

उहाँले गोरखा भूकम्पपछि गरिएको राहत र पुनःस्थापनाका कामको सिकाइ र कमजोरीलाई ग्रहण गरी प्रभावकारीरूपमा राहत र पुनःस्थापनाका काम सञ्चालन गर्न तथा छिमेकी एवं मित्रराष्ट्रबाट प्राप्त हुने सहयोग कुन–कुन क्षेत्रमा कसरी लिने भन्नेबारेमा थप छलफल गरी निर्णय गरिने जानकारी दिनुभयो ।

आज कुन देशको विनिमयदर कति ?

काठमाडौं। आज केही विदेशी मुद्राको विनिमय दर घटबढ भएको छ। नेपाल राष्ट्र बैंकका अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ।अमेरिकी डलरको १ को खरिद दर १३२ रुपैयाँ ८६ पैसा र बिक्री दर १३३ रुपैयाँ ५६ पैसा रहेको छ।

युरोपियन युरो एकको खरिद दर १४१ रुपैयाँ ५४ पैसा र बिक्री दर १४२ रुपैयाँ २७ पैसा, बेलायती पाउण्ड एकको खरिद दर १६२ रुपैयाँ ४२ पैसा र बिक्री दर १६३ रुपैयाँ १५ पैसा, जापानी येन १० को खरिददर ८ रूपैयाँ ८५ पैसा तथा बिक्री दर ८ रूपैयाँ ८९ पैसा, अष्ट्रे्लियन डलर एकको खरिद दर ८५ रूपैयाँ ६४ पैसा तथा बिक्री दर ८७ रूपैयाँ ०५ पैसा, क्यानेडियन डलर ९६ रूपैयाँ ७२ पैसा तथा बिक्री दर ९७ रूपैयाँ १६ पैसा रहेको छ।

चाइनिज युआन १ को खरिद दर १८ रूपैयाँ १७ पैसा तथा बिक्री दर १८ रूपैयाँ २५ पैसा, साउदी रियाल १ को खरिद दर ३५ रूपैयाँ ४४ पैसा तथा बिक्रि दर ३५ रूपैयाँ ६० पैसा, युएइ दिराम १ को खरिददर ३६ रूपैयाँ २० पैसा तथा बिक्री दर ३६ रूपैयाँ ३६ पैसा रहेको छ।

जाजरकोट भूकम्पका कारण म्याग्दी कांग्रेसको सम्मेलन स्थगित

म्याग्दी, १९ कात्तिक – नेपाली कांग्रेस म्याग्दीकोे जिल्ला सम्मेलन स्थगित भएको छ । जाजरकोट भूूकम्पका कारण सम्मेलन स्थगित गरेको नेपाली कांग्रेस म्याग्दीका सचिव भरत रकालले जानकारी दिनुभयो । विपद् र शोकको कारण सम्मेलन अर्को मिति तय नहुुँदासम्मका लागि स्थगित गरिएको उहाँले जानकारी दिनुुभयो । कांग्रेसको विधानअनुुसार यही कात्तिक १९ गते सम्मेलन आयोजना गरिएको थियो ।

सम्मेलनमा सात सय ५० जनाभन्दा बढी सहभागी हुुने तयारी थियो । यसैगरी समाजवादी मोर्चा म्याग्दीले भूकम्प प्रभावित क्षेत्रमा उद्धार, राहत र पीडितको व्यवस्थापनमा परिचालन हुन आफ्ना नेता, कार्यकर्तालाई आहवान गरेको छ । नेकपा ९माओवादी केन्द्र०, नेकपा ९एकीकृत समाजवादी०, नेकपा र जनता समाजवादी पार्टी आबद्ध मोर्चाका जिल्ला संयोजक रेशमबहादुर जुुग्जालीले शनिबार एक विज्ञप्ति जारी गरेर राष्ट्रिय विपद्को व्यवस्थापनमा सबै जुट्न अपिल गर्नुभएको हो ।

गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्रीसमेत रहनुभएका जुग्जालीले भूकम्प प्रभावित क्षेत्रका स्थानीय तह र कर्णाली प्रदेश सरकारलाई आवश्यक जनशक्ति, आर्थिक र जिन्सी सहयोग गर्नुपर्ने भएको हुँदा तयार रहन मोर्चामा आबद्ध नेता, कार्यकर्तालाई अनुरोध गर्नुभएको छ । विज्ञप्तिमार्फत मृतकलाई श्रद्धाञ्जलि, शोकसन्तप्त परिवारजनमा समवेदना र घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ ।

जाजरकोट र रुकुम पश्चिम शोकमा : राहतका पर्खाइमा छन् भूकम्पपीडित

भेरीगङ्गा (सुर्खेत), १९ कात्तिक : जाजरकोट र रुकुम पश्चिम अहिले शोकमा डुबेको छ । शुक्रबार राति ११ बजेर ४७ मा जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर ६ दशमलव ४ रेक्टर स्केलको भूकम्पबाट जनधनको क्षतिहुँदा ती दुई जिल्ला शोकमा डुबेको हो । एकातिर आफन्त गुमाउँदाको पीडा छ भने अर्कातर्फ घरबारविहीन हुँदाको पीडाले पीडितलाई पिरोलिरहेको छ ।

प्रहरीको अद्यावधिक विवरणअनुसार भूकम्पमा परी अहिलेसम्म एक सय ५७ जनाको ज्यान गइसकेको छ भने करिब २०० जना घाइते अवस्थामा छन् । जाजरकोट जिल्ला सदरमुकामबाट नजिकै रहेको छेडा बजारमा न्यानो घाममा सुतिरहेका भूकम्प पीडितले भन्नुभयो “भूकम्पले घरमा त खासै क्षति भएन तर रातिको भूकम्पको कम्पनले अहिले पनि मुुटु कापिरहेको छ । रातभर निदाउन सकेनौँ । त्यही भएर अहिले सुतिरहेका छौँ । पुराना केही घरमा भने आंशिकरूपमा क्षति भएको छ । ”
भूकम्पले जाजरकोट सदरमुकाम खलङ्गामा धेरै भौतिक क्षति पु¥याएको छ । बस्ती उदाङ्गो देखिएका छन् । क्षतिको किन तथ्याङ्क नभए पनि पूर्णरूपमा क्षति भएका घर पनि धेरै छन् । नभत्किएका घर पनि आशिंकरूपमा क्षति भएकै छन् ।

परम्परागत घरमा क्षति धेरै

जाजरकोटमा गएको भूकम्पले आधुनिक र पक्की घरभन्दा पराम्परागत घरमा क्षति धेरै पुगेको छ । प्रहरीले अहिले तथ्याङ्क सङ्कलन गरिरहेको जनाएको छ । तर भूकम्प प्रभावित क्षेत्रमा रहेका भत्किएका घरको अवस्था हेर्दा परम्परागत र पुराना घर नै पूर्णरूपमा क्षति भएको देखिएको हो । जाजरकोटमा व्यवसाय गर्दै आएका दाङका अमन चौधरी जाजरकोटमा भूकम्पका कारण भत्किएका घर अधिकांश पुराना रहेको जानकारी दिनुभयो ।

विशेषगरी पछिल्लो समय बनाइएका पक्की घरमा त्यति क्षति नपुगेको स्थानीयले बताएका छन् । जिल्लाका अन्य पालिकामा समेत भूकम्पले क्षति पुर्याएको छ, त्यहाँ पनि परम्परागत र पुराना घरमा क्षति पुगेको बताइएको छ । ढुङ्गा र माटाले बनाइएका घरमा धेरै क्षति पुगेको भेरी नगरपालिका–२ का गोपाल विक बताउनुभयो । उहाँ भन्नुहुन्छ, “यो भूकम्पले धेरैजसो ढुङ्गा र माटाले बनाइएका घरमा क्षति पुगेको छ, काठले बनाइएका घर र बजारमा बनाइएका नयाँ पक्की घरमा त्यति क्षति पुगेको छैन ।” तत्कालीन जाजरकोट दरबारसमेत भूकम्पका कारण चिरा परेको छ । भूकम्पका कारण जाजरकोटका अधिकांश घरमा क्षति पुगेको छ भने घर भत्किँदा मानवीय र भौतिक क्षतिसमेत भएको छ ।

भिरालो जमिनमा रहेको खलङ्गा बजारमा खचाखच घर बनाइएको छ । साँघुरो बाटो, बजारभन्दा तलतिर पहिराको जोखिम देखिन्छ । बजारमा घरमा घर जुधाएर दुवैतिरबाट सडकलाई च्यापिएको छ । यसले गर्दा भूकम्प आउँदा न त खुला ठाउँ छ न भाग्ने ठाउँ नै ।

खुला आकाशमा रात बिताउँदै

भूकम्प पीडितले खुला आकाश पालमुनि बसेर रात बिताएका छन् । घरहरू भत्किएका छन् भने कतिपय चिरा परेर बस्न नसक्ने अवस्थामा घर भएपछि बाहिर बस्नुपरेको उनीहरूको दुःखेसो छ । बाहिर बस्नुपरेपछि चिसोको समस्या बढेको उनीहरूको भनाइ छ । जाजरकोट भेरी नगरपालिका–२ का मानबहादुर विकले आफ्नो घर भूकम्पले भत्काएपछि अहिले केटाकेटीसहित खुला आकाशमुनि बसिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “एउटा सानो घर थियो, त्यही पनि भूकम्पले भत्काइदियो । साना केटाकेटीका साथमा बाहिर खुला आकाशमा बस्नुपर्ने बाध्यतामा छु । सरकारले पालको व्यवस्था त गरिदिएको छ, यो चिसोको समयमा पालमुनि बस्न पनि धेरै समस्या छ ।”

उद्धारको काम करिब अन्तिम चरणमा

सरकारले जाजरकोटका भूकम्पबाट प्रभावित भएकाहरूका उद्धारको काम अन्तिम चरणमा पुगेको बताएको छ । ती दुई जिल्लाका भूकम्प प्रभावितको उद्धार गर्न तीनै तहका सरकाको समन्वयात्मक काम गरेको देखियो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्का आफैँ प्रभावितस्थल जाजरकोट आएर उद्धार र राहतको कमी हुन नदिने बताउनुभएको थियो । यसअन्तर्गत भूकम्प प्रभावितको उद्धार करिब अन्तिम चरणमा पुगेको हो ।

यस्तै प्रभावितलाई स्थानीय, प्रदेश र केन्द्र सरकारले राहत सामग्रीको पनि कमी हुन दिएका छैनन् । कर्णालीका गाउँपालिका र नगरपालिकासँगै कर्णाली प्रदेश सरकार र अन्य प्रदेश सरकारले समेत राहत सामग्री ल्याएर वितरण गरेका छन् भने अन्य विभिन्न सङ्घसंस्थाले समेत राहत सामग्री वितरण गरेको जनाइएको छ ।

खुला आकाशमुनि रात बिताउँदा…

जाजरकोट, १९ कात्तिक : शुक्रबार बेलुकी खाना खाएर सुतेकी नलगाड नगरपालिका–३ का भावना पुनलाई मध्यरातमा अकल्पनीय रुपमा आएको भूकम्पले ब्युँतायो । उनी भूकम्पको त्यो धक्काको त्रास सम्झिएर सुत्न पाएको अवस्था छैन ।

उहाँको परिवारमा भूकम्पको त्रास भने जहाँको तहीँ छ । बस्ने घर भूकम्पले धुजाधुजा बनाएको छ, केही परिवारका सदस्य खुला आकाशमा रात बिताइरहेका छन् भने कोही अस्पतालमा बिरामी कुरुवाको काम गर्दै त्रासमा छन् । पुनजस्तै जुनिचाँदे गाउँपालिका लुहादहका सुरेन्द्र खड्का भेरीमालिका अपसेट प्रेसमा काम गरेर राति सुत्नुभएको थियो । राति निद्रामै भूकम्प आएपछि अहिले उहाँको बास खुला सडकै छ । पटक–पटक गइरहेका पराकम्पले उहाँको बास सडकमै भएको हो ।

यातायातका साधन एकातिरबाट गुड्छन् भने अर्को भागमा उहाँलगायत अन्य सर्वसाधारण सुतिरहेका छन् । कात्तिक महिनाको चिसोले उनीहरुलाई सताइरहेको छ । त्यही चिसोमा खलङ्गालगायत आसपास क्षेत्रका भूकम्पपीडितको बास हुँदै आएको छ । कुशे गाउँपालिकाका धनबहादुर सिंहले गाउँमा भूकम्पको त्रासले त्रिपाल टाँगेर बस्न बाध्य भएको बताउनुभयो । घरभित्र बसीसाध्यै छैन, उहाँले भन्नुभयो, “पराकम्प आइरहेका कारण कुन समय के हुन्छ थाहा छैन, मनभरि त्रासले बास गरेको छ ।”

जाजरकोटका पाँचवटा पालिकाका अधिकांश घर सग्ला छैनन् । नलगाड नगरपालिका–१ बाट ८ सम्म, भेरी–१, ३ र ४ का अधिकांश घरमा क्षति भएको छ । त्यस्तै छेडागाड, कुशे र बारेकोटमा समेत क्षति बनाएको छ । यहाँका सर्वसाधारणका घर बस्नयोग्य नै नभएको अवस्था छ । मानवीय क्षतिका हिसाबले नलगाड पहिलो नम्बरमा छ । नलगाडमा मात्र ५२ जनाको भूकम्पबाट मृत्यु भएको छ । यसपछि भेरी नगरपालिका रहेको छ । भेरीमा ४२ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

छेडागाड नगरपालिकामा एक, जुनिचाँदेमा एक जनाको मृत्यु भएको छ । गम्भीर प्रकृतिका बिरामीलाई मात्र बाहिर सुविधासम्पन्न ठाउँमा उपचारका लागि लगिएको छ भने अन्य बिरामीको पालिकास्थित स्वास्थ्य संस्थामा उपचार जारी रहेको छ । एक सय ५० जनाभन्दा बढीको उपचार जारी छ । अझै केहीले उपचार नपाएको समेत बताएका छन् । छेडागाड –७ मा भूकम्पका कारण घाइते भएका एक व्यक्तिको अहिलेसम्म उद्धार हुन नसकेको प्रमुख प्रशासकीय अधिकृत सिंहराज डाँगीले बताउनुभयो । त्यहाँ एम्बुलेन्स नजाने भएकाले समस्या भएको उहाँले बताउनुभयो ।

त्यस्तै गाउँ–गाउँमा फोन सम्पर्क हुन नसकेका कारण अझै गाउँमा घाइते हुनसक्ने अवस्था छ । पालिकाका मुकाममा रहेका घाइतेको उद्धार शनिबार बेलुकीसम्म जारी थियो । अन्य गाउँमा भएका बिरामीको गाउँमै उपचार भएको पालिकाका प्रमुखहरूले बताएका छन् । भौतिकरूपमा कति क्षति भयो भन्ने कुनै यकिन तथ्याङ्क आउन सकेको छैन । अधिकांश मृतकको सनाखत अझै हुनसकेको छैन । अहिलेसम्म पालिकाको नाम र सङ्ख्याबाहेक अन्य कुनै विवरण आउन सकेको छैन ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, ऊर्जामन्त्री शक्तिबहादुर बस्नेत, कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बेदराज सिंहले शनिबार नै भूकम्प प्रभावित क्षेत्रको स्थलगत अवलोकन गरी जानकारी लिनुभएको थियो । शनिबार नै जिल्ला विपद् व्यवस्थापन समितिको बैठक बसी राहत र उपचारलाई व्यवस्थित बनाउन एक टोलीसमेत निर्माण गरिएको छ । राहत दिने र सहयोग गर्नेले एकद्वार प्रणालीबाट गर्न प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले बताउनुभयो । सरकारी कार्यालयसमेत काम नलाग्ने गरी क्षति भएको उहाँल जानकारी दिनुभयोे । प्रजिअको सरकारी आवास र जिल्ला प्रशासन कार्यालयसमेत बस्न नमिल्ने अवस्थामा पुगेको छ ।

टर्कीले इजराइलबाट आफ्नो राजदूतलाई फिर्ता बोलायो

टर्कीले गाजामा भएको रक्तपातको विरोधमा इजराइलबाट आफ्नो राजदूत फिर्ता बोलाएको छ । साथै उसले इजराइली प्रधानमन्त्री बेन्यामिन नेतान्याहुसँग सम्पर्कसमेत तोडेको छ । अङ्काराले अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनको टर्की भ्रमण कठिन हुने वाचाको पूर्वसन्ध्यामा त्यस्तो निर्णय गरेको हो ।

प्यालेस्टिनी सहयोगी टर्कीले गत महिना इजराइल–हमास युद्ध सुरु हुँदासम्म इजराइलसँगको बिग्रिएको सम्बन्धलाई सुधार गर्दै आएको थियो । तर लडाइँ बढ्दै गएपछि प्यालेस्टिनी सर्वसाधारणको मृत्युको सङ्ख्या बढ्दै गएसँगै इजराइल र उसका पश्चिमी समर्थकहरू विशेषगरी अमेरिका दुवै विरुद्ध टर्कीको स्वर कडा भएको छ ।

“गाजामा सर्वसाधारणविरुद्ध इजराइलले गरेको लगातारको हमला र उसले युद्धविराम गर्न अस्वीकार गरेका कारण भएको मानवीय त्रासदीलाई ध्यानमा राख्दै राजदूत साकिर ओजकान टोरुलनरलाई परामर्शका लागि फिर्ता बोलाइएको छ”, टर्कीको विदेश मन्त्रालयले भनेको छ ।

टर्कीका राष्ट्रपति रेसेप तय्यप एर्दोगानले पत्रकारहरूसँगको छुट्टै कुराकानीमा आफूले गाजापट्टीमा सर्वसाधारणको मृत्युका लागि नेतान्याहुलाई व्यक्तिगतरूपमा जिम्मेबार ठहर गरेको बताउनुभयो । “नेतान्याहु अब हामीसँग कुरा गर्न सक्ने व्यक्ति रहनुभएन, हामीले उहाँलाई खारेज गरेका छौँ”, उहाँले भन्नुभयो ।

इजराइलले सुरक्षा सतर्कताका रूपमा यसअघि नै टर्की र अन्य क्षेत्रीय मुलुकहरूबाट सबै राजदूतहरूलाई फिर्ता बोलाएको थियो । इजराइली विदेश मन्त्रालयले गत साताको अन्त्यमा इजराइल–हमास युद्धका बारेमा टर्कीको बढ्दो तिखो वक्तव्यका कारण अङ्कारासँगको सम्बन्धलाई ‘पुनरमूल्याङ्कन’ गरिरहेको बताएको थियो ।

एर्दोगानले शनिबार दुवै पक्षबीच कूटनीतिक सम्पर्कलाई सम्पूर्णरूपमा तोड्ने जोखिम टर्कीले उठाउन नसक्ने बताउनुभयो । “कूटनीतिक सम्बन्धलाई सम्पूर्णरूपमा तोड्न सम्भव छैन, विशेषगरेर अन्तर्राष्ट्रिय कूटनीतिमा”, उहाँले भन्नुभयो ।

‘समाजवाद उन्मुख नेपालका लागि सहकारी अभियान महत्त्वपूर्ण’ – सभामुख घिमिरे

बनियानी (झापा) – सभामुख देवराज घिमिरेले समाजवाद उन्मुख नेपालका लागि सहकारी अभियान महत्त्वपूर्ण हुने बताउनुभएको छ ।

झापाको बिर्तामोडमा आज सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाको शनिवार २७औँ साधारणसभामा सभामुख घिमिरेले मुलुकलाई समाजवादतर्फको यात्रामा अघि बढाउन सहकारी अभियान महत्त्वपूर्ण रहेको बताउनुभयो ।

सहकारीले सदस्यको हितमा जन्मदेखि मृत्युपर्यन्त काम गरिरहेको बताउँदै सभामुख घिमिरेले सहकारी संस्था स्वनियमनमा चल्ने ‘मिनी स्टेट’ भएको उल्लेख गर्नुभयो ।

संस्थाले कार्यक्रममा सहकारी विज्ञ कैलाशभक्त प्रधानाङ्ग र पत्रकार सन्तोष न्यौपानेलाई सम्मान तथा पुरस्कृत गरेको छ । प्रधानाङ्गलाई रु एक लाख एक हजार राशिको राष्ट्रिय व्यक्तित्व पुरस्कार र न्यौपानेलाई रु २५ हजारको सहारा सहकारी पत्रकारिता पुरस्कार प्रदान गरेको हो ।

नेपाली सेना स्थानीय बासिन्दासँगै सडक मर्मतका लागि श्रमदान अभियानमा जुटे

खोटाङ, १९ कात्तिक : नेपाली सेना स्थानीय बासिन्दासँगै सडक मर्मतका लागि श्रमदान अभियानमा जुटेका छन् । मध्यपहाडी लोकमार्गअन्तर्गत दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्डमा पर्ने पङ्खुखोला नजिकको सडक मर्मतका स्थानीय बासिन्दाले सुरुआत गरेको श्रमदान अभियानमा गोरखनाथ गणका २५ जवान दैनिकरूपमा खटिएका हुन् ।

दिक्तेलबाट सेकुवाखोलासम्म उक्त सडक कालोपत्र भइसकेको छ । तर बीचमा पर्ने पङ्खुखोलामा पुल निर्माणका लागि छाडिएको करिब दुई सय मिटर सडकमा समस्या हुन थालेपछि शुक्रबारदेखि श्रमदानमार्फत मर्मत गर्न थालिएको हो ।दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्डअन्तर्गत पङ्खुखोला नजिकको सडकमा सडकमाथिबाट खसेको पहिराले हिलाम्मे हुने गरेकाले सेनाको सहयोगमा श्रमदानमार्फत मर्मत सुरु गरिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडाका वडाध्यक्ष दिनेश कठेतले जानकारी दिनुभयो । “पङ्खुखोलामा लामो समयदेखि पुल निर्माणको काम अलपत्र छ । करिब ३० प्रतिशत काम गरेर पुल अलपत्र पारेपछि ठेक्कासमेत तोडिएको छ”, उहाँले भन्नुभयो, “अब नयाँ बोलपत्र आह्वान भएर पुनः पुल निर्माण कहिले सुरु हुने भन्ने टुङ्गो छैन । तर पुल निर्माणका लागि छाडिएको सडकमा निरन्तर सवारीसाधन अवरुद्ध हुन थालेपछि मर्मत सुरु गरिएको हो ।”ठेकेदारको लापरवाहीले पटक–पटक अवरुद्ध हुँदै आएको सडक मर्मतका लागि खटिएका सेनाको टोलीलाई वडाध्यक्ष कठेतले व्यक्तिगत खर्च गरेर खाजा उपलब्ध गराउनुभएको छ । तीन दिनसम्म चल्ने श्रमदान अभियानमा सवारीसाधन फस्ने करिब ७५ मिटर सडक सोलिङ गर्ने योजना रहेको जनाइएको छ ।सडक मर्मतका लागि वडाध्यक्ष कठेतको अनुरोधमा निःस्वार्थभावका साथ सहभागी भएको गणपति प्रमुख सेनानी सुजन गुरुङले बताउनुभयो । “सभ्य समाज निर्माणका लागि सैनिक–नागरिकबीच सुमधुर सम्बन्ध कायम हुनुपर्छ । हामी त्यसमा सचेत भएर अगाडि बढेका छौँ”, उहाँले भन्नुभयो, “स्थानीय नागरिकलाई परेको समस्या तथा आम नागरिकको सरोकारको विषयमा सेनाको सहयोग रहन्छ । यही भावनाअनुरुप सडक मर्मत गर्न सहभागी भएका हौँ ।”पुलका लागि छाडिएको पूरै सडकमा नाली निर्माणसमेत गरिने जनाइएको छ । सिरुवा कन्ट्रक्सनले विसं २०७३ असोज ७ गतेसम्ममा सम्पन्न गर्ने गरी विसं २०७२ असोज ६ गते पुल बनाउने ठेक्का सम्झौता गरेको थियो । तेस्रोपल्ट थप भएको म्याद २०७७ असोज ३० गते नै नाघिसकेको छ । त्यसयता पुलको म्याद थप भएको छैन ।निर्माण कम्पनीले पुल अलपत्र पारेर छाडेपछि नगरपालिकाले ठेकेदारलाई पक्राउ गरी कानुनी दायरामा ल्याउन गत चैत २४ गते जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेको थियो । पक्राउ पर्ने डरले निर्माण कम्पनीले केही समय काम गरेजस्तो गरे पनि पुनः रोकिएपछि ठेक्का तोडिएको हो ।पुनः ठेक्का लागेर पुल निर्माण नहोउन्जेलसम्म त्यसवरिपरिको बाटोमा यात्रा गर्न सहज बनाउने उद्देश्यले सेनासँग समन्वय गरेर श्रमदान सुरु गरिएको नगरप्रमुख तीर्थराज भट्टराईले जानकारी दिनुभयो । बिग्रिएको सडक मर्मतका लागि आवश्यक ढुङ्गा तथा गिट्टी ओसारपसार गर्न नगरपालिकाले ट्रयाक्टर उपलब्ध गराएको छ ।

धनगढीबाट बाजुरा आउँदै गरेको जीप दुर्घटना: चार जनाको घटनास्थलमै मृत्यु , पाँच घाइते

बाजुरा, १९ कात्तिक : धनगढीबाट बाजुरा आउँदै गरेको जीप डोटीको शिखर नगरपालिका–६ स्थित केआइसिंह राजमार्गको अण्यौलमा आज विहान दुर्घटना हुँदा बाजुराका चार जनाको घटनास्थलमै मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।

ग२च २७७६ नम्बरको जीप अनियन्त्रियत भई सडकबाट करिब ६० मिटर तल खस्दा चार जनाको मृृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । मृत्यु हुनेमा हिमाली गाउँपालिका–५ का २२ वर्षीया राधिका मलाल, उनकी अन्दाजी आठ महिनाकी छोरी प्राथना, ३२ वर्षीया धनशोभा बुढा र छ वर्षीय कविन्द्र बुढा रहेका जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायव उपरीक्षक निशान्त श्रीवास्तवले जानकारी दिनुभयो ।

उहाँका अनुसार दुर्घटनामा परी पाँच जना घाइते भएका छन् । घाइते हुनेमा हिमाली–५ का ३० वर्षीय प्रकाश बुढथापा, २३ वर्षीय खोमबहादुर मलाल, २४ वर्षीय दानबहादुर बुढा, २१ वर्षीय विमलाल मलाल र २१ वर्षीय राजबहादुर मलाल रहेको छन् ।

घाइतेको दियायलको शैलेश्वरी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । जीप चालक महेश बुढालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

नेपालको पर्यटनमा नेपालीपन हुनुपर्छ : मन्त्री किराती

धुलिखेल (काभ्रे), १९ कात्तिक : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपालको पर्यटन नेपालीपनकै हुनुपर्ने बताउनुभएको छ । काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–२ कुशादेवीमा रहेको फुलचोकी एड्भेन्चर प्रालिद्वारा सञ्चालित प्याराग्लाइडिङको व्यावसायिक उडानको शनिबार नागीडाँडामा शुभारम्भ गर्नुहुँदै उहाँले प्याराग्लाइडिङबाट एक रोजगार सिर्जना हुने सम्भावना रहेको छ ।

उहाँले भन्नुभयो, “ नेपालमा पर्यटनको प्रचुर सम्भावना रहेको छ । यसलाई स्थानीय स्वाद, स्वामित्व र स्थानीयपनसहित व्यवसाय सञ्चालन गर्नुपर्छ । पर्यटनको क्षेत्रमा एड्भेन्चर, कल्चर र नेचर तीनवटा विषयको समायोजनबाट मात्रै पर्यटनको क्षेत्रमा थप विकास हुन्छ । ” सो अवसरमा मन्त्री किरातीले पनौतीको ऐतिहासिक र सांस्कृतिक स्थलक्षेत्रको अवलोकन गर्नुका साथै जानकारी लिनुभएको थियो ।

हेर्नुहोस् कार्तिक १९ गते आइतवारको राशिफल

ज्यो.पं सरोज घिमिरे /मेष राशि- मान्यजनहरु सगँको सम्बन्धमा सामान्य तिक्तता उत्पन हुन सक्नेछ । सामान्य कार्यमा अधिक श्रम खर्चनु पर्ने समय रहेकोछ । पूराना मित्रजनहरु सगँको भेटघाटले मन प्रशन्न रहनेछ । सवारीसाधनको प्रयोगमा बिशेष साबधानि अपनाउनु पर्नेछ । पारीवारिक झोरझमेलाले सताउन सक्नेछ ।

बृष राशि – आय आर्जनका निम्ती अधिक श्रम तथा यात्रा गर्नु पर्ने समय रहेकोछ । मित्रजन तथा दाजुभाई बिचको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । मान्यजन हरुको साथ सहयोग मनग्य प्राप्तहुनेछ । मान प्रतिष्ठामा सामान्य आचँ आउन सक्ने सम्भाबना रहेकोछ । यात्राका क्रममा सामान्य तनाब उत्पन्न हुन सक्नेछ ।

मिथुन राशि – भोजभतेर तथा सभासम्मेलन जन्य कार्यमा सहभागीता जनाउने अवसर प्राप्त हुनेछ । रचनात्मक कार्यमा समय ब्यतित रहनाले मन प्रशन्न रहनेछ । बाणीमा अस्थीरता छाउनाले नजिकका आफन्तजनहरु सगँको सम्बन्धमा तनाब उत्पन्न हुन सक्नेछ । स्वास्थमा सामान्य समस्या उत्पन्न हुन सक्ने सम्भाबना रहेकोछ ।

कर्कट राशि मनोबिलासिताका साधनको प्रयोगले समय ब्यतित रहनेछ । ब्यपार ब्यवसायका क्षेत्रमा समय उत्तम रहेकोछ । स्वास्थ क्षेत्रमा सामान्य सुधार रहनेछ । रोकिएर रहेका कार्य सम्पादित हुनाले मन प्रशन्न रहला । पारीवारिक साथ सहयोगमा अधुराकार्यहरु सम्पादित रहनेछन । अध्यन अध्यापनमा समय मध्यम रहनेछ ।

सिंह राशि – कार्य सम्पादन प्रति अरुको दबावको महसुस हुनाले दिन तनाब पूर्ण ब्यतित रहला । प्रतिश्पर्दिहरु सवल रहनाले हर कदममा सजग रहनु होला । स्वास्थमा देखिएको समस्याका कारण सामान्य खर्चको योग रहेकोछ । परीवारका सदस्यहरु बाट टाढा भएको महसुस रहनेछ । गैर ब्यत्तिहरुको बिश्वासमा नपर्नु होला ।

कन्या राशि- आय आर्जनका बिभिन्न श्रोत साधनहरु फेला परेतापनि मानसिक चन्चलताले कार्य श्रेत्रमा ब्यवधान आई पर्नेछ । अध्यन अध्यानपनमा अधिक समय ब्यतित गर्नु पर्नेछ । रचनात्मक कार्यका क्षेत्रमा समय ब्यतित गर्दा उत्तम प्रतिफल प्राप्त रहनेछ । बोलिका कारण आफन्त जनहरु सगँ तनाब उत्पन्न हुनेछ ।

तुला राशि – सभासम्मेलन जन्य कार्यमा सहगायीता साथै सामान्य मान प्रतिष्ठा प्राप्तीको योग रहेकोछ । कार्यप्रतिको लगन सिलतामा बृद्यि हुनेछ । मनोरञ्जनका निम्ती सामान्य खर्चको सम्भाबना रहेकोछ । मानसिक चन्चलताले सताउनेछ । भौतिक श्रोत साधनको प्रयोगमा समय ब्यतित रहला । नयाँ कार्य थालनिमा साबधान अपनाउनु होला ।

बृश्चिक राशि – यात्राका क्रममा सामान्य खर्चको सम्भाबना रहेकोछ । तपाइको कार्यसम्पादनको श्रेय गैर ब्यतित्वहरुले प्राप्त गर्नेछन । नजिकका मित्रजनहरुसगँको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुनेछ । भौतिक साधनको प्रयोगमा समय ब्यतित रहनेछ । परिवारका सदस्यहरु सगँको सम्बन्धमा सामान्य मन मुटाब उत्पन्न हुनेछ ।

धनु राशि – स्वास्थ सम्बन्धी समस्याका कारण सामान्य तनाब उत्पन्न हुन सक्नेछ । कार्य क्षेत्रमा सामान्य झन्झट उत्पन्न हुन सक्नेछ । खानपानका क्षेत्रमा बिशेष सजग रहनु होला । पुरानो लगानि उठाउन समयले साथ दिनेछ । गैर ब्यक्तित्वहरुका कारण कार्य क्षेत्रमा सामान्य दवावको सामना गर्नुपर्ने सम्भाबना रहनेछ ।

मकर राशि – शारीरिक आलस्यताका कारण गरीरहेको कार्यमा सामान्य झन्झट उत्पन्न हुन सक्नेछ । दाम्पत्य सम्बन्धमा सामान्य खराबी उत्पन्न हुन सक्नेछ । मान प्रतिष्ठामा सामान्य आचँ आउन सक्ने सम्भाबना रहेकोछ । ब्यापार ब्यवसायका क्षेत्रमा मनग्य लाभ प्राप्त रहनेछ । अध्यन अध्यापन मध्यम रहनेछ ।

कुम्भ राशि – तपाईको द्वारा सम्पादित कार्यमा त्रुटि देखाउनेहरुको बृद्यिहुनेछ । स्वास्थमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ । अनावश्यक खर्चको सम्भाबना रहेकोछ । गैर ब्यत्तिहरुको बिश्वासमा नपर्नुनै उत्तम रहनेछ । यात्रामा सामान्य झन्झट आईपर्न सक्नेछ । सामाजीक कार्यका क्षेत्रमा जुट्ने बिशेष समय रहेकोछ ।

मीन राशि – बौधिक ब्यत्तित्वहरुको साथ सहयोगमा दिर्धकालिन आम्दानिका श्रोतहरु फेला पर्नेछन । अध्यन अध्यापनका क्षेत्रमा समय ब्यतित रहनेछ । रचनात्मक तथा कला कौशलका क्षेत्रबाट सामान्य आम्दानि लिन सकिनेछ । स्वास्थका निम्ती सामान्य खर्चको सम्भाबना समेत रहेकोछ । स्वास्थमा सामान्य सुधारको योग रहेकोछ ।

कांग्रेसको छवि धूमिल भएकामा नेता कोइराला चिन्तित

मलेखु (धादिङ) – नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले नेताहरुको व्यक्तिवादी चरित्रले नेपाली कांग्रेसमा किचलो बढेको आरोप लगाउनुभएको छ ।

कांग्रेस राष्ट्रिय राजनीतिको मियो बन्नुपर्नेमा आन्तरिक झगडामा रुमल्लिनु दुःखद् भएको नेता कोइरालाले बताउनुभयो । बिपी कोइरालादेखि सुशील कोइरालाको नेतृत्व रहँदासम्म कांग्रेसको वरिपरि नेपालको राजनीति घुमेको उल्लेख गर्दै कोइरालाले नेताहरुकै कमजोरीका कारण कांग्रेसको छवि धूमिल भएकामा चिन्ता व्यक्त गर्नुभयो ।

नेपाली कांग्रेस धादिङको प्रथम जिल्ला सम्मेलनको शनिवार उद्घाटन गर्दै नेता कोइरालाले अब हुने सबै निर्वाचनमा कांग्रेस एक्लै चुनाव लड्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उक्त सम्मेलनलाई संस्थापन पक्षका नेताले बहिष्कार गरेका थिए ।

आवाज हरायो, साहसले बाँच्यौँ

जाजरकोट । भेरी नगरपालिका–३, स्याला जाजरकोटका २३ वर्षीय रूपक विश्वकर्माका भाइ शुक्रबार रुकुमपश्चिमको आठबिसकोट नगरपालिकाको घेत्मामा लाग्ने मेला हेर्न जानुभएको थियो । भाइ नआएपछि रूपक अबेलासम्म बुवाआमासँगै कुरा गरेर बसे ।

रुकुमको जिल्ला अस्पताल सल्लेमा उपचार गराउन आएका रूपकले भने, “भाइ नआएपछि निदाउन थालेको थिएँ । एक्कासि छतबाट माटो ओइरिए जस्तो भयो । जुरुक्क उठ्न खोजेँ, पिङ मच्चिए जसरी खाट मच्चियो । अनि नराम्ररी भित्तामा उछिट्टिएर भुइँमा लडेँ ।”उनले थपे, “उठ्न खोज्दै थिएँ, माथिबाट काठ, माटो र ढुङ्गा खसेर थिच्यो । एक हात टाउकोमाथि राखिरहेँ । काठ, माटो, ढुङ्गाले मलाई पुर्दै गयो । यस्तैमा म त अचेत भएँछु । अलिपछि झिलिक झिलिक बत्ती बले जस्तो भयो । आँखा खोलेँ । मुख पनि माटोले बन्द गरेको जस्तो भयो । जोडले श्वास बाहिर फालेँ, माटो निस्कियो । अब त मरिने रैछ भन्ने लागेको थियो ।”भूकम्प रोकिएपछि एक हातले बिस्तारै शरीरको माटो, ढुङ्गालाई हटाएको उनले बताए । उनको अनुहार, टाउकोलगायत शरीरका अन्य अङ्गमा चोट लागेको छ । रूपकले भने, “बल गरेर उठेँ । गाउँमा कोलाहल थियो । बुवाआमा भएको कोठामा गएँ । केही भइहाल्यो कि भन्ने ठुलो डर थियो । घरको माथिल्लो तला नै भासिएर उहाँहरू त तल्लो तलामा झर्नुभएछ । घरको सबै काठ, माटो, ढुङ्गाले उहाँहरू पुरिनुभएछ । मलाई के गरौँ, कसो गरौँ भइरहेको थियो । आमाले बचाऊ , बचाऊ , भन्दै गुहार मागिरहनुभएको थियो ।”बेल्चा लगाएजसरी हातैले माटो, ढुङ्गा र काठ पन्छाएर आमाको कपाल फेला पारेको उनले सुनाए । औँलाले कोदालाले खनेजसरी आमाको वरिपरिको माटो हटाएको र आमालाई निकालेपछि बुवालाई खोजेको उनले स्मरण गरे तर आमालाई निकाल्दै औँलाबाट रगत चुहिन थालेको थियो ।यस्तैमा भाइ पनि चिच्याउँदै आइपुग्यो तर सुरु सुरुमा बचाऊँ, बचाऊँ, भनेर कराउने बुवाको आवाज बिस्तारै दबिँदै गएको थियो । बुवाको सासै रोकियो कि भन्ने डरले उनलाई सतायो ।“बुवाको वरिपरिको माटो, काठ र ढुङ्गा हटाउँदै गएँ,” उनले भने, ‘छिमेकका पाँच जना साथीलाई बिन्ती गरेर ल्याएपछि बुवालाई निकाल्न सकियो । बेहोस अवस्थामा रहेका बुवाको नाक र मुखभरि माटो कोचिएको थियो ।खोक्दा नाक र मुखको माटो एक्कासि निस्कियो अनि बुवा ज्युँदै हुनुहुन्छ भन्ने भयो ।” हामी चाइनबगर पुल तरेर रुकुमपश्चिमको सानीभेरी गाउँपालिका–१ आइपुग्यौँ । त्यतिन्जेल रुकुमपश्चिमको भागमा उद्धारका लागि ल्याइएका एम्बुलेन्स आइसकेका थिए । गाउँमा धेरै जना उपचारका लागि यही आयौँ । रूपकले भने, “अहिले मेरो बुवा डण्डवीरको अवस्था ठिक भएपछि डिस्चार्ज भएर जानुभयो । म र आमा कल्पना अस्पतालमै छौँ ।” यो खबर आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

गोदावरी मेलाको टिकटबाट सङ्कलित ५० प्रतिशत रकम भूकम्पपीडितलाई

गोदावरी (ललितपुर) -ललितपुरको जावलाखेलमा जारी गोदावरी मेलामा आइतबार बिक्री हुने टिकटबाट सङ्कलन भएको ५० प्रतिशत रकम जाजरकोट र रुकुमपश्चिमका भूकम्पपीडितलाई उपलब्ध गराइने भएको छ ।

“जावलाखेल खेलमैदान ललितपुरमा जारी १६औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनीको मेला अवधि एक दिन थप गर्दै कात्तिक १९ गते आइतबार बेलुका ५ः०० सम्म मेला जारी रहने जानकारी गराउँछौँ”, फ्लोरिकल्चर एसोसिएसन नेपालले आज विज्ञप्ति जारी गर्दै भनेको छ, “आइतबारको मेलाको टिकटबाट हुने आम्दानीको ५० प्रतिशत रकम जाजरकोट तथा पश्चिम रुकुम क्षेत्रमा गएको भूकम्पपीडितको उद्धार तथा सहयोगका लागि नेपाल सरकारको कोषमा जम्मा गरिने जानकारी गराउँछौँ ।”

‘रोपेर फूल गोदावरी, सजाऔँ घर आँगन वरिपरि’ भन्ने नाराका साथ चलिरहेको मेलाको चौथो दिन (शुक्रबार) सम्म ३१ हजारले मेला अवलोकन गरेका छन् भने रु ७७ लाखभन्दा बढीको कारोबार भएको एसोसिएसनले जनाएको छ ।

पोखरा महानगरबाट राहत सामग्री सहित १७ जनाको उद्धार टोली भूकम्प प्रभावित क्षेत्रमा

कास्की- भौगोलिकरूपमा देशकै सबैभन्दा ठूलो पोखरा महानगरपालिकाले भूकम्प प्रभावित क्षेत्रमा राहत सामग्रीसहित उद्धार टोली पठाएको छ ।महानगरले वडाध्यक्षद्धय साहारा प्रधान र राममोहन आचार्यको नेतृत्वमा स्वास्थ्यकर्मी, नगर प्रहरीसहितको टोली राहत तथा उद्धारका सामग्रीसहित  प्रभावित क्षेत्रतर्फ प्रस्थान गरेको जनाएको छ ।

शुक्रबार राति जाजरकोटको बारेकोट गाउँपालिका–१ केन्द्रबिन्दु भएर गएको भूकम्पबाट जाजरकोट र रुकुमपश्चिमा ठूलो मानवीय तथा भौतिक क्षति भएको छ ।महानगर प्रमुख धनराज आचार्यले दुईवटा सानो गाडी र एक ट्रकमा राहत सामग्री सहित १७ जनाको उद्धार टोली प्रभावित क्षेत्र रुकुम र जाजरकोट प्रस्थान गरेको जानकारी दिनुभयो । महानगरको टोली आवश्यकतानुसार प्रभावित क्षेत्रमा राहत तथा उद्धार कार्यमा खटिने छ ।टोलीले राहत सामग्रीका रूपमा लत्ताकपडा, त्रिपाल, ब्ल्याङ्केट र औषधि एवं उपचारका आवश्यक सामग्री गएको प्रमुख आचार्यले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “भूकम्पका कारण सिर्जित हृदयविदारक घटनामा राहत तथा उद्धारमा सहभागी हुनु हाम्रो पनि कर्तव्य हो । प्रभावित क्षेत्रका नागरिकको उद्धार, उपचार, राहत, पुनःनिर्माणलगायत कार्यमा पोखरा महानगरले सहयोग गर्नेछ ।”महानगरले भूकम्प प्रभावित क्षेत्रमा रु ५० लाखको सहयोगको घोषणासमेत गरेको छ । महानगर प्रमुख आचार्यले पहिलो चरणमा महानगरका जनप्रतिनिधिको एक महिनाको पारिश्रमिकबापत रु १३ लाख १५ हजार राहत प्रदान गरिने जानकारी दिनुभयो । राहतका लागि नपुग रकम महानगरपालिकाको विपद् कोषबाट खर्च व्यहोरिने र रु ५० लाख बराबरको राहत सहयोग प्रदान गरिने महानगरले जनाएको छ ।यसैगरी गण्डकी प्रदेश सरकारले पनि प्रभावित क्षेत्रमा मानवीय सहायताका लागि चिकित्सक टोली पठाएको छ । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रभावित क्षेत्रमा मानवीय सहायता पुर्याउने उद्देश्यले चिकित्सकसहितको टोली त्यसतर्फ पठाइएको जानकारी दिनुभयो ।सरकारले प्रदेश सरकारमातहतको सङ्क्रामक तथा सरुवा रोग अस्पतालका प्रमुख डा विकास गौचनको नेतृत्वमा मेडिकल, हाडजोर्नी र एनेस्थिेसियाको विशेषज्ञ चिकित्सक र स्वास्थ्यकर्मी र उपचार सामग्री भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिममा पठाएको हो । स्थलमार्ग हुँदै जाने टोली आइतबार बिहान रुकुम पुग्ने र भूकम्पबाट घाइते भएकाको उपचारमा खटिने बताइन्छ । 

भूकम्प मापन केन्द्रको टोली जाजरकोटमा

काठमाडौँ, १९ कात्तिक : जाजरकोटमा शुक्रबार राति गएको भूकम्पको थप अध्ययन एवं अनुसन्धान गर्न भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरको टोली त्यहाँमा पुगेको छ । केन्द्रका वरिष्ठ भूकम्पविद् डा लोकविजय अधिकारी सहितको टोली अनुसन्धान गर्न शनिबार जाजरकोट पुगेको हो ।

उक्त टोलीले भूकम्पका बारेमा समग्र अध्ययन तथा अनुसन्धान गर्ने खानी तथा भूकम्प विभागका महानिर्देशक रामप्रसाद घिमिरेले जानकारी दिनुभयो । “कति गहिराइबाट भूकम्प गएको छ, कुन दिशामा बढी क्षति पुगेको छ, भूकम्पले कस्ता घरमा क्षति पुगेको छ भन्नेबारे उक्त टोलीले अध्ययन गर्नेछ”, उहाँले भन्नुभयो ।केन्द्रका वरिष्ठ भूकम्पविद् डा अधिकारीले जाजरकोट भूकम्प बझाङ भूकम्पको परकम्प नभई नयाँ भूकम्प भएको जानकारी दिनुभयो । उहाँले पछिल्लो समय नेपालका पश्चिम क्षेत्र भएर भूकम्प गइरहेको उल्लेख गर्नुभयो ।शुक्रबार राति जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर भूकम्प गएपछि चारवटा पराकम्प गइसकेको छ । केन्द्रका अनुसार सोही स्थान केन्द्रबिन्दु भएर सोही राति १२ः८ बजे ४ दशमलव ५, १२ः२९ बजे ४ दशमलव २, १२ः३५ बजे ४ दशमलव ३ र शनिबार दिउँसो ३ः४० बजे ४ दशमलव २ रेक्टरस्केलको पराकम्प गएको छ ।उक्त भूकम्पमा परेर हालसम्म जाजरकोट र रुकुम पश्चिममा एक सय ५७ व्यक्तिको निधन भइसकेको छ भने दुई सयभन्दा बढी व्यक्ति घाइते भएका छन् ।

सहायता परिचालनमा जुट्न एमालेको निर्देशन

काठमाडौँ- नेकपा (एमाले)ले भूकम्प प्रभावित क्षेत्र जाजरकोट र पश्चिम रुकुममा उद्धार र राहतमा जुट्न आफ्ना कार्यकर्तालाई निर्देशन दिएको छ ।एमालेले भूकम्पका कारण जाजरकोट, रुकुम पश्चिमलगायत जिल्ला र त्यस क्षेत्रका विभिन्न भागमा ठूलो मानवीय तथा भौतिक क्षति भएकामा दुःख व्यक्त गर्दै आफ्ना कार्यकर्तालाई उद्धार र राहतमा जुट्न निर्देशन दिएको हो ।
एमालले भूकम्प पीडितको तत्काल उद्धार गरी सुरक्षित स्थानमा बसोवासको व्यवस्था गर्न, पीडितलाई सहयोग गर्न तथा घाइतेको शीघ्र उपचारको व्यवस्था मिलाउन सरकारसँग माग पनि गरेको छ ।

यसैबीच, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले काठमाडौँ उपत्यकाका अस्पताललाई द्रुत सेवा प्रवाह गर्नेतर्फ सधैँ सचेत रहन निर्देशन दिएको छ । जाजरकोट भूकम्पबाट घाइते भएकाको तत्काल उपचारको व्यवस्था गर्न मन्त्रालयले निर्देशन दिएको हो ।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनवहादुर बस्नेतको अध्यक्षतामा आज भएको आकस्मिक बैठकले काठमाडौँमा उपत्यकाका वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, निजामति कर्मचारी अस्पताललाई आवश्यक जनशक्ति व्यवस्थापन गरी प्रभावकारी सेवा प्रवाह गर्न निर्देशन दिएको हो ।

भूकम्प प्रभावितको खोजी, उद्धार र उपचारमा सम्पूर्ण संयन्त्र परिचालित

काठमाडौँ- सरकारले भूकम्पबाट प्रभावितको खोजी, उद्धार र उपचारमा स्थानीय प्रशासनको नेतृत्वमा सम्पूर्ण संयन्त्रलाई प्रभावकारीरूपमा परिचालन गरिएको जनाएको छ । गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले आज विज्ञप्ति जारी गर्दै सबै सुरक्षा निकाय, सरकारी संयन्त्र र गैरसरकारी क्षेत्रलाई प्रभावितको उद्धार तथा राहतमा केन्द्रित गरिएको जानकारी दिनुभयो ।

जाजरकोटको बारेकोट गाउँपालिका केन्द्रबिन्दु रहेको सो भूकम्पमा परी हालसम्म जाजरकोटमा एक सय पाँच र रुकुम पश्चिममा ५२ गरी कुल एक सय ५७ जनाको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ । भूकम्पमा परी तीन सय ७५ जना घाइते भएका छन् ।

घटनाबाट निजी आवासका साथै सरकारी संरचनामा समेत क्षति पुगेको प्रवक्ता भट्टराईले जानकारी दिनुभयो । सामान्य घाइतेको स्थानीय तथा जिल्ला अस्पताल र गम्भीर घाइतेको काठमाडौँ, सुर्खेत तथा नेपालगन्जमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

आज बिहानै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चिकित्सक, स्वास्थ्यकर्मी र अत्यावश्यक औषधि एवं राहत सामग्रीसहित प्रभावित जिल्लाको स्थलगत अध्ययन अवलोकनका लागि पुग्नुभएको थियो । सो क्रममा उहाँले पीडित परिवारसँग भेटघाट गर्नुभएको थियो । प्रधानमन्त्री दाहालले सरोकारवाला निकायलाई तत्काल खोज, उद्धार र राहत व्यवस्थापन कार्यलाई थप प्रभावकारी बनाउन निर्देशन दिनुभएको प्रवक्ता भट्टराईले जानकारी दिनुभयो ।

आजै उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा मुख्यसचिव, विभिन्न मन्त्रालयका सचिव, सुरक्षा निकायका प्रमुख एवं सरोकारवाला निकायका प्रतिनिधिको बैठकले भूकम्प पीडितको उद्धार र राहतमा प्रभावकारी ढङ्गले खटिइने निर्णय गरेको थियो ।

बैठकले भूकम्प प्रभावितमा खोज, उद्धार तथा घाइतेको उपचार कार्यलाई पहिलो प्राथमिकता दिई सम्पन्न गर्ने, स्थानीय अस्पतालहरूमा उपचार भइरहेका घाइतेको उपचारलाई प्रभावकारी बनाउन आवश्यक विशेषज्ञ चिकित्सकसहितका जनशक्ति, अत्यावश्यक औषधि उपकरण छिटो साधनद्वारा प्रभावित क्षेत्रमा प¥याउने, थप उपचारका लागि स्वास्थ्य जनशक्ति सुर्खेत, नेपालगन्ज र काठमाडौँमा तयारी अवस्थामा राख्ने निर्णय गरेको थियो ।

बैठकले तत्काल राहत व्यस्थापनका लागि खाद्यान्न र अस्थायी आवास (टेण्ट, त्रिपाल, कम्बल, म्याट्रेस, स्लिपिङ ब्याग आदि सामग्री प्रभावित जिल्लामा पठाउने एवं खोज, उद्धार, उपचार र समन्वयका लागि सुर्खेतलाई मुख्य र नेपालगन्जलाई सहायक केन्द्र तोकी आवश्यकतानुसार साधन स्रोत परिचालन गर्ने निर्णय गरेको प्रवक्ता भट्टराईले जानकारी दिनुभयो ।

खोज तथा उद्धार कार्य र राहत सामग्री जिल्ला विपद् व्यवस्थापन समितिमार्फत एकद्वार प्रणालीबाट परिचालन गर्ने, जाजरकोट र रुकुम पश्चिमका जिल्ला विपद् व्यवस्थापन कोषमा रु पाँच–पाँच करोड तत्काल पठाउने, खोज उद्धार तथा शव व्यवस्थानको विशेष तालिमप्राप्त टोली प्रभावितस्थलमा पठाउने भूकम्पका कारण अवरुद्ध भएका सडक तत्काल खुलाउन आवश्यक व्यवस्था मिलाउने निर्णय भएको विज्ञप्तिमा उल्लेख छ ।

उक्त बैठकले विपद् व्यवस्थापन कार्यमा सहयोगका लागि मित्रराष्ट्र तथा विदेशी नियोगबाट प्राप्त भएका सद्भावयुक्त प्रस्तावका लागि कृतज्ञता व्यक्त गर्दै थप विवरण र क्षतिका आधारमा आवश्यक परेमा पछि अनुरोध गरिने निर्णय गरेको प्रवक्ता भट्टराईले जानकारी दिनुभयो ।

मन्त्रालयले विपद्को अवस्थामा खोज, उद्धार र राहतका लागि क्रियाशील जनप्रतिनिधि, सुरक्षाकर्मी, राष्ट्रसेवक कर्मचारी, गैरसरकारी तथा निजी क्षेत्र, सङ्घसंस्था तथा व्यक्ति र यस कार्यमा सूचना सम्प्रेषण गरी सहयोग गर्ने सञ्चारकर्मीलाई धन्यवाद व्यक्त गरेको छ । मन्त्रालयले मानवीय संवेदनालाई ख्याल गरी सत्य, तथ्य र आधिकारिक सूचना सम्प्रेषण गर्न र प्रदान गरिने सहयोगलाई सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीमार्फत एकद्वार प्रणालीबाट परिचालन गर्नसमेत सबैमा अनुरोध गरेको छ ।

भूकम्प पीडितको उद्धारमा प्रधानमन्त्रीको अठार घण्टा

काठमाडौँ- शुक्रबार मध्यरात सम्पूर्ण नेपाली निद्रामा थिए । विपत्तिका सामु कसैको केही लागेन । एकाएक धर्ती हल्लियो । निद्रामा रहेका मानिस ब्यूँझिए । कुकुर भुके, बास बसेका चराको चित्कार सुनियो । काठमाडौँ उपत्यकासहित देशभर नै धक्का महसुस भयो ।

समय थियो शुक्रबार राति ११ बजेर ४७ मिनेटको । जाजरकोटको रामिडाँडालाई केन्द्रबिन्दु बनाएर छ दशमलव चार म्याग्निच्युडको भूकम्पले विशेषगरी छिमेकी रुकुम पश्चिमलाई नराम्ररी हल्लाइदियो । विसं २०७२ वैशाख १२ गतेको जस्तै धक्का पश्चिम नेपालका दुई पहाडी जिल्लाले यसपटक व्योहोर्नुपरेको छ ।

भूकम्पको धक्का काठमाडौँ उपत्यका र भारतको राजधानी नयाँ दिल्लीसम्म महसुस गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । हालसम्म सो भूकम्पमा परी एक सय ५७ जनाको मृत्यु भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ । हालसम्म जाजरकोटमा एक सय पाँच जना र रुकुम पश्चिममा ५२ जनाको मृत्यु भएको छ ।

जाजरकोट र रुकुम पश्चिमका धेरै गाउँ भूकम्पबाट थिलथिलो भएको छ । अधिकांश मानिस खुला स्थानमा रात कटाउन बाध्य भएका छन् । राहत र उद्धारको काम चलिरहेको छ । पहिलो चरणमा सरकारले भूकम्प प्रभावितको सकुशल उद्धारमा ध्यान केन्द्रित गरेको छ । करिब–करिब उद्धारको काम पूरा भएको स्थानीय प्रशासनले जनाएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज रातिदेखि नै प्रभावितको उद्धारमा प्रभावकारीरूपमा खटिन निर्देशन दिनुभएअनुसार काम भएको बताइएको छ । प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माका अनुसार प्रधानमन्त्री दाहालले शनिबार बिहान १ बजेभित्रै जाजरकोट र रुकुम पश्चिमको अवस्थाका बारेमा जानकारी लिनुभएको थियो । भूकम्प गएको थाहा पाउनेबित्तिकै तत्काल उद्धार र राहतमा खटिन उहाँले मातहतका निकाय, सुरक्षाकर्मीलाई निर्देशन दिनुभएको थियो । प्रधानमन्त्री आज झण्डै १८ घण्टा जाजरकोट र रुकुम पश्चिमलाई नै केन्द्रमा राखेर खटिनुभएको थियो ।

आफँैले विवरण लिएपछि प्रधानमन्त्री प्रचण्डले आज बिहान ३ बजे नै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी तथा आवश्यक प्राविधिकसँग उद्धारका बारेमा छलफल गरी आवश्यक निर्देशन दिनुभएको थियो । आवश्यक तयारीलगत्तै बिहान ६ बजे ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत, पूर्वअर्थमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का नेता जनार्दन शर्मा र जाजरकोटबाट कर्णाली प्रदेशसभा सदस्य राजीवविक्रम शाहीसहित विमानस्थल पुग्नुभएका प्रधानमन्त्रीले आफूसँगै १६ जना स्वास्थ्यकर्मीलाई प्रभावितस्थल लिएर जानुभयो ।

सचिवालयमा रहेका सहयोगीलाई काठमाडौँमा नै छाडेर प्रधानमन्त्री सीमित सुरक्षाकर्मीका साथ जाजरकोटको मालिका ब्यारेकमा बिहान ८ बज्दा नबज्दै पुग्नुभयो । आम नेपालीले नियमित काम सुरु नगर्दै प्रधानमन्त्री नेतृत्वको टोली भूकम्प प्रभावितस्थल जाजरकोट पुगिसकेको थियो । केन्द्रबिन्दु नै भएका कारण यसपटकको भूकम्पले सबैभन्दा बढी क्षति जाजरकोटमा नै पुगेको छ । त्यसपछि रुकुम पश्चिममा जनधनको क्षति भएको छ ।

जाजरकोटको बारेकोट गाउँपालिकाका अध्यक्ष वीरबहादुर गिरीका अनुसार केन्द्रबिन्दु भए पनि त्यहाँ मानवीय क्षति कम भएको छ । भौतिक संरचनामा भने ठूलो क्षति भएको छ । झण्डै एक हजार परिवार विस्थापित भएका छन । उनीहरुको घर पूर्णरूपमा क्षतिग्रस्त भएको छ । बस्नै नहुने अवस्था छ । त्यहाँ अन्य एक हजार पाँच सयको हाराहारीमा घर जोखिममा छन् ।

“भूकम्प सम्झँदा र घरको अवस्था देख्दा सबै तर्सित छन् । भूकम्प पीडित गाउँभन्दा टाढा जङ्गल, गुफा र चौरमा बसिरहेका छन्”, उहाँले भन्नुभयो । केन्द्रबिन्दु रहेको भूकम्पबाट त्यहाँ सडकलगायत भौतिक संरचनामा क्षति पुगेको छ । घर क्षतिग्रस्त छन् । जमिन भासिएको छ । चिराचिरा परेको छ । भग्नावशेषजस्तो देखिएको छ । गाउँपालिकाको केन्द्रबाट तीन किलोमिटर टाढा रहेको भूकम्पको केन्द्रबिन्दुमा बस्ती, जङ्गल र खोला छ ।

जाजरकोटको भेरी नगरपालिका प्रमुख चन्द्रप्रकाश घर्तीका अनुसार प्रधानमन्त्री दाहालले प्रभावित क्षेत्रको अवलोकन गरेर पीडामा रहेका नागरिकलाई मल्हमपट्टी लगाउन सहयोग पुगेको छ । उहाँले भन्नुभयो, “प्रधानमन्त्रीले नै स्थलगत निरीक्षण गर्नुभएको छ । विश्वास छ, सङ्घीय सरकारले ठूलो सहयोग गर्नेछ ।”

प्रधानमन्त्री दाहालले धेरै प्रभावितमध्येको एक जाजरकोटको नलगाड नगरपालिकाको दलीबाट आफू चढेर गएको हेलिकोप्टरमा नै सात जना घाइते र सात जना कुरुवालाई उद्धार गरेर उपचारमा पठाउनुभएको थियो ।
घाइतको तत्काल उद्धारमा जोड दिनुभएका प्रधानमन्त्रीले दिउँसो फर्कने क्रममा पनि एक बालकसहित तीन जनालाई रुकुमको आठबिसकोटबाट उद्धार गरेर उपचारका लागि सुर्खेत छाडेर आउनुभएको छ । गम्भीर अवस्थामा रहेका सात जना घाइतेलाई नेपाल वायु सेवा निगमको जहाजमार्फत काठमाडौँ ल्याइएको छ ।

प्रधानमन्त्री प्रचण्डले आज सानीभेरी, आठबिसकोट, मुसीकोट, जाजरकोटको थाप्लेचौर, नलगाडलगायत स्थानमा आफैँ पुगेर घाइतेको अवस्थाका बारेमा जानकारी लिनुभयो । उहाँले उपचारमा कुनै कसर बाँकी नराख्न चिकित्सकहरूलाई आग्रह गर्नुभयो । थप उपचारका लागि सुविधा सम्पन्न अस्पतालमा पठाउन तथा खर्चको कुनै चिन्ता नगर्न ढाडससमेत दिनुभएको थियो ।

यस्तै उद्धार र राहतमा खटिएका सुरक्षाकर्मीलाई समेत उच्च मनोबलका साथ खटिन निर्देशन दिनुभएका प्रधानमन्त्रीले सरकारको तर्फबाट सबै प्रकारको सहयोग रहने र साथैमा रहेको बताउनुभएको थियो । घरबास भत्केर खुला स्थानमा पुगेका नागरिकसँग प्रत्यक्ष संवाद गर्न एकाबिहानै प्रधानमन्त्री पुग्दा धेरैले आश्चर्यसमेत मानेका थिए ।

प्रधानमन्त्रीले भूकम्पमा परी निधन भएका मानिसका आफन्तसँग रुकुमको राडीबजारमा भेटेर समवेदना प्रकट गर्नुभएको थियो । उहाँले सरकार साथमा भएकाले चिन्ता नगर्न आग्रह गर्दै पुनःस्थापना र राहतको प्रबन्ध गरिने विश्वास दिलाउनुभएको थियो ।

आज दिनभरजसो भूकम्प प्रभावितसँग रहनुभएका प्रधानमन्त्रीले सोही क्रममा गृह, सञ्चार तथा सूचना प्रविधि, उद्योग वाणिज्य तथा आपूर्ति, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्रीलाई पनि आ–आफ्नो मन्त्रालयमार्फत गर्नुपर्ने राहत र उद्धारको कामको तयारी गर्न निर्देशन दिनुभएको प्रेस संयोजक शर्माले जानकारी दिनुभयो । प्रधानमन्त्रीको निर्देशनलगत्तै ती मन्त्रालयले पनि प्रभावितलाई केन्द्रमा राखेर आवश्यक निर्णय गरेका छन् ।

उद्धारको काम सम्पन्न भएको निष्कर्षमा पुग्नुभएका प्रधानमन्त्रीले राहत, पुनःस्थापनाका लागि आवश्यक निर्णय गर्न आइतबार बिहान मन्त्रिपरिषद्को बैठक बोलाउनुभएको छ ।

अधिकारसम्पन्न स्थानीय सरकार गठन भएका कारण उद्धारको काम प्रभावकारी भएको निष्कर्षका साथ काठमाडौँ फर्कनुभएका प्रधानमन्त्री दाहालले दोस्रो चरणमा राहतको कामलाई प्राथमिकतामा साथ युद्धस्तरमा अगाडि बढाउने विश्वास स्थानीय प्रभावितलाई पनि दिलाउनुभएको छ ।

भूकम्पबाट भत्किएका घर तथा आवास, सरकारी संरचना तथा अन्य भौतिक पूर्वाधारको निर्माणका लागि प्राधिकरणको मोडालिटीमा नै नयाँ संरचना निर्माण गर्नुपर्ने हो कि भन्ने निष्कर्षमा प्रधानमन्त्री पुग्नुभएको छ । “स्थलगत निरीक्षणका क्रममा देखिएको अवस्था, विज्ञहरूको सुझाव तथा अन्य परिस्थितिलाई ख्याल गरेर आइतबार बस्ने मन्त्रिपरिषद्को बैठकले आवश्यक निर्णय गर्नेछ । आज विभिन्न मन्त्रालयले गरेका निर्णयलाई समेत सरकारले ग्रहण गर्ने सरकारको तयारी छ”, प्रेस संयोजक शर्माले भन्नुभयो ।

पश्चिम नेपालमा लगातार भूकम्प गइरहेको सन्दर्भलाई ध्यान दिएर सरकारले दीर्घकालीनरूपमा पनि उपयुक्त समाधान खोज्ने तथा सुरक्षित आवास निर्माण गर्नुपर्ने आवश्यकता देखेको छ । प्रधानमन्त्रीले भूकम्पपछिको पुनःनिर्माणका लागि आवश्यक सबै प्रबन्ध गर्ने र त्यसमा सबै राजनीतिक दल र सरोकारवालाको साथ खोज्नुभएको छ ।

जाजरकोट र रुकुम पश्चिमको भूकम्प प्रभावित क्षेत्रको अनुगमन गरेर फर्किने क्रममा नेपालगन्ज विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै उहाँले आज उद्धार र उपचारमा ध्यान केन्द्रित गरिएको बताउनुभएको थियो ।

प्रधानमन्त्री दाहालले आइतबारदेखि राहत र पुनःस्थापनाको काममा लाग्ने उल्लेख गर्नुभयो । उहाँले नेपाललाई चाहिने सहयोग गर्ने भनेर छिमेकी मुलुकबाट पनि फोन आएको तथा मन्त्रिपरिषद् बैठकमा निर्णय गरेर आवश्यक सहयोगबारे बताउने जानकारी गराएको उल्लेख गर्नुभएको थियो ।

‘प्रधानमन्त्री उद्धारमा खटिएपछि पीडित र सरकारी निकायले अभिभावकत्व महसुस गरे’

काठमाडौँ-प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नै प्रत्यक्षरूपमा भूकम्पपीडितको राहत र उद्धारका लागि प्रभावित क्षेत्रमा पुगेपछि राज्यका सबै निकायले अभिभावकत्व महसुस गरेको ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतको प्रतिक्रिया छ ।

आफ्नो गृहजिल्ला जाजरकोट नै भूकम्पको ठूलो चपेटामा परेपछि   दिनभर उद्धार र उपचारमा खटेर काठमाडौँ आइपुगेपछि राष्ट्रिय समाचार समिति (रासस)सँग कुराकानी गर्नुहुँदै मन्त्री बस्नेतले भन्नुभयो, “मुलुकको प्रधानमन्त्री नै प्रत्यक्षरूपमा प्रभावित क्षेत्रमा पुग्नुभएपछि सरकारी निकाय, सुरक्षा संयन्त्र तथा स्थानीय स्वयंसेवकलाई बल मिल्यो । सोही कारण उद्धारको काम छोटो समयमा पूरा भयो भने उपचारको पनि सहज प्रबन्ध हुनसक्यो ।”

विपद्को समयको पहिलो दायित्व उद्धार र उपचार हो । सरकारले सो कामलाई आज दिनभरमा पूरा गरेको छ । त्यसका लागि सरकारले शुक्रबार रातिदेखि नै आवश्यक तयारी गरेको थियो । सिंहदरबार र बालुवाटारमा बसेर निर्देशन दिएकै भरमा भूकम्पपीडितको उद्धार हुँदैन भन्ने ठानेर प्रधानमन्त्रीको नेतृत्वमा आफूहरू प्रभावित क्षेत्रमा पुगेको मन्त्री बस्नेतको भनाइ छ ।

स्थानीय प्रशासनले, भूकम्पपीडित सबैले सरकार आफ्नै घरगाउँमा आएको र आफ्नो पीडामा साथै रहेको अनुभव गर्न पाएको उहाँको भनाइ छ । केहीले प्रधानमन्त्री प्रचण्ड नगएको भए पनि हुन्थ्यो भनेर गरेको टिप्पणीलाई उहाँले नकारात्मक सोचको उपज भएको तर्क गर्दै मन्त्री बस्नेतले भन्नुभयो, “विपद्को समयमा राज्यका निकायलाई पूर्ण क्षमतामा परिचालन गर्नु प्रमुख दायित्व हुन्थ्यो । हामीले त्यही गर्याँै । सरकार प्रमुख नै प्रभावित क्षेत्रमा पुग्दा सबै निकायको मनोबल उच्च हुन पुग्यो । सोही कारण आजै उद्धार र उपचारको प्रबन्ध गर्न सक्यौँ ।”

मन्त्री बस्नेतले विपद्को पहिलो काम पूरा भएकाले आइतबारदेखि राहतको काम सुरु हुने जानकारी दिनुभयो । त्यसका लागि प्रधानमन्त्री प्रचण्डले आइतबार बिहान मन्त्रिपरिषद्को बैठक बोलाउनुभएको छ । सोही बैठकले राहतको उपयुक्त निर्णय गर्नेछ ।

शुक्रबार राति ११ बजेर ४७ मिनेटमा गएको भूकम्पका कारण जाजरकोटका अधिकांश घरमा क्षति पुगेको छ । भेरी नगरपालिका, नलगाड, बारेकोट नगरपालिकामा धेरै क्षति भएको छ । ती स्थानीय निकायका धेरैजसो घरमा क्षति पुगेको छ । सग्ला रहेका घरमा समेत बसोबास गर्न नहुने भएका छन् । भूकम्पका कारण भेरी नगरपालिकामा मात्र ४२ जनाको निधन भएको छ । यस्तै ८१ जना घाइते भएका छन् । नलगाड नगरपालिकामा ५५ जनाको मुत्य भएको छ । कुशे गाउँपालिकामा सात, छेडागाड नगरपालिकामा एक जना गरी कुल एक सय पाँच जनाको निधन भएको छ ।

यस्तै रुकुम पश्चिमको आठबिसकोट नगररपालिका, सानीभेरी गाउँपालिका र चौरजहारी नगरपालिका बढी प्रभावित भएको छ । ती स्थानीय तहका अधिकांश घर तथा आवासमा क्षति पुगेको छ । सग्ला रहेका घर पनि सानो धक्काले ढल्ने अवस्थामा रहेकाले जोखिम छ ।

जाजरकोट सदरमुकाम रहेको खलङ्गाका अधिकांश घरमा क्षति पुगेको पाइएको मन्त्री बस्नेतले जानकारी दिनुभयो । पुराना घर भएकाले पनि धेरै घर भत्किएको हुनसक्ने अधिकांशको अनुमान छ ।

मन्त्री बस्नेतले भूकम्प लगत्तै आफूले प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखलाई फोन गरेर उद्धारमा जुट्न र उपचारको प्रबन्ध गर्न निर्देशन दिएकोसमेत स्मरण गर्नुभयो । उद्धारमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा स्थानीय सङ्घसंस्थाका प्रतिनिधि भूकम्प गएलगत्तै परिचालित भएका थिए । प्रधानमन्त्रीको नेतृत्वमा मन्त्री बस्नेत, पूर्वअर्थमन्त्री जनार्दन शर्मा, चिकित्सकसहितको टोली खलङ्गा पुगेपछि त्यसले थप बल दिएको मन्त्री बस्नेतको भनाइ छ । प्रधानमन्त्रीको टोलीले जाजरकोट अस्पतालमा पुगेर घाइतेलाई नआत्तिन र सरकार साथमा रहेको बताउँदा अधिकांशले सरकार आफ्नै साथमा भएको अनुभूति गरेका थिए ।

प्रधानमन्त्री नै प्रभावित क्षेत्रमा पुगेपछि राज्यका अधिकांश निकाय समयमै पुगेर उद्धारको काम गरेका छन् । स्वास्थ्यकर्मी पनि पुगेका छन् । मध्यरात गएको भूकम्पका कारण हजारौँ घरमा क्षति पुगेको छ ।

विशेषगरी जाजरकोट र रुकुम पश्चिममा सरकारको तर्फबाट पहिलो चरणको काम सम्पन्न गरेको छ । प्रधानमन्त्री प्रचण्डले पनि नेपालगन्ज विमानस्थलमा त्यसकोे जानकारी दिनुभएको थियो । सरकारकोे तर्फबाट आज जे गर्नुपर्ने थियो त्यो भएको र आइतबार मन्त्रिपरिषद्को बैठकले राहतको बारेमा आवश्यक निर्णय गर्ने उहाँको भनाइ थियो ।

मध्यरातमा सपना जसरी आएको भूकम्पले दिएको पीडामा रहेका नागरिकलाई आज सरकारले विश्वास दिलाएर फर्केको जानकारी दिँदै मन्त्री बस्नेतले राहत र पुनःनिर्माणको काम पनि सोही गतिमा गर्ने बताउनुभयो । उहाँले सहज सञ्चारका लागि बिजुलीको सहज उपलब्धताका लागि आज बिहानै नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएको र सोहीअनुसार काम भएकोसमेत उल्लेख गर्नुभयो ।–––

दश करोडका सहायता सामग्री उपलब्ध गराउने चीनको घोषणा

काठमाडौँ, १८ कात्तिक : चीनले जाजरकोट भूकम्पपीडितका लागि रु १० करोड बराबरको सहायता सामग्री उपलब्ध गराउने घोषणा गरेको छ । नेपालका लागि चीनका राजदूत छन सङले सामाजिक सञ्जाल एक्समा उक्त रकम बराबरका आपत्कालीन सहायता सामग्री प्रदान गर्ने घोषणा गर्नुभएको हो ।

त्रिपाल, कम्बललगायत राहत सामग्री चीनबाट नेपालतर्फ पठाइएको र केही दिनभित्रै ती सामग्री नेपाल सरकारमार्फत पीडितलाई प्रदान गरिने जनाइएको छ । शुक्रबार राति ११ बजेर ४७ मिनेटमा जाजरकोटको बारेकोट गाउँपालिका–१ रामिडाँडामा केन्द्रबिन्दु भएर ६ दशमलव ४ रेक्टर स्केलको भूकम्प भएको थियो । हालसम्म जाजरकोट र रुकुम पश्चिममा जम्मा १ सय ५७ जनाको ज्यान गएको छ भने घाइतेको संख्या २ सय नाघेको छ ।

प्रधानमन्त्री मोदीद्वारा दुःख व्यक्त

काठमाडौँ, १८ कात्तिक : भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले जाजरकोट भूकम्पबाट नेपालमा भएको जनधनको क्षतिबाट आफू मर्माहत भएको बताउँदै नेपाल सरकार र नेपाली जनताप्रति ऐक्यबद्धता जाहेर गर्नुभएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सम्बोधन गर्दै सामाजिक सञ्जाल एक्समा प्रधानमन्त्री मोदीले नेपाल सरकारलाई हरसम्भव सहयोग गर्न भारत सरकार तत्पर रहेको बताउनुभएको छ ।

भूकम्पमा परी ज्यान गुमाएका परिवारजनप्रति समवेदना व्यक्त गर्दै प्रधानमन्त्री मोदीले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।

कर्णाली प्रदेश सभामुख र उपसभामुख सवार गाडी दुर्घटना

गलकोट (बागलुङ) १८ कात्तिक : कर्णाली प्रदेशका सभामुख र उपसभामुख सवार गाडी बागलुङमा दुर्घटनामा परेको छ ।

उक्त गाडीलाई मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक गम्भीर घाइते भएका छन् भने सभामुख सवार गाडीमा क्षति पुगेको छ । बागलुङको ढोरपाटन नगरपालिका–२ मल्कटिबाङस्थित मध्यपहाडी लोकमार्गमा बागलुङबाट रुकुमतर्फ जाँदै गरेको सभामुख र उपसभामुख सवार गाडीमा बुर्तिवाङबाट बागलुङतर्फ आउँदै गरेको मोटरसाईकल ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिनुभयो ।

रुकुमपूर्व हुँदै कर्णालीतर्फ जाँदै गरेको सभामुख नन्दा गुरूङ र उपसभामुख यशोदा न्यौपाने सवार कर्णाली प्रदेश २–००–१ झ ००९३ नम्बरको स्कर्पियो विपरीत दिशाबाट आउँदै गरेको ग ११ प ८१५७ नम्बरको मोटरसाइकलसँग एकआपसमा ठोक्किएर दुर्घटना भएको हो ।

मोटरसाइकलमा तीनजना सवार थिए । मोटरसाइकल अनियन्त्रित भएर गाडीमा ठोक्किएको थियो । मोटरसाइकल चालक बागलुङको निसीखोला गाउँपालिका–२ तल्लो ब्याङ्ग्रीका १८ वर्षीय विमल खत्रीलाई थप उपचारका लागि पोखरा पठाइएको सूचना अधिकारी केसीको भनाइ छ ।

बिदामा रहेका कर्मचारीलाई यथाशीघ्र कार्यालयमा हाजिर हुन मन्त्रालयको निर्देशन

काठमाडौँ, १८ कात्तिक : सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भूकम्प प्रभावित जिल्लाका स्थानीय निकायमा कार्यरत प्रमुख प्रशासकीय अधिकृत तथा अन्य कर्मचारीलाई यथाशीघ्र कार्यालयमा हाजिर हुन निर्देशन गरेको छ ।

मन्त्रालयले सूचना जारी गर्दै बिदामा रहेका सम्बन्धित स्थानीय निकायका प्रमुख प्रशासकीय अधिकृत तथा अन्य कर्मचारीलाई यथाशीघ्र आफ्नो कार्यालयमा हाजिर भई कामकाजमा खटिनु हुन र तत्काल बिदामा नरहन हुन निर्देशन गरेको हो ।

मन्त्रालयले भूकम्पबाट मृत्यु भएका नागरिकको खोजी एवं घाइतेको राहत तथा उद्धार, स्वास्थ्य उपचारसहित अन्य सबैपक्षको व्यवस्थापन प्रत्यक्ष एवं अप्रत्यक्ष सघाउ पु¥याउन अग्रसरता देखाई कार्य प्रवाह गर्न गराउन हुन प्रभावित जिल्लामा सबै स्थानीय निकाय तथा स्थानीय निकायका पदाधिकारी तथा कर्मचारीलाई अनुरोधसमेत गरेको छ ।

शुक्रबार मध्यराति जाजरकोटको बारेकोट गाउँपालिका–१ रामीडाँडा केन्द्रबिन्दु बनाई आएको ६ दशमलव चार रेक्टर स्केलको भूकम्पबाट जाजरकोट, रुकुमपश्चिम र रुकुमपूर्व र सल्यानलगायतका जिल्लामा मानवीय र भौतिक क्षति भएको छ ।

लुम्बिनीले भूकम्प प्रभावितको कोषमा डेढ करोड सहयोग गर्ने

तुलसीपुर (दाङ), १८ कात्तिक : लुम्बिनी प्रदेश सरकारले भूकम्प प्रभावित क्षेत्रका लागि डेढ करोड सहयोग गर्ने भएको छ । आज तुलसीपुरमा बसेको प्रदेश सरकारको बैठकले डेढ करोड सहयोग गर्ने निर्णय गरेको प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले जानकारी दिनुभयो ।

साथै प्रदेश सरकारले गृहमन्त्री सन्तोष पाण्डेको नेतृत्वमा प्रभावित जिल्लामा आवश्यक स्वास्थ्यकर्मी तथा स्वास्थ्य सामग्री पठाउने निर्णयसमेत गरेको छ ।

प्रदेशले यसअघि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा पदमराज अधिकारीको नेतृत्वमा स्वास्थ्यकर्मी तथा स्वास्थ्य सामग्री पठाइसकेको छ । जाजरकोट र रुकुम पश्चिममा भूकम्पबाट मृत्यु भएका परिवारप्रति श्रद्धाञ्जली तथा घाइतेको शीघ्र स्वास्थ्य लाभको कामनासमेत गरिएको छ ।

राष्ट्रियसभा अध्यक्षको एक महिनाको तलब भूकम्प पीडितलाई

काठमाडौँ, १८ कात्तिक ः राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले एक महिनाको आफ्नो तलब भूकम्प पीडित प्रदान गर्ने घोषणा गर्नुभएको छ ।

राहतकोषमा जम्मा गर्नुहुने भएको छ । जाजरकोट जिल्लाको बारेकोट गाउँपालिका वडा नं १ रामिडाँडालाई केन्द्रबिन्दु बनाएर शुक्रबार राती भएको भूकम्पबाट पीडित भएकाको सहायताका लागि सरकारले स्थापना गर्ने राहत कोषमा आफ्नो एक महिनाको तलब प्रदान गर्ने घोषणा गर्नुभएको अध्यक्षका प्रेस सल्लाहकार दुर्गाप्रसाद शर्माले राससलाई जानकारी दिनुभयो ।

अर्थतन्त्र सकारात्मक बाटोमा छ : अर्थमन्त्री डा महत

काठमाडौँ, १८ कात्तिक : अर्थमन्त्री डा प्रकाशशरण महतले मुलुकको अर्थतन्त्र सकारात्मक बाटोमा अघि बढिरहेको बताउनुभएको छ । नेपाल आर्थिक पत्रकार सङ्घ (नाफिज) को १५औँ वार्षिकोत्सव समारोहमा उहाँले सकारात्मकतर्फ उन्मुख अर्थतन्त्रलाई थप चलायमान बनाउन सबै सरोकारवाला संयमित भएर लाग्नुपर्ने खाँचो औँल्याउनुभयो ।

“देशको अर्थतन्त्र विस्तारै सकारात्मकतर्फ उन्मुख छ, अब आमजनमानसमा आत्मविश्वास र सकारात्मका सोचको खाँचो छ”, अर्थमन्त्री डा महतले भन्नुभयो, “सबैले नकारात्मक कुरा गरेर लगानीकर्ता निरुत्साहित र उपभोक्तामा द्विविधा सिर्जना हुन दिनु हुँदैन, त्यसैले अर्थतन्त्रलाई चलायमान बनाउन अहिलेको अवस्थामा आत्मविश्वास बढाउनुपर्ने अपरिहार्यता छ ।”

उहाँले विभिन्न चुनौतीबीच लयमा रहेको अर्थतन्त्रलाई चलायमान बनाएर दिगो हिसाबले आर्थिक वृद्धि गर्दै त्यसलाई आमनागरिकको पहुँचमा पु¥याइनुपर्ने खाँचो औँल्याउनुभयो । उहाँले भन्नुभयो, “विश्वव्यापीरुपमा सिर्जित विभिन्न सङ्कट र मन्दीले समग्र अर्थतन्त्रमा नकारात्मक असर परेकाले अर्थतन्त्रमा देखिएको चुनौतीको समाधान गर्न समय लाग्छ । नेपालका सन्दर्भमा बाह्य सूचाङ्क राम्रो छ, राजस्व पनि अघिल्लो वर्षको तुलनामा बढेको, घरजग्गा कारोबार पनि बढेको र विप्रेषण पनि बढिरेहको तथा विदेशी पर्यटक आगमन पनि ऐतिहासिकरुपले बढेकाले यसबाट आर्थिक गतिविधि चलायमान गर्न मद्दत गर्ने विश्वास छ ।”

अर्थमन्त्री डा महतले विश्व बैंक, एशियाली बैंकलगायत दातृ निकायलाई नेपालको आर्थिक विकासमा सहभागी हुन पहलकदमी गरिएको र आगामी दिनमा थप लगानी भित्रनेमा विश्वास व्यक्त गर्नुभयो । उहाँले सहज ढङ्गबाट लगानी प्रवद्र्धन गरी अर्थतन्त्रलाई चलायमान बनाउने सरकारको नीति रहेको स्पष्ट पार्नुभयो ।

नेपालमा छिट्टै लगानी सम्मेलन गरेर विदेशी लगानी भित्र्याउने र स्वदेशी लगानीलाई पनि प्रोत्साहन गर्ने सरकारको योजना रहेको जानकारी दिनुभयो ।

आधिकारिकता निश्चित गरेर मात्रै सहयोग गर्न अनुरोध

काठमाडौँ, १८ कात्तिक : नेपाल प्रहरीले भूकम्प प्रभावितको नाममा अवाञ्छित गतिविधि र ठगी हुनसक्ने भएकाले निश्चित गरेर मात्रै सहयोग गर्न आज आम नागरिकमा अनुरोध गरेको छ । भूकम्प पीडितहरूलाई इन्टरनेट वा अन्य माध्यमबाट आर्थिक वा अन्य सहयोग गर्दा सहयोग माग्ने व्यक्ति वा सङ्घसंस्था आधिकारिक हो वा होइन निश्चित गरेर मात्र सहयोग गर्न अनुरोध गरिएको प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले बताउनुभयो ।

प्रवक्ता कडायतका अनुसार विगतमा यसरी सहयोगका नाममा ठगिएका र वास्तविक प्रभावितहरूले राहत नपाएका जानकारी आएको भन्दै त्यसतर्फ सचेत हुन भनिएको हो । प्रहरीले आज सार्वजनिक सूचना नै जारी गरेर सबैमा उक्त अनुरोध गरेको हो । विभिन्न सरकारी निकाय तथा सङ्घसंस्थाले भूकम्प प्रभावित क्षेत्रमा सहयोगको घोषणा गरेका छन् । जाजरकोट केन्द्रविन्दु भएर आज गएको ६ दशमलव ४ रेक्टर स्केलको भूकम्पमा परी अहिलेसम्म एक सय ५७ जनाको मृत्यु भइसकेको छ । झण्डै दुई सय जना घाइते भएका छन् । खोज र उद्धार कार्य अहिले पनि जारी रहेको छ ।

सयपत्री फूल चिस्यान केन्द्रमा भण्डारण

तनहुँ, १८ कात्तिक : जिल्लाको आँबुखैरेनी गाउँपालिका–१ स्थित मिलीजुली कृषि उत्पादक सहकारी संस्था लिमिटेडको चिस्यान केन्द्रमा सयपत्री फूल भण्डारण गर्न थालिएको छ । लामो समयदेखि बिग्रिएर प्रयोगविहीन बनेको सहकारी संस्थाको चिस्यान केन्द्र गाउँपालिकाले मर्मतसम्भार गरी पुन: सञ्चालनमा ल्याइएको हो ।

आँबुखैरेनी–१ स्थित याञ्चोक र आँधीमूल आमा समूह तथा मित्रता मावि परिसमा गरी करिब २६ रोपनी क्षेत्रफमा व्यावसायिक फूल खेती गरिएको छ । पालिकाले केन्द्र मर्मत गरी सयपत्री फूल भण्डारणका लागि प्रयोगमा ल्याइएको गाउँपालिकाका कृषि शाखाप्रमुख सन्तोष केसीले जानकारी दिनुभयो । यस वर्ष मौसम उपयुक्त भएकाले छिट्टै फूलको वृद्धि विकास भई तिहार अगावै फूल फक्रिन थाल्ने उहाँले बताउनुभयो । फूल फक्रिन थालेपछि टिपेर माला बनाइने उहाँको भनाइ थियो ।

गोरखा, दमौली, काठमाडौँलगायत स्थानबाट तिहारका लागि आठ हजारभन्दा बढी मालाको माग भइसकेको केसीले बताउनुभयो । “याममा गुणस्तर हेरी प्रतिमाला रू ४० देखि ७० सम्म बिक्री गर्ने योजना रहेको छ”, उहाँले भन्नुभयो, “अन्य समयमा प्रतिमाला रू ७० मूल्य कायम गरिएको छ । खुद्रा भने रू एक सयदेखि एक सय २० सम्म बिक्री गर्ने योजना छ ।”

पहिलो वर्षको अनुभव रहेकाले प्राविधिक व्यवस्थापन गरिरहेका केसीले बताउनुभयो । उहाँका अनुसार पूर्ण रुपमा फक्रिएका फूल मात्रै टिपेर माला बनाएर चिस्यान केन्द्रमा राख्न थालिएको छ । करिब पाँच हजार माला चिस्यान केन्द्रमा राख्न सकिने क्षमताको रहेको गाउँपालिका कार्यालयले जनाएको छ ।

महिलालाई फूलखेतीमा आकर्षित गराउँदै आयआर्जनसँग जोड्न एक सय प्रतिशत अनुदानमा बिरुवा वितरणदेखि प्राविधिक सहयोग गरिएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिनुभयो । उहाँका अनुसार अध्यक्षसँग कृषि विकास कार्यक्रमअन्तर्गत महिलालाई फूलखेतीमा आकर्षण गर्न सयपत्री प्रवद्र्धन कार्यक्रमलाई अघि बढाइएको हो ।

अन्य ठाउँबाट ल्याइने फूल तथा मालाको तुलनामा सुपथ मूल्यमा यहाँ उत्पादित फूल बिक्री गर्ने लक्ष्य राखिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्माले जानकारी दिनुभयो ।

अर्थतन्त्रका सबै सूचक सकारात्मक – गभर्नर

काठमाडौँ, १८ कात्तिक : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्रका सबै सूचक सकारात्मक रहेको बताउनुभयो । उहाँले विदेशी मुद्रा सञ्चिति राम्रो रहेको तथा अर्थतन्त्रका अन्य क्षेत्रहरुमा सकारात्मक रहेकाले अहिले आत्तिहाल्नुपर्ने अवस्था नरहेको बताउनुभयो ।

गभर्नर अधिकारीले सरकार र निजी क्षेत्रको साझेदारीतामा ठूला परियोजना अघि बढाउन जरुरी भएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “फलाम खानी उत्खनन्, ठूला सडक निर्माणलगायत उद्योग परियोजना अघि बढाउन जरुरी छ, जसले रोजगारी सिर्जना हुने, पैसा परिचालन हुने र समग्र अर्थतन्त्रलाई नै चलाउमान बनाउन मद्दत पुग्छ ।”

उहाँले राजस्व पनि सुधारको दिशामा रहेको, आन्तरिक ऋण उठिरहेको, बैंक तथा वित्तीय संस्थामा निक्षेत्र पर्याप्तमात्रामा रहेको तथा पर्यटक पनि उल्लेख्य सङ्ख्यामा वृद्धि भएकाले आर्थिक वृद्धिमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

अर्थतन्त्रलाई थप चलायमान बनाइनुपर्छ– निजी क्षेत्र

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले सकारात्मक दिशामा रहेको मुलुकको अर्थतन्त्रलाई थप चलायमान बनाउन सरकार र निजी क्षेत्रले समन्वय र सहकार्य फराकिलो बनाउन जरुरी भएको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, “अर्थतन्त्र सहज अवस्थामा छ, यसको प्रभावकारी सुधारका लागि नयाँ सोचका साथ अघि बढ्न जरुरी छ । विदेशी मुद्रा सञ्चिति राम्रो रहेको, विदेशी पर्यटक बढेको अवस्थाले अर्थतन्त्रलाई चलायमान बनाउन मद्दत पुग्नेछ ।”

नेपाल उद्योग परिसङ्घका अध्यक्ष राजेशकुमार अग्रवालले मुलुकको अर्थतन्त्रललाई सुधारको दिशामा अघि बढाउन नीतिगत र संरचनागत सुधार अपरिहार्य भएको उल्लेख गर्नुभयो । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले अर्थतन्त्रलाई पूर्ण चलायमान बनाउन सबै सरोकारवालाबीच बहज र पैरबी आवश्यक भएको बताउनुभयो । नाफिजका अध्यक्ष मोदनाथ ढकालले आर्थिक पत्रकारिता र अर्थतन्त्रको श्रीवृद्धिमा संस्थाले भूमिका खेल्दै आएको उल्लेख गर्नुभयो ।

तीन पत्रकार पुरस्कृत
नाफिजको वार्षिकोत्सवका अवसरमा आर्थिक पत्रकारितामा योगदान गर्ने तीन पत्रकारलाई नगदसहित पुरस्कृत गरिएको छ । नगद रु एक लाखसहित शारदा–ढुन्डिराज नाफिज आर्थिक पत्रकारिता पुरस्कार रातोपाटी डटकमका प्रयास श्रेष्ठलाई प्रदान गरियो । त्यस्तै जनही रु ५० हजार राशिको बैंकिङ पत्रकारिता पुरस्कारबाट पत्रकारद्वय क्रमशः आर्थिक मिडिया सञ्चालक सङ्घ (इमान) का अध्यक्ष रोयल आचार्य र विकास न्यूज डटकमका पत्रकार सन्तोष रोकायालाई प्रदान गरिएको छ ।

कोशी प्रदेशका मुख्यमन्त्री सर्वदलीय सरकारको पक्षमा

विराटनगर, १८ कत्तिक : कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आफू सर्वदलीय सरकार गठनको पक्षमा रहेको बताउनुभएको छ ।

आज आफ्नै निवासमा पत्रकार सम्मेलन गरेर उहाँले वर्तमान सरकारलाई सर्वदलीय स्वरुप दिन नै आफूले नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)का प्रदेशसभा सदस्यलाई मन्त्रिपरिषद्मा सामेल गराएको स्पष्ट गर्नुभयो । साथै उहाँले सरकारले चाँडै पूर्णता पाउने बताउनुभयो ।

कोशी प्रदेशको भौतिक विकासका निम्ति आफू लागिपरेको बताउँदै मुख्यमन्त्री कार्कीले सुशासन कायम गर्नु आफ्नो पहिलो प्राथमिकता भएको दाबी गर्नुभयो । उहाँले कृषिलाई निर्यातमुखी बनाउन ठोस योजनाका साथ अघि बढ्ने दृढता व्यक्त गर्नुभयो ।

कोशी प्रदेश सरकार जाजरकोट भूकम्पबाट पीडित भएकाहरूका साथमा रहेको बताउँदै मुख्यमन्त्री कार्कीले सहयोगस्वरुप तत्काल एक हजार थान कम्बल, एक हजार थान त्रिपाल र एक हजार वटा बिछ्यौना प्रदान गर्ने जानकारी दिनुभयो ।

मधेसका सीमा स्तम्भको पुनः निर्माण, मर्मत र पुनः स्थापना गर्न सुरु

सर्लाही, १८ कात्तिक : नेपाल–भारत सीमा क्षेत्रमा रहेका सीमा स्तम्भको पुनः निर्माण, मर्मत एवं पुनः स्थापना गर्न सुरु गरिएको छ ।

सशस्त्र प्रहरीले मधेस प्रदेशका आठै जिल्लास्थित नेपाल–भारत सीमा क्षेत्रका सीमास्तम्भको पुनःनिर्माण, मर्मत र पुनःस्थापना गर्न सुरु गरिएको सशस्त्र प्रहरी बल नेपाल नं २ छिन्नमस्ता वाहिनी मुख्यालय बर्दिबासका प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक दीपेन्द्र शाहले जानकारी दिनुभयो ।

उहाँका अनुसार मधेस प्रदेशको पूर्वमा सप्तरीदेखि पश्चिममा पर्सासम्मको करिब चार सय किलोमिटर लम्बाइमा रहेका एक हजार ७४ पिल्लरको पुनःनिर्माण, मर्मत र पुनःस्थापना गर्न सुरु गरिएको हो । नेपाल–भारत सीमा क्षेत्रमा रहेका पिल्लरमा नेपाल पक्षले बिजोर नम्बरका पिल्लरको आवश्यकतानुसार पुनःनिर्माण, मर्मत र पुनःस्थापनाको काम गर्न सुरु गरेको सशस्त्र प्रहरीले जनाएको छ ।

उहाँका अनुसार विसं २०७७ साउन १९ गते नेपाल सरकारको मन्त्रिपरिषद् बैठकले गरेको निर्णयअनुसार सीमा क्षेत्रमा रहेका स्तम्भको निर्माण, मर्मत सम्भार र पुनःस्थापनासम्बन्धी मापदण्ड २०८० बमोजिम बिजोर नम्बरका सीमा स्तम्भको पुनःनिर्माण, मर्मत र पुनःस्थापनाको काम सुरु गरिएको छ ।

यस कार्यले सीमाको संरक्षण हुनाका साथै सीमा क्षेत्रमा हुने विवाद, सुरक्षा चुनौती र नेपाल–भारत द्विपक्षीय हितका विषयमा पनि सूक्ष्मरुपमा अध्ययन गर्न सघाउ पुग्ने सशस्त्र प्रहरी नायब महानिरीक्षक शाहले बताउनुभयो । उहाँले भन्नुभयो, “यस कार्यमा स्थानीय जनप्रतिनिधिको महत्वपूर्ण सहयोग रहने छ भन्ने विश्वास लिएका छौँ ।”

कांग्रेस कार्यसम्पादन समितिको बैठक

काठमाडौँ, १८ कात्तिक : नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि कात्तिक १९ गते बस्ने भएको छ ।

कार्यसम्पादन समितिको बैठक आइतबार बिहान १० बजे पार्टी सभापति शेरबहादुर देउवाको निवास, धुम्बाराहीमा बस्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलले राससलाई जानकारी दिनुभयो । बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यलाई उपस्थित हुन अनुरोध गरिएको छ ।

जाजरकोट भूकम्प अपडेट : आठबीसकोटमा उद्धार कार्य सकियो, ४२ मृत्यु, सय घाइते

त्रिवेणी (रुकुम पश्चिम) १८ कात्तिक : रुकुम पश्चिमको आठबीसकोट नगरपालिकामा भूकम्पले पुर्‍याएको पहिलो चरणको उद्धार कार्य सकिएको छ ।

गए रातिदेखि नै सुरु गरिएको पहिलो चरणको उद्धार कार्य आज सकिएको हो । भूकम्पमा परी नगरपालिकाका ४२ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक धर्मेन्द्र खड्काले जानकारी दिनुभयो ।

प्रहरी निरीक्षक खड्काका अनुसार ४२ जनाको शव घरपरिवारले बुझिसकेका छन् । घाइते भएका एक सयजनामध्ये जिल्ला अस्पताल सल्ले, नगर अस्पताल राडी र गम्भीर घाइते भएका तीन जनाको प्रादेशिक अस्पताल सुर्खेतमा उपचार चलिरहेको प्रहरी निरीक्षक खड्काले जानकारी दिनुभयो ।

नगरपालिकाको प्रभावित क्षेत्र वडा नम्बर ११, १२, १३ र १४ मा ठूलो मानवीय क्षतिसँगै भौतिक संरचना पनि क्षति पुर्‍याएको छ । मानवीय क्षति भएको ठाउँको खोजी कार्य सकिएको र थप आवश्यक परे नगर प्रहरी जनप्रतिनिधि नेपाल प्रहरी लगाए कर्मचारीको समूह तयारी अवस्था रहेको निमित्त प्रमुख प्रशासकीय अधिकृत मनिराज शाहले जानकारी दिनुभयो ।

सानीभेरीमा गाउँपालिका ५० घाइते हुँदा १० जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार बाफीकोट गाउँपालिका–१ र मुिसकोट नगरपालिकामा दुई घाइते भएका छन् ।

भूकम्प प्रभावित क्षेत्रमा पाँच दिनका लागि नेपाल टेलिकमको सेवा निःशुल्क

काठमाडौँ, १८ कात्तिक : नेपाल टेलिकमले भूकम्प प्रभावित क्षेत्र जाजरकोट, रुकुमपश्चिम र रुकुमपूर्वमा पाँच दिनका लागि सेवा निःशुल्क गर्ने भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माको अध्यक्षतामा आज मन्त्रालयमा बसेको बैठकले भूकम्प प्रभावित ती क्षेत्रमा पाँच दिनका लागि फोन तथा म्यासेज निःशुल्क गर्ने निर्णय गरेको सञ्चार मन्त्रालयका सञ्चार विज्ञ नरेन्द्र केसीले जानकारी दिनुभयो ।

हाल भूकम्प प्रभावित रुकुमपूर्व, रुकुमपश्चिम र जाजरकोट क्षेत्रमा नेपाल टेलिकमका सम्पूर्ण सेवा सञ्चालन रहेको टेलिकमले जनाएको छ । कम्पनीले यस विषम परिस्थितिमा नेपाल टेलिकम आफ्नो कर्तव्य बोध गर्दै सबै प्रकारका दूरसञ्चार सेवालाई नियमितरुपमा सञ्चालन राख्ने प्रतिबद्धतासमेत व्यक्त गरेको छ ।

सूचना आदानप्रदानलाई निरन्तरता दिन उक्त क्षेत्रमा रहनुभएका कम्पनीका सम्पूर्ण मोबाइल ग्राहकलाई पाँच दिनको अवधिका लागि निःशुल्क भ्वाइस तथा एसएमएस सेवा उपलब्ध गराइको कम्पनीले उल्लेख गरेको छ । यसका अतिरिक्त उक्त क्षेत्रमा पाँच दिनको अवधिका लागि निःशुल्क भ्वाइस तथा एसएमएस सेवासहितको निःशुल्क सिम उपलब्ध गराइने टेलिकमका प्रवक्ता सोभन अधिकारीले जानकारी दिनुभयो ।

उक्त सिम कम्पनीको सुर्खेत, रुकुमपूर्व, रुकुमपश्चिम र जाजरकोट कार्यालयबाट उपलब्ध हुने उहाँले बताउनुभयो । उद्धार क्षेत्रमा सूचना आदानप्रदान गर्न आवश्यकअनुसार निःशुल्क नमस्ते वाइफाइ सेवा उपलब्ध गराइनेछ ।