`

भेनेजुएलाविरुद्धको अमेरिकी आक्रमणको चौतर्फी निन्दा र विरोध

काठमाडौं । ल्याटिन अमेरिकी मुलुक भेनेजुएलामा शनिबार नाटकीय रूपमा अमेरिकी हस्तक्षेप भएको छ । एक विशेष सैन्य अभियान सञ्चालन गर्दै अमेरिकाले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो र उनकी पत्नीलाई राजधानी काराकासबाटै नियन्त्रणमा लिएको छ ।

एक सार्वभौम राष्ट्रका राष्ट्रप्रमुखलाई नै नियन्त्रणमा लिने अमेरिकी कदमको विश्वभरबाट तीव्र निन्दा र चिन्ता व्यक्त गरिएको छ । घटना लगत्तै विभिन्न देशका नागरिकहरू अमेरिकी हस्तक्षेपको विरोधमा सडकमा उत्रिएका छन् । विश्लेषकहरूले यस घटनालाई ल्याटिन अमेरिकामा आफ्नो पूर्ण बर्चस्व कायम गर्ने अमेरिकी रणनीतिको उत्कर्षका रूपमा व्याख्या गरेका छन् ।

अमेरिकाले यो कारबाहीलाई ‘लागुऔषध ओसारपसार विरुद्धको अभियान’ दाबी गरे पनि यसको अन्तर्निहित उद्देश्य भने भेनेजुएलाको विशाल प्राकृतिक स्रोतमाथिको कब्जा नै रहेको देखिन्छ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको अभिव्यक्तिले पनि यसलाई पुष्टि गरेको छ, जहाँ उनले भेनेजुएलाको खनिज सम्पत्ति दोहन गर्ने मनसाय व्यक्त गरेका थिए ।

ह्युगो चाभेजको पालादेखि नै चिसिएको अमेरिका–भेनेजुएला सम्बन्ध यो घटनासँगै थप जटिल मोडमा पुगेको छ । अमेरिकाले लामो समयदेखि भेनेजुएलाको समाजवादी सरकारलाई ‘अधिनायकवादी’ को संज्ञा दिँदै कडा आर्थिक नाकाबन्दी लगाउँदै आएको थियो भने भेनेजुएलाले यसलाई ‘शासन सत्ता परिवर्तन गर्ने साम्राज्यवादी षड्यन्त्र’ भन्दै प्रतिवाद गर्दै आएको थियो । तेल र खनिज स्रोतमाथिको लुछाचुँडी नै यो द्वन्द्वको मुख्य जड रहेको भू–राजनीतिक जानकारहरूको मत छ ।

 

अमेरिकी आक्रमणमा भेनेजुएलामा कम्तीमा ४० जनाको मृत्यु

काठमाडौं । भेनेजुएलाका राष्ट्रपति निकोलास मादुरोलाई पक्राउ गर्ने उद्देश्यले गरिएको अमेरिकी सैन्य आक्रमणका क्रममा कम्तीमा ४० जनाको ज्यान गएको छ । तर, ह्वाइट हाउस वा पेन्टागनले हालसम्म मृतकको संख्या वा सैन्य कारबाहीको पूर्ण विवरणबारे औपचारिक पुष्टि नगरेको न्यूयोर्क टाइम्सले जनाएको छ । मृतकमध्ये सर्वसाधारण नागरिक र सैनिक दुवै रहेको उल्लेख गरिएको छ । नाम नखुलाउने शर्तमा एक वरिष्ठ भेनेजुएलाली अधिकारीलाई उद्धृत गर्दै प्रकाशित रिपोर्टमा भनिएको छ, ‘आक्रमणमा सर्वसाधारण र सैनिकसहित कम्तीमा ४० जनाको ज्यान गएको छ ।’

अमेरिकी अधिकारीहरूका अनुसार आक्रमणअघि भेनेजुएलाको हवाई प्रतिरक्षा प्रणाली निष्क्रिय पार्न व्यापक हवाई कारबाही गरिएको थियो । त्यसपछि स्थलसेनालाई परिचालन गरिएको थियो । रिपोर्टमा अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै भनिएको छ, ‘हवाई प्रतिरक्षा प्रणाली ध्वस्त पार्न १५० भन्दा बढी अमेरिकी विमान परिचालन गरिएका थिए, ताकि सैनिक हेलिकप्टरमार्फत मादुरो रहेको स्थानमा हमला गर्न सकियोस् ।’

अमेरिकी सेनाले शनिबार बिहानै राष्ट्रपति मादुरो र उनकी पत्नी सिलिया फ्लोरेसलाई नियन्त्रणमा लिएर भेनेजुएलाबाट बाहिर लगेको थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलामा सुरक्षित, उचित र विवेकपूर्ण संक्रमण सुनिश्चित नभएसम्म त्यहाँको प्रशासन सञ्चालन गर्ने बताएका छन् ।

यसैबीच, न्युयोर्कको साउदर्न डिस्ट्रिक्टस्थित संघीय अभियोजक कार्यालयले शनिबार बिहानै अभियोगपत्र सार्वजनिक गर्दै मादुरो र फ्लोरेसलाई ‘टनौं कोकिन’ अमेरिकामा तस्करी गरेको लगायतका विभिन्न अपराधमा संलग्न भएको आरोप लगाएको छ । आक्रमणका आलोचकहरूले यसले अन्तर्राष्ट्रिय कानून उल्लंघन गरेको, अमेरिकी संसद्लाई बाइपास गरिएको तथा भेनेजुएला र आसपासको क्षेत्र थप अस्थिर बन्ने जोखिम बढाएको चेतावनी दिएका छन् ।

पूर्व छापामारकी छोरी बनिन् भेनेजुएलाको कार्यकारी राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति निकोलस मादुरो अमेरिकी नियन्त्रणमा परेपछि भेनेजुएलाको सत्ता संरचनामा नाटकीय परिवर्तन आएको छ । देशको सर्वोच्च अदालतले प्रशासनिक निरन्तरता र राष्ट्रिय सुरक्षालाई प्राथमिकता दिँदै उपराष्ट्रपति डेल्सी रोड्रिगेजलाई कार्यकारी राष्ट्रपतिको जिम्मेवारी सम्हाल्न निर्देशन दिएको छ । अदालतको आदेशअनुसार संवैधानिक प्रक्रियाबाट रोड्रिगेजले कार्यवाहक रूपमा देशको नेतृत्व सम्हालेकी हुन् ।

समाचार एजेन्सी रोयटर्सका अनुसार, मादुरो अनुपस्थित रहेकाले राज्य संयन्त्र सञ्चालनमा शून्यता नआओस् भन्ने उद्देश्यले सर्वोच्च अदालतले यस्तो निर्णय गरेको हो । यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलामा अर्को सरकार नबनेसम्म अमेरिकाले नै प्रशासन चलाउने दाबी गरेका छन् । अमेरिकी सेनाले भेनेजुएलामा आक्रमण गरी मादुरोलाई नियन्त्रणमा लिएर न्यूयोर्कमा हिरासतमा राखिएको बताइएको छ ।

५५ वर्षीया डेल्सी एलोइना रोड्रिगेज गोमेज भेनेजुएलाको सत्तारूढ वामपन्थी आन्दोलनकी प्रभावशाली नेतृ मानिन्छिन् । ह्युगो चाभेजद्वारा अघि बढाइएको बोलिभेरियन क्रान्तिबाट उदाएकी उनी लामो समयदेखि मादुरो प्रशासनकी सबैभन्दा विश्वासपात्र पात्रमध्ये एक हुन् । आर्थिक संकट, विपक्षी आन्दोलन, अन्तर्राष्ट्रिय दबाब र अमेरिकी प्रतिबन्धका बीच पनि कठोर नीति र आक्रामक वक्तव्यमार्फत सरकारको बचाउ गर्ने भूमिकाका कारण उनलाई मादुरो शासनको ‘आइरन लेडी’ भनेर चिनिन्छ ।

१९६९ मे १८ मा काराकसमा जन्मेकी रोड्रिगेज पेशाले वकिल हुन् । उनले अन्तर्राष्ट्रिय सम्बन्ध र मानवअधिकार क्षेत्रमा अध्ययन गरेकी छन् । उनका पिता जर्ज एन्टोनियो रोड्रिगेज १९७० को दशकमा सक्रिय कम्युनिष्ट गुरिल्ला थिए र ‘लीगा सोशलिस्टा’ पार्टीका संस्थापक समेत थिए । यही राजनीतिक पृष्ठभूमिले डेल्सीको वैचारिक यात्रा निर्माण गरेको विश्लेषकहरू बताउँछन् ।

रोड्रिगेजले २०१३–२०१४ मा सञ्चार तथा सूचना मन्त्री, २०१४–२०१७ मा विदेश मन्त्री र २०१७ मा सरकार समर्थक संविधान सभाको प्रमुखको रूपमा काम गरिसकेकी छन् । विदेश मन्त्रीका रूपमा रहँदा उनले अमेरिका र युरोपेली संघको तीव्र आलोचना गर्दै भेनेजुएलामाथि लगाइएका प्रतिबन्धविरुद्ध अन्तर्राष्ट्रिय मञ्चहरूमा आक्रामक कूटनीति अपनाएकी थिइन्। २०१८ जुनमा उनी उपराष्ट्रपति नियुक्त भइन् ।

उपराष्ट्रपतिका रूपमा रोड्रिगेजले विभिन्न मन्त्रालयहरू सम्हाल्दै चरम महँगी र आर्थिक संकटसँग जुध्ने प्रयास गरिरहेकी छन् । २०२४ अगस्टमा उनलाई तेल मन्त्रालयको अतिरिक्त जिम्मेवारी दिइएको थियो, जसले अमेरिकी प्रतिबन्धबीच ऊर्जा क्षेत्र सञ्चालनमा उनको भूमिकालाई अझ सशक्त बनाएको छ । उनका दाजु जर्ज रोड्रिगेज पनि भेनेजुएलाको सत्ता संरचनामा प्रभावशाली नेता हुन् र राष्ट्रिय सभाका अध्यक्ष रहिसकेका छन् । यसले रोड्रिगेज परिवारलाई देशको राजनीतिक केन्द्रमा स्थापित गरेको देखिन्छ ।

मादुरो नियन्त्रणमा लिएपछि रोड्रिगेजले सार्वजनिक रूपमा अमेरिकी हस्तक्षेपको विरोध गर्दै अवस्था स्पष्ट पार्न माग गरेकी छन् । सर्वोच्च अदालतको आदेशपछि कार्यकारी राष्ट्रपतिको हैसियतमा उनी प्रशासनिक नेतृत्व सम्हाल्दै देशको सम्प्रभुता जोगाउने चुनौतीपूर्ण भूमिकामा उभिएकी छन् । भेनेजुएलाको वर्तमान संकटबीच डेल्सी रोड्रिगेजको नेतृत्वले देशलाई कुन दिशातर्फ लैजान्छ भन्ने विषय अहिले आन्तरिक र अन्तर्राष्ट्रिय राजनीतिमा चासोको केन्द्र बनेको छ ।

 

प्रधानमन्त्री खनालको टिप्पणी : भेनेजुएलामा अमेरिकी हस्तक्षेप ‘तेल भण्डार कब्जाको रणनीति’

काठमाडौँ । पूर्व प्रधानमन्त्री तथा नेकपा नेता झलनाथ खनालले अमेरिकाले भेनेजुएलामाथि गरेको सैन्य कारबाही अन्तर्राष्ट्रिय कानूनको गम्भीर उल्लंघन भएको बताएका छन् । उनले प्रेस विज्ञप्ति जारी गर्दै अमेरिकी कदमलाई ‘नाङ्गो, क्रूर र अपराधपूर्ण’ भन्दै कडा शब्दमा निन्दा गरेका छन् ।

खनालका अनुसार ट्रम्प प्रशासनअन्तर्गत डेल्टा फोर्सले करिब १५० लडाकु विमान प्रयोग गरी भेनेजुएलामाथि आक्रमण गरेको दाबी गरिएको छ । उक्त कारबाहीमा सर्वसाधारण र सैनिकको ज्यान गएको, सैन्य संरचना ध्वस्त पारिएको र निर्वाचित राष्ट्रपति निकोलस मदुरो तथा प्रथम महिला सेलिया फ्लोरेसलाई जबरजस्ती अपहरण गरी अमेरिका पुर्‍याइएको आरोप उनले लगाएका छन् । यो कार्य भेनेजुएलाको सार्वभौमसत्तामाथि ठाडो हस्तक्षेप भएको खनालको भनाइ छ ।

भेनेजुएलामाथि अमेरिकी चासोको मुख्य कारण तेल रहेको उल्लेख गर्दै खनालले विश्वकै ठूलो तेल भण्डार भएको देश भएकाले अमेरिकाले त्यसलाई कब्जा गर्ने रणनीति अघि बढाएको आरोप लगाएका छन् । उनका अनुसार राष्ट्रपति मदुरोको सरकार उक्त योजनाको प्रमुख अवरोध बनेपछि ‘ड्रग ट्राफिकिङ’ जस्ता बहाना खडा गरेर सैन्य आक्रमण र अपहरण गरिएको हो ।

खनालले आफ्नो पार्टी र सम्पूर्ण नेपाली जनताको तर्फबाट उक्त अमेरिकी कदमको कडा भत्र्सना गर्दै अन्तर्राष्ट्रिय समुदायलाई यस्ता हस्तक्षेपविरुद्ध स्पष्ट आवाज उठाउन आग्रह गरेका छन् । यसअघि अर्का पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले पनि भेनेजुएलामा अमेरिकी हस्तक्षेपको निन्दा गरेका थिए ।

 

भेनेजुएलाका राष्ट्रपति मादुरो भन्छन्–अमेरिका युद्धको माहौल बनाइरहेको छ

काठमाडौं । भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोले अमेरिकामाथि युद्धको रचना गरिरहेको आरोप लगाएका छन् । यो आरोप अमेरिकाले यस क्षेत्रमा आफ्नो सैन्य उपस्थिति बढाउने क्रममा विश्वको सबैभन्दा ठूलो युद्धपोतलाई क्यारिबियनतर्फ पठाएपछि आएको हो ।

रक्षा सचिव पिट हेगसेथले शुक्रबार यूएसएस गेराल्ड आर फोर्ड विमानवाहक पोतलाई भूमध्यसागरबाट हिँड्न आदेश दिएका छन् । यो पोतले ९० वटासम्म विमान बोक्न सक्छ । मादुरोले सरकार सञ्चालित सञ्चारमाध्यमलाई भने, ‘उनीहरू नयाँ अनन्त युद्धको रचना गर्दैछन् । उनीहरूले फेरि कहिल्यै युद्धमा नफस्ने वाचा गरेका थिए । तर, उनीहरू युद्धको माहौल बनाइरहेका छन् ।’

अमेरिकाले क्यारिबियनमा आफ्नो सैन्य उपस्थिति बढाइरहेको छ, युद्धपोतहरू, एक आणविक पनडुब्बी र एफ–३५ विमानहरू पठाएको छ, जसलाई उसले लागूपदार्थ तस्करहरूलाई लक्षित गर्ने अभियान भनेको छ । उसले लागूपदार्थ तस्करहरूको भएको बताउने डुंगाहरूमाथि दसपटक हवाई हमलाहरू गरिसकेको छ । शुक्रबार पनि हमला गरेको छ । त्यसमा हेगसेथले ६ पुरुष लागुऔषध–आतंकवादीहरू मारिएको बताए ।

उक्त कारबाही क्यारिबियन सागरमा भएको थियो । हेगसेथले त्यो जहाज ट्रेन दे अरागुआ आपराधिक संगठनको भएको बताए । यी हमलाहरूले यस क्षेत्रमा निन्दा निम्त्याएको छ र विशेषज्ञहरूले तिनीहरूको वैधतामाथि प्रश्न उठाएका छन् ।

ट्रम्प प्रशासनले लागूपदार्थ तस्करीविरुद्ध युद्ध सञ्चालन गरिरहेको बताएको छ । तर, विज्ञहरू र कंग्रेसका सदस्यहरू दुवैले मादुरोको सरकारलाई अस्थिर बनाउने प्रयासमा धम्की अभियान चलाएको आरोप पनि लगाएका छन् । मादुरो ट्रम्पका लामो समयदेखिका विरोधी हुन् । अमेरिकी राष्ट्रपतिले उनलाई लागूपदार्थ तस्करी गर्ने संगठनको नेता भएको आरोप लगाएका छन्, जसलाई मादुरोले अस्वीकार गर्छन् ।

च्याथम हाउस थिंक ट्यांकमा ल्याटिन अमेरिकाका लागि वरिष्ठ फेलो डा. क्रिस्टोफर साबातनीले बीबीसीलाई भने, ‘यो सत्ता परिवर्तनको बारेमा हो । उनीहरू सायद आक्रमण गर्ने छैनन्, आशा गरौँ यो केवल एउटा संकेत हो ।’ उनले यो सैन्य उपस्थिति भेनेजुएलाको सेना र मादुरोको भित्री घेरामा डर उत्पन्न गर्ने उद्देश्यले गरिएको तर्क गरे ।

आफ्नो घोषणामा शुक्रबार पेन्टागनले यूएसएस गेराल्ड आर फोर्ड वाहकलाई मध्य अमेरिका र दक्षिण अमेरिकासँगै क्यारिबियनसहितको अमेरिकी दक्षिणी कमान्डको क्षेत्रमा तैनाथ गरिने बताएको छ । बीबीसी