`

नवरात्रको दोस्रो दिन : विधिपूर्वक गरियो ब्रह्मचारिणी देवीको पूजा आराधना

काठमाडौँ, २९ असोज : नवरात्रको दोस्रो दिन दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी दोस्रो ब्रह्मचारिणी देवीको विधिपूर्वक पूजा आराधना गरिएको छ ।
नवरात्रको दोस्रो दिन आज पूजा स्थलमा ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजा आराधना गरेमा ब्रह्मतत्वको ज्ञान गर्न सकिने धार्मिक विश्वास छ । संसारका मुमुक्षु प्राणीलाई सच्चिदानन्द रुप ब्रह्मको बोध गराउनका लागि निरन्तर लागिरहने मान्यतामा नवदुर्गा मध्येको दोस्रो देवीलाई ब्रह्मचारिणी भनिएको हो । ब्रह्मचारिणीको हातमा कमल, अक्षमाला र कमण्डलु बनाइनुपर्छ भन्ने विधान छ ।

मार्कण्डेय पुराणलगायत ग्रन्थमा भनिएको छ— ‘ब्रह्म चारयितुं शीलं यस्या ः सा ब्रह्मचारिणी’ अर्थात् सच्चिदानन्द ब्रह्मस्वरुपको प्राप्ति गराउने स्वभाव नै ब्रह्मचारिणी हो । यसैले ब्रह्मतत्वको ज्ञान गर्न चाहनेले विशेष रुपमा ब्रह्मचारिणी देवीको विशेष रुपमा पूजा आराधना गर्ने गर्छन् । नवरात्रमा देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको भीड लागेको छ । यसैगरी राज्यका तर्फबाट नवदुर्गाको पूजा आराधना गरिने हनुमानढोका दरबारस्थित दसैँ घरमा पनि आज विधिपूर्वक ब्रह्मचारिणी देवीको पूजा आराधना गरिएको हनुमानढोका दरबार हेरचाह अड्डाले जनाएको छ ।

नवरात्रको पहिलो दिन आइतबार दसैँघर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौको जमरा राखिएको थियो । त्यसै दिन घटस्थापना गरिएको स्थानमा नौ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिएको थियो । नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवत लगायत देवी स्तोत्र पाठ समेत गरिन्छ । नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा आराधना गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ ।

यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्छन् । नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ । वर्षमा चार नवरात्र पर्छन् ।

त्यसमध्ये आश्विन शुक्ल पक्ष र चैत्र शुक्ल पक्षमा पर्ने नवरात्रमा विशेष रुपमा शक्ति स्वरुपा देवीको पूजा आराधना गरिन्छ । पुस र असारमा पर्ने नवरात्रमा केही साधकले देवीको आराधना गरेपनि आश्विन चैत्रमा जसरी मनाइँदैन ।

सुदूरपश्चिममा भूकम्पको धक्का महसुस

बैतडी, २९ असोज ः बैतडीसहित सुदूरपश्चिमका पहाडी जिल्लामा आज बिहान भूकम्पको धक्का महसुस गरिएको छ ।

भूकम्प मापन केन्द्र सुर्खेतका प्रमुख बलबहादुर तामाङले दार्चुलापरि भारतको बतन भन्ने स्थानमा केन्द्रविन्दु बनाएर आज विहान ९ बजेर २६ मिनेटमा ४ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएकोे जानकारी दिनुभयो । भूकम्प धक्का महसुस गरिएको भए पनि क्षतिबारे जानकारी प्राप्त नभएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

पूर्वगाउँपालिका अध्यक्ष धामी पोखरामा च्याङ्ग्रा व्यापारमा व्यस्त

अन्नपूर्ण (कास्की), २९ असोज ः बझाङको साइपाल गाउँपालिका–१ का राजेन्द्रबहादुर धामीले विसं २०६८ सालदेखि पोखरामा च्याङ्ग्रा झार्न थाल्नुभएको हो ।

उहाँले गाउँमा च्याङ्ग्रा पालन गरी बर्सेनि दसैँको समयमा बेच्न पोखरा ल्याउने गर्नुहुन्थ्यो । विसं २०७४ को स्थानीय तहको निर्वाचनमा उहाँले बझाङको साविकको काँडा गाउँपालिका अध्यक्ष पदमा विजयी हुनुभयो ।

यसलगत्तै उहाँ सबै काम छाडेर गाउँलेको सेवामा लाग्नुभयो । गाउँलेकै आग्रहमा काँडा गाउँपालिकाको नाम साइपाल गाउँपालिकामा परिवर्तन गर्नुभयो । जनप्रतिनिधि भएर काम गर्दा उहाँले च्याङ्ग्रा व्यापार धेरै सम्झनुभयो ।

गाउँको सेवामा लागिरहँदा यसमै लत बसिसकेको थियो । जनताको सुख दुःखमा साथ दिँदादिँदै पाँच वर्ष बित्यो । विसं २०७९ मा पुनः स्थानीय तहको निर्वाचन हुने भयो । उहाँलाई फेरी जनप्रतिनिधि भएर काम गर्ने मन थियो । तर, पार्टीले टिकट दिएन । “पाँच वर्ष सेवा गरे अझै काम गर्ने मन थियो”, उहाँले भन्नुभयो, “पार्टीले टिकट दिएन् अनि फेरि परिवारले सम्हालेको च्याङ्ग्रा पालन तिर लागे ।”

उहाँलाई पूर्वगाउँपालिका अध्यक्ष हुँ भन्ने दम्भ कहिल्यै भएन । काम भनेको सानो ठूलो हुँदैन भन्ने उहाँको सिद्धान्त छ । “म त पूर्वजनप्रतिनिधि हुँ भन्ने कहिल्यै लागेन । अहिले पनि गाउँलेको सेवामा हाजिर हुन्छु”, उहाँले भन्नुभयो, “काम सानो ठूलो लाग्दैन । मैले च्याङ्ग्रा पालनसँगै जडीबुटी खोज्ने र व्यापार पनि गर्छु ।”

धामी अहिले पोखरामा च्याङ्ग्रा धपाइरहेको अवस्थामा भेटिनुहुन्छ । उहाँ दसैँका लागि एक सय २७ च्याङ्ग्रा लिएर शुक्रबार पोखरा आउनुभएको हो । “दसैँमा पोखरामा च्याङ्ग्रा धेरै बिक्री हुन्छ । यसैले बझाङदेखि तीन दिन तीन रात काटेर च्याङ्ग्रा लिएर आएको हुँ”, उहाँले भन्नुभयो, “मैले ल्याएको एक सय २७ च्याङ्ग्रामध्ये आफैँले पालेको ८० वटा छ । अरु गाउँलेसँग किनेर ल्याएको छु ।”

सप्तमीसम्म ल्याएको च्याङ्ग्रा सबै बिक्री हुनेमा उहाँ विश्वस्त हुनुहुन्छ । यहाँको व्यापारबाट भएको आम्दानीले बझाङ दसैँ धुमधामले मनाउँने उहाँको योजना छ । “सप्तमीसम्म सबै बिक्छ । यसबाट दुई लाख जति नाफा होला की भन्ने सोचेको छु । के थाहा घाटा पनि हुनसक्छ”, उहाँले भन्नुभयो, “अष्टमीतिर घर फर्कने अनि दसैँ मनाउने भन्ने योजना छ ।” उहाँले पोखरा ल्याएको च्याङ्ग्राको मूल्य रु २५ हजारदेखि ५० हजारसम्म मूल्य तोक्नुभएको छ ।

उहाँले अन्य समयमा बझाङमै च्याङ्ग्रा बेच्ने गर्नुहुन्छ । यो व्यापारबाट उहाँले एक वर्षमा दशदेखि १२ लाख आम्दानी गर्ने गरेको उहाँले बताउनुभयो । “गाउँपालिका अध्यक्षमा जिताएर त्यहाँका जनताले अनुभव गर्ने अवसर दिनुभएको थियो । मैले उहाँहरुको सेवा पनि गरे”, उहाँले भन्नुभयो, “अहिले यो व्यापार गरिरहेको छु । दुवैतिर दुख नै छ । मलाई जनप्रतिनिधि हँुँदा र व्यापारी हुँदा उस्ताउस्तै लागेको छ ।” अवसर पाए पुनः जनताको सेवा गर्ने इच्छा रहेको बताउने उहाँ पार्टीले नपत्याए आफ्नै व्यापार व्यवसाय अघि बढाउने सोचमा हुनुहुन्छ ।

काठमाडौँ–दिल्लीको भन्दा काठमाडौँ–धनगढीको हवाई भाडा महङ्गो

सुदूरपश्चिम, २९ असोज ः काठमाडौँदेखि धनगढीसम्मको हवाई भाडा प्रतियात्रु रु १७ हजार पु¥याइएपछि चाडपर्वका समयमा काठमाडौँबाट घर फर्किन चाहने यात्रु मर्कामा परेका छन् । हवाईसेवामा सम्भवतः यो भाडादर सबैभन्दा बढी हो । काठमाडौँ–नयाँ दिल्लीको हवाई भाडादर योभन्दा कम रहेको यात्रुले बताएका छन् । निजी विमान कम्पनीले काठमाडौँ–धनगढीको हवाई भाडा रु सात हजार नौसयबाट वृद्धि गरी रु सत्र हजारभन्दा बढी पु¥याएको गुनासो यात्रुको छ ।

चाडपर्वको मौका छोपेर आफूखुसी भाडा लिने गरे पनि सरकारको कुनै निकायले चासो नदिएको यात्रु सन्तोष जोशीले गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, “काठमाडौँदेखि नयाँ दिल्लीको हवाई भाडा रु सत्र हजारभन्दा कम छ, आफ्नै देशभित्र यति धेरै भाडा तोकेर आकस्मिक काममा आवागमन गर्न चाहने यात्रुलाई थप सास्ती दिने काम भएको छ ।”

चाडपर्व नजिकिएसँगै गन्तव्यमा आवागमन गर्न बसको टिकट पाउन सकस झेलिरहेका यात्रुलाई हवाई भाडादर वृद्धि हुँदा हवाईमार्गबाट आवागमन गर्ने चाहना पनि पूरा हुन सकेको छैन । धनगढी विमानस्थल कार्यालयका प्रमुख गणेशबहादुर सिंहले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा स्वीकृत भाडा दरअनुसारनै यतिबेला विमान कम्पनीले अधिकतम भाडा लिइरहेको बताउनुभयो ।

“मन्त्रालयले स्वीकृत गरेको भाडादरअनुसार नै विमान कम्पनीले लिइरहेको देखिएको छ”, उहाँले भन्नुभयो, “चाड पर्वको बेला काठमाडौँबाट धनगढी फर्किने यात्रुको चाप बढ्दा अधिकतम भाडा र धनगढीबाट काठमाडाँै जाने यात्रु घट्दा न्यूनतम भाडा लिइरहेको देखिन्छ ।” भाडादर वृद्धिको विरोधमा विमानस्थल कार्यालय परिसरमा युवाको समूहले विरोध प्रदर्शन गरेको छ ।

हाल काठमाडौँ–धनगढीको भाडादर रु १४ हजार सातसय एकदेखि रु १७ हजार एकसय ८६ लिने गरिएको छ । धनगढीदेखि काठमाडौँसम्मको भाडा भने निम्नतम रु सात हजार नौ सय छ । गएको साउन महिनादेखि यात्रुको हवाई टकटमा मूल्य अभिवृद्धि कर(भ्याट) समेत जोड्ने गरिएको छ । यसअघिसम्म टिकटमा भ्याट जोड्ने गरिएको थिएन । पछिल्ला केही महिनादेखि प्रतियात्रु विमानस्थलको सेवा शुल्क काठमाडाँैमा रु चारसय र धनगढीमा रु पाँच सय तोकिएको छ ।

धनगढी विमानस्थलबाट बुद्धएयर र श्री यएरलायन्सले काठमाडौँ–धनगढी–काठमाडौँसम्मको दैनिक हवाई सेवा उपलब्ध गराउँदै आएको छ । यो विमानस्थलबाट दैनिक बुद्धले दुई र श्री एयरलायन्सले चार उडान भर्ने गरेको छ ।

निजी क्षेत्रको समिट एयरले केही दिनदेखि नेपालगञ्ज बेसमा हरेक बुधबार र सोमबार धनगढी–बझाङ–धनगढी, धनगढी–साँफे–धनगढी र धनगढी–बाजुरा–नेपालगञ्जमा हवाई सेवा दिन थालेको छ ।

नेकपा (एकीकृत समाजवादी) का नेता खनाल चीन प्रस्थान

काठमाडौँ, २९ असोज : पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का नेता झलनाथ खनाल चीन प्रस्थान गर्नुभएको छ ।चीनको बेइजिङमा आयोजना हुने तेस्रो बेल्ट एण्ड रोड फोरम (बीआरएफ) मा सहभागी हुन उहाँ गए राति चीन प्रस्थान गर्नुभएको नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय विदेश विभाग सचिव डा शङ्कर खतिवडाले राससलाई जानकारी दिनुभयो ।

खतिवडाका अनुसार पूर्वप्रधानमन्त्री खनालले अक्टोबर १८ मा आयोजना हुने तेस्रो ‘बीआरएफ’ फोरमलाई पनि सम्बोधन गर्नुहुने कार्यक्रम रहेको छ । चीनमा रहँदा नेता खनालले चिनियाँ कम्युनिष्ट पार्टीका नेताहरु साथै सो कार्यक्रमका लागि विभिन्न मुलुकबाट आउने नेताहरुसँग पनि भेटघाट गर्नुहुने कार्यक्रम छ ।

सो कार्यक्रममा सहभागी हुन नेता खनालको साथमा रविलक्ष्मी चित्रकार र प्रा डा युवराज सङ्ग्रौला पनि चीन प्रस्थान गर्नुभएको छ । नेतालगायतको टोली यही अक्टोबर २२ मा स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

निर्वाचन प्रणाली बारे समीक्षा हुनुपर्छ – एमालेका नेता उप्रेती

काठमाडौँ, २९ असोज : “कानुन र विकास निर्माणको पाटोबाट केही गर्न नसकेपछि निरासमा परेका मतदाताले आक्रोशले होइन, हाँसेर हेरिदिउन् भनी आशा थेग्न र भरोसा दिलाउन अहोरात्र जनताको घरदैलोमा पुग्दैआएको छु ।”

सांसदसँग रासस संवादमा नेकपा (एमाले)का नेता हरिप्रसाद उप्रेती मुलुकमा जारी राजनीतिक अस्थिरता, युवा विद्यार्थीको विदेश पलायन, समाजमा देखिएको अविश्वास र आर्थिक सङ्कटका कारण आफू निर्वाचित भएको औचित्यसमेत पुष्टि गर्न धौ धौ परिरहेको प्रतिक्रिया दिनुभयो ।

उहाँले भन्नुभयो, “जनप्रतिनिधि नै अलमलमा परेका बेला मतदाताको अनुहार के उज्यालो होला ! त्यो स्थिति छ । निर्वाचित भएको औचित्य आत्माले सोधिरहेको छ । पुष्टि गर्न सकेको छुइन ।” आफू जनप्रतिनिधि रहेकै बखत किसान, मजदुर, कर्मचारी, शिक्षक, विद्यार्थी, उद्योगी र व्यपारी कोही सन्तुष्टि नभएको घटनाले तनाव सिर्जना गरेको बताउँदै उहाँले केही लिएर जान नसके पनि जनताको सेवामा निरन्तर घरदैलोमै पुगेको जानकारी दिनुभयो ।

निर्वाचन क्षेत्र विकास कार्यक्रममार्फत विगतमा पाएको बजेटको अधिकतम सदुपयोग गरी जनतालाई उत्साहित बनाएको घटना सुनाउँदै उहाँले संविधान जारी भएपछि मुलुकले विकास र समृद्धिमा तीव्रता हासिल गर्छ भन्ने आशामा भरोसा दिलाउन चुकिएको प्रतिक्रिया दिनुभयो ।

विसं २०३६ देखि मुलुकको राजनीति परिवर्तनका लागि विभिन्न समयमा भएका आन्दोलन र क्रान्ति सहभागी भई योगदान पु¥याउनुभएको छ । पार्टीभित्र शालिन र जनप्रिय नेताको परिचयन बनाउनुभएका उहाँ संविधानसभादेखि प्रतिनिधिसभा निर्वाचनमा सर्लाहीबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्दै आउनुभएको छ ।

समानुपातिक र समावेशी चरित्र मात्र होइन, मौलिक हक अधिकारका हिसाबले उत्कृष्ट रहेको संविधानमा साससमेत प्रदूषित वातावरणमा फेर्न नपर्ने तथा परेको खण्डमा मुद्दा हालेर क्षतिपूर्ति भराउन सक्ने प्रावधानतर्फ ध्यानाकर्षण हुन् जरुरी रहेको उहाँले उल्लेख गर्नुभयो ।

विकास निर्माणमा सांसद संलग्न हुन नपाउने हो भने त्यो विषय राज्यले उम्मेदवारलाई निर्वाचन अघि नै स्पष्ट पार्न पर्ने बताउँदै नेता उप्रेतीले राजनीति दलले पनि चुनावी घोषणपत्रमा यो गर्छाै, त्यो गर्छाैं भनी लामो फेरिस्त प्रस्तुत गर्न नहुने तर्क प्रस्तुत गर्नुभयो ।

उहाँले भन्नुभयो, “निर्वाचनका बेला धारा, कुलो, बत्ती, सडक, पुल नभएको ठाउँमा पूरा गर्छांै भनिएको छ, निर्वाचन आयोग, अदालत र सरकारले त्यस बेला सांसद विकास निर्माणमा लाग्न हुन्न भनेर किन नबोलेको, जनताले घोषणापत्र हेरेर भोट हालेका हुन्, अहिले उनीहरुलाई धोका दिन मिल्छ !”

संसद्भित्र रहेको समीकरणको आधारले कानुन निर्माणलाई कति प्रभावकारी र तीव्र तुल्याउन सकिन्छ भन्ने भूमिका निर्धारण गर्ने उल्लेख गर्दै सांसद उप्रेतीले विधेयक बनाउने भूमिकामा रहेको मन्त्रालयको तयारीमा धेरै कुरा निर्भर रहने धारणा राख्नुभयो ।

पूर्वमन्त्री उप्रेतीले भन्नुभयो, “नागरिकता विधेयक रोकिँदा धेरै अलमल र समय बर्बादी भयो, सुन प्रकरणले पनि धेरै दिन सदन प्रभावित रह्यो । कतिपय अवस्थामा ढिलाइ हुँदा अनियमिता रोक्न पनि सहयोग पुग्छ ।”सुनकै अक्षरले लेखिए पनि परिणाम सबै राम्रै दिन्छ भन्ने औचित्य पुष्टि गर्न कठिन हुने उल्लेख गर्दै उहाँले यति सानो मुलुकमा यति धेरै संरचना आवश्यक नरहेकाले खर्चलगायत कारणले सङ्घीयताको कार्यान्वयनमा चुनौती खडा गरिरहेको प्रतिक्रिया दिनुभयो ।

एक प्रश्नको जवाफमा नेता उप्रेतीले कोशी, मलङ्गवा, नेपालगञ्जमा सामाजिक सद्भाव र सहिष्णुतामा खलल पु¥याउन कोसिस भइरहेका बेला दिइने कतिपय उत्तेजनापूर्ण अभिव्यक्तिले असहिष्णुताका लागि बल पु¥याउनेतर्फ समयमै सचेत र सजग हुन आवश्यक रहेको सुझाव दिनुभयो ।

पछिल्ला निर्वाचनमा हुने गरेको खर्चले निष्ठाको राजनीतिक गर्ने ओझेलमा पर्ने र चुनावमा जति पनि खर्च गर्न सक्ने उद्योगी, व्यापारी र ठेकेदारको हाली मुहाली रहने परिस्थिति सिर्जना गरेकाले अभ्यासमा रहेको निर्वाचन प्रणालीमा व्यापक पुर्नविचार र सुधारको खाँचो उहाँले औँल्याउनुभयो ।

पूर्वमन्त्री उप्रेतीले भन्नुभयो, “खर्चका हिसाबले भ्रष्टाचार र निर्वाचन एक अर्काका पर्यायका रुपमा आएको देखियो । नागरिक अधिकार र लोकतन्त्रका लागि जीवन खर्चेका निष्टाको राजनीतिक गर्ने चुनाव नै लड्न नसक्ने भए भने तस्करी र माफियाको वर्चश्व रह्यो । चुनावी प्रणाली नसच्याए लोकतन्त्र नै धरापमा पर्न सक्छ ।”

नेताका परिवारलाई धमाधम सासद बनाउने प्रवृत्तिले समानुपातिक निर्वाचनको औचित्यमा गम्भीर प्रश्न उठेको बताउँदै उहाँले अभ्यासमा रहेको निर्वाचन प्रणालीबारे निर्मम भएर सोच्न पर्ने अवस्था आएको प्रतिक्रिया दिनुभयो ।

एक प्रश्नको जवाफमा सांसद उप्रेतीले खर्चका हिसाबले प्रत्यक्षतर्फको सांसदको सङ्ख्या घटाउन र राष्ट्रियसभामा रहेको सङ्ख्या बराबर समानुपातिक प्रतिनिधित्व हुने व्यवस्था कायम गर्न आवश्यक रहेकोे तर्क थियो ।

कतिपय सांसदले आवेगमा दिने अभिव्यक्ति र प्रस्तुत हुने शैलीबाट सदनको मर्यादा र अनुशासन स्खलीत भएको बताउँदै उहाँले आदर्श व्यक्तित्वको कम्जोर प्रतिनिधित्व तथा अरुलाई प्रहार गर्दा आफू सर्वश्रेष्ठ भइन्छ भन्ने मानसिकताको अस्वस्थ्य प्रतिस्पर्धाले त्यो अवस्था सिर्जना भएको टिप्पणी गर्नुभयो ।

सञ्चारमाध्यमलगायतका कारण भ्रष्टाचारका घटना सतहमा आउने र जनताले थाहा पाउने विषय महत्वपूर्ण कुरा भएको बताउँदै सांसद उप्रेतीले त्यसमा संलग्नलाई कारबाहीको दायरामा ल्याउने घटनामा सबैको जोड बल हुनुपर्छ भन्नुभयो ।

विदेशी सहयोगमा स्थापना भई हाल रुग्ण अवस्थामा रहेको उद्योगलाई प्रभावकारीरुपमा सञ्चालनमा ल्याएर युवालाई रोजगारी सिर्जना गर्न सकिने बताउँदै उहाँले वीरगञ्ज चिनी उद्योग, बुटवल धागो कारखाना, गोरखकालीन रबर उद्योग र हेटौँडा कपडा उद्योगलाई नमूना बनाउन सकिने प्रशस्त सम्भावना रहेको विचार प्रकट गर्नुभयो ।

कृषि क्षेत्रको विकास गर्न अनुदान र आधुनिकीकरण गर्न आवश्यक रहेको बताउँदै नेता उप्रेतीले कुनै पनि सरकारले किसानलाई प्रोत्साहन गर्ने कार्यक्रम ल्याउन नसकेको धारणा राख्नुभयो ।राज्यले आउन सक्ने चुनौतीलाई समयमै ध्यान पु¥याउन नसक्दा जीवनलाई मृत्युसँग साटेर ठूलो सङ्ख्यामा युवा विदेश पलायन हुन परेको घटना सुनाउँदै उहाँले जीवनप्रतिको मोह हराएकै कारण समाजमा अराजकताको स्थिति उत्पन्न गरेको विचार प्रकट गर्नुभयो ।

सांसद उप्रेतीले भन्नुभयो, “प्रकृतिक स्रोत र साधनले परिपूर्ण, सानो र सुन्दर देश छ, अनुशासित र दृढ सङ्कल्पित भई काम गर्नुपर्छ, अनि छोटो समयमै देशमा समृद्धि हासिल गर्न सकिन्छ, हामी त्यसमा काम गर्छाैं, त्यो विकास सन्ततिले होइन, हामीले नै भोग गर्न पाउँछौँ ।”

‘द भ्वाइस अफ नेपालु सिजन–५’ मा को ब्याटल राउन्डका लागि छानिए माडीका सञ्जय बराल

काठमाडौं – चितवन माडीका सञ्जय बरालले गायन रियालिटी सो ‘द भ्वाइस अफ नेपालु सिजन–५’ मा आफ्नो प्रस्तुति राखेका छन् । उनी यस सिजनको ब्लाइन्ड अडिसनबाट ब्याटल राउन्डका लागि छनौट भएका हुन् ।

माडी-७ दिवानगर निवासी बरालले दिएको प्रस्तुति कोचहरुले मनपराएका थिए ।उनलाई गायिका तथा कोच मिलन नेवारले बजर गरी द भ्वाइस अफ नेपालको ब्लाइन्ड अडिसनमा स्वागत गरेकी थिइन् । सञ्जयले सो कार्यक्रममा गायक नविन के भट्टराईको ‘आँखामा तिमीलाई पाउनेछु म धेरै धेरै’ बोलको गीत गाएका थिए ।

गोरखाकोअजिरकोटमा खादा र प्लाष्टिकका बोतल प्रयोगमा निषेध

गोरखा, २९ असोज- गोरखाको अजिरकोट गाउँपालिकामा पालिकाभित्र सार्वजनिक कार्यक्रममा खादा र प्लाष्टिकजन्य सामग्री प्रयोगमा निषेध गरिएकोे छ । गाउँपालिकाले पालिकाभित्र हुने सार्वजनिक कार्यक्रममा बाहिरबाट आयात गरेर ल्याइने खादा, प्लाष्टिकका बोतल र प्लाष्टिकजन्य सामग्री प्रयोगमा रोक लगाएको गाउँपालिका अध्यक्ष दीपक देवकोटाले जानकारी दिनुभयो ।

“स्थानीयरुपमा कृषकले उत्पादन गरेका फूलको प्रयोगमा जोड दिँदै बाहिरबाट हुने आयातलाई रोक्न गाउँपालिकाले यस्तो निर्णय गरेको हो”, उहाँले भन्नुभयो, “अबदेखि पालिकाभित्र हरेक सार्वजनिक कार्यक्रममा खादाको सट्टामा स्थानीयस्तरमा उत्पादन हुने फूल र फूलबाट बनेका वस्तुलाई प्रयोगमा ल्याइनेछ ।”अनावश्यक रुपमा खादाको प्रयोग बढ्दै जाँदा स्थानीयस्तरमा उत्पादित फूलले बजार नपाएर खेर जाने गरेको उहाँको भनाइ छ । खादा र प्लाष्टिकजन्य सामग्री भित्र्याउँदा पालिकाबाट एकातर्फ रकम बाहिरिने र अर्कोतर्फ किसानको उत्पादन, श्रम र पसिना खेर जाने अवस्था पनि आउने गरेकाले स्थानीय उत्पादनलाई प्राथमिकता दिने पालिकाको नीति तथा योजनाअनुसार यस्तो निर्णय गरिएको अध्यक्ष देवकोटाले बताउनुभयो ।“अजिरकोट गाउँपालिका प्राकृतिक रुपमा एक भरिपूर्ण गाउँपालिका भएकाले यहाँको जङ्गलमा सप्तरङ्गी लालीगुराँसलगायतका अन्य विभिन्न प्रकारका फूल प्रसस्त रुपमा पाइन्छन्”, अध्यक्ष देवकोटाले भन्नुभयो, “तिनै उत्पादित फूलको अब भरपुर उपयोग गर्ने गरी योजना बनाएर काम गर्नुपर्छ, त्यसका लागि गाउाँपालिकाले चालेको पहिलो र महत्वपूर्ण निर्णय पनि हो ।”गाउँपालिकाले चालु आवको नीति तथा कार्यक्रमै पालिकाभित्रका सार्वजनिक कार्यक्रममा खादा र प्लाष्टिकजन्य सामग्री प्रयोगलाई हटाउने नीतिगत निर्णय गरेको थियो । सोहीबमोजिम कार्यपालिकाको बैठक बसेर पालिकाभित्र खादा र प्लाष्टिकजन्य सामनमा पूर्णरुपमा रोक लगाउने निर्णय गरेको अध्यक्ष देवकोटाको भनाइ छ ।निर्णयसँगै अब सार्वजनिक कार्यक्रममा प्लाष्टिकका बोतलको पानी र अन्य प्लाष्टिकजन्य सामानको प्रयोग पनि गर्न नपाइएको उहाँले बताउनुभयो । पालिकाको निर्णयले पालिकामा पर्यावरण सुरिक्षत राख्न तथा अजिरकोटलाई स्वच्छ, सफा र हराभरा पनि सहयोग पुग्ने गाउँपालिकाले विश्वास लिएको अध्यक्ष देवकोटाले बताउनुभयोे ।

च्याङ्ग्राको मूल्य महँगो, स्थानीय खसीबोकाको मूल्य उस्तै

बलेवा (बागलुङ), २९ असोज- नवदुर्गा सुरु भएसँगै बागलुङमा खसीबोकाको बिक्री  सुरु भएको छ । गाउँका बजारदेखि बागलुङ बजारमा मासुको बिक्री वितरण बढ्दो छ । पछिल्लो समय खुकुराको मासुको मूल्य केही वृद्धि हुँदा दसैँको समयमा खसीबोकाकै माग बढ्दो छ ।

 हिमाली क्षेत्रबाट आउने च्याङ्गाको मूल्य प्रतिगोटा रु आठदेखि दश हजार मूल्य वृद्धि भएको छ । अघिल्लो वर्ष रु ४० हजारसम्म पाइएको च्याङ्ग्रा यो वर्ष रु ५० हजार बढी पर्ने व्यवसायी बताउँछन् । तर यस दसैँमा स्थानीय खसीबोकाको मूल्यमा भने अघिल्लो वर्षको भन्दा घटबढ छैन । चीनबाट मुस्ताङको बाटो हुँदै आउने च्याङ्ग्रा यो वर्ष नेपाल भित्रिएनन् । कोरला नाका नखुलेकाले चीनका च्याङ्ग्रा नेपाल नभित्रिँदा मूल्य बढेको व्यवसायी बताउँछन् । “दसैँअघिकै भाउमा स्थानीय खसीबोकाको कारोबार भएको छ, बजारमा एक किलो स्थानीय खसीको मूल्य रु एक हजार एक सय छ, जुन मूल्य अघिल्लो दसैँमा पनि थियो”, बागलुङको जैमिनी नगरपालिका–१० राङ्खानीका तिलक पौडेलले भन्नुभयो, “कुखुरा र च्याङ्गाको मूल्य बढे पनि स्थानीय खसीबोकाको मूल्यमा खास वृद्धि भएको छैन ।  खसीबोकाको मासुको मूल्य तोक्ने निकायले ध्यान नदिँदा वर्षौं एउटै मूल्यमा खसीबोका बिक्री गर्नुपरेको किसानको गुनासो छ । “च्याङ्ग्राको मूल्य हरेक वर्ष बढ्दो छ, सबैले किनेर खाएकै छन्, यहाँ किसानले दुःख गरेर उत्पादन गरेको खसीबोका दसैँका बेला ओझेलमा पर्छन्”, जैमिनीकै किसान भीम शर्माले भन्नुभयो, “व्यावसायिक उत्पादनमा लागेका किसानलाई समस्या छ ।”  भेटिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बागलुङका अनुसार बागलुङ मासुमा आत्मनिर्भर छ । आव २०७८÷०७९ को तुलनामा २०७९÷०८० मा बाख्राको उत्पादन मात्रै १ दशमलव ३३ प्रतिशतले बढ्दो छ । २०७८÷०७९ मा १२ लाख ७४ हजार खसीबोका र बाख्रा उत्पादन भएको जिल्लामा २०७९÷०८० मा १२ लाख ९१ हजार खसीबोका उत्पादन भएको तथ्याङ्क छ । भेडाको समेत राम्रो उत्पादन हुने बागलुङमा ० दशमलव ३३ प्रतिशतले उत्पादन बढेको विज्ञ केन्द्रका प्रमुख डा ऋषिराम सापकोटाले बताउनुभयो । दसैँमा भैँसी, राँगा, बङ्गुर हाँस र खरायोलगायतका पशुचौपायको मासु प्रयोग हुने गरेको छ । “पहिले दसैँका बेला मधेसबाट खसीबोका आउँथ्यो अहिले त्यो बन्द भएको छ, बागलुङ बजारमा गाउँबाट खसीबोका आउँछन्”, उपभोक्ता मञ्च बागलुङका अध्यक्ष शैलेन्द्र श्रेष्ठले भन्नुभयो, “स्थानीय उत्पादन प्रयोगमा आउनु राम्रो पक्ष हो ।” स्थानीय उत्पादन वृद्धि हुँदा दसैँको बेला जिल्ला बाहिर जाने लाखौँ रुपैयाँ बाहिरिनबाट जोगिएको उहाँको धारणा छ । 

हेर्नुहोस् असोज २९ गते सोमवारको राशिफल

ज्यो.प. सरोज घिमिरे/मेष राशि – दाम्पत्य सम्बन्धमा सामान्य तनाव उत्पन्न हुन सक्नेछ । ब्यापार ब्यवसायका क्षेत्रमा समय उत्तम रहेकोछ । शारीरिक आलस्यताले सताउन सक्नेछ । नयाँ लगानिमा सजग रहनु होला । पारीवारिक झोर झमेलाले सताउनेछ । मनको चन्चलताले गर्दा कार्य क्षेत्रमा सामान्य ढिलाई हुन सक्नेछ ।

बृष राशि – मान्यजनको साथ सहयोगमा गरीएका कार्य भने सफल रहलान । नयाँ कार्य थालनिका निम्ति आट र साहशको कमि आउनेछ । शारीरिक आलस्यले कार्य ढिलाई हुन सक्छ । अरुको बिश्वासमा गरीएका कार्यहरुमा सामान्य झझट पैदा हुन सक्ला । अनायासै यात्राको सम्भाबना रहन सक्नेछ ।

मीथुन राशि – पारीवारिक झोर झमेलाले सताउन सक्छ । अप्रिय खबरले मानसिक चिन्ता ब्यहोर्नु पर्ला । आम्दानि क्षेत्र भने मध्यम रहेको छ । भोग बिलासको क्षेत्रमा समय ब्यतित हुन सक्छ । बौधिक ब्यक्तित्व सँगको भेटघाटले मन हर्सित तुल्याउला । नयाँ कार्यको थालनिले आम्दानि सबल तुल्याउनेछ ।

कर्कट राशि – परीश्रम अनुरुप फल प्राप्ति नहुनाले मनमा खिन्नता बोध हुनसक्छ । मान्यजनको साथ सहयोग प्राप्त हुनाले मन प्रशन्न रहला । काम कार्यको क्षेत्रमा बिषेश ध्यान दिनु होला । पारीवारिक साथ सहयोग बाट कार्य सम्पादनमा मद्दत पूग्नेछ । बाणीको चातुर्यताले नयाँ मित्र प्राप्त हुन सक्छन ।

सिंह राशि – मित्रजनको साथ सहयोग भरपुर रहनेछ । मानसिक चन्चलताले गर्दा कार्य सम्पादनमा सामान्य झन्झट ब्यहोर्नु पर्ला । ब्यापार ब्यवसायको क्षेत्र भने राम्रो रहेको छ । सामान्य यात्रा हुनसक्ने सम्भाबना रहेको छ । मान्य जनको साथ सहयोग प्राप्त हुनाले सामाजिक कार्यको क्षेत्रमा अग्रसर भईनेछ ।

कन्या राशि – बौधिक क्षेत्रका ब्यतित्व सगँको संगत द्वारा मन प्रशन्न रहला । खानपानको गडबढीले स्वास्थमा सामान्य बाधा आउन सक्छ । बोलिको कारण आफन्तजनहरु रुष्ट रहन सक्छन सजग रहनु होला । दीर्घकालिन फाईदा मुलक काममा लगानि लगाउने राम्रो समय रहेको छ तर तत्कालिक आर्थिक अभाब झेल्नु पर्ला ।

तुला राशि – साधारण चोट पटक लाग्न सक्ने सम्भाबना रहेको छ । प्रेमी प्रेमीका बिच खट्पट रहन सक्छ । कार्य सम्पादनमा आटँको कमि रहला । ब्यापार ब्यवसायका माध्यम बाट आम्दानीका श्रोत सुदृण बन्नेछ । साजेदारी काममा हात नहाले कै बेस रहने छ ।सभा सम्मेलन जन्य कार्य सहभागीता मिल्नेछ ।

बृश्चिक राशि – मित्रजनहरुको लागी साधारण खर्चहुन सक्ने सम्भाबना रहेको छ । खराब संंगतको कारणले सामान्य झन्जट ब्यर्होनु पर्ला । ब्यापार ब्यवसायमा सामान्यतय हानि रहन सक्ने छ । कला कौशलको प्रयोगलमा समय ब्यतित रहने योग रहनेछ । नजिकका ब्यक्ति बाट बिश्वासघात हुन सक्छ ।

धनु राशि – हरकोहिको पुर्ण बिश्वास नर्गनु होला धोका हुन सक्छ । नयाँ कामको क्षेत्रमा लगानि नगरेकै बेश हुनेछ । मेहेनत र परीश्रम को कदर हुन सक्ने योग रहेको छ । मित्रजन को साथ सहयोय प्राप्त हुनेछ । कार्य कुसलताले मान्यजनको मन जित्न सफल रहने योग रहेको छ । यात्रामा साबधानि अपनाउनु होला ।

मकर राशि – मान्यजनको साथ सहयोग प्राप्त हुनाले मन प्रशन्न रहला । पारीवारिक सम्बन्धमा सुधार आउनेछ । कष्टकर यात्रा रहन सक्छ । शारिरिक आलस्यता ले सताउने छ । सभा समेलनमा सरीक हुने योग रहेको छ । सामान्य कार्यको निम्ती धेरै समय ब्यतित हुनाले मानसीक तनाबको सामना गर्नु पर्नेछ ।

कुम्भ राशि – दाजु भाई तथा मित्रजनको साथ सहयोग प्राप्त हुनेछ । यात्राकारक दिन रहेकोछ । तपाईको मेहेनतको फल अनायासै अरुलाई मिल्ने छ । गरिरहेको काममा सामान्य झन्जट सहनु पर्ला । लगानिको क्षेत्रमा सजग रहनु पर्ने दिन रहेको छ । कुरा काट्ने ब्यक्तिको कमि नरहला । धैर्य धारण गर्ने क्षमतामा बृद्धि हुनेछ ।

मिन राशि – शारीरिक अस्वस्थाका कारण कार्य सम्पादनमा समस्या आउन सक्छ । सामान्य कार्यको निम्ती धेरै समय ब्यतित हुनाले मानसीक तनाबको सामना गर्नु पर्नेछ । मान्य जनको साथ सहयोग पुर्ण रुपमा प्राप्त नहुनाले मनमा खिन्नता बोध हुनेछ । माल सामान को क्षति ब्यहोर्नू पर्ला सजग रहनु होला ।

स्थानीय तहलाई पठाइयो ८० वटा नमुना कानुन

काठमाडौँ। सरकारले सङ्घीयता कार्यान्वयनमा सहजीकरण गर्ने उद्देश्यले ८० वटा नमुना कानुन निर्माण गरी स्थानीय तहलाई पठाएको छ । स्थानीय तहको कामलाई थप प्रभावकारी र व्यवस्थित गर्न सङ्घीय सरकारले स्थानीय तहका लागि नमुना कानुन निर्माण गरेको हो ।

कतिपय कानुन निर्माणका लागि स्थानीय तहसँग अनुभव र दक्ष जनशक्तिको अभाव हुँदा सङ्घीय सरकारले स्थानीय तहको कामलाई सहजीकरण गर्न नमुना कानुन निर्माण गरेको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।

सरकारले २०७४ सालदेखि अहिलेसम्म नमुना कानुन निर्माण गरी स्थानीय तहलाई पठाइसकेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय आफैँले ६० वटा र सम्बन्धित विषयको सम्बन्धित मन्त्रालयले २० वटा नमुना कानुन निर्माण गरिएको मन्त्रालयले जनाएको छ । सङ्घीय सरकारले निर्माण गरेका कानुनमध्ये कार्यविधि, निर्देशिका, मापदण्डलगायतका छन् । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

इजरायलमा निधन भएकामध्ये पाँच नेपालीको शव प्राप्त

काठमाडौँ- गत हप्ता दक्षिणी इजरायलको सेडोट नेगेब एग्रिकल्चर सेन्टरअन्तर्गत किब्बुट्ज अलुमिममा प्रशिक्षणरत रहेकै बखत हमास समूहको आक्रमणमा परी निधन भएका १० नेपाली विद्यार्थीमध्ये पाँच जनाको शव प्राप्त भएको छ ।

इजरायलको तेल अबिबस्थित नेपाली राजदूतावासका अनुसार निधन भएकामध्ये नारायणप्रसाद न्यौपाने, लोकेन्द्रसिंह धामी, गणेशकुमार नेपाली, दीपेशराज विष्ट र अशिष चौधरीको शव आज प्राप्त भएको हो ।सो घटनामा परी निधन भएका अन्य शव प्राप्त हुने क्रममा रहेको दूतावासले आज विज्ञप्तिमार्फत जनाएको छ । प्राप्त शव ढिला नगरी नेपाल पठाउन आवश्यक समन्वय भइरहेको र उपलब्ध संयन्त्रको प्रयोग गरी सम्पर्कविहीन रहेका विपिन जोशीको खोजी अझै तीव्र पारिएको विज्ञप्तिमा उल्लेख छ । आक्रमणमा परी घाइते भएका चार जनामध्ये दुईजना अस्पतालबाट डिस्चार्ज भएका (एकजना नेपाल पुगिसकेका र एकजना दूतावासको हेरचाहमा रहेका) छन् भने दुईजना अस्पतालमा उपचाररत छन् ।

नेपालबाट १ अर्ब २२ करोडको अदुवा निर्यात

काठमाडौँ । आर्थिक वर्ष २०८०/८१ को दुई महिनामा ३३ करोड रूपैयाँको २६ लाख १४ हजार १७८ किलो अदुवा दुई महिनामा निर्यात भएको छ । गत आवमा नेपालबाट २ करोड ३० लाख १३ हजार ६८२ किलो अदुवा निर्यात भएको थियो ।

भन्सार विभागका अनुसार नेपालबाट बंगलादेश, भारत, नेदरल्यान्ड्स, जापान, युनाइटेड अरब इमिरेट्स, जर्मनी, जापान, कतारलगायत मुलुकमा नेपालबाट अदुवा निर्यात हुने गरेको छ । सन् २०२१ / २२ मा नेपालमा २ लाख ८७ हजार मेट्रिक टन अदुवा उत्पादन भएको सरकारी तथ्यांकले देखाउँछ । नेपालमा २२ हजार ४४१ हेक्टर क्षेत्रफलमा अदुवा खेती हुँदै आएको छ । गत वर्ष अदुवा निर्यात गरेर १ अर्ब २२ करोड २२ लाख रूपैयाँ बराबरको विदेशी मुद्रा नेपालले आर्जन गरेको छ ।अदुवा विश्वमै उत्कृष्ट र लोकप्रिय मसला बाली हो । यसलाई नगदे बालीको रूपमा पनि लिइन्छ । अदुवाको स्वादले तरकारी, मासुलगायत परिकारमा विशेष स्वाद आउने भएकाले यसको प्रयोग गरिन्छ । अदुवा औषधिजन्य गुणसमेत भएकाले विभिन्न औषधिमा समेत प्रयोग गर्ने जानकारहरू बताउँछन् । आजको नागरिक दैनिकमा समाचार छ ।

मेलम्ची खानेपानी आयोजनाको मुहान सारिने

काठमाडौँ । मेलम्ची खानेपानी आयोजनाको मुहान ( हेडवर्क्स) सारिने भएको छ । अहिले सिन्धुपाल्चोकको हेलम्बुमा रहेको हेडवर्क्स सो क्षेत्रको भूबनोट तथा बाढीपहिरोको जोखिमका कारण सार्नुपर्ने भएको मेलम्ची खानेपानी आयोजना विकास समितिले जनाएको छ ।

समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले एसियाली विकास बैङ्क (एडिबी) ले गरेको अध्ययन प्रतिवेदनका आधारमा आयोजनाको हेडवर्क्स अहिले भएको स्थानभन्दा करिब एक किलोमिटर माथि सार्नुपर्ने भएको जानकारी दिए। एडिबी सो आयोजनाको दातृ निकाय हो । मेलम्ची खोलामा आएको पटक पटकको बाढीपहिरोले सो हेडवर्क्स क्षतिग्रस्त हुँदै आएको छ ।पन्तले भने, “बैङ्कले आयोजनालाई अध्ययन प्रतिवेदन बुझाइसकेको छ । अब सो सम्बन्धमा काम अगाडि बढाउन सरकारले निर्णय गर्नु पर्छ। निर्णयपछि नयाँ हेडवर्क्स बनाउन सिफारिस गरिएको ठाउँको भौगर्भिक अध्ययनका साथै विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) निर्माण गर्न परामर्शदाता चयनका लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गर्नु पर्छ। भौगर्भिक अध्ययन (डिपिआर) प्रतिवेदन स्वीकृत भएपछि हेडवर्क्स निर्माणका लागि निर्माण कम्पनी छनोट प्रक्रिया अगाडि बढ्छ ।’ आजको गोरखापत्र दैनिकमा समाचार छ ।

देश बनाउने अभियानमा जुट्न कांग्रेस महामन्त्री शर्माको आह्वान

नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राजनीतिक दलहरुले मिसन २०८४ नभई देश बनाउने मिसनमा लाग्नुपर्ने बताउनुभएको छ । नेपाली काँग्रेस भक्तपुर नगर समितिको १४ औँ नगर सम्मेलनको  उद्घाटन गर्दै उहाँले केही राजनीतिक दल र नेताहरुले मिसन २०८४ को नारा दिएर लोकतान्त्रिक व्यवस्थाकै खिल्ली उडाएको बताउनुभयो ।

“मिसन २०८४ को नारा दिएर अहिले केही दल र व्यक्तिले यो व्यवस्थालाई नै खिल्ली उडाउने प्रयास गरिरहेका छन्, हामीले अब चुनाबको चिन्ता होइन, देशको चिन्ता गर्नुपर्छ, यस्ता चुनावी मिसन त हामीले २०४६ सालदेखि अहिलेसम्म धेरै लडिसक्यौँ,” महामन्त्री शर्माले भन्नुभयो, “म सम्पूर्ण लोकतान्त्रिक शक्तिलाई के भन्न चाहन्छु भने चुनाबको अब चिन्ता छाडौँ, देशको चिन्ता गरौँ, देश बनाउने साझा मुद्दामा लागौँ ।”हामीले भ्रष्टाचार रोकथाम गर्ने कानून बनायौँ तर कानून बनाउने नै अख्तियारमा पुगेर सजाय भोग्दा पनि कांग्रेसले स्वागतनै गर्यो त भन्दै उहाँले विधि र पद्धतिमा मुलुक चल्नु पर्छ, भन्ने पक्षमा आफू रहेको बताउनुभयो । हामीले गरेको राम्रा कामलाई देखाउन पनि सकेनाँै, हामीबाट भएको गल्ती र कमजोरीको जिम्मेवारी पनि लिन नसकेको उल्लेख गर्नुहुँदै उहाँले जिम्मेवारी लिनुपर्ने बताउनुभयो ।कांग्रेसका केन्द्रदेखि गाउँ तहसम्मका नेता तथा कार्यकर्ताले बाटो बिराएको हो कि भन्ने गुनासो बढिरहेको सुनाउनुहुँदै महामन्त्री शर्माले राष्ट्रियता र संसदीय व्यवस्थाको विपक्षमा पार्टीले कुनै पनि सम्झौता नगर्ने बताउनुभयो । कार्यक्रममा कांग्रेसका बागमती प्रदेश सभापति इन्द्र बानियाँ, पार्टीका भक्तपुर सभापति एवं प्रतिनिधिसभा सांसद दुर्लभ थापालगायतले कांग्रेसलाई गाउँ, नगर र जिल्ला तहबाटै मजबुद बनाएर लैजान कांग्रेस एक हुनुपर्ने बताउनुभयो ।

राष्ट्रिय स्वतन्त्र पार्टीले दुई दिने ‘नीति मन्थन’ कार्यक्रम गर्ने

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मूल दस्तावेज निर्माणका लागिसुझाव लिन दुई दिने ‘नीति मन्थन’ कार्यक्रम गर्ने भएको छ । यही असोज २९ र ३० गते हुने नीति माथिको बहसका लागि सातवटा विषय छुट्याइएको छ । फरक फरक विषयका जानकारसँग पार्टीले विचार मन्थन गर्ने प्रवक्ता मुकुल ढकालले जानकारी दिनुभयो ।

पहिलो दिनमा पाँच र दोस्रो दिनका लागि दुई विषय गरी बहसका विषय छुट्याइएको छ । सात विषयमा शासकीय व्यवस्था र समाजको बदलिँदो चरित्र पहिलो सत्रका लागि छुट्याइएको हो ।दोस्रो सत्रमा शिक्षा, नयाँ प्रविधि र युवा विषय रहनेछ । डा नीति अर्याल, डा सुरेश मानन्धर, बालकृष्ण जोशी, सन्तोष पाण्डे र प्रिया सिग्देललाई विषय विज्ञका रुपमा आमन्त्रण गरिएको छ ।पहिलो दिनको तेस्रो सत्रका लागि ‘भौतिक पूर्वाधार, वातावरण र जलवायु परिवर्तन’ विषय राखिएको छ । डा सङ्गीता सिंह, डा अरविन्दकुमार मिश्र, डा वसन्तराज अधिकारी, शिलशिला आचार्य र भूषण तुलाधरले विषय विज्ञका रुपमा धारणा राख्नुहुने रास्वपाले जनाएको छ ।

यस वर्षको मन्सुन नेपालबाट बाहिरियो

काठमाडौँ- नेपालमा गत जेठ ३१ गते भित्रिएको यस वर्षको मन्सुन आईतबारदेखि बाहिरिएको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पुर्वानुमान महाशाखाका अनुसार नेपालमा मनसुन बाहिरिने सरदर मिति अक्टोबर २ रहेकामा यस वर्ष १३ दिन ढिलो गरी मनसुन बाहिरिएको हो । यस वर्षको मनसुन १२४ दिन जति नेपालमा रहेको छ । यही असोज १९ गतेदेखि मनसुन क्रमिक रूपमा बाहिरिन सुरु गरेको थियोे ।

यसैबीच पश्चिमी न्यून चापीय प्रणालीको कारणले आज सोमबारदेखि नेपालको सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका केही स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्का वर्षा तथा उच्च पहाडी भेगमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

नौराते मेला सुरु, तलेजुलाई भित्राइयो दसैँघर

भक्तपुर । घटस्थापनाका दिन आज रातीबाट नौराते अर्थात नवरात्री मेला सुरु भएको छ । आज साँझबाट ब्रम्हायणीमा दर्शनार्थीको भीडा लागेको हो । आज साँझबाट रातीसम्म टोलटोलबाट धिमे बाजा, बासुरी बाजा, छुस्या बाजा लगायतका बाजाहरु बजाएर पूजा लिएर ब्रम्हायणी मन्दिर पुगेर पूर्जा एवं दर्शन गर्ने र मन्दिर परिक्रमा गर्ने गरिन्छ ।

रातको समयमा यहाँका बासिन्दाले शक्तिपीठमा गएर पूजा गर्ने र मेला भर्ने गर्दछन् । बिभिन्न बाजागाजासहित टोल टोलबाट राती मन्दिरमा गएर पूजा गर्ने परम्परा रहेको छ । घट्स्थापनादेखि नौ दिनसम्म राती शक्तिपीठमा मेला लाग्ने भएकाले नौराते मेला अर्थात नवरात्री मेला भन्ने गरिएको संस्कृतविद ओमप्रकाश धौभडेलले जानकारी दिनुभयो ।

घटस्थापनाको दिनबाट सुरु हुने यो मेलामा यहाँका विभिन्न नौ शक्तिपीठमा नवरात्री मेला भर्ने गरिन्छ । रातको समयमा यहाँका बासिन्दाले शक्तिपीठमा गएर पूजा गर्ने र मेला भर्ने गर्दछन् । विभिन्न बाजागाजासहित टोल टोलबाट राती मन्दिरमा गएर पूजा गर्ने परम्रपरा रहेको छ ।

नवरात्री मेलाको पहिलो दिन आज ब्रह्मायणी, दोस्रो दिन महेश्वरी, तेस्रो दिन कुमारी, चौथो दिन भद्रकाली, पाँचौँ दिन बाराही, छैटौँ दिन इन्द्रायणी, सातौँ दिन महाकाली, आठौँ दिन महालक्ष्मी, नवौँ दिन त्रिपुरासुन्दरी र अन्तिममा विजयादशमीको दिन पुनः ब्रह्मायणीमा भव्य मेला गर्दै दशैँको नवरात्री समापन गर्ने प्रचलन रहेको भक्तपुरका संस्कृतिविद धौभडेलले बताउनुभयो ।

नवमीको दिन राती महिषासुर दैत्यको प्रतीकका रुपमा लिइने खमेय (राँगो) जात्रा मनाउने गरिन्छ । नवदुर्गा मन्दिरबाट मदिरा सेवन गराई पूजा गरेको खमेय (राँगो) लाई दौडाउँदै ब्रम्हायणी मन्दिरमा पुर्याएर बलि दिने प्रचलन रहेको छ । नवमीको दिन रातभरी र दशमीको दिनभरी ब्रम्हायणी मन्दिरमा हजारौँको भीडमा मेला लाग्ने गर्दछ ।

त्यसको भोलीपल्ट राती भक्तपुर दरबार स्क्वायरबाट तलेजु भवानीको वाहन सेतो घोडा पायो जात्रा अर्थात खड्ग जात्रा गरी नगर परिक्रमा गर्ने गरिन्छ । स्थानीयले यसलाई पायो न्हयाकेगू जात्रा पनि भन्ने गर्दछन् । भक्तपुरमा दसैँमा मनाइने जात्रा नवदुर्गाको उत्पत्तिसँग सम्बन्धित रहेको संस्कृतिविद् धौभडेल बताउनुहुन्छ । नवदुर्गाका नौ स्वरुप जीवित हुने परम्पराको रुपमा नौराते अर्थात नवरात्री जात्रा चलिआएको उहाँको भनाइ छ । यसअघि मृत्युवरण गरेका नवदुर्गा गण दसैँ सुरु भएसँगै जीवित हुने विश्वास गरिने उहाँले जानकारी दिनुभयो । यो जात्रालाई असत्यमाथि सत्यको विजयका रुपमा मनाउने गरिएको छ ।

तलेजु भवानीलाई भित्रयाइयो दसैँघर
त्यसैगरी आज भक्तपुरको तलेजु भवानीलाई मूलघरबाट दसैँघर भित्रयाइएको छ । तलेजु मन्दिरबाट आज शुभसाइतमा तलेजु भवानीलाई मूलघरबाट दसैंघरमा भित्रयाएर दसैँ सुरु गरिएको तलेजुका मूल नाइके नरेन्द्रप्रसाद जोशीले जानकारी दिनुभयो ।

घटस्थापनादेखि विजयादशमीका दिनसम्म तलेजुलाई दसैंघरमा राखेर पूजा गर्ने परम्परा रहेको उहाँले बताउनुभयो । सप्तमीदेखि महानवमीसम्म तलेजुमा ५४ वटा बोका, ३२ वटा राँगा र २४ वटा हाँस बली दिने परम्परा छ । जात्राका अवसरमा तलेजुमा मूल पुरोहितले मांसाहुती गरेपछि तलेजुमा बली दिने परम्परा छ ।

गाजा युद्धको पहिलो हप्तामा अनुमानित १० लाख मानिस विस्थापित – राष्ट्रसङ्घीय निकाय

जेरुसेलम – संयुक्त राष्ट्रसङ्घीय राहत तथा सहयोगसम्बन्धी निकायले गाजामा जारी द्वन्द्वको पहिलो सात दिनमा करिब १० लाख मानिस विस्थापित भएको जनाएको छ । युएनआरडब्लुएका सञ्चार निर्देशक जुलिएट टौमाले एएफपीसँग भन्नुभयो, “गाजामा जारी युद्धका कारण पहिलो सात दिनमा अनुमानित १० लाख मानिस विस्थापित भएका छन् ।

प्यालेस्टिनी शरणार्थीलाई सहयोग पु¥्याउँदै आएको युएनआरडब्लुएका अधिकारीहरूले भनेका छन्, ‘मानिसहरू घर छोडेर हिँड्ने क्रम जारी रहेकाले यो सङ्ख्या अझ बढी हुने सम्भावना छ ।”

गत अक्टोबर ७ मा इजरायलको दक्षिणी भागमा इस्लामिक लडाकुसमूहले गरेको आक्रमणमा एक हजार ३०० भन्दा बढी व्यक्तिको मृत्यु भएपछि इजरायलले गाजापट्टीमा हमासको निशानामा आक्रमण गर्दै आएको छ ।

इजरायली हवाई आक्रमणमा गाजामा हमासका नेता, लडाकू र उनीहरूका लुकेका स्थानहरूलाई लक्षित गरी गरिएको हवाई आक्रमणमा परी दुई हजार ३०० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ ।

‘स्थिति नियन्त्रणको सुनिश्चितता कसैले पनि गर्न नसक्ने’ इरानको चेतावनी

दोहा – इरानले गाजा पट्टीमा इजरायली भूमि आक्रमणले मध्यपूर्वका अन्य स्थानमा द्वन्द्व बढाउन सक्ने चेतावनी दिएको छ ।इजरायली सेना सीमामा तैनाथ रहेका बेला इरानी विदेशमन्त्री होसेन आमिर अब्दुल्लाहियनर कतारका अमिर शेख तमिम बिन हमाद अल थानीबीच भेटवार्ता भएको छ ।

इरानी विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “कसैले पनि स्थितिको नियन्त्रण र द्वन्द्वको विस्तार नगर्ने ग्यारेन्टी दिन सक्दैन ।“युद्ध र सङ्कटको दायरा विस्तार हुनबाट रोक्न चाहनेहरूले गाजामा प्यालेस्टिनी नागरिक र सर्वसाधारणविरुद्ध वर्तमान बर्बर आक्रमणहरू रोक्न आवश्यक छ,” उहाँले थप्नुभयो ।

अमिर अब्दुलाहियानले अक्टोबर ७ मा हमासका लडाकुहरूले इजरायलमा गरेको आक्रमणमा एक हजार ३०० जनाको ज्यान जाने गरी भएको आक्रमणपछि अमेरिकाले इजरायललाई स्पष्ट समर्थन गर्दै आएको भन्दै आलोचना गरेका छन् ।

हमासका नेतालाई लक्षित गरी गरिएका इजरायली हवाई आक्रमणमा परी दुई हजार ३०० भन्दा बढीको मृत्यु भएको छ । दुवैतर्फ मृत्यु हुनेमा अधिकांश सर्वसाधारण रहेका छन् ।वासिङ्टनमा ह्वाइट हाउसका राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले अमेरिकालाई इजरायलको लामो समयदेखिको शत्रु र हमासको समर्थक इरान ‘प्रत्यक्ष संलग्न’ हुने सम्भावना रहेकोले युद्ध बढ्ने डर रहेको बताउनुभएको छ ।

इराक, लेबनान र सिरियाको क्षेत्रीय भ्रमणका क्रममा इरानका उच्च कूटनीतिज्ञ आइतबार कतार पुगेका थिए ।इजरायलले लेबनानसँगको संयुक्त राष्ट्रसङ्घको गस्तीमा रहेको उत्तरी सीमामा सैनिक र ट्याङ्क तैनाथ गरेको छ भने इरान समर्थित लडाकू समूह हिजबुल्लाहसँगको घातक गोली हानाहानपछि चार किलोमिटर (२.५ माइल) चौडा क्षेत्र सर्वसाधारणका लागि बन्द गरेको छ ।

इजरायललाई समर्थन गर्ने पश्चिमा देशहरूले द्वन्द्वको क्षेत्रीय फैलावटविरुद्ध चेतावनी दिएका छन् ।अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले इजरायलविरुद्ध शत्रुतापूर्ण गतिविधि रोक्न अमेरिकाले यस क्षेत्रमा दोस्रो विमानवाहक पोत तैनाथ गरेको बताएका छन् ।

हमासले गत साताको आक्रमणमा १०० भन्दा बढीलाई बन्धक बनाएको एजरायलले दावी गरेको छ ।इरानी विदेश मन्त्रालयले आइतबार जारी गरेको विज्ञप्तिमा अमिर अब्दुलाहियानले बेरुत र दोहामा हमासका उच्च अधिकारीसँग भेटवार्ता गरेको र उनीहरूले नागरिक बन्धकको मुद्दालाई प्राथमिकता दिएको र आवश्यक कदम चाल्ने बताएका छन् ।तर ती के हुनेछन् भन्नेबारे थप विवरण दिइएको छैन ।

दसैँको अवसरमा खसीबोका प्रदर्शनी

गण्डकी, २८ असोज : दसैँको अवसर पारी पोखरा महानगरपालिकाको आयोजनामा तेस्रो खसीबोका प्रदर्शनी गरिने भएको छ ।बाख्रपालन व्यवसायलाई प्रोत्साहित गर्दै यसतर्फ आकर्षण बढाउने उद्देश्यका साथ पोखरा महानगरपालिका वडा नं २८ को सौर्यबजारमा यही असोज ३० गते खसीबोका प्रदर्शनी गर्न लागिएको पोखरा महानगरपालिका पशुसेवा शाखाका प्रमुुख नवराज अधिकारीले जानकारी दिनुुभयो ।

यसअघि पनि सोही स्थानमा महानगरपालिकाको आयोजनामा २०७६ सालको दसैँ र गत वर्ष खसीबोका प्रदर्शनी गरिएको जानकारी दिदै उहाँले गत वर्ष स्थानीय किसानका ६५ वटा खसीबोका प्रदर्शनीमा राखिएको बताउनुुभयो ।
किसानले पालेका खसीबोकाको उचित मूल्यसहित बजारीकरणका साथै पशुपालनलाई प्रवद्र्धन र किसानलाई प्रोत्साहन गर्न प्रदर्शनी आयोजना गरिएको उहाँले बताउनुभयो । महानगरपालिकाले उक्त क्षेत्रमा व्यावसायिक बाख्रापालनका लागि अनुदान समेत उपलब्ध गराउँदै आएको छ ।

प्रदर्शनीमा कृषकले खसीबोका निःशुल्क राख्न पाउने व्यवस्था मिलाइएको छ । प्रदर्शनीमा एकै घरबाट धैरै सङ्ख्यामा र ठूला खसीबोका बोका ल्याउनेका लागि प्रथम, द्वितीय, तृतीय र सान्त्वना पुरस्कारको व्यवस्था गरिएको प्रमुख अधिकारीले जानकारी दिनुुभयो ।

सामाजिक एकतालाई बलियो बनाउनुपर्छ : उपाध्यक्ष शाक्य

काठमाडौँ, २८ असोज : नेपाल कम्युनिष्ट पार्टी एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले सामाजिक एकतालाई बलियो बनाउनुपर्ने बताउनुभएको छ ।

काठमाडौँ महानगर समितिले आज यहाँ आयोजना गरेका महानगरस्तरीय चङ्गा प्रतियोगिता कार्यक्रममा बोल्दै उहाँले सामाजिक एकतालाई बलियो बनाएर अगाडि बढ्नुपर्ने बताउनुभएको हो । “देशमा जात–जातकाबीचमा विभिन्न अन्तरविरोध र द्वन्द्व सिर्जना भइरहेको छ, उक्त काम गलत हो, सामाजिक एकतालाई बलियो बनाउँदै जानुपर्छ,”– उहाँले भन्नुभयो ।

आजसम्म विभिन्न जातजाति मिलेर बसी राष्ट्रियता बलियो हुन सकेको भन्दै नेतृ शाक्यले अझै सामाजिक एकतालाई बलियो बनाउँदै जानुपर्ने बताउनुभयो । समाजिक एकतालाई मजबुत बनाउन सके नेपाल र नेपालीको पहिचान बलियो हुने उहाँको भनाइ थियो ।

नुवाकोटको किस्पाङ गाउँपालिका डिप्लोमा तहको स्वास्थ्य शिक्षा पढाइ हुँदै

काठमाडौँ, २८ असोज : प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) को सम्बन्धनमा नुवाकोट जिल्लामा पहिलोपटक स्थानीय सरकारबाट सञ्चालन गर्ने गरी किस्पाङ गाउँपालिकामा सामान्य चिकित्सा (एचए) र ‘डिप्लोमा इन फार्मेसी’ का लागि आवेदन खुलेको छ ।

चिकित्सा शिक्षा आयोगको सहमतिमा यही असोज २२ गते परिषद्ले विज्ञटोलीसहित सम्भाव्यता अध्ययन र पूर्वाधार निरीक्षण गरी सम्बन्धन दिने निर्णय गरेसँगै असोज २३ गते परिषद्को परीक्षा नियन्त्रण कार्यालयले किस्पाङ बहुप्राविधिक शिक्षालयका नाममा सूचना जारी गरी दुवै कार्यक्रमतर्फ ४०¬–४० विद्यार्थी कोटा निर्धारण गरेर भर्नाको अनुमति दिएको हो ।बागमती प्रदेशमा यी कार्यक्रमतर्फ सम्बन्धन र कोटा पाउने गाउँपालिकामध्येमै किस्पाङ गाउँपालिका पहिलो भएको छ । सो शिक्षालय जिल्लाको उत्तरी भेग तथा दुर्गम गाउँ किस्पाङ गाउँपालिका–३ एँेसेलुमा रहनेछ ।गत आर्थिक वर्ष र चालु आर्थिक वर्षमा सो गाउँपालिकाले गाउँसभामार्फत रु दुई करोड बजेट सुनिश्चित गरेर मुनाफारहित किस्पाङ बहुप्राविधिक शिक्षालय स्थापना गरी ‘सामान्य चिकित्सा’ र ‘डिप्लोमा इन फार्मेसी’ कक्षा सञ्चालन गर्न माग गरेको थियो ।परिषद्ले यसअघि प्रवेश परीक्षामा सहभागी भएर उत्तीर्ण भइ वैकल्पिक सूचीमा रहेका विद्यार्थीलाई भर्नाका लागि आह्वान गरेको छ भने कोटाअनुसारको भर्ना नभएलगत्तै दोस्रो प्रवेश परीक्षा गराउने जनाएको छ ।गाउँपालिकाले शिक्षण अनुमति प्राप्त गरेसँगै कम शुल्कमा गुणस्तरीय प्राविधिक शिक्षा दिने लक्ष्यका साथ तीन वर्षका लागि एकमुष्ट रु एक लाख ९५ हजार शुल्क तोकेको छ । तीन वर्षको शुल्क एकमुष्ट तोकिए पनि तीन किस्तामा तिर्न सकिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत केदारप्रसाद खतिवडाले राससलाई बताउनुभयो ।उक्त कार्यक्रमका लागि निजी शैक्षिक संस्थाले ‘सामान्य चिकित्सा’ का लागि पाँच लाख र ‘डिप्लोमा इन फार्मेसी’ का लागि रु चार लाख शुल्क लिने गरेका छन् । उक्त गाउँपालिकाले ‘प्राविधिक तथा उत्पादनमूलक शिक्षाः समृद्ध किस्पाङको इच्छा’ नारा पारित गरी कार्यान्वयन गर्दै आएको र प्राविधिक शिक्षालाई निरन्तरता र उत्पादनमूलक शिक्षालाई जोड दिएको छ ।स्थानीय पाठ्यक्रम निर्माण, स्वास्थ्य सहायक, फार्मेसी र जडीबुटी शिक्षा प्राथमिकतामा राखेको उपाध्यक्ष अर्जुन न्यौपानेले बताउनुभयो । सो गाउँपालिकाका स्वास्थ्यसेवाका अधिकृत विनोद न्यौपानेले तीन वर्षको प्रयासपछि दुर्गम गाउँमा सुलभ मूल्यमा यस प्रकारको प्राविधिक शिक्षा उपलब्ध हुनुले कम आय भएका विद्यार्थीका लागि विशेष अवसर हुने बताउनुभयो ।पर्यटनको प्रचुर सम्भावना बोकेको किस्पाङ अब प्राविधिक शिक्षाको केन्द्र पनि बन्ने स्थिति बनेको छ । नुवाकोट जिल्लाको साविक गाविस साल्मे, भाल्चे, काहुले, फिकुरी र मनकामना मिलेर किस्पाङ गाउँपालिका बनेको हो ।

गठबन्धन सरकार नढल्ने नेता नेपालको दाबी

कर्णाली, २३ असोजः नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले वर्तमान गठबन्धन सरकार कुनै पनि हालतमा नढल्ने दाबी गर्नुभएको छ । वीरेन्द्रनगरमा आज आयोजित समाजवादी जागरण अभियानलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले गठबन्धन सरकार ढाल्न धेरै प्रयास भइरहेको तर त्यो सम्भव नहुने बताउनुभयो । उहाँले भन्नुभयो, “कोशी प्रदेशको मुद्दालाई लिएर सरकार ढल्छ भन्ने कसैले सोचेको छ भने त्यो भ्रम हो । गठबन्धन सरकार ढाल्न कसैले सक्दैन ।”

पछिल्लो समयमा एकीकृत समाजवादीले मुलुकमा व्याप्त बेथितिविरुद्ध जागरण अभियान सञ्चालन गरेको स्पष्ट गर्दै नेता नेपालले जनतालाई साथमा लिएर पार्टीलाई बलियो बनाउने बताउनुभयो ।

पूर्वप्रधानमन्त्री नेपालले विभिन्न कालखण्डमा आफूले नेकपा एमाले निर्माणमा योगदान गरेको बताउनुभयो । जागरण अभियानमा नेकपा (एस)का महासचिव घनश्याम भुसाल, उपमहासचिव प्रकाश ज्वालालगायत नेताले पार्टी सङ्गठनका विविध पक्षबारे मन्तव्य व्यक्त गर्नुभएको थियो ।

पेट्रोलियम पदार्थको मूल्य घट्यो

काठमाडौँ, २८ असोज ः नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले आज राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल तथा डिजेल÷मट्टितेलको मूल्यमा क्रमशः प्रतिलिटर रु ११ र रु ५ घटाएको हो ।

निगमका अनुसार चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोलको मूल्य प्रतिलिटर एक सय ६९ तथा डिजेलको मूल्य प्रतिलिटर रु एक सय ६५ कामय भएको छ ।

यसैगरी, दाङ र सुर्खेतमा पेट्रोलको मूल्य प्रतिलिटर रु एक सय ७१ र डिजेलको मूल्य प्रतिलिटर रु एक सय ६७ तथा काठमाडौँ, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर एक सय ७२ र डिजेलको मूल्य प्रतिलिटर रु एक सय ६८ तोकिएको छ ।

यसअघि, चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोलको मूल्य प्रतिलिलटर एक सय ८० तथा डिजेलको मूल्य प्रतिलिटर एक सय ७० रुपैयाँ ५० पैसा, दाङ र सुर्खेतमा पेट्रोलको मूल्य प्रतिलिटर रु एक सय ८२ र डिजेलको मूल्य प्रतिलिटर रु एक सय ७२ तथा काठमाडौँ, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर एक सय ८३ र डिजेलको मूल्य प्रतिलिटर रु एक सय ७३ थियो ।

इन्डियन आयल कर्पोरेसनबाट आज प्राप्त नयाँ खरिद मूल्यअुनसार पेट्रोल र डिजेलको मूल्यमा प्रतिलिटर रु ११.१८ र रु ५.०३ ले घटेर आएकाले पेट्रोलियम पदार्थ मूल्य घटाइएको हो ।

वीरगञ्ज महानगरपालिकाले निर्माण गरेको जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा

पर्सा, २८ असोज : वीरगञ्ज महानगरपालिकाले निर्माण गरेको जनस्वास्थ्य प्रयोगशाला आइतबारदेखि सञ्चालनमा आएको छ । वीरगञ्जमा उपचार गराउन आउने बिरामीहरुलाई सहुलियत दरमा स्वास्थ्य परीक्षण सेवा उपलब्ध गराउने उद्देश्यले महानगरले आफ्नै प्रयोगशाला सञ्चालनमा ल्याएको हो ।

मधेस प्रदेश सरकारको समेत सहयोगमा निर्माण गरिएको प्रयोगशालामा वीरगञ्ज महानगरपालिकाले रु एक करोड लगानी गरेको छ । प्रयोगशालाको आइतबार एक कार्यक्रमबीच जनता समाजवादी पार्टी नेपालका मुख्य सचेतक प्रदीप यादवले उद्घाटन गर्नुभयो ।

त्यस अवसरमा पूर्वमन्त्री यादवले महानगरपालिकाले सञ्चालन गरेको प्रयोगशालाले गरिब नागरिकलाई विशेष सेवा प्रवाह गर्न आग्रह गर्नुभयो । उहाँले वीरगञ्जको नारायणी अस्पतालभन्दा कम शुल्कमा बिरामीको ५४ प्रकारका प्रयोशाला परीक्षण गर्र्ने जानकारी दिँदै उहाँले यसले वीरगञ्जवासी मात्र नभई छिमेकी पाँच जिल्ला र सीमावर्ती भारतीय क्षेत्रका बिरामीलाई समेत फाइदा पुग्ने विश्वास व्यक्त गर्नुभयो । 

वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले वीरगञ्ज महानगरपालिकाले सञ्चालन गरेको स्वास्थ्य प्रयोगशालाबाट प्रदान गरिने सेवाको निरन्तर अनुगमन गर्न सेवाग्राहीलाई अपिल गर्नुभयो । उहाँले महानगरपालिकाले वीरगञ्जवासीमात्र नभई छिमेकी पाँच जिल्ला र सीमावर्ती भारतीय क्षेत्रबाट उपचार गराउन वीरगञ्ज आउने बिरामीलाई सुपथ मूल्यमा औषधी उपलब्ध गराउने सम्पूर्ण तयारी गरिसकेको बताउनुभयो । 

वीरगञ्जको आदर्शनगरस्थित हजारी मल धर्मशाला क्षेत्रमा छठ पर्वपछि पूर्वाधार निर्माण गरी सहुलियत दरमा औषधी उपलब्ध गराउनाका साथै स्त्रीरोग उपचार सेवा प्रदान गर्ने प्रमुख सिंहले जानकारी दिनुभयो । 

महानगरपालिकाले सञ्चालन गरेको स्वास्थ्य प्रयोशालाबाट प्रवाह हुने सेवा प्रचलित बजार मूल्यभन्दा ७५ प्रतिशत सस्तो रहेको महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले जानकारी दिनुभयो । उहाँले प्रयोगशालामा ज्येष्ठ नागरिक, मिर्गौला पीडित, क्यान्सर पीडित, एचआइभी÷सङ्क्रमित, सहिद परिवार र मधेस आन्दोलनका घाइते तथा विपन्न परिवारलाई सबैखाले परीक्षणमा ९० प्रतिशत छुट र अपाङ्गता भएका व्यक्तिहरूलाई ५० प्रतिशत छुटको व्यवस्था गरिएको बताउनुभयो । 

हमाससँग १२६ जना बन्धकका रूपमा रहेको इजरायलको दावी

प्यालेस्टाइनी लडाकू समूहले आठ दिनअघि घातक आक्रमण गरेयता हमासले १२६ जनालाई बन्धक बनाएको इजरायली सेनाले आइतबार पुष्टि गरेको छ ।

अक्टोबर ७ मा हमासले इजरायलमा गरेको आक्रमणमा कम्तीमा एक हजार ३०० जनाको मृत्यु भएको र करिब १५० इजरायली र विदेशी बन्धक बनाएको हुनसक्ने अनुमान इजरायली अधिकारीहरूले गरेका थिए ।

त्यसयता इजरायली बमबारीमा प्यालेस्टाइनी इलाकामा दुई हजार ३०० भन्दा बढीको मृत्यु भइसकेको छ भने दशौं हजार सैनिकहरू आक्रमणको तयारीका लागि गाजाको सीमामा जम्मा भएका छन् ।

सेनाका प्रवक्ता रिचार्ड हेक्टले पनि हमासले एक्कासी गरेको आक्रमणको जवाफमा सुरु गरिएको सैन्य कारबाहीका क्रममा २८६ इजरायली सैनिकको मृत्यु भएको बताएका छन् ।

इजरायली अधिकारीहरूले दक्षिणी इजरायलमा हमास आक्रमण स्थलबाट शवहरू फेला परेका र पहिचान गरिएकाले ज्ञात बन्धकहरूको सङ्ख्यामा परिमार्जन गरिएको बताएका छन् ।

हेक्टले एक ब्रिफिङमा १२६ जनालाई हमासले बन्धकको रूपमा लगेको ‘पुष्टि’ भएको बताउनुभएको छ । यो सङ्ख्या शनिबार १२० बाट बढेको थियो र अधिकारीहरूले आगामी दिनहरूमा यो सङ्ख्या परिवर्तन भइरहने चेतावनी दिएका छन् ।

सेनाले गाजामा छापा मार्दा बन्धक बनाइएका केही व्यक्तिको शव फेला पारेको पनि बताएको छ ।हमासले इजरायली आक्रमणमा २२ जना बन्धक मारिएको दाबी गर्दै आएको छ । उसले अघोषित इजरायली आक्रमणको जवाफमा बन्धकहरूलाई मार्ने चेतावनी दिएको छ ।

पोखराको प्रसिद्ध धार्मिकस्थल विन्ध्यवासिनी मन्दिरमा नवदुर्गा महोत्सव

लेखनाथ (कास्की) २८ असोज : पोखराको प्रसिद्ध धार्मिकस्थल विन्ध्यवासिनी मन्दिरमा नेपालीको महान चाड बडादसैँको अवसर पारेर नवदुर्गा महोत्सव सुरु भएको छ । विभिन्न जातिका वेशभूषा र सांस्कृतिक झाँकीसहित पोखरामा शोभायात्रा निकालेर आज घटस्थापनाको दिनदेखि कात्तिक ६ गतेसम्म नवदुर्गा महोत्सव आयोजना गरिएको हो । विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिका सदस्यसचिव तीर्थ श्रेष्ठका अनुसार यही असोज २८ देखि कात्तिक ६ गतेसम्म नवरात्रि विशेष कार्यक्रम हुनेछ । शोभायात्रामा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, पोखरा महानगरपालिकाभित्रका विभिन्न टोलका आमा समूह, विद्यार्थी तथा सर्वसाधारण लगायतको सहभागिता रहेको थियो ।

विन्ध्यवासिनीदेखि सुरु भएको शोभायात्रा मोहरीयाटोल, भैरवटोल, महेन्द्रपुल, चिप्लेढुङ्गा, बगालेटोल मोहरीयाटोल हुँदै पुनः विन्दावासिनी मन्दिर परिसरमै पुगेर टुङ्गिएको थियो । शोभायात्रामा देवी दुर्गाका विभिन्न नौ अवतार तथा अन्य देवी देवताको झाँकी निकालिएको थियो ।घटस्थापनाको दिन आजदेखि मन्दिरमा श्रीमद्देवी भागवत ज्ञान महायज्ञसमेत प्रारम्भ गरिएको छ । महायज्ञमा प्रखर वक्ता युवा पण्डित हरिशरण पौडेलबाट सङ्गीतमय झाँकीसहित श्रीमद्देवी भागवतको कथा प्रस्तुत गरिने बताइएको छ ।श्रीमद्देवी भागवतको कथा पूर्वाह्न ९ बजेदेखि मध्याह्न १२ बजेसम्म र दिउँसो २ बजेदेखि अपराह्न ४ बजेसम्म प्रवचन हुने जानकारी श्रेष्ठले दिनुभयो । मन्दिरमा विजया दशमीको नित्य पूजाआजा बिहान ४ बजेदेखि गर्ने व्यवस्था मिलाइएको समितिले जनाएको छ ।बडादसैँको स्वागतार्थ शोभायात्रासहित आज घटस्थापना पूजा गरी विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिको आयोजनामा नवदुर्गा महोत्सव सुरु भएको हो । विन्ध्यवासिनी मन्दिरमा २०६४ सालदेखि विन्ध्यवासिनी नवदुर्गा महोत्सवलाई निरन्तरता दिँदै आइएको छ । विगतदेखि शक्तिस्थलका रुपमा पुँजिदै आएको हालको विन्ध्यवासिनी मन्दिर आजभन्दा झण्डै अढाइ शताब्दी पुरानो रहेको अनुमान छ ।“महोत्सवको पहिलो उद्देश्य धर्म संस्कृतिको संरक्षण हो, हाम्रो धर्म संस्कृतिबारे सन्ततिलाई जानकारी र पुस्तान्तरण गर्ने दोस्रो उद्देश्य हो”, सदस्य सचिव श्रेष्ठले भन्नुभयो, “सामाजिक सद्भाव कायम गर्न सकिन्छ भनेर महोत्सव आयोजना गरेका हौँ ।” महोत्सवबाट अर्थ सङ्कलन नै प्रमुख उद्देश्य नभएपनि मन्दिर, महोत्सवमा आएका भक्तजनले आफ्नो खुसीले भेटी चढाउन पाउने श्रेष्ठले बताउनुभयो ।

पोखरामा प्याराग्लाइडिङ पुनः सुरु, पर्यटन व्यवसायी उत्साहित

कास्की, २८ असोज : पोखरामा प्याराग्लाइडिङको उडान आजदेखि पुनः थालिएको छ । पोखरा महानगरपालिका—१८ सराङकोटको तोरीपानीबाट उडान सुरु गरिएको हो ।

पोखरा घुम्न आउने अधिकांश पर्यटकको रोजाइमा पर्ने साहसिक प्याराग्लाइडिङ गत पुस १७ गतेदेखी अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनसँगै हवाई सुरक्षाको कारण देखाउँदै सराङकोटबाट बन्द गरिएको थियो । विमानस्थल सञ्चालनपछि यसको भविष्यलाई लिएर पर्यटन क्षेत्रमा चिन्ता व्यक्त हुँदै आएको थियो । त्यसपछि तत्कालका लागि पोखरा–२४ मान्द्रेढुङ्गाबाट प्याराग्लाइडिङ उडान थालिएको थियो । सराङकोट र तोरीपानीबाट बन्द भएको उडान नौ महिनापछि पुनःतोरीपानीबाट थालिएकामा यहाँका व्यवसायी उत्साहित बनेका छन् ।

मान्द्रेढुङ्गा दुरीका हिसाबले पनि टाढा रहेको र उचाइमा मौसमका कारणले यहाँ प्याराग्लाइडिङ स्थापित हुन सकेको थिएन । तोरीपानी क्षेत्रबाट पुनःउडान सुरु भएसँगै स्थानीयवासी खुसी भएका छन् । पहिलो दिन उडानमा जाने पर्यटकलाई स्थानीयले माला र टीका लगाएर स्वागत गरे ।

नेपाल हवाई खेलकुद संस्थाले नेपाल नागरिक उड्डयन प्राधिकरणको सहयोगमा मान्द्रेढुँगाबाट हुँदै आएको प्याराग्लाइडिङ क्षेत्र विस्तार गरी वाहाकोटको तोरीपानीबाट उडान गरी पामे क्षेत्रमा ‘ल्यान्डिङ’ सुरु गरेको हो । हवाइ क्षेत्रको नियमनकारी निकाय रहेको प्राधिकरणको लामो समयको अध्ययनपछि तोरीपानी क्षेत्रबाट प्याराग्लाइडिङ उडान गर्दा हवाई सुरक्षामा जोखिम नपर्ने प्रतिवेदनपछि यसलाई पूर्ववत स्थानमा फर्काइएको हो ।

पर्यटन व्यवसायीले भने सराङकोटसम्म प्याराग्लाइडिङ क्षेत्र विस्तारको माग गरेका छन् । सराङकोटका विषयमा अझै अध्ययनको प्रक्रियामा नै रहेको छ । नेपाल हवाई खेलकुद संस्था (ना) का अध्यक्ष सुनिलबहादुर भट्टराईले पोखराको प्याराग्लाइडिङका सम्बन्धमा तयार गरिएको अध्ययन प्रतिवेदनपछि नागरिक उड्यन प्राधिरकणले पुरानै स्थानबाट ‘टेकअफ’ को अनुमति प्रदान गरेको बताउनुभयो । प्राधिकरणको एटिएम विभागले ‘सेफ्टी रिक्स एसिस्मेन्ट’ गरी तोरीपानीबाट उड्न स्वीकृति दिएको हो । ‘टेकअफ’ का लागि पूर्ववत स्थान प्राप्त भए पनि अवतरणका लागि भने पामे बजार नजिकको स्थानमा नै गर्नुपर्नेछ ।

अध्यक्ष भट्टराईले भन्नुभयो, “पोखराको पहिचान बनेको प्याराग्लाइडिङको भविष्यलाई लिएर धेरै चिन्तित थियौँ । सबैको सहयोगबाट नौ महिनापछि पहिलाकै स्थानमा क्यानबाट टेकअफ अनुमति पाएका छौँ । यसबाट पुरानै लयमा प्याग्लाइडिङ फर्केनमा आशावादी छौँ ।”

मान्द्रेढुङ्गा अहिलेको स्थानबाट दुरीका हिसाबले दुई किमी टाढा पर्छ । उडान स्थानसम्म पुग्न सडकको असुविधासँगै छिनछिनमा परिर्वतन हुने मौसमले प्याराग्लाइडिङले गति लिन सकेको थिएन । प्याराग्लाइडिङ गर्नेको सङ्ख्या न्यून थियो । मान्द्रेढुङ्गामा लामो समय कुहिरो लाग्ने, हावाको गति तलमाथि भइरहने र बिहानमा लामो समय हुस्सुका कारण समयै पुगेका पर्यटकलाई उडाउन अप्ठ्यारो हुने गरेको प्याराग्लाइडिङ पाइलट विजय गौतमले बताउनुभयो ।

“तोरीपानीभन्दा मान्द्रेढुङ्गा डेढ सय मिटर उचाइमा रहेकाले लामो समय हुस्सु लाग्थ्यो, सडकको अवस्था राम्रो थिएन”, गौतमले भन्नुभयो, “त्यसैले त्यहाँ स्थापित हुनै सकेनौँ, पर्यटकलाई बानी पार्नै सकिएन । अहिले पहिलाकै स्थानमा फर्किएका छौँ, यो ठाउँ सबै हिसाबले उपयुक्त छ, हामी सबै उत्साहित भएका छौँ ।”

पोखरा आउने अधिकांश पर्यटकको रोजाइमा प्याराग्लाइडिङ पर्ने गरेको छ । यसअघि सराङकोटबाट उडान हुँदा पर्यटकीय क्षेत्र लेकसाइड र बजार क्षेत्रबाट चरासरी उडेको दृश्यले सबैको ध्यान तानेको थियो । मान्द्रेढुङ्गाबाट उडान हुँदा प्याराग्लाइडिङको दृश्य पर्यटकले बजारबाट देख्न पाएका थिएनन् । ‘ना’का महासचिव खेमराज आचार्यले तोरीपानीबाट उडान सुरु भएपछि यसले पहिलाकै लय समात्ने विश्वास रहेको बताउनुभयो ।

नाले व्यावसायिक उडान तोरीपानीबाट भए पनि सोलो (एकल) उडनलाई मान्द्रेढुङ्गा विकास गर्ने योजना बनाएको छ । यससँगै तोरीपानीमा पर्यटकको चाप बढेको खण्डमा मान्द्रेढुुङ्गालाई उपयोगमा ल्याउन सकिन्छ । पोखराको आकासमा अहिले सोलो उडान बन्द छ । नवौँ राष्ट्रिय खेलकुदका दौरानमा दुर्घटना भएपछि सोलो उडान बन्द हुँदै आएको छ ।

विसं २०७३ वैशाख १ गते पोखरा अन्तर्राष्ट्रिय विमानस्थल शिलान्याससँगै पोखराको प्याराग्लाइडिङको भविष्यलाई लिएर चासो र चिन्ता व्यक्त हुँदै आएको थियो । नागरिक उड्डयन प्राधिकरणले विभिन्न समयमा विभिन्न अध्ययन गर्दै आएको थियो । प्रतिवेदनहरुमा पोखराको पर्यटनको मुख्य गन्तव्य बनेकाले यसलाई विस्थापित नगरी अन्यत्र कतै स्थापित गर्नुपर्नेमा जोड दिइएको थियो । विमानस्थल उद्घाटनसँगै नागरिक उड्डयन प्राधिरकरणले विभिन्न सर्तसहित १५ दिनका लागि मान्द्रेढुङ्गाबाट उडानको अनुमति दिएको थियो ।

पोखरा प्याराग्लाइडिङ उडानका लागि उत्कृष्ट, प्राकृतिक हिसाबले मनमोहक र हावपानीका हिसावले वर्षभरि उड्न मिल्ने हुँदा स्वदेशी एवं विदेशी पर्यटकहरुको रोजाइको विधा बन्दै आएको छ । पोखरामा दुई दशक अघिदेखि प्याराग्लाइडिङ सञ्चालन हुँदै आएको छ । पर्यटकीय सहरमा सञ्चालन भएको प्याराग्लाइडिङमा साहसिक पर्यटक आकर्षित हुँदै आएका छन् । पोखरा आउने विदेशी तथा स्वदेशी पर्यटक साहसिक गतिविधि प्याराग्लाइडिङमा रमाउने गर्दछन् । हवाई खेलकुदको माध्यउमबाट नेपालको पर्यटन विकास र विस्तारमा सहयोग गर्ने उद्देश्यसहित २०५९ सालमा नेपाल हवाई खेलकुद संस्था(ना)को स्थापना गरिएको थियो । सुरुवातमा सात वटा प्याराग्लाइडिङ व्यावसायिक कम्पनीबाट संस्था सुरु गरिएकामा हाल ६२ वटा व्यावसायिक कम्पनीहरु रहेका छन् ।

त्यसैगरी कम्पनीअन्तर्गत तीन सय ९९ प्याराग्लाइडिङ पाइलट क्रियाशील रहेको ‘ना’का निर्वतमान अध्यक्ष एवं पोखरा पर्यटन परिषद्का उपाध्यक्ष कृष्ण भण्डारीले जानकारी दिनुभयो । उहाँले स्थानीय, प्रदेश, सङ्घ सरकारबाट सकारात्मक सहयोग प्राप्त भएको बताउनुभयो । प्याराग्लाइडिङ उडान सुरक्षित बनाउनका लागि पछिल्लो समय जिपिएस, लाइभ ट्याकर, रेडियो रिपिटर टावरसहित दुईतर्फि रेडियो सञ्चार तथा हटलाइन सेवा सञ्चालनमा ल्याइएको छ ।

‘अर्थतन्त्र उकास्न सरकारले ठोस कदम चाल्न सकेन’

लुम्बिनी, २८ असोज : नेकपा (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले अर्थतन्त्र उकास्न सरकारले ठोस कदम चाल्न नसकेको आरोप लगाउनुभएको छ ।

प्रेस चौतारी रुपन्देहीले आज बुटवलमा आयोजना गरेको कार्यक्रममा पूर्वअर्थमन्त्री पौडेलले मुलुकको अर्थतन्त्रको चिरफार गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “आन्तरिक ऋण बढ्दै छ, तलब, सामाजिक सुरक्षा कोष, निवृत्तिभरण रोकिइरहेको छ, अर्थतन्त्र गम्भीर मोडमा छ ।” उपाध्यक्ष पौडेलले कोशी प्रदेशमा मुख्यमन्त्री केदार कार्कीले राम्रो काम गर्दासम्म एमालेको साथ रहने बताउनुभयो ।

विश्वकप क्रिकेट : इङ्ग्ल्यान्डसामु २८५ रनको लक्ष्य

काठमाडौँ, २८ असोज : आइसीसी एकदिवसीय विश्वकप क्रिकेटअन्तर्गत आज भएको खेलमा अफगानिस्तानले साविक विजेता इङ्ग्ल्यान्डसामु जितका लागि दुई सय ८५ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

भारतको दिल्लीस्थित अरुण जेट्ली रङ्गशालामा आज टस हारेर पहिला ब्याटिङ गर्दै अफगानिस्तानले ४९ दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै दुई सय ८४ रनको योगफल बनायो । क्रिकेट सम्बन्धिको वेभसाइट इएसपीएन क्रिकइन्फो डट कमका अनुसार अफगानिस्तानका लागि रहमान उल्लाह गुरबाजले सर्वाधिक ८० रन बनाए । उनले ५७ बलमा आठ चौका र चार छक्का हाने । गुरबाज र इब्राहिम जद्रानले एक सय १४ रनको साझेदारी गरे । यस क्रममा इब्राहिमले २८ रन जोडे । यस्तै इक्रम अलीखिलले ५८ रन बनाए । उनले ६६ बलमा तीन चौका र दुई छक्का प्रहार गरे ।

यस्तै मुजिब उर रहमानले २८ रन बनाए । उनले १६ बल खेल्दै तीन चौका र एक छक्का हाने । राशिद खानले २३, हश्मातुल्लाह शाहिदीले १४, आजमतुल्लाह ओमरजाईले १९ र मोहम्मद नाबीले ९ रन बनाए ।

बलिङतर्फ इङ्ग्ल्यान्डका आदिल राशिदले तीन, मार्क वुडले दुई तथा जो रुटल, रिस टोप्ली र लियाम लिभिङस्टोनले एक एक विकेट लिए । अहिले इङ्ग्ल्यान्डले जवाफी ब्याटिङ गरिरहेको छ ।

‘कोशी प्रदेशको राजनीतिक सङ्कट समाधान भयो’

मोरङ, २८ असोज : कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आफ्नो नेतृत्वमा प्रदेश सरकार गठन भएसँगै राजनीतिक सङ्कट समाधान भएको बताउनु भएको छ । प्रदेश प्रमुखको कार्यालयमा आज पद तथा गोपनीयताको शपथ लिएपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले प्रदेशमा मध्यावधि निर्वाचन हुने सम्भावना सरकार गठनसँगै टरेको बताउनुभयो ।

मख्यमन्त्री कार्कीले प्रदेशमा शान्ति, सद्भाव र समुदायबीच सौहार्द्रपूर्ण वातावरण कायम राख्नु सरकारको प्रमुख प्राथमिकता भएको बताउँदै त्यसका लागि छलफल, संवाद एवं वार्ताद्वारा समस्या समाधान गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले सबै पक्षसँग सहमति कायम गरेर आफू काम गर्न प्रतिबद्ध रहेको बताउनुभयो ।

न्यायालयलाई आम नागरिकको आस्थाको केन्द्रमा रुपान्तरण गर्न प्रधानन्यायाधीश श्रेष्ठको निर्देशन

काठमाडौँ, २८ असोज: प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायालयप्रति जनविश्वास बढाउन सामूहिक प्रतिबद्धता जरुरी भएको बताउनुभएको छ । उच्च अदालत पाटनको नवनिर्मित भवनको आज उद्घाटन गर्दै उहाँले न्यायालयप्रतिको आस्था वृद्धि गर्न न्याय सेवा प्रवाह छिटोछरितो हुनुपर्नेमा जोड दिनुभयो ।

“भौतिक सुविधाका साथै न्यायालयमा सेवाग्राहीको सहज पहुँच हुनुपर्छ”–प्रधानन्यायाधीश श्रेष्ठले भन्नुभयो, “नयाँ भवनको उपयोगसँगै अदालतको काम कारबाही उपभोक्ताको लागि सहज हुने र न्यायापालिकाप्रतिको जनआस्था अभिवृद्धिमा सहयोग पुग्ने विश्वास लिएको छु ।”न्यायालयको सुधारमा निरन्तर लागिरहेको र दुई वर्ष पुराना मुद्दा किनारा लगाउने उद्देश्यले अभियानकै रुपमा काम गरिरहेको प्रधानन्यायाधीशले बताउनुभयो । “न्यायालयको सुधारका लागि निरन्तर प्रयास भइरहेको छ, रिक्त भएका तीनवटै तहका न्यायालयमा न्यायाधीश नियुक्ति प्रक्रिया प्रारम्भ भएको छ,” उहाँले भन्नुभयो । सेवाग्राहीलाई गुणस्तरीय सेवा दिएर न्यायसम्पादनलाई प्रभावकारी बनाउदै न्यायालयलाई आम नागरिकको आस्थाको केन्द्रमा रुपान्तरण गर्न उहाँले निर्देशन दिनुभयो ।त्यस अवसरमा सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश ईश्वरप्रसाद खतिवडा, न्यायाधीश डा आनन्दमोहन भट्टराई र सपना मल्लप्रधान, उच्च अदालतका पाटनका कायममुकायम मुख्य न्यायाधीश महेश शर्मा पौडेल, ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन, उच्च सरकारी वकिल कार्यालयका सहन्यायाधिवक्ता शङ्कर खत्री र पाटन बार एशोसिएशनका अध्यक्ष शान्तिराम खतिवडाले पनि मन्तव्य व्यक्त गर्नुभएको थियो ।उक्त भवन रु ५८ करोडको लागतमा बनेको हो । भवनमा १२ वटा इजलास कक्ष, न्यायाधीशका लागि २३ वटा कोठाको व्यवस्था गरिएको छ । भवनको २०७२ चैत १० गते तत्कालीन प्रधानन्यायाधीश कल्याण श्रेष्ठले शिलान्यास गर्नुभएको थियो ।

बागलुङमा भित्रिए मुस्ताङी च्याङ्ग्रा,रोज्जा च्याङ्ग्रा ५० हजारमा बिक्री

गलकोट (बागलुङ), २८ असोज : भाउ आकासिए पनि यहाँ मुस्ताङी च्याङ्ग्राको माग घटेको छैन । कोसेलीका लागि र दसँैमा च्याङ्ग्राको मासु खाने चलनले भाउ आकासिए पनि व्यापार राम्रो छ ।

बागलुङका च्याङ्ग्रा व्यापारी बलबहादुर थापाले दसँंै लक्षित एक सय ५१ च्याङ्ग्रा जिल्लामा भित्राउनु भएको छ । मुस्ताङबाट हिँडेको पाँच दिनमा थापाले आफूसहित अन्य दुई जनाको सहयोगमा ती च्याङ्ग्रा यहाँ ल्याउनुभएको हो । 
लामो समयदेखि दसँै र तिहारको अवसरमा मुस्ताङ पुगेर च्याङ्गा ल्याउने गरेको बताउँदै थापाले यस पटक रू ७० लाखको लगानीमा च्याङ्ग्रा भित्र्याएको जानकारी दिनुभयो । उहाँका अनुसार एउटाको मूल्य रू ५० हजारसम्म पर्दछ । सानो च्याङ्ग्राको मूल्य ४० देखि ४५ हजार पर्ने भए पनि रोज्जा च्याङ्ग्रालाई रू ५० हजार भन्दा तल बिक्री गर्न नसकिने थापाको भनाइ थियो । 

“अहिले रोज्जा च्याङ्ग्रा रू ५० हजारमा बिक्री गर्ने हो । थोरै नाफा त राख्नु प¥यो । मुस्ताङबाट ल्याउदा दुःख धेरै छ”, उहाँले भन्नुभयो “महँगो भए पनि माग बढेको छ । अहिले चीनबाट नआउदा मुस्ताङ्का च्याङ्ग्रा थोरै मात्र निर्यात भएको पाइयो ।” थापाका अनुसार मुस्ताङको छोसेरबाट च्याङ्ग्रा बागलुङ ल्याउनुभएको हो । 

छोसेरबाट मुस्ताङको सदरमुकाम जोमसोमसम्म च्याङ्ग्रा व्यापारीले ल्याएका च्याङ्ग्रा आफूहरुले खरिद गरेर ल्याएको थापाको भनाइ थियो । थापासहित महेन्द्र केसी, यामबहादुर केसीले पनि यहाँका बजारमा मुस्ताङी च्याङ्ग्रा भित्र्याउँदै आउनुभएको छ । 

च्याङ्ग्राको माग उच्च भएको र आयात थोरै हुँदा महँगो भए पनि बिक्री हुने गरेको व्यापारीले बताउँछन् । हिमाली क्षेत्रको जडीबुटी खाएकाले स्वादिलोसँगै स्वास्थ्यका लागि फाइदा हुने भन्दै प्रायः उपभोक्ताले दसँैमा भेडाच्याङ्ग्रा खोज्ने थापाले बताउनुभयो । 

मुस्ताङका भेडाच्याङ्ग्रा अत्यन्त महँगो भएकाले यस वर्ष स्थानीयस्तरमा पालिएका खसी तथा जिल्लाको उच्च हिमाली क्षेत्रमा पालिएका भेडाको माग अत्यधिक रहेको व्यापारीले बताएका छन् । यस वर्ष मुस्ताङबाट आठ हजार भेडाच्याङ्ग्रा निकासी हुने अनुमान गरिएको छ । 

पर्यटन विकास गरी अर्थतन्त्रमा जोड्न आवश्यक छ : सभामुख घिमिरे

दोलखा, २८ असोज : सभामुख देवराज घिमिरेले दोलखाको पर्यटकीय क्षेत्रको विकास गरी अहिलेको अर्थतन्त्रमा जोड्न आवश्यक रहेको बताउनुभएको छ । सदरमुकामस्थित गौरीशङ्कर बहुमुखी क्याम्पसले तयार गरेको भीमेश्वर व्यवसाय सम्बर्द्धन केन्द्रको उद्घाटन गर्दै उहाँले राजधानी नजिकै रहेको हिमाली जिल्ला दोलखाले पर्यटनको प्रचुर सम्भावना बोकेकाले यसको विकास गरी अर्थतन्त्रमा जोड्नुपर्ने बताउनुभयो ।

सभामुख घिमिरेले पर्यटनका माध्यमबाट देशको अर्थतन्त्रमा सुधार ल्याउन सकिने भन्दै यहाँका पर्यटकीय क्षेत्रको संरक्षण र प्रवर्द्धन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले कार्यक्रममा विजया दशमी तथा शुुभदिपावलीको शुुभकामना व्यक्त गर्नुभयो । 

शनिबार यहाँ आउनु भएका घिमिरे जिल्लाका विभिन्न कार्यक्रममा सहभागिता जनाइरहनुभएको छ । कार्यक्रम क्याम्पसका सञ्चालक समितिका अध्यक्ष अमृत राउतको अध्यक्षतामा सम्पन्न भएको थियो ।

सर्वोच्च अदालतले बडादसैमा पनि बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमा सुनुवाइ गर्ने

काठमाडौँ, २८ असोज : सर्वोच्च अदालतले बडादसँैमा पनि बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमा सुनुवाइ गर्ने भएको छ । सर्वोच्च अदालतले आज जारी गरेको सूचनाअनुसार आजैदेखि लागू हुनेगरी कोजाग्रत पूर्णिमासम्म बिहान ११ देखि ३ बजेसम्म सर्वोच्च अदालत प्रशासन बन्द रहने भए पनि बन्दीको रिट निवेदन सुनुवाइका लागि अदालत खुला रहनेछ ।

शनिबार र विजया दशमीका दिनबाहेक अन्य दिनमा बन्दीका रिट निवेदन दर्ता तथा सनुवाइ गर्न अदालत खुला रहनेछ । अदालतले ती दिनमा न्याय सम्पादनका लागि न्यायाधीशहरुको पनि व्यवस्था गरिसकेको छ ।

खसी–बोकाको स्वास्थ्यपरीक्षणका लागि पशु चिकित्सकसहितको टोली परिचालन

काठमाडौँ, २८ असोज : पशुसेवा विभागले काठमाडाँै उपत्यकाका ११ स्थानमा पशु चिकित्सकसहितको टोली परिचालन गर्ने भएको छ । चाडपर्वका अवसरमा उपभोक्तामा स्वस्थ्यकर एवं गुणस्तरीय मासु बिक्री वितरण गराउने उद्देश्यले पशुपक्षीको स्वास्थ्य परीक्षणका लागि टोली परिचालन गर्ने भएको हो । उक्त टोलीले पशुपक्षीबाट नमूना सङ्कलन, रोग निदान र उपचार समेत गर्नेछ ।

विभागका महानिर्देशक डा उमेश दाहाले आज विज्ञप्ति जारी गरी कलङ्की खसी बजार, बल्खु कालिमाटी माछा बजार, चोभार नाका, चाल्नाखेल राँगा बजार, टुकुचा खसी बजार, खाद्य संस्थान, लोकन्थली खसी बजार, साल्लाघारी च्याङ्ग्रा बजार, बालाजु बाइपास नाका, लगनखेल, धापाखेल, आकाशे धारा, थानकोट, दहचोक, मूलपानीमा टोली परिचालित हुने जानकारी दिनुभयो ।

नमूना सङ्कलनपछि स्वस्थ्य देखिएमा हरियो रङ र रोगी देखिए रातो सङ्केत गर्ने व्यवस्था मिलाइएको छ । गतवर्ष घटस्थापनादेखि नवमीका दिनसम्म मासुका लागि कूल ५४ हजार पशु काठमाडौँ भित्रिएका थिए । विभागले स्वस्थ्यकर र फुर्तिलो खसी, बोका, राँगा छनोट गर्न र मासु उत्पादन र बिक्री वितरण गर्दा सरसफाइमा ध्यान दिन पनि आग्रह गरेको छ ।

आजदेखि पूर्णरुपमा बाहिरिँदै मनसुनः यो वर्ष कति पानी पर्यो ?

काठमाडौँ, २८ असोज : गत जेठ ३१ गते नेपाल प्रवेश गरेको यसवर्षको मनसुन आज रातिबाट पूर्णरुपमा बाहिरिने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । नेपालमा मनसुन बहिर्गमनको औसत मिति अक्टोबर २ तारिख (यस वर्षको असोज १५ गते) भए पनि मनसुन औसत मितिभन्दा दुईसाता ढिलो बाहिरिएको हो ।

महाशाखाका अनुसार नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ र बहिर्गमन सयम अक्टोबर २ तारिख हो । यसवर्ष सरदर मितिभन्दा एक दिन ढिलो मनसुन भित्रिएको थियो । नेपालको सुदूरपश्चिम तथा कर्णाली प्रदेशको पश्चिमी भू-भाग भएर यही असोज १९ गते यसवर्षको मनसुन बाहिरिएको थियो । असोज २७ गते देशको गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका सम्पूर्ण भू-भाग तथा बागमती प्रदेश र मधेश प्रदेशका आंशिक भू-भागबाट बाहिरिएको छ ।

यसअघि सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेश साथै लुम्बिनी प्रदेशका अधिकांश भू-भाग र गण्डकी प्रदेशको पश्चिमी भू-भागबाटसमेत मनसुन बाहिरीसकेको छ । “मनसुन पूर्णरुपमा बहिर्गमन हुने अवस्थामा छ”, महाशाखाका मौसमविद् रोजन लामिछानेले भन्नुभयो, “साँझसम्म मनसुन बाहिरिने अनुमान गरिएको छ । आजै मनसुन विशेष बुलेटिन आउनसक्छ ।”

उहाँका अनुसार मनसुन अहिले कोशी प्रदेशमा केन्द्रित छ । मधेश र बागमती प्रदेशका थोरै स्थानमा बाँकी छ । हाल नेपालको पूर्वी भागमा मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आगामी दिनदिनसम्म देशका पहाडी भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् लामिछानेले जानकारी दिनुभयो ।

अहिले देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको छ । देशका पहाडी भू-भागमा थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

मनसुन अवधिमा ८८ दशमलव पाँच प्रतिशत वर्षा

 जल तथा मौसम विज्ञान विभागका मौसमविद् सुदर्शन हुमागाँईका अनुसार नेपालमा यसवर्ष मनसुन अवधिमा ८८ दशमलव पाँच प्रतिशत वर्षा भएको छ । याे मनसुनको अवधि जुनदेखि सेप्टेम्बर महिना अर्थात् चार महिनामा सरदरभन्दा कम वर्षा भएको हो ।

नेपालमा मनसुन अवधिमा सरदर एक हजार चार सय ७२ मिलिमिटर वर्षा हुने गरेकामा यसवर्ष मनसुन अवधिमा एक हजार तीन सय तीन मिलिमिटर वर्षा भएको हो । काठमाडौँमा एक हजार दुई सय ८३ मिलिमिटर वर्षा भएको छ । जुन सरदरको एक सय नौ प्रतिशत हो । काठमाडौँमा मनसुन अवधिमा सरदर एक हजार एक सय ७६ दशमलव चार मिलिमिटर वर्षा हुन्छ ।

त्यसैगरी ओखलढुङ्गामा एक हजार चार सय ९२ दशमलव एक मिलिमिटर वर्षा भएको छ । सबैभन्दा कम जनकपुरमा छ सय ३७ दशमलव एक मिलिमिटर वर्षा मापन गरिएको छ । जनकपुरको सरदर वर्षा एक हजार एक सय ९५ दशमलव आठ मिलिमिटर हो ।

नवरात्र आरम्भसँगै पाथीभरामा भक्तजनको घुइँचो

ताप्लेजुङ, २८ असोज-नवरात्र आरम्भ भएसँगै ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा भक्तजनको आगमन सुरु भएको छ । हरेक वर्ष नवरात्रभर यहाँ भक्तजनको घुइँचो लाग्ने गर्दछ ।

वार्षिक लाखौँको सङ्ख्यामा स्वदेशी तथा विदेशी भक्तजन आउने यस मन्दिरमा विशेष गरी वडादसैँको समयमा सबै भन्दा धेरै भक्तजन आउने गरेका छन् । नवरात्रको पहिलो दिन आज सयौँको सङ्ख्यामा भक्तजन मन्दिर पुगेका पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । 

यस क्षेत्रका होटलहरु दर्शनार्थीले खचाखच बनेको फेदीका होटल व्यवसायी ईन्द्रनारायण भट्टराईले बताउनुभयो । पाथीभरा देवीले भक्तजनको मनोकामना पूरा गर्ने जनविश्वास रहिआएको छ । समुद्री सतहबाट तीन हजार सात सय ९४ मिटरको उचाइमा पर्ने यस मन्दिरको दर्शनसँगै उच्च हिमशृङ्खलाको दृष्यावलोकनका लागि देश विदेशबाट धार्मिक पर्यटक आउने गरेका छन् ।

नवरात्रका समयमा देवीको पूजाआरधना गर्न उपयुक्त हुने तथा यो समयमा मौसम पनि खुल्ने भएकाले हरेक वर्ष दसैँमा भक्तजनको घुइँचो लाग्ने गरेको भट्टराईको भनाइ थियो ।

पाथीभरा दर्शनको समय सुरु भएसँगै दर्शनार्थीको सहजताका लागि आवश्यक व्यवस्थापन गरिएको प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले बताउनुभयो । प्रशासन कार्यालयमा बसेको बैठकले तीर्थयात्रीको आगमनलाई व्यवस्थित गर्न सरोकारवाला निकायसँग समन्वय गर्ने सहमति भएको उहाँले जानकारी दिनुभयो ।

पाथीभरा क्षेत्रमा सहज यातायात, आवास, सुरक्षा, भीडभाडलगायत समस्या समाधानका लागि सबैले आ–आफ्नो क्षेत्रबाट जिम्मेवारीपूर्वक काम गर्ने प्रतिबद्धता जनाएका चेम्जोङको भनाइ थियो ।     सहज यातायातका लागि मन्दिर क्षेत्रका सडकलाई स्तरोन्नति गर्ने काम भइरहेको समितिले जनाएको छ ।

दसैँमा यातायातको सहज प्रबन्ध गर्न सभापति खतिवडाको निर्देशन

काठमाडौँ, २८ असोज : संसदको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले दसैँमा आफ्नो घर तथा दसैँको तयारीका लागि विभिन्न ठाउँमा जानुपर्ने यात्रुहरुका लागि यातायातको सहज व्यवस्था गर्न सम्बद्ध निकायलाई निर्देशन दिनुभएको छ ।

सभापति खतिवडाले आज भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला, प्रहरी महानिरीक्षक, यातायात व्यवस्था विभागका महानिर्देशक, उपत्यका ट्राफिक प्रहरी प्रमुखलगायतलाई यातायातको सहज एवं सुलभ प्रबन्ध मिलाउन निर्देशन दिनुभएको हो ।दसैँका समयमा घर जान लागिरहेका नागरिकले बसको टिकट नपाउने या टिकट लिन समस्या हुने, बाटोमा यातायातको समस्या हुने, यातायातका लागि महङ्गोमा टिकट खरिद गर्नुपर्ने, रुटआदिका कारण यातायातमा समस्या हुने आदि गुनासो आउने गरेकाले नागरिकहरुको गुनासो आउन नदिई अहिल्यैदेखि यातायातको उचित र सुलभ प्रबन्ध गर्न उहाँले निर्देशन दिनुभएको हो ।उहाँले सरोकारवाला निकायहरुसँग आवश्यक मात्रामा समन्वय र छलफल गरी तत्कालका लागि दसैँ र त्यसपछि तिहार र छठ पर्वसम्मकै लागि यातायातको योजना बनाउन र सो व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्न आज निर्देशन दिनुभएको हो ।दसैँ, तिहार र छठ पर्वमा गाउँ फर्कने र गाउँबाट सहर आउने यात्रुहरुको लागि यातायातका सवारी साधन, सडक तथा ट्राफिक व्यवस्थापनमा ध्यान दिन र यसका लागि आवश्यक अन्य कार्यालयहरुसँग पनि प्रभावकारी समन्वय गर्न पनि उहाँले निर्देशन दिनुभएको हो ।