उद्धार र राहतमा खटिन एमाले अध्यक्ष ओलीको आग्रह
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिममा उद्धार र राहतमा खटिन आग्रह गरेका छन् । आज सामाजिक सञ्जालमार्फत अध्यक्ष ओलीले यस्तो आग्रह गरेका हुन् ।
उनले लेखेका छन् – ‘मध्यरातमा आएको भूकम्पले जाजरकोट र रुकुम पश्चिममा ठूलो मानवीय क्षति भएको छ। ६.४ म्याग्निच्युटको भूकम्पले कयौं घाइते छन्, राती आएको भूकम्पका कारण उद्दार प्रभावकारी हुन सकेको छैन होला। मैले बिहान त्यहाँका केही साथीहरुसँग टेलिफोनमा कुराकानी गरें । यतिबेला त्यहाँ उद्दार गर्ने र घाइतेको उपचारमा तत्काल लाग्ने स्वास्थ्यकर्मीको धेरै खाँचो छ। सबै साथीहरु उद्दारमा खटौँ । घाइतेहरुलाई शीघ्र उद्दार र उपचारको प्रबन्ध गरौं । यो बाहिरकाले सहयोग पुर्याउने र त्यहाँकाले धैर्य र सावधानी राख्नु पर्ने समय हो।’
गएराति गएको ६.४ म्याग्निच्युटको भूकम्पले जाजरकोट र रुकुम पश्चिममा गरी १२८ जनाको मुत्यु भएको छ भने सयौं घाइते भएका छन् ।
