`

सरकारको विरोधमा उत्रियो अनेरास्ववियु, काठमाडौंमा मसाल जुलुस

काठमाडौं । सरकारले षडयन्त्रपूर्वक आफ्ना नेताहरुलाई कार्यक्रममा सहभागी हुन नदिएको भन्दै नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियुले मसाल जुलुस निकालेको छ । अनेरास्ववियुले आज (बिहीबार) साँझ नयाँबानेश्वरमा मसाल जुलुस निकालेको हो ।

आफ्नो माउपार्टी एमालेका नेतालाई पूर्व घोषित कार्यक्रममा सहभागी हुन नदिन विभिन्न षडयन्त्र गरेकाले विरोधमा मसाल जुलुस निकालेको अनेरास्ववियु अध्यक्ष दीपक धामीले जानकारी दिए । मधेसमा हुने कार्यक्रममा सहभागी हुन महासचिव शंकर पोखरेल, महेश बस्नेतसहितका नेताहरु बारा जान लाग्दा जेनजी युवाहरुले विमानस्थलमा नै प्रदर्शन गरेपछि दुई दिनयता सिमरा तनावपूर्ण छ ।

सरकार असंवैधानिक भएको बताउँदै अध्यक्ष धामीले संविधानले कल्पना गरेको दलीय व्यवस्था माथि नै प्रहार भएको दाबी गरेका छन् । हस्तक्षेपकारी नीति सरकारले तत्काल अन्त्य नगरे आन्दोलनका थप कार्यक्रम ल्याउने उनको चेतावनी छ ।

सुजनको राजीनामा स्वीकृत, दीपक बने अखिलको अध्यक्ष

काठमाडौं । नेकपा एमाले सम्बद्ध विद्यार्थी संगठन अनेरास्ववियु (अखिल) ले अध्यक्षमा दीपक धामीलाई चयन गर्दै डा. सुजन कडरियाको राजीनामा स्वीकृत गरेको छ । नेपाल कमर्श क्याम्पसमा भएको पदाधिकारी बैठकले महासचिव दीपक धामीलाई अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको हो ।

डा. कडरियाले जेएन–जी आन्दोलनमा विद्यार्थी मारिएका घटनाप्रति असन्तुष्टि जनाउँदै राजीनामा दिएका थिए । बैठकपछि नयाँ पदाधिकारिहरूको जिम्मेवारी वितरण समेत गरिएको छ । उपाध्यक्ष अञ्जना शिवाकोटी महासचिव बन्ने भएकी छिन् भने अन्य पदाधिकारीहरू यथावत् रहने छन् । अध्यक्ष बनेका धामीले नेपाल भने, ‘पदाधिकारी बैठकले सर्वसम्मत निर्णय गरेका छौं । अब आवश्यक निर्णयहरू केन्द्रीय कमिटीमा पेश गरिनेछ । बैठकपछि सुजन कडरियाले आफ्नो राजीनामा स्वीकृत गरेको जानकारी दिएर धन्यवाद व्यक्त गर्नुभयो ।’

डा. कडरियाले आफ्नो अनुभव र संघर्षलाई सम्झँदै भावनात्मक सन्देश पनि दिएका छन् । उनले भनेका छन्, ‘आजबाट विद्यार्थी आन्दोलनमा बिताएका तीता–मीठा क्षणहरू औपचारिक रूपमा समाप्त भएका छन् । मैले कसैप्रति जानजानी वा अनजानीमा कुनै गल्ती वा कडा व्यवहार गरेको भए हृदयदेखि क्षमाप्रार्थी छु । अब म पार्टी जीवनमा पूर्ण समर्पणका साथ अघि बढ्नेछु र नेकपा एमालेको इमानदार सिपाहीको रूपमा खटिरहने प्रतिज्ञा गर्दछु ।’

राजीनामा पछि कडरियाले नयाँ नेतृत्वलाई बधाई तथा शुभकामना व्यक्त गरेका छन् । उनले थपे, ‘भदौ २३ गतेको आन्दोलनमा प्रहरीको गोलीले विद्यार्थीको रगत बगेको क्षणसँगै मेरो अनेरास्ववियु यात्रा समाप्त भएको सत्यलाई आजको गरिमामय बैठकले आधिकारिक मान्यता दिएकोमा म सम्मान व्यक्त गर्दछु । यस घटनाले विद्यार्थीको हक–हित र अधिकारको पक्षमा बुलन्द स्वर उठाउने अनेरास्ववियुको भूमिका फेरि प्रमाणित भएको छ ।’ यस घटनापछि अनेरास्ववियु नयाँ नेतृत्वसहित आगामी रणनीति निर्माण गर्दै विद्यार्थी अधिकार र संगठनको मजबुतीतर्फ केन्द्रित हुने भएको छ ।

 

राष्ट्रको सम्पदा जलाउनेलाई कारबाही नभए सडकमा आउँछौँ : दीपक धामी

काठमाडौं । नेकपा एमाले निकट अनेरास्ववियुका महासचिव दीपक धामीले राष्ट्रका सम्पदा जलाउनेलाई कारबाही नभए आफूहरू सडकमा उत्रिने चेतावनी दिएका छन् । उनले दलमा विचार र आस्था राखेकै कारण अपराधी करार गर्नु गलत भएको समेत बताए । बुधबार संवाद डबलीले आयोजना गरेको कार्यक्रमा बोल्दै धामीले जेन–जी आन्दोलनप्रति आफूहरूको पनि ऐक्यबद्धता रहेको बताउँदै त्यसमा घुसपैठ भएर गरिएको हत्या, आगजनी र लुटपाट गर्ने र त्यसका लागि उक्साउनेलाई कारबाहीका लागि आफूहरूले प्रहरीमा जाहेरी दिएको बताए ।

‘जेन–जीहरूका मागमा हाम्रो पनि ऐक्यबद्धता थियो, ती माग पूरा गराउन हाम्रोतर्फबाट के गर्नुपर्छ तयार थियौँ र छौँ, तर घुसपैठ गरेर राष्ट्रका सम्पदा, निजी सम्पत्तिमा आगजनी, लुटपाट र व्यक्तिहत्यामा लाग्ने र त्यसमा उक्साउनेलाई कानुनको दायरामा ल्याउनुपर्छ भन्ने हाम्रो माग हो । त्यही मागसहित हामीले हिजो काठमाडौं प्रहरी परिसरमा जाहेरी दिएका छौँ,’ धामीले भने ।

भ्रष्टाचार र अपराधमा दोषीलाई बचाउनु हुँदैन भन्नेमा आफूहरू पनि लागिरहेको बताउँदै धामीले सामाजिक सञ्जलबाट दोषी करार गरेर बदनाम गर्ने कार्यप्रति आफ्नो संगठनको आपत्ति रहेको बताएका छन् । उनले संविधान र कानुनभन्दा कोही व्यक्ति माथि नभएकाले दोषीलाई कानुनी प्रक्रियामा लग्नुपर्नेमा जोड दिए ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र ‘हामी नेपाल’ का संयोजक सुधन गुरुङविरुद्ध किटानी जाहेरी दिएकोबारे पत्रकार सम्मेलनमा बोल्दै अमुक व्यक्तिले सरकारलाई निर्देशन दिन थालेपछि आफूहरू सडकमा आउन बाध्य भएको बताए । उनले भने, ‘अराजकतालाई मुक्त गर्नुपर्छ भनेर हामी सडकमा आएका छौँ । हामी आउँछौँ सडकमा, हामी मर्न कफन बाँधेर हिँडेका मान्छे हौं । समाज र देशको लागि मर्न तयार छौं । यो देशमा आगो लगाएर खरानी बनाउनेहरू छाती फुलाएर हिँड्ने ? निर्दोष रहेकाहरू कुनामा लुकेर बस्नु पर्ने हुँदैन ।’ उनले २३ र २४ गतेको घटनाको दोषीलाई कारबाही गर्नुपर्ने बताए । उनले पार्टी अध्यक्ष केपी ओली विगतमा गृहमन्त्री हुँदा राज्यको गोली खाएर एक जना पनि मर्नु नपरेको स्मरण गरे । उनले आन्दोलनमा गोली हान्न निर्देशन प्रधानमन्त्री नदिने पनि बताए ।

नेपालको शिक्षामा विदेशीको छायाँ प्रवेश गर्न नदिऔं : समिक बडाल

काठमाडौं । नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुका पूर्वअध्यक्ष समिक बडालले नेपालको शिक्षामा विदेशीको छायाँ प्रवेश नै गर्न नदिन आग्रह गरेका छन् । उनले आज सामाजिक सञ्जालमार्फत नेपालको शिक्षामा विदेशीको छायाँ प्रवेश गरेपछि अहिलेको अवस्था सिर्जना भएको भन्दै विदेशी छाँया प्रवेश गर्न नदिन आग्रह गरेका हुन् । त्रिभुवन विश्वविद्यालयको प्रविणता प्रमाणपत्र हटाएपछि ‘अमेरिकन युथ काउन्सिल’ छिरेको उनको भनाई रहेको छ ।

‘विगतमा त्रिभुवन विश्वविद्यालयको प्रविणता प्रमाणपत्र तह थियो । त्यहीँ हामीले राजनीति सिक्थ्यौँ, राष्ट्रिय चेतना बढाउँथ्यौँ, तर, आज त्यही ठाउँमा ‘अमेरिकन युथ काउन्सिल’ छिरेको छ’ बडालले लेखेका छन्, ‘विश्व बैंकको अनुदानको लोभमा हाम्रै उच्च शिक्षाका विज्ञहरूले आफ्नै विद्यार्थी आन्दोलन (स्ववियु) लाई ध्वस्त पारिदिए । हाम्रा राजनीतिक दलहरू पालैपालो सरकारमा आए, तर कसैले पनि यो विषयमा सोच्न भ्याएनन् । हामीले पनि त्यो कुरा बुझाउन सकेनौँ ।’
उनले विदेशी हस्तक्षेप, अदृश्य सेनाजस्तै एनजीओ÷आइएनजीओको भेषमा हाम्रो मस्तिष्क कब्जा गर्ने षड्यन्त्र रहेको उल्लेख गर्दै लेखेका छन्, ‘तिनीहरूको एउटै लक्ष्य छ–हाम्रो राष्ट्रिय विचार र हाम्रो चेतना मेटाउनु ।’