`

मानव अधिकार आयोगको अपिल

काठमाडौँ, १८ कात्तिक : राष्ट्रिय मानव अधिकार आयोगले जाजरकोट भूकम्पमा परी घाइते भएकाको उद्धार, निःशुल्क तथा प्रभावकारी उपचार गर्न सबै पक्षलाई अपिल गरेको छ । आयोगले भूकम्प प्रभावितलाई राहत एवं खोजीमा जुट्न सरकार, राजनीतिक दललगायत सम्बद्ध सबै पक्षलाई अपिल गरेको हो ।

आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले आज जारी गर्नुभएको प्रेस विज्ञप्तिमा भनिएको छ, “भूकम्पमा परी घाइते भएकाको उद्धार, निःशुल्क तथा प्रभावकारी उपचार गर्न, राहत एवं खोजीमा जुध्न आयोग नेपाल सरकार, राजनीतिक दललगायत सम्बद्ध सबै पक्षलाई आयोग आग्रह गर्दछ ।”

आयोगले गएरातिको भूकम्पका कारण जाजरकोट र रुकुमपश्चिम जिल्लामा भएको मानवीय तथा भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको छ । साथै, भूकम्पमा परी ज्यान गुमाएका व्यक्तिप्रति श्रद्धाञ्जली व्यक्त गर्दै आयोगले शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गरेको छ भने घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । आयोगले भूकम्प प्रभावित जिल्लामा आयोगले अनुगमनसमेत सुरू गरिसकेको छ ।

आयोगको कर्णाली प्रदेश कार्यालयको टोली भूकम्प प्रभावितको मानव अधिकार अवस्थाबारे अनुगमन गर्न आजै भूकम्प प्रभावितस्थलतर्फ प्रस्थान गरिसकेको छ । साथै आयोगले घटना सम्बन्धमा विभिन्न माध्यमबाट अनुगमन गरिरहेको जनाएको छ ।

क्यानले भूकम्पपीडितलाई आर्थिक सहयोग गर्ने

काठमाडौँ, १८ कात्तिक : नेपाल क्रिकेट सङ्घ (क्यान)ले जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितलाई आर्थिक सहयोग गर्ने भएको छ ।

क्यानले आइसीसी विश्वकप टी–२० को एसिया छनोटअन्तर्गत आइतबार हुने फाइनल खेलको टिकट बिक्रीबाट उठेको रकमको ५० प्रतिशत भूकम्पपीडितको सहयोगार्थ प्रदान गर्ने भएको छ । क्यानले आज विज्ञप्ती जारी गर्दै आइतबार नेपाल र ओमानबीच त्रिभुवन विश्वविद्यालयको खेल मैदान कीर्तिपुरमा हुने फाइलन खेलको टिकट बिक्रीबाट उठेको रकमको आधा रकम भूकम्पपिडितलाई सहयोग गर्ने निर्णय गरेको हो ।

क्यानले भूकम्पबाट ज्यान गुमाउनेप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । गए राति ११ः४७ बजे जाजरकोटको बारेकोट गाउँपालिका–१, रामीडाँडा केन्द्र विन्दु भइ ६ दशमलव ४ रेक्टरस्केलको भुकम्प गएको थियो ।

इजरायलमा मारिएका थप एक विद्यार्थीको शव नेपाल आइपुग्यो

काठमाडौँ, १८ कात्तिकः दक्षिणी इजरायलमा हमास समूहको आक्रमणमा परी मृत्यु भएका १० जना नेपाली विद्यार्थीमध्ये थप एकजना नेपाली विद्यार्थीको शव आज केही समयअघि नेपाल आइपुगेको छ ।

फ्लाइ दुवईको विमानमार्फत आज दिउँसो २ बजे सल्यान सारदा–३ का प्रवेश भण्डारीको शव नेपाल आइपुगेको परराष्ट्र मन्त्रालयका सहसचिव शरदराज आरणले राससलाई जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “आज रातिसम्ममा डोटी लामिखाल–८ का पदम थापाको शव आइपुग्नेछ ।”

दक्षिणी इजरायलमा गत असोज २० गते अर्थात् ७ अक्टोबरमा हमास समूहको आक्रमणमा परी १० नेपाली विद्यार्थीको मृत्यु भएको थियो । हमास समूहको आक्रमणमा परी मृत्यु भएका १० जना विद्यार्थीमध्ये अहिलेसम्म नौजनाको शव नेपाल आइपुगेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

हालसम्म सल्यान सारदा–३ का प्रवेश भण्डारी, बझाङ जयपृथ्वी–६ का गणेशकुमार नेपाली, दार्चुला मालिकार्जन–४ का लोकेन्द्रसिंह धामी, दार्चुला लेकम–५ का दीपेशराज विष्ट, धनुषा सापही–६ का आनन्द शाह, कैलाली घोडाघोडी–४ का नारायणप्रसाद न्यौपाने, सुनसरी मधुवन–१ का राजेशकुमार स्वर्णकार, डोटी पचनाली–३ का राजन फुलारा, तथा कैलाली बौनियाँ–३ का आशीष चौधरीको शव नेपाल ल्याइएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

सुदूरपश्चिम विश्वविद्यालयको कृषि क्षेत्रको ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत उनीहरु इजरायल गएका थिए । सोही आक्रमणमा परी कञ्चनपुर भीमदत्त–३ का विपीन जोशी सम्पर्कविहीन छन् । केही समयअघि परराष्ट्रमन्त्री नारायणप्रकाश साउदसहितको टोलीले इजरायलमा फसेका दुई सय ५४ विद्यार्थीलाई उद्धार गरी नेपाल ल्याएको थियो ।

कांग्रेसले स्थगन गर्‍यो तिहारअघिका पूर्वनिर्धारित कार्यक्रम

काठमाडौँ, १८ कात्तिक : नेपाली कांग्रेसले जाजरकोट र रूकुमपश्चिमलगायत क्षेत्रमा गएराति आएको भूकम्पका कारण पार्टीका सम्पूर्ण ध्यान भूकम्प प्रभावित क्षेत्रमा केन्द्रित गर्न आवश्यक रहेको भन्दै केन्द्र, प्रदेश हुँदै पालिकास्तरसम्म पूर्वनिर्धारित तिहारसम्मका सम्पूर्ण कार्यक्रम स्थगित गर्ने निर्णय गरेको छ ।

कांग्रेसले आज विज्ञप्तिमार्फत उक्त निर्णयलाई आ–आफ्नो तहमा कार्यान्वयन गर्नु÷गराउनका लागि पार्टीका सबै तहमा निर्देशन गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । पार्टीको सार्वजनिक कार्यक्रम स्थगित गरिएको भए पनि महासमिति सदस्य चयन गर्ने आन्तरिक कार्यक्रम भने नरोकिने पार्टी कार्यालयले जनाएको छ ।

भूकम्पका कारण ठूलो सङ्ख्यामा भएको मानवीय तथा भौतिक क्षति र सयौँको सङ्ख्यामा आमनागरिक घाइते भएको घटनाले सम्पूर्ण नेपालीलाई नै शोक विह्वल र स्तब्ध बनाएको छ । कांग्रेसले स्वदेश र विदेशमा रहेका सबैलाई तन, मन र धनका साथ खुला हृदयले मानवीय सेवाको अभियानमा जुट्न सबैमा अपिलसमेत गरिएको छ ।

भूकम्प प्रभावितलाई सहयोग गर्न महासङ्घको अपिल

काठमाडौँ, १८ कात्तिक : नेपाल उद्योग वाणिज्य महासङ्घले भूकम्प प्रभावितका लागि राहत सामग्री उपलब्ध गराउन सम्पूर्ण उद्योगी तथा व्यवसायीलाई आग्रह गरेको छ ।

महासङ्घले प्रभावित जनतालाई आर्थिकलगायत लत्ताकपडा, खाद्यान्न, औषधि, पानीलगायत अत्यावश्यक सामग्री सहयोग गर्न सबै सदस्य सङ्घसंस्था, उद्योग प्रतिष्ठान, उद्यमी व्यवसायीमा अपिल गरेको हो ।

गएराति जाजरकोट र रूकुम पश्चिममा गएको भूकम्पका कारण त्यस क्षेत्रमा भएको ठूलो जनधनको क्षतिप्रति महासङ्घले दुःख व्यक्त गरेको छ । महासङ्घले भूकम्पमा परी ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ भने घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।

महासङ्घले सबै सदस्य उद्योग वाणिज्य सङ्घहरू, उद्यमी व्यवसायी र व्यावसायिक सङ्घसंस्थालाई उद्धार र राहतमा सहयोग गर्न आह्वान गरेको छ । भूकम्प प्रभावित जनताको सहयोगका लागि महासङ्घले आफ्नातर्फबाट पहल गरिसकेको छ भने राहत र उद्धार कार्यलाई तीव्रताका साथ अगाडि बढाउन सरकारसमक्ष अनुरोध गरेको छ । सहयोग गर्न चाहनेहरूका लागि महासङ्घको स्वास्थ्य तथा विपत् व्यवस्थापन समितिका सभापतिको नेतृत्वमा एक समितिसमेत गठन गरिएको छ ।

‘विस्थापितको पुनर्वास र खाद्यान्नको व्यवस्था अहिलेको प्राथमिकता’

काठमाडौँ, १८ कात्तिक (रासस) : भूकम्पको ठूलो झड्का आएकाले सबैले एकसाथ थाहा पायौँ । रातभर गाउँपालिकाभित्र भएको क्षतिको अनुगमन गरी जानकारी लियौँ । बारेकोटमा केन्द्रबिन्दु भए पनि मानवीय क्षति भएको छैन । भौतिक संरचनामा भने ठूलो क्षति भएको छ । झण्डै एक हजार परिवार विस्थापित भएका छन् । उनीहरुको घर पूर्णरुपमा क्षतिग्रस्त भएको छ । बस्नै नहुने अवस्था छ । अन्य एक हजार पाँच सयको हाराहारीमा घर जोखिममा छन् ।

भूकम्प सम्झँदा र घरको अवस्था देख्दा सबै तर्सित छन् । भूकम्पपीडित गाउँभन्दा टाढा जङ्गल, गुफा र चौरमा बसिरहेका छन् । प्रभावित क्षेत्रमा आवश्यकताअनुसार खाद्यान्न वितरण गरिएको छ । सङ्घीय र प्रदेश सरकारसँग एक हजार परिवारको पुनःस्थापनाका लागि आवश्यक प्रबन्ध गरिदिन आग्रह गरिएको छ । विस्थापित परिवारलाई व्यवस्थापन गर्नेतर्फ लागिरहेका छौँ ।

भूकम्पमा परी बारेकोटमा पाँच जना घाइते भएका छन् । दुई जनालाई सामान्य उपचार गरी घर पठाइसकेका छौँ । तीन जनालाई हेलिकप्टरमार्फत प्रादेशिक अस्पताल सुर्खेत पठाएका छौँ । बारेकोट( १ केन्द्रबिन्दु रहेको भूकम्पबाट त्यहाँ सडकलगायत भौतिक संरचनामा क्षति पुगेको छ । घर क्षतिग्रस्त छन् । जमिन भासिएको छ । चिराचिरा परेको छ । भग्नावशेष जस्तो देखिएको छ । गाउँपालिकाको केन्द्रबाट तीन किलोमिटर टाढा रहेको भूकम्पको केन्द्रबिन्दुमा बस्ती, जङ्गल र खोला छ । विस्थापितको पुनर्वास र खाद्यान्नको व्यवस्था गर्नु अहिलेको प्राथमिकता हो । रासससँगको कुराकानीमा आधारित

भूकम्पपीडितलाई सहयोग जुट्दै, एनसेलले ५० लाख सहयोग गर्ने

काठमाडौँ, १८ कात्तिक : जाजरकोट भूकम्पका कारण भएको मानवीय र भौतिक क्षतिपछि त्यस क्षेत्रका लागि सहयोग जुट्न सुरु भएको छ । विभिन्न कम्पनी तथा सङ्घ संस्थाले भूकम्प पीडितलाई सहयोग रकम घोषणा गर्न सुरु गरेका छन् ।

निजी क्षेत्रको ठूलो वायु सेवा कम्पनी बुध्द एयरले भूकम्पपीडितका लागि रु एक करोड आर्थिक सहयोग प्रदान गर्ने निर्णय गरेको छ । “जाजरकोट तथा रुकुम पश्चिममा गएको भूकम्पका कारण थुप्रै नागरिकले ज्यान गुमाएको र थुप्रै परिवार घरबारबिहीन भएका छन् । यस दुःखद् परिस्थितिमा हामी सबै नेपालीले हातेमालो तथा सहयोगका लागि तयार हुनैपर्छ । बुध्द एयर प्रालिको तर्फबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा रु एक करोड सहयोग दिने निर्णय गरेका छौँ”, कम्पनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ । बुध्द एयरले उद्धार तथा राहत सामग्री ढुवानीमा पनि सहयोगका लागि प्रतिबद्धता जनाएको छ ।

निजी क्षेत्रको दूरसञ्चार सेवाप्रदायक कम्पनी एनसेलले पनि भूकम्पपीडितलाई रु ५० लाख सहयोग गर्ने भएको छ । कर्णाली प्रदेशको मुख्यमन्त्री राहतकोषमा सो रकम जम्मा गर्ने निर्णय गरिएको एनसेलका कानुनी तथा नियामक निकाय प्रमुख विशाल उपाध्यायले जानकारी दिनुभयो ।

एनसेलले भूकम्प प्रभावित क्षेत्रमा रु ४० लाख बराबरको ‘भ्वाइस’ र ‘डाटा’ निःशुल्क गर्ने पनि निर्णय गरेको छ । यसअघि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले भूकम्प प्रभावित क्षेत्रमा आवश्यक सहयोग गर्न र सेवा सञ्चालन गर्न निजी क्षेत्रका सेवा प्रदायकहलाई आग्रह गरेको थियो । आजै नेपाल टेलिकमले पनि पाँच दिनका लागि भूकम्प प्रभावित क्षेत्रमा भ्वाइस र एसएमएस निःशुल्क तथा सीम पनि वितरण गर्ने घोषणा गरिसकेको छ ।

गैरआवासीय नेपाल संघ (एनआरएनए)का अध्यक्ष बद्री केसी नेतृत्वको कार्यसमितिले पनि भूकम्पपीडितलाई रु १० लाख उपलब्ध गराउने घोषणा गरेको छ । महासचिव गौरीराज जोशीले आज एक विज्ञप्ति जारी गरी संघको तर्फबाट पहिलो चरणमा सरकारको राहत कोषमा रु १० लाख उपलब्ध गराउने जानकारी दिनुभयो ।

त्यसैगरी आरके शर्मा नेतृत्वको गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले भूकम्पपीडितका लागि रु २१ लाख सहयोग गर्ने भएको छ । अध्यक्ष शर्माले आज विज्ञप्ति जारी गर्दै एनआरएनए अभियन्ताबाट सङ्कलन गरेर उक्त रकम सहयोग गर्ने बताउनुभयो । उहाँले भूकम्प प्रभावित क्षेत्रमा राहत तथा उद्धारका लागि अभियन्ता चिकित्सकीय टोलीसहित खटिएको जानकारी दिनुभयो ।

सरकारले भूकम्पबाट बढी प्रभावित जाजरकोट र रुकुम पश्चिम जिल्लालाई केन्द्रीय राहत व्यवस्थापन कोषबाट तत्काल रु पाँच÷पाँच करोड आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको छ ।

उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा आज बसेको सरोकारवालाको बैठकले राहत वितरणलाई एकद्वार प्रणालीबाट सञ्चालन गर्ने निर्णय गरेको छ । कम्बल, पाल, खाद्यान्न पठाउने काम भइसकेको र अपुग भएको अवस्थामा तुरुन्तै खबर गर्न प्रादेशिक सरकार उहाँको भनाइ छ ।

सुदुरपश्चिम प्रदेश सरकारले पनि भूकम्प प्रभावित क्षेत्रका लागि तत्काल रु एक करोड सहयोग उपलब्ध गराउने भएको छ । प्रदेश सरकारले भूकम्प प्रभावित क्षेत्रका लागि तत्काल कर्णाली प्रदेश सरकारको कोषमा सहयोग गर्ने निर्णय गरेको हो ।

प्रदेश मन्त्रिपरिषद्को आज बसेको आकस्मिक बैठकले भूकम्प प्रभावित क्षेत्रमा स्वास्थ्य सामग्रीसहित २० चिकित्सकको टोली तत्काल पठाउने निर्णयसमेत गरेको बैठकपछि प्रदेश सरकारद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

यसैबीच मानव सेवा आश्रम र आनिछोइङ डोल्मा फाउण्डेसनले भूकम्पबाट परिवारका सम्पूर्ण सदस्य गुमाइ अनाथ भएका बालबालिका, अशक्त वृद्धवृद्धा र एकल महिलालाई तत्काल संरक्षण प्रदान गर्ने जनाएको छ ।

विपद्को सूचना सम्प्रेषणमा थप संवेदनशील बनौँ : मन्त्री शर्मा

काठमाडौँ, १८ कात्तिक : सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले विपद्का समयमा गरिने सूचना सम्प्रेषणको महत्व र संवेदनशीलता बुझ्न सबै सञ्चारकर्मीलाई आग्रह गर्नुभएको छ ।

सञ्चार मन्त्रालयअन्तर्गतको ‘इमरजेन्सी टेलिकम्युनिकेशन क्लस्टर’ (इटिसी) को आज बसेको बैठकमा उहाँले भूकम्पको समाचार सम्प्रेषणमा थप संवेदनशील बन्न आग्रह गर्नुभएको हो ।

यस्तो विपद्का समयमा सरकार मातहतका सञ्चारमाध्यमको विशेष भूमिका र दायित्व रहने भन्दै मन्त्री शर्माले राष्ट्रिय समाचार समिति, गोरखापत्र, रेडियो नेपाल र नेपाल टेलिभिजनलाई निर्देशन दिनुभयो ।

मन्त्री शर्माले भन्नुभयो, “हुनतः सूचनाको महत्व सधैँ छ यहाँहरुले बुझी नै रहनुभएको छ । तर पनि यस्तो विपद्का बेलामा सम्प्रेषण हुने सही समाचारले विपद् न्यूनीकरणलाई सघाउँछ र भ्रमपूर्ण समाचारले पीडितलाई थप पीडा पुग्नुका साथै उद्धारको कामलाई उल्टो प्रभावित पार्छ । त्यसैले यस्तो बेलामा समाचार सम्प्रेषण गर्दा थप संवेदनशील हुनुपर्छ ।”

सत्यतथ्य र सही समाचारको सम्पे्रषणले राहत तथा उद्धारमा खटिएका सुरक्षाकर्मी, उद्धारकर्मी तथा सरकारलाई पनि सहज हुने भन्दै प्रभावित क्षेत्रका पीडित नागरिकलाई सहायता पुग्ने र उद्धारकर्मीलाई सहज हुनेगरी सत्यतथ्य सूचना सम्प्रेषण गर्न आग्रह गर्नुभएको हो ।

यस्तो विपद्का बेला पनि कहीँकतै भ्रमपूर्ण र आधारहीन सूचना सम्प्रेषण हुने गरेका र यसबाट विपद्मा परेकाको सहयोग र उद्धारको सट्टा उल्टै भ्रम सिर्जना भई पीडितमा थप पीडा पुग्ने भएकाले यसतर्फ सजग रहन पनि उहाँले सरकार मातहतका सञ्चारमाध्यमलाई विशेष निर्देशन दिनुभयो ।

त्यसैगरी भूकम्पपछिको ७२ घण्टा सतर्क रहनुपर्ने समय भनिएकाले सोहीबमोजिम आ–आफ्ना सेवालाई निरन्तर राख्दै नागरिकलाई सूचनाका माध्यमबाट सतर्कता अपनाउने वातावरण निर्माण गर्न उहाँले निर्देशन दिनुभयो ।

उहाँले सामाजिक सञ्जालमा नागरिक तर्सिने खालका भ्रमपूर्ण प्रकृतिका सूचना आएमा त्यसलाई निस्तेज पार्नेगरी सही र पीडितको राहत र उद्धारका काममा सहयोग पुग्ने खालका सूचना निर्माण गरी प्रभावकारीरुपमा सम्प्रेषण गर्न निर्देशन दिनुभयो ।

मन्त्री शर्माले जाजरकोट र रुकुमपश्चिममा सञ्चार अवरुद्ध हुन नदिन, सञ्चारमा नेटवर्कको समस्या देखियो भने तत्कालै समाधान गर्नका लागि प्राविधिक टोली खटाउन र त्यहाँ भूकम्पको उद्धारसम्मका लागि सञ्चारको निःशुल्क र चुस्तदुरुस्त बनाउन नेपाल टेलिकमलाई निर्देशन दिनुभयो ।

त्यसैगरी प्रभावित जिल्लामा विद्युत् सेवा अवरुद्ध हुन नदिनका लागि पनि सम्बद्ध निकायसँग आवश्यक समन्वय गर्न पनि उहाँले निर्देशन दिनुभएको थियो । मन्त्री शर्माले तत्कालका लागि उद्धारको काम जारी रहेकाले त्यसमा ध्यान दिन र त्यसपछि राहतका काममा पनि सम्बद्ध सबै निकाय तथा व्यक्ति परिचालन हुने कार्यलाई सहजीकरण गर्न नेपाल सरकारका सबै निकायले आआफ्ना स्थानबाट पहल कदमी दिन पनि आग्रह गर्नुभयो ।

सञ्चार मन्त्रालयअन्तर्गतको ‘इमरजेन्सी टेलिकम्युनिकेशन क्लस्टर’ (इटिसी) को बैठक आज सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा बसेको थियो । सो बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय मातहतका विभाग तथा कार्यालयका प्रमुख तथा प्रतिनिधिको सहभागिता थियो ।

नेपाललाई आवश्यक सहयोग गर्न अमेरिका तत्पर छ : अमेरिकी दूतावास

काठमाडौँ, १८ कात्तिक : यहाँस्थित संयुुक्त राज्य अमेरिकी दूतावासले गएराति जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्पमा परी ज्यान गुमाएकाहरूको खबरप्रति दुःख व्यक्त गरेको छ । यस भूकम्पको क्षतिपछिको पुनर्लाभ हासिल गर्न नेपाललाई आवश्यक सहयोग गर्न अमेरिका तत्पर रहेको दूतावासले जनाएको छ ।

जाजरकोटको बारेकोट गाउँपालिका–१ रामीडाँडा केन्द्रविन्दू भएर शुक्रबार राति ११ः४७ बजे गएको ६ दशमलव ४ म्याग्निच्युडको भूकम्पका कारण ठूलो जनधनको क्षति भएको छ । भूकम्पका कारण हालसम्म एक सय ३८ जनाको ज्यान गइसकेको छ भने ठूलो मात्रामा भौतिक क्षति भएको छ ।

भूकम्प प्रभावितको राहत र उपचारलाई प्रभावकारी तुल्याउने सरकारको प्रतिबद्धता

काठमाडौँ, १८ कात्तिक : सरकारले भूकम्प प्रभावितलाई तत्काल उद्धार, उपचार, राहत र पुनःस्थापनालाई प्रभावकारी तुल्याउने प्रतिबद्धता व्यक्त गरेको छ ।

सरकारका प्रवक्ता रेखा शर्माले आज एक विज्ञप्ति जारी गरी उद्धार, उपचार, राहतका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नै प्रभावितस्थल पुगेर पहलकदमी लिइसक्नुभएको बताउनुभएको छ ।

उद्धार, उपचार, राहत र पुनःस्थापनाका सन्दर्भमा सूचना तथा सञ्चारको क्षेत्रबाट कुनै पनि कमी आउन नदिने सञ्चार तथा सूचना प्रविधिमन्त्री शर्माले प्रतिबद्धता व्यक्त गर्नुभयो । सङ्कटको बेलामा आमसञ्चारका माध्यम तथा सामाजिक सञ्जालबाट सत्य तथ्य सूचना प्रवाह गर्नु सबैको दायित्व रहने स्मरण गराउँदै उहाँले जोखिम मोलेर प्रभावितस्थलबाट रिपोर्टिङ गरिरहेका सम्पूर्ण सञ्चारकर्मीप्रति धन्यवादसहित आभार व्यक्त गर्नुभएको छ ।

जाजरकोटको बारेकोट गाउँपालिका–१ रामीडाँडा केन्द्रविन्दु भएर शुक्रबार राति गएको भूकम्पबाट भएको ठूलो जनधनको क्षतिले मर्माहत बनाएको विज्ञप्तिमा उल्लेख छ । मन्त्री शर्माले दुःखद् घडीमा मृतकप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै शोकाकूल परिवारजनमा गहिरो समवेदना प्रकट गर्नुभएको छ । साथै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ । भूकम्पका कारण केही सञ्चारमाध्यममा समेत क्षति पुग्न गएकामा मन्त्री शर्माले दुःख व्यक्त गर्नुभएको छ ।

मन्त्रालयले दुःखको यो अवस्थामा मन्त्रालयअन्तर्गतका निकायबाट नियमित र सहुलियतरूपमा सेवा प्रवाह गर्न, सही र सत्यतथ्य सूचना प्रवाह गर्न तथा उद्धार, उपचार र राहत कार्यमा समेत सहयोग गर्न आग्रह गरेको छ । यस्तै निजी क्षेत्रका सेवा प्रदायकलाई पनि सामाजिक उत्तरदायित्व वहन गर्दै आफ्नो क्षेत्रबाट आवश्यक सहयोगका लागि अपिल गरेको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणले सेवा प्रदायकसँग छलफल गरी भूकम्पका कारण दूरसञ्चार सेवामा परेको असरको समीक्षा गर्दै हाल सो क्षेत्रमा सेवा अवरुद्ध नभएको र उप्रान्त आउनसक्ने पराकम्पनबाट सुरक्षित गरी सेवा प्रदायकलाई तयारी अवस्थामा रहन निर्देशन दिइसकेको मन्त्री शर्माले जानकारी दिनुभयो ।

त्यसैगरी आकस्मिक टेलिकम्युनिकेसन क्लष्टर (इटिसी) लाई सक्रिय बनाई भूकम्प प्रभावित क्षेत्रको दूरसञ्चार सेवाको अवस्था र सेवाप्रवाहलाई थप सहज बनाउने विषयमा मन्त्रालयमा छलफल गरी आवश्यक निर्णय गरिएको छ ।

प्रभावित क्षेत्रमा रहेका पीडित, उद्धारकर्मी र आम नागरिकलाई सहज सेवा प्रवाहमा सहयोग पुर्याउने उद्देश्यले मन्त्रालयको आग्रहमा सरकारी स्वामित्वको नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले पाँच दिनसम्म टेलिफोन, म्यासेज र डाटा निःशुल्क गर्ने तथा निजी क्षेत्रको सेवा प्रदायक एनसेलले राहत कोषमा रु ५० लाख सहयोग र रु ४० लाखसम्मको कल र डाटा निःशुल्क गर्ने निर्णय गरेकामा धन्यवाद दिइएको छ ।

उद्धारमा परिचालन भएका जहाजलाई निगमको निःशुल्क इन्धन

काठमाडौँ, १८ कात्तिक : नेपाल आयल निगमले जाजरकोट भूकम्प प्रभावित क्षेत्रमा राहत तथा उद्धारका निम्ति परिचालन भएका हवाइजहाज तथा हेलिकप्टरमा प्रयोग भएको इन्धनको रकम आफैँले बेहोर्ने जनाएको छ ।

नेपाल एयरलाइन्स र नेपाली सेनाको हवाइजहाज तथा हेलिकप्टरमा प्रयोग गरिएको इन्धनबापतको रकम आर्थिक वर्ष २०८०/०८१ को संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गतको कोषबाट निगमले बेहोर्ने निर्णय भएको निगमका प्रवक्ता मनोजकुमार ठाकुरले राससलाई जानकारी दिनुभयो ।

निगमले भूकम्पमा परी ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्नका साथै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।

भूकम्प पीडितलाई सरकारसँग मिलेर एमालेले सघाउने

वीरगन्ज (पर्सा), १८ कात्तिक : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले तदारुकताका साथ भूकम्प पीडितलाई राहतको व्यवस्था गर्नुपर्नेमा जोड दिँदै उद्धार तथा खोजमा सरकारलाई सघाउन आफ्नो दल तत्पर रहेको बताउनुभएको छ । नेकपा (एमाले)को मधेस प्रदेश समितिका नवनिर्वाचित पदाधिकारीहरूको शपथ समारोहलाई आज पर्साको वीरगन्जमा सम्बोधन गर्दै अध्यक्ष ओलीले भूकम्पमा परी घाइते भएकाको उद्धार तथा उपचार एवं राहत सामग्री वितरणमा आफ्नो ध्यान केन्द्रित गर्न सरकारसँग आग्रह गर्नुभयो ।

“घाइतेको खोजी र उद्धारका लागि हामी पनि सरकारलाई सहयोग गर्न तयार छौँ”, सामाजिक सङ्घसंस्थालाई पनि तत्काल राहत र उद्धारमा जुट्न आग्रह गर्दै उहाँले भन्नुभयो । पार्टीका सबै तहका नेता तथा कार्यकर्तालाई इमान्दारीका साथ आफ्नो जिम्मेवारी पूरा गर्न आह्वान गर्दै अध्यक्ष ओलीले सबैले दत्तचित्त भएर देश र जनताका निम्ति काम गरेमा आगामी निर्वाचनमा बहुमत प्राप्त गर्न सकिने बताउनुभयो ।

मधेसको विकासका लागि पार्टी प्रतिबद्ध रहेको दोहोर्याउँदै उहाँले मधेसको गरिबी हटाउने योजनामा काम गर्न स्थानीय तहका नेतालाई निर्देशन दिनुभयो । नेकपा (एमाले)का सचिव एवं मधेस प्रदेश प्रमुख योगेश भट्टराई, कोशी प्रदेश प्रमुख रघुवीर महासेठले पार्टी सङ्गठनका विविध पक्षबारे मन्तव्य व्यक्त गर्नुभएको थियो ।

भूकम्प : उद्धारमा जारी, जनप्रतिनिधि र सुरक्षाकर्मी परिचालित

काठमाडौँ, १८ कात्तिक : जाजरकोटलाई केन्द्रविन्दु बनाएर गए राति गएको ६ दशमलव ४ रेक्टरको भूकम्पमा परी घाइते तथा वेपत्ता भएकाको उद्धार र खोजी तीव्र पारिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

सबै सुरक्षा निकायको समन्वयमा स्थानीय जनप्रतिनिधि र नागरिकको समेतको सहयोगमा उद्धार जारी रहेको केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक कुवेर कडायतले बताउनुभयो । उहाँका अनुसार अहिलेसम्म भूकम्पमा परेर एक सय २९ को मृत्यु भइसकेको छ भने एक सय ४० जना घाइते भएको विवरण प्राप्त भएको छ । अहिले प्रभावित क्षेत्रमा विभिन्न ठाउँबाट सुरक्षाकर्मी परिचालन भएको पनि उहाँले बताउनुभयो ।

कडायतका अनुसार रुकुम पश्चिमबाट प्रहरी नायव उपरीक्षकको कमाण्डमा तीन सय २० जनाको प्रहरी टोली परिचालन गरिएको छ । जाजरकोटमा प्रहरी नायव उपरीक्षकको कमाण्डमा चार सय ५० जनाको सुरक्षा फौज परिचालन भएको छ ।

कर्णाली प्रदेश प्रहरी गण सुर्खेतबाट ३६ जना जाजरकोटका लागि र चौरजहारी बेसक्याम्पबाट १० जना रुकुम पश्चिमका लागि पठाइएको छ । यस्तै डिआइजिपी डा गोपेश ठाकुरको नेतृत्वमा ११ जनाको मेडिकल टोलीसमेत खटाइसकिएको प्रहरी प्रधान कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ ।

यस्तै नेपाली सेनाका ११ जनाको उद्धार टोली हेलिकप्टरमार्फत पनि पुगिसकेको कडायतले बताउनुभयो । अहिले भूकम्प प्रभावित क्षेत्रमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले उद्धार कार्यलाई तीव्र बनाएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज विहान प्रभावित क्षेत्रमा उद्धार र मेडिकल टिमसहित पुग्नुभएको छ । उहाँले त्यहाँ पुगेर उद्धार र राहतमा जुट्न आह्वानसमेत गर्नुभएको छ ।

भूकम्पका घाइतेलाई उपचार गर्न भेरी अस्पताल तयारी अवस्थामा

जानकी (बाँके), १८ कात्तिक : जाजरकोट केन्द्रविन्दु बनाएर गए राति गएको भूकम्पमा परी घाइते भएकाको उपचार व्यवस्था मिलाउन भेरी अस्पतालले आवश्यक तयारी गरेको छ ।

बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलका अनुसार भूकम्पमा परी घाइते भएकाको उपचार व्यवस्था मिलाउन भेरी अस्पताललाई प्राविधिक रुपमा पूर्णतयारी गरिएको छ । “अस्पताललाई उपचारका लागि डेडिकेटेड अस्पताल बनाइएको छ । व्यक्तिगत पहलमा उपचारका लागि आउने घाइतेको आफन्तजनको सहजताका लागि पनि ‘फोकल पर्सन’का रुपमा नरेश श्रेष्ठलाई तोकिएको छ”, उहाँले भन्नुभयो ।

घाइतेको उपचारका लागि कोहलपुरमा रहेको मेडिकल कलेजलाई तयारी अवस्थामा राखिएको पनि प्रजिअ पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार अन्य निजी अस्पताललाई पनि तयारी अवस्थामा राखिएको छ ।

बाँकेमा रहेका भेरी अस्पताल, सैनिक अस्पताल र प्रहरी अस्पतालको एक सय पाँच वटा बेडसमेत तयारी अवस्थामा राखिएको उहाँको भनाइ छ ।

प्रजिअ पोखरेलेका अनुसार हेलिकोप्टरबाट ल्याइने बिरामीको लागि राँझा विमानस्थल र नेपाली सेनाको हेलिप्याडमा एम्बुलेन्स तैनाथ गरिएको गरिएको छ । हाल अस्पतालहरुमा रगतको मौज्दात रहेको बताउँदै उहाँले रक्तदाता सुरक्षाकर्मीको पनि व्यवस्था मिलाइएको बताउनुभयो ।

भेरी अस्पताल विकास समितिका अध्यक्ष वीरेन्द्र शाहले अस्पतालको नयाँ भवनको भुइँतलामा भूकम्पबाट घाइते बिरामीलाई उपचार गर्न आवश्यकताअनुसार शय्या तयारी अवस्थामा राखिएको बताउनुभयो ।

गए राति ११ बजेर ४७ मिनेटमा जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर छ दशमलव चार रेक्टर स्केलको भूकम्प गएको खानी तथा भूगर्भ विभाग राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

भूकम्प : तीन घाइतेलाई उपचारका लागि सुर्खेत पठाइयो

त्रिवेणी (रुकुम पश्चिम), १८ कात्तिक : भूकम्पमा परी घाइते भएका आठविसकोट नगरपालिकाका तीन जनालाई उपचारका लागि हेलिकोप्टरमार्फत प्रादेशिक अस्पताल सुर्खेत पठाइएको छ ।

नेपाली सेनाको हेलिकप्टोरमार्फत आज बिहान उपचारका लागि सुर्खेत पठाइएको हो । डाक्टर, स्वास्थ्यकर्मीसहित स्वास्थ्य सामग्री लिएर आठविसकोट नगरपालिका पुगेको हेलिकप्टोरमार्फत तीन जना घाइतेलाई थप उपचारका लागि प्रादेशिक अस्पताल सुर्खेत पठाएको आठविसकोट नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मनिराज शाहले जानकारी दिनुभयो ।

उहाँका अनुसार घाइते ६२ जनाको नगर अस्पताल राडीमै उपचार भइरहेको छ । नगरपालिकाको वडा नं ११, १२, १३ र १४ मा हालसम्म ५० जनाभन्दा धेरैको मृत्यु भइसकेको उहाँको भनाइ छ । सुर्खेतबाट आएको एक जना डाक्टरसहित तीन जनाको स्वास्थ्यकर्मीको समूहले नगर अस्पताल उपचार गरिरहेको शाहले जानकारी दिनुभयो ।

शुक्रबार राति जाजरकोटको केन्द्रविन्दु बनाएर ६ दशमलव ४ रेक्टर स्केलको भूकम्प गएको थियो । भूकम्पका कारण सानीभेरी गाउँपालिका र आठविसकोट नगरपालिकामा ठूलो मानवीय क्षति भएको छ । क्षतिको विवरण सङ¬्कलन भइरहेको र उद्धार गरिरहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक धर्मेन्द्र खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार सानीभेरी गाउँपालिका–२ मा नौ जनाको मृत्यु भएको छ ।

इजरायलमा मारिएका थप तीन विद्यार्थीको शव नेपाल अइपुग्यो

काठमाडौँ, १८ कात्तिक : दक्षिणी इजरायलमा हमास समूहको आक्रमणमा परी मृत्यु भएका १० जना नेपाली विद्यार्थीमध्ये थप तीनजना नेपाली विद्यार्थीको शव नेपाल आइपुगेको छ ।

फ्लाई दुवईको जहाजमार्फत नेपाल आइपुगेका शवमा धनुषा सापही-६ का आनन्द शाह, सुनसरी मधुवन-१ का राजेशकुमार स्वर्णकार र डोटी पचनाली-३ का राजन फुलाराको रहेको परराष्ट्र मन्त्रालयका सहसचिव शरदराज आरणले जानकारी दिनुभयो । उहाँका अनुसार फुलाराको शव शुक्रबार दिउँसो, स्वर्णकारको गए राति र शाहको शव आज बिहान नेपाल आइपुगेको हो ।

दक्षिणी इजरायलमा गत असोज २० गते अर्थात् ७ अक्टोबरमा हमास समूहको आक्रमणमा परी १० नेपाली विद्यार्थीको मृत्यु भएको थियो । हमास समूहको आक्रमणमा परी मृत्यु भएकामध्ये आठ जनाको शव नेपाल आइपुगेको परराष्ट्र मन्त्रालयले जनाएको छ । शाह र स्वर्णकारको शव आजै सम्बन्धित जिल्लामा नेपाली सेनाको हेलिकप्टोरमार्फत पठाइने सहसचिव आरणले बताउनुभयो ।

हालसम्म बझाङ जयपृथ्वी-६ का गणेशकुमार नेपाली, दार्चुला मालिकार्जन-४ का लोकेन्द्रसिंह धामी, दार्चुला लेकम-५ का दीपेशराज विष्ट, धनुषा सापही-६ का आनन्द शाह, कैलाली घोडाघोडी-४ का नारायणप्रसाद न्यौपाने, सुनसरी मधुवन-१ का राजेशकुमार स्वर्णकार, डोटी पचनाली-३ का राजन फुलारा तथा कैलाली बौनियाँ-३ का आशीष चौधरीको शव नेपाल ल्याइएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

सुदूरपश्चिम विश्वविद्यालयको कृषि क्षेत्रको ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत उनीहरु इजरायल गएका थिए । उक्त आक्रमणमा परी मृत्यु हुने अन्य विद्यार्थीमा डोटी लामीखाल-८ का पदम थापा र सल्यान सारदा-३ का प्रवेश भण्डारी छन् ।

सोही आक्रमणमा परी कञ्चनपुर भीमदत्त-३ का विपीन जोशी सम्पर्कबिहीन छन् । केही समयअघि परराष्ट्रमन्त्री नारायणप्रकाश साउदसहितको टोलीले इजरायलमा फसेका दुई सय ५४ विद्यार्थीलाई उद्धार गरी नेपाल ल्याएको थियो ।

जन्मथलोमा तीन करोड लगानीमा बाख्रा फार्म

गलकोट (बागलुङ), १८ कात्तिक : बागलुङ गलकोटका अधिकांश मानिस रोजगारी र अध्ययनको सिलसिलामा जापानमा छन् । त्यसैमध्येका एक हुनुहुन्छ, चन्द्र खत्री । गलकोट नगरपालिका–५ कौलेनीका खत्री जापानमा रहे भए आफ्नै गाउँमा रु तीन करोडभन्दा बढी लगानीमा बाख्रा फार्म सञ्चालन गरिरहनुभएको छ ।

जापानमा रोजगारी सिर्जनाको माध्यम उद्यम भएको आफ्नो २५ वर्षे अनुभव सुनाउँदै खत्रीले जन्मथलोमा रोजगारी सिर्जना गर्ने उद्देश्यले तीन वर्षअघि जामुनबोट एग्रो फार्म सञ्चालनमा ल्याउनुभएको हो ।

“पच्चीस वर्षदेखि जापानमा छु, अहिले वर्षमा तीन महिना नेपाल र नौ महिना जापानमा हुन्छु, आफ्नो जन्मथलोमा केही गर्ने सोच पहिलेदेखि नै आएको थियो, तर केही गर्न सकेको थिएन, तीन वर्षअघि बाख्रापालन गर्ने सोच आयो”, खत्रीले भन्नुभयो, “अहिले सालो गुमानसिंह खड्काको व्यवस्थापनमा थप पाँच जना फार्ममा कार्यरत हुनुहुन्छ, मेरो मुख्य उद्देश्य गाउँमै रोजागरी सृजना गर्नु हा ।” उहाँका अनुसार बाख्राको आधुनिक खोरमा मात्रै रु डेढ करोड लगानी भएको छ भने खोरमा एक हजारभन्दा बढी बाख्रा खट्ने क्षमता छ ।

अहिले छ जनालाई प्रत्यक्ष रोजगारी दिएको बताउँदै खत्रीले फार्म व्यवस्थापनमा मात्रै मासिक रु तीन लाख खर्च भइरहेको बताउनुभयो । हाल फार्ममा दुई सय बोका, पाठा र माउ बाख्रा छन् ।

एक वर्षभित्रै जिल्लाकै ठूलो बाख्रा फार्म सञ्चालन गर्ने सोचअनुसार एक हजार बोका बाख्रा क्षमताको आधुनिक खोर निर्माण गरिएको खत्रीको भनाइ छ । खत्रीको श्रीमतीसहित छोरा बुहारीसमेत जापानमा बस्दै आउनुभएको छ । खत्रीले नमूना र प्रविधियुक्त बाख्रापालन गर्न थालेको बताउँदै बाख्रा अध्ययन केन्द्रका रुपमा फार्मलाई विकास गर्ने गरी अगाडि बढेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “किसानबाट उद्यमी बन्नका लागि आधुनिक खोर, उन्नत जातको घाँस ३० बिघा जग्गामा लगाएको छु, आफ्नै मासु पसल खोल्ने योजना छ, अहिले फार्ममा लगानी थप भइरहेको छ, पाँच वर्ष आम्दानी नगरी फार्म विस्तारमै बिताउछु ।”

कोरोनाकालमा नेपाल फर्कदा गाउँमा आफ्नै केही गर्ने लक्ष्य र बाख्रापालनको सम्भावना देखेपछि लगानी गरेको उहाँको भनाइ छ । फार्ममा ९० प्रतिशत बोयर र १० प्रतिशत स्थानीय जातका बाख्रा छन् ।

“गाउँमा बाँझो जग्गा बढेको थियो, अहिले बाख्रा फार्म सञ्चालन गरेपछि हरियाली बढेको छ, गाउँबाट बसाइँसराइ गर्ने क्रमसमेत रोकिएको छ, बाख्रा फार्म हेर्न आउनेले गाउँ चलायमान भइरहेको छ”, खत्रीले भन्नुभयो ।तीन वर्ष पहिला ३५ वटा बाख्राबाट सुरु गरेको बाख्रापलन व्यवसायलाई अहिले दुई सयमा पु¥याइएको र आगामी वर्ष छ सय बढी बाख्रापालन गर्ने उहाँको उद्देश्य छ ।

राहत र पुनःस्थापनामा जुट्न राष्ट्रियसभाका अध्यक्षको आग्रह

काठमाडौँ, १८ कात्तिक : राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले भूकम्पमा कारण जाजरकोट र पश्चिम रुकुमलगायतका जिल्लामा भएका घाइतेहरुको राहत र उद्धारमा जुट्न आग्रह गर्नुभएको छ ।

अध्यक्ष तिमिल्सिनाले आज जारी गरेको प्रेस विज्ञप्तिमा उक्त स्थानमा राहत र उद्धारका लागि सरकार, सबै राजनीतिक दल, सुरक्षा निकाय र नागरिक समाजलाई आग्रह गरिएको छ । विज्ञप्तिमा भनिएको छ, “प्रकृतिक विपत्तिको यो क्षणमा सिङ्गो राष्ट्र नै एक भएर समयमै घाइतेको उद्धार र पीडितका लागि राहत तथा पुनःस्थापनाका लागि जुट्न आवश्यक छ ।”

कर्णाली प्रदेशको जाजरकोट जिल्लालाई केन्द्रविन्दु बनाएर गए राति गएको भूकम्पका कारण जाजरकोट र पश्चिम रुकुमलगायतका जिल्लामा मानवीय र भौतिक क्षति पुर्‍याएको छ । उहाँले भूकम्पमा परी ज्यान गुमाउनेप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा हार्दिक समेवदना व्यक्त गर्नुभएको छ । साथै घाइतेमा शीघ्र स्वास्थ्यलाभको कामना व्यक्त गर्नुभएको छ ।

प्रदेशको पञ्चवर्षीय योजनामा समावेश गर्न पर्यटन र कृषिमा मनाङवासीको जोड

मनाङ, १८ कात्तिक : हिमालपारिको जिल्ला मनाङ पर्यटकीय सम्भावना भएको गन्तव्य मानिन्छ । अन्नपूर्ण चक्रीय पदमार्ग र नार्पाभूमिस्थित काङ्लापास, मनास्लु हिमालतर्फको लार्केपास पदमार्ग यहाँका चर्चित गन्तव्य हुन् । यीबाहेक यहाँको प्राकृतिक सुन्दरताले पनि पर्यटक मोहित पार्ने गरेका छन् ।

आन्तरिक पर्यटनको बिस्तार भएसँगै यहाँ आउने पर्यटकको सङ्ख्या बढेको पाइन्छ । अन्नपूर्ण क्षेत्र संरक्षण आयोजना इलाका कार्यालय (एक्याप) मनाङका अनुसार विगत छ महिनामा नौ हजार सात सय २८ जना विदेशी पर्र्यटकले मनाङ भ्रमण गरेका छन् ।

विदेशीबाहेक आन्तरिक पर्यटक पनि मनाङ उत्तिकै सङ्ख्यामा आउने गर्दछन् । तर, पूर्वाधार विकास नहुँदा यहाँ आउने पर्यटकले सास्ती भोग्नु परेको छ । यहाँ पर्यटन पूर्वाधार निर्माण र वैकल्पिक पदमार्ग बनाउन व्यवसायीले सरकारसँग माग गरिरहेका छन् । उहाँहरुले सरकारी निकायका कोही मनाङ भ्रमणमा जाँदा यो समस्या सुनाइहाल्नुहुन्छ । शुक्रबार मनाङको सदरमुकाम चामे बजारमा गण्डकी प्रदेश नीति तथा योजना आयोगको टोली मनाङ पुग्दा मनाङवासीको यही गुनासो थियो ।

गण्डकी प्रदेश सरकार दोस्रो पञ्चवर्षीय योजना निर्माणको काममा जुटेको छ । यसका लागि गण्डकी प्रदेशको नीति तथा योजना आयोगले मुस्ताङका सरोकारवालासँग छलफल गरिसकेको छ । सोही विषयमा छलफल गर्न आयोगको टोली मनाङ आएको हो ।

अन्तरक्रियामा मनाङबाट प्रतिनिधिसभा सदस्य निर्वाचित टेकबहादुर गुरुङले मनाङको समृद्धि र विकासमा पर्यटन क्षेत्रको ठूलो भूमिका रहने बताउनुभयो । “मनाङ विकासको मेरुदण्ड भनेकै पर्यटन क्षेत्र हो । यसका लागि प्रदेश सरकारले बनाउन लागेको पञ्चवर्षीय योजनामा यहाँको पर्यटन क्षेत्रले महत्व पाउनुपर्छ”, उहाँले भन्नुभयो, “यहाँ अन्नपूर्ण चक्रीय पदमार्ग, तिलिचो ताल, एक हजार वर्ष पुराना गुम्बा छन् यसलाई कसरी प्रचारप्रसार र प्रवद्र्धन गर्ने भन्ने कुरा पञ्चवर्षीय योजनामा समेटिनु जरुरी छ ।” सांसद गुरुङले मनाङमा पर्यटनसँगै कृषि र जलविद्युत्मा पनि सम्भावना रहेको बताउनुभयो ।

नासोँ गाउँपालिकाका अध्यक्ष धनबहादुर गुरुङले पनि पर्यटन नै जिल्लाको चिनारी रहेको बताउनुभयो । “विसं २०७८ असारमा आएको बाढीले हाम्रो पालिकाको धेरै पर्यटकीय क्षेत्रको पूर्वाधार बगाएको छ । यहाँ पदमार्ग पनि छैन । यसमा प्रदेश सरकारले ध्यान दिनुपर्छ”, अध्यक्ष गुरुङले भन्नुभयो, “यहाँ पर्यटनसँगै कृषि, पशु र जडीबुटी पनि मुख्य सम्भावना भएको क्षेत्र रहेकाले यसतर्फ ध्यान पुग्नुपर्छ । त्यसैले प्रदेशको पञ्चवर्षीय योजनामा जडीबुटी खेती र प्रशोधन केन्द्र समेट्न जरुरी छ ।”

मनाङ ङिस्याङ गाउँपालिकाका अध्यक्ष कान्छा घलेले पर्यटकको सङ्ख्या बढाउन आफ्नो पालिकाभित्र रहेको जिल्लाको एक मात्र हुम्दे विमानस्थल सञ्चालनका लागि प्रदेश सरकारले पहल गर्नुपर्नेमा जोड दिनुभयो । नार्पाभूमिका प्रमुख प्रशासकीय अधिकृत भीमकान्त भण्डारीले पञ्चवर्षीय योजनामा गाउँपालिकालाई सडक सञ्जालले जाड्ने अनि राष्ट्रिय प्रसारण लाइन विस्तार गर्ने योजना समेट्न आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा नीति तथा योजना आयोगका उपाध्यक्ष डा कृष्णचन्द्र देवकोटाले अन्तरक्रियापछि मनाङबाट प्रदेश समृद्धिका लागि धेरै राम्रा सुझाव आएकाले छलफलका विषय दोस्रो पञ्चवर्षीय योजनामा समेटेर अघि बढ्ने डा देवकोटाले बताउनुभयो ।

तत्काल उद्धारमा जुटन सभामुखको अनुरोध

काठमाडौँ, १८ कात्तिक : सभामुख देवराज घिमिरेले जाजरकोटमा गए राति गएको भूकम्पका कारण ठूलो मानवीय र भौतिक क्षति भएकोमा गहिरो दुःख व्यक्त गर्दै तत्काल उद्धारमा जुट्न अनुरोध गर्नुभएको छ । उहाँले उद्धार र राहतमा सक्रियरुपमा जुट्न तीनै तहका सरकार, नागरिक समाज, व्यवसायी तथा सबैमा अनुरोध गर्नुभएको हो ।

सभामुख घिमिरेले सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको छ, “जाजरकोटमा शुक्रबार राति गएको भूकम्पका कारण ठूलो मानवीय र भौतिक क्षति भएकोमा गहिरो दुःख व्यक्त गर्दछु । उद्धार र राहतमा सक्रियरुपमा जुट्न तीनै तहका सरकार, नागरिक समाज, व्यवसायी तथा सबैमा अनुरोध गर्दछु ।”

गए राति जाजरकोट केन्द्रविन्दु बनाएर ६ दशमलव ४ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पमा परी हालसम्म एक सयभन्दा बढीको ज्यान गएको छ भने सयौँको सङ्ख्यामा घाइते भएका छन् ।

उद्धार र राहतमा खटिन एमाले अध्यक्ष ओलीको आग्रह

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिममा उद्धार र राहतमा खटिन आग्रह गरेका छन् । आज सामाजिक सञ्जालमार्फत अध्यक्ष ओलीले यस्तो आग्रह गरेका हुन् ।

उनले लेखेका छन् – ‘मध्यरातमा आएको भूकम्पले जाजरकोट र रुकुम पश्चिममा ठूलो मानवीय क्षति भएको छ। ६.४ म्याग्निच्युटको भूकम्पले कयौं घाइते छन्, राती आएको भूकम्पका कारण उद्दार प्रभावकारी हुन सकेको छैन होला। मैले बिहान त्यहाँका केही साथीहरुसँग टेलिफोनमा कुराकानी गरें । यतिबेला त्यहाँ उद्दार गर्ने र घाइतेको उपचारमा तत्काल लाग्ने स्वास्थ्यकर्मीको धेरै खाँचो छ। सबै साथीहरु उद्दारमा खटौँ । घाइतेहरुलाई शीघ्र उद्दार र उपचारको प्रबन्ध गरौं । यो बाहिरकाले सहयोग पुर्याउने र त्यहाँकाले धैर्य र सावधानी राख्नु पर्ने समय हो।’

गएराति गएको ६.४ म्याग्निच्युटको भूकम्पले जाजरकोट र रुकुम पश्चिममा गरी १२८ जनाको मुत्यु भएको छ भने सयौं घाइते भएका छन् ।

भूकम्पमा परी मुत्यु हुनेको संख्या १२८ पुग्यो

काठमाडौं – गएराति गएको भूकम्पमा परी ज्यान गुमाउनेको संख्या १२८ पुगेको छ। राति ११ः४७ मा जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर ६ दशमलव ४ रेक्टर स्केलको भूकम्प गएको थियो । सो भूकम्पले जाजरकोट र रूकुम पश्चिममा ठुलो क्षति भएको छ ।

आज बिहानसम्म भूकम्पमा परी जाजरकोटमा मात्रै ९२ जना र रूकुम पश्चिममा ३६ जनाको ज्यान गएको छ भने सयौं घाइते भएका छन् । हाल नेपाल प्रहरी, नगर प्रहरी, जनप्रतिनिधिलगायत टोली उद्धारमा खटिएको छ । घाइतेहरुको जिल्ला अस्पताल लगायतमा उपचार भइरहेको छ ।

सभापति देउवाद्वारा भूकम्प प्रभावित क्षेत्रमा उद्धार र राहतका लागि आग्रह

काठमाडौँ, १८ कात्तिक : नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले जाजरकोट केन्द्रविन्दु भएर गए राति गएको भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिमलगायतका क्षेत्रमा ठूलो मानवीय क्षति भएको खबरले दुखित भएको उल्लेख गर्नुभएको छ ।

उहाँले सामाजिक सञ्जालमार्फत प्रभावित क्षेत्रमा तत्काल उद्धार टोली खटाएर घाइतेको उपचार गर्न सरकारसँग माग गर्नुभएको छ । साथै प्रभावित क्षेत्रमा मानवीय सहायता पु¥याउने प्रबन्ध गर्न पनि अनुरोध गर्नुभएको छ ।

सभापति देउवाले भूकम्पमा परी ज्यान गुमाएकाप्रति श्रद्धाञ्जलि अर्पण गर्दै घाइतको स्वास्थ्य लाभको कामना गर्नुभएको छ ।

यस कठिन घडीमा उहाँले कांग्रेसको सम्पूर्ण पार्टी निकायलाई भूकम्प प्रभावित क्षेत्रमा उद्दार, राहत र पुनःनिर्माणमा जुट्न निर्देशन दिनुभएको छ । जाजरकोटको बारेकोट गाउँपालिका वडा नम्बर १ रामीडाँडा केन्द्रविन्दु भएर शुक्रबार मध्यराति ६ दशमलव ४ म्याग्निच्युडको भूकम्प गएको थियो । सो भूकम्पको जाजरकोट र त्यसको छिमेकी जिल्ला रुकुम पश्चिममा ठूलो क्षति पुगेको छ ।

भूकम्प अपटेड : ९२ जनाको मृत्यु

काठमाडौं – गए राति गएको भूकम्पमा परेर जाजरकोटमा ९२ जनाको ज्यान गएको छ । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर शुक्रबार राति ११ः४७ मा ६ दशमलव ४ रेक्टर स्केलको भूकम्प गएको थियो ।

भूकम्पमा परेर भएको क्षतिको थप विवरण आउन बाकीँ नै छ । हाल नेपाल प्रहरी, नगर प्रहरी, जनप्रतिनिधिलगायत टोली उद्धारमा खटिएको छ । घाइतेहरुको जिल्ला अस्पताल लगायतमा उपचार भइरहेको छ ।

स्वास्थ्यकर्मी र अत्यावश्यक सामग्री लिएर प्रधानमन्त्री भूकम्प प्रभावित क्षेत्रतर्फ प्रस्थान

काठमाडौँ, १८ कात्तिक : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वास्थ्यकर्मी र अत्यावश्यक सामग्री लिएर भूकम्प प्रभावित क्षेत्रतर्फ प्रस्थान गर्नुभएको छ ।
भूकम्प प्रभावितको उद्धार, खोज तथा राहतका लागि प्रधानमन्त्री आफैँ नेपाली सेनाको १६ जनाको मेडिकल टिम र आवश्यक सामग्रीसहित प्रभावित क्षेत्रका लागि जानुभएको प्रधानमन्त्री दाहालका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिनुभयो ।

उद्धार र राहतमा समन्वयका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत र पूर्वअर्थमन्त्री जनार्दन शर्मासमेत प्रभावित क्षेत्रमा जानुभएको छ । मन्त्री बस्नेत जाजरकोट र शर्मा रुकुमपश्चिमबाट निर्वाचित सांसद हुनुहुन्छ ।

प्रधानमन्त्री दाहालले जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर शुक्रबार राति ११ः४७ मा गएको ६ दशमलव ४ म्याग्निच्युडको भूकम्पबाट भएको मानवीय तथा भौतिक क्षतिले मर्माहित भएको जनाउनुभएको छ ।

उहाँले घाइतेहको तत्काल उद्धारका लागि सुरक्षाका तीनवटै निकाय परिचालन भएका जानकारी दिनुभएको छ । प्रधानमन्त्री दाहालले उद्धार एवं राहतमा जुट्न सबैमा अपिलसमेत गर्नुभएको छ ।

सो भूकम्पका कारण जाजरकोट र रुकुमपश्चिममा दर्जनौँको मृत्यु र घाइते भएका छन् । भूकम्प प्रभावितको खोज उद्धारका लागि तीनवटै निकायका थप सुरक्षाकर्मी सुर्खेतलगायत छिमेकी जिल्लाबाट पनि सो क्षेत्रतर्फ प्रस्थान गरिसकेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

संसदीय समितिले स्वार्थ बाझिने गरी काम गर्न हुँदैन : नेता श्रेष्ठ

काठमाडौँ, १८ कात्तिक : सांसद कृष्णकुमार श्रेष्ठले संसदीय समितिले प्रभावकारीरुपमा काम गर्नसक्नुपर्ने धारणा राख्नुभएको छ । स्वार्थको टकराव (कन्फ्लिक्ट अफ इन्ट्रेस्ट) र केही व्यक्ति तथा समूहको लाभका लागि संसदीय समिति परिचालिन हुनसक्नेबारे चनाखो हुनुपर्ने उहाँको भनाइ छ ।

अघिल्लो चुनावमा तनहुँ क्षेत्र नम्बर १ बाट संसद्मा प्रतिनिधित्व गर्नुभएका सांसद श्रेष्ठ गत निर्वाचनमा बारा क्षेत्र नम्बर ४ बाट निर्वाचित हुनुभयो । अघिल्लो पटक र यस पटकसमेत उहाँ प्रतिनिधिसभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सदस्य हुनुहुन्छ ।नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सांसद श्रेष्ठ प्रतिनिधिसभा र आफू रहेको समितिमा खरो, तार्किक र स्पष्ट विचार राख्ने नेताका रुपमा चिनिनुहुन्छ । संसदीय समितिबाट हुने निर्णय र विधेयकमाथिका छलफलले कुनै व्यक्ति वा समूह विशेषलाई लाभ पुग्नसक्नेबारे ख्याल पु¥याउन जरुरी रहेको उहाँ बताउनुहुन्छ ।“म भएको समिति मात्र होइन, अन्य समितिमा पनि कोही व्यक्तिको लाभमा निर्णय गर्ने अवस्था पटक–पटक देखिएका छन् । यो हुनुहुँदैन”, सांसदसँग रासस संवादका क्रममा उहाँले भन्नुभयो, “काँचो (अप्रशोधित) सुपारी निर्यात गर्न दिनेबारे उद्योग समितिमा निर्णय भइसकेकोमा मैले विस्तृत अध्ययन र विश्लेषण बिना अहिले निर्णय नगरौं भनेर सभापतिलाई यो विषयको वास्तविकता बुझाएपछि रोकियो । त्यस्तै, अरु समितिमा पनि कुनै न कुनै विषय स्वार्थ बाँझिएर आएका हुनसक्छन् ।”संसद् अधिवेशन अन्त्य भएको तथा नचलेको अवस्थामासमेत समितिले आफ्नो काम गर्नसक्ने भएकाले यो बेलामा थप समय दिएर र जिम्मेवार भएर काम गर्नुपर्ने उहाँको बुझाइ छ । सङ्घीय संसद्का दुवै सदनको बजेट अधिवेशन बिहीबार अन्त्य भइसकेको छ । हिउँदे अधिवेशन सुरु नहुञ्जेलसम्मको अवधिमा सांसदले समितिमा आएका विषय र विधेयकका मस्यौदामाथिको छलफललाई प्राथमिकता दिनुपर्ने श्रेष्ठको बताउनुहुन्छ । “संसद् नभएको बेला पनि संसदीय समिति त चल्छन् नै । समितिहरु गम्भीर भएर अघि बढ्नुपर्छ भनेर हामी सबैले बुझ्न जरुरी छ”, उहाँ भन्नुहुन्छ ।संसद् र संसदीय समितिको भूमिकामाथि बारम्बार प्रश्न उठ्ने गरेका छन् । विधायिकी भूमिका कमजोर भएको तथा निकै कम सङ्ख्यामा विधेयक पारित भएको, पटक–पटक अवरुद्ध भएर जनजीविकासँग जोडिएका महत्वपूर्ण कुरा संसद्मा आउन नसकेको, संसदीय मर्यादा उल्लङ्घन हुनेगरी गतिविधि हुने गरेकोलगायतका प्रश्न अहिले पनि संसद र सांसदमाथि उठिरहेका छन् । यस्ता प्रश्नले आफूलाई लज्जाबोध हुने गरेको सांसद श्रेष्ठ बताउनुहुन्छ ।“विधायिकामाथि अहिले लागिरहेका आक्षेपसँग म सहमत छैन । संसद्ले मात्रै चाहेर भएन । सरकारले विधेयक ल्याउन प¥यो, बिजनेस दिनप¥यो”, उहाँ भन्नुहुन्छ, “संसद्मा रहेका दलहरुले महिनौँसम्म अवरोध गर्नेजस्ता विषयले हामीलाई पनि लज्जाबोध भएको छ । आमनागरिकले संसद्बारे जे सोचिरहनुभएको छ, त्यसमा म पनि दोषी र जिम्मेवार छु ।” नियम कानुन बनाउने विषयमा सरकारले विजनेस दिनुपर्ने र त्यसमा सरकारपक्ष तथा प्रतिपक्ष मिलेर विधेयक बनाउनतर्फ लाग्नुपर्ने उहाँको भनाइ छ ।संसद्को प्रभावकारिताका लागि कुनै एउटा दलको एउटा सांसदले धेरै गर्नसक्ने ठाउँ नरहने उहाँको बुझाइ छ । जनताले दिएको काम गर्न जिम्मेवार भएर काम गर्न पनि उहँले सबै दलका नेतालाई आग्रह गर्नुभयो । आगामी अधिवेशनमा यस्तो नहोस् भनेर आफ्नै दलमा पनि कुरा उठाउने र अन्य दललाई समेत आग्रह गर्ने उहाँले स्पष्ट पार्नुभयो ।सांसदको विधायिकी भूमिका र विकास निर्माणका काममा लिनुपर्ने नेतृत्वदायी भूमिकालाई समानान्तर रुपमा अघि बढाउनुपर्ने आवश्यकता र बाध्यता दुवै रहेको श्रेष्ठको बुझाइ छ । “सङ्घीय संसद्को सदस्यका रुपमा के–के काम गर्नुपर्छ भनेर संविधानले नै तोकिदिएको छ । संविधानको कार्यान्वयन, सङ्घीय कानुन निर्माण गर्नेलगायतका भूमिका छन्”, उहाँ भन्नुहुन्छ, “तर प्रत्यक्ष निर्वाचित जनप्रतिधिका रुपमा हाम्रो बाध्यता के पनि छन् भने, निर्वाचनमा जानेक्रममा पानीको धारा दिन्छौँ, सिँचाइ दिन्छौँ, सडक दिन्छौँ, स्कुल–अस्पताल बनाउँछौँ, रोजगारी सिर्जना गर्छौं भनेर भोट मागेका हुन्छौँ । त्यसमा जनताले आशा गरेका हुन्छन् र ती काम गर्नु स्वभाविक छ ।”जनतासँग प्रतिबद्धता गरेर निर्वाचित भई आएपछि ती विकास आवश्यकताको पूर्ति गर्न लाग्दा ऐन कानुन बनाउनेजस्ता विधायिकी भूमिका कम भएको होकि भन्ने लाग्नु स्वभाविक रहेको उहाँ बताउनुहुन्छ । “विधायिकी भूमिका कमजोर भएको हो कि भन्ने लागेको हुनसक्छ । तर हामीले सँगसँगै जनताका काम पनि गर्नुप¥यो । कानुन मात्रै बनाएर हाम्रो जिम्मेवारी पूरा हुन्छ भन्ने होइन । सांसदलाई एउटा वडाध्यक्षले चलाउनसक्ने जति पनि बजेट छैन ।”चालु आवको बजेटमा सरकारले संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम ल्याएको थियो । तर सर्वोच्च अदालतको अन्तरिम आदेशपछि त्यसको कार्यान्वयन रोकिएको छ । यो कार्यक्रमलाई सांसदले पैसा मागेको नभई विकास मागेको रुपमा बुझ्नुपर्ने उहाँको तर्क छ ।“मतदातासमक्ष गरेको प्रतिबद्धता क्रमशः पूरा पनि गर्दै जानुप¥यो नि । हामीलाई कम्तीमा पनि पाँच सातवटा योजना छान्न दिनुपर्यो । हामीलाई पैसा चाहिएको होइन, योजना चाहिएको हो”, सांसद श्रेष्ठले भन्नुभयो, “मेरो निर्वाचन क्षेत्रको विकास आवश्यकता के कति हो भन्ने मलाई थाहा हुन्छ । जनतालाई अनुभूति हुने गरी हामीले पनि विकास निर्माणका काम गर्नुपर्ने हुन्छ । जनतासँग गरेका सबै प्रतिबद्धता पूरा गर्न नसके पनि अधितकम प्रयास त गर्नुपर्यो नि ।”पुराना र लामो समय संसदीय अभ्यास गरेका दलका सांसदको तुलनामा भर्खरै संसदीय अभ्यास थालेका दलको प्रस्तुति र उपस्थिति संसदमा दर्बिलो देखिने गरेको छ । तर उनीहरु पनि विवादमुक्त हुन नसकेको र केही सांसदका कारण राम्रो तथा जिम्मेवार भएर काम गरिरहेका आलोचित हुनुपरेको उहाँको भनाइ छ ।“मन्त्री बन्नलाई पैसा दिएको भनेर कुनै अमुक दलको सांसदको विषय आयो । यो हामी सबै सांसदका लागि लाजमर्दो विषय हो । केही सांसदको क्रियाकलाप र अभिव्यक्तिले साँच्चै देशको सेवामा लागेका, सुशासनको पक्षमा लागेका, विकास गर्छौं भनेर लागेका सांसदलाई त त्यसले असर गर्छ”, उहाँले भन्नुभयो ।प्रतिनिधिसभा निर्वाचनबाट सांसद चुनिएर आएको करिब एक वर्ष पुग्न लाग्यो । के सांसद श्रेष्ठलाई पछिल्लो एक वर्षमा आफूले गरेका काम सन्तोषजनक लागेका छन् त ? “पक्कै पनि सन्तोषजनक छैन । म तनहुँमा जन्मेको मान्छे, बारामा आएर निर्वाचन जिते । जनताका गुनासो सुनेर कस्तो समस्या कुन निकायमार्फत् समाधान गर्न सकिन्छ भनेर बुझ्न बढी समय निर्वाचना क्षेत्रमै हुन्छु । जनताले मलाई काम गर्न दिएको समय खेर जान दिन्न”, सांसद श्रेष्ठले भन्नुभयो, “अर्कोतर्फ संसद्मा पनि आफ्ना कुरा स्पष्टरुपमा राख्छु । वर्षौं वर्षदेखिको नागरिकताको समस्यादेखि विकास निर्माणका कुरामा पनि हामीलाई योजना चाहियो भनेर आवाज उठाएको छु ।”

भूकम्प प्रभावितको उद्धार तथा राहतमा जुट्न राष्ट्रपतिको अपिल

काठमाडौँ, १८ कात्तिक : राष्ट्रपति रामचन्द्र पौडेलले जाजरकोट केन्द्रविन्दु भएर गए राति गएको भूकम्पबाट भएको मानवीय र भाौतिक क्षतिले आफू मर्माहत भएको बताउनुभएको छ ।

उहाँले विपद्को यस घडीमा भूकम्प प्रभावित क्षेत्रमा प्रभावकारी उद्धार तथा राहतको काममा जुट्न सरकारलगायत सम्बन्धित सबैलाई अपिल गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

जाजरकोटको बारेकोट गाउँपालिका–१ रामीडाँडा केन्द्रविन्दु भएर शुक्रबार राति ६ दशमलव ४ म्याग्निच्युडको भूकम्प गएको थियो । सो भूकम्पबाट जाजरकोट र रुकुमपश्चिममा ठूलो मानवीय तथा भौतिक क्षति पुगेको छ ।

भूकम्प अपटेड : आठबीसकोट र सानीभेरीमा २७ को मृत्यु

त्रिवेणी (रुकुम पश्चिम), १८ कात्तिक : भूकम्पका कारण आठबीसकोट र सानीभेरी गाउँपालिकामा हालसम्म २७ जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक धर्मेन्द्र खड्काका अनुसार आठबीसकोट नगरपालिकामा अहिलेसम्म २० जनाको मृत्यु भएको छ भने सानीभेरी गाउँपालिका–२ चाइनाबगरमा सात जनाको मृत्यु भएको छ । उहाँका अनुसार हालसम्म ४६ जान घाइते भएको विवरण प्राप्त भएको छ ।

प्रहरीका अनुसार आठबीसकोट नगरपालिकाको वडा नम्बर ११, १२, १३ र १४ मा र सानीभेरी–२ मा ठूलो मानवीय क्षति भएको छ । तत्कालका लागि मानिसको उद्धारमा ध्यान दिएकाले भौतिक संरचनामा पुगेको क्षतिको विवरण त्यसपछि मात्रै सङ्कलन गरिने सूचना अधिकारी प्रहरी निरीक्षक खड्काले जानकारी दिनुभयो ।

हाल नेपाल प्रहरी, नगर प्रहरी, जनप्रतिनिधिलगायत टोली उद्धारमा खटिएको छ । घाइतेहरुको जिल्ला अस्पताल सल्ले, आठबीसेकोट¬–९ राजी नगर अस्पतालमा उपचार भइरहेको चौरजहारी नगरपालिकाका प्रमुख पुष्प बादीले जानकारी दिनुभयो । भूकम्पका कारण सानिभेरी गाउँपालिकाको वडा नं १ मा पर्ने पक्कीपुलमा क्षति भएकाले उद्धारमा भएको समस्या भए पनि अहिले सहज बनाइएको आठबीसेकोट नगरपालिकाका प्रमुख रवि केसीले बताउनुभयो ।जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर शुक्रबार राति ११ः४७ मा ६ दशमलव ४ रेक्टर स्केलको भूकम्प गएको थियो ।

‘रुपान्तरण अभियानले पार्टीलाई गतिशील तुल्याउँछ’ – महासचिव गुरुङ

कास्की – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का महासचिव देवप्रसाद गुरुङले पार्टीले सञ्चालन गरिरहेको जनतासँग माओवादी विशेष रुपान्तरण अभियानले पार्टीलाई गतिशील तुल्याउने विश्वास व्यक्त गर्नुभएको छ ।

पार्टीको गण्डकी प्रदेश कार्यालयको विस्तारित बैठकलाई पोखरामा सम्बोधन गर्दै महासचिव गुरुङले तीन महिनाको अभियान प्रभावकारी भएको र सङ्गठन विस्तारमा समेत सहयोगी भएको बताउनुभयो । उहाँले पार्टी गत भदौ १६ गतेदेखि सुरु भएको अभियान पदाधिकारी बैठकले एक महिना थप गरी पुस १५ गतेसम्म पुर्‍याएको जानकारी दिनुभयो ।

महासचिव गुरुङले भन्नुभयो, “अभियानले पार्टीलाई गतिशिल बनाएको छ । पार्टीका सबै नेता तथा कार्यकर्ता एकताबद्ध भएर अभियानमा जोडिनुभएको छ । यसले पार्टीभित्र र बाहिरसमेत सकारात्मक सन्देश प्रवाह भएको छ ।” उहाँले पार्टीको नेतृत्वमा रहेको सरकारले धेरै जनपक्षीय कामहरू गरिरहेकाले सरकारले गरेका राम्रा कामलाई जनतामा प्रचार गर्न नेता कार्यकर्तालाई आग्रह गर्नुभयो ।

पार्टीका केन्द्रीय सचिव एवं गण्डकी प्रदेशका इन्चार्ज देवेन्द्र पौडेलले गणतन्त्र, सङ्घीयता र अहिलेको प्रणालीको रक्षा गर्न माओवादी केन्द्र शक्तिशाली बन्नुपर्नेमा जोड दिनुभयो । देशमा प्राप्त उपलब्धीहरूको रक्षा गर्नु अहिलेको आवश्यकता रहेकाले पछिल्लो समय देखिएका व्यवस्था विरोधी गतिविधिविरुद्ध अभियानका क्रममा जनतालाई समेत प्रशिक्षित गर्न उहाँले आग्रह गर्नुभयो ।

बैठकमा पार्टीका गण्डकी प्रदेश समितिका अध्यक्ष गायत्री गुरुङले प्रदेशका सात सय ५९ वटै वडामा सञ्चालन भइरहेको ‘जनतासँग माओवादी विशेष रुपान्तरण’ अभियानको बारेमा जानकारी गराउनुभएको थियो ।

कालीगण्डकीले बगाउँदा २५ वर्षीया आमाको मृत्यु, छोरा गम्भीर घाइते

पर्वत-पर्वत, स्याङ्जा र गुल्मीको सङ्गमस्थल सेतीवेणीस्थित कालीगण्डकी स्नान गर्ने क्रममा नदीले बगाउँदा एक महिलाको मृत्यु भएको छ भने उनका चार वर्षीया छोरा गम्भीर घाइते भएका छन् ।

पर्वतको बिहादी गाउँपालिका–६ शालिग्रामबाट सेतीबेनीमा कालीगण्डकी नदीमा नुहाउन गएकी २५ वर्षीया रितु भट्टराईको मृत्यु भएको हो । कालीगण्डकी स्नान गर्न गएका एकै परिवारका चार जनामध्ये चार वर्षीय बालकलाई नदीले बगाएपछि उद्धार गर्न जाँदा आमा रितुलाई पनि बगाएको थियो ।दुवैजनालाई उद्धारगरी कालीगण्डकी अस्पताल मिर्मिमा पुर्‍याउने वित्तिकै आमाको मृत्यु भएको हो भने चार वर्षीया बालक रियान भट्टराईको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । घाइते बालकलाई उपचारको लागि मिसन अस्पताल पाल्पा पठाइएको प्रहरीले जनाएको छ । नुहाउन गएका बच्चाका बुवा र मृतककी बहिनी भने सकुसल रहेको प्रहरीले जनाएको छ । 

कोशी प्रदेशमा मन्त्रिपरिषद् विस्तार

मोरङ – कोशी प्रदेशका प्रमुख परशुराम खापुङले नवनियुक्त मन्त्रीद्वय गणेशप्रसाद उप्रेती र कमलप्रसाद जवेगुलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ ।

मुख्यमन्त्री केदार कार्कीको सिफारिसमा नेपालको संविधानको धारा १६८ को उपधारा (९) वमोजिम उहाँहरूलाई प्रदेश प्रमुखले बिना विभागीय मन्त्री नियुक्त गर्नुभएको हो ।

नवनियुक्त मन्त्री उप्रेति नेकपा (माओवादी केन्द्र) र जवेगु नेकपा (एकीकृत समाजवादी) का प्रदेशसभा सदस्य हुनुहुन्छ ।

विशेषको फैसालाविरुद्ध सर्वोच्चमा पुनरावेदन

काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौँमा दायर गरेका विभिन्न मुद्दामा उक्त अदालतबाट भएका फैसलाउपर चित्त नबुझी सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।

सार्वजनिक सम्पत्तिमा हानी नोक्सानी भएकामा आयोगले पर्यटन कार्यालय जनकपुरका ओभरसेयर ओमप्रकाश यादव, अजयकुमार यादव र अनिरुद् मण्डलले भ्रष्टाचार गरेकामा विशेष अदालतले गरेको निर्णयमा पुनरावेदनका लागि सर्वोच्चमा निवेदन दिएको आयोगले आज जनाएको छ ।

त्यसैगरी आयोगले नक्कली शैक्षिक प्रमाणपत्र पेशगरी भ्रष्टाचार गरेकी नेपाल राष्ट्रिय कन्या प्राथमिक विद्यालयकी शिक्षक उर्मिला देवीलाई विशेष अदालतले सफाई दिएकामा त्यसविरुद्ध सर्वोच्चमा पुनरावेदन गरेको छ ।

युरोप भ्रमणमा जाँदै राष्ट्रपति पौडेल

काठमाडौँ-राष्ट्रपति रामचन्द्र पौडेल यही कात्तिक २२ देखि युरोप भ्रमणमा जानुहुने भएको छ ।फ्रान्सको राजधानी पेरिसमा आयोजना हुने ‘पेरिस पिस फोरम’मा सहभागी भएर राष्ट्रपति सङ्घीय गणतन्त्र जर्मनी र इटलीको भ्रमणमा जानुहुने कार्यक्रम छ ।

मन्त्रिपरिषद्को यही कात्तिक १६ गतेको बैठकले राष्ट्रपतिको युरोपको भ्रमणको कार्यक्रम स्वीकृत गरेको हो । राष्ट्रपति पौडेल आगामी मङ्सिर १ गते स्वदेश फर्कनु हुनेछ ।मन्त्रिपरिषद्ले उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खडका नेतृत्वको प्रतिनिधिमण्डललाई संयुक्त अरव इमिरेटस् (यूएइ)मा आयोजना हुने ‘दुबई एयर शो, २०२३ को १८औँ संस्करण’मा सहभागी हुन स्वीकृति दिने निर्णय गरेको छ ।बैठकले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाललाई चीनको सङ्घाइमा हुने छैटौँ चीन अन्तर्राष्ट्रिय आयात मेलामा सहभागी हुन स्वीकृति दिएको छ भने शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिला कुमारी नेतृत्वको प्रतिनिमण्डल ‘बेल्ट एण्ड रोड इनिसिएटिभ्स’मा भाग लिन यही कात्तिक २० देखि २१ गतेसम्म चीनको छाइछिङ भ्रमणको स्वीकृति प्रदान गरेको छ ।बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राई नेतृत्वको प्रतिनिधिमण्डललाई आगामी मङ्सिर २५ देखि २९ गतेसम्म संयुक्त राज्य अमेरिकाको एटलाण्टामा आयोजना हुने भ्रष्टाचार निवारणसम्बन्धी राष्ट्रसङ्घीय सम्मेलनमा सहभागी हुन अनुमति दिएको छ ।मन्त्रिपरिषद् बैठकले कृषि क्षेत्रमा प्रविधि विकास तथा हस्तान्तरण, व्यावसायिकरणलगायत विषयमा नेपाल सरकार र कोरियाबीच हुने समझदारीपत्र स्वीकृत गरेको छ भने सोही मन्त्रालयअन्र्तगत सञ्चालित परियोजनाका लागि दुई सय ६१ जना राजपत्राङ्कित अस्थायी दरबन्दी स्वीकृत गरेको छ ।बैठकले नुवाकोट जिल्ला किस्पाङ गाउँपालिकामा रहेको चार रापनी जग्गा पाँच शय्याको आधारभूत अस्पताल भवन निर्माणका लागि गाउँपालिकालाई उपयोग गर्न स्वीकृति दिने निर्णय गरेको छ भने बडीकेदार गाँउपालिका डोटीको प्रशासकीय भवन तथा १० शय्याको अस्पताल निर्माणका लागि राष्ट्रिय वनको १३ दशमलव दुई रोपनी जग्गा २५ वर्षसम्म उपयोग गर्न स्वीकृति दिएको छ ।बैठकले सभाखोला बी जलविद्युत आयोजनाको भौतिक पूर्वाधार निर्माण गर्न सङ्खुवासभा जिल्लाको सभापोखरी गाँउपालिकामा वडा नं ३, ४, ५ र ६ मा रहेको राष्ट्रिय वन क्षेत्रको चार दशमलव २९०४ हेक्टर जग्गा २५ वर्षसम्म प्रयोग गर्न दिने तथा उक्त वन क्षेत्रमा रहेका एक सय २४ वटा रुख कटाउन स्वीकृति दिएको छ ।मन्त्रिपरिषद्को निर्णयअनुसार मदन भण्डारी राजमार्गअन्र्तगत सुर्खेत जिल्लास्थित खम्बागाडे – पलौटे – विध्यापुर – गुटु – मायाताल सडकखण्डको स्तरउन्न्तीको लागि राष्ट्रिय वन क्षेत्रको १४ दशमलव ५९ हेक्टर जग्गा प्रयोग गर्न दिने र सो जग्गामा रहेका विभिन्न प्रजातिका एक हजार दुई सय ९२ रुख हटाइने भएको छ ।

नक्कली नेपाली नोटसहित ६ जना भारतीय नागरिक पक्राउ

सुरुङ्गा ९झापा- प्रहरीले नक्कली नेपाली नोटसहित झापामा छ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । झापा गाउँपालिका–१ सितुमारीबाट नक्लकी नेपाली नोटसहित छ जना भारतीय नागरिक पक्राउ परेका हुन् । पक्राउ पर्नेमा भारत किसनगञ्ज थानाका २४ वर्षीय अन्जर आलम, दीघल बैंक मंगोराका १९ वर्षीय अजरत अली, १८ वर्षीय महबुल हक, पूर्णियाथानाका १९ वर्षीय परवेज आलम, २२ वर्षीय साकिब आलम र २० वर्षीय आजमल हक रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक खगेन्द्र रिजालले जानकारी दिनुभयो ।

भारतीय नम्बरको २ वटा मोटरसाईकलमा नेपाल आएका उनीहरुलाई ईलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरी टोलीले जाँच गर्ने क्रममा आलमको साथबाट एक हजार दरको तीन थान नेपाली नक्कली नोट बरामद भएको थियो ।

नक्कली नोट फेला परेसँगै अन्य पाँच जनाको संलग्नता रहेको प्रारम्भिक अनुसन्धानको क्रममा खुलेको र उनीहरुलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

दुई अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालन ढाँचाबारे उच्चस्तरीय छलफल

काठमाडौँ- दुई अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालन ढाँचाबारे संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा उच्च सरकारी अधिकारीबीच छलफल भएको छ ।

पर्यटनमन्त्री सुदन किरातीले बोलाएको बैठकमा भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालनको ढाँचा र विभिन्न विकल्पबारे छलफल भएको मन्त्रालयले जनाएको छ ।

बैठकमा मुख्यसचिव डा बैकुण्ठ अर्याल, अर्थसचिव कृष्णहरि पुष्कर, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव उदयराज सापकोटा सहभागी हुनुहुन्थ्यो । नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलका अनुसार नयाँ विमानस्थललाई नियमित सञ्चालनको वातावरण बनाउन सबै अङ्गको महत्वपूर्ण भूमिका रहेकाले प्रभावकारी विकल्पका बारेमा छलफल भएको छ । व्यावसायिक रुपमा सञ्चालनमा आएका दुवै विमानस्थलले राम्रो विजनेस पाएका छैनन् । गौतमबुद्ध विमानस्थलमा हाल नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले अन्तर्राष्ट्रिय उडान गरिरहेको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अझै व्यावसायिक अन्तर्राष्ट्रिय उडान भएको छैन ।

“नयाँ अन्तर्राष्ट्रिय विमानस्थल कसरी र कुन ढाँचाबाट सञ्चालन गर्ने भन्नेबारे गम्भीर छलफल भयो, कुनै निष्कर्ष निक्लिएको छैन, प्राधिकरणले विमानस्थल गर्ने हो, विमानस्थलको सञ्चालन व्यवस्थापन गर्नु राज्यको दायित्व हो त्यसैले सबै निकायको सक्रियता जरुरी हुन्छ”, प्राधिकरणका सूचना अधिकारी भूलले भन्नुभयो । उहाँले नयाँ विमानस्थल सञ्चालन गर्न श्रम, पर्यटन, परराष्ट्रसहितका निकायले गर्नुपर्ने भूमिकाबारे पनि बैठकमा छलफल भएको बताउनुभयो ।

क्रिकेट खेलाडीका लागि सरकारले घोषणा गरेको एक करोड ५७ लाख निकासा

काठमाडौँ- नेपाली क्रिकेट टोलीलाई सरकारले उपलब्ध गराउने भनेको प्रोत्साहन पुरस्कारको रकम निकासा भएको छ । विभिन्न तीन वटा कपमा सहभागी नेपाली क्रिक्रेट टोलीलाई सरकारले दिने भनेको रू एक करोड ५७ लाख ५० हजार बराबर प्रोत्साहन पुरस्कार निकासा भएको राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टङ्कलाल घिसिङले जानकारी दिनुभयो ।

सदस्स–सचिव घिसिङका अनुसार प्रोत्साहन पुरस्कार रकम उपलब्ध गराउनेबारे मन्त्रिपरिषद्ले पहिल्यै निर्णय गरेको भए पनि पनि अर्थ मन्त्रालयले आज निकासा गरेको हो । “मन्त्रालयबाट रकम निकासा भएपछि समस्या हुँदैन । कुनै औपचारिक कार्यक्रमबाट हामीले यो पुरस्कार वितरण गर्नेर्छौँ”, घिसिङले भन्नुभयो । सरकारले दिने भनेको पुरस्कार रकम ढिलै पनि पाउँदा खेलाडी र प्रशिक्षकलाई सकारात्मक ढाडस मिल्ने घिसिङ बताउनुहुन्छ ।

सरकारले गत वैशाख ५ देखि १८ गतेसम्म चलेको एसीसी मेन्स प्रिमयर कपका लागि रू ७९ लाख निकासा गरेको छ । गत वैशाख २० गते बसेको मन्त्रिपरिषद् बैठकले एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिता विजयी नेपाली क्रिकेट खेलाडी र मुख्य प्रशिक्षकलाई जनही रू छ लाख र अन्य टिम अफिसियलाई जनही रू तीन लाख प्रोत्साहन स्वरुप उपलब्ध गराउने निर्णय गरेको थियो ।

गत फागुन १२ देखि १८ गतेसम्म सञ्चालन भएको आइसीसी अण्डर–१९ मेन्स सिडब्लुसी–एसिया क्वालिफायरका लागि रू ४६ लाख र गत फागुन २७ देखि चैत २ गतेसम्म चलेको आइसिसी सिडब्लुसी लिग–२ को रू ३२ लाख ५० हजार उपलब्ध गराइने सदस्य–सचिव घिसिङले जानकारी दिनुभयो

भूकम्प अपडेट : जाजरकोटमा ३७ को मृत्यु, सयौँ घाइते

जाजरकोट, १८ कात्तिक : गए राति गएको भूकम्पमा परी जाजरकोटमा मृत्यु हुनेको सङ्ख्या ३७ पुगेको जिल्लाका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले जानकारी दिनुभएको छ । उहाँका अनुसार भूकम्पमा परी सयौँको सङ्ख्यामा मानिसहरु घाइते भएका विवरण प्राप्त भएका छन् ।

उहाँका अनुसार भूकम्पमा परी २७ महिला र १० पुरुषको मृत्यु भएको छ । भूकम्पले जिल्लाका भेरी, नलगाड, कुशे, बारेकोट र छेडागाडमा क्षती पुर्‍याएको छ । भूकम्पका कारण घरहरु भत्किएको जानकारी प्राप्त भए लगत्तै उद्धारका लागि कर्णाली प्रदेश र प्रहरी कार्यालयबाट ४० र २० गरी ६० जनाको उद्धार टोली परिचालन गरिएको छ । जिल्लाका सबै सुरक्षा अङ्गहरु परिचालन भएको प्रजिअ सुनारले बताउनुभयो ।

जाजरकोटका प्रहरी नायव उपरीक्षक सन्तोष रोकाका अनुसार भूकम्पमा परी नलगाड नगरपालिकाको उपप्रमुख सरिता सिंहको पनि मृत्यु भएको छ । भूकम्पका कारण यहाँ विद्युत सेवा समेत अवरुद्ध भएको छ । सडक सञ्चालनमा पनि समस्या भएकाले घाइतेको उद्धार कठिन भइरहेका उहाँको भनाइ छ ।

रातिको समय भएकाले थप विवरण सङ्कलन गर्न कठिनाइ भइरहेको उहाँले बताउनुभयो । शुक्रबार राति ११ बजेर ४७ मिनेट जाँदा जाजरकोटलाई केन्द्रविन्दु बनाएर छ दशमलव चार म्याग्निच्युडको भूकम्प गएको हो ।

भूकम्पमा परी रुकुम पश्चिमको सानी भेरी गाउँपालिका पाँच जनाको मृत्यु

त्रिवेणी (रुकुम पश्चिम) १८ कात्तिक : गए राति गएको भूकम्पमा परी रुकुम पश्चिमको सानी भेरी गाउँपालिका पाँच जनाको मृत्यु भएको छ । जाजरकोटको रामिडाडा केन्द्रविन्दु बनाएर गएको भूकम्पमा परी मृत्यु हुनेमा वडा नम्बर २ परियार टोलका महावीर दमाईकी छोरी १२ वर्षीया मनिषा परियार, वडा नम्बर १ चाईनाबगरका ३१ वर्षीय धनविर पुन, सोही वडाकै २८ वर्षिया चुम्निमा पुन, आठ वर्षका यमराज पुन र दुई वर्षे सितम पुन भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक धर्मेन्द्र खड्काले जानकारी दिनुभयो ।

भूकम्पमा परी हालसम्म १० जना घाइते भएको विवरण प्राप्त भएको छ । त्रिवेणी, बाफीकोट गाउँपालिका र मुसीकोट नगरपालिकामा मानवीय क्षती भएको विवरण हालसम्म आएको छैन । चौरजहारी नगरपालिकामा भूकम्पमा परी घाइते भएकाको उद्धार भइरहेको र मानवीय क्षती नभएको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत शेरप्रसाद ढकालले जानकारी दिनुभयो ।

जिल्लाको आठविसकोट नगरपालिका भने ठूलो मानवीय क्षती भएको बताइएको छ । तर प्रहरीले हालसम्म कति जनाको मृत्यु भयो भन्ने यकिन जानकारी नआएको बताएको छ ।

क्रिकेट टोलीलाई एमाले अध्यक्ष र पूर्वराष्ट्रपतिको बधाई

काठमाडौँ- नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाली क्रिकेट टोली टी–२० विश्वकप प्रतियोगिताका लागि छनोट भएकामा बधाई ज्ञापन गर्नुुभएको छ ।
अध्यक्ष ओलीले आज सामाजिक सञ्जालमार्फत नेपाली क्रिकेट खेलाडीलाई बधाई ज्ञापन गर्दै अबको विश्वकपको यात्राका निम्ति शुभकामना व्यक्त गर्नुभएको छ ।

यसैगरी, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पनि विश्वकपका लागि नेपाली क्रिकेट टोली छनोट भएकामा  हार्दिक बधाई ज्ञापन गर्नुभएको छ । उहाँले सामाजिक सञ्जाल एक्समा नेपालको यो ऐतिहासिक सफलताले समग्र खेल थप उत्साहित हुनका साथै यसले सम्पूर्ण नेपालीलाई गौरवान्वित बनाएको उल्लेख गर्दै नेपाली क्रिकेटको थप सफलताको कामना गर्नुभएको छ ।  

आज मुलपानी क्रिकेट मैदानमा संयुक्त अरब इमिरेट्स (युएई)लाई नेपालले आठ विकेटले पराजित गर्दै विश्वकपमा छनोट भएको हो । सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने आईसिसी टी–२० विश्वकपमा नेपालले प्रतिस्पर्धा गर्नेछ ।

‘माथिल्लो अरुण आयोजनाको फाइदा स्थानीयले पाउनुपर्छ’ – अर्थमन्त्री महत

काठमाडौँ, १७ कात्तिक : अर्थमन्त्री डा. प्रकाशशरण महतले ठूला आयोजना अगाडि बढ्दा स्थानीयवासीको सहयोग र सहभागिता सबैभन्दा महत्वपूर्ण हुने बताउनु भएको छ । माथिल्लो अरुण अर्धजलाशययुक्त जलविद्युत आयोजनाको कार्यस्थल भोटखोला निरीक्षणका क्रममा मन्त्री डा. महतले भन्नुभयो, ‘यसको फाइदा सबैभन्दा धेरै स्थानीय जनताले पाउनुपर्छ । त्यसपछि जिल्लावासी र त्यसपछि मात्र देशले पाउँछ भन्ने मान्यताका आधारमा यो आयोजना अगाडि बढ्छ ।

सङ्खुवासभामा निर्माण हुन लागेको एक हजार ६१ मेगावाटको माथिल्लो अरुण आयोजना कार्यान्वयनको चरणमा पुगेको बताउनुभएको छ । मन्त्री डा. महतले भन्नुभयो, “सङ्खुवासभावासीका लागि यो महत्वपूर्ण आयोजना हो, अब यो आयोजना अगाडि बढ्छ । हरेक ठूलो आयोजना कार्यान्वयनका लागि पूर्वतयारी महत्वपूर्ण हुन्छ, जुन देखिँदैन ।”

‘बाटोको अभावमा आयोजना प्रभावित हुँदैन । जहाँबाट र जसरी पनि श्रोत जुटाएर हामी यो बाटो पनि निर्माण गर्छौ, मन्त्री डा. महतले भन्नुभयो, ‘यहाँका समस्यालाई चाँडै टुङ्गो लगाउँछौँ । यहाँका स्थानीयले चाहेजति सेयर पाउने छन् ।’

माथिल्लो अरुण आयोजनाभन्दा तल अन्य दुईवटा आयोजना अगाडि बढिरहेको छ । ‘हरेकको समय आउँछ, भोटेखोला र सङ्खुवासभाको समय आएको छ । विश्व बैंकका प्रतिनिधि आहानालगायतको टिम यही आउनुभएको छ । यसले आयोजनामा लगानी गर्ने विश्व बैंकको चाहनालाई प्रतिविम्बित गर्छ’ मन्त्री डा. महतले भन्नुभयो, ‘कोशी प्रदेशमा जलविद्युत्ले रुपान्तरणको ठूलो सम्भावना देखिन्छ । यो आयोजना कार्यान्वयन गर्दा स्थानीयले रोजगारी पाउने मात्र होइन, यहाँको जीवनस्तर माथि उकास्न सहयोग पुग्नेछ । स्थानीयको आर्थिक र सामाजिक सहभागिताका लागि सम्पूर्ण जिम्मा सरकारले लिन्छ ।’

आयोजनाको निरीक्षण गर्न मन्त्री डा. महत र ऊर्जामन्त्री शक्तिबहादुर बस्नेतसहितको टोली भोटखोला पुगेको थियो । प्राधिकरणको गौरवको आयोजनाका रूपमा माथिल्लो अरुणलाई निर्माण थालिएको हो । मन्त्री डा. महतले भन्नुभयो, ‘ऊर्जा मन्त्रालयले यो आयोजना अगाडि बढाउन धेरै अगाडिदेखि गृहकार्य गरिरहेको छ । अब यो आयोजना कार्यान्वयन तहमा पुग्दैछ । यो आयोजनामा लगानी गर्न विश्व बैंकले चासो देखाएको छ । विश्व बैंकले अन्य दाताहरु पनि जुटाउँदैछ, त्यसमा एसियाली विकास बैंक पनि पर्छ ।’

टोलीमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, विश्वबैंक निर्देशक लगायतको टोली आयोजनास्थल भोटखोला आइपुगेको आयोजनाका वरिष्ठ सहायक ग्रीष्म भण्डारीले बताउनुभयो । माथिल्लो अरुण आयोजना निर्माणको जिम्मा नेपाल विद्युत् प्राधिकरणले पाएको छ ।

आयोजनाले प्रभावित क्षेत्रमा मुआब्जा समेत वितरण गरिसकेको छ । आयोजना प्रभावित क्षेत्रका ७८८ कित्तामध्ये ६९९ कित्ता काट गरिसकेको छ । आयोजनाका लागि भोटखोलामा दुई हजार पाँच सय रोपनी जग्गा अधिग्रहण गरिएको छ ।

जलविद्युत् आयोजनाको अनुमानित लागत रु दुई अर्ब २६ करोड बढी छ । सन् २०२४ को मध्यदेखि जलविद्युत् आयोजनाको निर्माण सुरु हुनेछ । हाइड्रोपावर निर्माण सुरु भएको छ वर्षभित्र सम्पन्न गर्ने योजना छ । आयोजनाको ३० प्रतिशत पुँजी र ७० प्रतिशत स्वदेशी तथा विदेशी बैंक तथा वित्तीय संस्थासँग कर्जा जुटाइनेछ ।

मन्त्री डा. महतले भन्नुभयो, ‘यो आयोजना कार्यान्वयनमा लैजान मैले विश्व बैंकको बैठकमा सस्तो ब्याजदर र अनुदानका विषयमा छलफल भएको छ । अब यो आयोजना कुन सर्तमा कसरी श्रोत जुट्छ भन्ने तहमा पुगेको छ । भोटखोला मात्र होइन, सम्पूर्ण संखुवासभावासीले यो आयोजना कार्यान्वयनमा उत्सुकता देखाउनु भएको छ ।’