`

सुन तस्करीसम्बन्धमा सरकारलाई अनुसन्धानमा सघाउन तयार छु : कृष्णबहादुर महरा

Nepal One HD ३० साउन २०८० १४:३०
प्रमुख खबर

दाङ । नेकपा (माओवादी केन्द्र) का नेता कृष्णबहादुर महराले सुन तस्करीको प्रकरणमा अनुसन्धानका लागि सरकारलाई सघाउन आफू तयार रहेको बताउनुभएको छ ।

दाङमा पत्रकारसँग कुरा गर्दै पूर्वसभामुख महराले सुन तस्करी प्रकरणमा आफ्नो नाम जोडिएर बाहिर आएको भन्दै उक्त विषयमा सरकारलाई अनुसन्धानका लागि सघाउन तयार रहेको बताउनुभएको हो ।

उहाँले भन्नुभयो, “सुन प्रकरणबारे सरकारलाई कुनै पनि छानबिनका लागि सघाउनका निम्ति तयार छु भनेर भन्दै आएको छु । अनुसन्धानका लागि मलाई बोलाउनुस् पनि भनेकै छु । तर बेलाउँदैनन् त के गर्नु ?”

सुन तस्करी प्रकरणमा जोडिएको भनिएका चिनियाँ नागरिक वाङलाई फलफुल व्यापारिका रुपमामात्र चिनेको उहाँको भनाइ थियो । उहाँले त्यसबाहेक उनलाई आफूले नचिनेको बताउनुभयो ।

महराले सुन प्रकरणमा आफूलाई विनाकारण मुछिएको बताउँदै सञ्चार माध्यममा गलत प्रचार भएको गुनासो गर्नुभयो ।

पूर्वसभामुख महराले सुन तस्करीको भनेको टोलिफोन संवादका विषयमा कुनै पनि फोन संवाद नभएको दाबी गर्नुभयो । बरु वाङले आफूलाई भेटेर एक जना साथीको इलोक्ट्रोनिक चुरोट भन्सारमा रोकिएको र भन्सारबाट निकालिदिन भनेर आग्रह गरेको बताउनुभयो ।

“सुनको स पनि कुरा भएको थिएन, मलाई के छ भनेर थाहा पनि भएन, मैले भन्सारका साथीहरुलाई कुराकानी गरेर कानूनअनुसार हेरेरमात्र काम गर्नुहोला, रोक्नु पर्ने भए रोक्नु होला, भनेका हो । यो प्रकरणमा भएको यत्ति हो”, उहाँले भन्नुभयो, “यसैलाई आधार मानेर बाहिर सञ्चार माध्यममा गलत प्रचार गर्ने काम भयो ।


प्रतिक्रिया