`

सुजनको राजीनामा स्वीकृत, दीपक बने अखिलको अध्यक्ष

Nepal One HD १ मंसिर २०८२ १४:०५
प्रमुख खबर

काठमाडौं । नेकपा एमाले सम्बद्ध विद्यार्थी संगठन अनेरास्ववियु (अखिल) ले अध्यक्षमा दीपक धामीलाई चयन गर्दै डा. सुजन कडरियाको राजीनामा स्वीकृत गरेको छ । नेपाल कमर्श क्याम्पसमा भएको पदाधिकारी बैठकले महासचिव दीपक धामीलाई अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको हो ।

डा. कडरियाले जेएन–जी आन्दोलनमा विद्यार्थी मारिएका घटनाप्रति असन्तुष्टि जनाउँदै राजीनामा दिएका थिए । बैठकपछि नयाँ पदाधिकारिहरूको जिम्मेवारी वितरण समेत गरिएको छ । उपाध्यक्ष अञ्जना शिवाकोटी महासचिव बन्ने भएकी छिन् भने अन्य पदाधिकारीहरू यथावत् रहने छन् । अध्यक्ष बनेका धामीले नेपाल भने, ‘पदाधिकारी बैठकले सर्वसम्मत निर्णय गरेका छौं । अब आवश्यक निर्णयहरू केन्द्रीय कमिटीमा पेश गरिनेछ । बैठकपछि सुजन कडरियाले आफ्नो राजीनामा स्वीकृत गरेको जानकारी दिएर धन्यवाद व्यक्त गर्नुभयो ।’

डा. कडरियाले आफ्नो अनुभव र संघर्षलाई सम्झँदै भावनात्मक सन्देश पनि दिएका छन् । उनले भनेका छन्, ‘आजबाट विद्यार्थी आन्दोलनमा बिताएका तीता–मीठा क्षणहरू औपचारिक रूपमा समाप्त भएका छन् । मैले कसैप्रति जानजानी वा अनजानीमा कुनै गल्ती वा कडा व्यवहार गरेको भए हृदयदेखि क्षमाप्रार्थी छु । अब म पार्टी जीवनमा पूर्ण समर्पणका साथ अघि बढ्नेछु र नेकपा एमालेको इमानदार सिपाहीको रूपमा खटिरहने प्रतिज्ञा गर्दछु ।’

राजीनामा पछि कडरियाले नयाँ नेतृत्वलाई बधाई तथा शुभकामना व्यक्त गरेका छन् । उनले थपे, ‘भदौ २३ गतेको आन्दोलनमा प्रहरीको गोलीले विद्यार्थीको रगत बगेको क्षणसँगै मेरो अनेरास्ववियु यात्रा समाप्त भएको सत्यलाई आजको गरिमामय बैठकले आधिकारिक मान्यता दिएकोमा म सम्मान व्यक्त गर्दछु । यस घटनाले विद्यार्थीको हक–हित र अधिकारको पक्षमा बुलन्द स्वर उठाउने अनेरास्ववियुको भूमिका फेरि प्रमाणित भएको छ ।’ यस घटनापछि अनेरास्ववियु नयाँ नेतृत्वसहित आगामी रणनीति निर्माण गर्दै विद्यार्थी अधिकार र संगठनको मजबुतीतर्फ केन्द्रित हुने भएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *