`

युरो-६ मापदण्डभन्दा कमका गाडी आयात गर्न दिन अध्यक्ष ढकालको आग्रह

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले अर्डर भइसकेका युरो-६ प्रदूषण मापदण्डभन्दा कमका सवारी एकपटकका लागि आयात गर्न दिन सरकारसँग आग्रह गर्नु भएको छ ।

नाडा नेपाल अटोमोबाइल्स एसोसिएसनको आयोजनामा भृकुटीमण्डपमा सुरु भएको नाडा अटो शो, २०२५ मा उहाँले सरकारले लागू गरेको युरो-६ मापदण्ड सकारात्मक भए पनि तत्कालीन कार्यान्वयनले केही समस्या निम्त्याउन सक्ने भन्दै एकपटक अनुमति दिन आग्रह गर्नुभयो ।

पछिल्लो समय विद्युतीय सवारीको आयात बढिरहेको उल्लेख गर्दै उहाँले नेपालमा सवारी एसेम्बल उद्योग, डाटा सेन्टरको सम्भावना भएको बताउनुभयो । उहाँले भन्नुभयो, “पछिल्ला केही वर्षमा नेपालले चुनौतीपूर्ण आर्थिक अवस्था भोगे पनि हाल बजारमा सुधारका सङ्केत देखिएका छन्, दुई वर्ष अघिभन्दा सवारीसाधनको बिक्री करिब ४० प्रतिशतले वृद्धि भएको छ ।”

आजको मौसम : मनसुन क्रमशः कमजोर हुँदै, कहाँ कहाँ पर्छ पानी ?

काठमाडौँ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेको जनाउँदै मौसम पूर्वानुमान महाशाखाले देशमा मनसुन केही कमजोर हुँदै रहेको बताएको छ । यद्यपि, बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रने क्रम जारी छ ।

आज दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भागमा साधारणतया बदली तथा बाँकी भागमा आंशिक बदली रहनेछ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भागका केही स्थान र तराईका एकदुई स्थानमा मध्यम वर्षाको सम्भावना छ ।

त्यसैगरी, आज राति कोशी, मधेस, वाग्मती र गण्डकी प्रदेशलगायत देशका पहाडी भागमा साधारणतया बदली र अन्य भागमा आंशिक बदली रहने छ । मधेस, कोशी, वाग्मती र गण्डकी प्रदेशका तराई र पहाडी भेगका केही स्थानमा केही स्थानमा मध्यम वर्षाको सम्भावना छ । कोशी र गण्डकी प्रदेशका पहाडी भागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

महाशाखाले वर्षाका कारण देशका पहाडी भागमा पहिरो तथा गेग्रान बहाव (डेब्रिज फ्लो)को जोखिम रहेको, ठूला तथा साना नदीनाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुनसक्ने प्रक्षेपण गर्दै सबैलाई सतर्क रहन तथा पूर्वतयारी गर्न अनुरोध गरेको छ ।

प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ, ४ भदौः सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा आज अपराह्न १ः०० बजे बस्दैछ ।आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा नियमावली, २०७९ बमोजिम सांसदहरुले सोध्नुभएको प्रश्नको जवाफ दिनुहुने कार्यसूची छ ।

बैठकमा महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साहले ‘ बालबालिका सम्बन्धी ( पहिलो संशोधन) विधेयक, २०८२ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यक्रम छ ।

बैठकमा मानव बेचविखन तथा ओसारपसार (नियन्त्रण) पहिलो संशोधन विधेयक, २०८१ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव पनि प्रस्तुत हुनेछ ।

बागलुङमा अझै जीवित छ एक हजार वर्ष पुरानो ‘अनिष्ट हटाउने पूजा’

ढोरपाटन (बागलुङ), ४ भदौ : अर्ध नग्न शरीर, मोसोले छोपिएको अनुहार र छाति, कम्मरमा सेतो कपडा बाँधेर हातमा धुपीको हाँगो समातेर केही युवा दौडिँदै थिए । ती युवाका पछि ढ्याङ्ग्रो ठट्याउँदै आइरहेका थिए, झाँक्रीहरु । माथिदेखि दौडिँदै आएको झाँक्री र एक हुल युवाको दृश्य अनौठो थियो । यो अवसरको साक्षी बन्न निसेलढोरमा सयौँ मानिस जम्मा भएका थिए ।
यसलाई निसीवासीले नांखा (गाउँ) पूजा भन्छन् । यो पूजा एक हजार वर्ष पुरानो भएको स्थानीयको विश्वास छ । हरेक दुई÷दुई वर्षमा हुने गाउँ पूजा पछिल्लो समय मेलाकै रुपमा लिन थालिएको छ । गाउँ पूजालाई मगर खाम भाषामा नांखा पूजा भन्ने गरिन्छ । यो अन्य पूजाभन्दा भिन्न छ । भदौ १ गते निसीवासीले गाउँ पूजालाई धुमधामका साथ मनाउने गर्छन् ।

स्थानीयले साउन मसान्तकै दिनदेखि विभिन्न देवीदेवताका नाममा पूजा गर्ने र साँझा गाउँभरीका झाँक्रीहरु एकै ठाउँमा जम्मा भएर तन्त्रमन्त्र गर्छन् । बिहान सबेरै निसेलढोर गाउँभन्दा माथि रहेको बराह थानमा पुगेर पूजा गर्छन् । बराह थानमा पुगेपछि युवाहरुले अर्ध नग्न बनेर अनुहार र शरीरमा मोसो दली राक्षसको स्वरुप धारण गर्ने गर्छन् । झाँक्री र राक्षसको स्वरुप धारण गरेका कापैले गाउँमा अनिष्ट गर्ने भुतप्रेत र राक्षेसी आत्मालाई उत्तरगङ्गा नदीमा खसाल्ने बुढापाका बताउँछन् ।

अनिष्ट हुन थालेपछि ‘गाउँ पूजा’ गर्न थालियो

सुरुआती समयमा निसेलढोर गाउँमा वर्ष अगाडि अनिष्ट हुन थालेपछि गाउँलेले गाउँ पूजा गर्न थालेको इतिहास रहेको निसीखोला गाउँपालिकाका उपाध्यक्ष प्रेमबहादुर घर्ती मगरको भनाइ छ । एक हजार वर्ष पहिले निसेलढोरबाट स्थानीय बसाइँसराइ गरेर अन्तै जाँदा हिँड्न नसक्ने बुढाबुढी (जुजाजुजी) लाई गाउँमाथिको ओडारमा लगेर छोडेको र महिनौँपछि हेर्न पुग्दा उनीहरुको मृत्यु भइसकेको हुँदा उनीहरुको आत्माको शान्तिका लागि गाउँ पूजा थालिएको बुढापाकाले सुनाएको घर्ती बताउनुहुन्छ ।

ओडामार मृत्यु भएका जुजाजुजी राक्षसको रुपमा गाउँ पसेरपछि मान्छे मर्ने, धन सम्पत्ति, बालीनालीको क्षति हुने, पशुचौपायासमेत मर्ने गरेपछि सुरु शान्तिका लागि सुरु गरिएको गाउँ पूजा अहिलेसम्म चल्दै आएको उहाँको भनाइ छ । पहिले निसेलढोर आसपासमा ठूलो बस्ती रहेको प्रमाणित गर्ने अवशेषहरु अहिले भेटिने गरेको उपाध्यक्ष घर्तीमगरले बताउनुभयो । गाउँ पूजा गर्दा मृत आत्माले शान्ति पाउने र गाउँमा अनिष्ट नहुने उहाँ बताउनुहुन्छ ।

“बुढापाकाका अनुसार पहिले निसेलढोरमा ठूलो बस्ती थियो, अहिले पनि त्यसका अवशेष भेटिन्छन्, त्यसबेला मानिसहरु बसाइँसराइ गरेर अन्तै जाँदा हिँड्न नसक्ने जुजाजुजीलाई गाउँमाथिको ओडारमा छोडे छन्, पछि आफन्त भेट्न आउँदा उनीहरुको मृत्यु भइसकेको रहेछ,” उपाध्यक्ष घर्ती मगरले भन्नुभयो, “उनीहरुको मृत्यु भइसकेपछि निसेलढोर गाउँमा अशुभ हुन थालेछ, त्यसपछि सिंगो गाउँमा बस्ने सबैले गाउँ पूजा गर्न सुरु गरे छन्, पूजा गरेपछि गाउँमा अनिष्ट हुन छोडेछ, एक वर्ष पूजा ग¥यो भने दुई वर्षसम्म अशुभ नहुने मान्यता छ ।”

भूत धपाउन खोलामा हाम फाल्छन् युवा

बराह थानबाट पूजा गरेर फर्किएका राक्षसको रुप धारण गरेका कापै अग्लो झोलुङ्गे पुलबाट उर्लिएको उत्तरगंगा नदीमा हाम फल्छन् । जसलाई स्थानीयले भूत प्रेतलाई धपाएको भन्ने गर्छन् । यसरी भूत धपाएपछि गाउँमा कुनै पनि किसिमको अनिष्ट नहुने स्थानीय राजमन बुढा मगरले बताउनुभो ।

यस पुलमा दैविक शक्ति रहेको हुँदा उत्तरगंगामा हाम फाल्ने कापैलाई चोट पटक नलाग्ने र नदीले नबगाउने बुढा मगरले बताउनुभयो । पहिले झोलुङ्गे पुल नबन्दा काठको साँघुबाटनै कापैले खोलामा हाम फल्ने गरेको उहाँको भनाइ छ । भूतलाई खोलामा खसाएपछि गाउँलाई रोग व्याधी नलाग्ने, वस्तुभाउ र बालीनाली पनि राम्रो हुने बुढा मगरको भनाइ छ ।

उहाँले भन्नुभयो, “झाँक्रीले विधिअनुसार कापैलाई तन्त्रमन्त्र गरेको हुन्छ, कापैले अनुहारमा लगाएको मोसो, शरीरमा लेखिएको विभिन्न अक्षर र राक्षसको जस्तो पहिरनले भूत प्रेतलाई फकाउने र लखेट्दै लगेर खोलामा खसाल्ने गरिन्छ, हाम्रो पुर्खाहरुले मान्दै आएको परम्परा अहिलेसम्म चल्दै आएको छ, यसमा धार्मिक विश्वास छ, हाम्रो आस्था छ ।”

संरक्षणमा युवा र पालिकाको चासो

गाउँ पूजालाई लोप हुन नदिनका लागि निसीखोला गाउँपालिका–५ का युवाहरुले चासो दिएका छन् । यसवर्ष गाँउ (नांखा) पूजा सञ्चालक तथा व्यवस्थापन समितिमार्फत पूजा सञ्चालन गरिएको थियो । युवाहरुले चासो नदिँदा लोप हुने हुँदा संरक्षणका लागि आफूहरु लागेको गाँउ (नांखा) पूजा सञ्चालक तथा व्यवस्थापन समिति अध्यक्ष लक्ष्मण छन्त्यालले बताउनुभयो । युवाहरुलाई एकताबद्ध गराएर पूजा संरक्षणमा लागेको उहाँको भनाइ छ ।

निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्तीमगरले कला संस्कृति संरक्षणका लागि गाउँपालिका हरेक वर्ष बजेट विनियोजन गरी काम गर्दै आएको बताउनुभयो । लोपोन्मुख संस्कृतिको संरक्षणका लागि पाका पुस्ता र नयाँ पुस्तालाई एकै ठाउँमा राखेर पुस्तान्तरण गर्ने काम गाउँपालिकाले गर्दै आएको उहाँको भनाइ छ । गाउँ पूजा निसीखोलाको विशिष्ट मौलिक संस्कृति भएको हुँदा पालिकाले प्राथमिकतामा राखेरै संरक्षणमा जोड दिएको अध्यक्ष घर्ती बताउनुहुन्छ ।

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

काठमाडौँ –  नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिदर १३८ रुपैयाँ ८३ पैसा र बिक्रीदर १३९ रुपैयाँ ४३ पैसा कायम भएको छ ।

युरोपियन युरो एकको खरिदर १६२ रुपैयाँ १९ पैसा र बिक्रीदर १६२ रुपैयाँ ८९ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर १८७ रुपैयाँ ६७ पैसा र बिक्रीदर १८८ रुपैयाँ ४८ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १७२ रुपैयाँ ३५ पैसा र बिक्रीदर १७३ रुपैयाँ १० पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ०९ पैसा र बिक्रीदर ९० रुपैयाँ ४८ पैसा, क्यानेडियन डलर एकको खरिदर १०० रुपैयाँ ५२ पैसा र बिक्रीदर १०० रुपैयाँ ९६ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०८ रुपैयाँ २० पैसा र बिक्रीदर १०८ रुपैयाँ ६७ पैसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिदर नौ रुपैयाँ ३९ पैसा र बिक्रीदर नौ रुपैयाँ ४३ पैसा, चिनियाँ युआन एकको खरिदर १९ रुपैयाँ ३४ पैसा र बिक्रीदर १९ रुपैयाँ ४२ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपैयाँ र बिक्रीदर ३७ रुपैयाँ १६ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ ०९ पैसा र बिक्रीदर ३८ रुपैयाँ २६ पैसा कायम भएको छ ।

केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ २७ पैसा र बिक्रीदर चार रुपैयाँ २९ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ ८० पैसा र बिक्रीदर ३७ रुपैयाँ ९६ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रुपैयाँ ८७ पैसा र बिक्रीदर ३३ रुपैयाँ ०१ पैसा, साउथ कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ९९ पैसा र बिक्रीदर १० रुपैयाँ ०४ पैसा, स्विडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ ५५ पैसा र बिक्रीदर १४ रुपैयाँ ६१ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपैयाँ ७३ पैसा र बिक्रीदर २१ रुपैयाँ ८२ पैसा तोकिएको छ ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिदर १७ रुपैयाँ ७९ पैसा र बिक्रीदर १७ रुपैयाँ ८७ पैसा, कुवेती दिनार एकको खरिददर ४५४ रुपैयाँ २४ पैसा र बिक्रीदर ४५६ रुपैयाँ २१ पैसा, बहराइन दिनार एकको खरिददर ३६८ रुपैयाँ २५ पैसा र बिक्रीदर ३६९ रुपैयाँ ८४ पैसा, ओमनी रियाल एकको खरिददर ३६० रुपैैयाँ ५८ पैसा र बिक्रीदर ३६२ रुपैयाँ १४ पैसा रहेको छ ।

भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको ‘वेबसाइट’ मा उपलब्ध हुने जनाइएको छ ।

सङ्घीय सरकारले छ स्थानीय तहलाई सम्मान गर्ने

काठमाडौँ । सङ्घीय सरकारले उत्कृष्ट नतिजा ल्याउने छ वटा स्थानीय तहलाई सम्मान गर्ने भएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले यही भदौ ६ गते आर्थिक वर्ष २०८०/८१ को स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन (लिसा)मा उत्कृष्ट नतिजा ल्याएका स्थानीय तह घोषणा गर्दै सम्मान गर्ने भएको हो ।

‘गाउँपालिका/नगरपालिकाको कार्यप्रक्रिया र उपलब्धीको लेखाजोखा गरी शासकीय प्रक्रिया र विकास व्यवस्थापनमा गर्नुपर्ने सुधारका क्षेत्रहरु पहिचान गर्ने, आवधिक समीक्षाको आधार प्राप्त गर्ने र स्थानीय सरकारबीच स्वस्थ प्रतिस्पर्धीको भावना जागृत गराउने उद्देश्यले कार्यान्वयनमा रहेको स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनको आव २०८०/८१ को नतिजाको गुणस्तर परीक्षण’ सम्पन्न भएको मन्त्रालयले जनाएको छ ।

गुणस्तर परीक्षण पश्चात् कायम भएको स्वमूल्याङ्कनको अन्तिम नतिजा सार्वजनिक गरी राष्ट्रिय स्तरमा उच्चतम अङ्क हासिल गर्ने गाउँपालिका तथा नगरपालिकालाई सम्मान गर्न लागिएको हो ।

यस आधारमा मन्त्रालयले खैरहनी नगरपालिका चितवन, तिलोत्तमा नगरपालिका रुपन्देही, नीलकण्ठ नगरपालिका धादिङ, अर्जुनचौपारी गाउापालिका स्याङजा, बेनीघाट रोराङ गाउँपालिका धादिङ रु रुरुक्षेत्रगाउँपालिका गुल्मीलाई सम्मान गर्ने भएको हो ।

राष्ट्रिय स्तरमा उच्चतम अङ्क हासिल गर्ने गाउँपालिका तथा नगरपालिकालाई सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेको उपस्थितिमा सम्मान गर्ने र स्थानीय शासन कार्यसम्पादन मूल्याङ्कन प्रणालीको शुभारम्भ गरिने कार्यक्रम तय भएको छ ।

कर्णालीमा आज सार्वजनिक बिदा

कर्णाली – कर्णाली प्रदेश सरकारले बुधबार प्रदेशभर सार्वजनिक बिदा दिएको छ । प्रदेश स्थापना तथा सहिद दिवसको अवसरमा भदौ ४ गते प्रदेश सरकारले सार्वजनिक बिदा दिएको हो ।

विसं २०८१ चैत १७ गते बसेको प्रदेश सरकार मन्त्रिपरिषद् बैठकले भदौ ४ गते कर्णाली प्रदेशका सरकारी तथा सार्वजनिक सङ्घ संस्था सबैमा सार्वजनिक बिदा दिने निर्णय गरेको आन्तरिक मामिला तथा कानून मन्त्रालयका प्रवक्ता उत्तम गौतमले जानकारी दिनुभयो ।

दिवसको अवसरमा प्रदेश सरकारले आज बिहान प्रभातफेरि कार्यक्रम गर्नुको साथै बिहीबारसम्म विभिन्न कार्यक्रम गरेर स्थापना तथा सहिद दिवस उत्सवका रुपमा मनाउने उहाँले बताउनुभयो ।

चीनको अन्तरिक्ष यात्रामा ‘लिजियन–१’ को ऐतिहासिक सफलता

चीनले मंगलबार ‘लिजियन–१ वाई १०’ नामक प्रक्षेपण यान प्रयोग गरी सातवटा उपग्रह पृथ्वीको कक्षमा सफलतापूर्वक प्रक्षेपण गरेको छ । देशको उत्तर–पश्चिमी भूभागमा अवस्थित एक व्यावसायिक अन्तरिक्ष प्रविधि क्षेत्रबाट दिउँसो ठीक ३ बजेर ३३ मिनेटमा सो यान प्रक्षेपण गरिएको थियो ।

चीनको आफ्नै प्रविधिमा विकसित लिजियन–१ वाई १० यान एक ठूला भार बोक्न सक्ने ठोस इन्धनयुक्त प्रक्षेपण यान हो, जसले एकैपटक धेरै उपग्रहलाई पृथ्वीको निचो कक्षमा पठाउने क्षमता राख्दछ । यसपटकको प्रक्षेपणबाट सातवटा फरक–फरक उद्देश्यका उपग्रहहरू कक्षमा पठाइएको छ, जसमा वातावरणीय अनुगमन, संचार, वैज्ञानिक परीक्षण तथा अन्य अनुसन्धानसम्बन्धी कार्यहरू समावेश छन् ।

चिनियाँ अधिकारीहरूका अनुसार सबै उपग्रहहरू निर्धारित कक्षमा सुरक्षित रूपमा पु¥याइएको छ । प्रक्षेपणपछि यानको सबै चरणहरू योजनाबद्ध ढंगले कार्यान्वयन भएको र मिशन पूर्ण रूपमा सफल भएको पुष्टि गरिएको छ ।

लिजियन–१ यान चीनको निजी क्षेत्रबाट प्रवद्र्धन गरिएको पहिलो आधुनिक यानमध्ये पर्दछ । यसले चीनको अन्तरिक्ष अनुसन्धान तथा व्यावसायिक उपग्रह प्रक्षेपण क्षमतामा उल्लेखनीय योगदान पु¥याएको मानिन्छ ।

चीनले हालका वर्षहरूमा आफ्नै प्रविधिमा आधारित यानहरू निर्माण गर्दै प्रक्षेपणलाई नियमित र आत्मनिर्भर बनाउँदै लगेको छ । यसले चीनलाई अन्तरिक्ष प्रविधिको क्षेत्रमा विश्वस्तरमा अग्रपंक्तिमा उभ्याउने विश्वास गरिएको छ ।

रूस र युक्रेनबीच सम्भावित शान्ति वार्ता, सुरक्षा सुनिश्चित गर्नुपर्ने माग

युक्रेन विवादको समाधानका लागि भइरहेका वार्ताका क्रममा रूसले मंगलबार आफ्नो सुरक्षा र युक्रेनमा रहेका रुसी भाषी समुदायका अधिकारहरू सुनिश्चित गर्ने कुनै पनि शान्ति सम्झौता आवश्यक हुने बताएका छन् ।

यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र युरोपेली नेताहरूको सोमबार वाशिङ्टनमा भएको बैठकपछि शान्ति वार्ताको सम्भावनाप्रति आशा जागेको छ । ट्रम्पले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग टेलिफोन संवाद पनि गर्नुभएका थिए ।

तर रूसले युक्रेनमा जारी द्वन्द्वको समाधान गर्दा ‘रूसको सुरक्षा चासो’ सम्मान गर्नुपर्ने स्पष्ट पारेको छ । रूसका विदेश मन्त्री सेर्गेइ लाभरोभले दुई राष्ट्रपतिबीच हुने सम्भावित भेट ‘धेरै नै व्यवस्थित र सावधानीपूर्वक’ तयार पारिनुपर्ने बताउनुभयो ।

यदि जेलेन्स्की र पुटिनबीच प्रत्यक्ष वार्ता हुन्छ भने त्यो तीन वर्षअघि शुरू भएको यो जटिल द्वन्द्वको पहिलो महत्वपूर्ण संवाद हुनेछ ।

युद्धमा हजारौं मानिसहरूको ज्यान गइसकेको छ र अहिलेको अवस्था स्थिर हुँदै जाँदा पनि पूर्ण शान्ति टड्कारो देखिएको छैन । ट्रम्पले वार्ता मार्फत युद्ध समाप्त गर्ने प्रयास गरिरहेका छन् भने युरोपेली नेताहरूले पनि यसमा सक्रियता देखाइरहेका छन् ।

लाभरोभले रुसी टेलिभिजनलाई दिएका अन्तर्वार्तामा युक्रेनमा बसोबास गर्ने रुसी भाषी समुदायका अधिकारहरूको संरक्षण नभएसम्म कुनै सम्झौता स्वीकार्य नहुने बताउनुभयो ।

यसैबीच, फ्रान्स र बेलायतको संयुक्त पहलमा कीएभका करीव ३० साझेदार राष्ट्रहरूको भर्चुअल बैठक आयोजना गरिएको थियो । फ्रान्सेली राष्ट्रपति इम्यानुएल माक्रोँले यसलाई ‘विस्तृत जानकारी आदानप्रदानका लागि’ आयोजना गरिएको बताउनुभयो र जेनेभामा वार्ता हुनसक्ने सम्भावनाको संकेत गर्नुभयो ।

माक्रोँले युक्रेनको डोनबास क्षेत्रमा केही भूभागबारे दबाबको विषयमा युरोपेली चासो व्यक्त गर्नुभयो ।

कीएभमा सामान्य जनताले वार्ताप्रति मिश्रित भावना राखेका छन् । ३२ वर्षका एक गोदाम कर्मचारी अन्तोनले भन्नुभयो,“मूल समस्या पुटिन नै हुन् । उहाँ वार्ता चाहँदैनन् र ट्रम्पलाई पनि अवस्था कसरी सम्हाल्ने थाहा छैन ।”

तर मस्कोमा केही नागरिकले शान्तिपूर्ण समाधानका लागि आशा व्यक्त गरेका छन् । २३ वर्षीय व्याचेस्लाभले भन्नुभयो,“हामी पारस्परिक लाभका आधारमा सहमत हुन सक्ने आशा राख्छौं ।” उहाँले थप्नुभयो,“यो वार्ता युद्धको सुरुदेखि नै भएको भए राम्रो हुने थियो ।”

ट्रम्पले अलास्कामा पुटिनसँग भएको भेटपछि सोमबार सामाजिक सञ्जालमार्फत पनि पुटिनलाई जेलेन्स्कीसँग वार्ताको तयारी गर्न फोन गरेको जानकारी दिनुभएको छ । उहाँले दुई राष्ट्रपतिबीच त्रिपक्षीय शिखर बैठक गर्ने योजना रहेको उल्लेख गर्नुभयो ।

जर्मन चान्सलर फ्रेडरिक मर्जले पुटिनले आगामी दुई हप्ताभित्र जेलेन्स्की सँग द्विपक्षीय वार्ता गर्न सहमति जनाएका जानकारी दिनुभयो ।

जेलेन्स्कीले आफू प्रत्यक्ष भेटका लागि तयार रहेको बताउँदै वाशिङ्टनको वार्ता युद्ध अन्त्यतर्फ एक महत्वपूर्ण कदम भएको बताउनुभयो ।

अमेरिका र युरोपेली राष्ट्रहरूबीच युक्रेनलाई १०० अर्ब अमेरिकी डलरको हतियार सहायता उपलब्ध गराउने योजना छ भने जेलेन्स्कीले आगामी १० दिनभित्र सुरक्षा ग्यारेन्टीका औपचारिक सम्झौताहरू हुने बताउनुभयो ।

अन्त्यमा, युरोपेली नेताहरूले ट्रम्पको पुटिनप्रतिको सम्भावित रुचि र व्यवहारप्रति चासो व्यक्त गरेका छन्, जसले वार्ताको सफलतालाई अझै चुनौतीपूर्ण बनाइरहेको छ ।

युक्रेनको सुरक्षा प्रत्याभूतिका लागि अमेरिकी हवाई सहयोग सम्भव: ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मस्को र किएभबीचको वार्ता असफल भएमा ‘कठिन’ स्थिति उत्पन्न हुने चेतावनी दिँदै अमेरिकी हवाई सहयोग र युरोपेली स्थल सेना युक्रेनको सुरक्षा प्रत्याभूतिको हिस्सा हुन सक्ने बताउनुभएको छ ।

सोमबार ह्वाइट हाउसमा भेटेका युरोपेली सहयोगीहरूलाई सङ्केत गर्दै राष्ट्रपति ट्रम्पले फक्स न्यूजसँग भन्नुभयो, “सुरक्षाको कुरामा उनीहरू यूरोपेली स्थल सेनालाई युक्रेनमा राख्न तयार हुन्छन्।”

ट्रम्पले भन्नुभयो, “हामी उनीहरूलाई विशेष गरी ं हवाई माध्यमबाट मद्दत गर्न इच्छुक छौं, हामीसँग भएको प्रकारको हसतियार कसैसँग पनि छैन, वास्तवमा, उनीहरूसँग छैन।”

उहाँले युक्रेनमा कुनै पनि अमेरिकी सेना तैनाथ नहुने आफ्नो ‘आश्वासन’ थप्नुभयो तर युक्रेनलाई पश्चिमी सैन्य गठबन्धन नेटोमा सामेल गराउने कुरा अस्वीकार गर्नुभयो ।

रुसी आक्रमणको तीन वर्षभन्दा बढी समय बितिसक्दा पनि युद्धपछिको सुरक्षा किएभका लागि प्रमुख चिन्ताको विषय बनेको छ । मस्कोले लामो समयदेखि युक्रेनलाई नेटोमा सामेल भएको सहन नगर्ने बताउँदै आएको छ र पूर्व सोभियत क्षेत्रमा पश्चिमी सेना तैनाथ गर्ने विचारको विरोध गर्दै आएको छ।

पुनःस्थापनको माग गर्दै १३ दिनदेखि शुक्लाफाँटा आरक्ष विस्थापित रिले अनशनमा

कञ्चनपुर, ३ भदौ : शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज (तत्कालीन आरक्ष) विस्तारका क्रममा विस्थापित भएका परिवारले पुनःस्थापनाको माग १३ दिनदेखि रिले अनशनमा बसेका छन् ।विसं २०५८ मा आरक्ष क्षेत्र विस्तार गर्दा घरबार गुमाएका परिवार उचित बसोबास, क्षतिपूर्ति र द्वन्द्वपीडित घोषणाको माग गर्दै अनशनमा बस्दै आएका हुन् । आरक्ष विस्थापित परिवार कृष्णपुर नगरपालिका–२ वनहरा र निकुञ्जको ढक्का शिविरमा रिले अनशनमा बसेका छन् ।

पीडित परिवारले दश कट्ठा जग्गा, घरगोठ, काठपात, अन्नपातलगायत २४ वर्षअघि विस्थापनका क्रममा जलाइएका सम्पत्तिको क्षतिपूर्ति दिलाउनुपर्ने माग अघि सारेका छन् । तत्काल पुनःस्थापनाको व्यवस्था गर्नुपर्ने उहाँहरूको माग रहेको छ ।

“निकुञ्ज विस्तारको नाममा घरबारबाटै लखेटियो, अर्कातिर कुनै क्षतिपूर्ति नदिई खाली हात बनाइयो”, आरक्ष पीडित केन्द्रीय समितिका अध्यक्ष प्रेमदत्त भट्टले भन्नुभयो, “समाधान नभएसम्म अनशनको आन्दोलनलाई निरन्तरता दिन्छौँ ।”

पीडितको समस्या समाधानका लागि विगतमा दुई दर्जनभन्दा बढी आयोग बने पनि ठोस परिणाम नदेखिएको उहाँको भनाइ रहेको छ । समितिका उपाध्यक्ष अक्कलबहादुर विष्टका अनुसार, दुई हजार ४७३ परिवारलाई विस्थापितका रूपमा पहिचान गरी परिचयपत्र वितरण गरिए पनि पुनःस्थापनाको कार्य हुन नसकेको छैन ।

सरकारले आरक्ष विस्थापित परिवारलाई अहिलेसम्म आधारभूत सेवा–सुविधासमेत नदिएको पीडितको गुनासो छ । “गैरनागरिकझैँ व्यवहार भइरहेको छ, शिक्षा, स्वास्थ्य, आवास, खानेपानी र रोजगारजस्ता सुविधा उपलब्ध छैनन्”, विष्टले दुखेसो पोख्नुभयो ।

हाल जिल्लाका विभिन्न स्थानमा गरी १४ वटा शिविरमा आरक्ष विस्थापित परिवार बस्दै आएका छन् । त्यसमध्ये तीन शिविर निकुञ्जभित्र नै छन् भने बाँकी शिविर बाहिरी क्षेत्रमा छन् । धेरै परिवार अझै पनि प्लास्टिकको झुपडीमा बस्न बाध्य छन् । दैनिक जीवन धान्न अधिकांश भारततिर मजदुरी गर्न जाने गरेका छन् ।

“सरकार भनेको अभिभावक हो, तर अहिलेको स्थितिले हामीलाई पूर्ण बेवारिसे बनाएको छ”, समितिका सचिव मोहनदत्त बडुले भन्नुभयो, “१३ दिनदेखि अनशन जारी छ, तर सरकार मौन छ ।” विस्थापितले पुनःस्थापनासँगै शिक्षा, स्वास्थ्य, सुरक्षित आवास, खानेपानी, बिजुली, रोजगारी र ६० वर्ष उमेरका वृद्धवृद्धाका लागि भत्ता सुनिश्चित गर्नुपर्ने माग अघि सारेका छन् । “हामीलाई संविधानले दिएको मौलिक हक सुनिश्चित गर्नुपर्छ”, समितिका कोषाध्यक्ष कृष्ण भट्टले भन्नुभयो, “संविधानले सबै नागरिकलाई आवास, जग्गासँगै रोजगारीको हक हुने भनिएको छ, त्यसकै प्राप्तीका लागि वर्षौंदेखि सङ्घर्ष गर्नुपर्ने बाध्यता छ ।”

दैनिक जीवन कष्टकर बनेको पीडित राजी लुहारले भन्नुभयो, “बिहान खाएपछि बेलुकी के खाने भन्ने चिन्ता हुन्छ, खुट्टा टेक्ने जग्गा छैन, रोजगारी छैन, लालाबाला केले पाल्ने चिन्ता छ, वनछेउको झुपडीमा बस्दा जङ्गली जनावरको आक्रमणमा परेर ज्यान गुमाउनुपर्ने खतरा छ ।”

“राजनीतिक दलहरूले २४ वर्षसम्म पुनः स्थापनको अश्वासन बाँड्दै भोट बैंकका रूपमा मात्र प्रयोग गरे” उहाँले थप भन्नुभयो, “स्थायी समाधानका लागि चासो देखाएनन्, हामो पीडा बुझिएन ।” पूर्वन्यायाधीशको संयोजकत्वमा दुई÷दुई पटक अधिकार सम्पन्न आयोग बने पनि प्रतिवेदन बुझाउने र परिवारको सङख्या घटबढ गर्ने कामबाहेक कुनै प्रगति हुन नसकेको उहाँको बुझाइ रहेको छ । साउन २२ गतेदेखि महेन्द्रनगरमा सुरू भएको रिले अनशन अहिले शिविरमै जारी छ ।

पोखराको फेवाताल संरक्षणमा प्रदेश सरकारको ध्यान केन्द्रित : मुख्यमन्त्री पाण्डे

लेखनाथ (कास्की), ३ भदौः गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पर्यटकीय आर्कषणको केन्द्रका रूपमा रहेको पोखराको फेवाताल संरक्षणमा प्रदेश सरकारको ध्यान केन्द्रित रहेको बताउनुभएको छ ।

टे«किङ्ग एजेन्सिज एसोसियसन अफ नेपाल (टान) गण्डकी प्रदेशद्वारा आज पोखरामा आयोजित ‘ट्रेकिङ्ग गाइड तथा ट्रेकिङ्ग पोटर गाईड’सम्बन्धी १५ दिने तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रममा उहाँले देशकै पर्यटकीय गहनाको रूपमा रहेको फेवाताल संरक्षणमा सबैको ध्यान जान आवश्यक रहेको बताउनुभयो ।

पर्यटकीय राजधानी घोषणासँगै यहाँका पर्यटकीय गन्तव्यको संरक्षण र विकास गर्ने दायित्व प्रदेश सरकारको भएको बताउँदै मुख्यमन्त्री पाण्डेले यस्ता पर्यटनसँग सम्बन्धित संस्थाको भूमिका पनि त्यत्तिकै महत्त्वपूर्ण रहेको बताउनुभयो । पर्यटकीय राजधानी पोखरा र आसपासका पर्यटकीय गन्तव्यमा पर्यटकको बसाइँ लब्याउन सरकार र पर्यटन व्यवसायीको सहकार्यमा प्रवर्द्धनात्मक कार्यक्रम अगाडि बढाउनुपर्ने उहाँको भनाइ थियो ।

मुख्यमन्त्री पाण्डेले फेवातालको मापदण्डभित्र परेका तर व्यक्तिको नाममा रहेका जग्गाको मुआब्जा दिइने बताउनुभयो । “फेवातालको मापदण्ड कायम गर्ने विषयमा अदालतको आदेश कार्यान्वयनका लागि हाल तालको सिमाङ्कन गर्ने कार्य भइरहको छ । मापदण्डभित्र व्यक्तिको लालपूर्जा भएका जग्गाको मुआब्जा दिने काम पनि हुन्छ”, उहाँले भन्नुभयो ।

प्रदेश वन तथा पर्यटनमन्त्री मित्रलाल बस्यालले पर्यटकीय राजधानी पोखरामा सञ्चालित यस्ता तालिमले स्वदेशी तथा विदेशी पर्यटकलाई पदमार्गमा जान सजिलो बनाउने र रोजगारीको अवसरसमेत सिर्जना गर्ने बताउनुभयो । तीन सय जनाले एकैपटक यस्तो तालिम लिँदा गण्डकी प्रदेशको पर्यटन विकास र प्रवर्द्धनमा सहयोग पुग्ने उहाँको विश्वास थियो ।

कार्यक्रममा पोखरा महानगरपालिका–६ का वडाध्यक्ष विष्णुबहादुर भट्टराई, पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारी, पर्यटन बोर्ड नेपालका पूर्वबोर्ड सदस्य गणेशबहादुर भट्टराई, टान गण्डकीका सल्लाहकार डम्बर केसी, अजय ढकाल, मणिराज लामिछाने, इन्द्रकाजी गुरुङ, तीर्थ सुवेदी, कृष्ण आचार्यलगायतले पर्यटन विकासमा सरकार र पर्यटन व्यवसायीको ध्यान केन्द्रित हुनुपर्नेमा जोड दिएका थिए ।

जापानिज इन्सेफलाइटिस्बाट ६३ सङ्क्रमति, ११ जनाको मृत्यु

काठमाडौँ, ३ भदौ: जापानिज इन्सेफलाइटिस्बाट सन् २०२५ को हालसम्म ११ जनाको निधन भएको छ । स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा, बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा अभियान गौतमले हालसम्म ६३ जनामा जापानिज इन्सेफलाइटिस् देखिएको र ११ जनाको मृत्यु भइसकेको बताउनुभयो ।

उहाँका अनुसार तेह्रथुम, बारा, मोरङ, झापा, नवलपराली पश्चिम, कैलाली, प्युठान र अर्घाखाँचीका एक÷एक जना तथा चितवन तीन जनाको मृत्यु भएको छ । मृत्यु भएकामध्ये आठ वर्षका एक जना, १७ वर्षका एक जना र ४० वर्षभन्दामाथिका नौ जना रहेका छन् ।

शाखा प्रमुख डा गौतमका अनुसार घरमा नै रहेका ३० प्रतिशत र अस्पताल जाँदाजाँदै २७ प्रतिशतमको मृत्यु भएको छ । सन् २०२४ मा जापानिज इन्सेफलाइटिस्बाट २५ जनाको निधन भएको थियो भने ८६ जनामा सङ्क्रमण भएको थियो ।

उहाँले जापानिज इन्सेफलाइटिस् खोप नलगाएकाहरूमा धेरै सङ्क्रमण देखिएको बताउनुभयो । “हालसम्म २४ जिल्लामा ५० वटा स्थानीय तहमा यसको देखिएको छ । २४ वटा स्थानीय तहलाई उच्च जोखिमको रूपमा लिइएको छ । यो रोग विशेषगरी साउनदेखि कात्तिकसम्म बढी देखिन्छ”, डा गौतमले भन्नुभयो ।

उहाँका अनुसार नेपालमा ८२ प्रतिशत बालबालिकालाई जापानिज इन्सेफलाइटिस्विरुद्धको खोप लगाई सकिएको छ ।

कसरी सर्दछ

चिकित्सकहरूका अनुसार जापानिज इन्सेफलाइटिस् मस्तिष्कमा सङ्क्रमण हुने क्युलेक्स प्रजातिको लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको गम्भीर रोग हो । यो लामखुट्टे साँझपख तथा झिसमिसे बिहानीको समयमा बढी सक्रिय हुने गर्दछ । धानबाली, दलदल र पानी जम्ने स्थान लामखुट्टेको लागि उपयुक्त प्रजननस्थल भएकाले यस्ता क्षेत्रमा सङ्क्रमणको जोखिम बढी हुने गरेको बताइन्छ ।

जापानिज इन्सेफलाइटिस् गम्भीर अवस्थामा पुग्यो भने मस्तिष्क सुन्निने, पक्षाघात हुने, बेहोस हुने, कोमामा जाने वा ३० प्रतिशतसम्मको मृत्युसमेत हुनसक्ने डा गौतमले बताउनुभयो । यो रोग जुनसुकै उमेरका मानिसलाई लाग्न सक्ने भए पनि धेरैजसो १५ वर्षमुनिका बालबालिकामा देखिने गर्दछ ।

यो रोग सङ्क्रमित हाँस, कुखुराजस्ता चराचुरुङ्गी र सुँगर–बङ्गुरजस्ता जनावरलाई टोकेका सङ्क्रमित लामखुट्टेले मानिसलाई टोकेमा सर्ने गर्दछ । यो रोग मानिसबाट मानिसमा भने सर्दैन ।

सिद्धबाबा सुरुङमार्गको भौतिक प्रगति करिब ६० प्रतिशत,भूइँ र भित्ता ढलानको काम धमाधम

तानसेन (पाल्पा), ३ भदौः राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको सिद्धबाबा सुरुङमार्गको काम धमाधम भइरहेको छ । सुरुङमार्ग आयोजनाका अनुसार हाल सुरुङमार्गमा टनेल लाइनिङ (भूइँ र भित्ता ढलान) को काम धमाधम भइरहेको हो । यसबाहेकका काम पनि जारी छन् ।

सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका–३ दोभान सिद्धबाबा क्षेत्रमा निर्माणाधीन सुरुङमार्गको ‘ब्रेक थ्रु’ भएपछि कामले गति लिएको हो । हालसम्म यहाँको भौतिक प्रगति ५९ दशमलव ७३ प्रतिशत छ भने वित्तीय प्रगति ५१ दशमलव एक प्रतिशत रहेको आयोजना कार्यालयका प्रमुख कृष्णराज अधिकारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार हाल मुख्य टनेलको भूइँ भागको एक हजार ८९ मिटर ढलान (इन्भर्ट) सकिएको छ भने दायाँबायाँ नौ सय ९४ मिटर लेपन (लाइनिङ)को काम सकिएको छ । हाल सुरुङमार्गभित्र दुई सय ९२ मिटरमा लाइनिङको काम भइरहेको छ ।

सुरुङमार्गको तीन वटा बाइपासमध्ये पहिलो एक सय १५१ मिटर, दोस्रो १६१ मिटर र तेस्रो १३० मिटर छ  । पहिलो बाइपासमा १४५ मिटर इन्भर्ट र १२४ मिटर लाइनिङको काम सकिएको छ । दोस्रो बाइपासमा इन्भर्टको काम १५७ दशमलव आठ र आठ दशमलव तीन मिटर लाइनिङको काम सकिएको छ । यस्तै, सुरुङमार्गको तेस्रो बाइपासमा इन्भर्टको काम १२५ मिटर र लाइनिङको काम १०४ दशमलव २ मिटर भइसकेको छ । दुई लेनको मुख्य सुरुङमार्ग एक हजार ८९ मिटर लम्बाइको हुनेछ भने चौडाइ साढे १० मिटर र उचाइ करिब सात मिटर रहने छ । सुरुङमार्गको मुख्य टनेलमा अत्यावश्यक कामका सवारीसाधन ओहोरदोहोर गर्न मिल्ने अवस्था बनेको आयोजना प्रमुख अधिकारीले बताउनुभयो ।

यहाँ २०७९ सालदेखि सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–तानसेन सडकखण्डको माथिल्लो सिद्धबाबा मन्दिरबाट एक हजार १२६ मिटर सुरुङमार्ग निर्माण सुरु भएको हो । आयोजनाअन्तर्गत मुख्य सुरुङको ‘ब्रेक थ्रु’ भइसकेको छ ।

सुरूङमार्ग पाँच वर्षमा सक्नेगरी चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनियरिङ कर्पोरेसनले रु सात अर्ब ३४ करोड २१ लाख ४० हजारको लागतमा काम गरिरहेको छ । यहाँ २०८३ सालमा सम्पूर्ण काम सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजना कार्यालयले जनाएको छ ।

सम्झौता गरेअनुरूप सतप्रतिशत कार्यसम्पादनमा जोड दिनुहोस् : मन्त्री गुरुङ

काठमाडौँ, ३ भदौ : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले चालु आर्थिक वर्षमा गरिएका कार्यसम्पादन सम्झौताहरू सतप्रतिशत सम्पन्न गर्न निर्देशनात्मक सुझाव दिनुभएको छ । मन्त्रालयमा आज सचिव र मन्त्रालयका महाशाखा प्रमुख, विभागीय प्रमुख र मन्त्रालय सम्बद्ध निकायका प्रमुखबीच आव २०८२/८३ को कार्यसम्पादन सम्झौता कार्यक्रममा मन्त्री गुरुङले उपस्थित सबै निकायका प्रमुख र कर्मचारीलाई त्यस्तो ध्यानाकर्षण गराउनुभएको हो ।

कार्यक्रममा मन्त्री गुरुङ र सचिव राधिका अर्यालबीच मन्त्रालयको कार्यसम्पादन सम्झौतामा हस्ताक्षर भएको थियो । त्यसपछि मन्त्री गुरुङले सञ्चार मन्त्रालयका अन्य निकायको कार्यशैलीलाई तीव्र र चुस्त बनाउन निर्देशन दिनुभएको हो । उहाँका अनुसार मन्त्रालयले यो वर्ष विभिन्न निकायअन्तर्गतका पुराना, ऐन, कानुन र नीतिहरूलाई रूपान्तर गर्ने, भौतिक संरचनाको निर्माण गर्ने र दक्ष जनशक्ति वृद्धि गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

यसअघिका वर्षमा सम्झौता अनुकूल कार्यसम्पादन हुन नसकेको स्वीकार गर्दै मन्त्री गुरुङले आगामी वर्षमा त्यही कुरा नदोहोर्‍याउन र लक्ष्यअनुसारको कार्यसम्पन्न गर्न निर्देशन दिनुभयो । उहाँले एनटिभी वल्र्ड टेलिभिजन सञ्चालन गर्ने, नयाँ नीति र ऐन निर्माण गर्ने, सुरक्षण मुद्रण केन्द्रमार्फत बैंक नोटबाहेक अन्य थुप्रै राष्ट्रिय कागजात छाप्न सुरू गर्नेलगायतका लक्ष्य रहेको बताउनुभयो । साथै उहाँले पुँजीगत खर्च वृद्धिमा जोड दिन पनि आग्रह गर्नुभयो । “सम्झौता गर्नको लागि मात्रै होइन, यसको कार्यान्वयन गर्नमा जोड दिनुहोस्”, मन्त्री गुरुङले भन्नुभयो ।

कार्यक्रममा मन्त्रालयका सचिव अर्यालले कार्यसम्पादनका क्रममा आइपर्ने जुनसुकै समस्याको समाधान गर्न मन्त्रालय सधैँ तयार रहेको बताउँदै मन्त्रालय मातहतका निकायहरूले मन लगाएर काम गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले गत वर्ष १९ प्रशितले कार्यसम्पादन वृद्धि देखिए पनि पुँजीगत खर्च सन्तोषजनक नरहेको बताउनुभयो ।

गुणात्मक कार्यसम्पादनमा ध्यान दिन पनि उहाँले सुझाव दिनुभयो । कार्यक्रममा मन्त्रालयका सहसचिव कोशहरी निरौलाले कार्यसम्पादन मूल्याङ्कनले कर्मचारीलाई थप जिम्मेवार बनाउने बताउँदै यसको कार्यान्वयनमा जोड दिनुपर्ने धारणा राख्नुभयो ।

सर्वोच्च पदमा पुगिसकेको व्यक्ति पुनः राजनीतिमा फर्कनु उचित हुँदैनः महासचिव पोखरेल

सिन्धुपाल्चोक । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले देशको सर्वोच्च पदमा पुगिसकेको व्यक्ति पुनःराजनीतिमा फर्कनु उचित नहुने बताउनुभएको छ । आज यहाँ आयोजित पार्टीको प्रथम जिल्ला प्रतिनिधि परिषद् बैठक उद्घाटन गर्दै उहाँले त्यही मान्यताका साथ राष्ट्रपति जस्तो पदमा पुगेको व्यक्ति सक्रिय राजनीतिमा आउनु राम्रो नहुने निष्कर्षमा पार्टी पुगेको बताउनुभयो ।

महासचिव पोखरेलले एमालेलाई कमजोर पार्ने विभिन्न प्रयास भइरहेको उल्लेख गर्दै एकताबद्ध भएर सङ्गठनलाई सुदृढ बनाउन नेता–कार्यकर्तालाई आह्वान गर्नुभयो । उहाँले ७० वर्षभन्दा माथिका नेताले नेतृत्व लिन नहुने भन्ने भ्रमलाई चिर्नुपर्नेसमेत बताउनुभयो ।

एमाले सिन्धुपाल्चोक सचिव कृष्णगोपाल तामाङले बैठकमा जिल्लाभरका सात सय ४५ भन्दाबढी प्रतिनिधि र पर्यवेक्षकको सहभागिता रहेकामा १० बुँदे मेलम्ची घोषणापत्र जारी गर्दै सम्पन्न भएको जानकारी दिनुभयो ।

जिल्ला अध्यक्ष होमनारायण श्रेष्ठको अध्यक्षतामा भएको बैठकमा एमाले स्थायी कमिटी सदस्य एवं बागमती प्रदेशका इन्चार्ज राजन भट्टराई, नेता शेरबहादुर तामाङलगायतको सहभागिता रहेको थियो ।

रासायनिक मल वितरणमा हुने अनियमितता रोक्न कृषी मन्त्रीको निर्देशन

जनकपुरधाम – भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री रामनाथ अधिकारीले नेपालको अन्न भण्डार मधेस प्रदेशका किसानलाई रासायनिक मलको वितरण गर्दा हुने समस्या तथा अनियमितता रोक्न निर्देशन दिनुभएको छ ।

मधेस प्रदेश सुक्खाग्रस्त घोषणा भएपछि विभिन्न पार्टीका सांसदसहित मधेस प्रदेशको स्थलगत निरीक्षण तथा छलफलका लागि आउनुभएका मन्त्री अधिकारीले मल वितरणको समस्या दिगो रूपमा समाधान गर्न ठोस योजनासहित अगाडि बढ्नुपर्ने बताउनुभयो ।

जनकपुरधामस्थित सङ्घीय र प्रदेशलगायतका सरोकारवाला निकायका प्रमुख तथा पदाधिकारीसँग आज भएको छलफलमा मन्त्री अधिकारीले किसान मल नपाएर भौतारिरहेको भन्ने समाचार आएको उल्लेख गर्दै मल वितरण गर्ने निकायले जिम्मेवारीपूर्वक काम नगरेको तथा उत्तरदायी नभएको देखिए कारबाही गर्ने स्पष्ट पार्नुभयो ।

अहिले नेपालमा रु २६ करोड मूल्य बराबरको चार लाख ९३ हजार मेट्रिक टन मल आएको बताउँदै उहाँले यस्तो अवस्थामा किसानले मल नपाउनु दुःखद् विषय भएको उल्लेख गर्नुभयो । मन्त्री अधिकारीले भन्नुभयो, “मधेसको १३६ पालिकाका किसानले रासायनिक मल नपाउनु पीडाको विषय हो । यो सम्बन्धित निकायका पदाधिकारी असक्षमता हो ।”

अहिले मधेसमा उखु किसानले प्राप्त गर्दै आएको प्रतिक्विन्टल रु ७० अनुदानको रकम हटाइएको विषयलाई पुनः कायम गर्नुपर्ने आवश्यकता रहेको उहाँको भनाइ छ ।

सोही अवसरमा मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले रासायनिक मलको वितरणमा व्यापक अनियमितता भएकाले मधेस प्रदेशमा रहेका कृषि सामग्री कम्पनी लिमिटेड तथा साल्ट टेडिङ कर्पोरेशनका कार्यालय प्रमुख तथा कर्मचारीलाई तत्काल सरुवा गर्न माग गर्नुभयो ।

मधेस प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्रीले जनार्दनसिंह क्षेत्रीले अहिलेसम्म मधेस प्रदेशमा ८७ प्रतिशत धान रोपाइँ भएको छ, त्यो गत वर्षको तुलनामा १० प्रतिशत कम रहेको जानकारी दिनुभयो ।

सो अवसरमा मधेस प्रदेशका कृषि सचिव डा उमेश दाहालले मधेस प्रदेशको कृषिको अवस्थाबारे कार्यपत्र समेत प्रस्तुत गर्नुभएको थियो । मन्त्री अधिकारीको टोलीमा सङ्घीय सांसद रामकृष्ण यादव, अमनलाल मोदी, हरिप्रसाद उप्रेती तथा देवप्रसाद तिमिल्सिनाको सहभागिता रहेको थियो ।

प्रस्तावित वैकल्पिक विकास वित्त कोषको पुँजी संरचनाबारे सांसदहरू र अर्थमन्त्रीबीच फरक मत

काठमाडौँ, ३ भदौ : प्रस्तावित वैकल्पिक विकास वित्त कोषको पुँजी संरचना कस्तो हुने भन्ने विषयमा अर्थ समितिका सांसदहरू र उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलबीच फरक मत देखिएको छ ।

‘वैकल्पिक विकास वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८२’ मा वैकल्पिक विकास वित्त कोषको अधिकृत पुँजी रु एक खर्ब र चुक्ता पुँजी रु २५ अर्ब हुने गरी प्रस्ताव गरिएको छ । अर्थ समितिका सदश्यहरूले उक्त पुँजी संरचना बढाउनुपर्ने धारणा राखेका थिए भने अर्थमन्त्री पौडेलले पुँजी बढाउन नसकिने बताउनुभएको छ । विद्यमान पुँजी संरचनाअनुसार नै विधेयक अघि बढाउने तर भोलिका दिनमा पुँजी संरचना बढाउन सक्ने अधिकार मन्त्रिपरिषद्लाई दिन सकिने गरी अर्थ समितिले विधेयकमाथिको प्रतिवेदन तयार पारेको छ ।

“मन्त्रिपरिषद्ले राजपत्रमा सूचना प्रकाशित गरी अधिकृत पुँजी वा चुक्ता पुँजी बढाउन सक्नेछ भन्ने व्यवस्था विधेयकमा थप गर्ने निर्णय भएको छ”, समिति सभापति सन्तोष चालिसेले भन्नुभयो । समितिको आजको बैठकले विधेयकमाथिको समितिको प्रतिवेदनसमेत पारित गरेको छ ।

विधेयकमाथिका यसअघिका छलफलमा समेत सांसदहरूले कोषको पुँजी बढाउनुपर्ने धारणा समितिमा राख्दै आएका थिए । आज प्रतिवेदन पारित गर्नुअघि पुँजी संरचना बढाउनुपर्ने भन्दै अघिकांश सांसदहरूले आफ्नो मत राख्नुभएको थियो । तर अर्थसचिव घनश्याम उपाध्यायले चुक्ता पुँजी र अधिकृत पुँजीबारे विधेयकमा प्रस्ताविक संरचनाले ठूला आयोजनामा लगानी गर्नका लागि समस्या नहुने भएकाले त्यसलाई बढाउन उपयुक्त नहुने धारणा समितिमा राख्नुभएको थियो । अर्थसचिवको जवाफबाट समितिका सांसदहरू विश्वस्त हुन नसकेपछि अर्थमन्त्री पौडेललाई समितिमा बोलाएर पुँजी संरचना बढाउन मिल्ने वा नमिल्ने बारे समितिका सांसदहरूले जिज्ञासा राखेका थिए ।

“हामीले विकासका लागि वैकल्पिक वित्त परिचालन गर्ने भनेर कानुन बनाउँदै छौँ । नयाँ खालको कोष ल्याउने भनिएको छ, तर रु २५ अर्ब चुक्ता पुँजी र रु एक खर्ब अधिकृत पुँजीको यति सानो कोषलाई जनताले पत्याउँदैनन् । जनतालाई आशा जगाउने गरी पुँजी वृद्धि गरेर जानुपर्छ”, समितिका सदश्य सूर्यबहादुर थापा क्षेत्रीको भनाइ थियो । सांसदहरू छिरिङ डम्डुल लामा (भोटे), जुलीकुमारी महतो (महासेठ), नारायणी शर्मा, मेटमणि चौधरीले पनि पुँजी बढाएर जानुपर्ने धारणा राख्नुभएको थियो ।

तर अर्थमन्त्री पौडेलले कोषको प्रस्तावित पुँजी संरचनाभन्दा बाहिर जान नसकिने अडान लिनुभयो । “हामीले जनतालाई सही कुरा बताएर आशा जगाउने हो । कोषका लागि यस वर्षको बजेटमा राखिएको भन्दा बढी रकम खोज्न सकिँदैन । पुँजी बढाउने हो भने कुनै योजनाको बजेट काट्नुपर्ने हुन्छ । त्यो गर्न मिल्दैन”, अर्थमन्त्री पौडेललेको भनाइ थियो । त्यस्तै, ठूलो लगानीका आयोजना अघि बढाउनका लागि कोषको पुँजी संरचना बाधक नहुने पनि अर्थमन्त्री पौडेलले स्पष्ट पार्नुभयो ।

सांसदहरूले पुँजी बढाउनुपर्ने र अर्थमन्त्रीले बढाउन नसकिने धारणा राखेपछि अर्थ समितिले ‘मध्यमार्गी बाटो’ भन्दै अहिले विधेयकमा प्रस्ताव गरिएकै आकारमा अघि बढाउने र भोलिका दिनमा पुँजी बढाउन सक्ने अधिकार मन्त्रिपरिषद्लाई दिने गरी प्रतिवेदन तयार पारेको छ । विधेयकअनुसार कोषको अधिकृत पुँजी रु एक खर्ब र चुक्ता पुँजी रु २५ अर्ब हुनेछ । त्यसमा नेपाल सरकारको ५१ प्रतिशतअर्थात् रु १२ अर्ब ७५ करोड बराबरको शेयर लगानी गर्ने प्रस्ताव गरिएको छ । कोषमा नेपाल सरकार, अन्तरराष्ट्रिय वित्तीय संस्था वा वदेशी बैंक वा वित्तीय संस्था, कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, सामाजिक सुरक्षा कोष, बिमा कम्पनीहरूले लगानी गर्न पाउनेछन् । प्रदेश सरकार तथा स्थानीय तहहरूले पनि कोषको शेयर खरिद गर्नसक्ने प्रावधान अर्थ समितिले विधेयकमा थपेको छ ।

त्यस्तै, अर्थ समितिले कोषको संरचनामा पनि परिवर्तन गरेको छ । यसअघि विधेयकमा कोषमा अर्थसचिव अध्यक्ष रहने गरी सञ्चालक समितिको मात्रै व्यवस्था गरिएकोमा अर्थ समितिले त्यसभन्दा माथि निर्देशक समिति रहनेगरी संशोधन गरेको छ । अर्थमन्त्रीको संयोजकत्वमा रहने निर्देशक समितिमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, नेपाल राष्ट्र बैंकका गभर्नर, मुख्यसचिव र लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत सदश्य रहनेगरी अर्थ समितिले प्रतिवेदन तयार पारेको हो ।

वैकल्पिक विकास वित्त कोषबाट कृषि, वन पैदावार र खानी तथा खनिजजन्य क्षेत्रमा पनि लगानी गर्न सक्नेगरी अर्थ समितिले विधेयकमा थप गरेको छ । विधेयकअनुसार विद्युत् उत्पादन, प्रसारण तथा वितरण आयोजना, सडक, रेलमार्ग, विमानस्थल, सुरूङमार्ग, औद्योगिक विकास पूर्वाधार निर्माण (विशेष आर्थिक क्षेत्र, औद्योगिक पार्क, सुक्खा बन्दरगाह वा सूचना प्रविधि पार्क) निर्माणका लागि वैकल्पिक वित्तका स्रोत प्रयोग गर्न सकिनेछ । त्यस्तै, सहरी विकास पूर्वाधार निर्माण, केबुलकार, रज्जुमार्ग, पोड बेलगायत संरचना निर्माण एवं संचालनका लागि यस्ता कोष परिचालन गरिने जनाइएको छ । निजी क्षेत्रले कार्यान्वयन गर्ने सार्वजनिक–निजी साझेदारी अन्तर्गतको राष्ट्रिय प्राथमकिता प्राप्त परियोजनामा पनि कोषले लगानी गर्न सक्नेछ । यद्यपि, रु एक अर्बभन्दा कम लागत अनुमान भएको परियोजनामा भने कोषबाट लगानी गर्न नसिकने विधेयकमा उल्लेख छ ।

तत्काल प्रतिफल दिन नसक्ने परियोजना, ऋण वा जमानतबापत धितो दिन नसक्ने परियोजना, कोषले जारी गरेको ऋणपत्र वा डिवेञ्चर धितो वा जमानत राखी ऋण माग गर्ने परियोजना, कुनै प्राकृतिक व्यक्तिले कार्यान्ववयन गर्ने परियोजनामा कोषले लगानी गर्नेछैन ।

त्यस्तै, कोषको बहालवाला सञ्चालक वा प्रमुख कार्यकारी अधिकृत वा त्यस्तो पदाधिकारी बहाल हुनुभन्दा कम्तीमा तीन वर्षअघि आधारभूत शेयर धनी, साझेदार, सञ्चालक वा सदस्य रहेको फर्म, कम्पनी वा संस्थाले कार्यान्वयन गर्ने परियोजनामा पनि लगानी गर्न नपाइने व्यवस्था विधेयकमा राखिएको छ ।

मुलुकको समृद्धि, दिगो विकास तथा उत्पादकत्व वृद्धिका लागि अत्यावश्यक पूर्वाधार परियोजना कार्यान्वयन गर्न परम्परागत लगानीका अतिरिक्त वैकल्पिक वित्त परिचालन आवश्यक रहेको भन्दै सरकारले यो विधेयक ल्याएको हो । विभिन्न किसिमका ऋणपत्र, प्रत्याभूति पत्र, स्वपुँजी कोषलगायत विभिन्न वित्तीय वा मौद्रिक उपकरणमार्फत वैकल्पिक वित्त परिचालन गर्न सकिने विधेयकमा उल्लेख छ ।

नेपाली पर्यटनको कथा टिकटकमार्फत संसारलाई सुनाइने

काठमाडौँ – हिमाल, संस्कृति र प्रकृतिले सम्पन्न देश नेपाललाई विश्वले विभिन्न रूपले चिनेको छ । कहिले सगरमाथा र हिमालमार्फत, कहिले बुद्धमार्फत, कहिले संस्कृतिका विविध रङ्गहरूमार्फत् त कहिले अनुपम प्रकृतिमार्फत् । अब भने नेपालले सामाजिक सञ्जाल ‘टिकटक’ को उपयोग गर्दै आफ्नो कथा संसारभर सुनाउने भएको छ ।

नेपाल पर्यटन बोर्डले नेपालाई विश्वकै उत्कृष्ट पर्यटकीय गन्तव्य बनाउने उद्देश्यले टिकटकसँग साझेदारी गरिएको जनाएको छ । यस साझेदारीले नेपालका प्राकृतिक दृश्य, सांस्कृतिक सम्पदा, पर्व–उत्सव, खानपान र साहसिक अनुभवलाई विश्वका करोडौँ डिजिटल दर्शकमाझ पु¥याउने लक्ष्य लिइएको छ ।

यहाँ यहाँ आयोजित साझेदारीपत्र आदानप्रदान कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पर्यटन बोर्ड र टिकटकबीचको यो सम्झौता केवल प्रचारप्रसारको काम मात्र नभई नेपाललाई नयाँ पुस्तासम्म पु¥याउने अभियान भएको बताउनुभयो । आजका युवाले भ्रमणको निर्णय गर्नुअघि वास्तविक कथा र अनुभव खोज्न चाहने भन्दै उहाँले टिकटकमार्फत उनीहरूसम्म नेपालका अद्वितीय पर्यटकीय गन्तव्यका कथा सुनाउने र देखाउने अवसरको उपयोग हुने विश्वास व्यक्त गर्नुभयो ।

मन्त्री पाण्डेले पर्यटनलाई नेपालको समग्र आर्थिक विकासको मेरुदण्डका रूपमा उल्लेख गर्दै यस सहकार्यमार्फत ग्रामीण समुदाय, साना व्यवसायी र स्थानीय पथप्रदर्शकलाई प्रत्यक्ष फाइदा पुग्ने बताउनुभयो । “हामीले सधैँ नेपाललाई हिमाल र अध्यात्मको देशका रूपमा चिनाइरहेका छौँ । हाल समय बदलिएको छ । डिजिटल प्लेटफर्ममा देखिने कथा नै विश्वयात्रुका लागि पहिलो प्रेरणा बन्न थालेका छन् । त्यसैले टिकटकसँगको सहकार्यले नेपाललाई डिजिटल पुस्तासम्म पु¥याउने बाटो खोलिदिएको छ ।”

पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) दीपकराज जोशीले नेपालको सौन्दर्य र आत्माको कथा संसारभर पु¥याउन महत्त्वपूर्ण समझदारी भएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “हाम्रो लामो प्रयासलाई अब टिकटकको विश्वव्यापी पहुँचले थप बल दिनेछ । यो सहकार्यले केवल बाहिरी पर्यटकलाई आकर्षित गर्ने मात्र नभइ स्वदेशमा रहेका युवालाई पनि आफ्नो संस्कृति, पर्व र अनुभवलाई नयाँ ढङ्गले अभिव्यक्त गर्ने अवसर दिनेछ ।”

सिईओ जोशीका अनुसार बोर्डले अन्तरराष्ट्रियस्तरका ‘ट्राभल कन्टेन्ट क्रिएटर’लाई नेपालमा आमन्त्रित गर्नेछ र उनीहरूलाई हिमाल, ताल, मठ–मन्दिरदेखि ‘होमस्टे’सम्म पु¥याएर प्रचारप्रसार गरिने योजना सुनाउनुभयो ।

साझेदारीअन्तर्गत टिकटकले नेपालमै डिजिटल प्लेटफर्ममार्फत कथा सुनाउने विषयमा कार्यशाला गर्नेछ । जसमा नेपाली ‘कन्टेन्ट क्रिएटर’लाई दर्शक विस्तार, ब्रान्ड सहकार्य र विश्वस्तरीय प्रस्तुतीकरणबारे तालिम दिइनेछ ।

कार्यक्रममा टिकटकका दक्षिण एसिया सार्वजनिक नीति प्रमुख फर्दोस मत्ताकिनले टिकटकमार्फत् हरेक दिन करोडौँ मानिसले नयाँ गन्तव्य र अनुभव खोजी गर्ने भएकाले नेपालको पर्यटन प्रवर्द्धनमा यस सहकार्यले योगदान पु¥याउने विश्वास व्यक्त गर्नुभयो । “टिकटकमा हरेक दिन करोडौँं मानिस नयाँ गन्तव्य र अनुभव खोज्छन् । नेपालजस्तो हिमाल, अध्यात्मक, विविध संस्कृतिले भरिपूर्ण देशलाई छोटा भिडियोमार्फत संसारभर पु¥याउन पाउनु हाम्रो लागि पनि गर्वको विषय हो । सहकार्यले नेपाललाई विश्वका पर्यटकको ‘बकेटलिस्ट’ मा थप बलियो गरी स्थापित गर्नेछ”, उहाँले भन्नुभयो ।

मत्ताकिनले यस अभियानअन्तर्गत ‘लाइफटाइम एक्पिरियन्स’ ह्यासट्यागमा विशेष ‘इन–एप प्लेटफर्म’ बनाइने जानकारी दिनुभयो । उहाँले अगाडि भन्नुभयो, “हिमालयदेखि तराईका नदी, उत्सवदेखि खानपान र साङ्गीतिक परम्परा सबैलाई छोटा भिडियोमा उतारेर विश्वभर देखाइनेछ ।”

समझदारीमा सन् २०२५ को बाँकी अवधिभर यो अभियान चरणबद्ध रूपमा सञ्चालन गरिने उल्लेख छ । यसबीचमा काठमाडौँमा ‘भिजिट नेपाल’ कार्यक्रम आयोजना हुनेछ र जसमा अन्तरराष्ट्रिय ‘कन्टेन्ट क्रिएटर’, सांस्कृतिक दूत र पर्यटन व्यवसायीको सहभागिता रहनेछ ।

नेपाल पर्यटन बोर्ड र टिकटकको यो समझदारीले नेपाललाई नयाँ पुस्ता, नयाँ बजार र नयाँ विश्व पर्यटन सन्दर्भमा ‘डिजिटल पुल’ को काम गर्ने विश्वास गरिएको छ ।

गृह मन्त्रालयद्वारा सङ्घसंस्था दर्ता, नियमन तथा व्यवस्थापनसम्बन्धी विधेयक रायका लागि सार्वजनिक

काठमाडौँ : गृह मन्त्रालयले सङ्घसंस्था दर्ता, नियमन तथा व्यवस्थापनसम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयक सम्बन्धित सरोकारवाला सबै र सर्वसाधारणको रायको लागि ढाँचासहित सार्वजनिक गरेको छ ।

नेपालको सामाजिक सेवा तथा विकासको क्षेत्रमा क्रियाशील संस्थाको भूमिकालाई सामाजिक विकासको प्रक्रियामा मूलप्रवाहीकरण गरी संस्थागत सङ्गठन, विकास र कार्य सञ्चालनको मामिलामा सुशासनको स्थिति कायम राख्नका लागि तथा संस्थालाई पारदर्शी, जवाफदेही, उत्तरदायी र जिम्मेवार बनाउन संस्थाहरूको व्यवस्थापन समेत गर्न सङ्घसंस्था दर्ता सम्बन्धमा व्यवस्था गर्न नयाँ ऐन निर्माण गर्न आवश्यक देखिएकाले विधेयक अघि बढाइएको गृह मन्त्रालयले जनाएको छ ।

गृहमन्त्री रमेश लेखकले मन्त्रालयको नेतृत्व सम्हालेपछि मन्त्रालयको कानुनी र नीतिगत सुधारलाई प्राथमिकतामा राखेर विभिन्न विधेयक अघि बढाउँदै आउनुभएको छ । सोही क्रममा आज विधेयकका ढाँचासहित राय सुझावका लागि १५ दिनको समयावधि राखेर सो विधेयक सार्वजनिक गरिएको गृह मन्त्रालयले जनाएको छ ।

संविधानको धारा १७ को उपधारा (२) को खण्ड (घ) मा सङ्घसंस्था खोल्ने स्वतन्त्रता रहेको छ । धारा ५० को उपधारा (३) मा सार्वजनिक, निजी र सहकारी क्षेत्रको सहभागिता तथा विकासमार्फत उपलब्ध साधन र स्रोतको अधिकतम परिचालनद्वारा तीव्र आर्थिक वृद्धि हासिल गर्दै दिगो आर्थिक विकास गर्ने व्यवस्था तथा धारा ५६ मा राज्यको संरचनामा सङ्घीय लोकतान्त्रिक नेपालको मूल संरचना सङ्घ, प्रदेश र स्थानीय तह गरी तीन तहको हुने व्यवस्था गरिएको गृह मन्त्रालय कानुन महाशाखाका प्रमुख सहसचिव भरतमणि रिजालले बताउनुभयो ।

महाशाखा प्रमुख रिजालका अनुसार विधेयकमा संस्थाहरूको पारदर्शिता, नियमन, अनुगमन र लेखापरीक्षण व्यवस्थापन, संस्थामा रहने पदाधिकारी व्यवस्थापन र स्रोत परिचालनको पारदर्शितासहितका विषय समेटिएका छन् ।

मन्त्रालयले ७७ वटै जिल्ला, सात वटै प्रदेश, संवैधानिक निकाय, राष्ट्रिय योजना आयोग, नगरपालिका र गाउँपालिका महासङ्घलगायतलाई निकायमा ढाँचा राय/परामर्शका लागि पठाएको जनाएको छ । “राय/परामर्शसहित पछि सहमतिका लागि अर्थ मन्त्रालय पठाउँछौँ”, उहाँले भन्नुभयो, “आगामी फागुनसम्म सङ्घीय संसद्मा पेस गर्ने समयावधि रहेको छ ।”

प्रस्तुत विधेयकको मस्यौदाउपर विधायन ऐन, २०८१ को दफा ६ को उपदफा (२) बमोजिम विधेयक तर्जुमा गर्नुको कारण र त्यसले पार्ने प्रभावका सम्बन्धमा सम्बन्धित सरोकारवाला सबै र सर्वसाधारणको रायको लागि प्रकाशन गरिएको हो ।

दिगो विकासको लागि शान्तिपूर्ण र समावेशी समाजको प्रवर्द्धन गर्ने र सबै तहमा प्रभावकारी, जवाफदेही र समावेशी संस्थाको स्थापना गर्ने कार्यमा विधेयकको कार्यान्वयनपश्चात् थप प्रभावकारिता अभिवृद्धि हुने अपेक्षा गरिएको छ ।

साथै सङ्घसंस्थाहरू स्थानीय तहका स्थानीय तहकमा जिल्लागत जिल्ला तह, हुँदै प्रदेशस्तरका प्रदेश तह र देशभर क्षेत्र हुनेगरी सङ्घीय पञ्जीकरण अधिकारीमो दर्ता गर्न सकिनुका साथै पञ्जीकरण अधिकारीले नै नियमन गर्ने गरी व्यवस्था गरिएको छ । यसबाट दर्ता सहजीकरण, प्रभावकारी हुनु गई कार्यसञ्चालन थप व्यवस्थित हुने र एकीकृत अभिलेख राख्ने गरी व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ ।

“हाल विद्यमान संस्था दर्ता ऐन, २०३४ मा मूलतः संस्था दर्तालाई मात्र प्राथमिकतामा राखिएको तथा राष्ट्रिय निर्देशन ऐन, २०१८ बमोजिमका प्रबन्धहरू समेत एकीकृत ऐनबाट कार्यान्वयन हुन जानेछन्,” रिजालले भन्नुभयो, “संस्थाको व्यवस्थापन, अनुगमन, नियमन र कानुनविपरीतका क्रियाकलाप गरेको अवस्थामा सजायको प्रावधान समेतमा समसामयिक परिमार्जन गर्न खोजिएको छ ।” उहाँका अनुसार कानुन निर्माण भएसँगै समाज कल्याणको क्षेत्र थप प्रभावकारी हुनुका साथै एकरूपता कायम हुनेछ ।

सङ्घसंस्था दर्ता, नियमन र व्यवस्थापनमा सङ्घ, प्रदेश र स्थानीय तहको भूमिका स्पष्ट हुने हुँदा व्यवस्थापनमा प्रभावकारिता अभिवृद्धि हुन गई यसबाट सामाजिक र विकासका क्रियाकलापमा सङ्घसंस्थाको भूमिका व्यवस्थित, पारदर्शी, उत्तरदायी र प्रभावकारी हुन गई सुशासन प्रवर्द्धन गर्नमा मद्दत पुग्ने उहाँको भनाइ छ ।

“विधेयकमा विशेषगरी मुलुक सङ्घीय शासन प्रणालीमा प्रवेश गरेपश्चात् सङ्घसंस्था दर्ता, नियमन र व्यवस्थापनमा सङ्घ, प्रदेश र स्थानीय तहको भूमिका निक्र्योल गरी सङ्घसंस्थाको व्यवस्थापनमा थप प्रभावकारिता अभिवृद्धि गर्नु रहेको छ”, रिजालले भन्नुभयो, “सङ्घसंस्थाको दर्ता, नियमन तथा व्यवस्थापन गर्नेसम्बन्धी प्रचलित कानुनहरू राष्ट्रिय निर्देशन ऐन, २०१८, संस्था दर्ता ऐन, २०३४ र समाज कल्याण परिषद् ऐन, २०४९ का व्यवस्थालाई समेटी तथा समसामयिक थप व्यवस्थाहरूलाई समेत राखेर प्रस्तुत विधेयक तयार गरिएको मन्त्रालयले छ ।”

संसद् भवन निर्माणको काम कार्यतालिकाअनुसार सम्पन्न गर्न उपप्रधानमन्त्री सिंहको निर्देशन

काठमाडौँ । उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले संसद् भवन निर्माणको काम कार्यतालिकाअनुसार सम्पन्न गर्न निर्देशन दिनुभएको छ । निर्माण कम्पनीले मन्त्रालयमा बुझाएको कार्यतालिका बमोजिम काम भएको नपाइएपछि उपप्रधानमन्त्री सिंहले आज मन्त्रालयमै बोलाएर निर्माण कम्पनीलाई निर्देशन दिनुभएको हो ।

सिंहदरबारभित्र निर्माणाधीन संसद् भवनमा संसदीय समिति, प्रधानमन्त्री, राष्ट्रपतिसहित सबै नागरिकको चासो जोडिएको भन्दै उहाँले कुनै पनि अवस्थामा समयमै काम हुनुपर्ने बताउनुभयो । उपप्रधानमन्त्री सिंहले भन्नुभयो,“समन्वयात्मक रूपमा अघि बढुनुहोस् । कार्यतालिका बमोजिम काम गर्नुहोस् । संसद् भवनकै कारण मन्त्रालयमाथि प्रश्न उठेको छ । केही समस्या परे मन्त्रालयले आवश्यक समन्वय र सहजीकरण गर्छ, तर काममा आलटल स्वीकार्य हुँदैन ।”

उहाँले निर्माण कम्पनीलाई नियमित प्रगति विवरण पेस गर्न र भवन विभागलाई कामको नियमित अनुगमन गर्न निर्देशन पनि दिनुभयो ।

छलफलमा मन्त्रालयका सचिव, भवन विभागका महानिर्देशक, आयोजना प्रमुख, कन्सल्टेन्ट र निर्माण व्यवसायीको सहभागिता रहेको थियो । बैठकमा विशेष भवन आयोजना प्रमुख सहसचिव सुनिल ठाकुरले निर्माणाधीन संसद् भवनको हालसम्मको प्रगति र अवस्थाबारेमा जानकारी गराउनुभयो । अब भवन वरिपरी बाटो निर्माण, वाटर ट्रिटमेन्ट प्लान्ट, स्यानेटरीको काम, आन्तरिक सजावटलगायत काम बाँकी रहेको उहाले बताउनुभयो ।

निर्माण व्यवसायीले अधिकांश काम सम्पन्न भइसकेको भन्दै तालिकाअनुसार बाँकी काम अघि बढाउने प्रतिबद्धता जनाएका थिए । अगामी पुस मसान्तसम्म भवन निर्माण सम्पन्न गर्ने कार्यतालिका छ ।

देश बन्न नसक्नुको कारण भ्रष्टाचार :अध्यक्ष लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पाटीका अध्यक्ष राजेन्द्र लिङ्देनले देश बन्न नसक्नुको कारण भ्रष्टाचार रहेको बताएका छन् । मंगलबार ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले भ्रष्ट्राचारीहरुले नै सुशासनको गफ दिंदा दुर्गतीमा फस्दै गएको बताए ।

उनले नेपालको राजनीतिमा आफू सँधै भ्रष्टाचारको विरुद्धमा रहेको बताए । भ्रष्टाचारले गन्हाएका मान्छेहरुले सुशासनको गफ दिएर बसेका छन् । तिनै मान्छेहरु संस्थाहरुमा गएर अर्ति उपदेश दिएको सुन्छु । तर म गर्भका साथ भन्छु, नेपालको राजनीतिमा कोही एउटा पात्र छन् भने म मात्रै हुँ । जो भ्रष्टाचारको विरुद्धमा छु । मैले भ्रष्टाचार गरेको छैन र म भविष्यमा पनि गर्नेछैन् ।’

नाडा अटो शो आज देखि सुरु,प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने

काठमाडौं । १७ औं संस्करणको नाडा अटो शो २०२५ आजदेखि काठमाडौंमा सुरू हुँदैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले यसको उद्घाटन गर्नेछन् ।नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालद्वारा आयोजित शोमा चिनियाँ कम्पनी चांगन र इह्याङको सहकार्यमा निर्माण गरिएको उड्ने कार र युनिट्रीको अटोनोमस रोबोट मुख्य आकर्षण रहेका छन् ।

प्रदर्शनीमा टेस्ला, टाटा, सुजुकी, बीवाईडी, हार्ले डेविड्सनलगायत १०० भन्दा बढी ब्रान्डका सवारीसाधन, पाट्र्स, उपकरण र वित्तीय सेवाहरू समावेश छन् । दैनिक १०ः३० देखि ७ बजेसम्म सञ्चालन हुने यो शो अवलोकन गर्न एक लाखभन्दा बढी दर्शक आउने अपेक्षा गरिएको छ ।

केही हप्ताअघि सम्पन्न नाइमा मोबिलिटी एक्स्पोपछि आयोजना भएको यस शोले नेपालमा तीव्र रूपमा परिवर्तन भइरहेको अटोमोबाइल प्रविधिलाई प्रस्तुत गर्ने लक्ष्य लिएको छ ।

प्रचलित कानुनबमोजिम मात्रै विज्ञापन गर्न बोर्डद्वारा क्यानलाई सचेत

काठमाडौँ । विज्ञापन बोर्डले प्रचलित ऐन, कानुन, नियमविपरीत विज्ञापन नगर्न नेपाल क्रिकेट सङ्घ (क्यान)लाई सचेत गराएको छ । क्यानले गत मङ्सिर १५ देखि पुस ६ गतेसम्म आयोजना गरेको नेपाल प्रिमियर लिग (एनपिएल)का खेलहरू ‘फस्र्ट सेञ्चुरी मिडिया’ नामक विदेशी कम्पनीमार्फत स्टार स्पोटर्स च्यानलबाट विज्ञापनसहित प्रसारण गरेको, जुवा खेलाउने विभिन्न साइटलगातमा ब्याटिङ गराएको भन्ने उजुरपछि बोर्डले उक्त निर्णय गरेको हो ।

बोर्डको गत साउन २१ र २९ को बैठकबाट निर्णय भएकाले विज्ञापन नियमन गर्ने नियमावलीबमोजिम सूचना प्रकाशित गरिएको बोर्डका प्रवक्ता एवं प्रमुख प्रशासकीय अधिकृत देवी पाण्डे खत्रीले जानकारी दिनुभयो ।

नेपाल क्रिकेट सङ्घले बोर्डका विभिन्न मितिका पत्रको जवाफ पेस नगरेको र कार्य व्यस्तताका कारण पत्रहरूको जवाफ पेस गर्न नसकिएको भन्दै पेस गरेको जवाफ चित्तबुझ्दो नभएको पाएको उहाँले बताउनुभयो । बोर्डको निर्देशनलाई बेवास्ता गरेमा भविष्यमा विज्ञापन गर्न गराउनबाट रोक्का राख्ने, विज्ञापन प्रचलित ऐन तथा नियमविपरीत विज्ञापन नगर्न सचेत गराइएको छ ।

बोर्डमा सूचीकृत नभई विज्ञापन कारोबारमा संलग्न रहेको तथा प्रचलित कानुनविपरीतका विज्ञापन प्रदर्शन गरेको एजेन्सीलाई रु १० हजार जरिवाना गर्ने, तीन महिनासम्म विज्ञापन वा सूचना दिन वा लिन वा विज्ञापन वा सूचना प्रकाशन वा प्रसारणसम्बन्धी कार्य गर्न रोक लगाउने र उक्त अवधिसम्म उक्त एजेन्सीलाई बोर्डमा सूचीकरणसमेत नगर्ने निर्णय गरेको छ ।

बोर्डले ब्राण्ड डिजिटल लजिक प्राली, ललितपुर र टिसिएम स्पोर्टस एण्ड मार्केटिङ प्राली टङ्गाल, काठमाडौँसँग कुनै पनि प्रकारको विज्ञापन कारोबार नगर्न÷नगराउनुहुन सबै विज्ञापनदाता तथा सञ्चारमाध्यमलाई अनुरोध गरेको छ ।

एकीकृत समाजवादीको स्थायी कमिटी बैठक भदौ २५ गते आह्वान

काठमाडौँ, ३ भदौः नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले आन्तरिक विवाद समाधान गर्न यही भदौ २५ गते स्थायी कमिटी बैठक आह्वान गरेको छ । पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने बैठकमा पार्टी मातहतका प्रदेश, जिल्ला र सम्बन्धित कमिटीको अधिवेशन, पार्टीको आन्तरिक विवाद समाधान, आगामी रणनीतिका विषयमा छलफल हुने पार्टी केन्द्रीय प्रचार विभाग उपप्रमुख दामोदर अर्यालले जानकारी दिनुभयो ।

उहाँले बैठकमा समसामयिक राजनीतिक घटनाक्रम,समाजवादी कार्यक्रम, साङ्गठनिक कार्यक्रम, पार्टीले देशभर सञ्चालन गरेको राजनीतिक अभियानअन्तर्गत सुशासन, रोजगारी, समृद्धिलगायत सामाजिक रुपान्तरणका लागि समाजवादी अभियानले देशभर पारेको प्रभावकारिताबारे समीक्षा गरिने जानकारी दिनुभयो ।

जनवर्गीय सङ्गठनका कार्यप्रगति साथै महासचिव घनश्याम भुसालको नेतृत्वमा गठित कार्यदलले गरेका कामको समीक्षा गरी नयाँ चरणको कार्यक्रम तय गरिने उपप्रमुख अर्यालले जानकारी दिनुभयो ।

साथै समाजवादी विचारधारा भएका दलहरूबीच सहकार्य, समन्वय तथा वामपन्थी शक्तिबीच एकताको प्रस्ताव अनुमोदन गरिने बैठकमा समाजवादी मोर्चालाई थप सशक्त बनाउने विषयमा छलफल गरिने जनाइएको छ ।

ट्रम्प र जेलेन्स्की बिच ह्वाइट हाउसमा द्विपक्षीय भेटवार्ता

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले सोमबार ह्वाइट हाउसमा द्विपक्षीय भेटवार्ता गरेका छन् ।जेलेन्स्कीसँगको बन्द कोठाको बैठक अघि ट्रम्पले पत्रकारहरूलाई भने कि उनी विश्वास गर्छन् कि राष्ट्रपति भ्लादिमिर पुटिन रुस–युक्रेन द्वन्द्वको अन्त्य चाहन्छन् र शान्ति कायम राख्न युक्रेन र सबै पक्षहरूसँग मिलेर काम गर्नेछन् ।

ट्रम्पले युक्रेन संकट समाधान गर्न प्रगति भइरहेको र युक्रेनले माग गरेको सुरक्षा ग्यारेन्टी हुने बताएका छन् । ट्रम्पले ह्वाइट हाउसमा भएको आफ्नो वार्तापछि पुटिनलाई फोन गर्ने योजना बनाएको पनि बताए, यदि सबै कुरा राम्रो भयो भने अमेरिका, रुस र युक्रेन बीच त्रिपक्षीय बैठक हुनेछ ।

ट्रम्पसँगै पत्रकारहरूसँग कुरा गर्दै जेलेन्स्कीले भने कि उनी कूटनीतिक तरिकाले द्वन्द्व अन्त्य गर्ने विचारलाई समर्थन गर्छन् र उनी त्रिपक्षीय बैठकको लागि तयार छन् ।

युरोपेली नेताहरू – नेटो महासचिव मार्क रुट, युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डेर लेयन, बेलायती प्रधानमन्त्री केयर स्टारमर, इटालीका प्रधानमन्त्री जर्जिया मेलोनी, फिनिश राष्ट्रपति अलेक्ज्याण्डर स्टब, जर्मन चान्सलर फ्रेडरिक मर्ज र फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोन – पनि सोमबार बिहान ह्वाइट हाउस आइपुगेका थिए । उनीहरूले सोमबार दिउँसो ट्रम्प र जेलेन्स्कीसँगको बहुपक्षीय बैठकमा भाग लिए ।

झापामा गत एक वर्षमा करेन्ट लागेर १५ जनाको मृत्यु

झापा, ३ भदौ : जिल्लाको ग्रामीण क्षेत्रमा विद्युत्को असुरक्षित प्रयोगका कारण विद्युत प्रवाह चुहावट (करेन्ट) भएर हुने मृत्युको घटना बढेको छ । जिल्लामा गत साउनमा मात्र करेन्ट लागेर पाँच जनाले ज्यान गुमाएका थिए ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काका अनुसार गत चार महिनामा जिल्लामा करेन्ट लागेर १० जनाको मृत्यु भएको छ । ज्यान गुमाउनेहरू अधिकांश विद्युत्सम्बन्धी पर्याप्त प्राविधिक ज्ञानको अभाव भएका ग्रामीण क्षेत्रका बासिन्दा छन् ।

करेन्ट लागेर हुने अधिकांश मृत्युको घटना मोटरबाट पानी तान्ने, खोलामा करेन्ट लगाएर माछा मार्ने र कुटी काट्ने क्रममा भएको पाइएको उहाँले बताउनुभयो । अधिकांश मानिसमा विद्युतीय मोटर कसरी चलाउने भन्ने राम्रो ज्ञान छैन । अपूर्ण ज्ञान र सतर्कताको कमीका कारण करेन्ट लागेर मानिसले अकालमै मृत्युवरण गरिरहेका छन् । प्रहरीका अनुसार आर्थिक वर्ष २०८१÷८२ मा झापामा करेन्ट लागेर १५ जनाको ज्यान गएको छ ।

यसैबीच मेचीनगर नगरपालिका–५ का २२ वर्षीय सन्दीप राजवंशीको घरमै करेन्ट लागेर मृत्यु भएको छ । बिग्रिएको टेबल पङ्खा मर्मत गर्ने क्रममा सोमबार साँझ अचानक करेन्ट लागेर अचेत भएका राजवंशीलाई उपचारका लागि मेची आम्दा अस्पताल धुलाबारीमा पुर्याइएको थियो । उपचारकै क्रममा राति उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

टप एन्ड टी–२० सिरिजमा नेपाल र होबार्ट हरिकेन्स भिड्दै

काठमाडौं । अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी–२० सिरिजमा आज नेपाल र बिग ब्यास लिगको अनुभवी टोली होबार्ट हरिकेन्स एक आपसमा भिड्दै छन् ।लगातार तीन हार बेहोरेको नेपाली राष्ट्रिय क्रिकेट टोली आज पहिलो जितको खोजीमा चौथो खेल खेल्दैछ ।

डार्विनको पार्मस्र्टनस्थित काजालिस एरेनामा हुने खेल नेपाली समयअनुसार बिहान ११ ः १५ बजे सुरु हुनेछ । कप्तान रोहित पौडेलको नेतृत्वमा नेपाली टोली रहेको छ भने हरिकेन्सको कप्तानी बिग ब्यासका अनुभवी खेलाडी म्याकालिस्टर राइटले सम्हाल्नेछन् ।

जारी प्रतियोगितामा नेपालले यसअघिका तीनवटै खेलमा हार बेहोरेको छ । नेपाल पहिलो खेलमा एनटी स्ट्राइकसँग ४२ रन, दोस्रोमा बंगलादेश ‘ए’ सँग ३२ रन र तेस्रो खेलमा मेलबर्न स्टार्ससँग ३१ रनले पराजित भएको थियो ।

नेपालको प्रतिद्वन्द्वी होबार्टको प्रदर्शन पनि मिश्रित रहेको छ । ३ खेल खेलेको होबार्टले १ खेलमा जित निकालेको छ भने दुई खेलमा पराजित भएको छ । पहिलो खेलमा एसीटीलाई हराएको होबार्ट त्यसपछि मेलबर्न स्टार्स र एनटी स्ट्राइकसँग पराजित भएको थियो ।

११ टोली सहभागी यस सिरिजमा सबै टोलीले ६–६ लिग खेल खेलेपछि शीर्ष ४ मा रहने टोलीले सेमिफाइनल खेल्नेछन् । हाल अंकविहीन रहँदै पुछारबाट दोस्रो स्थानमा रहेको नेपाललाई सेमिफाइनलको आशा जीवित राख्न पनि आजको खेल जित्नै पर्ने दबाब छ । यो खेलपछि नेपालले बुधबार मेलबर्न रेनेगेड्स र शुक्रबार पाकिस्तान शाहिन्ससँग खेल्ने तालिका रहेको छ ।

बालबालिकाको प्राणघातक रोग रुबेला उन्मुलनमा नेपाल सफल

ठमाडौं । बालबालिकाको प्राणघातक रोग रुबेला उन्मूलनमा नेपालले सफलता पाएको छ । विश्व स्वास्थ्य संगठनको दक्षिण–पूर्वी एशिया क्षेत्रीय प्रमाणीकरण आयोगले नेपालले दादूरा उन्मूलनमा सफलता पाएको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेललाई बधाइ ज्ञापन गरेको छ ।
लामो समयदेखि प्रयास भैरहे पनि बालबालिकाको ज्यानै लिने कारक यस रोगको उन्मूलन हुन सकेको थिएन । केही समययता नेपालले गरेको प्रगतिको मानकलाई आधार मानेर विश्व स्वास्थ्य संगठनले नेपालमा रुबेला उन्मूलन भएको घोषणा गरेको हो ।

संगठनका दक्षिण पूर्वी एसिया कार्यालय प्रमुख डा. क्याथरिना बोएह्मले स्वास्थ्य तथा जनसंख्या मन्त्री पौडेललाई पठाएको पत्रमा नेपाल र मन्त्री पौडेललाई यो महत्वपूर्ण सार्वजनिक स्वास्थ्य उपलब्धि भन्दै बधाइ ज्ञापन गरिएको छ ।
मन्त्री पौडेलले सामाजिक सञ्जालमा लेख्दै यस कार्यमा सक्रिय सबै स्वस्थ्यकर्मी, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकालगायत साझेदारहरुलाई धन्यवाद दिएका छन् ।

‘यो ऐतिहासिक उपलब्धि नेपाल सरकारको दृढ इच्छाशक्ति, अहोरात्र खटिनुहुने सम्पूर्ण स्वास्थ्यकर्मी तथा महिला स्वास्थ्य स्वयंसेविकाहरूको अथक परिश्रम, सचेत नागरिक समाजको सक्रिय सहभागिता र हाम्रा विकास साझेदारहरूको निरन्तर सहयोग तथा समन्वयबाट सम्भव भएको हो ।’ मन्त्री पौडेलले भनेका छन् ।

मन्त्री पौडेलले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय यस उपलब्धिलाई दिगो बनाउन र भविष्यमा यस्ता रोगहरूबाट हाम्रा नागरिक र विशेषगरी बालबालिकालाई पूर्ण रूपमा सुरक्षित राख्न प्रतिवद्ध रहेको भन्दै यसका लागि हामी निरन्तर खोप सेवाको पहुँच विस्तार, रोग–निगरानी प्रणालीको सुदृढीकरण तथा निवारण पश्चातको कार्ययोजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने बताएका छन् ।

‘यस राष्ट्रिय गौरवको अभियानमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा योगदान पु¥याउनुहुने सबैप्रति हार्दिक आभार प्रकट गर्दछु ।’ उनले भनेका छन् ।

यस्तो छ आजको तरकारी र फलफूलको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (मंगलबार) का लागि कृषि उपजहरूको थोक मूल्य सार्वजनिक गरेको छ ।

समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको न्यूनतम थोक मूल्य निर्धारण गरिएको हो ।न्यूनतम थोक मूल्य निर्धारणसँगै आज गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो ७० रुपैयाँ, गोलभेँडा सानो (लोकल) २५ रुपैयाँ, गोलभेँडा सानो (टनेल) प्रतिकिलो ३४ रुपैयाँ, आलु रातो प्रतिकिलो ४९ रुपैयाँ, आलु रातो (भारतीय) प्रतिकिलो २७ रुपैयाँ, आलु रातो (मुडे) प्रतिकिलो ४४ रुपैयाँ, प्याज सुकेको (भारतीय) प्रतिकिला ४२ रुपैयाँ, गाजर (लोकल) प्रतिकिलो ११० रुपैयाँ, गाजर (तराई ) १०० रुपैयाँ, काउली स्थानीय प्रतिकिलो ११० रुपैयाँ, काउली (तराई) प्रतिकिलो ९० रुपैयाँ, रातो मूला प्रतिकेजी ४५ रुपैयाँ, सेतो मूला (हाइब्रीड) प्रतिकिलो ४२ रुपैयाँ, भन्टा लाम्चो प्रतिकिलो ३० रुपैयाँ, भन्टा डल्लो प्रतिकिलो ४० रुपैयाँ, तने बोडी प्रतिकिलो ९० रुपैयाँ र मकै बोडी प्रतिकिलो ८० रुपैयाँ कायम भएको छ ।

यसैगरी, घिउ सिमी (लोकल) प्रतिकिलो १०० रुपैयाँ, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो १०० रुपैयाँ, घिउ सिमी (राजमा) १५० रुपैयाँ, टाटे सिमी मूल्य प्रतिकिलो ९० रुपैयाँ, भटमास कोसा प्रतिकिलो १०० रुपैयाँ, तीतो करेला प्रतिकिलो ५५ रुपैयाँ, लौका प्रतिकिलो ६५ रुपैयाँ, परवर (तराई) प्रतिकिलो ९० रुपैयाँ, चिचिण्डो प्रतिकिलो ४५ रुपैयाँ, घिरौला प्रतिकिलो ५० रुपैयाँ, झिगुनी प्रतिकिलो ६५ रुपैयाँ, फर्सी पाकेको प्रतिकिलो ४० रुपैयाँ, फर्सी हरियो (डल्लो) प्रतिकिलो ७० रुपैयाँ, भिण्डी प्रतिकिलो ७५ रुपैयाँ कायम गरिएको छ ।

यस्तै, पिँडालु प्रतिकिला ६० रुपैयाँ, स्कूस प्रतिकिलो ३० रुपैयाँ, रायोसाग प्रतिकिलो १०० रुपैयाँ, पालुङ्गो साग प्रतिकिलो ८० रुपैयाँ, तोरीको साग प्रतिकिलो ७५ रुपैयाँ, हरियो प्याज प्रतिकिलो ९० रुपैयाँ, च्याउ (कन्य) प्रतिकिलो १९० रुपैयाँ, च्याउ (डल्ले) प्रतिकिलो ४३० रुपैयाँ, कुरिलो प्रतिकिलो ३०० रुपैयाँ न्यूनतम थोक मूल्य निर्धारण गरिएको छ ।

ब्रोकाउली प्रतिकिलो २२० रुपैयाँ, चुकुन्दर प्रतिकिलो ६० रुपैयाँ, सजिवन प्रतिकिलो १८० रुपैयाँ, रातो बन्दा प्रतिकिलो २५० रुपैयाँ, जिरीको साग प्रतिकिलो ८० रुपैयाँ, सेलरी १३० रुपैयाँ, तामा १०० रुपैयाँ र गुन्द्रुक २५० तोकेको छ ।

समितिले स्याउ (झोले) प्रतिकिलो २२० रुपैयाँ, स्याउ (फुजी) प्रतिकिलो ३०० रुपैयाँ, केरा (दर्जन) १३५ रुपैयाँ, कागती प्रतिकिलो १३० रुपैयाँ, अनार प्रतिकिलो ३२० रुपैयाँ, मौसम प्रतिकिलो १४० रुपैयाँ, जुनार प्रतिकिलो २२० रुपैयाँ, भुईकटहर प्रतिगोटा १४५ रुपैयाँ, काँक्रो (लोकल) प्रतिकिलो ४५ रुपैयाँ, काँक्रो (हाइब्रिड) प्रतिकिलो २० रुपैयाँ, रुखकटहर प्रति गोटा ४० रुपैयाँ, नासपाती (लोकल) प्रतिकिलो ८० रुपैयाँ, मेवा (भारतीय) प्रतिकिलो ९० रुपैयाँ, अम्बा प्रतिकिलो २२० रुपैयाँ निर्धारण गरिएको छ ।

आज कोशी र बागमती प्रदेशका पहाडी भूभागमा भारी वर्षा हुने पूर्वानुमान

काठमाडौँ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहँदा नेपालमा मनसुन केही कमजोर रहेको छ । तथापि बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रने क्रम भने रहिरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड र तराईका केही स्थान तथा मधेस प्रदेशको तराईका एकदुई स्थानमा मध्यम वर्षाको सम्भावना छ । कोशी र बागमती प्रदेशका पहाडी भागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

त्यसैगरी, आज राति कोशी र गण्डकी प्रदेशलगायत अन्य प्रदेशका पहाडी भागमा साधारणतया बदली रही बाँकी भागमा आंशिक बदली रहनेछ । कोशी प्रदेशको पहाडी तथा तराई भूभागलगायत अन्य प्रदेशका पहाडी भागका केही स्थान र तराई भागका एकदुई स्थानमा मध्यम वर्षाको सम्भावना छ । कोशी प्रदेशको पहाडी र तराई भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

पार्किङ गरिरहेको सवारीसाधनबाट पेट्रोलियम पदार्थ चोरी गर्दै हिँड्ने गिरोह पक्राउ

भक्तपुर । विभिन्न ठाउँमा पार्किङ गरिरहेको विभिन्न सवारीसाधनबाट पेट्रोलियम पदार्थ चोरी गर्दै हिँड्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । चाँगुनारायण नगरपालिका–३ झौखेलस्थित एउटा इँटाभट्टामा रोकी राखेको निसान ट्रकबाट डिजेल चोरी गर्दै गरेको अवस्थामा स्थानीयले गिरोहका चार जनालाई पक्राउ गरी प्रहरीलाई बुझाएका हुन् ।

पक्राउ पर्नेमा बसका चालक काभ्रेपलाञ्चोक पाँचखाल नगरपालिका–११ घर भई हाल च्यामासिंह बस्ने ३२ वर्षीय सरोज सुनार, बसको सहचालक चाँगुनारायण–७ बागेश्वरी बस्ने ३२ वर्षीय अमीर लामा, सूर्यविनायक नगरपालिका–७ बस्ने २७ वर्षीय सुमन तामाङ र काठमाडौँ थानकोट घर भई हाल च्यामासिंह बस्ने २७ वर्षीया पूर्णिमा महर्जन रहेका प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

बा४ख ४२८० नम्बरको बसमा आएका चोरी गर्ने गिरोहले ४० लिटर डिजेल चोरी गर्दै गरेको अवस्थामा नियन्त्रणमा लिइ केही व्यक्तिले कुटपिट गर्दा तीन जना घाइते भएका थिए । घाइतेको भक्तपुर अस्पतलमा उपचार गरी प्रहरी हिरासतमा लगिएको प्रहरी परिसर भक्तपुरले जनाएको छ । चोरीमा संलग्न रहेको आरोपमा स्थानीयले नियन्त्रणमा लिएर राखेका चार जनालाई प्रहरीले हिरासतमा राखेर छानबिन गरिरहेको प्रहरीले जानकारी दिएको छ ।

सरकारलाई सर्वाेच्च अदालतको आदेशः ‘सामाजिक सञ्जाललाई दर्ता गराएर मात्र चलाउन दिनू’

काठमाडौँ । सर्वोच्च अदालतले सामाजिक सञ्जाललाई दर्ता गराएर मात्रै चलाउन दिन सरकारको नाममा आदेश गरेको छ । तत्कालीन प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरू प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाशकुमार ढुङ्गाना, हरिप्रसाद फुयाल, डा नहकुल सुवेदी, विनोद शर्मा, महेशकुमार पौडेल र बालकृष्ण ढकालसहित नौजनाको बृहत् पूर्ण इजलासले २०८१ असोज १३ गते गरेको फैसलाको हालै सार्वजनिक भएको पूर्णपाठमा उक्त आदेश गरिएको उल्लेख छ ।

सीधाकुरा डटकममाले प्रकाशन र प्रसारण गरेको समाचार, अडियो र भिडियो सामग्रीबाट अदालतको अवहेलना भएको उल्लेख गर्दै २०८१ वैशाख १६ गते सर्वोच्च अदालतका उपरजिस्ट्रार गोविन्द घिमिरेले प्रतिवेदन पेस गर्नुभएको थियो ।

सोही मुद्दाको फैसलामा सामाजिक सञ्जाललाई दर्ता गराएर मात्र चलाउन दिनु भनिएको हो । उक्त मुुद्दामा सीधाकुरा डटकम प्रकाशक युवराज कँडेल, कार्यकारी सम्पादक नवीन ढुङ्गाना र राजकुमार तिमिल्सिनालाई विपक्षी बनाइएको थियो ।

“जसरी आमसञ्चार र प्रेस स्वतन्त्रताको कुरा महत्त्वपूर्ण छ, त्यसरी नै गलत सूचना प्रवाह गर्ने कार्यलाई निरुत्साहित गर्नु पनि उत्तिकै आवश्यक हुन्छ”, फैसलाको पूर्णपाठमा भनिएको छ, “विचार र अभिव्यक्ति स्वतन्त्रता र सञ्चारको हकलाई जसरी राज्यले संरक्षण गर्नु जरुरी हुन्छ, त्यसरी नै मिस इन्फर्मेसन, डिस इन्फर्मेसन र माल इन्फर्मेसन जस्ता गलत सूचनालाई नियन्त्रण गर्नु पनि राज्यको दायित्व हुन्छ ।”

फैसलाको पूर्णपाठमा स्वदेशी वा विदेशी अनलाइन तथा सामाजिक सञ्जाललगायत प्लेटफर्मलाई सञ्चालनपूर्व अनिवार्य रूपमा साधिकार निकायमा दर्ता गरी त्यस्ता अनिच्छित सामग्रीको मूल्याङ्कन र अनुगमन गर्नेगरी डिजिटल मिडिया र सामाजिक सञ्जाललाई समेत जिम्मेवार तथा जवाफदेही बनाउन भनिएको छ ।

“आफ्नो वास्तविक परिचय लुकाइ काल्पनिक नामबाट सामाजिक सञ्जालको दुरुपयोग गर्ने कार्यलाई समेत निरुत्साहित गर्न, कानुनको परिधिभित्र रहने गरी नियमनकारी निकायबाट भरपर्दाे अनुगमन गर्न र यस विषयमा आवश्यक अन्य व्यवस्था गर्न अबिलम्ब उचित कानुनी प्रवन्ध गर्नु भनी नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा लेखी पठाउनू”,फैसलामा भनिएको छ ।

यस्तै, समाचार सम्प्रेषण गर्ने कार्यलाई न्यायपालिकाको मर्यादा, सम्मान, जनआस्था तथा विश्वसनियता कायम हुने गरी व्यवस्थित, मर्यादित र प्रभावकारी बनाउनका लागि आवश्यक मापदण्ड तयार गर्न अदालतका मुख्य रजिष्ट्रारलाई र अदालतसँग आबद्ध सञ्चारकर्मीलाई यस सम्बन्धमा अभिमुखीकरण गर्नु गराउनु भनी प्रेस काउन्सिलमा लेखी पठाउनू आदेश गरिएको छ ।

“प्रविधिको विकाससँगै विद्युतीय सञ्चारमाध्यम र सामाजिक सञ्जालको प्रयोग विश्वव्यापी रूपमा बढेको छ । परम्परागत सञ्चारमाध्यमभन्दा विद्युतीय माध्यमबाट प्रवाहित हुने समाचारहरू व्यापक र शीघ्र रूपमा भाइरल भई आमजनसमुदायमा पुग्ने हुन्छन्”, फैसलामा भनिएको छ, “युट्युबको दृश्य र श्रव्यले समाचारलाई आकर्षित रूपमा प्रस्तुत गरेको हुन्छ, यस्ता सञ्चार माध्यमहरूको नियमन र व्यवस्थापन हुन नसकेमा गलत समाचार प्रवाहित हुने अवस्था सिर्जना हुन्छ । गलत सूचना प्रवाह हुँदा सही सूचना पाउने नागरिक अधिकारमा पनि आधात पार्दछ ।”

अदालतले यस्ता माध्यमबाट गलत सूचना सम्प्रेषित हुँदा न्यायिक काम कारबाहीमा बाधा पार्ने र अदालतको जनआस्था र विश्वसनीयतामा पनि प्रतिकूल प्रभाव पर्ने उल्लेख गरेको छ ।

डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्न थालेपछि लार्भा नष्ट गर्ने अभियान सुरु

खोटाङ । डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्न थालेपछि खोटाङमा लामुखट्टेको लार्भा नष्ट गर्ने अभियान सुरु गरिएको छ । पछिल्लो एक महिनामा जिल्ला अस्पतालमा भर्ना भएका बिरामीमध्ये १२ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएपछि नियन्त्रण गर्न अभियान सञ्चालन गरिएको हो ।

अभियानको पहिलो दिन सोमबार दिक्तेल बजारका विभिन्न चोकमा सञ्चालित ग्यारेजमा पुगेर लामखुट्टेको लार्भा खोजी गर्दै नष्ट गरिएको छ । दिक्तेलस्थित अस्पताल चोकबाट सुरु भएको अभियान अल्छेढुङ्गा हुँदै किरात चोक आसपासका ग्यारेज तथा बजार क्षेत्र सरसफाइ गर्दै हाटडाँडा पुगेर समापन गरिएको छ ।

लार्भा नष्ट गर्ने अभियानमा जिल्ला समन्वय समितिका प्रमुख सनबहादुर राई, दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराई, प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठ, नेपाली सेना, सशस्त्र प्रहरी, जनपथ प्रहरी, उद्योग वाणिज्य सङ्घ, होटल व्यवसायी, विभिन्न सरकारी तथा गैरसरकारी सङ्घसंस्थाका प्रमुख तथा प्रतिनिधिको सहभागिता थियो ।

अभियानका क्रममा स्थानीयवासी तथा व्यवसायीलाई डेङ्गुको असर, सर्ने तरिका तथा बच्ने उपायका बारेमा जानकारीसमेत दिइएको स्वास्थ्य कार्यालय खोटाङका प्रमुख जीवन चौलागाईंले जानकारी दिनुभयो ।

दश स्थानीय तह रहेको जिल्लामा डेङ्गुको सङ्क्रमण बढ्न थालेपछि स्वास्थ्य कार्यालय खोटाङले आइतबार जिल्लास्थित सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधिसँग अभिमुखीकरण तथा अन्तरक्रिया गरेको थियो । डेङ्गु सङ्क्रमण नियन्त्रणका लागि लामखुट्टे फैलन नदिनु उत्तम उपाय भएकाले जिल्लाभर लामखुट्टेको लार्भा नष्ट अभियान सञ्चालन गर्ने निर्णय गरिएको चौलागाईंले बताउनुभयो ।

जिल्लास्थित स्वास्थ्य कार्यालयले सुरु गरेको लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान जिल्लाका सबै स्थानीय तहमा सञ्चालन गर्न पत्राचारसमेत गरिएको जनाइएको छ ।

डेङ्गुको सङ्क्रमण भएका व्यक्तिमा आँखाको पछाडि (भित्री) भाग दुख्नु, वाकवाकी लाग्नु, मांसपेशी, हड्डी तथा जोर्नी दुख्नु, शरीरका ग्रन्थीहरु सुन्निनु, छाला रातो हुनुका साथै छालामा डाबर आउनुजस्ता लक्षण देखिने स्वास्थ्यकर्मीले बताएका छन् ।

डेङ्गुको सङ्क्रमण नियन्त्रण गर्न खास उपचार नभएकाले आफैँ सचेत रहनुपर्ने स्वास्थ्यकर्मीले बताएका छन् । यो रोगको सङ्क्रमण भएमा प्रशस्त पानी र तरल पदार्थ पिउन, सकेसम्म धेरै आराम गर्न, ज्वरो नियन्त्रण गर्न सिटामोल प्रयोग गर्न स्वास्थ्यकर्मीको सुझाव छ ।

दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा १४ जना बिरामीमा स्क्रबटाइफसका बिरामी भेटिएका स्वास्थ्य कार्यालय प्रमुख चौलागाईंले जानकारी दिनुभयो । उहाँका अनुसार डेङ्गु र स्क्रबटाइफस सङ्क्रमण देखिएका बिरामीमध्ये दुई÷दुई जनाको जिल्लामा उपचार सम्भव नभएपछि काठमाडौँ पठाइएको छ ।

स्क्रबटाइफसको सङ्क्रमणले टाउको दुख्ने, ज्वरो आउने, हात खुट्टा र शरीर दुख्नेजस्ता भाइरल ज्वरोसँग मिल्दोजुल्दो लक्षण देखिने स्वास्थ्य कार्यालय प्रमुख चौलागाईंले बताउनुभयो । स्क्रबटाइफस माइट (किरा)को टोकाइबाट सर्ने र उपचारमा ढिला भएको खण्डमा जोखिम हुने स्वास्थ्यकर्मीले बताएका छन् ।

जिल्ला अस्पताल खोटाङमा पछिल्लो समय विभिन्न समस्या लिएर दैनिक १५० देखि २०० जनासम्म बिरामी उपचारका लागि आउने गरेको अस्पतालका प्रमुख डा रुपेश सङ्ग्रौलाले जानकारी दिनुभयो । उहाँका अनुसार उपचारमा आउने बिरामीका लागि अस्पतालमा आवश्यक उपकरण र शय्या अभाव हुँदा समस्या भएको छ ।

सामुदायिक वनको काठ बिक्रीको अनुमतिमा घुस माग्ने वन अधिकृतविरुद्ध मुद्दा दायर

काठमाडौँ, ३ भदौः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिभिजन वन कार्यालय, कैलालीका वरिष्ठ वन अधिकृत पूर्णशङ्कर यादवविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।कैलालीको चुरे गाउँपालिका–६ स्थित ग्वासी सामुदायिक वनको घाटगद्दी गरेको काठको बिमार्का र छोडपुर्जीका लागि सेवाग्राहीसँग रु सात लाख ३१ हजार बराबरको घुस लिएको अभियोग लागेको छ । आयोगले आरोपी यादवविरुद्ध बिगोबमोजिम कारबाहीको माग गर्दै मुद्दा दायर गरेको प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिनुभयो ।

यस्तै, बाटोको विवाद विषयको निर्णय गर्दा आफ्नो पक्षमा पार्नका लागि रविनकुमार श्रेष्ठले रु दुई लाख घुस दिएको भन्ने आरोपमा पोखरा महानगरपालिका कास्कीका तत्कालीन न्यायिक समिति सदस्य एवं सोही महानगर-९ का वडा सदस्य भावना श्रेष्ठविरुद्ध मुद्दा दायर गरिएको छ ।

न्यायिक समितिमा विचाराधीन रहेको बाटोको विवादमा घुस दिन खोल्ने रविनकुमार र न्यायिक समिति सदस्य भावना श्रेष्ठविरुद्ध बिगोबमोजिम कारबाहीको माग गर्दै सोमबार मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १३९ रुपैयाँ ४७ पैसा र बिक्रीदर १४० रुपैयाँ ०७ पैसा कायम भएको छ ।

युरोपियन युरो एकको खरिदर १६२ रुपैयाँ ९९ पैसा र बिक्रीदर १६३ रुपैयाँ ६९ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर १८८ रुपैयाँ ९० पैसा र बिक्रीदर १८९ रुपैयाँ ७१ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १७२ रुपैयाँ ८९ पैसा र बिक्रीदर १७३ रुपैयाँ ६३ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ८३ पैसा र बिक्रीदर ९१ रुपैयाँ २२ पैसा, क्यानेडियन डलर एकको खरिदर १०१ रुपैयाँ ११ पैसा र बिक्रीदर १०१ रुपैयाँ ५५ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०८ रुपैयाँ ७६ पैसा र बिक्रीदर १०९ रुपैयाँ २३ पैसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिदर नौ रुपैयाँ ४६ पैसा र बिक्रीदर नौ रुपैयाँ ५० पैसा, चिनियाँ युआन एकको खरिदर १९ रुपैयाँ ४३ पैसा र बिक्रीदर १९ रुपैयाँ ५१ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपैयाँ १७ पैसा र बिक्रीदर ३७ रुपैयाँ ३३ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ २६ पैसा र बिक्रीदर ३८ रुपैयाँ ४३ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ३० पैसा र बिक्रीदर चार रुपैयाँ ३२ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ ९७ पैसा र बिक्रीदर ३८ रुपैयाँ १४ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३३ रुपैयाँ ०३ पैसा र बिक्रीदर ३३ रुपैयाँ १७ पैसा, साउथ कोरियन वन एक सयको खरिददर १० रुपैयाँ ०७ पैसा र बिक्रीदर १० रुपैयाँ ११ पैसा, स्विडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ ६० पैसा र बिक्रीदर १४ रुपैयाँ ६६ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपैयाँ ८४ पैसा र बिक्रीदर २१ रुपैयाँ ९३ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिदर १७ रुपैयाँ ८४ पैसा र बिक्रीदर १७ रुपैयाँ ९२ पैसा, कुवेती दिनार एकको खरिददर ४५६ रुपैयाँ ५० पैसा र बिक्रीदर ४५८ रुपैयाँ ४६ पैसा, बहराइन दिनार एकको खरिददर ३६९ रुपैयाँ ९४ पैसा र बिक्रीदर ३७१ रुपैयाँ ५३ पैसा, ओमनी रियाल एकको खरिददर ३६२ रुपैैयाँ २६ पैसा र बिक्रीदर ३६३ रुपैयाँ ८१ पैसा रहेको छ ।

भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको ‘वेबसाइट’ मा उपलब्ध हुने जनाइएको छ । ।

रुपन्देही-३ मा हुने उपनिर्वाचनका लागि कुन-कुन दल दर्ता भए ?

काठमाडौँ । निर्वाचन आयोगले आगामी कात्तिक १७ गते रुपन्देही क्षेत्र नं ३ मा हुने उपनिर्वाचनका लागि २६ राजनीतिक दल दर्ता गरेको छ । दल दर्ताका लागि आएका २७ राजनीतिक दलमध्ये कानुनी रित पूरा भएका २६ दललाई आयोगको सोमबारको निर्णयअनुसार दर्ता गरिएको सहसचिव एवं प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी दिनुभयो । उहाँका अनुसार नेपालको संविधानको धारा २७१ र राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४८ बमोजिम उपनिर्वाचनका लागि दल दर्ता गरिएको हो ।

आयोगले सबैभन्दा पहिले मङ्गोल नेशनल अर्गनाइजेशन दर्ता हुन आएको जनाएको छ । यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका लागि नेपाली पार्टी, जनमत पार्टी, राष्ट्रिय मुक्ति आन्दोलन नेपाल, जनता समाजवादी पार्टी, नेपाली कांग्रेस, राष्ट्रिय जनमोर्चा, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), जनप्रजातान्त्रिक पार्टी नेपाल, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत माक्र्सवादी लेनिनवादी) दर्ता भएका छन् ।

साथै नेपाल कम्युनिष्ट पार्टी माक्र्सवादी (पुष्पलाल), संयुक्त नागरिक पार्टी, नेकपा(एकीकृत समाजवादी), नेपाल समाजवादी पार्टी (नयाँ शक्ति), नेकपा(माले), राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल, नेशनल रिपब्लिक नेपाल, राष्ट्रिय मातृभूमि पार्टी, नेपाली जनता दल दर्ता भएको छ ।

त्यस्तै, राष्ट्रिय यथार्थवादी पार्टी, नेपाल, राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाल जनमुक्ति पार्टी, हाम्रो नेपाली पार्टी, बहुजन शक्ति पार्टी, खम्बुवान राष्ट्रिय मोर्चा, नेपाल उपनिर्वाचनका लागि दर्ता भएको आयोगले जनाएको छ । आयोगले उपनिर्वाचनको कार्यतालिका सार्वजनिक गर्दै आगामी असोज २१ गते उम्मेदवार मनोनयन दर्ताको दिन तय गरेको छ ।

राष्ट्रियसभाको बैठक बस्दै, यी हुन् कार्यसूची

काठमाडौँ ।  राष्ट्रियसभाको बैठक सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा आज दिउँसो १ः१५ बजे बस्दैछ । आजको बैठकमा सहरी विकास मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले उत्तर दिनुहुने कार्यसूची छ ।

बैठकमा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति मायाप्रसाद शर्माले ‘राष्ट्रिय निकुञ्जहरूसँग सम्बन्धित नीतिगत समस्यासम्बन्धी अध्ययन प्रतिवेदन, २०८२’ सभासमक्ष पेस गर्नुहुनेछ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले ‘सामाजिक सञ्जालसम्बन्धी विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची तय भएको सङ्घीय संसद् सचिवालयका महासचिव पद्यप्रसाद पाण्डेयले जानकारी दिनुभयो ।

यसैगरी अर्थसमिति र कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बस्दैछ । अर्थसमितिको बैठकमा ‘वैकल्पिक विकास वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’को मस्यौदा प्रतिवेदनमाथि छलफल गर्ने कार्यक्रम छ । कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा ‘नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१’ को दफावार छलफल गर्ने कार्यसूची छ ।

भारतका विदेश सचिव मिस्री स्वदेश फिर्ता

काठमाडौँ, २ भदौ : भारतका विदेश सचिव विक्रम मिस्री नेपालको दुई दिने औपचारिक भ्रमण सम्पन्न गरी आज स्वदेश फर्कनुभएको छ ।परराष्ट्र सचिव अमृतबहादुर राईको निमन्त्रणामा यही भदौ १ गते नेपाल आउनुभएका उहाँले भ्रमणका क्रममा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री डा आरजु राणा देउवासँग छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गर्नुभएको थियो ।

भ्रमणकै दौरानमा उहाँले नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग समेत छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गर्नुभयो ।

भेटवार्तामा सचिव मिस्रीले भारत सरकारको नेतृत्वतर्फबाट शुभकामना व्यक्त गर्दै दुई देशबीचका पारस्परिक लाभका विविध सहकार्यका पक्षमा भएको प्रगतिबारे जानकारी गराउनुभएको थियो । साथै प्रधानमन्त्री ओलीलाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले दिनुभएको भारत भ्रमणको औपचारिक निमन्त्रणा हस्तान्तरण गर्नुभएको थियो ।

दुवै देशका विदेश सचिवबीच विस्तृत छलफल भएको थियो । छलफलमा हालसम्म भएका द्विपक्षीय पहलहरुको प्रगतिबारे समीक्षा गर्दै प्रधानमन्त्री ओलीको आसन्न भारत भ्रमणका सम्भावित एजेन्डा र थप सहकार्यका अवसरहरुमा विचार–विमर्श भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

विदेश सचिव मिस्रीले नेपाली सेनाका प्रधान सेनापति अशोकराज सिग्देललाई भेटी नेपाली सेनालाई ‘लाइट स्ट्राइक भेहिकल’, ‘क्रिटिकल केयर मेडिकल इक्विपमेन्ट’ र सैन्य प्रयोजनका जनावरलगायतका रक्षा सामाग्री हस्तान्तरण गर्नुभएको थियो ।

भ्रमणका क्रममा दुवै पक्षले भौतिक तथा ‘डिजिटल कनेक्टिभिटी’, रक्षा र सुरक्षा, ऊर्जालगायतका क्षेत्रमा हालैका वर्षमा भएको ठोस प्रगतिप्रति सन्तुष्टि व्यक्त गरेका थिए । भ्रमणले दुई देशबीचको उच्चस्तरीय आदान–प्रदानको परम्परालाई निरन्तरता दिनुका साथै पारस्परिक सम्बन्धलाई अझ सुदृढ बनाउन मद्दत गर्ने विश्वास लिइएको छ ।

कर्णाली प्रदेश विकास समस्या समाधान समितिको बैठक सम्पन्न

कर्णाली  । कर्णाली प्रदेश विकास समस्या समाधान समितिको बैठक सम्पन्न भएको छ । मुख्यमन्त्री यामलाल कँडेलको अध्यक्षतामा आज सुर्खेतमा बसेको बैठकले मन्त्रालयस्तरीय विकास समस्यालाई समाधान गर्न विभिन्न निर्णय गरेको छ ।बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट स्थानीय सेवाका कर्मचारीको अभिलेख व्यवस्थापन प्रणाली सञ्चालन र प्रमुख प्रशासकीय अधिकृत खटनपटनमा आएको समस्या समाधान गर्ने निर्णय गरेको छ ।

यस्तै, राष्ट्रिय किताबखाना (निजामती)बाट स्थानीय तहका कर्मचारीहरुको अभिलेख व्यवस्थापन प्रणाली प्रदेश सरकारलाई हस्तान्तरण गर्न सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र सङ्घीय सरकारले प्रदेशअन्तर्गतका स्थानीय तहका लागि प्रमुख प्रशासकीय अधिकृत एकमुष्ट मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा खटाउने व्यवस्थाका लागि सम्बन्धित निकायमा पत्राचार गर्ने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनोदकुमार शाहले जानकारी दिनुभयो ।

यस्तै, आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा देखिएका समस्या समाधान, ऊर्जा, जलस्रोत तथा सिँचाइ विकास मन्त्रालयअन्तर्गत रहेको जल तथा मौसम विज्ञान कार्यालय कोहलपुरमा रहेकाले अब प्रदेश राजधानी वीरेन्द्रनगरमा सञ्चालन गर्न सम्बन्धित मन्त्रालयमा अनुरोध गर्ने निर्णय गरिएको छ । साथै, सुर्खेतमा नेपाल टेलिभिजन प्रसारण केन्द्र स्थापना तथा सञ्चालन गर्न नेपाल सरकार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा अनुरोध गर्ने, सङ्घीयता कार्यान्वयनका लागि आवश्यक कानुन निर्माण गर्न बाँकी रहेकाले कानुन निर्माण र जाजरकोट केन्द्रविन्दु बनाएर गएको भूकम्पपछिको पुनर्निर्माण तथा पुनःस्थापना कार्यलाई यथाशीघ्र सम्पन्न गर्न सङ्घीय सरकारलाई अनुरोध गर्ने निर्णय गरेको उहाँले बताउनुभयो ।

प्रवक्ता शाहका अनुसार खानेपानी सुशासन तथा पूर्वाधार सहयोग आयोजना (भेरी पम्पिङ आयोजना) वीरेन्द्रनगर सुर्खेत र खानेपानी आयोजना शारदा नगरपालिका सल्यानलाई तोकिएकै समयभित्र कार्यसम्पन्न गर्न सङ्घीय सरकार खानेपानी मन्त्रालयमा सहजीकरणको लागि अनुरोध गर्ने, ससर्त, समपूरक तथा विशेष अनुदानमा प्रदेशस्तरमा कार्यान्वयन गरिने आयोजनाको सन्दर्भमा पहिलो आर्थिक वर्षमा नै स्रोत सुनिश्चित तथा बजेट व्यवस्थापन गर्न अनुरोध गर्ने र ससर्त अनुदानतर्फका आयोजनाको लागि सङ्घीय सरकारका सम्बन्धित मन्त्रालय र समपूरक तथा विशेष अनुदानका आयोजनाका लागि राष्ट्रिय योजना आयोगसँग प्रभावकारी समन्वय गर्ने निर्णय गरिएको छ ।

यस्तै, स्वास्थ्य सेवा कार्यालय जाजरकोटको नाममा दर्ता रहेको तीन रोपनी जग्गामा खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय जाजरकोटको कार्यालय भवन निर्माणका लागि जग्गा प्राप्तिका विषयमा सङ्घीय सरकारलाई पुनः अनुरोध गर्ने निर्णय गरिएको छ ।

यसैगरी, दैलेख, सल्यान, रुकुमपश्चिम र हुम्लामा निर्माणाधीन अस्पताल भवनको प्राविधिक काम सङ्घीय आयोजना कार्यान्वयन एकाइ जुम्लाले गर्दै आएकामा सो आयोजनाको प्राविधिक कामलाई व्यवस्थित र थप प्रभावकारी बनाउन सम्बन्धित जिल्लाका पूर्वाधार विकास कार्यालयलाई जिम्मेवारी प्रदान गरी समन्वयको समेत कार्य गर्न सङ्घीय सरकारको सम्बन्धित मन्त्रालयलाई अनुरोध गर्ने निर्णय भएको छ ।

यस्तै, स्थानीय निर्माण सामग्रीको आपूर्ति व्यवस्थापनलाई सहज र प्रभावकारी बनाउन सम्बन्धित स्थानीय तहसँग समन्वय, सार्वजनिक खरिद ऐन संशोधनका लागि सङ्घीय सरकारलाई अनुरोध, प्रदेश सरकारको खरिद नियमावली यथाशीघ्र संशोधन, प्रदेशमा निर्माणाधीन अवस्थामा रहेका राष्ट्रिय गौरवका साथै अन्य आयोजना निर्धारित समयभित्र सम्पन्न गर्न प्रदेश सरकारबाट अनुगमन तथा सहजीकरण गर्ने निर्णय गरिएको छ ।

सुर्खेतबाट कर्णाली प्रदेशका दुर्गम जिल्लाहरूमा हुने हवाई उडानलाई नियमित, विश्वसनीय, सहज र व्यवस्थित गर्न र भाडादरलाई समयानुकूल तथा जनमैत्री बनाउन सङ्घीय सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई अनुरोध गर्ने र कालीकोटको सान्नीत्रिवेणी गाउँपालिकाको त्रिवेणी पाटनमा रहेको बडीमालिकाको सिमाना विवाद समाधान गर्न सुदूरपश्चिम प्रदेश सरकारसँग समन्वय, छलफल र परामर्श गर्ने निर्णय गरिएको प्रवक्ता शाहले जानकारी दिनुभयो ।

कृषि तथा पशुपन्छीजन्य वस्तु तथा सेवा आयात र निर्यात व्यवस्थापनलाई सहज बनाउन हुम्लाको हिल्सा सीमानाकामा क्वारेन्टिन स्थापना, कर्णालीलाई प्राङ्गारिक मल प्रयोगको हबका रुपमा विकास गर्न प्राङ्गारिक तथा जैविक मलमा अनुदान, कृषिजन्य बालीमा पेटेन्ट राइटसम्बन्धी कानुन संशोधन गर्न सङ्घीय सरकारसँग अनुरोध गर्ने र कृषिमा प्रदान गरिने अनुदानको अंशमा एकरुपता हुनेगरी कानुन बनाउन मागसहित अनुरोध गर्ने निर्णय गरिएको छ ।

प्रवक्ता शाहका अनुसार प्रदेशको अनुगमन तथा मूल्याङ्कन निर्देशिका, २०७५ को दफा ५ मा भएको व्यवस्थाअनुसार प्रदेश सरकारका विषयगत मन्त्रालयले विभिन्न मितिमा बैठकबसी समस्या पहिचान गरेका थिए । समतिको समस्या समाधान उपसमिति बैठकको निर्णयअनुसार ती समस्या समाधान गर्न अगाडि बढाइएको छ ।