`

भेनेजुएलाविरुद्धको अमेरिकी आक्रमणको चौतर्फी निन्दा र विरोध

Nepal One HD २१ पुष २०८२ ११:३०
प्रमुख खबर

काठमाडौं । ल्याटिन अमेरिकी मुलुक भेनेजुएलामा शनिबार नाटकीय रूपमा अमेरिकी हस्तक्षेप भएको छ । एक विशेष सैन्य अभियान सञ्चालन गर्दै अमेरिकाले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो र उनकी पत्नीलाई राजधानी काराकासबाटै नियन्त्रणमा लिएको छ ।

एक सार्वभौम राष्ट्रका राष्ट्रप्रमुखलाई नै नियन्त्रणमा लिने अमेरिकी कदमको विश्वभरबाट तीव्र निन्दा र चिन्ता व्यक्त गरिएको छ । घटना लगत्तै विभिन्न देशका नागरिकहरू अमेरिकी हस्तक्षेपको विरोधमा सडकमा उत्रिएका छन् । विश्लेषकहरूले यस घटनालाई ल्याटिन अमेरिकामा आफ्नो पूर्ण बर्चस्व कायम गर्ने अमेरिकी रणनीतिको उत्कर्षका रूपमा व्याख्या गरेका छन् ।

अमेरिकाले यो कारबाहीलाई ‘लागुऔषध ओसारपसार विरुद्धको अभियान’ दाबी गरे पनि यसको अन्तर्निहित उद्देश्य भने भेनेजुएलाको विशाल प्राकृतिक स्रोतमाथिको कब्जा नै रहेको देखिन्छ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको अभिव्यक्तिले पनि यसलाई पुष्टि गरेको छ, जहाँ उनले भेनेजुएलाको खनिज सम्पत्ति दोहन गर्ने मनसाय व्यक्त गरेका थिए ।

ह्युगो चाभेजको पालादेखि नै चिसिएको अमेरिका–भेनेजुएला सम्बन्ध यो घटनासँगै थप जटिल मोडमा पुगेको छ । अमेरिकाले लामो समयदेखि भेनेजुएलाको समाजवादी सरकारलाई ‘अधिनायकवादी’ को संज्ञा दिँदै कडा आर्थिक नाकाबन्दी लगाउँदै आएको थियो भने भेनेजुएलाले यसलाई ‘शासन सत्ता परिवर्तन गर्ने साम्राज्यवादी षड्यन्त्र’ भन्दै प्रतिवाद गर्दै आएको थियो । तेल र खनिज स्रोतमाथिको लुछाचुँडी नै यो द्वन्द्वको मुख्य जड रहेको भू–राजनीतिक जानकारहरूको मत छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *