पूर्व छापामारकी छोरी बनिन् भेनेजुएलाको कार्यकारी राष्ट्रपति
काठमाडौँ । राष्ट्रपति निकोलस मादुरो अमेरिकी नियन्त्रणमा परेपछि भेनेजुएलाको सत्ता संरचनामा नाटकीय परिवर्तन आएको छ । देशको सर्वोच्च अदालतले प्रशासनिक निरन्तरता र राष्ट्रिय सुरक्षालाई प्राथमिकता दिँदै उपराष्ट्रपति डेल्सी रोड्रिगेजलाई कार्यकारी राष्ट्रपतिको जिम्मेवारी सम्हाल्न निर्देशन दिएको छ । अदालतको आदेशअनुसार संवैधानिक प्रक्रियाबाट रोड्रिगेजले कार्यवाहक रूपमा देशको नेतृत्व सम्हालेकी हुन् ।
समाचार एजेन्सी रोयटर्सका अनुसार, मादुरो अनुपस्थित रहेकाले राज्य संयन्त्र सञ्चालनमा शून्यता नआओस् भन्ने उद्देश्यले सर्वोच्च अदालतले यस्तो निर्णय गरेको हो । यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलामा अर्को सरकार नबनेसम्म अमेरिकाले नै प्रशासन चलाउने दाबी गरेका छन् । अमेरिकी सेनाले भेनेजुएलामा आक्रमण गरी मादुरोलाई नियन्त्रणमा लिएर न्यूयोर्कमा हिरासतमा राखिएको बताइएको छ ।
५५ वर्षीया डेल्सी एलोइना रोड्रिगेज गोमेज भेनेजुएलाको सत्तारूढ वामपन्थी आन्दोलनकी प्रभावशाली नेतृ मानिन्छिन् । ह्युगो चाभेजद्वारा अघि बढाइएको बोलिभेरियन क्रान्तिबाट उदाएकी उनी लामो समयदेखि मादुरो प्रशासनकी सबैभन्दा विश्वासपात्र पात्रमध्ये एक हुन् । आर्थिक संकट, विपक्षी आन्दोलन, अन्तर्राष्ट्रिय दबाब र अमेरिकी प्रतिबन्धका बीच पनि कठोर नीति र आक्रामक वक्तव्यमार्फत सरकारको बचाउ गर्ने भूमिकाका कारण उनलाई मादुरो शासनको ‘आइरन लेडी’ भनेर चिनिन्छ ।
१९६९ मे १८ मा काराकसमा जन्मेकी रोड्रिगेज पेशाले वकिल हुन् । उनले अन्तर्राष्ट्रिय सम्बन्ध र मानवअधिकार क्षेत्रमा अध्ययन गरेकी छन् । उनका पिता जर्ज एन्टोनियो रोड्रिगेज १९७० को दशकमा सक्रिय कम्युनिष्ट गुरिल्ला थिए र ‘लीगा सोशलिस्टा’ पार्टीका संस्थापक समेत थिए । यही राजनीतिक पृष्ठभूमिले डेल्सीको वैचारिक यात्रा निर्माण गरेको विश्लेषकहरू बताउँछन् ।
रोड्रिगेजले २०१३–२०१४ मा सञ्चार तथा सूचना मन्त्री, २०१४–२०१७ मा विदेश मन्त्री र २०१७ मा सरकार समर्थक संविधान सभाको प्रमुखको रूपमा काम गरिसकेकी छन् । विदेश मन्त्रीका रूपमा रहँदा उनले अमेरिका र युरोपेली संघको तीव्र आलोचना गर्दै भेनेजुएलामाथि लगाइएका प्रतिबन्धविरुद्ध अन्तर्राष्ट्रिय मञ्चहरूमा आक्रामक कूटनीति अपनाएकी थिइन्। २०१८ जुनमा उनी उपराष्ट्रपति नियुक्त भइन् ।
उपराष्ट्रपतिका रूपमा रोड्रिगेजले विभिन्न मन्त्रालयहरू सम्हाल्दै चरम महँगी र आर्थिक संकटसँग जुध्ने प्रयास गरिरहेकी छन् । २०२४ अगस्टमा उनलाई तेल मन्त्रालयको अतिरिक्त जिम्मेवारी दिइएको थियो, जसले अमेरिकी प्रतिबन्धबीच ऊर्जा क्षेत्र सञ्चालनमा उनको भूमिकालाई अझ सशक्त बनाएको छ । उनका दाजु जर्ज रोड्रिगेज पनि भेनेजुएलाको सत्ता संरचनामा प्रभावशाली नेता हुन् र राष्ट्रिय सभाका अध्यक्ष रहिसकेका छन् । यसले रोड्रिगेज परिवारलाई देशको राजनीतिक केन्द्रमा स्थापित गरेको देखिन्छ ।
मादुरो नियन्त्रणमा लिएपछि रोड्रिगेजले सार्वजनिक रूपमा अमेरिकी हस्तक्षेपको विरोध गर्दै अवस्था स्पष्ट पार्न माग गरेकी छन् । सर्वोच्च अदालतको आदेशपछि कार्यकारी राष्ट्रपतिको हैसियतमा उनी प्रशासनिक नेतृत्व सम्हाल्दै देशको सम्प्रभुता जोगाउने चुनौतीपूर्ण भूमिकामा उभिएकी छन् । भेनेजुएलाको वर्तमान संकटबीच डेल्सी रोड्रिगेजको नेतृत्वले देशलाई कुन दिशातर्फ लैजान्छ भन्ने विषय अहिले आन्तरिक र अन्तर्राष्ट्रिय राजनीतिमा चासोको केन्द्र बनेको छ ।
