प्रधानमन्त्री खनालको टिप्पणी : भेनेजुएलामा अमेरिकी हस्तक्षेप ‘तेल भण्डार कब्जाको रणनीति’
काठमाडौँ । पूर्व प्रधानमन्त्री तथा नेकपा नेता झलनाथ खनालले अमेरिकाले भेनेजुएलामाथि गरेको सैन्य कारबाही अन्तर्राष्ट्रिय कानूनको गम्भीर उल्लंघन भएको बताएका छन् । उनले प्रेस विज्ञप्ति जारी गर्दै अमेरिकी कदमलाई ‘नाङ्गो, क्रूर र अपराधपूर्ण’ भन्दै कडा शब्दमा निन्दा गरेका छन् ।
खनालका अनुसार ट्रम्प प्रशासनअन्तर्गत डेल्टा फोर्सले करिब १५० लडाकु विमान प्रयोग गरी भेनेजुएलामाथि आक्रमण गरेको दाबी गरिएको छ । उक्त कारबाहीमा सर्वसाधारण र सैनिकको ज्यान गएको, सैन्य संरचना ध्वस्त पारिएको र निर्वाचित राष्ट्रपति निकोलस मदुरो तथा प्रथम महिला सेलिया फ्लोरेसलाई जबरजस्ती अपहरण गरी अमेरिका पुर्याइएको आरोप उनले लगाएका छन् । यो कार्य भेनेजुएलाको सार्वभौमसत्तामाथि ठाडो हस्तक्षेप भएको खनालको भनाइ छ ।
भेनेजुएलामाथि अमेरिकी चासोको मुख्य कारण तेल रहेको उल्लेख गर्दै खनालले विश्वकै ठूलो तेल भण्डार भएको देश भएकाले अमेरिकाले त्यसलाई कब्जा गर्ने रणनीति अघि बढाएको आरोप लगाएका छन् । उनका अनुसार राष्ट्रपति मदुरोको सरकार उक्त योजनाको प्रमुख अवरोध बनेपछि ‘ड्रग ट्राफिकिङ’ जस्ता बहाना खडा गरेर सैन्य आक्रमण र अपहरण गरिएको हो ।
खनालले आफ्नो पार्टी र सम्पूर्ण नेपाली जनताको तर्फबाट उक्त अमेरिकी कदमको कडा भत्र्सना गर्दै अन्तर्राष्ट्रिय समुदायलाई यस्ता हस्तक्षेपविरुद्ध स्पष्ट आवाज उठाउन आग्रह गरेका छन् । यसअघि अर्का पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले पनि भेनेजुएलामा अमेरिकी हस्तक्षेपको निन्दा गरेका थिए ।
