कांग्रेससँग गठबन्धन टुट्नु सकारात्मक : वरिष्ठ उपाध्यक्ष पोखरेल
गोदावरी (कैलाली), २७ फागुन : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले कांग्रेससँग गठबन्धन टुट्नु सकारात्मक भएको बताउनुभएको छ ।
प्रेस चौतारी नेपालले आज धनगढी विमानस्थलमा गरेको पत्रकार सम्मेलनमा उहाँले अहिले नेकपा एमाले, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) सहितको गठबन्धन विधिसम्मत भएको टिप्पणी गर्नुभयो । उहाँले विगतमा गरिएको गठबन्धन एमालेलाई सिध्याउने योजनाबाट निर्देशित भएको दाबी गर्दै निश्चित कार्यक्रम र उद्देश्य नभएको गठबन्धन टुट्नु सकारात्मक भएको बताउनुभयो ।उपाध्यक्ष पोखरेलले अहिलेको नयाँ गठबन्धन अगामी २०८४ को निर्वाचनसम्मै कायम रहने दाबी पनि गर्नुभयो । संरचनागत ढङ्गले अघि बढे भविष्यमा वामपन्थीबीच एकता पनि हुनसक्ने र नयाँ गठबन्धनलाई सबैले सकारात्मक रूपमा लिनुपर्ने बताउँदै उहाँले नयाँ गठबन्धनलाई कायम राख्न वामपन्थी समूह एकताबद्ध हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।उहाँले २०७९ पुसमा बनेको गठबन्धन टुटेर अहिले फेरि नयाँ शिराबाट सम्बन्ध कायम भएको स्पष्ट गर्नुभयो । सुदूरपश्चिम सहितका केही प्रदेशमा नयाँ गठबन्धनसँग सरकार गठनका लागि बहुमत नरहेकाले सबै पक्षसँग संवाद भइरहेको उहाँले जानकारी दिनुभयो ।
