`

राष्ट्रको सम्पदा जलाउनेलाई कारबाही नभए सडकमा आउँछौँ : दीपक धामी

Nepal One HD २२ असोज २०८२ १५:२५
प्रमुख खबर

काठमाडौं । नेकपा एमाले निकट अनेरास्ववियुका महासचिव दीपक धामीले राष्ट्रका सम्पदा जलाउनेलाई कारबाही नभए आफूहरू सडकमा उत्रिने चेतावनी दिएका छन् । उनले दलमा विचार र आस्था राखेकै कारण अपराधी करार गर्नु गलत भएको समेत बताए । बुधबार संवाद डबलीले आयोजना गरेको कार्यक्रमा बोल्दै धामीले जेन–जी आन्दोलनप्रति आफूहरूको पनि ऐक्यबद्धता रहेको बताउँदै त्यसमा घुसपैठ भएर गरिएको हत्या, आगजनी र लुटपाट गर्ने र त्यसका लागि उक्साउनेलाई कारबाहीका लागि आफूहरूले प्रहरीमा जाहेरी दिएको बताए ।

‘जेन–जीहरूका मागमा हाम्रो पनि ऐक्यबद्धता थियो, ती माग पूरा गराउन हाम्रोतर्फबाट के गर्नुपर्छ तयार थियौँ र छौँ, तर घुसपैठ गरेर राष्ट्रका सम्पदा, निजी सम्पत्तिमा आगजनी, लुटपाट र व्यक्तिहत्यामा लाग्ने र त्यसमा उक्साउनेलाई कानुनको दायरामा ल्याउनुपर्छ भन्ने हाम्रो माग हो । त्यही मागसहित हामीले हिजो काठमाडौं प्रहरी परिसरमा जाहेरी दिएका छौँ,’ धामीले भने ।

भ्रष्टाचार र अपराधमा दोषीलाई बचाउनु हुँदैन भन्नेमा आफूहरू पनि लागिरहेको बताउँदै धामीले सामाजिक सञ्जलबाट दोषी करार गरेर बदनाम गर्ने कार्यप्रति आफ्नो संगठनको आपत्ति रहेको बताएका छन् । उनले संविधान र कानुनभन्दा कोही व्यक्ति माथि नभएकाले दोषीलाई कानुनी प्रक्रियामा लग्नुपर्नेमा जोड दिए ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र ‘हामी नेपाल’ का संयोजक सुधन गुरुङविरुद्ध किटानी जाहेरी दिएकोबारे पत्रकार सम्मेलनमा बोल्दै अमुक व्यक्तिले सरकारलाई निर्देशन दिन थालेपछि आफूहरू सडकमा आउन बाध्य भएको बताए । उनले भने, ‘अराजकतालाई मुक्त गर्नुपर्छ भनेर हामी सडकमा आएका छौँ । हामी आउँछौँ सडकमा, हामी मर्न कफन बाँधेर हिँडेका मान्छे हौं । समाज र देशको लागि मर्न तयार छौं । यो देशमा आगो लगाएर खरानी बनाउनेहरू छाती फुलाएर हिँड्ने ? निर्दोष रहेकाहरू कुनामा लुकेर बस्नु पर्ने हुँदैन ।’ उनले २३ र २४ गतेको घटनाको दोषीलाई कारबाही गर्नुपर्ने बताए । उनले पार्टी अध्यक्ष केपी ओली विगतमा गृहमन्त्री हुँदा राज्यको गोली खाएर एक जना पनि मर्नु नपरेको स्मरण गरे । उनले आन्दोलनमा गोली हान्न निर्देशन प्रधानमन्त्री नदिने पनि बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *