एनपीएल टिभीमा निःशुल्क हेर्न पाइने, मोबाइलमा ४०० रुपैयाँको पास अनिवार्य
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै खेल टेलिभिजनमा कुनै अतिरिक्त शुल्क नतिरी हेर्न पाइने भएको छ । नेपालभित्र हिमालय स्पोर्ट्समार्फत केबल, आईपीटिभी तथा टेरेस्टेरियल टेलिभिजनका दर्शकले नियमित प्याकेजमै खेलको प्रत्यक्ष प्रसारण हेर्न पाउनेछन् ।
नेटटिभी, डिशहोम, भायाटिभी, क्लियर टिभी तथा एनटिटिभीमार्फत हिमालय स्पोर्ट्स हेर्दै आएका दर्शकले छुट्टै सब्सक्रिप्सन लिनुपर्ने छैन । टेलिभिजनमा नेपाली र मैथिली भाषामा खेल प्रसारण हुनेछ ।
तर मोबाइल, ट्याब्लेट वा कम्प्युटरमा नेटटिभीको ओटीटी एप तथा वेबसाइटमार्फत खेल हेर्न भने सब्सक्रिप्सन आवश्यक पर्नेछ । नेपालभित्रका दर्शकका लागि सिजन पासको मूल्य करसहित ४०० रुपैयाँ तोकिएको छ ।
विदेशमा रहेका दर्शकका लागि क्षेत्रअनुसार शुल्क निर्धारण गरिएको छ । खाडी मुलुकमा ६०० रुपैयाँ वा ४ अमेरिकी डलर तथा अमेरिका, युरोप, अस्ट्रेलिया, जापान र कोरियालगायतका देशमा १० अमेरिकी डलरमा सब्सक्रिप्सन लिनुपर्नेछ । नेपालमा खरिद गरिएको ४०० रुपैयाँको पास विदेशमा सिधै प्रयोग गर्न मिल्ने छैन । नेपालमा रहेका आफन्तले ईसेवा वा खल्तीमार्फत कुपन खरिद गरी विदेशमा रहेका दर्शकलाई पठाउन सक्ने व्यवस्था गरिएको छ ।
अन्तर्राष्ट्रिय टेलिभिजन प्रसारण स्टार स्पोर्ट्स सिलेक्ट २ तथा सिलेक्ट २ एचडीबाट हुनेछ । भारतमा भने नेटटिभी र फ्यानकोडमार्फत खेल हेर्न सकिनेछ ।
हिमालय स्पोर्ट्सका प्रमुख कार्यकारी अधिकृत सुरज गिरीका अनुसार टेलिभिजन प्रसारण अधिकारका लागि नेपाल क्रिकेट संघ (क्यान) लाई १४ करोड ६४ लाख रुपैयाँ भुक्तानी गरिएको छ । कर र प्राविधिक व्यवस्थापनसहित कुल खर्च २१ करोड रुपैयाँभन्दा बढी हुने अनुमान छ । दर्शकबाट छुट्टै शुल्क नलिई विज्ञापनबाट लागत उठाउने रणनीति लिइएको जनाइएको छ ।
यसैबीच, क्यानका सचिव पारस खड्काले अनधिकृत लिङ्कबाट खेल नहेर्न दर्शकलाई आग्रह गरेका छन् । आधिकारिक माध्यमबाट खेल हेर्दा प्राप्त हुने आम्दानीले नेपाली क्रिकेटको विकास, खेलाडी उत्पादन र पूर्वाधार निर्माणमा सहयोग पुग्ने उनको भनाइ छ ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयोजना हुने प्रतियोगितामा आठ टोली सहभागी छन् । प्रतियोगिताका ३२ खेलको डिजिटल टिकट बिक्री अधिकार ईसेवाले ८५ लाख रुपैयाँमा खरिद गरेको छ । उद्घाटन खेलमा साविक विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्स भिड्नेछन् ।
