सरकारको विरोधमा उत्रियो अनेरास्ववियु, काठमाडौंमा मसाल जुलुस
काठमाडौं । सरकारले षडयन्त्रपूर्वक आफ्ना नेताहरुलाई कार्यक्रममा सहभागी हुन नदिएको भन्दै नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियुले मसाल जुलुस निकालेको छ । अनेरास्ववियुले आज (बिहीबार) साँझ नयाँबानेश्वरमा मसाल जुलुस निकालेको हो ।
आफ्नो माउपार्टी एमालेका नेतालाई पूर्व घोषित कार्यक्रममा सहभागी हुन नदिन विभिन्न षडयन्त्र गरेकाले विरोधमा मसाल जुलुस निकालेको अनेरास्ववियु अध्यक्ष दीपक धामीले जानकारी दिए । मधेसमा हुने कार्यक्रममा सहभागी हुन महासचिव शंकर पोखरेल, महेश बस्नेतसहितका नेताहरु बारा जान लाग्दा जेनजी युवाहरुले विमानस्थलमा नै प्रदर्शन गरेपछि दुई दिनयता सिमरा तनावपूर्ण छ ।
सरकार असंवैधानिक भएको बताउँदै अध्यक्ष धामीले संविधानले कल्पना गरेको दलीय व्यवस्था माथि नै प्रहार भएको दाबी गरेका छन् । हस्तक्षेपकारी नीति सरकारले तत्काल अन्त्य नगरे आन्दोलनका थप कार्यक्रम ल्याउने उनको चेतावनी छ ।





